Author: Vishwanews.com

  • इराक र सिरियामा अमेरिकी कारवाही तिब्र

    इराक र सिरियामा अमेरिकी कारवाही तिब्र

    काठमाडौं । इराक र सिरियामा अमेरिकी सेनाले पुनः कारवाही तिब्र बनाएको छ । आफ्नो मुलुकका एक ठेकेदार मारिएपछि आक्रोसित बनेको अमेरिकी सेनाले इराक र सिरियाका लडाकु शिविरमा आक्रमण थालेको हो ।

    कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर सेनाले आक्रमण थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन ।

    अमेरिकाको नजरमा हिज्बुल्लाह एक आतङ्कवादी सङ्गठन हो । अघिल्लो साता किर्कुक भन्ने स्थानमा आतंकावादीहरुले रकेट आक्रमण गरेका थिए । जहाँ एक अमेरिकी ठेकेदारको ज्यान गएको थियो ।

    अमेरिकी सेनिक र इराकका उच्च अधिकारीसमेत यस आक्रमणमा घाइते भएका थिए । सोही आक्रमणपछि विच्किएको सेनाले लडाकु शिविरमा आक्रमण थालेको हो ।

    आइतवार इराकको अलकाइम जिल्लामा आक्रमण गरिएको छ । यो सिरियाको सीमाना हो । आक्रमणमा कम्तीमा १८ लडाकुको मृत्यु अधिकारीहरुले दावि गरेका छन् । ५० जनाभन्दा बढी घाइते छन् ।
    एजेन्सी

  • रंगशालामा ए डिभिजनका खेल केही दिन नहुने, भ्रमण वर्ष उद्घाटनको तयारी

    रंगशालामा ए डिभिजनका खेल केही दिन नहुने, भ्रमण वर्ष उद्घाटनको तयारी

    काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लीग फुटबलका खेलहरु आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन हुँदैछन् ।

    नेपाल भ्रमण वर्षको उद्घाटनका दौरान रंगशालामा तयारी शुरु भएका कारण ए डिभिजन लीगका खेल सातदोबाटो सार्नु परेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

    लीगमा सोमबारबाट चौथो चरणका खेल सुरु हुँदैछन्। चौथो चरणका खेल अन्तर्गत पहिलो खेलमा सोमबार मच्छिन्द्र क्लब र न्युरोड टिम एनआरटी भिड्दै कार्यक्रम रहेको छ ।

    सोही मैदानमा दोस्रो खेलमा फ्रेन्ड्स क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन्।

    तेस्रो चरणका खेल सकिदासम्म मनाङ आफ्ना सबै खेलमा जित निकाल्दै ९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। थ्रीस्टार २ खेलमा जीत र एक बराबरी खेल्दै दोस्रो स्थानमा छ ।

  • एकै पटक ८५ अर्बको वैदेशिक लगानी स्वीकृत

    एकै पटक ८५ अर्बको वैदेशिक लगानी स्वीकृत

    काठमाडौं । लगानी बोर्डले एकै पटक पौने खर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीलाई स्वीकृति प्रदान गरेको छ ।

    तीनवटा जलविद्युत आयोजना निर्माण गर्न ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिएको बोर्डले जनाएको छ ।

    बोर्ड अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बोर्डको बैठक बसेको थियो । बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

    बोर्डका अनुसार कोरियाली लगानीमा बन्ने माथिल्लो त्रिशुली १ लाई ६५ अर्ब, मर्स्याङदी बेंसी जलविद्युत आयोजनालाई ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनालाई ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत गरिएको छ ।

    २१६ मेगावाटको माथिल्लो त्रिशुली १ आयोजना नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण हुने भएको छ ।

    निजी लगानीमा मर्स्याङ्दीबेंसी बनिरहेकोछ भने नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ ।

    बोर्डले निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको छयाङकुटीदेखि दिर्दिङसम्मको पहुँचमार्गको मुआब्जा वितरणका लागि गठन भएको छानविन समितिलाई थप प्राविधिक सहयोग हुने गरी पुनर्गठन गर्ने निर्णय गरेको छ ।

    यस समितिबाट २ महिनाभित्र प्रतिवेदन माग्ने निर्णय समेत बैठकले गरेको छ । पछिल्लो समय जलविद्युत क्षेत्रमा तिब्र गतिमा वैदेशिक लगानी आइरहेको छ ।

  • सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

    सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानून बन्दै

    काठमाडौं । नेपालमा सामाजिक सजाल प्रयोगकर्ताका लागि कडा कानून बन्ने भएको छ । संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।

    जसमा सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि कडा कानूनी प्रावधान राखिएका छन् । यसमा प्रमुख विपक्षी नेपाली कांग्रेसले विरोध जनाएको थियो । तर, बहुमत नेकपाको रहेका कारण विधेयक पारित भएको हो ।

    यो विधेयक अब प्रतिनिधिसभामा लैजान योग्य भएको छ । प्रतिनिधि र राष्ट्रिय दुबै सदनबाट पास भएमा यसले कानूनको रुप लिनेछ । त्यसपछि सामाजिक सञ्जालको ्रयोगमा सरकारले कडा निगरानी गर्ने भएको छ ।

    अब सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती गर्ने प्रकृतिका पोष्टहरु कानूनी रुपमा अपराध मानिनेछ ।

    त्यस्तो पोष्ट गर्ने मानिसलाई पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवानाको प्रावधान विधेयकमा राखिएको छ ।

    सरकारले विधेयकमा तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवाना वा दुबै सजाय गर्ने प्रस्ताव गरेकोमा समिति यसमा अझै कठोर बनेको हो ।

    कसैको चरित्र हत्या गर्ने र राष्ट्रिय स्वाधीनतामा खलल पुग्ने सामाग्री सरकारले हटाउन सम्बन्धित प्रयोगकर्तालाई निर्देशन दिन सक्ने र नमाने कारवाहीको भागिदार हुनुपर्नेछ ।

    विधेयकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सहमति जनाएको छैन । फौजदारी न्यायको सिद्धान्त र अभिव्यक्ति स्वतन्त्रता विपरीत आएका प्रावधान कांग्रेसलाई मान्य नभएको नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

    अब नेपालमा सञ्जाल दर्ताले अनिवार्य दर्ता समेत गर्नुपर्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालको आफ्नो कार्यालय नेपालमा राखेर दर्ता गर्नुपर्ने प्रावधान विधेयकमा राखिएको छ ।

  • धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष

    धनुषा विस्फोट विप्लव माओवादी गराएको प्रहरीको निष्कर्ष

    धनुषा । एक प्रहरी अधिकारीसहित ३ जनाको ज्यान जाने गरी धनुषामा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात हरेको निष्कर्ष प्रहरीले निकालेको छ ।

    अनुसन्धानका दौरान विप्लव कार्यक्रताबाट विस्फोट गराएको निष्कर्षमा प्रहरी पुगेको हो । २७ मंसिरमा धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान जाने गरी बम बिस्फोट भएको थियो ।

    विष्फोटमा राजेश साह र उनका छोरा उन्नत साहको पनि ज्यान गएको थियो । प्रहरीका अनुसार त्यहा टाइम बम विस्फोट भएको थियो ।

    खासगरी विप्लव माओवादीको खोल ओढेर तराईमा आपराधिक गतिविधि गर्ने व्यक्तिले यो हर्कत गरेको प्रहरीको निष्कर्ष रहेको छ ।

    विस्फोटपछि प्रहरीले केही व्यक्ति पक्राउ गरेको छ । उनीहरु विप्लव समूहका लागि पैसा उठाउने गर्थे ।

    बम राख्नुअघि पटक, पटक राजेशलाई धम्की दिएको प्रहरी अनुसन्धानमा देखिएको छ । मृतक राजेश साह औषधी व्यवसायी थिए। उनी ब्याजमा पैसा लगानी गर्ने काममा समेत सक्रिय थिए ।

  • माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो

    माओवादी नेता सीपी गजुरेललाई प्रहरीले समातेर छाड्यो

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    अपरान्ह सिंहदरबार प्रवेश गर्ने क्रममा पक्राउ परेका उनीसहित १५ जना नेता, कार्यक्रतालाई प्रहरीले साँझ छाडेको छ ।

    सिंहदरवारमा हुलदंगा गरी प्रहरीमाथि ढुंगामुडा गर्न उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार गजुरेलले सीमा अतिक्रणका विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन समय लिएका थिए । पोखरेलले समय पनि दिएका थिए ।

    तर, नेता गजुरेल दलबलसहित सिंहदरबार पस्न खोजेपछि प्रहरीले रोकेको थियो ।

    त्यसपछि भने प्रहरी र माओवादी कार्यक्रताबीच झडपको स्थिति उत्पन्न भएको थियो ।

    प्रहरीमाथि भएको ढुंगामुडामा दुई जना प्रहरी घाइते भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ पछि माओवादी नेताहरुलाई प्रहरीले प्रदर्शनमार्गस्थित पुलिस क्लबमा राखेको थियो । उनीहरु साँझ नै रिहा भएका छन् ।

  • प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

    प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेको छ ।

    नेकपाको आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको टुंगो लगाएको हो ।

    बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

    प्रदेशको नाम र राजधानीमा नेताहरुबीच सहमति नभएका कारण अझै चार वटा प्रदेशले नाम र राजधानी टुंगो लगाउन सकेका छैनन् ।

    त्यसमा प्रदेश नं ३ पनि एक हो । प्रदेशको नाममा नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मती गरी तीन विकल्पमा छलफल भएको थियो ।

    राजधानीका लागि भने काभ्रे, भक्तपुर र हेटौंडा गरी तीन विकल्पबाट हेटौडा छानिएको हो । हैटौडा अस्थायी राजधानी तोकिएको शहर हो ।

    प्रदेश ३ प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेका कारण नेकपाले सिफारिस गरेकै नाम र राजधानी कायम हुने निश्चित भएको छ ।

  • भ्रमण वर्ष उद्घाटनको तयारी तिब्र, राष्ट्रपतिबाट शुभारम्भ हुने

    भ्रमण वर्ष उद्घाटनको तयारी तिब्र, राष्ट्रपतिबाट शुभारम्भ हुने

    काठमाडौं । नेपाल भ्रमण वर्षका शुभारम्भ भब्य बनाउने तयारीमा सरकार जुटेको छ । यसका लागि सबै तयारी पुरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

    १ जनवरीमा हुने उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । उद्घाटनमा विभिन्न आधा दर्जन मुलुकले पर्यटन मन्त्री वा मन्त्रीस्तरीय टोली नेपाल पठाउने तयारी गरेका छन् ।

    यसले विश्वभर नेपालको प्रचार गर्न सहयोग पुग्ने सरकारको विश्वास छ । यस दिन ३ बजेबाट औपचारिक कार्यक्रम शुरु हुनेछ ।

    भ्रमण वर्षको औपचारिक भाइवर स्टीकर सार्वजनिक गरी संसारभरका पर्यटन मन्त्रीले शुभकामना सन्देश पठाउने गरी व्यवस्था मिलाइएको छ ।

    नेपालमा १ जनवरीमा हुने उद्घाटन पछि ७ जनवरीमा संसारभर यसको उद्घाटन हुनेछ ।

    गैरआवासीय नेपाली, नेपाली कूटनीतिक नियोग र सरोकारवालाको सहभागितामा विदेशका भ्रमण वर्षको औपचारिक शुभारम्भ हुने छ ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको हो ।

  • अब औषधिको जानकारी मोवाइल एपबाटै

    अब औषधिको जानकारी मोवाइल एपबाटै

    काठमाडौं । नेपालमा सरकारी स्तरबाटै औषधिसम्बन्धी जानकारी मोवाइल एपमा उपलब्ध गराउने तयारी भएको छ । औषधी व्यवस्था विभागले मोवाइल एप बनाएको छ ।

    विभिन्न प्रकारका औषधिका सम्बन्धमा विस्तृत जानकारी सहित मोबाइल एप्स तयार भएको छ ।

    विभागले औषधिको सूचनामा आधारित मोबाइल एप्स तयार गरेको जानकारी गराएको छ ।

    एप्स लगइन गरेपछि औषधिको प्रयोग, कतिपय औषधीबाट हुने नकारात्मक असर, मात्रा, नेपालमा उपलब्ध औषधीको विवरणजस्ता विषयबारे आम सर्वसाधारणले समेत जानकारी पाउने भएका छन् ।

    विभिन्न प्रकारका संक्रमण, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बेला के गर्ने, प्रजनन स्वास्थ्यसँग जोडिएका औषधिबारे समेत जानकारी राखेर विभागले एप बनाएको हो ।

    एपमा चिकित्सकले बढी मात्रामा सिफारिस गर्ने विभिन्न जेनेरिकका ६ सय बढी प्रकृतिका औषधिको विवरण समावेश गरिएको छ ।

    नेपालमा औषधिको प्रयोग र किनमेल नजान्दा उपभोक्ता बढी ठगिने गरेका छने । एपको प्रयोगबाट उपभोक्तामा समेत सचेतना बढ्ने अपेक्षा गरिएको छ ।

  • सोमालियामा शक्तिशाली कार बम विस्फोट, ७६ मारिए

    सोमालियामा शक्तिशाली कार बम विस्फोट, ७६ मारिए

    काठमाडौं । सोमालियामा भएकोशक्तिशाली कार बम विस्फोटमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।

    १ सय भन्दा बढी घाइते भएका कारण मृतकको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    बिहान अति व्यस्त हुने समयमा राजधानी मोगादिशुस्थित एक प्रहरी चेकपोस्ट नजिकै बम विस्फोट गराइएको थिया ।

    त्यहाँ सडक निर्माण गर्न टर्किस इन्जिनियर खटिएका थिए । उनीहरुप्रति लक्षित गरी कार बम विस्फोट भएको हो ।

    सोमालियाका विदेश मन्त्री अहमद अवाडले ट्विट गर्दै यसको पुष्टी गरेका छन् । उनका अनुसार यसरी मारिनेमा दुई टर्किस इन्जिनियर समेत छन् । सोमालियालाई टर्कीले निरन्तर सहयोग गरिरहेको छ ।

    यसबाहेक बसमा यात्रा गरिरहेका बन्दिर युनिभर्सिटीका दुई दर्जन विद्यार्थीको समेत ज्यान गएको छ ।

    घाइतेहरुका अवस्था गम्भीर रहेको र मृतकको संख्या अझै बढ्न सक्ने संचारमाध्यममा उल्लेख छ ।

    विस्फाट निकै भयानक रहेको र त्यसपछिको कारुणिक दृष्य हेनै नसकिने अवस्था रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    यो विस्फोटको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन ।

    सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह फर्माजोले आक्रमणको भत्र्सना गरेका छन् ।

    उनले सोमालियी जनतालाई हतोत्सायी बनाउन आक्रमण भएको बताएका छन् । सोमालिया अधिक भोकमरीबाट पिडित मुलुक हो ।

    एजेन्सी

  • संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल

    संस्थापन पक्षले निर्णय सच्याउनु पर्छ : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन र विभाग गठनका सम्बन्धमा भएका निर्णय सच्चिनु पर्ने बताएका छन् ।

    शनिबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पोडेल पक्षधर नेताहरुको बैठकपछि आयोजित पत्रकार सम्मेलनका दौरान उनले यस्तो बताएका हुन् ।

    पत्रकार सम्मेलनमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह पौडेलसँगै उपस्थित थिए ।

    पौडेलले सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयले पार्टी धरापमा पर्ने उल्लेख गरे ।

    देउवाले आफू पक्षका केन्द्रीय सदस्य मात्र उपस्थिति भएको शुक्रबारको केन्द्रीय समिति बैठकबाट १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने गरी मिति तोकेको थिए ।

    २८ विभाग रहेको कांग्रेसमा केन्द्रिय विभागको संख्या समेत ४७ वटा पुर्याउने निर्णय उनले बहुमतका आधारमा गरेका थिए ।

    शुक्रबारको बैठकमा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य उपस्थित नभएको मौकामा संस्थापन पक्षले उक्त निर्णय गरेको थियो ।

    पौडेलले विधानको घेराभित्र रहेर सहमतिअनुसार पार्टी सञ्चालन गर्नुपर्नेमा पेलेर जाने काम भएको बताए ।

    भातृ संस्था नेविसंघ, दलित संघजस्ता संघको अधिवेशन नगराउनु पार्टीलाई संकटतर्फ धकेल्नु बराबर भएको उनको भनाई छ ।

  • फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला

    फूलचोकीमा रुट छाडेर हिँड्दा बाटो बिराएका यूवायूवती सकुशल फेला

    ललितपुर । फूलचोकी घना जंगलले घेरिएको डाँडो हो । यहाँ हरेक दिन कैयौं मानिस घुमघाममा जाने गर्छन् । र खासगरी जाडो मौसममा केही मानिस हराउने पनि गर्छन् ।

    फूलचोकीमा केही पहिले साइनिंगहरु थिएनन् । त्यसकारण मानिस हराउनु स्वाभाविक मानिन्थ्यो ।

    तर, अहिले यहाँ व्यवस्थित हाइकिंग रुट बनाइएको छ । त्यही रुटलाई नछोडी यात्रा गर्दा कोही पनि हराउँदैन । तर, शनिबार ५ जना यूवायुवती फुलचोकीमा हराएको खबर ललितपुर प्रहरीमा आयो ।

    प्रहरीले एक टोली नै खटाएर खोजी तिब्र पार्यो र ती यूवायुवतीलाई फेला पारेको छ । प्रहरीका अनुसार उनीहरु नियमित बाटो छाडेर हिडेका थिए । तर, उनीहरुले रुट फेला पार्न सकेनन् र हराए ।

    त्यसपछि उनीहरुले फोन गरेर आफूहरु हराएको जानकारी प्रहरीलाई दिएका थिए ।

    बाँडेगाउँ र जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उद्दार गरेको हो ।

  • राजधानीमा अब प्रहरीको आँखा  लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ

    राजधानीमा अब प्रहरीको आँखा लागुऔषध कारोबारी र प्रयोगकर्तातर्फ

    काठमाडौं । प्रहरीले काठमाडौंमा चोरी, लागूऔषध ओसारपसार तथा बेचविखनविरुद्ध कारवाही तिब्र बनाएको छ । स्वीप अपरेसनका दौरान शुक्रबार मात्र सयौं मानिस समातिएका छन् ।

    बिहीबार र शुक्रबार गरी २ सय भन्दा बढी व्यक्ति पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

    बसुन्धरा, टोखा, बाँसबारी, मन्डिखाटार, गौशाला, चाबहिल र बानेश्वर क्षेत्रबाट ति व्यक्ति पक्राउ परेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।

    स्थानीय प्रहरीको अगुवाईमा कार्यालयले टोली नै खटाएर लागु औषधका कारोबारी र प्रयोगकर्ताविरुद्ध कारवाही तिब्र बनाएको छ ।

    अहिले राजधानीमा लागु औषध प्रयोगकर्ताका कारण धेरै पारिवारिक किचलो, अपराधका घटना घटिरहेका छन् ।

  • हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी

    हिन्दु संस्कार अनुसार हात्तीको अन्तेष्टी

    कंचनपुर । कंचनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुन्जको सबैभन्दा पुरानो तथा वृद्ध उमेरको हात्ति रतनकलीको विहिबार निधन भयो ।

    विसं २०३५ सालमा चितवन राष्ट्रिय निकुन्जबाट शुक्लाफाँटा ल्याइएको हात्ती ‘रतनकली’ को शुक्रबार हिन्दु संस्कार अनुसार अन्तेष्टी गरिएके छ । रतनकलीलाई निकुञ्जस्थित हात्तीसारमा राखिएको थियो । रतनकलीको उमेर ८४ वर्ष थियो ।

    रतनकलीलाई चराउन जाँदा बसेको हात्ति उठ्न सकेन । कर्मचारीहरुका अनुसार कालगतिले उसको निधन भएको हो । हात्तिको औसतः उमेरभन्दा यो बढी बढी उमेर बाचेको थियो । कर्मचारीले पहरा दिएकै समयमा उसले स्वास गएको हो ।

    रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो। रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारीले भाग लिए ।

  • कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज

    कांग्रेसमा किचलो बल्झने संकेत, पौडेल समूहको भेला आज

    काठमाडों । कांग्रेस सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले केन्द्रीय कार्य समितिको अवधि एक बर्ष बढाएपछि कांग्रेसमा जारी किचलो अझ बढ्ने भएको छ ।

    बहुमतबाट एकलौटी निर्णय आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र उनका पक्षका नेता भने असन्तुष्ट छन् ।

    शनिबार पौडेल पक्षका नेताहरु भेला हुँदैछन् । महामन्त्री डा. शशांक कोइरालाको निवासमा पौडेल निकट नेताहरु भेला हुने तयारी छ ।

    त्यसपछि पत्रकार सम्मेलनमार्फत ौडेल पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

    देउवा पक्षले पेलेरै जाने नीति लिएपछि पौडेल पक्षधर असन्तुष्ट बनेको छ । पौडेल पक्षको भेलामा नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुँदैछन् ।

    सभापति देउवाको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको १४ औं महाधिवेशन आगामी २०७७ फागुनमा गर्ने निर्णय गर्दै कार्यकाल एक वर्ष लम्ब्याउने निर्णय गरेको हो । कांग्रेस विधानअनुसार हरेक ४ वर्षमा महाधिवेशन हुनुपर्छ।

  • काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो

    काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो

    काठमाडौं । देशभर चिसोले जनजीवन प्रभावित हुने क्रम जारी छ । शनिबार काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्रीमा झरेको उल्लेख गरेको छ ।

    बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियसमा थियो । आज यस वर्षको चिसो दिन मापन भएको छ ।

    चिसो अझै बढ्ने पूर्वानुमान महाशाखाको छ । देभभर मौसम सफा रहेपनि चिसोले भने जनजीवन प्रभावित हुने भएको छ ।

    तराईका अधिकांश जिल्लामा शितलहर जारी रहेको छ । हिमाली भेगमा भने हिमपात भइरहेको छ ।

  • आइएसको बर्बरता, १२ जनाको घाटी रेटेर हत्या

    आइएसको बर्बरता, १२ जनाको घाटी रेटेर हत्या

    काठमाडौं । आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले फेरी बर्बरता प्रदर्शन गरेको छ । आइएसले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेको छ ।

    आईएसले अघिल्लो अक्टोबरमा नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन अल मुहाजिर मारिएको बदला लिन ती मानिसको हत्या गरेको उल्लेख गरेको छ ।

    आईएसले समाचार एजेन्सी अमाकमार्फत् एक भिडियो सार्वजनिक गरेको छ । उसले ५६ सेकेण्डको भिडियोमा सार्वजनिक गरेको छ ।

    जहाँ एक जनालाई मागोली हानेर मारिएको छ । १० जनालाई भने खाल्डोमा खसाएर घाँटी रेटी हत्या गरिएको छ ।

    हत्या गरिएकाको सबै पुरुष थिए । परिचय आइएसले सार्वजनिक भने गरेको छैन ।

    आफ्ना नेता बगदादी मारिएपछि केही समय मौन बसेको आइएसले फेरी कायरतापूर्वक सर्वसाधारणको हत्या श्रृंखला प्रारम्भ गरेको हो ।
    एजेन्सी

  • काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

    काजकस्तानमा विमान दुर्घटना, १५ को गयो ज्यान

    काजकस्तान । काजकस्तानस्थित अल्माती एयरपोर्ट नजिक भएको यात्रुवाहक विमान दुर्घटनामा कम्तिमा १५ जनाले ज्यान गुमाएका छन ।

    ६० भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । एयरपोर्ट अधिकारीका अनुसार विमानमा ९८ जना सवार रहेका थिए। त्यसमध्ये ९३ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेको उल्लेख छ ।

    ‘बेक एयर’ को जेड ९२१०० जहाज अल्माती शहरबाट राजधानी नुर सुल्तानतर्फ जाने क्रममा दुर्घटनामा परेको हो ।

    जहाज उड्ने बित्तिकै बिहान ७ बजेर २२ मिनेटमा सन्तुलन गुमाएको थियो । त्यसपछि जहाज दुई तले ठोक्किएको थियो ।

    दुर्घटनाग्रस्त जहाजबाट दर्जनौलाई उद्दार गरिएको छ । त्यसमध्ये ८ जना बालबालिका समेत छन् ।

    दुर्घटना भएको स्थानमा बाक्लो हुस्सु र भूईमा हिँउ थियो ।

    दुर्घटनाको कारण खुलिसकेको छैन । कजाकस्तानका राष्ट्रपति कासम जोमार्टले जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेका छन् । ज्यान गुमाउनेमा ६ जना बालबालिका छन्।

  • प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि

    प्रधानमन्त्रीको नियमित डायलासिस आज पनि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि शुक्रबार शिक्षण अस्पताल पुगेका छन् ।

    उनी नियमित डायलासिसपछि प्रधानमन्त्री निवास वालुवाटार फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले टुइट गर्दै जानकारी गराएका छन् ।

    १२ वर्ष अघि फेरेको मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्रीलाई अहिले नियमित डायलासिस गर्नुपर्ने भएको छ ।

    त्यसका लागि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गइरहेका छन् ।

  • मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

    मकवानपुरमा जीप दुर्घटना, ५ को ज्यान गयो

    हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना भएको छ । शुक्रबार भएको दुर्घटनामा ५ को ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनालाई उपचार गर्न काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

    मृतकमध्ये रौतहट, चन्द्रपुर नगरपालिका ९ का २१ वर्षीय मनिष विक र उनकी श्रीमती २० वर्षीया सिर्जना विकको मात्र पहिचान भएको छ ।

    १ महिला र २ पुरुषको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

    रौतहटको चन्द्रपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

  • अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

    अब काठमाडौं होर्डिङ बोर्डमुक्त शहर, आजैबाट थालियो काम

    काठमाडौं । शुक्रबारबाट काठमाडौं महानगरपालिका भित्रका विभिन्न स्थानबाट होर्डिङ बोर्ड हटाउन थालिएको छ ।

    महानगरले नगर प्रहरीको सहयोगमा शुक्रबारबाटै यसको थालनी गरेको हो । यसअघि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन निर्देशन दिएका थिए ।

    उनको निर्देशन लगत्तै महानगरपालिका र प्रहरीको संयुक्त टोलीले शुक्रबारबाट धमाधम होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।

    शुक्रबार माइतीघर, विजुलीबजार, नयाँ बानेश्वर, तीनकुने, सोह्रखुट्टेसहित दर्जनौ स्थानमा टोली खटिएर होर्डिङ बोर्ड हटाइएको छ ।

    सर्वोच्च अदालतले २०७२ सालमै दिएको आदेश ४ वर्षपछि मात्र कार्यान्वयन हुन शुरु भएको छ ।

    राजधानीमा महानगरले नै कतिपय स्थानमा होर्डिङ बोर्ड अनुमति दिएका कारण हटाउन आनाकानी गरेको थियो ।

    तर, गृहमन्त्रीको आदेश र महानगरविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दायर भएपछि महानगर नै यसमा सक्रिय भएको हो ।

    विजुलीका पोलमा समेत विज्ञापनका बोर्ड राख्न नेपाल विद्यूत प्राधिकरणले अनुमति दिएको थियो ।

    शुक्रबार पोष्टर–पम्प्लेट टास्दै हिँडेका १० जनालाई पक्राउ परेका छन् ।

    महानगरले पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना समेत तिराएको छ । यस्ता पम्प्लेटका कारण समेत शहर कुरुप बन्दै गएको छ ।

    सरकारले भ्रमण वर्ष अगाडी नै काठमाडौंलाई कुरुप बनाइरहेका होर्डिङ बोर्ड हटाउने रणनीति लिएको हो ।

  • कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

    कांग्रेसमा बहुमतले तोक्यो महाधिवेशनको मिति

    काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति २०७७ साल फागुन ७ देखि १० सम्म गर्ने गरी तोकेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडल समूहले बहिस्कार गरेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले १४ औं महाधिवेशनको मिति तोकेको हो ।

    शुक्रबार पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । यसअघि पटक पटक तोकिएको बैठक पौडेल समूहले बहिष्कार गरेपछि बस्न सकेको थिएन् । शुक्रबार भने बस्यो ।

    बैठकले बहुमतका आधारमा वर्तमान कार्यसमितिको म्यादसमेत एक वर्ष लम्ब्याएको छ । कांग्रेसको वर्तमान कार्यसमितिको म्याद १९ फागुन २०७६ मा सकिन्छ ।

    कार्यसमितिको म्याद सकिनेवित्तिकै महाधिवेशन गर्न सम्भव नभएको भन्दै केन्द्रिय समिति बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको एक वर्ष लम्ब्याएको हो ।

    बैठकले १४ औं महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सक्न समितिले निर्वाचन समितिलाई आग्रह गरेको छ ।

    माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण शुरु हुने भएको छ । नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची ०७७ आश्विनसम्म सकिने भएको छ ।

    त्यसपछि अधिवेशनका काम प्रारम्भ हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्य मात्र शुक्रबारको बैठकमा उपस्थित थिए ।

    बैठकले केन्द्रीय विभागको संख्यासमेत थपेको छ । अब कांगे्रसमा ४७ केन्द्रिय विभाग हुने भएका छन् ।

    विधानमा विभागको संख्या २८ रहने प्रावधान रहेको छ । बहुमतले गरेको यो निर्णयलाई पौडेल र कृष्ण सिटौला समूहले मान्नेमा भने शंका रहेको छ ।

  • छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

    छोरी केन्द्रित प्रदेश सरकारका आकर्षक योजना

    काठमाडौं । नेपालमा छोरा र छोरीका बीच हुने विभेद एक मूख्य परम्परागत समस्या हो ।

    अरुको घर जाने छोरीलाई पढाउनु पर्दैन भन्ने र त्यति महत्व नदिने समाजमा परिवर्तन ल्याउन पछिल्लो समय प्रदेश सरकारहरुले आकर्षक योजना ल्याउन थालेका छन् ।

    १ पुसबाट कर्णाली प्रदेश सरकारले छोरीको खाता खोलेर हरेक महिना ५ सय रुपैयाँ प्रदेश सरकारका तर्फबाट डिपोजित गर्न थालेको छ ।

    यसै सन्दर्भमा प्रदेश सरकारले समेत ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम कार्यान्वयन थालेको छ ।

    यस अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम शुरु गर्न लागेको प्रदेश सरकारले जनाएको छ । यस कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउन छोरी बीमा सप्ताह सञ्चालन गरिने भएको छ ।

    सरकारले १ माघ २०७५ यता प्रदेश भित्र जन्मिएका छोरीको शिक्षाका लागि बीमा गर्ने घोषणा प्रदेश सरकारले गरेको थियो ।

    तर, कर्मचारीको अभावजस्ता कारणले सोचेजति प्रगति हुन सकेको छैन ।

    अब प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर नै सञ्चालन गरी घरदैलो कार्यक्रममार्फत बीमा सुविधा बिस्तार गर्ने भएको हो ।

    २ माघ २०७६ बाट प्रदेशस्थित आठ वटै जिल्लामा शिविर सञ्चालनको तयारी गरिएको छ ।

    शिविरमा शिक्षा बीमाका साथै छोरीको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम संचालन हुनेछन् ।

  • मुक्तिनाथ जाने बाटोमा सुख्खा पहिरो, यात्रु अलपत्र

    मुक्तिनाथ जाने बाटोमा सुख्खा पहिरो, यात्रु अलपत्र

    म्याग्दी । बेनी–जोमसोम सडक खण्डमा गएको सुख्खा पहिरोका कारण मुस्ताङ जाने सवारी साधन रोकिएको छन् ।

    यसले मुक्तिनाथका लागि हिडेका यात्री अलपत्र परेका हुने । म्याग्दी प्रहरीका अनुसार शुक्रबार बिहानैबाट यो बाटो बन्द भएको हो ।

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित गुइठेभिरमा सुक्खा पहिरो गएको हो ।

    जसले गर्दा बेनी–जोमसोम सडकको यातायात सेवा प्रभावित हुन पुगेको छ । पहिरो बिहीबार राति खसेको बताइको छ । अहिले पहिरो हटाउने काम शुरु भएको छ ।

    पछिल्लो समय मुस्ताङमा ठूलो संख्यामा विदेशी तथा स्वदेशी पर्यटक पुग्ने गरेका छन् । आफ्नै सवारी लिएर र सार्वजनिक सवारीमा समेत उत्तीकै संख्यामा पर्यटक पुग्ने गरेका छन् ।

  • कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै

    कहिले आउँछन् सभामुख ? नेकपामा विवाद कायमै

    काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलत्कार प्रयासको आरोप लागेपछि यतिबेला व्यवस्थापिका संसद नेतृत्वबिहिन रहेको छ ।

    तर, सत्तारुढ नेकपाले सभामुखको लागि पार्टी भित्रैबाटै सहमति निकाल्न सकेको छैन । पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच नै सहमति जुट्न नसकेपछि संसदले नयाँ सभामुख नपाएको हो ।

    अहिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले चलाइरहेको यो पदमा उनले समेत दावि गरेकी छिन् ।

    यता, ओली र प्रचण्डले पूर्व एमाले र पूर्व माओवादी खेमामा दावि जारी राखेपछि सहमति नजुटेको नेकपा स्रोतको भनाई छ ।

    ओलीले पूर्वसभामुख सुवास नेम्वांग र प्रचण्डले अग्नी प्रसाद सापकोटालाई सभामुख बनाउन चाहिहेका छन् ।

    शुक्रबार समेत संसद बैठक बस्ने कार्यतालिका छ । तर, यो बैठक उपसभामुखले चलाउने छिन या स्थगित हुन्छ भन्ने अझै तय भइसकेको छैन ।

  • ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

    ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

    काठमाडौं । सरकारले पछिल्लो ८ महिनायता चौथो पटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ ।

    ठेकेदार कम्पनीले जे भन्छन्, त्यही प्रावधान राख्दै सरकारले प्रावधान संशोधन गर्दा काम नगर्ने ठेकेदारका अगाडी समेत सरकार झुकिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदारलाई कारवाही गर्न विभागीय मन्त्रीहरुलाई समेत गत महिना निर्देशन दिएका थिए ।

    तर, भित्रभत्रै उनकै नेतृत्वको मन्त्रीपरिषद्ले ठेकेदारलाई सहज हुने गरी चौथोपटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ ।

    जसअनुसार काम अलपत्र पारेका ठेकेदारको आयोजनाको म्याद फेरी थपिने भएको छ ।

    यसले ठेकेदारलाई काम नगरेवापत कारवाही हुनपर्नेमा उल्टो प्रोत्साहन मिल्नेछ ।

    सोमबार मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरीद नियमावलीको नवौं संशोधन गरेको बिहीकार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

    ३० वैशाखमा सरकारले छैठौं संशोधन गरेयता चार पटक खरीद नियमावलीमा संशोधन गरेको हो ।

    नवौं संशोधनबाट म्याद सकिएर अलपत्र आयोजनामा पुरानै निर्माण व्यवसायीलाई थप एक वर्ष काम गरिराख्ने प्रावधान राखिएको छ ।

    व्यवसायीहरु काम छिटो अगाडी बढाउनुको साटो आन्दोलनमा थिए । उनीहरु संसिरयता विभिन्न चरणको आन्दोलनमा थिए ।

  • अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

    अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् ।

    यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ ।

    बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको भ्रमण वर्षको उद्घाटन अगाडी नै काठमाडौंबाट होर्डिङ बोर्ड हट्नेछन् ।

    शुक्रबारदेखि नै यसको काम थालिने भएको छ । शहरलाई कुरुप बनाइरहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो ।

    महानगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण, नेपाल टेलिकमको प्रतिनिधि रहने गरी कार्यदल बन्ने छ ।

    काठमाडौंका होर्डिङ बोर्ड हटाउन ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन निर्देशन दिएको भएपनि कार्यान्वयन भएको छैन ।

    महानगर क्षेत्रबाट व्यवसायिक होर्डिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउने तयारी रहेको छ ।

  • पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

    पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

    काठमाडौं । सरकारले १२ वैशाख २०७२ को भूकम्पयता पुनर्निर्माणका क्रममा संरचना निर्माणमा मात्र साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    प्राधिकरण १२ पुसमा ५ औं वर्षमा प्रवेश गर्दैछ । यसको समयावधी ५ वर्ष हो । अबको १ वर्षमा प्राधिकरणले पुनर्निर्माणका बाँकि काम पुरा गर्नुपर्ने दायित्व छ ।

    तर, कतिपय संरचना भने अझै पनि पुनर्निर्माण नै थालिएका छैन । त्यसकारण आगामी दिनमा थप बजेटको आवश्यकता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार अब पुनर्निर्माणका बाँकि काम गर्न अझै ३ खर्ब रुपैयाँ बजेट आवश्यक देखिएको छ । चार वर्षको अवधिमा पुनर्निर्माणको औषत ८३ प्रतिशत प्रगति देखिएको छ ।

    तर, बजेटको आवश्यकताका आधारमा भने अझै ठूलो रकम चाहिन्छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७२\७३ मा २२ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ खर्च भएको थियो ।

    आव २०७३\७४ मा ४९ अर्ब ६९ करोड १७ लाख बजेट खर्च भयो । आव २०७४\७५ मा १ खर्ब १४ अर्ब ७८ करोड ११ लाख खर्च भएको थियो ।

    आव २०७५\७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख खर्च भएको तथ्यांक छ । चालु आवमा भने १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

    चार वर्षमा निजी आवास पुनर्निर्माणतर्फ कूल ८६ प्रतिशत प्रगति भएको प्राधिकरणको तथ्यांक छ ।

    अहिले धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरवार, नुवाकोट दरवार, सिंहदरवारलगायत संरचनाको बनिरहेका छन् ।

  • काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

    काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा माइनस ६ डिग्री तापक्रम मापन भएको छ ।

    तराईका जिल्लाहरुमा शितलहर चल्न थालिसकेको छ । पूर्वी तराईमा चिसोका कारण केही मानिसले ज्यान समेत गुमाइसकेका छन् ।

    काठमाडौंको तापक्रम एक दिनकै अन्तरमा तापक्रम झण्डै २ डिग्री कम भएका कारण पनि विहीबार बढी चिसो अनुभव भएको हो ।

    बिहीबार डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम रहेको महाशाखाले उल्लेख गरेको छ ।

  • पोखरामा भारतीय बस आउन रोक

    पोखरामा भारतीय बस आउन रोक

    पोखरा । पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमा प्रतिवन्ध लागेको छ ।

    पोखरामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि प्रतिवन्ध लगाएको हो ।

    पोखरामा भारतीय पर्यटकको बाहुल्य रहेको छ । उनीहरु आफ्नै सवारी साधन लिएर आउने गरेका छन् ।

    प्रतिवन्धपछि पोखरा आउने भारतीय पर्यटकको आगमनमा भने असर पर्न सक्ने पोखराका पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रहमा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि रोक लगाएको हो ।

    त्यसो त यसमा पोखरा पर्यटन परिषदले समेत सहमति जनाएको छ । व्यवसायीहरुका अनुसार पोखरा आउने विदेशीमध्ये ४० प्रतिशत पर्यटक भारतीय छन् ।

    जसमध्ये अधिकांश आफ्नै देशको गाडीमा नेपाल आउने गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० कै मुखमा भारतीय बसलाई पोखरामा प्रतिवन्ध लागेको हो ।

    पोखरामा ट्राफिक जाममा फस्नु भन्दा पोखरा भित्रै रहेका सवारी साधन प्रयोग गर्दा भारतीय पर्यटकलाई समेत सहज हुने भएकाले सवारीमा रोक लगाउनु परेको सरोकारवालाले बताएका छन् ।

    क्रिसमस र नयाँ वर्षमा धेरै पर्यटक पोखरा आउने भएकाले अझ जामको समस्या पर्ने गरेको छ ।