Author: Vishwanews.com

  • अब ललितपुरमा स्मार्ट घर नम्बर

    अब ललितपुरमा स्मार्ट घर नम्बर

    ललितपुर । ललितपुर महानगरपालिकाले घर नम्बर प्रविधिमा आधारित भएर राख्ने भएको छ । त्यसका लागि वडा नं ३ बाट मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर राख्ने काम शुरु भएको हो ।

    मेयर चिरिबाबु महर्जनले मङ्गलबार तीन वटा घर नं राख्दै यस कामको शुरुवात गरे ।

    उनले ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लेखेको प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेका थिए ।

    वडा नं ३ मा पाँच हजार घरधुरी छन् । अहिले परियोजनाका रूपमा एक हजार घरमा नम्बरप्लेट राखिने भएको छ ।

    यस्तो घर नम्बर प्रविधिमा आधारित भएको र यसले सजिलै घर नम्वर पत्ता लाग्ने बताइएको छ ।

    स्मार्ट सीटीको अवधारण अनुसार मेट्रिक प्रणालीमा आधारित घर नम्बर राख्न लागिएको हो ।

    ललितपुर महानगरपालिमा मात्र ८८ हजार घर रहेको अनुमान छ । त्यसमध्ये ५८ हजार ४२३ आवासीय अन्य करीब ३० हजार रहेका छन् ।

    नम्बरप्लेट राख्न घरजग्गाको कर तिरेको प्राधवान हुनुपर्ने नियम छ । प्रतिनम्बरप्लेट १ हजार रुपैयाँ लिएर महानगरले घर नम्बर जडान थालेको हो ।

  • दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए

    दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए

    काठमाडौं । दुई महिला अगाडी चल्ला उत्पादन गर्ने व्यवसायीले साना चल्ला मार्दै खाल्डोमा पुर्ने अभियान चलाए । १० दिन चलेको यो अभियानका दौरान लाखौं चल्ला मारिएका थिए ।

    जो दुई महिनापछि वयश्क बनी मासुका लागि योग्य बन्थे । त्यतिमात्र होइन, अण्डा समेत फुटाइएको थियो ।

    त्यतिबेला मासुको उचित मूल्य नपाएको भन्दै व्यापारिले गरेको यो कुकर्म अहिले मासुको मूल्य हात्तै बढाउने रणनीति अनुसार भएको पाइएको छ ।

    यो मामलामा विज्ञ कृषिमन्त्री घनश्याम भुसाल मौन छन् । तर, बजारमा १० दिनको फरकमा मासुको मूल्य १ सय ३० रुपैयाँभन्दा बढी महंगो भइसकेको छ ।

    माघको पहिलो साता प्रतिकेजी २ सय ९० रूपैयाँ रहेको मासुको मूल्य अहिले ४ सय १० रूपैयाँ पुगेको छ ।

    सरकारले उचित नियमन नगर्दा हिँजो चल्ला मारेर आज कृतिम अभाव देखाएर दोब्बर मूल्य असुल गर्ने रणनीति रहेको पाइएको छ ।

    अहिले मासुको मूल्य बजारमा अधिकतम ४२० रूपैयाँसम्म पुगेको छ ।

  • आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

    आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै

    काठमाडौं । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो पटक घरेलु मैदानमा वानडे सिरिज खेल्दैछ । खेल आजबाट शुरु हुँदैछन् ।

    त्रिवि किकेट मैदानले समेत यसै खेलबाट वानडे मान्यता पाउँदैछ । कीर्तिपुरमा पहिलो खेलका लागि ओमान र नेपालका कप्तानले टस गरेसँगै यो मैदानले वानडे मान्यता पाउने हो ।

    नेपालले २०२३ मा हुने विश्वकपको यात्राका लागि यो प्रतियोगिता महत्वपूर्ण सावित हुनेछ । नेपाल, ओमान र अमेरिका यस सिरिजमा भिड्दैछन् ।

    सबै टोलीले एकआपसमा २, २ खेल खेल्नेछन् । क्रिकेट मैदानमा हुने हरेक खेलका लागि दुई सय रुपैयाँ टिकट तोकिएको छ ।

    सबै खेलमा दर्शक खचाखच हुने अनुमान रहेको छ । नेपाल ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदानमा उत्रिदैछ ।

    पारस खड्काले कप्तानी छाडेपछि पहिलो महत्वपूर्ण सिरिजमा ज्ञानेन्द्रले कप्तानी गर्दैछन् ।

    अमेरिका सन् २०१० पछि पहिलो पटक नेपाल आएको हो । ओमन भने नियमित नेपालमा खेलिरहेको टोली हो । यी दुबै टोलीमा अन्य मुलुकबाट आएका आप्रवासी खेलाडीको बाहुल्य रहेको छ ।

  • प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

    प्रधानमन्त्रीको सांगितिक रुप भयो सामाजिक संजालमा भाइरल

    काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसुरी बजाइरहेको र पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटिरहेको फोटो सार्वजनिक भयो ।

    प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको यो सांगितिक रुप भने सामाजिक संजालमा भाइरल भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको यो तस्वीरलाई आम मानिसले हाँसोको पात्र तथा ब्यंग्यका पमा प्रस्तुत गरेका छन् ।

    कसैले प्रधानमन्त्री निवासलाई रोधीघर भनेका छन् भने कसैले पार्टी प्यालेस भन्दै व्यंग्य गरेका छन् ।

    मंगलबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य र पाहुनाहरुकै अगाडी यो सांगितिक माहौल बनेको हो ।

    बालुवाटारमा प्रधानमन्त्रीले बाँसुरी धुन बजाएर सबैलाई अचम्मित बनाएका हुन् ।

    मदन भण्डारी कला, साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा नेपाली मौलिक धुन, सारंगी साँझ कार्यक्रम चलाइएको थियो ।

    सोही कार्यक्रमको तस्वीर भाइरल भएको हो । सम्पादकसमेत सोही अवसरमा बालुवाटारमा उपस्थित थिए ।

  • प्रधानमन्त्रीले सुनाए किड्नी ट्रान्सप्लान्टको योजना

    प्रधानमन्त्रीले सुनाए किड्नी ट्रान्सप्लान्टको योजना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी ट्रान्सप्लान्ट गरिने भएको छ । उनी स्वयमले यसको जानकारी गराएका हुन् । मंगलबार उनले नेपाली संचारमाध्यमका सम्पादकहरुसँग वालुवाटारमा भेटवार्ता गरेका छन् ।

    सो क्रममा प्रधानमन्त्रीले छिट्टै किड्नी ट्रान्सप्लान्टको योजना रहेको बताएका हुन् । अहिले नियमित डायलासिस गरिरहनु पर्छ ।

    त्यसका लागि नियमित अस्पतालसमेत गइरहनु पर्छ । त्यसको साटो ट्रान्सप्लान्ट स्थायी उपाय हुने प्रधानमन्त्रीले बताए । त्यसपछि तीन वर्षसम्म ढुक्कले सरकार चलाउने उनको भनाई थियो ।

    अहिले भन्दा पनि अझै बलियो भएर तीन वर्ष सरकार चलाउन र काम गर्न किड्नी ट्रान्सप्लान्ट गर्न लागेको प्रधानमन्त्रीले बताएका छन् ।

    उनको १२ वर्षअघि मृगौला ट्रान्सप्लान्ट गरिएको थियो । फेरिएको मिर्गौलाले समेत काम गर्न छोडेको छ ।

    सोहीकारण अहिले प्रधानमन्त्रीले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् ।

    प्रधानमन्त्रीले अझै तीन वर्ष आफैले सरकार चलाउने बताए ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कै प्रस्तावअनुसार पहिलाको आलोपालो प्रधानमन्त्री हुने सहमति परिवर्तन भई पाँच वर्ष आफू नै प्रधानमन्त्री हुने निर्णय भएको समेत उनले जानकारी दिए ।

    उनले सम्पादकको मुटु नभएको विषयमा बोल्दै पत्रकारले बल फ्याँकेका कारण आफूले ब्याटिंग गरेको भन्दै माइन्ड नगर्न सुझाव दिए ।

  • वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल

    वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल

    काठमाडौं । चीनको वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल कायम रहेको छ । सरकारले कति जनालाई कसरी उद्दार गरी कहाँ राख्ने भन्नेबारे निष्कर्षमा पुग्न नसक्दा मंगलबार समेत यसबारे अन्यौल कायमै रह्यो ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज ढकालले नेपालीको उद्दारको तयारी भइरहेको जानकारी संसदमा गराए ।

    तर, उनले कसरी कहाँ राख्ने गरी उद्दार हुँदैछ भन्नेबारे भने खुलाएनन् । यता, सरकारले अहिलेसम्म वायुसेवा कम्पनीबाट जहाजको जोहो समेत थालेको छैन ।

    त्यसकारण चीनबाट नेपालीलाई लिन कुन जहाज जाँदैछ भन्ने समेत अन्यौल कायमै छ । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स कुनैसँग पनि जहाज मागेको छैन ।

    किनकी नेपालबाट यी दुई कम्पनीले मात्र अन्तर्राष्ट्रिय उडान गर्छन् । यता, चीनले भने कोरानो प्रभावित वुहानमा नेपाली विद्यार्थी सुरक्षित रहेको भन्दै नेपाल ल्याउने भए आवश्यक तयारी गर्न सुझाव दिएको छ ।

    मगलबार नै चिनियाँ राजदूत होउ यान्छीले उनीहरुलाई उद्दार गर्ने हो भने विमानस्थाल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न सुझाव दिएकी छिन् ।

    चीनले केही नेपालीलाई फर फिर्तिमा रोकेको सम्बन्धमा समेत संक्रमणको आंशकाले यसो गरिएको स्पष्ट पारेको छ ।

    चीनले संक्रमणको आंशका लागेको बिरामीलाइं अस्पताल भर्ना गरी उपचार गरेपछि मात्र पठाउने गरेको छ । यसले चीनबाट यो रोगको संक्रमण जान पाउँदैन ।

  • अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका

    अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका

    अछाम । अछामस्थित पन्चदेवल नगरपालिका २ का वडाअध्यक्ष पदमबहादुर धामी मृत भेटिएका छन् । अछाम प्रहरीले यसको पुष्टी गरेको छ ।

    धामीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँस्थित भैसी गोठमा भेटिएको हो ।

    अनुहारमा चोटपटक लागेका कारण उनको हत्या भएको हुन सक्ने आंशका प्रहरीको छ । यद्दपी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

  • घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

    घाटामा चलेका वायुसेवा कम्पनी मर्जरमा जान सक्ने

    काठमाडौं । नेपालमा हवाई इतिहास लामो छैन । नेपाल एयरलाइन्सले करीव ६ दशक आफ्नो उडान भरेको छ भने निजी वायुसेवा कम्पनी आएको मात्र तीन दशक पुग्दैछ ।

    यस अवधिमा सयौं कम्पनी जन्मिए, चले र हराए । नेपाल एयरलाइन्सबाहेक खुलेपछि निरन्तर चल्दै आएको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयर हो । त्यसबाहेक अन्य कम्पनीसँग लामो इतिहास छैन ।

    यसो हुनुमा कम्पनी टाट पल्टैदै जानु, व्यापार गर्न नसक्नु, दूर्घटना भएपिच्छे जहाज घट्नु, नयाँ थप्न नसक्नुजस्ता कारणले भूमिका खेलेको छ ।

    अर्थातः कमजोर कम्पनी भएका कारण त्यसको असर हवाई उद्योगमा परेको हो ।

    अब सरकारले घाटामा चल्नुर्ने बाध्यता भएका वायुसेवा कम्पनी एक आपसमा गाभिन र प्राप्ति (मर्जर र एक्वीजिसन)मा जान सक्ने गरी प्रावधान ल्याउँदैछ । त्यस कार्यमा प्रोत्साहन समेत गर्ने गरी सरकारले हवाई नीति तयार पारेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक वायुसेवा कम्पनीमा मर्जरको सुविधा ल्याएको हो ।

    मन्त्रालयले राष्ट्रिय हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । यो नीति पारित भएसँगै कार्यान्वयनमा आउनेछ ।

    ‘अस्वस्थ प्रतिस्पर्धाका कारणबाट वायुसेवा संस्थालाई पलायन हुन नदिई क्षमता तथा पूँजी लगानीको आधारमा दीगो सञ्चालन सुनिश्चित गर्न वायुसेवा कम्पनी पनि एक आपसमा गाभिने र प्राप्ती गर्ने क्रियाकलापलाई प्रोत्साहन गरिने छ’, नीतिको मस्यौदामा लेखिएको छ ।

    नेपालमा १९ वटा वायुसेवा कम्पनी आन्तरिकतर्फ संचालनमा छन् । विगतमा समेत दर्जनौं कम्पनी स्थापना भएका थिए ।

    तर, उनीहरु धेरैले शुरुवात नै गर्न सकेनन्, कतिपय भने टाट पल्टिएर बन्द भए ।

    अहिले ९ वटा ठूला जहाज उडाउने कम्पनी र १० वटा हेलिकोप्टर कम्पनीले सेवा दिइरहेका छन् । अन्तराष्ट्रियमा तीन कम्पनीले (नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर)ले सेवा दिइरहेका छन्

  • दामन दूर्घटनाको कारण अटेरी पर्यटक, रिसोर्टको वेवास्ता

    दामन दूर्घटनाको कारण अटेरी पर्यटक, रिसोर्टको वेवास्ता

    काठमाडौं । मकवानपुरको दामनमा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा गत माघ ७ मा ८ जना भारतीय पर्यटकको मृत्यु भएको घटनामा पाहुना र होटल व्यवस्थापन दुबैले गल्ती गरेको पाइएको छ ।

    रिसोर्टको एउटै कोठामा ८ जना सुतेको स्थानमा ग्यास हिटर बाल्दा निस्सासिएर उनीहरुको मृत्यु भएको थियो । उनीहरुले सुत्दा झ्याल ढोका बन्द गरेका कारण निसास्सिएर ज्यान गएको हो ।

    यो घटना हुनुमा रिसोर्टले पाहुनालाई मौसमको जानकारी दिन नसक्नु, पुराना भएका उपकरण नियमित मर्मत गर्न नसक्नु, पर्याप्त सुविधा दिन नसक्नुजस्ता कमजोरी गरेको छ ।

    पाहुनाले समेत रिसोर्टका कर्मचारीलाई अटेर गरी जबर्जस्ती गर्नु, बच्चालाई देखाएर रिसोर्टका कर्मचारीलाई तर्साउनु मूख्य गल्ती भएको छ ।

    सरकारले यो घटनापछि छानविन समिति बनाएको थियो । समितिको प्रतिवेदन अनुसार दूर्घटनामा दुबै पक्ष सचेत भएको भए क्षति नहुने औल्याइएको छ ।

    पाहुना राती साढे ९ बजे रिसोर्ट पुग्दा बाहिर अत्यधिक चिसोले उनीहरु आत्तिकएको, उनीहरुको साथमा बालबालिका भएपनि पर्याप्त न्यानो लूगा नबोक्नुमा रिसोर्टले बेलैमा जानकारी गराउन नसक्नुलाई कमजोरी मानिएको छ ।

    रिसोर्टका उच्च तहका कर्मचारी सुतेपछि तल्लो तहका कर्मचारीलाई थर्काएर हिटर कोटा भित्र लगेको पाइएको छ ।

    कर्मचारीले भने हिटर बालेर सुत्दा दूर्घटना हुन सक्ने भन्दै सचेत गराएका थिए ।

    भारतको केरलास्थित तातो वातावरणबाट आएका पर्यटकलाई दामनको चिसो अधिक लागेको र त्यो सहनै नसकेर हिटर मगाएको पाइएको छ ।

    यद्दपी कोठामा विद्यूतीय बेड भने रहेको पाइएको छ । त्यो बेड नतातेको भन्दै पाहुनाले हिटर लगेका थिए ।

  • खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो

    खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो

    काठमाडौं । सरकारले खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगमका अनुसार प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि भएको छ । यो मूल्य राती १२ बजेबाट लागु हुनेछ ।

    निगमका अनुसार भारतबाट खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । सोहीअनुसार प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको छ ।

    अब ग्यासको मूल्य अब प्रति सिलिन्डर १३७५ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको बताएको छ ।

    भारतबाट आएको मूल्यमा समायोजना गर्दा डिजेल र पेट्रोलको मूल्य घटेको हो । यी दुबैमा प्रति लिटर १ रुपैयाँ घटेको छ ।

    यसअनुसार डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ ।

    मूल्य समायोजन भएसँगै नेपालतर्फ वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १६ रुपैयाँ ४० पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १६ रुपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन जान्छ ।

  • क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

    क्याम्पनाउ पुगिन् प्रियंका, बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’

    काठमाडौं । नायिका प्रियंका कार्की बार्सिलोनाको होम ग्राउण्डमा लाइभ फूटबल हेर्न पुगेकी छिन् । उनी सोमबार बिहान भएको बार्सिलोना र लेभान्टेबीचको खेलका लागि क्याम्पनाउ पुगकी हुन् ।

    उनी बार्सिलोनाको आधिकारिक फेसबुक पेजबाट भएको प्रिम्याच लाइभमा समेत देखा परेकी थिइन । करीव ३ मिनेट लामो भिडियोमा उनी र अर्को एक जना युवतीले आफ्नो अनुभव बाँडेका थिए ।

    प्रियंका ब्याइफ्रेण्ड आयूष्मान देशराज जोशीका साथमा पुगेकी हुन । स्पेनिस लीग ला लिगा अन्तर्गत बार्सिलोना र लेभान्टेबीचको खेलका लागि उनी मैदानमा पुगेकी हुने ।

    उनको तस्वीर सामाजिक संजालबाट सार्वजनिक गर्दै बार्सिलोनाले ‘वि लभ नेपाल’ पोष्ट गरेको छ ।

    उनको भिडियोसमेत बार्सिलोनाले पोष्ट गरेको छ । यो पोष्ट भने दक्षिण एसियाली मुुलुकमा मात्र देखिन्छ । किनकी लालीगाको फेसबुक लाइभबाट प्रत्यक्ष प्रसारण हुने गरेको छ । लालीगाको प्रसारण अधिकार फेसबुकले लिएको छ ।

    प्रियंकाले आइतबार रातिको खेल सुरु हुनुअघि ‘ला लिगा’ को फेसबुक लाइभमार्फत अंग्रेजी र नेपाली दुबै भाषामा बोलेकी छिन् ।

    उनले त्यसक्रममा धेरै नेपाली बार्सिलोना आउन चाहने तर नपाउने भन्दै भनेकी छिन्, ‘मैले सबैको लागि यो सपना बाँचिरहेको छु, यहाँ यति रमाइलो भइरहेको छ । यो क्षण म जिन्दगीभर बिर्सिन सक्दिनँ ।’

    फेसबुक लाइभकै क्रममा प्रियंकालाई खेलमा कति गोल हुन्छ भनेर अनुमान समेत गर्न लगाइएको थियो । उनले कूल चार गोलको अनुमान गरेकी थिइन् ।

    फेसबुक लाइभमा उनले बार्सिलोनाका कप्तान लियोनल मेस्सी आफ्नो मन पर्ने खेलाडी रहेको बताएकी छिन् । ‘मलाई मेस्सी मन पर्छ किनभने उनी तेज छन् र उनको दाँजोमा अर्को कोही छैन, उनको भनाई छ ।

    उनी व्यवसायिक ब्राण्डको स्पोन्सरमा बार्सिलोनामा पुगेकी भएपनि कसले त्यहासम्म लग्यो भन्ने चाही सार्वजनिक भएको छैन ।

  • महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई

    महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् । उनी महरालाई भेट्ने पहिलो भीआइपी समेत हुन् । महरा डिल्ली बजार कारागारमा रहेका छन् ।

    आफनै सचिवालयकी एक महिला कर्मचारीले बलत्कार प्रयासको आरोप लगाएपछि उनी पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।

    उनीलाई कारगारमा भेट्न अहिलेसम्म करीव १० हजार मानिस पुगेपछि भीआइपी गेष्ट भने कोही पनि नपुगेको समाचार केही दिन अगाडी एक दैनिक पत्रिकाले छापेको थियो ।

    त्यसपछि पहिलो पटक डा. बाबुराम भट्टराई सोमबार कारगार पुगेका हुन् । सोमबार दिउँसो कारागार पुगेका डा. भट्टराई करिब एक घन्टा कारगारमा बसेका थिए ।

    महरालाई एमसीसी काण्डमा फसाइएको दावि गर्नेहरुसमेत धेरै छन् । यद्दपी उनी बलत्कार प्रयासको आरोपमा प्रहरीले प्रमाण पुर्याएर दायर गरेको मुद्दामा दोषि देखिएपछि कारागार चलान भएका हुन् ।

    यद्दपी अदालतको फैसला भने आइसकेको छैन । १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएपछि उनी कारगार पुगेका हुन् ।

    उक्त आदेशविरुद्ध उच्च अदालत पुगेको उनको विपक्षमा फैसला आएको थियो । उनी १८ असोजमा पक्राउ परेका थिए ।

  • अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

    अमेरिका र ओमानसँगको लीगपछि नेपाली क्रिकेटका प्रशिक्षकले पद छाड्ने

    काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले आगामी बुधबारबाट शुरु हुने त्रिदेशीय क्रिकेट लीगपछि लागु हुने गरी राजिनामा बुझाएका हुन् ।

    बुधबारबाट काठमाडौंमा नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज चल्नेछ । पटलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ ।

    सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटका लागि नेपालले विश्वकप लीग टूमा पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा खेल्दैछ ।

    उनी जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

    नेपाल क्रिकेट संघ अहिले आइसीसीको निलम्बनमा छ । सोहीकारण उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आईसीसी मार्फत नेपाली प्रशिक्षकमा नियुक्त गरेको हो ।

    उनले मासिक ७ हजार डलर तलब पाउने गरी आइसीसीसँग सम्झौता गरेका थिए ।

    मुख्य प्रशिक्षक नेपालको प्रशिक्षणमा नेपालले सिंगापुरमा आइसीसी टी२० विश्वकप छनोट खेलेको थियो । तर, नेपाल छनोट हुन सकेन ।

    नेपाल टी–२० को विश्वकप छनोटको एसिया फाइनलमै नपुगी आउट भयो । उनको प्रशिक्षणमा नेपालले साग क्रिकेटमा खेलेपनि सफल हुन सकेन ।

  • चीनले १० दिनमै तयार पारेको अस्पताल आजबाट संचालनमा आउँदै

    चीनले १० दिनमै तयार पारेको अस्पताल आजबाट संचालनमा आउँदै

    वुहान । चीनले कोरोना भाइरसको संक्रमण भएका बिरामीका लागि तयार पारेको १ हजार शैयाको अस्पताल आजबाट संचालनमा आउँदैछ ।

    चीनले यो अस्पताल निर्माण थोलेको १० दिनमै संचालन योग्य बनाएको हो । चीनले घोषणा गरेकै समयमा निर्माणको काम सकेको हो ।

    भाइरस संक्रमणले महामारीको रुप लिएको स्थान वुहानमै यो अस्पताल बनाइएको छ । यहाँ कोरोना भाइरसको मात्र उपचार हुनेछ ।

    यो अस्पतालमा चिनियाँ सैनिकका करीव १ हजार ४ सय स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्ने भएका छन् ।

    यस शहरबाट शुरु भएको यो भाइरसले चीनमा मात्र ३ सय ६० को ज्यान लिइसकेको छ ।

    चीनभन्दा बाहिर एक जना फिलिपिनी नागरिकको ज्यान गएको छ ।

    संसारभर १८ मुलुकमा फैलिएको यसका रोगको संक्रमण १४ हजार भन्दा बढीमा फैलिसकेको छ । रोगसँग लड्न चीनले भने हरसम्भव प्रयास गरिरहेको छ ।

  • अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

    अमेरिका र ओमानविरुद्ध सन्दिपको हरेक विकेटमा रंगशालालाई रकम

    काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् ।

    २२ माघबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, अमेरिका र ओमान त्रिदेशिय क्रिकेट लीगमा प्रतिस्पर्धा गर्दैछन् ।

    उक्त लीगमा हरेक विकेट बराबर ८८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा सन्दिपले गरेका छन् । यो अंक सर्वोच्च शिखर सगरमाथाको उचाई बराबर हो ।

    सन्दिपले आइतबार आफ्ना सामाजिक संजालहरुबाट यो खबर सार्वजनिक गरेका छन् । उनी अस्ट्रेलियाको मेलवर्न स्टार्सबाट बिग बास खेलिरहेका थिए ।

    ५ दिनअघि मात्र उनी त्रिकोणात्मक लीगका लागि देशको प्रतिनिधित्व गर्न नेपाल फर्किएका हुन् । प्रतियोगितामा भाग लिन अमेरिकाको टोली समेत नेपाल आइपुगेको छ ।

    आइतबार राती मुम्बईबाट नेपाल एयरलाइन्सको जहाज चढेर टोली काठमाडौं उत्रिएको हो । अमेरिकी क्रिकेट टोली पहिलो पटक काठमडौं आइपुगेको हो ।

  • ठमेलको असरल्ल तार तीन महिनाभित्र भूमिगत गर्न अल्टिमेटम

    ठमेलको असरल्ल तार तीन महिनाभित्र भूमिगत गर्न अल्टिमेटम

    काठमाडौं । ठमेलमा असरल्ल अवस्थामा रहेको तार भूमिगत गरी व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले तीन महिनाको समय दिएको छ ।

    ठमेलमा अव्यवस्थित तारले यस क्षेत्रको सुन्दरता नै बिग्रिएको भन्दै महानगरपालिकाले आफैले तार काट्न थालेको थियो ।

    तर, यसले टेलिफोन तथा इन्टरनेट सेवा नै अवरुद्ध भएपछि महानगरपाकिलाले आफैले तार काट्न छाडेर अवस्थित गर्न अल्टिमेटम दिएको हो ।

    बीना समन्वय तार काटेपछि व्यवसायी नै मर्कामा परेका थिए । महानगरपालिकाले यसअघि पनि पटक पटक तार व्यवस्थापन गर्न आग्रह गरेको थियो ।

    तर, अटेर गरेपछि महानगर आफैले काट्न थालेको थियो । अहिले इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक कम्पनीले महानगरसम्म व्यवस्थापनका लागि समय मागेका छन् ।

    सोही अनुसार समय दिइएको महानगरपालिकाले जनाएको छ । नेपालमा सबै तार खम्बा गाडेर आकासमा राखिएको छ । यसले शहरी सुन्दरता बिग्रिएको छ । सरकारले क्रमशः तारहरु भूमिगत गर्दै लैजाने नीति समेत बनाएको छ ।

  • सुनसरीमा दूर्घटना, ५ को ज्यान गयो

    सुनसरीमा दूर्घटना, ५ को ज्यान गयो

    सुनसरी । सुनसरी, रामधुनी नगरपालिकाअन्तर्गत तित्रीवनमा सवारी दूर्घटना भएको छ । दूर्घटनामा परी ५ जनाको न्यान गएको छ ।

    माइक्रो र ठूलो बस एकआपसमा ठोक्किएर भएको दूर्घटनामा १४ जना घाइते भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

    आइतबार बिहान साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३१५७ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।

    दुर्घटनामा माइक्रो चालक धादिङ बैरेनीका दीपक खड्का, माइक्रोमा सवार झापा, भद्रपुर ५ की ६८ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान् हेमराज कोइराला, झापा चन्द्रगढीकी १८ वर्षीय गरिमा गौतम र झापा भद्रपुर ७ का ४५ वर्षीय टंकप्रसाद काफ्लेको ज्यान गएको प्रहरीले जनाएको छ ।

    यस दूर्घटनामा माइक्रोबसका धेरै जना घाइते छन् । अधिक गतिका कारण दूर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

  • बामदेव गौतम बने नेकपाको उपाध्यक्ष

    बामदेव गौतम बने नेकपाको उपाध्यक्ष

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वामदेव गौतमलाई उपाध्यक्षमा चयन गरेको छ । उनी अहिले पनि सचिवालय सदस्य हुन् ।

    आइतबार केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगठनिक प्रतिवेदन पारित भएको छ ।

    यससँगै गौमम उपाध्यक्ष बनेका हुन्। गत साउनमा नेकपा सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो।

    सचिवालयको निर्णय स्थायी कमिटी बैठकबाट पास भएको थियो ।

    आइतबार बैठकमा उठेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए । पूवएमाले भएपनि वामदेव प्रचण्डका विश्वासपात्र हुन् ।

  • एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

    एमसिसिको अध्ययन गर्न नेकपाले बनायो समिति

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीबारे अध्ययन गर्न समिति गठन गरेको छ । पूर्वप्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा समिति गठन गरिएको हो ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकले खनाल नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीपकुमार ज्ञवाली रहेको समिति गठन गरेको हो।

    यो समितिले एमसिसीबारे अध्ययन गरी दश दिनभित्र सचिवालयलाई प्रतिवेदन बुझाउने भएको छ । समिति गठन भएको बारे आइतबार केन्द्रीय कमिटी बैठकमा समेत जानकारी गराएको छ ।

    अध्यक्ष प्रचण्डले उक्त जानकारी गराएका थिए । रावल एमसीसीलाई देशघाती भन्दै स्वीकार गर्न नहुने मत राख्ने नेता हुन् ।

    एमसीसीबारे नेकपाभित्रै विवाद छ । विपक्षी काग्रेसले भने यो छिटो कार्यान्वयन गर्नुपर्ने पक्षमा निरन्तर पहल गरिरहेको छ ।

  • स्कूलबाटै बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ, बालिकाको उद्दार

    स्कूलबाटै बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ, बालिकाको उद्दार

    भक्तपुर । आइतबार राजधानीको एक स्कुलबाटै बालिका अपहरणमा परेकी छिन् । भक्तपुरको निकोसेरास्थित एक विद्यालयबाट अपहरणमा परेकी बालिकाको करीव ३ घण्टापछि प्रहरीले उद्दार गरेको छ ।

    अपहरणमा संलग्न रहेको आरोपमा एक २० वर्षिय यूवक समेत पक्राउ परेका छन् । सर्लाही लालबन्दी ५ स्थायी घर भई भक्तपुर ठिमी बस्ने आशिष थापालाई पक्राउ गरेको हो ।

    चिनजान नै भएको अभिभावको बच्चा अपहरण गरी फिरौती मागेका उनलाई प्रहरीले भक्तपुरबाटै पक्राउ गरेको जनाएको छ ।

    १२ बजे विद्यालयबाट बालिकाको उपचारमा लैजानु छ भन्दै विद्यालयलाई झुक्याएर बालिका लगेका उनले अपरान्ह ३ बजेतिर बालिकाका बुबालाई फोन गरी नगद सोह्र लाख रुपैयाँ फितौती मागेका थिए ।

    त्यसबेला उनले रकम नदिए बालिकाका ज्यान मार्ने धम्की दिएक थिए । त्यसपछि अभिभावकले यो खबर प्रहरीम गरेका थिए ।

    प्रहरीले महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाबाट संयुक्त टोली खटाएर खोजी थालेको थियो ।

    प्रहरीले फोनको लोकेसनका आधारमा खोजी गर्दा बालिका रहेको स्थान पत्ता लागेको प्रहरीके भनाई छ । स्कुलका पूर्व विद्यार्थीले समेत बालिकाको खोजीमा प्रहरीलाई सहयोग गरेका थिए ।

    सुर्यविनायकको घ्याम्पेडाँडाबाट बालिकालाई उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको टोली देखेपछि अपहरणकारी बालिकालाई छाडेर भागेका थिए।

    त्यसपछि प्रहरीले उनलाई खोजी थालेको थियो । साँझ ५ बजे उनी पक्राउ परेका छन् । बालिका अपहरणका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?

    चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?

    काठमाडौं । कोरोना भाइरस उत्पत्ति भएको शहर चीनको वुहानबाट करीव ३ सय नेपालीले घर फर्कन इच्छा व्यक्त गरेका छन् ।

    उनीहरुले उद्दारका लागि बेइजिङस्थित नेपाली दूतावासमा निवेदन बुझाएका हुन् । उ

    नीहरु अति प्रभावित क्षेत्रबाट नेपाल भित्रन लागेका कारण सिधै घर पठाउन मिल्दैन । कोरोनाको संक्रमण दुई सातासम्म पनि कुनै लक्षणबीना सुसुप्त अवस्थामा रहन सक्ने भएकाले उनीहरुलाई छुट्टै स्थानमा विशेष निगरानीका लसाथ राख्नुपर्छ ।

    तर, नेपालमा त्यस्तो निगरानीसहितको स्थान कहाँ छ ? आइतबार स्वास्थ्य मन्त्रालयमा यस सम्बन्धमा छलफल भएको छ ।

    तर, स्थानको टुंगो नलागेका कारण तत्काल चीनबाट नेपालीलाई स्वदेश फर्काउने मिति तय हुन सकेन ।

    मिति तय हुनासाथ उनीहरुलाई विशेष विमानबाट नेपाल ल्याइने छ । त्यसका लागि पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गर्ने तयारी गरेको छ । वुहानमा रहेका सयौं नेपालीले घर फर्कने इच्छा व्यक्त गरेका छन् ।

    उनीहरुमध्ये अधिकांश विद्यार्थी हुन् ।

    सरकारले नेपाली सेनाको नवनिर्मित भवन, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हल, इचंगुनारायणमा सुकुम्वासीका लागि बनाइएको आवास, कीर्तिपुरस्थित आयुर्वेदिक अध्ययन केन्द्र र भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रलाई सम्भावित स्थानका रुपमा प्रस्ताव गरेपनि तय भएको छैन ।

    यहाँ चिकित्सकको निगरानीसहित ३ सय भन्दा बढी नेपाली एकै स्थानमा रहनु पर्नेछ । बुहानबाट धेरै देशले आफ्ना नागरिकलाई फिर्ता लगिरहेका छन् ।

  • भारतले घटायो नेपाललाई दिने अनुदान, भूटानलाई बढायो

    भारतले घटायो नेपाललाई दिने अनुदान, भूटानलाई बढायो

    काठमाडौं । भारतले नेपाललाई दिने अनुदान कटौती गरेको छ । आर्थिक वर्ष २०२०\२१ को बजेट सार्वजनिक गर्दै भारत सरकारले नेपालका लागि उपलब्ध गराउने वार्षिक अनुदान कटौती गरेको हो ।

    भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार संसदमा बजेट पेश गरिन् । उक्त बजेटले नेपाललाई दिने अनुदान घटेको हो ।

    अब भारतले वार्षिक ८ अर्ब भारु मात्र नेपाललाई दिनेछ । सीतारमणले यसअघि आफैले ल्याएको बजेटमा करीव १२ अर्ब भारु दिने उल्लेख थियो । ४ अर्ब कटौती गरी उक्त रकम कायम भएको हो ।

    आव २०१९ \२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारु सहयोग राखिएको थियो । मोदी सरकारको अघिल्लो कार्याकालको अन्तिम बजेटले भने १० अर्ब ५० करोड भारु सहयोग राखेको थियो ।

    नेपालको बजेट कतौती गरेको भारतले भूटानमा भने सहयोग बढाएको अब भूटानमा वार्षिक २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग जानेछ ।

    यो अघिल्लो वर्षको तुलनामा करीव ८ प्रतिशतले बढी हो । वित्तमन्त्री सीतारमणले भारतीय संसदमा कूल २६९ खर्ब ८५ अर्ब भारुको बजेट पेश गरेकी छिन् ।

    भारतले बजेटबाट आयकरमा व्यापक परिवर्तन गरेको छ । स्वदेशमै उत्पादन हुने वस्तुको आयातमा कडाइ गरेको छ । यसले पाम आयलसहितका धेरै उत्पादन नेपालबाट भारत जान समेत कडाई हुने भएको छ ।

  • हालै चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा रोक, ६ देशले गरे यस्तै निर्णय

    हालै चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा रोक, ६ देशले गरे यस्तै निर्णय

    काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रुप लिएसँगै यूरोप र अमेरिकी मुलुकले हालै चीनमा यात्रा गरिसकेका विदेशीलाई आफ्नो मुलुक जान प्रतिवन्ध लगाएका छन् ।

    यो निर्णयले खासगरी चिनियाँ पर्यटक नै प्रभावित हुनेछन् । किनकी अन्य धेरै मुलुकले आफ्ना नागरिकलाई चीन जान कडाई गरिसकेका छन् ।

    अमेरिका, अष्टे्रलिया, इटाली, जापान, रुस र पाकिस्तानले हालै चीन भ्रमण गरेर फर्किएका विदेशी नागरिकमाथि आफ्नो मुलुक प्रवेशमा रोक लगाएका हुन् ।

    कोराना भाइरस फैलिएसँगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनमा मात्र यस रोगले ३ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

    संक्रमितको संख्या अन्य मुलुकमा समेत फैलन थालेसँगै यात्रामा प्रतिवन्ध लगाइएको हो । यो रोगको संक्रमण अमेरिका र अस्ट्रेलियामा समेत भेटिइसकेको छ ।

    अब अमेरिकामा पछिल्लो दुई सातादेखि चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देश प्रवेश रोकेको हो ।

    अमेरिकासहित देशले गरेको यात्रा प्रतिवन्धप्रति भने विश्व स्वास्थ्य संगठनकै अधिकारीहरु संतुष्ट छैन ।

    यो मानवीय व्यवहार नभएको र यसले सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमै अवरोध पुग्ने बताएका छन् ।

    स्वास्थ्य सचेतना अपनाएर रोगको सामूहिक मुकाविला गर्नुपर्ने संगठनको भनाई छ ।

  • कोरोनाबाट मर्नेको आंकडा ३ सय नाघ्यो

    कोरोनाबाट मर्नेको आंकडा ३ सय नाघ्यो

    काठमाडौं । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ सय नाघेको छ ।

    तीन साताअघिबाट फैलन थालेको यो रोगको महामारीमा परी शनिबार रातीसम्म ३ सय ४ जनाको ज्यान गइसकेको चिनियाँ संचरमाध्यमले जनाएका छन् ।

    चीनको वुहान प्रान्तबाट यो रोग फैलन थालेको हो । १४ हजार ३ सय ८० जनामा उसको संक्रमण फैलिसकेको छ ।

    कोरोना निको भएपछि ३ सय २८ जना उपचार पुरा गरी घर फर्किएका छन् । चीनले कोरोना भाइरसबाट बच्न भने कुनै कसुर बाँकि राखेको छैन ।

    उनीहरुलाई छुट्टै अस्पतालमा राखिएको छ । त्यसका लागि तीन दिनमै नयाँ अस्पताल बनाइएको हो ।

    यसको संक्रमण विश्वका १८ मुलुकमा देखिइसकेको छ । त्यसमध्ये नेपाल पनि एक हो । विकसित मुलुकले चीन भ्रमणमा नजान आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।

    चीनले समेत विदेशबाट चीन भ्रमणमा नआउन आग्रह गरेको छ । चिनियाँ नागरिकलाई धेरै मुलुकले भ्रमणमा कडा निगरानी राखेका छन् ।

     

  • रुदीखोला जलविद्यूतले थाल्यो उत्पादन, साढे ६ मेगावाट विद्यूत राष्ट्रिय प्रशारणमा

    रुदीखोला जलविद्यूतले थाल्यो उत्पादन, साढे ६ मेगावाट विद्यूत राष्ट्रिय प्रशारणमा

    काठमाडौं । लमजुङस्थित रुदीखोला बी जलविद्यूत आयोजनाले उत्पादन थालेको छ ।

    पछिल्ला समय निजी क्षेत्रबाट धमाधम आयोजनाहरु निर्माण भइरहेका छन् । सम्भवतः नेपालमा सबैभन्दा ठूलो लगानी समेत जलविद्युतमा रहेको छ । रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत् उत्पादन थालेको हो ।

    यसको क्षमता ६.६ मेगावाट रहेको छ । यो क्षमताको विद्यूत शनिबार बाटै राष्ट्रिय प्रशाररणमा जोडिएको हो । आयोजनाको विद्युत गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा रहेको छ।

    यो आयोजना विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको हो । मिजुरेडाँडा सवस्टेशनमार्फत यहाँको जिवुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

    आयोजनाबाट १५ दिनसम्म परीक्षण प्रसारण हुने र त्यसपछि पूर्ण क्षमतामा उत्पादन हुने कम्पनीले जनाएको छ ।

    निर्माण थालेको दुई वर्षमै उत्पादन थालेको यो आयोजनामा प्रतिमोगावटा १८ करोड रुपैयाँ लगानी लागेको छ । सरकारले यसै वर्ष १ हजार मेगावाट भन्दा माथिको क्षमतामा विजुली थप्ने योजना बनाएको छ ।

  • आजसम्म निवेदन दिएका नेपालीलाई वुहानबाट नेपाल फर्काइने

    आजसम्म निवेदन दिएका नेपालीलाई वुहानबाट नेपाल फर्काइने

    काठमाडौं । चीनस्थित वुहान प्रान्तबाट चार्टर्ड विमानबाट नेपालीलाई स्वदेश फर्काइने भएको छ । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन प्रक्रिया थालेको हो ।

    बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीको उद्दार गर्न निवेदन भने दिनु पर्छ । निवेदन दिने अवधि आजसम्म मात्र छ ।

    जसले निवेदन दिए, उनीहरुलाई मात्र नेपाल ल्याइने दूतावासले उल्लेख गरेको छ ।

    दूताबासको फारम भरेर इमेल गरेपछि कति मानिसलाई नेपाल लैजानु पर्ने रहेछ भन्ने निश्चित हुने र त्यसछि मात्र नेपालबाट जहाज बोलाएर स्वदेश फर्काइने दूतावसले उल्लेख गरेको छ ।

    सम्भवतः नेपाल एयरलाइन्सको जहाज उद्दारका लागि चीन जानेछ ।

    अन्य मुलुकले यस प्रान्तमा रहेका आफ्ना नागरिकलाई धमाधम फिर्ता गरिसकेका छन् । चीनले समेत नेपाली सुरक्ष्ति रहेको बताएको छ ।

    तर, नेपालीहरुले स्वदेश फिर्ताको चाहना राखेको सार्वजनिक भएसँगै सरकार यसमा प्रक्रिया थालेको हो ।

  • चीनमा नेपाली सुरक्षित छन् : चीन

    चीनमा नेपाली सुरक्षित छन् : चीन

    काठमाडौं । चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपालीहरु सुरक्षित रहेको बताएको छ ।

    चीनमा रहेका नेपालीका सम्बन्धमा विभिन्न गुनासो बढ्दै गएपछि चिनियाँ दूतावासले एक विज्ञप्ती जारी गरेको छ ।

    दूतावासका अनुसार नेपालीको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी चीनले गरेको छ ।

    त्यसकारण नेपालीहरु सुरक्षित रहेको सम्न्बधमा आश्वस्त रहन दूतावासले आग्रह गरेको छ ।

    ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ,’ चिनियाँ दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    चीनको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ नेपाली विद्यार्थी रहेको र उनीहरु उद्दारको पर्खाइमा रहेका छन् ।

    महामारी नियन्त्रण र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको समेत दूतावासले उल्लेख गरेको छ ।

    ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ,’ विज्ञप्तीमा भनिएको छ ।

    नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ ।

  • सुधारिँदै वैदेशिक व्यापार, व्यापारघाटा निरन्तर ओरालो

    सुधारिँदै वैदेशिक व्यापार, व्यापारघाटा निरन्तर ओरालो

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा समग्र वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनासम्म आइपुग्दा आयात घटेको छ ।

    निर्यातले उच्च दरमा वृद्धिको बाटो पहिलाएको छ । यसले समग्र व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

    यस आव पहिलो महिनाबाटै व्यापार घाटा कम हुन थालेको हो । आयात व्यापार र बढेको निर्यात व्यापार छैटौँ महिनासम्म निरन्तर रह्यो ।

    तथ्यांक अनुसार ६ महिनामा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँको सामान आयात भएको छ। अघिल्लो वर्ष गत सोही अवधिमा सात खर्ब २३ अर्ब रुपैयाँको आयात भएको थियो । आयात घट्दा निर्यातसमेत बढेको छ।

    यसले व्यापार घाटा घटाउन भूमिका खेलेको हो । निर्यात वृद्धिदर गत वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ।

    ६ महिनाको अवधिमा ५७ अर्ब २७ करोडको निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ४५ अर्ब ४१ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

    आयात घट्नु र निर्यात बढ्नुबाट व्यापार घाटा ६ प्रतिशतले कम भएको छ ।

    गत वर्ष ६ महिनामा ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै सिमित छ ।

  • अस्ट्रेलियाको क्यानबेरामा आपतकाल घोषणा

    अस्ट्रेलियाको क्यानबेरामा आपतकाल घोषणा

    क्यानबेरा । आगोलागी नियन्त्रणमा आउन नसकेपछि अष्ट्रेलिय सरकारले राजधानी क्यानबेरामा आपतकालिन अवस्था घोषणा गरेको छ । यहाँ लामो समयदेखिको डढेलोले ठूलो धनजनको क्षति भइसकेको छ ।

    वनस्पति र वन्यजन्तुको अथाहा क्षति भइसकेको छ । तर, पनि आगलागी नियन्त्रणमा नआएपछि सरकारले राजधानी र यस आसपासको क्षेत्रमा आपतकाल घोषणा गरेको हो ।

    शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा डढेलो नियन्त्रण बाहिर गएको उल्लेख गरेका छन् ।

    यस्तो आपतकालीन अवस्था ७२ घण्टासम्म लागू हुने भएको छ ।

    सरकारी अधिकारीलाई सहर खाली गर्न, सडक बन्द गर्न अधिकार दिइएको छ ।

    सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म डडेलो फैलिसकेको छ । डढेलोले ३३ को ज्यान गइसकेको छ । ५० करोडभन्दा बढी पशुपंक्षीको ज्यान भएको तथ्यांक छ ।

  • बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए

    बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेतालाई जोगाइएको छ ।

    ललितानिवासमा ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई दोषि सावित गरेको छ ।

    यस प्रकरणमा अधिकांश कर्मारीलाई मुछेर राजनीतिक दलका नेताहरुलाई भने सफाई दिइएको बताइएको छ ।

    मन्त्रिपरिषदले कार्यदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो ।

    कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुर्‍याएको निष्कर्ष प्रहरीले निकालेको छ । स्रोतका अनुसार यस प्रकरणमा प्रहरीले नेतालाई भने दोषि देखेको छैन ।

    जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालदेखि नेकपाका महासचिव विष्णु पौडेसम्मको नाम जोडिएको थियो ।

    गृह मन्त्रालय स्रोतका अनुसार ब्युरोको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मन्त्रालयमा बुझाएका हुन् ।

    प्रतिवेदनमा निर्णय प्रक्रियामा संलग्न कर्मचारी, राणा परिवार, मोहीसहितका व्यक्तिमाथि कारवाहीको सिफारिस भएके छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसह–सचिव कलाधर देउजा, गेहनाथ भण्डारीलगायत व्यक्तिमाथि कारवाहीको सिफारिस भएको छ ।

    यसबाहेक डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मार्केटका संचलक मीनबहादुर गुरुङसहितका व्यक्तिमाथि पनि कारवाहीको सिफारिस भएको छ । ढकाल यस काण्डका मूख्य योजनाकार मानिएका थिए ।