Author: Bijaya Poudel

  • थाइराइड दिवस नेपालमा भने यसरि मनाईदै

    थाइराइड दिवस नेपालमा भने यसरि मनाईदै

    काठमाडौं । आज मे २५ अर्थात विश्व थाइराइड दिवस संसारभर मनाइदैँछ । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी यो दिवस मनाइदैँछ।

    दिवसको अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल, काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छन् । अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ पुनः अल्का अस्पतालमा आएर सकिएको थियो।

    के हो त थाइराइड रोग

    मानव शरिरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरिरमा मोटावोलिजम नियन्त्रण गर्छ ।

    थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरुको शरिरको बृद्धि विकाशमा अहम भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ। र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ।

    नेपालको जनसंख्याको करिब ५ प्रतिशत थाइराइडका विरामी

    पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको डाक्टर अशुंमाली जोशीले बताए।

    शरिरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए। थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ।

    अल्का अस्पतालको निशुल्क स्वास्थ्य शिविर

    विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले विहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।

  • डिसीमा मुरलीधर साँझ सम्पन्न

    डिसीमा मुरलीधर साँझ सम्पन्न

    डिसी । मेरिल्याण्डमा ‘मुरलीधर साँझ’ कार्यक्रम सम्पन्न भएको छ । मे १८, शनिबार मेरिल्याण्डको गेथर्सवर्गमा कार्यक्रमको आयोजना गरिएको थियो । मेरिल्याण्डका सीता पाण्डे, विष्णु थापा, मञ्जु संग्रौला, प्रकाश नेपाल, पुस्कर पन्त, गोपाल विश्वकर्मा तथा विजया शाहले कार्यक्रमको संयोजन गरेका थिए ।
    साँझमा मुरलीधरले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा मुरलीधरलाई प्रमोद उपाध्याय, विश्वराज थापा तथा सुगन्ध श्रेष्ठ लगायत कलाकारले साथ दिएका थिए । साथै, पुस्कर पन्त, कन्हैया सिंहलगायत अन्य कलाकारले पनि गीत प्रस्तुत गरेका थिए । कार्यक्रम परशुराम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।
    मुरलीधर कलिउडका साथै बलिउडमा पनि चर्चित नाम हो । उनले नेपाली, हिन्दी, भोजपुरीलगायत थुप्रै चर्चित गीतमा आफ्नो स्वर दिएका छन् ।

  • साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल

    मे २१ तारिक मंगलबारदेखि मे २७ तारिक सोमबारसम्म

    मेष
    साताको सुरुमा खिन्नता तथा लम्बा यात्राको योग रहेको छ । मध्यतिर धार्मिक, सामाजिक तथा यात्रातिर भने अधिक खर्च हुनेछ । अन्त्यसम्म प्रतिष्ठा बढ्ने र सोंचे–आँटेको काममा सफलता मिल्नेछ । शतर्कता अपनाउन सके धेरै खर्चबाट आफूलाई जोगाउन सक्नुहुनेछ ।

    वृष
    यो साता भागदौड तथा कार्य व्यस्तताले दुःख पाइनेछ । गलत सल्लाह र सुझाव दिने तथा भड्काउने व्यक्तिहरु बढी भेटिन सक्छन् । विचारै नगरिएको कामले हानि पु¥याउन सक्छ, स–साना कुरामा पनि रिस उठ्न जाँदा शत्रुहरु बढ्दै जानेछन् । त्यसैले धैरे रिस र वाणीलाई नियन्त्रण राख्न सके समस्या आफैँ टरेर जान सक्नेछन् ।

    मिथुन
    यो साता नोकरी, व्यापार–व्यवसायमा उन्नति, आर्थिक लाभ हुँदाहुँदै पनि सोंचेको काममा सफलता नमिल्न सक्छ । परिवार र साथीभाइबाट भने पूर्ण सहयोग प्राप्त हुनेछ । तर, साताको अन्त्यतिर शत्रुहरु बढ्नेछन् । अनावश्यक रिस र खर्च बढ्नुका साथै मन खिन्न रहनेछ । धैर्यता अपनाउन सके समस्याको समाधान आफैँ सुल्झिन सक्नेछ ।

    कर्कट
    खर्च अधिक भए पनि आम्दानी निकै बढ्नेछ, नोकरी तथा व्यवसायबाट प्रशस्त आम्दानीको योग छ । मनले चिताएका ठूलाठूला कामहरु बन्नेछन् । घर, जग्गा–जमिन तथा व्यापारमा लगानी हुन सक्छ तथा किनबेच आदि पनि हुन सक्छ । सही निर्णय लिएर राम्रो कामको थालनी यो सातामा गर्न सके भविष्य सफल हुनेछ ।

    सिंह
    साताको सुरुदेखि नै विभिन्न क्षेत्रमा राम्रो समय देखिन्छ । आफन्त र परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । धन लाभको योग भएको हुँदा व्यापार तथा नोकरीमा उन्नति हुन सक्नेछ । नयाँ योजना बन्नेछन् र आँटेको काममा सफलता मिल्दै जानेछ । हिम्मत लिएर अगाडि बढ्न सके यो साता पूर्णरुपले सफल बन्नेछ ।

    कन्या
    साताको सुरुमा खर्च बढ्ने र अनावश्यक काममा समय बर्बाद हुनेछ । साझेदारी तथा साथीभाइमा विवाद बढ्न सक्छ । मानसिक तनाव, शारीरिक गड्बडी हुनुका साथै कामको जिम्मेवारी पनि अधिक बढ्न सक्नेछ, अन्त्यतिर धन कमाउने विभिन्न अवसरहरु प्राप्त हुनेछन् । स्वास्थ्यमा पनि बिस्तारै सुधार हुँदै जानेछ ।

    तुला
    साताको सुरुमा बढोत्तरी, मानसम्मानका साथै ऐश्वर्य बढ्नुका साथै काट्नेहरु पनि बढ्नेछन् । मध्य तथा अन्त्यतिर सामाजिक तथा पारिवारिक जिम्मेवारी बढ्न सक्छ । काममा पनि अनावश्यक विवाद बढ्ने र मनमुटाव पनि हुन सक्छ । धैर्यसाथ रिसलाई पनि नियन्त्रण राख्न सके बिस्तारै परिस्थितिको सामना गर्न सकिनेछ ।

    वृश्चिक
    साताको सुरुवातमा हानि, अनावश्यक वादविवादको योग रहेको हुँदा विशेष सावधानी अपनाउनु होला । बाहन चलाउँदा पनि सावधान रहनुहोला । मध्यतिर बिग्रेका काम बन्नेछन्, स्थितिमा सुधार हुनेछ तर पनि खर्च अधिक बढ्नेछ । अन्त्यतिर भने अत्यधिक तनाव बढ्ने हुँदा शान्त रहनाले पनि निकै फाइदाजनक रहनेछ ।

    धनु
    अस्वस्थताले काममा बाधा पुग्नेछ । धनमाल सुरक्षामा पनि विशेष सावधानी अपनाउनुहोला । मंगलबारदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन् । सहयोगी जुट्नाले आँटेको काम बन्नेछ । मिहिनेतले नाम, दाम र इनाम हात पार्ने समय छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आफ्नो प्रसिद्धी पनि बढ्नेछ । आम्दानी बढ्नाले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ ।

    मकर
    सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानीका स्रोतहरू बढ्नेछन् । मंगलबारदेखि खर्चको योग देखिए पनि पछिका लागि लगानी गर्ने समय छ । लामो यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ । विदेश यात्राको अवसर प्राप्त हुन सक्छ । अन्त्यतिर स्वास्थ्यमा गड्बडी देखापर्ने समय रहेकाले खानपानमा सजग रहनुहोला ।

    कुम्भ
    राजनीतिक कार्यमा सफलता मिल्नेछ । प्राविधिक काममा प्रगति हुनेछ । मित्र तथा मान्यजनको सहयोग मिल्नेछ । धन लाभको योग भएको हुँदा व्यापार तथा नोकरीमा उन्नति हुनेछ । प्रेमसम्बन्ध तथा राजनीतिका लागि पनि यो समय श्रेष्ठ रहेको छ ।

    मीन
    सुरुमा केही अवरोध भए तापनि अन्त्यसम्म सफलता मिल्नेछ । आफन्त र परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । अन्त्यतिर धन लाभको योग देखा परेको छ । सोंचेको, आँटेको काममा सफलता मिल्नेछ ।

  • मोदीको जितले अब नेपालमा के असर गर्ला ?

    मोदीको जितले अब नेपालमा के असर गर्ला ?

    काठमाडौं

    भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले फेरि एक पटक सरकार बनाउने भएको छ । । लोकसभा चुनाव अन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान आइतबार सम्पन्न भएको थियो । बिहीबार भएको मतगणना पछि (भाजपा)ले ३०३ सिटमा बिजय प्राप्त गरेको छ । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुन अर्को पटक भारतको प्रधानमन्त्री बन्ने निस्चित भएको छ ।
    बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्ने लोक सभामा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले कुल ५ सय ४२ सिट मध्ये ३ सय ३ सिटमा विजय हासिल गरेको हो ।कांग्रेस आई नेतृत्वको गठबन्धनले भने जम्मा ५२ सिटमा चित्त बुझाउनु पर्ने भएको छ ।

    सम्भावित छिमेक नीति
    भारतीय प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा सबैभन्दा धेरै नेपाल भ्रमण गर्ने एक मात्र भारतीय प्रधानमन्त्री हुन् । उनी पहिलो कार्यकालमा विभिन्न समयमा गरी चार पटक नेपालको भ्रमणमा आएका थिए । धार्मिक, औपचारिक र नेपालको राजकीय भ्रमणसमेत उनले गरेका छन् । आफ्नो शपथ ग्रहणका क्रममा समेत छिमेकी देशका नेताहरुलाई बोलाएर उनले सम्बन्ध नजिक राख्न खोजेका थिए ।
    नेपाल मामिलामा मोदी जति लोकप्रिय बन्न खोजेका थिए, त्यति नै विवादितसमेत बनेका छन् । उनले नेपालको संविधानमा असन्तुष्टि मात्र जनाएनन्, इतिहासमा सबैभन्दा खराब काम नेपाललाई नाकाबन्दीसमेत लगाए । त्यसको चौतर्फी आलोचना हुँदै आएको छ । पछिल्लो समय भने उनले त्यसलाई सच्याउने कुरा अगाडि सारेका छन् । भारतमा रहेका नेपालीभाषीका समस्या र नेपाललाई हेर्ने दृष्टिकोणमा उनको खासै परिवर्तन आउने देखिदैंन । तर, पहिले जस्तो सजिलै बस्ने पक्षमा उनी हुने छैनन् ।
    राजनीतिक विश्लेषकहरुले मोदीको दोस्रो कार्यकालमा छिमेक नीति देखिनेगरी परिवर्तन हुने बताएका छन् । नेपालसँगको सम्बन्धलाई पनि नयाँ रुपमा देख्न सकिनेछ । भारतमा पाकिस्तान विरोधी राष्ट्रवाद चुनावमा प्रमुख एजेण्डा भएजस्तै नेपालमा पनि भारतविरोधी राष्ट्रवाद चुनावको प्रमुख एजेण्डा बन्दै आएको छ । यो कुराको राम्रो ज्ञान भएका मोदीले पहिलेको नीतिलाई निरन्तरता दिने पक्षमा देखिँदैनन् । नेपाल मामिला मात्र नभएर दक्षिण एसियाली क्षेत्रमै उनी नयाँ परिवर्तनका लागि पहल गर्नसक्ने सम्भावित नेता हुन् ।
    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजनसँग कुराकानी गर्दै केही दिनअघि मोदीको उदय भएमा भारत–पाकिस्तान वार्ता नयाँ ठाउँबाट अगाडि बढ्ने बताएका थिए । पाकिस्तानसँग वार्ताको जोखिम मोल्न सक्ने नेता मोदी नै भएको उनले बताएका थिए । त्यसैले पनि मोदीले आफ्नो दोस्रो कार्यकालमा भारतको बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा जाने सम्भावना बढी छ ।
    पाकिस्तानका वरिष्ठ पत्रकार जहिर खान भारतमा मोदीको फेरि उदय हुने सम्भावना व्यक्त गर्छन् । उनी भन्छन्– ‘भारतले संयुक्त राष्ट्रसंघसँग काश्मीरका विषयमा गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ । त्यसका लागि भारतको हिम्मत भएको नेता आवश्यक पर्छ । मोदी त्यस्तो नेता हुन सक्छन् । भारत र पाकिस्तानले काश्मीर विवाद सुल्झाएको अवस्थामा दक्षिण एसिया शान्तिका लागि नयाँ गन्तव्य बन्न सक्छ । यो इच्छाशक्ति मोदीमा हुनसक्छ ।’
    दक्षिण एसियामा भारतको हेपाहा दृष्टिकोण छ । त्यसैले भुटानबाहेक अन्य देश ऊप्रति असन्तुष्ट छन् । भुटान भने सधैं अन्धभक्त भारतको समर्थनमा रहँदै आएको छ । नेपाल, श्रीलंका, बंगलादेश र पाकिस्तान भारतको विरुद्धमा उभिँदै आएका छन् । सत्ता परिवर्तनपछि माल्दिभ्स भने भारतको नजिक छ । तर, त्यहाँसमेत भारतविरोधी जनता धेरै छन् । सीमा जोडिएको चीन पनि भारतसँग व्यापारिक सम्बन्धमा मात्रै छ । त्यसैले मोदीका लागि नयाँ चुनौतीका रुपमा छिमेकीसँगको सम्बन्ध राम्रो बनाउनु रहनेछ ।
    बंगलादेशका वरिष्ठ पत्रकार अब्दुल बुलबुल भारतले अब छिमेकीसँगको सम्बन्ध राम्रो बनाउनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्– ‘पाकिस्तान र बंगलादेशलाई शत्रुवत व्यवहार भारतले गरिरहेको छ । जुन कुरा गलत हो । अन्य देशसँग पनि सम्बन्ध राम्रो छैन । काश्मीरमा लेनदेन गरेर विवाद मिलाउनुपर्छ । यो मानवहितमा हुनेछ । निहित स्वार्थका लागि भन्दा पनि मानवीय स्वार्थ ठूलो हुनुपर्छ । मोदीले त्यो जाँगर देखाउनु पर्छ । तर पहिले छिमेकीलाई पेल्ने र हेप्ने खालको भारतको नीति रह्यो । जुन कुरा गलत भएको धेरै पछि मात्र मोदी सरकारले महसुस ग¥यो ।’

    सम्भावित नेपाल सम्बन्ध
    नेपालमा भारतीय चासो हुनु स्वाभाविक छ । हजारौं नेपाली र हजारौं भारतीय एकअर्काका देशमा आश्रित मात्र रहेका छैनन् लामो समयदेखि बसोवाससमेत गरेका छन् । तर पनि भारतले नेपाललाई आफ्नो नियन्त्रणमा राख्न खोजिरहेको छ भने नेपालले आफूलाई स्वतन्त्र राख्न चाहन्छ । राजनीतिक व्यवस्थाका विषयमा पनि भारतले नेपालको संविधान परिवर्तन गरेर आफूमा निहित अर्थराजनीति चाहन्छ भने नेपालले भारत अनुकूल नहोस् भन्ने चाहना राख्छ । त्यसैले भारतविरोधी नेपालको मानसिकतामा परिवर्तन ल्याउनु अब मोदी सरकारको मुख्य चुनौती हो ।
    नेपालमा भारतीय जनता पार्टीको एकमात्र चाहना हिन्दू राष्ट्र रहेको छ । त्यो सँगसँगै कतै न कतै पूर्वराजाको सक्रियतामा भाजपा अडिग देखिन्छ । भाजपाका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी दुई एजेण्डाका विषयमा हालै मात्र पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । नेपाली काँग्रेस लगायतका दलका हिन्दूवादी नेतासँग पनि उनले निरन्तर संवाद जारी राखेका छन् । उनलाई मोदीपछि भारतको प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ । प्रभावशाली नेताले नेपालको संविधान प्रतिकूलका एजेण्डालाई उठाएकाले नेपालसँगको सम्बन्धमा दरार आउने सम्भावना बढी देखिन्छ ।
    मोदी भने नेपालसँगको सम्बन्ध सुधार गर्ने पक्षमा देखिन्छन् । उनले पक्कै पनि शपथग्रहणका क्रममा यसको संकेत दिनेछन् । पछिल्लो नेपाल भ्रमणका क्रममा उनले अब आउँदा लुम्बिनीको भ्रमण गर्ने बताएका थिए । चीनसँगको निकटता कम गर्ने उनको प्रमुख उद्देश्य बन्ने देखिन्छ । त्यसका लागि नेपालसँग मिलेर जाने वा दबाब दिएर भन्ने कुरा भारत र चीनसँगको सम्बन्धमा भर पर्छ । नेपालका लागि मोदीको उद्देश्य जे भए पनि नेपालले कसरी प्रयोग गर्ने भन्नेमा ध्यान दिन जरुरी रहेको राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ ।
    नेपाली राजनीतिक विश्लेषकहरुले समेत मोदीको नयाँ कार्यकालमा अहिलेको जस्तो अवस्था नरहने बताएका छन् । अबको कार्यकालमा नेपाल–भारत सम्बन्ध पहिलेको नाकाबन्दी लगाउनुपूर्वको अवस्थामा फर्किने वा नाकाबन्दीका बेला जस्तो रहने अनुमान गरिएको छ । पछिल्लो भारतीय प्राथमिकताले पनि त्यस्तै देखाउँछ । तर, भारतले नेपालका राजनीतिक दलभित्र खेल्ने रोग भने अब झन्–झन् बलियो हुने सम्भावना देखिन्छ । राजनीतिक दलभित्रको विवादले तीव्रता पाउने र केही राजनीतिक दल विभाजनको अवस्थासम्म पुग्ने सम्भावना पनि उत्तिकै छ । भारत आन्तरिक राजनीतिमा खेलेर रमाउने पुरानै परम्परा हो । मोदीले यो परम्परालाई समेत निरन्तरता दिन सक्छन् ।

  • तिमीबिना बाँच्न गाह्रो भो

    तिमीबिना बाँच्न गाह्रो भो

    समा श्री, काठमाडौं

    अहिले म छु
    मेरो छायाँ छ
    तिमी नभएपछि
    टाढा टाढासम्म शून्यता छ
    फुटेर छरिएका सपना छन्
    धिपधिपाएर निभ्न लागेको दियो छ
    मैलो मैलो रोशनीमा
    अहिले म छु
    मेरो छायाँ छ
    तिमी नभएपछि
    बाहिर भीडभाड भए पनि
    भित्र कतै खोक्रोपना जन्मिन्छ
    सपनाहरू पनि आएर घोच्छन्
    सिधा हृदयमा आएर
    यति बेला तिम्रो सम्झना मात्र पनि
    मलम समान लाग्छन्
    आशाको धमिलो रोशनीमा
    अहिले म छु
    मेरो छायाँ छ

    तिमी नभएपछि
    आफ्नै पिछलग्गु छायाँ छ
    छायाँ
    श्वेतभोगी छ, लालची छ उज्यालोको
    छोड्छ अँध्यारोमा
    जन्माउँछ खोक्रोपना
    जन्माउँछ ज्वालामुखी
    आगो ओकल्छ
    डढाउँछ सप्पै सप्पै
    लावाको रोशनीमा
    अहिले म छु
    मेरो छायाँ छ

    तिमी नभएपछि
    झर्छन् आँसु
    जल्दै जलाउँदै
    जहाँ जहाँबाट बग्छन्
    पग्लिदैँ आफै भित्र म सोच्छु
    कति आवश्यक छौ तिमी !
    मेरो जिन्दगीको लागि
    मेरो सासको लागि
    मेरो धड्कनको लागि
    यो एकलासमा एक्लोपनमा
    कतै कुनै आकर्षण छैन
    कतै कुनै बहलाउने कुरा छैन
    हाँसो छैन तोष छैन
    मरुभूमि भएर मन भन्छ
    अब तिमी बिना बाँच्न गाह्रो भो

  • कवि

    कवि

    आनन्द श्रेष्ठ
    न्यूयोर्क

    कविता लेख्न थालेको बाह्र वर्षपछि कवि ‘धतुरे’लाई आज सम्मान गरियो । एक लाख नगद र सम्मानपत्र बोकेर कवि रत्नपार्कको माइक्रो चढेर गोंगबुतर्फ लाग्दै थियो । बाटोभरि उसले सोच्दै गयो– ‘आखिर सम्मान त हुने रहेछ समाजमा । सफलताका लागि लगातार लगनशील हुनुपर्ने रहेछ । अब यो एक लाख लगेर श्रीमतीको हातमा थमाइदिन्छु । एक जोर साडी किन्नु भन्छु । आधा तोला जतिको सिक्री किन्नु भन्नुपर्ला । कविको श्रीमती भनेर निकै सम्मान छ उनको समाजमा । अब मैले मनमनै गरेको उनीप्रतिको सम्मान भौतिकरूपले गर्न पाउने भएँ । उनको झुम्का बेचेर कविता संग्रह निकालेको पनि एक वर्ष भएछ ।’
    ‘रेडन झर्ने आउनुस् त ।’
    माइक्रोको सहयोगी भाइको चर्को आवाजले झल्याँस्स भएर कवि आफ्नो गन्तव्यमा आइपुगेको महसुस गर्छ र माइक्रोबाट ओर्लिन्छ ।
    बाटोभरि आफ्नो श्रीमतीलाई यो खुशीको खबर कसरी सुनाउने भनेर सोच्दै जान्छ । जसै कवि आफ्नो घरको नजिक नजिक पुग्छ, छिमेकीहरूको आँखा कविप्रति तेर्सिन थाल्छ । कविलाई लाग्छ– समाचार सुनाइसकेछ कि क्या हो ! सबैले थाहा पाए जस्तो छ ।
    जब कवि घर पुग्छ– मूल ढोकामा ताल्चा लागेको देख्छ । कवि आएको देखेर छिमेकीले उनको हातमा एउटा चिट्ठी र साँचो थमाउँछ । चिट्ठी खोलेर हेर्दा देख्छ– ‘पतिदेव ! मैले हजुरको कवितामा रमाएर भोको पेट अघाउन सकिन, न म विवाहित स्वास्नीमान्छेको दर्जामा रहन सकें । हजुरले कवितासँग सम्भोग गर्नुभयो र कविताहरू नै जन्माउनु भयो । म बाँझी रहें । मैले आफ्नो व्यवस्था आफैँले गरेकी छु । हजुरले अझै नाति–पनाति कविताहरू जन्माउनु होला– शुभकामना छ ।’

  • न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक

    न्यूयोर्कका नेपाली कविका एउटै पुस्तक

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेर नेपाली साहित्यमा सक्रिय कविहरूका कविताको संयुक्त संग्रह प्रकाशित भएको छ । व्याकुल पाठक र किसनसिंह धामीले सम्पादन गरेका ‘न्यूयोर्कका नेपाली कवि र कविता’ कृतिको विमोचन न्यूयोर्कको प्रसिद्ध ज्याक्सन हाइट्समा आयोजित एक समारोहमा कविहरूद्वारा आमन्त्रित अतिथिद्वारा संयुक्त रूपमा गरिएको थियो ।
    अतिथिहरू देवी श्रेष्ठ, प्रमिला ढकाल, किरण काफ्ले, आज्ञा शर्मा, दुर्लव मगर, सिर्जना श्रेष्ठ, एलिना वस्ती, अरुण विश्वनाथ, कृष्ण विष्ट, बद्री पौड्याल, संगीता मुखिया छोचुँ, कृष्ण पोखरेल, कमला पौडेल, सूर्य घिमिरे, रीता सुवेदी, कल्पना पाठक, कविन विक्रम शाह, मेनुका रोका, तारा धामी, सुनीति रिजाल, विश्व थापा, भीम पन्थ, अस्मिता महर्जन, माधवी विष्ट, अस्मिता पाण्डेले कविता संग्रहको संयुक्त विमोचन गरेका थिए ।
    संग्रहमा समाविष्ट कविहरूमध्ये अधिकांश कार्यक्रममा उपस्थित थिए र उनीहरूले कविता वाचनसमेत गरेका थिए । कार्यक्रममा कविहरू ज्योतिकुमार श्रेष्ठ, पुष्कर बराल, पुनम काफ्ले, शकुन ज्ञवाली, राजेन्द्र श्रेष्ठ, पद्मा लिंखा मगर, आनन्द श्रेष्ठ, पुष्पा अधिकारी गौतम, कमला प्रसाईं, लक्ष्मी श्रेष्ठ, जानुका वस्ती ढकाल, राजु विजया सिंखडाले कविता वाचन गरे । यसैगरी विकास विष्ट, ज्योति पौडेल, अजय छोचुँ, विष्णु सिंह वैजु, विष्णु पौड्याल, शान्ता अधिकारी घिमिरे, कृसु क्षेत्री, गीता खत्री, व्याकुल पाठक, विनोद रोका, किशन सिंह धामी, संगीता उप्रेती रिजाल, नदिया लिवाङ, राजन महर्जन, हंशराज जोशी, डा. गोविन्द कोइराला, डा. मधु माधुर्य, आङछिरिङ शेर्पा, डा. तारा निरौला, रश्मी भट्ट, परिता राजभण्डारी, अच्युत सिग्देल, पुष्पराज उपाध्यायले पनि कविता वाचन गरे ।
    न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले न्यूयोर्कलाई कर्मथलो बनाएर बसिरहेका नेपाली कविहरूको संयुक्त संग्रह नेपाली साहित्यमा एउटा महत्वपूर्ण उपलब्धि भएको बताउँदै यस्ता गतिविधिले डायस्पोरामा नेपालीहरूको बौद्धिक उपस्थिति उजागर हुने धारणा राखे ।
    तारा–किशन फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा न्यूयोर्क नियोगमा आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका वाणिज्यदूत तथा कवि कृसु क्षेत्रीलाई न्यूयोर्कका नेपाली कविहरूका तर्फबाट संयुक्त रूपमा अभिनन्दन गरिएको थियो । कार्यक्रमका आयोजक तथा विमोचित पुस्तकका एकजना सम्पादक किशनसिंह धामीले मुलुक बाहिर रहेर सिर्जना गरिरहेका कविहरूको सिर्जना पनि स्तरीय रहेको तर त्यसलाई ‘डायस्पोरा’अन्तर्गत राखेर किनारामा पार्न खोजिएको धारणा राखे । उनले विमोचित पुस्तकमा समावेश ४७ जना कविका कविताहरू मूलप्रवाहका कविताभन्दा कुनै कमी नभएको दाबी गरे ।

  • विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा नेपाललाई दशौं स्थान

    काठमाडौं
    नेपालले अष्टेलियामा सम्पन्न विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा दशौं स्थान प्राप्त गरेको छ । तर, डाउन रिभरमा भने नेपालले छैटौं स्थान प्राप्त गर्न सफल भएको छ । आइतबार सम्पन्न १८औं विश्व ¥याफ्टिङ च्याम्पियनसिपको पुरुष खुल्लामा नेपालले १० स्थान प्राप्त ग¥यो । प्रतियोगिता अष्टे«लियाको क्वीन्सल्याण्डमा रहेको टली नदीमा भएको हो । विश्व च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै ठूलो सफलता भएको खेलाडीले बताएका छन् । नेपालले विश्व च्याम्पियनसिपमा दोस्रो पटक सहभागिता जनाएको छ ।
    च्याम्पियनसिपको अन्तिम दिन डाउन रिभरमा सहभागी १६ देशमध्ये नेपाल समग्रमा १०औं स्थानमा अटाउन सफल भयो । यसअघि १३औं स्थानमा चित्त बुझाएको थियो । नेपालको तर्फबाट सुरज गुरुङ, शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँको टोली प्रतिस्पर्धामा उत्रिएको थियो । नेपाली टोलीले अमेरिका, क्यानडा, इन्डोनेसिया र कोष्टारिका लगायतका देशलाई पछि पा¥यो ।
    नेपाली टोलीका कप्तान सुरज गुरुङले आफूहरुले अष्ट्रेलियामा सोंचेभन्दा राम्रो प्रदर्शन गर्न सफल भएको बताए । नेपालले यसअघि जापानमा सम्पन्न विश्व च्याम्पियनसिपमा १३औं स्थान प्राप्त गर्न सफल भएको थियो । प्रतियोगिता सन् २०१७ मा जापानमा भएको थियो । अन्तर्राष्ट्रिय ¥याफ्टिङ महासंघ आईआरएफले विश्व च्याम्पियनसिपमा शीर्ष ८ मा रहने टोली २०२०को मार्चमा चिलीमा हुने विश्व ¥याफ्टिङ कपमा छनोट हुने जनाएको छ ।
    डिफेन्डिङ च्याम्पियन ब्राजिलले अष्ट्रेलियामा पनि उपाधि चुम्यो । उसले सर्वाधिक ९ सय ९ अंक जोडेर पुरुष खुलाको उपाधि रक्षा गरेको हो । सन् २०१७ मा जापानमा भएको प्रतियोगिताका चारै स्पर्धामा ब्राजिलले स्वर्ण जितेको थियो । नेपाली खेलाडीले राज्यले लगानी गरेको अवस्थामा आफूहरुले पनि पदक जित्न सक्ने मनोबल बढेको प्रतिक्रिया दिएका छन् ।

  • नेपाली मूलका वीरमान बने बेल्जियममा सांसदको उम्मेदवार

    नेपाली मूलका वीरमान बने बेल्जियममा सांसदको उम्मेदवार

    बेल्जियम
    बेल्जियममा नेपाली मूलका वीरमान घर्ती मगर प्रदेश सांसदको उम्मेदवार बनेका छन् । यूरोपेली संसद्मा प्रतिनिधित्व गर्ने यूरोपियन सांसद, संघीय संसद् र प्रदेश संसद्को निर्वाचन मे २६ मा हुँदै छ । प्रदेश सांसदको निर्वाचनमा नेपाली मूलका घर्तीमगर उम्मेदवार बनेका हुन् । सबै प्रकारका चुनावमा नेपाली मूलको उम्मेदवार उनी एक्ला हुन् । पछिल्लो समय बेल्जियमको राजनीतिमा नेपाली मूलका नागरिक सक्रिय बन्ने क्रम बढिरहेको छ । यो क्रम संसारका विभिन्न देशमा जारी छ । अमेरिका, बेलायत र यूरोपियन देशमा नेपाली समुदाय राजनीतिमा प्रवेश गर्ने क्रम बढिरहेको छ ।
    बेल्जियममा पछिल्लो समय नेपाली मूलका नागरिक त्यहाँको राष्ट्रिय दलमा आबद्ध हुने र उम्मेदवार बन्ने क्रम बढ्न थालेको छ । अहिलेसम्म स्थानीय तहको उम्मेदवार बने पनि घर्ती मात्र यसअघि पनि सांसदको उम्मेदवार बन्ने एक्लो नेपाली हुन् । उनी सन् २०१० र सन् २०१४ मा भएको निर्वाचनका क्रममा पनि प्रदेश सांसदको निर्वाचनमा उम्मेदवार भएर पराजित भएका थिए । पहिल्यैदेखि राजनीतिमा चासो राख्ने घर्ती मजदुर श्रमिक पार्टी पिभिडिएको सदस्य हुँदै उम्मेदवार बनेका बेल्जियमबाट पत्रकार केजिन राईले जनाएका छन् । पिभिडिए पार्टीले घर्तीलाई सन् २०१०, सन् २०१४ र अहिले सन् २०१९ मा समेत प्रदेशसभा सदस्यको निर्वाचनका लागि लुभेन क्षेत्रबाट उम्मेदवार बनाएको हो ।
    बेल्जियमको लुभेन क्षेत्र नेपाली मूलका नागरिक बस्ने प्रमुख स्थान हो । यसअघि भएका स्थानीय निर्वाचनमा भने नेपाली मूलका धेरै उम्मेदवार भएकाले नेपाली मूलका उम्मेदवार सबै पराजित भएका थिए । तर, अहिले सांसदका लागि वीरमान मात्र उम्मेदवार छन् । १ सय २४ सदस्यीय भ्लाम्स संसद्मा उनी एक्ला उम्मेदवार भएकाले नेपाली समुदाय प्रचारप्रसारमा जुटेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएका कारण नेपाली समुदायको मत एकै ठाउँमा गएमा घर्तीले चुनाव जित्न सक्नेछन् । पार्टीले पाएको मतमा व्यक्तिको पपुलर मत जोडिने भएकाले सबै नेपालीले आफूलाई मत दिएमा प्रदेश सांसद बन्ने सम्भावना बलियो भएको घर्तीले विश्वसन्देशलाई बताए ।
    नेपालमा भन्दा बढी राजनीतिक दलको प्रचारप्रसार गर्ने नेपाली समुदायको रोग त्यहाँ पनि रहेको छ । त्यसैले सबै नेपालीको मत एक ठाउँमा जानेमा आशंका व्यक्त गरिएको छ । गैरआवासीय नेपाली संघ लगायत बेल्जियमका संघसंस्थाले सबै नेपाली नागरिकलाई एक ठाउँमा ल्याउन सकेमा घर्तीले जित्ने सम्भावना रहेको नेपालीभाषीले बताएका छन् । घर्ती विभिन्न संघ–संगठनको नेतृत्व गरिसकेका व्यक्तिसमेत हुन् । नेपाली समुदायभित्र उनको उपस्थिति र पहिचान राम्रो छ । त्यसैले आउने निर्वाचनमा आफूले अत्यधिक पपुलर मत पाउने उनको अपेक्षा रहेको छ । बेल्जियममा हरेक पाँच–पाँच वर्षमा निर्वाचन हुने गर्छ । यसअघि सन् २०१४ मा यस्तै निर्वाचन भएको थियो । सन् २०१८, अक्टोबर १४ मा सम्पन्न नगरपालिका, क्षेत्र र जिल्ला तहको निर्वाचनमा भने धेरै नेपाली प्रतिस्पर्धामा उत्रिएका थिए ।
    वीरमान सन् २००१ मा बेल्जियम पुगेका हुन् । ४८ वर्ष पहिले नेपालको रोल्पा जिल्लाको घुसबाङमा जन्मिएका घर्ती सार्कको स्वर्ण पदक विजेता खेलाडीसमेत हुन् । नेपालमा हुँदा कराँतेको अन्तर्राष्ट्रिय खेलाडी घर्ती नेपाली चलचित्रमा समेत अभिनय गरेर आबद्ध भएका कलाकारसमेत हुन् । रोजगारीको सिलसिलामा बेल्जियममा पुगेका घर्तीले त्यहाँ पनि विभिन्न संघसंस्थामा आफ्नो आबद्धता देखाएका छन् । उनले नेपाली जनप्रगतिशिल मञ्च, विश्व मगर समाज बेल्जियम, मगर मुक्ति मोर्चा, गैरआवासीय नेपाली संघ (एनआरएन)को समेत नेतृत्व गरिसकेका छन् । नेपाली समुदायले आयोजना गर्ने जुनसुकै कार्यक्रममा सक्रिय भएकाले पनि उनी आफ्नो समुदायमा लोकप्रिय छन् । राजनीतिक आस्थामा विभाजन भएको बेल्जियमको नेपाली समुदाय प्रदेश चुनावमा एकीकृत भएर लागेमा आफूले सजिलै जित्ने उनको विश्वास छ ।
    बेल्जियममा नेपालमा जस्तै स्थानीय तह, प्रदेश र संघीय संरचना छ । संघ र स्थानीय तहको विभाजन भाषिक र क्षेत्रीय रुपमा गरिएको छ । स्थानीय भाषा फ्रेन्च, नेदरल्याण्ड र जर्मन भएकाले त्यसैका आधारमा स्थानीय तह र प्रदेशको विभाजन गरिएको छ । जातीय ३ र राजधानी ब्रसेल्सलाई एक प्रदेश मानेर त्यहाँको राज्य पुनर्संरचना गरिएको छ । ब्रसेल्समा राज्य पुनर्संंरचनाको विवाद लामो समयदेखि जारी छ । सन् २०१० मा आम निर्वाचन भएपछि पनि केन्द्र सरकार गठनमा ५ सय ४१ दिन कुर्नुपरेको थियो । बेल्जियममा भाषिक राज्य पुनर्संरचनाले विवाद बढाएको हो ।

  • ‘वाको’मा उज्ज्वललाई रजत

    ‘वाको’मा उज्ज्वललाई रजत

    न्यूजर्सी । शुक्रबार मे १७, एटलान्टिक सिटी न्युजर्सीमा सम्पन्न नास्काद्वारा आयोजित वल्र्ड एसोसिएसन अफ किक बक्सिङ अर्गनाइजेसन अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा ‘वाको’ खेलमा उज्ज्वल ठकुरीले रजत पदक जितेका छन् । वाको अमेरिकाको उक्त प्रतियोगितामा पोइन्ट फाइट ७४ केजी प्लस तौल समूह ब्ल्याक बेल्ट एक्सिबिसन फाइटमा ठकुरीलाई उक्त पदक मिलेको हो ।
    ठकुरी अमेरिकाका ३ पटक राष्ट्रिय पदकधारी खेलाडी २९ वर्षीय मिलर ओमारीसँग भिडेका थिए । नास्काअन्तर्गत राखिएको वाको युएसए खेल वल्र्ड एसोसिएसन अफ किक बक्सिङ अर्गनाइजेसनको हो । त्यसैगरी उनले नास्काको सृजनात्मक कातामा कास्य पदक पनि हासिल गरेका छन् ।
    ठकुरी भन्छन्– ‘हारजित भइरहन्छ, सधंै अमिताभ र अल्पाचिनोको फिल्म हिट हुन्न अनि माइक टाइसनले हारेका उदाहरण पनि छन्, मैले हरेक भिडन्तबाट नयाँ सिकिरहेको हुन्छु ।’