१ असोज, यूएई । नेपाल आदिवासी जनजाति महासंघ, यूएईले ३२औं विश्व आदिवासी दिवस २०२६ सम्पन्न गरेको छ । कार्यक्रम ५ अगष्टका दिन दुबईस्थित क्लब एसके सेवेनमा आयोजना गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भागरथीकुमार भगतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास दुबईका वाणिज्यदूत कुञ्जन शाह रहेका थिए ।
संयुक्त राष्ट्रसंघले दिएको मान्यताअनुसार विश्वभरका जनजातिहरुले मनाउने विश्व आदिवासी दिवस अगष्ट ९ को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका परम्परागत र सांस्कृतिक परिकारहरुको प्रदर्शनी पनि राखिएको थियो । यसैगरी विभिन्न जातजातिहरुका मौलिक भेषभूषा र सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको महासंघका अध्यक्ष भागरथीकुमार भगतले बताए ।
उक्त कार्यक्रमको संयोजक महासंघका उपाध्यक्ष बुद्धबहादुर तामाङ रहेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव मनीसा सुब्बा र सचिव देव भुजेलले गरेका थिए । झाँकी सञ्चालन किसनलाल चौधरी र देवीमाया सुनुवारले गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने यूएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ, यूएईमा रहेको १२ वटा जातीय संस्थाहरुको नेतृत्व गर्ने संस्था हो । तमु, मगर, तामाङ, राई, लिम्बु, नेवार, शेर्पा, थारु, भुजेल, सुनुवार, कुमाल र राजवंशी गरी १२ जातीय संघसंस्थाहरु यूएईमा क्रियाशील रहेका छन् र सबै जातीय संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध रहेका छन् ।
