Author: Vishwanews.com

  • चार महिनामा बने ४५ पक्की पुल

    चार महिनामा बने ४५ पक्की पुल

    काठमाडौं । देशभर सडक निर्माणले गति लिएको छ । यसै सन्दर्भमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा देशभर ४५ वटा पक्की पुलको निर्माण सकिएको छ ।

    सडक विभागको तथ्यांक अनुसार पहिलो चौमासिक अवधि भित्रै ४५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् ।

    चालु आर्थिक वर्षमा मात्र तीन सय पक्की पुलको निर्माण पुरा गरिसक्ने योजना रहेको छ । धेरै आयोजनाहरु बहुवर्षिय रहेका र विगतदेखि काम भइरहेका पुलहरु चालु आवको पहिलो चार महिना मै निर्माण सम्पन्न भएका हुन् ।

    विभागका अनुसार अहिले देशभर १ हजार ४ सय ६७ वटा पुल निर्माणाधीन अवस्थामा छन् । सामान्यतया एउटा पुललाई अधिकतम तीन वर्षमा पुरा गर्ने गरी ठेक्का लगाइएको हुन्छ ।

    सडक बिस्तारका क्रममा अहिले पक्की पुल निर्माणलाई पहिलो प्राथमिकता दिइएको छ । पछिल्लो समय बन्ने अधिकांश पुल दुई लेनका छन् ।

  • कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने

    कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिस्तार हुने

    काठमाडौं । कर्णाली र सुदुर पश्चिम प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क बिस्तार गरिने भएको छ ।

    यस सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच शुक्रबार सम्झौता भएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    शुक्रबार प्राधिकरणका अध्यक्ष पुरुषत्तोम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    फाइवर नेटवर्क विस्तारका लागि नेपाल टेलिकमले बोलपत्रबाट प्रतिस्पर्धा गराई प्राप्त हुने रकममा अधिकतम ३ अर्ब रुपैयाँ प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट प्रदान गर्ने सहमति भएको छ ।

    रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी सम्झौता भएको हो ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया जिल्लासमेत गरी २० जिल्लामा नेटवर्क फाइवर बिस्तार गर्न यो सहमतिले काम गर्नेछ ।

    आयोजनाअन्तर्गत करिब २४०० किलोमिटर इबर नेटवर्कमा अन्डरग्राउण्ड एडिएसएस फाइवर तथा बुरेइड क्याबल (डिबिसिसी) बिस्तार हुने भएको छ ।

    मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइवर नेटवर्क न्यूनतम ९६ कोर हुनेछ ।

    जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइवर नेटवर्क बिस्तार गर्न लागिएको छ ।

    ग्रामीण दूरसञ्चार विकास कोषको रकम लगानी गरी नेपाल टेलिकमबाट निर्माण एवं सञ्चालन हुने सो अप्टिकल फाइवरमा सूचना महामार्ग निर्माण हुँदैछ ।

    यसबाट ठूला पूर्वाधारमा हुने दोहोरो लागानी न्यूनीकरण भई दूरसञ्चार सेवालगायत सस्तो, भरपर्दो र सर्वसुलभ बनाउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।

  • नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने

    नेकपाले टुग्यायो राष्ट्रिय सभा उमेदवार, नारायणकाजी पनि उठ्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उम्मेदवार छनोट गरेको छ ।

    नेकपाका प्रवक्ता नारयणकाजी श्रेष्ठसहित पूर्वमाओवादीबाट ७ र पूर्वएमालेबाट ९ जना पर्ने गरी उमेदवारको टुंगो लागेको छ ।

    नेकपाले राजपासँग तालमेल गरेको छ । दुई जना राजपाबाट उमेदवार हुनेछन् । नेकपाले भने १६ जना उम्मेदवार तोकेको हो ।

    निर्वाचन आयोगको तालीका अनुसार राष्ट्रियसभाको उम्मेदवारी मनोनयन २० पुस र चुनाव ९ माघमा तोकिएको छ ।

    ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये १८ जना सदस्यको दुई वर्षे कार्यकाल २० फागुनबाट सकिदैछ ।

    राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिनअगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

    राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

    दुई वर्षे कार्यकाल पुरा गरी सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली  बिदा हुँदैछन् ।

    नेकपाले प्रदेश १ बाट इन्दु गौतम, गोपी अच्छामी र देवेन्द्र दाहाललाई उमेदवार बनाएको छ ।

    प्रदेश २ प्रदेश २ मा नेकपा र राजपाले दुई दुई सीट लिँदा नेकपाको तर्फबाट राधेश्याम पासवान र तुलसा दाहाल उम्मेदवार बन्ने छन् ।

    प्रदेश ३ मा नेकपाले डा. बेदुराम भुसाल र गंगा बेलवासेलाई उम्मेदवार बनाएको छ ।

    गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने उठ्ने छन् ।

    प्रदेश ५मा बिमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई उमेदवार बनेका छन् । कर्णाली प्रदेशमा मायाप्रसाद शर्मा, सुमित्रा बिसी उम्मेदवार बन्ने भएका छन् ।

    सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वाँर उम्मेदवार बनेका छन् ।

  • अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा

    अर्थ मन्त्रालयका उपसचिवविरुद्ध ४ करोड ६८ लाख भ्रष्टाचार मुद्दा

    काठमाडौं । अर्थमन्त्रालयका सहसचिव राजेन्द्र ढुंगानाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    शुक्रबार ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गरेको हो ।

    सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

    उनले गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति आफू र श्रीमती मधुको नाममा राखेको पाइएको छ ।

    उनी २०४९ मा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । त्यसयता २०७५ सम्म वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ मात्र देखिएको छ ।

    तर यस अवधिमा उनले गरेको खर्च र लगानी भने ५ करोड ४८ लाख ३ हजार ३५१ देखिएपछि यसलाई अख्तियारले अस्वभाविक भनेको छ ।

    उनले ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत खुलाउन सकेनन् । उनलाई जरिवाना र कैदका साथै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो जफत गरी पाउन समेत माग दाबी गरिएको छ ।

  • के युद्धको तयारीमा छन् अमेरिका-इरान ?

    के युद्धको तयारीमा छन् अमेरिका-इरान ?

    काठमाडौं । शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमणमार्फत इरानका शक्तिशाली व्यक्ति मध्ये एक मेजर जनरल कसिम सुलेमानीलाई मारेको छ ।

    उनी एलिट कर्दस फोर्स प्रमुख हुन् । इरानको रेभुलसनरी गार्डअन्तर्गत रहने यस सैन्य संगठनको बिस्तार र कार्यक्षेत्र नै इरानीको सीमा भन्दा बाहिर रहेको छ ।

    यस फोर्सको प्रमुख भने इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनी हुन् । त्यसकारण अमेरिकाले इरानका दोस्रो शक्तिशाली व्यक्तिलाई मारिदिएको छ ।

    यसले संसारभर पुनः एक पटक झस्का दिएको छ । कतै, अमेरिका र इरान युद्धको तयारीमा त छैनन् । इराकको बग्दाद विमानस्थल बाहिर सुलेमानीसहितको टोलीमाथि ड्रोन आक्रमण भएको थियो ।

    उनको स्कर्टिगलाई लक्षित गरी ड्रोन हानिएको थियो । सुलेमानीको साथमा ६ जना उच्च अधिकारीसमेत थिए । उनी अमेरिकाको टार्गेटमा भने निकै लामो समयदेखि रहेका थिए ।

    इराकका पूर्वशासक सद्दाम हुसेनविरुद्धको कारवाहीमा अमेरिकालाई साथ दिएका सुलेमानीलाई अहिले अमेरिकाले नै मारिदिएको हो ।

    सन् २०१५ मा आणविक सम्झौता भयो । जसमा अमेरिकाले सुलेमानी र उनका सेनामाथि आक्रमण नगर्ने नीति नै लिएको थियो ।

    तर उक्त सम्झौतालाई ट्रम्पले तोडेपछि फेरी उनी र अमेरिकाको सम्बन्ध चिसिएको थियो ।

    अमेरिकाका लागि सुलेमानी र उनको सेना ठूलो खतराको रुपमा रहेको थियो । अन्तरराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार अमेरिकी सैन्य अधिकारीको दावा जनरल सुलेमानीले इराक युद्धका क्रममा भएको सयौं अमेरिकी सैनिकको मृत्युमा उनको हात थियो ।

    त्यस समयमा सुलेमानीले इराकमा विद्रोहीलाई बम बनाउने अत्याधुनिक उपकरण र तालिम दिएका थिए ।

    ड्रोन आक्रमणपछि अमेरिकी रक्षा मन्त्रालयले सुलेमानी र उनको कद्स फोर्स सयौं अमेरिकी र अन्य सहयोगी देशका सैनिकको मृत्यु र हजारौं घाइतेका लागि जिम्मेवार रहेको उल्लेख गरेको छ ।

    सुलेमानीको मृत्युमा इरानमा तीन दिने राष्ट्रिय शोक घोषणा भएको छ । इरानका सर्वोच्च नेता खमेनीले यसको बदलामा शक्तिशाली कारवाहीको चेतावनी दिएका छन् ।

    आक्रामणको डरले अमेरिकाले इराकबाट आफ्ना सबै नागरिकलाई स्वदेश बोलाएको छ ।

    इजरायलले आफ्ना केही पर्यटकीय क्षेत्र बन्द गरेको । उसले सुरक्षाकर्मीलाई अलर्ट राखेको छ ।

    एजेन्सी

  • राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

    राष्ट्रियसभा चुनावमा कांग्रेस र समाजवादीले तालमेल गर्ने

    काठमाडौं । नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँट गर्ने सहमति भएको छ ।

    सहमति अनुसार कांग्रेसले महिला र अल्पसंख्यक तथा समाजवादीले दलित र अन्य पदको उमेदवारी दिने भएका छन् ।

    सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

    प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेल भइसकेको छ ।

    कांग्रेसले बिहीबार नै समाजवादी पार्टीसँगको तालमेलबारे संकेत गरेको थियो । समाजवादी पार्टी सत्तारुढ नेकपासँग चिढिएसँगै कांग्रेससँग नजिक भएको हो ।

  • सरकारले उखु किसानसँग गर्यो सहमति, किसानले ७ माघभित्र सबै पैसा पाउने

    सरकारले उखु किसानसँग गर्यो सहमति, किसानले ७ माघभित्र सबै पैसा पाउने

    काठमाडौं । सरकारले ७ माघ भित्र कृषकले सबै पैसा पाउने गरी समन्वय गर्ने सहमति जनाएपछि सरकार र आन्दोलनरत सर्लाहीका उखु किसान सहमति भएको छ ।

    उद्योग मन्त्रालयमा शुक्रबार साँझ दुई पक्षबीच पाँचबुँदे सहमति भएको हो । सहमतिसँगै उखु किसानको आन्दोलन समेत स्थगित भएको छ ।

    सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलले कृषकको दुई वर्षदेखिको करीव ४५ करोड रुपैयाँ वक्तौता नतिरेपछि कृषकहरु सरकारको ढोका घच्घच्याउन काठमाडौं आएका थिए ।

    उनीहरुले रकम दिलाइदिन मन्त्रालय र मन्त्री निवासमा धाउँदा समेत रकम नपाएपछि माइतीघर मण्डलामा धर्ना बसेका थिए ।

    त्यसपछि संचारमाध्यमको ध्यानाकर्षण भयो । यस मुद्दालाई प्राथमिकताका साथ उठाइयो । फलस्वरुप सरकार स्वयम पहल गर्ने गरी उखु कृषकसँग सहमत गर्न तयार भएको हो ।

    उखु किसानका समस्या सञ्चारमाध्यमले उठान गरेपछि मात्र मन्त्रालयले चिनी मिल मालिकलाई बोलाएर किसानको पैसा दिन निर्देशन गरेको थियो ।

    पैसा नदिए पक्राउ गर्ने चेतावनी समेत सरकारले दिएको थियो । अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले शुक्रबार नै किसानहरुको खातामा ५० लाख रुपैयाँ पठाएका छन् ।

    बाँकी रकम पुस २५ गतेभित्र दिने बाचासमेत गरेका छन् । त्यसपछि उद्योग मन्त्रालयले कृषकलाई मन्त्रालयमा बोलाएर सहमति गरेका हुन् ।

    शुक्रबार भएको सहमतिअनुसार माघ ७ गतेभित्र उखु किसानको बाँकी रकम भुक्तानी गरिसक्नु पर्नेछ ।

    यसका लागि मन्त्रालयले समन्वय गर्नेछ । भुक्तानी समस्या दिगो रुपमा हल गर्न उखु खरिद विक्री गरेको रकम तुरुन्त भुक्तानी हुने गरी स्वचालित मूल्य प्रणाली बनाउन अध्ययन गर्न सहसचिवको नेतृत्वमा कार्यदल समेत गठन गर्ने सहमति भएको छ ।

    किसानहरुलाई सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषि मन्त्रालयमा समेत ताकेता गर्ने भएको छ ।

    किसानको भुक्तानी र चिनीको आपूर्तिमा कुनै समस्या वा गुनासो भए सम्बोधन गर्न मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा तोक्ने र उखु किसानका आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति शुक्रबार भएको छ ।

  • सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

    सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

    काठमाडौं । सुडानमा सेनाको एक जहाज दुर्घटनामा परेको छ । दूर्घटनामा कम्तिमा १८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पश्चिमी डार्फुर राज्यमा जहाज दुर्घटनामा परेको थियो ।

    चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको र त्यसमा तीन जना न्यायाधिस समेत रहेका थिए ।

    प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै जहाज दुर्घटना भएको समाचारमा जनाइएको छ ।

    जातीय समूहहरू बीच झडपप्रति संकटमा रहेका क्षेत्रमा राहत सहयोग पुर्‍याउन यो जहाज प्रयोगमा आइरहेको थियो ।

    समाचार अनुसार ज्यान गुमाउनेमा सात चालक दलका सदस्य, तीन न्यायाधीश र आठ सर्वसाधारण नागरिक छन् । त्यसमध्ये चार जना बालबालिका हुन् ।

    एजेन्सी

  • आज लाग्ला सभामुखको टुंगो ?

    आज लाग्ला सभामुखको टुंगो ?

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ ।

    शुक्रबार बिहान डाकिएको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन र र सभामुख पदमा पार्टीका नेताको टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ ।

    बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । बिहीबार पनि बैठक बसेको थियो, तर सहमति हुन सकेन् ।

    सभामुख पदमा अध्यक्षद्धय प्रचण्ड र केपी शर्मा ओलीबीच पूर्व माओवादी की पूर्व एमालेबाट सभामुख बनाउने भन्ने सम्बन्धमा सहमति जुट्न बाँकि रहेको छ ।

    राष्ट्रियसभामा भने कूल १८ सिटका लागि उमेदवार खडा गर्नुपर्ने भएको छ । त्यसमध्ये २ राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएको छ । नेकपाका भागमा १६ सिट पर्छ ।

    सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि यो पद अहिले रिक्त रहेको छ । तर, सत्तारुढ दल भित्रकै गुटबन्दीले उमेदवार टुंगो लागेको छैन ।

  • आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

    आजबाट तीन दिनसम्म हिमपात र वर्षात, चिसो फेरी बढ्ने

    काठमाडौं । दुई साता अघि देशभर चिसो ल्याउने गरी आएको पश्चिमी वायुको प्रभावलाई दोहोर्याउने गरी चिसो बढ्ने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट तीन दिनसम्म मौसम प्रभावित हुनेछ ।

    देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका विभागले जनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आकासमा बादल लागेको छ । घाम छोपिएको छ ।

    त्यसकारण धेरैजसो स्थानमा चिसो हुने विभागको भनाई छ । सोही कारण अधिकांश स्थानमा पानी पर्ने सम्भावना समेत देखिएको छ ।

    यो क्रम शक्रबार रातिसम्मै रहने छ । उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    शनिबार र आइतबार पनि यस्तै हुने विभागले जनाएको छ । शनिबारबाट क्रमिक सुधारको सम्भावना छ । काठमाडौंमा भने बिहीबार दिउँसो पनि वर्षा भएको थियो ।

  • अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

    अब काठमाडौंमा सादा पोशाकमा घुमुवा पुलिस नखट्ने

    काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट सादा पोशाकमा खटिदै आएको समूह अब नखट्ने भएको छ ।

    यसरी खटिदै आएको टोलीको ड्यूटी हटाएर अब पोशाकमै प्रहरी खटाउने निर्णय भएको छ । यस्तो निर्णय बिहीबारबाटै कार्यान्वयनमा आएको कार्यालयले जानकारी दिएको छ ।

    मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा आफै खटिदै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाबाट सादा पोशाकमा पुलिस खटिने भएकाले दोहोरो गरी कर्मचारी खटाउनु आवश्यक नभएको निष्कर्षमा कार्यालय पुगेको हो ।

    अब कार्यालयका टोलीहरु सबै पुलिसकै पोशाकमा सुरक्षामा खटिने भएका छन् ।

    घुमुवा प्रहरीप्रति समाजको इमेज पनि नकारात्मक बन्दै गएको, पदको दुरुपयोग गरी गलत फाइदा लिने गरेको समेत आरोप पुलिसमाथि लाग्दै आएको छ ।

    उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुने गरेको थियो ।

  • सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर

    सांसद कनोडियालाई कांग्रेसको निर्देशन : उखु किसानको वक्यौता तिर

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका प्रदेश, ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको वक्यौता तिर्न निर्देशन दिएको छ।

    बिहीबार केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानको भुक्तानी तत्काल गर्न निर्दशन दिएको हो ।

    प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भुक्तानी नदिएको समाचारबारे पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरे ।

    उनले वक्तौता यथासिघ्र भुक्तानी गराउन निर्देशन दिइएको समेत जानकारी दिए ।

    त्यसो त कनोडिया स्वयम उद्योग मन्त्रालयमा उपस्थित भई वक्यौता तिर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । उनी महालक्ष्मी सुगर्सका सञ्चालक हुन्।

    उनले उखु किसानको २१ करोड वक्यौता तिर्न बाँकी रहेको छ।

    यसैबीच बैठकले आसन्न राष्ट्रियसभामा निर्वाचनमा समाजवादीसँग तालमेल गर्ने तयारी गरेको छ ।

    त्यसका लागि नेताहरुसँग भेटघाट भइरहेको प्रवक्ता शर्माले जानकारी दिए । बिहीबार पनि पौडेल र सिटौला पक्षधर नेताभने बैठकमा सहभागी थिएनन् ।

  • मेटिने भए ट्रक साहित्य

    मेटिने भए ट्रक साहित्य

    काठमाडौं । अब सार्वजनिक तथा निजी कुनै पनि सवारी साधनमा फिल्मी डाइलग, कविता, मुक्तक, हाइकु तथा चुटकिला पढ्न नपाइने भएको छ ।

    यातायात व्यवस्था विभागका अनुसार अब सबै सार्वजनिक यातायातले यसरी लेखिएका साहित्य हटाउनु पर्ने भएको छ ।

    लामो तथा छोटो, कुनै पनि दूरीका यातायातका साधनले साहित्य राख्न पाउने छैनन् ।

    रमाइला, रोचक तथा प्रेमिल साहित्यले चालकको ध्यान आकर्षित गर्ने र त्यसले एकाग्रता टुट्न गई दूर्घटनाको समेत जोखिम बढेपछि यस्तो निर्णय लिनु परेको विभागको भनाई रहेको छ ।

    अब सवारी साधनमा यस्ता कविता वा स्लोगन लेख्न नपाइने र पुरानो गाडीमा लेखेको भए मेटाउनु पर्ने नियम विभागले कार्यान्वयन थालेको छ ।

    विभागले बिहीबार यस सम्बन्धमा सूचना नै जारी गरेको थियो । विभागका अनुसार कुनै पनि सार्वजनिक सवारी साधनमा यस्तो स्लोगन, कोटेसन वा कविता राख्न पाइने छैन ।

    अब सार्वजनिक सवारी साधानमा साहित्य वा कोटेसन भेटिए सवारी जाँचपास नै नहुने र कारवाही गरिने विभागले उल्लेख गरेको छ ।

  • मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने

    मोवाइल र इन्टरनेट बैंकिङको सीमा बढ्यो, उपभोक्ता लाभान्वित हुने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङका माध्यमबाट हुने कारोकारको सीमा बढाएको छ । यसले उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

    राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशिका जारी गरेको छ । जसअनुसार बैंक खाताबाट मोवाइल वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुगेको छ ।

    बैंक खाताबाट एकै पटक २५ हजार रुपैयाँसम्म मोबाइल वालेटमा ट्रान्सफर हुने भएको छ ।

    बैंक खाताबाट वालेटमा दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाखसम्म ट्रान्सफर गर्न सकिने गरी नयाँ प्रावधान आएको छ ।

    क्लासलेस कारोवारलाई बढावा दिन यो निर्देशिकाले सहयोग गर्ने भएको छ ।

    अब एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारसम्म पठाउन सकिने भएको समेत राष्ट्र बैंकले उल्लख गरेको छ ।

    एजेन्ट वा सबएजेन्टबाट एक दिनमा २५ हजार रुपैयाँसम्म वालेटमा पठाउन सकिने प्रावधान समेत आएको छ ।

    यसअघि यस्तो सुविधाको सीमा १५ हजार मात्र थियो । मोबाइल तथा इन्टरनेट बैंकिङबाट प्रतिदिन ५० हजार वा प्रतिमहिना अधिकतम २ लाख तथा इन्टरनेट बैंकिङ प्रतिदिन १० लाखसम्म गर्न सकिने व्यवस्था आएको छ ।

    एटिएमबाट एक पटक २५ हजार रुपैयाँसम्म र दैनिक १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था भने यथावत राखिएको छ।

    अब एटिएममा बैंकले २४ सैं घण्टा सुरक्षा गार्ड समेत राख्नु नपर्ने भएको छ ।

    सुरक्षा गार्डको सट्टा २४ सै घण्टा मोनिटरिङको व्यवस्था गर्न बैंकहरुलोई निर्देशिका ल्याइएको छ ।

  • इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला

    इजिप्टका चार नागरिकलाई नेपालद्वारा देश निकाला

    काठमाडौं । नेपालले गैरकानूनी रुपमा नेपालमा बसेका ४ जना इजिप्टका नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ ।

    भिसा अवधी सकिएपछि पनि लामो समयसम्म नेपालमा बसिरहेका ४ जना इजिप्टका नागरिकलाई निष्कासन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    उनका अनुसार सरकारले भिसा दस्तुर, विलम्ब शुल्क र जरिवाना समेत मिनाहा गरेर उनीहरुलाई देश निकाला गर्ने भएको छ ।

    मन्त्रीपरिषद्को गत सोमबारको निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले उक्त जानकारी दिएका हुन् ।

    उनीहरुको भिसा दस्तुर तथा विलम्ब शुल्क ४ हजार ६४० अमेरिकी डलर र अधिकतम जरिवाना २ लाख रुपैयाँ रहेको छ । सो रकम मिनाहा गरिने भएको छ ।

  • उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम

    उखु किसानको पैसा तिर्न मिल मालिकलाई अल्टिमेटम

    काठमाडौं । सरकारले उखु किसानको वक्यौता तिर्न चिनि मिलका मालिकहरुलाई अल्टिमेटम दिएको छ ।

    किसानको पैसा तिर्न बाँकी चिनी मिल सञ्चालकले माघ पहिलो सातासम्म सबै पैसा तिरिसक्नु पर्ने गरी सरकारले अल्टिमेटम तोकिदिएको हो ।

    आफ्नो पैसा माग गर्दै काठमाडौं आएका उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टबीच भएको वार्तामा सरकारले उक्त निर्देशन दिएको हो ।

    माघको पहिलो सातासम्म सबै पैसा तिर्न मिल सञ्चालकलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । पुस २५ भित्र ८० प्रतिशत रकम तिरेर बाँकि रकम माघ पहिलो सातासम्म चुक्ता गर्न निर्देशन दिइएको छ ।

    सरकारले उखु मिल संचालकलाई पक्राउ गर्ने तयारी गरेपछि केही मिल संचालक भने सरकारको सम्पर्कमा आएर पैसा तिर्ने बताइसकेका छन् । त्यसमध्ये एक महालक्ष्मी सुगर मिल्स हो ।

    यस उद्योगले पुस २५ सम्म सबै पैसा तिर्ने प्रतिवद्धता जनाएको छ । सरकारको अल्टिमेटममा पनि पैसा ननिरे कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

    मिलले उखु किसानको उखु पेलेर चिनी बनाएर बेचिसक्दा पनि किसानको मूल्य नतिरेपछि कृषक समस्यामा रहेका छन् ।

    उनीहरु उद्योगबाट पैसा दिलाइदिन माग गर्दै काठमाडौं आएका थिए ।

  • कास्मिरमा मारिए गोर्खा सैनिक

    कास्मिरमा मारिए गोर्खा सैनिक

    काठमाडौं । काश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानी सेनाबीचको गोली हानाहानमा एक गोर्खा सैनिकको ज्यान गएको छ ।

    भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा गोरखास्थित रीप गाउँका अर्जुन थापामागर रहेका छन् ।

    २५ वर्षिय नेपाली गोर्खा सैनिकको ज्यान गएको हो । आक्रमणमा दुई भारतीय सैनिक मारिएका थिए । भिडन्त बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा भएको हो ।

    भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले दिएको जानकारी अनुसार एक जना नेपाली रहेको संचारमाध्यमले पुष्टी गरेका छन् ।

    पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको उल्लेख गरिएको छ ।

    जम्मु कास्मिर भारत र पाकिस्तानको लुछाचुडीका कारण लामो समयदेखि असान्त छ । भारतले यस भेगमा ठूलो संख्यामा गोर्खा सैनिक खटाएको छ ।

  • सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?

    सर्वोच्च अदालतले माग्यो सुगौली सन्धीयताका नक्सा, के आउला फैसला ?

    काठमाडौं । सर्वोच्च अदालतले सीमा विवादका सम्बन्धमा सन् १८१६ को सुगौली सन्धी यताका नेपालका आधिकारिक नक्सा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

    सन्धीको अनुसूचीसहितको प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सा १५ दिन पेश गर्न सरकारका नाममा आदेश आएको छ ।

    न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखि कै दस्तावेज संकलन गर्न समत सरकारलाई आदेश दिएको छ वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीको रिटमा सर्वोच्चबाट यस्तो आदेश भएको छ ।

    ‘नेपाल सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संगठनहरुको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्साउने कुनै सन्धि,नक्सा वा दस्तावेज पेश गरेको भए त्यसको प्रतिलिपिहरु लिखित जवाफका अनुसूचीको रुपमा पेश गर्न लगाउनू, आदेशमा भनिएको छ ।
    नेपालको दार्चुला जिल्लास्थित लिम्पियाधुराको क्षेत्रको प्रश्न समाधान गर्ने अन्य कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा उपलब्ध सामागी भए झिकाउनसमेत अदालतले आदेश गरेको छ ।

    सन् १८४६ मा लण्डनबाट प्रकाशित भएको भनिएको नेपाल सहितको नक्साको प्रतिसमेत उपलब्धसमेत उपलब्ध गराउन आदेश गरिएको छ ।

  • नेपाल भ्रमण वर्षको भब्य उद्घाटन, पर्यटकलाई नेपाल भम्रणमा आउन आह्वान

    नेपाल भ्रमण वर्षको भब्य उद्घाटन, पर्यटकलाई नेपाल भम्रणमा आउन आह्वान

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भएको छ । काठमाडौंको दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीबाट ज्योती बाल्दै भ्रमण वर्षको प्रारम्भ गरिएको हो ।

    राष्ट्रपति भण्डारीले सुन्दर देश नेपाल भमणमा आउन संसारभरका पर्यटकसँग आह्वान गरेकी छिन् ।

    उनले सगरमाथा र बुद्धको देश नेपालमा पर्यटकलाई स्वागत गरेकी हुन् । विगतमा पर्यटक आउन थालेपछि नेपालमा योजना बन्ने गरेको उल्लेख गर्दै उनले अब योजनावद्ध विकासको आवश्यकता रहेको औल्याइन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईले जीवनको मिठो अनुभूतिका लागि नेपाल आउन आह्वान गरे ।

    उद्घाटन कार्यक्रममा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले नेृत्य प्रस्तुत गरेका थिए । विभिन्न सांस्कृतिक झाँकिले झकिझकाउ रंगशालामा हजारौं मानिस सहभागि भएका थिए ।

    कार्यक्रममा भारत, चीन, जमैका र म्यानमारबाट पर्यटन मन्त्रीले भाग लिए । सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागेको हो ।

  • आजबाट मलेसियामा बढ्यो कामदारको न्यूनतम पारिश्रमिक

    आजबाट मलेसियामा बढ्यो कामदारको न्यूनतम पारिश्रमिक

    काठमाडौं । मलेसियामा कामदारको न्यूनतम पारिश्रमिक आजबाट बढेको छ । यसबाट मलेसियामा रहेका करीव १ लाख ६० हजार नेपालीसहित ४० लाख विदेशी कामदारसमेत प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

    मलेसिया नेपाली कामदारका लागि आकर्षक गन्तब्य मध्ये एक हो । यहाँ स्वदेशी र विदेशी सबै श्रमिकको न्यूनतम पारिश्रमिक बढाइएको हो ।

    मलेसिया सरकारले १ जनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट पुर्याएको छ ।

    अब मलेसिया जाने नेपालीले न्यूनतम ३३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अहिले मलेसियामा न्यूनतम तलब ११ सय रिङ्गेट (करीव ३० हजार रुपैयाँ) मात्र रहेको थियो ।

    बढेको तलब मलेसियाको शहरी क्षेत्रका कामदारको हकमा मात्र लागू हुने उल्लेख गरिएको छ । यो मलेसियाका ५७ शहरबाट प्रारम्भ गरिदैछ ।

    त्यसपछि क्रमशः सबै स्थानमा बिस्तारको तयारी रहेको छ ।

    अहिले जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहटजस्ता शहरमा काम गर्ने कामदारले यसको लाभ उठाउन सक्ने भएका छन् ।

  • आज विश्वभर नयाँ वर्षको उल्लास

    आज विश्वभर नयाँ वर्षको उल्लास

    काठमाडौं । इस्वी संवतअन्तगर्त नयाँ वर्ष सन् २०२० आजबाट शुरु भएको छ । नेपालीसहित विश्वभर शुभकामना आदान प्रदान, घुमघाम र मिठो खानपान गरी यो पर्व मनाउने प्रचलन रहेको छ ।

    इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । सन् २०१९ लाई बिदाई गरी २०२० को स्वागतमा विश्वभर उल्लसमय कार्यक्रमहरु आयोजना हुन्छन् ।

    नेपालमा नयाँ वर्ष वैशाखमा पर्ने भएपनि इश्वीसंवतको समेत प्रभाव परिसकेको छ । खासगरी अन्तर्राष्ट्रिय अभियानहरु यसै वर्ष शुरु हुने भएकाले यसले क्रमशः आफ्नो पकडलाई बलियो बनाइरहेको छ ।

    नयाँ वर्षलाई काउन्टर दिन नेपालमा केही अभियन्ताले नेपाली टोपी दिवस भनेर पनि प्रारम्भ गरेका छन् ।

    खासगरी सामाजिक संजालमा यसको प्रयोग अधिक देखिन्छ । युवायुवतीहरुले नेपाली टोपी लगाएर सामाजिक संजाल रग्याउने गरेका छन् ।

    विश्वभर यस अवसरमा शुभकामना दिँदै नेताहरुले विश्व शान्ती र समृद्धिको कामना गरेका छन् ।

    नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् ।

    उनले नेपाल भ्रमण वर्षका रुपमा मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने समेत बताएका छन् ।

  • आज नेपाल भ्रमण वर्षको उद्घाटन, २० लाख पर्यटक ल्याउने लक्ष्य

    आज नेपाल भ्रमण वर्षको उद्घाटन, २० लाख पर्यटक ल्याउने लक्ष्य

    काठमाडौं । आज नेपाल भ्रमण वर्षको उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीबाट भ्रमण वर्षको उद्घाटन हुने कार्यक्रम राखिएको छ । दिउँसो तीनबजेबाट भ्रमण वर्ष उद्घाटन विशेष कार्यक्रम प्रारम्भ हुँदैछ ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागेको हो । यस अवसरमा विभिन्न ४ मुलुकबाट पर्यटन मन्त्री आएका छन् ।

    नीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस कार्यक्रमलाई सम्बोधन गर्दैछन् । सरकारले तेस्रो पटक भ्रमण वर्ष मनाउन लागेको हो ।

    यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइसकेको छ । सन् २०११ मा मनाउँदा १० लाख पर्यटक भित्राउने लक्ष्य लिइएको भएपनि त्यो पुरा हुन सन् २०१८ सम्म कुर्न परेको थियो ।

    त्यसकारण भ्रमण वर्ष २०२० को लक्ष्यसमेत चूनौतिपूर्ण रहेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई यस कार्यक्रमले देशभित्र एक प्रकारको माहौल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे सकारात्मक प्रचार हुने उल्लेख गरे ।

  • दोलखाका तत्कालिन प्रजिअ रिजाल पक्राउ

    दोलखाका तत्कालिन प्रजिअ रिजाल पक्राउ

    काठमाडौं । दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा उनी निलम्बनमा परेका थिए । उनी उपसचिव हुन ।

    रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको पुष्टी गरेको छ । रिजालले गरेको भ्रष्टाचार कसुरबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरेको अख्तियारको भनाई छ ।

    सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएपछि गृहले उनलाई मन्त्रालय तानिएको थियो ।

    अख्तियारले अनुसन्धान थालेपछि उनी निलम्बनमा परेका हुन । सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोप उनीमाथि छ ।

  • घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

    घरबहालमा बस्नेको विवरण प्रहरीलाई दिनुपर्ने

    काठमाडौं । काठमाडौं उपत्यकासहित शहरी इलाकामा अब घर बहालमा बस्नेहरुको विवरण घरबेटीले प्रहरीलाई बुझाउनु पर्ने भएको छ ।

    गृह मन्त्रालयमा मंगलबार सरोकारवालाको बैठक बसेको थियो । बैठकले काठमाडौं उपत्यकासहित देशभर आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै विवरण बुझाउनु पर्ने निर्ण गरेको हो ।

    खासगरी मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको गृह प्रशासनको निष्कर्ष रहेको छ।

    मंगलबार गृह मन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईले सुरक्षा संयन्त्रका प्रमुखहरुसँग छलफल गरेको थियो ।

    बैठकले आपराधिक गतिविधि रोक्न प्रहरीलाई आवश्यक कदमका लागि निर्देशन समेत दिएको छ ।

    पछिल्लो केही दिनयता चिनियाँ नागरिकलाई काठमाडौंमा भाडामा बसेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

    चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थ भण्डारणमा समेत कोठा प्रयोग भइरहेको जनाएको छ ।

    मुख्य शहरी इलाकामा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयको विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउन बैठकले आह्वान गरेको छ ।

  • उखु किसानमारा व्यवसायीसामु निरिह सरकार

    उखु किसानमारा व्यवसायीसामु निरिह सरकार

    काठमाडौं । जब हिउँद शुरु हुन्छ, त्यसपछि शुरु हुन्छ, कृषक र व्यवसायीबीचको द्धन्द्ध । यस्तो द्धन्द्ध शुरु भएको दशकौं नाघिसक्यो तर, कृषकका समस्या ज्यू का त्यूँ रहेका छन् ।

    देशमा एक प्रकारको विडम्बना छ । एकातर्फ उखु कृषकलाई चिनि उद्योगीले पैसा दिँदैनन् । किसानको उखुले भाउ पाउँदैन ।

    अर्कोतर्फ मुलुकमा चिनिको अधिक माग भयो भन्दै आयात घटेको छैन । सरकारले गत वर्ष १ लाख मेट्रिक टन अधिकतम आयातको सिलिंग तोकेको थियो ।

    त्यो सिंलिंग ३ महिनामै पुरा भएको थियो । सरकारलाई व्यवसायीको चिन्ता छ, तर ऊ कृषकको पिडामा मलहम लगाउन सक्दैन ।

    अहिले त्यस्तै भइरहेको छ । उखुको मूल्य पाउनु पर्ने माग सहित कृषक राजधानी आएका छन् । संसदीय समितिमा मन्त्रीहरु भन्छन्, उद्योगी नै फरार छन् ।

    कतिसम्म भने मंगलबार गृह मन्त्रालयले सरकारको सम्पर्कमा नआएका चिनि उद्योगीलाई प्रहरीको सहायतामा समात्ने समेत भनिरहेको थियो ।

    कृषकले ऋण काडेर भाडा जोरजाम गरी उखुको मूल्य दिलाइदिन माग गर्दै काठमाडौं धाएका हुन् ।

    अहिले उखु कृषक माइतीघरमा धर्नामा बस्न बाध्य भएका छन् ।

    अन्नपूर्ण सुगर इन्डस्ट्रीसहित अधिकांश उखु मिलले कृषकको पैसा तिरेका छैनन् । उपभोक्ताबाट पूर्ण पैसा असुल गरी कालोधन्दा समेत गर्न भ्याउने उद्यमीलाई सरकार आफैले संरक्षण गरेको कृषकको गुनासो छ ।

    किनकी सरकारले कृषकलाई न्याय दिलाउन सकेको छैन । उद्योगीहरुले खुलेआम सरकारलाई चूनौति दिइरहेका छन ।

    अन्नपूर्ण सुगरले मात्र कृषकको ५० करोड रुपैयाँ तिरेको छैन । अन्य चिनि मिल सबै गर्दा कूल १ अर्ब, ४१ करोड ८१ लाख रुपैयाँ कृषकले पाउनु पर्नेछ ।

    यतिसम्म कि सरकारी संयन्त्रसँग समेत कुन मिलले कृषकलाई कति तिर्नु पर्नेछ भन्ने तथ्यांकसमेत छैन ।

    अर्कोतर्फ सरकारी तवरबाट समेत कृषकले अनुदान पाउनु पर्छ । सरकारले दिने अनुदानबापतको १ अर्ब ३४ करोड पनि कृषकको हात परेको छैन । यो गरी कुल २ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ कृषकले पाउन सकेका छैनन ।

  • एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर

    एनसेलले तिर्यो ४ अर्ब ५० करोड कर

    काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको छ । मंगलबार ठूला करदाता कार्यालयमा एनसेलले कर दाखिला गरेको हो ।

    सर्वोच्च अदालतले कर तिर्न आदेश गरेअनुसार एनसेलले सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ तिर्नुपर्नेमा मंगलबार ५ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो ।

    कार्यालयले १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा एनसेललाई पत्राचार गरेको थियो ।

    एनसेलले कार्यालयमा किस्ताबन्दीमा कर बुझाउन पाउ भनी निवेदनसहित ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको कार्यालयले जनाएको छ ।

    एनसेललाई किस्तावन्दीमा कर तिर्ने सुविधा दिने या नदिने भन्ने बारेमा भने अझै निर्णय भइसकेको छैन ।

  • संसदीय समितिले भन्यो : अतिक्रमित जमिन खाली गराउ

    संसदीय समितिले भन्यो : अतिक्रमित जमिन खाली गराउ

    काठमाडौं । संसदीय समितिले नेपालको अतिक्रमित भूमी खाली गराउन सरकारका नाममा निर्देशन दिएको छ ।

    भूमी खाली गराएर नयाँ नक्सा जारी गर्न संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले सरकारलाई निर्देशन दिएको हो ।

    समितिले मंगलवार गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमिसुधारमन्त्री पदमा अर्यालसहित सरोकारवालालाई बोलाएर छलफल गरेको थियो ।

    छलफलपछि समितिले निर्देशन जारी गर्दै अतिक्रमण भएको भूमि खाली गर्न निर्देशन दिएको हो ।

    अतिक्रमित भूमिसमेत समेटेर नयाँ नक्सा जारी गर्न र त्यसलाई सरकारी कामकाज तथा शिक्षण संस्थामा समेत प्रयोग गर्न समेत निर्देशन दिएको छ ।

    सरकारलाई राज्य व्यवस्था समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत अतिक्रमित भूमि राखेर समेटेर नक्सा सार्वजनिक गर्न निर्देशन दिइसकेका छन् ।

    समितिले अतिक्रमणमा परेका स्थानमा आवश्यकताअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सबै मौसममा बस्न सक्ने गरी सुरक्षा चौकी निर्माण तथा तैनाथ गर्न समेत समितिले निर्देशन दिएको बताएको छ ।

    सो कामका लागि चाहिने जग्गा र बजेट समेत उपलब्ध गराउन पनि समितिले सरकारका नाममा निर्देशन जारी गरेको छ ।

    लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत अतिक्रमणमा परेका क्षेत्रमा नेपालको नियन्त्रण सुदृढ गर्न, आफू मातहतमा ल्याउन र विदेशी फौज हटाउने विषयमा प्रभावकारी वार्ता गर्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

    अतिक्रमित क्षेत्रमा बस्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बाटोलगायत सुविधा दिन र सीमा क्षेत्रका सबै समस्या अभिलेख तयारी गरी त्यस क्षेत्रमा आवश्यक कदम चाल्न सरकारलाई भनेको छ ।

  • मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

    मासु काट्ने मेसिनमा परी मलेसियामा एक नेपालीको ज्यान गयो

    काठमाडौं । मलेसियाको मलक्का राज्यमा मासु काट्ने मेसिनमा परी एक नेपाली कामदारको ज्यान गएको छ ।

    मेसिनको मर्मत गरिरहेका बेला अचानक मेसिन चलेपछि उनी दूर्घटनामा परेका हुन । ४७ वर्षिय नेपाली कामदारको नाम भने सार्वजनिक गरिएको छैन ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफसीले जनाएअनुसार उनको कम्मरमा गहिरो चोट लागेको थियो । मेसिनले काटिएपछि उनको घटनास्थलमै निधन भएको हो ।

    उनको शव निकाल्न मात्रै करीव आधा घण्टा लागेको थियो । मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गर्दागर्दै दूर्घटनामा परेका हुन् ।

    घटना सोमबार भएको हो । उनी अन्य तीन जना कामदारसँगै काम गरिरहेको बेला दूर्घटना भएको छ ।

    दूर्घटना कसरी भयो भन्ने सम्बन्धमा छानविन भइरहेको बताइएको छ । मलेसियामा करीव ३ लाख ६० हजार नेपाली कामदारले काम गरिरहेका छन् ।

  • एमसीसी पारित हुने परराष्ट्र मन्त्रीको दाबी

    एमसीसी पारित हुने परराष्ट्र मन्त्रीको दाबी

    काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित हुने दावि गरेका छन् ।

    एमसीसीका विषयमा सरकार स्पष्ट रहेको भन्दै उनले कुनै सन्देह यो पास हुने उल्लेख गरे ।

    परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको सन् २०१८ १९ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् । एसीसीका विषयमा पछिल्लो समय पार्टी भित्रै विवाद बढेको छ ।

    वरिष्ठ नेता भीम रावल यसको खुलेर विरोधमा उत्रिएका छन् । प्रधानमन्त्री र रावलबीच यस विषयलाई लिएर सार्वजनिक बहस नै शुरु भएको छ ।

    मन्त्री ज्ञवालीले पार्टी स्थायी कमिटी बैठकमा यो विषय उठेको भएपनि पार्टीको निर्णय एमसिसीको पक्षमा हुने समेत उल्लेख गरे ।

    त्यसपछि एमसीसी संसदबाट पास हुने उनको भनाई छ ।

    एमसिसीका विषयमा आएका टिप्पणी भन्दा बढी सम्झौता महत्वपूर्ण रहेको उनको भनाई छ ।

    परियोजना छनोट गर्दा क्रस बोर्डर ट्रान्समिसन लाइनसमेत परेका कारण भारतको स्वीकृति अनिवार्य रहेको उनको भनाई छ ।

  • बढ्यो भ्रमण वर्षको चहलपहल, बढ्लान पर्यटक ?

    बढ्यो भ्रमण वर्षको चहलपहल, बढ्लान पर्यटक ?

    काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ । यसको तयारी पुरा भएको आयोजक नेपाल सरकारले जनाएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको तयारी पुरा भएको जानकारी गराएका छन् ।

    पर्यटन मन्त्री योगेश भट्टराईले ३१ डिसेम्बर र १ जनवरीका दिन दिपावली गर्न सबै नेपालीसँग आग्रह गरे ।

    अहिले वार्षिक झण्डै १२ लाख पर्यटक भित्रिरहेका छन् । यो संख्यालनई बढाएर २० लाख पुर्याउने चूनौतिका बीच सरकारले भ्रमण वर्ष घोषणा गरेको छ ।

    संख्यासँगै पर्यटन आयसमेत बढाउनु सरकारका लागि चूनौतिको विषय हो । यस अवस्थामा सरकारले कसरी अभियानलाई सफल बनाउला, यो भने हेर्नै पर्ने विषय हो ।

    भ्रमण वर्षका दौरान ८५ मुलुकमा नेपालको अभियान पुग्नेछ । गैरआवासीय नेपालीको संजाल रहेको क्षेत्रमा कार्यक्रम केन्द्रित गर्ने योजना सरकारको छ ।

    ती मुलुकमा गैरआवासीय नेपाली संघकै नेतृत्वमा कार्यक्रम आयोजना हुने भएका छन् ।