Author: Vishwanews.com

  • सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता

    सिद्धबाबामा सुरुङ बन्ने पक्का, अर्थले दियो स्रोत सुनिश्चितता

    काठमाडौं । अर्थमन्त्रालयले बहुवर्षिय ठेक्कामा लगाएर सुरुङ निर्माण गर्न सहमति दिएसँगै अब सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबामा सुरुङमार्ग बन्ने पक्का भएको छ ।

    बुटवल, तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिलोका कारण वर्षेनी धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । यस क्षेत्रको पहिरो छल्न सुरुङ मार्ग निर्माणको निकर्षमा सरकार पुगेको हो ।

    सुरुङमार्ग निर्माण गर्न मन्त्रिपरिषद्‍ले अर्थलाई स्वीकृति दिएको थियो । त्यसपछि अर्थले बहुवर्षिय आयोजनाका रुपमा यस आयोजनाका लागि १० अर्ब रुपैयाँको स्रोत सुनिश्चतता गरेको छ ।

    १ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माण गर्न प्रकिया अघि बढाउन सहमति दिएको थियो।

    १५ कात्तिक २०७६ मा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले डिजाइन निर्माण तथा संचालनको लागि आवश्‍यक १० अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्‍चितताको प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो ।

    अर्थले यो प्रस्ताव आइतबारको मन्त्रिपरिषद् बैठकमा लगेर स्वीकृत गराएको हो । अर्थमन्त्रालयले सहमति प्रदान गरिएको पत्र सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा पठाएको छ।

    चालु आर्थिक वर्षको बजेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डसहित मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माणको घोषणा गरिएको थियो ।

    सोही अनुसार सिद्धवावाको प्रकिया अघि बढेको हो। सिद्धबाबामा सुरुङ निर्माण गर्न माघ २०७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गको गुरुयोजना निर्माण गर्न अध्ययन गरेको थियो ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्म करिब ४ किलोमिटर क्षेत्र पहिरोबाट अति प्रभावित
    क्षेत्र हो ।

    यही क्षेत्रमा सुरुङ बन्ने छ । पछिल्लो १० वर्षमा ७० भन्दा बढीले ज्यान गुमाएको यो क्षेत्रलाई ज्यानमारा स्थानका रुपमा चिनिन्छ । सिद्धबाबा छल्दै गुल्मी, पाल्पा, अर्घाखाँची जाने सवारी चल्ने गर्छन् ।

  • प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना

    प्रधानमन्त्रीको अभिव्यक्तिले भरिए भारतीय मिडियाका पाना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् ।

    प्रधानमन्त्रीले कालापानीबाट तत्काल भारतीय सैनिक फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । त्यसक्रममा उनले नेपालको एक टुक्रा जमिन पनि भारतले लैजान नसक्ने उल्लेख गरेका थिए ।

    यस अभिव्यक्तिलाई भारतीय मिडियाले उच्च प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका हुन् । बीबीसी हिन्दीले निकै चासोपूर्वक प्रधानमन्त्रीको अभिव्यक्तिलाई समाचार बनाएको छ ।

    यस विषयमा प्रधानमन्त्रीले पहिला पटक सार्वजनिक अभिव्यmि दिएका थिए । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा भारत विरोधी अभिव्यक्ति चर्किएको छ ।

    आजतकको अनलाइन संस्करणले ओलीले रवाफिलो अभिव्यक्ति दिएको भन्दै टिप्पणी गरेको छ । बीबीसी हिन्दीले भने सन्तुलित समाचार लेखेको छ । इन्डियन एक्प्रेसले कालापानी नेपालको भएको ओलीको दाविलाई प्रकाशन गरेको छ ।

    पञ्‍जाव केशरीले पनि प्रधनमन्त्रीकै भनाईलाई हेडलाइन बनाएर समाचार निकालेको छ । भारतले नेपालको भूभागलाई आफ्नो नक्सामा राखेपछि नेपालको तर्फबाट भने सरकारले कडा शब्दमा त्यसको विरोध गरिसकेको छ ।

  • रेसुंगा विमानस्थल निरिक्षणमा पुगे परराष्ट्रमन्त्री

    रेसुंगा विमानस्थल निरिक्षणमा पुगे परराष्ट्रमन्त्री

    गुल्मी । आफ्नै पहलमा निर्माण शुरु भएको गुल्मीको रेसुंगा विमानस्थलको सोमबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निरिक्षण गरेका छन् । धुले मैदानबाट परिक्षण उडान भइसकेको यो विमानस्थलको धावनमार्ग पीच गर्ने गरी अगाडी बढेको छ ।

    यद्दपी काम भने सुस्त रहेको छ । रेगुंगा नगरपालिका वडा नं १० सिमीचौरमा यो मिानस्थल निर्माण भइरहेको छ । यो विमानस्थल संचालनमा आए गुल्मीसहित अर्घाखाँची, पाल्पा, प्यूठानसम्मका यात्रु लाभान्वित हुने सम्भावना छ ।

    उनी पर्यटन मन्त्री भएको बेला यो आयोजना गुल्मीमा पारेका थिए । २५ जेठ २०७५ मा यहाँ तारा एयरको जहाज पुगी परिक्षण उडान गरेको थियो । यहाँ ७ सय मिटर लम्बाई र ९० मिटर चौडाइको धाबन मार्ग बनेको छ ।

  • पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?

    पाकिस्तान सुपर लीगको ड्राफ्टमा ७ नेपाली, को को परे ?

    काठमाडौं । पाकिस्तान सुपर लीगको सिल्भर क्याटगोरीमा परेका खेलाडीको सूचि सोमबार सार्वजनिक भएको छ । यस सूचिमा नेपालबाट ७ खेलाडीको नाम परेको हो । सूचिमा पूर्वकप्तान पारस खड्कासहित ७ जना क्रिकेटर परेका छन् ।

    त्यसमध्ये कसलाई टीमहरुले छनोट गर्छन्, त्यसका आधारमा खेलाडीको भाग्य चम्कने छ । सिल्भर क्याटगोरीको ड्राफ्टमा पारससहित नेपालबाट आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका छन् ।

    पारस, शरद, सोमपाल, दीपेन्द्र र रोहितकुमारले व्यक्तिगत रुपमा नाम पठाएको बताइएको छ । आरिफ र विनोदको नाम नेपाल क्रिकेट संघ (क्यान)ले पठाएको हो ।

    यस प्रतियोगिताका लागि स्टार खेलाडी सन्दीप लामिछाने भने ड्राफ्टको प्लाटिनम क्वाटगेरीमा परेका छन् । उक्त क्याटगोरीबाट कुनै टीमले किनेमा उनी अहिलेसम्मकै महंगो मूल्यमा आवद्ध हुनेछन् ।

    सन्दीप छनोट भए भने उनको कमाई कम्तीमा १ लाख ४७ हजार देखि बढीमा २ लाख १८ हजार डलरसम्म हुनेछ । सिल्भर क्याटगरीमा पर्ने खेलाडीको भागमा भने १५ हजार डलर देखि ३५ हजार अमेरिकी डलरसम्म हुनेछ ।

  • दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय

    दुई बलात्कारीलाई साढे ११ वर्ष जेल सजाय

    काठमाडौं । सर्वोच्च अदालतले दुई जना बलात्कारीलाई साढे ११ वर्षको जेल सुनाएको छ । साथै पिडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश गरेको छ ।

    पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो । बैतडीकी पूजा बोहोराको बलात्कार कसुर प्रमाणित भएपछि सागर भट्ट र अमरराज अवस्थीलाई उक्त कैद तथा नगद सजाय सुनाएको हो ।

    ९ चैत २०६८ मा एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न फोटो स्टुडियो छिरेकी पूजा स्टुडियो सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीबाट सामूहिक बलात्कारमा परेकी थिइन् ।

    आफूलाई बेहोस हुने सुई लगाई अचेत बनाएपछि बलात्कार भएको उनको जाहेरीमा उल्लेख छ ।

    न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै यस्तो फैसला गरेको हो बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी साढे ११ वर्ष कैद सजाय सुनाइएको सर्वोच्चले जानकारी दिएको छ ।

    बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले २२ फागुन २०६९ मा १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

    १५ वैशाख २०७१ मा पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।

    पुनरावेदनले गरेको फैसलाका विरुद्ध सरकारी वकिलको कार्यालय २१ मंसिर २०७१ मा सर्वोच्च गएको थियो ।

  • निजगढ विमानस्थलबारे हतारमा बोले योगेश, उपलब्धी शून्य

    निजगढ विमानस्थलबारे हतारमा बोले योगेश, उपलब्धी शून्य

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो कार्यभार सम्हालेपछिको एक साता निकै जोडबलका साथ उठाएको इस्यू थियो, निजगढ एयरपोर्ट ।

    नेपालमा दोस्रो अन्तरािष्ट्रय विमानस्थलका रुपमा चिनिने यस आयोजनाले नेपालको अर्थतन्त्रका कायालपट गर्ने अपेक्षा गरिएको छ । तर, आयोजनोकापूर्व तयारीको काम जस्ताको तस्तै छ । तर, योगेशले फ्याट्टै बोलिदिए, मंसिरसम्म यस आयोजनाको शिलान्यास हुन्छ ।

    शिलान्यास गर्नु आफैमा त ठूलो कुरा थिएन । किनकी मन्त्री गएर दुईटा इटा राखे शिलान्यास भइहाल्यो । तर, त्यसपछि आयोजनाले गति लिन्छ ? काम अगाडी बढ्छ ? यसको जवाफ स्वयम मन्त्री भट्टराईसँग पनि छैन ।

    किनकी उनी यस आयोजनाको प्रारम्भिक काम सकाउन नै असफल देखिएका छन् । आयोजनाको रुख कटान आदेश बन मन्त्रालय गएर अड्किएको छ ।

    वातावरणवादीहरुले रुख काट्नै नदिने अभियान थालेका छन् । उनीहरुलाई विकास भन्दा रुख प्यारो लागेको छ । आयोजनामा अझै लगानी जुटेको छैन । निर्माणको मोडालिटीमा अलमल जारी छ

    । करीव ७ खर्ब हाराहारी लागत लाग्ने यो आयोजनामा ५ वर्ष भित्र प्लेन उड्छ भनेर मन्त्री भट्टराईले आइतबार दिएको अभिव्यक्ति सुन्दा जति सुन्दर लाग्छ, यसको पछाडीको पूर्वतयारी हेर्दा चिया गफजस्तौ आभास हुन्छ ।

    यो आयोजनाको वातावराीय प्रभाव मूल्यांकन प्रतिवेदन विवादित बनेको छ । यो सर्वोच्च अदालतमा मुद्दा समेत परेको विषय हो ।

    विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेकै छैन । वस्ती व्यवस्थापनका धेरै विषय अझै बाँकि छन् । यस्तो अवस्थामा योगेश फसिए धेरै बोलेर…..।

  • माथिल्लो त्रिशूली थ्री ‘ए’ आजबाट औपचारिक संचालन

    माथिल्लो त्रिशूली थ्री ‘ए’ आजबाट औपचारिक संचालन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयस्थित एक्सन रुमबाट पहिलो पटक आयोजनाको उद्घाटन गर्दैछन् ।

    माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाको पहिलो पटक एक्सन रुमबाट उद्घाटन गर्न लागिएको हो । नेपाल विद्युत प्राधिकरण आफैले निर्माण गरेको सो आयोजना एक दशकको प्रयासमा निर्माण सम्पन्न भएको हो ।

    अघिल्लो चैत महिनाबाट नियमित उत्पादन थालेको ६० मेगावाट क्षमताको यो जलविद्युत आयोजनाको औपचारिक शुरुवात भने सोमबार देखि हुने भएको हो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन भने आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित हुँदैछन् ।

    प्राधिकरणले यस आयोजनालाई फसेका आयोजना अन्तर्गत राखेको थियो । तर, पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै जोडबलमा यो आयोजनाले गति लिएको हो यो आयोजनाको अनुमानित लागत रु १२ अर्ब ६० करोड ९१२ करोड ५८ लाख रहेको छ ।

    प्राधिकरणले चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा यो आयोजना निर्माण गरेको हो । चिनियाँ कम्पनी गेजुवासँग २०६७ साल जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

    यो आयोजनाले नौ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नेछ भने हिँउदका तीन महिना ४५ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।

  • अब आन्तरिक विमानस्थलमा समेत र्याम्पको सुविधा

    अब आन्तरिक विमानस्थलमा समेत र्याम्पको सुविधा

    काठमाडौं । अन्तराष्ट्रिय उडानका जहाज चढ्न र ओर्लन प्रयोगमा आउने र्याम्प अब आन्तरिक विमानस्थलमा समेत जडान गरिएको छ । पहिलो पटक बुद्ध एयरले भैरहवाबाट यसको प्रयोग थालेको छ ।

    यसअघि जहाजमै जडित सानो भर्यांगबाट यात्रु चढ्नु र ओर्लुनु परेको छ । त्यसको साटो र्याम्प प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ ।

    भैरहवाबाट शुरु भएको यो सुविधा क्रमशः सबै आन्तरिक उडानमा बिस्तार गर्ने कम्पनीको योजना रहेको छ । यसले वृद्ध उमेरका यात्रु र अशक्त यात्रुलाई निकै सहज हुने भएको छ ।

  • रोनाल्डो १ सय गोलको कीर्तिमाननजिक

    रोनाल्डो १ सय गोलको कीर्तिमाननजिक

    काठमाडौं । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो देशका लागि १ सय औं गोलको कीर्तिमान नजिक पुगेका छन् । आइतबार राती भएको खेलमा उनले पोर्चुगलका लागि ९९ औं गोल पूरा गरे ।

    यस वर्षमात्र उनले देशका लागि १४ गोल गरेका छन्। आइतबार पोर्चुगलले लक्जेम्बर्गलाई २–० गोल अन्तरले हरायो । यससँगै पोर्चुगल युरोकपमा छनोट समेत भएको छ ।

    यसै खेलमा रोनाल्डोले ९९ औं गोल गरेका हुन् । पोर्चुगलसहित इंग्ल्यान्ड पनि युरोकपमा छनोट हुन सफल भयो । आइतबार राति नै समूह ‘ए’को खेलमा इंग्ल्यान्डले कोसोभोलाई ४–० गालेले हराएको हो ।

  • नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी

    नेपालबाट फिर्ता भयो उत्तर कोरियाली लगानी

    काठमाडौं । उत्तर कोरियाली नागरिकले नेपालमा गरेको लगानी फिर्ता गरेका छन् । नेपाल सरकारको उनीहरुलाई नेपालबाट आफ्नो लगानी फिर्ता लैजान पटक पटक समय दिएको थियो ।

    अब सबै उत्तर कोरियाली लगानीकर्ताले लगानी फिर्ता लिएर नेपाल छाडिसकेको उद्योग विभागले जानकारी दिएको छ । यससँगै सरकारले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पत्र पठाउँदै नेपालबाट उत्तर कोरिायली लगानी फिर्ता गएको बताएको हो ।

    नेपालमा रहेको उत्तर कोरियाली लगानी फिर्ता पठाउन अमेरिका र राष्ट्रसंघको दवाव नेपालमाथि थियो । त्यसपछि सरकारले ताकेता शुरु गरेको हो ।

    उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमका कारण उसको लगानी विश्वभर अमान्य मानिन्छ । सोही दवाव नेपाल सरकारमाथि पनि परेको हो ।

    नेपालमा १८ करोड ६५ लाख ४९ हजार नेपाली रुपैयाँ बराबरको उत्तर कोरियाली लगानी रहेको विभागको तथ्यांक छ । आतिथ्य सेवामा उत्तर कोरियाली नागरिकले नेपालमा लगानी गरेका थिए ।

  • सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ

    सीमा मिचिएकोबारे प्रधानमन्त्रीको टिप्पणी : भारतीय सैनिक फिर्ता हुनुपर्छ

    काठमाडौं । भारतले सीमा मिचेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक सार्वजनिक कार्यक्रममा यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    सरकारले आफ्नो धारणा सार्वजनिक गरेपनि प्रधानमन्त्रीले टिप्पणी गरेको पहिलो पटक हो । उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको एक इन्च पनि भूभाग कसैले मिच्न नसक्ने उल्लेख गरे ।

    उनले कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान समेत भारत सरकारलाई आग्रह गरे । उनले यसबीचमा सर्वदलीय बैठक राखेका छन्, भने अनौपचारिक रुपमा भने कुराकानी तिब्र बनाएका छन् ।

    प्रधानमन्त्री अघिल्लो कार्यकालमा भने भारतले गरेको नाकाबन्दीमा खरो उत्रिएका थिए । यस पटक भने उनी मौन बसेको भन्दै आलोचना भएको थियो ।

    त्यसो त विगत कैयौं वर्षदेखि मिचिएको सीमा अहिले नै मिचिएको जस्तो भनी गरिएको प्रचारबाजीमा समेत प्रधानमन्त्री असन्तुष्ट देखिएका थिए ।

    आइतबार नेकपासम्बद्ध युवा संघ नेपालको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

    ‘राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा सरकारलाई सबैले बलियो साथ दिएकोमा भने उनले आभार व्यक्त गरेका छन् ।

    सरकारले कूटनीतिक संवादबाट समस्या समाधान गर्ने उनको आश्वासन थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय समूदायले पनि नेपाललाई पत्याउन थालेको र चर्चा गर्न थालेको भन्दै उनले उच्चस्तरीय भ्रमणहरु यसकै उपज भएको उल्लेख गरे ।

  • बढी कर तिर्ने १५ करदाता सम्मानित

    बढी कर तिर्ने १५ करदाता सम्मानित

    काठमाडौं । सरकारले वर्षभर सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले उनीहरुलाई सम्मान गरेका हुन् ।

    १ मंसिरमा हरेक वर्ष कर दिवसको अवसर पारी बढी कर तिर्ने करदातालाई सम्मान गर्ने प्रचलन रहेको छ । आन्तरिक राजस्व विभागले उत्कृष्ट १५ करदातालाई सम्मान गर्ने गर्छ ।

    बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा लि सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा सम्मानित भयो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाता लगातार चौथोपटक सिद्धार्थशमशेर जबरा घोषित भए ।

    डाबर नेपाल, जगदम्बा स्टिल, अन्नपूर्ण एग्रो छिमेकी लघुवित्त बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स, मणिपाल मेडिकल कलेज, वल्ड लिङ्क र अग्नि इन्कर्पोरेटले आ–आफ्नो विधामा बढी कर तिर्नेको सूचीमा परेर सम्मानीत भए ।

    तारागाउँ रिजेन्सी (हायत) होटल र मध्यमस्तरीय करदाताको तर्फबाट कामना सेवा विकास बैंक, आन्तरिक राजस्वको कार्यालयको कार्यक्षेत्रमा रही धेरै आयकर तिर्नेमा भिएस सर्भिसेस मोरिसस प्रालि सम्मानित भए ।

    समयमै कर बुझाउने तथा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनी घोराही सिमेन्ट बन्यो ।

  • सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग

    सचिन तेन्दुलकर र प्रधानमन्त्रीबीच भेट, पशुपति दर्शनमा दंग

    काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

    भेटमा उनले प्रधानमन्त्रीको स्वास्थ अवस्था बुझ्दै नेपालमा न्यानो स्वागतका लागि आभार व्यक्त गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिनलाई सुन्दर ल्याम्प पनि उपहारस्वरुप प्रदान गरेका छन् ।

    भेटपछि प्रधानमन्त्रीले टुइट गर्दै सचिनले नेपालले बाल अधिकारका बारेमा गरेका कामको प्रशंसा गरेको जानकारी गराएका छन् । ‘उनले बालअधिकारको संरक्षण र उनिहरुको हितका लागि नेपालले गरेको प्रयास प्रशंसाजनक रहेको बताए,’ प्रम ओलीको टुइटमा उल्लेख छ ।

    त्यसो त सुन्दर शहर काठमाडौंमा आउँदा आफू निकै खुसी भएको सचिनले टुइट गरेका छन् । यसैबीच आइतबार नै सचिन नेपालको चर्चित धार्मिक स्थल पशुपतिनाथ मन्दिरको दर्शनमा पुगेका छन् ।

    नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको थियो । युनिसेफको सद्भावनादूत रहेका उनी शुक्रबार नेपाल आएका हुन् । उनले शनिबार बालबालिकासँग क्रिकेट खेलेका थिए ।

  • विकास खर्च उस्तै निराशाजनक

    विकास खर्च उस्तै निराशाजनक

    काठमाडौं । विज्ञ अर्थमन्त्रीसहितको दुई तिहाईको सरकार गठन भएको करीव दुई वर्ष पुग्न लाग्यो । यसबीचमा सार्वजनिक खर्च त्यसमा पनि पूँजिगत खर्चमा निकै सुधार हुने अपेक्षा आमसर्वसाधारणले गरेका थिए ।

    तर, सरकारले आफूलाई त्यसमा अब्बल सावित गर्न सकेन् । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को तथ्यांक केलाउँदा पुँजिगत खर्चमा सरकार निकै कमजोर पाइएको छ ।

    चार महिनाको अवधिमा कूल लक्ष्यको मात्र ६.०५ प्रतिशत पुँजिगत खर्च भएको सरकारको तथ्यांक रहेको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चार महिनामा २४ अर्ब ७१ करोड रुपैयाँ पुँजिगत खर्च भएको हो ।

    यस वर्ष सरकारले कूल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजिगत खर्च गर्ने गरी बजेट छुट्याएको छ । समिक्षा अवधिमा चालु खर्च २०.५७ प्रतिशत भएको छ ।

    यस वर्ष कूल ९ खर्ब ५७ अर्ब चालु खर्चका लागि बजेट राखिएको छ । चार महिनामा १ खर्ब ९६ अर्ब ७२ करोड रुपैयाँ चालु खर्च भएको छ ।

    सरकारले चालु आवमा कूल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट खर्च गर्दैछ । यस अवधिमा राजस्व भने २२ प्रतिशत उठेको महालेखाको तथ्यांक रहेको छ ।

  • सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम

    सार्वजनिक यातायातका फोहोर सीट फेर्न अल्टिमेटम

    काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले सार्वजनिक यातायातको व्यवस्थापनमा नयाँपनः ल्याउने गरी योजनाहरु सार्वजनिक गरेको छ ।

    त्यसअन्तर्गत फोहोर सिट हटाउन व्यवसायीलाई अल्टिमेटम दिएर सुधार थाल्ने तयारी महाशाखाले गरेको छ ।

    सार्वजनिक बस, ट्याक्सीलगायतमा रहेका सीट घिनलाग्दो भएको र गाडीहरु अत्यन्तै फोहोर रहेको जनगुनासो आइरहेको छ । जनगुनासोपछि महाशाखाले व्यवसायीसँग छलफल गरी सीट फेर्न अल्टिमेटम दिने तयारी प्रहरीले गरेको छ ।

    सीटको व्यवस्थापन अस्तव्यस्त रहेको, मर्मत नभएका सीटले कपडा च्यात्नेदेखि दूर्घटना हुनेसम्मको गुनासो मानिसहरुले प्रहरीलाई टिपाउने गरेका छन् ।

    यसका साथै अब मोटरसाइकलहरुले लुकिंग ग्लास परिवर्तनगर्न नपाउने भएका छन् । काठमाडौंमा सवारी दूर्घटनामा धेरै मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।

    त्यसमा पनि लुकिंग ग्लास मोडिफाई गर्ने प्रवृत्ति बढेपछि प्रहरीले कारवाही अगाडी बढाएको हो ।

    शनिबार मात्रै ३४५ मोटरसाइकल चालक ऐना परिवर्तन गरेको कसुरमा कारवाहीको भागिदार बनिसकेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारले ट्राफिक कारवाही कडा बनाएको छ ।

  • चम्किए शरद, जीत्यो नेपालले

    चम्किए शरद, जीत्यो नेपालले

    बंगलादेश । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपालले हङकङलाई हराएको छ । यससँगै नेपालको पोल्टामा पहिलो जीत हात पर्यो ।

    भारतको २३ वर्षमुनीको टोलीसँग हारेको ज्ञानेन्द्र खड्का नेतृत्वको नेपाली टोलीले हङकङविरुद्ध भने प्रभावशाली जीत निकालेको हो ।

    शनिबार बंगलादेशमा सम्पन्न खेलमा ४० रनले विजयी भयो । हङकङलाई नेपालले २१८ रनको लक्ष्य दिएको थियो । तर, हङकङ ‍४५.५ ओभर खेल्दा १७७ रनमै समेटियो ।

    हङकङलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलरद्वय अभिनास बोहरा र करण केसीले ३–३ विकेट झारे । सुसन भारीले २ विकेट लिए ।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २१७ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रनको महत्वपूर्ण पारी खेले ।

    आरिफ शेखले ४२ रन र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडेका थिए । नेपालले समूह चरणको अन्तिम खेल २ मंसिरमा बंगलादेशसँग खेल्दैछ । यस प्रतियोगितामा नेपालका दुई महत्वपूर्ण खेलाडी पारस खड्का र सन्दीप लामिछाने भने छैनन् ।

  • विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए

    विश्वकप फूटबल खेल्ने खेलाडी रातभर ठमेलको डान्सबारमा, टीमबाट हटाइए

    काठमाडौं । आगामी ३ मंसिरमा कुवेतसँग विश्वकप छनोटको महत्वपूर्ण खेल, नेपालका लागि त्यो खेल यति महत्वपूर्ण छ की, आगामी यात्रा सहज बनाउन नेपालले खेल जित्नै पर्छ ।

    यसका लागि खेलाडीमा उच्च अनुशासन र देशका लागि ज्यानै दिन तयार हुनुपर्ने अवस्था छ । तर, शनिबारको फ्लाइटमा रहेका खेडाली शुक्रबार राती अबेरसम्म ठमेलको डान्सबारमा भेटिए ।

    जब त्यो सप्रमाण फेला पर्यो, अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल एक्सन लियो र नेपाली राष्ट्रिय फूटबल टोलीका चार चर्चित खेलाडीलाई निलम्बन गर्यो ।

    यसरी निलम्बनमा पर्नेमा विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ रहेका छन । उनीहरु अहिले राष्ट्रिय फुटबल टिमबाट निलम्बनमा परेका छन् ।

    उनीहरुले फूटबलको अनुशासनलाईै गम्भीर उल्लंघन गरेका छन् । ठमेलको नाइट क्लबमा गएर मदिराले लठ्ठ भएको अवस्थामा उनीहरुलाई फेला पारिएको हो ।

    यी चार जना खेलाडी नेपाली टोलीका पहिलो रोजाईका खेलाडी हुन् । तर, अनुशासनहिन खेलाडीको स्थानमा अब नयाँ खेलाडीले स्थान पाउने भएका छन् ।

    नेपाली फूटबल पटक पटक खेलाडीकै कारण बदनाम भइरहेको छ । विगतमा त्यसमा आँखा चिम्लने गरिन्थ्यो । अहिले भने कारवाही शुरु भएको छ । आगामी दिनमा यसमा अझ सुधार हुने अपेक्षा छ ।

  • जब क्रिकेटका भगवान त्रिवि मैदानमा उत्रिए…

    जब क्रिकेटका भगवान त्रिवि मैदानमा उत्रिए…

    काठमाडौं

    सचिन तेन्दुल्करका साथमा क्रिकेट खेल्न पाउनु, सायद यो नेपाली खेलाडीका लागि असम्भव विषय हो ।

    खेलाडीकै लागि त असम्भव कुरा अन्य आम सर्वसाधारणका लागि त निकै परको कुरा । तर, सचिन नेपाल आए, नेपाली क्रिकेटको मक्का मानिने त्रिभुवन विश्वविद्यालयको मैदानमा छिरे र १० ओभर क्रिकेट खेले । मात्र क्रिकेट खेलेनन्, उनको टोलीले उपाधी पनि जित्यो । धेरै नेपालीका लागि सपना जस्तै लाग्ने यो सम्भव गराइदिएको छ, यूनिसेफले ।

    सचिनलाई क्रिकेट दूनियामा भगवान मानिन्छ । किनकी उनले विश्व क्रिकेटलाई सवथोक दिएका छन् । उनी करोडौं क्रिकेटप्रेमीका लागि आदर्श हुन् ।

    बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले तेन्दुलकरलाई नेपाल ल्याउने चाँजोपाँजो मिलाएको हो । जब उनी कीर्तिपुर मैदान छिरे, त्यहा उपस्थित दर्शकले सचिन… सचिन… को नारा लगाएका थिए ।

    सचिनले त्रिवि मैदानमा बालबालिकासँग क्रिकेट खेले । १० ओभर निर्धारण भएको खेलको अर्को टोलीको कप्तानी नेपाली पूर्वक्रिकेटर विनोद दासले गरेका थिए ।

    पहिले ब्याटिङ गरेको दास नेतृत्वको टिमले १० ओभरमा ४४ रन जोडेको थियो । जवाफी व्याटिङमा उत्रदा सचिन ओपनिङ मै मैदान छिरेका थिए । उनी छिर्दा अन्तर्राष्ट्रिय खेलकै झल्को आएको थियो ।

    तीन ओभरसम्म खेल्दा ७ जोडेका उनी त्यसपछि अन्य बालबालिकालाई खेलको मौका दिन मैदान बाहिर निस्किए । उनलाई दर्शकले भरपुर माया दिएका थिए । खेल सचिनको टिमले ९ विकेटले जितेको थियो । सचिनले टोलीका बालबालिकालाई ब्याट, बल र फिल्ड सबैमा कसरी राम्रो गर्ने भनेर सिकाएका थिए ।

    खेलपछि आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले क्रिकेटमा निकै राम्रो प्रगति गरेको भन्दै खुसी व्यक्त गरे । उनी शुक्रबार नेपाल आएका हुन् ।

  • सिस्नेरीले मेटाउला ललितपुरवासीको तिर्खा ?

    सिस्नेरीले मेटाउला ललितपुरवासीको तिर्खा ?

    काठमाडौं । सरकारले ललितपुरको खानेपानी आपूर्ति व्यवस्थापनका लागि प्रयास थालेको छ । मेलम्ची खानेपानी आयोजनाको काम अन्तिमतर्फ पुग्दा अब काठमाडौं उपत्यकामा मकवानपुरजिल्लास्थित सिस्नेरी खोलाबाट खानेपानी आपुर्ति गर्न सकिने सम्भावनाबारे अध्ययन हुने भएको छ ।

    काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले यसको तयारी समेत थालेको छ । यस आयोजनाको सम्भाव्यता अध्ययन हुने बोर्डले जनाएको छ । मकवानपुरको सिस्नेरी र कोगटे खोलाबाट खानेपानी आयोजनाको निर्माण गरी पानी आपूर्तिको तयारी गरिएको छ ।

    शुक्रबार खानेपानी मन्त्री बीना मगरसहितको टोलीले आयोजना स्थलको स्थलगत अध्ययन समेत गरेको छ । यी दुई खोलको पानीलाई जम्मा गरी ललितपुर जिल्लामा माग अनुसार खानेपानी वितरण गर्न सकिने सम्भावना रहेको बोर्डले जनाएको छ ।

    सिस्नेरी खोलामा बाँध बाँधेर सिस्नेरी र कोगटेको पानी जम्मा गर्ने र सोही बाँधबाट ललितपुरसम्म खानेपानी आपूर्तिको योजना रहेको छ । बाँध १९० मिटर लामो र उचाई ७५ मिटर रहने प्रारम्भक अनुमान छ ।

    आयोजना स्थलदेखि १९ किमी दूरीस्थित सैंबुमा प्रशोधन गर्ने र त्यहाँसम्म पम्पका माध्यमबाट पानी तान्ने योजना बनाईको छ ।

    बोर्डका अनुसार यस आयोजनाबाट दैनिक १३ करोड लिटर पानी वितरण गर्न सक्ने सम्भावना रहेको छ । यस आयोजनालाई मेलम्चीको विकल्पका रुपमा अगाडी बढाउने योजना समेत छ ।

    मेलम्चीमा समस्या आउँदा यस आयोजनाले आपूर्ति गर्ने गरी व्यवस्थापन मिलाइने भएको छ ।

  • साउदीमा चम्किए मेसी, ब्राजिललाई अर्जेन्टिनाले हरायो

    साउदीमा चम्किए मेसी, ब्राजिललाई अर्जेन्टिनाले हरायो

    साउदी अरव । कप्तान लियोनल मेस्सीको एकमात्र गोल निर्णायक बनेपछि अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा ब्राजिललाई पराजित गरेको छ ।

    शुक्रबार राती साउदी अरेवियामा सम्पन्न खेलमा मेसीले खेलको चौथो मिनेटमै टोलीलाई अग्रता दिए । अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेसीको प्रहार ब्राजिलियन गोलकिपरले बचाएका थिए ।

    तर, उनले बल नियन्त्रणमा लिन सकेनन् । सोही बललाई गोलको पोष्ट दिँदै पुनः एकपटक मेसी ठूलो आलोचनाबाट मात्र बचेनन्, टोलीलाई महत्वपूर्ण जीत समेत दिलाए ।

    शुक्रबार अर्जेन्टिनाले दुर्ए दर्जनभन्दा बढी पटक ब्राजिलको पोष्टमा प्रहार पर्यो । तर, गोल भने हुन सकेनन् । ब्राजिलले समेत केही राम्रा अवसर गुमाएको थियो ।

    साउदी अरेबियाको किङ्ग साउद युनिभर्सिटी स्टेडियममा करीव २४ हजार दर्शकसामू विश्व फूटबलका दुई महारथी मुलुकबीच प्रतिस्पर्धा भएको हो । यससँगै अर्जेन्टिनाले कोपा अमेरिकामा ब्राजिलसँगको हारको बदलासमेत लिएको छ ।

  • आलम नख्खु जेलमा, सरकारी वकिल र न्यायाधिसले पनि जिल्ला छाडे

    आलम नख्खु जेलमा, सरकारी वकिल र न्यायाधिसले पनि जिल्ला छाडे

    काठमाडौं । रौतहटमा आलम आतंक शुरु भएको लामो समय भइसकेको थियो । मानिसहरुले आंग्रेस सांसद मोहम्मद आफताब आलमको ज्यादती सहेरै बसिरहेका थिए ।

    तर, जब उनीविरुद्ध जाहेरी दर्ता भयो, त्यसपछि कानूनि कठधरामा उनी उभिए । तर, उनको त्रास भने जिल्लामा अझै उस्तै छ ।

    शुक्रबार उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सरकारी पक्षका वकिल र न्यायाधिसले रौतहट छाडिसकेका छन् ।

    जिल्लामा वकिलहरुमात्र होइन, आलमका मान्छेले जाहेरी दिने, साक्षी र बयानकर्ताहरुलाई समेत अपहरण, धम्की, प्रलोभनमा पार्ने काम गर्दै आएका छन् ।

    सोही कारण जिल्ला अदालत रौतहटले ती सबै पक्षको सुरक्षाको ग्यारेन्टी गर्न समेत सरकारका नाममा आदेश दिएको थियो । अदालतले आलमलाई सुरक्षाकै कारण देखाउँदै रौतहटमा नराख्न भनेको थियो ।

    सोही अनुसार उनलाई शनिबार राती नै काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार उनलाई ललितपुरस्थित नख्खु जेलमा राखिएको छ ।

    पहिलो संविधानसभा निर्वाचन हुनु अघिल्लो रात १२ वर्षअघि बम विस्फोट गराएका उनले त्यहा घाइते भएका मान्छेलाई प्रमाण मेटाउन ईंटाभट्टामा जिउँदै जलाएर मारेको आरोप उनलाई लागेको छ ।

    प्रहरीको अनुसन्धानबाट पनि उनी दोषि सावित भएपछि पूर्पक्षका लाग थुनामा पठाइएको हो । उनको सांसद पद समेत निलम्बन भइसकेको छ ।

  • विश्वचर्चित क्रिकेटर सचिन नेपालमा

    विश्वचर्चित क्रिकेटर सचिन नेपालमा

    काठमाडौं । विश्वचर्चित क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आएका छन् । संयुक्त राष्ट्र संघ अन्तर्गत अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ)का सद्भावना दूत सचिन नेपाल आउने वातावरण पनि सोही संस्थाले बनाएको हो ।

    उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट शुक्रबार काठमाडौं अवतरण गरे । नेपाल आउँदा आफू खुसी भएको प्रतिक्रिया उनले विमानस्थलमा दिए ।

    सचिन र नेपालका पूर्वक्रिकेटर विनोद दासबीच शनिबार कीर्तिपुर क्रिकेट रंगशालामा मैत्रीपूर्ण क्रिकेट हुँदैछ । उनीहरुले नेतृत्व गर्ने टीममा बालबालिकाले क्रिकेट खेल्नेछन् ।

    संयुक्त राष्ट्र संघको बाल अधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलध्यमा उनी बाल अधिकारका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल आएका हुन् ।

    सचिन शनिबार राती नै भारत फर्कने कार्यक्रम रहेको छ । भारतका यी सफल क्रिकेटरको नाममा १ सय शतकको कीतिमान रहेको छ । २ दशकभन्दा लामो क्रिकेट करियरमा उनले विश्वमै दूर्लभ कैयौं रेकर्ड कायम गरेका छन् ।

  • १४ मंसिरबाट इलाममा सूर्योदय महोत्सव

    १४ मंसिरबाट इलाममा सूर्योदय महोत्सव

    काठमाडौं । इलामको सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव आयोजनाको तयारी गरेको छ । १४ मंसिरबाट ५ दिनसम्म आयोजना संचालन गर्न लागिएको शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    यो स्थान सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तब्य भित्र परेको छ । इलामको कन्याम, फिक्कल र श्रीअन्तुलाई जोडेर सर्किट निर्माण गरिएको र यसकै माध्यमबाट पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको नगरपालिकाका मेयर रणबहादुर राइले जानकारी दिए ।

    महोत्सव आयोजनामा ५० लाख खर्च हुने भएको छ । यसमध्ये नगरपालिकाले २५ लाख लगानी गर्ने कार्यक्रममा जानकारी दिइयो ।

    भारतको दार्जलिङ, सिक्किम, भुटान तथा बंगलादेशबाट समेत एकै दिनमा यस गन्तब्यसम्म आइपुग्न सकिन्छ । यस वर्ष भारतीय नगर मिरिकसँग समेत सहकार्य गरी महोत्सव ंसचालनको तयारी गरिएको छ ।

  • स्वदेश फर्किए बंगलादेशी राष्ट्रपति हमिद

    स्वदेश फर्किए बंगलादेशी राष्ट्रपति हमिद

    काठमाडौं । चार दिने नेपाल भ्रमणमा पुरा गरी बंगलादेशी राष्ट्रपति अब्दुल हमिद स्वदेश फर्किए । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिदाई गरिन् ।

    भण्डारी राष्ट्रपतिको स्वागतका लागि समेत विमानस्थलमा पुगेकी थिइन् । मंगलबार काठमाडौं आएका उनले अन्तिम दिन चन्द्रागिरि र पाटन जाने कार्यक्तम रहेपनि स्वाथ्यमा खराबी आएपछि स्थगित गरे ।

    उनको टोलीका अन्य सदस्य भने चन्द्रागिरि पुगेका छन् । राष्ट्रपतिले मंगलबार भक्तपुर दरबार स्क्वायर अवलोकन गरेका थिए।

    बुधबार राजनीतिक भेटघाट सकेका उनले बिहीबार भने पोखराको वातावरणमा रमाएका थिए । राष्ट्रपतिको सवारीका बेला भने काठमाडौंको सडक र आकास दुबैमा बाक्लो ट्राफिक जामको सामाना सर्वसाधारणले गर्नु परेको छ ।

  • सन्दीप फेरी पनि दिल्लीबाटै आईपीएल खेल्ने

    सन्दीप फेरी पनि दिल्लीबाटै आईपीएल खेल्ने

    काठमाडौं । स्टार खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटलले आगामी सिजनको आइपीएलका लागि समेत निरन्तरता दिएको छ । दिल्लीले आफ्नो टीमबाट यसपटक पनि सन्दीपलाई रिलिज गरेन ।

    यससँगै उनी लगातार तेस्रो वर्ष दिल्लीबाटै आइपीएल खेल्ने भएका छन् । आइपीएल खेल्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । दिल्लीका भरपर्दा लेगस्पीनर सन्दीपले अहिले विश्वका सबैजसो लीगमा निक्र राम्रो मूल्यमा स्थान पाइरहेका छन् ।

    दिल्लीले शुक्रबार टीमको पहिलो सेट सार्वजनिक गरेको छ । जहाँ तीन जना विदेशी र ११ जना भारतीय खेलाडी छन् । सन्दीपका साथै कागिसो रबाडा र केमो पल विदेशी खेलाडी हुन् ।

    सन्दीपले पहिलो पटक २०१८ को आइपीएलमा डेब्यू गरेका हुन् । सन् २०१९ मा सोही क्लवबाट प्रतिस्पर्धा गरेका उनी तेस्रो पटक दिल्लीको मूख्य खेलाडीका रुपमा मैदानमा उत्रने भएका छन् ।

  • भलिबल खेलाडी चेलीलाई विमानस्थलमा भब्य स्वागत, जनही ३ लाख पुरस्कार

    भलिबल खेलाडी चेलीलाई विमानस्थलमा भब्य स्वागत, जनही ३ लाख पुरस्कार

    काठमाडौं । देशका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधी जितेर नेपाल फर्किएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

    बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टोली शुक्रबार स्वदेश फर्किएको हो ।

    टोलीका प्रत्येक सदस्यलाई नगद तीन लाख पुरस्कार घोषणा गरेको राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र नेपाल भलिबल संघका खेलाडीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

    यो प्रदर्शनले नेपाली टोली उत्साहित पनि देखिएको छ । किनकी केही समय भित्रै नेपालले घरमै १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रतिस्पर्धा गर्नेछ ।

    आफ्नो कप्तानीमा नेपाललाई उपाधी जिताउन पाँदा खुसी लागेको प्रतिक्रिया कप्तान अरुणा शाहीले दिएकी छिन् ।

    यस प्रतियोगितामा नेपालले एउटा पनि खेल नहारी उपाधी चुमेको हो । यो उपाधी नेपालका लागि ऐतिहासिक थियो । किनकी नेपालले अहिलेसम्म महिला भलिबलमा त्यो सफलता पाउन सकेको थिएन् ।

  • रिहा भए उद्योगी रुप ज्योति

    रिहा भए उद्योगी रुप ज्योति

    काठमाडौं । ठगिको आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती रिहा भएका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएका उनलाई प्रहरीले रिहा गरेको हो ।

    उनीविरुद्ध मुद्दा नचलाउने निष्कर्षमा पुग्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले शुक्रबार हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेख्यो ।

    लगत्तै उनलाई प्रहरीले रिहा गरेको हो । मुद्दा नचल्ने कसुरमा थुनामा राख्न नमिल्नै प्रावधान रहेको छ । अब उनको मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले अन्तिम निर्णय दिनेछ ।

    ठगी मुद्दा दायर गर्ने व्यक्तिले नै जाहेरी फिर्ताको पत्र प्रहरीमा बुझाएका कारण उनीविरुद्ध मुद्दा नचल्ने भएको हो । स्रोतका अनुसार लेनदेनमा कुरा मिलेपछि मुद्दा फिर्ता लिने सहमति भएको हो ।

  • अदालतले आलमलाई पठायो जेल, सांसद पद निलम्बन

    अदालतले आलमलाई पठायो जेल, सांसद पद निलम्बन

    रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

    न्यायाधीश दीपक ढकालको इजलासले आलम आरोप अस्वीकार गरेपनि प्राप्त प्रमाणका आधारमा उनी निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको छ ।

    कसुरको प्रकृति, गम्भीरता र बादीको साक्षी प्रमाणमा पर्न सक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै अदालतले आलमलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने आदेश गरेको हो ।

    अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार रौतहट चलान गरिएको छ । यद्दपी अदालतले सुरक्षाको कारण देखाउँदै जिल्ला कारागार रौतहटमा भने नराख्न सुझाव दिएको छ ।

    साक्षी बकपत्र र मुद्दाको पूर्पक्षको समयमा अदालतमा अनिवार्य उपस्थित गराउने शर्तमा उपयुक्त कारागारमा स्थानान्तरण गर्न अदालतले अनुमति समेत दिएको छ ।

    अदालतले जाहेरवाला, पीडित र सरकारका साक्षीहरुलाई संरक्षण गृहमा राखेर संरक्षण गर्न समेत आदेश दिएको छ ।

    खासगरी आलमका मान्छेले जाहेरी दिने मानिसहरुलाई हपरहण गर्ने, धाक धम्की र प्रलोभनमा पारी अदालती प्रक्रियालाई प्रभावित पार्न खाजेका थिए ।

    रौतहट बम विस्फोटका घाइते गौरीशंकर दास चमारलाई आलमका मान्छेले अपहरण गरी चार दिनसम्म बन्धक बनाएर बयान फेर्न लगाएको भिडियो सार्वजनिक भएको थियो । चमारले सुरक्षा माग गर्दै निवेदन दिएका छन् ।

    संविधानसभा निर्वाचनको अघिल्लो रात २७ चैत २०६४मा राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जिँउदै जलाएर मारेको आरोपमा आलमलाई २६ असोजमा पक्राउ गरिएको हो ।

    आलम पूपक्षका लागि जेल चलान भएसगै उनको सांसद पदसमेत निलम्बनमा परेको छ ।

  • विदेशमा असुरक्षित नेपाली, तीन महिनामा १८४ शव नेपाल आए

    विदेशमा असुरक्षित नेपाली, तीन महिनामा १८४ शव नेपाल आए

    काठमाडौं । विदेशमा नेपालीहरुको ज्यान जाने क्रम बढ्दो क्रममा रहेको छ । एक त असुरक्षित काम र अर्कोतर्फ जनसंख्यासमेत विदेशमा बढ्दै जाँदा मृत्यु भई नेपाल भित्राउने शवको संख्यासमेत बढ्दै गएको छ ।

    वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म)मा विश्वका विभिन्न मुलुकमा १८४ जना नेपालीको निन भएको छ ।

    बोर्डले कामको सिलसिलामा पगेर विदेशमा ज्यान गुमाउने नेपालीलाई क्षतिपूर्ती समेत दिने गरेको छ । यसअविधमा १७१ मृतकका परिवारले क्षतिपूर्ति पाइसकेको बोर्डको तथ्यांकमा उल्लेख छ ।

    मृतकको घरसम्मै शव पुर्याउने जिम्मा पनि यही बोर्डको हुन्छ । यसका लागि बोर्डले पूर्व तयारी नै गरेको हुन्छ । बोर्डका अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषबाट मृतकका परिवारलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध हुन्छ ।

    त्यसबाहेक बीमा रकम समेत प्राप्त हुने गरेको छ । बीमा पाउन भने कल्याणकारी कोष र आवधिक जीवन बीमाको प्रक्रिया मात्र विदेश गएको हुनु पर्ने प्रावधान रहेको छ ।

    अघिल्लो आर्थक वर्ष २०७५ ७६ को अवधिमा ७ सय ५३ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिलाएको तथ्यांक रहेको छ ।

    यसमा विदेशमा विद्यार्थी भिसामा वा भ्रमण भिषामा जानेहरुको भने तथ्यांक जोडिदैन ।

    तथ्यांकअनुसार विदेशमा ज्यान गुमाउने नेपालीहरु धेरैजसो ताप्लेजुङ, पाँचथर, इलाम, सर्लाही, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, सिराहा रुपन्देही, नवलपरासी, खोटाङ, गुल्मी, नवलपरासी, रोल्पालगायतका जिल्लाका छन् ।

    नेपालबाट अहिले दैनिक १५ सय हाराहारी नेपाली कामको खोजिमा विदेश जाने गरेको अनुमान छ ।

    विदेशमा मात्र ४५ लाख हाराहारी यूवा रहेको बताइएको छ । जसले गर्दा विदेशमा औसतः दैनिक २ जना नेपालीले ज्यान गुमाउने गरेको देखिएको छ ।

  • बंगलादेशका राष्ट्रपति पाटन र चन्द्रागिरिमा, आजै स्वदेश फर्कने

    बंगलादेशका राष्ट्रपति पाटन र चन्द्रागिरिमा, आजै स्वदेश फर्कने

    काठमाडौं बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणको अन्तिम दिन आज नयाँ गन्तब्य चन्द्रागिरि भ्रमणमा पुग्दैछन् ।

    त्यहा करीव २ घण्टा बिताएपछि ललितपुरस्थित पाटन दरवार स्क्वायरको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । कम राजनीतिक र बढी बिदा प्रयोजनमा नेपाल आएका उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार नेपालबाट करस्व ५ बजे बंगलादेशको ढाका फिर्ता हुने कार्यक्रम रहेको छ । उनको फिर्ती सवारीका बेला नेपालको सडक र आकासमा भने ट्राफिक चाप बढ्ने छ ।

    राष्ट्रपतिको विदाईमा विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी पुग्नेछिन् । उनको स्वागतमा समेत भण्डारी विमानस्थल पुगेकी थिइन् ।राष्ट्रपति हमिद मंगलबार नेपाल आएका हुन् ।

    बुधबार राजनीतिक भेटघाटमा व्यस्त उनी बिहीबार भने ोखरा भ्रमणमा पुगेका थिए । पोखरा पुगेर उनले नेपालको खुलेर प्रशंसा गर्दै नेपालीलाई भाग्यमानीको संज्ञा दिएका थिए ।