बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ, २५ कात्तिकः अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो । अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिए । वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ ।

वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको थियो । विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि बालगोपालेश्वरमा भाइटीका प्रभावित भएको थियो । भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिँदै आइएको छ ।