Author: Vishwanews.com

  • पेट्रालियम पदार्थको मूल्य बढ्यो

    पेट्रालियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

    इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ । अन्य दुई पदार्थमा भने भाउ बढेको छ ।

    बढेको मूल्य बुधबार बिहान १२ बजेबाट कार्यान्वयनमा आएको छ । पेट्रोलसहित हवाई ईन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्यसमेत यथावत राखिएको छ ।

    समायोजनपछि निगमको डिपो (बिक्री विन्दुदेखि १५ किमि क्षेत्रभित्र) डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा ९८ रुपैया कायम भएको छ ।

    पोखरा र दाङमा ९७.५० रुपैयाँ प्रतिलिटर कायम भएको छ । तराई क्षेत्रमा ९६.५० रुपैयाँ प्रतिलिटर राखिएको छ ।

    मूल्य समायोजन पछि पनि भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य २०.४१ प्रतिलिटरले सस्तो र डिजेल १७.१६ प्रतिलिटरले नेपालतर्फ सस्तो हुने निगमले उल्लेख गरेको छ ।

  • भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

    भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

    काठमाडौं । कठिन परिस्थितिमा पनि सफल कार्यकाल पुरा गरी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी स्वदेश फर्कने भएका छन् ।

    भारतीय दूतावासले मंगलबार उनको विदाई कार्यक्रम आयोजना गर्यो । नेपालमा भारतविरोधी स्वर चर्को भएका बेला उनी राजदूतका रुपमा नेपाल आएका थिए ।

    तर, उनी विवादित भएनन् । जहिले सन्तुलित अभिव्यक्ति दिए अनी शान्तसँग काम गरे । नेपालमा भारतीय राजदूतहरुको इतिहास राम्रो छैन ।

    धेरैजसो राजदूत आलोचित बनेर फर्किएका छन् । कतिपयले त अपमान नै सहनु परेको छ ।

    राजदूत पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग आइतबार बिदाई भेट गरिसकेका छन् । भारतले नयाँ राजदूतका सम्बन्धमा भने कुनै निर्णय गरिसकेको छैन ।

  • पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

    पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

    इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।

    हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।

    उनले आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दा निराधार भएको दावि गर्दै आएका छन् ।

    आफू देश सेवामा समर्पित भएको समेत उनको दावि छ । इस्लामाबादको विशेष न्यायालयले २०१४ मा देशद्रोहको एक मुद्दामा पूर्वराष्ट्रपति मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

    २०१३ मा पाकिस्तानी मुस्लिम लिग (नवाज)ले सरकारको बागडोर सम्हालेपछि उनीमाथि मुद्दा शुरु भएको हो । उनी मुद्दा शुरु भएपछि एक पटक मात्र अदालतमा उपस्थित भएका छन् ।

    त्यसबाहेक उनी विदेशमै रहेका छन् । उनले १९९९ मा सैन्य विद्रोहमार्फत पाकिस्तानको शासन सत्ता हात पारेका थिए । २००१ मा उनी सैन्य प्रमुख रहेकै समयमा राष्ट्रपति घोषित भए ।

    २००२ मा जनमत मार्फत थप पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए । २००७ मा राष्ट्रपति निर्वाचन भयो, त्यसमा पनि उनी विजयी भए ।

    यस चुनावविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि उनले संकटकाल घोषणा गरेका थिए ।

    त्यसपछि मुख्य न्यायाधीशलाई हटाएर नयाँ मुख्य न्यायाधीश नियुक्त गरी आफ्नो पदलाई वैधानिकता दिएका थिए । २००८ मा उनी पदमुक्त बनेका हुन् ।

  • अब त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन

    अब त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन

    काठमाडौं । धावनमार्ग र ट्याक्सी वे जिर्णाद्धारको काम सकिएसँगै आजबाट त्रिभुवन विमानस्थ्ल २१ घण्टा संचालनमा आएको छ ।

    यसअघि दैनिक ७ घण्टा बन्द भएको विमानस्थल अब मात्र दैनिक ३ घण्टा बन्द हुने भएको छ । जिर्णोद्धारको जिम्मेवारी पाएको कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गरेको छ ।

    यससँगै अब विमानस्थल २१ घण्टा संचालनका लागि योग्य भएको विमानस्थल कार्यालयले उल्लेख गरेको छ । नेपाल भ्रमण वर्षको मुखमा विमानस्थलमा निर्माणका गतिविधि धमाधम भइरहेका छन् ।

    विमानस्थललाई बुटिक विमानस्थलमा समेत परिणत गर्ने काम भइरहेको छ । त्यसअगाडी धावनमार्ग र ट्याक्सीवेको काम सकिएको हो ।

    यहाँ करीव ४० वर्षपछि धावनमार्गको पीच उप्काएर नयाँ राखिएको हो । अब धावनमार्गको क्षमता बढेको छ ।

    जसले गर्दा संसारभर उड्ने गह्रौं प्रकृतिका जहाज पनि त्रिभुवन विमानस्थलमा आएर अवतरण गर्न सक्ने भएका छन् ।

    त्रिभुवन विमानस्थलबाट अहिले दैनिक ७० हारहारी अन्तर्राष्ट्रिय र ४ सय हाराहारी आन्तरिक उडान हुने गरेका छन् । यो नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो ।

  • ५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च

    ५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च

    काठमाडौं । आर्थिक वर्षको मध्यसमय बितिसकेको छ । तर, देशको पूँजिगत खर्च भने अझै पनि खराब अवस्थामा रहेको छ । अर्थमन्त्री युवराज खतिवडा देशको आर्थिक अवस्था निकै सुधार भएको बताउँछन् ।

    तर, विकास निर्माणको मानक भने निकै खस्किएको देखिएको छ । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो ५ महिना (साउन–मंसिर)मा पूँजीगत खर्च ९.०५ प्रतिशत मात्र भएको छ ।

    यो तथ्यांक दयनीय हो । किनकी यस समय भित्र आइपुग्दा पूँजिगत खर्च मात्र निकै प्रगति भइसक्नु पर्ने थियो ।

    पहिलो चौमासिकमा पूँजीगत बजेट खर्च भएपछि प्रधानमन्त्री स्वयमले सरोकारवालालाई बोलाएर निर्देशन दिनु परेको थियो ।

    उनले दोस्रो चौमासिकसम्म ५० प्रतिशत पुर्याउन निर्देशन दिएका थिए । तर, यही गतिमा पूँजिगत खर्च हुने हो भने त्यो लक्ष्य निकै पर देखिन्छ ।

    चालु आवमा सरकारले कूल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमध्ये पूँजीगत खर्च ४ खर्ब ८ अर्ब रुपैयाँ गर्नुपर्छ ।

    पहिलो ५ महिनामा भने मात्र ३७ अर्ब ४८ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । यस अवधिमा कूल १९.४८ प्रतिशत बजेट खर्च भएको देखिएको छ ।

    महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार कूल २ खर्ब ९८ अर्ब ५७ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

    त्यसमध्ये चालु खर्च २ खर्ब ४६ अर्ब ९२ करोड रुपैयाँ छ ।

    पूँजीगत खर्च ३७ अर्ब ४८ करोड र वित्तीय व्यवस्थापनमा १४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ खर्च भएको तथ्यांकले देखाएको छ । ५ महिनामा राजस्व संकलन ३ खर्ब ८ अर्ब रुपैयाँ संकलन भएको छ ।

    यस वर्ष सरकारले कूल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

  • पोर्चुगलमा दुई साता भित्र तीन नेपालीको ज्यान गयो

    पोर्चुगलमा दुई साता भित्र तीन नेपालीको ज्यान गयो

    पोर्चुगल । पोर्चुगलमा नेपालीको संख्या बढेसँगै त्यहा हुने घटनामा समेत वृद्धि भएको छ । पछिल्लो दुई साता भित्रै तीन जना नेपालीले पोर्चुगलमा ज्यान गुमाउनु परेको छ ।

    पोखरा स्थायी घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको पोर्चुगलस्थित अपार्टमेन्टमा निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

    परिवारसहित पोर्चुगलमा बस्दै आएको उनी मधुमेह र उक्त रक्तचापको बिरामी थिए । उता, नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठकको पनि हालै निधन भएको छ।

    उनको निधनको कारण पनि हृदयघात नै भएको बताइएको छ । अघिल्लो मङ्गलबार पोखराका २९ वर्षीय एक युवकको आफ्नै कोठामा मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

    परिवारले उनको नाम भने सार्वजनिक गरेको छैन । अस्पतालमा शव परीक्षण गर्दा अधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको उल्लेख छ ।

    पछिल्लो समय पोर्चुगलमा विभिन्न माध्यमबाट पुग्ने नेपालीको संख्या बढ्दो छ ।

    कानूनी या गैरकानूनी रुपबाट पनि यस मुलुकमा नेपाली अधिक पुग्न थालेका छन् । स्वाभाविक रुपमा संख्या बढी भएसँगै विभिन्न प्रकारका घटना सार्वजनिक भएका हनु् ।

  • सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन

    सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन

    काठमाडौं । १५ जनाको ज्यान जाने गरी सिन्धुपालचोकमा आइतबार भएको भयानक दूर्घटनाको छानविन गर्न सरकारले समिति गठन गरेको छ ।

    सडक दूर्घटनामा सरकारीस्तरबाटै छानविन समिति गठन भएको यो पहिलो पटक हो । यसअघि गत महिना अर्घाखाँचीमा भएको दूर्घटनाको समेत स्थानीय तहबाट छानविन समिति गठन भएको थियो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा, गृहमन्त्रालय, ट्राफिक प्रहरी र यातायात महासंघका प्रतिनिधी संलग्न गरी छानबिन समिति गठन गरेको छ ।

    समितिले ७ दिन भित्र प्रतिवेदन बुझाउने समय पाएको छ । दूर्घटनाको कारण खोतल्ने र आगामी दिनमा दूर्घटना न्यूनिकरणमा चाल्नपर्ने कदमका सम्बन्धमा समितिले सुझाव दिने भएको छ ।

    सोमबार प्रधानमन्त्रीले भौतिक पूर्वाधार र गृह मन्त्रालयका पदाधिकारी तथा सम्बन्धित निकायलाई बोलाएर दूर्घटना न्यूनिकरणमा तत्काल प्रभावकारी कदम चाल्नु निर्देशन दिएका थिए ।

    उनले दूर्घटनाबाट एक जना पनि मर्न नहुने भन्दै त्यस्तो वातारण निर्माणमा लाग्न निर्देशन दिएका थिए ।

  • विद्या भट्टराईको शपथ ग्रहण आज

    विद्या भट्टराईको शपथ ग्रहण आज

    काठमाडौं । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छिन् ।

    संसद सचिवालयका अनुसार उपसभामुख शिवमाया तुम्बाहाम्फेले मंगलबार अपरान्ह शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

    उनी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । स्वं रवीन्द्र अधिकारी की पत्नी विद्याको राजनीतिमा पुनरागमन भएको छ ।

  • चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक

    चैत ६ बाट एसईई परीक्षा, तालीका सार्वजनिक

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ६ चैतबाट संचालन हुने भएको छ । २०७६ सालको एसईई परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको हो ।

    एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालनको जानकारी गराएको छ ।

    तालीका अनुसार ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा राखिएको छ ।

    चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गणित र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा निर्धारण गरिएको छ ।

    परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ । परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डको सूचनामा उल्लेख गरिएको छ ।

    कुनै आकस्मिक बिदा पर्न गएपनि परिक्षा नियन्त्रक कार्यालयको पूर्वसूचनाबीना परीक्षा स्थगित नहुने बोर्डले उल्लेख गरेको छ ।

  • फोर्ब्सले भन्यो : नेपाल विश्वकै उत्कृष्ट गन्तब्य

    फोर्ब्सले भन्यो : नेपाल विश्वकै उत्कृष्ट गन्तब्य

    काठमाडौं । विश्वचर्चित पत्रिका फोर्ब्सले सन् २०२० का लागि घुम्नै पर्ने मुलुकको सूचिमा नेपाललाई समेटेको छ ।

    उक्त सूचिको पहिलो नम्बरमा नेपाल पर्न सफल भएको हो । घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने पत्रिकारले उल्लेख गरेको छ ।

    फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँको सूचि राखेकी छिन् ।

    जहाँ नेपाललाई पहिलो स्थानमा राखिएको छ । उनको लेखमा नेपाललाई धर्तीकै उत्कृष्ट साहसिक गन्तव्यका रुपमा चित्रण गरिएको छ ।

    नेपाल साहसिक यात्रा रुचाउनेहरुका लागि र शान्त ठाउँमा डुल्न चाहने दुवैका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको फोर्ब्सले लेखेको छ ।

    यहाँका होटल तथा रिसोर्टमा पाइने न्यानो आतिथ्य र खानाका परिकारले पनि यात्रा झनै रोमाञ्चक बन्ने उनको लेखमा उल्लेख छ ।

    फाप्लुको ह्याप्पी हाउस र बर्दिया निकुञ्जको कर्णाली लज जानैपर्ने होटलका रुपमा उल्लेख गरिएको छ ।

    नेपालको यात्रा दक्षिणतर्फबाट सुरु गर्नुपर्ने र चितवन, बर्दिया लगायतका राष्ट्रिय निकुञ्जमा गैँडा, हात्ती, बाघ लगायतका वन्यजन्तुको अवलोकनले यात्रा रोमाञ्चक हुने पनि लेखमा दावि गरिएको छ ।

    केही दिनको बसाईले नै नेपालले पर्यटकलाई आफूतर्फ आकर्षित गर्ने पत्रिकाले उल्लेख गरेको छ ।

    तराइकोे यात्रापछि पहाड र हिमालतिर लाग्दा यात्रामा स्वर्गीय आनन्द उल्लेख छ । पहाडी र हिमाली क्षेत्रमा हुने पदयात्रा, टेन्टमा बसाइ, आत्मीय गाइडले नेपाल यात्रा अविश्मरणीय बन्ने फोर्ब्सले उल्लेख गरेको छ ।

    यस सूचिमा इक्वेडर, न्युजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्या घुम्नै पर्ने मुलुकको उत्कृष्ट १० भित्र अटाएका छन् ।

  • च्याम्पियन्स लिग फाइनल १६ को ड्र सार्वजनिक, कुन क्लव को सँग भिड्ने ?

    च्याम्पियन्स लिग फाइनल १६ को ड्र सार्वजनिक, कुन क्लव को सँग भिड्ने ?

    काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक भएको छ। सोमबार सार्वजनिक ड्र अनुसार स्पेनिस क्लव रियल म्याड्रिड र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी अन्तिम १६ मै भिड्ने भएका छन् ।

    त्यसकारण यी दुई क्लवमध्ये एकले अन्तिम १६ बाटै बिदा हुनुपर्ने निश्चित भएको छ । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच समेत यसै ड्रमा भिडन्त हुनेछ ।

    एटलान्टा र भ्यालेन्सिया तथा एट्लेटिको म्याड्रिड र साविक विजेता लिभरपुलसमेत अन्तिम १६ मा भिड्ने भएका छन् ।

    चेल्सी र वायर्न म्युनिखसमेत यसै राउण्डमा भिड्ने भएकाले एउटा टोली अन्तिम १६ बाटै बाहिरिने पक्का भएको हो ।

    लियोन र युभेन्ट्सबीच प्रतिस्पर्धा हुँदा टोटनह्याम र लेइपजिगबीच अन्तिम १६ को भिडन्त हुनेछ ।

    नापोली र बार्सिलोनाबीच प्रतिस्पर्धा हुने गरी ड्र सार्वजनिक भएको हो । ३० मे २०२० मा च्याम्पियन्स लिगको फाइनल टर्कीमा आयोजना हुनेछ ।

  • बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन

    बढ्दो सडक दूर्घटनामा प्रधानमन्त्रीको चासो, सरोकारवाला बोलाएर दिए निर्देशन

    काठमाडौं । नेपालमा सडक दूर्घटनामा अधिक वृद्धि भएपछि त्यसको जनस्तरबाट व्यापक आलोचना भएको छ ।

    खासगरी विगतमा सडक दूर्घटना हुँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध निकै आक्रामक अभिव्यक्ति दिने गर्थे ।

    तर, पछिल्लो दिनमा उनकै नेतृत्वको सरकार भएपनि सडक दूर्घटनामा अकालमा मानिसले ज्यान गुमाउनु पर्ने बाध्यता झन बढ्दो छ ।

    यसै परिस्थितिमा प्रधानमन्त्रीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालय मातहतका निकायका प्रमुखहरुसँग सोमबार सामुहिक छलफल गरेका छन् ।

    हरेक दिनको दूर्घटनाको खबरले आफू विच्छिप्द भएको भन्दै उनले सडक दुर्घटना न्यूनिकरण कार्ययोजना बनाई तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिए ।

    गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकसहित उच्च अधिकारीसँग प्रधानमन्त्रीले भेट्दै उक्त निर्देशन दिएका हुन् ।

    सडक दुर्घटनामा हुने मानवीय क्षतिले आफूलाई निद्रासमेत नपर्ने भन्दै उनले सडक दूर्घटना तत्काल घटाउने उपाय खोज्न सरोकारवालालाई निर्देशन दिएका हुन् ।

    सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढेको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्रीले यस्ता खबरले खाना नरुच्ने र निद्रा नपर्ने उल्लेख गरे ।

    उनी त्यस सन्दर्भका दौरान भावुक बनेका थिए । दुर्घटनाले एक साथ सक्षम जनशक्तिको क्षति हुने र वृद्धवृद्धा तथा बालबालिका बेसहारा हुने भन्दै दूर्घटना रोक्ने कार्यायोजना तत्काल ल्यान निर्देशन दिए ।

    सार्वजनिक यातायातका चालकलाई तालिम, लाइसेन्स पुनर्परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षणको आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीले त्यसतर्फ गम्भीर भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारण छानबिन गरी प्रतिवेदन तयार गर्न र त्यसको प्रभावकारी कार्यान्वयनको परिपाटी बसाल्नसमेत उनले निर्देशन दिए ।

  • पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित

    पौडेलले छाडेनन् अडान, कांग्रेस कार्यसमिति बैठक स्थगित

    काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो अडान यथावत राख्दै अनुपस्थित भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

    बैठक सोमबारका लागि डाकिएको थियो । तर, बैठक बस्दै नबसी स्थगित गरियो । बैठक बस्न संस्थापन पक्षका नेता भने पार्टी कार्यालय पुगेका थिए ।

    पौडेललाई फकाउन देउवा आफै शनिबार पौडेल निवास पुगेका थिए । तर, सहमति हुन सकेन ।

    सोमबार पनि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहका नेतासँग भेटवार्ता गरेका थिए । तर, सहमति भने भएन ।

    पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका नल्याएसम्म बैठकमा नबस्ने अडान लिएको छ । पौडेलको अडानले देउवा भने समस्यामा परेका छन् ।

  • कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

    कलाकारद्धय भट्टराई र क्षेत्रीको दाहसंस्कार

    काठमाडौं । हृदयघातका कारण ज्यान गुमाएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दाहसंस्कार गरिएको छ ।

    शनिबार राती क्षेत्रीको निधन भएको थियो । भट्टराईको भने आइतबार राती निधन भएको हो । फरक दिनमा निधन भएपनि उनीहरुको दाहसंस्कार एकै दिन पर्न गयो ।

    आर्यघाटमा सयौं कलाकार तथा हजारौं दर्शकले उनीहरुलाई सधैका लागि बिदा गरे । भट्टराईलाई नेपाल सरकारले राष्ट्रिय सम्मान दियो ।

    संचार मन्त्री गोकुल बास्कोटाले राष्ट्रिय झण्डा ओड्याएर उनको सम्मान गरे । नेपाल प्रहरीको एक टुकुडीले सलामी अर्पण समेत गरेको थियो ।

    दाहसंस्कार अगाडी उनीहरुको शव अन्तिम श्रद्धान्जलीमा राखिएको थियो । केशवलाई उनका १५ वर्षिय छोराले दागबत्ती दिएका छन् ।

    चलचित्र विकास बोर्डको प्रांगणमा दुबै कलाकारको शव श्रद्धान्जलीका लागि राखेर आर्यघाट लगिएको थियो ।

  • मौसममा क्रमिक सुधार

    मौसममा क्रमिक सुधार

    काठमाडौं । पछिल्लो एक साता बिग्रिएको मौसममा अब क्रमशः सुधार आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात गराउने गरी आएको पश्चिमी वायुको प्रभाव अब क्रमशः नेपालबाट हट्ने क्रममा रहेको छ ।

    सोमबारदेखि देशभर नै मौसम सफा हुन थाल्ने भएको छ । पश्चिमबाट प्रवेश गरेको यस्तो वायु पूर्वबाट नेपाल बाहिरन्छ ।

    पश्चिमी वायुबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण बुधबारयता देशभर मौसम अदल बदल भएको थियो ।

    जसले गर्दा अधिकांश स्थानमा वर्षा भएको थियो भने उच्च पहाडी र हिमाली भेगमा हिमपातले जनजीवन प्रभावित भएको थियो ।

    सोमबारबाट अधिकांश स्थानमा घाम लागेपनि चिसोको प्रभाव भने जारी नै रहने छ । तर, अब वर्षाको सम्भावना भने तत्कालका लागि टरेको महाशाखाको भनाई छ ।

  • जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

    जडिबुटी खोज्न गएका एक दर्जन मानिस वेपत्ता

    जुम्ला । जुम्लामा जडिबुटी खोज्न हिँडेका १२ जना मानिस हराएका छन् । तिला गाउँपालिका–९, स्थित ढिपुगाउँका १२ जना मानिस जडिबुटी खोज्न शेरा फूलबारी पाटन गएका थिए ।

    विगत ४ दिनेदेखि उनीहरु गाउँलेको सम्पर्कमा नआएको गाउँपालिकाले जनाएको छ । ढिपुगाउँबाट पाटन पुग्न नै पैदल यात्रामार्फत दुईदिन लाग्छ।

    पाटनमा अत्यधिक हिउँ परेका कारण उनीहरु सुरक्षित स्थानमा बसेको या संकटमा फसेको बारे स्पष्ट हुन सकेको छैन ।

    यस मौसममा पाटनमा ुसेतक चिनी, भुल्ते, धुपी र पदमचालजस्ता पाइन्छ । राम्रो भाउमा बिक्रि हुने भएकाले गाउँलेहरु जडिबुटी संकलनमा जाने गरेका थिए ।

    बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका छन्।

    एक जनाको भने मृत्यु भइसकेको प्रहरीले पुष्टी गरेको छ । जुम्ला प्रहरीका अनुसार पाटनबाट फर्किएका २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको हो ।

    उनको चिसोले चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो । अन्य चार जना भने सकुसल घर फर्किएका छन् ।

  • प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

    प्रदेश ५ को नाम लुम्बिनी, राजधानी कहाँ ?

    काठमाडौं । प्रदेश गठन भई संचालनमा आएको दुई वर्ष पुगिसकेको छ । तर, नेपालका महत्वपूर्ण प्रदेशहरुले नै अझै राजधानी र नामको टुंगो लगाएका छैनन् ।

    यता, प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठन गरेको समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ ।

    तर, स्थायी राजधानीमा समेत समिति समेत अन्यौलमा रहेको छ । समितिले रुपन्देहीको सैनामैना (बुटवल पश्चिम), कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ (लमही)लाई स्थायी राजधानी बनाउन सकिने प्रस्ताव गरेको हो ।

    यसले प्रदेशमा द्धन्द्ध निम्तने खतरा अझ बढेको छ । नाममा भने त्यति धेरै असहमति छैन । किनकी लुम्बिनीअन्तरर्राष्ट्रिय ब्राण्ड समेत हो ।

    जसले गर्दा यस विषयमा कसैलाई आपत्ति छैन । तर, राजधानीका विषयमा भने यहाँ लामो समय देखि विवाद छ ।

    खासगरी ठूला र प्रभावशाली नेताहरुबीच नै प्रदेश राजधानीको खिचातानी जारी रहेको छ ।

    मूख्यमन्त्री शंकर पोखरेलको इच्चा दाङ र नेकपाका महासचिव विष्णु पौडेलको इच्छा बुटवल हुँदा यहाँ अझ विवाद बढ्ने निश्चित रहेको छ ।

    प्रदेश ५ को अस्थायी राजधानी भने रुपन्देहीको बुटवल तोकिएर काम भइरहेको छ । विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुनेछ ।

    त्यहाँबाट राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था अनुसार निर्णय हुनेछ ।

  • चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

    चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा भट्टराईको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई तत्काल ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

    मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने अस्पतालले जनाएको छ । हृदयघात भएको आंशका छ । उनी निर्माता तथा कलाकारसमेत हुन् ।

    उनी गत पछिल्लो १ वर्षयता भने संघको अध्यक्षका रुपमा सक्रिय थिए । भट्टराइको पछिल्लो चलचित्र ‘यात्रा’ हो ।

    बक्स अफिसमा कमाउ हुने चलचित्र निर्माताका रुपमा उनलाई चिचिन्थ्यो । उनी विगत ३ दशकयता चलचित्र क्षेत्रमा सक्रिय छन् ।

    उनी अभिनेतासमेत हुन् । ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’जस्ता चर्चित चलचित्र उनले बनाएका हुन् ।

    उनको आजै दाहसंस्कार गर्ने तयारी रहेको छ ।

  • एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

    एक वर्षपछि बस्यो नेकपा स्थायी कमिटि बैठक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुरु भएको छ । संयोगवशः अघिल्लो वर्ष पनि २९ मंसिरमै स्थायी समिति बैठक बसेको थियो । त्यसपछि एक वर्षसम्म बैठक बसेन् ।

    सामान्यतया हरेक तीन महिनामा बैठक बस्नुपर्छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले गतवर्ष बैठक बसेकै दिन बैठक जुध्नु संयोग भएको बताएका थिए ।

    एक वर्षसम्म बैठक नबस्दा सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको धारणा प्रचण्डले राखेका थिए ।

    यसमा गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा निर्धारित समयमै स्थायी समिति बैठक बस्ने उनको प्रतिवद्धता थियो ।

    बैठकमा भीम रावललगायत नेताहरुले बैठक बस्न ढिला गर्नुको कारण माग गरेका थिए । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

    पार्टीको विधानमा उपाध्यक्ष राख्ने गरी विधान तयार पारिएको छ। खासगरी बामदेव गौतमलाई उपाध्यक्षमा ल्याउने तयारी भएको छ ।

    सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो। सचिवालयको प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गरेमा उनी उपाध्यक्ष् हुने छन् ।

    बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । स्थायी समिति बैठक अगाडी बालुवाटारमा सचिवालय बैठक बसेको थियो।

    त्यसमा भने प्रधानमन्त्री उपस्थित भएका थिए । प्रधानमन्त्री अहिले अस्वस्थताका कारण आराम गरिरहेका छन् ।

    स्थायी समिति बैठकमा चुनावी समिक्षा समेत भएको छ । नेताहरुले अघिल्लो चुनावमा जितेका क्षेत्र गुमाउनु पार्टीका लागि ठूलो क्षति भएको उल्लेख गरेका थिए ।

  • नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वांझाउ उड्ने

    नेपाल एयरलाइन्स मार्चबाट नारिता र ग्वांझाउ उड्ने

    काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च पहिलो साताबाट जापानको नारिता उडान थाल्ने भएको छ ।

    उता, चीनको ग्वांझाउमा भने मार्च दोस्रो साताबाट उडान थाल्ने निर्णय भएको नेपाल एयरलाइन्सका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

    उनका अनुसार निगमले यी दुई गन्तब्य बिस्तारको योजना कार्यान्वयन गर्न जोडतोडले काम गरिरहेको छ ।

    यी दुई गन्तब्य थपिएपछि नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय गन्तब्य १० पुग्नेछ ।

    निगमसँग भएका ४ वटै जहाजको पूर्ण उपयोग हुने र यसले भ्रमण वर्षलाई समेत सकारात्मक प्रभाव पार्ने नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।

    निगमले लामो समयको संघर्षपछि चीनमा उडान अनुमति पाएको हो । जापानमा भने ओशाका उडान रद्द गरेर नारिता उड्न लागेको हो । नारितमा धेरै नेपाली यात्रु पाउने अपेक्षा निगमको रहेको छ ।

  • सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार

    सिन्धुपाल्चोक दूर्घटना : १५ को ज्यान गयो, चालक फरार

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोस्थित सुनकोशी गाउँपालिका–७ छ किलो भन्ने स्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

    दोलखा कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौं फर्किरहेको यात्रुबाहक बस लामोसाँघु(जिरी सडक खण्डको छ किलोमा दूर्घटनाग्रस्त भएको थियो ।

    सडकबाट ५ सय मिटर तल खसेको बसमा १५ जनाको मृत्यु भएको र १९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।

    बा ४ ख ४४६८ नम्बरको रिजर्भ बसका चालक भने फरार रहेका छन् । घाइते यात्रुहरुका अनुसार बस पल्टन थालेपछि चालक झ्यालबाट हाम फालेका थिए ।

    प्रहरीका अनुसार उनको खोजी कार्य जारी रहेको छ । दुर्घटनामा ९ महिला, ३ पुरुष, एक बालिका र दुई जना बालकको ज्यान गएको छ ।

    प्रहरीका अनुसार ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ र १५ वर्षकी रोशनी तामाङ छन ।

    २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङको समेत दूर्घटनामा ज्यान गएको छ ।

    दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेतको पनि मृत्यु भएको छ ।

    भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री र ३५ वर्षकी मैयाँ केसीको पनि ज्यान गएको छ ।

    दुई जनाको सनाखत हुन बाँकि छ । घाइतेमध्ये १४ जनाको काठमाडौंको ह्याम्स अस्पताल, २ जनाको काठमाडौं मेडिकल कलेज, ३ जनाको धुलिखेल अस्पताल र एक जनाको सिन्धुपाल्चोक खाडीचौरको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत

    कालिन्चोकबाट फर्किएको यात्रुबाहक बस दूर्घटना, कैयौ हताहत

    सिन्धुपाल्चोक । दोलखाको कालिन्चोकबाट काठमाडौं आउदै गरेको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा दूर्घटनामा परेको छ ।

    बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना परेको सिन्धुपाल्चोक प्रहरीले पुष्टी गरेको छ । दूर्घटनामा अहिलेसम्म ४ जनाको शव निकालिएको र कैयौं घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।

    सडकबाट करीव ५ सय मिटर तल खसेका कारण कैयौं हताहती भएको हुन सक्ने बताइएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन । अहिले प्रहरी र स्थानीयले दूर्घटनास्थलमा उद्दार गरिरहेका छन् ।

  • टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

    टोनी बनिन् मिस वर्ल्ड, अनुष्कालाई ‘ब्युटी विथ अ प्रपोज अवार्ड

    लण्डन । जमैकन सुन्दरी टोनी एन सिंह मिस वर्ल्ड २०१९ घोषित भएकी छिन् । मिस वर्ल्डको ६१ औं संस्करणमा सहभागी १११ देशका सुन्दरीलाई उछिन्दै उनले उपाधी जितेकी हुन् ।

    प्रतियोगिताको फस्ट रनरअप फ्रान्स र सेकेन्ड रनरअप भारतले जिते । नेपाली सुन्दरी अनुष्का श्रेष्ठका लागि पनि प्रतियागिता सफल सावित भएको छ ।

    उनी टप १२ मा पुग्न सफल भइन् । अनुष्काले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पार्दै आफूलाई सफल सावित गरिन् ।

  • हिमपात र वर्षाले चिसो बढायो

    हिमपात र वर्षाले चिसो बढायो

    काठमाडौं । आइतबारसमेत देशका विभिन्न स्थानमा हिमपात र वर्षा जारी रहने भएको छ । खासगरी देशका उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    जसले गर्दा उच्च भेगको तापक्रम ह्वात्तै घट्नेछ । पश्चिमी भूभागमा अन्य स्थानको तुलनामा थोरै वर्षाको सम्भावना रहेको छ ।

    मध्य र पूर्वी पहाडी क्षेत्रको पहाडी इलाकामा पानी पर्ने छ । हिउँदमा आएको वर्षाले चिसो बढाउँछ ।

    आइतबार राती पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

    चिसो मौसममा पूर्वतयारीको काम गरी बच्न महाशाखाले सचेत समेत गराएको छ ।

  • नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी

    नेकपाको स्थायी समिति बैठक आज, बामदेवलाई पार्टी उपाध्यक्ष बनाउने तयारी

    काठमाडौं । सत्तारूढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ ।

    खासगरी बामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव एजेण्डाका रुपमा अध्यक्षबाट बैठकमा प्रस्तुत हुने भएकाले यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

    विधानअनुसार यस्तो बैठक हरेक तीन महिनामा बस्नुपर्छ । तर, अहिले पनि करीव १ वर्षपछि बस्न लागेको हो ।

    सचिवालयले एक वर्षको अवधिमा गरेको संगठनात्मक निर्णयलाई समेत स्थायी समिति बैठकले अनुमोदन गर्ने भएको छ ।

    राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गर्ने तयारी समेत रहेको नेकपा सचिवालयले जनाएको छ ।

    स्थायी समिति बैठक बस्नु अगाडी नै आइतबार सचिवालय बैठक समेत राखिएको छ ।

    सोही बैठकले स्थायी समिति बैठकमा लाने एजेन्डा तय गर्ने बताइएको छ ।

    २३ मंसिरको सचिवालय बैठकले २९ मंसिरमा स्थायी समिति बैठक राखेको हो ।

    नेकपा अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकका तयार प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनसमेत तयार पारिसकेका छन् ।

  • १० दिन कुखुराको चल्ला उत्पादन बन्द हुने

    १० दिन कुखुराको चल्ला उत्पादन बन्द हुने

    चितवन । देशभरका ह्याचरी उद्योगबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने भएको छ । व्यवसायीले आजबाट देशभर कुखुराका चल्ला उत्पादन बन्द गर्ने निर्णय गरेका हुन ।

    कुखुराको उचित मूल्य नपाएको गुनासो गर्दै व्यवसायी उक्त निर्णयमा पुगेका हुन् । चल्ला उत्पादन बन्द गरी लागत अनुसार मूल्य पाउनुपर्ने मागसहित पहल थाल्ने व्यवसायीको तयारी रहेको छ ।

    आइतबारदेखि १० दिनसम्म कुखुराका नयाँ चल्ला उत्पादन हुने छैनन् । मेसिनमा राखिसकेको अण्डासमेत नष्ट गर्ने निर्णयमा व्यवसायी पुगेका हुन् ।

    नेपाल ह्याचरी उद्योग संघले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको छ । उत्पादनको लागत बढी भएपनि कम मूल्यमा कुखुरा बेच्नु परेको व्यवसायीको गुनासो रहेको छ ।

    १० दिनमा देशभरका ह्याचरीले ६० लाख चल्ला उत्पादन गर्ने गरेका थिए ।

  • शहीद स्मारक लीग : मछिन्द्रको विजयी शुरुवात

    शहीद स्मारक लीग : मछिन्द्रको विजयी शुरुवात

    काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लीगमा मछिन्द्र क्लबले सुखद विजयी सुरुवात गरेको छ।

    शनिबारबाट शुरु भएको लीगको उद्घाटन खेलमा मछिन्द्रले बिग्रेड ब्वाइज क्लबमाथि २–० गोल अन्तरको जीत निकालेको हो ।

    खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । मछिन्द्रले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा अर्को गोल थप्यो ।

    क्लवका लागि योगेश गुरुङ र दीपक राईले गोल गरेका छन् । खेलको ३०औँ मिनेटमा योगेशले हेड गोल गरेका थिए । ५०औँ  मिनेटमा राईले गोल गरका थिए ।

    पहिलो जीत निकालेको मछिन्द्रको २ अंक भएको छ । अघिल्लो सिजन १३औं स्थानमा रहेका कारण एन्फाले मछिन्द्रको १ अंक घटाउने निर्णय गरेको छ ।

    जीतमा ३ अंक पाउने प्रावधान छ । एन्फाले गत सिजन रेलिगेसन बिनाको लीग आयोजना गरेको थियो । जसअनुसार अन्तिम दुई स्थानमा रहेको टिमको एक र दुई अंक घटाउने निर्णय भएको थियो ।

    आगामी खेल मंगलबार च्यासलले संकटा र त्रिभुवन आर्मीले फ्रेन्डस क्लबको सामना गर्ने भएका छन् । २ महिनासम्म चल्ने लीगमा कुल ९१ खेल हुने गरी तालिका मिलाइएको छ ।

  • चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि

    चोभारमा झाडी भित्र शव, पहिचान हुन बाँकि

    काठमाडौं । काठमाडौंको चोभारमा झाडि भित्र एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार शवको पहिचान भएको छैन ।

    करीव ६० वर्ष उमेरको लाग्ने एक पुरुषको शव फेला परेको हो । आत्महत्या थियो या हत्या भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

    शनिबार नै रुपन्देहीमा एक महिलाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छीबजारकी ५५ वर्षिया कमलादेवी परियारको हत्या भएको हो ।

    उनको सोही स्थान बस्ने २७ वर्षीय विकास गुरुङले धारिलो हतियार प्रयोग गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

    घाँस काटिरहेको समयमा उनीमाथि हतियार प्रहार भएको हो । प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको छ ।

  • रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा

    रामचन्द्र पौडेललाई फकाउँदै शेरबहादुर देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन थालेका छन् ।

    सोही क्रममा देउवा शनिबार पौडेल निवास बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । तर, उनको सो प्रयास सफल नभएको पौडेल स्रोतले जानकारी दिएको छ ।

    दुई दिनअघि बसेको केन्द्रीय समिति बैठक पौडेल समूहले वहिष्कार गरेको थियो । पौडेललाई सहमतिमा ल्याउन उपसभापति विमलेन्द्र निधिसहित देउवा शनिबार पौडेल निवास पुगेका हुन ।

    देउवाले विभाग गठन गर्न सहयोगको अपेक्षा गरेको पौडेलसमक्ष राखेका थिए । तर पौडेलले भने १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भए मात्र केन्द्रीय समिति बैठकमा उपस्थित हुने अडान राखेका छन् ।

    देउवा पौडेललाई फकाउन बोहराटार पुगेको घटनाले भने शनिबार दिनभर सामाजिक संजालमा चर्चा कमाएको छ ।

  • धनुषा विस्फोट : तीन जना पक्राउ

    धनुषा विस्फोट : तीन जना पक्राउ

    जनकपुर । धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ ।

    विस्फोटमा परी एक प्रहरी अधिकृतसहित तीन जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा हंसपुर नगरपालिका वडा नम्बर २ की ललिता देवी महरा र सीतादेवी महरा तथा मिथिला बिहारी नगरपालिका १ भुतहीका रामशोभित धानुक पक्राउ परेका छन् ।

    उनीहरु विप्लव समूहका नेता भएको बताइएको छ । ५१ वर्षिय सीतादेवी विप्लव समूहका प्रदेश २ का संयोजक हुन् । ४१ वर्षीया ललिता केन्द्रीय सदस्य हुन् । रामशोभित कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

    प्रहरीले घटनाको छानविन गर्न प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

    महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको बम पड्किँदा साह, उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको निधन भएको थियो ।

    विस्फोटमा राजेशका बावु भिखारी, छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिजनाथ महतो घाइते भएको प्रहरीले बताएको छ ।