१९ कात्तिक, काठमाडौं । कांग्रेस सभापति गगन थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा कुनै पनि आर्थिक लेनदेन नरहेको स्पष्ट पारेका छन् । आज एक भिडियो सन्देशमा उनले भनेका छन्, ‘हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन ।’
इनम सापकोटाले भनेको भरमा जवाफ दिइरहन जरुरी नभए पनि केही कुरा प्रस्ट पार्न आवश्यक रहेको उनले बताए । ‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धनले दूधको दूध पानीको पानी छुट्टिन्छ । हामी त्यसकै प्रतीक्षामा छौं, उनले भने । यस विषयमा आफूहरुलाई होइन सही ठाउँ प्रश्न सोध्न पनि उनले आग्रह गरे । इनम अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्, त्यहाँ सोध्ने हो । अनुसन्धान निष्पक्ष भइरहेको छ छैन भनेर हेर्ने हो । कोको जोडिन्छन्, त्यो खोतल्ने हो,’ उनले भने ।
अडियो आएका भरमा विभिन्न नेताहरुसँग संवाद गरेको भन्ने भनाइको पनि उनले खण्डन गरेका छन् । ‘पार्टी सभापतिका नाताले विभिन्न दलसँग संवाद जरुरी हुन्छ । अरु नेताहरुलाई जस्तै एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेँ । कुनै कुरा लुकेर गर्नुपर्ने कारण छैन,’ उनले भने । सभापति थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको पनि प्रस्ट पारेका छन् । ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन, उनले भने, ‘यति नभई मलाई लड्ने कसरी आँट आउँथ्यो ? आफ्नो पार्टीको सरकार हुँदा त गलत भएका बोल्न छाडिएन ।’
सरकार ५ वर्षका लागि आएकाले आफूलाई सही काममा फोकस रहोस् भन्ने चाहना कांग्रेसको भएको उनले बताए । बाढीपीडित, सुकुमबासीको पुनस्थापना भएको छैन । सबैतिर त्रास छ, यसलाई सम्हाल्न सकरार लाग्नुपर्छ, उनले भने । लोकतन्त्रिक संस्थाहरूलाई खुम्च्याउँदा आफूहरु चुप लागेर नबस्ने पनि सभापति थापाले बताएका छन् ।
