कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठका अनुसार श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।


‘तत्पश्चात् शवयात्रा सहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ । कांग्रेस सभापति गगन थापाले ७ साउनमा नेता श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको घोषणा गरेका थिए । राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका संघर्षका कठिन दिनहरुमा श्रेष्ठले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका हुन् । राष्ट्रपति पौडेलले श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिको रुपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको महसुस गरेको उल्लेख गरेका छन् ।