Author: Vishwanews.com

  • नेपालमा ट्याक्सीको नयाँ मापदण्ड आउँदै

    नेपालमा ट्याक्सीको नयाँ मापदण्ड आउँदै

    काठमाडौं । सरकारले नेपालमा गुड्ने ट्याक्सीका लागि नयाँ मापदण्ड तोक्ने भएको छ । विद्युतीय सवारीलाई समेत ट्याक्सीका रुपमा उपयोग गर्न सकिने गरी सरकारले नयाँ मापदण्ड ल्याउने तयारी गरिरहेको छ ।

    यातायात व्यवस्था विभागका अनुसार पहिलो पटक विद्युतीय गाडीलाई ट्याक्सीका रुपमा मान्यता दिने गरी मापदण्ड बन्दैछ । त्यसका लागि भने मापदण्ड पुरा भएको हुनुपर्छ ।

    मंहगो शूल्क तिरेर यात्रा गर्नुपर्ने ट्याक्सीसमेत थोत्रा र फोहोर हुने जनगुनासो व्यापक उठ्ने गर्छ । सोहीकारण सरकारले नयाँ मापदण्ड तोक्न लागेको हो ।

    अब विद्युतबाहेक अन्य इन्धनबाट चल्ने ट्याक्सी भने सेडानको मात्र हुनुपर्ने भएको छ । यसअघि ह्याचब्याक गाडीलाई ट्याक्सीमा रुपमा प्रयोग गरिँदै आएको छ ।

    सेडानको सवारी साधन ह्याचब्याकको तुलनामा लामो हुन्छ र लक्जरी समेत हुन्छ । भित्र फराकिलो हुन्छ । सामान राख्न प्रयोग हुने डिक्कीसमेत फराकिलो हुन्छ ।

    विभागका अनुसार मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको हो । तर जारी भने यातायात व्यवस्था विभागबाट हुने प्रचलन रहेको छ ।

  • कन्फ्यूजन सकिए, अब रफ्तार : प्रचण्ड

    कन्फ्यूजन सकिए, अब रफ्तार : प्रचण्ड

    बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कार्यविभाजनका सन्दर्भमा रहेका कन्फ्युजन हटेको भन्दै अब सरकार र पार्टी दुबैले रफ्तार लिने बताएका छन् ।

    पार्टीलाई बलियो बनाउने र सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच अब कुनै द्धिविधा नरहेको उनले स्पष्ट पारे ।

    अब ओलीले सरकार र आफूले पार्टी बलियो बनाउन ध्यान केन्द्रित गर्ने उनको भनाई रहेको छ । शनिबार आगामी उपनिर्वाचनको प्रचार प्रसारका क्रममा बागलुङ पुगेर एकताको बलियो सन्देश दिन खोजेका छन् ।

    उनले भने ‘अब एक जना सरकार र अर्को पार्टी बलियो बनाउन लाग्छौं ।’ उनले सीमा विवादबारे सरकारले पहल थालेको समेत जानकारी दिए ।

    बागलुङमा प्रदेशसभा निर्वाचनमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएको छ ।

    यो क्षेत्र २०७४ को निर्वाचनमा समेत बामगठबन्धनको बलमा जनमोर्चाले नै चिजेको थियो । उपनिर्वाचन १४ मंसिरमा हुँदैछ । पाटीहरु अहिले प्रचार प्रसारमा जुटेका छन् ।

  • विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब

    विदेशी लगानीमा उत्साहजनक वृद्धि, तीन महिनामै भित्रियो ४ अर्ब

    काठमाडौं । चालू आर्थिक वर्षको प्रारम्भिक तथ्यांक अनुसार मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको आभाष भएको छ ।

    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामै ४ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आइसकेको छ ।

    यो रकम अघिल्लो वर्षको समिक्षा अवधिको तुलनामा १ सय ५९ प्रतिशतले बढी हो । गत आवमा १ अर्ब ५४ करोड रुपैयाँमात्र विदेशी लगानी आएको तथ्यांक छ ।

    यसबीचमा मुलुकको लगानीयोग्य वातावरणमा सुधार आएको जनाउ दिने गरी डुइङ विजनेश रिपोर्टमा प्रगति देखिएको छ ।

    सरकारले कतिपय नीतिगत सुधारमा समेत ध्यान दिएका कारण विदेशी लगानीकर्ताहरु क्रमशः नेपालमा आकर्षित हुँदै गएको पाइएको छ ।

    आयात संकुचन, सरकारको वाह्य ऋण परिचालनमा भएको वृद्धि, प्रत्यक्ष बैदेशिक लगानीमा भएको वृद्धि र नेपालीको वैदेशिक भ्रमण व्यय घटेपछि समग्रमा शोधनान्तर समेत बचतमा गएको राष्ट्र बैंकको भनाई छ ।

    होटल लगायत पर्यटन पूर्वाधार विस्तार, पुनरनिर्माण कार्यमा निरन्तरता र संघीयता कार्यान्वयनले गति लिन थालेकोले उच्च आर्थिक वृद्धिको प्रवृतिलाई कायम राख्न सहयोग पुग्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

  • गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग

    गैरआवासीय नेपालीबाट १० अर्ब लगानी भित्राउने अभियानमा सहजिकरणको माग

    काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटेको छ । भेटमा संघका अध्यक्ष कुमार पन्तले संघका पछिल्ला गतिविधीबारे परराष्ट्र मन्त्रीलाई जानकारी गराएका थिए

    । नेपालको पूर्वाधार विकासका लागि गैरआवासीय नेपालीको रु. १० अर्ब लगानी भित्र्याउने घोषणा गरिएको छ । यस अभियानमा थप सहजीकरणका लागि परराष्ट्र मन्त्री ज्ञवालीमार्फत सरकारको ध्यानाकर्षण गराएको संघले जानकारी दिएको छ ।

    सो अवसरमा वैदेशिक रोजगार श्रमिक कल्याणकारी कोषमा नेपाल राष्ट्र बैंकका तर्फबाट पनि योगदान गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको थियो ।

    संसदमा विचराधिन गैरआवासीय नागरिकता सम्बन्धी विषयमा पनि अध्यक्ष पन्तले मन्त्री ज्ञवालीको ध्यानाकर्षण गराएका थिए ।

    भेटमा गत अक्टोवरमा सम्पन्न विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशन बारे जानकारी गराउँदै अध्यक्ष पन्तले अब छिट्टै दोश्रो एनआरएन विश्व ज्ञान सीप सम्मेलन आयोजनाको तयारीमा जुटेको समेत बताएका थिए ।

    जवाफमा मन्त्री ज्ञवालीले संघले गर्दै आएका गतिविधीप्रति सरकार सकारात्मक रहेको उल्लेख गरे । संघले उठाएका विषयमा नेपाल सरकार सकारात्मक भएको र यी विषयलाई संबोधन गर्न सम्बन्धित निकायमा पहल गर्ने आश्वासन मन्त्री ज्ञवालीले दिएका थिए ।

    दोश्रो विश्व विज्ञ सम्मेलनबारे चासो व्यक्त गर्दै उनले पहिलो विश्व विज्ञ सम्मेलन मौलिक र स्तरीय भएकोमा प्रसन्नता व्यक्त गरेको संघले जानकारी दिएको छ । टोलीले परराष्ट्र सचिव शंकरदास बैरागीसँग समेत भेटघाट गरेको छ ।

  • एभरेष्ट पदमार्ग क्षेत्रमा बेलायती नागरिक वेपत्ता

    एभरेष्ट पदमार्ग क्षेत्रमा बेलायती नागरिक वेपत्ता

    काठमाडौं । बेलायती नागरिक जेम्स ग्रिफिन सगरमाथा क्षेत्रबाट हराएका छन् । ट्रेकिंग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अनुसार २ नोभेम्बरदेखि उनी वेपत्ता छन् ।

    उनी २९ अक्टोवरमा नेपाल आएको रेकर्ड देखिएको टानले उल्लेख गरेको छ । ५३६५३८४५२ पासपोर्ट नम्बर बाहक उनी सगरमाथा आधार शिविरको पदयात्राका लागि नेपाल आएका थिए ।

    टानले आफ्नो संगठन मातहतका सबै सरोकारवालासँग उनको बारेमा कुनै सूचना फेला परे जानकारी गराउन आग्रह गरेको छ । खासगरी बीना गाइड पदयात्रामा निस्क्ने विदेशीहरु हराउने सम्भावना बढी हुन्छ ।

  • भद्रपुर विमानस्थल नियमित संचालनमा

    भद्रपुर विमानस्थल नियमित संचालनमा

    काठमाडौं । धावनमार्गको नियमित मर्मत गर्न १० दिनका लागि बन्द भएको झापाको भद्रपुरस्थित विमानस्थल पुनः संचालनमा आएको छ ।

    मंसिर २६ गतेबाट बन्द भएको यो विमानस्थलबाट शुक्रबारदेखि नियमित उडान शुरु भएको नेपाल नागरिक उड्डयन प्राधिरकरणले उल्लेख गरेको छ ।

    विमानस्थल बन्द भएपछि यहाँ बाट भइरहेका सबै उडान विराटनगरबाट हुने व्यवस्था मिलाइएको थियो । जसले गर्दा पूर्वी नेपालमा जाने यात्रुलाई समस्या भएको थियो ।

    अब भने नियमित उडानले सहज हुने भएको हो । नेपालबाट भारतीय छिमेकी जिल्लामा जाने धेरै यात्रुले भद्रपुर विमानस्थल प्रयोग गर्छन् ।

    यहाँ दैनिक ९ वटा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ । यो नेपालको व्यस्त विमानस्थलमध्ये एक हो ।

  • टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने

    टुँडिखेलमा साहित्यिक जमघट, अतिक्रमण विरुद्ध सर्जक उत्रने

    काठमाडौं । टुँडिखेल अतिक्रमण हटाउन माग गर्दै खुला पार्क बनाउन दवाव दिने उद्देश्यले शुरु भएको अकुपाई टुँडिखेल अन्तर्गत शनिबार साहित्यिक जमघट हुँदैछ ।

    हरेक शनिबार दवावमुलुक कार्यक्रमअन्तर्गत शनिबार तेस्रो साताको कार्यक्रम आयोजना हुँदैछ । टुँडिखेलस्थित खरी बोटमा बिहान ८ बजेबाट कार्यक्रम शुरु गर्ने कार्यतालिका राखिएको छ ।

    जहाँ ३२ जना कविले चेतनामुलक कविता वाचन गर्ने कार्यक्रम राखिएको छ । दुर्गालाल श्रेष्ठ, देवी नेपाल, रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई, श्रवण मुकारूङ, विप्लव प्रतीक, विप्लव ढकाल, नवराज पराजुली, रञ्जु दाहाल, बलराम दाहाल, रूपक अलंकार, आनन्दसिद्धि तुलाधर, भोला बराललगायत कविले सहभागिता जनाउने भएका छन् ।

    आयोजकका अनुसार विष्णुकुमार सिंजाली, विजय बलम्ताली, सोम धिमाल, निरज दाहाल, प्रज्ज्वल अधिकारी, असीम सागर, रशिक राज, अच्यूत घिमिरे, रूपा जोशी, स्नेह सायमी, अरूना पन्त, रुपेश श्रेष्ठ, सरिता आचार्य, प्रकाश अमात्य, दिव्या ताम्राकार, रोनिका श्रेष्ठ, कोषराज न्यौपाने र रमिता बज्राचार्यको पनि सहभागिता हुने भएको छ ।

    संरक्षण अभियन्ताको पहलमा यो कार्यक्रम प्रारम्भ भएको हो । रानीपोखरीदेखि रंगशालासम्म फैलिएको विशाल टुँडिखेललाई सरकारी निकायले नै अतिक्रमण गरेपछि यसको आकार खुम्चिएको छ ।

    यसबीचमा नेपाली सेना र महानगरले हालिमुहाली गरिरहेका छन् । यसमा सरकारले कुनै ध्यान दिन सकेको छैन ।

  • पर्यटनमन्त्रीको दावी : ५ वर्षपछि निजगढबाट सिधै अमेरिका

    पर्यटनमन्त्रीको दावी : ५ वर्षपछि निजगढबाट सिधै अमेरिका

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ५ वर्षपछि निजगढ विमानस्थलबाट सिधै अमेरिका उडान हुने दावी गरेका छन् ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको रणनीतिक महत्वको आयोजना भएकाले निजगढ सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ५ वर्ष भित्र आयोजना सम्पन्न भइछाड्ने बताएका हुन् ।

    उनले त्यसपछि नेपालबाट सिधै अमेरिका उडान गर्ने बताए । विमानस्थल बनेपछि वार्षिक एक करोड पर्यटक नेपाल भित्रन थाल्ने उनले उल्लेख गरे ।

    अहिले सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य राखेर आगामी वर्ष भ्रमण वर्ष मनाउँदै छ ।

    निजगढ र गौतमबुद्ध विमानस्थल बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने र काठमाडौंमा पनि व्यवस्थापन सहज हुने उनको भनाई छ ।

    यसै महिना भित्र यस आयोजनामा काटिने रुखको यकिन संख्या सार्वजनिक गर्ने तयारीमा सरकार रहेको उनले जानकारी दिए । यो विमानस्थलको प्रारम्भिक तयारीका काम नै अझै बाँकि छन् ।

  • काठमाडौंमा अचाक्ली महंगी

    काठमाडौंमा अचाक्ली महंगी

    काठमाडौं । काठमाडौं उपत्यकामा अचाक्ली महंगी बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा काठमाडौं उपत्यकामा मूल्य वृद्धि ८ प्रतिशत भन्दा माथि पुगेको छ ।

    गत आवको पहिलो त्रैमासिकमा मात्र ४ प्रतिशत मूल्य वृद्धि थियो । यस वर्ष भने आवको प्रारम्भमै नागरिकको ढाड सेक्ने गरी महंगी बढेको छ ।

    तथ्यांक अनुसार असोजसम्म उपभोक्ता मुद्रास्फिति ८.१४ प्रतिशत पुगेको छ । तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशतले महंगी बढेको छ ।

    समग्रमा भने उपभोक्ता मुद्रास्फिति ६.२१ प्रतिशत रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

    समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य बढि रहेको छ ।

    गैरखाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु तथा सेवा, कपडा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको देखिएको छ ।

  • भूकम्पले भत्काएका ६२ प्रतिशत घर बने, २४ प्रतिशत निर्माणाधिन

    भूकम्पले भत्काएका ६२ प्रतिशत घर बने, २४ प्रतिशत निर्माणाधिन

    काठमाडौं । भूकम्पले भत्काएका मध्ये ६२ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार २४ प्रतिशत घर निर्माणाधिन अवस्थामा रहेका छन् ।

    संघीय संसद, विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए ।

    उनका अनुसार १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेका छन् । बनिसकेका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको उनले बताए ।

    निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ४ सय २७ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये ९९ प्रतिशतले पहिलो किस्ता ५० हजार, ८० प्रतिशतले दोस्रो किस्ता १ लाख ५० हजार र ६७ प्रतिशतले तेस्रो किस्ता ३ लाख रुपैयाँ अनुदान प्राप्त गरिसकेका छन् ।

    प्राधिकरणले जोखिमपूर्ण बस्तीमा रहेका ४९ सय २९ लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीमा व्यवस्थित गरेको बताएको छ । यस्तै ८ हजार २ सय ८६ भूमिहिन भूकम्पपीडित मध्ये ८७ सय ४४ लाई घर बनाउने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

    प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ७१ प्रतिशत सम्पन्न र २४ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

    ११ सय ९७ स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ५८ प्रतिशत सम्पन्न र १४ प्रतिशत निर्माणाधीन छन् ।

    भूकम्प अति प्रभावित जिल्लामा ७ सय ५३ वटा सम्पदामा क्षति पुगकोमा ५१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको र १६ प्रतिशत पुनर्निर्माणाधीन छन् ।

    प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरी, धरहरा, सिंहदरबार, काष्ठमण्ड लगायतका संरचनाको पुनर्निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिए ।

    प्राधिकरणले समितिले यसअघिका दिएका निर्देशन कार्यान्वयनको प्रगति पनि पेश गरेको थियो ।

    जसमा गुनासो सुनुवाई, जोखिममा परेका वर्गका लागि थप ५० हजार उपलब्ध गराउने व्यवस्था, सुकुम्बासी तथा भूमिहीनहरुलाई घर बनाउने व्यवस्था, आर्थिक अभावका कारण पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिएकालाई सहुलियत दरमा ऋण लिने व्यवस्था, जीविकोपार्जन सम्बन्धी कार्यक्रम लगायत छन् ।

    समिति सभापति कल्याणी खड्काले समितिको निर्देशनअनुसार काम भएकोमा खुशी व्यक्त गर्दै एकजना भूकम्पपीडितले घर बनाउन बाँकी रहँदासम्म विशेष ध्यान दिनु पर्ने बताइन् ।

    सभापति खड्काले सहुलियत ऋण प्रवाह, जीविकोपार्जन, संसदको पुरानो भवनको पुनर्निर्माण लगायतमा ध्यान दिन निर्देशन दिइन् ।
    बैठकमा सांसद गणेश पहाडीले पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै प्रवलीकरणमा ध्यान दिन आग्रह गरे ।

    सांसद विना श्रेष्ठले पछिल्लो समयमा रानीपोखरी, धरहराको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै बसन्तपुर क्षेत्रमा रहेका सम्पदा पुनर्निर्माणमा अझ बढी ध्यान दिन आग्रह गरिन् ।

    प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सांसदहरुको विशेष सकृयताले जिल्ला जिल्लामा पुनर्निर्माण सही ढंगले अघि बढेको बताइन् ।

  • नेपालमा विद्युतको पहुँचमा उल्लेख सुधार

    नेपालमा विद्युतको पहुँचमा उल्लेख सुधार

    काठमाडौं । नेपालले विद्युतको पहुँच र गुणस्तरमा उल्लेख्य सुधार गरेको छ । विश्व बैंकले गरेको एक अध्ययन अनुसार नेपालले छोटो सयममा यस क्षेत्रमा गुणात्मक सुधार गरेको हो ।

    विश्‍व बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार प्रति १ सय घरधुरीमध्ये ९५ घरधुरीमा विद्युत पहुँच बिस्तार भइसकेको छ ।

    विद्युत भरपर्दो, किफायती र निर्बाध पहुँचमा समेत आउने थालेको प्रतिवेदनले देखाएको छ । सन् २०१७ यता नेपालले विद्यूतको क्षेत्रमा ठूलो प्रगति गरेको देखिएको छ ।

    सन् २०१८ यता लोडसेडिङ हटेको छ । यसले पनि मानिसहरुको घरमा गुणस्तरीय र विश्वसनीय उर्जाको आपूर्तिमा सहयोग गरेको भेटिएको छ ।

    बत्ती, खाना पकाउने सफा ऊर्जामा नेपालको प्रगति लोभलाग्दो रहेको पाइएको विश्वबैंकले आफ्नो प्रतिवेदनमा लेखेको छ ।

    नेपाली जनताको जीवन उकास्न समेत यो क्षेत्र सफल बन्र्द गएको प्रतिवेदनको सार छ । तर, अझै धेरै ग्रामिण भेगमा दाउरा र अन्य हानिकारिक धुवाँ फाल्ने इन्धनबाट खाना पकाउने परिवारको संख्या रहेको छ ।

  • अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति

    अमेरिका-चीनमा भन्दा नेपालमा शान्ति

    काठमाडौं ।आतंकवादको जोखिम, घरेलु तथा अन्तर्राष्ट्रिय युद्ध र सामाजिक सुरक्षाका दृष्टिकोणबाट अमेरिकाको तुलनामा नेपाल शान्त पाइएको छ ।

    ग्लोबल पीस इन्डेसक्ले देखाएअनुसार १ सय ६३ मुलुकमध्ये नेपाल ७६ औं स्थानमा रहेको छ । जहाँ नेपालभन्दा पछाडी भारत, चीन, अमेरिकाजस्ता अतिविकसित मुलुक पर्छ ।

    यी मुलुकमा भौतिक विकासले चरम रुप लिएपनि शान्तीपूर्ण रुपमा बाच्न पाउने वातावरण भने क्रमशः हरण हुँदै गएको पाइएको छ । खासगरी मास सुटिंगका माध्यमबाट एकै पटकमा धेरै मानिसहरुलाई मार्ने गरी यहाँ आतकंवादी गतिविधि हुने गरेका छन् ।

    अघिल्लो वर्षको तुलनामा नेपालले १२ स्थान सुधार समेत गरेको छ । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) ले हरेक वर्ष यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गर्छ ।

    यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो घरेलु र अन्तर्राष्ट्रिय युद्द, समाजिक सुरक्षा, आतङ्कवाद् , सैनिकीकरणलगायत करीव २३ सूचकांकमा देशको मूल्याङ्कन गरि प्रतिवेदन सार्वजनिक गरिन्छ ।

    विश्वमा सबैभन्दा शान्त मुलुक आइसल्यान्ड हो भने सबैभन्दा अशान्त अफगानिस्तान देखिएको छ । शान्तमुलुकमा न्यूजील्यान्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक शीर्ष १० स्थानमा छन् ।

    एसियाली मुलुकमध्ये भूटान १५ औं स्थानमा छ । दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो शान्तिपूर्ण देश बनेको छ । भारत १४१ औं स्थानमा छ । जुन अशान्त मुलुक हो । पाकिस्तान १५३ औं स्थानमा छ ।

    चीन ११० औँ स्थानमा रहेको छ । अमेरिका १२८ स्थानमा रहँदै एक अशान्त मुलुकका रुपमा परिचय बनाएको छ । नेपालमा गृहयद्ध अन्त्य भई शान्तीपूर्ण राजनीति शुरु भएको एक दशक नाघिसकेको छ । अहिले विकास र निर्माणका लागि यहाँ वहस प्रारम्भ भएको छ ।

  • प्रधानमन्त्रीकै रफ्तारमा अगाडी बढ्ला देश ?

    प्रधानमन्त्रीकै रफ्तारमा अगाडी बढ्ला देश ?

    काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठन निकै पेचिलो विषय थियो, जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार लगाएका छन् । यद्दपी उनी विवाद मुक्त हुन सकेनन् । यसको स्पष्टिकरण नै उनले दिनुपर्यो ।

    बिहीबार नवनियुक्त मन्त्रीसहित मन्त्री र सचिवहरुको पूर्ण बैठक बोलाएर प्रधानमन्त्रीले अरुलाई पनि पालो दिनु पर्ने भएकाले राम्रो काम गरेका मन्त्रीसमेत हट्नु परेको बताए ।

    यसपटक मन्त्रीका रुपमा हटाइएका धेरैले कुनै न कुनै रुपमा कानूनि जग बसाल्न र स्थायित्व कायम राख्न योगदान गरेका थिए । उनले यसलाई कामको आधारमा भन्दा पनि पार्टीमा नयाँलाई अवसर दिन गरिएको भागबन्डाका रुपमा व्याख्या गरेका छन् ।

    तर, प्रधानमन्त्रीले जे बोले पनि उनको असन्तुष्टी आफ्नो रप्तार अनुसार काम गर्न सकेनन् भन्ने नै थियो । प्रधानमन्त्रीले त्यो अभिव्यक्ति बेला बेला सार्वजनिक पनि गर्छन् ।

    अब मन्त्रीपरिषद्मा उनले चाहेका मन्त्रीको नयाँ सेट तयार भएको छ । यसले जनअपेक्षा अनुसार काम गर्दै प्रधानमन्त्रीलाई सफल बनाउँछ या मन्त्रीकै कारण काम गर्न सकिन भन्ने गराउँछ, त्यो भने हेर्न बाँकि छ ।

    बिहीबार प्रधानमन्त्रीको मूख्य चासो राजधानीको सडकका खाल्डामा थियो । यो बाँसुरी धेरै बजिसक्यो भन्दै उनले यथासिघ्र काठमाडौंका बाटोको खाल्डो पुर्न निर्देशन दिए ।

    ४ महिना भित्र काठमाडौंका बाटो पुरिनु पर्ने र आगामी चौमासिकमा यसको सकारात्मक नतिजा आउनु पर्ने उनको निर्देशन छ । काम गर्ने ठाउँमा धुलो नउड्ने गरी व्यवस्थापन गर्न समेत उनले निर्देशन दिए ।

    उनले चिनियाँ राष्ट्रपति आएका बेला एक सातामा सडक चिल्लो पार्न सक्ने सरकारी निकायले अन्य दिन किन सक्दैन भन्ने आलोचना तर्फ इगिंत गर्दै सोही रफ्तार र तत्तपरता सधैभरी देखाउन समेत निर्देशन दिए । उनले भ्रष्ट्राचारमा कही कतै नमुछिन मन्त्रीशरुलाई सचेत गराए ।

  • जलवायु परिवर्तनको असरबारे सगरमाथा संवाद गरिदै

    जलवायु परिवर्तनको असरबारे सगरमाथा संवाद गरिदै

    काठमाडौं । नेपालमा पहिलो पटक सगरमाथा संवाद कार्यक्रम आयोजना हुने भएको छ ।

    जलवायु परिवर्तन र यसले पारेको असरबारे संसारको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो पटक सगरमाथा संवाद गर्न लागिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार चैत तेस्रो साता अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने पक्का भएको छ । ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ विषयमा अन्तरराष्ट्रिय बहस गर्न लागिएको हो ।

    चैत्र २० देखि २२ सम्म आयोजना हुने यो कार्यक्रमले नेपालको प्रवद्र्धनमा समेत उत्तिकै सहयोग गर्ने भएको छ ।

    विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञबीच जलवायु परिवर्तनको संकट समाधानमा समान धारणा निर्माण गर्न यो कार्यक्रम फलदायी हुने विश्वास मन्त्रालयको छ । जलवायु परिवर्तनबाट कम गतिविधि गर्ने नेपालजस्ता अतिकम विकसित मुलुक बढी प्रभावित छन् ।

  • सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल

    सिंहदरबारमा रमझम, गोकर्ण विष्टको ट्याक्सी यात्रादेखि कृषि मन्त्रीको अंकमाल

    काठमाडौं । बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ खाइसकेपछि करीव १२ बजे अपरान्हदेखि सिंहदरबार छिर्न शुरु गरे ।

    सबै जसो मन्त्रालयमा सचिवदेखि उच्च पदस्थ अधिकारीहरु फूलको थुंगासहित नयाँ मन्त्रीहरुको स्वागतमा तम्तयार थिए । कर्मचारीहरु लाइनमा बसेर मन्त्रीको स्वागतमा खटिएका थिए ।

    मन्त्रीहरु प्रवेश गर्न लागे । त्यसबेला मन्त्रालयमा छुट्टै माहौल छाएको थियो । कृषि मन्त्री घनश्याम भुषाललाई शूभकामना दिन निर्वतमान मन्त्री चक्रपाणी खनाल मन्त्रीको कार्यकक्षमै पुगेका थिए ।

    उनीहरुले एक अर्कालाई अंकमाल गरे । घनश्यामले चक्रपाणीले अगाडी बढाएका आयोजनालाई निरन्तरता दिने भन्दै राम्रा कामको जस मिलेर लिने बताए ।

    श्रममन्त्री रामेश्वर राय मन्त्रालय आउने केही ढिला गरे । यता, मन्त्रालयमा भने निवर्तमान मन्त्री गोकर्ण विष्टको बिदाई कार्यक्रम चलिरहेको थियो ।

    जब मन्त्री राय आए, त्यसपछि विष्टले बधाई तथा सफलताको शुभकामना दिए । उनी सरासर मन्त्रालय परिसरबाट निस्केर सिंहदरबारको गेटमा पुगे ।

    गुडिरहेको ट्याक्सी रोके र घरतर्फ लागे । यो दृष्य आज दिनभर सामाजिक संजाल तथा संचारमाध्यममा छाइरह्यो ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा समेत निवर्तमान मन्त्री थममाया थापा पुगिन् र नवनिुक्त मन्त्री पार्वत गुरुंगलाई शुभकामना दिइन् ।

    सामान्य प्रशसन तथा संघीय मामला मन्त्री हृदयेश त्रिपाठीको स्वागतमा निकै ठूलो लाइन लागेको थियो । उद्योग राज्यमन्त्री मोतिलाल दुगड श्रीमतीसहित मन्त्रालय पुगेका थिए ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरे । उनी निकै प्रफूल्ल देखिन्थे । भौतिक मन्त्रालयमा निवर्तमान मन्त्री रघुविर महासेठ पुगी नवनियुक्त मन्त्री बसन्त नेम्वांगलाई शूभकामना दिए ।

  • नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण

    नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण

    काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनसँगै नयाँ मन्त्रिहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार एक औपचारिक कार्यक्रम आयोजना गरी नयाँ मन्त्रिहरुलाई सपथ खुवाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराइन् ।

    ३ जना राज्य मन्त्रीलाई भने प्रधानमन्त्रीले शपथ खुवाए । उक्त अवसरमा विशिष्ट व्यक्तिरु उपस्थित थिए । बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद् हेरफेर भएको थियो ।

    सोही अनुसार नयाँ मन्त्रिहरुले बिहीबार सपथ ग्रहण गरेका हुन् । बिहीबार वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवले मन्त्रिका रुपमा सपथ लिए ।

    नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । भुसाललाई कृषि, त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङले महिला बालवालिका तथा जेष्ठ नागरिक न्त्रालय सम्हालेका छन् ।

    रामेश्वर राय श्रम र लेखराज भट्टलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ मन्त्री आएसँगै ८ जना पुराना मन्त्रीको जिम्मेवारी भने खोसिएको छ ।

    रघुवीर महासेठ, लालबाबु पण्डित, गोकर्ण विष्ट, थममाया था, धनबहादुर बुढा, चक्रपाणि खनाल, मात्रिका यादव र रामकुमारी चौधरीलाई विदा गरिएको हो ।

    नवनियुक्त मन्त्रीहरुले बिहीबार नै आ आफनो मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका छन् । त्यसमध्ये कृषि मन्त्री भुषालले कुनै पनि निर्णयमा हस्ताक्षर गरेनन् ।

  • घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी

    घनश्याम भुषालको काँधमा गहकिलो जिम्मेवारी

    काठमाडौं । नेकपा भित्र सिद्धान्ततः सबैभन्दा खरो रुपमा उत्रने नेताका रुपमा पहिचान बनाएका घनश्याम भुषाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बोलाएका छन् । उनी ओलीको आलोचक पनि मानिन्छन् ।

    तर, ओलीले उनलाई कृषि तथा पशुपंक्षिजस्तो गहकिलो मन्त्रालय सुम्पिदिएर चलाखी गरेका छन् । हेर्दा लाग्छ, कृषि लो प्रोफाइलको मन्त्रालय हो ।

    तर, देशको दुई तिहाई जनसंख्या आवद्ध भएको यस पेशालाई व्यवसायिक, मर्यादित बनाउँदै देशलाई आत्मनिर्भर बनाउन सक्ने हो भने यो मन्त्रालय चलाएर वाहवाही कमाउन सक्ने आधार धेरै छन् ।

    नेकपा भित्रै घनश्यामलाई सानो मन्त्रालय दिइएको भन्दै टिप्पणी भएको छ । तर, कृषिलाई सानो आक्नो उनीहरुको अल्पज्ञान हो ।

    हरेक पटक बाली नाली लगाउने बेला मल नपाएर कृषक तड्पिएको भेटिन्छ । बाली भित्राउने बेला बजार नपाएर कृषक मरिरहेका छन् ।

    उखु किसान र व्यापारीबीच सधै द्धन्द्ध हुन्छ । बजारमा उपभोक्ताले चर्को मूल्य तिर्दा पनि कृषकले श्रमको मूल्य पाएको छैन ।

    यस अवस्थामा घनश्यामको काँधमा भने हिँजो सिद्धान्ततः नेतृत्वलाई चर्को स्वरमा आलोचना गर्दै सिकाएको सीप अब व्यवहारमा उतार्ने मौका आएको छ । आफ्नो उक्त परिक्षामा उनी कति सफल हुनेछन्, त्यो त आगामी दिनमा देखिने छ ।

  • गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना

    गोकर्ण विष्टलाई सरकारबाट हटाएपछि प्रधानमन्त्रीको आलोचना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले ८ जना नयाँ मन्त्री थपे भने बाँकि पुरानैलाई निरन्तरता दिए ।

    यस क्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट समेत बाहिरिने मन्त्रीको सूचिमा परे ।

    पछिल्लो समय केपी ओली सरकारले सबैभन्दा सफलता मानेका प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, मलेसियाको सिण्डिकेट हटाई कामदारलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका मन्त्री विष्ट सरकारका लोकप्रिय सदस्य मध्ये एक थिए ।

    उनले म्यानपावर कम्पनीहरुको ठगी विरुद्ध कारवाहीको अभियान नै चलाएका थिए । त्यसले धेरै व्यवसायीको विचल्ली हुने अवस्था थियो ।

    म्यानपावरबाट मन्त्री विष्टलाई हटाउने लविंग निकै पहिलाबाटै भएको हो । यसमा प्रधानमन्त्रीले व्यवसायीलाई साथ दिँदै अन्ततः आफ्नै लोकप्रिय मन्त्रीलाई हटाइदिएका छन् ।

    यसको सामाजिक संजालमा खुलेर आलोचना भइरहेको छ । मेलम्ची खानेपानी आयोजनालाई दुई वर्ष पर धकेल्ने बीना मगर भन्दा गोकर्ण विष्ट असक्षम कसरी भन्दै प्रधानमन्त्रीलाई धेरै नागरिकले प्रश्न गरिरहेका छन् ।

    कतिपयले प्रधानमन्त्री म्यानपावर दलालहरुको चंगुलमा फसेको र मन्त्री विष्टले चाकडी गर्न नसकेपछि हटाएको दावि गरेका छन् । मन्त्रीपरिषद्का अन्य सदस्यको वर्हिगमनमा भने जनताले त्यति धेरै चित्त दुखाएको पाइन्न ।

  • आजदेखि राजपाको संयोजक राजेन्द्र महतो

    आजदेखि राजपाको संयोजक राजेन्द्र महतो

    काठमाडौं । चक्रिय प्रणालीमा नेतृत्व चलाइरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महोतोको काँधमा आएको छ ।

    उनले बिहिबारबाटै अध्यक्ष मण्डलको जिम्मेवारी सम्हाल्दैछन् । यसअघि अध्यक्ष मण्डलको संयोजक महन्त ठाकुर थिए ।

    राजपाका बुधबार बसेको केन्द्रिय बैठकले बिहीबारदेखि महतोलाई संयोजकको जिम्मेवारी तोकेको हो । करीव आधा दर्जन दल सिमिएर एक बनेको राजपमा अहिले आलोपालो संयोजक बन्ने प्रचलन रहेको छ ।

  • सागमा प्याराग्लाइडिङ नहुने, ६ टोलीले भाग नै लिएनन्

    सागमा प्याराग्लाइडिङ नहुने, ६ टोलीले भाग नै लिएनन्

    काठमाडौं । नेपालका लागि स्वर्ण पदक नै सुनिश्चित भएको प्याराग्लाइडिङ दक्षिण एसियाली खेलकुदमा समावेश नहुने भएको छ । यस खेलका लागि प्रतियोगिको आवश्यक संख्या नै पुगेन ।

    बुधबार नाम दर्ताको अन्तिम दिन थियो । तर, यस खेलमा भाग लिन नेपाल र पाकिस्तानले मात्र नाम टिपाए । अन्य टोलीले भाग नलिने भएपछि प्याराग्लाइडिङ सागमा समावेश नहुने निश्चित भएको हो ।

    दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करण नजिकिएसँगै यसको तयारी जोडतोडका साथ चलिरहेको छ । प्याराग्लाइडिङ सराङकोटमा खेलाउने तयारी थियो ।

    यसले नेपालको पर्यटनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको थियो । सागमा प्रतियोगिता संचालन हुन कम्तीमा ३ राष्ट्रले भाग लिनुपर्ने प्रावधान रहेको छ । सागका खेल पोखरा र काठमाडौंमा हुँदैछन् ।

    दुबै स्थानमा जोडतोडले तयारी जारी छ । नेपाल ओलम्पिक कमिटीका अनुसार पोखरामा रंगशाला निर्माणले गति दिएको छ । अबको ११ दिन पछि शुरु हुने सागको तयारीमा कुनै कसुर बाँकि नराखेको आयोजकको भनाई छ ।

  • नेपाल एयरलाइन्स नारिता उड्ने निश्चित

    नेपाल एयरलाइन्स नारिता उड्ने निश्चित

    काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारितामा उडान गर्ने निश्चित भएको छ । नारिता जापानको राजधानी टोकियोबाट नजिकको विमानस्थल हो ।

    नारितामा ग्राउण्ड ह्याण्डिंगका लागि कम्पनी छनोट भई मंगलबार सम्झौता समेत भइसकेको नेपाल एयरलाइन्सले जनाएको छ । यससँगै अब निकट भविश्यमै नेपाल एयरलाइन्सको जहाज नारिता उड्ने भएको हो ।

    नारिता धेरै नेपालीका लागि सहज विमानस्थल हो । किनकी टोकियोमा नेपाली समूदायको बाहुल्य छ । उनीहरुलाई नेपाल आउन यो विमानस्थलमा सहज हुनेछ ।

    निगमले अहिले ओशाकामा भने साताको दुई उडान गरिरहेको छ । ओशाका उडान प्रारम्भमा केही कठिन भएपनि क्रमशः राम्रो अवस्थामा रहेको कम्पनीको भनाई छ ।

  • मन्त्रिपरिषद् पुनर्गठन, को को भए मन्त्री ? (सूचिसहित)

    मन्त्रिपरिषद् पुनर्गठन, को को भए मन्त्री ? (सूचिसहित)

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । नेकपा सचिवालय बैठकबाट अनुमोदन भएका मन्त्रीहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष बुझाएका थिए ।

    सोही नामलाई समेटेर राष्ट्रपतिबाट बुधबार मन्त्रिपरिषद्को पुनर्गठन भएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरीएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    नयाँ मन्त्रीको सूचि अनुसार लोकप्रिय मन्त्री गोकर्ण विष्ट बाहिरिएका छन् । लालबाबु पण्डित, रघुविर महासेठ, मातृका यादव, थममाया थापाको मन्त्री पद गुमेको छ । उनीहरुको स्थानमा हृदयेश त्रिपाठी, बसन्त नेम्वांग मोतिलाल दुगड, घनश्याम भुषाललगायत नेता मन्त्री बनेका छन् ।

    हेर्नुहोस सूचि

    क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन
    १ श्री केपी शर्मा ओली प्रधानमन्त्री
    २ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा
    ३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला
    ४ श्री रामबहादुर थापा मन्त्री गृह
    ५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र
    ६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
    ७ श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
    ८ श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
    ९ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
    १० श्री भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
    ११ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    १२ श्री योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    १३ श्री शक्तिबहादुर वस्नेत मन्त्री वन तथा वातावरण
    १४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    १५ डा. युवराज खतिवडा मन्त्री अर्थ
    १६ श्री मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास
    १७ श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
    १८ श्री गोकुलप्रसाद वाँस्कोटा मन्त्री सञ्‍चार तथा सूचना प्रविधि
    १९ श्री पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    २० श्री बीना मगर मन्त्री खानेपानी
    २१ श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात
    २२ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
    २३ श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
    २४ श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या
    २५ श्री रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास

     

     

  • मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा

    मन्त्रिपरिषद् पुनर्गठन चर्चाले दिनभर तात्यो माहौल, सूचि राष्ट्रपति कार्यालयमा

    काठमाडौं । मन्त्रिपरिषद् पुनगर्ठनको चर्चाले बुधबार पनि नेपालको राजनीतिक सरगर्मी तात्यो । संचारमाध्यमदेखि सामाजिक संजाल यसैको चर्चामा थियो ।

    किनकी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरुलाई बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा नजान भनेका थिए । उनको आषय बुधबार नै मन्त्रिपरिषद्पुनर्गठन हुने र मन्त्रीहरु परिवर्तन हुनेतर्फ थियो । बुधबार त्यसका लागि पटक पटक बैठकहरु समेत भए ।

    तर, बाहिर सार्वजनिक नगरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको सूचि भने बुधबार साँझ राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।

    केही नयाँ र केही अनुभवी नेताहरु समेटेर सूचि राष्ट्रपति कार्यालयमा गएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

    घनश्याम भुषाल, मोती दुगड, भानुभक्त ढकाल, बसन्त नेम्वांग, हृदयेश त्रिपाठीलगायत नेता मन्त्री बन्दैछन् ।

    बुधबार नेकपा सचिवालय बैठकले अध्यक्षद्धयको जिम्मेवारी स्पष्ट बनायो ।

    त्यसअघि प्रधानमन्त्री र अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट गरे । त्यसपछि बुधबार नै बिस्तार हुने भनिएको मन्त्रिपरिषद् भने बिस्तार हुन सकेन् ।

    बिहीबार केही नयाँ र अधिकांश पुरानै अनुहारसहित मन्त्रिपरिषद् पुनर्गठन गरिदैछ । बिहीबार नै मन्त्रीहरुलाई सपथ गराउने तयारी समेत गरिएको छ ।

    त्यसो त मन्त्रीबाट बिदाई हुने हल्ला चलेका कतिपय मन्त्रालयमा बुधबार सुनसान माहौल देखिन्थ्यो । मन्त्रीहरु मन्त्रालयमा अनुपस्थित थिए ।

    मन्त्री पदबाट उद्योग मन्त्री मातृका यादव र कृषि मन्त्री चक्रपाणी खनालले आफूहरु हट्ने पक्का भएको सार्वजनिक गरिसकेका छन् । अन्य मन्त्रीहरुका सम्बन्धमा भने केही बाहिरिएको छैन ।

  • निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

    निजी सवारीले भाडामा मान्छे बोक्न नपाउने, निसानामा टूटल र पठाओ

    काठमाडौं । सरकारले निजी सवारी साधनका रुपमा दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्ने नपाउने भन्दै त्यसो गरेको पाइए कारवाहीको चेतावनी दिएको छ ।

    यातायात व्यवस्थ विभागले बुधबार सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले सार्वजनिक प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ ।

    कानून नमानी निजी सवारीले भाडामा मान्छे बोकेमा कानून अनुसार कारवाही हुने चेतावनी समेत विभागले दिएको छ । विभागको यो कदमबाट अब टूटल र पठाओको सेवा प्रभावित हुनेछ ।

    किनकी निजी सवारीका रुपमा दर्ता भएका यस्तो सवारीले अहिले भाडामा मान्छे बोक्छन् । मोवाइल एपका माध्यमबाट दैनिक हजारौं मोटरसाइकल चालकले यो सुविधा उपयोग गरिरहेका छन् ।

    नवप्रवर्तन व्यवसायलाई प्रोत्साहन गर्ने भन्दै चालु आर्थिक वर्षको बजेटले त्यस्ता व्यवसायलाई करको दायरामा आउन पुस मसान्तसम्मको समय दिइएको छ ।

    यद्दपी निजी सवारीलाई सार्वजनिक प्रयोजनमा प्रयोग गर्न पाउने कानून भने नेपालमा छैन । त्यसकारण विभागले कडाई गर्न लागेको हो ।

    खासगरी नेपालमा यातायात व्यवसायीले टूटल र पठाओको विरोध गर्दै आएका छन् । यसको प्रयोगले ट्याक्सीको व्यापार घटाएको छ ।

    तर, यात्रुको दृष्टिकोणबाट भने ट्याक्सीको मनपरी भाडाका कारण आजित यात्रुलाई भने निकै ठूलो राहत मिलेको छ । अर्कोतर्फ सुरक्षाका दृष्टिकोणबाट पनि मोटरकसाइकले भाडामा यात्रु बोक्दा हुने जोखिमबारे प्रश्न उठ्दै आएको छ ।

  • प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, सत्ता ५ वर्षसम्म नै ओलीको हातमा

    प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, सत्ता ५ वर्षसम्म नै ओलीको हातमा

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष प्रचण्ड बनेका छन् । नेकपाको बुधबार कसेको बैठकले प्रचण्डलाई कार्यकारी अधिकारीसहित अध्यक्षको जिम्मेवारी दिएको हो ।

    अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रहने छन् । तर, उनको भूमिका कार्यकारी हुनै छैन । पार्टीको जिम्मेवारी प्रचण्डको काँधमा दिएसँगै नेकपाले सत्ताको बागडोर भने ५ वर्षसम्म नै केपी शर्मा ओलीलाई सुम्पिएको थियो ।

    पार्टी एकताका दौरान सरकारको नेतृत्व आलोपालो गर्ने थियो । तर, प्रचण्डले शक्तिशाली अध्यक्षको भूमिका पाएसँगै उक्त विवाद पनि मिलेको हो ।

    वर्तमान प्रतिनिधिसभा रहेसम्म सत्ताको बागडोर वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा रहने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने उनको भनाई छ ।

    अब केपी शर्मा ओली पूर्णतया सरकारको काममा केन्द्रित हुनेछन् । पार्टीको काम र नेतृत्वमा भने प्रचण्ड समर्पित हुने भएका छन् ।

    पार्टी र सरकारको संचालनमा दुबै अध्यक्षले समन्वय भने गर्नेछन् । वरियता यथावत रहने तर, कार्यकारी अधिकार प्रचण्डलाई दिइएको हो । अब प्रचण्ड नेपाली राजनीतिकै शक्तिशाली पार्टीको नेतृत्वमा पुगेका छन् ।

  • आज होला मन्त्रीपरिषद् पुनर्गठन ?

    आज होला मन्त्रीपरिषद् पुनर्गठन ?

    काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनले राजनीतिक माहौल तातेको एक महिना नाघिसक्यो । तर, यसले मुर्तरुप पाउन भने सकेको छैन । तर, मन्त्रीपरिषद् पुनर्गठनको अन्तिम तयारी भने भइरहेको बताइएको छ ।

    सम्भवतः बुधबार यसले मुर्तरुप पाउने संकेत नेताहरुले गरेका छन् । मंगलबार मन्त्रीपरिषद् बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको संकेत गरिसकेका छन् ।

    त्यसो त मन्त्रीपरिषद्का केही सदस्यलाई बिदाई दिने तयारी लामो समयदेखि नै भएको हो । तर, नेकपा अध्यक्ष प्रचण्डसँगको सहमतिका कारण प्रधानमन्त्रीले मन्त्रीहरु हटाइहाल्न सकेका छैनन् ।

    प्रचण्ड प्याकेजमै सहमती कार्यान्वयनको पक्षमा छन् । यसको मतलव उनले कि मन्त्रीपरिषद्को नेतृत्व पाउनु पर्छ या पार्टीको कार्यकारी भूमिका निर्वाह गर्न पाउनु पर्छ ।

    अहिले पार्टी दुई अध्यक्षकै नेतृत्वमा चलिरहेको छ । मंगलबारको बैठकमा प्रधानमन्त्रीले सबै मन्त्रीहरुको पुनर्गठन हुने र त्यसक्रममा केही मन्त्री बाहिरिने तथा केही भित्रने समेत जानकारी गराएका छन् ।

    यसले सम्भवतः आजै वा केही दिन भित्रै मुलुकले नयाँ अनुहारमा मन्त्रीहरु पाउने संकेत निश्चित गरेको छ ।

  • बझाङमा गयो भूकम्प, पश्चिम नेपाल र भारतमा समेत धक्का महसुश

    बझाङमा गयो भूकम्प, पश्चिम नेपाल र भारतमा समेत धक्का महसुश

    काठमाडौं । बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढीमा केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ ।

    मंगलबार बेलुका ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले उल्लेख गरेको छ ।

    भूकम्पको धक्का बझाङसहित सूदुर पश्चिम, कर्णाली र प्रदेश नं ५ का जिल्लासम्म गरिएको थियो । गुल्मी र अर्घाखाँचीमा समेत भूकम्पको धक्का महसुश भएको स्थानीयले जनाएका छन् ।

    उता, भारतमा समेत भूकम्पले मानिसलाई तर्साएको छ । भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश भएको छ ।

    ठूलो भूकम्प आएपनि क्षतिको भने विवरण आइसकेको छैन । बस्ती नभएको खप्तड राष्ट्रिय निकुन्ज क्षेत्रमा केन्द्रविन्दु भएका कारण कम क्षति भएको अनुमान रहेको छ ।

  • करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा

    करीव २० लाख बराबरको इन्धन बोकेको ट्यांकर अपहरणमा

    काठमाडौं । करीव २० लाख मूल्य बराबरको डिजेल बोकेर बाराको अम्लखेगन्जबाट विराटनगर आइरहेको ट्यांकर अपहरण भएको छ ।

    आइतबार रातको १ बजे सिराहा, लहानस्थित पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ट्यांकर अपहरणमा परेको हो । ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमले जनाएको छ ।

    यो ट्यांकर ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा दर्ता छ । निगमका अनुसार ट्याकंर राजमार्गको छेउँमा रोकेर चालक र सहयोगी आराम गरिरहेका थिए । त्यही समयमा ट्यांकर अपहरणमा परेको हो ।

    ट्यांकर अपहरणमा परेको भन्दै चालक मंगलबार बिहान १० बजे कार्यालय आएर मौखिक जानकारी गराएका थिए । त्यसपछि निगमले छानविन तथा खोजी तिब्र बनाएको छ ।

    यसका लागि स्थानीय प्रहरी निकायसँग समेत समन्वय भइरहेको निगमको भनाई छ । यस ट्यांकरमा २० हजार लिटर डिजल थियो ।

    विराटनगर डिपोका अनुसार चालकहरुले दिएको बयानमा ६्७ जनाको समूहले उनीहरुलाई जंगलमा छाडेर ट्यांकर लगेर भोगेको हो ।

    आइतबार राति खाना खाएर ट्याकंर चालक रामदेव यादव र सह चालक उमेश यादव ट्यांकरमा सुतेको बयान चालकले दिएका छन् । नकावधारी समूहले चालक र सहचालकको आँखामा पट्टी बाँधेर जंगलमा छाडेका थिए ।

  • सम्हालिएको नेपालले हार टार्न सकेन

    सम्हालिएको नेपालले हार टार्न सकेन

    काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटमा नेपालले बलियो टोली कुवेतविरुद्ध सम्हालिएर खेलेको छ । यद्दपी हार टार्न भने सकेन ।

    मंगलबार भुटानको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल कुवेतसँग १ गोलले पराजित भयो । तर, नेपालले बलियो टोलीविरुद्ध निकै सुधारिएको प्रदर्शन गरेको छ ।

    मूख्य चार खेलाडी ठमेल काण्डका कारण कारवाही परी वैकल्पिक खेलाडीको भरमा मैदानमा उत्रिएको नेपाली टोलीले कुनै पनि समय ती खेलाडीको अभाव महसुश हुन दिएन ।

    किनकी यही टोलीसँग नेपाल कुवेतको घरेलु मैदानमा ७ गोलले पराजित भएर फर्केको थियो । यो खेल नेपालको होम म्याच हो । तर, दशरथ रंगशालाको काम सम्पन्न नभएपछि भुटानमा गरिएको हो ।

    कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा गोल गरे । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन ।

    ४० औं मिनेटमा रोहित चन्दले सटिक प्रहार गरेका थिए । त्यसलाई कुवेती किपरले बचाए । खेलमा कप्तान किरण चेम्जोंगको प्रदर्शनसमेत हेर्नलायक रह्यो ।

  • नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?

    नेपाल र कुवेत आज भिड्दै, मूख्य खेलाडीको अभाव टर्ला ?

    काठमाडौं । कतार विश्वकप २०२२ का लागि नेपाल र कुवेतबीच छनोट प्रतियोगिताको दोस्रो लेग मंगलबार हुँदैछ । पहिलो लेगमा नेपाल पराजित भइसकेको छ ।

    दोस्रो खेल जीत्दै त्यसको बदला लिने मौका नेपालसँग रहेको छ । भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा नेपाल र कुवेतबीच मंगलबार दिउँसो २ः४५ बाट खेल शुरु हुँदैछ ।

    पहिलो लेगमा कुवेतले नेपाललाई ७ गोल हानेको थियो । नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जीतका लागि मैदानमा उत्रने बताएका छन् ।

    यद्दपी नेपाललाई मूख्य खेलाडीले खेलको मुखमा देखाएको अनुशासनहित गतिविधि र उनीहरुमाथि भएको कारवाहीको असर भने पक्कै देखिने छ ।

    नेपालका मूख्य स्ट्राइकर विमल घर्तिमगरसहित ४ खेलाडी ठमेलको डान्सबारे गई मदिरामा मात्तिकएको र मदिरा सेवनकै कारण मोटरसाइकल दूर्घटना समेत पारेको भेटिएपछि एन्फाले उनीहरुलाई तत्कालन निलम्बन गरेको छ ।

    ४ जना मूख्य खेलाडीको अभाव बिर्साउने गरी नेपालले खेल्नु पर्ने भएको छ । खेल तालिका अनुसार नेपालले आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्नु पर्ने थियो । त्यसबेला नेपाली टोलीको साथमा दर्शकको साथ उत्तिकै हुने थियो ।

    तर, रंगशाला निर्माण हुन नसकेपछि खेल भुटानमा सारिएको हो । यसको क्षति नेपालको प्रदर्शनमा पर्न सक्छ । नेपालको टीममा अभिषेक रिजाल, नवयुग श्रेष्ठ र भरत खवासमध्ये एकले मूख्य स्ट्राइकरको रुपमा बिमल घर्तिमगरका स्थान लिनेछन् ।

    मिडफिल्डको जिम्मा सुनिल बल, विक्रम लामा, रवि पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र सुवास गुरुङले सम्हाल्नेछन् ।

    अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, सरोज दाहाल, अजित भण्डारी र रञ्जित धिमालले डिफेन्स सम्हाल्दा कप्तान किरण चेम्जोङसँगै विकेश कुथु र विशाल श्रेष्ठले गोलकिपरको भूमिका निभाउने छन् ।

    उनीहरुमध्ये टोलीमा पर्ने अन्तिम ११ भने खेलको केही मिनेट अगाडी मात्र तय हुनेछ ।