Author: Vishwanews.com

  • देउवा निवास पुगे पर्यटनमन्त्री, के थियो कारण ?

    देउवा निवास पुगे पर्यटनमन्त्री, के थियो कारण ?

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् ।

    शनिबार बिहान मन्त्री भट्टराई देउवा निवास बूढानीलकण्ठमा पुगेका थिए । भेटमा मूख्यगरी नेपाल भ्रमण वर्षको सम्बन्धमा छलफल भएको पर्यटन मन्त्री भट्टराईले जानकारी गराएका छन् ।

    मन्त्रालयका तर्फबाट भइरहेका कामकारबाही र वार्षिक कार्यक्रममा समेटिएका योजनाका सम्बन्धमा समेत जानकारी गराएको मन्त्री भट्टराईले जानकारी दिएका छन् ।

    उनले फेसबुकमा पोष्ट गर्दै देउवासँगको भेटको जानकारी गराएका हुन् । मन्त्री भट्टराईले पर्यटन वर्षलाई निर्विवाद बनाउने र त्यसका लागि सबैको सहमति लिइने बताएका थिए ।

    उनको योजना नेपाल भ्रमण वर्षको उद्घाटनमा सबै पार्टीका उच्च तहका नेतालाई उत्साहपूर्वक सहभागी गराउनु समेत रहेको छ ।

  • भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

    भीरमा छाडिएका गाई-गोरु नेपालगन्ज पठाइयो, गृह मन्त्रालयले छानविन गर्ने

    काठमाडौं । दैलेखका लागि नेपालगन्जबाट पठाइएको गाई-गोरु बिहीबार सुर्खेतमा लगेर भीरबाट खसालिएको थियो । त्यसमध्ये करीव ३ दर्जन गाईगोरु मृत भेटिएका थिए ।

    करीव ३ सय गाई लगिएको अलपत्र अवस्थामा रहेका अन्य गाईलाई भने उद्धार गर्दै पुनः नेपालगन्ज पठाउन थालिएको छ ।

    वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारबाट नेपालगञ्ज पठाउन थालेको जानकारी दिएको छ ।

    प्रहरीका अनुसार शनिबार १४२ गाई नेपालगञ्ज पठाइएको छ । भीरबाट खसालिएका कारण कतिपय गाईगोरु भने घाइते छन् ।

    उनीहरुलाई भने उपचारपछि मात्र पठाइने प्रशासनले जानकारी दिएको छ । नगरपालिकास्थित पशु स्वास्थ्य शाखाका चिकित्सकले मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गरेका थिए ।

    उनीहरुले घाइते पशुको समेत उपचार गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार यस घटनामा ३० गाइगोरु मरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उप–महानगरपालिकास्थित काञ्जीहाउसबाट दैलेखको शिरस्थान क्षेत्रतर्फ गाई गोरु पठाइएको हो ।
    यसैबीच शनिबार सुर्खेतमा गौहत्याको विरोधमा प्रदर्शनसमेत गरिएको छ । एक प्रदेशका पशु अर्को प्रदेशमा ल्याएर दानवीय हिसावले हत्या गरिएको भन्दै निन्दा गरिएको छ ।

    त्यसो त पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यस घटनाको भ्रत्सना गरेका छन् । राप्रपा स्वयम:ले गौहत्या गरेको भन्दै उनले निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।

    नेपालगन्ज नगरपालिकाको नेतृत्व राप्रपाले गरिरहेको छ । उता, गाईगोरुको हत्या भएको सम्बन्धमा गृह मन्त्रालयले समेत छानविन थालेको छ ।

  • नेपालगन्जबाट पहाडतर्फ पठाइएका डेढ दर्जन गाईगोरु मृत, भीरबाट खसालेको आशंका

    नेपालगन्जबाट पहाडतर्फ पठाइएका डेढ दर्जन गाईगोरु मृत, भीरबाट खसालेको आशंका

    नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पहाडी भेगका जिल्लामा पाल्ने उद्देश्यले पठाएका गाइ वस्तु सुर्खेतमा मृत अवस्थामा फेला परेका छन् ।

    बिहीबार राती उपमहानगरपालिकले दैलेखतर्फ पठाएका गाई गोरु सुर्खेतमै मृत अवस्थामा भेटिएपछि गाइवस्तुको हत्याको आशंका गरिएको छ ।

    सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरतर्फ दैलेख सदरमुकाम जाने सडक छेउको भीरबाट गाइवस्तु ट्रक चालकले भीरमा खसालिदिएको आशंका प्रशासनले गरेको छ । प्र

    हरीले तीन वटा ट्रकसमेत नियन्त्रणमा लिइसकेको बताएको छ । कटकुवा जंगलको सडकमा पशु चौपाया अडिन नसक्ने भीरबाट ट्रक चालकहरुले भीरमा धकेलेर पशुको हत्या गरेको आंशका प्रहरीको छ ।

    शुक्रबार १२ गाई र ४ गोरु मरेको अवस्थामा फैला परेको र २ सय भन्दा बढी गाई गोरु भीरमा अड्किएको प्रहरीले उल्लेख गरेको छ ।

    अड्किएका पशुको उद्दारको काम भइरहेको सुर्खेत नगरपालिकाले जानकारी दिएको छ । प्रहरीका अनुसार नेपालगन्जबाट ८ वटा ट्रकले पशु बोकेर दैलेखतर्फ लागेका थिए ।

    नेपालगञ्जका सडकमा छाडा छोडिएका गाईगोरुलाई स्थानीय काञ्जी हाउसमा राखिएको थियो।

    दैलेखको श्रीस्थानका कृषकले गाई पाल्ने बताएपछि नगरपालिकाले प्रक्रिया पुर्‍याएर दुई सय ९१ गाईगोरु आठवटा ट्रकमा हालेर दैलेख पठाएको बताएको छ ।

    एकसाथ ठूलो संख्यामा गाईगोरुको विभत्स हत्या हुने गरी भीरबाट खसालेको घटनापछि पशुअधिकारकर्मीहरुले भने तिब्र विरोध जनाइरहेका छन् ।

    यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाले घटनाबारे सत्यतथ्य जाँचबुझ हुने प्रतिवद्धता व्यक्त गरेको छ ।

    नेपालमा जानाजान गाई वा गोरुलाई चोट पुर्याउने या मार्नेलाई कडा कानूनी कारवाहीको प्रावधान रहेको छ ।

  • नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने

    नेपालले जोड्दै छ भारत-पाकिस्तान सम्बन्ध, न्यूयोर्कमा बैठक बस्ने

    काठमाडौं । जम्मू कश्मीर प्रकरणपछि चिसिएको भारत र पाकिस्तान सम्बन्ध सुधारमा नेपालले पुलको रुपमा काम गर्ने संकेत देखाएको छ ।

    नेपालको पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्रीस्तरीय बैठक अमेरिकाको न्यूयोर्कमा बस्ने भएको छ ।

    जुन बैठकमा भारत र पाकिस्तान समेत सहभागी हुनेछन् । भारतीय विदेश मन्त्री केही साता अगाडी नेपाल आएको मौकामा नेपाली समकक्षीसँग छलफल गरेका थिए ।

    लगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैसीसँग टेलिफोन वार्ता गरे ।

    उनको पहलमा अन्ततः न्यूयोर्कमा सार्क मुलुकका विदेशमन्त्रीहरुको बैठक बस्ने सहमती भएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

    नेपालको प्रस्तावमा दुबै देश सहमत भएपछि बैठक सम्भव देखिएको मन्त्रालयको भनाई रहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाल लिन नेपालबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अमेरिका जाने कार्यक्रम छ ।

    यस वर्ष महासभामा नेपालको प्रतिनिधित्व उनैले गर्नेछन् । प्रधानमन्त्री उपचारका सिलसिलामा सिंगापुरमा रहेका कारण परराष्ट्रमन्त्रीले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।

    नेपालले कश्मीरको मामलामा कुनै पनि मुलुकको पक्ष लिएको छैन । त्यसकारण तटस्थ भूमिकालाई आफूतिर आकर्षित गर्न भारत र पाकिस्तानले नेपाललाई उच्च प्राथमिकतामा राखिरहेका छन् ।

    आगामी ९ असोजमा सार्क मुलुकका विदेशमन्त्रीको बैठक हुने तय भएको छ । ७४ औं महासभामा ३१ बाट शुरु हँदैछ । उच्चस्तरीय बैठकको कार्यक्रम भने ७ असोजपछि राखिएका छन् ।

  • देशभर फैलदै डेंगु

    देशभर फैलदै डेंगु

    काठमाडौं । सरुवा रोग डेंगुले महामारीको रुप धारण गर्ने संकेत देखिएको छ । सरकारले डेंगु नियन्त्रणबाहिर गएको भन्दै यसले महामारीको रुप धारण गरिसकेको बताएको छ ।

    बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्री उपेन्द्र यादवले रोग नियन्त्रणमा सुरक्षाकर्मी परिचालन आवश्यक भइसकेको बताएको थिए ।

    मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार डेंगु डरलाग्दो गरी फैलिएको छ ।

    जसलाई नियन्त्रण गर्न निकै मुस्किल परिरहेको छ । नेपालमा पहिलो पटक सुनसरीको धरान नगरपालिकामा यो रोग देखिएको थियो ।

    तर, अहिले देशको अधिकांश भूभागमा डेंगुले फैलावट देखाइसकेको छ । डेंगु ४२ जिल्लामा फैलिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    देशभर डेंगुबाट १५ सय ३७ जना संक्रमित भेटिएका छन् भने ३ जनाको ज्यान गइकसेको छ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ ।

    एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । यो रोग लामखुट्टेको टोकाईका कारण लाग्ने गर्छ ।

    पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षण यस रोगमा देखिन्छन् ।

  • बढ्दो हवाई चहलपहल, श्रीको छैठौं जहाज आयो-नेवानिको जापान उडान सफल

    बढ्दो हवाई चहलपहल, श्रीको छैठौं जहाज आयो-नेवानिको जापान उडान सफल

    काठमाडौं । श्री एयरलाइन्सले छैठौं जहाज काठमाडौं ल्याइपुर्याएको छ । क्यानडामा बनेको बम्बाडियर जहाज भारतको अहमदावाद हुँदै काठमाडौं आएको हो ।

    बिहीबार काठमाडौं अवतरण गरेको जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम रहेपनि प्रतिकूल मौसमका कारण पटनातर्फ लगिएको कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिएका छन् ।

    उनका अनुसार ८० सीट क्षमता रहेको यस जहाजले तीन वटा थप गन्तब्य बिस्तारमा सहयोग पुग्ने छ ।

    यससहित अब श्री एयरलाइन्सले कूल १० गन्तब्यमा उडान गर्न सक्ने भएको छ ।

    यसैबीच, नेपाल एयरलाइन्सले जापानका लागि पहिलो उडान सफल भएको बताएको छ । नेपाल एयरलाइन्सको जहाज बिहीबार राती साढे २ बजे काठमाडौंबाट उडेको थियो ।

    उक्त जहाज ११ बजे जापान पुगेको थियो । त्यसको एक घण्टा पछि जापानबाट उडेको उक्त जहाज साँझ ६ बजे काठमाडौं आइपुगेको हो । पहिलो उडानमा कम्पनीले १ सय ४६ यात्रु बोकेर जापान जान सफल भएको छ ।

    यता, यति एयरलाइन्सले १५ भदौबाट भरतपुर पोखरा रुटमा उडान शुरु गर्ने भएको छ । क्षेत्रिय उडानलाई प्रवद्र्धन गर्ने सिलसिलामा उक्त उडान शुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

  • कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

    कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज

    काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले घरघरमा कुश भित्राएर आज कुशे औंसी मनाउँदैछन् । हरेक वर्ष भाद्र औंशीका दिन यो पर्व मनाइन्छ ।

    ब्राह्मणले विशेष पूजाआजा गरी भित्राएको कुशलाई आआफ्ना जजमानका घरमा पुरयाउने र त्यसवापत जजमानले दान दक्षिणा गर्ने प्रचलन रही आएको छ ।

    कुश केवल धार्मिक अनुष्ठानमा प्रयोग हुने वनस्पति मात्र होइन, यसको बहुआयामिक महत्व रहेको छ । वैज्ञानिक दृष्टिकोणबाट पनि कुशको विशेष महत्व रहेको छ ।

    देव तथा पितृ कार्यमा कुश अनिवार्य हुन्छ । कुश भगवान विण्णुको प्रतिक समेत मानिन्छ । त्यसकारण विण्णु विराजमान नभएको धार्मिक अनुष्ठान पुरा नहुने विश्वास रहेको छ ।

    आज बुबाको मुख हेर्ने दिन पनि हो । यस दिन काठमाडौंको गोकर्णमा ठूलो मेला लाग्छ । बुबा नहुनेहरुले यस स्थानमा पुगी स्वर्गीय पिताको नाममा श्राद्ध गर्छन् ।

    बुबा हुनेहरुले भने आफ्ना बुबालाई मिठो मसिनो खुवाएर यो चाड मनाउने प्रचलन छ । दुई दिन पछि तीजको दरखाने दिन ।

    सोहीकारण चेलीहरु माइतिबाट आफ्नो बुबालाई उपहार बोकेर आजै माइतितर्फ लाग्ने र तीज सकाएर घर फर्कने परम्परागत प्रचलन हो ।

  • विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

    विश्वकप फूटबल छनोट टोलीमा नियमित कप्तान परेनन्

    काठमाडौं । नेपालले आसन्न विश्वकप फूटबल छनोट प्रतियोगिताका लागि टोली घोषणा गरेको छ । यस टोलीमा राष्ट्रिय टिमका नियमित कप्तान विराज मर्हजन भने पर्न असफल भएका छन् ।

    विश्वकप २०२२ का लागि नेपालले छनोट प्रतियोगिता खेल्दैछ । यसबीचमा नेपालले ८ वटा छनोट खेल्दैछ । यो पटक नेपालका लागि चरण निकै महत्वपूर्ण रहेको छ ।

    नेपालले पहिला चरणमा खेल्ने दुई खेलका लागि बिहीबार टोलीको घोषणा गरेको हो । मूख्य प्रक्षिक्षक योहान कालिनले टोली घोषणा गरेका हुन् ।

    नेपालले कुबेत र चाइनिज ताइपेविरुद्ध खेल्ने टोलीको टुंगो लगाएका हुन् । बिहीबार घोषित २३ सदस्यीय टोलीमा अन्य महत्वपूर्ण खेलाडी भने अटाउन सफल भए ।

    नेपालले कुबेतसँग भदौ १९ र चाइनिज ताइपेसँग २४ भदौमा खेल्दैछ । दुबै खेल ती देशको घरेलु मैदानमा हुनेछ ।

    नेपाली टोलीमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल र रजिन धिमाल रहेका छन् ।

    यसैगरी सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द, रवि पासवान, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल पनि अटाएका छन् ।

  • कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?

    कांग्रेस केन्द्रिय कार्यसमिति बैठक, के के एजेण्डामा भयो छलफल ?

    काठमाडौं । काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा सरकारविरुद्ध कडा रवैया अपनाउने सम्बन्धमा बहस शुरु भएको छ ।

    बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले बैठकमा राजनीतिक प्रस्ताव पेश गरे ।

    जहाँ भ्रष्टाचारका विभिन्न काण्डदेखि सरकारी सम्पत्तिको दूरुपयोग, विकास निर्माणमा भइरहेको ढिलासुस्ती, शान्ती सुरक्षा र सरकारले चालिरहेका कदमबारे आलोचना गरिएको छ ।

    संघदेखि प्रदेश र स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको भन्दै कांग्रेसले त्यसविरुद्ध कडा रणनीति अपनाउने सम्बन्धमा छलफल अगाडी बढेको बताएको छ ।

    कांग्रेसले वाइडबडी जहाज खरीद, सुन, चिनी, बालुवाटार र मेलम्ची काण्डका सम्बन्धमा सरकारले कमजोरी देखाइरहेको निष्कर्ष निकालेको छ ।

    संस्थागत भ्रष्टाचारका माध्यमबाट वित्तीय अनुशासन उल्लंघनका घटना बढिरहेको कांग्रेसको निष्कर्ष रहेको छ । लोकतान्त्रिक मूल्य मान्यतालाई मिच्दै सरकारले निरकुंशता देखाइरहेको समेत कांग्रेसले बताएको छ ।

    सिंगापुरमा रहेका प्रधानमन्त्रीले नेपालमा मन्त्रीपरिषदका सदस्यसँग गरेको भिडियो कन्फ्रेन्सका विषयमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

    बैठकमा नेताहरुले भ्रष्टाचारका मुद्दामा कांग्रेस समेत रक्षात्मक बन्दा जनताले आंशका गर्ने भन्दै त्यसविरुद्ध कडा रुपमा उत्रनु पर्ने बताएका थिए ।

  • बेलायती संसद निलम्बन, विपक्षीको विरोध

    बेलायती संसद निलम्बन, विपक्षीको विरोध

    लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई महारानी एलिजावेथ द्वितीयले अनुमति दिएसँगै अब बेलायतको संसद निलम्बन हुने भएको छ ।

    केही दिन मै औपचारिक रुपमा संसद विघटन प्रक्रिया शुरु हुने बेलायती संचारमाध्यमले उल्लेख गरेका छन् ।

    बेलायतमा प्रधानमन्त्री बोरिस जोहन्सनका अनुसार संसद् निलम्बन भएपछि १४ अक्टोबरमा महारानीबाट देशका नाममा सम्बोधनको कार्यक्रम तय भएको छ ।

    संसद् भंग गर्ने सरकारको निर्णयविरुद्ध विपक्षी दलले भने कडा आलोचना गरिरहेका छन् । बेलायतमा विरोध प्रदर्शन गरिएको छ भने लाखौं हस्ताक्षर संकलन गरी सरकारलाई पठाइएको छ ।

    प्रधानमन्त्रीले भने यस कदमबाट अवरोध चिर्दै देश अगाडी बढ्ने उल्लेख गरेका छन् । बेलायत यूरोपेली यूनियनको सदस्यताबाट बाहिर निस्कने क्रममा छ ।

    सोही मौकामा संसद विघटन गर्न लागिएको हो । आगामी अक्टोबरमा बेलायत इयूबाट औपचारिक रुपमा बाहिरिदैछ ।

    एजेन्सी

  • ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग

    ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग

    तेहरान । एम्बुलेन्स आपतकालिन सेवामा प्रयोग हुने सवारी साधन हो । खासगरी सडकमा बीना अवरोध बिरामीलाई अस्पताल पुर्याउनु छ भने यसको प्रयोग गरिन्छ ।

    त्यसकारण यस सवारीमा एक प्रकारको साइरन जडान गरिएको हुन्छ । त्यो बजाइसकेपछि सडकमा सबैले आपतकालिन अवस्थामा रहेको मानिसको बचावटका लागि बाटो खाली गराइदिन्छन् ।

    तर, इरानबाट एक रोचक खबर बाहिरिएको छ, जहाँ पछिल्लो समय एम्बुलेन्सको प्रयोग आपतकालिन अवस्थामा भन्दा पनि ट्राफिक जामबाट बच्न बढी प्रयोगमा आइरहेको छ ।

    त्यो पनि गरिब मानिसले आँट गर्ने कुरै भएन । पहुँचवाला र धनीमनी मानिसले ट्राफिक जाम जामबाट सहजै पार पाउन धेरै रकम तिरेर एम्बुलेन्स प्रयोग गर्न थालेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    यसरी सद्दे मानिसले एम्बलेन्सको दूरुपयोग गर्नु भने संसारभर गैरकानूनी मानिन्छ । इरानको राजधानी तेहरानमा यस प्रकारको गतिबिधि बढिरहेको छ ।

    तेहरान यस मुलुकको सबैभन्दा उच्च जनघनत्व भएको शहर हो । यस शहरमा मात्र १ करोड ४० लाख मानिस बसोबास गर्छन् ।

    हालै एक फूटबल खेलाडीले बोलाएको एम्बुलेन्सबाट यसको नमुना सार्वजनिक भएको हो । उनले एम्बुलेन्सलाई ट्याक्सीका रुपमा घरमा बोलाएका थिए । उनको घरमा कोही पनि बिरामी थिएनन ।

    खासगरी अभिनेता, खेलाडी तथा धनी मानिसहरुले जामबाट छुटकारा पाउन यो उपाय अपनाइरहेको संचारमाध्यमले लेखेका छन् ।

    एजेन्सी

  • संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने

    संविधान दिवसमा नेपाल नआउने भए मोदी, अमेरिका भ्रमणमा निस्कने

    काठमाडौं । नेपालको संविधान दिवसमा नेपालको निम्ता स्वीकार गरी नेपाल आउन नसक्ने सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका छन् ।

    नेपालले भारतीय प्रधानमन्त्रीलाई ३ असोजका दिन मूख्य अतिथिका रुपमा आमन्त्रण गरेको थियो । एक साता अगाडी नेपाल आएका भारतीय विदेश मन्त्री डा. एस जयशंकरका साथमा नेपालले निम्ता पठाएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्वयमःले भेट गरी निम्ता दिएका थिए । तर, भारत सरकारले भारतीय दूतावासमार्फत प्रधानमन्त्री कार्यालयमा मोदी आउन नसक्ने जानकारी पठाएको कार्यालय स्रोतको भनाई छ ।

    यस समय भारतीय प्रधानमन्त्रीको अमेरिका भ्रमण तय भएका कारण नेपाल आउन नसक्ने जानकारी भारत सरकारले गराएको बताइएको छ ।

    मोदी भारतीय समाजको सम्मेलनमा भाग लिन २ असोजमा अमेरिका पुग्ने भएका छन् । ७ असोजसम्म उनको अमेरिका भ्रमण तय भइसकेको छ ।

    वर्तमान नेपालको संविधानको कडा आलोचक भारत सरकारका मूख्य पात्रलाई संविधान दिवसकै दिन नेपाल ल्याएर सबैलाई चकित पार्ने सरकारको योजना भने यस पटकका लागि असफल भएको छ ।

  • खोकनाको मन्दिर जोगाएर बन्ने भयो द्रुतमार्ग

    खोकनाको मन्दिर जोगाएर बन्ने भयो द्रुतमार्ग

    काठमाडौं । खोकनास्थित सिकाली मन्दिर र प्राचिन सम्पदा कोदेश क्षेत्रको संरक्षण गर्दै काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण हुने भएको छ ।

    काठमाडौंका लागि प्रस्थानविन्दु ललितपुरको खोकना हो । तर, खोकनास्थित सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ डिजाइनमा द्रुतमार्ग बन्ने भएको छ ।

    यसअघिको डिजाइनमा मन्दिर र खोकनाको उर्वर जमिन मासिने भन्दै स्थानीयले विरोध जनाएका थिए । नया विस्तृत परियोजना प्रतिवेदनमा भने मन्दिर र जमिन संरक्षण गर्दै नयाँ डिजाइन तयार पारिएको हो ।

    नेपाली सेनाले सार्वजनिक गरेको डिजाइन अनुसार अब खोकना, महादेवटारदेखि लेनडाँडा क्षेत्रसम्मको रेखांकन परिवर्तन गरिएको छ ।

    नयाँ डिजाइन अनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गरी दु्रतमार्गको संरचना बन्ने भएको छ ।

    नेपालको आर्थिक भविश्यसँग जोडिएका दुई आयोजना निजगढ विमानस्थल र द्रुतमार्ग हुन् । यी दुबै आयोजनालाई प्राथमिकता दिइएपनि विमानस्थलमा भने अपेक्षित प्रगति हुन सकेको छैन ।

    द्रुतमार्गको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । यसको लम्बाई ७२.५ किलोमिटर रहेको छ । आयोजना सम्पन्न गर्न १ खर्ब ७५ अर्ब लाग्ने सेनाको भनाई छ ।

    डीपीआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किमी सुरुङमार्ग हुनेछ । १०.५५ किमी पुल र ५५.५ किमी सडक हुने छ ।

  • नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो

    नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडियो

    काठमाडौं । नेपाल र क्यारेवियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध जोडिएको छ । यो देश भूगोलका हिसावले विश्वकै सानोमध्ये एक हो ।

    नेपाल र सेन्ट लुसियाबीच द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएसँगै अब नेपालको कुटनीतिक सम्बन्ध १६७ देशसँग जोडिनु पुगेको छ ।

    संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सेन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले बुधबार एक संयुक्त दस्तावेजमा हस्ताक्षर गरे ।

    जसले गर्दा सेन्ट लुसिया नेपालसँग कुटनीतिक सम्बन्ध राख्ने कान्छो देश बन्न सफल भएको छ ।

    करीव १ लाख ७० हजार मात्र जनसंख्या रहेको यो देशको क्षेत्रफल पनि ६१७ वर्ग किलोमिटर मात्र रहेको छ ।

    विश्वका सर्वाधिक साना मुलुकको सूचिमा १८ औं स्थानमा यो देश अटाएको छ । मूख्य आम्दानी पर्यटन रहेको यो देश ज्यालामुखी विस्फोटबाट उत्पन्न भएको टापुमा रहेको छ ।

    यहाँ लक्जरी रिर्सोट, आरामदायी र आकर्षक समुन्द्री किनारा रहेका कारण पनि विश्वका धेरै मानिस यो मुलुकको भ्रमण गर्न लालायीत हुन्छन् ।

  • नेपाल एयरलाइन्सको जापान उडान शुरु

    नेपाल एयरलाइन्सको जापान उडान शुरु

    काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक नेपालबाट जापानमा सिधा उडान शुरु गरेको छ ।

    बिहीबार बिहान २ः३० बजे निगमको जहाज जापानका लागि उड्दैछ । उडानको सम्पूर्ण तयारी पुरा भइसकेको नेपाल वायुसेवा निगमको भनाई छ ।

    करीव १ सय २५ भन्दा बढी यात्रु बोकेर निगमको जहाज जापानका लागि उड्ने निगमले जानकारी दिएको छ ।

    निगमका अनुसार त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानपछि जहाज जापानको ओशाकास्थित कान्साई विमानस्थलमा पुग्ने छ ।

    यस उडानको नेतृत्व गरी नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा जापान जाँदैछन् ।

    यसबाहेक मन्त्रालयका सहसचिव, निगम संचलक समितिका पदाधिकारीसमेत यस उडानबाट जापान जाने भएका छन् । निगमले यो उडानमा वाइडबडी जहाज ए ३३०–२०० जहाज उडाउँदैछ ।

    यो वाइडबडीको पहिलो लामो दूरीको गन्तब्य समेत हो । नेपाल एयरलाइन्सले यसअघि काठमाडौं-सांघाई-ओसाका रुटमा उडान गरेको भएपनि सिधा उडान भने पहिलो पटक हुन लागेको हो ।

    ओसाकामा निगमले ३० अक्टोवर १९९४ देखि उडान थालेको थियो । त्यो उडान १२ अप्रिल २००७ सम्म कायम रहेर रद्द भएको थियो । अब काठमाडौंबाट मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान हुने भएको छ ।

  • कीर्तिपुरका मेयरलाई हाफ प्यायन्ट लगाएर भेट्न नपाइने

    कीर्तिपुरका मेयरलाई हाफ प्यायन्ट लगाएर भेट्न नपाइने

    कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले मेयर उपमेयरलाई भेट्न आउने आगन्तुकलाई हाफ पायन्ट लगाएर नआउन सूचित गरेको छ ।

    नगरपालिकाले मंगलबार सूचना जारी गर्दै मर्यादित र शिष्ट पोशाकमा मात्र आउन र हाफ पायन्ट लगाएर नआउने आग्रह गरेको छ ।

    नगरपालिकाले भड्किलो पोशाकमा आगन्तुक आउन थालेपछि यस्तो सूचना जारी गर्नु परेको बताएको छ ।

    तर, सामाजिक संजालमा भने नगरपालिकाको यस सूचनाप्रति व्यापक आलोचना भइरहेको छ ।

    नेपालमा गरिब किसान नागरिकको बाहुल्य रहेको भन्दै सुकिला मुकिला मात्र भेट्ने मेयरको रणनीति गलत रहेको प्रतिक्रिया आइरहेका छन् ।

    तर, नगरपालिकाले भने सेवाग्राही भन्दा फुर्सदमा गफिने मान्छे हाफ पायन्ट मै छिर्न थालेपछि यस्तो निर्णय लिनु परेको बताएको छ ।

    मेयर र उपमेयरलाई भेट्न समेत दिउसो २ बजेपछि मात्र जानु पर्ने भएको छ ।

  • नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

    नेपाल ओलम्पिक कमिटीमा श्रेष्ठद्धयबीच भिडन्त, कसले मार्ला बाजी ?

    काठमाडौं । नेपाल ओलम्पिक कमिटिको अध्यक्ष पदका लागि नेकपाका दुई नेताबीच भिडन्त हुने भएको छ ।

    कमिटीका तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र व्यवसायी नेता उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

    दुबै नेकपा निकट मानिन्छन् । २० भदौमा हुने निर्वाचनले नेतृत्वको टुंगो लगाउने भएको छ । मंगलबार उमेदवारी दर्ताको समयसम्म दुई जनाको मात्र उमेदवारी परेपछि भिडन्त श्रेष्ठद्धयबीच हुने भएको हो ।

    कमिटीमा पाँच जना उपाध्यक्ष रहने प्रावधान रहेको छ । यसका लागि भने आठ जनाले उम्मेदवारी दिएको कमिटीले जानकारी दिएको छ ।

    उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्रचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    महासचिवमा दुई जनाबीच भिडन्त हुने भएको छ । उक्त पदका लागि पुरेन्द्रविक्रम लाखे र निलेन्द्रराज श्रेष्ठको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध भएका छन् ।

    उता, उपमहासचिवमा पनि पिताम्बर तिम्सिना निर्विरोध भए । सचिवमा भने ४ जनाको उमेदवारी परेको छ ।

    विधान अनुसार कमिटीमा तीन जना सचिव रहन्छन् । सात सदस्यका लागि हुने निर्वाचनमा ८ जनाको उमेदवारी दर्ता भएको छ ।

  • कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?

    कांग्रेस केन्द्रिय समिति बैठक आज, के छन् एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बुधबारका लागि आह्वान गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो २ बजेका लागि केन्द्रिय समिति बैठक बोलाइएको छ ।

    बैठकले भातृ संस्थाहरुलाई सक्रिय बनाउने सन्दर्भमा ठोस निर्णय हुने बताइएको छ । धेरैजसो भातृसंगठनको नियमित कार्यकाल समाप्त भइसकेको छ ।

    त्यसकारण भातृ संगठन सक्रिय छैनन् । यस अवस्थामा तीन संगठनको समय थप हुने या के गर्ने भन्ने सम्बन्धमा छलफल हुने एजेण्डा तय गरिएको छ ।

    महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको केन्द्रिय समिति बैठकमा बुधबारको एजण्डा पेश गरेका थिए । सोहीअनुसार बैठक बस्न लागेको प्रवक्ता शर्माको भनाई रहेको छ ।

  • देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह

    देशको सबैभन्दा ठूलो अटोमेला शुरु, विद्यूतीय सवारी भित्राउन अर्थमन्त्रीको आग्रह

    काठमाडौं । नाडा अटो शो २०१९ प्रारम्भ भएको छ । यो नेपालको सबैभन्दा ठूला अटो मेला हो ।

    जहाँ व्यवसायीहरुले आआफना उत्पादन तथा वस्तुको प्रदर्शनी र बिक्रि गर्छन् । आम अटोप्रेमी जनताले पनि यस मेलामा उत्साहपूर्वक सहभागिता जनाउँछन् ।

    नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले हरेक वर्ष यसै समयमा नाडा अटो शो आयोजना गर्दै आएको छ ।

    मंगलबारबाट शुरु मेला १५ भदौंसम्म चल्नेछ । अर्थमन्त्री डा. युवराज खतिवडाले मेलाको शुभारम्भ गरे ।

    कार्यक्रममा उनले विद्युतीय सवारी साधनलाई सरकारले प्रोत्साहनको नीति लिएको भन्दै त्यसतर्फ केन्द्रित हुने आग्रह गरे ।

    शोमा सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाका स्टल राखिएका छन् ।

    यो नाडाको १४ औं संस्करण हो । काठमाडौं भृकुटीमण्डपस्थित कभर्ड हल, ठूलो चौर तथा बगैंचा समेत भाडामा लिएर अटो शो संचालन गरिएको छ चाडपर्व नजिकिएको समयमा आयोजना हुने यस मेलामा सबैभन्दा बढी सवारी साधनको बिक्रि तथा बुक हुने गर्छ ।

    प्रदर्शनीमा अटो सम्वन्धि सेवा सुविधाबारे जानकारी दिन वित्तिय सेवा, विक्रिपछिका सेवा एवं बीमा क्षेत्रका छुट्टाछुट्टै स्टल राखिएका छन् ।

    ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी जनचेतनाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना कक्ष समेत यहाँ राखिएको छ ।

    आयोजकका अनुसार प्रदर्शनीमा १६० वटा स्टल र ब्लक रहेका छन् ।

    आयोजकका अनुसार २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट-पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वित्तिय संस्थाका स्टल यहाँ राखिएको छ ।

  • भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने

    भ्रमण वर्षका स्टलमा एनआरएनएले स्वयमसेवी राख्नुपर्ने

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का सिलसिलामा हरेक देशमा नेपाल डेस्क तथा स्थलको व्यवस्था गर्न मूल आयोजक समितिले गैरआवासीय नेपाली संघलाई आग्रह गरेको छ ।

    मंगलबार राजधानीमा आयोजित नेपाल भ्रमण वर्ष मूल आयोजक समितिको बैठकले गैरआवासीय नेपाली संघलाई उक्त जिम्मेवारी तोकेको हो ।

    ‘अब हरेक मुलुकमा नेपाल डेस्क स्थापनाको पहल हामी परराष्ट्र मन्त्रालयमार्फत गर्छौ,’ मूल आयोजक समितिका अध्यक्ष तथा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने, ‘यसमा तपाईहरुले स्वयमसेवी खटाएर सहयोग गरिदिनुहोस ।’

    मन्त्री भट्टराईको आग्रहलाई एनआरएनए अध्यक्ष भवन भट्टले समेत स्वीकार गरेका छन् ।

    समितिले गैरआवासीय नेपाली संघसहितका सरोकारवालाले भ्रमण वर्षमा गर्न सक्ने योगदान तथा कार्यक्रम समेटेर १० दिन भित्र भ्रमण वर्षको सचिवालयमा पठाउन बैठकले निर्देशन दिएको छ ।

    उक्त कार्यक्रम तथा प्रस्तावहरुको सम्बन्धमा १० दिन छलफल गरी १ असोजमा सम्बन्धित सरोकारवालासँग सम्झौता गरिने मन्त्री अधिकारीले उल्लेख गरे ।

    एनआरएनए अध्यक्ष भवन भट्टले नेपाल भ्रमर्ण वर्ष सम्पन्न गराउन गैरआवासीय नेपाली कट्टीवद्द रहेको उल्लेख गरे ।

    अतिथि देवो भवः अभियान जारी रहेको भन्दै उनले एक नेपाली ३ साथि नेपाल पठाउने गरी अभियान शुरु गर्न लागिएको उनले जानकारी दिए ।

    नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा गैरआवासीय नेपालीले योगदान गर्ने उनको भनाई थियो ।

  • पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै

    पशुपतिनाथको सन्ध्या आरती लाइभ गरिदै

    काठमाडौं । सरकारले अब पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने सन्ध्याआरती प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

    यसका लागि पशुपति क्षेत्र विकास कोषले तयारी थालिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

    उनका अनुसार यूट्यूवबाट पशुपति क्षेत्रको सन्ध्या आरती प्रत्यक्ष प्रसारण हुनेछ । यहाँ संयौं भक्तजनको उपस्थितिम साँझ ६ बजेपछि ८ बजेसम्म सन्ध्याआरती हुने गर्छ ।

    भारतका विभिन्न गंगा तटमा हुने आरतीबाट प्रभावित भएर नेपालमा पनि आराती शुरु गरिएको हो ।

    जुन पर्यटक र आम नागरिकबीच निकै लोकप्रिय बन्दै गएको छ । सरकारले पशुपति क्षेत्रस्थित विद्यूतीय शवदाह गृहमा ६ वटा मेसिन थप गर्ने योजना समेत बनाएको छ ।

    यो काम यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने भएको छ । पशुपति क्षेत्रमा जाने सबै भक्तजनले नियमित लिन सक्ने प्रसाद निशुल्क उपलब्ध गराउने व्यवस्थाको तयारी समेत गरिएको छ ।

    पशुपतिनाथ मन्दिरको ४ वटै ढोकामा वृद्धवृद्धाले सजिलै दर्शन गर्न सक्ने गरी संरचना निर्माणको जिम्मा पनि पशुपति क्षेत्र विकास कोषलाई दिइएको छ ।

    पशुपतिनाथ मन्दिरलाई संसारकै सबैभन्दा आकर्षक क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यसहित योजनाहरु अगाडी बढाइएको मन्त्री भट्टराईले बताए ।

    यसैबीच, तिनकुनेदेखि गौशालासम्मको सडकलाई एपरपोर्ट क्षेत्रका रुपमा घोषणा गरी व्यवस्थित बनाउने योजना मन्त्री सार्वजनिक गरेका छन् । यहाँ धेरै सेकुवा पसलहरु छन् ।

    यसले शहरी सौन्दर्य बिगारीरहेको मन्त्री भट्टराईको भनाई रहेको छ । सडक विभागसँगको सहकार्यमा यसलाई व्यवस्थित गरिने भएको छ ।

  • अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने

    अमेजनको आगो नियन्त्रण गर्न जी-७ को पहल, २.२ करोड डलर खर्च गर्ने

    फ्रान्स । संसारमा सबैभन्दा बढी वर्षा हुने जंगल लामो समयदेखि आगलागीको चपेटामा परेको छ । आगलागी नियन्त्रणका हरेक उपाय फेल खाइरहेका छन् ।

    यस्तो अवस्थामा विश्वका ७ ठूलो अर्थतन्त्र भएका मुलुकले आगलागी नियन्त्रणमा २.२ करोड डलर खर्च गर्ने घोषणा गरेका छन् ।

    यसैसाता फ्रान्समा सम्पन्न जी ७ मुलुकहरुको बैठकले उक्त घोषणा गरेको हो । अमेजनलाई विश्वकै फोक्सो पनि मानिछ ।

    यस जंगलबाट विश्वलाई आवश्यक हुने २० प्रतिशत अक्सिजन उत्पादन भइरहेको वैज्ञानिकहरुको भनाई छ । तर, यो जंगल भिषण आगलागीले जलिरहेको छ ।

    वनस्पति र वन्यजन्तुको ठूलो क्षति भइरहेको छ । यो रकम आगोलागी नियन्त्रणका लागि जहाजहरु पठाउने काममा खर्च हुने भएको छ ।

    जी ७ मा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।

    अमेजनको सिघ्र बचाउन यस कारण पनि महत्वपूर्ण की, यो आदीवासीहरुको घटना आवादी रहेको क्षेत्र पनि हो ।

    यहाँ सयौं आदिवासी आफ्नो परम्परा जोगाएर जंगलमा बसिरहेका छन् । जलस्रोतका दृष्टिकोणबाट ब्राजिल संसारको धनी देश हो । यसमा अमेजन जंगलको ठूलो हात रहेको छ ।

    एजेन्सी

  • ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा आधा छूट

    ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा आधा छूट

    काठमाडौं । आन्तरिक उडानमा जेष्ठ नागरिकले ५० प्रतिशत छूट पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त घोषणा गरेका हुन् ।

    सोमबार मन्त्री भट्टराईले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै तीन महिनापछि जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणा गरे ।

    आन्तरिक उडानमा ७० प्रतिशत भन्दा माथि उमेर पुगेका नागरिकले ५० प्रतिशत भाडा छूट पाउने मन्त्री भट्टराईले उल्लेख गरे ।

    वायुसेवा कम्पनीहरुसँगको छलफलमा यो योजना कार्यान्वयनमा ल्याइने उनको भनाइ रहेको छ ।

    सरकारले अन्तर प्रदेश उडानलाई प्राथमिकता दिएर काठमाडौंको उडान चाप घटाउने योजना समेत सार्वजनिक गरेको छ ।

    प्रदेशका राजधानी जोडिने गरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसँग छलफल गरी अन्तर प्रदेश हवाई सेवा सञ्चालनको योजना रहेको भट्टराइको कार्ययोजनामा उल्लेख गरिएको छ ।

    काठमाडौंबाट साना जहाजलाई कम गरी ठूला जहाजलाई प्रोत्साहन दिने योजना रहेको छ । काठमाडौंमा ७० सीट र सोभन्दा माथिका जहाजको उडानमा प्रोत्साहन गर्ने नीति सरकारले लिने भएको छ ।

    यस अवधिमा सरकारले ठूला विमानस्थल आयोजनालाई अगाडी बढाउने उल्लेख गरेको छ ।

    त्रिभुवन विमानस्थलमा अब सम्माननीयहरुलाई मात्र गाडसहित जान दिने निर्णय मन्त्रालयले गरेको छ । १५ दिन भित्रै यसको कार्यानवयन हुने भएको छ ।

  • सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी

    सालिकराम आत्महत्या प्रकरण : रवि लामिछानेलाई ५ लाख धरौटी

    काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले  आदेश दिएको छ ।

    अदालतले लामिछानेलाई ५ लाख, पत्रकार युवराज कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    आत्महत्या प्रकरणमा मुछिएकी अर्की अभियुक्त रुकु कार्कीलाई भने साधारण तारेखमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो ।

    सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटीमा छाड्न आदेश दिएको हो ।

    आदेश लगत्तै उनीहरु अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भए । उनीहरु धरौटीमा छूटे पनि कानूनि प्रक्रियाका थप कदममा भने उनीहरु सहभागी हुनुपर्छ ।

    प्रहरीले १० दिनसम्म अनुसन्धान गरी पत्रकार पुडासैनीको आत्महत्या तीन जनालाई दोषि दावि गरिएको थियो ।

    अनुसन्धान सम्पन्न गरी प्रहरीले आइतबार जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहन गरेको मुद्दा दर्ता गरेको थियो । पत्रकार पुडासैनी २० साउनमा चितवनस्थित एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

    आत्महत्यापूर्व पुडासैनीले भिडियो बनाएर लामिछाने, कँडेल र कार्कीले दिएको टर्चर सहन नसकेर आफूले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

    भिडियो सार्वजनिक भएसँगै प्रहरीले ३० साउनमा उनीहरुलाई पक्राउ गरेको थियो । रवि लामिछाने पक्राउ भएसँगै हरेक दिन उनको समर्थनमा चर्को आन्दोलन भइरहेको थियो ।

    रवि धरौटीमा छूटे पनि उनी यस मुद्दाका सम्बन्धमा केही बोल्न र लेख्न भने नपाउने भएका छन् । उनको बैंक खाता रोक्का गर्ने प्रक्रियासमेत शुरु भइसकेको छ ।

  • जी-७ सम्मेलनका दौरान मोदी र ट्रम्प भेट्दै

    जी-७ सम्मेलनका दौरान मोदी र ट्रम्प भेट्दै

    फ्रान्स । जी-७ सम्मेलनका दौरान फ्रान्स पुगेका विश्वका दुई शक्तिशाली नेता नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता हुने भएको छ ।

    संचारमाध्यमहरुका अनुसार यस भेटवार्तामा मूख्यगरी कश्मीर मामलालाई लिएर कुराकानी हुने अनुमान गरिएको छ ।

    भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच जम्मु कश्मीर मुद्दापछि पहिलोपटक औपचारिक भेट हुन लागेको हो ।

    भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटलाई भारतमा पनि निकै महत्वका साथ हेरिएको छ ।

    यसबाट भारतले अमेरिकाको समर्थन प्राप्त गर्ने र पाकिस्तानलाई एक्लाउन सकिने भारतको विश्वास रहेको छ ।

    समाचार स्रोतका अनुसार राष्ट्रपति ट्रम्पले यस घटनापछि मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरिसकेका छन् ।

    एजेन्सी

  • मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल

    मेसी, सुवारेज र डेम्बेले बीनै शक्तिशाली बार्सिलोना, विपक्षीको पोष्टमा ५ गोल

    स्पेन । स्पेनिस लालिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले प्रभावशाली खेल प्रदर्शन गरेको छ । लीगमा पहिलो खेल हारेको बार्सिलोनाले दोस्रो खेलमा भने रियल बेट्टिसविरुद्ध ५ -२ गोलको जीत निकालेको हो ।

    यो खेलमा प्रभावशाली तीन खेलाडी मेसी, सुवारेज र डेम्बेले मैदानमा उत्रिएका थिएनन् ।

    मूख्य खेडालीले सिजनको शुरुमै चोट बोकेपछि बार्सिलोना दवावमा थियो ।

    तर, यसै सिजन एथलेटिको म्याड्रिडबाट बार्सिलोना भित्रिएका एन्टोनी ग्रिजम्यान चम्किएपछि बार्सिलोनाले प्रभावशाली जीत निकाल्न सफल भयो ।

    ग्रिजम्यानले २ गोल गरे भने एक गोलका लागि सटक पास निकाले । कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालको नाममा १–१ गोल रह्यो ।

    रियल बेट्टिसका नाबिल फेकिर र लोरेन्जो जिसस मोरन ग्रासियाले गोल गरे ।

    लालिगामा अर्को प्रभावशाली टोली रियल म्याड्रिड बराबरीमा रोकिएको छ भने एथलेटिको म्याड्रिड जीत हात पारेको छ ।

    एजेन्सी

  • चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक

    चितवनमा निषेधाज्ञा, ५ जना भन्दा बढी भेला हुन रोक

    चितवन । चितवनमा अराजक बन्दै गएको प्रदर्शन निरुत्साहित गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी गराएको हो ।

    निषेधाज्ञा सोमबार बिहान ६ बजेबाट शुरु भएको छ । जिल्ला अदालत आसपास निषेधाज्ञा क्षेत्र तोकिएको हो ।

    पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्दा टिभी प्रस्तोता रवि लामिछानेको नाम लिएको भिडियो सार्वजनिक भएपछि उनी प्रहरीको अनुसन्धानमा तानिएका छन् ।

    प्रहरीले १० दिन लामो अनुसन्धानबाट आत्महत्या दुरुत्साहनमा लामिछानेको संलग्नता पुष्टी गर्दै आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता समेत गरेको छ ।

    सोमबारदेखि शुरु हुने रवीको बयान र थुनछेक वहसका दौरान भीडले अराजकता प्रदर्शन गर्न सक्ने भन्दै स्थानीय प्रशासनले कडाई थालेको हो ।

    प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिसकेको छ । यी तीनै जनाको नाम पुडासैनीको भिडियोमा लिइएको छ ।

    कार्यालयका अनुसार भरतपुरको पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    जहाँ ५ जना भन्दा बढी मानिस भेला हुन पाइने छैन । पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    उत्तरमा बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म तोकिएको छ ।

    दक्षिणको बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म पनि कुनै प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ ।

  • उपत्यका भित्रै डेंगुका बिरामी, कसरी बच्ने ?

    उपत्यका भित्रै डेंगुका बिरामी, कसरी बच्ने ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशको ठूलो क्षेत्रमा यस वर्ष डेंगुको प्रकोप फैलिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म यस रोगबाट देशभर २ जनाले ज्यान गुमाइसकेका छन् । पूर्वी नेपालको सुनसुरी र सर्लाहीबाट शुरु भएको यो रोग क्रमशः उपत्यका र अन्य जिल्लासम्म फैलिएको हो ।

    मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्षायाममा पानी जम्ने र त्यसबाट उत्पन्न हुने लामखुट्टेको टोकाईबाट यो रोगको संक्रमण बढ्ने गर्छ ।

    काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुरसहितका जिल्लामा डेंगुका बिरामी बढी पाइएको छ । यसबाहेक पूर्व नेपाल बढी प्रभावित रहेको मन्त्रालयको भनाई रहेको छ ।

    देशभर १ हजार भन्दा बढी बिरामी उपचारार्थ रहेको बताइएको छ । चिकित्सकहरुका अनुसार लामखुट्टेको टोकाईबाट बच्नु नै डेंगु रोगबाट बच्ने सबैभन्दा सिजिलो उपाय हो ।

    यो रोग लागेको बिरामीमा ज्वरो आउने, रूघाखोकी लाग्ने, खान मन नलाग्ने, जीउ दुख्नेजस्ता लक्षण देखा पर्छ। उपचारमा लापरवाही गरे बिरामीको निधन समेत हुन सक्छ ।

  • ‘होटेलका कर्मचारीलाई हँसिलो राख्नुहोस, धेरै पाहुना आउँछन्’

    ‘होटेलका कर्मचारीलाई हँसिलो राख्नुहोस, धेरै पाहुना आउँछन्’

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आतिथ्य सेवाका उद्यमीलाई कर्मचारीलाई खुसी राख्न आग्रह गरेका छन् ।

    खुसी कर्मचारीले सेवा दिएमात्र धेरै ग्राहक आउने र व्यवसाय फस्टाउने भन्दै उनीहरुको सेवा सुविधालाई बोझका रुपमा नलिन आग्रह गरेका छन् ।

    आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले श्रम सम्बन्धमा निकै सुधार भएको भन्दै अब आफ्नो कर्मचारीबाट बढी भन्दा बढी फाइदा लिन उद्यमीलाई सुझाव दिए ।

    त्यसका लागि ऐनले तोकेको सेवा सुविधा दिएर खुसी राख्न समेत आग्रह गरे । ऐनले नेपालमा श्रमिकको न्यूनतम ज्याला १३ हजार ५ सय तोकेको छ । तर, यही ज्याला पनि धेरै भएको भन्दै उद्यमीहरुले गुनासो गरिरहेका छन् ।

    नेपालमा एक जना मजदुरको दैनिकी चलाउन कम्तिमा २२ हजार रुपैयाँ आवश्यक रहेको विभिन्न अध्ययनले देखाएको भन्दै मन्त्री विष्टले न्यूनतम ज्यालामा सम्झौता नगर्न सचेत गराएका हुन् ।

    कार्यक्रममा होटेल संचालकहरुले सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य गर्दा अन्यौल भएको भन्दै यसका प्रावधानलाई खुकुलो बनाउन आग्रह गरेका थिए ।
    सरकारले १ साउनबाट सामाजिक सुरक्षा योजना अनिवार्य गरेको छ । अहिलेसम्म ४ हजार प्रतिस्ठान र ४० हजार मजदुर यस योजनामा समोवश भइसकेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

  • प्रचण्डको एकल नेतृत्वमा नेकपा सचिवालय बैठक बस्ने

    प्रचण्डको एकल नेतृत्वमा नेकपा सचिवालय बैठक बस्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा सिंगापुर रहेको मौकामै नेकपा अध्यक्ष प्रचण्डले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आह्वान गरेका छन् ।

    बैठक प्रचण्डको एकल नेतृत्वमा बस्ने भएको छ । यसअघि दुबै अध्यक्षले बैठकको अध्यक्षता गर्दै आएका थिए ।

    नेकपाको शक्तिशाली अध्यक्षका रुपमा प्रचण्डले पहिलो पटक एकल नेतृत्वमा बैठक आह्वान गरेका हुन् ।

    अर्का अध्यक्ष तथा प्रधानमन्त्री सिंगापुर उड्नु अगाडी बसेको बैठकले सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएको थियो ।

    सोमबार १ बजे बोलाइएको बैठकमा महानगरका पार्टी अध्यक्ष, सचिव तथा प्रवास कमिटीको परिपूर्तिका सम्बन्धमा छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ ।