Author: Vishwanews.com

  • महराको थुनछेक बहस जारी

    महराको थुनछेक बहस जारी

    काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीमाथि बलत्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आइतबारबाट सुरु भयो ।

    तर, आइतबार बहस नसकिएकाले सोमबार निरन्तर हुने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

    बन्द इजलासमा बहस जारी छ । बसहमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी छन् । महराकोतर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनालीलगायतले बहस गरिरहेका छन् ।

    हेर्दाहेर्दैमा राखिएको बहस सोमबार निरन्तर हुनेछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले दिन पाउने प्रावधान छ । प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा महराविरुद्ध मुद्दा दायर गरेको हो ।

  • विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा

    विदेशमा भ्रमण वर्षको शूभारम्भ ७ जनवरी २०२० मा

    काठमाडौं । नेपालभन्दा बाहिर संसारभर ७ जनवरी २०२० मा नेपाल भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । सरकारले विदेशस्थित नेपाली दूतावासहरुलाई पत्राचार गर्दै शूभारम्भ भब्य बनाउने गरी तयारी थाल्न परिपत्र गरेको छ ।

    नेपालमा भने १ जनवरी २०२० मै भ्रमण वर्षको शूभारम्भ गरिने भएको छ । पर्यटन मन्त्रालयले विदेशस्थित नियोगलाई गरेको पत्राचारमा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीजस्ता विशिष्ठ अतिथिको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।

    नेपालमा आयोजना हुने भ्रमण वर्षको शुभारम्भमा समेत विदेशबाट सम्भव भएसम्म विशिष्ट व्यक्ति सहभागी गराउन पहल गर्न समेत परिपत्र गरिएको छ ।
    मन्त्रालयले दूतावास तथा विदशका नेपाली नियोगलाई दिएका निर्देशन यस्ता छन्
    १. प्रमुख शहरमा स्थानीय ट्राभल एजेन्सी, टूर अपरेटर, एयरलाईन्स कम्पनी लगायतको भेला गरी नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि योजना बनाउने ।

    २. प्रमुख शहरहरुमा नेपालको पर्यटन प्रवर्द्धन सम्वन्धि गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने यस्ता कार्यक्रममा सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्व तथा संघ( संस्थाहरुको बढी भन्दा बढी प्रतिनिधित्व गराई कार्यक्रम सञ्चालन गर्ने गराउने व्यवस्था गर्ने ।

    ३. नेपालको भ्रमण गरेका सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्वहरु, हिमाल आरोहीहरु र अन्य सेलिव्रेटीहरुको भेला आयोजना गरी वहाँहरुलाई भ्रमण वर्षको प्रवर्द्धनका लागि परिचालन गर्ने ।

    ४. विभिन्न शहरहरुमा हुने पर्यटन, व्यापार, सांस्कृतिक लगायतका मेला तथा भ्हउय हरुमा नेपालको पर्यटन प्रवर्द्धनको काम गर्ने र नेपालका व्यवसायीको सहभागिता प्रवर्द्धन गर्ने ।

    ५. प्रत्येक देशका र मुख्य मुख्य शहरमा गैरआवासीय नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिहरु समावेश गरी नेपाल भ्रमण वर्ष, २०२० सहयोग समितिहरु गठन गर्ने र भ्रमण वर्ष सचिवालयमा त्यसको जानकारी दिने ।

    ६. राजदूतावास एवं महावाणिज्य दूतावासमा भ्रमण वर्षको डेस्क स्थापना गर्ने । गैरआवासीय नेपालीसँगको समन्वयमा उक्त डेस्कहरुमा नियमित रुपमा स्वयंसेवक खटाउने व्यवस्था मिलाउने ।

    ७. तोकिएको मापदण्डभित्र पर्यटन दूत र नेपाल भ्रमण वर्ष, २०२०का लागि सदभावना दूतहरु नियुक्तिका लागि नाम सिफारिस गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने ।

    ८. गैर आवासीय नेपाली संघ र स्थानीय संघ संस्थालाई समन्वय गरी मानिसहरुको आवत(जावत र घनत्व वढी हुने सार्वजनिक स्थलहरुमा पर्चा वितरण, कार तथा साईकर्ल याली, प्रचार सामाग्रीहरुको प्रवर्द्धन, वकाथन, पद(यात्रा लगायतका कार्यक्रम आयोजना गर्ने । उल्लेखित कार्यक्रमहरु स्थानीय संचार माध्यमबाट प्रचार(प्रसार गराउने साथै कार्यक्रमका फोटो र समाचार भ्रमण वर्षको सचिवालयमा समेत पठाउने ।

    ९. सन् २०२० को शुरुमा निर्माण कार्य सम्पन्न भई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सन् २०२० को मार्च देखि अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको छ । उक्त विमानस्थलमा सम्वन्धित देशबाट हवाई सेवाको लागि विमान कम्पनीलाई उडान गराउन पहल गर्ने ।

    १०. सन् २०२० भरीमा नेपालमा गोष्ठी, सेमिनार तथा वैठकहरु आयोजनाहरु गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आव्हान गर्ने साथै उच्च स्तरीय भ्रमण लगायत विभिन्न सेलिव्रेटीहरुको भ्रमणका लागि पहल गर्ने ।

    ११. सन् २०२० भरी माथि उल्लेखित कार्यक्रमहरुका अतिरिक्त नेपाल भ्रमण वर्षको प्रचार-प्रसार र प्रवर्द्धनका लागि विभिन्न सिर्जनात्मक कार्य गर्ने सो का लागि भ्रमण वर्ष सचिवालय र नेपाल सरकारसंग नियमित रुपमा समन्वय गर्ने ।

    १२. नेपाल वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ बीच ३ कात्तिक २०७६ मा भएको समझदारी कार्यान्वयनका लागि आवश्यक पहल गर्ने ।

  • सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

    सुकुटे बस दूर्घटनामा १७ को निधन, दर्जनौं घाइते

    सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दूर्घटनामा पर्दा कम्तिमा १७ जनाले ज्यान गुमाएका छन् ।

    आइतबार साँझसम्म घटनास्थल र अस्पतालमा गरी १७ को ज्यान गइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये ७ जनाको सनाखत भएको छ भने अन्यको विवरण संकलन भइरहेको बताइएको छ । १५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

    सनाखत भएकामध्ये दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ र दोलखाकी ५० वर्षीया रक्तकुमारी रावत रहेको प्रहरीले जनाएको छ ।

    धुलिखेल अस्पताल र श्री मेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङको निधन भएको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट बस काठमाडौंका लागि छुटेको थियो ।

    यात्रुहरुका अनुसार बस दूर्घटनामा पर्नुअघि पनि बिग्रिएर बनाइएको थियो । करीव आधा घण्टा लगाएर बनाएको बस ओरालो सकिएर सजिलो बाटोमा आएको थियो ।

    त्यसपछि बसले खाना ख्वाएको थियो । खाना खाएर गुडेको ५ मिनेट भित्रै सडकबाट सुनकोशी नदीमा झरेको घाइते यात्रुहरुले बताएका छन् ।

    तिब्र गति र बिग्रिएको बस भएकाले दूर्घटनामा परेको आंशका छ । बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको हो ।

    दूर्घटनास्थलबाट ५४ जनाको भने उद्धार गरिएको थियो । उनीहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । बसका चालक धनबहादुर तामाङ समेत घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

  • सातै प्रदेशका प्रमुख बर्खास्त

    सातै प्रदेशका प्रमुख बर्खास्त

    काठमाडौं । सरकारले सात वटै प्रदेशका प्रमुखलाई एकै साथ हटाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरी सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो ।
    सरकारले प्रदेश १ का प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई पदमुक्त बनाएको हो ।

    अब सोमबार नयाँ प्रदेश प्रमुख नियुक्ती गर्ने तयारी सरकारले गरेको छ । ३ माघ २०७४ मा प्रदेश प्रमुखहरु नियुक्त भएका थिए ।

    केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएपछि सरकारले चुनावी सरकारले नियुक्त गरेका सबै नियुक्ती खारेज गर्ने निर्ण गरेको थियो । तर, अदालतको थमौतीले निर्णय कार्यान्वयन हुने सकेको थिएन ।

  • आज मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

    आज मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?

    काठमाडौं । आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्।

    आफ्नो पछिल्लो स्वास्थ्य उपचारपछि उनले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यो नियमित बैठक भने होइन् । बैठकमा आफनो स्वास्थ्य अवस्थाबारे मन्त्रीपरिषद्का सदस्यलाई जानकारी गराउने सम्भावना छ ।

    यसअघि उनले नेकपाका नेताहरुलाई स्वास्थ्य अवस्थाबारे व्रिफ्रिंग गरेका थिए । उनले आफ्नो मृगौलाले काम गर्न छाडिसकेको जानकारी गराउदै नियमित डाइलाइसिस वा प्रत्यारोपण नै विकल्प रहेको जानकारी डाक्टरबाट आएको उल्लेख गरेका थिए ।

    त्यसो त आगामी उपनिर्वाचनमा आफ्नो उमेदवारको टुंगो लगाउन नेकपा सचिवालयको बैठक समेत आइतबारकै लागि बोलाइएको छ । तर, त्यसको समय भने अझै तय भइसकेको छैन ।

  • मालीमा बिद्रोही आक्रमणमा ५३ सैनिक मारिए

    मालीमा बिद्रोही आक्रमणमा ५३ सैनिक मारिए

    माली । मालीमा विद्रोहीको आक्रमणमा परी ५३ जना सैनिक मारिएका छन् । आक्रमणमा परी एक जना सर्वसाधारणको समेत ज्यान गएको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मालीको एक सैन्य कार्यालयमा विद्रोहीले आक्रमण गरेका हुन् । आक्रमणमा ५३ जना सैनिक र एक सर्वसाधारणको मृत्युको पुष्टी भइसकेको छ ।

    यो संख्या अझै बढ्न सक्ने बताइएको छ । मालीको उत्तरपूर्वी क्षेत्रमा रहेको सैन्य कार्यालयमा आक्रमण भएको हो । सरकारी उच्च अधिकारीहरुले यस आक्रमणलाई आतङ्कवादी हमलाको संज्ञा दिएका छन् । इस्लामिक लडाकूबाट यस प्रकारको हमाला भएको बताइएको छ ।

    मालीमा पछिल्ला दिनमा भएको आक्रमणमध्ये यो सबैभन्दा हिस्रक रहेको समेत अधिकारीहरुले उल्लेख गरेका छन् ।

    नाइजेरियासँग सिमानामा जोडिएको मेनका क्षेत्रस्थित इन्डेलिमानको सैन्य कार्यालयमा आक्रमण भएको हो । मालीमा अलकायदामा आवद्ध जिहादी आतकंबादीहरु सक्रिय रहेका छन् ।

    मालीमा फ्रान्सको नेतृत्वमा अन्तर्राष्ट्रिय सैन्य संगठन सक्रिय रहेपनि आतंकाबादी आक्रमण निस्तेज पार्न भने असफल हुँदै आएको छ ।
    एजेन्सी

  • आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

    आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइयो

    काठमाडौं । छठ पर्वको आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । यससँगै छठ पर्वसमेत समाप्त भएको छ । आज दिनभर खानपान र रमाइलो गरी यो चाडको समापन गरिन्छ ।

    आइतबार बिहानै नजिकको नदी, तलाउ, पोखरी तथा जलासयमा पुगेर उदाउँदै गरेको सूर्यको जूजा आरधनासहित अर्घ्य दिने प्रचलन रहेको छ । ब्रतालुहरुले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

    चार दिनसम्म मनाइने छठमा शक्तिको स्रोतका रुपमा सूर्यको उपासना गरिन्छ । छठ नेपालको तराई भेगमा निकै धुमधामका साथ मनाइन्छ ।

    पछिल्लो समय काठमाडौंमा समेत छठ पर्व उत्तिकै महत्वका साथ मनाउन शुरु गरिएको छ । सूर्यदेवको आराधना र उपासना गर्न बिहानैदेखि जलासयको किनारमा भक्तजनको घुइँचो लागेको थियो।

    छठ पर्वको व्रतले दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वाससमेत यस पर्वको अवसरमा लिइन्छ । छठको समापनसँगै अब मूख्य चाडबाडको मौसम समेत सकिएको छ ।

  • लीग लिडर बार्सिलोनालाई कमजोर लेभान्टेले हरायो

    लीग लिडर बार्सिलोनालाई कमजोर लेभान्टेले हरायो

    काठमाडौं । स्पेनिस लालीगा लिडर बार्सिलोनालाई कमजोर टोली लेभान्टेले पराजित गरेको छ । लेभान्टले पाहुना टोली बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो ।

    घरेलु मैदानमा बाघ समान हुने बार्सिलोना अवे मैदानमा भने कमजोर देखिने गरेको छ । शनिबार राति सम्पन्न खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो ।

    कप्तान लियोनल मेसीको पेनाल्टी गोलमार्फत ३८ औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाले आफ्नो लय गुमायो र तीन गोल खान पुग्यो ।

    बार्सिलोनाले ७ मिनेटको अन्तरमा तीन गोल खाएको थियो । जोस कम्पानाले खेलको ६१ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काए ।

    ६३ औं मिनेटमा बेरजा मेयराल र निमन्जा राडोजाले ६८ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई प्रभवशाली जीत दिलाए ।

    एजेन्सी

  • दिल्लीमा स्वास्थ्य संकटकाल, प्रदूषणले भयावह

    दिल्लीमा स्वास्थ्य संकटकाल, प्रदूषणले भयावह

    नयाँ दिल्ली । वायु प्रदूषणले आकास नै ढाकिदिएपछि भारतको राजधानी दिल्लीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

    प्रदूषणले हावामा विषाक्त फैलिएपछि भन्दै भारतको राजधानीमा सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको हो । दिल्ली सरकारले विद्यालयहरु एक साताका लागि बन्द गरेको छ ।

    विद्यार्थीहरुका लागि मास्क वितरणको काम तिब्र बनाइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार विद्यालयमा ५० लाख भन्दा बढी मास्क वितरण गरिने भएको छ ।

    दिल्लीमा तीन दिनसम्म सबै प्रकारको निर्माणको काम रोकिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा २० गुणा बढी हानिकारिक तत्व मिसिएको हावाले दिल्लीको आकास ढाकेपछि दिल्ली सरकार संकटकाल घोषणा गर्न बाध्य भएको हो ।

    नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ग्यास च्याम्बरमा परिणत भएको प्रतिक्रिया दिएका छन् । उनले सबैलाई मास्क प्रयोग गर्न समेत आह्वान गरेका छन् ।

    यहाँ हरेक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा हावा निकै प्रदूषित हुने गरेको छ । खासगरी दिल्लीका छिमेकी राज्य हरियाणा र पन्जाबमा कृषकले खेतमा ठूटा र खोस्टा जलाउन लाग्ने आगोका कारण धुँवा फैलने गरेको छ ।

  • बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

    बेलायतको हाउस अफ लर्डसबाट भ्रमण वर्षको घोषणा

    काठमाडौं । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसमा नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरिने भएको छ ।

    नेपाल भ्रमण वर्षको आधिकारिक वेवसाइटले यस सम्बन्धमा जानकारी दिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई त्यसतर्फ प्रस्थान गरेका छन् ।

    मन्त्री भट्टराईको साथमा नेपाल भ्रमण वर्ष २०२० सचिबालय र नेपाल पर्यटन बोर्डका पदाधिकारी समेत सहभागी भएको वेवसाइटले उल्लेख गरेको छ ।

    प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम)को अवसरमा ७ नोभेम्बरमा नेपाल भ्रमण वर्ष प्रवर्धनका लागि विशेष कार्यक्रम राखिएको छ ।

    कार्यक्रमको मूख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवर्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गरिने भएको छ ।

    कार्यक्रममा बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने कार्यक्रम रहेको वेवसाइटमा उल्लेख गरिएको छ ।

    लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरलाई पनि कदर पत्र प्रदान गरिने भएको छ ।

    ट्राभल एजेन्ट तथा होटेल व्यवसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मर्कस कट्टन, नेपालको वाइल्ड लाईफ टुरिजममा काम गर्दै आएका एभी जीम इडवार्ड, नेपालको पर्यटन गन्तब्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल टुरिजमका पाइनियर ज्ञाता कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिने भएको छ ।

    त्यसैगरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल) आस्ले टफ (सीईओ, की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउण्टेन किङडम)लाई प्रसंशा पत्र वितरण गरिने वेवसाइटले लेखेको छ ।

  • सेनाले भित्रायो कार्गो जहाज

    सेनाले भित्रायो कार्गो जहाज

    काठमाडौं । नेपाली सेनाले नयाँ जहाज भित्राएको छ । यो जहाज कार्गोको प्रयोजनमा प्रयोग गर्ने सेनाको भनाई रहेको छ । जहाज शनिबार काठमाडौं आइपुगेको हो ।

    यो जहाज इन्डोनेसियामा खरीद गरिएको सेनाले जनाएको छ । मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारमा यो जहाज प्रयोग गर्ने सेनाको योजना रहेको छ ।

    दुई वर्ष अगाडीदेखि खरीद प्रक्रिया शुरु गरेर सेनाले जहाज भित्राएको हो । सीएन २३५ २२० जहाजको मूल्य भने करीव ३ अर्ब रुपैयाँ रहेको बताईको छ । यस जहाजमा एकैपटक ५१ जनासम्म यात्रु अट्न सक्छन् ।

  • तराई र काठमाडौंमा छठको रौनक

    तराई र काठमाडौंमा छठको रौनक

    काठमाडौं । नेपालको तराई तथा काठमाडौंलगायत शहरी इलाकामा छठको रौनक छाएको छ । छठको दोस्रो दिन व्रतालुहरूले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरे ।

    नजिकको तलाउ, पोखरी, नदी किनारमा पुगेर अर्घ्यसहित अस्ताउँदो सूर्यलाई पूजाअर्चना गरी छठको दोस्रो दिनको पूजा सम्पन्न गरेका छन् ।

    घरमा बनाएका ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल तथा विभिन्न वनस्पतिसहित अर्घ्य बनाउने प्रचलन रहेको छ । घरमा निर्माण गरेका अन्नको पीठोबाट बनेका पकवान यस पूजामा प्रयोग हुन्छ ।

    केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोजस्ता सामग्रीको जोहो गरेर पूजामा जुट्ने प्रचलन रहेको छ ।

    छठीमाईको पूजा हुने यस पर्वमा भगवान् विष्णुको समेत आरधना गरिन्छ । आइतबार उदाउँदो सूर्यको पूजा गरी यो पर्व मनाइन्छ । छठमा उदाउँदो र अस्ताउँदो दुबै सूर्यको पूजा गर्ने प्रचलन रहेको छ ।

  • अदालतमा महराको बयान, आरोप अस्वीकार

    अदालतमा महराको बयान, आरोप अस्वीकार

    काठमाडौं । बलात्कारको प्रयास गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामूख कृष्ण बहादुर महराको शुक्रबार अदालतले बयान लिएको छ ।

    बयानमा उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफ्नो पुराना सामान बटुलेर फसाउन खोजिएको आरोप लगाएका छन् । महराले बलत्कार प्रयासको आरोप लगाउने महिलालाई २०४७ सालदेखि चिन्ने र उनी आफ्नो विद्यार्थीजस्तै भएको बयान दिएका छन् ।

    उनको विवाहमा समेत आफूले अविभावकत्व निभाएको उल्लेख गर्दै उनले त्यसपछि भने पछिल्लो तीन वर्षयता मात्र उनीसँग भेट भएको उल्लेख गरेका छन् ।

    आफू अस्वस्थ रहेको भन्दै संसद संसद सचिवालयमा काजमा जागिर मिलाइदिन आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै त्यसपछि भने दुई परिवारका बीचमा पटक पटक भेटघाट हुने गरेको बताएका छन् ।

    घटना भएको दिन रोशनी आफ्नो अफिसमा आई समयोजनको बारेमा मिलाउन आग्रह गर्दै आक्रोसित हुँदै बाहिरिएको उनले उल्लेख गरेका छन् ।

    त्यसपछि आफूले सम्बन्धित निकायमा समेत भनिदिएको उनले स्वीकार गरेका छन् । अफिसबाट आक्रोसित मुद्रामा निस्किएको र उनी आक्रोसित भएपछि स्वास्थ्य अवस्था बिग्रने समस्या रहेको आफूलाई थाहा भएको उनले बताएका छन् ।

    सोहीकारण एक पटक सम्झाउनु पर्यो भनी आफू छोराले प्रयोग गर्ने गाडी लिएर रोशनीको कोठातर्फ लागेको उनले बताएका छन् । तर, रोशनीको फोन नलागेपछि र उनका श्रीमानसँग समेत सम्पर्क हुन नसकेपछि आफू कोठामा नपुगी घर फर्किएको बयान उनले अदालतसमक्ष दिएका छन् ।

    रोशनीको कोठामा भेटिएको चस्मा, जुत्ताको तलुवा आफूलाई सफाउन नियोजित तरिकाले लगिएको भन्दै उनले कोठामा नपुगेपछि कुटपिट गर्ने सन्दर्भ नै नउठ्ने बताएका छन् ।

    उक्त दिन रेकर्ड भई बाहिरिएको भिडियो पनि सुनियोजित घटना भएको बयान महराले दिएका छन् । शुक्रबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको थियो ।

    बयान सकिएको छ । बयान सकिएपनि शुक्रबार थुनछेक बहस हुन भने सकेन । आइतबार बिहान १० बजेबाट थुनछेक बयान शुरु हुने भएको छ ।

    थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश दिन सक्ने प्रावधान रहेको छ ।

  • रिसाहा देउवा सामाजिक संजालमा भाइरल

    रिसाहा देउवा सामाजिक संजालमा भाइरल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एक तस्वीर शुक्रबार एकाएक भाइरल भएको छ ।

    अत्यन्तै रिसाहा मुद्रामा प्रस्तुत भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको तस्वीरले शुक्रबार फेसबुक र टुइटरको भित्ता भरिएको छ ।

    उनको यो रुप आफ्नै विद्यार्थी सँंगठनका कार्यक्रर्तामाथि खनिदा देखिएको हो । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै गर्दा नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजी गरेका थिए ।

    विद्यार्थी संघको नेतृत्वमा यूवा विद्यार्थी र्नै हुनु पर्ने मागसहित उनीहरु नाराबाजीमा उत्रिएका हुन । नेवि संघको अध्यक्षको उमेरका विषयमा असहमति जनाउँदै विरोधमा नारावाजी गर्न लागेपछि देउवा आफ्नै कार्यक्रता विरुद्ध रिसाहा रुपमा प्रस्तुत भए ।

    देउवा बैठकमा भाग लिन जाने क्रममा जब पार्टी कार्यालय पुगे, त्यसपछि विद्यार्थी संगठनका कार्यक्रताले चर्को स्वमा होहल्ला गरेका थिए ।

    त्यसपछि देउवा कार्यक्रतातर्प फर्केर निकै आक्रोसित मुद्रामा बोलेका थिए । उनले कार्यक्रतातर्फ औला ठड्याउँदै बोलेका थिए । त्यसक्रममा देउवाले अपशब्द बोलेको आरोप कार्यक्रताको रहेको छ ।

    आफ्नो रिसाहा शैलीका कारण देउवा पटक पटक आलोचित हुँदै आएका छन् ।

  • मुग्लिन-पोखरा सडक चार लेन बन्ने पक्का

    मुग्लिन-पोखरा सडक चार लेन बन्ने पक्का

    काठमाडौं । अब पोखरा यात्रा सहज र रोमान्चक बन्ने भएको छ । सरकारले विगत ४ वर्षदेखि योजना बनाइरहेको मुग्लिन पोखरा सडक खण्ड बिस्तारका लागि एसियाली विकास बैंकले ऋण स्वीकृत गरेसँगै यो आयोजनाले गति लिने निश्चित भएको हो ।

    एसियाली विकास ब‌ैंकले करीव २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको जानकारी गराएको छ । उक्त सडक खण्ड फराकिलो बनाउन र मर्मतमा यो रकम खर्च हुने बैंकले उल्लेख गरेको छ ।

    यसबाहेक सरकारले करीव ६ अर्ब रुपैयाँ आफ्नो लगानीसमेत यहाँ गर्ने भएको छ । यो आयोजनाको काम सन् २०२५ सम्म सम्पन्न हुने भएको छ ।

    पोखरादेखि आबुखैरेनीसम्म ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार गर्ने गरी आयोजनाले गति लिने भएको हो । एसियाली विकास बैंकको सहयोगले ८१ र बाँकि सडक सरकारले आफ्नो लगानीमा बिस्तार गर्ने भएको हो ।

    पोखरा काठमाडौं सडक सबैभन्दा व्यस्त सडक मध्ये एक हो । किनकी दुई पर्यटकीय शहर भएका कारण यो सडकलाई नेपालको रणनीतिक सडक खण्डका रुपमा समेत हेर्ने गरिन्छ ।

    यो सडक अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण हुनेछ । सडकमा सुरक्षाका सबै उपाय अपनाइने छ । चेतावनी लाइट सिस्टम जडान हुनेछ ।

    सहरी इलाकामा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बन्ने समेत बैंकले उल्लेख गरेको छ ।

    पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । यसले भैरहवा र लुम्बिनी तथा चितवनलाई समेत सजिलै जोड्न सहयोगी बन्ने भएको छ ।

  • जानकी मन्दिरमा मासु-मदिरा निषेध

    जानकी मन्दिरमा मासु-मदिरा निषेध

    जनकपुरधाम । धनुषास्थित जानकी मन्दिर परिसरमा मासु र मदिरा प्रयोगमा प्रतिवन्ध लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै छठ पर्वको अवसरमा १५, १६, र १७ कात्तिकमा मासु तथा मदिराको प्रयोगमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

    छठमा हरेक वर्ष यसरी प्रतिवन्ध लगाउने प्रचलन रहेको छ । मदिरा बिक्रि वितरण तथा सेवन गरेको पाइएमा कडा कारवाही हुने स्थानीय प्रशासनको चेतावनी रहेको छ । आज छठको दोस्रो दिन विविध विधिपूर्वक मनाइरहेको छ ।

  • माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी

    माथिल्लो त्रिशुली-१ मा ५० अर्ब विदेशी लगानी

    काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा ५० अर्ब रुपैयाँ हाराहारी विदेशी लगानी हुने भएको छ । कोरियाली कम्पनीले यो आयोजना निर्माण गर्दैछ ।

    स्रोतको जोहो भएसँगै शुक्रबार कम्पनी र लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको छ ।

    उर्जा मन्त्रालयका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा लगानी सम्बन्धी द्धिपक्षीय सम्झौता हुँदैछ । ४५ करोड ३२ लाख डलर विदेशी लगानी जुटेसँगै सम्झौता हुने भएको हो ।

    यस आयोजनाबाट उत्पादन भएको विजुली आन्तरिक प्रयोजनमा खपत हुने आयोजनाको दावि छ । यस आयोजनामा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १० लाख डलर ऋण लगानी गर्ने भएको छ ।

    कोरियाली निर्यात आयात (एक्जिमं)बैंकको १०० मिलियन डलर र चीनको नेतृत्वमा स्थापित एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले ४० मिलियन अमेरिकी डलर लगानी गर्ने गरी लगानीको टुंगो लागेको हो ।

    यसका साथै एसियाली विकास बैंक (एडीबी)को ६० मिलियन डलर, कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंक र युकेको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)ले समेत लगानी गर्ने गरी सम्झौता हुन लागेको मन्त्रालयले उल्लेख गरेको छ ।

    आयोजनाको कुल लागत भने ६४ करोड ७४ लाख डलर अर्थात् ७० अर्ब रुपैयाँ हाराहारी हो । यसमध्ये १९ अर्ब संस्थापक सेयर र बाँकी लगानी ऋणस्वरुप जुटाउने लक्ष्य कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्टले जनाएको छ ।

    ऊर्जा मन्त्रालय र कम्पनीबीच १४ पुस २०७३ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

  • आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी

    आइएसएसले गर्यो बगदादी मारिएको पुष्टी

    सिरिया । यसअघि विकसित मुलुकहरुले इस्लामिक स्टेट (आईएस)का नेता अबु बक्र अल बगदादी मारिएको पटक पटक बताएका थिए । तर, उनीहरुको दाविलाई गलत सावित गर्दै बगदादी पुनः सार्वजनिक हुने गर्थे ।

    तर यस पटकको अमेरिकी सैन्य अपरेशनमा भने उनी मारिएको संगठन स्वयमले पुष्टि गरेको छ । बगदादी मारिएको भन्दै संगठनले नयाँ नेता समेत चयन गरेको सार्वजनिक गरेको छ ।

    अब इस्लामिक स्टेटलाई अबु इब्राहिम अल हाशमीले नेतृत्व गर्ने भएका छन् । २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा बगदादी विरुद्ध अपरेशन चलाएको थियो ।

    अन्तिम १५ मिनेटको सफल सैन्य अपरेशनमा उनी मारिएका थिए । अमेरिकी सेनाका कुकुरले लखेटेपछि बगदादीले आत्मघाती बम विस्फोट गराएर आफैलाई उडाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका थिए ।

    इस्लामिक स्टेटले अडियो सन्देश मार्फत उक्त पुष्टी गरेको हो । यस कारवाहीका दौरान प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको पुष्टि संगठनले गरेको छ ।

    अबु हम्जा अल कुरैशीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको संगठनले उल्लेख गरेको छ । यस संगठनले नयाँ नेताको तस्वीर सार्वजनिक गरिएको छैन । उनी परिचित नाम समेत नभएकाले यस संगठनले अझ बढी आक्रामक रणनीति लिन सक्ने आंशका पश्चिमी मुलुकहरुको रहेको छ ।

    एजेन्सी

  • महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर

    महराविरुद्ध मुद्दा दर्ता, जबर्जस्ती करणी उद्योगको कसुर

    काठमाडौं । बलत्कारको आरोपमा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगको कसुरमा उनीविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो।

    महरामाथि आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको र नमानेपछि कुटपिट गरेको आरोप लागेको छ । आरोप लाग्नासाथ उनले पदबाट भने राजिनामा गरी अनुसन्धानलाई सघाएका थिए ।

    उनलाई आरोप लगाउने कर्मचारी रोशनी शाहीले पहिलो बयानपछि पटक पटक बयान फेर्दै उनी निर्दोष रहेको बताएपनि प्रहरीले अनुसन्धान रोकेको थिएन ।

    मुद्दा दर्ता भएपछि उनलाई बिहीबार हिरासतमै फर्काइएको काठमाडौं जिल्ला अदालतले जानकारी दिएको छ । अब शुक्रबारबाट थुनछेक बयान र बहस शुरु हुनेछ ।

    धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि थुनामा राख्ने निर्णय अदालतले नै फैसला गर्छ । प्रहरीले महरामाथि अनुसन्धानपछि कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।

    २० दिनभन्दा लामो अनुसन्धानले महराबाट संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी उद्योग गरेको पुष्टि हुने निष्कर्षमा प्रहरी पुगेको हो ।

    प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने प्रक्रिया रहेको छ । महरामाथि लागेको आरोप पुष्टी भए उनीमाथि अदालतबाट सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने सक्ने व्यवस्था रहेको छ।

    प्रहरीले रोशनीको कोठाबाट बरामद गरेको चस्मा र जुत्ताको तलुवा, उनले दिएको भिडियो बयानलगायतका आधारमा महरालाई दोषि सवित गरेको छ ।

  • कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

    कपिलवस्तुको कृष्णनगरमा भड्कियो हिंसा, प्रहरीको गोलीले एकको मृत्यु

    कपिलवस्तु । बिहीबार कपिलवस्तुको कृष्णनगरमा हिंसा भड्किएको छ । बुधबारदेखि शुरु भएको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउनु परेको छ ।

    घटनामा प्रहरीको गोली लागि सुरजकुमार पाण्डेको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । उनी कृष्णनगर नगरपालिका मडाहा गाउँमा बस्ने भारतीय नागरिक भएको खुलेको छ ।

    कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर स्थानीय दुई पक्षबीच विवाद भएको थियो । स्थानीय प्रशासनले बुधबार रातीबाटै कर्फ्यू आदेश जारी गरेको थियो।

    त्यसपछि पनि दुई सम्प्रदायबीचको हिंसा कम नभएपछि झडपको स्थिति सिर्जना भएको हो । हिन्दु र मुस्लिम समुदायबीचमा विवाद उत्पन्न भएको हो ।

    मृतक पाण्डेले ठेलामा चिया पसल चलाएर गुजारा चलाउँदै आएका थिए । हिन्दु समुदायले लक्ष्मीपूजामा स्थापना गरेको मुर्ति विसर्जन गर्न लैजाने रुटको विषयमा मुश्लिम समुदायसँग विवाद भएको प्रहरीले जनाएको छ ।

    तराईका कतिपय स्थानमा बडादशैं र तिहारको लागि हिन्दु समुदायले स्थापना गरेका दुर्गा र लक्ष्मीका मुर्ति स्थानीय नदी तथा तलाउमा विसर्जन गर्ने प्रचलन रहेको छ । सोही क्रममा फरक फरक समूदायबीचमा विवाद हुने गरेको छ ।

    यस स्थानमा गत वर्ष पनि यस्तै विवादमा प्रहरीले लाठिचार्ज गरी घटनालाई साम्य पारेको थियो । यस वर्ष भने प्रहरीले गोली नै चलाउनु परेको हो ।

    यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले घटनाप्रति चासो राख्दै सामाजिक सद्भाव कायम राख्न र शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा संयमित हुन सरकारलाई आग्रह गरेको छ ।

  • काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको ज्यान गयो

    काठमाडौंको साँखुमा बस दुर्घटना, ३ जनाको ज्यान गयो

    काठमाडौं । काठमाडौंमा बस दूर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौंको साखुँमा बस दूर्घटनामा परेको हो ।

    प्रहरीका अनुसार बिहीबार सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट बस काठमाडौं आउँदै थियो । बा ५ ख ५०७० नम्बरको बस साँखुस्थित जंगलमा दुर्घटना भएको हो ।

    घाइतेहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दूर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । दूर्घटनापछि प्रहरी र स्थानीय उद्दारमा जुटेका थिए ।

  • कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै

    कांग्रेसले उपनिर्वाचनका उमेदवार आज टुंगो लगाउँदै

    काठमाडौं । नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउन भएको छ । सोही प्रयोजनका लागि बिहीबार पदाधिकारी बैठक डाकिएको छ ।

    १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । देशभर करीव ५० पदमा उपनिर्वाचन हुनेछ । पदाधिकारी बैठकले उपनिर्वाचनका उमेदवारको टुंगो लगाउने कांग्रेसले जनाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ ।

    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पनि सहभागी हुँदैछन् । बैठकले प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी अन्तिम टुंगो लगाउने भएको छ ।

    यसबाहेक समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनजस्ता विषयले पनि बैठकमा प्रवेश पाउने बताइएको छ ।

    कांग्रेसका अधिकाश जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहले पार्टीका उमेदवारको नाम सिफारिस गरिसकेका छन्। ती नाममाथि अन्तिम टुंगो मात्र पदाधिकारी बैठकले लगाउने भएको छ ।

  • नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा

    नेपाली क्रिकेट टीमको कप्तानी ज्ञानेन्द्रको जिम्मा

    काठमाडौं । पारस खड्काको राजिनामा पछि खाली भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र खड्कालाई दिइएको छ ।

    निर्वतमान कप्तान पासर खड्काले यसको पुष्टी गरेका छन् । उनले ज्ञानेन्द्रलाई नयाँ जिम्मेवारीका लागि बधाई समेत दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिने निर्णय गरेको हो ।

    क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै पारसले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका थिए । उनले गत आइतबार इमेलमार्फत क्यानमा राजिनामा पत्र बुझाएका थिए ।

    त्यसपछि क्यानले नयाँ कप्तान छानेको हो । ज्ञानेन्द्र यसअघि टोलीको उपकप्तानको जिम्मेवारीमा थिए । अब उपकप्तानको जिम्मेवारीमा भने दीपेन्द्र सिंह ऐरीलाई ल्याइएको छ ।

    पारसले टोली नसम्हालेको बेला ज्ञानेन्द्रले टोलीलाई सम्हाल्ने गरेका थिए । पारस र ज्ञानेन्द्रले नेपाली टोलीको सफलतामा ठूलो योगदान दिएका छन् । अब ज्ञानेन्द्र नयाँ भूमिकामा भने कति जम्छन्, त्यो भने भावि दिनमा देखिने छ ।

  • किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?

    किन लुकाइएको छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार ग्राण्डी अस्पताल भर्ना भए । दिनभर संचारमाध्यम र अन्य सामाजिक संजालमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निकै चासो व्यक्त भयो ।

    तर, साँझ अस्पताल र प्रधानमन्त्रीको निजी सचिवका तर्फबाट एक विज्ञप्ती जारी गर्दै भनियो, यो प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षण भएको र बुधबार साँझ नै या बिहीबारसम्म डिस्चार्ज हुने उल्लेख छ ।

    तर, समाचार स्रोतहरुका अनुसार प्रधानमन्त्रीको मृगौलाको डायलासिस गरिएको छ, सोहीकारण उनको अस्पताल बसाई लम्बिने क्रममा छ ।

    यसअघि प्रधानमन्त्री स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहँदा समेत सरकारले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जनतालाई जानकारी दिइराख्नु पर्छ भन्ने आवश्यकता ठानेन।

    अहिले पनि सकभर प्रधानमन्त्रीलाई के भइरहेको छ र किन अस्पतालमा राख्नु परेको हो भन्ने यथार्थ लुकाइएको छ । प्रधानमन्त्रीको १२ वर्षअघि मृगौला प्रत्यारोपण हो ।

    सिंगापुरबाट फर्किएपछि पनि उनी त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर उपचार गराएका थिए ।

    त्यसपछि पनि उनी ग्राण्डी अस्पतालमा एक पटक उपचारमा पुगिसकेका थिए ।

    मृगौला प्रत्यारोपण गरेको लामो समय भइसकेको अवस्थामा प्रधानमन्त्रीको स्वास्थ अवस्थाबारे सर्वसाधारणको जिज्ञासा वेवास्था गर्नुले सरकारको नियतमाथि भने प्रश्न उठ्ने गर्छ । किनकी कार्यकारी पदमा आसिन व्यक्तिको स्वास्थले समग्र सरकारको गतिमै असर पुग्न जान्छ ।

  • काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ

    काठमाडौंमा ठूलो जुवाखालमा प्रहरीको छापा, २५ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौं महाराजगञ्जस्थित एक ठूलो जुवाखालमा छापा मारेको छ । जुवाखालबाट २५ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर स्रोतले जनाएको छ ।

    २५ जना पक्राउ परेपनि नाम भने अझै सार्वजनिक गरिएको छैन । जुवाखालबाट २ करोड भन्दा बढी बरारबरको चेक तथा नगद रकम बरामद भएको प्रहरीले जनाएको छ ।

    महाराजगञ्जस्थित होटल साम्बालापछाडि एक घरमा विशेष सुराकीका आधारमा प्रहरीले छापा मारेको थियो ।

  • आज दिन भर देशभर बत्ति नजाने

    आज दिन भर देशभर बत्ति नजाने

    काठमाडौं । यस वर्ष पनि देशभर लक्ष्मी पूजाको दिन लोडसेडिङ नहुने भएको छ ।

    आइतबार परेको लक्ष्मीपूजाका लागि देशभर आवश्यकता अनुसार विद्यूत लोड पुर्याउने गरी तयारी भएको नेपाल विद्यूत प्राधिकरणले जानकारी दिएको छ ।

    नेपालमा २०७३ साल अगाडी हरेक लक्ष्मी पूजाका दिन नेपाल विद्यूत प्राधिकरणले लोड कम हुने सामान चलाउन आग्रह गर्दै आएको थियो ।

    तर, अब भने त्यस्तो अवस्था नरहेको प्राधिकरणको भनाई रहेको छ । २०७३ सालको लक्ष्मी पूजामा काठमाडौं उपत्यकामा मात्र लोडसेडिङ हटेको थियो ।

    त्यसपछिका वर्षहरुमा भने क्रमशः देशभरै लोडसेडिङ हट्दै गएको छ । नेपालमा उज्यालो अभियानको नेतृत्व भने कुलमान घिसिङले गरिरहेका छन् ।

    प्राधिकरणका अनुसार देशभर नै स्वदेशी उत्पादनबाट विद्यूत आपूर्ति गराउने योजना रहेको छ । प्राधिकरणका अनुसार आकस्मिक अवस्थामा चलाउन जगेडाका रुपमा कुलेखानीको तीनवटै आयोजना राखिएको छ ।

    ती आयोजनाबाट १ सय ६ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । अहिले प्राधिकरणको प्रणालीमा एक हजार २५० मेगावाट विद्युत् उपलब्ध भइरहेको छ ।

  • अजरवैजानमा प्रधानमन्त्रीको व्यस्तता

    अजरवैजानमा प्रधानमन्त्रीको व्यस्तता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यति बेला अजरवैजानमा छ । उनी अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलनको १८औँ शिखर सम्मेलनमा भाग लिन अजरवैजान आएका हुन् ।

    सोही अवसरमा प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरोसँग भेटवार्ता गरे । उनीहरुबीच शुक्रबार बाकु कन्भेन्सन सेण्टरमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा प्रधानमन्त्री

    ओलीले तीन वर्षसम्म नामको सफलतापूर्वक नेतृत्वका लागि बधाई ज्ञापन गरेका थिए । सम्मेलनकै दौरान भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि भेटवार्ता भएको सचिवालयले जनाएको छ ।

    असंलग्न आन्दोलनमा सहभागी पाहुनाको सम्मानमा अजरवैजानले रात्रिभोज आयोजना गरेको छ । सम्मेलन शुक्रबारबाट शुरु भएको हो । प्रधानमन्त्री ओली भने आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • अब चितवनसम्म पाइपलाइनबाट ग्यास

    अब चितवनसम्म पाइपलाइनबाट ग्यास

    बारा । भारतको मोतिहारीबाट अब चितवनसम्म पाइपलाइनबाट ग्यास आउने भएको छ । मोतीहारी–चितवन पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइनको काम शुरु गरिएको छ ।

    शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाड्दै यस आयोजनाको शुरुवात भएको घोषणा गरे ।
    मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवनपेट्रोलियम पाइपलाइन समेत बिस्तार हुने उक्त अवसरमा जानकारी दिइयो ।

    अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब ६२ किलोमिटर लामो पाइपलाइन विस्तारको तयारी गरिएको हो ।

    अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तारको लागत ५ अर्ब ६७ करोड लाग्ने र पेट्रोलियम पदार्थ भण्डारण आयोजनाको लागत ४ अर्ब १९ करोड लाग्ने नेपाल आयल निगमले जनाएको छ ।

  • दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए

    दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता गाभिए

    काठमाडौं । नेपालका दुई ठूला बैंक ग्लोबल आइएमई र जनता बैंक मर्जर भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाध्यकारी वीग मर्जर नीति ल्याउने अपेक्षा गरिएको थियो ।

    तर, नीति नआएपनि दुई ठूला बैंक गाभिने निष्कर्षमा पुगेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकामा मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भयो ।

    सम्झौतापत्रमा ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरे ।

    राष्ट्र बैकले अन्तिम स्वीकृति दिएपछि एकीकृत कारोबार सुरु हुने कार्यक्रममा जानकारी दिइयो । दुई बैकबीच २० असारमै मर्जरसम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

    अब मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आइएमई बैक रहने भएको छ । बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहने छन् । मर्जरपछि बैकको चुक्ता पूँजी १९ अर्ब पुग्ने छ । यो निजी क्षेत्रको सबैभन्दा ठूलो बैंकसमेत बन्ने छ ।

  • जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस

    जर्मनीको बोनस्थित दूतावास भवन बेच्न सिफारिस

    काठमाडौं । व्यवस्थापिका संसद, संसदीय उपसमितिले जर्मनी, बोनस्थित नेपाली राजदूतावास भवन बेच्न सरकारलाई सिफारिस गरेको छ ।

    सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिबाट जर्मनीको बोनस्थित दूतावासको भवन प्रयोगविहीन रहेको भन्दै तत्काल बेच्नु पर्ने सुझाव दिएको छ ।

    उपसमितिका संयोजक राजेन्द्र कुमार केसीका अनुसार त्यहाँ रहेका दुई वटा भवन प्रयोग विहिन रहेका छन् ।

    जर्मनीको राजधानी बोनबाट बर्लिनमा सरेपछि बोनस्थित दूतावास भवन प्रयोगबिहिन भएको हो । बर्लिनमा भने नेपालले घर भाडामा लिएर दूतावास चलाइरहेको छ ।

    बोनको दूतावास बेचेर बर्लिनमा नयाँ भवन बनाउन सकिने सुझाव समेत दिइएको छ । उपसमितिले बेलायतस्थित नेपाली दूतावास भवन भने बिक्रि गर्न नहुने बताएको छ ।

    बेलायतमा महारानी एलिजावेथको दरबारसँगै रहेका कारण पनि नेपाली दूतावासको भवनको ठूलो महत्व रहेको छ ।

    उपसमितिको टोलीले साउदी अरेबिया, फ्रान्स, जर्मनी र बेलायती दूतावासको स्थलगत अध्ययन गरेको छ ।

    उक्त टोली २६ असारमा नेपालबाट हिडेको थियो । २ साउनमा स्वदेश फर्किएको थियो । टोलीमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उपसमिति संयोजक केसी, सांसद चन्दा चौधरी, प्रेम आले र अमनलाल मोदी सहभागी भएका थिए ।