Author: Vishwanews.com

  • ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

    ठेकदारसँग झुक्यो सरकार, फेरी संशोधन भयो खरीद नियमावली

    काठमाडौं । सरकारले पछिल्लो ८ महिनायता चौथो पटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ ।

    ठेकेदार कम्पनीले जे भन्छन्, त्यही प्रावधान राख्दै सरकारले प्रावधान संशोधन गर्दा काम नगर्ने ठेकेदारका अगाडी समेत सरकार झुकिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकदारलाई कारवाही गर्न विभागीय मन्त्रीहरुलाई समेत गत महिना निर्देशन दिएका थिए ।

    तर, भित्रभत्रै उनकै नेतृत्वको मन्त्रीपरिषद्ले ठेकेदारलाई सहज हुने गरी चौथोपटक सार्वजनिक खरीद नियमावली संशोधन गरेको छ ।

    जसअनुसार काम अलपत्र पारेका ठेकेदारको आयोजनाको म्याद फेरी थपिने भएको छ ।

    यसले ठेकेदारलाई काम नगरेवापत कारवाही हुनपर्नेमा उल्टो प्रोत्साहन मिल्नेछ ।

    सोमबार मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरीद नियमावलीको नवौं संशोधन गरेको बिहीकार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

    ३० वैशाखमा सरकारले छैठौं संशोधन गरेयता चार पटक खरीद नियमावलीमा संशोधन गरेको हो ।

    नवौं संशोधनबाट म्याद सकिएर अलपत्र आयोजनामा पुरानै निर्माण व्यवसायीलाई थप एक वर्ष काम गरिराख्ने प्रावधान राखिएको छ ।

    व्यवसायीहरु काम छिटो अगाडी बढाउनुको साटो आन्दोलनमा थिए । उनीहरु संसिरयता विभिन्न चरणको आन्दोलनमा थिए ।

  • अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

    अब राजधानीका सबै होर्डिङ बोर्ड हट्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा अब विज्ञापनका होर्डिङ बोर्ड देख्न पाइने छैन । काठमाडौं महानगरपालिकाको नेतृत्वमा ४ वटा कार्यदल बनेका छन् ।

    यी कार्यदल सक्रिय भई अब गल्ली गल्लीमा रहेका होर्डिङ बोर्ड हटाइने भएको छ ।

    बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले तत्काल राजधानीका गल्लीगल्लीमा रहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो । नजिकिएको भ्रमण वर्षको उद्घाटन अगाडी नै काठमाडौंबाट होर्डिङ बोर्ड हट्नेछन् ।

    शुक्रबारदेखि नै यसको काम थालिने भएको छ । शहरलाई कुरुप बनाइरहेका होर्डिङ बोर्ड हटाउने निर्णय गरेको हो ।

    महानगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक, विद्युत प्राधिकरण, नेपाल टेलिकमको प्रतिनिधि रहने गरी कार्यदल बन्ने छ ।

    काठमाडौंका होर्डिङ बोर्ड हटाउन ०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले हटाउन निर्देशन दिएको भएपनि कार्यान्वयन भएको छैन ।

    महानगर क्षेत्रबाट व्यवसायिक होर्डिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउने तयारी रहेको छ ।

  • पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

    पुनर्निर्माणका बाँकि काम सक्न अझै ३ खर्ब चाहिने

    काठमाडौं । सरकारले १२ वैशाख २०७२ को भूकम्पयता पुनर्निर्माणका क्रममा संरचना निर्माणमा मात्र साढे ३ खर्ब रुपैयाँ खर्च गरेको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत २ खर्ब ९३ अर्ब रुपैयाँ र गैर सरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ खर्च भएको प्राधिरकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    प्राधिकरण १२ पुसमा ५ औं वर्षमा प्रवेश गर्दैछ । यसको समयावधी ५ वर्ष हो । अबको १ वर्षमा प्राधिकरणले पुनर्निर्माणका बाँकि काम पुरा गर्नुपर्ने दायित्व छ ।

    तर, कतिपय संरचना भने अझै पनि पुनर्निर्माण नै थालिएका छैन । त्यसकारण आगामी दिनमा थप बजेटको आवश्यकता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार अब पुनर्निर्माणका बाँकि काम गर्न अझै ३ खर्ब रुपैयाँ बजेट आवश्यक देखिएको छ । चार वर्षको अवधिमा पुनर्निर्माणको औषत ८३ प्रतिशत प्रगति देखिएको छ ।

    तर, बजेटको आवश्यकताका आधारमा भने अझै ठूलो रकम चाहिन्छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७२\७३ मा २२ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ खर्च भएको थियो ।

    आव २०७३\७४ मा ४९ अर्ब ६९ करोड १७ लाख बजेट खर्च भयो । आव २०७४\७५ मा १ खर्ब १४ अर्ब ७८ करोड ११ लाख खर्च भएको थियो ।

    आव २०७५\७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख खर्च भएको तथ्यांक छ । चालु आवमा भने १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

    चार वर्षमा निजी आवास पुनर्निर्माणतर्फ कूल ८६ प्रतिशत प्रगति भएको प्राधिकरणको तथ्यांक छ ।

    अहिले धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरवार, नुवाकोट दरवार, सिंहदरवारलगायत संरचनाको बनिरहेका छन् ।

  • काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

    काठमाडौंको तापक्रम १ मा झर्यो, हिमालमा माइनस ६ सम्म

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । विहीबार बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको मौसम विज्ञान पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    तापक्रम घट्ने क्रमसँगै देशभर चिसोले जनजीवन समेत प्रभावित भएरहेको छ । बुधबार जुम्लामा माइनस ६ डिग्री तापक्रम मापन भएको छ ।

    तराईका जिल्लाहरुमा शितलहर चल्न थालिसकेको छ । पूर्वी तराईमा चिसोका कारण केही मानिसले ज्यान समेत गुमाइसकेका छन् ।

    काठमाडौंको तापक्रम एक दिनकै अन्तरमा तापक्रम झण्डै २ डिग्री कम भएका कारण पनि विहीबार बढी चिसो अनुभव भएको हो ।

    बिहीबार डडेल्धुरामा २ डिग्री, वीरेन्द्रनगरमा २ दशमलव ७ डिग्री र ताप्लेजुङमा ४ दशमलव ४ डिग्री तापक्रम रहेको महाशाखाले उल्लेख गरेको छ ।

  • पोखरामा भारतीय बस आउन रोक

    पोखरामा भारतीय बस आउन रोक

    पोखरा । पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमा प्रतिवन्ध लागेको छ ।

    पोखरामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि प्रतिवन्ध लगाएको हो ।

    पोखरामा भारतीय पर्यटकको बाहुल्य रहेको छ । उनीहरु आफ्नै सवारी साधन लिएर आउने गरेका छन् ।

    प्रतिवन्धपछि पोखरा आउने भारतीय पर्यटकको आगमनमा भने असर पर्न सक्ने पोखराका पर्यटन व्यवसायीले गुनासो गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रहमा भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि रोक लगाएको हो ।

    त्यसो त यसमा पोखरा पर्यटन परिषदले समेत सहमति जनाएको छ । व्यवसायीहरुका अनुसार पोखरा आउने विदेशीमध्ये ४० प्रतिशत पर्यटक भारतीय छन् ।

    जसमध्ये अधिकांश आफ्नै देशको गाडीमा नेपाल आउने गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० कै मुखमा भारतीय बसलाई पोखरामा प्रतिवन्ध लागेको हो ।

    पोखरामा ट्राफिक जाममा फस्नु भन्दा पोखरा भित्रै रहेका सवारी साधन प्रयोग गर्दा भारतीय पर्यटकलाई समेत सहज हुने भएकाले सवारीमा रोक लगाउनु परेको सरोकारवालाले बताएका छन् ।

    क्रिसमस र नयाँ वर्षमा धेरै पर्यटक पोखरा आउने भएकाले अझ जामको समस्या पर्ने गरेको छ ।

  • आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

    आज सूर्य ग्रहण, कुन कुन राशीले हेर्न मिल्छ ?

    काठमाडौं । आज बिहान नेपालसहित विश्वका अधिकांश मुलुकमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ। उक्त अवसरमा नेपालका कतिपय स्थानीय तह र विद्यालयले सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

    बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

    ग्रहणले बिहान ८.४२ मा स्पर्श गर्ने छ भने ११.३१ बजे समाप्त हुनेछ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुने समितिले उल्लेख गरेको छ । बिहान १०.०१ बजे मध्य हुनेछ ।

    पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जानकारी दिएको छ । ग्रहण लाग्नुभन्दा चार प्रहर .१२ घण्टा) अघिबाटै बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको समितिले बताएको छ ।

    ग्रहणका बेलामा खानपिनसहित महत्वपूर्ण काम गर्न नहुने मान्यता रहेको छ । तर, स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनाजस्ता कर्मले भने शुभ हुने मान्यता छ ।

    ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने जस्ता मान्यता हिन्दु ग्रन्थहरुमा लेखिएको छ ।

    यस पटकको सुर्यग्रहण कर्कट, तुला, कुम्भ र मीन राशि हुनेका लागि उत्तम मानिएको छ ।

    मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने नेपाली पात्रोले उल्लेख गरेको छ ।

    शुभ फल मिल्ने राशि भएकाले पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने हेर्न हुँदैन ।

  • प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

    प्रसिद्ध गायिका आशा भोस्ले नेपालमा

    काठमाडौं । भारतीय प्रसिद्ध गायिका आशा भोस्ले नेपाल भ्रमणमा आएकी छिन् । साधना कला केन्द्र पुतलीसडकले उनलाई नेपाल ल्याउने चाजोपाँजो मिलाएको हो ।

    उनी बुधबार अपरान्ह ५ बजे काठमाडौं ओर्लिएकी छन् । उनलाई स्वागत गर्न पञ्चकन्यासहित सांस्कृतिक टोली त्रिभुवन विमानस्थलमा गएको थियो । उनका स्वागतका लागि सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

    भोस्लेले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा काठमाडौंमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

    उनलाई नेपालका ३५ जना कलाकारले साथ दिनेछन् । केन्द्रले भारतीय प्रसिद्ध कलाकाररुलाई निरन्तर नेपाल भ्रमणमा ल्याउने गरेको छ ।

    ८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थान भ्रमण गरी नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्नेछिन् ।

    नेपाली गीत संगितमा समेत उत्तीकै योगदान दिएकी उनले यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसारजस्ता गीत गाएर नेपाली संगितलाई उर्वर बनाउन भूमिका खेलेकी छिन् ।

  • नेपालमा ट्राफिक जरिवाना बढाउने तयारी

    नेपालमा ट्राफिक जरिवाना बढाउने तयारी

    काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा ट्राफिक नियम उल्लंघन गर्नेका लागि पहिलो पटकमै ५ हजार रुपैयाँ जरिवानाको नियम ल्याउने तयारी गरेको छ ।

    संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदा बनिरहेको छ । ऐनमा उक्त विषय उल्लेख गरिएको विभाग स्रोतले जनाएको छ ।

    बन्दै गरेको ऐनको मस्यौदामा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गरिएको बताइएको छ ।

    पछिल्लो समय दूर्घटना बढिरहेको छ । यसमा चालकको लापरवाहीका कारण धेरै दूर्घटना हुने गरेको पाइएको छ ।

    जरिवाना रकम कम हुँदा धेरैले वेवास्ता गर्ने गरेको निष्कर्ष सरकारको छ । विभागले प्रस्तावित ऐनको विधेयक बनाउने विषयलाई लिएर सात वटै प्रदेशका विभागीय मन्त्री र सचिवसँग छलmलको तयारी समेत गरेको छ ।

    त्यसपछि ऐनको ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जानेछ । मन्त्रालयले सम्बन्धित सरोकारवाला निकाय र मन्त्रालयबाट राय तथा स्वीकृति लिएर संसदमा लैजाने भएको छ ।

    अहिले ट्राफिक नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीले कसुर हेरेर ५ सय देखि १५ सयसम्म मात्र जरिवाना गर्ने प्रावधान रहेको छ ।

    नयाँ प्रावधान आएमा भने लेनक्रस, ओभर स्पिड, जिकज्याकजस्ता सामान्य ट्राफिक कसुरमा समेत पहिलो पटकमै ५ हजार जरिवाना लाग्नेछ ।

    भारतमा हालै ट्राफिक जरिवाना ठूलो परिमाणमा बढाएर कार्यान्वयनमा आएको छ । यसले दूर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

  • उपत्यकाका मेयरलाई दायाँबाया राखेर योगेशले भने : राजधानी ६ बजे नै सुत्न भएन

    उपत्यकाका मेयरलाई दायाँबाया राखेर योगेशले भने : राजधानी ६ बजे नै सुत्न भएन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौं पर्यटकीय शहर भएकाले ६ बजे नै सुत्न नहुने बताएका छन् ।

    बुधबार भ्रमण वर्षका अवसरमा राजधानीका सबै स्थानीय तहका प्रमुखसँगको छलफलमा मन्त्री भट्टराईले काठमाडौंमा रात्रिकालिन जीवन ब्यूझाउन आग्रह गरेका छन् ।

    कुनै पनि पर्यटकीय शहर ६ बजे नै बन्द नहुने भन्दै उनले राजधानीमा रात्रिकालिन जीवन सक्रिय बनाउन आग्रह गरे ।

    उनले त्यसको वातावरण बनाउन स्थानीय सरकारहरु समक्ष आग्रह गरेका छन् । काठमाडौंमा १० बजेपछि र्नै प्रहरीले पसल बन्द गराउँदै हिड्छ । ७ बजेपछि सार्वजनिक यातायात पाइदैंन ।

    जसले गर्दा राजधानीमै पर्यटकले रात्रीकालिन रमझम देख्न पाउँदैनन् । विदेशमा भने दिउँसो भन्दा रातीमा बढी शहर चहलपहल हुने गरेको छ ।

    नेपालले भ्रमण वर्ष मनाउन थालेको सन्दर्भमा काठमाडौं समेत रातीसम्म खुल्नु पर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ ।

    कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत १८ वटै नगरपालिकाका प्रमुखले भ्रमण वर्ष सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।

  • टुट्यो रामकृष्ण ढकालको जोडी

    टुट्यो रामकृष्ण ढकालको जोडी

    काठमाडौं । धेरैका लागि आदर्श जोडी मानिएको चर्चित गायक रामकृष्ण ढकालको जोडी टुटेको छ । रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाह (ढकाल)बीच सम्बन्ध विच्छेद भएको हो ।

    पत्नी निलमले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन न्यायाधीश विदुर कोइरालाको इजलासमा मन्जुरी भएको हो ।

    सम्बन्ध विच्छेदको निवेदनमा दुबै पक्षबीच मिलापत्र भएपछि उनीहरुको जोडी टुटेको हो । ढकाल दम्पतीकी एक छोरी रहेकी छिन् ।

    छोरी आमासँग रहने भएकी छिन् । निलमले रामकृष्णको सम्पत्तिमा भने दावि नगर्ने भएकी छिन् । पछिल्लो समय गायक ढकाले काठमाडौंमा घर बनाउन सहकारीबाट लिएको ऋणको तनावमा थिए ।

    सम्बन्ध विच्छेदको कारण खुलेको छैन । तर, खटपटमा सोही कारण हुन सक्ने आंशका रहेको छ ।

    घर बनाउन लिएको ऋण घर नै लिलामी गर्दासमेत तिर्न नपुगेपछि गायक ढकाल समस्यामा छन् । सोही बेला उनलाई निलमले छोडपत्र दिएकी छिन् ।

  • काठमाडौंमा वर्षकै चिसो दिन मापन

    काठमाडौंमा वर्षकै चिसो दिन मापन

    काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस वर्षकै चिसो दिन मापन भएको छ । काठमाडौंको न्यूनतम तापक्रममा ३ डिग्रीमा झरेसँगै यस वर्षकै चिसो दिन मापन भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकासहित अहिले देशभरको चिसो बढेको छ । तराईमा शितलहर चल्न थालेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ ।

    महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोले छोपेको छ ।

    मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको छ। बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले उल्लेख गरेको छ ।

  • छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

    छाउगोठ भत्काउन निर्देशन, छाउपडी निरन्तरता दिनेलाई सरकारी सेवा बन्द

    काठमाडौं । गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका सबै छाउगोठ भत्काउन निर्देशन दिएको छ ।

    जनचेतनाका माध्यमबाट यस भेगमा व्याप्त छाउपडी प्रथा उन्मुलन नभएपछि सरकारले कानूनी कारवाहीका सहारा लिन लागेको छ ।

    सोही क्रममा अब सबै प्रकारका छाउगोठ भत्काउन लागिएको हो । यस भेगका जिल्लामा व्याप्त छाउपडी प्रथा निर्मूल गर्न संयन्त्र बनाइएको छ ।

    गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो । जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, सल्यान, सुर्खेत, रूकुम(पश्चिम, बाजुरा, बझाङ, दार्चुला, अछाम, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा यो प्रथा अधिक रहेको छ ।

    अति प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहले सबै छाउगोठ भत्काउन निर्देशन दिएको हो ।

    छाउगोठमा महिलाको मृत्यु हुने क्रम नरोकिएसँगै सरकारले यसलाई कानूनी कारवाहीका माध्यमबाट निर्मुल गर्ने नीति लिएको हो ।

    मुलुकी अपराध संहिता २०७४ ले परिभाषित गरेका सामाजिक विभेद, भेदभाव र अपमानजनक व्यवहारविरूद्ध कानुनी व्यवस्था सम्बन्धमा व्यापक अभियान सञ्चालन गर्न गृहले सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन जारी गरेको छ ।

    छाउपडी र अन्य भेदभावविरूद्ध स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमसमेत सँगसगै लैजाने तयारीमा सरकार रहेको छ ।

    संयन्त्र गठन गरी सोहीमार्फत् समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत संचालन हुने भएको छ ।

    स्थानीय तहमा जनप्रतिनिधि, राजनीतिक, धार्मिक अगुवा, सामाजिक संघ-संस्था, गैरसरकारी संस्थाहरूसँग बेथिति न्यूनीकरणमा सहकार्य गर्न निर्देशन दिएको छ ।

    छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि कानूनी कारबाहीसहित राज्यले दिने सेवा सुविधा, वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियतका कर्जा समेत अब रोकिने भएको छ ।

  • आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

    आज क्रिसमस डे, क्रिश्चियन धर्मालम्बीलाई नेपालमा बिदा

    काठमाडौं । आज विश्वभर क्रिसमस डे मनाइदैछ । नेपालसहित विश्वभर रहेका क्रिश्चियन धर्मावलम्बीले यो चाड मनाउन लागेका हुन् । हरेक वर्ष २५ डिसेम्बरमा यो चाड बनाउन प्रचलन रहेको छ ।

    यस दिन येशु ख्रिष्टको जन्मदिनको रहेको र सोही खुसियालीमा क्रिमसम डे मनाउन थालिएको परम्परा रहेको छ ।

    आजभन्दा करीव दुई हजार वर्ष पहिले जेरुसेलमको बेथलेहम भन्ने स्थानमा मारियमको कोखबाट येशुको जन्म भएको थियो ।

    येशु जिसस क्राइस्टका नामबाट पनि परिचित छन् । उनकै नामबाट इस्वी संवत् समेत चलेको हो ।

    यस दिन क्रिश्चियन धर्मावलम्बीले उपहार तथा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ । आ सरकारले सम्बन्धित धर्ल मान्नेहरुका लागि बिदा दिएको छ।

  • घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई

    घर र गाडी खरीदमा लिने कर्जामा राष्ट्र बैंकको कडाई

    काठमाडौं । घर र गाडी किन्दा बैंकले दिने कर्जामा राष्ट्र बैंकले कडाई गरेको छ।

    बैंक तथा वित्तीय संस्थाका नाममा मंगलबार नयाँ निर्देशन जारी गरेको राष्ट्रबैंकले ऋणीको आयस्रोतमा हुने भुक्तानी र त्यसको किस्ता रकमको परिमाणमा कडाई गरेको छ ।

    ऋणीले तिर्ने किस्ता रकम व्यक्तिको कुल आम्दानी भन्दा ५० प्रतिशत नाघ्न पाउने छैन । ऋण भुक्तानीलाई आम्दानीको अनुपातसँग सन्तुलित राख्न यस्तो नियम ल्याउने परेको राष्ट्र बैंकको भनाई छ ।

    अब व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर तथा हायर पर्चेज कर्जामा राष्ट्रबैंकले कडाई गरेको हो । ऋणीको आयमा समेत स्रोत खुल्नु अनिवार्य भएको छ । त्यसका लागि आय खुल्ने कागजात देखाउनु पर्ने भएको छ ।

    अहिले किस्ता धान्न सक्ने आम्दानी पेश गरेको अवस्थामा बैंकले सजिलै ऋण दिने गरेका थिए । अब भने स्रोत खुल्ने आम्दानीको ५० प्रतिशतभन्दा बढी किस्ता हुन नपाईने गरी निर्देशन आएको छ ।

    अब मासिक ३० हजार कमाई हुने व्यक्तिले १५ हजारभन्दा माथिको किस्ता बुझाउने गरी कुनै पनि बैंकबाट ऋण नपाउने भएको हो ।

    विगतमा वास्तविक आम्दानी भन्दा बढीको आय देखाउने र ऋण लिने अनि तिर्न नसकेर टाट पल्टने परिपाटी रहेको भन्दै यस्तो प्रवृत्ति अब हट्ने राष्ट्रबैंकको विश्वास रहेको छ ।

  • ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

    ठमेलका नाइट क्लब पुग्ने खेलाडीको सजाय घटाइयो

    काठमाडौं । राष्ट्रिय टोलीले विश्वकप छनोटमा खेल्न विदेश उड्नु एक दिन अगाडी क्लोज क्याम्पबाटै भागेर ठमेलको नाइट क्लवमा पुगेका चार खेलाडीमाथिको कारवाही घटाइएको छ ।

    उक्त काण्डमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङमाथि अखिल नेपाल फूटबल संघ (एन्फा)ले कारवाही गरेको थियो ।

    एन्फाले चारै जना खेलाडीको कारवाही घटाएको छ । एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गर्दै सजाए घटाइदिएको हो ।

    एन्फाले १३ डिसेम्बर २०१९ देखि लागु हुने गरी विमल घर्तीमगर र डिफेन्डर दिनेश राजवंशीलाई तीन महिना निलम्बन गरेको थियो ।

    मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङका लागि ४५ दिनको निलम्बन थियो ।

    अब भने एन्फाले खेलाडी नाइट क्लबमा गएको दिनदेखि गणना गर्ने निर्णय लिएको छ । यसअनुसार अब खेलाडीको प्रतिवन्ध कम भएको छ ।

    उनीहरुको निलम्बन १६ नोभेम्बर २०१९ बाट गणना हुने भएको हो । यसअनुसार यी खेलाडीले जारी सहिद स्मारक ए डिभिजन लिगमा भाग लिन पाउने बाटो समेत खुलेको छ ।

    फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरूद्ध खेल्न भूटान उड्ने अघिल्लो रात उनीहरु ठमेलको नाइट क्लवमा पुगी रक्सीले मात्तिएका थिए ।

  • भ्रमण वर्षकै मुखमा पर्यटन बोर्ड नेतृत्वविहिन

    भ्रमण वर्षकै मुखमा पर्यटन बोर्ड नेतृत्वविहिन

    काठमाडौं । नेपाल पर्यटन बोर्ड नेतृत्वबिहिन भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले नियमित अवकास पाएसँगै बोर्ड नेतृत्व बिहिन भएको हो ।

    उनको ४ वर्षे कार्यकाल सोमबार सकिएको हो । नयाँ सीइओ नियुक्ति प्रक्रिया चलिरहेको भएपनि पुरा नभएका कारण भ्रमण वर्षको मूखमै पर्यटन बोर्ड भने नेतत्वबिहिन भएको हो ।

    यसले बोर्डको महत्वपूर्ण भूमिकामा ब्रेक लाग्ने भएको हो । पर्यटन बोर्डको संचालक समितिबाट निवर्तमान सीइओ जोशीलाई चार महिना जागिर लम्ब्याउने अफर आएपनि उनले त्यसलाई भने स्वीकार गरेनन् ।

    त्यसको साटो उनीपनि नियमित प्रक्रियाबाट आगामी कार्यकालका लागि प्रतिस्पर्धामा होमिएका छन् ।

    नयाँ सिइओका लागि बोर्डमा १७ जनाको आवेदन परेको छ । त्यसमध्ये जोशीले समेत दोस्रो कार्यकालका लागि खुला प्रतिस्पर्धाबाटै भिड्ने गरी आवेदन दिएका छन् ।

    पर्यटन मन्त्रालयका अनुसार बढीमा १ महिना भित्र नयाँ सिइयो चयन सकाउने योजना छ ।

    यद्दपी भ्रमण वर्ष शुरु हुन १ साता पनि बाँकि नरहेको समयमा पर्यटन विकासमा निकै खटिएका सीइओ जोशीको अभाव भने तत्कालका लागि खड्किने भएको छ ।

  • सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

    सरकारको ‘दुई तिहाई’ उपाधी संकटमा

    काठमाडौं । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारको दुई तिहाई उपाधी गुम्ने खतरा बढेको छ ।

    संसदमा स्पष्ट दुई तिहाई सांसदको समर्थनमा गठन भएको वर्तमान सरकार समाजवादी पार्टीले समर्थन फिता लिएमा भने उक्त उपाधीबाट खस्किने छ ।

    किनकी नेकपाको मात्र सांसद संख्याले दुई तिहाई पुग्दैन । यद्दपी दुई दलको हैसियतमा सरकार भने सुरक्षित नै रहन्छ ।

    तर, समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएको भएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय गरिसकेको भने छैन ।

    यसले गर्दा अब संविधान संशोधनका विषयमा वर्तमान सरकारले अझ बढी फलामका च्यूरा चपाउनु पर्ने हुन्छ ।

    किनकी प्रधानमन्त्री केपी शर्मा ओली हरेक विषयलाई सहमति भन्दा पनि पेलेरै जाने मुडमा देखिएका छन् । संसदमा २७५ संख्या रहेको छ ।

    प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुग्न सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्छ । नेकपासँग भने १ सय ७४ जना मात्र सांसद रहेका छन् । समाजवादी पार्टीमा भने १७ जना सांसद रहेका छन् ।

    पार्टीले बुधबार सरकारको समर्थन जारी रहने वा हट्ने भन्ने विषयमा सार्वजनिक गर्न तयारी गरेको छ ।

  • समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

    समाजवादीले छाड्यो सरकार, दुबै मन्त्रीले दिए राजिनामा

    काठमाडौं । डा. बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी नेपालले सरकार छाडेको छ । संविधान संशोधन प्रस्तावलाई मन्त्रिपरिषदमा पेश गर्न नपाएपछि समाजवादीले सरकार छाडेको हो ।

    सोमबारको बैठकमा प्रधानमन्त्रीले कानून मन्त्री यादवद्धारा प्रस्तुत गर्न लागेको संशोधन प्रस्तावलाई ठाडो आदेशमा रोकेका थिए ।

    उनले रोकेको भोलीपल्टै पार्टी सरकार छाड्ने निर्णयमा पुगेको हो । मंगलबार उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले पदबाट राजीनामा दिए ।

    समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुई बुँदे सहमतिबाट पछि हटेको उल्लेख छ ।

    सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको निष्कर्षमा उक्त पार्टी पुगेको हो ।

    सोमबारको बैठकमा यादवले संविधान संशोधनको प्रस्ताव टेवल गर्न खोज्दा प्रधानमन्त्रीले त्यसलाई अगाडी नै बढाउन दिएका थिएनन् ।

    संशोधन प्रस्ताव नै अगाडी बढ्न नपाएपछि पार्टीले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको हो ।

  • मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

    मलेसियामा बढेको तलव १ जनवरीबाट लागु, नेपाली पनि लाभान्वित

    क्वालालाम्पुर । मलेसिया सरकारले आगामी १ जनवरीबाट श्रमिकको न्यनतम पारिश्रमिक वृद्धि गर्दैछ । यसबाट १ लाखभन्दा माथिको संख्यामा रहेका नेपाली कामदार समेत लाभान्वित हुने भएका हुन् ।

    मलेसिया नेपाली कामदारको मूख्य गन्तब्य स्थलमध्ये एक हो । मलेसिया सरकारले न्यूनतम पारिश्रमिक बढाउने नीतिले स्वदेशी तथा विदेशी दुबै श्रमिकहरुको पारिश्रमिक बढ्न लागेको हो ।

    मलेसियाली मानव संसाधन मन्त्रालयका अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट रहने भएको छ । यो नेपाली रुपैयाँमा करीव ३३ हजार हुन्छ ।

    यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक ११ सय रिंगेट थियो । मलेसियामा प्रारम्भमा यो पारिश्रमिक क्यालालम्पुर, पेटालिङ, पेनाङ, पुत्रजयालगायत ५७ वटा सहरमा लागु हुने छ ।

    करीव १ वर्ष रोकिएको मलेसिया रोजगारी नेपालीका लागि खुलेको तीन महिना मात्र भएको छ । लगत्तै पारिश्रमिक समेत बढ्ने भएपछि मलेसियामा नेपालीका लागि रोजगारी अझ आकर्षक बन्ने भएको हो ।

  • तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

    तराई चिसोको कहर शुरु, रौतहटमा चारको ज्यान गयो

    रौतहट । शितलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । असावधानीका कारण मानिसको ज्यानै जाने गरी हुने चिसोले रौतहटमा मात्र चारजनाको मृत्यु भएको छ ।

    १ पुसयता रौतहटमा अधिक चिसो र शीतलहर चलिरहेको छ । चिसोले कठ्याँग्रिएर ४ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएका छन् ।

    दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको चिसोका कारण मृत्यु भएको हो ।

    गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको समेत चिसोकै कारण मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

    जिल्ला अस्पतालमा पोष्टर्माटम गर्ने उपकरण नभएका कारण भने चिसोका कारण भएको मृत्युको प्रमाणपत्र भने जिल्लामा उपलब्ध हुँदैन ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार चिसोबाट बच्न अति विपन्न नागरिकलाई न्यायो कपडा वितरण गर्ने काम भइरहेको छ ।

    चिसोमा घर बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न सचेतनामुलक कार्यक्रम आयोजनामा समेत तिब्रता दिइएको छ । अधिक चिसो बढेपछि जिल्लाका तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गरेका छन् । गरुडा, राजदेवी र वृन्दावन नगरपालिकामा आगामी शुक्रबारसम्म विद्यालय बन्द भएका छन् ।

  • पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण

    पानीजहाज चढ्ने नेपालीको चाहना पुरा हुँदै, नारायणीमा क्रुजसीपको सफल परिक्षण

    चितवन । २ सय २० यात्रु क्षमतामा यात्रु बोक्ने सक्ने क्रुजसिप (मिनीपानीजहाज) को नारायणी नदीमा परीक्षण गरिएको छ । परिक्षण सफल भएको राइनो इन्टरटेन्मेन्ट कम्पनीले जानकारी दिएको छ ।

    आइतबार बेलुका २५ जना यात्रुसहित जहाजको सफल परीक्षण गरिएको हो । भरतपुरस्थित काभ्रेघाटमा रहेको पोर्टबाट नदीमा निकालेर जहाजको परीक्षण गरिएको थियो ।

    त्यसका लागि भारतबाट प्राविधिक टोली नेपाल आएका थिए । जहाज बनाउने काम सकिएको र अब रङरोगन, टेबुल, कुर्सी राख्ने, बार र वाथरुमको काम बाँकी रहेको कम्पनीको भनाई छ ।

    क्रुज सिप राष्ट्रपतिबाट उदघाटनको तयारी कम्पनीले गरेको छ । यो नेपालकै पहिलो पानीजहाज हुनेछ ।

    यस परियोजनामा कम्पनीले १५ करोड लगानी गरेको छ । क्रुजसिप साढे दुई तलाको छ ।

    क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रुले एकै पटक यात्रा गर्न सक्नेछन् ।

  • पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय

    पत्रकार खासोग्जीका हत्यारालाई मृत्युदण्डको सजाय

    काठमाडौं । साउदी अरवको अदालतले पत्रकार जमाल खासोग्जीको हत्या आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

    अघिल्लो साल टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा छिरेका खासोग्जीको सोही भवनभित्र हत्या भएको थियो ।

    साउदीमा अदालतले सोमबार गरेको फैसलामा उक्त घटनामा ११ जनालाई दोषी ठहर्‍याएको र ५ जनालाई मृत्युदण्ड सुनाइएको संचारमाध्यमहरुले लेखेका छन् ।

    अन्य तीनलाई २४ वर्ष कैद सजाय अदालतले सुनाएको हो । प्रारम्भमा साउदी सरकारको गुणगानमा लेखेपनि पछिल्ला दिनमा उनी कडा आलोचक बनेका थिए ।

    सोहीकारण उनको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको भन्दै व्यापक आलोचना भएको थियो । २ अक्टोवर २०१८ मा उनको हत्या भएको हो ।

  • अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

    अब छाउपडी राख्ने र बस्ने दुबैलाई कानूनी कारवाही

    काठमाडौं । सरकारले महिनावारी भएको बेला छाउगोठमा राख्ने परिवार र बस्ने महिला दुबैलाई कारबाहीको दायरामा ल्याउने भएको छ । यसको तयारी गृह मन्त्रालयले गरिरहेको छ ।

    सोमबार गृह मन्त्रालयमा महान्यायाधिवक्ता अग्नि खरेलसहित सरोकारवालाको बैठक बसेको थियो ।

    बैठकमा गृह मन्त्रालयका सचिव, छाउपडी प्रभावित क्षेत्रमा खटिएका सुरक्षा निकायका प्रमुख, सरकारी वकिललगायतको बैठक बसेको थियो ।

    बैठकमा महान्यायाधिवक्ता खरेलले छाउ गोठमा बस्न बाध्य पार्ने परिवार र बस्ने महिलालाई समेत नियन्त्रणमा लिन निर्देशन दिए ।

    अति प्रभावित क्षेत्रमा छाउगोठमा बस्ने र बस्न लगाउने परिवारलाई नियन्त्रणमा लिएर कारवाही थाल्दा यो प्रथा धेरै हदसम्म नियन्त्रणमा आउने विश्वास सरकारको रहेको छ ।

    मुलुकी अपराध संहिता २०७४ अनुसार छाउपडी प्रथाविरुद्ध कडा कदम चाल्न आवश्यक रहेको सुरक्षा निकायको निष्कर्ष रहेको छ ।

    नेपालको सुदुरपश्चिम तथा कर्णाली भेगमा छाउपडी प्रथा बढी छ । छाउगोठमा बस्दा धेरै महिलाको ज्यान जाने र सो क्रम नरोकिएपछि सरकारले कानूनी कारवाहीको तयारी गरेको हो ।

    यसप्रथाविरुद्ध एनजीओ तथा आइएनजीओले ठूलो रकम खर्च गरेपनि प्रथा झन झांगिदै गएपछि सरकार नै यसमा तात्तिन लागेको हो ।

    हालै महान्यायाधिवक्ताको नेतृत्वमा केन्द्रीय समन्वय इकाइ गठन गरिएको छ । यसबाहेक जिल्लास्तर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अर्को संयन्त्र गठन भएको छ ।

  • काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

    काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

    काठमाडौं । विभिन्न आपराधिक तथा अवैध गतिविधिमा संलग्न रहेको आशंकमा प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    काठमाडौं प्रहरीले चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका दौरान एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले यो अपरेशन चलाएका हुन् ।

    प्रहरीका अनुसार मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट ती व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा केही महिलासमेत रहेका छन् ।

    भिसा अवधि सकिएका व्यक्ति पनि अवैध रुपमा बसेको र विभिन्न क्षेत्रमा काम पनि गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    ब्यारेक सिस्टममा एकै घरमा २५ देखि ३० जनासम्म बसेर काम गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले चिनियाँ नागरिकको साथबाट थुप्रै ल्यापटप र मोबाइल बरामद गरेको छ । उनीहरुलाई काठमाडौं प्रहरी मातहतका विभिन्न वृत्त र प्रभागमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    नेपालमा चिनियाँ नागरिकको संलग्नता आपराधिक तथा अवैध गतिविधिमा बढेको छ । सुन तस्करी, मानव वेचविखान, बैंक ह्याकिंग, लागूऔषधजस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ ।

    गत भदौ दोस्रो साता नेपाली बैंकबाट एटीएम कार्ड प्रयोग गरेर डेढ करोडभन्दा बढी रकम चोरि भएको काण्डमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यसपछि प्रहरीले नेपालमा चिनियाँ नागरिकमाथि निगरानी बढाएको थियो ।

  • निजगढ बनाउनुको विकल्प छैन : पर्यटन मन्त्री

    निजगढ बनाउनुको विकल्प छैन : पर्यटन मन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका पर्यटनका माध्यमबाट अर्थतन्त्रको विकास गर्ने हो भने निजगढ विमानस्थलको विकल्प नभएको बताएका छन् ।

    सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत विमानस्थल निर्माणको प्रक्रिया रोक्न आदेश दिएको भोलीपल्ट सोमबार भट्टराईले भाग लिएका अधिकांश सार्वजनिक कार्यक्रममा निजगढ विमानस्थलको महत्वबारे प्रकाश पारेका छन् ।

    सोमबार मन्त्री भट्टराईले बैंक तथा वित्तीय संस्थाका प्रमुख, खेलकुद तथा यससँग सम्बन्धित संघ संस्थाका पदाधिकारी र स्काउट लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिसँग भ्रमण वर्षको तयारीका सिलसिलामा भेटघाट गरेका छन् ।

    त्यस अवसरमा मन्त्री भट्टराईले नेपालका लागि निजगढ केवल पर्यटन नभई अर्थतन्त्रकै मेरुदण्ड हुने बताएका हुन् ।

    संसारमा ठूल्ठूला विमानस्थल की रुख काटेर वा समुन्द्र पुरेर बनाइएको भन्दै नेपाल अब विकासका नाममा सधै पिछडिएर बस्न नसक्ने बताएका हुन् ।

    उनले टर्कीले २४ लाख रुख काटेर विमानस्थल बनाएको उदाहरण दिँदै नेपाल अझै हाँगामा अड्किएको उल्लेख गरे ।

    आइतबार मात्र सर्वोच्च अदालतले निजगढ विमानस्थलमा रुख कटानको काम अगाडी नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

    रुख काट्दा वातावरणमा असर पुग्ने भन्दै वातावरणविद्हरु यसको विरोधमा उत्रिएका छन् ।

  • २१ किलो चरेश बरामद

    २१ किलो चरेश बरामद

    काठमाडौं । पर्सा प्रहरीले सोमबार बिहान २१ किलो चरेश बरामद गरेको छ। पर्साको धोबिनी गाउँपालिका– ५ स्थित बैरिया खोलाबाट २१ किलो चरेश बरामद भएको प्रहरीले पुष्टी गरेको हो ।

    चरेश कसले बोकेको थियो भन्नेबारे प्रहरीले सार्वजनिक गरेको छैन । भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको चरेश बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

    नेपालमा पछिल्ला दिनमा अवैध लागुऔषधको ओसार पसार तिब्र रुपमा भइरहेको छ ।

  • वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का

    वामदेव नेकपाको उपाध्यक्ष बन्ने पक्का

    काठमाडौं । नेकपाको स्थायी कमिटी बैठकबाट संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित भएको छ ।

    यससँगै उनी उपाध्यक्ष हुने पक्का भएको छ । १९ मंसिरमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। बैठकले प्रस्ताव पारित गरेको छ ।

    २१ साउनमा वामदेवलाई उपाध्यक्ष बनाउने निर्णय सचिवालय बैठकले गरेको थियो । किनकी नेकपाको विधानमा उपाध्यक्षको पद छैन ।

    विधान संशोधनका लागि कम्तिमा तीन चरण पार गर्नुपर्ने हुन्छ । सचिवालय बैठकले स्थायी समितिमा प्रस्ताव गरेको थियो ।

    स्थायी समितिले पारित गरेसँगै अब विधान संशोधनको निर्णय नेकपाको केन्द्रीय कमिटीबाट हुन्छ । नेकपाको केन्द्रिय कमिटि बैठक भने २३ पुसमा डाकिएको छ ।

  • विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त

    विद्यार्थीलाई बसले ठक्कर दिएपछि चावहिल तनावग्रस्त

    काठमाडौं । काठमाडौंको चावहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार सुकेधारामा बसको ठक्करबाट एक विद्यार्थी घाइते भएपछि आक्रोसित विद्यार्थीले दुई वटा गाडीमा आगजनी तथा तोडफोड गरेका छन् ।

    चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत सृष्टि पन्तलाई विहान बा ५ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । उनको उपचार भइरहेको छ ।

    पन्तलाई ठक्कर दिएर बस भागेपछि विद्यार्थी आक्रोसित बनेका थिए । उनी बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन ।

    त्यसपछि पशुपति क्याम्पसका विद्यार्थी तोडफोडमा उत्रिएका थिए । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताएको छ ।

  • कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

    कांग्रेसमा संस्थापन र पौडेल पक्षको वार्ता सहमति नजिक

    काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद छ । सोही विवादका कारण केन्द्रिय समिति बैठकसमेत प्रभावित भइरहेको छ ।

    तर, पछिल्ला चरणमा भइरहेको वार्ताले सकारात्मक रुप लिइरहेको नेताहरुले बताएका छन् । रामचन्द्र पौडेल समूहले कांग्रेसको १४ औं महाधिवेशन आगामी ५ मंसिरमा गर्न प्रस्ताव राखेको छ ।

    आइतबार संस्थापन पक्षसँगको वार्तामा पौडेल समूहले २०७७ मंसिर ५, ६, ७ र ८ मा महाधिवेशनको प्रस्ताव राखेको छ । पौडेल पक्षले राखेको प्रस्तावमा सहमति भने भएको छैन ।

    संस्थापन पक्षबाट भने मिति सार्वजनिक गर्ने विषयमा इच्छा देखाएको छैन । तर, आगामी वर्ष फागुनभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सकिने संकेत संस्थापन पक्षले पौडेल पक्षलाई दिएको छ ।

    वर्तमान कार्यसमितिको कार्यकाल आगामी फागुनमा सकिने भएको छ । त्यसपछि थप एक वर्ष कार्यकाल लम्ब्याउने तयारी रहेको छ । त्यसपछि भने जसरी पनि महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको अडान रहेको छ ।

  • विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

    विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्षको शकुशल उद्दार

    दैलेख । नेकपा विप्लव समूहले अपहरण गरेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका धिरबहादुर शाहीलाई सशस्त्र प्रहरीले कालीकोटबाट उद्दार गरेको छ । उनको शकुशल उद्दार भएको प्रहरीले जानकारी दिएको छ ।

    शनिबार राति घरमै सुतिरहेको समयमा अज्ञात समूहबाट उनको अपहरण भएको थियो ।

    प्रहरीका अनुसार राती आएको १०\१२ जनाको समूहले सोधपुछ गर्नुछ भन्दै शाहीलाई लैजान खोजेपछि श्रीमतीले आफूलाई पनि लैजान आग्रह गरेपछि दुबैजनालाई लगिएको थियो ।

    यस घटनाको नेकपा विप्लव समूहले जिम्मेवारी लिइसकेको छ । धिरबहादुर र उनकी श्रीमतीलाई करिव दुई घन्टा पैदल हिँडाएपछि श्रीमतीलाई छाडेको थियो ।

    उनले छुटेपछि गाँऊ पालिका अन्तर्गतको वडा अध्यक्ष नर्तमबहादुर बुढालाई खबर गरेकी थिइन् । बुढाले प्रहरी र स्थानीय प्रशासनलाई जानकारी गराएपछि प्रहरी उद्दारमा जुटेको थियो ।

    कालिकोट प्रहरीका अनुसार श्रीमतीको जानकारीका आधारमा प्रहरीले खोजी थालेको थियो । कालिकोट प्रहरीले शसस्त्र प्रहरीका एक टोली खटाएरै खोजी थालेको थियो ।

    खोज गर्ने क्रममा एक स्थानीयले दिएको सुराकीका आधारमा उनलाई राखेको घर पत्ता लागेको थियो ।

    त्यसपछि सशस्त्र प्रहरीले घर घेरा हाली हवाई फायरिङ गरेछि अध्यक्षलाई छाडेर समूहका व्यक्ति भागेका थिए ।

    कालिकोट प्रहरीका अनुसार त्यसपछि प्रहरीले अध्यक्ष शाहीलाई आफ्नो साथमा ल्याएको छ । विप्लव समूहले आइतबार नै विज्ञप्ती जारी गर्दै शाहीको अपहरण आफूहरुले गरेको उल्लेख गरेको छ ।

    विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविका नामबाट विज्ञप्ति जारी गर्दै गाउँपालिकामा चरम भ्रष्टाचार गरेको, कमिशन खाएको र सीआईडी गरेको भन्दै पार्टीले छानविनका लागि नियन्त्रणमा लिएको उल्लेख गरिएको छ ।