Author: Vishwanews.com

  • राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

    राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

    न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् । उनले खासगरी जलवायु परिवर्तनका मुद्दालाई जोडदार रुपमा विश्वसामू राखेका छन् ।

    गरिब देशले जलवायु परिवर्तनका अन्यायपूर्ण र औचित्यहिन असर भोग्नु परिरहेको भन्दै उनले नगण्य उत्सर्जनले पनि नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेको उल्लेख गरे ।

    हिमनदीहरु पग्लिएर भइरहेको क्षयीकरणलाई नेपालल यस महासभामा उठाएको छ ।

    जलवायु परिवर्तनका असर न्यूनिकरणमा तत्काल आवश्यक कदम चाल्नु पर्ने भन्दै उनले गल्ती नगर्दा नगर्दै पनि जलवायु परिवर्तनका कारण आउने प्राकृतिक विपत्तिका कारण बर्सेनि थुप्रै नेपाली नागरिकले ज्यान गुमाउनु परेको उनले उल्लेख गरे ।

    उनले यसै वर्ष आएको आँधि र बाढी पहिराको सन्दर्भ समेत उठान गरेका छन । सगरमाथाको देश नेपाल जलवायु परिवर्तनको केन्द्रमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरसँग जुध्न संयुक्त राष्ट्र संघले प्रयास गर्नुपर्ने उनको माग छ ।

    नेपालले इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानमा जोड दिएको छ । अमेरिका र उत्तर कोरियाबीचको संवादको स्वागत गर्दै नेपालले कोरियाली प्रायद्वीपमा स्थायी शान्तिको समेत कामना गरेको छ ।

    नेपालले आप्रवासी कामदारका हक अधिकार र सुरक्षाको प्रत्याभूति नेपालको प्राथमिकता भएको उल्लेख गरे ।

    महासभालाई भारतीय र पाकिस्तानी प्रधानमन्त्रीले पनि सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई गौतमबुद्ध दिएको भन्दै युद्ध नचाहेको उल्लेख गरे ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले युद्ध चाहे आफ्नो देश पनि पछि नपर्ने सन्देश दिए । आणविक शक्ति सम्पन्न मुलुक युद्धमा होमिनुको मतलव त्यसको असर सीमाना भन्दा धेरै परसम्म पुग्ने चेतावनी पाकिस्तानी प्रधानमन्त्रीले दिएका छन् ।

  • नौबिसेको जामले रेलको याद दिलाएपछि…

    नौबिसेको जामले रेलको याद दिलाएपछि…

    काठमाडौं । नेपालमा अहिले रेल छैन । तर, सबैभन्दा चर्चा रेलकै छ । हुँदै नभएको पूर्वाधारको किन यति धेरै चर्चा ?

    किनकी वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सबैभन्दा बढी प्राथमिकताका साथ उठाएको पूर्वाधार नै रेल हो ।

    उनले नेपालमा रेल कुदाएर देशलाई समृद्ध बनाउने सपना देखाएका छन् । यतिसम्म की यो सपना आफूले निद्रामा नभई जागै रहेको अवस्थामा देखेको भन्दै खै रेल भन्नेहरुलाई उडाउन समेत भ्याएका छन् ।

    तर, जनताले शुक्रबार प्रधानमन्त्रीको अभिव्यक्तिलाई नै व्यंग्य बनाइदिए । नागढुगाबाट काठमाडौं छिर्ने एक मात्र सडक खण्ड नौबिसे- नागढुंगाबीचमा बिहीबार राती एक जना यात्रुको बसमै निधन भयो ।

    रौतहट, गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहको बाटोमै निधन भएको हो । मृगौलाका बिरामी रहेका उनलाई उपचारका लागि सार्वजनिक बसमा काठमाडौं ल्याइदै थियो ।

    एम्बुलेन्समा आउने रकम नभएपछि सार्वजनिक बस चढेका उनको सडक जामकै कारण निधन भएपछि शुक्रबार दिनभर केपी शर्मा ओलीको रेललाई जनताले व्यंग्य बाण गरिरहे ।

    टाउको दुख्दा पनि सिंगापुर हानिने नेता जनताको संवेदनाप्रति कति उदासिन छन् भन्न एक उदाहरणका कारण शुक्रबार सामाजिक संजाल, संचारमाध्यम तथा चिया पसलमा समेत केपी ओलीको रेल चर्चामा रह्यो ।

    आवश्यकता र प्राथमिकता नहेरी हचुवाका भरमा आयोजना घोषणा गर्ने प्रचलनलाई यो दृष्यले निकै मार्मिक प्रहार गरेको छ ।

    यसलाई आगामी दिनमा सरकारले कसरी लिन्छ, त्यो भने हेर्न बाँकि छ । दशैंको मुखमा यात्रुको चाप राजमार्गमा बढ्नु स्वाभाविक हो ।

    यसका लागि पूर्व तयारी गर्न नसक्नु, खाल्डाखुल्डी पुर्ने काम दशैं आउनु भन्दा अगाडी नै गर्न नसक्नु ठूला सवारी साधनका कारण साँघुरो सडकमा हुने जाम व्यवस्थापन गर्न नसक्नु, सवारी चालकलाई लेन अनुशासनमा राखी कडा कारवाही गर्न नसक्नु जस्ता कारणले हरेक दशैंमा यात्रुले विशाल ट्राफिक जामको सामना गरिरहनु परेको छ ।

  • विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

    विपन्न वर्गलाई इन्धनमा छूट दिने योजना

    काठमाडौं । सरकारले विपन्न वर्गका नागरिकलाई खाना पकाउने ग्यासमा सहुलियत दिने योजना सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार उक्त जानकारी गराएका हुन् ।

    उनका अनुसार अब विपन्न र सम्पन्न वर्गका नागरिकलाई ग्यासको छुट्टाछुट्टै मूल्य कायम गरिने भएको छ ।

    त्यसका लागि सिलिन्डरसमेत छुट्टै ल्याउन तयारी भइरहेको छ । उनका अनुसार अब सिलिण्डरलाई व्यवसायिक र घरायसी प्रयोजनमा छुट्टाछुट्टै रंगमा ल्याइनेछ ।

    घरासयी भित्र पनि विपन्न वर्गका लागि छुट्टै मूल्य कायम गरी बिक्रि गर्ने योजना रहेको मन्त्री यादवले जानकारी दिए ।

    उनले सबैको आर्थिक हैसियत बराबर नहुने भन्दै खाना पकाउने ग्यासमा सहुलियत आवश्यक रहेको समेत उल्लेख गरे ।

    धेरै मुलुकमा रासन कार्डका आधारमा ग्यास तथा खाद्यान्नमा छूट दिने प्रचलन भएपनि नेपालमा भने त्यसो गरिदैन ।

    यसैबीच, मन्त्रालयले खसी भेडा बेच्ने दिन समेत सार्वजनिक गरेको छ । काठमाडौंमा दशैंका लागि ल्याइएका खसी च्यांग्राको बिक्रि द्धितियाबाट शुरु गरिने भएको छ ।

  • जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

    जिम्बाब्वेसँग हार्यो नेपाल, ब्याटिङमा पुरानै समस्या

    काठमाडौं । ब्याट्सम्यान चुक्दा नेपाल जिम्बाब्वेविरुद्ध ऐतिहासिक जीत हाँसिल गर्नबाट चुक्यो ।

    शुक्रबार देखि सिंगापुरमा शुरु त्रिदेशिय टी २० सिरिजमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्र १ सय ३२ रन जोड्यो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मात्र राम्रो प्रदर्शन गरे । ऐरिले ३३ बलमा ४० रन बनाए । सोमपालले १४ बलमा २५ रन बनाउँदै अविजित रहे ।

    कप्तान पारस खड्काले १८ र सन्दिप जोराले १७ रन जोडेपनि बल धेरै खर्च गरे । लगातार विकेट गुमाएपछि नेपालको पारी समस्यामा परिरहेको थियो ।

    जवाफी ब्याटिङमा उत्रिएको जम्बिाब्वेले ११ बल बाँकि छँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।

    नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा मात्र १५ रन दिएर ३ विकेट लिएपनि जिम्बाब्वेको ब्याटिङ लाइनअपलाई रोक्न भने सकेनन् ।

    सन्दिप बाहेक अन्य बलरले विपक्षीलाई टक्कर दिन सकेनन् । अब नेपालले शनिबार सिंगापुरसँग दोस्रो खेल खेल्नेछ ।

  • सबै वायुसेवा कम्पनीले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने

    सबै वायुसेवा कम्पनीले विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणा बमोजिम आन्तरिक वायुसेवा कम्पनी ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई उडानमा छूट दिन तयार भएका छन् । तर, त्यसका लागि भने उनीहरुले शर्त राखेका छन् ।

    कम्पनीले अब विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका हुन् ।

    नागरिकले वायुसेवा कम्पनीको काउन्टरमै पुगी आफू विपन्न भएको स्वघोषणा गरेमा हवाई भाडामा ५० प्रतिशत छूट दिइने वायुसेवा संचालक संघले जानकारी दिएको छ ।

    छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरमा मात्र लागु हुने भएको छ । यसको मतलव अफ सिजनमा निकै सस्तो मूल्यमा टिकट बेच्दा कम्पनीहरुको छूट योजना काम लाग्ने छैन ।

    किनकी अफ सिजनमा कम्पनीको आधा भन्दा पनि कम मूल्यमा सबै यात्रुलाई उडाउने गर्छन् ।

    कम्पनीहरुले ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिक र साना विमानस्थलमा प्रतिदिन प्रतिसेक्टर १ जनालाई मात्र यस्तो सुविधा प्राप्त हुने सं३ले उल्लेख गरेको छ ।

    यसको मतलव वायुसेवा कम्पनीले सांकेतिक रुपमा मात्र मन्त्रीको निर्णयलाई समर्थन गरेको देखिन्छ । यो सुविधा घटस्थापनाको दिनबाट लागू हुने आयोनले सार्वजनिक गरेको छ ।

  • गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने

    गोदावरीमा बन्ने भयो नेपालकै ठूलो सभाहल, यसैवर्ष निर्माण सकिने

    काठमाडौं । सरकारले ललितपुरको गोदावरीमा सभाहल बनाउने भएको छ । काठमाडौंमा धेरै जना मानिस अट्न सक्ने क्षमताको सभाहल नहुँदा ठूला कार्यक्रमको व्यवस्थापन निकै सकस भइरहेको छ ।

    महत्वपूर्ण कार्यक्रमहरु पनि स्थान अभावका कारण भद्रागोल हुने गरेका छन् । सोही आवश्यकता पुरा गर्न ठूलो सभाहल बनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ ।

    यस हलमा ३ हजार सीट क्षमता हुने विभागको भनाई छ । विभागले सभाहल बनाउन बोलपत्र समेत आह्वान गरिसकेको छ ।

    यसै वर्ष निर्माण सम्पन्न गरी नयाँ वर्षसँगै संचालनमा ल्याउने योजना छ ।

    यसले माइट टूरिजम फस्टाउन र एकसाथ धेरै पर्यटक भित्राउने वातावरण निर्माण गर्ने सरकारको भनाई छ ।

    यो सभाहल नेपालकै ठूलो क्षमताको बन्ने भएको छ । गोदावरीको १ सय १२ रोपनी क्षेत्रफलमा सहभाल बन्ने भएको हो । यस सभाहलको लागत ७२ करोड अनुमान गरिएको छ ।

  • नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका

    नेपाल र जिम्बाब्वे आज भिड्दै, टेस्ट राष्ट्रलाई हराउने मौका

    काठमाडौं । नेपालले शुक्रबार टेस्ट मान्यता प्राप्त जिम्बाब्वेसँग टी २० क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । जिम्बाब्वेलाई हराउन सके त्यो नेपालको ऐतिहासिक जीत हुने छ ।

    किनकी नेपालले आजसम्म टी २० इन्टरनेशनलमा छेस्ट राष्टलाई हराएको छैन । सिंगापुरमा नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट खेल शुरु हुने छ ।

    टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट मान्यता प्राप्त देश जिम्बाब्वेसँग आयोजक सिंगापुरसँग पनि भिड्दैछ । खेल डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुँदैछ ।

    नेपालले दोस्रो खेल शनिबार सिंगापुर, तेस्रो खेल जिम्बाब्वेसँग अक्टोबर १ र अक्टोबर २ मा सिंगापुरसँग खेल्ने भएको छ । यस चरणको शीर्ष दुई टिम उपाधीका लागि भिड्नेछन् ।

  • आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म

    आजदेखि पाइन्छ नयाँ नोट, एक जनालाई १८५०० सम्म

    काठमाडौं । चाडबाडलाई लक्षित गरी राष्ट्र बैंकले शुक्रबारबाट नयाँ नोट सटही सुविधा शुरु गरेको छ ।

    राष्ट्र बैंकको आफ्नै कार्यालय र बैंकका तोकेका विभिन्न बैंकका शाखाबाट नयाँ नोट वितरण हुने भएको छ । यस वर्ष सर्वसाधारणले १८ हजार ५ सय रुपैयाँ सम्म साट्न सक्ने गरी योजना ल्याइएको छ ।

    त्यसअनुसार एक बण्डलमा १ सय, ५०, २०, १० र ५ रुपैयाँका १ \१ सय वटा नोट हुनेछन् । सर्वसाधारणका लागि काठमाडौंको बालुवाटार स्थित राष्ट्र बैंकको कार्यालयमा सटही सुविधा राखिएको छ ।

    यसबाहेक कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट साट्न सकिने भएको छ ।

    अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट साट्न सक्ने अधिकार दिइएको छ । विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट वितरण हुने भएको छ ।

    यसैगरी काठमाडौंमा नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही हुने भएको छ ।

    यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, कलंकि र बालाजु शाखाबाट पनि नयाँ नोट पाइने छ ।

    कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु र रत्नपार्क शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

  • कांग्रेस सभापति देउवाले द्वन्द्वपिडितका कुरा नसुनेपछि….

    कांग्रेस सभापति देउवाले द्वन्द्वपिडितका कुरा नसुनेपछि….

    काठमाडौं । बिहीबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध एक कार्यक्रममा खुलेर हुटिङ भयो । सहभागीहरुले उनीविरुद्ध नाराबाजी समेत गरे ।

    आखिर कारण के थियो ? संक्रमणकालीन न्याय निरुपण गर्ने उपाय खोज्ने उद्देश्यले राष्ट्रिय मानवाधिकार आयोगले बिहीबार राजधानीमा एक महत्वपूर्ण कार्यक्रम आयोजना गर्यो ।

    सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख नेतालाई एकै स्थानमा राखेर सशस्त्र द्वन्द्वकालमा राज्य र तत्कालिन माओवादी पक्षबाट भएका पिडितहरुको गुनासा सुनाउने कार्यक्रम आयोजना गरिएको थियो ।

    द्वन्द्वकालमा फरक फरक पक्षबाट पिडित भएपनि पिडितका पीडा समान थिए । उनीहरुले न्याय खोजिरहेका थिए ।

    आयोगले कांगेस सभापति र नेकपाका तर्फबाट अध्यक्ष प्रचण्डलाई कार्यक्रममा सहभागी गराएको थियो । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन सम्बन्धी आयोग गठनको समेत प्रक्रिया थालेको छ ।

    राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा कांगे्रस सभापति शुरुमै बोले । त्यसपछि उनी बाहिर निस्किए । जब उनी निस्कन लागे ।

    सहभागीले हुटिङ शुरु गरे । होहल्ला गरे । उनीहरुको माग सभापति देउवाले आफूहरुको कुरा सुन्नुपर्छ भन्ने थियो । किनकी देउवा शसस्त्र द्वन्द्वकालमा सरकारी पक्षको सबैभन्दा बढी नेतृत्व गर्ने नेता हुन् ।

    नेकपा अध्यक्ष प्रचण्ड भने द्वन्द्वरत पक्षको नेतृत्वमा थिए । १० वर्षे सशस्त्र द्वन्द्वको शूरु नै देउवाको प्रधानमन्त्रित्व कालमा भएको थियो ।

    कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजालले पीडितका कुरा सुन्नेका थिए । सशस्त्र द्वन्द्वमा विद्रोही पक्षका कमाण्डर नेकपा अध्यक्ष प्रचण्डले भने चित्तबुझ्दो भाषण गरी सहभागीलाई आश्वस्त पारेका थिए ।

    उनीले आफू पनि न्यायको खोजीमा रहेको भन्दै पीडितको चित्त बुझाउने प्रयास गरेका थिए ।

    कार्यक्रममा नेकपा नेता माधव नेपालसमेत सहभागी थिए । नेताहरुले द्वन्द्वकालिन मुद्दा टुंग्याउन ढिला भएको भन्दै अब अन्तिम पटक मौका दिन पिडितसँग माग समेत गरे ।

    कार्यक्रममा प्रचण्डले न्यायमा भएको ढिलाई प्रति माफि समेत मागेका थिए ।

  • घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध

    घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध

    न्यूयोर्क । नेपाल र घानाबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ ।

    संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन अमेरिकामा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका समकक्षी शिर्ले बोत्चोयेबीच कूटनीतिक सम्बन्ध कायम गर्ने सम्बन्धी संयुक्त समझदारीमा हस्ताक्षर भएको हो ।

    अफ्रिकी मुलुक घाना अब नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको १६८ औं मुलुक बनेको छ ।

    कूटनीतिक सम्बन्ध स्थापनासँगै द्धिपक्षीय सहकार्यमा जोड दिने सम्बन्धमा सहमति भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

    परराष्ट्र मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ महासभामा भाग लिइरहेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानमा उनले नेपाली टोलीको नेतृत्व गरेका हुन् ।

    मन्त्री ज्ञवालीले न्यूयोर्कमा बहराइन, नर्वे, साउदी अरेबिया र भेनेजुयलाका विदेशमन्त्रीसँग पनि द्धिपक्षीय सम्बन्धका विषयमा छलफल गरेका छन । मन्त्री ज्ञवालीले बुधबार मात्र अमेरिकी राष्ट्रपतिसँग भेटेका थिए ।

  • बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा

    बढेनन् यूरोपेली र अमेरिकी पर्यटक, ८ महिनामा साढे ७ लाख पर्यटक नेपालमा

    काठमाडौं । नेपालमा पर्यटक आगमनको वृद्धिदर खस्किएको छ । अंग्रेजी वर्ष सन् २०१९ को ८ महिना (जनवरी देखि अगस्ट) को तथ्यांक अनुसार ७ लाख ४२ हजार ६ सय जना पर्यटक नेपाल आएका छन् ।

    यो अघिल्लो वर्षको यही अवधिको तुलनामा मात्र ९ प्रतिशत बढी हो । सन् २०१८ को वार्षिक पर्यटक आगमन वृद्धिदर २५ प्रतिशत रहेको थियो ।

    सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहँदा पर्यटक आगमनले उत्साहजनक छनक भने दिन सकेको छैन ।

    नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीले यस वर्ष जेट एयरले नेपाल उडान कटौती गर्दा पर्यटक आगमनमा प्रभाव परेको हो ।

    जेट एयरवेज नेपालमा धेरै यात्रु बोक्नेमध्ये एक कम्पनी थियो । तर, गत अप्रिल महिनादेखि त्यो कम्पनीसमेत टाट पल्टिएर बन्द भएको छ ।

    ८ महिनामा हवाईमार्गबाट ६ लाख १९ हजार ७ सय ६५ र स्थलमार्ग १ लाख २२ हजार ८ सय ३८ पर्यटक भित्रिएका छन् ।

    सरकारले स्थलमार्गबाट भित्रने भारतीयलाई पर्यटक मान्दैन । यसअवधिमा १ लाख ४२ हजार २ सय ८६ जना भारतीय नागरिक नेपाल आएका छन् ।

    सार्क मुलुकबाट कूल २ लाख ४ हजार १ सय ९२ जना पर्यटक आएका छन् ।भारतपछि चीनबाट बढी पर्यटक नेपाल आएका छन् । ८ महिनामा १ लाख ६ हजार ५० चिनियाँ नागरिक नेपाल आएका छन् ।

    यूरोपका विभिन्न मुलुकबाट १ लाख ३६ हजार १ सय ९८ जना पर्यटक भित्रिएका छन् । यो गत वर्षको तुलनामा मात्र ३.२ प्रतिशत बढी हो ।

    यूरोपेली देशमा पनि नेपालमा बेलायतबाट धेरै पर्यटक आउँछन् । यस वर्ष ८ महिनामा ३६ हजार ९ सय ७२ जना बेलायती नेपाल आएको तथ्यांक छ ।

    नर्वेबाट गत वर्षभन्दा पनि कम पर्यटक नेपाल आएका छन् । अमेरिकी पर्यटक आगमन सामान्य बढेको छ ।

    ८ महिनामा ५८ हजार ६ सय २१ अमेरिकी नेपाल आएका छन् । यो संख्या गत वर्षभन्दा ५.८ प्रतिशतले बढी हो । बौद्धमार्गी देश थाइल्याण्ड र जापानबाट भने नेपालमा पर्यटक आगमन दर बढेको छ ।

    थाइल्याण्डबाट ३८.९ प्रतिशत र जापानबाट १२.८ प्रतिशतले पर्यटक आगमन बढेको तथ्यांक रहेको छ । जापानमा नेपाल एयरलाइन्सले उडान बिस्तार गरेका कारण पर्यटक आगमन अझै बढ्ने अपेक्षा रहेको छ ।

  • पर्यटन मन्त्रीले क्यानडा पुगेर भने ‘नेपाल घुम्न आउनुहोस’

    पर्यटन मन्त्रीले क्यानडा पुगेर भने ‘नेपाल घुम्न आउनुहोस’

    क्यानडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले क्यानडाबाट संसारभरका पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ४० औं महासभामा भाग लिन मन्त्री भट्टराईसहितको टोली अहिले क्यानडामा रहेको छ ।

    उनले महासभालाई बुधबार साँझ सम्बोधन गरेका छन् ।

    सम्बोधनका क्रममा आइकाओको झण्डा नेपालले सगरमाथा चुचुरोमा पुर्याएको स्मरण गराउँदै सन् २०२० को भ्रमण वर्षमा नेपाल आउन उनले विदेशी पाहुनालाई आग्रह गरे ।

    उनले हवाई सुरक्षामा नेपालले क्रमशः सुधार गरिरहेको भन्दै नेपालमा हवाई दूर्घटनाको दर समेत निकै घटेको उल्लेख गरेका छन् ।

    मन्त्री भट्टराईले छिट्टै नेपाल इयूको कालोसूचिबाट समेत हट्ने अपेक्षा रहेको उल्लेख गरे ।

    सम्मेलनका दौरान नेपाल र यूएईबीच हवाई सम्झौता र अष्टे्रलियासँग हवाई वार्ताको कार्यक्रम रहेको छ ।

    आइकाओको ७५ औं वर्षगाठ पुगेको छ भने यो ४० औं महासभा हो । महासभा तीन वर्षमा कम्तीमा एक पटक आयोजना गर्ने प्रचलन रहेको छ ।

  • परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेट

    परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेट

    न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सहासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गरेका छन् ।

    बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशी पाहुनाका लागि दिएको स्वागत भेटमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटमा नेपालको पछिल्लो अवस्थाबारे राष्ट्रपतिले चासो राखेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

    राष्ट्रपतिले महासभामा पुगेका सबै देशका प्रतिनिधि प्रमुखसँग भेट गर्ने प्रचलन रहेको छ । यस पटकको महासभामा नेपालको तर्फबाट परराष्ट्र मन्त्रीले नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।

    बिहीबार भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई समेत न्यूयोर्कमा सम्बोधन गरेका छन् ।

    उक्त अवसरमा मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हुने उल्लेख गरे ।

    विकटता, भूमिबद्धता, भौगोलिक एकाकीपनबाट भूपरिवेष्टित देशहरूले धेरै चुनौती झेल्नुपरेको उनको भनाई छ । मन्त्री ज्ञवालीले विश्व व्यापार सञ्जालमा समाहित हुन समेत यस्ता देशहरुलाई कठिन भइरहेको बताए ।

  • एक आमाले जन्माइन एकै पटक चार बच्चा

    एक आमाले जन्माइन एकै पटक चार बच्चा

    काठमाडौं । काठमाडौंमा एक युवतीले एकै पटक चार शिशुलाई जन्म दिएकी छिन् । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा बुधबार चम्ल्याहा शिशु जन्मिएका हुन् ।

    २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार शिशुलाई धर्तीमा जन्म दिएकी हुन् । अहिले बच्चा र आमा सबैको स्वास्थ्यको अवस्था राम्रो रहेको छ ।

    अस्पतालका अनुसार ३३ हप्ता ३ दिनपछि अपरेसन गरी बच्चा जन्माइएको छ ।

    शिशुमध्ये तीन छोरा र एक छोरी छन्। एकै पटक चार शिशु जन्मनु दूर्लभ क्षण मानिन्छ । संसारमा सिमित मानिसहरुमा मात्र यस्तो संयोग मिल्छ ।

  • चीनले बनायो संसारकै विशाल विमानस्थल, बुधबारबाटै संचालनमा

    चीनले बनायो संसारकै विशाल विमानस्थल, बुधबारबाटै संचालनमा

    बेइजिङ । चीनले चमत्कारिक विकासलाई निरन्तरता दिएको छ । यसै सिलसिलामा बुधबारदेखि संसारकै ठूलो डासिङ विमानस्थल सञ्चालनमा ल्याएको छ ।
    करीब साढे १३ खर्ब नेपाली रुपैयाँ (१२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण भएको यो विमानस्थल चमत्कारिक विकासको एक रुप हो ।

    किनकी यो करीव ९८ वटा फूटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विमानस्थल खुला भएको घोषणा गरेका छन् ।

    सन् २०१६ बाट निर्माण थालिएको यो अत्यन्तै महत्वाकांक्षी आयोजनालाई चीनले ४ वर्ष भित्रै पुरा गरेर अर्को चमत्कार गरेको हो ।

    चिनियाँ अर्थतन्त्रलाई माथि उकास्न यो परियोजना निकै सहयोगी सावित हुने अपेक्षा चिनियाँ अधिकारीहरुले गरेका छन ।

    यो विमानस्थलले वार्षिक १० करोड यात्रुलाई सेवा दिन सक्ने भएको छ । विमानस्थलदेखि विभिन्न राज्यसम्म दू्त गतिको रेल समेत सँगै बनाएको छ ।

    जसले गर्दा यो विमानस्थलले सजिलै विजेनश पाउने छ । अहिले संसारभरका जहाज चीनमा उडान गर्न चाहन्छन् ।

    तर, स्लट अभावले चीनले उडान अनुमति दिन सकिरहेको छैन ।

    फिनिक्स चरा आकारको विमानस्थल अहिले सञ्चालनमा रहेको बेइजिङको क्यापिटल इण्टरनेशनल एयरपोर्टको चाप कम गर्न सहयोगी हुने अपेक्षा चिनियाँ अधिकारीको रहेको छ ।

    अन्तरराष्ट्रिय वायुसेवा कम्पनी ब्रिटिश एयरवेज, क्याथे प्यासिफकलगायत कम्पनीले प्रारम्भमै नयाँ विमानस्थलबाट उडन थाल्दैछन् ।

    चीनले यस विमानस्थलको पावर सप्लाईका लागि सोलार सिस्टम जडान गरेको छ ।

    नेपालबाट निकट भविश्यमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले यस विमानस्थलमा उडान अनुमति पाउने आशा गरेका छन् ।

    एजेन्सी

  • कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

    कृषि विकास बैंक लुट्ने मास्टर माइन्ड भारतमा, नेपाली एजेन्ट पक्राउ

    काठमाडौं । कृषि विकास बैंकको सिराहास्थित लहान शाखाबाट करोडौं रुपैयाँ निकालियो । सिस्टम ह्याक गरी कर्मचारीले चलाउने गरेको पासवर्ड प्रयोग गरी रकम निकोलेको पाइएको छ ।

    प्रहरीले घटनामा संलग्न रहेको भन्दै पछिल्लो तीन दिनमा १२ जना नेपालीलाई पक्राउ गरेको छ । बुधबार उनीहरुलाई सार्वजनिक गरियो ।

    महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बैंक लुट्ने मास्टर माइण्ड अफ्रिकी मुलका नागरिक पिटरको हो । उनी भारतमा बस्छन् ।

    उनले नेपालमा विभिन्न व्यक्तिलाई एजेन्टका रुपमा प्रयोग गरी निश्चित रकम दिने र लुटिएको रकम हुण्डीमार्फत भारतमा बुझ्ने गरेको प्रहरीले बताएको छ ।

    पिटरले नुवाकोट मेघाङ गाउँपालिका ४ का ४३ वर्षीय लवाङ तामाङमा मूख्य रुपमा नेपालमा परिचालन गरेको बताएको छ ।

    पिटर पटक पटक नेपाल आएको र नेपालीसमेत प्रष्ट बोल्न सक्ने समातिएका अभियुक्तहरुले जानकारी गराएका छन् ।

    आइतबार लहान शाखाबाट ह्याक भएर पचास लाख रुपैयाँ तामाङको खातामा आएको थियो । प्रहरीले उनको डेराबाट ३१ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

    उनलाई पक्राउ गरेपछि पिटरको संलग्नताको खुलासा भएको हो । बुझेको रकम हुण्डीबाट पठाउने मेलो मिलाउँदा मिलाउँदै प्रहरीको फन्दामा पुगेपछि घटना पर्दाफास भएको हो ।

    तामाङलाई हिरासत लिएपछि प्रहरी सोमबार बिहान कृषि विकास बैंकको केन्द्रीय कार्यालय पुग्यो। त्यहाबाट प्रहरीले चार करोड ७३ लाख रुपैयाँ चोरी भएको पत्ता लगायो ।

    त्यसपछि मात्र प्रहरी र बैंक कर्मचारीले लहान शाखाबाट बैंकको सिस्टम ह्याक भई रकम चोरी भएको पत्तो पाएका थिए ।

    पिटरले तामाङ जस्तै अरु मानिसलाई पनि एजेन्ट बनाउँदै खाता खोल्न लगाउने र हुण्डीबाट रकम पठाउन लगाउने गरेका थिए । त्यसवापत उनले एजण्टलाई कमिसन दिने गरेका थिए ।

    प्रहरीले बुधबार पिटरका एजेन्टका रुपमा काम गर्ने नुवाकोट मेघाङ गाउँपालिका-४ का तामाङसहित रसुवा नौकुण्ड गाउँपालिका-५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-२ का सञ्जय घले, सर्लाही हरिवन नगरपालिका-२ का पुष्पराज खड्कालाई पक्राउ गरेको छ ।

    यसैगरी लमजुङ दोर्दी गाउँपालिका-३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका-९ का श्रवणकुमार श्रेष्ठ, भक्तपुर ठिमी नगरपालिका-४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका-३ का विजय साह र भजनी नगरपालिका-१ कै चन्द्रबहादुर बुढालाई सार्वजनिक गरेको छ ।

    अन्य ८ एजेन्ट फरार रहेको प्रहरीको भनाई छ ।

  • काठमाडौंबाट पेस्तोलसहित चारजना समातिए

    काठमाडौंबाट पेस्तोलसहित चारजना समातिए

    काठमाडौं । प्रहरीले काठमाडौबाट पेस्तोलसहित ४ जना व्यक्ति समातेको छ । बुधबार शम्भुमार्गस्थित एभरेष्ट होलिडे इन होटलमा सर्च गर्दा पेस्तोल भेटिएको रानी पोखरी प्रहरी प्रभागले जानकारी दिएको छ ।

    पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका छन् ।

     

    उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • बैंकमा अर्को चोरी काण्ड, सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट निकालियो डेढ करोड

    बैंकमा अर्को चोरी काण्ड, सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट निकालियो डेढ करोड

    काठमाडौं । काठमाडौं । ह्याकरले सिस्टम ह्याक गरी अर्को चोरी काण्ड मच्याएको छ ।

    कृषि विकास बैंकको सिस्टम नै ह्याक गरी मंगलबार डेढ करोड रुपैयाँ चोरी गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

    यसअघि एक महिना अगाडी चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीमए सिस्टम ह्याक गरी रकम चोर्दाचोर्दै पक्राउ परेका थिए ।

    उनीहरुमाथि अनुसनन जारी रहँदा अर्को चोरी काण्ड सार्वजनिक भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बैंकबाट १ करोड ५६ लख रुपैयाँ चोरी भएको बताइएको छ ।

  • एक महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स, घटे विदेश जाने नेपाली

    एक महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स, घटे विदेश जाने नेपाली

    काठमाडौं । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो एक महिनामा विदेशमा रहेका नेपालीहरुले वैधानिक प्रणालीमार्फत ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् ।

    नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष रेमिट्यान्सको वृद्धिदर खस्किएको छ । तर, कूल रकम भने सामान्य बढेको छ ।

    आव २०७५\७६ को पहिलो महिनाको तुलनामा यस वर्ष २ प्रतिशतले मात्र रेमिट्यान्स रकम बढेको छ ।

    वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर घटिरहँदा त्यसले रेमिट्यान्समा समेत असर गरेको पाइएको छ ।

    पछिल्लो समय मलेसियाको रोजगारी बन्दले धेरै मात्रामा विदेश जाने युवा कम भएका थिए । अहिले भने मलेसियाको रोजगारी खुलेको छ ।

    अदक्ष कामदारको बढी जोड मलेसियामा रहेको छ ।

    साउनमा अघिल्लो वर्षको तुलनमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १९ प्रतिशतले घटेको पाइएको छ ।

    पछिल्लो समय जापान, कोरियालगायत मुलुकमा वैधानिक रुपमै दक्ष कामदार पठाउन शुरु भएको छ । ती स्थानबाट भने अझै वैधानिक रुपमा रेमिट्यान्स भित्रन थालेको छैन ।

  • दशैंमा टोकियोका नेपाली लिन नेपाल एयरलाइन्स नारिता जाँदै

    दशैंमा टोकियोका नेपाली लिन नेपाल एयरलाइन्स नारिता जाँदै

    काठमाडौं । नेपाल एयरलाइन्सको जापानको टोकियोस्थित नारिता विमानस्थलमा दुई वटा चार्टर्ड उडान गर्ने भएको छ ।

    आगामी बिहीबार काठमाडौंबाट उडेको जहाज शुक्रबार काठमाडौं फर्कने गरी उडान तालीका मिलाइएको छ ।

    दशैंको अवसर पारी ओशाका पुग्न नसक्ने नेपालीलाई लक्षित गरी जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा चार्टर्ड उडान गर्न लागिएको निगमको भनाई छ ।

    निगमले अहिले ओशाका विमानस्थलमा साताको दुई उडान गरिरहेको छ ।

    नारितामा दुई उडानका लागि सुमेघ टूर्स एण्ड ट्राभल प्रालिले चार्टर्ड गरेको हो । नारितामा दोस्रो उडान भने २ अक्टोवरमा काठमाडौंबाट उडेर ३ अक्टोवरमा फर्कने गरी तय गरिएको छ ।

  • दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट

    दशैंको ८ दिन सवारी साधनलाई स्वतन्त्र रुट परमिट

    काठमाडौं । दशैंमा घर पुग्ने यात्रुहरुको सहजताका लागि ८ दिनसम्म रुट परमिट स्वतन्त्र गरिएको छ । यसको मतलव बीना रुट परिमिट गाडीहरु जुन सुकै सडकमा गुड्न सक्ने भएका छन् ।

    काठमाडौबाट करीव २० देखि २५ लाख हाराहारी मानिस दशैंको अवसरमा बाहिरिने अनुमान छ ।

    यातायात व्यवस्था विभागका अनुसार १२ असोजबाट ८ दिनसम्मका लागि सार्वजनिक सवारी साधनको इजाजतपत्र (रुट परमिट) खुला गरिएको हो ।

    यस्तो परमीट १९ असोजसम्म लागु हुने भएको छ । यस्ता सवारी साधनले पटकेलाई लागि झण्झट बेहाुर्न पर्दैन । सडक दस्तुर बुझाउँदै सवारी साधन जुनसुकै रुटमा पनि चल्न सक्ने भएका छन् ।

    दशैंमा धेरै यात्रुले रिर्जभ बसहरु लगेर ग्रामिण भेगमा जाने गर्छन् ।

    यस्तो बेला सहज यात्राका लागि विभागले हरेक दशैंमा इजाजत खुला गराउने गर्छ ।

    विभागले सामान बोकेर नारायणगढ हुँदै काठमाडौं भित्रिने मल्टि एक्सन ट्रयाम्क्टर ट्रेलरलाई भने यस अवधिभर सञ्चालनमा रोक लगाएको छ ।

    सुस्त गतिमा गुड्ने यस्ता सवारीले सडकमा ठूलो जाम गराउने विभागको भनाई छ ।

    पछिल्लो समय अग्रिम बुकिंग खुलेपनि धेरै यात्रु अग्रिम बुकिंगको लाइनमा बस्नुको साटो आफूखुसी सवारी लिएर जाने प्रचलन बढेको छ ।

  • पाकिस्तानमा भूकम्प, धनजनको ठूलो क्षति

    पाकिस्तानमा भूकम्प, धनजनको ठूलो क्षति

    इस्लामावाद । पाकिस्तानमा मंगलबार साँझ शक्तिशाली भूकम्पमा परी ४ जनाको मृत्य भएको छ ।

    पाकिस्तानले शासन गरेको कश्मीर क्षेत्रमा भूकम्प गएको र अहिलेसम्म ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    घाइतको संख्या ठूलो संख्यामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने आंशका गरिएको छ ।

    भूकम्पको धक्का पाकिस्तान प्रशासित कश्मीरसहित राजधानी इस्लामावाद, लाहौर, पेशावरसम्म गरिएको बताइएको छ ।

    भूकम्पबाट एक बालिकासहित ४ जनाको ज्यान गुमाइसकेको बीबीसीले उल्लेख गरेको छ ।

    पाकिस्तानी सेनाका प्रवक्ता मेजर नजरल आसिफ गफूरले ट्वीट गर्दै सेनाको मेडिकल टीम घट्नामा खटिएको उल्लेख गरेका छन् ।

    बीबीसीका अनुसार धक्का भारतको राजधानी नयाँ दिल्ली सम्म गरिएको छ । पाकिस्तानको पंजाबस्थित झेलम शहरदेखि करिब ५ किलोमिटर दुरीमा अवस्थित जाटलानमा भूकम्पको केन्द्रविन्दु थियो ।

    भूकम्प ५ दशमलब ८ रेक्टर स्केलको रहेको अमेरिकी भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

    पाकिस्तानी संचारमाध्यमले भूकम्पका कारण सडकमा ठूल्ठूला चिरा परेको दृष्य प्रसारण गरेका छन् ।

    एजेन्सी

  • बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

    बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

    लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको संसद निलम्बन गर्ने निर्णयलाई बेलायती सर्वोच्च अदालतले अवैधानिक घोषित गरेको छ ।

    प्रधानमन्त्री जोनसनले पाँच साताका लागि संसद निलम्बन गरेका थिए । उनको निर्णय बेलायती महारानीबाट पनि अनुमोदन भएको थियो ।

    प्रधानमन्त्री बोरिसले ९ सेप्टेम्बरदेखि बेलायतको तल्लो सदन हाउस अफ कमन्स पाँच साताका लागि निलम्बन गरेका थिए।

    बेलायतलाई यूरोपेली यूनियनबाट हटाउने प्रक्रिया अनुसार उनले संसद निलम्बन गरेका हुन् ।

    संसदबाट अवरोध हुने निष्कर्ष निकाल्दै उनले संसद निलम्बन गरेका थिए । जोनसन युरोपियन युनियनबाट बेलायतलाई ३१ अक्टोबर सम्म बाहिर निकाल्ने योजनामा छन् ।

    बेलायती संसदमा धेरै सांसद यस निर्णयको विपक्षमा रहेपछि उनले संसद नै विघटन गर्ने निर्णय लिएका हुन् ।

    त्यसो त बेलायतमा अधिवेशन सुरू हुनुअघि केही समय संसद निलम्बन गर्न सक्ने कानुनी प्रावधान भने रहेको छ ।

    जोनसनले संसद विघटन गरेपछि उच्च अदालतमा मुद्दा परेको थियो ।

    बेलायती सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेइलका अनुसार ११ जना न्यायाधीशले सर्वसम्मत रूपमा उक्त निर्णयलाई खारेज गरिदिएको जानकारी गराएकी छिन् ।
    एजेन्सी

  • विप्लवका उपत्यका इन्चार्ज पक्राउ

    विप्लवका उपत्यका इन्चार्ज पक्राउ

    काठमाडौं । माइला लामालाई प्रहरीले पक्रिएपछि नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तोकेको नयाँ उपत्यका ब्युरो इञ्चार्ज नवीन बिकेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रिय कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार राती ललितपुरबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

    यसअघि ललितपुर इन्चार्ज रहेका बिकेलाई विप्लवले उपत्यका इन्जार्च तोकेको थियो ।

    पछिल्लो समय प्रहरीले विप्लव समूहको नेतृत्व धरपकड गर्ने क्रमलाई तिब्रता दिएको छ ।

  • नवलपरासीमा ट्रकले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु

    नवलपरासीमा ट्रकले कारलाई ठक्कर दियो, ५ जनाको मृत्यु

    नवलपरासी । ट्रकले कारलाई ठक्कर दिएर भएको दूर्घटनामा सोमबार ५ जनाको निधन भएको छ ।

    सोमबार राती पूर्वपश्चिम राजगार्गअन्तर्गत कावासोती नगरपालिकाको खरकट्टा जङ्गलमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार ठोक्किएको प्रहरीले जनाएको छ ।

    कारमा सवार पाँचै जनाको निधन भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उनीहरुलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको थियो ।

    केही समयमै अस्पतालले मृत घोषणा गरेको थियो । उता, नवलपरासी मै भएका अन्य दुई दूर्घटनामा १ जनाको निधन भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्।

    नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा दाङबाट काठमाडौं आउँदै गरेको ना७ख ८६४२ नंको बस पल्टिँदा मकवानपुर घर भएका बसचालक लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ ।

    दुर्घटनामा १५ घाइते छन् । नवलपरासीकै मध्यविन्दु नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गको ४० किलो भन्ने स्थानमा बस पल्टिएपछि ५ जना घाइते भएका छन् ।

  • मेसी बने फिफा वर्ष खेलाडी

    मेसी बने फिफा वर्ष खेलाडी

    इटाली । बार्सिलोनाका फर्वाड कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी चुनिएका छन् ।

    सोमबार राती इटालीमा आयोजित विशेष समारोहमा फिफाले उक्त अवार्ड घोषणा गरेको हो । मेसीले क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई उछिनेका हुन् ।

    विश्व फुटबल महासंघ (फिफा)ले अघिल्लो सिजनमा गरेको प्रदर्शनका आधारमा उक्त अवार्ड प्रदान गर्छ ।

    मेसीले अघिल्लो सिजनमा ५८ खेलबाट ५४ गोल गरेका थिए । यस वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले हात पारिन् ।

    फिफा वर्ष पुरुष प्रशिक्षकमा भने लिभरपुलका जोर्गेन क्लोपको हातमा पुग्यो । महिला प्रशिक्षकको उपाधी जिल एलिसले जितिन् ।

    बालोन डि ओरसँगको साझेदारी तोडिएपछि फिफाले स्वतन्त्र रुपमा अवार्ड दिन थालेको हो । यसरी दिन थालिएको यो चौथो पटक हो ।

    फ्रान्स फुटबल म्यागाजिनले १९५६ देखि वितरण गर्न सुरु गरेको बालोन डि’ओरमा फिफाले २०१० देखि २०१५ सम्म साझेदारी गरेको थियो।

  • छोरीको हत्यापछि बाउद्धारा आत्महत्या

    छोरीको हत्यापछि बाउद्धारा आत्महत्या

    धनगढी। आफ्नो तीन वर्षीया छोरीलाई हत्या गरेपछि एक बाबु्ले आत्महत्या गरेका छन् । धनगढी, गौरीगंगा नगरपालिका–५ मा यस्तो घटना घटेको हो ।

    यहाँका स्थानीय रामबहादुर कलेलले विष खुवाएर छोरीको हत्या गरेका थिए । त्यसपछि आफूले पनि विष खाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    गत बैशाखमा उनकी श्रीमती सरिता कलेल घरमै झुन्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि उनलाई श्रीमतिको माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए।

    तर, उनी अदालतबाट निर्दोष सावित भएका थिए । अदालतले निर्दोष सावित गरी जेलबाट छुटेको डेढ महिनापछि उनले नाबालक छोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन् ।

    घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ । पछिल्लो समय नेपालमा आत्महत्या गर्ने र दुरुत्साहन मुद्दामा निर्दोष मानिसहरु फस्ने क्रम बढ्दै गएको छ ।

  • अब एक हजारको नोटमा दुइ वटा हात्ति

    अब एक हजारको नोटमा दुइ वटा हात्ति

    काठमाडौं । नेपाली एक हजारको नोटमा अब दुई वटा हात्तिको फोटो राखिने भएको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार चितवनमा हुर्किरहेका दुई जुम्ल्याहा हात्ति राम र लक्ष्मणको तस्वीर राखेर नयाँ हजारको नोट निकालिने भएको छ ।

    नयाँ डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत समेत भइसकेको छ। चिनियाँ कम्पनीबाट यो नोट प्रकाशित हुने भएको छ ।

    नोट छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आइसक्ने राष्ट्र बैंकको भनाई छ ।

    अहिले एक हजारको नोटमा एउटा मात्र हात्ति रहेको छ । यो हात्ति विदेशी रहेको र नेपाली हात्तिकै फोटो हुनुपर्ने माग उठ्दै आएको छ ।

    राम-लक्ष्मण अहिले चितवन राष्ट्रिय निकुन्जमा हुर्किरहेका छन् । ३१ करोड थान नोट छपाईका लागि चिनियाँ कम्पनीले जिम्मा पाएको बताइएको छ ।

  • काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का

    काठमाडौं-धादिङ जोड्ने सुरुङमार्ग बन्ने पक्का

    काठमाडौं । काठमाडौं र धादिङबीच सुरुङमार्ग बन्ने पक्का भएको छ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माण सम्बन्धमा आइतबार सम्झौता भएको हो ।

    नागढुंगा सुरुङमार्ग आयोजना र जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ठेक्का सम्झौता भएको हो ।

    तिहारपछि (नोभेम्बर) सुरुङमार्ग निर्माणको काम थालिनेछ । यो आयोजनाको काम साढे ३ वर्ष भित्र सक्ने गरी सम्झौता भएको हो ।

    आयोजनाको लागत १५ अर्ब २५ करोडको लागतमा बन्न लागेको हो। यो कम्पनीले नेपालमा राम्रो नतिजामा काम गरिरहेको छ ।

    यही कम्पनीबाट कोटेश्वर सूर्यविनायक खण्ड यही कम्पनीले बिस्तार गरेको हो । चर्चित बिपी राजमार्ग निर्माण समेत यही कम्पनीले गरेको हो ।

    चालु आवमा यो सुरुङमार्ग बनाउन सरकारले ६ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । सुरुङमार्ग निर्माण गर्न जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भएको छ ।

    जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षसम्म तिर्ने गरी ऋण उपलब्ध गराएको छ ।

    नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड निकै घुमाउरो र उकालो ओरालो भएपछि निकै ट्राफिक जाम हुने गरेको छ ।

    यो जाम हटाउन यो योजना अगाडी बढेको थियो । सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । सुरुङमार्ग बनेपछि यो डाँडो काट्न २० मिनेट मात्र लाग्ने भएको छ ।

  • बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो

    बाहिरी चक्रपथमा चिनियाँ कम्पनीको चासो

    काठमाडौं । उपत्यकाकोबाहिरी चक्रपथ निर्माणमा चिनियाँ कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएको छ ।

    लगानी बोर्डको सोमबार बसेको बैठकले बाहिरी चक्रपथमा चासो देखाएको चिनियाँ कम्पनी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनीको प्रस्ताव स्वीकृत गरेको हो ।

    यो आयोजनामा पनि सरकारले लगानी जुटाउन सकेको छैन । काठमाडौं उपत्यकाको दीर्घकालिन विकास र भविश्यसँग जोडिएको यो आयोजनाको कार्यान्वयनले ठूलो रणनीतिक फाइदा हुने र पूर्वाधार विकासमा देशले ठूलो फड्को मार्ने अपेक्षा गरिएको  छ।

    तर, लगानी जुट्न नसक्दा सरकारले यो आयोजना पनि अगाडी बढाउन आँट गर्न भने सकेको छैन ।

    लगानी बोर्डले छनोट भएको कम्पनीसँग ४५ दिनभित्र विस्तृत प्रस्ताव पठाउन समेत माग गर्ने निर्णैय गरेको हो ।

    बोर्डले अरुण जलविद्युत आयोजनामा परेको तीन वटै प्रस्तावलाई योग्य ठान्दै स्वीकृत गरेको छ । यस आयोजनामा तीन वटा कम्पनीको प्रस्ताव परेको थियो ।

    यस आयोजनामा भारतीय कम्पनी एसजेभीएन, चाइना पावर र जापानको जे पावरले प्रस्ताव राखेका थिए ।

    बैठकले पश्चिम सेती तथा एसआर  संयुक्त जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये संक्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलग-अलग समिति गठन गरेको समेत उल्लेख गरेको छ ।

    नेपालमा ठूला लगानीका आयोजनाको सहजिकरण गर्न लगानी बोर्ड सक्रिय रहेको छ ।