Author: Vishwanews.com

  • भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर विदेशमन्त्रीका रुपमा पहिलो पटक काठमाडौं आउने भएका छन् ।

    आगामी बुधबारदेखि काठमाडौंमा शुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    उनी भारतीय विदेश सचिव भएका बेला भने काठमाडौं आइसकेका छन् । खासगरी संविधान निर्माणका बेला भारतीय सरकारको दूतका रुपमा नेपाल आएका उनको त्यसबेला ठूलो आलोचना भएको थियो ।

    त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी शुरु भएको थियो । नेपाल भारत संयुक्त आयोगको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले गर्ने बताइएको छ ।

    बैठकमा नेपाल र भारतको द्वीपक्षीय सम्बन्धसहित आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षाजस्ता क्षेत्रको सहकार्यका विषयमा छलफल हुने मन्त्रालयले उल्लेख गरेको छ ।

    नेपालमा रहँदा विदेशमन्त्री जयशंकरले उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटवार्ता गर्ने भएका छन् ।

    नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालमा नेपाल भ्रमण गर्ने जयशंकर सबैभन्दा उच्च तहका भारतीय नेता हुनेछन् ।

  • विवाह समारोह मै आत्मघाती बम विस्फोट

    विवाह समारोह मै आत्मघाती बम विस्फोट

    काबुल । अफगानिस्तानमा विवाह समारोह भइरहेको हल भित्रै आत्मघाती बम विस्फोट भएको छ ।

    विस्फोटबाट भएको मानवीय हताहतीको विवरण सार्वजनिक नभइसकेको संचारमाध्यमले उल्लेख गरेका छन् ।

    करीव १ हजार पाहुना बोलाइएको पार्टी हल भित्रै गराइएको बम विस्फोटबाट दर्जनौं मारिएको हुन सक्ने संचारमाध्यमले स्थानीय प्रशासन स्रोतलाई उदृत गर्दै लेखेका छन् ।

    राजधानी काबुलको एक व्यस्त शहरमा हल भित्रै शनिबार राती विस्फोट भएको हो । स्थानीय समय अनुसार पौने ११ बजे राती घटना भएको संचारमाध्यमले लेखेका छन् ।

    कैंयौं घाइतेलाई नजिकैको अस्पताल लैजादै गरेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा लासहरु देखिएपनि सरकारी अधिकारीहरुले त्यसको विवरण सार्वजनिक गरेका छैनन् ।

    अफगानिस्तानमा यस्तो भेला तथा समारोह हुँदा महिला र पुरुषका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको हुन्छ ।

    आत्मघाती विस्फोटक पुरुषतर्फको लाइनमा गएर गरिएको प्रत्यक्षदर्शीले संचारमाध्यमसँग बताएका छन् ।

    बीबीसीका अनुसार यो विस्फोटको जिम्मेवारी भने कसैले पनि लिइसकेको छैन । अफगानिस्तानमा हुने यस प्रकारका घटनाले विश्व शान्तीलाई नै चूनौति दिइरहेको छ ।

    एजेन्सी

  • ७५ सालको उमेरमा दोस्रो विहे गर्न नपाएपछि आत्महत्या

    ७५ सालको उमेरमा दोस्रो विहे गर्न नपाएपछि आत्महत्या

    यूपी । भारतको उत्तर प्रदेशमा एक वृद्धले दोस्रो विहे गर्न नपाएको झोँकमा आत्महत्या गरेका छन् ।

    समाचार अनुसार यूपीको बरेली जिल्लाका ७५ वर्षिय वृद्धले केही दिनदेखि दोस्रो विहे गर्न परिवारलाई दवाव दिइरहेका थिए ।

    तर, परिवारले उनको प्रस्ताव स्वीकार गरेनन् । त्यसैको झोँकमा वृद्धले आत्महत्या गरेका छन् ।

    उनले आफ्नो कोठाको पंख्खामा झुण्डिएर आत्महत्या गरेका हुन् । उनकी पहिलो पत्नीको निधन भइसकेको थियो । उनी ८ छोराछोरीका बाउ थिए ।

    उनका सबै छोराछोरीबाट नातिनातिना समेत जन्मिसकेका छन् । परिवारले लोकलाजको बाहना बनाएर बिहे गर्न नदिएको र त्यही रिसमा आत्महत्याको बाटो रोजेको बताइएको छ ।

    उनले शुक्रबार आत्महत्या गरेका हुन् । समाचार स्रोतका अनुसार बिहीबार पनि उनको परिवरासँग झगडा भएको थियो ।

    एजेन्सी

  • बिग्रदैछ मौसम, सचेत रहन आग्रह

    बिग्रदैछ मौसम, सचेत रहन आग्रह

    काठमाडौं । देशभर मौसम अदलबदल भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहने सर्वसाधारणसँग आग्रह गरेको छ ।

    बाढी सूचना केन्द्रका अनुसार ठूला र साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको छ ।

    देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने र पश्चिमी पहाडी भू-भागका मेघगर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

    शनिबार दिउँसो पूर्वी तथा मध्यपहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएको छ ।

    यी नदीको किनारमा बस्ने मानिसले सचेतना अपनाउनु पर्ने बाढी सूचना केन्द्रको भनाई रहेको छ ।

    झापा, मोरङ, इलाम, उदयपुर, सिन्धुली, कैलाली, कञ्चनपुरलगायत जिल्लामा बग्ने नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।

    साना र ठाडो खोलाहरुमा पनि अकस्मात बाढीको सम्भावना रहेको केन्दको भनाई रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार चुरेबाट बहने नदीमा पानीको बहाव आकस्मिक वृद्धि हुन सक्छ ।

    बिहीबारदेखि सक्रिय रहेको बादलले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

  • २८ वाणिज्य बैंकको नाफा साढे ६५ अर्ब

    २८ वाणिज्य बैंकको नाफा साढे ६५ अर्ब

    काठमाडौं । नेपालमा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । विकास निर्माणको गति सुस्त छ । व्यापार व्यवसाय फस्टाउन सकेको छैन ।

    तर, एक क्षेत्र भने हरेक वर्ष उच्च मुनाफामा रहन्छ । त्यो हो वित्तीय क्षेत्र । नेपालमा कूल २८ वाणिज्य बैंक छन् ।

    यी बैंकले एक आर्थिक वर्षमा मात्र ६५ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छन् । बैंकहरुले आर्थिक वर्ष २०७५\७६ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

    विवरण अनुसार यस आवमा उनीहरुले गत आवकाृ तुलनामा २५ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएका छन् । आव २०७४\७५ मा वाणिज्य बैंकहरुको मुनाफामा ५२ अर्ब २३ करोड रुपैयाँ मात्र थियो ।

    विवरण अनुसार नेपालमा सबैभन्दा बढी मुनाफा गर्ने वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक हो । यस बैंकले एक वर्षमा ५ अर्ब ३२ करोड खुद मुनाफा आर्जन गनृ सफल भएको छ ।

    यो पूर्ण सरकारी स्वामित्वको बैंक हो । त्यसकारण यस बैंकमा हुने मुनाफाबाट सरकारले मात्र फाइला लिन्छ । यो पब्लिक कम्पनी होइन ।

    अघिल्लो आवमा नविल बैंकले धेरै मुनाफा कमाएको थियो । यसवर्ष नविल बैंक तेस्रो स्थानमा रहेको छ । सरकारी बैंकको अवस्था निकै राम्रो देखिएको छ ।

    यस वर्ष कृषि विकास बैंक मुनाफाका दृष्टिकोणबाट दोसो स्थानमा रहेको छ । यस बैंकले एक वर्षमा ४ अर्ब ३५ करोड मुनाफा गर्न सफल भएको छ ।

    तथ्यांक अनुसार वाणिज्य बैंकहरुबाट असार मसान्तसम्म २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यसबाट प्राप्त हुने ब्याज बैंकहरुको मूख्य आम्दानी हो ।

    तेस्रो स्थानमा रहेको नविल बैंकले एक वर्षमा ४ अर्ब २९ करोड मुनाफा आर्जन गरेको छ । इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । एनआइसी एसियाको मुनाफा ३ अर्ब ५ करोड रहेको छ ।

  • एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड

    एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चित्त नबुझ्दा नबुझदै पनि पार्टी एकता बलियो बनाउन निर्णयहरु लिनु परेको बताएका छन् ।

    शनिबार नेपाल प्रगतिशिल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कतिपय विषय चित्त नबुझेर पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका हुन् ।

    कतै एकता नै नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति समेत हुन थालेको गुनासो समेत प्रचण्डले गरेका छन् ।

    शुक्रबार मात्र नेकपाको सचिवायलय बैठकले विभिन्न केन्द्रिय विभागको नेतृत्व चयन गरेको थियो ।

    पूर्वमाओवादी खेमाले नेकपाभित्र पार्टी स्कूल विभाग दावि गरिरहेको थियो । यसमा नारायणकाजी श्रेष्ठलाई पठाउने प्रचण्डको योजना थियो ।

    तर , इश्वर पोखरेल स्कूल विभाग प्रमुख बनाइएका छन् । यस निर्णयमा नेकपा भित्र प्रचण्ड निकट नेताहरु असन्तुष्ट रहेका छन् ।

    लामो समय छलफल गरेपछि मात्र शुक्रबार सचिवालय बैठकले महत्वपूर्ण निर्णय लिएको प्रचण्डको भनाई छ ।

    पार्टी एकता र पार्टी बलियो बनाउन कतिपय विषयमा निर्णय दिन नेतृत्व बाध्य हुने उनको भनाई थियो ।

    इतिहासले अहिले गरेका कामको मूल्यांकन गर्ने भन्दै उनले नेतृत्वले महत्वपूर्ण निर्णय लिइरहेको उल्लेख समेत गरे । उनले चिकित्सकहरुलाई पनि पेशागत मर्यादाभित्र रहेर काम गर्न निर्देशन दिए ।

  • देशले एकै दिन गुमायो दुई प्रतिभा

    देशले एकै दिन गुमायो दुई प्रतिभा

    काठमाडौं । शनिवार एकै दिन कलाकार सुभद्रा अधिकारी र पत्रकार डायलसन अधिकारीको निधन भएको छ ।

    वरिष्ठ कलाकार सुभद्रा अधिकारीको काठमाडौंमा निधन भएको हो भने पत्रकार अधिकारीको भने सप्तरीमा भएको सवारी दूर्घटनामा ज्यान गएको हो ।

    वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि निमोनियाबाट ग्रस्त थिइन् ।

    पारिवारिक स्रोतका अनुसार केही दिन अगाडी मात्र उनलाई अस्पतालबाट घरमा ल्याइएको थियो ।

    थुप्रै चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेकी अधिकारी करीव ४ दशकदेखि नेपाली कलाकारितामा सक्रिय रहेकी थिइन् । कन्यादान, चिनो, भाउजुजस्ता चर्चित चलचित्रमा उनले जिवन्त अभिनय गरेकी छन् ।

     

    उता, शनिबार बिहानै सप्तरीको कञ्चनरुप गाउँपालिकामा सवारी साधन दुर्घटनामा परी पत्रकार डायलसन अधिकारीको मृत्यु भएको हो ।

    दुर्घटनामा अन्य चार जना घाइते छन् । उनी रेडियो नेपालका बुटवल संवाददाता हुन् ।

    बा १६ च २२३५ नम्बरको जीप शनिबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ स्थित बक्साहा भन्ने स्थानमा दूर्घटनामा परेको प्रहरीले पुष्टी गरेको छ ।

    रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका ( ३ ) का स्थायी बासिन्दा ३५ वर्षीय अधिकारी उक्त भेगका लोकप्रिय पत्रकार थिए ।

    तिलोत्तममा नगरपालिको आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारीस्वरुप नगरपालिकाका पदाधिकारी र पत्रकारसहितको टोली पूर्वी नेपालतर्फ जाने क्रममा दूर्घटनामा परेको बताइएको छ ।

    दुर्घटनामा रुपन्देही व्यापार संघका अध्यक्ष जेपि कँडेल, वडाध्यक्षहरु सोहन चौधरी, तारानाथ पाण्डेय र चालक अशोक भण्डारी घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

  • श्रमिकको न्यूनतम पारिश्रमिक देउ : श्रम मन्त्रालय

    श्रमिकको न्यूनतम पारिश्रमिक देउ : श्रम मन्त्रालय

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कानून बमोजम श्रमिकले पाउनु पर्ने न्यूनतम पारिश्रमिक अनिवार्य रुपमा उपलब्ध गराउन आर्थिक प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।

    श्रम कानूनले प्रत्याभूत गरेका आर्थिक सुविधाहरु रोजगारदाता कम्पनीले अनिवार्य पालना गर्नुपर्ने मन्त्रालयको भनाई छ ।

    मन्त्रालयले श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य आर्थिक सुविधा इमान्दारि साथ उपलब्ध गराउन सचेत गराएको हो ।

    कानून नमान्ने प्रतिष्ठानहरुमाथि कारवाहीको चेतावनीसमेत मन्त्रालयले दिएको छ ।

    सरकारले उद्योगहरुमा काम गर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँ तोकेको छ।

    तर, रोजगारदाताले उक्त पारिश्रमिक दिन पनि आनाकानी गरिरहेका छन् ।

    मन्त्रालयले तोकिएको न्यूनतम पारिश्रमिक घटाउन नपाउने र श्रम ऐन तथा नियमावली अनुसार श्रमिकको सेवा सुविधा सुनिश्चित गर्न आर्थिक प्रतिष्ठानसँग आग्रह गरेको हो ।

    त्यसो त न्यूनतम पारिश्रमिक पाए नपाएको सुनिश्चित गर्न अहिले सरकारले सबै आर्थिक प्रतिष्ठानले पारिश्रमिक बैंक खातामा हाल्नु पर्ने प्रावधान कार्यान्वयनमा छ ।

    तर यो प्रावधान पनि धेरै प्रतिष्ठानले कार्यान्वयन गरिरहेका छैनन् । आगामी पुस मसान्त भित्र घरेलु कामदारको समेत पारिश्रमिक बैक खातामा जाने गरी रोजगारदाताले व्यवस्था गर्नुपर्ने छ ।

  • ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित

    ला-लीगामा बार्सिलोनाको पहिलो खेल आज, दशकपछि मेसी अनुपस्थित

    स्पेन । बार्सिलोनाका लागि लियोनल मेसी कति महत्वपूर्ण खेलाडी हुन भन्ने तथ्य यसबाट पुष्टी हुन्छ कि उनी पछिल्लो १० वर्षयता हरेक सिजनको ला-लीगाको उद्घाटन खेलका महत्वपूर्ण सदस्य रहे ।

    तर, सन् २०१९ २० सिजनको पहिलो खेल भने स्टार फरवार्ड लियोनल मेसीले गुमाउँदैछन् । खुट्टाको चोटका कारण उनी पहिलो खेलमा अनुपस्थित हुने भएका हुन् ।

    संचारमाध्यमहरुका अनुसार लालिगाको पहिलो खेलमा १० वर्षपछि मेसीलाई मैदानमा देखिने छैन । बार्सिलोनाले नेपाली समय अनुसार शनिबार बिहान १२ः४५ मा बिल्वाओविरुद्ध खेल्दैछ ।

    साविक विजेता बार्सिलोना पहिलो खेलमा स्पष्ट जीत चाहन्छ र सिजनको सुखद शुरुवात गर्न चाहन्छ । तर, कप्तानको अनुपस्थिति उसका लागि कति महंगो पर्नेछ त्यो भने रोचक विषय हो ।

    बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे पहिलो खेलमा टोलीले मेसीका लागि कुनै जोमिख उठाउन नचाहेको स्पष्ट पारेका छन् ।

    एथलेटीको म्याड्रिडबाट यसै सिजन बार्सिलोना गएका एन्टोनी ग्रिजम्यान बार्सिलोनाका लागि महत्वपूर्ण सावित हुन सक्नेछन् ।

    किनकी उनी मेसीको स्थानमा खेल्ने पक्का छ । उनको साथमा लुइज सुवारेज, उसमान डेम्बेले र फिलिप कान्टिन्होमध्ये कुनै दुई खेलाडीले बार्सिलोनाको अग्रपंक्ती सम्हाल्ने मौका पाउने छन् । खेल विल्बाओको मैदानमा हुनेछ ।

    एजेन्सी

  • नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?

    नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रिय विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ । नेकपाको सचिवालय बैठकले केन्द्रिय कार्यालयका विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी तय गरेको हो ।

    बैठकले सात प्रदेशका लागि सहइन्चार्जसमेत तोकेको छ । सचिवालय बैठक शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो ।

    बैठकले केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो । नेकपाले बहालवाला मन्त्रीहरुलाई आफ्नो मन्त्रालय मातहतकै विभागमा प्रमुख तोकेको छ ।

    प्रदेशहरुमा तीन तीन जना सहइन्चार्ज तोकिएका छन् । नेकपाको अर्थ तथा योजना विभाग प्रमुख सुरेन्द्र पाण्डे चयन भएका छन् । उपप्रमुख डोरप्रसाद उपाध्याय चयन भएका छन् ।

    उद्योग तथा वाणिज्य विभागमा राधा ज्ञवाली प्रमुख बनेकी छिन् । बामदेव क्षेत्रीलाई उपप्रमुख बनाइएको छ ।

    उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा मातृका यादवलाई नेतृत्व दिइएको छ भने बलराम सापकोटा उपप्रमुख बनेका छन् ।

    कृषि तथा भूमि सुधार विभागमा चक्रपाणी खनाल र उपप्रमुख हरी पराजुली चयन भएका छन् । कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुख हरिबोल गजुरेल बनेका छन् । यस विभागको उपप्रमुख कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।

    खानेपानी तथा सरसफाई विभाग प्रमुख बीना मगर चयन भएकी छिन् । यस विभागको उपप्रमुख ममता गिरि छानिएकी छिन् ।

    जलस्रोत, सिंचाई तथा उर्जा विभागको नेतृत्व वर्षमान पुनलाई दिइएको छ । उप्रमुख भने परसु मेघी बनेका छन् ।

    निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली र उपप्रमुख खिमलाल देवकोटा छानिएका छन् । न्याय कानून तथा मानवाधिकार विभाग प्रमुखमा रघुजी पन्त तथा उपप्रमुखमा मुक्तिनारायण प्रधानलाई छनोट गरिएको छ ।

    पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुख योगेश भट्टराई छनोट भएका छन् ।

    प्रचार तथा प्रकाशन विभागको नेतृत्व नारायणकाजी श्रेष्ठलाई दिइएको छ । यसको उपप्रमुख सूर्य थापा बनेका छन् ।

    पार्टी स्कूल विभागको नेतृत्व इश्वर पोखरेललाई दिइएको छ । यस विभागलाइ लिएर नेकपा भित्र लामो विवाद भएको थियो । प्रादेशिक मामला विभाग प्रमुख घनश्याम भुसाल बनका छन् ।

    युवा तथा खेलकुद विभाग टोपबहादुर रायमाझीको काँधमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात विभाग रघुविर महासेठलाई दिइएको छ ।

    राजकीय मामिला तथा सुशासन विभाग रामबहादुर थापाको काँधमा आएको छ । वन तथा वातावरण शक्ति बस्नेतले सम्हाल्नेछन् ।

    विदेश विभाग प्रमुख भने माधव कुमार नेपालको जिम्मेवारीमा रहेको छ ।

    श्रम तथा रोजगार गोकर्ण विष्ट तथा संगठन विभागको प्रमुखमा बामदेव गौतम तोकिएको छ । यस विभागको उपपमुख भने जनार्दन शर्मालाई तोकिएको छ ।

    शिक्षा गिरिराजमणी पोखरेल र संसदीय मामला सुवास नेम्वाङ प्रमुख र देव गुरुङ उपप्रमुख बनेका छन् ।

    शहरी विकास विभागमा लेखराज भट्ट तथा सामान्य प्रशासन विभागको प्रमुखमा लालबाबु पण्डित छानिएका छन् ।

    नीति अनुसन्धान प्रतिष्ठानको नेतृत्व झलनाथ खनालले गर्नेछन् ।

  • बैंक कीर्ते आरोपित मन्त्री बर्खास्त

    बैंक कीर्ते आरोपित मन्त्री बर्खास्त

    सुर्खेत । बैंक कीर्ते गरी आर्थिक अनियमितता गरेको आरोपमा मुछिएका कर्णाली प्रदेश, भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् ।

    कर्णाली सरकारले उनलाई बिहीबारदेखि लागु हुने गरी बर्खास्त गरेको हो ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड (ख) बमोजिम पदमुक्त गरेको प्रदेश सरकारले उल्लेख गरेको छ ।

    मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी गरेको मुद्दा दायर भएको छ ।

    सोही मुद्दामा सुनुवाई गर्दै पाटन उच्च अदालतले पक्राउ पूर्जी समेत जारी गरेपछि मन्त्रीलाई सरकारले बर्खास्त गरेको हो । उनको जिम्मेवारीमा रहेको मन्त्रालय मुख्यमन्त्री स्वयमःले सम्हाल्ने भएका छन् ।

  • भारत-पाकिस्तान बढ्दो तनाव, भारतीय कलाकार देखिने विज्ञापन प्रसारणमा रोक

    भारत-पाकिस्तान बढ्दो तनाव, भारतीय कलाकार देखिने विज्ञापन प्रसारणमा रोक

    इस्लामावाद  ।  पाकिस्तानले भारतीय कलाकारले अभिनय गरेको विज्ञापन प्रसारणमा रोक लगाएको छ ।

    भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच पाकिस्तानको अर्को कदम बाहिरिएको हो । भारतले जम्मु कश्मीरसम्बन्धी मुद्दामा चालेको कदमका कारण भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएको हो ।

    बिहीबार कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानले दावि गरेको छ । यस दाविको भारतले भने खण्डन गरेको छ ।

    पाकिस्तानी इलेक्ट्रॉनिक मीडिया नियामक निकायले एक पत्र जारी गर्दै भारतीय कलाकारले अभिनय गरेको विज्ञापनमा प्रतिबंध लगाउने निर्णय गरेको हो ।

    पाकिस्तानको डिटोल साबुन, सर्फ एक्सल पाउडर, पेंटिन सेम्फू, हेड एंड शोल्डर सेम्फू, लाइफबॉय सेम्फूजस्ता उत्पादनको विज्ञापन प्रसारण बन्द गरेको हो । जसमा भारतीय कलाकारले अभिनय गरेका छन् ।
    एजेन्सी

  • आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

    आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

    काठमाडौं । आजदेखि गाइजात्रा पर्व प्रारम्भ भएको छ । खासगरी काठमाडौं उपत्यकामा धुमधामसँग मनाइने यो पर्व अहिले देशका अधिकांश शहरमा बिस्तार भइसकेको छ ।

    भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा मनाउने परम्परा रहेको छ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा यो पर्व मनाइन्छ ।

    गाई वा मानिस गाईका रूपमा सिँगारेर परिक्रमा गराउने अनौठो प्रचलनका कारण यो जात्रा प्रख्यात रहेको छ । श्रद्धालुले गाईलाई दूध, फलफूल, रोटी, चिउरा, द्रब्यजस्ता वस्तु दान गर्छन् ।

    गाईलाई नगर परिपक्रममा गराउँदा दिवंगत व्यक्ति सजिलै वैतरणी पार हुने विश्वास लिइन्छ । यो जात्रा राज प्रताप मल्लाको पालादेखि शुरु भएको हो ।

    यस पर्वलाई सामाजिक विकृति र विसंगतीविरुद्ध आवाज उठाउन पाइने स्वतन्त्रताका रुपमा पनि लिने गरिन्छ ।

    काठमाडौं, पाटन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्की, पाल्पाजस्ता जिल्लामा यो पर्व धुमधाम साथ मनाइन्छ ।

    खासगरी नेवार समूदायको बाहुल्य रहेका क्षेत्रमा यो पर्व बढी महत्वका साथ मनाइन्छ ।

  • रहेनन् वरिष्ठ साहित्यकार मदनमणी दिक्षित

    रहेनन् वरिष्ठ साहित्यकार मदनमणी दिक्षित

    काठमाडौं । पाका पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । बिहीबार बिहान आफ्नै निवासमा उनको निधन भएको हो ।

    दिक्षितको बिहीबार नै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरियो । उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।

    सरकारले दीक्षितको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।

    नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान समेत प्रदान गरेको छ । नेपाली साहित्यमा ठूलो योगदान गरेका उनले तीन दर्जनभन्दा बढी कृति लेखेका छन् । माधवी उपन्यासले उनलाई चिरपर्यत्न जिवित राख्नेछ ।

    २०३९ सालमा मदन पुरस्कार पाएको यो कृति निकै लोकप्रिय रहेको छ । वैदिक(पौराणिक साहित्य लेखनमा उनको विशेष दज्ञल थियो ।

    उनी नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत भइसकेका थिए । दीक्षितका श्रीमती, ४ छोरा र १ छोरी रहेका छन् ।

  • प्रधानमन्त्री फेरी अस्वस्थ

    प्रधानमन्त्री फेरी अस्वस्थ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या आएको छ । ९ दिन सिंगापुरमा उपचार गरी सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीको स्वास्थ स्थिति पुनः बिग्रिएको बालुवाटर स्रोतले जानकारी दिएको छ ।

    प्रधानमन्त्री अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ ।

    नेकपाका अनुसार बैठक अब शुक्रबार पुनः बस्ने गरी डाकिएको छ । बैठक आयोजनापछि नेकपाका नेताहरु बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री अस्वस्थ भएपछि बैठक बस्ने सकेन ।

    उनी ज्वरोका कारण अस्वस्थ भएको बताइएको छ । नेकपालको सचिवालय बैठक अपरान्ह तीन बजेटका लागि बोलाइएको थियो ।

    प्रधानमन्त्री मृगौलासम्बन्धी रोगका कारण बढी संक्रमणको जोखिममा छन् । सोमबार स्वदेश फर्कने क्रममा विमानस्थलमा कुनै प्रतिक्रिया नदिएका प्रधानमन्त्रीले टुई गर्दै आफू स्वस्थ बनिसकेको बताएका थिए ।

    बिहीबार प्रधानमन्त्री निवासमै आयोजना भएका अन्य कार्यक्रममा पनि उनी उपस्थित हुन सकेनन् । विश्वविद्यालयसम्बन्धी एक कार्यक्रम बिहीबार प्रधानमन्त्री निवासमै राखिएको थियो ।

  • रुसमा ठूलो विमान दूर्घटना टर्यो, २३३ यात्रु सुरक्षित

    रुसमा ठूलो विमान दूर्घटना टर्यो, २३३ यात्रु सुरक्षित

    मस्को । रुसको राजधानी मस्को नजिक विमानस्थलबाट उडेको एक जहाज आकस्मिक अवतरण गर्नुपरेको छ ।

    जहाजमा चरा ठोक्किएपछि एक खाली मैदान खाजेर आकस्मिक अवतरण गराइएको छ । खेतमा अवतरण भएको यस दूर्घटनामा २३ जना यात्रु घाइते भए पनि हताहतीका खबर नभएको बीबीसीले लेखेको छ ।

    जहाजमा यात्रु र चालक दलका सदस्य गरी दुई सय ३३ जना यात्रारत थिए । जहाज चड्नासाथ इन्जिनमा चरा ठोकिन पुगेको थियो ।

    बीबीसीका अनुसार एक यात्रुले जहाज भित्रबाट खिचेको भिडियो अहिले भाइरल समेत भइरहेको छ । चरा ठोकिएपछि जहाज असन्तुलित बनेको थियो ।

    चालकले यसलाई खेतमा सुरक्षित अवतरण गराए । जसका कारण एक ठूलो दूर्घटना टरेको छ भने सयौं यात्रु सकुसुल रहन सफल भएका छन् ।
    जहाज मस्कोस्थित झुकोप्स्की विमानस्थलबाट उडेको केही समय भित्रै चरामा ठोक्किन पुगेको हो । जहाज क्राइमिया जाने क्रममा थियो ।

    विमानस्थल नजिकै खाली स्थान देखेपछि पाइलटले आकस्मिक अवतरणका लागि त्यो स्थान रोजेका थिए ।

    मूख्य धावनमार्गबाट करीव १ किलोमिटरको दूरीमा जहाज पुगेर रोकिएको छ । यूराल एयरलाइन्सको एयरबस ३२१ जहाज दूर्घटनामा परेको हो ।

    चरा र एभियसन बीच सधै विपरित सम्बन्ध रहिआएको छ । संसारभर विमानस्थलहरुलाई असुरक्षित बनाउन चराको मूख्य भूमिका रहेको हुन्छ ।
    एजेन्सी

  • अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त

    अमेरिकामा लागुऔषध कारोवारीसँग प्रहरीको भिडन्त

    अमेरिका । संयुक्त राज्य अमेरिकामा फेरी गोली चलेको छ । अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थ कारोबारीसँग प्रहरीको गोली हानाहान भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् ।

     

    घटनामा ६ जना प्रहरी घाइते भएका छन् ।फिलाडेल्फिया प्रहरी विभागका अनुसार लागूपदार्थ कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली हानाहान भएको हो । निकै बेरको संघर्षपछि मात्र कारोबारीलाई पक्रन प्रहरी सफल भएको थियो ।

    अमेरिकामा दुई ठूला गोली काण्ठ यसै महिना घटिसकेका छन् । जसमा ३२ जनाले ज्यान गुमाएका छन् । अमेरिकाको ओहायो र टेक्सास राज्यमा ती गोलीकाण्ड भएका हुन् ।

    अमेरिकामा आम नागरिकसँग समेत सहजै बन्दुक उपलब्ध हुने प्रावधानले ठूलो समस्या निम्त्याइरहेको छ । जहा मानिसलाई थोरै मात्र सनक चढ्यो भने सामूहिक हत्याका घटना भइहाल्छन् ।

    एजेन्सी

  • रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

    रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै

    काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ ।

    श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ ।

    आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले दाजु भाईको हातमा राखी बाँधेर दीर्घायुको कामना समेत गर्ने प्रचलन रहिआएको छ ।

    खासगरी तराई भेगमा राखीको बढी प्रचलन रहेको छ । अन्य स्थानमा भने वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट पुजेको डोरो बाँध्ने गर्छन् ।

    यस दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने प्रचलन रहिआएको छ । आज काठमाडौंको पशुपति क्षेत्रमा ठूलो भीड लाग्छ ।

    यसबाहेक देशभरका शिवमन्दीर र विष्णुका मन्दिरमा भक्तजनको भीड लाग्छ । गोसाइकुण्ड र बडिमालिकामा ठूलो कष्ट रहेर पनि भक्तजन पुग्ने गरेका छन् ।

    नदी किनारमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । यस दिन एघार थरि गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन रहेको छ ।

  • कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ

    कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ

    काठमाडौं । कतारको दोहामा नेपालीमाथि सांघातिक आक्रमण भएको भन्दै नेपाली दूतावासले भिडभाडमा नजान नेपालीहरुलाई सचेत गराएको छ ।

    दोहामा भएको सांघातिक आक्रमणमा एक जनाको निधन भएको र पाँचजना घाइते भएको दूतावासले उल्लेख गरेको छ ।

    कतारस्थित नेपाली दूतावासका अनुसार दोहाको जैदा पार्कमा नेपालीमाथि आक्रामण भएको थियो ।

    आक्रमणमा परी सुनसरीका तवरेज अन्सारीको निधन भएको दूतावासले पुष्टी गरेको छ । दूतावासले बुधबार विज्ञप्ती जारी गर्दै अन्सारीको शव हमाद अस्पतालमा रहेको उल्लेख गरेको हो ।

    घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उमर अन्सारी, इब्राहिम अन्सारी र नौसाद अन्सारीको उपचार भइरहेको दूतावासले उल्लेख गरेको छ ।

    दूतावसले अधिक भिडभाड हुने क्षेत्रमा नजान भन्दै नेपालीहरुलाई सचेत गराएको छ ।

    घटनामा परी निधन भएका तथा घाइतको विस्तृत जानकारी परिवारलाई गराइने भन्दै दूतावासले यस घटनामा दोषिमाथि कारवाही गराउन दूतावासले पहल गरिरहेको बताएको छ ।

  • सगरमाथा सुरक्षित छ, दूर्घटना घटाउँछौं  : सरकार

    सगरमाथा सुरक्षित छ, दूर्घटना घटाउँछौं : सरकार

    काठमाडौं । सरकारले सगरमाथा लगायत हिमाल सुरक्षित रहेको भन्दै यहाँ हुने दूर्घटनाबाट नआत्तिन संसारभरका पर्यटकलाई आग्रह गरेको छ ।

    वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणमा १५ जनाको निधन भएको र त्यसबारे अफवाह फैलिएपछि सरकारले छानविन समिति बनाएको थियो ।

    त्यसमध्ये सगरमाथामा मात्र ८ जनाको निधन भएको थिया ।

    प्रतिकूल मौसमका कारण बेलैमा आरोहण गर्न नसकेका पर्यटक शारीरिक कमजोरी र हाइ अल्टिच्यूड सिक्नेसका कारण मृत्युवरण गर्न बाध्य भएको भन्दै समितिले सगरमाथामा जाम भएका कारण पर्वतारोही नमरेको स्पष्ट पारेको छ ।

    समितिका संयोजक घनश्याम उपाध्यायले यो वर्ष मौसमले आरोहणमा साथ नदिएको तथ्य फेला परेको उल्लेख गरे ।

    उनका अनुसार ९ मेदेखि २५ मेसम्मको अवधिमा केवल ६ दिन मात्र मौसम अनुकूल बनेको थियो । यसै अवधिका डोरी टाँग्नेदेखि करीव ९ सय आरोही सगरमाथा चुचुरोमा पुग्नु परेका कारण भिडभाड देखिएको उनको भनाई छ ।

    लगातारको हिमपातका कारण यस वर्ष हिमाललमा समस्या आएको हो । २२ मेमा सबैभन्दा धेरै आरोही चुचुरोमा पुगेका थिए । यस दिन एक जनाको मात्र निधन भएको थियो । उक्त दिन २ सय २३ जना आरोहीले चुचुरो टेकेका थिए ।

    आरोही चुचुरोतर्फ लम्कदै गर्दा मौसम प्रतिकूल बनेपछि लामो समय आरोहीले अत्यन्तै चिसो मौसममा दिन कटाउनु परेको प्रतिवेदनमा उल्लेख छ ।

    उचाईमा अक्सिजनको कमिले पनि धेरै आरोही प्रभावित बनेका थिए । समितिकाअनुसार आरोहीको मृत्युको कारण शारीरिक कमजोरी, आकस्मिक मूर्छा र हाइअल्टिच्यूड सिकनेस मूख्य हो । तर जाम भने होइन ।

    समितिले बुधबार आफ्नो प्रतिवेदन पर्यटन मन्त्री योगेश भट्टराईलाई बुझाएको छ । मन्त्री भट्टराईले सगरमाथा सुरक्षित भएको भन्दै दूर्घटना न्यूनिकरणका उपाय कडाईका साथ लागु हुने उल्लेख गरे ।

    समितिले हिमालमा प्रभावकारी मौसमी प्रणालीको विकास र त्यसमा उचित समन्वय, स्पष्ट आरोहण योजना बनाएरमात्र आरोहणको व्यवस्था मिलाउन सरकारका नाममा सुझाव दिएको छ ।

    अब स्वास्थ्य परिक्षण गरेर मात्र आरोहणमा पठाउन र आफू चढ्न सक्ने या नसक्ने निर्णय स्वयमः आफै गरेर मात्र अनुमतिको व्यवस्था गर्न समेत सुझाव दिइएको छ ।

  • श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको लाइसेन्स

    श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको लाइसेन्स

    काठमाडौं । नेपालबाट अब ४ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय सेड्यूल उडान गर्ने भएका छन् ।

    सरकारले श्री एयरलाइन्सलाई बुधबार अन्तर्राष्ट्रिय सेड्यूल उडानको अनुमति दिएएपछि यस्ता कम्पनीको संख्या ४ पुगेको हो ।

    यसअघि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसँग मात्र यस्तो लाइसेन्स थियो । श्रीले भने चार्टर्ड उडान मात्र गर्न सक्ने गरी अनुमति पाएको छ ।

    श्री एयरलाइन्सले भारतको नयाँ दिल्ली, कलकत्ता, अहमदावाद र बैंलौरमा उडान गर्न सक्ने गरी अनुमति पाएको मन्त्रालयले जानकारी दिएको छ ।

    यसबाहेक बंगलादेशको ढाकामा समेत श्रीले उडान गर्न सक्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त भएसँगै निकट भविश्यमा उडान थाल्ने योजना रहको श्री एयरलाइन्सको भनाई रहेको छ ।

    श्री एयरलाइन्सले यसैसाता एक जहाज थप्दैछ । जहाज शनिवार नेपाल आइपुग्ने बताइएको छ अर्को एक जहाज आगामी साता काठमाडौं आइपुग्दैछ ।

    त्यसपछि श्रीसँग ५ वटा बम्बाडियर एयरक्राफ्ट रहेका छन् । छोटो दूरीका गन्तब्यमा श्रीले यी जहाजबाटै उडानको योजना बनाइरहेको छ ।

  • यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन 

    यसकारण आप्रवासीलाई अब अमेरिकाको ग्रिनकार्ड कठिन 

    अमेरिकाले भिषा तथा ग्रीनकार्ड सम्बन्धमा आफ्ना नीतिहरु परिवर्तन गरेको छ ।

    अमेरिकी प्रेसिडेन्ट डोनाल्ड ट्रम्प आफ्नो  कार्यकालको प्रारम्भदेखि नै आप्रवासीहरुविरुद्ध आक्रामक छन् । यसै मेसोमा नयाँ नियम ल्याएर ग्रिनकार्ड प्राप्ती सम्बन्धि प्रावधान कडा बनाइएको हो ।

    अमेरिकामा बसिरहेका आप्रवासीले भिषा थप र स्थायी नागरिकता (ग्रीन कार्डै पाउने प्रक्रियामा झण्झाट थपिदिएको हो ।

    अमेरिकी संचारमाध्यमहरुका अनुसार नयाँ नियमपछि सरकारी सुविधामा एक वर्षभन्दा बढी समय अमेरिकामा बसेका विदेशी बढी प्रभावित हुने भएका हुन् ।

    नयाँ प्रावधान अनुसार सरकारी सुविधामा बसिरहेका आप्रवासीले ग्रीन कार्ड पाउने छैनन् भने भिषा आवेदन समेत स्वीकार नहुने भएको छ ।

    अमेरिकामा काम गरे पनि राम्रो आम्दानी र्न नसक्ने आप्रवासीहरु सरकारी सुविधा लिएर बस्ने गरेका छन् ।

    यसमा फुट स्टाम्प, आवास र सरकारी सुविधासहितका बीमा योजनामार्फत आप्रवासीलाई सरकारले संरक्षण गरिरहेको छ ।

    आप्रवासी नागरिकलाई समेत आत्मनिर्भर बनाउने यस्तो नियम ल्याइएको अमेरिकाको तर्क छ । अमेरिकामा मनग्य कमाई नहुने वा कमाउन नसक्ने व्यक्ति र परिवारका लागि ग्रीन कार्ड बन्द भएको छ ।

    सरकारले १५ अक्टोवर २०१९ बाट लागु हुने गरी नियमहरु परिवर्तन गरेको हो । अमेरिकामा सरकारी सुविधामा बसिरहेका नेपालीसमेत यस प्रावधानबाट प्रभावित हुन सक्नेछन् ।

    किनकी अमेरिकामा नेपालीको औसतः आम्दानी अन्य मुलुकका नागरिकको तुलनामा कम छ । किनकी अमेरिकामा धेरै नेपालीले मजदूरी गरेरै जिविकोपार्जन गर्नु परेको छ ।

    अमेरिकी सरकारले अब ग्रीन कार्डका लागि हुने आवेदनमा वित्तिय स्थिति, शिक्षा, आयु तथा अंग्रेजी भाषामा भएको दक्षतालाई समेत आधार मानिने भएको छ ।

    यसअघि नै ग्रीनकार्ड पाएका र शरणार्थीहरुको हकमा भने नयाँ नियमले कुनै प्रभाव नपार्ने बताइएको छ । अमेरिकामा मात्र करीव २ करोड आप्रवासी रहेको अनुमान छ ।

    एजेन्सी

  • प्रदेश मन्त्रीलाई पक्रन आदेश

    प्रदेश मन्त्रीलाई पक्रन आदेश

    काठमाडौं । पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पक्रन प्रहरीलाई आदेश दिएको छ ।

    बैंकिङ कसूरको मुद्दामा अदालतले उनलाई पक्रन आदेश दिएको हो । त्यसका लागि अदालतले तीन दिनको समय दिएको छ ।

    कृषि विकास बैंकको बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर गरेको थियो ।

    सोही मुद्दामा मन्त्री खत्रीलाई तीन दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिइएको हो ।

    कृषि विकास बैंकले बैंकिङ कसूर मुद्दामा मन्त्री खत्रीसहित छविलाल ढकाल, रणधीर तुम्बा, देवलाल शाही र राजु प्रसाद श्रेष्ठलाई प्रतिवादी बनाइएको थियो ।

    त्यसमध्ये मन्त्री खत्री र श्रेष्ठ फरारको सूचीमा छन् भने अन्य चाही पक्राउ परिसकेका छन् ।

    उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको हो ।

    कीर्ते बैंक ग्यारेन्टी देखाई तीन वर्ष अगाडी १ करोड ३० लाख रुपैयाँ निकालेको आरोप उनीहरुमाथि रहेको छ ।

  • सागमा भारतको सहभागिता निश्चित

    सागमा भारतको सहभागिता निश्चित

    काठमाडौं । भारतले दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता निश्चित गरेको छ । आगामी १५ देखि २४ मंसिरसम्म काठमाडौंमा साग आयोजना हुँदैछ ।

    प्रतियोगिताका लागि भारतले सहभागिता सुनिश्चित गरेको हो । सागमा सहभागि हुने प्रत्येक देशले आफ्नो सहभागिता निश्चित रहेको पत्र आयोजक देशलाई पठाउनु पर्छ ।

    नेपाल ओलम्पिक कमिटिका अनुसार भारले कन्फरमेसन लेटर पठाएर आफ्नो सहभागिता निश्चित गरेको हो । भारत र पाकिस्तानको हकमा जम्मु कश्मीरको विषयका कारण सहभागिताको अनिश्चितता थियो ।

    अझै पनि पाकिस्तानको सहभागिता भने अनिश्चित छ । किनकी कश्मीर विवादले गर्दा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएको छ ।

    यस्तोमा भारत र पाकिस्तान एकै प्रतियोगितामा भिड्छन या भिड्दैनन् भन्ने प्रश्न रहेको छ ।

    अन्य देशले पनि सहभागिताको सुनिश्चितता दिएपछि खेलाडी, व्यवस्थापक तथा अन्य टोलीको नेपालमा व्यवस्थानको काम शुरु हुने भएको छ ।

    सार्क मुलुकहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगिता नै साग हो ।

  • विदेशी लगानी नआए निजगढ विमानस्थल सरकारले बनाउँछ : भट्टराई

    विदेशी लगानी नआए निजगढ विमानस्थल सरकारले बनाउँछ : भट्टराई

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशी लगानी नआए निजगढ विमानस्थल सरकार आफैले निर्माण गर्ने बताएका छन् ।

    सरकारले यस आयोजनाका लागि विदेशी लगानी कुरिरहेको छ । यद्दपी लगानीको मोडालिटी भने तय भइसकेको छैन ।

    अर्कोतर्फ लगानी बोर्डमार्फत करीव ७ वटा लगानीकर्ताले निजगढ विमानस्थलमा चासो देखाएका छन् ।

    संसारकै ठूला विमानस्थलमध्ये एक हुने यो विमानस्थलको प्रारम्भीक चरणका काम सम्पन्न गरी आगामी मंसिरमा शिलान्यास गर्ने घोषणा मन्त्री भटटराईले गरेका छन् ।

    मंगलबार राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले अब अरुको मुख ताकेर यो विमानस्थल आयोजना अलपत्र नपारिने स्पष्ट पारे ।

    विमानस्थल निर्माण गर्न एकै वर्ष ६ खर्ब नलाग्ने भन्दै वार्षिक २०\२५ अर्ब रुपैयाँ सरकारका लागि ठूलो कुरा नभएको उल्लेख गरे ।

    उनले यो विमानस्थल निर्माणका लागि काटिने रुखको सट्टा वृक्षरोपण अभियानमार्फत रुख रोपिने उल्लेख गरे ।

    त्यसका लागि राष्ट्रिय अभियान नै संचलन गरिने उनको भनाई छ ।

    आफू वन विनास गर्न नभई विमानस्थल बनाउन आएको भन्दै विकास र वातावरण संरक्षण संगसँगै लैजाने योजनामा सरकार रहेको उनले उल्लेख गरे । रुख कटानको विषयलाई लिएर यो आयोजनालाई विवादमा पार्ने काम भइरहेको छ ।

  • प्राधिकरणमा कूलमान जादू, १ वर्षमै सवा ७ अर्ब मुनाफा

    प्राधिकरणमा कूलमान जादू, १ वर्षमै सवा ७ अर्ब मुनाफा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इतिहासमै सबैभन्दा ठूलो आर्थिक वृद्धि हाँसिल गर्न सफल भएको छ ।

    कार्यकारी निर्देशक कुलमान घिसिङको कूशल व्यवस्थापनमा प्राधिकरणले निरन्तर सकारात्मक नतिजा निकाल्न सफल भएको हो ।

    लोडसेडिङ अन्त्य भएपछिको एक वर्ष अवधिमा प्राधिकरणको नाफा ७ अर्ब २० करोड पुगेको छ । अहिले प्राधिकरण जलविद्युत आयोजनाको निर्माण सक्ने र प्रसारण क्षमता बढाउने काममा व्यस्त छ ।

    त्यसो त प्राधिकरणले एक वर्षको अवधिमा चुवावट नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको छ । त्यसको सकारात्मक प्रभाव मुनाफामा देखिएको हो ।

    उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रालयको वार्षिक प्रगति सार्वजनिक गरियो ।

    सोही अवसरमा प्राधिकरणको आर्थिक अवस्थासमेत सार्वजनिक गरिएको हो । कुलमानले नेतृत्व थालेपछि प्राधिकरण नाफामा जान लागेको हो ।

    त्यसअघि प्राधिकरण निरन्तर घाटामा थियो । उनी भदौ २०७३ मा प्राधिकरणको नेतृत्वमा आएका हुन् । उक्त वर्ष वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरणलाई कुलमानले घाटा पूर्ति गरेर उच्च मुनाफामा लगेका छन् ।

    यस वर्ष चुवाहट नियन्त्रणमा सफल भएका कारण मुनाफामा समेत ठूलो फाइदा भएको प्राधिकरणको भनाई रहेको छ ।

    अहिले राष्ट्रिय प्रसारणमा आवद्ध भई विद्युत उपभोग गर्ने जनसंख्या ७८ प्रतिशत पुगेको छ ।

    अघिल्लो आव ०७४\७५को तुलनामा १० प्रतिशत बढी जनसंख्यामा विद्युत सेवा बिस्तार भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा

    अमेरिकाले सन्दीपलाई भिषा दिन नमानेपछि दिनभर हंगामा

    काठमाडौं । चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन नमानेपछि मंगलबार दिनभर सामाजिक संजाल तथा नेपाली संचारमाध्यम सन्दीप र अमेरिकामय बने ।

    मंगलबार बिहान सन्दीपले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै टूइटमार्फत आफूले अमेरिकाको भिषा नपाएको जानकारी गराए ।

    जब उनले सामाजिक संजालमार्फत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गुहारे, त्यसपछि भने सामाजिक संजालदेखि संचारमाध्यमसम्म हंगामा मच्चियो ।

    सन्दीपले क्यारेबियन प्रिमियर लीगका लागि अमेरिकाको भिसा आवेदन दिएका थिए । उनी हालै क्यानडामा सम्पन्न प्रतियोगिता सकेर नेपाल फर्किएका थिए ।

    दूतावासले भिषा दिन अस्वीकार गर्यो । सबै कागजात पुर्याएर आवेदन दिँदा पनि भिषा नपाएको गुनासो सन्दिपले गरेका थिए ।

    प्रतियोगिताका केही खेल अमेरिकामा समेत हुने भएकाले उनले अमेरिकाको भिषा लिन चाहेका हुन् । सन्दीप बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्दैछन् । ४ सेप्टेम्बरबाट लीग शुरु हुँदैछ ।

    जब सन्दीपले भिषा नपाएको बारे सामाजिक संजालमा लेखे, त्यसले तिब्र प्रतिक्रियासहित सामाजिक संजालमा अमेरिकाको व्यापाक आलोचना भएपछि केही घण्टामै काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर लामिछाने दूतावासमा बोलाई भिषा दिएको छ ।

    मंगलबार विहान मात्र भिषा दिन अस्वीकार गरेको अमेरिकी दूताबासले दिउसो भने आफैले बोलाएर भिषा थमाएको हो ।

    यसले झन धेरै मानिसलाई आश्चर्यमा पारिदियो । किनकी दूतावासले भिषा नदिनु पर्ने कुनै कारण नै उल्लेख गरेको थिएन ।

    फेरी दिने समयमा पनि के कारणले भिषा दिन दूतावास सहमत भयो, खुलाइएको छैन । जसले गर्दा मंगलबार सन्दीप र अमेरिकाले सामाजिक संजाल र संचारमाध्यम व्यस्त रहे ।

  • नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत

    नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत

    काठमाडौं । नेपालले आर्थिक वर्ष २०७५\७६ मा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गरेको छ ।

    अर्थ मन्त्रालयका अनुसार नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हाँसिल गर्ने क्रममा यो उपलब्धी प्राप्त गरेको हो ।

    आव २०७३\७४ मा ७.७४ प्रतिशत आर्थिक वृद्धि भएकोमा आव २०७४\७५ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो ।

    गत आवमा सरकारले १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १० खर्ब ९४ अर्ब मात्र खर्च भयो ।

    भूकम्प आएको वर्ष सबैभन्दा कम आर्थिक वृद्धि भएकोमा त्यसपछिका वर्षमा भने निकै सकारात्मक आर्थिक वृद्धि देखिएको छ ।

    खासगरी ठूला आयोजना र पूर्वाधार निर्माणले कुनै न कुनै रुपमा गति लिएका कारण त्यसको प्रभाव अर्थतन्त्रमा सकारात्मक देखिन थालेको छ ।

    भूकम्पपछिको पुनर्निर्माणले पनि ठूलो राहत सरकारलाई दिइरहेको छ । विद्युतको नियमित आपूर्ति हुनु र त्यसले पेट्रोलियम पदार्थ आयात घट्दा पनि राष्ट्रिय अर्थतन्त्र सकारात्मक रहन भूमिका खेलेको हो ।

    यसैगरी सरकारले आर्थिक वर्ष २०७५\७६ मा ८६० अर्ब राजश्व संकलन गर्ने संशोधित लक्ष्य लिएकोमा ८५९ अर्बं ५९ करोड राजश्व संकलन गर्न सफल भएको छ ।

    मुद्रास्फिती जेठ मसान्तसम्म ४।५ प्रतिशत रह्यो । शोधनान्तर घाटा जेठसम्म ९० अर्ब ८३ करोड रहेको तथ्यांकमा उल्लेख छ ।

    आर्थिक वर्ष २०७५\७६ मा १४ खर्ब १८ अर्बको आयात भएको र ९७ अर्ब ११ करोडको मात्रै निर्यात भएको छ ।

    जेठसम्म ७ खर्ब ९९ अर्ब विप्रेषण भित्रिएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

  • अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

    अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु

    धादिङ । त्रिशुली नदीमा बस दूर्घटनामा परी हराइरहेका १९ यात्रु अझै वेपत्ता छन् । शुक्रबार पृथ्वीराजमार्गको धादिङ, बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बस त्रिशूली नदीमा खसेको थियो ।

    जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार यात्रुको खोजीमा गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसम्म खोजी कार्य जारी रहेपनि वेपत्ताको कुनै अत्तोपत्तो छैन ।

    प्रहरी नदि किनारमा खटिएर खोजी जारी राखेपनि फेला पार्न नसकिएको प्रहरीको भनाई रहेको छ ।

    सर्लाहीको मलङ्गवाबाट ४५ यात्रु बोकेर काठमाडौँ आइरहेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूली नदीमा खसेर दूर्घटना भएको थियो ।

    दुर्घटनामा परी ११ जनाको निधन भइसकेको छ । उनीहरुको शव फेला परेको हो ।

    केही यात्रुलाई सकुसल उद्दार गरिएको थियो । अझै १९ यात्रु हराइरहेको प्रहरीको भनाई रहेको छ । पृथ्वी राजमार्ग सबैभन्दा व्यस्त तथा जोखिमपूर्ण राजमार्ग हो । यहाँ हजारौं मानिसले ज्यान गुमाइसकेका छन् ।

  • कन्सल्टेन्सीमा विभागको छापा, यूरोपका लागि अवैध रोजगारको लोभ

    कन्सल्टेन्सीमा विभागको छापा, यूरोपका लागि अवैध रोजगारको लोभ

    काठमाडौं । यूरोपमा आकर्षक रोजगारीमा पठाउने भन्द्यै व्यापक प्रचार प्रसार गरिरहेको एलाएन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ।

    उक्त कन्सल्टेन्सीले विभिन्न सामाजिक संजालमा यूरोपका लागि आकर्षक जागिरका लागि भन्दै विज्ञापन गरेको थियो ।

    उक्त झुठो विज्ञापनमार्फत यूवालाई ठगि गर्ने मनसाय राखेको भन्दै विभागको टोलीले छापा मारेको हो ।

    कन्सल्टेन्सीको सिनामंगलस्थित कार्यालयमा छापा मारी कागजातहरु नियन्त्रणमा ल्याइएको छ ।

    कन्सल्टेन्सीले विज्ञापन गरी युवालाई रोजगारीमा यूरोप पठाउने भन्दै अन्तर्वातासमेत लिइसकेको उजुरी विभागमा परेको थियो ।

    उक्त कन्सल्टेन्सीबाट साइप्रसका लागि रोजगारीको प्रक्रिया चलिरहेको थियो । त्यसबाहेक अन्य मुलुकमा पनि गैरकानूनि रुपमा कामदार पठाएको पाइएको विभागको भनाई रहेको छ ।

    पछिल्लो समय मोटो रकम लिएर यूवालाई युरोप लैजाने र अवैध छाड्ने गर्दा धेरै नेपाली युवा अलपत्र पर्ने गरेका छन् । कतिपय यूवा यूरोपको एक मुलुकमा पुगेर अन्य देशमा गैरकानूनी रुपमा भाग्ने समेत गर्छन् ।