Author: Vishwanews.com

  • बाग्लुङ जीप दुर्घटनाले तेस्र्याएको सडक सुरक्षाको प्रश्न

    बाग्लुङ जीप दुर्घटनाले तेस्र्याएको सडक सुरक्षाको प्रश्न

    बाग्लुङ । सागको सफलतामा रमाइरहेको देश मंगलबार एकाबिहानै गुल्मी र बाग्लुङबाट आएको भयानक दूर्घटनाको खबरले शोकाकुल हुन पुग्यो ।

    गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटनामा पर्दा घटनास्थलमै १४ जनाको निधन भयो ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का रेशम थापा (जीप चालक), वसुन्धरा कार्की, माया थापा, सिता कार्की, भुमी कार्की, मुना कार्की, झवी कार्की, सुचना कार्की, अनुसा कार्की, महेन्द्र कार्की, मिना बस्नेत रहेका छन्।

    साथै, नवलपरासी वर्दघाटकी मुमा कार्की, बाग्लुङ बडिगाडकी लक्ष्मी केसी, कञ्चनपुरका धनबहादुर कार्कीको समेत सनाखत भएको छ।

    दूर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । यस दूर्घटनाले नेपालको सडक सुरक्षाको दर्दनाक अवस्थालाई पुनः एक पटक उजागर गरेको छ ।

    किनकी अघिल्लो साता अर्घाखाँचीमा भएको बस दूर्घटनामा परी १७ जनाले ज्यान गुमाउनु परेको थियो ।

    हरेक दूर्घटनापिच्छे दुख मनाउ गर्दै पन्छिने सरकार र प्रशासन, दूर्घटनाबाट नचेत्ने गाडी व्यवसायी र चालकको लापरवाही र कमजोर पूर्वाधारको शिकार कहिलेसम्म सर्वसाधारण भइरहनु पर्ने हो भन्ने प्रश्न यस दूर्घटनाले फेरी उठाएको छ ।

  • ठूलो पशुबली दिने मेला गढीमाई शुरु

    ठूलो पशुबली दिने मेला गढीमाई शुरु

    बारा । सबैभन्दा ठूलो पशुबलीका रुपमा संसारभर चर्चित गढीमाई मेला मंगलबारबाट शुरु भएको छ ।

    सोमबार राति मुख्य पूजा सम्पन्न भएसँगै मंगलबार बिहान मन्दिरमा पञ्चबली दिइएको थियो । यससँगै गढीमाई मेलाको मूख्य आकर्षणको रुपमा रहेको पशुबली शुरु भएको छ ।

    मेलामा भाकल अनुसार पशु ल्याएर देवीका नाममा बली दिने प्रचलन रही आएको छ । पञ्चबलीमा बोका, कुखुरा, परेवा, मुसा र राँगा बली दिने गरिन्छ ।

    यस मन्दिरमा मूल पुजारी थारु समुदाय बाट हुने गर्छन् । मूल पुजारीको घरमा पुजा सकिएपछि सोमबार रातिबाट ब्रम्हस्थानमा पूजा सुरु गरिएको मेला आयोजक समितिले जनाएको छ ।

    उक्त पूजा समापन भएपछि माईको मन्दिर अघि रहेको पुरानो त्रिशुल हटाएर नयाँ फेर्ने प्रचलन रहेको छ । त्यसपछि ब्रम्हस्थानमै पञ्चबली दिइएसँगै भक्तालुका लागि पञ्चबलीको साइत फुकेको हो ।

    यस मन्दिरमा पशुबली अघि नरबली दिने समेत प्रचलन रहेको छ । नरबलीका रुपमा चौधरी समुदायका धामीले जिब्रो, आँखा मुनि, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर चढाउने गरिन्छ ।

    मेला एक महिनाभर चल्छ । तर, पशुबलीको मूख्य दिन भने मंगलबार र बुधबार हो । गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिकामा पर्छ ।

    गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ । मेलामा नेपालसहित भारतबाट आउने भक्तालुले बढी पशुबली दिने गरेका छन् ।

    यस मेलामा दिइने पशुबली रोक्ने पशुअधिकारकर्मी सक्रिय रहेका छन् । स्थानीय सरकारले पनि पशुबलीलाई प्रोत्साहन नगर्न सचेत गराएको छ । तर, मानिसको आस्थासँग जोडिएको विषय भएकाले सोझै हस्तक्षेप गर्न भने सकिएको छैन ।

  • सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त

    सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रभावशाली प्रदर्शन जारी रहेको छ । मंगलबार मात्र नेपालको पोल्टामा ८ स्वर्ण परेको छ ।

    यसअघि सोमबार नेपालले १५ स्वर्ण जिजेको थियो । अब नेपालको कूल स्वर्ण २४ पुगेको छ । यस पटक सागमा नेपालले आफूले जितेका मध्ये सर्वाधिक पदक जित्ने लक्ष्य लिएको छ ।

    मंगलबार नेपालका लागि उसुमा २ स्वर्ण पदक जित्यो । विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जितेका छन् ।

    तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महरा तथा कराँतेमा नविन रसाइली र सनिता महर्जनले स्वर्ण पदक दिलाएका छन् ।

    एथ्लेटिक्समा पनि नेपालले मंगलबार एक स्वर्ण जित्यो । सन्तोषी श्रेष्ठले कीर्तिमान बनाउँदै स्वर्ण जितेकी हुन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले भारतीय खेलाडीभन्दा मात्र एक मिलिसेकेण्डले अगाडी पर्दै स्वर्ण जितिन् ।

    उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान बनाएकी हुन् । एथ्लेटिक्सतर्फ पुरुष १५ सय मिटर दौडमा टंक कार्कीको नाममा कास्य पदक रह्यो ।

    मंगलबार नै नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जितेको छ । ट्रायथलन तर्फ दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत जितेका छन् ।

    यो खेल पोखरामा भइरहेको छ । महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत पदक जितेकी छिन् । महिला भलिबलमा नेपालले रजत पदक जितेको छ ।

    महिला भलिबलमा पहिलो पटक रजत पदक प्राप्त भएको हो । फाइनलमा नेपाललाई भारतले ३-२ सेटले पराजित गर्यो । फुटबलमा नेपालले विजयी शुरुवात गरेको छ।

    घरेलु टोली नेपालले पुरुष र महिला दुवैमा जित हात पारेको छ । दशरथ रंगशालमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हरायो ।

    नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई गोल गरे । मिक्छेन तामाङ र अभिषेक रिजालको नाममा एक\एक होल रह्यो ।

    पोखरामा जारी महिला फुटबलमा नेपालले श्रीलंकालाई १-० ले हरायो । क्रिकेटमा भने नेपाल पहिलो खेलमा हारेको छ ।

    पुरुषतर्फ श्रीलंका यू–२३ ले नेपाललाई पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले ५ बल अगावै ४ विकेट गुमाएर भेट्टाएको थियो ।

  • मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा

    मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा

    सुर्खेत । मौसमी सूचना प्रणालीलाई भरपर्दो बनाउने उद्देश्यले पूर्वाधार थप्ने क्रम जारी छ । यसैक्रममा जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा मौसमी राडार संचलनमा आएको छ ।

    उर्जा मन्त्री वर्षमान पुनले मंगलबार उक्त राडार उपकरणको उद्घाटन गरे । मौसम विज्ञान विभागका अनुसार यो राडार मौसमी पूर्व सूचना प्रणालीका लागि नेपालमा जडित अहिले सम्मकै अत्याधुनिक उपकरण हो ।

    सुर्खेतको रातानाङ्लामा राडार राखिएको छ । यस राडारबाट मौसमसम्बन्धी यथार्थ सूचना रियल टाइममा प्राप्त हुने बताइएको छ ।

    जसका माध्यमबाट हवाई यातायात समेत लाभान्वित हुने भएको छ । वर्षातको सम्भावनाका साथै हरिबतास र आँधीको समेत पूर्वानुमानमा यस उपकरणले सहयोग गर्ने भएको छ ।

    राडारले नेपाली आकासको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिच्न सक्छ ।

    सोही आधारमा मौसम वैज्ञानिकहरुले विश्लेषण गर्न सक्नेछन् । पछिल्लो समय नेपालमा मौसमको पूर्वानुमान सही हुन थालेको महसुस सर्वसाधारणले गर्दै आएका छन् ।

  • सागमा आज २० स्वर्णको छिनोफानो

    सागमा आज २० स्वर्णको छिनोफानो

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा मंगलबार पनि विभिन्न विद्याका प्रतिस्पर्धा हुँदैछन् । यस दिन कूल २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने कार्यतालीका रहेको छ ।

    आज भलिबलका दुबै फाइनल इभेन्ट हुँदैछन् । पुरुषतर्फ भारत र पाकिस्तान उपाधी भिडन्तमा हुनेछन् । महिलातर्फ नेपाल र भारतले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहको छ । महिला भलिबल फाइनल दिउँसो चार बजे राखिएको छ ।

    मंगलबारदेखि एथलेटिक्सका इभेन्ट प्रारम्भ हुँदैछन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल हुने कार्यतालिका छ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट मंगलबार नै हुनेछन् ।

    कराँतेमा ६ वटा स्वर्णको आज छिनोफानो हुँदैछ । पुरुषतर्फ ६० केजी मुनि, ६७ केजी मुनी र ७५ केजी मुनिको प्रतिस्पर्धा हुँदैछ ।

    महिलामा ५५ केजी मुनि, ६१ केजी मुनी र ६८ केजी मुनिमा प्रतिस्पर्धा हुने कार्यक्रम छ । उसुमा महिला र पुरुषको चाङक्वानमा दुई स्वर्णका लागि आज प्रतिस्पर्धा हुँदैछ ।

    टेबल टेनिसमा पुरुष र महिलाको टिम इभेन्टका खेल आजै हुनेछन् । ट्रायाथलन मिक्सड रिलेको फाइनल पनि मंगलबार हुँदैछ । फुटबलमा नेपाल र भुटान प्रतिस्पर्धा गर्दैछन् । यो खेल दशरथ रंगशालामा दिउँसो एक बजे राखिएको छ ।

    बंगलादेश र माल्दिभ्स साँझ पाँच बजे भिड्नेछन् । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्ने कार्यक्रम रहेको छ । मंगलबारदेखि पुरुष क्रिकेट पनि सुरु हुनेछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

    पोखरामा महिला क्रिकेट समेत आजै प्रारम्भ हुँदैछ । जहाँ श्रीलंका र बंगलादेश भिड्ने कार्यक्रम रहेको छ । मंगलबारदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिस्पर्धा शुरु हुनेछन् ।

    सुटिङमा महिलाको १० मिटर एयर राइफल तथा महिला र पुरुषको थ्री पोजिसन राइफलका खेलहरु सम्पन्न हुनेछन् ।

    लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेल आजै हुनेछन् । गल्फका खेल पनि मंगलबारदेखि नै सुरु हुदैछन् । खोखोका सेमिफाइनल खेल आज हुनेछन् । आइतबारबाट औपचारिक रुपमा शुरु भएको सागमा १५ स्वण जित्दै नेपाल पहिलो स्थानमा रहेको छ ।

  • मेसीलाई कीर्तिमानी बालोन डी’ ओर अवार्ड

    मेसीलाई कीर्तिमानी बालोन डी’ ओर अवार्ड

    पेरिस । अर्जेन्टाइन स्टार लियोनल मेस्सीले छैटौं पटक बालोन डी’ ओर अवार्ड जित्दै कीर्तिमान राखेका छन् ।

    जिवनमा खेलका माध्यमबाट अधिकांश रेकर्ड आफ्नो नाममा गराइसकेका उनले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै उक्त अवार्ड जितेका हुन् ।

    उनी अर्जेन्टिना र बार्सिलोनका कप्तान हुन् । फ्रान्सको पेरिसमा सोमबार राती सम्पन्न एक विशेष समारोहमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भान डाइकलाई पछि पार्दै उक्त अवार्ड हात पार्न सफल भए ।

    ६ पटक बालोन डी’ओर अवार्ड जित्ने मेसी एक्लो खेलाडी बनेका छन् । उनले यसअघि २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक यो अवार्ड जितिसकेका छन् । मेसीलाई रोनाल्डोले पच्छ्याएका छन् ।

    उनको नाममा ५ अवार्ड रहेको छ । महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनीले उत्कृष्ट खेलाडीको अवार्ड जितिन् ।

    लिभरपुलका एलिसन बेकर उत्कृष्ट गोलकिपर बने । विश्वभरबाट कप्तान, प्रशिक्षक तथा खेल पत्रकारले दिने मतका आधारमा यसको छिनोफानो हुने गर्छ ।

    त्यसो त खेलाडीको प्रदर्शनलाई मूख्य आधार मानेर मनोनयनमा पर्ने गर्छन् ।

  • प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित

    प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित

    काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले तत्कालका लागि चीन भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अझै अस्थिर छ ।

    सोहीकारण आफू तत्काल चीन जान नसक्ने जानकारी नेपालस्थित चिनियाँ राजदूतलाई गराइसकेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओलीसँग भेट गरेपछि प्रचण्डले राजदूतलाई उक्त जानकारी गराएका हुन् । यसअघि २४ मंसिरमा प्रचण्ड चीन जाने कार्यक्रम थियो ।

    उनी करीव ६ दर्जन नेतासागै लिएर चीन जाने तयारीमा थिए । आगामी दुई वर्ष भित्र नेकपाका सबै नेतालाई चीन भ्रमण गराएर त्यहाको शासन व्यवस्थाबारे जानकारी गराउने योजना चीनको रहेको छ ।

    सोही सिलसिलामा पहिलो टोली प्रचण्डको नेतृत्वमा जाने तयारीमा थियो ।

    प्रधानमन्त्री बिरामी भई अस्पतालमा रहेका बेला परिस्थिति सम्हाल्नु पर्ने नेता विदेश भ्रमणमा जान नहुने सल्लाह नेकपाकै शीर्ष नेताले दिएका थिए । सोही अनुसार प्रचण्डले चीन जाने योजना स्थगित गरेका हुन् ।

  • १३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै

    १३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला र पुरुष दुबै फुटबल टोलीले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । महिला फूटबलका खेलहरु मंगलबारदेखि पोखरा फुटबल रंगशालामा शुरु हुँदैछ ।

    महिला फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र श्रीलंका भिड्दैछन् । श्रीलंका भन्दा नेपाल तुलनात्मक रुपमा बलियो टोली हो । त्यसमाथि नेपाल अहिले उत्कृष्ट फर्ममा रहेको टोलीसमेत हो ।

    श्रीलंकापछि नेपालले १९ मंसिरमा माल्दिभ्स र २१ मंसिरमा भारतको सामना गर्ने भएको छ । राउन्ड रोबिन लिगबाट शीर्षस्थानमा उक्लिने २ टिम २३ मंसिरमा हुने फाइनलमा भिड्ने गरी तालीका बनाइएको छ ।

    पुरुषतर्फ पनि नेपाल र भूटानको खेल आज हुँदैछ । पुरुष फूटबलका खेलहरु भने दशरथ रंगशालामा आयोजना हुँदैछन् । दशरथ रंगशालामा ५ सय १ हजार मूल्यको टिकट काटेर फूटबल हेर्न सकिने व्यवस्था रहेको छ ।

  • आइसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक

    आइसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसीयूबाटै देशबासीका नाममा भिडियो सन्देश प्रवाहित गरेका छन् ।

    शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियू कक्षबाट उनले भिडिओ सन्देश सार्वजनिक गरेका हुन् ।

    यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनी आफैले भिडियो सन्देश सार्वजनिक गरेका हुन् ।

    उनले अपरेशनपछि स्वास्थ्यमा सुधार भइरहेको र समाचार हेर्न सक्ने भइसकेको उल्लेख गरेका छन् । यस्तो छ उनको भिडियो सन्देश :

    एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रूपमा त्यसैगरी आइलाग्यो। त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो। बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो। तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरू देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

    हिजो मैले १३ औँ सागको उद्घाटन समारोह पनि पूरै हेरेँ। हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ। म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरू सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु। मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरू र सार्क क्षेत्रका खेलाडीहरू, सबैलाई आग्रह गर्दछु।

  • १३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन

    १३ औं साग : सोमबार नेपाललाई ऐतिहासिक सफल दिन

    काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार नेपालका लागि ऐतिहासिक सफल दिन सावित भएको छ ।

    यस दिन नेपाल एक्लैले कूल १५ स्वर्ण जित्दै कीर्तिमान राखेको हो । सोमबार कूल २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको हो । त्यसमध्ये १५ स्वर्ण जित्दै नेपाल शीर्ष स्थानमा रहन सफल भएको छ ।

    नेपालका लागि कराँते र तेक्वान्दोबाट ७–७ स्वर्ण पदक प्राप्त भयो । ट्रायथोलनबाट एक स्वर्णसमेत नेपालको भागमा परेको छ ।

    यसैगरी कराँतेबाट २ र तेक्वान्दोबाट १ रजत पदक नेपालको पोल्टामा परेको छ । तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक समेत नेपालले जितेको हो ।

    नेपाललाई सोमबार सबैरै पहिलो स्वर्ण भने करातेका मण्डेकाजी श्रेष्ठले दिलाएका थिए । पुरुष एकल कातामा नेपालले दुई दशकपछि स्वर्ण जित्न सफल भएको हो । टिम कातामा समेत उनीसहित प्रवीण मानन्धर र महसुस तामाङले स्वर्ण जितेका हुन् ।

    उनी १३ औं सागमा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बने । तेक्वान्दोकी आयशा शाक्यका नाममा समेत सोमबार दुई स्वर्ण रह्यो । उनले स्वर्ण दिलाएपछि श्रीमान दिपक विष्टसँग खुसी साटेकी थिइन् ।

    त्यससमय उनी भावुकसमेत बनिन् । उनले ११ औं सागमा समेत स्वर्ण जितेकी हुन् । महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको टिमले सोमबार नै स्वर्ण जितेको छ ।

    महिला एकल कातातर्फ चञ्चला दनुवारले रजत पदक हात पारिन् । कुमुतेतर्फ सोमबार नेपालले चार स्वर्ण जित्यो । पुरुषतर्फ ५५ केजीमुनी लक्ष्मण तामाङ र ८४ केजीभन्दामाथि विप्लव मान श्रेष्ठले स्वर्ण पदक दिलाएका हुन् । महिलातर्फ ४५ केजीमुनी कुशुम खड्का र ५० केजीमुनी अनु अधिकारीले स्वर्ण जितिन् ।
    ८४ केजी मुनीको प्रतिस्पर्धामा दिवस श्रेष्ठले रजत जिते । सागमा पहिलो पटक पुम्से खेल समावेश गरिएको हो । यस खेलमा समेत नेपाल बलियो देखियो ।

    यस खेलमा नेपालले ७ स्वर्ण जित्यो । आयशा शाक्यले एकल र टिमतर्फ स्वर्ण जितेकी हुन् १७ देखि २३ वर्षको समूहमा सीना मादेन, २३ देखि २९ वर्ष समूहमा पार्वती गुरुङले स्वर्ण जितिन् ।

    पुरुषतर्फ २३ देखि २९ वर्ष समूहका कमल श्रेष्ठले स्वर्ण हात पारे । पुम्सेको टिमतर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना तथा २३ देखि २९ वर्ष उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले समेत नेपाललाई स्वर्ण पदक जिताए ।
    सोमबार भएको क्रिकेटमा नेपालले माल्दिभ्सलाई हराउन सफल भयो ।

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।

    मूल्य राती १२ बजेबाटै लागू हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले उल्लेख गरेका छन् । उनका अनुसार इन्डियन आयल कर्पोरेसनले मूल्य वृद्धि गरी पठाएका कारण नेपालमा मूल्य समायोजन गर्नु परेको हो ।

    नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

    एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ । १ डिसेम्बरबाटै एलपी ग्यास र हवाई इन्धनको मूल्य पनि बढेर आएको छ । तर, निगमले नेपालमा भने नबढाएको गोइतले जानकारी दिएका छन् ।

  • उपनिर्वाचनको अन्तिम परिणाम, नेकपा र कांग्रेस दुबैलाई औसत जनमत

    उपनिर्वाचनको अन्तिम परिणाम, नेकपा र कांग्रेस दुबैलाई औसत जनमत

    काठमाडौं । देशभर ३७ जिल्लामा भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचितहरुको अन्तिम सूचि सार्वजनिक गरेको छ ।

    अघिल्लो निर्वाचनको तुलनामा एक उपमहानगरपालिका र एक प्रदेशसभा सदस्य गुमाएको नेकपा समग्र नतिजामा भने अग्रस्थानमै रहने सफल भयो । ५२ स्थानमा भएको निर्वाचनमा नेकपा एक्लैले ३० स्थानमा विजयी भयो ।

    यस पटक धरान उपमहानगरपालिकामा कांग्रेसले ऐतिहासिक जित हाँसिल गरेको छ । जहाँ यसअघि कम्यूनिष्टले मात्र जित्दै आएको थियो ।

    नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा र तीन गाउँपालिका अध्यक्ष सहित ३० स्थानमा जित हासिल गरेको हो ।

    नेपाली कांग्रेसले एक प्रदेशसभा सदस्य र धरान उपमहानगरपालिकामा मेयर पदसहित १३ स्थानमा जित हाँसिल गरेको छ । नेकपाले यसअघि हारेका ३ गाउँपालिकामा जित निकाल्न सफल हुँदा एक प्रदेश सभा सदस्य गुमाएको छ ।

    समग्रमा अघिल्लो चुनावको तुलनामा नेकपालाई दुई स्थान फाइदा भएको छ । दाङमा एक प्रदेशसभा र उपनिर्वाचन भएका सबै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष नेकपाले जितेको हो ।

    नेकपा र नेकपाले समर्थन गरेका उमेदवारले समग्रमा ३२ स्थानमा जीत हारे । किनकी नेकपाले जनमोर्चालाई समेत समर्थन गरेको थियो ।

  • सागमा आज एक दर्जन खेल

    सागमा आज एक दर्जन खेल

    काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज एक दर्जन खेलमा प्रतिस्पर्धा हुँदैछ । तेक्वान्दोका निर्णयक खेल आज हुनेछन् ।

    सातदोवाटो स्थित कभर्ड हलमा तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने खेलतालीका रहेको छ ।

    आजै, कराँते, पुरुष फुटबल, खो खो, टेबलटेनिस, टेनिस, गल्फ र महिला तथा पुरुष भलिबलको कांस्य पदकका लागि पनि प्रतिस्पर्धा हुँदैछ ।

    पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलनको खेल तालीका राखिएको छ । दशरथ रंगशालामा पुरुष फुटबलमा बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंका भिड्ने भएका छन् ।

    सागका खेलहरु बुधबारबाट शुरु भएपनि औपचारिक उद्घाटन भने आइतबार भएको हो । साग १० दिनसम्म चल्नेछ ।

  • चम्किए मेसी, बार्सिलोनासँग घरमै हार्यो एथ्लेटिकोे म्याड्रिड

    चम्किए मेसी, बार्सिलोनासँग घरमै हार्यो एथ्लेटिकोे म्याड्रिड

    काठमाडौं । नियोनल मेस्सी चम्किएको खेलमा बार्सिलोनाले एथ्लेटिकोे म्याड्रिडलाई उसकै घरमा हराएको छ । खेलको उत्तरार्धमा मेसीले निर्णायक गोल गरेका थिए ।

    साविक विजेता बार्सिलोनालाई घरेलू टीमले निकै दवावमा राखेको थियो । दुई सटीक प्रहार पोलमा लागेर फर्कनु एथ्लेटिकोे म्याड्रिडका लागि अभिसाप सावित भयो ।

    स्पेनिस ला लिगा फुटबल अन्तगर्त सोमबार बिहान सम्पन्न खेलमा १–० गोलको नजिता निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लियो एथ्लेटिकोेको मैदानमा कप्तान लियोनल मेस्सीले ८६औं मिनेटमा लुइस स्वारेजको पासमा गरेको गोल निर्णायक बन्यो । एजेन्सी

  • विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र

    विवादित ट्वीटका कारण आलोचनाको शिकार भए रवीन्द्र मिश्र

    काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनमा आफ्नो दललाई जनताले नराम्रोसँग हराएपछि विवादित ट्वीट गरेका छन् ।

    उनले जनमतको अपमान हुने गरी जनताले भ्रष्टता, र असक्षमतालाई अनुमोदन गरेको भन्दै ट्वीट गरेपछि उनको बौद्धिक स्तरलाई लिएर सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।

    जनताले भोट दिएर जिताएका उमेदवारलाई हार्दिकताका साथ बधाई दिनुको साटो उनले ठूला दलप्रति विष ओकल्ने प्रयास गरेका छन् ।

    नकारात्मक टिप्पणीमार्फत राजनीति गरिरहेका दलका विकल्प दिन्छु भन्दै राजनीतिमा होमिएका मिश्र र उनको दलले पनि पुरानै ढर्रा कायम राखेपछि उनी आलोचनाको शिकार बनेका हुन् ।

    उपनिर्वाचनमा अधिकांश स्थानमो उनको दलको जमानत जफत भएको छ । निर्वाचनमा नेकपा र कांग्रेसको बाहुल्य देखिएको छ । खासगरी पोखराको निर्वाचन परिणाम आइसकेपछि उनको आक्रामक ट्वीट सार्वजनिक भएको थियो ।

    उनले भनेका छन्, ‘उपचुनावमा साझा पार्टीले छोटो समयमा जे गर्‍यो त्यसमा थप धेरै मेहनत गर्नुपर्ने सन्देश दिएको छ’ कास्की–२ को निर्वाचन परिणाम सार्वजनिक भए लगत्तैले संयोजक मिश्रले ट्विटरमा भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

    उनको यो ट्वीटसँगै सामाजिक संजालमा विषय ओकलेको भन्दै उनीविरुद्ध नकारात्मक टिप्पणी जारी रहेको छ ।

  • बागलुङमा जनमोर्चा र दाङमा नेकपा विजयी

    बागलुङमा जनमोर्चा र दाङमा नेकपा विजयी

    काठमाडौं । प्रदेशसभा सदस्यतर्फ बागलुङ र दाङमा भएको निर्वाचनमा नेकपा समर्थक उमेदरवारले जितेका छन् ।

    बागलुङ क्षेत्र नम्बर २ (ख)मा प्रदेशससभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही विजयी भए । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन गरेको थियो ।

    शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले हराए । शाीले ११ हजार २ सय ३५ मत पाउँदा शेरचनले ९ हजार १ सय ३८ मत पाए ।

    २०७४ सालमा समेत यो निर्वाचन क्षेत्रमा नेकपाको समर्थनमा जनमोर्चाले जीत निकालेको थियो । उता, दाङ क्षेत्र नम्बर ३ (ख)मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भइन् ।

    उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका केशव आचार्यलाई ५ हजारभन्दा बढी मत अन्तरले हराएकी छन् ।

    ओलीले २४ हजार २ सय ८६ मत प्राप्त गरिन् । आचार्यले १९ हजार १ सय ८२ मत पाए । २०७४ सालमा यो क्षेत्र तत्कालीन एमालेले जितेको थियो ।

  • भ्रमण वर्ष २०२० लाई सघाउला सागले ?

    भ्रमण वर्ष २०२० लाई सघाउला सागले ?

    काठमाडौं । करीव ५ हजार विदेशीको नेपालमा एकसाथ जमघट । यी सबैको पासपोर्टमा नेपाली अध्यागमनको छाप लाग्दा उनीहरु नेपालका पर्यटकमा त अवश्य गनिनेछन्, सँगै नेपालले उनीहरुबाट त्यसको कैयौं गुणा प्रवद्र्धनको अपेक्षा गरेको छ ।

    किनकी साग सम्पन्न भएको केही दिनमै नेपालमा औपचारिक रुपमा नेपाल भ्रमण वर्ष प्रारम्भ हुदैछ । नेपालले एकसाथ दुई भब्य इभेन्ट एक महिना भित्रै गर्न गइरहेको छ, त्यो पनि दशरथ रंगशालामै ।

    १ जनवरीको दिन रंगशालामा एक भब्य कार्यक्रम आयोजना हुँदैछ, जहाँबाट एकसाथ विश्वभरका पर्यटकलाई नेपाल आगमनका लागि आह्वान गरिदैछ । सरोकारवाला सागबाट निकै ठूलो अपेक्षामा छन् ।

    किनकी सागमा सम्बन्धित मुलुकका सेलिब्रेटी खेलाडीले भाग लिन्छन् । उनीहरुले नेपालबारे राख्ने रहेक सकारात्मक सन्देशले नेपालको प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्नेछ ।

    सागका खेलहरु काठमाडौंसहित पोखरा र जनकपुरमा समेत हुनेछन् । यी तीन वटै शहर पर्यटकीय शहर हुन् । यसले पनि भावि दिनमा नेपाललाई पर्यटकीय मुलुकका रुपमा स्थापित गराउन सहयोग पुग्नेछ ।

    सागमा आएका खेलाडी र अफिसियल तथा संचारकर्मीलाई नेपालले भरपुर आतिथ्य प्रदान गर्दैछन् । उनीहरु स्तरीय होटेलमा बस्नेछन् ।

    नेपालमा पाएको न्यायो मायालाई उनीहरुले आफ्नो मुलुकमा प्रवद्र्धन गर्न सक्नेछन् । यसलाई नेपालले सोही अनुसार लाभ लिन सक्ने छ । भ्रमण वर्ष नेपालमा १ जनवरी र विदेशमा ७ जनवरी २०२० मा औपचारिक उद्घाटनको तयारी रहेको छ ।

  • हङकङको प्रदर्शनमा अमेरिकी झण्डा फहरिएपछि…

    हङकङको प्रदर्शनमा अमेरिकी झण्डा फहरिएपछि…

    हङकङ । हङकङमा प्रो डेमोक्रेटिक आन्दोलन जारी छ । आन्दोलनका दौरान प्रदर्शनकारीले अमेरिकाको पक्षमा नारावाजी गर्दै अमेरिकाको राष्ट्रिय झण्डा नै फहराइदिएका छन् ।

    प्रर्दशनीकारीले अमेरिकी राष्ट्रिय झण्डा बोक्दै धन्यवाद ट्रम्पको नारा लगाएपछि बेइजिंग भने विच्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो साता हङकङ आन्दोलनको विधेयकमा हस्ताक्षर गरेका थिए ।

    ट्रम्पको उक्त कदममा सहमति जनाउँदै प्रदर्शनकारीले अमेरिकाको पक्षमा नारा लगाउँदै झण्डा प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति ट्रम्पको तस्बिर समेत बोकेका थिए ।

    हङकङमा अहिले स्वतन्त्रताको नारा अगाडी आएको छ । अमेरिकाले आफूहरुलाई स्वतन्त्र बनाएको उनीहरुको दावि छ । स्वतन्त्र हङकङका पक्षमा अमेरिकाको कदमप्रति चीनको भने आपत्ति रहेको छ ।

  • भरतपुर विमानस्थल १० दिन बन्द, विकल्पमा मेघौली

    भरतपुर विमानस्थल १० दिन बन्द, विकल्पमा मेघौली

    भरतपुर । नियमित मर्मत सम्भारका लागि आइतबारदेखि चितवनस्थित भरतपुर विमानस्थल बन्द भएको छ । विमानस्थल २४ मंसिरसम्म बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो । यो विमानस्थल पर्यटकको सुविधाका लागि निकै महत्वपूर्ण रहेको किनकी ।

    यहाँबाट काठमाडौंमा मात्र नभई पोखरामा समेत उडान हुन्छ । यो विमानस्थल बन्द भएपछि विकल्पमा साना जहाजले मेघौलीस्थित विमानस्थल प्रयोग गर्न सक्नेछन् ।

    तर, मेघौली सुविधासम्पन्न विमानस्थल भने होइन । धावनमार्गको पीच बिग्रिएपछि त्यसलाई माथिबाट टालेर मर्मत गरिने भएको छ ।

    यहाँ १२ सय मिटर लामो धावनमार्ग रहेको छ । भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सको उडान हुने गरेको छ । बुद्ध र यतिले पोखरामा समेत उडान गर्छन् ।

  • सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत

    सागका पाहुनालाई सुन्दर देशमा न्यानो स्वागत

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन गरिन् ।

    आइतबार साँझ निकै आकर्षक तरिकाले झकिझकाउ दशरथ रङ्गशालामा आयोजित भव्य समारोहमा उनले सागमा सहभागी सबै पाहुनालाई हार्दिक स्वागत गर्दै प्रतियोगिता शुरु भएको उद्घोष गरिन् । त्यसपछि आतीसबाजीले काठमाडौंको आकास झकिझकाउ पारिएको थियो ।

    सन् १९९९ मा पछिल्लो पटक साग नेपालले आयोजना गरेको थियो । त्यसको दुई दशकपछि काठमाडौं आइपुगेको सागको रौनकलाई हजारौं दर्शकले हुटिंग गर्दै साथ दिए ।
    उद्घाटन समारोहलाई सरकार प्रमुखको हैसियतमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरे । प्रधानमन्त्री बिरामी भएर उपचारका सिलसिलामा अस्पतालमा छन् ।

    सम्बोधनका क्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले सागलाई सफल बनाउन प्राथमिकताका साथ पूर्वाधार निर्माण गरेको बताए ।

    कार्यक्रममा मूल आयोजक समितिका अध्यक्ष तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्बोधन गरेका थिए ।

    समारोहमा सात हजार ५०० बढी कलाकारले नेपालसहित सदस्य मुलुकको मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुती दिएका थिए ।

    कीर्तिमानी खेलाडी दीपक विष्टले सागको ज्योती बालेका थिए । प्रतियोगिताका खेलहरु काठमाडौंसहित पोखरा र जनकपुरमा समेत संचालन हुने छन् । सन् १९८४ मा पहिलोपटक नेपालबाटै सागको शुरुवात भएको हो ।

    साग दक्षिण एसियाली मुलुककै एक भब्य खेल मेला हो । १३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

  • साताव्यापी पश्चिम भ्रमणमा निस्किए पूर्वराजा

    साताव्यापी पश्चिम भ्रमणमा निस्किए पूर्वराजा

    भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणका सिलसिलामा भैरहवा झरेका छन् । उनी आइतबार साँझ भैरहवा पुगेका हुन् ।

    प्रदेश ५ का विभिन्न धार्मिक स्थलको भ्रमण तथा स्थानीय राजीतिककर्मीसाग भेटवार्ता गर्ने उद्देश्यसहित उनी पश्चिम नेपालको भ्रमणमा निस्कएका हुन् ।

    भैरहवा विमानस्थलमा झर्दा समर्थकले उनको भब्य स्वागत गरेका थिए । भैरहवाको चोकचोकमा उभिएकार सर्वसाधारणले उनको स्वागत गरेका थिए ।

    तिलोत्तमास्थित पाँच तारे होटल टाईगर रिसोर्टमा बस्न्सेका राजाले सैनामैनास्थित पर्रोहा बोलबम धामको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

    यसै क्रममा उनी मर्चवारस्थित मर्चवारी देवीको दर्शनमा समेत पुग्नेछन् । त्यसबाहेक पाल्पाको भगवती मन्दिर र कपिलवस्तुस्थित गोरुसिंगे पशुपति केन्द्रमा समेत दर्शनका लागि पुग्ने भएका छन् ।

    नवलपरासीको पाल्ही भगवती मन्दिर दर्शन सकाएर उनी आगामी साता मात्र काठमाडौं फर्कने छन् ।

  • कास्की २ मा विद्या भट्टराई विजयी

    कास्की २ मा विद्या भट्टराई विजयी

    पोखरा । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की २ बाट विद्या भट्टराईले विजय हाँसिल गरेकी छिन् । उनले नेपाली कांग्रेसका खेमराज पौडेलभन्दा ८ हजार ४ सय ३ बढी मत प्राप्त गर्दै विजयी हाँसिल गरेकी हुन् ।

    उनी नेकपाकी उमेदवार हुन् । विद्याले २४ हजार ३ सय ९४ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाए ।

    समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    विद्या स्वर्गीय मन्त्री रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । अधिकारीको निधनसँगै खाली भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचनमार्फत सदस्य थप गरिएको हो ।

    यसमा नेकपाको एक सीट सुरक्षित समेत बन्न सफल भएको छ । राजनीतिक पृष्ठभूमीकी विद्याको रवीन्द्र सँग बिवाह भएपछि भने उनी शिक्षण पेशामा आवद्ध भई सक्रिय भएकी थिइन् ।

    अहिले उनको राजनीतिमा पुनरावगमन भएको छ । आफू पराजित भएसँगै कांग्रेस उमेदरवार पौडेलले भट्टराईलाई फूलमाला लगाएर बधाई दिए । उनले ट्वीट गर्दै रामो गर्दै जानु भन्ने सन्देश समेत दिएका छन् ।

  • आज सागको भब्य उद्घाटन

    आज सागको भब्य उद्घाटन

    काठमाडौं । १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)को भब्य उद्घाटन आज हुँदैछ । ५ बजेबाट शुरु हुने विशेष कार्यक्रम ३ घण्टा १४ मिनेटसम्म चल्ने नेपाल ओलम्पिक कमिटिले जानकारी दिएको छ ।

    राष्ट्रपति विद्यादेवि भण्डारीले साग क्षेत्रकै वृहत खेल मेलाको उद्घाटन गर्नेछिन् । नेपालले तेस्रो पटक साग आयोजना गर्न लागेको हो ।

    यद्दपी करीव दुई दशकपछि काठमाडौं फर्किएको सागलाई भब्य र ऐतिहासिक बनाउन कुनै कसुर बाँकि नराख्ने योजना नेपालको छ ।

    सागका खेलहरु भने बुधबारबाटै शुरु भएका हुन् । २४ मंसिरमा सागको समापन हुँदैछ । यस पटकका खेल काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछन् ।

    दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूले आफ्नो प्रतिष्ठाका रुपमा यस खेल मेलाई लिने गरेका छन् । उद्घाटनका अवसरमा सेना प्रहरी तथा विद्यार्थी गरी करीव १५ हजार कलाकारले प्रस्तुति दिँदैछन् ।

  • वडा अध्यक्षको चुनावी नतिजा, तराईमा कांग्रेसको पुनरागमन, पहाडमा नेकपा बलियो

    वडा अध्यक्षको चुनावी नतिजा, तराईमा कांग्रेसको पुनरागमन, पहाडमा नेकपा बलियो

    काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत अधिकांश वडाअध्यक्षको नतिजा सार्वजनिक भइसकेको छ । कुल ४३ वडाध्यक्षका लागि निर्वाचन भएको छ ।

    यस पटकको नतिजामा कांग्रेसले तराई र भित्रि मषेधका जिल्लामा रामो भोट सुधार गरेको छ । चितवन र अर्घाखाँचीमा यस अघि हारेका वडामा समेत कांग्रेसले पुनरागमन गर्न सफल भएको छ ।

    तराईमा राजपा कमजोर बन्दा कांग्रेस र बाबुराम भट्टराई तथा उपेन्द्र यादवको पार्टी समाजवादी बलियो देखिएको संकेत उपनिर्वाचनले देखिएको छ ।

    दाङका वडा जहाँ साविकमा केकपाले जितेको थियो, ती वडासमेत कांग्रेसले खोस्न सफल भएको छ । अर्घाखाँचीको मालारानीमा समेत कांग्रेसले साविक नेकपाले जितेको स्थानमा जीत हात पारेको छ ।

    भोजपुरमा वडा कांग्रेसले गुमाएको छ । बैतडीको सुनर्या गाउँपालिका वडा नं १मा नेकपा कांग्रेस विजयी भयो । कांग्रेसका गजेन्द्रबहादुर चन्दले २१९ मत पाउँदा नेकपाका धनबहादुर चन्दले २१५ मत पाए । यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो ।

    सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं १ मा समाजवादी पार्टीका श्यामबाबु राय ३४७ मतसहित विजयी भए । राजपाका रामविश्वास रायले ३२८ मत ल्याए । यहाँ साविकमा नेकपाले जितेको थियो ।

    दाङको घोराही नगरपालिका वडा नं १६मा कांग्रेस ७६५ मतसहित विजयी भएको छ । नेकपाले ३७८ मात्र मत पायो । यो यसअघि नेकपाले जितेको क्षेत्र हो ।

    अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३मा कांग्रेसका शोभाकर खनाल १०५९ मतसहित विजयी भए । यहाँ नेकपाका यामलाल खनालले १०५३ मत पाए । यहा यसअघि नेकपाले जितेको थियो ।

    चितवनको खैरहनी नगरपालिका वडा नं ४ मा कांग्रेसका देवबहादुर बस्नेत ११३८ मतसहित विजयी भए । नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत पाए । यहाँ यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो ।

    चितवनकै खैरहनी नगरपालिका वडा नं ५ मा कांग्रेसकी प्रतिमा बस्नेत कार्की ८४२ मतसहित विजयी भइन् । नेकपाका पुननारायण प्रधानले ७५६ मत पाए । यहाँ साविकमा नेकपाले जितेको थियो ।

    धुलिखेल नगरपालिका वडा नं २ मा नेकपाका देव कोइराला ८६७ मतसहितविजयी भए । कांग्रेसका दणबहाुदर खत्रीले ५८२ मत पाए । यसअघिको पनि चुनाव यहाँ नेकपाले नै जितेको थियो ।

    गुल्मीको रुरु गाउँपालिका वडा नं ६ मा नेकपाका गिरीप्रसाद सिँजाली ८०२ मतसहित विजयी भए । यसअघिको चुनाव पनि यहाँ नेकपाले नै जितेको थियो ।

    संखुवासभाको खाँदबारी नगरपालिका वडा नं ३ मा नेकपाका भरतकुमार घिमिरे ७९६ मतसहित विजयी भए । कांग्रेसका विक्रम गुरुङले ४६७ मत पाए । यो नेकपाले नै जितेको ठाउँ हो ।

    काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं ३ मा नेकपाका शिवभक्त वलामी ६१८ मतसहित विजयी भए । कांग्रेसका जयशंकर केसीले २७८ मत ल्याए । यो नेकपाले नै जितेको स्थान हो ।

    पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ मा समाजवादीका रुपलाल यादव १०३१ मतसहित विजयी भए । कांग्रेसका अशेश्वर यादवले ८१९ मत ल्याए । यो यसअघि पनि समाजवादीले नै जितेको स्थान हो ।

    रौतहट गढीमाई नगरपालिका वडा नं २ मा कांग्रेसका दीपेन श्रेष्ठ ७७१ मतसहित विजयी भए । नेकपाले ५९६ मत ल्यायो । साविकमा यहाँ राजपाले जितेको थियो ।

    रोल्पाको थबाङ गाउँपालिका वडा नं १मा नेकपाका जनकबहादुर बूढामगर १७४ मतसहित विजयी भए । कांग्रेसका कमलबहादुर रोका मगरले २६ मत ल्याए । साविकमा यहाँ स्वतन्त्र उमेदरवारले जितेका थिए ।

    सल्यानको कुमाखमालिका गाउँपालिका वडा नं ५ मा नेकपाका धर्मे बूढाथोकी ७९२ मतसहित विजयी भए । कांग्रेसले २५१ मत ल्यायो । यो नेकपाले नै जितेको स्थान हो ।

    लमजुङको सुन्दर बजार नगरपालिका वडा नं २ मा नेकपाका नवीन कुमार श्रेष्ठ ९९३ मतसहित विजयी भए । कांग्रेसका प्रकाश सेढाईले ४८२ मत ल्याए । यो नेकपाले नै जितेको स्थान हो । अन्य स्थानमा भने मतगणना जारी रहेको छ ।

  • सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किए, ७ जनाको मृत्यु

    सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किए, ७ जनाको मृत्यु

    विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किएर भएको गम्भीर दूर्घटनामा ७ जनाको ज्यान गएको छ । एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

    विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक शनिबार राति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएका हुन् ।

    दुर्घटनामा परी वर्ष ३४ का दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० का तुलबहादुर राई, वर्ष ३१ का दिनेश राई, वर्ष ३५ का मुकेश राई र शिवमाया राई रहेको प्रहरीले बताएको छ ।

    एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट

    आजदेखि श्रम स्वीकृतिको टोकन अनलाइनबाट

    काठमाडौं । आजदेखि श्रम स्वीकृति लिन लामो लाइन बस्नु पर्ने छैन ।

    घरबाटै अनलाइनमार्फत भरेको श्रम स्वीकृतिका आफ्नो पालो आएको दिन गएर सजिलै लिन सकिने गरी वैदेशिक रोजगार विभागले अनलाइन प्रणाली शुरु गरेको छ ।

    पहिलो पटक कायान्वयनमा आएको यो प्रणाली आजबाट शुरु भएको हो । वैदेशिक रोजगारसाग सम्बन्धित हरेक कामहरु अनलाइन प्रणालीमा लैजाने योजना विभागको रहेको छ ।

    सोहीअन्तर्गत पहिलो चरणमा श्रम स्वीकृतिको टोकन अनलाइनबाट वितरण गर्न लागिएको हो ।

    श्रम स्वीकृतिका लागि अनलाइन फाराम भर्ने वित्तिकै आवेदनकर्ताले श्रम स्वीकृति पाउने दिन थाहा पाउँछन् ।

    आफूलाई पायक पर्ने कार्यालय रोजेर त्यहा पुगी सजिलै श्रम स्वीकृति लिन सकिने गरी प्रणाली विकास गरिएको छ ।

    अब श्रम स्वीकृतिमा सहजिकरण गर्छु भन्दै सक्रिय हुने दलालहरुको काम भने अन्त्य भएको छ । कर्मचारीले पनि दलालमार्फत खाने कमिसन बन्द भएको छ ।

    जुन कार्यालयमा छिट्टै पालो आउँछ, त्यही कार्यालय रोजेर सेवाग्राहीले श्रम स्वीकृति लिन सक्ने भएका छन् ।

    प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को काठमाडौँ ९ताहचल, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट श्रम स्वीकृति हुने गरेको छ ।

    श्रम स्वीकृतिको फाराम बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात चाहिने भएमा भने मोबाइलमा म्यासेज आउने विभागले उल्लेख गरेको छ ।

    श्रम स्वीकृतिको फारम भर्दा वास्तविक मोबाइल नम्बर र इमेल राख्नु पर्ने हुन्छ । अब वैदेशिक रोजगारीका क्रममा लाग्ने खर्च समेत विद्युतीय प्रणालीबाट भुक्तानीको प्रणाली समेत अन्तिम चरणमा रहेको विभागले जनाएको छ ।

    विद्युतीय भुक्तानी प्रणाली लागू भएपछि बीमा र कल्याणकारी कोषको रकम तिर्न बैंकमा धाृनु पर्ने छैन ।

  • साग : नेपाल महिला भलिबलको फाइनलमा, भारतसँग भिड्ने

    साग : नेपाल महिला भलिबलको फाइनलमा, भारतसँग भिड्ने

    काठमाडौं । नेपाली महिला भलिबल टोली काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    शनिबार राती राष्ट्रिय कभर्ड हलमा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ३-० को सोझो सेटमा जीत निकाल्यो । नेपालले पहिलो सेट २५-१४ ले जितेको थियो । दोस्रो सेटमा २५-१८ को जीत निकालेको नेपाल तेस्रो सेटमा २५-२१ ले जित निकाल्न सफल भयो ।

    नेपालका लागि सरस्वति चौधरी र प्रतिमा मालीले उत्कृष्ट प्रदर्शन गरेका छन् । यस जीतसँगै अब नेपालको भेट स्वर्ण पदका लागि भारतसँग हुने भएको छ ।

    समूह चरणको खेलमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँगै पराजित भएको थियो ।

    जारी प्रतियोगितमा स्वर्ण जित्ने सके त्यो नेपाली महिला टोलीका लागि निकै महत्वपूर्ण उपाधी हुने छ । किनकी नेपाली महिला टोलीले अहिलेसम्म सागमा स्वर्ण जित्न सकेको छैन ।

  • उपनिर्वाचनको नतिजा आउन थाल्यो, दुई वडाअध्क्षमा नेकपा विजयी

    उपनिर्वाचनको नतिजा आउन थाल्यो, दुई वडाअध्क्षमा नेकपा विजयी

    काठमाडौं । उपनिर्वाचनको नतिजा आउन थालेको छ । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढा मगर विजयी भएका छन् ।

    यहाँ सबैभन्दा कम मतदान भएको थियो । उनले १ सय ७४ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका कलमबहादुर रोका मगरले २६ मत प्राप्त गरे ।

    यहाँ २ सय ९ मत खसेको थियो । यहाँ १ हजार २ सय ७४ जना मतदाता रहेपनि कम मतदान भएको हो ।

    उता, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाएका छन् ।

    समाजवादी पार्टीका भीम तामाङले ७४ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । कुल ११९९ मतदाता रहेको यस वडामा ९२४ मत खसेको हो ।

    यो खानेपानी मन्त्री बीना मगरको निर्वाचन क्षेत्र समेत हो । यसैबीच कास्कीमा समेत शनिबार रातीबाटै मतगणनाको तयारी भइरहेको छ । आइतबार बिहानसम्म आधा भन्दा धेरै स्थानको नतिजा आइसक्ने आयोगले जनाएको छ ।

  • उपनिर्वाचन अपडेट : मतदान सम्पन्न, शनिबार रातीबाटै गणना

    उपनिर्वाचन अपडेट : मतदान सम्पन्न, शनिबार रातीबाटै गणना

    काठमाडौं । एक स्थानमा प्रतिनिधिसभासहित ५२ स्थानका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । सबै तहको मतदान सम्पन्न भई अहिले मतपेटिका संकलनको काम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    कास्की २ मा प्रतिनिधिसभा निर्वाचन भएको हो । उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको हो ।

    धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान सम्पन्न भएको छ । उपनिर्वाचनका दौरान कास्कीमा बम विस्फोट भएपनि त्यसले ठूलो क्षति गरेन ।

    त्यसबाहेक शान्तीपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । ५२ वटै स्थानमा भएको मतदानमा करिब ७० प्रतिशत मतदान भएको अनुमान आयोगको रहेको छ ।

    मतदान बिहान सात बजेबाट सुरु भएको थियो । कतिपय स्थानमा भने शनिबार साँझैबाट मतगणना शुरु गरिने भएको छ ।

  • सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड

    सागका पाहुनालाई टेलिकमको निःशुल्क सिमकार्ड

    काठमाडौं । नेपाल टेलिकमले १३औं दक्षिण एशियाली खेलकूद (साग)मा भाग लिन आएका खेलाडी, अफिसियल तथा अन्य पाहुनालाई निःशुल्क फोरजी सीमकार्ड उपलब्ध गराएको छ ।

    यस प्रतियोगिताका लागि पार्टनर स्पोन्सर बनेको टेलिकमले सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको हो ।

    यस पटक सागका खेलहरु काठमाडौ, जनकपुर र पोखरामा हुँदैछन् । खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको बताएको छ ।

    कम्पनीले विमानस्थलमा काउन्टर स्थापना गरेर सीमकार्ड उपलब्ध गराइरहेको छ ।

    एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको समेत व्यवस्था गरेको जनाएको छ ।

    मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन ।

    साथै, कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्री लगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ ।

    यसका लागि ११६६ सर्ट कोड मार्फत कल गरेर यो सेवा लिन सकिने भएको छ ।

    कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबर्द्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ । टेलिकम नेपालको सरकारी स्वामित्वको टेलिकम सेवा प्रदायक कम्पनी हो ।