बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा


काठमाडौँ, ८ असोजः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावकको खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइएको बताइन् ।

“प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको काम भइरहेको छ । बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्र सञ्चालन गरिएको छ”, मन्त्री बादीले भनिन् ।
विशेष संरक्षण आवश्यक पर्ने, आमाबुवा गुमाएका, अपाङ्गता भएका तथा दुर्गम र सामाजिक एवं आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको उनले बताइन् ।

ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको उनले बताइन् ।


बाढीबाट अभिभावक बेपत्ता भएका वा गुमाएका बालबालिकालाई १८ वर्ष नपुग्दासम्म उचित संरक्षण, स्याहार, पोषण र स्वास्थ्य उपचार तथा कम्तीमा १२ वर्षसम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अघि बढाइएको मन्त्री बादीले बताइन् । राष्ट्रिय बाल अधिकार परिषद्मार्फत बालबालिकाको अवस्थाबारे विस्तृत लेखाजोखा गर्ने काम स्थलगत रूपमा तीव्र पारिएको उनले जानकारी दिइन् । प्रभावित क्षेत्रमा कुनै बालबालिका समस्यामा परेको पाइएमा राष्ट्रिय बाल अधिकार परिषद्मार्फत जानकारी गराउन उनले आग्रह गरिन् ।


विपद्का समयमा प्रभावित बालबालिकाको संरक्षणका लागि सरकारको मात्र प्रयास पर्याप्त नहुने बताउँदै उनले सबैको समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । बालबालिकाको संरक्षण र शिक्षाका नाममा समेत अनधिकृत रूपमा ओसारपसार तथा स्थानान्तरण गर्न नपाइने स्पष्ट पार्दै मन्त्री बादीले राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानूनी हुने बताइन् ।


ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि पनि सरकारले सम्बन्धित आश्रम, स्थानीय तह र सेवाप्रदायक संस्थासँग समन्वय गरिरहेको उनले बताइन् । विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनःस्थापनाको व्यवस्था मिलाइएको उनले बताइन् ।
नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको मन्त्री बादीले जानकारी दिइन् ।

सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको उनले बताइन् । उनका अनुसार हालसम्म जटिल प्रसूति अवस्थामा रहेका ११ जना महिला तथा नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

बाढी प्रभावित महिला तथा किशोरीका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षितस्थल स्थापना गरिएको जानकारी दिँदै मन्त्री बादीले बूढानीलकण्ठमा विपद्बाट प्रभावित तथा जोखिममा रहेका महिलाको संरक्षण, सुरक्षा र आवश्यकताअनुसार अस्थायी आश्रयको व्यवस्था गरिने बताइन् ।