Author: Vishwanews.com

  • नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने

    नेपाल-भारत दोस्रो पेट्रोलियम पाइपलाइन बन्ने

    काठमाडौं । नेपाल र भारतबिच दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बन्ने भएको छ ।

    यसका लागि भारतले आन्तरिक तयारी थालेको छ ।

    भारतले टोली नै खटाएर अध्ययन थालेको नेपाल आयल निगमले जनाएको छ ।

    सिलिगुढी-झापा पेट्रोलियम पाइपलाईन बनाउने सन्दर्भमा भारतीय आयल निगमका अधिकारी फिल्डमा खटिएका हुन ।

    उक्त पेट्रोलियम पाइपलाइनको स्थलगत रेखांकन बाट दूरी समेत कम हुने अपेक्षा गरिएको छ ।

    यसटोलीमा नेपालको तर्फबाट समेत केही उच्च तहका कर्मचारीलाई खटाइएको छ ।

    फिल्ड अध्ययन यसै साता प्रारम्भ भएको हो ।

    आईओसीको सिलुगडी डिपोदेखि झापाको चारआलीसम्म करिब ४५ किलोमिटर लामो पाइपलाइन बनाउने योजना छ ।

    तर, फिल्ड अध्ययनबाट यो दुरि अझ घट्ने अधिकारीहरुले बताएका छन

    २७ पुस देखि दुई दिन सम्म भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको बैठकमा नेपालले सिलिगुढी-झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन भारतलाई प्रस्ताव गरेको थियो ।

     

    सोही अनुसार भारतीय टोलि फिल्डमा खटिएको बताइएको छ ।

    यसअघि अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ पाइपलाइनबाट आउन थालिसकेको छ ।

    यसले नेपाल आउने पेट्रोलियम पदार्थको ढुवानीमा उल्लेख्य मुल्य कटौती हुने गरेको छ ।

  • वुहानबाट शनिबार ल्याइदैछ नेपालीलाई, शुक्रबार गरियो पुर्वाभ्यास

    वुहानबाट शनिबार ल्याइदैछ नेपालीलाई, शुक्रबार गरियो पुर्वाभ्यास

    काठमाडौं । सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट आज नेपालीलाई फिर्ता ल्याउदैछ ।

    शुक्रबार त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा पुर्‍याउने सम्बन्धमा पूर्वाभ्यास गरिएको छ ।

    चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटीस्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनमा राखिदैछ ।

    त्यहासम्म कसरी उनीहरुलाई पुर्‍याउने भन्ने सम्बन्धमा प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरिएको हो ।

    चीनबाट शनिबार नेपाल एयरलाइन्सको जहाजले नेपाली विद्यार्थीलाई फिर्ता ल्याउदैछ ।

    करिब १९० जना नेपाली नेपाल एयरलाइन्सबाट नेपाल फर्किदैछन ।

    नेपाल फर्किएका नेपालीलाई २ सातासम्म क्वारेन्टाइनमा राख्नु पर्छ । उनीहरुलाई राख्ने बारे स्थानीयले भने विरोध गरिरहेका छन ।

  • ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

    ८६ अर्बका १२ सयभन्दा बढी ठेक्का अलपत्र

    देशभर १२ सय भन्दा बढी ठेक्का अलपत्र अवस्थामा रहेको पाइएको छ । कतिपय ठेक्का लागेर अपलत्र परेका छन् भने कतिपयको काम समेत अगाडी बढिसकेको छ ।

    यस्ता आयोजनामा ठेकेदारले पेस्की र जमानतबापत १० अर्ब समेत बुझिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष यस्तो आयोजनाको विवरण संकलन गरेको थियो ।

    अहिले उक्त विवरणलाई पुनः अपडेट गरेको छ । अपडेट अनुसार देशभर रुग्ण ठेक्काको संख्या एक हजार दुई सय दुई रहेको छ । यसमा राज्यले ८६ अर्ब ४४ करोड लगानी गरिसकेको छ ।

    एक हजार एक सय ५३ वटा ठेक्का वेवारिसे अवस्थामा छन् । त्यस्ता आयोजनाका लागि राज्यले ४० अर्ब ३६ करोड लगानी गरिसकेको छ ।

    गतवर्ष रुग्ण आयोजनाको सूचि एक हजार आठ सय ४८ देखिएकोृ थियो ।

    अख्तियारको तथ्यांक अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सात सय एक, शहरी विकास अन्तर्गतका दुई सय ९३, उर्जा अन्तर्गतका एक सय ७३, संघीय मामिला अन्तर्गतका २३, पर्यटन अन्तर्गतका ७, संचार अन्तर्गतका ४ र खानेपानी मन्त्रालय अन्तर्गतका एक आयोजना रुग्ण अवस्थामा रहेका छन् ।

  • आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै

    आज भ्यालेन्टाइन डे, प्रेम दिवसका रुपमा मनाइदै

    काठमाडौं । आज १४ फेब्रुअरी, विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा यस दिनलाई मनाइदैछ ।

    प्रेमिल जोडीहरुले एक अर्काको माया साटासाट गर्ने दिनका रुपमा यस दिनलाई एक पर्वकै रुपमा मनाउन थालेका छन् ।

    नेपालमा पछिल्ला दिनमा यो दिवस मनाउन थालिएको छ । युवायुवतीहरु एक अर्कालाई उपहार, गुलाफ दिएर यो पर्व मनाउँछन् ।

    आफ्नो प्रेमी प्रेमिका तथा श्रीमान श्रीमतीसाग साथमै रहने तथा माया भाव दर्शाउने गरी यो दिवसले अहिले बिस्तार रुप लिएको छ ।

    मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै प्रेम प्रस्ताव राख्ने पनि उत्तिकै भेटिन्छ । यस पर्वका कारण राजधानीमा गुलाव पसलहरुमा यसको खरीद बिक्रि निकै हुने गर्छ ।

    राजधानीका रेष्टुरेन्ट र डान्सबार पनि जोडीहरुका कारण भरिभराउ हुन्छन् ।

    भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट सुरु भएको मानिन्छ । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि तत्कालिन सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए।

    तर, रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए ।

  • असारसम्म काठमाडौंमा मेलम्ची !

    असारसम्म काठमाडौंमा मेलम्ची !

    काठमाडौं । सरकारले आगामी असारसम्म काठमाडौंमा मेलम्चीको पानी आइसक्ने दावी गरेको छ ।

    खानेपानी मन्त्री विना मगरले बिहिवार मन्त्रालयको तर्फबाट स्वेतपत्र जारी गर्दै उक्त दावी गरेकी हुन ।

    मन्त्री मगरका अनुसार आयोजनाको कामले गति लिएको छ काठमाडौं उपत्यका भित्र खानेपानी पाइपको सन्जाल बिस्तारको काम उत्तिकै गतिमा भइरहेको छ ।

    जसले गर्दा असारसम्म मेलम्चीको पानी काठमाडौं आउने आधार तय भएको छ ।

    काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी बितरण गर्ने उद्देश्यले यो आयोजना शुरु भएको हो ।

    आर्थिक वर्ष २०५५\५६ बाट शुरु भएको यो आयोजनामा अहिलेसम्म २७ अर्ब खर्च भइसकेको छ ।

    चालू आवमा मात्र ७ अर्ब ३८ करोड बजेट आयोजनाका लागि छुट्टाइएको छ ।

  • कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान

    कुबेत दूर्घटनामा निधन भएका ६ जनामध्ये चारको पहिचान

    कुबेत । कुबेतमा निर्माण सम्बन्धी काम गर्दागर्दै वालुवाले पुरिएर मृत्यु भएका ६ जना मध्ये ४ जनाको पहिचान खुलेको छ ।

    कुवेतस्थित नेपाली दूतावासका अनुसार दुई जना नेपालीको भने पहिचान भइसकेको छैन । ढल निर्माण सम्बन्धी काम गरिरहेको समयमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको थियो । अन्य दुई जना नेपाली कामदार घाइते छन् ।

    दूतावासका अनुसार ज्यान जाने नेपालीमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी छन् । धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल घाइते छन् ।

    उनीहरुको उपचार भइरहेको छ । मण्डलको अवस्था सामान्य रहेको बताइएको छ ।

    नेपाली कामदार कुवेतस्थित युनिभर्सल लिडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी (डब्लुएलएल) मार्फत् अल मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । यो चिनियाँ कम्पनी हो ।

  • प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने

    प्रधानमन्त्रीले आज संसदमा संबोधन गर्दै, सरकारका कामको बचाउ गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा आज सम्बोधन गर्दैछन् । दिउँसो २ बजे संसदमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    सरकार गठन भएको दुई वर्ष पुगेको छ । यस उपलक्ष्यमा सरकारका कामको बचाउ र प्रचार गर्ने उद्देश्यले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन् । पछिल्लो समय सरकारका कामबाट प्रधानमन्त्री स्वयमः संतुष्ट छैनन् ।

    ओलीले नेतृत्व गरेको सरकार गठनको ३ फागुनमा ठ्याक्कै एक वर्ष पुग्छ ।

    विभिन्न कोणबाट अहिले सरकारका कामको समिक्षा भइरहेको छ । तर, बाचा गरेनुसार कार्यप्रगति नभएको पछि नागरिक स्तरमा सरकारको आलोचना समेत उत्तिकै भइरहेको छ ।

    सम्बोधनमा प्रधानमन्त्रीले सरकारका कामकारबाही र समसामयिक घटनाक्रमका बारेमा सरकारको धारण राख्ने भएका छन् ।

  • नेपाली युवाको भारतमा गोली हानी हत्या

    नेपाली युवाको भारतमा गोली हानी हत्या

    सप्तरी । एक नेपाली युवाको भारतमा गोली हानी हत्या भएको छ । सप्तरीका डम्बर यादवको भारतमा गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।

    सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका स्थायी बासिन्दा यादवको भारतमा हत्या भएको हो ।

    उनी सोही नगरपालिकास्थित ग्यारेजमा काम गर्थे ।

    कामको सिलसिलामा भारत गएर नेपाल आउँदै गर्दा उनमाथि गोली प्रहार भएको बताइएको छ । उनी ग्यारेज मालिकको स्कारपीयो चलाएर भारतको झन्झारपुर गएका थिए ।

    फर्कने क्रममा गोली प्रहार भ्एको हो । गाडीमा अन्य दुई जना रहेपनि डम्बरलाई मात्र गोली लागेको हो । मोटरसाइकलमा आएका युवाले गोली चलाएर भागेको प्रहरीको भनाई छ ।

  • कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो

    कुवेतमा दूर्घटना, ४ नेपालीको ज्यान गयो

    कुवेत । कुवेतमा काम गर्ने स्थानमा भएको दूर्घटनामा पुरिएर ४ नेपालीको ज्यान गएको छ । अन्य ३ जना घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार बालुवा र ग्राभेलसहितको ढिस्को खसेको थियो ।

    जसले कामदारहरुलाई पुरेको बताइएको छ । घटनामा ४ नेपाली कामदार परेको बताइएको छ ।

    परिचय भने सार्वजनिक गरिएको छैन । घाइतेको उपचार भइरहेको बताइएको छ ।

    त्यहाँ चिनियाँ कम्पनीले निर्माणको काम गरिरहेको थियो । समाचार अनुसार निर्माणस्थलको ब्लक ५ मा ढल निर्माणको काम भइरहेको थियो ।

    कुवेतमा ठूलो संख्यामा नेपाली कामदारको ज्यान गएको यो पहिलो पटक हो । कुवेत तुलनात्मक रुपमा सुरक्षित गन्तब्य मानिन्छ ।

  • चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार

    चीनबाट फर्काइने नेपालीलाई राख्ने क्वारेन्टाइन तयार

    काठमाडौं । सरकारले शनिबार चीनबाट झण्डै २ सय विद्यार्थीलाई नेपाल फर्काउँदैछ । उनीहरुलाई नेपाल ल्याएपछि घर परिवारसँग भेट गर्न भने दिइने छैन ।

    नेपाल एयरलाइन्सको विशेष विमानबाट नेपाल आउने उनीहरुलाई त्यहाबाट एम्बुलेन्समा राखेर सिधै खरीपाटीस्थित क्वारेन्टाइनमा लगिने भएको छ ।

    सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको बताएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गर्ने बताएको छ ।

    नेपाल फर्किएका नेपालीलाई उच्च शतर्कतामा साथ चिकित्सकको निगरानीमा राखिने भ्एको छ ।

    चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउन लागिएको छ ।

    उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा राखिदैछ ।

    स्वास्थ्य मन्त्रालयले यहाँ उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरेको हो ।

    उनीहरुबाट अरु मानिसलाई संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उनीहरुलाई ल्याउने सन्दर्भमा समन्वय गरिरहेका छन् ।

    अन्तर्राष्ट्रिय प्रावधान अनुसार संक्रमण फैलिएको स्थानबाट आइसकेपछि निश्चित समय क्वारेन्टाइनमा राख्नुपर्छ ।

    कोरोना प्रभावितबाट आएका मानिस कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।

    नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालीम केन्द्रमा राखिने भएको छ । उनीहरुसमेत क्वारेन्टाइनमै बस्नुपर्छ ।

  • अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

    अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत

    काठमाडौं । अमेरिकामाथि एक दिवसीय क्रिकेटमा नेपालले कीर्तिमानी जीत निकालेको छ ।

    त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले बुधबार अमेरिकामाथि ८ विकेटको रवाफिलो जीत निकालेको हो ।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई वानडे इतिहासमै कीर्तिमानी कम स्कोरमा सम्ट्दा मात्र ३५ रन मात्र बनाउन दियो ।

    टस जितेर बल रोजेको नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको हो ।

    नेपाली बलर सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएर अमेरिकाको पारीलाई ध्वस्त बनाएका थिए ।

    अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

    लेग स्पिनर सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएर नेपालको तर्फबट वानडे क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बने ।

    उनी एशोसिएट मुलुकबाट एकै पारीमा सर्वाधिक उत्कृष्ट पिगरमा बलिंग गर्ने खेलाडी समेत बन्न सफल भए ।

    अमेरिकाले नेपालविरूद्ध बनाएको ३५ रन एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो सबैभन्दा कम स्कोर हो ।

    सन् २००४ मा श्रीलंकाले जिम्बावेलाई समान ३५ रनमै रोकेको थियो । जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ।

    यसअघि पनि नेपालले अमेरिकालाई नै हराएको थियो।

    त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा आएका हुन् । ओमानले सिरिजका चारवटै खेल जित्यो । ओमानले नेपाल र अमेरिका दुबैलाई हराएको हो ।

  • पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

    पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र नेपालविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालविरुद्ध बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विवाद प्रकरणमा मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

    सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय भएका कारण पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै रिट दायर गरिएको हो ।

    मन्त्रीपरिषद्को निर्णयमा अख्तियारले हेर्न नमिल्ने भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीलाई भने यस काण्डमा मुद्दा दायर गरेको थिएन ।

    तर, सोही मन्त्रिपरिषद्ले गरेको निर्णयमा मन्त्री र सचिवहरु भने फसिएका छन् ।

    बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका छन् ।

    अख्तियारले नीतिगत निर्णय गरेको भन्दै उनीहरूलाई उन्मुक्ति दिएको छ।

    सर्वोच्चले उक्त रिटको पेशी शुक्रबारका लागि तोकिसकेको छ ।

    ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाइएको छ । तर, प्रधानमन्त्रीहरु भने उम्कन सफल भएका हुन् ।

  • सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो

    सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना, १ को ज्यान गयो

    सल्यान । सल्यानमा हतियार बोकेको सेनाको ट्रक दूर्घटना भएको छ । दूर्घटनामा एक जनाको ज्यान गएको छ ।

    सल्यानको कपुरकोट ३ चोरखालामा नेपाली सेनाको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा जमदार यादवप्रसाद घरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । दुर्घटनामा मेजर ईश्वर सिलवाल, सिपाही विशाल गुरुङ, रेशम हिटन मगर, विपिन श्रेष्ठ, हवल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापा गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

    तिब्र गतिमा रहेको सेनाको ट्रक सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले बताएको छ। ट्रकमा ७ जना सवार रहेको प्रहरीको भनाई छ ।

    घाइते सैनिकहरु थप उपचार गर्न सेनाकै हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

    सल्यानको सवुज गणबाट बुटवलतर्फ हातहतियार र विष्फोटक पदार्थ लगेर जाँदै गरेको लु १ ग १२३ नम्बरको ट्रक बुधबार दूर्घटनामा परेको हो ।

  • नयाँ भारतीय वायुसेवा भिस्ताराले नेपाल उडान थाल्यो

    नयाँ भारतीय वायुसेवा भिस्ताराले नेपाल उडान थाल्यो

    काठमाडौं । भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्सले काठमाडौं उडान थालेको छ ।

    मंगलबारदेखि यो कम्पनीले दिल्ली-काठमाडौं रुटमा उडान थालेको हो । टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको ज्वाइन्ट भेन्चरमा खुलेको यो कम्पनीको काठमाडौं पाँचौ अन्तर्राष्ट्रिय गन्तब्य हो ।

    कम्पनीले पहिलो उडान सिंगापुरमा गरेको थियो । जहाजमा प्रिमियम र इकोनोमी क्लासका सीट राखिएको छ ।

    दिल्लीबाट काठमाडौं राउण्ड ट्रिप फेयर इकोनोमी क्लासको ९ हजार ९ सय ९ र बिजनेस क्लासको ३९ हजार ९ सय ९९ भारू टिकट दर भाडा राखिएको छ ।

    काठमाडौंबाट दिल्ली जाँदा र फर्कदा इकोनोमी क्लासमा १६ हजार ९ सय ९९ र बिजनेस क्लासको ६१ हजार ९ सय ९९ भारू राउण्ड ट्रिप फेयर रहने कम्पनीले जनाएको छ ।

    भिस्ताराले भारतको आन्तरिक बजारमा भने ठूलो सनाल बिस्तार गरेको छ ।

  • १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

    १० प्रतिशत घट्यो बजेट, विकास खर्चमा कटौती

    काठमाडौं । सरकारले विकास खर्चमा भारी कटौती गर्दै बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको आकार घटाएको जानकारी दिएका छन् ।

    चालु आर्थिक वर्ष २०७६\७७ को अर्धवार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आधार घटाउने निर्णय गरेको हो ।

    अर्थमन्त्री अतिवडाका अनुसार आकार ९०.४ प्रतिशतमा झारेर १३ खर्ब ८५ अर्ब ९६ करोड कायम गरिएको हो ।

    चालु बर्षको बजेटको आकार १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत) रहने गरी नयाँ संशोधन आएको छ ।

    पुँजीगततर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) खर्च हुने भएको छ ।

    वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजन बजेटको ९२.२ प्रतिशत) खर्च हुने संशोधित अनुमान कायम गरिएको छ ।

    राजश्व लक्ष्य ५५ अर्ब रुपैयाँ घटाएर ९५.६ प्रतिशत कायम गरिएको । यस वर्ष ११ खर्ब राजस्व संकलनको लक्ष्य रहेको छ ।

    चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्ब ३२ अर्ब ५० करोड स्रोत व्यवस्थापन हुने भएको छ ।

    वैदेशिक अनुदानबाट ४३ अर्ब ५५ करोड ४६ लाख आउने भएको छ ।

    वैदेशिक ऋणतर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख परिचालन हुने अर्थमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजना, संघीय संसद भवन, काठमाण्डौं उपत्यकाभित्र सडक विस्तार तथा स्तरोन्नती, अधुरा आयोजना पुरा गर्दा धेरै बजेट खर्च हुने मन्त्रालयको भनाई छ ।

    सडक आयोजनाहरुमा समेत बजेटको ठूलो हिस्सा खर्च हुने भएको छ ।

    बजेटका अधिकांश सूचकांक सकारात्मक भएको भन्दै उनले आर्थिक वृद्धिदर भने कायम नै राखेका छन् । यस वर्ष सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

  • नवलपरासीमा ट्याक्टर दूर्घटना, ४ जनाको मृत्यु

    नवलपरासीमा ट्याक्टर दूर्घटना, ४ जनाको मृत्यु

    नवलपरासी । पूर्वी नवलपरासीमा भएको सवारी दूर्घटनामा चार जनाको ज्यान गएको छ । नवलपरासीको बुलिङ्गटार गाउँपालिका–३ छरछरेमा ट्रयाक्टर दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार दूर्घटनामा चारजनाको ज्यान गएको छ भने आठजना घाइते भएका छन्। छरछरेबाट ट्याक्टर बुलिङ्गटारतर्फ जाने क्रममा दूर्घटनामा परेको हो ।

    लु ४ च २५५६ नम्बरको ट्याक्टर मंगलबार बेलुका दुर्घटनामा परेको हो। प्रहरीका अनुसार स्थानीय २२ वर्षीय नरबहादुर मगर, ५९ वर्षीय यानसिंह सारु मगर, ४० वर्षीय कुलबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु मगरको निधन भएको हो ।

  • फिलिपिन्सद्धारा अमेरिकासँगको सैन्य सम्झौता रद्द

    फिलिपिन्सद्धारा अमेरिकासँगको सैन्य सम्झौता रद्द

    मनिला । फिलिपिन्सले अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

    दुई मुलुकबीचको सैन्य अभ्यास तथा तालिमसम्बन्धी सम्झौता रद्द गर्ने निर्णयमा फिलिपिन्स पुगेको हो ।

    फिलिपिन्स पछिल्ला दिनमा चीनसँग नजिक हुँदै गएको छ । फिलिपिनी रोड्रिगो दुतेर्तेले सैन्य साझेदार अमेरिकाबाट अलगत हुने चेतावनी दिँदै आएका थिए ।

    सोही मेसोमा फिलिपिन्सले यस्तो निर्णय गरेको हो । फिलिपिनी विदेश मन्त्रालयले यसको औपचारिक जानकारी अमेरिकालाई दिइएको सम्बन्धमा टुइट गरेको छ ।

    सम्झौता १८० दिनसम्म कायम रहने र त्यसपछि खारेज हुने प्रावधान रहेको छ । फिलिपिन्सको यो कदमले दुई मुलुकबीचको सम्बन्धमा नै असर पुग्न सक्ने चेतावनी अमेरिकाले दिएको छ ।

    गत महिना अमेरिकाले फिलिफिन्सका एक सांसदको भिषा रद्द गरिदिएपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिएको थियो ।

    त्यसपछि राष्ट्रपति दुतेर्तेले सेन्य सम्झौता खारेज गर्ने चेतावनी दिएका थिए।

  • के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?

    के सिन्धुपाल्चोकमा आइपुगेको हो कोरोना ?

    काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना भाइरस जस्तै लक्षणमा संक्रमित बिरामी भेटिएपछि यसले नेपालको चिन्ता बढाइदिएको छ ।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सोही रोगसँग मिल्ने प्रकृतिको लक्षण देखिएको भन्दै गाउँपालिकाले रोगको पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष पत्राचार गरेको छ ।

    गाउँपालिकाकाको गुम्बा बस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोको लक्षण देखिएको छ । यसको प्रकृति ठ्याक्कै कोरोनासँग मिल्छ ।

    पछिल्लो समय चीन आफैले बिरामीको चेकजाँच कडा गरेपनि नेपालतर्फको फितलो कार्यान्वयनका कारण सरकारको आलोचना भइरहेको छ ।

    त्यसमाथि जुगल गाउँपालिकाको पत्रले भने झस्काइदिएको छ । संक्रमित भेटिएको स्थान चीनसँगको सीमा नजिकै पर्ने स्थान हो ।

    तर, यो स्थानबाट नाका खोलिएको भने छैन ।

    चीनबाट फैलिएको कोरोनाले अहिलेसम्म १ हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । ४० हजार भन्दा बढीमा यसको संक्रमण देखिसकेको छ ।

  • चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

    चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

    काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने भएको छ ।

    मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मिति तोकेको हो । विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन पठाइने भएको हो ।

    वुहानबाट १८० नेपाली विद्यार्थीले नेपाल आउन निवेदन लिएका छन् ।

    नेपालमा यति ठूलो संख्यामा मानिस बोक्न सक्ने जहाज नेपाल एयरलाइन्ससँग मात्र छ । नेपाल एयरलाइन्सको वाइडबडीले एकसाथ २ सय ७४ जना यात्रु बोक्न सक्छ ।

    वुहानबाट विद्यार्थी ल्याउन ढिलाई गरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । वुहानमा मात्र १ हजार भन्दा बढी मानिसको कोरोना भाइरसले ज्यान लिएको छ ।

    चीनमा ३५ हजारभन्दा माथि यसको संक्रमण फैलिएको छ । चीनबाट नेपाल आएका विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्छ ।

    त्यसका लागि खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा तयारी गरिएको छ ।

    विद्यार्थीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मी खटिने छन् । चीनमा डिसेम्बरबाट यो महामारी फैलिएको हो ।

  • एभरेष्ट पानोरमा रिसोर्ट तीन महिना निलम्बित

    एभरेष्ट पानोरमा रिसोर्ट तीन महिना निलम्बित

    काठमाडौं । पाहुनाको सेवा सुविधामा लापरवाही गरेको भन्दै दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट निलम्बनमा परेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनस्थित एभरेष्ट पानारोमा रिसोर्ट तीन महिना बन्द गराउन निर्देशन दिएको हो ।

    यस रिसोर्टमा ७ माघमा ८ जना भारतीय पर्यटकको कोठामा निसास्सिएर ज्यान गएको थियो । ग्यास हिटर बालेर सुत्दा भारतीय पर्यटकको ज्यान गएपछि सरकारले छानविन समिति गठन गरेको थियो ।

    समितिले घटनामा रिसोर्टले पाहुनाको सेवा सुविधामा रिसोर्टले लापरवाही गरेको पाएको थियो । समितिको सिफारिसको आधारमा मन्त्रालयले रिसोर्टलाई निलम्बन गर्ने निर्ण गरेको हो ।

    मन्त्रालयले रिसोर्ट आवश्यक कानुनी प्रक्रिया पूरा गराएर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    मत्रालयका अनुसार माघ २६ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त रिसोर्टको स्तर वर्गीकरण नभएको, पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोर रहेकाले तीन महिना निलम्बन गरिएको हो ।

    पर्यटन ऐन २०३५ अनुसार होटल, लज, रेस्टुरेन्ट, रिसोर्ट तथा बार नियमावलीअनुसार वर्गीकरण, मापदण्डअनुसार प्रारम्भिक वातावरणीय परीक्षण, वातावरण प्रभाव मूल्यांकनसमेत सम्पन्न गराएर रिसोर्ट सञ्चालन गर्न निर्देशन दिइएको छ।

  • दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत

    दिल्लीमा आमआदमीको ह्याट्रिक, केजरीवाललाई भारी बहुमत

    काठमाडौं । भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीले लगातार तेस्रो पटक चुनाव जितेको छ ।

    केजरीवालको पार्टी आम आदमीले भारी बहुमतका साथ चुनाव जितेको हो । मंगलबार साँझसम्म अधिकांश सीटको नतिजा आइसकेको छ ।

    कूल ७० सीटका लागि भएको निर्वाचनमा आम आदमीले भारी बहुमत ल्याएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाललाई बधाई समेत दिएका छन्।

    शनिबार दिल्लीमा भएको विधानसभा चुनावको नतिजा मंगलबार बिहानदेखि आउन थालेको छ ।

    साँझसम्म अधिकांश ठाउँको अन्तिम नतिजा आइसकेको छ। प्रधानमन्त्रीले आमआदमीलाई बधाई दिँदै दिल्लीका जनताको आकांक्षा पुरा गर्न शुभकामना समेत दिएका छन् ।

    मंगलबार साँझसम्म आमआदमी पार्टीले ४६ सिटमा जित निकालेको छ । १६ सिटमा अग्र स्थानमा छ ।

    बहुमत ल्याउन ३६ सीट भए पुग्छ । भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीमा मात्र ६ सिटमा जीत निकालेको छ ।

    अब दुई सीटमा मात्र भाजपाको अग्रता छ । मंगलबार रातीसम्म सबै स्थानको नतिजा आइसक्नेछ ।

    आम आदमी पार्टीले ९० प्रतिशत सिट ल्याएको छ । अब उसले केजरीवालको नेतृत्वमा पुन सरकार चलाउने छ ।

    उनी यसअघि लगतार दुई पटक मुख्यमन्त्री बनिसकेका छन् ।

    केजरीवाल सन् २०१३मा ४९ दिनका लागि मुख्यमन्त्री बनेका थिए।

    सन् २०१५मा भएको विधानसभा चुनावमा ७० मध्ये ६७ सिट जित हासिल गरी उनको पार्टीले एकलौटी सरकार चलाएको थियो । अहिले पनि आम आदमी कै एकलौटी सरकार चल्नेछ ।

  • विमानस्थलमा लागेको आगोबारे छानविन गर्न समिति गठन

    विमानस्थलमा लागेको आगोबारे छानविन गर्न समिति गठन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लागेको आगलागीबारे छानबिन गर्न समिति गठन भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

    सोमबार बसेको सचिवस्तरको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

    मन्त्रालयका उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कूलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम सदस्य तोकिएका छन् ।

    समितिले घटनाको सत्य तथ्य पत्ता लगाइ ७ दिनभित्र सुझावसहितको प्रतिवेदन बनाउने जिम्मेवारी पाएको छ ।

    सोमबार राति सवा ८ बजे विमानस्थलको प्रस्थान कक्षमा रहेको कफी पसलमा आगलागी भएको थियो ।

    सोही कारण काठमाडौंको उडान र अवतरण अवरुद्ध भएको थियो । विमानस्थलमा आगो लाग्नुलाई संवेदनशिल मानिन्छ ।

  • बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै

    बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै

    काठमाडौं । पछिल्लो समय नेपाल र बंगलादेशबीच उच्चस्तरीय भ्रमणले तीब्रता पाएको छ ।

    मंगलबार मात्र बंगलादेशी सेनापति अजिज अहमद नेपालको ५ दिने भ्रमण पुरा गरी स्वदेश फर्किएलगत्तै नेपालबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बंगलादेशको भ्रमण गर्ने भएका छन् ।

    यसअघि तीन महिनाअघि बंगलादेशका राष्ट्रपतिले नेपालका ५ दिने भ्रमण गरेका थिए ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली फागुन ५मा तीनदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीको भ्रमण स्वीकृत गरेको हो । फागुन ५ मा ढाका जाने मन्त्री ज्ञवालीको टोली ७ फागुनमा स्वदेश फर्कने छ ।

  • प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी

    प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी

    काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।

    अत्यन्तै कम प्रोफाइलमा बसेर इमानदारीसाथ काम गरेका ज्ञवालीलाई मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले आइजीपी बनाएको हो ।

    सर्वेन्द्र खनालको कार्यकाल सकिएसँगै उनी नेपाल प्रहरीको शक्तिशाली प्रमुख पदमा आइपुगेका हुन् ।

    ज्ञवाली निर्विवाद रुपमा आईजीपी बनेका छन् । ज्ञवालीले आगामी ५ महिना यो पद सम्हाल्नेछन् ।

    त्यसपछि नियमित अवकास पाएर उनी प्रहरी प्रशासनबाट बिदा हुनेछन् ।

    यस पटक भने प्रहरी प्रमुखको पदमा बीना कुनै विवाद नियुक्त भएपछि विवादमुक्त प्रहरी प्रशासन हुनेमा आशा पलाएको छ ।

    सेवाहदका कारण अनिवार्य अवकाश पाएर सोमबार सर्वेन्द्र खनाल महानिरीक्षकबाट बिदा भएका हुन् ।

    ज्ञवाली २८ औं आईजीपी नियुक्ति भएका हुन् । प्युठानको साविक बादीकोट गाविस हाल झिम्रुक गाउँपालिका–१० मा जन्मिएका ठाकुर मध्यमवर्गीय परिवारका सदस्य हुन् । उनी २७ असार २०४७ सालबाट प्रहरी पेशामा छिरेका थिए ।

  • भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक

    भ्रमण वर्षलाई झड्का, पहिलो महिनामै घटे पर्यटक

    काठमाडौं । नेपाल आउने पर्यटक भ्रमण वर्ष २०२० को पहिलो महिनामै घटेका छन् ।

    यसले सरकारको वार्षिक २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य नराम्रोसँग प्रभावित हुने संकेत गरेको छ ।

    अझ रोचक तथ्थ्य, चीनबाट आउने पर्यटक कोरोना भाइरसका वावजुत बढेका छन् भने भारतीय पर्यटकको संख्यामा कमी आएको छ ।

    अमेरिकाबाट आउने पर्यटकको संख्यामा समेत जनवरीमा कमी आएको छ ।

    नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२० मा कूल ७९ हजार ६ सय ८६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या जनवरी २०१९ को तुलनामा १५८७ अर्थात करीव ४ प्रतिशत कम हो ।

    २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

    तथ्यांक अनुसार जनवरी २०२० मा भारतबाट १६ हजार ८ सय ८२ पर्यटक नेपाल आएका छन्।

    सन् २०१९ मा भारतबाट १७ हजार ६ सय ६३ पर्यटक आएका थिए ।

    चीनबाट सन् २०१९को जनवरीमा १२ हजार ९ सय १९ पर्यटक आएकोमा सन् २०२० मा भने १३ हजार ३ सय ३ जना पर्यटक आएका छन् ।

    अमेरिकाबाट सन् २०१९ जनवरीमा ६ हजार ५९२ जना पर्यटक आएकोमा सन् २०२० जनवरीमा ६३८६ पर्यटक आएका छन् ।

    जनवरीमा चिनियाँ पर्यटक बढेपनि आगामी दिनमा भने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घट्ने छ ।

    अर्कोतर्फ चीन हुँदै नेपाल आउने यात्रुलाई समेत अधिक कडाई गरिएका कारण समग्र रुपमा पर्यटक आवागमन कठिन भएको छ ।

    यसले नेपालको भ्रमण वर्ष असफल हुने चिन्ता सरोकारवालामा छ ।

  • १८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने

    १८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने

    काठमाडौं । अब नेपालमा सवारी चालक अनुमति पत्र लिन १८ वर्ष पुग्नु पर्ने भएको छ ।

    सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने तयारी गरेको छ । यसअघि १६ वर्षको उमेरमै लाइसेन्स पाउने प्रावधान छ ।

    यातायात व्यवस्था विभागका अनुसार अब न्यूनतम उमेर १८ वर्ष तोक्नेगरी ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ आउँदैछ ।

    लाइसेन्सको समय सीमा समेत अब बढ्नेछ । अब एक पटक लाइसेन्स लिएपछि त्यो १० वर्षका लागि मान्य हुनेछ ।

    अहिले पाँच वर्षमा नवीकरण गर्नुपर्छ । अब सवारी चालक बन्न कम्तिमा कक्षा १० पास गरेको हुनुपर्ने प्रावधान समेत ल्याइदैछ ।

    यसबाट दूर्घटना न्यूनिकरण हुने विश्वास सरकारको छ ।

    पछिल्लो समय सानो उमेरमै चालक बन्ने र उनीहरुले लापरवाही तरिकाले सवारी चलाउँदा धेरैके ज्यान गएको निष्कर्षमा सरकार पुगेको हो ।

  • नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा

    नेपाल एयरलाइन्सबाट जापानको नारिता उडान मात्र ३७ हजारमा

    काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि प्रवद्र्धनात्मक भाडादर सार्वजनिक गरेको छ ।

    जापानमा रहेका नेपाली र पर्यटकले नेपाल आउँदा होस वा नेपालबाट जापानमा जाँदा अब राष्ट्रिय ध्वजाबाहकमा मात्र ३७ हजार भाडा तिरेर नारितासम्म उड्न सकिने भएको छ ।

    नेपाल एयरलाइन्सले २ मार्च (१९ फागुन)बाट जापानमा उडान थाल्दैछ । उडानको तयारी पुरा भएको र टिकट बुकिंग धमाधम भइरहेको निगमले जनाएको छ ।

    नेपाल एयरलाइन्सले अहिले जापानकै ओशाकाबाट उडान गरिरहेको छ । नारिता शुरु भएपछि ओशाका उडान भने बन्द हुनेछ ।

    यस रुटमा नेपाल एयरलाइन्सले वाइडबडी ए३३० जहाज उडाउने छ । करीव साढे ६ घण्टा लामो यस उडानमा दुई तर्फी भाडादर भने ७६ हजार रुपैयाँ तोकिएको छ ।

    जापानबाट बीना ट्रान्जिट नेपालसम्म आइपुग्न सकिने भएकाले यो रुट नाफामा चल्ने नेपाल एयरलाइन्सको विश्वास छ ।

    नेपाल एयरलाइन्सले चीनमा समेत उडान बिस्तारको योजना बनाएको थियो । तर कोरोना भाइरसका कारण चीन उडान तीन महिना पछाडी धकेलिएको छ ।

  • गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

    गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

    काठमाडौं । उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान ायोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै आक्रामण भएको नेपाली कांग्रेस लचिलो बनेको छ ।

    अब नेपाली कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको हो ।

    खासगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको एक विभागजस्तो बनाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाउने गरेको निष्कर्ष निकाल्दै कांग्रेसले गच्छदारको हकमा भने पार्टीले काँध थाप्न नसक्ने भएको छ ।

    कानूनी रुपमा कमजोर धरातल र गलत व्यवहार भइसकेको अवस्थामा गच्छदारले आफै कानूनी लडाई लड्नु पर्ने भएको छ ।

    खासगरी गच्छदारलाई मुद्दा हालेर दुई पूर्वप्रधानमन्त्रीलाई किन छाडेको भन्ने कांग्रेसकै अभिव्यक्तिले गच्छदारसमेत दोषि थिए भन्ने प्रमाणित हुने भएकाले यो मुद्दालाई कांग्रेसले अब नउचाल्ने निष्कर्षमा पुगेको हो ।

    संसदको गतिरोध खोल्नेबारे औपचारिक निर्णय संसदीय दलबाट हुने भएको छ ।

    अख्तियारले २२ माघमा ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजनामन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै कांग्रेसले तीन पटकसम्म संसदमा अवरोध गरिसकेको छ ।

    सोमबार कांग्रेसका शीर्षनेताहरुबीच संसदको अवरोध हटाउने सहमति जुटेको हो ।

    पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नुभन्दा अगाडी शीर्ष नेताबीच छलफल भएको थियो । केन्द्रीय समिति बैठकमा उपसभापति गच्छदारले डेढ घन्टा लामो भाषण गरेका थिए ।

  • पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

    पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

    काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको छ । ललितपुर सानेपास्थित घरमै उनको सोमबार हत्या भएको हो ।

    उनको घरमा काम गर्ने कामदार विजय चौधरीले समेत घरमै झुण्डिएर आत्महत्या गरेका छन् ।

    कार्कीको हत्या चौधरीले नै गरेको र त्यसपछि आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कार्कीको निवासमा जडान गरिएको सीसीटीभी क्यामराको फूटेजमा चौधरीले कार्कीको घाटीमा समातेको देखिएको प्रहरीले जनाएको छ ।

    चौधरीले शुरुमा पिर्काले हिर्काएर भुईमा ढलाएको र त्यसपछि कपालमा समातेर भूईमा टाउको बजारेर विभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।

    कार्कीलाई हत्या गरिसकेपछि चौधरी स्वयमले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेका हुन् । भान्छा छेऊ रहेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्यबाट कामदारले नै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।

    तर, कारणबारे भने खुलेको छैन । चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेर पालेर हुर्काएको पाइएको छ ।

    प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की भने घरमा थिएनन् । उनी बिहानै पशुपतिनाथ दर्शनमा निस्किएका थिए ।

    फर्किएर घरमा आउँदा श्रीमती मुना अचेत अवस्थामा रत्ताम्य फेला परेकी थिइन् भने कामदार विजयले आत्महत्या गरेको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले तत्काल मुलालाई अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

  • हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त

    हङकङमा पानी जहाजमै थुनिएका ३६ सय मानिस मुक्त

    हङकङ । हङकङ चार दिनसम्म पानीजहाजमा थुनिएका ३६ सय मानिस मुक्त भएका छन् । कोरोना भाइरसको निगरानीका लागि भन्दै उनीहरुलाई जहाजमै बन्धक बनाइएको थियो ।

    उनीहरुलाई कोरोनाको परीक्षण गरि मुक्त गरिएको छ । जहाजका केही कर्मचारी र यात्रमा कोरोना रहेको आंशक गरिएकोपछि वर्ल्ड ड्रीम क्रुजमा करीव३ हजार ६ सय यात्रु र चालक दललाई सदस्य जहाजमै थुनिएका थिए ।

    जापानमा त्यस्तै पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित मानिस भेटिएपछि यो जहाजमा पनि आंशका बढेको थियो ।

    चीनबाट फैलिएको कोरोनाको संक्रमणले अहिलेसम्म ९ सय भन्दा बढी मानिसको ज्यान गइसेको छ ।

    चीनसहित २७ मुलुकमा यसको संक्रमण बढेको छ । ३५ हजार भन्दा बढी मानिसमो यसको संक्रमण फैलिएको छ ।

    यो रोगका कारण बढाईएको सुरक्षा निगरानीका कारण हरेक मुलुकमा मानिसको आवतजावत प्रभावित भएको छ ।

    त्यसमा पनि चिनियाँ नागरिकलाई अझ बढी सास्ती छ । चीनमा बसेर फर्कने अन्य मुलुकका नागरिकमाथि पनि उत्तिकै निगरानी गरिएको छ ।