Author: Vishwanews.com

  • सागमा नेपालको झण्डा कमल बहादुरले बोक्ने

    सागमा नेपालको झण्डा कमल बहादुरले बोक्ने

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको राष्ट्रिय झण्डा भारतोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने निश्चित भएको छ ।

    यसअघि क्रिकेट कप्तान पारस खड्काको नाम पहिलो नम्बरका सिफारिस भएको थिया । कमलको नाम भने वैकल्पिक खेलाडीका रुपमा थियो ।

    नेपाल ओलम्पिक कमिटीले अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिक सहभागिताका आधारमा कमलले झण्डा बोक्ने निर्ण गरेको हो ।

    सागको औपचारिक उद्घाटन आइतबार हुँदैछ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गर्नेछिन् ।

    उद्घाटनलाई भब्य तथा ऐतिहासिक बनाउने तयारीमा नेपाल रहेको छ । साग २४ मंसिरमा सकिने भएको छ ।

  • सागकै मुखमा खेलाडी कतार भागेपछि…

    सागकै मुखमा खेलाडी कतार भागेपछि…

    काठमाडौं । र्कीतिमानी नेपाली धाविका तुलसा खत्री पलायन भएकी छिन् । खेलाडी पलायन हुनु सामान्य हो । तर, उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा देशको प्रतिनिधित्व गर्दै थिइन् ।

    अर्कोतर्फ उनी विभागीय नेपाली सेनामा आवद्ध छिन् । जसले गर्दा उनलाई अन्य खेलाडीलाई जस्तै आर्थिक अवस्थाका कारण देश छाड्नु पर्ने बाध्यता पनि थिएन् ।

    तर, चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका खत्री १३औं सागमा बन्द प्रशिक्षण नै छाडेर भागेकी छिन् । घरेलु मैदानमा आयोजना हुने १३औं सागको उद्घाटन हुनु ३ दिनअघि बिहीबार प्रशिक्षकलाई नै झुक्याएर उनी कतार पुगेको खुलेको छ ।

    एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङका अनुसार खत्रीले प्रशिक्षणमा ढिला आउने सन्देश बुधबार दिएकी थिइन् । तर, बिहीबार साँझसम्म पनि प्रशिक्षणमा नआएपछि सोधखोज गर्दा उनी भागेको खुलेको हो ।

    प्रशिक्षकले शुक्रबार लिखित रुपमा उनी भागेको जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई गराएका छन् । आफ्नो करियरका लागि भन्दै देशबाट खेल्ने मौका छाडेर भाग्नु परेको उनको भनाई थियो ।

    खत्रीले सागमा चार सय मिटर दौड, हडल्स र रिलेमा भाग लिने तय भएको थियो । यस खेलमा नेपालले उनीबाट पदकको आशा गरेको थियो ।

    किनकी उनले गत महिना चीनको उहानमा भएको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा महिला चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यससमय उनले ९ वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन्।

  • उपनिर्वाचन अपडेट: मतदान जारी-पोखरामा बम विस्फोट

    उपनिर्वाचन अपडेट: मतदान जारी-पोखरामा बम विस्फोट

    काठमाडौं । उपनिर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । बिहान ११ बजेबाट मतदान शुरु भएको हो । अहिले मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज उपनिर्वाचन भइरहेको हो । आयोगका अनुसार, ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

    मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    उपनिर्वाचनअन्तर्गत कास्की २ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुनेछ ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ।

    हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । यसैबीच, कास्की क्षेत्र नं २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।

    पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।

    मतदान जारी भएका बेला अज्ञात व्यक्तिले बम फालेको र विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् । मानवीय क्षति भने भएन । विस्फोटपछि उक्त मतदानस्थलको मतदान केही बेर रोकिएर पुनः सूचारु भएको हो ।

  • आज उपनिर्वाचन, ७ बजेबाट मतदान

    आज उपनिर्वाचन, ७ बजेबाट मतदान

    काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज उपनिर्वाचन हुँदैछ।

    निर्वाचन आयोगका अनुसार, ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान शुरु हुनेछ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ ।

    आयोगले कुनै शंका, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आह्वान समेत गरेको छ ।

    निर्वाचन आयोगका अनुसार उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकीकृत सुरक्षा योजना तयार भएको छ ।

    प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४ लाख ५४ हजार ११४ जना मतदाता छन् ।

    उपनिर्वाचनअन्तर्गत कास्की २ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ । भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुनेछ ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ।

    हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । बाँकी ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।

  • एस्टन भिल्लामा नेपाली मुलकी चेली अस्मिता अनुबन्धन

    एस्टन भिल्लामा नेपाली मुलकी चेली अस्मिता अनुबन्धन

    लण्डन । इंग्लिस फुटबल क्लब एस्टन भिल्लाले नेपाली मुलकी चेली अस्मिता आलेसँग व्यवसायिक सम्झौता गरेको छ ।

    अब उनी क्लवको सिनियर टोलीमा रहेर खेल्न पाउने भएकी छिन् । क्लवको महिला टिममा नेपाली मूलकी खेलाडी अस्मिता आलेले पहिलो पटक फुटबलको व्यावसायिक सम्झौता गरेकी हुन् ।

    उनी आठ वर्षको उमेरदेखि यसै क्लवमा आवद्ध थिइन । १८ वर्षिय अस्मिताले क्लबमा आफ्नो भविष्य खर्चिने बताएको एस्टन भिल्लाले उल्लेख गरेको छ ।

    सम्झौतापछि आफू उत्साहित रहेको उनको प्रतिक्रिया रहेको छ । उनी मैदानमा डिफेन्डरको भूमिका देखिन्छिन् । सन् २०१७\०१८ को सिजनमा उनको खेल कौसलले फ्यान, खेलाडी र व्यवस्थापनको मन जितेको छ ।

    जसले गर्दा उनलाई क्लवमा व्यवसायिक सम्झौताको बाटो खुलेको हो । उनी इंग्ल्यान्डको १९ वर्षमुनिको राट्रिय टोलीमा समेत आवद्ध छिन् । त्यहाबाट नियमित खेल्छिन् । उनी गोर्खा ब्रिटिश आर्मीकी सन्तान हुन् ।

  • साग उद्घाटन समारोहको रंगशालामा रिहर्सल

    साग उद्घाटन समारोहको रंगशालामा रिहर्सल

    काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन १५ मंसिर (आइतबार) हुँदैछ । यस दिन करीव १४ हजार दर्शक सामू सागको भब्य उद्घाटनको तयारी गरिएको छ ।

    यसै सिलसिामा शुक्रबार दशरथ रंगशालामा रिहर्सल सम्पन्न भएको छ । नेपाली सेना, प्रहरी तथा विद्यार्थीसहित कलाकारहरुले दशरथ रंगशालामा शुक्रबार रंगशालामा ‘रिहर्सल’ गरे ।

    नेपालको पहिचान झल्कने गरी विविधि सांस्कृतिक प्रस्तुती दिने तयारी छ । यस दिने सागमा सहभागी राष्ट्रका खेलाडीले मार्च पास गर्ने छन् ।

    राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारिक समारोहको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गर्ने तयारी छ ।

    उद्घाटन सत्र करीव ३ घण्टाको हुनेछ । मार्च पासमा नेपालको झण्डा क्रिकेटर पारस खड्काले बोक्ने भएका छन् । साग २४ मंसिरसम्म चल्नेछ । साग दक्षिण एसियाकै वृहत्त खेल मेला हो ।

  • प्रचण्डले भेटे प्रधानमन्त्रीलाई, उपनिर्वाचनमा पार्टी बलियो रहेको सन्देश

    प्रचण्डले भेटे प्रधानमन्त्रीलाई, उपनिर्वाचनमा पार्टी बलियो रहेको सन्देश

    काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

    शुक्रबार साँझ प्रधानमन्त्रीलाई भेट्न उनी अस्पताल पुगेका थिए । यसअघि बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई भेटेकी थिइन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई भने भेट गर्न दिइएको थिएन । प्रधानमन्त्री पत्नी राधिका, राष्ट्रपति भण्डारी र प्रचण्डबाहेक अन्य कसैले पनि प्रधानमन्त्रीलाई अस्पतालमा भेट्न पाएका छैनन् ।

    प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीले आफूलाई निकै सुधार भएको भन्दै समसामयिक परिस्थतिबारे जिज्ञासा राखेका थिए । प्रचण्डले उपनिर्वाचनमा पार्टीको अवस्था बलियो रहेको भन्दै अन्य परिस्थिति सामान्य रहेको जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    दुई अध्यक्षबीच करीव ५ मिनेट भेटवार्ता भएको हो । उनीहरुबीच अस्पतालको आईसियुमै कुराकानी भएको हो।

    प्रचण्डले बाहिर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सबैको चासो रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।

    सबैले सीघ्र स्वास्थ्य लाभको कामना गरेको समेत सन्देश सुनाएका थिए । उनले उपनिर्वाचनको तयारी पुरा भएको र पार्टी बलियो अवस्थामा रहेको भन्दै ढुक्क हुन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

  • सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

    सुधारिदो व्यापार घाटा, आयात घट्दै-निर्यातमा वृद्धि

    काठमाडौं । नेपालको वैदेशिक व्यापार क्रमशः सुधारको बाटोमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा ७ प्रतिशत घटेको छ ।

    निर्यात भने २३.९० प्रतिशतले वृद्धि भएको छ । तथ्याङक अनुसार यसअवधिमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।

    गत वर्ष समिक्षा अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांक विभागको छ ।

    यसअवधिमा ३६ अर्ब २७ करोडको निर्यात भएको छ । गत वर्ष यही अवधिमा २९ अर्ब २८ करोड रुपैयाँको सामान बाहिर गएको थियो । आयात खुम्चने र निर्यातमा भएको वृद्धिले चार महिनामा नेपालको व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ ।

    गत वर्षको चार महिनामा ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेकोमा यो वर्षको पहिलो चार महिनामा ४ खर्ब १४ अर्बमा झरेको छ । जसले गर्दा समग्र वैदेशिक व्यापारमा समेत ५.१६ प्रतिशतले कमी देखिएको छ ।

    नेपालमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ रहेकोमा डिजेल २९ अर्ब २४ करोड, पेट्रोल १२ अर्ब ३७ करोड, एलपी ग्यास आठ अर्ब १३ करोडको आयात भएको छ। परिणाममा बढे पनि रकममा डिजेल पेट्रोलको आयात घटेको छ।

    यसअवधिमा सबैभन्दा बढी पाम तेल ८ अर्ब १३ करोडको निर्यात भएको छ। गत वर्ष यसै समयमा एक रुपैयाँको सामान निर्यात गर्दा १६ रुपैयाँको आयात गरेकोमा अहिले अनुपात घटेर १२ मा झरेको छ।

  • भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा

    भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा

    काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन १ महिना मात्र बाँकि छ । यसबीचमा सरकार, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालय यसको तयारीमा धुमधामका साथ लागेका छन् ।

    यता, निजी क्षेत्र पनि यसमा साथसाथै अगाडी बढेको छ । बिहीबार मात्र नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टूर्सले पर्यटकका लागि १० प्रतिशत छूटको घोषणा गर्यो ।

    यसअघि नेपाल ट्रेकिंग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटेल संघ नेपाल (हान), होमस्टे एशोसिएशन अफ नेपाल (होसान)लगायतले पनि पर्यटकको सेवालाई लक्षित गर्दै छूट योजना सार्वजनिक गरिसकेका छन् ।

    नेपाल भ्रमण वर्ष मूल आयोजक समितिले गत सोमबार नजिी क्षेत्रले भ्रमण वर्षमा दिन सक्ने सुविधाका सम्बन्धमा कार्यक्रमको सूचि माग गरेको थियो ।

    सोही अनुसार पछिल्ला केही दिनमा धमाधम निजी क्षेत्रले आफ्ना कार्यक्रम बुझाइरहेका छन् । यता, भ्रमण वर्ष सचिवालयले समेत यस वर्ष करीव ६३ करोड रुपैयाँको बजेट बनाएर भ्रमण वर्षको अभियानमा खर्च गर्ने योजना बनाएको छ ।

    नेपालमा यस वर्ष आयोजना हुने अन्तरराष्ट्रिय कार्यक्रमले भ्रमण वर्षलाई सघाउन पुर्याउने भएका छन् । सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने आधार तयार पार्न भन्दै भ्रमण वर्ष घोषणा गरेको हो ।

  • उपत्यकामा यस वर्षकौ चिसो, हिमालमा हिउँ पर्न थाल्यो

    उपत्यकामा यस वर्षकौ चिसो, हिमालमा हिउँ पर्न थाल्यो

    काठमाडौं । नेपालमा मौसम चिसिने क्रम जारी रहेको छ । मौसमविद्हरुका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको दिन बनेको छ ।

    उता, हुम्लालगायत हिमाली क्षेत्रमा हिमपात शुरु भएको छ । शुक्रबार बिहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस कायम भएको छ ।

    बिहीबार न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो । देशको पश्चिमी भेगको मौसममा केही दिनदेखि असर देखिएको पश्चिमी वायुको प्रभाव शुक्रबार बेलुकीदेखि कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

    दिउँसोपख पश्चिम पहाडका एक÷दुई स्थानमा हल्का पानी पर्ने र पश्चिमी भेगका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

  • विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

    विमानस्थलबाट ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । सुन तस्करीका रोकेको दावि गर्ने सरकारलाई चूनौति दिँदै बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    विमानस्थल भन्सार कार्यालयका अनुसार उनीहरु नियमित जाँचका क्रममा समातिएका हुन् । चेन होङयाङ र चेन क्वीनहाङ रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

    उनीहरु नेपाल एयरलाइन्सको हङकङ उडानबाट नेपाल आएका हुन् । उनीबारेतर्फ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    विमानस्थलबाट हुने तस्करी नेपाल प्रहरीका लागि ठूलो टाउको दुखाई बनेको छ । पटक पटक हुने तस्करीका कारण नेपालको विमानस्थलको सुरक्षा स्थितिबारे नै प्रश्न उठ्ने गरेको छ ।

  • सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

    सागको उद्घाटन राष्ट्रपतिबाट, सांस्कृतिक कार्यक्रमसहित ३ घण्टाको औपचारिक समारोह

    काठमाडौं । करीव दुई दशकपछि दक्षिण एसियाली खेलकुदको महाकुम्भ दक्षिण एसियाली खेलकुद (साग) नेपाल आइपुगेको छ ।

    १३ औं सागको आयोजकको हैसियतमा नेपालले अन्त्राष्ट्रिय स्तरमा आफ्नो छवि प्रस्तुत गर्ने मौका पनि यो हो । त्यसकारण सरकारले १३ औं सागलाई ऐतिहासिक र भव्य बनाउने तयारीलाई तिब्र बनाएको छ ।

    १५ मंसिर अर्थातः आगामी आइतबार सागको औपचारिक उद्घाटन हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सागको औपचारिक उद्घाटन हुनेछ । २४ मंसिरमा समापन हुने सागका खेलहरु भने बुधबारबाट शुरु भइसकेका छन् ।

    सागका खेल काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएका छन् । औपचारिक समापन समारोहमा नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उकास्ने गरी भब्य तयारी गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

    उक्त दिन करिब सवा तीन घण्टाको उद्घाटन समारोह हुने भएको छ । यस अवसरमा सहभागी मुलुकका खेलाडीले मार्च पास गर्नेछन् ।

    सो अवसरमा नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम आयोजकको तर्फबाट प्रस्तुत हुने भएको छ ।

    उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकलाई सहभागी गराउने योजना रहेको छ ।

    प्रतियोगितामा भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंकाका खेलाडी, पदाधिकारी तथा अन्य सरोकारवाला नेपाल आइपुगेका छन् । विदेशी सहभागी मात्र करिब पाँच हजारको सङ्ख्यामा रहेको बताईएको छ ।

    उनीहरुलाई काठमाडौंका विभिन्न होटेलमा बासको व्यवस्था मिलाइएको छ । यस समारोहलाई नेपाल टलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

    यस च्यानलको प्रसारा दक्षिण एसियाली मुलुकसहित विश्वका १५ भन्दा बढी मुलुकमा प्रत्यक्ष प्रसारण हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

  • साग उद्घाटन र समापनको दिन काठमाडौंमा जोर-विजोर प्रणाली

    साग उद्घाटन र समापनको दिन काठमाडौंमा जोर-विजोर प्रणाली

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापन भब्य बनाउने तयारीमा सरकार रहेको छ । यस समय करीव ५ हजार विदेशी पाहुना नेपालमा आउने अनुमान छ ।

    खेलाडी, अफिसियल, उच्चपदस्थ अधिकारी, संचारकर्मीसहित ठूलो टोली नेपालमा रहनेछन् । १५ मंसिरमा औपचारिक उद्घाटन हुनेछ । दशरथ रंगशालामा यसको भब्य तयारी गरिएको छ ।

    यस दिन काठमाडौंमा बिजोर नम्बरका मात्र सवारी साधन चलाउन पाइने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार २४ मंसिरका दिन भने समापन हुने छ ।

    यसदिन जोर नम्बरका गाडीमात्र चल्न पाइने गरी व्ववस्था मिलाइएको छ । यस समयमा पुराना गाडी समेत चलाएर सडकमा नआउने प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै साग खेललाई सहज रुपमा सम्पन्न गराउन यस्तो निर्णय लिइएको प्रहरीको भनाई रहेको छ ।

  • प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी अस्पतालमा

    प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति भण्डारी अस्पतालमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।

    उनी बिहीबार साँझ अस्पताल पुगेकी हुन् । मंगलबार एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न उनी अस्पताल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार आएको बताइएको छ । उनले बिहीबार आफै सामाजिक संजाल हेरेर टुइट समेत गरेका थिए । राष्ट्रपतिले प्रधानमन्त्रीको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी थिइन् ।

  • एनआरएनएबाट ८३ वटा मुलुकमा भ्रमण वर्ष लक्षित कार्यक्रमको तयारी

    एनआरएनएबाट ८३ वटा मुलुकमा भ्रमण वर्ष लक्षित कार्यक्रमको तयारी

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संजाल बिस्तार भएका विश्वका ८३ औं मुलुकमा नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै कार र्याली आयोजना हुने भएको छ । संघका अध्यक्ष कुमार पन्तले उक्त जानकारी दिएका हुन् ।

    उनका अनुसार ८३ वटै मुलुकमा साइकल र्याली, कार र्याली, विभिन्न प्रवद्धनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी भ्रमण वर्षको प्रचार प्रसार गर्ने योजना रहेको छ ।

    हरेक गैरआवासीय नेपालीले २०२० को होलिडे नेपालमा मनाउने गरी आह्वान समेत गर्ने तयारी संघले गरेको छ । यसबाट पनि नेपालको पर्यटक आगमनमा वृद्धि हुनुका साथै प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएको छ ।

    विदेशमा हुने प्रवद्र्धनात्मक कार्यक्रममा संंघले दूतावाससँग समन्वय गर्ने भएको छ । काठमाडौंमा विज्ञ सम्मेलन गरी नेपालमा लगानीका सम्बन्धमा छलफल चलाउने र विभिन्न मुलुकमा नेपाल चिनाउने सूचना केन्द्रहरु समेत स्थापना गरिने भएको छ ।

    जानकारी मन्दिरलाई आकर्षक रुपमा सजाउने तयारी समेत संघले गरेको छ । विश्वका ठूला शहरमा गुड्ने बसमा समेत नेपाल भ्रमण वर्षको लोगो राखेर प्रवद्र्धन गर्ने योजना संघले बनाएको अध्यक्ष पन्तले जानकारी दिए ।

  • महिला भलिबलमा नेपाललाई भारतले हरायो

    महिला भलिबलमा नेपाललाई भारतले हरायो

    काठमाडौं । बंगलादेशलाई जित्दै सनसनीपूर्ण नतिजा निकालेको महिला भलिबलमा नेपाल बिहीबार भारतसँग भने सोझो सेटमा पराजित भएको छ । दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बिहीबार भएको खेलमा नेपाललाई भारतले ३-० को सोझो सेटमा हरायो ।

    भारत डिफेन्डिंग च्याम्पियनसमेत हो । सागमा भारतलाई उपाधी दावेदार मानिएको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा खेलमा पहिलो सेटमा भने नेपालले उत्कृष्ट खेलेको थियो ।

    तर, जीत भने भारतको भयो । दोस्रो र तेस्रो सेटमा भने नेपाल सजिलै हारेपछि नतिजा भारतको पोल्टामा पर्न सफल भयो । नेपालले पहिलो खेलमा भने बंगलादेशलाई ३-० ले पराजित गरेको थियो ।

    दुई खेल खेलिसक्दा नेपालको ३ अंक मात्र छ । भारतको एक खेलबाट ३ अंका भएको छ । बंगलादेशको एक खेलबाट शुन्य अंक छ ।

    अब समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएमा नेपाल उपविजेताका रुपमा नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै रहेको छ ।

  • ‘पुटिन नेपाल आउनेमा सरकार आशावादी’

    ‘पुटिन नेपाल आउनेमा सरकार आशावादी’

    काठमाडौं । विश्वकै शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने विषयमा नेपाल सरकार आशावादी रहेको सरकार प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।

    बिहीबार नियमित पत्रकार सम्मेलनका दौरान सूचना तथा संचार प्रविधि मन्त्रालयमा बास्काटोले यस्तो बताएका हुन् । उनले भने, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको हार्दिक निमन्त्रणा दिएका छौं ।’

    सरकारका अहिलेका गतिविधिले नेपाललाई अन्र्तराष्ट्रिय मञ्चमा देखिने र सुनिने देशका रुपमा स्थापित गरिरहेको उनको भनाई छ ।

    परराष्ट्र मन्त्रीले रुसका राष्ट्रपतिलाई नेपालका राष्ट्रपति विद्यादेवि भण्डारीको औपचारिक निमन्त्रणा पत्र बुझाइसकेका छन् ।

    समय क्रममा यसको नतिजा देखिने भन्दै उनले नेपाल संसारका शक्ति सम्पन्नदेखि सबै राष्ट्रसँग मित्रता चाहने उनको भनाई थियो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि सरकारको आत्मविश्वास समेत निकै बढेको छ ।

    नेपालमा संसारकै शक्तिशाली देशका अतिविशिष्ठ पाहुनालाई स्वागत गर्दा त्यसले मुलुकको छविमा समेत सकारात्मक प्रभाव पार्छ । चीनका राष्ट्रपतिपछि बंगलादेशका राष्टपतिले नेपालको चार दिने भ्रमण गरिसकेका छन् ।

  • उपनिर्वाचनको तयारी पुरा, मौनअवधि लागु

    उपनिर्वाचनको तयारी पुरा, मौनअवधि लागु

    काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबारबाट मौन अवधि सुरु भएको छ ।

    अब निर्वाचन सामग्री निर्वाचन स्थलमा लैजाने र निर्वाचन हुने स्थलको व्यवस्थापनको काम भइरहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

    मौन अवधिमा लागेसँगै प्रचार प्रसारको काम भने बन्द भएको छ । अब निर्वाचनसम्बन्धी कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, गराउन तथा वेबसाइट र सामाजिक सञ्जाल प्रयोग गरी भोट माग्न पाइदैन ।

    मौन अवधिमा सञ्चारमाध्यमबाट पनि दलहरुले निर्वाचन प्रचारप्रसार गर्न गराउन, वेबसाइट, ट्विटर, फेसबुक, भाइबर, एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरी मत माग्न निधेष गरिएको छ ।

    निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मीलगायत सम्बन्धित जिल्ला तथा मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।

    निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीबाहेक मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन सय ५४ कर्मचारी खटिएको आयोगले जनाएको छ ।

    मतदान केन्द्रमा दुई हजार ६ सय ८४ कर्मचारी र दुई हजार १६ स्वयंसेवक गरी जम्मा पाँच हजार ५४ खटिएका छन् ।

    निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

    यस निर्वाचनलाई दलहरुले निकै प्रतिष्ठापूर्वक हेरेका छन् ।

  • हुम्लामा चालकले मापसे गरी चलाएको टिपर दूर्घटनामा ४ को मृत्यु

    हुम्लामा चालकले मापसे गरी चलाएको टिपर दूर्घटनामा ४ को मृत्यु

    हुम्ला । हुम्लामा चालकले अधिक मदिरा सेवन गरी चलाएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। बुधबार भएको दुर्घटनामा १३ परेका थिए ।

    त्यसमध्ये चार जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो ।

    नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामान ढुवानीका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर आउँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै बुधबार दुर्घटना भएको हो।

    चालकले अत्यधिक मदिरा सेवन गरी टिपर हाँकेको देखिएको प्रहरीले बताएको छ । चालक काभ्रे, बुद्धनगरपालिका ११ भालुखर्कका आनन्द तामाङ हु्न् । उनलाई स्थानीयवासीले प्रहरीलाई बुझाएका छन् ।

  • युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

    युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो ।

    ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो।

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण रोजगार व्यवस्थापन सूचना प्रणालीको विकासमा खर्च हुने भएको छ ।

    यसले यसले ७ सय ५३ वटा स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न सहयोग पुग्ने भएको छ ।

    यसबाहेक प्रधानमन्त्री कार्यक्रममा सूचीकृत भएका बेरोजगार युवालाई एक सय दिन काम गरेको तलब पनि यही ऋणको रकमबाट उपलब्ध गराइने भएको छ ।

    सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

  • अर्घाखाँची बस दूर्घटना अपडेट : १९ को मृत्य, ९ को सनाखत

    अर्घाखाँची बस दूर्घटना अपडेट : १९ को मृत्य, ९ को सनाखत

    बुटवल । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलका लाग छुटेको यात्रुबाहक बस दूर्घटनामा १९ जनाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार साँझ भएको दूर्घटनामा गुल्मी र अर्घाखाँचीका ९ जना यात्रुको सनाखत भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार चालक ओमबहादुर थापा (रुपन्देही)को दूर्घटनामा परी मृत्यु भएको छ । यसबाहेक खाचिकोटकी १८ वर्षिया माया पुरी, खाचिकोटकै ८ वर्षिया मेनुका खड्का खाचिकोटकै बलराम भट्टराई, कपिलवस्तुकी २७ वर्षिय सिता बस्नेत, पिपलडाडा गुल्मीका २८ वर्षिय राज कुमार महतको सनाखत भएको छ ।

    छत्रदेव गाउँपालिकाका ३६ वर्षिय सन्त बहादुर बस्नेतको समेत दूर्घटनामा निधन भएको छ । शैलैस थापा, भुमिकास्थान नगरपालीका ९ अर्घाखाँची, शिवलाल भट्टराई, सन्धिखर्क, ७ खाचिकोटको समेत दूर्घटनामा ज्यान गएको छ ।

    ११ जनाको भने बुटवल र भैरहवामा उपचार भइरहेको छ । अन्यको मृतकको पहिचान गर्ने क्रम जारी रहेको प्रहरीले बताएको छ ।

  • साग भलिबलमा नेपाली महिला टीमको सुखद शुरुवात

    साग भलिबलमा नेपाली महिला टीमको सुखद शुरुवात

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले सुखद सुरूआत गरेको छ। नेपालले बुधबार बंगलादेशलाई सजिलै हरायो ।

    त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३ ० को सोझो सेटमा हराएको हो र । नेपालको समूहमा भारत र बंगलादेश छन् ।

    बंगलादेशलाई हराएको नेपाल भारतसँग कम दवावमा खेल्न सक्नेछ । सन् २०१६ मा भारतले महिला तथा पुरुष दुवै इभेन्टमा स्वर्ण जितेको थियो।

    सागको औपचारिक शुरुवात १५ मंसिरबाट हुने भएपनि भलिबलका इभेन्ट भने आजैबाट शुरु भए । बुधबार नै भएको पुरुष भलिबलमा भने नेपाली टोली पराजित भयो । पुरुष टोली भने बंगलादेशकै पुरुष टोलीसँग हारेको हो ।

  • नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

    नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

    काठमाडौं । अरुको खाताबाट सक्कली चेक नै बनाएर रकम निकाल्ने धन्दामा संलग्न ६ जनालाई प्रहरीले पक्रिएर सार्वजनिक गरेको छ ।

    प्रहरीले अञ्जन बराल, सुभाष श्रेष्ठ, मनिष घिमिरे, कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरेलाई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट कैयौ व्यक्तिको सक्कली चेक नै फेला परेको प्रहरीले बताएको छ ।

    प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये श्रेष्ठ, तामाङ, घिमिरे र बराल काभ्रे पाँचखाल नगरपालिका, ३ का हुन्।

    उनीहरू कालिमाटीमा फ्लाट भाडामा लिएर बस्दै आएका छन् । बाग्लुङ गलकोट नगरपालिका, ३ का पौडेल बुद्धनगर र सिन्धुपाल्चोक साबिक ज्यामिरे गाविस, ९ का गोविन्द सुविधानगरमा बस्दै आएका छन् । उनीहरु १९ देखि ३० वर्ष उमेर समूहका युवा हुन् ।

    उनीहरुले कालिमाटीको डेरामा राति अबेरसम्म विभिन्न व्यक्तिको कीर्ते सही बनाउने अभ्यास गर्ने गरेको प्रहरीले फेला पारेको छ । रजिष्टर लगेर त्यहा उनीहरुले नक्कली सही बनाउन सिक्ने गर्थे ।

    सोमबार अन्जन बरालले गोपालमान राजबाहकलाई दिउँसो फोन गरेर आफू जनता बैंकबाट बालेको र खाता जाँच भइरहेको भन्दै फोन अफ गर्न लगाए । नत्र सिस्टमले काम नगर्ने उनको भनाई थियो ।

    राजबाहकले बैंककै कर्मचारीको फोन सम्झेर मोवाइल बन्द गरे । तीन बजे तीर उनलाई त्यस्तो फोन आएको थियो । राति साढे ८ बजेपछि फोन अन गर्दा उनको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ निकालेको म्यासेज आए ।

    त्यसपछि तत्काल उनले प्रहरीलाई खबर गरे । प्रहरीले जनता बैंकमा निगरानी बढायो । मंगलबार तीन जना व्यक्ति राजबाहककै चेक बोकेर बैकमा चेक साट्न आएपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

    उनीहरुको कोठा खानतलासीबाट प्रहरीले नगद, चेकबुक, एटिएम र बैंकका फाइल, खाता खोल्न राखिएका मानिसका फोटो र नागरिकताको नक्कल फेला पारेको छ । उनीहरुसँग करीव ३ सय मानिसको फोटोकपीको नक्कल रहेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार उनीहरुलेव्यक्तिको सक्कली नै चेकबुक बनाएर खातावालाको नक्कली सही मार्फत पैसा निकालेका छन् । यसमा बैंकबाटै हस्ताक्षर बाहिरिएको आंशका प्रहरीको छ ।

    घटनामा कर्मचारीको समेत मिलेमतो देखिने भन्दै विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि अन्य खाताबाट पैसा निकालिएको समेत प्रहरीको दावि रहेको छ ।

    प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार खातावालाका नागरिकताको प्रतिलिपि २९० थान, खातावालाको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान, हस्ताक्षर नमूनाको डायरी दुई थान, खाता खोल्न फोटो टाँसेको तयारी फारम ३०० बरामद भएको छ ।

    ११५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट जारी भएका १६ थान चेकबुक, ४१ थान काटिएको चेकबुक, ज्योति विकास बैंकमा अन्जन बरालको नाममा जारी भएको चेकबुक एक थान समेत यो समूहबाट जारी भएको छ ।

    एभरेस्ट बैंकको २० थान चेकबुक, सोही बैंकमा काटिएको तीन थान चेकबुक, माछापुछ्रे बैंकका १७ थान, मुक्तिनाथ विकास बैंकका ४१ थान, एनआइसी एसिया बैंकका चेकबुक ६८ थान समेत बरामद भएका छन् ।

    विभिन्न व्यक्तिका फोटो ८२५ थान, एनआइसी एसियाका ८२ थान एटिएम, अन्य बैंकका ७ थान एटिएम र विभिन्न बैंक तथा व्यक्तिको हस्ताक्षर गरेको चेक ३२९ थान बरामद भएको प्रहरीले जनाएको छ ।

    यस घटनाबाट करीव १८ वटा बैंकको सीस्टम जोखिममा रहेको प्रहरीले अनुमान गरेको छ ।

  • कस्तो छ प्रधानमन्त्रीलाई ?

    कस्तो छ प्रधानमन्त्रीलाई ?

    काठमाडौं । मंगलबार एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालमै उपचारार्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबारबाट सुधार हुन थालेको छ ।

    यससँगै उनको मृगौलाको डायलासिस गर्ने तयारी समेत गरिएको छ। यसअघि ग्राण्डी अस्पतालमा भइरहेको डायलासिस महराजगञ्जस्थित शिक्षण अस्पतालमै गर्ने तयारी छ ।

    प्रधानमन्त्री मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ भर्ना भएका हुन् । बुधबार प्रधानमन्त्री बोल्न थालेका छन् ।

    उनको स्वास्थ्यमा देखिने गरी सुधार आएको अस्पताल स्रोतको भनाई छ । सोमबार राति पेटमा दुखाई महसुश भएपछि प्रधानमन्त्री ओली मंगलबार बिहानै अस्पताल भनाई भएका हुन् ।

    यसैबीच, कांग्रेस सभापति शेर बहादुर देउवाले अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत उनको स्वास्थ्यबारे चासो लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • अर्घाखाँचीमा बस दूर्घटना, १७ को मृत्यु

    अर्घाखाँचीमा बस दूर्घटना, १७ को मृत्यु

    बुटवल । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छूटेको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका–६ नरपानीमा दूर्घटना हुँदा १७ जनाको घटनास्थलमै निधन भएको छ ।

    करीव १ दर्जन घाइते भएका छन् । बुधबार बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

    लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकै घुम्तीबाट ४ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्दार कार्य जारी रहेको छ ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासी उद्धारमा खटिएका छन् मृत्यु हुनेमध्ये १० पुरुष र ७ महिला रहेका छन् । मृतकको भने सनाखत भइसकेको छैन । घाइतेको उपचारका लागि बुटवलतर्फ पठाइएको छ ।

  • आजबाट उपनिर्वाचन लक्षित मौनअवधि शुरु, अन्तिम दिन ठाउँठाउँमा चुनावी सभा

    आजबाट उपनिर्वाचन लक्षित मौनअवधि शुरु, अन्तिम दिन ठाउँठाउँमा चुनावी सभा

    काठमाडौं । शनिबार हुने उपनिर्वाचनको प्रयोजनका लागि बुधबार रातीबाट मौन अवधि प्रारम्भ हुने भएको छ । निर्वाचन आयोगका अनुसार बुधबार रातिबाट मौन अवधि सुरु हुने भएको हो ।

    कास्की–२ मा प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदमा १४ मंसिरमा उपनिर्वाचन हुनेछ । आज प्रचार प्रसार गर्न पाउने अन्तिम दिन बुधबार दलहरुले आफ्नो अनुकूलता हेरि विभिन्न स्थानमा चुनावी सभाको आयोजना गरेका छन् ।

    नेकपाले भक्तपुरमा बुधबार चुनावी सभा राखेको छ । जहाँ अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्दैछन् ।

    काग्रेसले समेत बुधबार नै भक्तपुरमा चुनावी सभा राखेको छ जहा सम्बोधन गर्न सभापति शेरबहादुर देउवा पुग्ने भएका छन् ।

    भक्तपुरमा राप्रपाको समेत चुनावी सभा हुने र त्यसलाई अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    यस निर्वाचनलाई राजनीतिक दलहरुले प्रतिस्ठाको लडाईका रुपमा हेरेका छन् ।

    वर्तमान सरकारको लोकप्रियता कम भएका कारण जनमत कांग्रेसको पक्षमा आउने अपेक्षा कांग्रसको छ । तर, नेकपा भने अहिले पनि जनमत नेकपाकै पक्षमा रहेकोमा विश्वस्त रहेको छ ।

  • आजबाट फिर्ता होला निजी मेडिकल कलेजले असुलेको गैरकानूनी शूल्क ?

    आजबाट फिर्ता होला निजी मेडिकल कलेजले असुलेको गैरकानूनी शूल्क ?

    काठमाडौं । निजी कलेज सञ्चालक एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्।

    शिक्षा मन्त्रालयमा बुधबार मध्यरातमा निजी कलेज संचालक र शिक्षा मन्त्रीबीच वार्तामा सहमति जुटेको हो ।

    किनकी मंगलबार नै गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले निजी कलेजहरुले शूल्क फिर्ता नगरेपछि बुधबारबाट पक्राउ गरी कानून अनुसार कारवाही चलाउने निर्ण गरेको थियो ।

    उक्त निर्णय लगत्तै शिक्षा मन्त्रालय निजी मेडिकल कलेज सञ्चालक र शिक्षामन्त्रीबीच वार्ता भएको हो । वार्ता मंगलबार मध्यरातमा मात्र सहमतिमा टुंगिएको हो ।

    वार्तामा एमबिबिएस र बिडिएसका लागि सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूले प्रतिबद्धता जनाए ।

    साथै, निर्धारित शुल्कभन्दा बढी रकम लिएका कलेजले बुधबारदेखि नै बढी लिएको शुल्क फिर्ता वा समायोजनको कार्य सुरू गर्ने भएका छन् ।

    बैठकमा शिक्षामन्त्री पोखरेलसहित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा, विज्ञान तथा प्रविधि सचिव महेशप्रसाद दाहालसहित निजी मेडिकल कलेजका सञ्चालक सहभागी थिए।

  • प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

    प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

    काठमाडौं । आकस्मिक अपरेशनपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको छ । उनको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

    मंगलबारभन्दा क्रमशः सस्थ्यमा सुधार हुँदै गएको र बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको अस्पताल स्रोतले जनाएको छ ।

    महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई कति दिन अस्पतालमा राख्नु पर्छ भन्नेबारे भने केही खुलाइएको छैन ।

  • बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस रामेछापमा, चालकलाई मुद्दा

    बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस रामेछापमा, चालकलाई मुद्दा

    काठमाडौं । काठमाडौँको बानेश्वरमा गत आइतबार डा प्रभु जोशीलाई ठक्कर दिएर भागेको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । डा. जोशीको घटनास्थलमै मृत्यु भएको थियो ।

    आइतबार बिहान पैदल हिडेका चिकित्सकलाई ठक्कर दिएर बस भागेको थियो । उक्त बसका चालक बुद्धकुमार कोँजु रहेको र उनलाई सवारी ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

    बा ३ ख ६१४ नम्बरको बसले चिकित्सकलाई ठक्कर दिएको प्रहरीको निष्कर्ष रहेको छ । प्रहरीले सीसीटीभि फुटेका आधारमा बसको पहिचान गरेको हो । परिवारको उजुरी पछि प्रहरीले बस चालकविरुद्ध मुद्दा चलाएको हो ।

  • मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

    मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    उनीसहित नौ जनालाई विपक्षी बनाएर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप गुप्तामाथि लगाएको छ ।

    अन्य व्यक्ति भने गुप्ताकै परिवार हुन् । अख्तियारले १५ करोड बिगो माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

    भ्रष्टाचार मुद्दामा गुप्ता, श्रीमती रिता देवी, छोरा विक्की गुप्ता र रकी गुप्ताको नाममा सम्पत्ति राखेको पाइएको छ ।

    यसबाहेक आफन्त कविता कुमारी, निरजकुमार गुप्ता राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी बनाएको अख्तियारले उल्लेख गरेको छ ।

    उनले २०४७ सालमा जागिर सुरू गरेका थिए । अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेको पाइउपछि अख्तियारले छानविन थालेको हो ।