Author: Vishwanews.com

  • नेपाल-भारत सीमा विवाद, एकै दिन दुई समितिमा छलफल

    नेपाल-भारत सीमा विवाद, एकै दिन दुई समितिमा छलफल

    काठमाडौं । प्रतिनिधिसभाका दुई समितिले सोमबार नेपाल र भारतको सीमा विवादका सम्बन्धमा छलफल गरेका छन् । राज्य ब्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलमा बोलाएको थियो । तर, उनी समितिमा पुगेनन् ।

    उनको स्थानमा भूमिव्यवस्था मन्त्री पदमा अर्याल उपस्थित भएर सांसदहरुको जिज्ञासा मेटाउने प्रयास गरिन् । सोमबार नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यस विषयमा छलफल गर्यो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उपस्थित भए ।

    दुबै समितिमा मन्त्रीहरुले नेपालको भूमि रक्षाका लागि कटिबद्व रहेको भन्दै भारतसँग कुनै पनि प्रकारको सम्झौता नहुने बताए । सांसदहरुले भने सरकारलाई सीमा नाकामा पर्खाल लगाउनेदेखि सेना परिचालन गरी सीमा रक्षा गर्नुपर्ने सम्मका सुझाव दिएका थिए ।

    भारतबाट भइरहेको हस्तक्षेपलाई सदाका लागि बन्द गर्ने वातावरण बनाउन सरकारले पहल गर्नु पर्ने सांसदहरुको सुझाव थियो ।

    नेकपाका सांसद मोहन बानियाँले भारत र बंगलादेशमा सीमामा काँडेतार भएको, अमेरिका र मेक्सिको सीमामा पर्खाल भएको भन्दै नेपालले पनि त्यसतर्फ विकल्प खोज्नु पर्ने बताए ।

    सांसद अग्नि सापकोटाले मातृभूमि रक्षा गर्न सबै विकल्प खुला हुनु पर्ने बताए । कांग्रेस सांसद पुष्पा भुसालले सीमा समस्या समाधान गर्न सरकारको तत्परतामा कमी देखिएको टिप्पणी गरिन् ।

    सांसदहरुले संसदीय समितिका विगतका निर्देशन पालना नगर्दा समेत समस्या बेला बेला बल्झने गरेको भन्दै सरकारलाई सचेत गराएका छन् ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री हुँदा सीमा समस्या ९८ प्रतिशत भन्दा बढी समाधान भएको स्मारण गरे ।

    यसैबीच, राज्य व्यवस्था समितिले लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भने कुनै निर्णय गरेन ।

    राज्य व्यवस्था समितिको सोमबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भए । तर, उनले धारणा भने राखेनन् ।

  • ओमानसँग श्रम सम्झौताको तयारी

    ओमानसँग श्रम सम्झौताको तयारी

    काठमाडौं । नेपाल र ओमानबीच श्रम सम्झौता हुने भएको छ । नेपालबाट शून्य लागतमा कामदार ओमान जान सक्ने गरी सम्झौताको तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय नेपालले रोजगारदाता मुलुकसँग श्रम सम्झौतालाई उच्च प्राथमिकता दिएको छ । यसबाट कामदारको सुरक्षा र पारिश्रमिकको ग्यारेन्ट गर्छ । उनीहरुको लागत पनि कम हुन्छ ।

    नेपालले मन्त्रिपरिषद्बाट श्रम सम्झौताको प्रस्ताव पास गरी ओमान पठाएको मन्त्रालयले जनाएको छ । ओमानमा घरेलु कामदारलाई निषेध गर्ने र दक्ष तथा अर्धदक्ष कर्मचारी पठाउने गरी सम्झौता हुने छ ।

    सम्झौताका लागि ओमानी पक्षलाई नेपाल बोलाइने भएको छ । नेपालले अहिलेसम्म ८ मुलुकसँग श्रम सम्झौता गरिसकेको छ ।

  • राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना

    राँगा भैसीका हाड-छाला जलाउनेमाथि जरिवाना

    काठमाडौं । काठमाडौंमा काटिएका राँगा भैसीको हाड र छाला बोरामी हाली जलाएर काठमाडौंमा दूर्गन्ध फैलाएका तीन जनालाई नगद जरिवाना तिराएर छाडिएको छ ।

    उनीहरु अघिल्लो साता पक्राउ परेका थिए । तीनै जनालाई ललितपुर महानगरपालिकाले १२ हजार जरिमाना तिराएको हो ।

    नगदसहित आगामी दिनमा सोही प्रकारका गतिविधि दोहोर्याएमा कडा सजाय हुने शर्तसमेत राखिएको छ ।

    राजेश शेर्पा, शाजिद मुस्लिम र फेसल मुस्लिमलाई नगद जरिवाना र शर्त राखेर रिहा गरिएको हो ।

    काठमाडौंका केही चोकमा कडा गन्धसहित धुवाले राती सुत्न मुस्किल हुने गरेको गुनासो पछि प्रहरीले खोजी थालेको थियो । त्यसक्रममा उनीहरु पक्राउ परेका थिए ।

  • डा. केसीको स्वास्थ बिग्रिदै

    डा. केसीको स्वास्थ बिग्रिदै

    काठमाडौं । डडेल्धुरा पुगेर अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रदै गएको छ । जिल्ला अस्पताल डडेलधुराले केसीको सस्थ अवस्था जटिल बन्दै गएको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको छ ।

    केसीको स्वास्थ्यमा समस्या आइसकेको भन्दै डडेल्धुरा जिल्ला अस्पतालले सुविधा सम्पन्न ठाउँमा लैजाने सुझाव दिएको हो । अस्पतालका अनुसार केसीको ब्लड प्रेसर घटेको छ । जसले गर्दा मुटुको चालमा बढ्न थालेको छ ।

    रगतमा अक्सिनको मात्रा घटेको छ भने मृगौलामा समेत समस्या देखिएको छ । अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै केसीको स्वास्थ अवस्थाबारे अपडेट गराएको हो ।

    केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बनेको र चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बेला अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालले स्पष्ट पारेको छ ।

    जिल्ला अस्पतालमा थप उपचारमा आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण नहुँदा समेत समस्या हुन अस्पतालको स्पष्टिकरण छ । केसी अघिल्लो सोमवारदेखि डडेलधुरामा पुगेर अनसन बसेका छन् ।

  • रुप ज्योती भन्छन्, ‘परिवारलाई नै फसाउन खोजियो’

    रुप ज्योती भन्छन्, ‘परिवारलाई नै फसाउन खोजियो’

    काठमाडौं । उद्योगपति डा. रुप ज्योतीले आफू र आफ्नो परिवारलाई फसाउन नियोजित रुपमा लागिएको बताएका छन् ।

    आफूमाथि लागेको आरोपको अस्वीकार गर्दै अमेरिकामा बस्ने छोरीलाई समेत मुद्दा हालेर नियोजित रुपमा बदनाम गर्न खोजिएको उनको भनाई छ ।

    आइतबार जिल्ला अदालत काठमाडौमा उपस्थित गराइएका उनले बदनाम गराउने उद्देश्यबाटै आफुमाथि नियोजित प्रहार भइरहेको बताए । उनले वकिल नराखी अदालतमा आफै बहस गरेका थिए ।

    ज्योतीलाई प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रेको थियो । उनी सिंगापुरबाट नेपाल आउँदै गर्दा पक्राउ परेका हुन् ।

    विगेन्द्रकृष्ण मल्लले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    ज्योतीले वहसमा वकिल नराखी वहस गरेका थिए । उनले ज्योति ग्रुपको इज्जत र प्रतिष्ठमाथि बलात्कार भइरहेको समेत बताए ।
    आफूलाई पक्रनु पर्ने कुनै कारण नभएको जिकिर गर्दै उनले सिंगापुरमा छँदै आफू पक्राउ पर्ने खबर पाइसकेको बताए ।

    तर, अदालतबाट न्याय पाउने आशामा आफू नेपाल आएको उनले बताएका छन् । घरबाट ननिस्कने एक जना बहिनीलाई पनि ठगिको जाहेरी परेको भन्दै उनले कसरी ठगिन भन्दै उनले प्रश्न गरेका छत् ।

    वहसपछि न्यायाधीशले रूप ज्योती र उनकी छोरी सुरूचीलाई हिरासतमै राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद दिएका छन्।

  • प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण

    प्रत्येक नेपालीका टाउकोमा साढे ३६ हजार ऋण

    काठमाडौं । नेपालले आन्तरिक तथा बाह्य निकायसँग लिएको सार्वजनिक ऋण करीव ११ खर्ब रुपैयाँ पुगेको छ ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र १८ अर्ब रुपैयाँले ऋण बढ्दा प्रतिनेपालीको हिस्सामा पर्ने ऋण समेत बढेको हो ।

    आंकडा अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सरकारले आन्तरिक तथा बाह्य गरी कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ ऋण लिएको छ ।

    साथै ऋणको ब्याज र सावाँ भुक्तानीवापत ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ भुक्तानीसमेत गरेको छ । यस अनुसार तीन महिनामा १८ अर्ब ११ करोड रुपैयाँले ऋण बढेको हो ।

    नेपालको कुल सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९३ करोड पुग्दा प्रति नेपालीको भागमा ३६ हजार ५ सय २५ रुपैयाँ पर्न जान्छ । यद्दपी यस्तो ऋण व्यक्तिले भने तिर्नु पर्दैन् ।

    नेपालको सार्वजनिक ऋणमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड आन्तरिक ऋण हो भने ६ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँ विदेशी दातालाई तिर्नुपर्ने ऋण हो ।

    तीन महिनामा भने सरकारले विदेशी बहुराष्ट्रिय दाताबाट १८ अर्ब ९ करोड ३७ लाख रुपैयाँ ऋण लिएको छ । द्विपक्षीय दाताबाट भने ५ अर्ब ३ करोड ९८ लाख रुपैयाँ ऋण लिइएको छ ।

    २६ करोड ५ लाख रुपैयाँ आन्तरिक ऋण उठेको छ । यस अवधिमा नेपालले सबैभन्दा बढी ऋण विश्व बैंकबाट लिएको छ । यस संस्थाबाट ११ अर्ब ८७ करोड रुपैयाँ ऋण लिएको छ ।

    एसियाली विकास बैंकबाट ६ अर्ब २१ करोड रुपैयाँ ऋण लिएको छ । भारतबाट २ अर्ब ३३ करोड ९१ लाख ऋण आएको छ ।

  • तस्करी बढेपछि सुनचाँदीको भन्सार बढ्यो

    तस्करी बढेपछि सुनचाँदीको भन्सार बढ्यो

    काठमाडौं । सरकारले सुन र चाँदीको भन्सार दर बढाएको छ । भातरमा भन्दा नेपालमा सुन चाँदी सस्तो हुँदा भारततर्फ हुने अवैध तस्करीलाई निरुत्साहित गर्न यस्तो कदम चाल्नु परेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

    मन्त्रालयका अनुसार सुनमा प्रति दशग्राम ५ हजार रुपैयाँबाट बढाएर ६५ सय रुपैयाँ भन्सार कायम गरिएको छ । चाँदीमा प्रति दशग्राम ५६ रुपैयाँबाट ७५ रुपैयाँ पुर्याइएको छ ।

    यसै त अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेको सुन चाँदीको मूल्य नेपालमा अझै बढी हुने भएको छ । किनकी भन्सार दरले बजार भाउमा असर गर्छ । नेपालबाट धेरै सुन भारतमा तस्करी हुन्छ ।

    लीगल रुपबाट आएको सुन पनि भारततर्फ जान थालेपछि सरकारले भन्सार बढाएको हो । सुनको अवैध कारोबार भई भारततर्फ निकासी नहोस भनेर मूल्य बढाउनु परेको मन्त्रालयको भनाई छ ।

    दशैंको बेला एकाएक सुनको माग बढेपछि त्यो सुन भारततर्फ अवैध रुपमा गएको आंशका गरिएको छ । तर, तीजको समयमा भने सुनको माग पुरै घटेको थियो । सुनको मूल्यलाई अन्तराष्ट्रिय बजार मूल्यले ठूलो प्रभाव पार्छ ।

  • उपनिर्वाचनको तयारी अन्तिम चरणमा, आज नामावली प्रकाशन

    उपनिर्वाचनको तयारी अन्तिम चरणमा, आज नामावली प्रकाशन

    काठमाडौं । निर्वाचन आयोगले १४ मंसिरमा निर्धारित उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।

    यसै सिलसिलामा आइतबार सबै दलका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । अपरान्ह ३ बजेदेखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुँदैछ ।

    निर्वाचन आयोगका अनरसार अन्तिम नामावली प्रशासन गर्नु अगाडी कुनै उम्मेदवारले नाम फिर्ता लिने भए त्यसका लागि समेत समय छुट्याइएको छ । मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली भने शनिबार नै प्रकाशन गरिएको थियो।

    आज भने अन्तिम नामावलीको टुंगो लाग्ने छ । उपनिर्वाचनमा उमेदवार बनेका कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेपछि जाँचबुझ बीना नै नामावली प्रकाशन भएको छ ।

    १४ कात्तिकमा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ एक, प्रदेशसभा सदस्यमा ३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदमा निर्वाचन हुने छ ।

  • मेसीको ह्याट्रिकमा बार्सिलोनाको रवाफिलो जीत

    मेसीको ह्याट्रिकमा बार्सिलोनाको रवाफिलो जीत

    बार्सिलोना । स्पेनिस लालिगा फुटबलमा कप्तान लियोनल मेसीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले सेल्टा भिगोमाथि जीत निकालेको छ । यस जीतसँगै बार्सिलोना लीगको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

    शनिबार राति बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हराएको हो । मेसीले दुई फ्रिकीकलाई गोल पोष्टको दिशा दिए । एक गोल भने पेनाल्टीमा गर्दै ह्याट्रिक पुरा गरे ।

    २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । सेल्टा भिगोले ओलाजाको गोलमार्फत ४२ औ मिनेटमा खेल बराबरीमा ल्यायो ।

    पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दे मेसीले पुन बार्सिलोनालाई अग्रता दिलाए । ४८ औ मिनेटमा फ्रिकिक मार्फत ह्याट्रिक पुरा गरे ।

    सर्जियो बुस्केटले ८५ औ मिनेटमा अर्को गोल थप्दै बासिंलोनालाई ४–१ को अवस्थामा पुर्याए ।

    शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानको रियल म्याड्रिडको समान अंक छ, तर, गोल अन्तरमा बार्सिलोना अगाडी छ ।

  • प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी

    प्रधानमन्त्रीका सल्लाहकारहरुबाट सामुहिक राजिनामाको तयारी

    काठमाडौं । सचिवालय तथा सल्लाहकारहरुको कामप्रति प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरु फेरिने भएका छन् ।

    सचिवालयका वर्तमान सदस्यले सामूहिक राजीनामाको तयारी गरिरहेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीका मूख्य सल्लाहकार विण्णु रिमालसहित विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अली रहेका छन् ।

    उनीहरुले अहिले आफ्नो जिम्मेवारी त्यागेर प्रधानमन्त्रीलाई सहजीकरण गर्न लागेको बताइएको छ । सदस्यरुले स्वच्छिक रुपमा राजिनामाको तयारी भनेपनि उनीहरुको कामबाट प्रधानमन्त्री सन्तुष्ट नभएपछि प्रधानमन्त्री स्वयमले बाटो क्लियर गर्न सुझाव दिएका थिए ।

    प्रधानमन्त्री अग्रगामी सोँचका साथ अगाडी बढ्न चाहने तर, सचिवालयले त्यसमा साथ दिन नसकेपछि उनी असन्तुष्टी थिए ।

    प्रधानमन्त्री मन्त्रीपरिषद्का कतिपय सदस्यसँग पनि सन्तुष्ट छैनन् । केही दिनमै मन्त्रीपरिषद् पुनर्गठनको समेत सम्भावना रहेको बताइएको छ ।

  • बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

    बंगलादेशका राष्ट्रपति नेपाल आउँदै

    काठमाडौं । बंगलादेशका राष्ट्रपति राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपालको चार दिने भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

    राष्ट्रपतिले २६ देखि २९ कात्तिकसम्म नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनलाई चिनियाँ राष्ट्रपतिलाई जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मै औपचारिक गार्ड अफ अनर प्रदान गरिने भएको छ । उनले नेपालमा रहँदा समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

    राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी र प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्ने भएकी छिन्।

    बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै भेट गर्ने र्कात्रम तय भइसकेको मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति पोखरा समेत पुग्नेछन् । यसबाहेक काठमाडौं आसपासका महत्वपूर्ण सम्पदामा पुगी अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

  • आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?

    आफ्नै सचिवालयसँग किन रुष्ट छन् प्रधानमन्त्री ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्रीको निजी सचिवायलका कर्मचारी र सल्लाहकारहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा उनी सचिवालय र सल्लाहकारहरुको कामबाट असन्तुष्ट देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

    उनले आफ्नो गति अनुसार हिड्न नसक्ने कर्मचारी र सल्लाहकारलाई राजिनामा गर्न समेत सुझाएका छन् । प्रधानमन्त्री स्वास्थ्योपचार गरी घर फर्किएसँग केही अनुभूति हुने गरी काम गर्ने प्रयासमा छन् ।

    उनी आक्रामक पनि देखिएका छन् । तर, आफ्नै सचिवालयको कार्यशैली र गतिबाट भने उनी संतुष्ट हुन नसकेको बताइएको छ । सोहीकारण उनले यस्तो सुझाव दिएका छन् ।

    सरकारको कार्यशैलीका कारण जनतामा असन्तुष्टी मात्र पैदा भएको छैन, स्वयमः प्रधानमन्त्री ओलीको लोकप्रियतामा भने प्रश्न उठ्न थालेको छ ।

    यस्तो अवस्थामा प्रधानमन्त्रीले आफ्नो स्वभावअनुसार काम गर्न चाहनु र त्यसमा उनको टीमले साथ नदिँदा अवश्य असन्तुष्टी देखिन सक्छन् ।

    त्यसो त सल्लाहकारहरुले केही दिनमै ठूलै परिवर्तन हुने संकेत विभिन्न संचारमाध्यमबाट गरिसकेका छन् । उनीहरुले सचिवालयको फेरफेर सामान्य भएको समेत प्रतिक्रिया दिएका छन् ।

    प्रधानमन्त्रीले केही मन्त्रीहरुसमेत हेरफेर गर्न चाहेका छन् । तर, दुई पार्टी मिलेर बनेको नेकपा भित्रको समिकरण मिलाउनु पर्ने भएका कारण उनी एकलौटी निर्णयबाट यसो गर्न पनि सक्दैनन् ।

  • बालुवाटारबाट नेताहरुको सन्देश, कालापानी नेपालकै हो

    बालुवाटारबाट नेताहरुको सन्देश, कालापानी नेपालकै हो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेको विषयमा समान धारणा बनाउन सर्वपक्षिय बैठक राखेका छन् ।

    बालुवाटारमा सम्पन्न बैठकमा नेताहरुले यस विषयमा समान धारणा बनाउने प्रयास गरेका छन् । नेताहरुले कालापानी नेपालको भूभाग हो भन्नेमा विवाद नरहेको भन्दै कूटनीतिक तवरबाट समस्या सुल्भाउन सरकारलाई सुझाव दिएका छन् ।

    यसका लागि तत्काल भारतसँग वार्ता गर्नुपर्ने नेताहरुको सुझाव थियो । भारतले अघिल्लो शनिबार जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई भारतको भूभाग भन्दै समटेको थियो ।

    नक्सा सार्वजनिक भएपछि नेपालमा भने व्यापक विरोध जारी छ । खासगरी नागरिकस्तरबाटै भइरहेको विरोधमा राजनीतिक पार्टीहरुको पनि ऐतिवद्धत्ता रहेको छ ।

    यस विषयमा सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । विपक्षी दल कांग्रेस र अन्य पार्टीले पनि भारतको विरोध गरेका छन् ।

  • स्व. रवीन्द्र अधिकारीको ट्वीटर अब विद्याले चलाउने

    स्व. रवीन्द्र अधिकारीको ट्वीटर अब विद्याले चलाउने

    काठमाडौं । स्व. नेता रवीन्द्र अधिकारीको ट्वीटर ह्याण्डिल अब पत्नि विद्या भट्टराईले आफ्नो नाममा चलाउने भएकी छिन् । उनले शुक्रबाट यसको औपचारिक जानकारी ट्वीट गर्दै गराएकी छिन् ।

    पाथिभरा देविको दर्शन सकेर काठमाडौं फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेपछि पर्यटन मन्त्री रहेका अधिकारीको १५ फागुन २०७५ मा निधन भएको थियो ।

    उनकी पत्नी अहिले अधिकारीले जितेको निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा सत्तारुढ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रतिस्पर्धा गर्दैछिन् । रवीन्द्रको निधनपछि यो अकाउन्ट निष्कृय थियो ।

    शुक्रबार विद्याले यस अकाउन्टलाई अपटेड गरेकी छिने । यस अकाउन्टमा ८० हजार जनाले फलो गरेका छन् । नाम परिवर्तन गरी विद्या भट्टराई राखिएको छ । अब विद्याले आफ्नो चुनावी अभियानका गतिविधि समेत यसै ह्याण्डिलमा राख्न थालेकी छिन् ।

    उनले लेखेकी छिन्, ‘प्रिय रवीन्द्र जीले व्यक्तिगत तथा सार्वजनिक रुपमा यहाँहरुसँग सामिप्यमा रहन प्रयोगमा ल्याउनु भएको यो ट्वीटर ह्यान्डललाई आजदेखि मैले प्रयोगमा ल्याएकी छु। हामीले रवीन्द्रजीलाई गुमाउँदै गर्दा उहाँले देखेका सपना र योजनालाई अगाडि बढाउँन यहाँहरुका सुझाब सल्लाह महत्वपूर्ण हुने विश्वास छ ।’

    रवीन्द्र सामाजिक संजालमा एक लोकप्रिय नेता थिए । उनी हरेक सार्वजनिक महत्वका विषयमा खुला बहसमा रहने गरेका थिए । त्यसकारण पनि उनी लोलप्रिय बनेका थिए ।

  • टुँडिखेल जनताले घेरे, अतिक्रमण हटाउन दवाव

    टुँडिखेल जनताले घेरे, अतिक्रमण हटाउन दवाव

    काठमाडौं । टुँडिखेललाई रज्यकै निकायले अतिक्रमण गरेको भन्दै शनिबारबाट दवावमुलक कार्यक्रम शुरु भएको छ । अतिक्रमण हटाई टुँडिखेलको पुरानै स्वरुप कायम गर्न माग गर्दै शनिबारबाट नागरिक अभियन्ताको सक्रियतामा ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भयो ।

    यस अभियानमा खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लोले घेरिएको छ । यस अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले साथ दिएका छन् । कांग्रेस नेता गगन थापा पनि अभियानमा सहभागी भएका छन् ।

    टुँडिखेललाई नेपाली सेनासहित अन्य सरकारी निकायले कब्जा गरेर राखेका छन् । खाली जग्गालाई पनि सरकारी निकायले नै भाडामा निजी क्षेत्रको जिम्मा दिएर दोहन गरिरहेका छन् । जसले गर्दा अहिले खुलामन्च कुरुप बनेको छ । खाली जग्गा भने अतिक्रमणका कारण मासिएको छ

  • आजदेखि अकुपाई टुँडिखेल अभियान शुरु, हातेसांलोले खुलामञ्च घेरिने

    आजदेखि अकुपाई टुँडिखेल अभियान शुरु, हातेसांलोले खुलामञ्च घेरिने

    काठमाडौं । अतिक्रमणका कारण खुम्चिएको खुलामञ्च खाली गराई सरंक्षणमा दवाव सिर्जना गर्न अभियान शुरु हुँदैछ । अकुपाई टुँडिखेल नामक उक्त अभियान शनिबारबाट शुरु हुन लागेको छ ।

    रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई खाली गरी खुला क्षेत्रका रुपमा संरक्षण गर्न दवाव सिर्जना गर्ने उद्देश्यले यो अभियान प्रारम्भ भएको हो ।

    नागरिक अभियानकर्मीले यो अभियानको नेतृत्व गरेका छन् । जहाँ सर्वसाधारणको स्वतस्फूर्त सहभागिता हुने अपेक्षा गरिएके छ ।

    आयोजकका अनुसार अकुपाई टुँडिखेलमा करीव ३ हजार मानिसको हाते सांलोले टुडिखेललाई घेर्ने कार्यक्रम रहेको छ । शनिबारबाट शुरु यो अभियान हरेक शनिबार सञ्चालन हुने भएको छ ।

    काठमाडौंमा खुला स्थान खुम्चिदै गएको सन्दर्भमा सरकारी जग्गालाई समेत सरकारी निकायले अतिक्रमण गरी खुम्चाउँदै गएपछि सार्वजनिक खुला जग्गाको संरक्षणमा दवाव दिन यो अभियान थालिएको हो ।

    जुन निकायले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने हो, सोही निकायबाट दोहन भएको भन्दै त्यसको विरोधमा अभियान प्रारम्भ भएको अभियन्ताहरुको भनाई रहेको छ ।

    यस अभियानमा काठमाडौं उपत्यकाका मेयरको भने असहमति छ । उनी यस अभियानलाई राजनीतिक उद्देश्यबाट प्रेरित अभियान ठान्छन् ।

  • डा. केसीलाई जिल्ला अस्पताल लगियो

    डा. केसीलाई जिल्ला अस्पताल लगियो

    डडेलधुरा । अनसनरत डा. गोविन्द केसीलाई अस्पतालमा सारिएको छ । स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएपछि उनलाई शुक्रबार अनसनस्थलबाट अस्पतालमा सारिएको हो ।

    उनी जिल्ला अस्पताल नजिकै रहेको एक घरमा अनसन बसेका थिए । उनी बसेको घरमा निजी क्लिनिक रहेको छ । नेपालको चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग गर्दै उनी १७ औं पटकको अनसनमा बसेका छन् ।

    सरकारले विगतमा गरेका सहमति कार्यान्वयनको माग उनको रहेको छ । खासगरी चिसोका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको बताइएको छ । उनी सोमबारबाट अनसनमा बसेका हुन् । केसी अनसनमा बसेपनि सरकारले वार्ताको पहल अझै गरेको छैन ।

  • नेपालमा भारतीयलाई चिनियाँ पर्यटकले उछिने

    नेपालमा भारतीयलाई चिनियाँ पर्यटकले उछिने

    काठमाडौं । नेपाल भ्रमणमा भारतीय भन्दा चिनियाँ पर्यटकको संख्या बढी भएको छ । अक्टोवर महिनामा यस्तो आंकडा सार्वजनिक भएको छ ।

    नेपाल भ्रमणमा आउने विदेशीमध्ये हरेक पटक भारतीयको बाहुल्य हुने गरेकोमा यस महिनामा भने चिनियाँ पर्यटकले फड्को मारेको पाइएको छ ।

    नेपाल पर्यटन बोर्डले अक्टोवर महिनासम्मको तथ्यांक शुक्रबार सार्वजनिक गरेको छ । तथ्यांक अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गरेको महिनामा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका हुन् ।

    अक्टोवर महिनामा १५ हजार ३७ जना चिनियाँ नागरिक नेपाल घुम्न आएका छन् । अक्टोवर २०१८ मा भन्दा ११.५ प्रतिशत बढी पर्यटक यहाँ आएका छन् ।

    अक्टोवर महिनामा भारतीय पर्यटकको संख्या १२ हजार ७ सय ६ जना मात्र आएका छन् । भारतीय पर्यटक आगमन वृद्धि ९.१ प्रतिशत रहेको आंकडा बोर्डको छ ।

    नेपालमा कूल पर्यटकको संख्या भने भारतीय कै बढी छ । सन् २०१९ को १० महिना (जनवरी देखि अक्टोवर)मा १ लाख ६९ हजार ९ सय ५२ जना भारतीयले नेपाल भ्रमण गरेका छन् ।

    यसअविधमा १ लाख ३४ हजार २ सय ८१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । जनवरीदेखि अक्टोवर २०१९ सम्म भने कूल ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ ।

    अघिल्लो वर्ष भन्दा पर्यटक आगमन मात्र ८ प्रतिशतले बढेको तथ्यांक बोर्डले सार्वजनिक गरेको छ । १० महिनामा यूरोप र अमेरिकी मुलुकबाट पर्यटक संख्या अपेक्षित बढ्न सकेको छैन ।

    तर, नेपालले यी देशमा बढी प्रवद्र्धनका कार्यक्रम लक्षित गरेको छ । एसियाली क्षेत्रबाट सामान्य वृद्धि देखिएको छ । जापानबाट पनि सामान्य मात्र पर्यटक बढेका छन् ।

  • प्रथम श्रेणी क्रिकेटमा कमजोर नेपाल, २०८ रनले पराजित

    प्रथम श्रेणी क्रिकेटमा कमजोर नेपाल, २०८ रनले पराजित

    काठमाडौं । १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटका लागि मैदानमा उत्रिएको नेपालले कमजोर प्रदर्शन गरेको छ । अष्ट्रलियाको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी० विरुद्धको तीनदिवसीय खेलमा नेपाल २०८ रनले हारेको हो ।

    शुक्रबार अन्तिम दिनको खेलमा ३ सय ९३ रनको रक्ष्य पाएको नेपाल १८४ रनमै अलआउट भएपछि एमसीसीले सहज जीत निकालेको हो ।

    सामान्यतया क्रिजमा टिकेर खेल्ने र लामो इनिंग खेल्ने बानी नपरेका नेपाली खेलाडीले आफ्नो विकेट नै बचाउन सकेनन् । तेस्रो दिन एमसिसीले १८१–६ मा इनिङ समाप्ती घोषणा गर्दै नेपालाई ३९३ रनको विजय लक्ष्य दिएको थियो ।

    तर, सोमपाल कामीले अविजित ५१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । नेपालले ४० ओभरमा मात्र १८४ रन बनाउँदै सबै विकेट गुमायो ।

    खेल त्रिभुवन विश्वविद्यालय इन्टरनेशलन क्रिकेट मैदानमा भएको थियो । सोमपालबाहेक राजु रिजालको नाममा ३१ रन रह्यो । सन्दीप लामिछानेले २५ रन जोडे ।

    नेपालको खेलमा बलरले राम्रो रन बनाए । पहिलो इनिङमा एमसिसीलाई नेपालले ३६४ रनमा अलआउट गरेको थियो । नेपालले पहिलो इनिङमा मात्र १५३ रन जोड्न सकेको थियो ।

  • जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए

    जब दुई जहाज विमानस्थलको पार्किङमै ठोक्किए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दुई जहाज एक आपसमा ठोक्किएका छन् । तर, यसबाट ठूलो क्षति भने भएन ।

    विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्सको जहाज पार्किङ गरिराखेको यति एयरको जहाजमा ठोक्किन पुगेको थियो ।

    श्रीको जहाजले यतिको पुछारमा छोएको र घटनामा जहाजमा सामान्य क्षति हुनुबाहेक अन्य क्षति नभएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन् ।

    श्री एयरलाइन्सको जहाज विराटनगरबाट आएको थियो । यात्रुसहितको उक्त जहाज पार्किङ गर्न लैजादै गर्दा ठोक्किएको हो । त्रिभुवन विमानस्थलमा अधिक भिडभाडका कारण व्यवस्थापन निकै चूनौतिपूर्ण बन्दै गएको छ ।

  • लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने, प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

    लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने, प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

    काठमाडौं । भारतले आफ्नो नक्सामा पारेको क्षेत्र लिपुलेकबारे साझा राष्ट्रिय धारणा बनाइने भएको छ ।

    विवादपछि उत्पन्न परिस्थितिका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय परामर्श बैठक डाकेका छन् ।

    बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको छ । अघिल्लो शनिबार भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रका भूभाग भारतीय नक्सामा पारिएको छ ।

    ती क्षेत्र नेपालको नक्सामा पनि समावेश छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा अटाएको छ । नक्सा सार्वजनिक भएपछि नेपाल भित्र भने व्यापक भारत विरोधी अभियान चलिरहेको छ ।

    नेपाल सरकारले समेत उक्त नक्सा मान्य नहुने स्पष्ट बताएको छ । यस मुद्दामा नेपाली कांग्रेस तथा अन्य पार्टीको धारणा पनि सरकारसँग मिलेको छ ।

    खासगरी राष्ट्रिय मुद्दा भएकाले समान धारणा बनाएर यस पटक भने पार्टीहरुले गतिलो सन्देश दिन खाजेको छन् । प्रधानमन्त्रीले शनिबार पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्री, सीमा विज्ञलगायतलाई डकिएको छ । बैठकमा राजीतिक दलका प्रतिनिधीले समेत भाग लिनेछन् ।

  • लरीमा मृत भेटिएका सबै ३९ भियतनामीको सनाखत

    लरीमा मृत भेटिएका सबै ३९ भियतनामीको सनाखत

    लण्डन । विश्व जगतलाई नै स्तब्ध पार्नेगरी १३ अक्टोबरमा लण्डनबाट एक खबर सार्वजनिक भयो । जहाँ एक लरी भित्र ३९ जना मानिसको शव भेटिएको थियो ।

    बेलायतको एसेक्सस्थित ग्रेसमा भेटिएका ती सबै भियतनामी नागरिक रहेको र उनीहरुको परिचय समेत खुलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    एसेक्स प्रहरीले हुलियाका आधारमा ती नागरिक चिनियाँ रहेको बताएको थियो । तर, अनुसन्धानबाट सबै नागरिक भियतनामका रहेको र शवको सनाखतसमेत भइसकेको बताइएको छ ।

    लरीमा ३१ पुरुष र ८ महिलाको शव भेटाइएको थियो । घटनाका प्रमुख अनुसन्धान अधिकृत एसेक्सका सिनियर कर्नेल कारोलिन बेस्ली मुर्रेले ति व्यक्ति भियतनामको हाइफोङ, हाई डोङ, घी आन, हा तिन्ह, क्वाङ बिन्ह र ह्यु राज्यबाट आएका बताएको छन् ।

    बेल्जियमको जिबर्गबाट बेलायत आएको लरी एसेक्सस्थित वाटरग्ल्याड औद्योगिक क्षेत्रमा प्रवेश गर्ने क्रममा प्रहरीले शव फेला पारेको थियो । लरीका चालक भने उत्तरी आयरल्यान्डका नागरिक मौरिस रोविन्सन रहेको हुन् ।

    उनलाई प्रहरीले पक्राउ गरी कानूनी कारवाही थालिसकेको छ । यद्दपी घटना कसरी र कहाँ घट्यो, ति मानिसको निर्मम सामूहिक हत्या कसले गर्यो भन्ने चाही अझै खुलेको छैन ।

    मानव तस्करको चंगुलमा फसेर निर्दोष मानिहरुले ज्यान गुमाएको आशंका प्रहरीको रहेको छ ।

  • किन पक्राउ परे पूर्वअर्थमन्त्री रुप ज्योती ?

    किन पक्राउ परे पूर्वअर्थमन्त्री रुप ज्योती ?

    काठमाडौं । प्रहरीले उद्योगपति तथा पूर्वअर्थमन्त्री रुप ज्योतीलाई पक्राउ गरेको छ । सिल्क एयरको जहाजबाट बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी बाहिर निस्किएका ज्योतीलाई त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनी प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य हुन् । उनी शाही शासनकालमा अर्थराज्यमन्त्री थिए । राज्यमन्त्री भएपनि उनी कार्यकारी भूमिकामा अर्थ मन्त्रालयले चलाएका थिए ।

    प्रहरीका अनुसार उनीमाथि ठगीको उजुरी परेको छ । हाउजिंग व्यवसायका नाममा ठगी गरेको उजुरीपछि प्रहरीले ज्योतीलाई पक्रेको हो ।

    विजेन्द्रमान मल्ललगायत व्यत्तिले प्रहरीमा ठगी मुद्दासम्बन्धी जाहेरी दिएका थिए । सोहीकारण अनुसन्धानका लागि पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

  • आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन

    आज हरिबोधनी एकादशी, उपबास बस्ने प्रचलन

    काठमाडौं । हिन्दु धर्मावलम्बीका लागि भगवान विण्णुको उपासना गर्ने दिन आज देशभर हरिबोधनी एकादशी मनाइदैछ । कार्तिक शुक्ल एकादशीका दिन घरघरमा हुर्किएको तुलसीको पूजा जरी हरिबोधनी एकादशी पर्व मनाइन्छ ।

    यस दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह हुने मान्यता रहको छ । आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिनमा सागरमा सुतेका विष्णु भगवान आजैका दिन ब्युँझने किंवदन्तीसमेत रहेको छ ।

    यस दिन तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्था रहेको छ । सोही कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउने गर्छन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि पनि औषधि गुणले युक्त हुन्छ । यस दिन भक्तजन उपवास बसी साँझ फलफूल खाने गर्छन् । अन्न नखानेहरुले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार खाने प्रचलन रहेको छ ।

  • एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

    एटीएमबाट पैसा चोर्ने चिनियाँलाई कारागार पठाइयो

    काठमाडौं । एटीएम प्रणाली ह्याक गरी पैसा निकाल्दा निकाल्दै पक्राउ परेका ६ चिनियाँ नागरिकलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।

    नेपालका ७ वटा बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दै भदौमा उनीहरु समातिएका थिए । उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

    चेन विक विन, क्यु याङयिङ, लु जियालिङ, लिन जिनमि र लिओ जाइलेई नख्खु कारागार चलान भएका छन् । घटनामा अन्तर्राष्ट्रिय निकाय मास्टर कार्ड, भिसा कार्ड, युनियन पे इन्टरनेश्नल लगायतले उच्च चासो देखाएक छन् ।

    यो घटनालाई प्रहरीको समेत सफलता मानिएको छ । किनकी सामान्यतया विदेशमै प्रणाली ह्याक गरी स्वदेशमा हुने चोरी समात्नु कठिन मानिन्छ ।

    प्रहरीको अनुसन्धानलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले पनि सहयोग गरेको छ । यस घटनापछि भने नेपालको बैंकिंग प्रणालीको सुरक्षामाथि प्रश्न भने उठेको छ ।

  • युवालाई रोजगार दिन सरकारले ऋण लिने

    युवालाई रोजगार दिन सरकारले ऋण लिने

    काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न १ सय २० मिलियन डलर (करीव १३ अर्ब ६२ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।

    सरकारले विश्वबैंकबाट उक्त रकम ऋण लिन लागेको हो । अघिल्लो आर्थिक वर्षबाट सरकारले बेरोजगारलाई न्युनतम १०० दिनको रोजगारी दिने कार्यक्रम थालेको थियो ।

    पहिलो वर्षको कार्यक्रम भने निकै भद्रगोल भएको थिया् । गाउँगाउँमा केवल कार्यक्रता पोस्ने प्रयोजनका लागि मात्र यसको दूरुपयोग भएको भन्दै सरकारको आलोचना भएको थियो ।

    दोस्रो पनि सोही कार्यक्रमका लागि ऋण लिन लागिएको सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । युवा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित यो ऋण स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनको भनाई छ ।

    यो रकम रोजगारीको ज्याला भुक्तानी, सूचना प्रणाली सुदृढिकरण र रोजगार सेवा केन्द्रको सुदृढिकरणमा खर्च हुने भएको छ । चालु आर्थिक वर्षमा सरकारले यस कार्यक्रमका लागि मात्र २ अर्ब ६२ करोड बजेट विनियोजन गरेको ।

  • विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउने १५ कलेजमाथि कारवाही हुने

    विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउने १५ कलेजमाथि कारवाही हुने

    काठमाडौं । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा एक लेवल कार्यक्रम चलाइरहेका १५ कलेजमाथि कारवाही हुने भएको छ ।

    खासगरी बैदेशिक कार्यक्रम संचालन गर्न लिएको अनुमति नविकरण नगर्न र धरौटीसमेत नबुझाएका १५ कलेजमाथि नेपाल सरकारले कारवाही गर्न लागेको हो ।

    अब उनीहरुको सम्बन्धन खारेज हुने भएको छ । शिक्षा मन्त्रालयले नवीकरण तथा धरौटी नबुझाइ उच्च शिक्षाका वैदेशिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजको कार्यक्रम रद्द गर्ने प्रक्रिया शुरु भएको बताएको छ ।

    विभिन्न देशका विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहे पनि नेपाल सरकारमाथिको दायित्व पुरा नगर्ने कलेजहरु कारवाहीमा पर्नेछन् ।

    मन्त्रालयका अनुसार खारेजीमा पर्नेमध्ये अधिकांश कलेज क्याम्ब्रिज युनिभर्सिटीका ए लेभल पढाउन सम्बन्धन लिएका छन् ।

    मन्त्रालयले पन्ध्र दिनभित्र नवीकरण गरी शिक्षा मन्त्रालयको मापदण्ड भित्र आउन निर्देशन दिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

    मन्त्रालयले क्याम्ब्रिज युनिभर्सिटीको एजे विल्ड इन्स्टिच्यूट अफ एडभान्स स्टडिज, ब्रिजवाटर इन्टरनेसनल कलेज, मल्पी इन्टरनेसनल कलेज, क्यापिटल कलेज एन्ड सिसर्च सेन्टर, एभरेस्ट एजुकेसन फाउन्डेसन, काठमाडौं भ्याली स्कुल, ओरिएन्ट कलेज, पेन्टागन एजुकेसन नेटवर्क, एपेक्स लाइफ स्कुल, साउथ वेस्टर्न स्टेट, कसकस इन्टरनेसनल पोखरा र गन्डकी बोर्डिङ हाइ स्कुललाई उक्त निर्देशन दिएको हो

  • एउटा पनि अन्तराष्ट्रिय रंगशाला नहुँदा राष्ट्रिय लज्जा, नेपालको होम गेम भूटानमा गर्न प्रस्ताव

    एउटा पनि अन्तराष्ट्रिय रंगशाला नहुँदा राष्ट्रिय लज्जा, नेपालको होम गेम भूटानमा गर्न प्रस्ताव

    काठमाडौं । १२ बैशाख २०७२ भूकम्पले कमजोर बनाएपछि मर्मत थालिएको दशरथ रंगशालाको मर्मतको काम भूकम्पपछिको ४ वर्षसम्म पनि सकिएको छैन ।

    उक्त रंगशालाबाहेक नेपालमा अन्तराष्ट्रिय मापदण्ड पुगेको अर्को रंगशाला पनि छैन । एउटा पनि स्तरीय रंगशाला नहुँदा नेपालले नै राष्ट्रिय लज्जा बेहोर्नु परेको छ ।

    किनकी फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनका लागि छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीच नेपालमा हुने होम गेम अब दशरथ रंगशालामा नहुने पक्का भएको छ । उक्त खेल ३ मंसिरमा निर्धारित थियो ।

    रंगशालाको अन्तराष्ट्रिय मापदण्ड पुरा नभएकै कारण खेल नेपालमा नहुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रेस विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

    खेल भुटानमा गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले लेखेको छ । एन्फाले खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा यो खेल आयोजनाको प्रस्ताव गरेको छ ।

    मंगलबार एएफसीका प्रतिनिधिले रंगशालाको अवलोकन गरी तयारीका सम्बन्धमा प्रतिवेदन बुझाएका थिए । नेपालको तयारीबाट प्रतिनिधि असन्तुष्ट थिए ।

    रंगशालाको आधारभूत पूर्वाधार नै निर्माण भइसकेको छैन । यस्तोमा खेल खेलाउँदा जोखिमपूर्ण हुने भन्दै एएफसी र फिफाले खेल अनुमति नदिने संकेत देखेपछि एन्फाले नेपालमा खेल नहुने स्पष्ट पारेको हो ।

    एन्फाको यो निर्णयसँगै स्वदेशमा आफ्ना प्यारा खेलाडीको हौसला बढाउने नेपाली फ्यान भने निरास भएका छन् ।

  • आलमको बयान सकियो, थुनछेक बहस शुरु

    आलमको बयान सकियो, थुनछेक बहस शुरु

    रौतहट । रौतहट बम काण्डका मूख्य आरोपी सांसद मोहमद अफताब आलम माथिको थुनछेक बहस बिहीबारबाट शुरु भएको छ । उनको बयान सम्पन्न भएसँगै बहस प्रारम्भ भएको हो ।

    रौतहट जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको इजलासमा थुनछेक बहस प्रारम्भ भएको हो । यो बहस सकिएपछि अदालतले आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने कि थुनाबाहिर राखेर भन्नेबारे फैसला गर्नेछ ।

    बिहीबार रौतहट प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधीवक्ता अर्जुन प्रसाद कोइरालाको बहस सकिएको छ।

    शुक्रबार बहस जारी रहने भएको छ । बम विस्फोटमा परेर घाइते भएकालाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग उनीमाथि लागेको छ ।

  • फास्ट ट्रयाक हेर्ने सेनाका हाकिममाथि अनियमितताको उजुरी, जिम्मेवारी खोसियो

    फास्ट ट्रयाक हेर्ने सेनाका हाकिममाथि अनियमितताको उजुरी, जिम्मेवारी खोसियो

    काठमाडौं । काठमाडौं– निजगढ फास्ट ट्रयाकका आयोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठमाथि अनियमितताको आरोप लागेको छ ।

    आरोपसँग सेनाले उनलाई जिम्मेवारीबाट समेत हटाएको छ । द्रुतमार्ग निर्माणमा व्यापक अनियमितता भएको उजुरी रक्षा मन्त्रालय र नेपाली सेनाको जंगी अड्डामा परेको थियो ।

    त्यसपछि छानविनका लागि उनलाई हटाएको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । यद्दपी उनको सरुवालाई भने सार्वजनिक गरेको छैन ।

    छानविन जारी रहेका कारण जिम्मेवारीबाट हटाएको लामो समयसम्म पनि बाहिर सार्वजनिक नगरेको बताइएको छ । बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा छानविन भइरहेको र श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको स्रोतको भनाई छ ।

    उनको छानविन पुरा नभएसम्म यो आयोजना महासेनानी विकास पोख्रेलले हेरिरहेका छन् । छानविनबाट निर्दोष सावित भएमा भने उनी पुनः जिम्मेवारीमा फर्कने सक्नेछन् ।

    राष्ट्रिय गौरवको यो आयोजना तिब्र गतिमा सक्ने लक्ष्यसहित नेपाली सेनालाई दिइएको थियो । १ खर्ब ७५ अर्ब रुपैयाँ लागतको यो आयोजनामा अनियमितताका उजुरी भने निकै पर्ने गरेका छन् ।

    सरकारले २७ साउन २०७४ देखि ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तोकेर सेनालाई जिम्मा दिएको थियो । यो आयोजना बनेपछि काठमाडौं र तराईको दूरी केवल सवा १ घण्टामा छोटिने छ ।