Author: Vishwanews.com

  • आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए

    आलमबारे देउवाले आफ्नै अभिव्यक्ति सच्याए

    काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले क्रुर अपराधमा पक्राउ परेका सांसद मोहम्मद आलमबारे आफैले दिएको अभिव्यक्ति सच्याएका छन् ।

    मानिसलाई जिँउदै जलाउने सम्मको क्रुर अपराध गरेको अभियोगमा पक्राउ परेका सांसदको रक्षा गर्दै देउवाले शुक्रबार यो काम नेपाली कांग्रेस विरुद्धको षडयन्त्र भएको बताएका थियो ।

    उनको यो अभिव्यक्तिको अहिले व्यापक अलोचना भइरहेको छ ।

    सभापति देउवाले शनिबार भने पार्टीबाट रौतहट २ मा विजयी भएका सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने स्पष्ट पारेका छन् ।

    आफ्नो अभिव्यक्तिको चर्को आलोचना भएपछि सभापति देउवाले शनिबार विज्ञप्ति नै निकाल्नु पर्यो ।

    देउवाले प्रष्टिकरण दिँदै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ उल्लेख गर्दै १२ वर्ष पूरानो मुद्दामा आफूले सोही संकेत गरेको उल्लेख गरेका छन् ।

    उनले आफ्ना धारणाले उत्पन्न गरेको अन्यौल र अष्प्रष्टता चिर्न विज्ञप्ति निकालेको बताएका छन् । कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरूरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने भन्दै आफ्नो अभिव्यक्तिको बचाउ गर्न खोजेका छन् ।

    देउवाले आलममाथिको मुद्दामा दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने भन्दै निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने मान्यता रहेको बताएका छन् ।
    आलमविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका मानिसलाई ज्युँदै इँटाभट्टामा पोलेर मारेको आरोप लागेको छ ।

    सोही मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । आफ्नो विरोध गर्ने सबैलाई मार्दै गाउँमा आतंक मच्चाएको भन्द्र उनलाई एक क्रुर अपराधीका रुपमा पिडितहरुले चित्रण गरिरहेका छन् ।

  • नौबिसे नागढुंगा सडक एकतर्फी चलाइयो

    नौबिसे नागढुंगा सडक एकतर्फी चलाइयो

    काठमाडौं । दशैंको चाप सकिएसँगै नौबिसे नागढुंगा सडक खण्डको मर्मत शुरु भएको छ । सोही प्रयोजनका लागि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घरस्थित सडक खण्डमा कालोपत्रे गर्ने काम जारी छ ।

    सोही कारण एकतर्फी सवारी संचालनमा ल्याई काम जारी रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी सडक चलाइएको छ ।

    यस दिन अन्य दिनको तुलनामा कम सवारी चाप हुन्छ । यस सडकखण्डमा साँघुरो संरचनाका कारण सवारी साधनको ठूलो चाप लाग्ने गरेको छ । एकतर्फी सवारीका कारण केही समय भने सास्ती हुने छ ।

  • ‘सी छिङलाई माइतिमा स्वागत’

    ‘सी छिङलाई माइतिमा स्वागत’

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त भएकी चर्चित चिनिया अभिनेत्री सी छिङलाई ‘तपाईलाई मावलीमा स्वागत छ’ भन्दा उनले हासो थाम्न सकिनन् ।

    लजालु स्वभावमा उनी मुस्कुराइन् । मख्ख शैलीमा उनले हासेको देखेर उपस्थित आयोजक तथा पत्रकार समेत मख्ख परे ।

    प्रत्युत्तरमा अभिनेत्री सी छिङले भनिन्, ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ । बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुसी छु, भन्यबाद् ।’
    नेपाली चेली भृकुटीले चिनिया नागरिक सम्राट श्रङचङसंग विवाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिएका हुन् ।

    मन्त्री भट्टराईले सद्भावना दूत घोषणा कार्यक्रममा भने, ‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु । अव गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु । चीनमा मात्रै होइन विश्वमै ख्याती कमाइसक्नु भएकी छिङले नेपालबारे पक्कै पनि दुई शब्द बोल्नु हुनेछ ।’

    टोली सहित नेपाल आएकी अभिनेत्री छिङसंग नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आज औपचारिक कार्यक्रम गरी सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरेको छ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज बैध, नैपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको सहभागिता रहेको थियो ।

    नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले चिनिया अभिनेत्री छिङ चीनमा मात्रै नभएर विश्वमै चर्चित भएको बताए । केही दिन पहिले आफू दक्षिण कोरियामा हुदा समेत उनको चर्चा सुनेको बताए ।

    नेपाल भ्रमण वर्ष एउटा इभेन्ट मात्रै नभएर देशको मेरुदण्ड भएको उनको भनाई थियो । आर्थिक विकासको पाटोमा पर्यटनले ठूलो अर्थ राख्ने धारणा उनको थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि छिङलाई नेपालमा स्वागत गर्दै शुभकामना दिए ।

  • गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)

    गैरआवासीय नेपाली संघले जारी गर्यो काठमाडौं घोषणा पत्र (पूर्ण पाठसहित)

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मलन काठमाडौंमा सम्पन्न भएको छ । उक्त सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गरेको छ । यस्तो छ घोषणा पत्रको पूर्ण पाठ :

    ‘म , मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारा सहित सम्पन्न गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भब्य रुपमा सफल पार्न आफ्नो उपस्थिति एवं सक्रिय संलग्नता जनाउने सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय परराष्ट्रमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरू, महामहिम राजदूतज्यूहरू, कुटनीतिक नियोगका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकृतज्यूहरू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षज्यू लगायत व्यवसायिक संघ/संस्थाका अध्यक्षज्यूहरू, विकास साझेदारहरू, गैरआवासीय नेपाली संघका अध्यक्षज्यू, संरक्षक तथा पदाधिकारीज्यूहरू एवं ८० देशका २ हजार ६ सय ५६ जना गैरआवासीय नेपाली प्रतिनिधिहरूमा यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

    साथै विभिन्न राजनीतिक दल, विज्ञहरू, संघ/संस्था, सञ्चारकर्मी, व्यापारिक समुदाय एवं सम्पूर्ण सौजन्यकर्ताप्रति आभार व्यक्त गर्दै यो सम्मेलन निम्न कार्यहरू गर्ने प्रतिबद्धतासहित काठमाडौँ घोषणापत्र जारी गर्दछ ।

    १.    यो सम्मेलन तीनै तह(संघीय, प्रादेशिक र स्थानीय सरकार)को निर्वाचन सम्पन्न भई मुलुकभित्र बलियो र स्थायी सरकार क्रियाशिल भएकोमा खुसी व्यक्त गर्दछ । संविधान कार्यान्वयन भई मुलुक राजनीतिक स्थायित्व प्राप्त गर्दै आर्थिक विकासको दिशातर्फ उन्मुख भएकोले सामूहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उपयुक्त वातावरण सिर्जना भएको अवस्थामा नेपालको जलविद्युत, पर्यटन, बैंकिङ्ख, स्वास्थ्य, शिक्षा, आधुनिक कृषि र सूचना तथा सञ्चार प्रविधि लगायतका क्षेत्रहरूमा लगानी गर्न यो सम्मेलन सबै गैरआवासीय नेपालीहरूमा हार्दिक आव्हान गर्दछ ।

    २.    सन् २०३० सम्म नेपाल सरकारद्वारा निर्धारित सन् २०२२ भित्र नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति गर्ने, संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्यहरु पूरा गर्ने र मध्यम आय भएको राष्ट्र बन्ने समेत तीनवटा महत्त्वाकांक्षी विकास लक्ष्यहरूसँग सम्बन्धित रणनीतिहरूमा गैरआवासीय नेपालीहरूको महत्त्वपूर्ण भूमिका र योगदान हुन सक्ने जनाउदै उपरोक्त लक्ष्यहरू पुरा गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।

    ३.    विश्वभरका गैरआवासीय नेपालीहरूबाट प्राप्त सहयोगमा भूकम्प प्रभावितहरूको लागि गोरखा जिल्ला, धार्चे गाउँपालिकाको लाप्राकमा निर्माणाधिन एकीकृत नमूना बस्ती परियोजना अन्तर्गत भूकम्प प्रभावितहरूको लागि ५७३ घर निर्माण कार्य सम्पन्न भई बसोवास हुन थालेको छ । यस परियोजनालाई पूर्णता दिन सहयोग गर्ने नेपाल सरकार, नेपाली सेना, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्था, स्थानीय बासिन्दा तथा स्वयंसेवकबाट प्राप्त सहयोगका लागि यो सम्मेलन कृतज्ञता ज्ञापन गर्दछ ।

    ४.    नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा हालसम्म भएको प्रगति समेतलाई मनन गरी यथाशीघ्र कार्यान्वयनको लागि ऐन निर्माणमा तदारूकताका साथ लागिपर्न नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ ।

    ५.    नेपालीहरूको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेशणले मुलुकको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहदा वैदेशिक रोजगारलाई सुरक्षित, न्यायपूर्ण, मर्यादित र व्यवस्थित पार्न लागत खर्चमा पारदर्शिता, नियम कानुनको पूर्ण पालना, समस्यामा पर्ने कामदारहरूलाई न्याय, उद्दार र क्षतिपूर्तिका लागि स्वदेश र विदेशमा सेवा दिने न्यायिक संयन्त्र स्थापना तथा परिचालन गर्न संघले नेपाल सरकारसँग सहकार्य गर्नेछ । कामदारहरूको सीप प्रशिक्षण, परीक्षण तथा प्रमाणीकरणलाई सहयोग गर्दै वैदेशिक रोजगारीको आर्जनलाई राष्ट्र निर्माणमा सदुपयोग गर्ने तथा कामदारहरूको भावी सामाजिक सुरक्षाका लागि यस संघले यसअघि अगाडी बढाएको कर्मचारी सञ्चय कोषसँगको सहकार्यमा अघि सारेको अनिवार्य बचत (हजारे अभियान)सहितको सञ्चय कोष कार्यान्वयनका लागि परिणामदायी पहल गर्नेछ ।

    ६.    नेपाल सरकारले घोषणा गरेको नेपाल भमण वर्ष २०२० लाई सफल पार्न  अतिथि देवो भव: लगायतका अभियानलाई शसक्त रुपमा लगिएको सर्वविदितै छ । अवको केही महिनापछिनै औपचारिक रूपमा शुरूवात हुने भमण वर्षलाई भव्यरूपमा सफल बनाउन संघले विश्वभरि रहेको आफनो बलियो संजाललाई वर्षैभर भरपुर उपयोग गर्ने प्रण गर्दछ ।

    ७.    विज्ञान तथा प्रविधिमा संलग्न गैरआवासीय नेपालीको तथ्यांक तयार गर्दै ती संलग्न शैक्षिक संस्था एवं अनुसन्धान केन्द्र र नेपालका शैक्षिक संस्था र अनुसन्धान केन्द्रबीच समन्वयको वातावरणका साथ प्राज्ञिक आदानप्रदान तथा नेपाल र नेपालीको प्राथमिकताका आधारमा संयुक्त अनुसन्धान सम्बन्धी क्रियाकलापका लागि अनुकूल वातावरण तयार पार्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । यसका निम्ति संघले एक स्थायी निकाय स्थापना गर्न पहल गर्नेछ ।

    ८.    नेपालीहरू अत्यधिक संख्यामा रहेका मुलुकहरूमा नेपाल सरकारको प्रतिनिधित्व रहने गरी नेपाली राजदुतावास वा महावाणिज्यदूतावासको स्थापना गर्न तथा भएका नियोगहरूलाई मानवीय तथा प्राविधिक रूपमा समेत सवल बनाउन नेपाल सरकारलाई यो सम्मेलन अनुरोध गर्दछ । नेपाली नियोगहरू स्थापना नभएसम्म स्थानीय गैरआवासीय नेपाली संघले नेपालीहरूलाई पुर्‍याई आएको सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्दछ ।

    ९.    सरकारले अभियानको रुपमा अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न गैर आवासीय नेपाली संघले आफ्नो प्रतिवद्धता जाहेर गरिसकेको छ । यस क्रममा ठुला आयोजनामा नेपाल लगानी बोर्डसंग सहकार्य गरी सहजकर्ताको भुमिका निर्वाह गर्ने र सम्बन्धित देशका लगानीकर्ताहरूसंग समन्वय गराउने र सहजीकरण गरी स्वदेशमा बाहय लगानी, प्रविधि, शीप, अनुभव तथा ज्ञान आकर्षणमा सहजकर्ता (Catalyst) को भुमिका निर्वाह गर्नेछ ।

    १०.   वाहय लगानी आकर्षणमा प्रमुख वाधक रुपमा औल्याइएको दोहोरो करको समस्यालाई संवोधन गरी लगानी आकर्षणको वातावरण बनाउन नेपालको कुटनीतिक नियोग रहेका र धेरै नेपालीको वसोवास रहेका मुलुकहरुसंग अविलम्व दोहोरो कर उन्मुक्तिको संझौता (Double Taxation Avoidance Agreement-DTA), लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता लगायतका सम्झौता अविलम्व गर्न नेपाल सरकारसंग आव्हान गर्दै त्यसका लागि सहजकर्ताको भुमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।

    ११.   गैरआवासीय नेपाली संघ नेपालमा विधिवत रूपमा दर्ता भएको र अभियानले एक दशक पार गरिसकेको अवस्थामा संघको सँस्थागत संरचना सुधारमा महसुस गर्दै यो सम्मेलन नयाँ रणनीति बनाई सुधारका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जाहेर गर्दछ । गैरआवासीय नेपाली संघ र अभियान एक विशुद्ध गैरराजनैतिक चरित्रको भएकोले दलगत राजनीतिबाट टाढा राख्न नेपालका राजनैतिक दल र विदेशमा रहेका तीनका भातृसंगठनहरुलाई यो सम्मेलन आह्वान गर्दछ ।

    १२.   नवौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई भव्यरूपमा सफल पार्न सहयोग गर्नु हुने नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, संचारकर्मी तथा सम्पूर्ण सौजन्यकर्ता, सहयोगी संघरसंस्था र व्यक्तिहरूप्रति यो सम्मेलन हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

     

    सन् १८ अक्टोवर २०१९ ।

  • यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व

    यस्तो आयो एनआरएनएमा नयाँ नेतृत्व

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

    कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । मंगलबार बाट राजधानीमा शुरु सम्मेलनका दौरान बिहीबार मात्र मतदान भएको थियो ।

    विवादका बीच एक दिन लम्बिएको सम्मेलनमा शुक्रबार नयाँ कार्यसमितिको नतिजा सार्वजनिक गरिएको हो ।

    शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्तले प्रत्यासी कूल आचार्यलाई १४७ मत अन्तरले हराए । पन्तले एक हजार २१७ मत ल्याउँदा आचार्यको भागमा एक हजार ७० मत प्राप्त भयो ।

    महिलासहित ५ उपाध्यक्षमा पन्त र आचार्य प्यानलको मिश्रित परिणाम आएको छ । खुलामा पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८०) र आचार्य समूहका मन केसी (९६१०) विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    महिला उपाध्यक्षमा आचार्य समूहकी रविना थापाले १२२१ मत पाएर विजयी भइन् । उनले सपिला राजभण्डारीलाई हराएकी हुन।

    राजभण्डारीले ८६३ मत पाइन् । २ सचिवमा गौरीराज जोशी (९१६) र आर के शर्मा (८६८) मतसहित विजयी भए । कोषाध्यक्षमा महेश कुमार श्रेष्ठ (१६५३) मत पाएर विजयी भए । सहकोषाध्यक्षमा लोकप्रसाद दाहालको ११८४ मत आयो । उनीसमेत विजयी भए ।

    महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) मत पाएरविजयी भए । मध्यपूर्व र अफ्रिकाका सबै क्षेत्रमा सबै उमेदवार निर्बिरोध निर्वाचित भएका छन् ।

    मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध निर्वाचित भएका छन् ।

    महिला संयोजकमा सुमित्रा देवी पौडेल र युवा संयोजकमा राजु रेग्मी निर्बिरोध निर्वाचित भए ।

    अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ २१७ मतसहित विजयी भए । उनले दई उमेदवारलाई हराएका हुन् । दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने (१९८) र पारसमणि पोखरेल (१९५) मतसहित विजयी भएका छन् ।

    महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएको समितिले उल्लेख गरेको छ ।

    अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी (१५४) विजयी भए । उपसंयोजकमा राम सी पोखरेल (१५०) विजयी भएको समितिले जानकारी दिएको छ । महिला संयोजकमा उमा कार्की थापा (१४४) विजयी भइन् ।

    युवा संयोजकमा विमला सापकोटा निर्बिरोध निर्वाचन भएको समितिको भनाई छ । ओेसेनियाको संयोजकमा होमनाथ पाण्डे १०५ मतसहित विजयी भए ।

    प्रतिस्पर्धी दिनेशराज जोशीलाई मात्र ३ मतले हराउँदै उनी विजयी भएका हुन् । उपसंयोजकमा नवीन कंडेल (१०७) विजयी भए ।

    महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया निर्बिरोध निर्वाचित भए । युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य (२७४) विजयी भए ।

    यस पटकको निर्वाचन विवादरहित भने हुन सकेन । रजनीतिबाट पर राख्ने घोषणा गरेका एनआरएन नेतृत्व अन्त्यमा दलको टिका लगाएर विजयी भए । सोहीकारण सम्मलेन बढी विवादित बन्न पुग्यो । यसअघि एनआरएनएको अध्यक्ष भवन भट्ट थिए ।

  • एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने

    एनआरएन निर्वाचन अपडेट : आचार्यलाई पन्तले उछिने

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आगामी कार्यकालका लागि जारी मतगणनाको ४० प्रतिशत मत गणना सकिएको छ ।

    यसको औपचारिक जानकारी भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन । पछिल्लो मतपरिणाम अनुसार आचार्यलाई जितेर कुमार पन्तले अग्रता बनाएका छन् ।

    बिहीबार राती अबेर सम्पन्न मतगणनाको नतिजा शुक्रबार अपरान्हसम्म सकिने छ । निर्वाचनमा खसेको कुल २ हजार ३ सय ४१ मतमध्ये ८ सय हाराहारी मत गणना भइसकेको छ ।

    यसमा पन्तले आचार्यलाई ७० मतले उछिनेका छन् । पन्तले ४ सय ७५ मत पाउँदा आचार्यले ४ सय ५ मत पाएक छन् ।

  • द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)

    द्वन्द्वपिडित शर्मालाई १० लाख दिने सरकारको निर्णय (मन्त्रीपरिषद् बैठकका निर्णय सूचिसहित)

    काठमाडौं । सरकारले द्वन्द्वपिडित बाँकेका जयलाल शर्मालाई दस लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उनका छोरा द्वन्द्वकालमा मारिएका थिए ।

    यसबाहेक काभ्रेकी सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उनी जनआन्दोलनकी घाइते हुन् ।

    बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यस्तो जानकारी दिएका हुन् ।

    मन्त्रीपरिषद्का ११ निर्णय
    १. व्यवसाय सञ्चालनमा सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत

    २. कात्तिक ५ र ६ गते काठमाडौंमा हुने नेपाल(बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौंथो बैठकमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन गरिएको छ।

    ३. बाँके जिल्ला साविक नेपालगञ्ज नगरपालिका वडा न. २ का मृतक अधिराजकुमार शर्माका पिता जयलाल शर्मालाई दस लाख रुपैयाँ र काभ्रे जिल्ला पॉचखाल नगरपालिका वडा न. ४ बस्ने सानुमाया लामालाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय (एक जना द्वन्द्वकालमा मारिएको र एक जना जनआन्दोलन घाइते)

    ४. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गृह मन्त्रालयका सचिव श्री प्रेम कमार राईको संयोजकत्वमा गठित सिफारिस समितिको म्याद थप गरिएको छ।

    ५. सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरीको छानबिन समितिको म्याद २०७६ मंसिर २८ सम्म थप गरिएको छ।

    ६‌. नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाइ हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति

    ७. ‘चाइना प्रोभिजन अफ मिलिटरी एसिसटेन्स’मा नेपालको तर्फबार हस्ताक्षर गर्न माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री ईश्वर पोखरेललाई स्वीकृति

    ८. निम्न प्रयोजनका लागि वनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ

    • तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाका लागि भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रको १.३७ हेक्टर जग्गा
    • मर्स्याङ्दी कोरिडोर २२० के.भी. प्रसारणलाइन आयोजनाका लागि बेशीसहर नगरपालिका लगायतमा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रको १६।२८००० हेक्टर जग्गा
    • भेरीगंगा नगरपालिकामा बस पार्क निर्माण र सञ्चालनका लागि वडा नं १२ मा रहेको राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जग्गा
    • माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाका लागि लम्जुङ जिल्ला दोर्दी गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको १.३१७ हेक्टर जग्गा
    • चुनढुंगा उत्खननका लागि बाराही क्वेरिज प्रा.लि.लाई तनहुँ जिल्लाको व्यास नगरपालिकाअन्तर्गतको सामुदायिक र राष्ट्रिय वन क्षेत्रको ४.८५ हेक्टर जग्गा
    • चुनढुंगा उत्खननका लागि कसमस सिमेण्ट प्रा।लि।लाई उदयपुर जिल्लाको उदयपुरगढी गाऊँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९९ हेक्टर जग्गा
    • चुनढुंगा उत्खननका लागि ललितपुर जिल्लाको गोदावारी नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.२० हेक्टर जग्गा

    ९.रेडियो नेपालको नाममा रहेको खुमलटारस्थित जग्गा रेडियो नेपालबाट माग भएबमोजिम प्रतिआना रू. ४० लाखका दरले हुन आउने रकम नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउने निर्णय गरिएको छ।

    १०. तुलसीपुर नगर विकास समिति, दाङको नाममा रहेको तुलसीपुर उपमहागरपालिका वडा नं ९ मा पर्ने जम्मा ९०१३.३६ वर्ग मिटर जग्गा तुलसीपुर नगर विकास समितिको निर्णयानुसार उच्च अदालत, तुलसीपुरलाई उपलब्ध गराउन स्वीकृति दिइएको छ।

    ११. नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई (संशोधन र एकीकरण) गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ।

  • ट्रम्प र पुटीनसमेत नेपाल आउन सक्छन् : संचारमन्त्री

    ट्रम्प र पुटीनसमेत नेपाल आउन सक्छन् : संचारमन्त्री

    काठमाडौं । सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अनुकूलता मिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसमेत नेपाल भ्रमणमा आउन सक्ने बताएका छन् ।

    बिहीबार मन्त्रालयमा आयोजित मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित बैठकमा मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपालको अन्तर्राष्ट्रिय पहिचान बिस्तार भएको भन्दै ट्रम्प र पुटीनको समेत नेपाल भ्रमण हुन सक्ने बताएका हुन् ।

    ‘हामी प्रयास गर्छौं, उहारुहरुको अनुकूलता मिल्यो भने त्यो पनि सम्भव छ’, उनले भने ।

    चिनियाँ राष्ट्रपति सी चिनफिङ्गको भ्रमण हरेक रुपमा सफल सरकारको विश्लेषण रहेको समेत उनले सुनाए ।

    नेपाल आकार, जनसंख्या र आर्थिक रुपमा तुलना हुन नसक्ने गरी कमजोर भएपनि चिनियाँ राष्ट्रपति सीले उच्च महत्व दिएको उनले भनाई छ ।

    नेपालले पनि उच्च आदर र सम्मान दिएर आफ्नो पहिचान कायम राखेको उनको थियो । उक्त अवसरमा मन्त्री बास्कोटाले मन्त्रीपरिषद् बैठकका ११ निर्णय समेत सार्वजनिक गरे ।

  • राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड

    राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड

    काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार सवारीका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको छ ।

    काठमाडौंबाट थाइल्याण्ड हुँदै म्यानमारसम्म निगमको एयरबस ३२० जहाज उडेको थियो ।

    थाइल्याण्डसम्म नियमित उडानका यात्रु समेत लगेर गएको निगमको उक्त जहाजले राष्ट्रपतिसहित उनको भ्रमण दलका दुई दर्जन सदस्यलाई भने म्यानमारमा छाडेर पुनः थाइल्याण्ड हुँदै काठमाडौं फर्किएको हो ।

    एक साता लामो राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति भण्डारी म्यानमारमा छिन् । उनको भ्रमणका दौरान बिहीबार नेपाल र म्यानमारबीच पर्यटन प्रवद्र्धन सम्बन्धी एक सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

    राष्ट्रपति आगामी बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उक्त समयमा पनि निगमको जहाज म्यानमार पुग्नेछ ।

  • विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा

    विप्लवका दाजुसहित २१ नेता प्रहरी कब्जामा

    दाङ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय प्रभावकारी प्रहरी कारवाही तिब्र बनाएका छन् ।

    खासगरी जनतामा सरकार रहेको र सुशासनको अनुभूति हुने गरी प्रहरी अपरेशन तिब्र बनाइरहेको समयमा प्रहरीले भूमिगत अवस्थामा रहेको विप्लव समूहका नेता दुई दर्जन नेता कार्यक्रता पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नेत्र विक्रम चन्द्र विप्लवका दाजु चन्द्रबहादुर चन्दसमेत रहेका छन् । प्रहरीले दाङबाट उनीहरुलाई पक्रेको हो ।

    प्रहरी स्रोतका अनुसार विप्लव नै दाङमा रहेको सूचनाका आधारमा घेरा हालिएको थियो । तर, उनी भने पक्राउ परेनन् ।

    दाजु र अन्य केन्द्रदेखि जिल्लास्तरीय नेताहरु भने पक्राउ परेका छन् । प्रहरी करीव ५ घण्टाको पैदल दूरी पार गरेर उनीसम्म पुगेको थियो ।

    प्रदेश प्रहरी ब्युरो तुलसीपुर, जिल्ला ब्युरो घोराही, गढवा प्रहरीको टोलीले घेरा हालेर उनीहरूलाई पक्राउ गरेको हो ।

    एक घरमा बैठक बसिरहेको समयमा प्रहरी पुगेको थियो । राती १ बजे प्रहरीले उक्त सफलता प्राप्त गरेको हो । पक्राउ पर्नेमा नेकपा नेता झक्कुप्रसाद सुवेदीका छोरा समेत रहेको बताइएको छ ।

  • टेलिकमले ल्यायो अफरै अफर

    टेलिकमले ल्यायो अफरै अफर

    काठमाडौं । नेपाल टेलिकमले ग्राहक लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ । अटम सिजनलाई लक्षित गर्दै कम्पनीले नयाँ नयाँ सुविधा र अफर ल्याएको बताएको छ ।

    बिहीबारबाट शुरु भएको अफर अभियान आगामी ९ महिनासम्म जारी रहने कम्पनीले उल्लेख गरेको कम्पनीले मौसम अनुसार विभिन्न अफर मार्फत ग्राहक आकर्षित गरिरहेको छ ।

    अब यसअघि उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन ग्राहकमैत्री बनाइएको छ ।

    डे डाटा प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिन भर ८० एमबी डाटा चलाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।

    डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने बताइएको छ ।

    एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य घटाइएको छ ।

    पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने गरी परिमार्जन गरिएको छ ।

    एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधा भने यथावत नै रहेका छन् ।

    फोरजी एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधासमेत निरन्तर प्राप्त हुनेछन् ।

  • कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित

    कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित

    कतार । कतारमा नेपालीले कानून विपरित राजनीतिक गतिविधि गरेको तथा चन्दा संकलन गरेको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।

    कतारस्थित नेपाली दूतावासमा पत्र पठाउँदै कतार सरकारका विभिन्न निकायले यस्तो सूचित गराएका हुन् ।

    कतारमा रहेका केही समुदायले सम्बन्धित निकायबाट पूर्व स्वीकृत नलिई भेला–बैठकको आयोजना गर्ने, चन्दा–रकम संकलन गर्ने जस्ता कार्यहरु गरेको भन्दै कतार सरकारले नेपाली राजदुतावासलाई पत्र पठाएको हो ।

    वैदेशिक रोजगारीको लागि कतार गएका कामदारहरुले पूर्व स्वीकृत नलिई स्थानीय कानुन र प्रचलन प्रतिकुल हुनेगरी यस्ता कार्य गरेको कतार सरकारको भनाई छ ।

    दूतावासले बुधबार एक सूचना सार्वजनिक गर्दै कतार सरकारको उक्त चासोबारे सार्वजनिक गरेको हो ।

    दूतावासले कतारी कानून अनुसार गैरकानूनी ठहरिने कुनै पनि गतिविधि नगर्न नेपाली समूदायसँग आग्रह गरेको छ । विभिन्न कार्यक्रम तथा गतिविधिका लागि भन्दै चन्दा संकलन गर्ने काम विदेशमा व्यापक हुने गरेको छ ।

  • गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना

    गैरआवासीय नेपालीले देखाए अभद्र व्यवहार, व्यापक आलोचना

    काठमाडौं । काठमाडौंमा गैरआवासीय नेपालीहरुको ९ औं विश्व सम्मलेन जारी रहेको छ ।

    बुधबार निर्वाचन हुने र बिहीबार निर्वाचनको नजिजा सार्वजनिक भई नयाँ नेतृत्वलाई पदभार ग्रहण गरी सम्मेलन समापन हुने योजना रहेकोमा सम्मेलन लम्बिएको छ ।

    बुधबार राति हुने भनिएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित भएको छ । विश्वभरबाट आएका गैरआवासीय नेपालीले नयाँ नेतृत्व चयन गर्न लाइन बसिसकेका थिए ।

    तर, साँझ अकस्मात मतदान स्थगित भएको घोषणा भयो । आयोजकले विद्यूतीय मतदान गर्ने भोटिंग मेसिन बिग्रिएको बताएको छ ।

    तर, आन्तरिक विवाद उत्पन्न भएपछि मतदान नै रोकिएको हो । सम्मेलनमा विधानविपरीत प्रतिनिधिको घुसपैठ भएको भन्दै निर्वाचन समितिमा उजुरी परेको स्रोतले जानकारी दिएको छ ।

    सोहीकारण मतदान रोकिएको हो । मतदान रोकिएपछि आक्रोसित गैरआवासीय नेपालीले हायात होटेलमा तोडफोड गरेका छन् ।

    कुर्सी भाच्ने तथा चर्को नाराबाजी गरेका छन् । उनीहरुले बुधबार दिनभरजसो होटेल परिसरमा होहल्ला गर्दै ताण्डव देखाएका थिए

    गैरआवासीय नेपालीको यस्तो हर्कतको भने सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।

    कतिपयले भनेका छन्, ‘तिमिले छाडेर गएको नेपाल निकै सभ्य भइसकेको छ महासय, तिमी त अझै उस्तै रैछौ ।’ अर्का एक फेसबुक प्रयोगकर्ताले भनेका छन्, ‘२०६३\६४ सालताकाका वाइसीएल र यूथफोर्स विदेश पसेर एनआरएन भएका रैछन्, आफ्नो पारा देखाए ।’

    खासगरी निर्वाचनमा राजनीति नघुसाउने बताएका गैरआवासीय नेपाली आफै नेकपा र कांग्रस खेमा गरी विभाजित भई निर्वाचनमा होमिएपछि निरन्तर विवाद भइरहेको छ ।

  • राष्ट्रपति पहिलो पटक निवासदेखि विमानस्थलसम्म हेलिकोटरमा

    राष्ट्रपति पहिलो पटक निवासदेखि विमानस्थलसम्म हेलिकोटरमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निवास शीतलनिवासबाट विमानस्थलसम्म पुग्न पहिलो पटक हेलिकप्टर प्रयोग
    गरेकी छिन् ।

    बुधबार राजकीय भ्रमणका सिलसिलामा म्यानमार जाने क्रममा उनी हेलिकप्टरमात्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी हुन् ।

    सडक मार्ग प्रयोग गरी आउँदा सडकमा अधिक जाम हुने र त्यसले सर्वाधारणमा आक्रोस बढ्दै गएपछि सरकारी अतिशिविष्ट व्यक्तिको सवारीमा प्रयोग गर्न अत्याधुनिक हेलिकोप्टर खरीद गरेको छ ।

    सोही हेलिोप्टर प्रयोग गरी राष्ट्रपति विमानस्थल पुगेकी हुन् । सामान्यतया राजकीय भ्रमणमा निस्कदा बाटो खाली गराउने प्रचलन रहेको छ ।

    विमानस्थलमा उनलाई उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत मन्त्री तथा अन्य उच्च पदस्थ व्यक्तिले राष्ट्रपतिलाई बिदाई गरे ।

    एक साता लामो भ्रमणका लागि राष्ट्रपति भण्डारी म्यानमार पुगेकी छिन् । उनी आगामी बुधबार स्वदेश फर्कने छिन् ।

  • नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा

    नेपालमा विदेशीलाई आकर्षक रोजगारी, बेरोजगार नेपाली खाडीमा

    काठमाडौं । नेपालले हजारौं विदेशी नागरिकलाई आकर्षक रोजगारी प्रदान गरेको छ । त्यो पनि इज्यतिलो काममा । तपाई पत्याउनु हुन्छ ?

    किनकी स्वदेशमा काम पाएनौं भन्दै खाडीको तातो धुपमा संघर्ष गरिरहेका नेपालीको व्यथाले देशमा कुनै अवसर नै छैन कि भन्ने भान पर्छ ।

    तर, नेपालमा विदेशबाट दक्ष कामदारले आकर्षक मूल्यमा रोजगारी गरिरहेका छन् । यहाँबाट ठूलो रकम विदेशीएको छ । नेपालमा भारतीय नागरिकको यकिन तथ्यांक छैन ।

    तर, भारत सरकारको तथ्यांक हेर्ने हो भने भारतमा जाने रेमिट्यान्समध्ये टप १० मुलुकमा नेपाल पर्छ । यहाँबाट वार्षिक ३ खर्ब हाराहारी रकम भारत जाने गरेको छ ।

    जहाँकी वार्षिक ९ खर्ब हाराहारी रकम मात्र विदेश पुगेका नेपालीले स्वदेशमा पठाउने गरेका छन् । नेपालले विदेशमा अदक्ष कामदार पठाउँछ, काम अत्यन्तै धेरै गर्नुपर्छ र तर पारिश्रमिक कम आउँछ ।

    तर, नेपालमा भने विदेशीले निकै इज्यतिलो जागिर गर्छन् र राम्रो कमाई गरी स्वदेश फर्कन्छन् ।

    नेपालमा होटल, एयरलाइन्स, उद्योग, परियोजना र संघसंस्थामा विदेशी कामदारको माग अधिक छ ।

    श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार प्राविधिक क्षेत्रमा बढीजसो विदेशी कामदार ल्याउनु परेको छ । किनकी नेपालीले दक्षता विकास गर्ने गरी सीप नै सिक्न सकेका छ्रैनन् ।

    अर्कोेतर्फ भारतबाट भने नेपालीले काम गर्न अल्छी मान्ने तथा कामदार सानो सम्झने क्षेत्रमा बढी कामखार आएका छन् ।

    भारतीय नागरिकले नेपालमा श्रम स्वीकृति नलिइ नै काम गर्न सक्छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले २ हजार ७ जना विदेशी कामदारलाई श्रम स्वीकृति दिएको छ ।

    जसमध्ये भारतीय मात्र ७२ जना छन् । अन्य श्रमिकको भने यसमा कुनै गणना हुँदैन । नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा बढीजसो चिनियाँ नागरिक छन् ।

    यसबाहेक अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, फिलिपिन्स, अमेरिका लगायतका देशबाट कामदार भिसामा विदेशीहरु नेपाल आएको तथ्यांक छ ।

  • गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना

    गैरआवासीय नेपालीको निर्वाचनलाई स्ववियू निर्वाचनसँग तुलना

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को ९ औं विश्व सम्मेलन काठमाडौंमा जारी छ ।

    बिहीबारसम्म चल्ने सम्मेलनमा बुधबार निर्वाचन हुने कार्यक्रम तय भएकोमा साँझ ८ बजेसम्म मतदान शुरु हुन सकेको छैन । बुधबार दिनभर जसो काठमाडौंको हायात होटेलमा नाराबाजी र हुटिंग भइरह्यो ।

    निर्धारित समय अनुसार साँझ ७ बजेबाटै मतदान शुरु हुन पर्ने थियो ।

    मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोधगायतका सम्पूर्ण काम सकिएपछि मतदान सुरु हुने बताइएपनि मतदान हुन सकिरहेको छैन ।

    अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन् ।

    बुधबार अध्यक्षका प्रत्यासी आचार्यले पन्तको टीमका कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठ र सचिवका उम्मेदवार गौरी जोशीलाई आफ्नो प्यानलमा फर्काएका छन् ।
    श्रेष्ठ जापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमा परिचित अनुहार हुन् ।

  • नेकपा सांसद पार्वत गुरुङमाथि पक्राउ पूर्जी जारी

    नेकपा सांसद पार्वत गुरुङमाथि पक्राउ पूर्जी जारी

    काठमाडौं । अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ माथि पक्राउ पूर्जी जारी गरेको छ ।

    जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको हो । उक्त पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल समेत गरिसकेको छ ।

    २०७४ बैशाखमा सम्पन्न स्थानीय चुनावपछि दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा सांघातिक आक्रमण भएको थियो ।

    आक्रमणमा गुरुङको संलग्नता रहेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

    त्यसपछि अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । सांसद गुरुङले भने यो राजनीतिक मुद्दा भएको प्रतिक्रिया दिएका छन् ।

    पछिल्लो समय प्रहरीले विभिन्न अपराधमा मुछिएका सबै उच्च पदस्थलाई पक्राउ गरी सुशासनको झल्को दिन थालेको छ । यो ऋृंखला भने सभामुख कृष्णबहादुर महरा प्रकरणपछि झनै बढेको छ ।

  • राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै

    राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि म्यान्मारको राजकीय भ्रमण शुरु गर्दैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति बुधबार म्यानमार जाने कार्यक्रम तय भएको छ ।

    म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा ३ कात्तिकसम्म उनले म्यानमारको राजकीय भ्रमण गर्न लागेकी हुन् ।

    बुधबार थाइल्याण्डको बैंकक हुँदै म्यान्मारको राजधानी नेपित जाने कार्यक्रम तय भएको छ । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र समकक्षी मिन्तबीच द्धिपक्षीय हितका विषयमा वार्ता हुने बताइएको छ ।

    सोही अवसरमा म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीबीच समेत भेटवार्ता तय भएको छ । राष्ट्रपति भण्डारीको स्वागतमा समकक्षी मिन्तले राजकीय भोज आयोजना गरेका छन् ।

    उक्त मुलुकमा नेपाली मुलकका नागरिक समेत प्रशस्त बस्छन् । उनीहरुसँग समेत भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ ।

    राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी सहभागी हुँदैछन् ।

  • आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?

    आज नेकपा सचिवालय बैठक बस्दै, फेरिएलान मन्त्री ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दैछ।

    प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषद्का केही सदस्यको कार्यशैलीप्रति असहमति जनाउँदै मन्त्रीपरिषद् फेरबदल गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखिसकेका छन् ।

    मन्त्रीहरु अदलबदल तथा पार्टी एकताको अन्तिम टुंगो लगाउने सम्बन्धमा बुधबार छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ ।

    करीव आधा दर्जन मन्त्रीहरुको कार्यशैलीप्रति प्रधानमन्त्री संतुष्ट छैनन् । त्यसमध्ये मातृका यादव, लालबाबु पण्डित, रघुविर महासेठ, बीना मगरलगायत रहेको बताइएको छ ।

    यद्दपी कुन मन्त्रीको बारे के निर्णय गर्ने भन्नेबारे टुंगो भने सचिवालय बैठकबाटै हुने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको छ ।

    मंगलबार समेत बैठक बेको थियो । तर, कुनै निर्णय भने लिन सकेन । बैठकमा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे पनि समिक्षा छलफल हुने तयारी छ ।

  • नेपाललाई जोर्डनले हरायो, विश्वकप छनोटका अवे खेल सकिए

    नेपाललाई जोर्डनले हरायो, विश्वकप छनोटका अवे खेल सकिए

    काठमाडौं । नेपाललाई बलियो प्रतिस्पर्धी जोर्डनले विश्वकप छनोट प्रतियागिताअन्तर्गत भएको खेलमा पराजित गरेको छ ।

    मंगलबार जोर्डनको घरेलु मैदानमा सम्पन्न खेलमा नेपाललाई ३ गोलको अन्तरले हराएको हो । नेपालले भने कुनै गोल गर्न सकेन ।

    जोर्डनसँगको खेलसँगै अब नेपालले विश्वकप छनोटका ४ खेल खेलेको छ । यी चारवटै खेल अवे हुन् ।

    नेपालले घर भित्र अब ४ वटा खेल खेल्नेछ । अवे खेलमा भने तीन खेलमा नेपाल पराजित भयो । एक खेलमा जीत निकाल्न सफल भएको छ । नेपाल अष्ट्रेलिया, कुवेत र जोर्डनसँग हार्यो ।

    चाइनिज ताइपेलाई भने पराजित गर्न सफल भयो । मंगलबार अम्मान अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले पहिलो हाफ बराबरी खेलेको थियो ।

    निकै राम्रो डिफेन्स गर्दै जोर्डनको निरन्तरको आक्रमण विफल पारेको नेपालले दोस्रो हाफमा भने ३ गोल खान पुग्यो ।

    खेलको ५६औं मिनेटमा फिरास शालबयाले पेनाल्टीमार्फत गोल गरे । ७८औं मिनेटमा अहमद इर्सान र ८८औं मिनेटमा बाहा फइसलको गोलमार्फत नेपाल तीन गोलले हार्न पुगेको हो ।

    पाँच टोली सहभागी समूह बीमा नेपाल चार खेलबाट ३ अकं बटुल्दै चौथो स्थानमा रहेको छ । अब चार वटा खेल खेल्न बाँकि रहेको छ ।

  • गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान

    गैरआवासीय नेपाली सम्मेलन शुरु, मातृभूमिमा लगानी गर्न सरकारको आह्वान

    काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन मंगलबारबाट राजधानीमा शुरु भएको छ । करीव ८५ देशका २५ सय भन्दा बढी प्रतिनिधि सहभागी भएको सम्मेलन बिहीबारसम्म चल्ने छ ।

    सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरिन् । उक्त अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकभित्र लगानीमैत्री वातावरण बनेको भन्दै लगानी बढाउन गैरआवासीय नेपालीसँग आह्वान गरिन् ।

    राजनीतिक स्थायित्व, लगानीमैत्री नीति तथा कानूनहरु र शान्ती सुरक्षाको मजवुत अवस्थाका कारण यसबेला नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको सरकारको तर्क रहेको छ ।

    नेपालमा आन्तरिक र बाह्या दुबै ढंगले लगानीमैत्री वातावरण बनेको उनको भनाई थियो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको समृद्धिको यात्रामा सरकारलाई साथ दिन गैरआवासीय नेपालीसँग अनुरोध गरे ।

    मुलुक उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेको समेत उनको भनाई छ । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीको समस्यामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

    गैरआवासीय नेपाली उर्जावान रहेको भन्दै उनले जन्मभूमिको विकास र समृद्धिका लागि सहकार्य गर्न तयार आश्वासन समेत दिएका छन् । त्यसका लागि सरकारले आफूहरुको समस्यालाई गम्भीर रुपमा लिएर सम्बोधन गर्नुपर्ने उनको भनाई थियो ।

    पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपालीको ठूलो खर्च मातृभूमिमै भइरहेको भन्दै लगानी अनुसारको प्रतिफल सुनिश्चित गराउन सरकारसँग आग्रह गरे ।

    संघको यो सम्मेलनले आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्वको समेत चयन गर्ने भएको छ । त्यसका लागि बुधबार निर्वाचन हुने कार्यक्रम रहेको छ । निर्वाचनमा वामपन्थी समूहबाट कुमार पन्त र प्रजातान्त्रिक समूहबाट कुल आचार्य मैदानमा उत्रिएका छन् ।

    हरेक विषय राजनीतिकरण भएको भन्दै सरकारको तिब्र आलोचना गर्ने गैरआवासीय नेपाल आफूहरु स्वयमः भने दुई पार्टीको खेमामा विभाजित भएका छन् ।

    संघमा राजनीतिक ध्रुवीकरण बढेको भन्दै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नवौं सम्मेलन नै बहिस्कार गरिदिएका छन् । सम्मेलनको व्यवस्थापन भने निकै भद्रगोल देखिएको छ ।

    राष्ट्रपतिको सम्बोधनका क्रममा प्रेस पास बोकेका पत्रकारलाई समेत समाचार संकलनमा सुरक्षाकर्मीले रोक लगाएपछि सम्मेलनको व्यवस्थापनप्रति आलोचना भइरहेको छ ।

  • पत्रकारिता पेशा कुन देशमा असुरक्षित ?

    पत्रकारिता पेशा कुन देशमा असुरक्षित ?

    पत्रकारिता पेशा आफैमा एक चूनौतिपूर्ण काम हो । जहाँ एक पक्षले जहिले पनि पत्रकारलाई दुष्मनका रुपमा हेर्छ ।

    यस्तो अवस्थामा विश्वभर पत्रकारलाई धम्क्याउने, अपहरण गर्ने र मार्ने सम्मका काम हुन्छन् । यस्ता गतिविधिका कारण सबैभन्दा असुरक्षित मुलुक नाइजेरिया देखिएको छ ।

    एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखिएको छ ।

    प्रतिवेदन अनुसार एक वर्षको अवधिमा यहाँ १९ जना पत्रकार मारिएका छन् ।

    यो विश्वका अन्य मुलुकको तुलनामा निकै धेरै हो । मारिनेमध्ये सबैभन्दा धेरै सुरक्षाकर्मीको संलग्नता देखिनुबाट पनि यो मुलुक पत्रकारका लागि अत्यन्तै असुरक्षित पाइएको हो ।

    सत्तापक्षबाट पत्रकारको हत्या हुनु चिन्ताको विषय भएको एम्नेस्टीको भनाई छ ।

    नाइजेरियामा प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको भन्दै यसले दविएका आवाज बाहिर ल्याउने अभियान नै प्रभावित भइरहेको उल्लेख गरेको छ ।

    नाइजेरियामा बोको हराम नामक आतंकवादी समूह सक्रिय भई सशस्त्र द्धन्द्ध गरिरहेको छ ।

    एजेन्सी

  • विश्वकप छनौटमा नेपाल र जोर्डन भिड्दै

    विश्वकप छनौटमा नेपाल र जोर्डन भिड्दै

    काठमाडौं । विश्वकप छनोट अन्तर्गत एसियाली महादेशका दोस्रो चरणका खेल भइरहेका छन् । समूह बीमा रहेका जोर्डन र नेपालबीच मंगलबार प्रतिस्पर्धा हुँदैछ ।

    नेपालभन्दा निकै बलियो टोली जोर्डनविरुद्ध नेपाल उसकै घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रिदैछ । नेपाल सन् २०११ मा मिलेको नमिठो हारको बदला लिने दाउमा हुनेछ ।

    उक्त खेलमा जोर्डले नेपालको पोष्टमा ९ गोल हानेको थियो । यस छनोट प्रतिस्पर्धामा नेपालले तीन खेल खेलिसकेको छ ।

    जसमध्ये २ हार र एक जीत मिलेको छ । नेपाल अष्ट्रलिया र कुवेतसँग पराजित भयो भने चाइनिज ताइपेलाई हराउन सफल भयो ।

    अवे खेलमा जीत निकाल्न सके नेपाललाई आगामी होम गेम निकै सहज हुने थियो । किनकी नेपालले घर भित्र खेल्ने सबै खेल खेल्न बाँकि छ ।

    दोस्रो चरणमा एक अर्को टोलीविरुद्ध होम एण्ड अवे मोडलमा प्रतिस्पर्धा हुँदा कूल ८ खेल हुनेछन् ।खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ ।

  • आइसीसीबाट नेपाल र जिम्बाब्वेमाथिको निलम्बन फुकुवा

    आइसीसीबाट नेपाल र जिम्बाब्वेमाथिको निलम्बन फुकुवा

    काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल .आईसीसी)ले नेपाल र जिम्बाब्वेको निलम्बन हटाउने निर्णय गरेको छ ।

    आइसीसीको सोमबार बसेको बैठकले नेपाललाई सशर्त निलम्बन फुकुवा गरेको आइसीसीले ती शर्तहरुबारे भने खुलाएको छैन ।

    यसअघि सन् २०१६ मा क्रिकेट संघ नेपाल (क्यान) निलम्बनको निर्णय लिँदा भने आइसीसीले नेपालमा हुने अधिक राजनीतिकरण, आर्थिक अनियमितताजस विषयलाई प्राथमिकताका साथ उठाएको थियो ।

    नेपाल २०१६ देखि आइसीसीको निलम्बनमा छ । क्यान निलम्बनपछि आइसीसीकै नेतृत्वमा क्यानको विधान संशोधन गरिएको छ ।

  • मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै

    मंगलबारदेखि काठमाडौंमा एनआरएनए विश्व सम्मेलन, अध्यक्षमा पन्त र आचार्य भिड्दै

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन काठमाडौंमा मंगलबारबाट प्रारम्भ हुँदैछ । बिहीबारसम्म चल्ने यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मलेन उद्घाटनको तयारी भइरहेको छ । सम्मेलन बिहीबार समाप्त हुनेछ ।

    चुनावी सम्मेलन भएका कारण पनि अहिले काठमाडौंमा गैरआवासीय नेपालीहरुको सरगर्मी बढीरहेको छ ।

    आगामी कार्यकालका लागि अध्यक्षसहित १२ पदका लागि ४२ जनाले उम्मेदवारी दिदैँछन् । निर्वाचनको कार्यक्रम बुधबारका लागि राखिएको छ ।

    संघका अनुसार ८१ देशबाट करिब दुई हजार पाँच सय प्रतिनिधि विश्व सम्मेलनमा भाग लिन काठमाडौंमा भेला भएका छन् ।

    आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच भिडन्त हुँदैछ ।

    संघले सोमबार पत्रकार सम्मेलन गरी विश्व सम्मेलनको तयारी पुरा भएको जानकारी गराएको छ । पन्तको प्यानलमा उपाध्यक्षमा केशव पौडेल, नरेन्द्र भाट, रविना थापा र मन केसी रहेका छन् ।

    आचार्य प्यानलमा भने महासचिवमा जानकी गुरूङ र कोषाध्यक्षमा सोम सापकोटा रहेका छन् । पर्वतका आचार्य बेलायतको लण्डन निवासी हुन् । उनी हस्पिटालिटीमा जमेका व्यवसायी हुन् ।

    गोरखाका पन्त भने जर्मनी निवासी हुन । उनी पनि आतिथ्य सेवाबाटै उदायका व्यवसायी हुन् । उनले यूरोपका विभिन्न मुलुकमा होटेल खोलेका छन् ।

    गैरआवासीय नेपालीहरु विश्व सम्मेलनलाई एक उत्सवका रुपमा मनाउने गर्छन् ।

    यस दौरान घरमा पनि आफन्तसँग भेटघाट हुने, चाडबाड समेत मनाइने र सम्मेलनमा पनि भाग लिने गरी धेरै गैरआवासीय नेपाली स्वदेश फर्किएका छन् ।

  • वैदेशिक व्यापारमा सुधारको संकेत, आयात घट्दा निर्यात वृद्धि

    वैदेशिक व्यापारमा सुधारको संकेत, आयात घट्दा निर्यात वृद्धि

    काठमाडौं । चालु आर्थिक वर्ष (२०७६\७७)को पहिलो दुई महिनाको अवधिमा वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ ।

    यस अवधिमा नेपालको आयात सामान्य घटेको छ भने निर्यातको वृद्धिदर भने उल्लेख् रुपमा बढेको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिना (साउन–भदौ)मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

    यो रकम अघिल्लो आर्थिक वर्ष २०७५\७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष दुर्ए महिना अवधिमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात भएको तथ्यांक रहेको छ ।

    यी दुई महिनामा निर्यात भने १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.८७ प्रतिशतले बढी हो ।

    उक्त आवको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको थियो । आयातमा कमी र निर्यात वृद्धिले गर्दा समग्र व्यापार घाटा समेत सुधारोन्मुख देखिएको छ ।

    यस अवधिमा कूल व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो आवको तुलनामा दुई महिनामा व्यापार घाटा ३.०५ प्रतिशतले घटेको पाइएको छ ।

    नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत यस अवधिमा ठूलो वृद्धि भएको छ ।

    तथ्यांक अनुसार यस वर्ष दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापारमा निर्याको हिस्सा ७.५ प्रतिशत रहँदा आयातको हिस्सा ९२.५ प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको तुलनामा निर्यातको हिस्सामा २५.३८ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आवमा निर्याता हिस्सा मात्र ५.९ प्रतिशत रहँदा आयातको हिस्सा ९४.१ प्रतिशत रहेको थियो ।

  • मनाङको नयाँ हेलिकोप्टर व्यवसायिक उडानमा

    मनाङको नयाँ हेलिकोप्टर व्यवसायिक उडानमा

    काठमाडौं । मनाङ एयरले नयाँ जहाज व्यवसायिक उडानमा ल्याएको छ ।

    दशैं अगाडी नै काठमाडौं ल्याएको जहाजलाई कागजी प्रक्रिया सकाएर सोमबारबाट व्यवसायिक उडानमा लगाइएको कम्पनीले उल्लेख गरेको छ ।

    फ्रान्समा निर्मित ‘एएस३५०बी३ई’ हेलिकोप्टरले सोमबारबाट व्यवसायिक उडान थालेको हो ।

    ९एन–एएनजे कलसाइन प्राप्त यो हेलिकोप्टरबाट २३ हजार फिट उचाईसम्म सुरक्षित उडान सम्भव रहेको कम्पनीले उल्लेख गरेको छ ।

    गत बैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज दूर्घटनामा परी मनाङ एयरको हेलिकोप्टर क्षतिग्रस्त भएको थियो ।

    उक्त हेलिकोप्टर मर्मत समेत नहुने भएपछि विस्थापित गरी कम्पनीले नयाँ हेलिकोप्टर भित्राएको हो ।

    अब यस कम्पनीसँग दुई हेलिकोप्टर पुगेका छन् । पर्यटकीय सेवा, आकस्मिक उद्धार र निर्माण कार्यमा ढुवानीका लागि समेत यी साधन नेपालमा उपयुक्त सावित भएका छन् ।

  • जापानमा विनासकारी आँधि, ठूलो मानवीय क्षति, नेपाली सुरक्षित

    जापानमा विनासकारी आँधि, ठूलो मानवीय क्षति, नेपाली सुरक्षित

    टोकियो । जापानमा आएको शक्तिशाली विनासकारी आँधिका कारण सोमबारसम्म दुई दर्जन मानिसको ज्यान गएको पुष्टी भएको छ ।

    यद्दपी यो आंकडा निकै माथि पुग्न सक्ने अनुमान संचारमाध्यमले गरेका छन् । राजधानी टोकियोसहित जापानका धेरै स्थान प्रभावित हुने गरी हागिबिस नामक आँधी आएको थियो ।

    जापानी संचारमाध्यम एनएचकेका अनुसार २५ जनाको निधनको पुष्टी भइसकेको छ । हजरौं सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।

    अझै दुई दर्जन मानिस हराइरहेका छन् । शनिबार आएको आँधिले राजधानी टोकियोमा सबैभन्द बढी क्षति पुर्‍याएको छ ।

    अहिले आँधि शान्त भइसकेको छ, तर, त्यसले पुर्याएको असर भने निकै भयाभह रहेको बताइएको छ । आँधिका कारण जापानमा ठूलो वर्षा भएको छ ।

    यसले नदीहरुमा जलप्रवाह ह्वात्तै बढाइदिएको छ । सोहीकारण वस्तीमा नदी पस्दा ठूलो मानवीय क्षति हुन पुगेको हो । आँधिले गर्दा ३ लाख ७६ हजार घरको विद्युत आपूर्ति बन्द भएको छ ।

    १४ हजार घरको खानेपानी आपूर्तिसमेत प्रभावित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । सरकारले आँधीपछि २७ हजार सेना तथा स्वयंसेवक बललाई उद्धार र राहतमा खटाएको छ।

    जापानका १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको छ । २१ नदीको बाँध फुटेको छ । यो आँधीलाई पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ ।

    जापानमा आएको आँधिबाट नेपालीहरु भने सुरक्षित रहेको बताइएको छ । अहिलेसम्म कुनै पनि नेपालीबारे दुखद खबर आएको छैन ।

  • नेपालले नाप्यो सगरमाथाको उचाई, चीन र नेपाल दुबै देशले संयुक्त घोषणा गर्ने

    नेपालले नाप्यो सगरमाथाको उचाई, चीन र नेपाल दुबै देशले संयुक्त घोषणा गर्ने

    काठमाडौं । सगरमाथाको उचाई नेपालले मापन गरिरहेको छ । सगरमाथा शिखरसम्मै टोली पठाएर नेपालले सगरमाथाको उचाई मापन गरेको हो ।

    अहिले उक्त काम अन्तिम चरणमा पुगेको छ । सगरमाथाको नयाँ उचाई नेपाल र चीन दुबै मुलुकले संयुक्त रुपमा गर्ने सहमति गरेका छन् ।

    नेपाल भ्रमणमा सकेर आइतबार मात्र स्वदेश फर्किएका चिनियाँ राष्ट्रपति र नेपालबीच भएको सहमतिमा उक्त विषय उल्लेख छ ।

    सगरमाथा नेपाल र चीनबीच सीमा छुट्याउने विन्दु समेत हो । यद्दपी सगरमाथाको चुचुरो भने नेपालमा पर्छ ।

    सहमति अनुसार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने भएका छन् । सगरमाथाको उचाईमा चीनले समेत साथ दिँदा विश्वव्यापी मान्यता पाउन सहज हुने विश्वास नेपालको रहेको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा सगरमाथालाई नेपाल र चीन मित्रताको प्रतीक भएको स्वीकार गरिएको छ।

    जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख छ।

    सगरमाथामा नेपाल र चीन दुबै तर्फबाट आरोहण गर्न सक्ने सुविधा रहेको छ । दुबै मुलुकको पर्यटन विकासका लागि यो सम्पदा महत्वपूर्ण सावित हुँदै आएको छ ।

  • इन्स्टाग्राममा मोदी लोकप्रिय, निकै पछि छन् ट्रम्प

    इन्स्टाग्राममा मोदी लोकप्रिय, निकै पछि छन् ट्रम्प

    नयाँ दिल्ली । ट्विटरमा ५ करोड फलोअर्स पुर्याउन सफल भारतीय नरेन्द्र मोदी इन्स्टाग्राममा सबैभन्दा अगाडी रहन सफल भएका छन् ।

    अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार इन्स्टाग्राममा उनको तीन करोड फलोअर्स नाघेको छ । विश्व नेतामध्ये यो आंकडा सबैभन्दा धेरै हो ।

    इंस्टाग्राममा मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेका छन् ।

    ट्विटरमा भने पीएम मोदीका ५ करोड़भन्दा बढी फलोअर्स रहेका छन् । गत सेप्टेम्बर मै उनले ५ करोडको आंकडा पार गरेका थिए ।

    उनको फेसबुकमा भने उनको ४.४ करोड लाइक रहेको छ । उनले लामो समयदेखि ट्विटर चलाउँदै आएका छन् ।

    महत्वपूर्ण सन्देशहरु प्रवाहका लागि यो माध्यम निकै फलदायी बन्दै गएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको इंस्टाग्राममा मात्र डेढ़ करोड़ फलोअर्स रहेका छन् । बाराक ओबामाका करीब ढ़ाई करोड़ फलोअर्स रहेका छन् । ओबामा ट्विटरमा भने निकै लोकप्रिय छन् ।

    १०.९ करोड मानिसले उनलाई फलो गरेका छन् । उनी इन्स्टामा समेत निकै सक्रिय रहेका छन् ।

    एजेन्सी