Author: Vishwanews.com

  • एएसफीबाट एन्फालाई नगद जरिवाना

    एएसफीबाट एन्फालाई नगद जरिवाना

    काठमाडौं । मापदण्ड नपुगि क्लवहरुलाई मान्यता दिएको कसुरमा एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नगद जरिवाना गरेको छ ।

    एएफसीको अनुशासन तथा आचार संहिता समिति एन्फालाई १० हजार अमेरिकी डलर जरिवानको निर्णय गरेको हो । एएफसीले एन्फालाई गल्ती सच्याउने अवसर पनि प्रदान गरेको छ ।

    दुई वर्ष भित्र त्यसो नगरे ३५ हजार डलर जरिवाना गर्ने चेतावनी एएफसीको छ । एन्फाले ‘एएफसी क्लब लाइसेनिङ रेगुलेसन बिपरित काम गरेको कसुरमा जरिवाना गरिएको हो ।
    अघिल्लो सिजनमा मनाङ मर्स्याङ्दी क्लबलाई एन्फाले च्याम्पियनको हैसियतमा नेपालको तर्फबाट एएफसी कप २०१९ खेल्न अनुमति दिएको थियो । तर, त्यो वर्ष नेपालमा लीग नै भएको थिएन् ।

    अर्कोतर्फ क्लब लाइसेन्स पाउन आफ्नै मैदान, एकेडेमी, उमेर समूहको टिम, टिम डाक्टर, मिडिया अफिसरजस्ता आधारभूत मापदण्ड पुगेको हुनुपर्छ । नेपालमा भने त्यस प्रकारका मापदण्डलाई वास्ता नगरी भटाभट क्लवलाई मान्यता दिने प्रचलन रहेको छ ।

  • कास्की २ मा रविन्द्र पत्नी विद्या उठ्ने

    कास्की २ मा रविन्द्र पत्नी विद्या उठ्ने

    पोखरा । आगामी उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की २ का लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

    नेकपा कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावमा विद्या भट्टराईलाई उठाउने निर्णय गरेको हो । उनी स्वर्गीय नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेकै समयमा पाथिभरामा हेलिकोप्टर दूर्घटना हुँदा रवीन्द्रको निधन भएको थियो । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उनको मात्र नाम सिफारिस गरेको हो ।

    मन्त्री अधिकारीको निधन भएपछि कास्की २ को सांसद पद खाली थियो । कास्कीका लोकप्रिय तथा विकासप्रेमी नेता अधिकारीको निधनपछि धेरैले पत्नी भट्टराईलाई राजनीतिमा आउन आग्रह गरेका थिए ।

    त्यसो त पत्नी विद्याको पृष्ठभूमी पनि राजनीति नै हो । तर, श्रीमान राजनीतिमा सक्रिय भएपछि उनले आफ्नो करियर शैक्षिक पेशामार्फत अगाडी बढाएकी थिइन् ।

  • प्रधानमन्त्री बाकुमा

    प्रधानमन्त्री बाकुमा

    बाकु । असंलग्न आन्दोलनमा सहभागी देशहरुको समूहमा आवद्ध राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकु पुगेका छन् ।

    बिहीबार बिहान अपरान्ह नेपालबाट प्रस्थान गरेका प्रधानमन्त्री राती बाकु पुगेका हुन् । सम्मेलन शुक्रबारदेखि प्रारम्भ हुँदैछ ।

    बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभले स्वागत गरे ।

    उक्त अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित अन्य उच्च अधिकारीसमेत उपस्थित थिए । सम्मेलनमा सहभागीका लागि स्वागत गर्दै अजरबैजान सरकारले शुक्रबार रात्रीभोगको आयोजना गरेको छ ।

    प्रधानमन्त्रीले यसबीच विभिन्न मुलुकका सरकार तथा राष्ट्रध्याक्षसँग भेटवार्ता गर्दैछन् ।

  • काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए

    काम नसकी लाप्राकबाट पन्छियो एनआरएनए

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण नसकिदै जिम्मेवारीबाट पन्छिएको छ ।

    गोरखा भूकम्पको केन्द्रिविन्दु पनि हो । सबैभन्दा बढी क्षती पुगेको यो वस्तीलाई दुई वर्षमा ठडाउने भन्दै एनआरएनएले यसको जिम्मेवारी लिएको थियो । यसबीचमा दुई कार्यकाल फेरीए, ४ वर्ष बित्यो, तर वस्ती निर्माणको काम सकिएको छैन ।

    तर, एनआरएन भने जिम्मेवारीबाट भने हटिसकेको छ । एनआरएनएले २७ असोजबाट एनआरएनए लाप्राकको बस्ती निर्माणबाट अलग हुने निर्णय गरेको हो ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, एनआरएनए र धार्चे गाउँपालिकाबीच एक सम्झौता भएको छ । जसअनुसार लाप्राकको बस्ती पुनर्निर्माणबाट एनआरएनए बाहिरिएको छ ।

    एनआरएनएले ५ सय ७३ घर बनाउन जिम्मेवारी लिएर काम थालेको थियो । घरहरु निर्माण भएपनि फिनिसिंगको काम बाँकि छ । अन्य अत्यावश्यक पूर्वाधार बनिसकेका छैनन् ।

    आर्थिक कारण देखाउँदै एनआरएनले भने जिम्मेवारीबाट पन्छिएको हो ।

    सम्झौता अनुसार अब आवश्यक पूर्वाधार निर्माण गर्न आवश्यक लागतको अध्ययन गर्न प्राधिकरण, एनआरएनए र गाउँपालिकाका प्रतिनिधि रहेको प्राविधिक टोली निर्माण गरिएको छ । त्यसका आधारमा थप निर्णय हुने बताइएको छ ।

  • आजबाट शुरु भयो निर्वाचन आचारसंहिता

    आजबाट शुरु भयो निर्वाचन आचारसंहिता

    काठमाडौं । आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको तयारीमा निर्वाचन आयोगदेखि राजनीतिक दलसम्म होमिएका छन् । सोही निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आचार संहिता लागु लागेको छ ।

    उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू भएको आयोगले जानकारी दिएको छ ।

    आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम लगायतले यो आचार संहिता पालना गर्नुपर्ने उल्लेख गर्दै सूचना जारी गरेको हो ।

    आयोगका अनुसार निर्वाचन नसकिएसम्मै अब केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन प्रचार प्रसारका कार्यक्रम गर्न पाउने छैन ।
    चुनावका लागि भवन, सवारी साधन, अन्य सामग्रीको प्रयोग गर्न नपाउनृ गरी तोकिएको छ । सरकारी कार्यालयमा नयाँ पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नपाइने छैन ।

    सरुवा बढुवा गर्न र काज खटाउन नपाइने, विदेश भ्रमणमा जान नहुने समेत आयोगको आचार संहितामा उल्लेख छ । उमेदवारले निर्वाचन आयोगले तोकेको मापदण्ड भित्र रहेरै प्रपार प्रसार गर्नुपर्छ ।

    त्यसको पनि अन्तिम समय आयोगले तोक्छ । त्यसपछि भने प्रचार प्रसारको काम पनि गर्न पाइदैन । करीव ५० तहमा आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

    विभिन्न समयमा खाली भएको पदहरुमा निर्वाचन हुन लागेको हो । संघमा पूर्वपर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्थानमा उपनिर्वाचन हुनेछ ।

  • वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

    वर्ल्ड लिंकमा भित्रियो विदेशी लगानी

    काठमाडौं

    इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा विदेशी लगानी भित्रिएको छ । कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    यस कम्पनीमा बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले लगानी गर्न लागेको हो । उक्त कम्पनीले सो रकम बराबरको वर्ल्डलिंकको १० प्रतिशत सेयर किन्ने भएको हो ।

    सिडिसी बेलायत सरकारको पूर्ण स्वामित्वको संस्था हो । वर्ल्डलिंकमा लगानी गर्ने सम्वन्धी दुवै पक्षबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    नेपालमा सिडिसीको सेयर लगानी पहिलो पटक भित्रिएको कार्यक्रममा बताइयो । ग्रामिण भेगसम्म इन्टरनेट सेवा बिस्तार गर्न यो साझेदारी महत्वपूर्ण सावित हुने वर्ल्डलिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालले बताए ।

  • चर्चित र्‍यापर भिटेन पक्राउ

    चर्चित र्‍यापर भिटेन पक्राउ

    काठमाडौं । प्रहरीले अर्का विवादित गायक (र्‍यापर) भिटेनलाई पक्राउ गरेको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट उनलाई पक्रेको हो ।

    अस्लिल शब्द मिसाएर गीत गाउने र त्यसलाई टिकटक तथा यूट्यूवमा राख्ने होडबाजीमा पछिल्लो समय गायक गायीकाले नेपाली संस्कृतिमाथि नै प्रहार गरिरहेका छन् ।

    प्रहरीले पछिल्लो समय अराजकता फैलने शब्द राखी गीत संगित निकाल्ने र छिट्टै हिट हुने खोज्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । मंगलबार मात्र मात्र गायक दुर्गेस थापा प्रहरीको फन्दामा परेका थिए ।

    भिटेनको वास्तविक नाम समीर घिसिङ हो । उनले ‘गरिबी ‘ गीतबाट र्‍याप गाउन थालेका हुन् । एक दर्जनभन्दा बढी गीत गाइसकेका उनले पछिल्लो समय निकालेको ‘यस्तै त हो नि ब्रो’ चर्चामा थियो ।

    सोही गीतमा राखिएका शब्दलाई लिएर उनीविरुद्ध उजुरी परेपछि प्रहरीले पक्रेको हो । उनको पक्राउको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रवधि मन्त्री गोकुल बास्कोटाले बचाउ गरेका छन् ।

    उनले गायका गीतको शब्द परिवारका साथ बसेर सुन्न नसक्ने रहेको भन्दै अराजकता फैलाउने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने बताए । प्रहरीले पक्राउ लगत्तै उनको भिडियो यूट्यवुबाट हटाउन लगाएको थियो ।

  • आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती

    आधा घण्टा विमानस्थल बन्द गरी उडे प्रधानमन्त्री, दिनभर यात्रुलाई सास्ती

    काठमाडौं । बिहीबार अजरबैजानको बाकुतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको सवारीका दौरान करीव आधा घण्टा विमानस्थल बन्द भयो ।

    विमानस्थलले जारी गरेको नोटाम अबधिभर कुनै पनि व्यवसायीक उडानका जहाजले उड्ने वा ओर्लने अनुमति पाउँदैनन् ।

    त्यसबेला आकासमा होल्ड भएका र मैदानमा रहेका जहाजहरुले भने बिहीबार दिउसो तीन चार घण्टासम्म पनि सास्ती भोग्नु पर्यो । १ बजे अपरान्हका लागि निर्धारित जहाजहरु ४ बजेपछि मात्र पालो पाएका थिए ।

    कतिपय उडान रद्द नै गर्नु परेको थियो । कतै मौसम त कतै भिभिआइपी उडानले विमास्थलको उडान अवतरण प्रभावित भएको विमानस्थलका कर्मचारीले जानकारी दिए । असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजान प्रस्थान गरेका हुन् ।

  • डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ

    डुइङ विजनेस इन्डेक्समा नेपालको छलाङ

    काठमाडौं । ‘डुइङ विजनेस इन्डेक्स’ मा नेपालले उल्लेख्य प्रगति गरेको छ । विश्व बैंकले निकाल्ने यस्तो प्रतिवेदनले विश्वव्यापी मान्यता पाउने गर्छ ।

    डुइङ विजनेस २०२० प्रतिवेदन अनुसार नेपाल ९४ औं स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १ सय १० औं स्थानमा रहेको थियो । डुइङ विजनेसले हेर्ने विभिन्न १० क्षेत्रमध्ये नेपालले ५ क्षेत्रमा सकारात्मक प्रगति गरेको छ । केही क्षेत्र भने नराम्ररी खस्किएका छन् ।

    खासगरी कर प्रशासन र विजनेश प्रारम्भ गर्ने प्रकृयामा रहेका झण्झटले नेपालको डुइङ विजनेस इन्डेक्स प्रभावित भएको पाइएको छ ।

    ९४ औं स्थानमा रहेको नेपालले समग्रमा ६३.२ अंक पाएको छ । अघिल्लो वर्ष ५९.७ अंक रहेको थियो । दक्षिण एसियामा सबैभन्दा अनुकूल वातावरण भारतमा बनेको छ ।

    १ सय ४२ औं स्थानमा रहेको भारत ६३ औं स्थानमा उक्लिएको छ । डुइङ विजनेश इनडेक्सको पहिलो नम्बरमा न्यूजिल्याण्ड छ । पुछारमा सोमालिया छ ।

    सबैभन्दा राम्रो छलाङ भने साउदी अरेवियाले मारेको छ । डुइङ विजनेस इन्डेक्समा कानूनि, प्रक्रियागत विषय तथा संरचनाले ठूलो भूमिका खेल्ने गर्छ । जब ति सबै क्षेत्रमा सुधार हुन्छ, त्यसबेला व्यापार व्यवसाय गर्ने तथा विदेशी लगानी आकर्षित हुने सम्भावना बढी हुन्छ ।

  • ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?

    ट्रक भित्र ३९ वटा शव कहाँबाट आयो ?

    लण्डन । बुधबार बेलायतको राजधानी लन्डनमा एक ट्रक भित्र ३९ शव बरामद भयो । ट्रक चालक २५ वर्षिय एक यूवक पनि पक्राउ परे ।

    यस घटनाले विश्वलाई भयभित मात्र पारेको छैन, आखिर अति विकसित मुलुक बेलायतमै यो अमानवीय घटना कसरी भयो भने जिज्ञासा समेत उत्पन्न गराएको छ ।

    ट्रक बेल्जियमबाट जहाजमा चढाएर वेलायत पुगेको प्रहरीले उल्लेख गरेको छ । तर, बेल्जियमा चाँही कसरी आयो, त्यसको बेल्जियममा किन चेकजाँच भएन र शवहरु लण्डन पुगे भन्ने प्रश्नले धेरैलाई अचम्मित समेत बनाइरहेको छ ।

    बेलायती संचारमाध्यममा ट्रक पुर्वी युरोपियन मुलुक बुल्गेरियाबाट आएको उल्लेख छ । यद्दपी यसको पुष्टी हुन बाँकि छ । प्रहरीले ट्रक चालक २५ वर्षिय आइरिस नागरिक मो रबिन्सनलाई पक्राउ गरी अनुसन्धान थालेको बताएको छ ।

    यूरोपमा मानव तस्करहरुले गरिब मुलुककाा प्रवासीलाई लैजाने क्रममा यस्ता घटना बारम्वार हुने गरेका छन् । खासगरी द्धन्द्धग्रस्त मुलुकबाट धेरै नागरिक शान्तीको खोजीमा यूरोप छिर्न खोज्छन् ।

    तर, उनीहरुको अमानवीय तरिकाले हत्या हुने गरेको छ । सन् २००० बेलायत मै एक ट्रक भित्र ५८ चिनियाँ नागरिकको शव फेला परेको इतिहासलाई संचारमाध्यमले बुधबार पनि सम्झिएका छन ।

  • राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

    राष्ट्रपति स्वदेश फिर्ता, प्रधानमन्त्री आज अजरबैजान जाने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि वैदेशिक भमणमा सिलसिलामा अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजानको बाकुतर्फ जान लागेका हुन् ।

    उनी बिहान ११ बजे कतार एयरवेजमार्फत उक्त मुलुक प्रस्थान गर्नेछन् । यससँगै प्रधानमन्त्रीले आफ्नो पछिल्लो कार्यकालमा करीव १ दर्जन मुलुकको भ्रमण पुरा गरेका छन् ।

    प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीसहितको टोली सहभागी छ ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाकुमा पुथिसकेका छन् । प्रधानमन्त्री आइतबार स्वदेश फर्कने भएका छन् । उता, म्यानमार र जापान भ्रमण सकेर राष्ट्रपति विद्यादेवि भण्डारी स्वदेश फर्किएकी छिन् । उनी जापानबाट चीन हुँदै नेपाल आएकी हुन् ।

  • नेपाली र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम

    नेपाली र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त कार्यक्रम ‘ल्याण्ड फोर्स टल्क’ सुरू भएको छ।

    कार्यक्रम सैनिक मुख्यालय जंगी अड्डामा बुधबारबाट शुरु भएको हो । कार्यक्रम बिहीबारसम्म चल्ने भएको छ ।

    संयुक्त कार्यक्रममा नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिवृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य फौज व्यवसायीकरण सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेका कारबाहीका अनुभवहरू आदनप्रदान गरिने नेपाली सेनाले उल्लेख गरेको छ ।

    कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीसहित १९ जना र अमेरिकाको तर्फबाट मेजर जनरल डानियल एफ एमसिडानियलको नेतृत्वमा १६ सदस्यीय टोली सहभागी रहेको सेनाले उल्लेख गरेको छ। अमेरिकी सेनाको टोली सोही ४ कात्तिकमा नेपाल आएको हो ।

  • युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

    युवतीको बलत्कारपछि हत्या गरी अमेरिका पलायन व्यक्ति २० वर्षपछि पक्राउ

    काठमाडौं । भनिन्छ, अपराधी पानी मुनी गएपनि लुक्न सक्दैन । तर, त्यसका लागि प्रहरीको इच्छाशक्ति पनि उत्तिकै आवश्यक छ । नेपाल प्रहरीले बुधबार एक यस्तो उदाहरण प्रस्तुत गर्न सफल भयो ।

    बुधबार बिहान टर्कीस एयरलाइन्सको जहाजबाट आएका एक युवकलाई त्रिभुवन विमानस्थलमा ओर्लनासाथ पक्रियो । उनी अमेरिकाबाट आएका थिए । प्रहरीका अनुसार उनलाई अमेरिका मै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि जहाजबाट नेपाल ल्याएर हिरासतमा राखिएको हो ।

    उनीमाथि झापामा आजभन्दा २० वर्ष अगाडी एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ । उनी एक दशकदेखि अमेरिकामा मै बस्ने गर्थे । प्रहरीका अनुसार उनी झापा चन्द्रगढी ३ का ४२ वर्षीय लीलाराज गौतम हुन् । इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरिएको थियो ।

    उनलाई त्यसयता अमेरिकाकै हिरासतमा राखिएको थियो । नेपाल प्रहरीले बुधबार मात्र उनलाई नेपाल ल्याउन सफल भएको हो । झापाको चन्द्रगढी ३ बस्ने सन्ध्या राजबंशीलाई ०५७ साल असोज २९ गते राति चारआली जंगल छेऊको रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

    उनको सामूहिक बलत्कारपछि हत्या गरिएको प्रहरीले जनाएको छ । उनको सामुहिक बलात्कार पछि घाँटी थिची हत्या गरी रुखमा झुण्ड्याइएको अभियोगमा प्रहरीले लीलाराज गौतम, मनोज खड्का र सीताराम बस्नेतलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

    घटनाको भोलिपल्ट ३० असोजमा असोज ३० गते मृतकका बुवा राजकुमार राजबंशीले जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएका थिए ।

    तर, झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते लीलाराज गौतमलाई मुद्दाबाट सफाइ दिएको थियो । उक्त वर्ष नै २८ चैतमा पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।

    हत्याको ९ वर्षपछि सर्वोच्च अदालतले भने तल्ला अदालतहरुको निर्णय उल्टायो । २९ भदौ ०६६ मा सर्वोच्चले तल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लीलाराज गौतम समेतलाई जन्मकैदको सजायँ सुनाएको हो ।

    त्यतिन्जेल गौतम नेपालबाट भागेर अमेरिका पुगिसकेका थिए । उनी अमेरिका रहेको खबर प्रहरीले सन् २०१८ मा मात्र फेला पारेको थियो । त्यसपछि इन्टपोलमार्फत प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

  • आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता

    आर्यघाटमा दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो: घाट सेवकको आन्दोलन फिर्ता

    काठमाडौं । पशुपति आर्यघाटमा बुधबार एकाएक एक सूचना टासिएको पाइयो । सूचना अनुसार पशुपति आर्यघाटमा दाह संस्कारको काम अनिश्चितकालका लागि बन्द गरिएको र सेवा अवरुद्ध भएको उल्लेख थियो ।

    यो सूचनासँगै घाट सेवकहरुले दाहसंस्कार रोकेका थिए । आफन्त गुमाएको शोकमा पशुपतिना मन्दिरको पवित्र स्थलमा दाहसंस्कारका लागि पुगेका मानिस अलपत्र परेका थिए ।

    तर, दिउँसो समस्या समाधान भयो । घाट सेवकहरुको आन्दोलनले उनीहरुको माग पूरा भयो । पशुपति क्षेत्र विकास कोष र सेवकहरुबीच घाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाउने सहमति भएको छ ।

    अब शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको हो । त्यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा पनि २\२ सय रुपैयाँ बढेको छ ।

    यसअघि यो शीर्षकमा चार \चार सय शुल्क लाग्ने गरेको थियो । त्यसैगरी चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ ।

    दशनामीहरुका लागि शव गाड्न खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पु‍र्‍याइएको छ । बच्चाको शव गाड्न खनिने खाल्डोको शुल्क पनि २५ प्रतिशतले बढाइएको छ । पशुपतिमा यस्तो काम गरिरहेका सेवकको शुल्क ९ वर्षदेखि बढ्न सकेको थिएन ।

    सेवकहरुले घाटमा आन्दोलन थालेपछि कोषले भने विद्युतीय शवदाह गृहको क्षमता बढाएर शव जलाउन थालेको थियो । विद्युतीय शवदाहगृहका दुईवटै मेसिन प्रयोगमा ल्याइएको थियो ।

  • प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए

    प्रधानमन्त्री एक्सन रुममा, गौरवका आयोजनाको अपडेट लिए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक्सन रुमबाट राष्ट्रिय गौरवका आयोजनाको अपडेट लिए ।

    तीन जना केन्द्रिय मन्त्री र प्रमुख सल्लाहकारसहित उनी करीव एक घन्टा एक्सन रुममा बसेका थिए । त्यसक्रममा उनले विभिन्न राष्ट्रिय गौरवका आयोजनाको अपडेट भिडियो मार्फत लिएका थिए ।

    एक्सन रुपमा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई र प्रमुख सल्लाहकार विष्णु रिमाल एक्सन सहभागी थिए ।

    त्यसक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानी जमरा र सिक्टा सिंचाइ आयोजना, हुलाकी र मध्यपहाडी लोकमार्गको कार्यप्रगतिबारे जानकारी लिइएको थियो ।

    ती आयोजनाको कार्यप्रगतिबारे चासो राख्दै प्रधानमन्त्रीले कार्यप्रगति बढाउन निर्देशन दिएका थिए ।

    राष्ट्रिय गौरवका आयोजनाले साच्चै गौरव गर्न लायक प्रगति गर्नुपर्ने भन्दै उनले आयोजना प्रमुखहरुलाई कार्य प्रगति बढाउन निर्देशन दिए ।

    राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री कार्यालयमै बसेर हेर्न तथा अपडेट लिन सकिने गरी आयोजनास्थल सम्मै सीसी क्यामरा जडान गरी एक्सन रुम संचालनमा ल्याइएको छ ।

  • लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

    लोडसेडिङ हटेको उल्लासमय पर्व तिहार

    काठमाडौं । ४ वर्ष अगाडीसम्म नेपाल विद्यूत प्राधिकरणले हरेक तिहारमा एक सूचना जारी गथ्र्यो । सूचनामा बढी विद्यूत खपत हुने सामग्रीको कम प्रयोग गरी लोडसेडिङ हुनबाट बचाउन आह्वान गरिएको हुन्थ्यो ।

    तर, जब प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आए, त्यसपछि पहिलो वर्ष काठमाडौंबाट लोडसेडिङ हट्यो । त्यसपछिका वर्षहरुमा भने क्रमशः देशभरबाट लोडसेडिङको कालो इतिहास मेटिने क्रममा छ ।

    प्राधिकरणका अनुसार यो वर्ष पनि मानिसहरुले ढुक्कले आफ्नो घर, आगँन, कार्यालय र टोललाई झिलिमिली बनाउन सक्छ । कुनै प्राविधिक गडबडी हुनु बाहेक लोडसेडिङका कारण अन्धकारमा बस्नु पर्ने छैन ।

    प्राधिकरणले खासगरी लक्ष्मीपूजाको दिनका दिन खास व्यवस्था गरेको छ । यस दिन शहरी इलाकामा विद्युतको अधिक खपत हुन्छ । त्यसपछि भने क्रमशः यसको माग घट्दै जाने गर्छ ।

    लक्ष्मी पूजामा व्यवस्थापन गर्न सकियो भने वर्षभर ढुक्कसँग विद्यूत आपूर्तिको व्यवस्थापन हुने प्राधिकरणको भनाई रहेको छ ।

    तिहारअघि नै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको नियमित मर्मतको काम सक्ने लक्ष्य रहेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यका र देशका ठूला शहरमा हुन्छ ।

  • भाइरल डोजर काण्ड, चालक पक्राउ

    भाइरल डोजर काण्ड, चालक पक्राउ

    बैतडी । सामाजिक सञ्जाल अहिले एक भाइरल भिडियोका कारण तात्तिएको छ ।

    सोमबारदेखि भाइरल उक्त भिडियो एभिन्यूज च्यानलले सार्वजनिक गरेको उक्त भिडियोमा केही मानिसहरुले डोजरमा ढुंगा हानिरहेका छन् भने डोजरले मानिसहरुलाई नै पेल्न खोजेको देखिन्छ ।

    यसै मेसोमा डोजरले एक महिलाई नराम्ररी धक्का दिन्छ । उनी पल्टिन्छिन् । यो भिडियो बैतडी जिल्ला, दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकको हो ।

    उपभोक्ता समिति र स्थानीय बासिन्दा बीच सडक खन्ने विषयलाई लिएर भएको विवादले उग्र रुप लिएपछि डोजर चालकले स्थानीयलाई डोजरबाटै पेल्न खोजेको देखिन्छ । डोजर चालकले डोजरको टुडले हिर्काएपछि स्थानीय गौरी जोशी घाइते भएको बताइएको छ ।

    घटना सार्वजनिक भएलगत्तै प्रहरीले डोजर चालक सोही नगरपालिका वडानम्बर –२ देहीमाण्डौका किशोर बोहरालाई पक्राउ गरेको जानकारी दिएको छ ।

    उक्त घटनामा केही मानिसहरु घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले बताएको छ । ती महिलाको अवस्था भने गम्भीर रहेको छ ।

  • तिहारमा पटाका प्रतिवन्ध, विकृतियुक्त गीत बजाए कारवाही

    तिहारमा पटाका प्रतिवन्ध, विकृतियुक्त गीत बजाए कारवाही

    काठमाडौं । सरकारले तिहार मनाउने नाममा विकृति नभित्राउन आम सर्वसाधारणमा अनुरोध गरेको छ ।

    गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै तिहारमा देउसी भैलोजस्ता मनोरञ्जनात्मक कार्यक्रममा समाजमा नकारात्मक असर पार्ने खालका गीत, संगीत तथा श्रव्य दृश्य सामग्री उत्पादन, गायन, प्रसारण विक्री वितरण नगर्न नगराउन आग्रह गरेको
    हो ।

    यस्तो काम भएमा कानून बमोजिम कडा कारवाही गर्न सम्बन्धित निकायमा निर्देशन गइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।

    मंगलबार नै विकृति फैलने खालको गीत गाएका गायक दुर्गेस थापालाई प्रहरीले पक्राउ गरी गीत थुट्यूव च्यानलबाट हटाउन लगाएको थियो ।

    दीपावली मनाउने नाममा भुइँचम्पा, पटाका, आतशवाजीजस्ता विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात खरिद,विक्री वितरण, ओसारपरसार तथा प्रयोगमा समेत प्रतिवन्ध लगाएको सरकारले ती सामाग्रीसम्बन्धी कुनै काम नगर्न समेत सचेत गराएको छ ।

    पछिल्ला वर्ष नेपालमा विष्फोटक प्रदार्थ आयातमा कडाई गरेपनि चोरबाटो प्रयोग गरी यस्ता सामग्री भित्रने गरेका छन् ।

  • प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

    प्रचण्डको स्पष्टोक्ति, प्रधानमन्त्री र आफूबीच विवाद छैन

    पाँचथर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विवाद नरहेको बताएका छन् ।

    पछिल्लो एक सातायता प्रधानमन्त्री र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री पद चलाउने सहमतिको विषयलाई लिएर विवाद रहेको सार्वजनिक भएको थियो ।

    प्रधानमन्त्रीले यसबीचमा दुई वटा पत्रिकामा अन्तर्वार्ता समेत दिएर प्रधानमन्त्री पद कसैले माग्दैमा नपाउने आशय समेत व्यक्त गरेका थिए ।

    यससम्बन्धमा बाहिर टिकाटिप्पणी बढेसँगै प्रचण्डले स्पष्टिकरण दिएका हुन् । उनले मिडियामा हल्ला भएजस्तो दुई अध्यक्षबीच कुनै विवाद नरहेको बताएका हुन् ।

    मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रम सकाएर पाँचथरमा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् । पार्टी एकताका क्रममा भएका सहमती क्रमशः कार्यान्वयनको चरणमा रहेको उनको भनाई छ ।

    उनका अनुसार सोमबार मात्र ओली र प्रचण्डबीच दुई घण्टा छलफल भएको थियो । छलफलमा विवाद नभई मिलाउन बाँकि विषयवस्तुका सन्दर्भमा कुरा भएको उनले उल्लेख गरे ।

  • विवादित गायक थापा पक्राउ, गीत हटाएपछि रिहा

    विवादित गायक थापा पक्राउ, गीत हटाएपछि रिहा

    काठमाडौं । तिहारको गीतमा उच्छृंखल शब्द राखी मौलिकपनः बिगार्दै गाएर आलोचित बनेका गायक दुर्गेस थापालाई प्रहरीले पक्रेको छ ।

    मौलिकता बिगारेको र उच्छृंखलता फैलाएको आरोपमा उनीविरुद्ध उजुरी परेपछि प्रहरीले थापालाई मंगलबार पक्रिएको थियो ।

    उनको पक्राउपछि पनि जनमत उनको पक्षमा देखिएन । सबै तिरबाट उनको आलोचना र प्रहरीको समर्थन भयो । त्यसपछि थापाले युट्युवबाट विवादित तिहारको गीत हटाउन राजी भए ।

    हिरासतबाटै उनले आफ्नो विवादित गीत हटाएपछि प्रहरीले मंगलबार नै थुनामुक्त भएका छन् । तिहारको गीतमा वियर, गाँजा तान्नेदेखि सामाजिक रुपमा विकृति फैलाउने शब्द राखेर उनले मौलिकता माथि ठाडो प्रहार गरेका थिए ।

    उनले आफ्नो गीत कानून विपरीत रहेको भन्दै सार्वजनिक रुपमा माफि समेत मागेका छन् । त्यसपछि प्रहरीले छाडेको हो ।

    उनको ‘हृयाप्पी तिहार, चिसो वियर’ बोलको गीत विवादित बनेको हो । उनको उक्त गीतको डिभियोमा समेत एक वियर कम्पनीको स्पष्ट विज्ञापन देखिन्छ । प्रहरीको अपराध महाशाखाको टोलीले उनलाई पक्रेको हो ।

  • आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै

    आइतबारबाट हिमालय एयरलाइन्स बेइजिङ उड्दै

    काठमाडौं । हिमालय एयरलाइन्सले आइतबार (१० कात्तिक)मा काठमाडौं–बेइजिङ सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले सोमबार उक्त गन्तब्यका लागि उडानको मिति सार्वजनिक गरेको हो ।

    नेपालबाट कुनै पनि कम्पनीले पहिलो पटक चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न लागेको हो ।

    नेपाल एयरलाइन्सले सांघाई हुँदै जापानको ओसाकामा उडान गरेको अनुभव बाहेक कुनै पनि नेपाली वायुसेवा कम्पनीले चीनमा उडान बिस्तार गर्न सकेका छैनन् ।

    नेपाल एयरलाइन्सले अहिले ग्वानझाओका लागि प्रयास गरिरहेको छ । हिमालय एयरलाइन्सले यो एक ऐतिहासिक उडान हुने बताएको छ ।

    नेपालबाट उडान हुन नसकेपनि चीनबाट भने ५ वटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन । तर, ती कुनै पनि कम्पनीले बेइजिङ उडान गर्दैनन् ।

    हिमालय एयरलाइन्सका अनुसार काठमाडौं–बेइजिङ साढे ५ घण्टा समयको हुनेछ । यस रुटमा एयर बस ३२० जहाज उडाउने तयारी रहेको छ ।

    नेपालको काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको जहाज चीनको नयाँ तथा अत्याधुनिक विमानस्थल डाक्सिङमा अवतरण गर्नेछ ।

    यो हिमालय एयरलाइन्सका लागि अर्को ठूलो उपलब्धी हो । किनकी यो एयरपोर्टमा संसारभरका वायुसेवा कम्पनीको पहिलो रोजाईको उडान हो ।

  • जब अस्ट्रेलियाका ठूला अखबारका फ्रन्टपेज खाली छापिए

    जब अस्ट्रेलियाका ठूला अखबारका फ्रन्टपेज खाली छापिए

    अष्ट्रेलिया । अस्ट्रेलियामा खुला अखबारले सरकारविरुद्ध आन्दोलनको एक शैली अपनाएका छन् । उनीहरुले फ्रन्ट पेज खाली छाडे । र त्यहा लेखिएको थियो, ‘सरकार मीडियाको स्वतन्त्रमा दखल दिइरहेको छ ।’

    अष्ट्रेलियामा प्रेसमाथि प्रतिवन्धको विरोधमा पत्रिकाहरुले विरोधको यो शैली अपनाएका हुन् । आफ्नो फ्रन्ट पेज खाली राख्दै पत्रिकाहरुले सरकारविरुद्ध एकता समेत प्रदर्शन गरेका छन् ।

    अष्ट्रेलियामा राष्ट्रीय सुरक्षा कानूनको विरोधमा पत्रकार उत्रिएका हुन् । यस कानूनले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने उनीहरुको भनाई रहेको छ ।

    उनीहरुले भनेका छन्, सरकार तिम्ले वास्तविकता लुकाउने प्रयास गर्छौं भने हामी के छाप्ने ? अखबारले विरोध थालेपछि सरकारले कानूनले प्रेस स्वतन्त्रता हनन नगर्ने दावि गरेको छ ।

  • पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर

    पाँचौ वर्षमा पनि नखुल्ने भयो भाइटिकामा बालगोपालेवर मन्दिर

    काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर एक ऐतिहासिक विषेशताका कारण चर्चित छ । यो मन्दिर हरेक वर्ष केवल भाइटिकाका दिन मात्र सर्वसाधारणको लागि खुल्ने गर्छ ।

    तर, यसरी खुल्न छाडेको पनि ५ वर्ष पुगेको छ । वैशाख २०७२ को भूकम्पले भत्किएको रानी पोखरी र बालगोपालेवर मन्दिरको पुनर्निर्माणको काम नसकिएपछि यस वर्ष पनि भाइटिकामा यो मन्दिर नखुल्ने भएको हो ।

    यस मन्दिरमा दाजुभाई नहुने दिदिबहिनी र दिदिबहिनी नहुने दाजुभाईले एक अर्काको हातबाट टिका ग्रहण गरी निधार खाली नराख्ने प्रचलन रहेको छ ।

    रानी पोखरी र बालगोपालेश्वर मन्दिर शिलान्यास भएको ५ वर्ष पुगिसकेको छ । तर, निर्माण सामग्रीमा विवाद, ऐतिहासिक सम्पदा भएकाले यसको डिजाइनमा देखिने विवादजस्ता अनेक कारणले यसको पुनर्निर्माणले गति लिन सकेको छैन ।

  • आङ सान सू ची नेपाल आउने

    आङ सान सू ची नेपाल आउने

    काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सू ची नेपाल भ्रमणमा आउने भएकी छिन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् ।

    उनका अनुसार सरकारले सू चीको नेपाल भ्रमणको तयारी समेत थालिसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार भ्रमणका दौरान सू चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धनका सिलसिलामा नेपाल आउन चाहेको बताएकी थिइन् ।

    लगत्तै सरकारले भ्रमणको तयारी थालेको उनले जानकारी दिए । राष्ट्रपतिसँगै गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार स्वदेश फर्किएका छन् ।

    उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालको पर्यटन प्रवद्र्धनकै लागि सू ची नेपाल आउने बताए । राष्ट्रपति भने म्यानमारबाटै जापान भ्रमणमा व्यस्त छिन् ।

  • चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही

    चुचुरोमा नपुगी फर्किए सगरमाथा आरोही

    काठमाडौं । शरद ऋुतमा सगरमाथा चढ्न गएका आरोही चुचुरोसम्म पुग्न नसकेपछि फर्किएका छन् । जारी सिजनमा सगरमाथा चढ्न दुई समूहका १० जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका थिए ।

    पर्यटन विभागका अनुसार मौसम प्रतिकूल हुने र आरोहणका लागि बाटो समेत नबनाउने भएका कारण यस मौसममा आरोहण जोखिमपूर्ण मानिन्छ ।

    सन् २०१० मा पछिल्लो पटक शरद ऋतुमा सगरमाथामा सफल आरोहण भएयता कुनै पनि आरोही सगरमाथा चढ्न सकेको छैन । यस वर्ष सबै आरोही घर फर्किसकेको पर्यटन विभागको भनाई छ । अन्य हिमालमा भने आरोहण जारी रहेको छ ।

    सन् २०१६ मा आरोहण अनुमति जारी भएपनि सगरमाथा चुचुरोमा भने कोही पनि पुग्न सकेन । यस वर्ष धेरै जनाको आरोहण अनुमति भएका कारण सफल हुने अपेक्षा भने गरिएको थियो ।

    बसन्तु ऋतुमा भने सगरमाथामा भीड लाग्छ । हरेक वर्ष वसन्तु ऋतुमा ७ सय हाराहारी चुचुरोमा पुग्ने गर्छन् । यस वर्ष शरद ऋतुमा मनास्लु हिमाल आरोहणमा सबैभन्दा बढी २७ टोलीका २ सय ६४ जनाले अनुमति लिएका छन् ।

    यस सिजनमा ४४ हिमालमा ९९८ जनालाई आरोहण अनुमति दिइएको छ । आइतबारसम्म १ सय ३३ समूहका ९ सय ९८ आरोहीले अनुमति लिएको विभागको तथ्यांक रहेको छ ।

  • अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट

    अब काठमाडौं छिर्ने गाडी सुरुङमार्गबाट

    काठमाडौं । अब काठमाडौं उपत्यका छिर्न सुरुङमार्गको प्रयोग हुने भएको छ । आगामी ३ वर्षमा पुरा हुने गरी धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

    सुरुङमार्ग २.६८ किलोमिटर लामो हुने आयोजनाले जानकारी दिएको छ । सडक विभाग मातहत रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले यो आयोजना बनाउदैछ ।

    आयोजना निर्माणको जिम्मा भने जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले पाएको छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार काम भने आगामी डिसेम्बरबाट शुरु हुने छ ।

    तर, पूर्वतयारीको काम भने अब शुरु हुने भएको छ । यो कम्पनी विपि राजमार्ग निर्माण गर्ने सफल कम्पनी हो । यो सुरुङमार्गको डिजाइन समेत जापान सरकारका तर्फबाट भएको हो ।

    ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको लाग करबाहेक साढे १३ अर्ब रुपैयाँ हो । यस आयोजनासँगै करीव साढे दुई किलोमिटर लामो पहुँचमार्गसमेत निर्माण हुने भएको छ ।

    सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधाराचोक र सुरुङको मुखभन्दा मुनि २ वटा फ्लाइओभर बन्ने भएका छन् । गुर्जुधारामा ६१० मिटर लामो फ्लाइओभर बन्ने भएको छ ।

    आकस्मिक उद्धारका लागि एक लेनको सहायक सुरुङसमेत बनाउने तयारी छ । दुर्घटनाको समयमा सहायक सुरुङबाट गई उद्धार गर्न सकिन्छ । सुरुङमार्गमा टनेल बोरिङ मेसिन प्रयोग नभइ बिष्फोटक पदार्थ प्रयोग गरि निर्माण हुने भएको छ ।

  • भाई टिकाको उत्तम साइत ११:५५ मा 

    भाई टिकाको उत्तम साइत ११:५५ मा 

    काठमाडौं। पञ्चांक निर्णायक समितिले भाइ टिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाई टिका १२ कात्तिकमा परेको छ ।

    यस दिन दिनै भर भाइटिक लगाउन सकिने भएपनि उत्तम साइत हेर्नेहरुका लागि भने ११ बजेर ५५ मिनेट जाँदाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ ।

    समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार यस दिन कुनै पनि समय टिका लगाउन बाधा मानिदैन । उत्तम साइत राज्य सञ्चालकहरुका लागि हो । सर्वसाधारणले भने आफ्नो अनुूकल पारेर टिका लगाउन सक्छन् । यस वर्ष यमपञ्चक ८ कात्तिकबाट प्रारम्भ हुने छ ।

    ९ कात्तिकमा काग तिहार परेको छ । यस दिन धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि मनाइने भएको छ । १० कात्तिकमा नरक स्नान गरिन्छ भने यसै दिन कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइने छ ।

    यस दिन बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने समितिले उल्लेख गरेको छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने ११ कात्तिकको दिन परेको छ । १२ कात्तिकमा भने तिहार र नेपाल सम्वतको नयाँ वर्ष समेत परेको छ ।

  • महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान

    महरालाई ५ दिन हिरासतमै राख्न आदेश, महिलाले भने प्रहरीले करकापमा उजुरी दिन लगाएको बयान

    काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामूख कृष्णबहादुर महरालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले २ कात्तिकबाट लागु हुने गरी ५ दिन थुनामा राख्न आदेश दिएको हो । अब प्रहरीले थप अनुसन्धानका लागि उनलाई थुनामै राख्न सक्नेछ । म्याद थपका लागि अदालत पेश भन्दा अघि उनको सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो ।

    बयानमा महराले आफूमाथिको अभियोग अस्वीकार गरेको बताइएको छ । पीडित भनी सार्वजनिक भएकी महिलासँग पारिवारिक सम्बन्ध रहेपनि उक्त दिन भने आफू नगएको र जाँदै नगएपछि बलत्कारको प्रयास हुने कुरै नभएको उनको दावि रहेको छ ।

    पीडित भनिएकी महिलाबाटै आफूमाथि बलात्कार प्रयास नभएको भनी वयान आइसकेको अवस्थामा आफूले थप स्पष्टिकरण दिनु नपर्ने उनको बयान छ । त्यसो त आरोप लगाउने महिलाले पनि प्रहरीले करकापमा आफूलाई उजुरी दिन लगाएको भन्दै महराबाट आफूमाथि बलत्कारको प्रयास नभएको बताएकी छिन् ।

    महरामाथि संसद सचिवालयमा कार्यरत रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनले एक अनलाइनमा भिडियो अन्तर्वार्ता दिँदै उक्त आरोप लगाएकी थिइन् ।

    तर, उक्त वयान फेर्दै उनले महरा आफ्नो बुबाजस्तो भएकाले कुनै बलत्कारको प्रयास नभएको उल्टो आफ्नो मानसिक अवस्थाको फाइदा उठाउँदै यस्तो आरोपबारे बोल्न लगाइएको उनको भनाई थियो । अदालतमा समेत उनले सोही प्रकृतिको बयान दिएकी छिन् । महरा १९ असोजमा पक्राउ परेका हुन् ।

  • राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै

    राष्ट्रपति आइतबार जापान प्रस्थान गर्दै

    काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका सिलसिलामा जापान प्रस्थान गर्ने भएकी छिन् । अहिले म्यानमारमा रहेकी राष्ट्रपति सोही मुलुकबाट आइतबार जापान जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    उनी जापानी नरेशको राज्याभिषेक कार्यक्रममा सरिक हुन जापान जान लागेकी हुन् । कार्यक्रममा विश्वभरबाट नेताहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रपतिको ५ दिने राजकीय भ्रमण पूरा भएको छ ।

    उनी २९ असोजमा म्यानमार पुगेकी थिइन् । आइतबारदेखि ५ कात्तिकसम्म जापान भ्रमण हुने मन्त्तालयले जानकारी दिएको छ ।

    राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागी छन् ।

  • अफगानिस्तानमा बम विस्फोट, ६२ को मृत्यु

    अफगानिस्तानमा बम विस्फोट, ६२ को मृत्यु

    अफगानिस्तान । अफगानिस्तानमा बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ । अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार अफगानिस्तानको पूर्वी नानगरहरस्थित एक मस्जिदमा शक्तिशाली बम विस्फोट भएको हो ।

    शुक्रबार भएको विस्फोटमा ६२ को निधन भएको र थुप्रै घाइते भएको नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानीलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् ।

    आक्रमणको जिम्मा भने कुनै पनि समूहले लिइसकेको छैन । मस्जिदमा ३५० भन्दा बढी मानिस प्रार्थना गरिरहेका थिए । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

    संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार यस वर्ष जुलाई र सेप्टेम्बरको बीचमा एक हजार एक सय ७४ जनाले अफगानिस्तानमा ज्यान गुमाइसकेका छन्।