Author: Vishwanews.com

  • तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

    तन्दुरुस्त बनेर स्वदेश फर्किए प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । सिंगापुरमा स्वास्थ्य उपचार गरी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।

    प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु पुगेका थिए ।

    विमानस्थलमा प्रधानमन्त्री संचारकर्मीसँग बोल्न भने मानेनन् । उनी ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका थिए ।

    त्यसअघि १० दिन उपचार गरी उनी स्वदेश फर्किएका थिए । प्रधानमन्त्रीका निजी चिकित्सकहरुका अनुसार प्रधानमन्त्री तन्दुरुस्त बनेर स्वदेश फर्किएका छन् ।

    उनी अब नियमित काम गर्न सक्छन् । यसैबीच नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    सिंगापुरमा रहेका बेला प्रधानमन्त्रीले दुई पटकसम्म भिडियो कन्फ्रेन्स गरी नेपालको हालखबर बुझेका थिए ।

  • त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेयर बेल्ट जडान

    त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेयर बेल्ट जडान

    काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मीनलमा कन्भेयर बेल्ट जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार एक कार्यक्रमका बीच बेल्ट संचालनको शूभारम्भ गरे ।

    आन्तरिक टर्मिनलमा पहिलो पटक कन्भेयर बेल्ट जडान गरिएको हो । यसअघि बेल्ट नहुँदा ब्याग लिन यात्रुले तछाडमछाड गर्नुपर्ने बाध्यता रहेको थियो ।

    विमानस्थललाई आधुनिक सुविधा सम्पन्न गराउने अभियान अन्तर्गत यो योजना संचालनमा आएको विमानस्थल व्यवस्थापनको भनाई रहेको छ ।

    अब विमानबाट ब्यागेज आएको ३ मिनेट भित्रै सबै यात्रुले ब्याग प्राप्त गर्ने बताइएको छ । स्कृनमा देखिने वायुसेवा कम्पनीको नाम अनुसार यात्रुले आफ्नो ब्याग लिन सक्नेछन् ।

  • भारतीयले आफ्नै शरीरमा आगो लगाए

    भारतीयले आफ्नै शरीरमा आगो लगाए

    झापा । एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाई आत्मदाह गरेका छन् । झापामा बिहीबार दिउँसा भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएका हुन् ।

    प्रहरीका अनुसार अर्जुनधारा–६स्थित फर्निचर उद्योगमा काम गर्दै आएका मजदुरले शरीरमा तार्पिनको तेल र स्प्रिट खन्याई आगो लगाएका थिए । उनको निधन भएको छ ।

    भारतको पश्चिम बंगालस्थित पानीट्यांकीका २३ वर्षीय विश्वनाथ बरमनले आत्मदाह गरेको प्रहरीको भनाई छ ।

    उनले फर्निचर उद्योगको ट्वाइलेट गई शरीरमा आगो लगाएका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

    पछिल्लो समय नेपालमा आत्महत्याको संख्या उल्लेख्य रुपमा बढेको छ ।

  • काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित

    काबुलमा साताको दोस्रो विस्फोट, अमेरिकी दूतावास लक्षित

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक साता भित्रै दोस्रो ठूला विस्फोट भएको छ ।

    बिहीबार बिहान भएको विस्फोटमा परी कम्तिमा १० जनाको निधन भएको समाचारहरुमा उल्लेख छ । अमेरिकी दूतावाससहित दर्जनौं विदेशी कूटनीतिक नियोगको कार्यालय रहेको क्षेत्र नजिकै कार बम बिस्फोट गराइएको हो ।

    विस्फोटको तालिवानले जिम्मेवारी लिएको छ । यस घटनामा दर्जनौको ज्यान गएको बताइएको छ । यसअघि गत सोमबार मात्र भएको विस्फोटमा १६ जनाले ज्यान गुमाएका थिए ।

    उक्त घटनामा २ जना नेपाली सुरक्षागार्डको समेत ज्यान गएको थियो । तालीवान र अमेरिकाबीचको वार्तापछि अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने क्रम चलिरहँदा तालिवानले भने आक्रमण बढाएको छ ।
    एजेन्सी

  • बुद्धिजीवीले जति उचालेपनि निजगढमै बन्छ विमानस्थल : पर्यटन मन्त्री

    बुद्धिजीवीले जति उचालेपनि निजगढमै बन्छ विमानस्थल : पर्यटन मन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बुद्धिजीवीले निजगढमा वातावरणको विषय जति उचालेपनि विमानस्थल बनिछाड्ने बताएका छन् ।

    विमानस्थलको निर्माणबारे सरकारले अतिकती कदम चाल्नासाथ बुद्धिजिवीहरुका अनेक तर्क आउने भन्दै उनले सबैका कुरा सुन्न आफू तयार रहेको तर, विमानस्थल नबनाउने या स्थान सार्ने भन्ने विषयमा भने थप वहसको औचित्य नरहेको उनको स्पषेक्ती थियो ।

    बिहीबार वातावरण पत्रकार समाजले निजगढ विमानस्थलका सम्बन्धमा गरेको एक अध्ययन प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले विमानस्थल बनाउनै हुँदैन भन्ने र बनाउनु पर्छ भन्ने दुई बिचारधारका बुद्धिजीवीबीचमा खुला वहस गराउन आफू तयार रहेको भन्दै त्यसका लागि सिंहदरबार आउने समेत उनले विज्ञहरुलाई सुझाव दिए ।

    तर, बुद्धिजीवीले उत्तेजनामा ल्याउँदैमा सरकार उत्तेजित भने नहुने उनको भनाई थियो । विमानस्थल बनाउने स्थानका बारेमा अब थप बहसको औचित्य नरहेको भन्दै उनले ठूलै अध्ययनबाट उक्त स्थान चयन गरिएको बताए ।

    बाराको निजगढमा निर्माणको प्रस्ताव भएको निजढ विमानस्थल वर्तमान सरकारकै पालामा निर्माण हुने मन्त्री भट्टराईको भनाई छ ।

  • एटीएमबाट एक दिनमा ६० हजार मात्र

    एटीएमबाट एक दिनमा ६० हजार मात्र

    काठमाडौं । अब एटिएम कार्डबाट दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकहरुलाई एक परिपत्र जारी गरेको छ ।

    जसमा दैनिक एटीएमबाट निकाल्न पाइने रकमको सीमा घटाइएको हो । यसअघि दैनिक १ लाख रुपैयाँसम्म एटीएमबाट निकाल्न सकिने व्यवस्था रहेको थियो ।

    एक पटक कार्ड छिराएपछि अब २० हजार रुपैयाँ मात्र निस्कने भएको छ । यसअघि २५ हजार निस्कने व्यवस्था थियो ।

    चिनियाँ ह्याकरले नेपाली एटीएम बुथहरुबाट रकम चोरी गरेपछि दैनिक सीमा घटाइएको हो । शुक्रबार बाटै यो व्यवस्था लागु हुने भएको छ ।

    चिनिँया ह्याकरले नेपाल र भारतका बैंक एटीएम बुथबाट३ करोड ५८ लाख रुपैयाँ झिकेका थिए । यस काण्डमा ६ जना चिनियाँ नागरिक नेपाल प्रहरीले पक्राउ गरिसकेको छ ।

  • कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

    कृषि मन्त्रीलाई डेंगुको संक्रमण, देशभर फैलिँदै प्रकोप

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको छ । उनलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको छ ।

    रगत जाँच गर्दा डेंगुको जिवाणु भेटिएपछि उनी अस्पताल भर्ना भएका हुन् । अघिल्लो शुक्रबार हेटौडा पुगेका मन्त्री खनाललाई रुघाखोकी र ज्वरोले च्यापेको थियो ।

    त्यसपछि रगत परिक्षण गर्दा डेंगुको संक्रमण देखिएको मन्त्री खनालको सचिवालयले जानकारी दिएको छ । मन्त्रीसहित अहिले देशभर ५ हजार भन्दा बढी मानिसमा यसको संक्रमण फैलिसकेको छ ।

    बिहीबार मात्रै सिन्धुपाल्चोकका एक जनाले ज्यान गुमाएका छन् । बिहीबार राजधानीका विभिन्न क्षेत्रमा डेंगु विरुद्धको छरिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु नियन्त्रण बाहिर पुगेको छ । यसका लागि सेना नै परिचालन गर्नुपर्ने स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताइसकेका छन् ।

    डेंगु एक विशेष प्रकारको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । दिउँसो सक्रिय हुने यो लामखुट्टेले टोकेको थाहा पाइन्न, तर टोकेपछि अति धेरै चिलाउँछ । र ठूल्ठूलो चाला उठ्ने गर्छ ।

    यस्तो लामखुट्टे घर भित्रैको सफा पानीमा उत्पन्न हुने र बढ्ने गर्छ । काठमाडौंमा धेरैजसो घरमा पानी जम्मा गरेर राख्नु पर्ने बाध्यताले यस लामखुट्टेको फैलावटमा सहयोग पुगेको हो ।

    सकेसम्म लामखुट्टेको टोकाईबाट बच्दा धेरै हदसम्म यो रोगको संक्रमणबाट बच्न सकिन्छ । आँखा, नाक, मुखबाट रगत बग्ने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने डेंगीका मूख्य लक्षण हुन्।

  • एडीबीका आयोजनामा समस्यै समस्या

    एडीबीका आयोजनामा समस्यै समस्या

    काठमाडौं । एसियाली विकास बैंकका असधकांश आयोजनामा समस्या रहेको देखिएको छ ।

    एसियाली विकास बैंकले बिहीबार राजधानीमा आयोजना गरेको त्रिपक्षीय समिक्षामा प्रस्तुत प्रतिवेदन अनुसार धेरैजसो आयोजनाको कार्यान्वयन अवस्था कमजोर रहेको देखिएको छ ।

    एडीबीले कार्यान्वयन कमजोर रहेका आधा दर्जन आयोजनको सम्झौता नविकरण नै गरेको छैन । नविकरण गरेका आयोजनाको पनि फाइनान्सियल क्लिोजर सम्झौता अवधिभन्दा निकै पछि मात्र भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार आयोजनाको सम्झौता नविकरण ३० डिसेम्बर २०१८ मा सकिएको थियो । त्यसपछि नविकरण गरिएको छैन ।

    अन्य आयोजनाको हकमा पनि यही समस्या छ । हवाई तथा सडक, शहरी पूर्वाधार, शिक्षा, उर्जाजस्ता क्षेत्रमा एडीबीको लगानीका आयोजना अलपत्र अवस्थामा छन् ।

    खासगरी हरेक पटकको समिक्षामा उस्तै समस्याका बारे चर्चा हुने तर सुधार नहुने प्रवृत्तिका विषयमा बिहीबार बहस भएको छ ।

    खासगरी ठेकेदारको लापरवाही र त्यसमा नियामक निकायले आँखा चिम्लने प्रवृत्तिले आयोजना कार्यानवयनमा ढिलाई भइरहेको एडीबीको निष्कर्ष रहेको छ ।

    एडीबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिट प्रमुख रुदी भान डेलले धेरैजसो आयोजनाको काम समयमै सक्न नसकिएको तथ्यांक प्रस्तुत गरे ।

    उनका अनुसार नेपालमा एडीबीले २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सहायता रकमका कार्यक्रम कार्यान्वयनमा ल्याएपनि रकम भुक्तानी भने आधा पनि छैन ।

    एडीबीका कन्ट्री निर्देशक मुख्तोर आमुदखानोभले अब स्थानीय र प्रदेशलाई बलियो नबनाएसम्म आयोजनाले प्रगति गर्न नसक्ने उल्लेख गरे ।

  • चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, राष्ट्रपतिको भ्रमण तयारी

    चिनियाँ विदेशमन्त्री नेपाल आउँदै, राष्ट्रपतिको भ्रमण तयारी

    काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउने कार्यक्रम तय भएको छ ।

    यद्दपी यसको औपचारिक कार्यक्रम भने सार्वजनिक गरिएको छैन । उनी आशन्न चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका सिलसिलामा नेपाल आउन लागेका हुन् ।

    वाङ पाकिस्तानको इलामावाद हुँदै नेपाल आउन लागेका हुन् । उनी आइतबार र सोमबार नेपालमा रहने छन् । यसबीचमा वाङले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।

    शनिबार इस्लामावादमा पाकिस्तान, अफगानिस्तान र चीनको त्रिपक्षीय सहयोगसम्बन्धी बैठकमा भाग लिएर उनी नेपाल आउने कार्यक्रम बनाइएको छ ।

    वाङ भारत भ्रमणमा गई दुई देशको सीमासम्बन्धी छलफल गर्ने कार्यक्रम रहेपनि त्यो वार्ता रद्द भएपछि नेपाल आउने वातावरण बनेको हो । निकट भविश्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदैछन् ।

  • आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता

    आन्दोलन सामु झुक्यो हङकङ, सुपुर्दगी विधेयक फिर्ता

    हङकङ । लगातार तीन महिनाभन्दा लामो आन्दोलनको बलमा हङकङमा सुपुर्दगी विधेयक फिर्ता भएको छ ।

    हङकङ सरकारको तर्फबाट प्रमुख ल्यारी क्यामले बुधबार विधेयक फिर्ता भएको घोषणा गरेकी छन् ।

    विधेयक ल्याएसँगै हङकङमा सम्भवतः सबैभन्दा ठूलो आन्दोलन भएको छ । जसको बेलमा विधेयक फिर्ता भएको हो ।

    विधेयक फिर्ता भएपछि आन्दोलन फिर्ता हुन्छ या जारी रहन्छ भन्ने बारे चाँही यसै भन्न नसकिने संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    किनकी सरकारको रवैयाबाट जनता यस पटक संशकीत बन्न पुगेका छन् । हङकङ चीनद्धारा शासन गरिएको क्षेत्र हो, तर यहाँ बेइजिङको कानुन लागु हुँदैन ।

    हङकङका विधायिकामा हङकङको नागरिकले चीन गएर कुनै आपराधिक क्रियाकलाप गरे चीनलाई नै सुपुर्दगी गर्ने विधेयक आएपछि त्यसको व्यापक विरोध भएको हो ।

    झन्डै २० लाख मानिस सडकमा उत्रिएर यस विधेयकको विरोध गरेका थिए । हङकङको नागरिकलाई सोही मुलुककै कानून लागु हुने भन्दै चीनको कानूनसँग सुम्पने विधायीका मान्य नहुने जनताको भनाई थियो ।

    प्रमुख क्यामले विधेयक अघि नबढाउने भने पनि फिर्ता लिन मानिरहकी थिइनन् । जसले गर्दा आन्दोलन अझै चर्किएको थियो ।

    प्रदर्शनकारीले विधेयकमा सरकार टसमस हुन नमानेपछि प्रमुखको राजिनामा र आम निर्वाचनबाट प्रमुख चुन्न पाउनुपर्ने व्यवस्थाको समेत माग गरिरहेका छन् ।

    एजेन्सी

  • जब सीता एयरको एक इन्जिन आकासमै फेल भयो….

    जब सीता एयरको एक इन्जिन आकासमै फेल भयो….

    काठमाडौं । सीता एयरको जहाज एक इन्जिनको भरमा लुक्लादेखि काठमाडौं आइपुगेको छ । सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले ट्वीट गर्दै त्यसको जानकारी गराएका छन् ।

    उनका अनुसार लुक्लाबाट उडेको केही समय भित्रै जहाजको एक इन्जिनले काम गर्न छाडेको थियो । तर चालक दलले जहाजलाई काठमाडौं नै ल्याउने निर्णय गरे ।

    लुक्ला काठमाडौं उडान २५ मिनेट अवधिको हो । बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाज पौने ९ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको हो ।

    विमानस्थलका अनुसार उक्त जहाजले आपतकालिन अवतरणको माग गरेको थियो । किनकी एक इन्जिनका भरमा आएको उक्त जहाजसँग आकासमा थप होल्ड गर्न सक्ने जोखिम लिनु उपयुक्त हुँदैनथ्यो ।

    कम्पनीकाअनुसार जहाजमा यात्रु थिएनन् । चालक दलका सदस्य र जहाज सुरक्षित रहेको कम्पनीले जनाएको छ । सीताले पहाडी र हिमाली क्षेत्रका जोखिमपूर्ण विमानस्थलहरुमा उडान गर्छ । यस कम्पनीसँग ४ वटा साना जहाज रहेका छन् ।

  • घट्दैछन् म्यानपावर कम्पनी

    घट्दैछन् म्यानपावर कम्पनी

    काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको व्यवस्थापन गर्न भन्दै खुलेको म्यानपावर कम्पनीको संख्या अब भने घट्ने भएको छ ।

    १ भदौसम्म १३२३ वटा म्यानपावर कम्पनी कानूनि रुपमा अस्तित्वमा रहेका थिए । सरकारले यसबीचमा कम्पनीहरुलाई धरौटी रकम बढाएर मर्ज हुन अवसर दिएको थियो ।

    सरकारले बुधबार अन्तिम म्याद राखेर दिएको समयमा ८ सय ४८ म्यानपावर कम्पनीले मात्र बैंक ग्यारन्टी र धरौटी सरकारले तोकेबमोजिम पुरा गर्न सफल भएका छन् ।

    अब सरकारी मापदण्ड पुरा गर्न नसकेका सबै म्यानपवार कम्पनी खारेज हुने वैदेशिक रोजगार विभागको भनाई रहेको छ ।

    इजाजतपत्र लिए पनि धरौटी र बैंक ग्यारेन्टी पुरा नगर्ने कम्पनी बन्द हुने भएका हुन् । इजाजतपत्र लिएपनि ३ सय ३ वटा म्यानपावरले धरौटी रकम सरकारले तोकेअनुसार पुर्याउन सकेनन् ।

    यसबीचमा कतिपय कम्पनी भने गाभिएर ठूलो कम्पनीमा रुपान्तरण भएको छन् । जसले गर्दा उनीहरुको बैंक ग्यारेन्टी पुगेको हो ।

    सरकारले नेपालमा ५ सय देखि ६ सयको बीचमा म्यानपावर कम्पनी राख्ने लक्ष्यसहित धरौटी बुझाउन सक्ने र म्यानपावर कम्पनी घट्ने अपेक्षा गरेको थियो । तर, सरकारको सोच भन्दा फरक व्यवसायीहरु धरौटी राख्न सफल भएका छन ।

    बुधबार अन्तिम दिन मात्र करीव १ सय कम्पनीले धरौटी बुझाएको बताइएको छ । सरकारले बैदेशिक रोजगार ऐन संशोधन गरी म्यानपावर कम्पनीले बुझाउनु पर्ने धरौटी रकम बढाएको हो ।

    यस ऐनअनुसार वार्षिक ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान ल्याइएको छ ।

    तीनदेखि ५ हजारसम्म कामदार पठाउने कम्पनीले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी राख्नुपर्छ । ५ हजारभन्दा बढी कामदार पठाउने कम्पनीले दुई करोड नगद धरौटी र तीन करोड बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान रहेको छ ।

    यसअघिको नियम अनुसार म्यानपावर कम्पनीले ७ लाख नगद धरौटी र २३ लाख बैंक धरौटी राखे पुग्ने थियो ।

    आफ्नो कम्पनीबाट गएका कामदार पनि विदेशमा अलपत्र पर्दा कम्पनीले त्यसको जिम्मा लिन नसक्ने अवस्था आएपछि सरकारले धरौटी रकम बढाउने निर्णय लिएको हो ।

  • जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा

    जापानमा नेपालीलाई केयर गिभरको अवसर, कात्तिकमा परीक्षा

    काठमाडौं। जापान सरकारले अब औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया थालनी गरेको छ ।

    नेपालसहित ९ देशबाट आप्रवासी कामदार लैजाने घोषणा यस अघि नै गरेको जापान सरकारले अब कामदार भित्राउने औपचारिक प्रक्रिया शुरु भएको बताएको छ ।

    जापानले विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदारलाई अवसर दिँदैछ । त्यसअन्तर्गत पहिलो चरणमा नेपालीले केयर गिभरमा अवसर पाउने भएका छन् ।

    नर्सिङ केयरमा कामदार भित्राउन लागिएको जापानको स्वास्थ्य तथा श्रम मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार जापानमा रोजगारी गर्न योग्य हुने व्यक्तिले जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने प्रावधान तोकिएको छ ।

    नर्सिङ केयर गिभरमा पहिलो चरणमा नेपालबाट युवाले अवसर पाउने निश्चित भएको हो । मन्त्रालयका अनुसार यस कामका लागि जान चाहनले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ पास गर्नुपर्छ ।

    उक्त टेस्टमा ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्ने गरी पाठ्यक्रम तय गरिएको छ । कम्प्यूटरका माध्यमबाट प्रयोगात्मक परीक्षाको समेत व्यवस्था रहेको उल्लेख छ ।

    ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ मा भने ३० मिनेट भित्र १५ वटा प्रश्नको उत्तर दिएर टेस्ट पास गर्नुपर्ने गरी पाठ्यक्रम तयार पारिएको छ ।

    यी दुई टेस्ट दिन एक हजार जापानी येन दस्तुरको व्यवस्था भएको मन्त्रालयले जानकारी दिएको छ ।

    पास हुन ६० प्रतिशत कम्तिमा ल्याउनु पर्ने र परिक्षा दिएको एक महिना भित्रै नतिजा सार्वजनिक हुन भएको छ ।

    जापानले यस्तो परिक्षा कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन गर्दैछ ।

    नेपाल सरकार र जापान सरकारबीच द्धिपक्षीय सम्झौता अनुसार कामदार जापान पठाउन लागिएको हो ।

  • देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित

    देशभर वर्षाको सम्भावना, सचेत रहन सूचित

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

    खासगरी नदीहरुमा पानीको बहाव बढ्ने र पहाडमा पहिरोको सम्भावना हुने भन्दै मौषम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको हो ।

    महाशाखाद्धारा जारी बुलेटिन अनुसार भारी र सामान्य वर्षाले समेत हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।

    मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थान भन्दा माथि र अन्य ठाउंमा औसत स्थान आसपास रहेका कारण देशैभर वर्षाको सम्भावना रहेको बताइएको छ ।

    बंगालको खाडीको उत्तर- पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेपछि त्यसले नेपालमा पनि वर्षा पार्न सहयोग पुर्याउँछ ।

    हल्कादेखि मध्यम खालको वर्षा भने शुक्रबारसम्म नै जारी रहन सक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • काठमाडौंमा फेरी झुण्डिएको अवस्थामा फेला परे जोडी

    काठमाडौंमा फेरी झुण्डिएको अवस्थामा फेला परे जोडी

    काठमाडौं । पछिल्लो समय नेपालमा आत्महत्याको घटना निकै बढेका छन् । त्यसमा पनि राजधानी काठमाडौंमा जोडीसहित आत्महत्या गर्नेको संख्या उल्लेख्य बढेको हो ।

    आइतबार मात्र एक जोडी गौशालास्थित भण्डारखालको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार खोटाङ घर भएका एक जोडीले आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।

    खोटाङ, दित्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङकै टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइ मंगलबार बिहान एकै ठाउँ रूखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

    बिहान हिडाईमा निस्किएका स्थानीयले जोडी रुखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनापछि प्रहरीले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाएको थियो ।

    केही साता अघि गौगबुमा एक जोडी होटेलमा मृत अवस्थामा फेला परेका थिए । त्यसअगाडी अर्को एक जोडी झुण्डिएकै अवस्थामा फेला परेका थिए ।

  • सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स

    सिंगापुरबाट प्रधानमन्त्रीको दोस्रो भिडियो कन्फ्रेन्स

    काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपालमा रहेका मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्समा कुराकानी भएको छ ।

    प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएपछि दोस्रो पटक यस्तो कुराकानी भएको हो । पहिलो पटक भएको भिडियो कन्फ्रेन्स निकै विवादित बन्न पुगेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भिडियो कन्फ्रेन्सलाई मन्त्रीपरिषद् बैठक भनि टुइट गरेपछि त्यस बैठकको बैधानिकता माथि नै प्रश्न उठेको थियो ।

    किनकी कानून अनुसार प्रधानमन्त्री देश बाहिर रहँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्रीलाई दिइएको हुन्छ ।

    यस्तो अवस्थामा प्रधानमन्त्रीले भिडियोका माध्यमबाट मन्त्रीहरुसँग गरिएको कुराकानीको विषयलाई लिएर ठूलो विवाद भइरहेको छ ।

    आइतबार पनि प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सबै सदस्यसँग सामूहिक रुपमा भिडियोमा कुराकानी गरेका छन् ।

    कुराकानीका क्रममा समसामयीक विषयवस्तुबारे प्रधानमन्त्रीले मन्त्रीबाट जानकारी लिएको बताइएको छ ।

    प्रधानमन्त्रीले सुर्खेतमा गाईगोरुलाई भीरबाड लडाएर मारिएको घटनालाई गम्भीर रुपमा लिएको बताइएको छ ।

    प्रधानमन्त्रीको चासोपछि गृहमन्त्री रामबहादुर थापा बादलले छानविन समिति गठन गरी घटनबारे छानविन भइरहेको प्रधानमन्त्रीलाई अपडेट गराएका थिए ।

    चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरेको घटनाबारे पनि उनले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

  • कस्तो छ प्रधानमन्त्रीलाई ?

    कस्तो छ प्रधानमन्त्रीलाई ?

    काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गोप्य राखेको छ । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री विगत १२ दिनदेखि उपचारका क्रममा सिंगापुरमा छन् ।

    आम जनतालाई प्रधानमन्त्रीलाई कस्तो होला भन्ने निकै ठूलो चासो छ, तर सरकारले यो विषयमा स्पष्ट धारणा ल्याउन सकेको छैन ।

    यसै मेसोमा प्रधानमन्त्रीलाई भेट्ने सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल मंगलबार सिंगापुरतर्फ प्रस्थान गरेका छन् ।

    उनीसँगै नेकपा उपाध्यक्ष वामदेव गौतमसमेत जाने कार्यक्रम रहेको बताइए पनि गौतम भने गएनन् ।

    सिंगापुर उड्नुअघि नेता पौडेलले स्वास्थ्य अवस्था बुझ्ने र प्रधानमन्त्री सँगै स्वदेश फर्कने कार्यक्रम तय गरी आफू सिंगापुर जान लागेको बताएका थिए । प्रधानमन्त्री स्वस्थ रहेको समेत उनको भनाई थियो ।

    प्रधानमन्त्री २० भदौमा स्वदेश फर्कने बताइएको छ । यद्दपी उनको उपचार जारी रहेका कारण त्यो पनि सर्ने हो की भन्ने आशंका पनि छन् ।

  • आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो

    आवको पहिलो महिनामा वैदेशिक व्यापार-आयातको वृद्धिदर घट्यो

    काठमाडौं । आर्थिक वर्षको पहिलो महिना (साउन)मा आयातको वृद्धिदर घटेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५\७६ को साउनको तुलनामा चालु आव २०७६\७७ को साउन महिनामा आयातको वृद्धिदर घटेको हो ।

    यस अवधिमा निर्यात व्यापार भने बढेको छ । तथ्यांक अनुसार साउनमा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सामान भित्रिएको छ । गत वर्ष १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँ बराबरको सामान नेपाल भित्रिएको तथ्यांक रहेको छ ।

    यस साउनमा अघिल्लो साउनको तुलनामा ११।५१ प्रतिशतले कम सामग्री आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख भएको छ ।

    यस अवधिमा नेपालले ८ अर्ब ८४ करोड ७० लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । अघिल्लो वर्ष यस महिनामा नेपालको निर्यात ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बराबरको रहेको थियो ।

     

    आयात घटेपछि आव २०७५र७६ को तुलनामा आव २०७६र७७ को साउनमा व्यापार घाटा पनि घटेको तथ्यांले देखाएको छ ।

    तथ्यांक अनुसार यस महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँको रहेको छ ।

    अघिल्लो वर्ष एक महिनामा १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँको व्यापार घाटा भएको थियो ।

  • अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

    अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता हुने

    अफगानिस्तानमा खटिएका ५४ सय अमेरिकी सेना स्वदेश फिर्ता हुने भएका छन् ।

    तालिबान लडाकु समूहसँग आगामी २० साता भित्रै ५४ सय अमेरिकी सेना फिर्ता लैजाने सहमति भएको एक अमेरिकी उच्च अधिकारीले जनाएका छन् ।

    बीबीसीका अनुसार उनी वाशिङटनका तर्फबाट तालिवान लडाकुसँग वार्तामा खटिएका एक उच्च वार्ताकार थिए ।

    जालमाइ खलिलजाद नामक ति अधिकारीले टेलिभिजन अन्तर्वार्ताका दौरान सहमतिको विवरणबारे केही खुलाएका हुन् ।

    सहमतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उनले जानकारी गराएका छन् ।

    अमेरिकासाग सहमतिका वावजुत पनि अफगानिस्तानमा तालिवानको आक्रमण भने रोकिएको छैन । सोमबार मात्र काबुलमा भएको विस्फोटमा ५ जनाको ज्यान गएको छ ।

    यसको जिम्मेवारी समेत तालिवानले लिएको छ । खलिलजाद तालिबान-अमेरिका सहमतिका रणनीतिकार मानिन्छन् । लामो समयदेखि तालिवान अमेरिकासँग वार्तामा बस्न मानिरहेको छैन ।

    उसले मच्याएको हिंसात्मक गतिविधिका कारण अफगानिस्तानमा लाखौं निहत्था मानिसको ज्यान गइसकेको छ ।

    सैनिक फिर्ताको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका अफगानिस्तान अखडा नबन्न सुनिश्चित गर्ने सहमति भएको बताइएको छ।

    अहिले अमेरिकामा १४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

    एजेन्सी

  • उपनिर्वाचनमा भाग लिन दल दर्ता अनिवार्य 

    उपनिर्वाचनमा भाग लिन दल दर्ता अनिवार्य 

    काठमाडौं । नेकपासहितका दलले आसन्न उपनिर्वाचनमा भाग लिन अनिवार्य दल दर्ता गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले दल दर्ताका लागि राजनीतिक दललाई आह्वान गरेको हो ।

    एमाले र माओवादी मिलेर निर्वाचन पछि एकिकरण भएका कारण नेकपाले नि उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएको हो ।

    १४ मंसिरमा विभिन्न तहमा रिक्त रहेको पद परिपूर्तिका लागि उपनिर्वाचन हुँदैछ । यस दिन एकै पटक संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन हुने छ ।

    आयोगले २०७४ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका राजनीतिक दल बाहेकलाई उपनिर्वाचनमा दल दर्ता गर्न आह्वान गरेको हो।

    उक्त निर्वाचनमा भाग लिएका दलले भने दल दर्ता गरिरहन नपर्ने भएको हो । सोहीकारण उक्त निर्वाचनपछि संगठित भएका दलले दल दर्ता गर्दा नेकपासमेत दर्ता गर्नुपर्ने सूचिमा परेको हो ।

  • क्यारेवियन क्षेत्रमा विनासकारी तूफान

    क्यारेवियन क्षेत्रमा विनासकारी तूफान

    क्यारेवियन क्षेत्रमा आएको विनासकारी तूफानले जनजीवन प्रभावित भएको छ । डोरियन नाम गरेको उक्त तूफानका कारण आएको तिब्र गतिको हावाले जनजीवन प्रभावित बनाएको हो ।

    वर्षा र हावाका कारण बहामास क्षेत्रमा हजारौं घरमा क्षति पुगेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । क्षति हुने आंशकामा सामुन्द्रीक किनाराबाट हजारौं मानिसलाई सुरक्षित स्थान जान सूचित गरिएको थियो ।

    क्यारेवियन टापूमा आएको यस तूफानले कति क्षति गरायो भन्नेबारे भने यकिन तथ्यांक आइसकेको छैन । तूफान १८५ माइल प्रतिघण्टाको गतिमा आएको थियो ।

    यो क्यारेवियन टापूमा आएको सबैभन्दा खतरनाक तूफान मानिएको छ । अमेरिकी नेशनल मौसम विभागका अनुसार समुन्द्रमा २३ फूट उचाईसम्मका छालहरु देखिएका थिए ।

    एजेन्सी

  • पत्रकार बन्न लाइसेन्स अनिवार्य

    पत्रकार बन्न लाइसेन्स अनिवार्य

    काठमाडौं । पत्रकारको योग्यताको विषयलाई लिएर नेपालमा लामो समयदेखि वहस जारी रहेको छ । खासगरी ब्लग र यूट्यूवको लहर आएसँगै पत्रकारको योग्यतामाथि प्रश्न उठिरहेको छ ।

    यसै मेसोमा कानुनमै पत्रकारको योग्यता तोक्ने गरी सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् ।

    आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएका छन् र संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्दा परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ ।

    पत्रकारिता व्यवसायी परीक्षा नाम दिइएको यो परीक्षा मिडिया काउन्सिल अन्तर्गत रहने परीक्षा समितिले लिने उनीहरुको प्रस्तावमा उल्लेख रहेको छ ।

    काउन्सिलले वर्षमा दुई पटक पत्रकारिता पेशामा प्रवेश गर्ने सम्बन्धि परीक्षा सञ्चालनको प्रस्ताव गरिएको छ ।

    त्यसका लागि पाठ्यक्रम पनि काउन्सिलबाटै तयार पार्नुपर्ने प्रावधान संशोधनमा समेटिएको छ ।

    पत्रकारिता क्षेत्रमा पढेलेखेका पत्रकारको तुलनामा राजनीतिक पहुँचका भरमा आएका मानिसहरुको बाहुल्य रहँदा यो पेशा प्रति नै नागरिकको वितृष्णा फैलिदै गएको छ ।

  • दशैंका लागि कहिले खुल्छ अग्रिम बुकिङ ?

    दशैंका लागि कहिले खुल्छ अग्रिम बुकिङ ?

    काठमाडौं । नजिकिएको दशैंका लागि अग्रिम बुकिङ खुलाउन सरकारले व्यवसायीसँग छलफल डाकेको छ । २५ भदौबाट अग्रिम बुकिङ खुलाउने प्रस्तावसहित सरकारले व्यवसायीसँ छलफल गर्न लागेको हो ।

    यातायात व्यवस्था विभागले बुधबार व्यवसायीसँग छलफल डाकेको हो । उनीहरु सहमत भएमा २५ भदौबाट अग्रिम बुकिङ खुल्ने विभागले जनाएको छ ।

    अग्रिम बुकिङ खोल्नुअघि व्यवसायी भने भाडा समायोजनको मागमा छन् । उनीहरुले लामो समयसम्म भाडा समायोजना नहुँदा व्यवसाय संचालनमा समस्या हुने भन्दै सरकारसँग गुनासो गरिरहेका छन् ।

    सरकारले गत ५ महिना अगाडी भाडादर समायोजन गरेपनि केही घण्टा भित्रै फिर्ता लिएको थियो ।

    व्यवसायीले भाडा दरलाई अग्रिम बुकिङसँग बार्गेनिङ गर्दै आएका छन् ।

    दशैंको बेला काठमाडौं उपत्यकासहित शहरी इलाकाबाट ठूलो संख्यामा यात्रुहरु ग्रामिण भेगतर्फ निस्कने गर्छन् ।

  • चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?

    चीन-अमेरिका व्यापार युद्ध, विश्व अर्थतन्त्रमा के पर्छ असर ?

    वासिंटन । आइतबारदेखि अमेरिकामा ठूलो परिमाणको चिनियाँ सामानमा नयाँ कर प्रणाली लागु भएको छ । यो यस्तो अवस्थामा लागु भएको छ, जहाँ विश्व अर्थतन्त्र मन्दीको चपेटामा छ ।

    सूनको भाउले चुचुरो छोएको छ भने संसारभरको शेयर बजारमा भारी गिरावट आउने क्रम जारी छ । चीनले समेत अमेकिरी सामानमा कर वृद्धिको घोषणा गरेको छ ।

    चीनलाई दवाव दिन आइतबार देखि अमेरिकाले नयाँ कर नीति ल्याएको हो । यस नीतिले कर बढाइदिएको छ ।

    जसको असर अब अमेरिकामा आयात हुने चिनियाँ सामान महगो हुनेछन् । यो निकै ठूलो परिमाणमा हुनेछ । किनकी अमेरिकाले ३ सय अर्ब अमेरिकी डलर बराबरको सामानमा यस्तो कर बढाइदिएको छ ।

    यसले आर्थिक मन्दी तथा मंहगी वृद्धिमा अझ बढी सहयोग आंशका अर्थशास्त्रीहरुको रहेको छ ।

    नयाँ कर नीतिले खाद्य सामग्री, खेलकुदका सामान, संगीत, फर्निचरसहित दैनिक उपभोग्य वस्तुको भाउ बढाउने छ ।

    चीनसँग नयाँ व्यापार सम्झौता नहुने हो भने यस वर्षको अन्त्यसम्म सबै चिनियाँ सामानको भाउ अमेरिकामा निकै बढ्नेछ ।

    त्यसले आयात घट्न गई चीनले ठूलो आर्थिक मन्दि भोग्नुपर्ने चेतावनी अमेरिकाको रहेको छ ।

    अमेरिकाको यही चेतावनीका बीच चीनले समेत अमेरिकी सामानको कर बढाइदिएको छ ।

    एजेन्सी

  • आज हरितालिका तीज, धुमधामले मनाइदै

    आज हरितालिका तीज, धुमधामले मनाइदै

    काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज, आज देशभर धुमधामसहित मनाइदैछ । श्रीमानको लामो आयूको कामना गर्दै यस दिन महिलाहरु व्रत बस्छन् ।

    शिव मन्दिरमा पुगेर भगवान शिवको पूजा आरधना गर्छन् भने दिनभर नाचगान गरी रमाइलो गरी यो चाड मनाउन प्रचलन रहेका छ । यस दिन सरकारले बिदा घोषणा गरेको हुन्छ ।

    काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि महिला भक्तालुको घुइचो शुरु भइसकेको छ ।

    रातो साडीमा सजिएर मन्दिर पुग्ने महिलाहरुको ताँतीका कारण आज शिवालय, पार्क तथा सडक निकै आकर्षक देखिन्छन् । नेपालमा मात्र नभई विदेशमा समेत यसको विशेष रौनक हुन्छ ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टका अनुसार विदेशमा सबै महिलाले रातो साडी लगाएर सडकमा निस्कदा त्यसको खास महत्व हुन्छ ।

    सोहीकारण सडक महोत्सव तथा तीज विशेष कार्यक्रम गरी विदेशमा विभिन्न शहरमा यो चाड मनाइदैछ ।

    यस वर्षको तीजलाई नेपाल भ्रमण वर्षको तयारीका रुपमा समेत लिइने उनले बताउँदै आएका छन् । पशुपतिनाथमा मात्र आज ७ लाखले दर्शन गर्ने विश्वास रहेको छ । पुरुषलाई बिहान ६ बजेबाटै प्रवेश निषेध भइसकेको छ ।

  • जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता

    जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवी कुमारीको मासिक भत्ता बढाएको छ ।

    यसअघि २५ हजार रुपैयाँ मासिक दिँदै आएकोमा अब शतप्रतिशत बढाएर ५० हजार पर्याइएको महानगरपालिकाले जानकारी दिएको छ ।

    आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मेयर विद्यासुन्दर शाक्यले कुमारीको मासिक भत्ता बढाउने घोषणा गरेका हुन् ।

    पूर्वकुमारीले मासिक १५ र पूर्व गणेश र पूर्व भैरवले १२–१२ हजार प्राप्त गर्नेसमेत कार्यक्रममा जानकारी गराइयो । चिताइदारको पनि मासिक भत्ता ५० हजार पुर्याइएको छ भने पूर्वचिताइदारले मासिक १५ हजार पाउने भएका छन् ।

    उनीहरुको यसअघिको रकम ८\८ हजार रुपैयाँ रहेको थियो । सोही कार्यक्रममा काठमाडौँ महानगरपालिकाले ईन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक दिएको छ ।

    इन्द्रजात्रालाई नेपालको पहिचानका रुपमा स्थापित गर्न विभिन्न मुलुकबाट विशिष्ट पाहुनाहरुसमेत बोलाउने तयारी गरिएको छ । काठमाडौं उपत्यका सांस्कृतिक विशेषताका कारण पनि विश्वभर परिचित शहर हो ।

  • चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

    चिनियाँ ह्याकरविरुद्ध नेपाल प्रहरीको ठूलो सफलता, एटीएमबाट करोडौं निकाल्ने चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । शनिवार बेलुका काठमाडौंका विभिन्न बैंकका एटीएम बुथबाट एकैपटक ४ करोड रुपैयाँ निकालियो ।

    सामान्य अवस्थाभन्दा बढी रकमको चाप एटीएम सिस्टममा भएपछि बैंकका कर्मचारीलाई त्यसले सशंकीत बनायोे । त्यसको खबर बैंकका कर्मचारीले प्रहरीलाई दिए । त्यसपछि प्रहरीले खोजी थाल्यो ।

    दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि प्रहरी त्यो चिनियाँ समूहसम्म पुर्यायो, जसले नेपालका एटीएम बुथबाट करोडौं रुपैयाँ निकालिसकेको थियो ।

    चतुर चिनियाँ ह्याकरले केही समयको अन्तररालमा पक्राउ गर्न गर्ने काममा बैंकका कर्मचारीले पनि उत्तिकै सहयोग गरे ।

    प्रहरीले आइतबार दिउसो पत्रकार सम्मेलन गरी एटीएम सिस्टम ह्याक गरी पैसा चोर्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    प्रहरीले घटनाको बेलिबिस्तार समेत सोही समयमा सार्वजनिक गरेको छ । कूल रकम कति चोरी भयो भन्ने बारेमा एकिन तथ्यांक भने सार्वजनिक गरिएको छ ।

    एउटा बैंकको एटीएममा अर्को बैंकको भिसा कार्ड प्रयोग गरी पैसा निकालेको पाइएको प्रहरीले पत्रकार सम्मेलनका दौरान जानकारी दियो ।

    प्रहरीका अनुसार दरबारमार्ग र यस आसपासका विभिन्न एटीएम बुथमा सामान्य दिनभन्दा शनिार धेरै पैसा निकालिएको थियो । सोहीकारण बैंकका कर्मचारीलाई शंका लाग्यो ।

    उनीहरुले प्रहरीलाई खबर गरे । त्यसपछि महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो ।

    जब प्रहरीले नबिल बैंकको एटीएमबाट एक जनालाई पक्राउ गर्यो, उनकै सहायतामा प्रहरी टोलीसमक्ष पुग्न सफल भएको हो ।

    ती व्यक्तिले होटेलको चावी प्रहरीलाई देखाएपछि उनीहरु बसेको होटेल हात्तिसारस्थित माया मनोहर बुटिक होटेलमा प्रहरी पुग्यो ।

    प्रहरी पुगेको खबर पाएपछि लिफ्टबाट भाग्दै गरेका अन्य ४ चिनियाँ पनि प्रहरीको फन्दामा परे । उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरेको उक्त अवसरमा जानकारी दियो ।

    त्यसबाहेक ९ हजार १ सय ८ अमेरिकी डलर, ११ सय ९१ चाईनिज मुद्रा, २ सय ५० यूरो, ५ हजार क्याम्बोडियन साथै ८० हङकङ डलरसमेत बरामद गरेको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    उनीहरुको साथबाट १३२ थान नक्कली भिसा कार्ड, १७ थान सक्कली भिसा कार्ड, कार्ड प्रिन्टर मेसिन १ थान, ६ थान मोबाईल, ल्यापटप, डाटा कार्ड लगायतका सामान पनि बरामद भएको प्रहरीको भनाई छ ।

    चीनमै योजना बनाएर उनीहरु नेपाल आएका र ठूलो रकम कुम्ल्याएर भाग्ने दाउमा रहेको प्रहरीले उल्लेख गरेको छ । उनीहरु १३ भदौमा नेपाल आएको खुलेको छ ।

    आइतबार एकाएक एटीएम सिस्टम ह्याक भएको खबर सार्वजनिक भएपछि सर्वसाधारणमा भने आफ्नो रकमको सुरक्षाको चिन्ता बढेको छ ।

    उता, बैंकरहरुले भने सर्वसाधारणको रकम सुरक्षित हुने भन्दै नआत्तिन आग्रह गरेका छन् । शनिबार घटनालगत्तै सबै बैंकको एटीएम बन्द गरिएको थियो ।

    आइतबार भने एक बैंकको एटीएमबाट अर्को बैंकको रकम निकाल्न नमिल्ने गरी सबै एटीएम सूचारु भइसकेको छन् ।

    नेपालमा पहिलो पटक बैंक एटीएम सिस्टम नै ह्याक गरी यति ठूलो रकम चोरी भएको हो । बैंकका कर्मचारीको सुझबुझपूर्ण निर्णय र प्रहरीको सक्रियताले ठूलो आर्थिक दूर्घटना हुनबाट भने नेपाल जोगिएको छ ।

  • आजदेखि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द

    आजदेखि त्रिभुवन विमानस्थल ७ घण्टा बन्द

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । विमानस्थल राती दैनिक साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्मका लागि बन्द हुन लागेको हो ।

    विमानस्थलको धावनमार्गको पीच परिवर्तन गर्ने योजना अनुसार विमानस्थल ७ घण्टा बन्द हुन लागेको हो । १५ असारबाट २१ घण्टा खुलेको विमानस्थल फेरी बन्द गर्न लागिएको हो ।

    विमानस्थल तीन महिनासम्म स्तरोन्नती हुने र त्यसपछि २४ सै घण्टा खुला गर्ने योजना रहेको छ । धावनमार्गसहित ट्याक्सीवे र अन्य पूर्वाधार स्तरोन्नति गर्न यो अवधिमा विमानस्थल बन्द गर्न लागिएको हो ।

    त्यस अवधिमा ट्याक्सी वे, लाइट मर्मत तथा अन्य बाँकि काम सम्पन्न हुने भएको छ । यस अवधिमा मंगलबार, बिहीबार र शनिबार भने नेपाल एयरलाइन्सको जापान उडानको समय पर्छ ।

    त्यससमय भने विमानस्थल आधा घण्टा खुल्नेछ । नेपाल एयरलाइन्सको जापान उडान राती साढे २ बजे रहेको छ ।

    यसैबीच, कतारबाट आइतबार बिहान आएको कतार एयरवेजको जहाजमा चराको प्वाँख देखिएपछि जहाज ग्राउण्डेड गरिएको छ ।

    चरा ठोक्किएर जहाजको इन्जिनमा क्षति पुगेको आशंकासहित जहाज ग्राउण्डेड गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    कतारबाट इन्जिनियर मगाएपछि मात्र उक्त जहाज उड्ने भएको हो । त्रिभुवन विमानस्थल चराको उच्च जोखिममा रहेको छ ।

  • अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु

    अमेरिकामा फेरी गोली चल्यो, कम्तिमा ५ को मृत्यु

    टेक्सास । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सासमा यो घटना भएको हो । जहाँ एक महिनाको अन्तरमा दोस्रो पटक यस्तो आततायी घटना भएको छ ।

    यसअघि टेक्सासमै एक बन्दुकधारीले गोली चलाउँदा २२ जना मारिएको थिए । बीबीसीका अनुसार घटनामा कम्तिमा २० जना घाइते छन् ।

    उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समय अनुसार शनिबार अपरान्ह एक बन्दुकधारीले मानिसहरुलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएको थियो ।

    टेक्सासको पश्चिमी शहर ओडेसा र मिडल्याण्डमा बन्दुकधारीले गाडी भित्रबाटै मानिसहरुमाथि गोली चलाएको प्रहरीको भनाई छ । त्यसपछि प्रहरीले जवाफी कारवाही गरेको थियो ।

    प्रहरीको गोलीले बन्दुकधारीको समेत मृत्यु भएको बताइएको छ । घाइतेमध्ये ७ जना गम्भीर छन् ।

    २ जना नावालकको समेत उपचार भइरहेको छ । घाइते हुनेमा प्रहरी अधिकारीहरु समेत रहेको समाचारमा उल्लेख गरिएको छ ।

    अमेरिकामा मास सूट एक सामान्य घटना भइसकेको छ । जहाँ वर्षेनी ४० हजार भन्दा बढी मानिसको मृत्यु यसरी सनकको भरमा हुने घटनाबाट हुने गरेको छ ।

  • शुरु भयो तीजको रौनक, आज दरखाने दिन

    शुरु भयो तीजको रौनक, आज दरखाने दिन

    काठमाडौं । महिला हिन्दु धर्मावलम्वीहरुको महान चाड हरितालीका तीज शुरु भएको छ । भाद्र शूल्क द्धितियादेखि पञ्चमीसम्म मनाइने यो चाड आइतबारबाट शुरु भएको हो ।

    आइतबार चेलीबेटी आफ्नो माइतीमा पुगेर मिठो मसिनो खाने र तृतियाको दिन निराहार व्रत बस्ने प्रचलन रहेको छ ।

    त्यसकारण दर खाने दिन रातको १२ बजेसम्म पनि खीरलगायतका परिकार बनाएर खाने प्रचलन परम्परागत रुपमा रहिआएको छ । तीजमा मूख्यगरी भगवान शिवजीको पूजा आराधना गरिन्छ ।

    यसबेला महिलाहरु तीज विशेष गीतमा नाचखान गर्दै दुखव्यथा पोख्नुका साथै साथीसँगीसग खुसी साट्ने गर्छन् । यो पर्व नेपालभर र भारतका पनि केही स्थानमा मनाउने प्रचलन रहेको छ ।

    आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै महिला व्रत बस्छन् । शिवजीलाई कुनै बाधा व्यवधान नआओस भनेर पार्वतीले निराहार व्रत बसेको सम्झनामा यो पर्व मनाउने गरिएको किंवदन्ती रहिआएको छ ।

    यस दिन पशुपतिनाथ मन्दिरमा खास मेला लाग्छ । यसबाहेक देशभरका शिवमन्दिरमा महिलाहरु उल्लासमय वातावरणमा सहभागी हुन्छन् ।

    पशुपतिनाथ मन्दिरमा दर्शनका लागि सबै तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।