Author: Vishwanews.com

  • एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

    एकै दिन तीन आत्महत्या, किन रोज्दैछ व्यक्तिले डरलाग्दो बाटो ?

    काठमाडौं । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्याको बाटो रोजेका छन् ।

    प्रहरीका अनुसार उनी सोमबार राती चितवनको नारायणगढस्थित बसपार्क नजिकै कंगारु होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

    उनी सोमबार दिँउसो साढे तीन बजे होटेलमा चेकइन गरेका थिए । रातको खाना खाने बेला बोलाउँदा उनले ढोका खोलेनन् ।

    त्यसपछि लामो समयसम्म ढोका नखुलेपछि होटेलले प्रहरीलाई खबर गरेको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीको भनाई छ ।

    उनी नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ कुमरीका स्थायी हुन् । पत्रकार रवि लामिछानेको कार्यक्रम न्यूज २४ को सीधा कुरा जनतासँग पनि आवद्ध भई काम गरिसकेका पत्रकार हुन् ।

    सोमबार नै काठमाडौंको कपनमा एउटै रुखमा पासो लगाएर युवायुवतीले आत्महत्या गरेको प्रहरीले बताएको छ ।

    सोलुखुम्बु सोताङ(४, नाम्लुङका २१ वर्षीय अमिर चन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङले एउटै रुखमा पासो लगाएर झुण्डिएका हुन् ।

    विवाहित खालिङकी एक छोरीसमेत छिन् भने नाछिरिङ अविवाहित हुन् । निर्मलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

    उता, सोमबार नै कुलत छुटाउन सुधार केन्द्रमा राखिएका एक पुरुषले सुधार गृहभित्रै झुण्डिएर आत्महत्याको बाटो रोजेका छन् । भक्तपुरको सूर्यविनायक-९, नंखेलस्थित भाटेढिकुरको नयाँ बिहानी सुधार केन्द्रमा ३९ वर्षीय माधव कार्कीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    उनी नेपाली सेनाका अवकासप्राप्त कर्मचारी रहेको बताइएको छ । उनी दोलखाका स्थायी बासिन्दा हुन् ।

    पछिल्लो समय नेपालमा विवाहइत्तर सम्बन्ध राख्ने र गल्ती गरेपछि त्यसको ढाकछोपका लागि आत्महत्याको बाटो रोज्ने प्रवृत्ति फैलिएको छ ।

    खासगरी वैदेशिक रोजगारीमा जाने परिवारहरुमा यो समस्या डरलाग्दो गरी फैलिरहेको छ । यसले गम्भीर सामाजिक समस्या ल्याउने चिन्ता समाजशास्त्रीहरु गर्छन् ।

  • विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

    विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

    काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ का लागि छनोट प्रतियोगिता खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ ।

    नेपालले विश्वकप छनोटको दोस्रो चरणका लागि तयार तिब्र बनाएको छ । नेपालको मूख्य प्रशिक्षण अहिले योहान कालिनले सम्हालेका छन् ।

    उनले पहिलो चरणमा ३१ जना खेलाडी राखेर प्रारम्भीक टोली घोषणा गरेका हुन् । उनले सुरुआती प्रशिक्षणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएका थिए ।

    पहिलो चरणको घोषणाबाट पाँच जना खेलाडी बाहिरिएका छन् । नेपाल फूटबल संघ (एन्फा)का अनुसार पहिलो चरणको प्रशिक्षणबाट कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्दाम्बे, अमित तामाङ र मिक्चेन तामाङ बाहिरिएका छन् ।

    विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । उसले कुबेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नु पर्नेछ । नेपालको पहिलो खेल कुबेतसँग सेप्टेम्बर पाँचमा हुनेछ ।

    यस्तो छ नेपालको प्रारम्भिक टोली
    विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अविषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तिमगर, रोहित चन्द ।

  • सरकारी कर्मचारीलाई कस्दै सरकार

    सरकारी कर्मचारीलाई कस्दै सरकार

    काठमाडौं । राज्य कोषबाट तलव भत्ता खाने सरकारी कर्मचारीलाई सरकारले काममा कस्ने भएको भएको छ ।

    खासगरी कार्यालय समयमा अफिस भन्दा बढी निजी काममा ध्यान दिने सरकारी कर्मचारीमाथि कडाईको तयारी सरकारले गरेको हो ।

    कानून बनाएरै निजी काममाथि बन्देज लगाउने तयारी सरकारको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कानून बनाएरै कार्यालय समयमा निजी काम गर्ने कर्मचारीमाथि कडाई गर्ने निर्णय गरेको छ ।

    संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको मंगलबार छलफल भयो ।

    छलफलका क्रममा सांसदहरुले सरकारी कर्मचारीलाई सरकारले काममा लगाउनै नसकेको भन्दै आलोचना गरे ।

    बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित स्वयमःले ऐनबाटै सरकारी कर्मचारीलाई कार्यालय समयमा निजी काममा व्यस्त हुन नपाउने व्यवस्था गर्न माग गरे ।

    निजी काममा व्यस्त भए त्यसलाई कार्य सम्पादन तथा अन्य मूल्यांकनको कुनै आधारसँग जोड्नु पर्ने उनको भनाई थियो ।

    कतिपय कर्मचारी ट्यूसन सेन्टर, कन्सल्टेन्सी तथा लाभका क्षेत्रमा व्यस्त भएर सरकारी काममा उदासिन रहने गरेको भन्दै आलोचना गरेका थिए ।

    सांसदहरुले कर्मचारीका लागि सरकारले दिने असाधारण बिदा समेत कटौतीको माग गरेका छन् ।

    हाकिम र मन्त्रीको तजबिजीमा यस्तो बिदा लिने प्रवृत्ति रहेको भन्दै हटाउनु पर्ने सांसदहरुको माग थियो ।

    मन्त्रालयका अनुसार अहिले असाधारण बिदामा अध्ययनका लागि जाने कर्मचारीको संख्या धेरै रहेको छ । बिरामी भएको बेला पनि लामो बिदा आवश्यक पर्दा यही सुविधा उपयोग हुने गरेको छ ।

    उता, निजामती कर्मचारीलाई दिइने अध्ययन विदामा पनि सरकारले कडाई गर्ने संकेत गरेको छ ।

    अध्ययन विदा लिएर विदेश जाने र उतै जागिर खान थाल्ने घटना दोहोरिन थालेपछि सरकारले कडाइ गर्ने भएको हो ।

    अब उचित कारण नदेखाई विदेशमा अध्ययनका लागि सरकारले स्वीकृति नदिने तयारी गरेको छ ।

  • मनसुन जारी, पश्चिम पहाडमा जोखीम

    मनसुन जारी, पश्चिम पहाडमा जोखीम

    काठमाडौं । मेघ गर्जनसहितको वर्षा र चट्याङले मंगलबार देशको पश्चिमी पहाडी भेगको मौसम प्रभावित हुने भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले ती स्थानका नदि किनार र जोखीमपूर्ण स्थानमा रहेका मानिसलाई पूर्वजानकारी दिँदै सचेत गराएको छ ।

    महाशाखाका अनुसार मंगलबार केही स्थानमा हल्का वर्षा हुनेछ भने पश्चिमी पहाडका केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरेको छ ।

    देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षा हुने भन्दै महाशाखाले सचेत गराएको छ ।

    महाशाखाका अनुसार डडेल्धुरा, डोटी, कैलाली आसपासमा ठूलो वर्षाको सम्भावना छ । पहाडका अन्य भेगमा समेत वर्षा हुने छ । पहाडको वर्षाले तराईमा डुबानको समस्या निम्त्याउँछ ।

    अर्कोतर्फ पहाडका संवेदनशिल क्षेत्रमा पहिरोको जोखिम उत्तिकै रहन्छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा समेत वर्षाको सम्भावना रहेको छ ।

    सोमबार बागलुङमा पहिरोमा परी तीन जनाले ज्यान गुमाएका थिए । बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सेन्टरमा पहिरोले पाँच घर पुरेको थियो ।

    सोमबार बिहान १ बजेतिर आएको पहिरोले स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

  • तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

    तरकारी र फलफूलमा कतिसम्मको विषादी खानलायक ?

    काठमाडौं । सरकारले नेपालमा उत्पादित फलफूल तथा तरकारीका लागि किटनाशक विषादीको अधिकतम सीमा तोकेको छ ।

    नेपालमा पहिलो पटक यस्तो सीमा तोकिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार पहिलो चरणमा दश प्रजातीका फलफूल र तरकारीको एमआरएल (म्याक्सिमम रेजिड्यू लिमिट) तोकिएको छ ।

    विभागले स्याउ, केरा, करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियापत्तिमा किटनाशक औषधिको अवशेष रहनु पर्ने अधिकतम प्रयोगको सीमा राखिएको हो ।

    पहिलो चरणमा हरेक दिन मानिसको भान्सामा प्रयाग हुने फलफूल र तरकारीमा यस्ता सीमा तोकिएको विभागको भनाई छ ।

    यस्तो सीमा निर्धारण भएपछि कुन विषादी राखेको कति समयपछि तरकारी र फलफूल खाँदा शरीरमा असर गर्दैन भन्ने निश्चित गरिन्छ ।

    तरकारी र फलफूलमा दजर्नौं प्रकारका विषादी प्रयोगमा रहेका छन् ।

    विभागले स्याउमा २७, केरामा ४२, करेलामा १, भण्टामा २१, बन्दामा ३६, काउलीमा १३, भिण्डीमा ३, आलुमा ७१, टमाटरमा ७३ तथा चियामा १९ प्रकारका औषधिको सीमा निर्धारण गरिएको उल्लेख गरेको छ ।

    सरकारले खानेपानी, पाउडर दुध र गेडागुडीमा भने यस्तो सीमा तोकिसकेको छ । निर्धारण गरिएको अधिकतम सीमा अनुसार तरकारी र फलफूलमा विषादीमो मात्रा ज्यादै कम अथवा नगन्य हुनुपर्छ ।

  • मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

    मेलम्चीको ठेक्का चिनियाँ कम्पनीलाई, दशैंपछि काम

    काठमाडौं। मेलम्ची खानेपानी आयोजना निर्माण गर्न नयाँ ठेक्का सम्झौताको तयारी भएको छ । मेलम्चीको बाँकि काम सम्पन्न गर्न चिनियाँ कम्पनी छानिएको छ ।

    मेलम्ची खानेपानी विकास समितिका अनुसार सुरुङमार्ग फिनिसिङ र हेडवर्क्सको कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो छनोट भएको हो ।

    आयोजनाको मूल्यांकन समितिले उक्त कम्पनी छानेको हो । एसियाली विकास बैकले स्वीकृति दिएमा सोही कम्पनीले बाँकि काम सक्नेछ ।

    एडीबी यस परियाजनाको लगानीकर्ता हो । यस कामका लागि चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रो रमण जेभीको आवेदन परेको थियो ।

    काठमाडौं उपत्यकाबासीलाई खानेपानीको हाहाकारबाट पार लगाउने लक्ष्य लिइएको यो आयोजना निर्माण कम्पनीले काम पुरा नगरी गएपछि विगत ६ महिना अगाडीबाटै अलपत्र अवस्थामा रहेको छ ।

    आयोजनाको काम भने दशैंपछि मात्र शुरु हुने आयोजनाले स्पष्ट पारेको छ ।

  • पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

    पेट्रोलपम्प व्यवस्थित बनाउने तयारी

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्र जथाभावी खुलेका पेट्रोलपम्पलाई व्यवस्थित बनाइने भएको छ ।

    मापदण्ड बीना नयाँ पेट्रोलपम्प खोल्न नदिने र भएका पेट्रोलपम्पले पनि व्यवस्थित संचालनको वातावरण बनाउनु पर्ने निर्णय महानगरपालिकाले गरेको छ ।

    महानगरपालिकाका अनुसार अब महानगर भित्र सडक किनारमा बीना मापदण्ड कुनै पनि पेट्रोलपम्प खोल्न अनुमति दिइने छैन ।

    खासगरी सडक किनारमै पेट्रोलपम्प खुल्दा त्यसले एकातर्फ शहरी सौन्दर्य बिगारीरहेको छ भने अर्कोतर्फ सडकमा जाम हुने समस्या समेत निम्त्याएको छ ।

    यस्ता पेट्रोलपम्पले सडक विभागको मापदण्ड पुरा गरेका छैनन् । त्यसकारण काठमाडौंका पेट्रोलपम्पलाई डरलाग्दो बमका रुपमा पनि लिइन्छ ।

    बस्तीसँगै जोडिएका र सुरक्षाको पर्याप्त प्रवन्ध नगरिएका कारण यहाँका पेट्रोलपम्प जोखिमपूर्ण मानिन्छ ।

    महानगरले पेट्रोलपम्प व्यवस्थित बनाउन भन्दै महानगर, आयल निगम, सडक विभाग, यातायात व्यवस्था विभाग र नगर प्रहरीलगायत सरोकारवाला निकायको संलग्नता रहन गरी एक समिति गठन गरी अध्ययन गरेको थियो ।

    समितिले नयाँ ऐन मापदण्ड तोकी पेट्रोल पम्प व्यवस्थित गर्न सुझाव दिएको छ ।

  • हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

    हट्यो संसदको गतिरोध, विशेष संसदीय समिति गठन

    काठमाडौं । सरकार र प्रतिपक्षी दलबीच दुई बुँदे सहमति भएसँगै प्रतिनिधिसभाको गतिरोध हटेको छ ।

    दुई पक्षबीच सोमबार प्रतिनिधिसभाको वर्तमान गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने र फेरि यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्न संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने गरी दुई बुँदे सहमति भएको हो ।

    सोहीअनुसार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति समेत गठन भएको छ । कांग्रेस र राजपाले संसद अवरुद्ध गरेका थिए ।

    सहमतिअनुसार आगामी दिनमा गतिरोध नआओस भनी अध्ययन गरी सुझाव दिने जिम्मेवारी यो समितिले पाएको छ ।

    समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, विन्दा पाण्डे, कांग्रेस सचेतक पुष्पा भुसाल र मिनेन्द्र रिजाल, समाजवादी पार्टीका उमाशंकर अरगरिया र राजपाका लक्ष्मणलाल कर्ण सदस्यका रुपमा तोकिएका छन् ।

    सोमबार संसद शुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारका नाममा रुलिङ गरेका थिए ।

    मधेस तथा थरुहटमा भएका आन्दोलन र त्यस क्रममा भएका सरकारी दमनको छानबिन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा आयोग बनाएको थियो ।

    तर, आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन । संसदमा रहेको अवरोध हटाउन सभामुख कृष्णबहादुर महराको पहलमा सर्बदलीय बैठक बसेको थियो ।

    सहमतिमा विप्लव कार्यक्रताको भिडन्तमा भएको भनिएको मृत्युको सम्बन्धमा कांग्रेसले उठाएको चर्को स्वर भने कतै पनि उल्लेख छैन ।

    यस विषयमा कांग्रेस मौन बसेको छ । विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको गैरन्यायिक हत्या भएको भन्दै कांग्रेस संसद अवरोधमै उत्रिएको थियो ।

    सोमबार संसदमा सांसद राजेन्द्र पाण्डेले उच्च तहका नेताहरुविरुद्ध उग्र भाषण गरेपछि उनको बोली नै रेकर्डबाट हटाउनु पर्न अवस्था आएको थियो ।

    सरकारले आइतबार मात्र राजेन्द्र महतो नामक व्यक्तिको नेपाली नागरिकता खारेज गरेको सन्दर्भमा पनि कुन राजेन्द्र महतो हो भन्ने प्रष्ट पार्न माग गरे ।

  • जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

    जम्बु कश्मीर अब केन्द्र शासित प्रदेश, मोदी कदमले काम गर्ला ?

    नयाँ दिल्ली । भारतमा सरकारले संविधानको अनुच्छेद नै खारेज गरी जम्बु कश्मीरका अधिकार कटौतीमार्फत पूर्णतया केन्द्र शासित क्षेत्रमा रुपान्तरण गर्यो ।

    अब जम्बु कश्मीर छुट्टै स्वतन्त्र राज्य रहेन । केन्द्र शासित दुई वटा प्रदेशमा जम्बु कश्मीरलाई रुपान्तरण गरिएको छ । सरकारले प्रदेश पुनर्गठनको प्रस्ताव समेत गरेको थियो ।

    यो प्रस्ताव पनि राज्यसभाबाट पास भइसकेको छ । अब जम्मू कश्मीर राज्यको स्थानमा जम्मू कश्मीर र लद्दाख गरी दुई प्रदेश स्थापना भएको छ ।

    दुबै प्रदेशको शासन लेफ्टिनेन्ट गभर्नरले गर्नेछन् । उनी केन्द्र मातहत रहने छन् । सरकारले भारतीय संविधानको अनुच्छेद ३७० खारेज गर्ने निर्णय गरेको हो ।

    जसमा जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा संविधानतः सुनिश्चित गरिएको थियो । सोही अनुसार जम्बु कश्मीरमा छुट्टै झण्डा चल्थ्यो ।

    नागरिकहरुसँग दुईवटा नागरिकता समेत थिए । नागरिकलाई सरकारी सेवामा आरक्षण थियो । अन्य राज्यबाट त्यहा पुगेर मानिसले सम्पत्ति जोड्न पाउँदैनथिए ।

    अब भने त्यहा छुट्टै राज्य स्थापनाको सम्भावना टरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय गृहमन्त्री अमित शाहले राज्यसभामा घोषणा गरेका थिए । संसदमा विपक्षीले यस निर्णयको व्यापक विरोध गरेपनि पास भएको छ ।

    अनुच्छेद ३७० लाई खारेज गर्ने निर्णयमा राष्ट्रपतिले समेत हस्ताक्षर गरेका छन् । सरकारको यो निर्णयको भने जम्बु कश्मीरमा व्यापक विरोध भएको छ ।

    सरकारले पूर्वमुख्यमन्त्रीसहित नेताहरुलाई नजरबन्दमा राखेको छ भने इन्टरनेट र टेलिफोन सेवा पनि बन्द गरिएको छ । जसले गर्दा सरकार यहाँ हुने हरेक प्रकारका विरोधलाई दवाउने योजनामा देखिन्छ ।

    यस क्षेत्रको कमजोर सुरक्षा स्थिति र सीमा क्षेत्रमा आतंकवादी गतिविधिलाई मध्यनजर गर्दै प्रदेशहरु केन्द्रबाट प्रत्यक्ष शासित बनाउनु परेको गृहमन्त्रीको भनाई छ ।

    सन् १९४७ मा भारत र पाकिस्तान विभाजनको बेला जम्मू कश्मीर एक छुट्टै देशका रुपमा स्थापित थियो । यहाँ राजा हरि सिंहको शासन थियो । उनले स्वतत्रताको सट्टा भारतमा विलय हुने सहमति गरे ।

    तर, यस क्षेत्रलाई पाकिस्तानले पनि आखाँ लगाएको थियो । किनकी यो मुसलमान बाहुल्य क्षेत्र हा ।

    अब केन्द्र राज्यको पूर्ण नियन्त्रणमा आएको जम्बु कश्मीरमा भारतीय संविधान, झण्डा र कानून नै लागू हुने भएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीको यो फैसलालाई निकै महत्वपूर्ण फैसलाका रुपमा हेरिएको छ ।

    लामो समयदेखि अस्थिर र आतंकवाद गतिविधिबाट आक्रान्त बनेको भूस्वर्ग अब कसरी अगाडी बढ्छ, त्यो भने महत्वपूर्ण विषय हो । किनकी यस निर्णयलाई विपक्षी कांग्रेससहितका दलले विरोध गरिरहेका छन् ।

    एजेन्सी

  • नागपन्चमी : किन पुजिन्छ नाग ?

    नागपन्चमी : किन पुजिन्छ नाग ?

    काठमाडौं । सोमबार, श्रावण शुक्ल पञ्चमी । हरेक वर्ष यही तिथि पारेर नेपालमा नागपञ्चमी पर्व मनाइन्छ ।

    यस दिन नागका विभिन्न आकृति सहितका तस्वीरलाई विशेष पूर्जाअर्चना गरी घरको मूलढोकामा टास्ने प्रचलन रहेको छ ।

    अझ गाईको गोबरले नाग टास्दा राम्रो हुन्छ भन्ने मान्यता समेत रहेको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीजस्ता विजजन्तुले मानिसलाई दुख दिदैनन् भन्ने मान्यता राखिन्छ ।

    विभिन्न किंवदन्तीअनुसार अग्नि, मेघ र चट्याङजस्ता प्रकोपको भयबाट पनि बच्ने उपायस्वरुप नागको पूजा अर्चना शुरु भएको हो ।

    नेपालमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपयुक्त तिथि तय गरी चाडबाडको दिन तोक्ने गर्छ । यसमा वैज्ञानिक आधार हुने समितिको भनाई छ ।

    नाग सर्पका राजा हुन् । उनी रिसाए भने धर्मीमा पिउने पानीको समेत अभाव हुने र मानव जातीमा हाहाकार मच्चिने भनाई छ ।

    सोहीकारण नागराजालाई खुसी पार्नकै लागि पनि यस दिनको महत्व रहेको जानकारहरु बताउँछन् । हरेक घरको जगमा बस्ने नागलाई खुसी पार्दा उनले पनि मानिसको रक्षा गर्छन् भन्ने मान्यता पुराणहरुले लेखेका छन् ।

    नागलाई विष्णु र शिव भगवानको स्वरुप समेत मानिन्छ । नागमाथि भगवान विण्णु शयन गर्ने र भगवान शिवको गहनाका रुपमा पनि नागको आफ्नै विशेषता रहेको छ ।

    भगवान् गणेश पनि एक हातमा नाग समाउनु हुन्छ । त्यसकारण हरेक भगवानसँग कुनै न कुनै रुपमा नागराजाको सम्बन्ध रहेको देख्न सकिन्छ ।

    नागपञ्चमीको दिन पुरोहितले घर घर पुगी नाग टास्ने प्रचलन अहिले पनि नेपालभर जीवित देख्न सकिन्छ ।

  • रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

    रोममा एनआरएनए यूरोपेली बैठक, ९ देशका राजदूत एकै स्थानमा भेला

    रोम । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीको रोममा सम्पन्न भएको छ ।

    अगस्ट ३ र ४ तारीखमा संचालित बैठकमा नेपालको पर्यटन प्रवद्र्धन मूख्य एजेण्डाका रुपमा रहेको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

    बैठकमा विभिन्न ९ देशका लागि नेपाली राजदूतले भाग लिए । उनीहरुले नेपालमा लगानी प्रवद्र्धन, पर्यटन विकास र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका अवसरमा चर्चा गरेका छन् ।

    संघका अनुसार यसपटकको बैठकमा युरोपियन युनियन (इयु)का लागि नेपाली राजदूत लोकबहादुर थापाल, अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदी, स्पेनका लागि कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र नेपाली राजदुतावास स्वीट्जरल्याण्डका उपप्रमुख तीर्थराज वाग्लेलगायतले नेपालमा पर्यटन प्रवद्र्धन र लगानी भित्राउने उपायका सम्बन्धमा छलफल गरेका छन् ।

    बैठकमा लण्डन स्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी, जर्मनीका राजदूत रमेशप्रसाद खनाल, डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, सयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग (जेनेभा)   रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे समेत सहभागी थिए ।

    नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक बनाउन वैदेशिक लगानी भित्राउने र सन् २०२० का लागि घोषणा भएको पर्यटन वर्षलाई सफल बनाउने गरी भेलाको एजेण्डा तय गरिएको संघको भनाई रहेको छ ।

  • कहिले आउँछ टिकटकको स्मार्टफोन ?

    कहिले आउँछ टिकटकको स्मार्टफोन ?

    अब टिकटक आफैले स्मार्ट फोन निर्माण गर्ने भएको छ । भिडियो सेयरिङ एप टिकटक विश्वव्यापी रुपमा सफल भइरहेको छ ।

    अब उसले आफ्नो सेवा बिस्तार गर्दै व्यवसायमा प्रवेशको योजना बनाएको हो । तथ्यांक अनुसार टिकटकका विश्वभर ५० करोडभन्दा प्रयोगकर्ता पुगिसकेका छन् ।

    टिकटक विकास गरेको बाइटडान्स अब स्मार्टफोन निर्माण गरी व्यवसाय बिस्तारमा जुटेको हो ।

    बाइटडान्सले टिकटकसहित विभिन्न भिडियो र समाचारसम्बन्धी एप बनाउने गर्छ । टोटियो, बुज भिडियो, भिगो भिडियोलगायत यसै कम्पनीका उत्पादन हुन् ।

    चिनियाँ आर्थिक पत्रिका कैजिङले उल्लेख गरेअनुसार बाइटडान्सले आफ्नो पहिलो मोडलको स्मार्ट मोबाइल २०२० को सुरुवातमै सार्वजनिक गर्ने भएको छ ।
    एजेन्सी

  • नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी

    नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी

    काठमाडौं । नेपाली महिलाको महान चाड तीज शुरु हुन अझै करीव १ महिना बाँकि छ । तर, सांगितिक क्षेत्र भने तीजमय बनेको छ ।

    नेपालमा मौसम अनुसार आउने गीत संगितमा सम्भवतः सबैभन्दा बढी बाढी तीजकै आउँछ । सबैजसो चर्चित लोक गायक गायिकाले यस मौसमको सदूपयोग गर्दै आफ्नो एल्वम निकाल्छन् ।

    त्यसो त तीजमा नाम नचलेका सिजनेवल गायक गायिका पनि अकस्मात झुल्कन्छन् र एक महिना चर्चित भइदिन्छन् । फेरी एक वर्ष हराउँछन् ।

    नेपालमा आइतबारको युट्यूव टे«ण्डिङ अनुसार सन्जिवनी इन्टरटेन्मेन्टले सार्वजनिक गरेको ‘दुखि तीज’ नामक शर्ट मुमीलाई दर्शकले बढी मन पराइरहेका छन् ।

    विशाल रायमाझीको ‘लर्के भिना’ नामक कमेडी तीज गीतलाई दर्शकले उत्तिकै मन पराएका छन् । नवगायीका टीका सानुको गीत ‘बुहारी’लाई एक सातामै २० लाख दर्शकले हेरिसकेका छन् ।

    सिन्धु मल्लको ‘चिटिक्कै भाछु’ रे नामक तीज गीतलाई पनि दर्शकले पुनः हेरेर टे«ण्डिङ ल्याइसकेका छन् ।

    सुध्रिदैछ तीज भाका
    केही वर्ष अगाडी निकै असभ्य बनेको तीजका गीत पछिल्लो समय भने निकै स्तरीय भएका छन् ।

    खासगरी चलेका गायक गायिकाले नै राम्रा गीत भन्दा पनि छाडा शब्द राखेर गीत निकाल्ने प्रवृत्तिले निम्त्याएको समस्या अब भने गायक गायिकाले चेतिसकेका छन् ।

    पछिल्लो समय सार्वजनिक भएका सबैजसो तीज भाका सभ्य देखिन्छन् ।

  • सुनको मूल्यले राख्यो कीर्तिमान

    सुनको मूल्यले राख्यो कीर्तिमान

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । आइतबार ईतिहासमै सबैभन्दा उच्च मूल्यमा सुनको कारोबार भएको हो ।

    नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ६६ हजार ३ सय रुपैयाँ मूल्यमा पुगेको हो ।

    तेजाबी सुनको मूल्य भने प्रतितोला ६६ हजार कायम भयो । शुक्रबार ६५ हजार ८ सयमा पुगी कायम भएको रेकर्ड आइतबार नै तोडिएको हो ।

    अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको सिधा असर नेपालमा पनि दखिएको संघको भनाई छ ।

    अमेरिका र इरानबीचको द्धन्द्ध तथा अमेरिका र चीन व्यवपार युद्धले अन्तराष्ट्रिय सेयर बजार र सुनको मूल्यमा भारती उतार चढाव आइरहेको छ । सुनको मूल्य आकासीयसँगै नेपाली बजारमा व्यापार भने सुस्ताएको व्यापारीहरु बताउँछन् ।

  • नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

    नेपाल एयरलाइन्सले दूर्गमका विमानस्थलमा थाल्यो परीक्षण उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले दूर्गम पहाडी तथा हिमाली भेगका विमानस्थलमा परीक्षण उडान शुरु गरेको छ ।

    निगमको वाई१२इ जहाजबाट धमाधम परीक्षण उडान भइरहेको निगमले जानकारी दिएको छ । पर्यटन वर्ष २०२० का लागि सहयोग पु¥याउन भन्दै निगमले आफ्नो सक्रियता बढाएको उल्लेख गरेको छ ।

    निगमले आन्तरिक उडान सुदृढ बनाउने लक्ष्यसहित साउन १८ मा चौरजहारी विमानस्थल र ताप्लेजुङ्गको सुकेटार विमानस्थलमा सफल परीक्षण उडान गरेको छ ।

    साउन १९ मा रुकुममा परीक्षण उडान गरेको निगमले २० मा भोजपुर उडाउने तयारी गरेको छ । साउन २१ र २२ मा बाजुरा र तुम्लिङ्गटारमा वाई१२ई विमानबाट परीक्षण उडान गरिने निगमको तालीका छ ।

    अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पु¥याउने लक्ष्य लिएको निगमले उल्लेख गरेको छ ।

    निगमसँग यस्ता साना जहाज ४ वटा छन् । यो चीनमा बनेको जहाज हो । एक पटकमा १७ जना बोक्ने क्षमता रहेको यो जहाज छोटो धावनमार्ग रहेको विमानस्थलमा सजिलै उडान अवतरण गर्न सम्भव हुन्छ ।

  • भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो

    भूकम्पले भत्काएका ४ लाख २४ हजार घर पुनर्निर्माण सकियो

    काठमाडौं । १२ वैशाख २०७२ को भूकम्प र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीका घर निर्माण सम्पन्न भएका छन् ।

    थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ ।

    पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

    यो पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ ।

    राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न हुने बताएका छन् ।

    गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि काम हुन सक्ने भन्दै उनले अरु सबै काम यही आर्थिक वर्षमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ ।

    आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् ।

    त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन् ।

    कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् ।

    कुन जिल्लामा कति घर बने ?
    सिन्धुपाल्चोक – ६७, ८३४, नुवाकोट – ५२,६१३, धादिङ – ४८,४५४, दोलखा – ४४,५३३, गोरखा – ४४,२३१, काभ्रेपलाञ्चोक – ३०,८७७, रामेछाप – ३०,७११, ओखलढुङ्गा – १५,७७२, मकवानपुर – १३,०७०, सिन्धुली – १२,५८२, काठमाडौं – ११,५४२, रसुवा – १०,४१८,
    तनहुँ – १०,५२५, भक्तपुर – ८,४२०, ललितपुर – ४,२१६, लमजुङ – ३२००, चितवन – २,९८२, खोटाङ – २,९२८, सोलुखुम्बु – २,३०२,
    पाल्पा – १,४३५, भोजपुर – १,२६८, धनकुटा – १,२०३, बागलुङ – ८,८२, स्याङ्जा – ७०७, पर्वत – ६७६, नवलपरासी – ६२०, गुल्मी – ३२७, कास्की – ३२४, म्याग्दी – २७१, अर्घाखाँची – ५४

    सम्झौता नगर्नेको नाम हट्दै

    निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन् ।

    लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार छ ।

  • योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

    योगेश भट्टराईलाई सांसदका सुझाव : निस्कदा कुनै दाग नलागोस

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सांसदहरुले मन्त्री पदबाट बाहिरिँदा कुनै दाग नबोकी निस्कने गरी काम गर्न सुझाव दिएका छन् ।

    आइतबार अन्तरराष्टिय सम्बन्ध समितिको बैठकमा सहभागी भएको सबैजसो सांसदले मन्त्री भट्टराईसँग देशले ठूलो आशा गरेको भन्दै त्यसमा सफल हुन सुझाव दिएका हुन् ।

    बैठकमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाललाई संसारभरको पर्यटकीय आकर्षक मुलुक बनाउन सकिने सम्भावना रहेको भन्दै त्यसमा केन्द्रित हुन सुझाव दिए ।

    उनले धर्म, कला संस्कृति र प्रकृतिबाटै धेरै पर्यटक आकर्षित गर्न सकिने सुझाव दिए । नारायणहिटी दरबार संग्रहालयलाई नेपालको इतिहास संग्रहालयका रुपमा विकास गर्न सकिने भन्दै उनले नेपाललाई हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा स्थापित गर्न सकिने उल्लेख गरे ।

    सांसद भीम रावलले परिस्थितिले दिएको जिम्मेवारीमा भट्टराई सफल हुने अपेक्षा राखे । सांसद अग्नी प्रसाद सापकोटाले नेपाल वायुसेवा निगमलाई जसरी भएपनि माथि उकास्नु पर्ने र यसका लागि प्रधानमन्त्रीले नै नेतृत्व लिने मोडल स्थापित गर्न सकिने सम्भावनाबारे सुझाव दिए ।

    बैठकमा बोल्दै अधिकांश सांसदले निजगढ विमानस्थललाई छिटो निर्माण प्रक्रियामा लैजान, नेपाल वायुसेवा निगमलाई एक सक्षम र प्रतिस्पर्धी कम्पनी बनाउन र नेपाल भ्रमण वर्षलाई सफल बनाउन मन्त्रीाट धेरै अपेक्षा रहेको बताएका थिए ।

    जवाफमा मन्त्री भट्टराईले आफ्ना लागि मन्त्री र सांसद दुबै पद नयाँ अनुभव भएको भन्दै सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

    उनले निजगढ विमानस्थल यसै आवमा शुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा र भैरहवा विमानस्थलको काम पनि संतोषजनक रुपमा भइरहेको उनको भनाई थियो ।

  • प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

    प्रधानमन्त्री स्वास्थ्य जाँच गर्न सिंगापुरमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका सिलसिलामा सिंगापुर पुगेका छन् ।

    प्रधानमन्त्रीको नियमित स्वास्थ्य परिक्षणमा संलग्न निजी चिकित्सकहरुको सल्लाहमा उनी सिंगापुर गएका हुन् । शनिबार राती काठमाडौंबाट प्रधानमन्त्रीको टोली सिंगापुर लागेको हो ।

    प्रधानमन्त्री सँगै श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत रहेका छन् ।

    प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य उपचार गराउने तय भएको छ ।

    आइतबारदेखि उनको स्वास्थ्य परीक्षण शुरु हुने तालीका छन । उनी एक साता सिंगापुरमा रहने छन् ।

    यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण थाइल्याण्डमा भइरहेको थियो ।

    अहिले भने चिकित्सकले सिंगापुर जान सल्लाह दिएका हुन् । प्रधानमन्त्री २४ साउनमा स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

  • टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते

    टेक्सस गोलिकाण्ड : २० मारिए, दर्जनौं घाइते

    टेक्सस । अमेरिकाको टेक्ससमा भएको गोलिकाण्डमा २० जना मारिएका छन् । कम्तिमा २६ जनालाई घाईते अवस्थामा अस्पताल पुर्याइएको छ ।

    एक सपिंग मलमा भएको भयानक गोली काण्डमा ठूलो हताहती भएको हो । टेक्ससस्थित एल पासो क्षेत्रमा पर्ने सीएलओ वालमार्टमा यो गोली काण्ड भएको हो ।

    यो अमेरिका र मेक्सिकोको सीमा नजिकै पर्ने क्षेत्र हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।

    अमेरिकी संचारमाध्यमहरुका अनुसार पक्राउ पर्नेमा २१ वर्षिय प्याट्रिक क्रुसियस रहेका छन् । अमेरिका मै बस्ने उनको संलग्नताबारे अध्ययन भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

    स्थानीय समय अनुसार बिहान ११ बजेट गोलीबारीको पहिलो खबर आएको थियो ।

    मिडियाले सार्वजनिक गरेको सीसी फूटेजअनुसार कालो टीशर्ट लगाएरका बन्धुकधारीले मलमा अन्धाधुन्द गोली प्रहार गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।

    जब ११ बजे पहिलो खबर सार्वजनिक भयो, त्यसबेला शहरका अन्य विभिन्न स्थानमा गोली चलेको पनि खबर आएको थियो । तर, ती खबर भने साचो नरहेको प्रहरीले पुष्टी गरेको छ ।

    एल पासो शहरका मेयरका मेयर डी मार्गोले अकल्पनीय दुखद खबर घटेको प्रतिक्रिया दिएका छन् ।

    यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाप्रति दुख व्यक्त गरेका छन् । टेक्सस राज्यका गर्वनर ग्रेग एबॉटले यस घटनालाई संवेदनशील हिंसाको संज्ञा दिएका छन् ।

    एजेन्सी

  • भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

    भारतमै उठ्यो तरकारीमा विषादी मुद्दा

    काठमाडौं । भारतबाट नेपाल आउने तरकारी तथा फलफूलमा हानिकारक विषादी पाइएपछि सरकारले नाका मै त्यसको चेकजाँच गर्ने निर्णय गर्यो ।

    केही समय कार्यान्वयन पनि भएपछि अचानक भारतले सन्धी सम्झौताको हवाला सरकारलाई उक्त निर्णय फिर्ता लिन बाध्य बनायो ।

    अहिले भारतीय सीमा नाकाबाट निर्वाध रुपमा विषादीसहितको तरकारी र फलफूल भित्रिरहेको छ ।

    यही मेसोमा स्वयमः भारतमा तरकारीमा भएको विषादीको विषयले चर्चा पाउन थालेको छ ।

    शनिबार भारतीय संचारमाध्यमहरुले तरकारीमा रहेको अत्यधिक विषादीले क्यान्सरसम्मको जोखिम हुने भन्दै खोजमुलक सामग्री प्रकाशित गरेका छन् ।

    छिटो पकाउने तथा राम्रो फलाउने लोभमा आँपदेखि अदुवासम्मका फल र तरकारीमा विषादीको मात्रा अधिक रहेको पाइएको छ । प्राकृतिक रुपमा पाक्न फललाई लामो समय लाग्छ ।

    तर, कृषकलाई त्यतिन्जेल धैयै गर्ने फुर्सद छैन । त्यसकारण उनीहरु एकसाथ छिटो र सबै पकाउने गरी विषादीको प्रयोग गर्छन् ।

    यस्तो विषादीमा सुक्ष्म रुपमा क्यान्सरसम्मको जोखिम उत्पन्न गर्ने तत्व रहने बताइएको छ । तरकारी र फलफूलमा विषालु रसायन प्रयोग गरिन्छ र उक्त रसायनको अवधि पुरा नहुँदै त्यो बजारमा आइपुग्छ ।

    त्यसपछि हरेक भान्सामार्फत आम मानिसलाई विष खुवाइरहेको तथ्य संचारमाध्यमले बाहिर ल्याएका छन् ।

    आँप तथा यस्ता फलफूल पकाउन क्याल्सियम कार्बाइड प्रयोग गरिन्छ ।

    भारतमा उत्पादन भएको ठूलो परिमाणको तरकारी नेपालमा आउने गरेको छ । नेपाल तरकारीमा आत्मनिर्भर हुने सम्भावना रहेपछि व्यवसायिक कृषिले प्राथमिकता नपाउँदा आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

  • मेसीलाई ३ महिनाको प्रतिवन्ध

    मेसीलाई ३ महिनाको प्रतिवन्ध

    दक्षिण अमेरिकी फुटबल प्रशासकीय निकाय दक्षिण अमेरिकी फुटबल संंघले विश्वचर्चित खेलाडी लियोनल मेसीमाथि ३ महिनाको प्रतिवन्ध लगाएको छ ।

    साथै उनीमाथि ५० हजार अमेरिकी डलर जरिवानासमेत तोकिएको छ । अर्जेन्टाइन कप्तान मेसीले कोपा अमेरिका फूटबलको सेमिफाइनलमा ब्राजिलसँगको खेलपछि प्रशासकीय निकाय नै ब्राजिललाई जिताउन लागेको टिप्पणी गरेका थिए ।

    प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा बीना कारण रातो कार्ड खाएपछि मेसी झनै आक्रामक बनेका थिए ।

    सेमिफाइनलमा अर्जेन्टिना र चिली भिडेका थिए । बार्सिलोनाका समेत कप्तान मेसीले अन्तरराष्टिय फूटबलमा प्रतिवन्ध भोगे पनि क्लव फूलबल भने जारी राख्नेछन् ।

    क्लवमा अब नयाँ सिजन शुरु हुँदैछ । मेसीले आफ्नो प्रतिवन्ध विरुद्ध अपिल गर्न सक्नेछन् । सामान्यतया राम्रो छाप पार्न सफल विश्वस्तरीय खेलाडीको अपिल पुनः रिभ्यू हुने सम्भावना रहन्छ ।

    अर्जेण्टिनाले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । मेसीलाई तीन महिले प्रतिवन्ध सदर भए उनी यी खेल गुमाउनेछन् ।

    एजेन्सी

  • ६४ अर्बमा बन्ने भयो औद्योगिक पार्क

    ६४ अर्बमा बन्ने भयो औद्योगिक पार्क

    काठमाडौं । झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्न लगानी बोर्डले लगानी स्वीकृत गरेको छ । बोर्डका अनुसार यो परियोजनाको लागत ६४ अर्ब रुपैयाँ रहेको छ ।

    चीन–नेपाल फ्रेण्डसीप औद्योगिक पार्क निर्माण हुन लागेको हो । स्वीकृत भएको यो लगानी कार्यान्वयनमा आउँदा सम्भवतः अहिलेसम्मकै ठूलो विदेशी लगानी हुनेछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो । संयोगले यो परियोजना प्रधानमन्त्रीकै जिल्लामा बन्ने भएको हो ।

    परियोजनामा ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेण्ट जोन जीङ–पिङ जोइन्ट क्रियसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेण्ट प्रालिले लगानी गर्ने बोर्डले उल्लेख गरेको छ ।

    लगानी बोर्डले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा दमक क्लिन इन्डस्ट्रीयल पार्कलाई दिएको छ ।

    शुक्रबार बसेको बोर्डको ३९ औं बैठकले बिराटनगरमा निर्माण तथा संचालनको प्रस्ताव गरिएको मल्टी मोडेल लजिस्टिक पार्क परियोजना स्वीकृत गरेको छ ।

    जनकपुरमा निर्माण तथा संचालन गर्न प्रस्तावित रेल्वे लिंक्ड प्राइभेट फ्रेट टर्मीनल परियोजना समेत लगानी बोर्डले स्वीकृत गरेको छ । यसको अध्ययन ग्रीन इन्फ्रास्टक्चर प्रालिले गर्ने भएको छ ।

  • नेपालको पानी विदेश निर्यातको तयारी

    नेपालको पानी विदेश निर्यातको तयारी

    काठमाडौं । नेपालको पानी अब विदेशमा निर्यातको तयारी शुरु गरिएको छ । रुद्र गंगा नेचुरल वाटर कम्पनीले रसुवाबाट स्प्रिङ पानीको उत्पादन थालेको छ ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त पानीको ब्राण्ड सार्वजनिक गरिएको हो । हिमालबाट बगेर आउने शुद्ध पानी प्रशोधन गरी उत्पादन थालिएको हो ।

    खानेपानी मन्त्री बिना मगरले रसुवा ब्रान्डको पानी उत्पादन भएको औपचारिक घोषणा गरिन् ।

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा यस कम्पनीले प्लान्ट स्थापना गरेको कार्यक्रममा जानकारी गराइयो ।

    गोसाइँकुण्ड नगरपालिका ६ मा प्लान्ट स्थापना भएको र हिमालको शुद्ध पानीलाई प्रशोधन गरी तयारी पानी उत्पादन गरिएको कम्पनीका अध्यक्ष गणेश भण्डारीले बताए ।

    उनका अनुसार यस कम्पनीले जर्मन प्रविधि प्रयोग गरी पानीको उत्पादन थालेको हो । दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रिङ वाटर उत्पादन हुने यस कम्पनीले नेपाली बजारमा भने शुक्रबारदेखि नै पानीको बिक्रि थालेको छ ।

    विदेश निर्यातको तयारी पुरा गरी डिसेम्बरबाट खाडी मुलुकमा नेपाली पानी निर्यात गर्ने लक्ष्य राखिएको छ । नेपाल फ्रेस वाटरको सबैभन्दा ठूलो मुहान क्षेत्र हो ।

    किनकी हिमालबाट बगेर आएको पानी निकै पोशिलो र शुद्ध मानिन्छ । तर, त्यसलाई वस्तीसम्म पुर्याउने उपाय नहुँदा धेरै बस्तीमा अहिले पनि खानेपानीको हाहाकार रहेको छ ।

  • राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

    राजधानीमै असुरक्षित मजदुर, मेलम्चीको पाइप भित्र निसास्सिएर मृत्यु

    काठमाडौं । राजधानी भित्रैको विकास निर्माणको काम कति असुरक्षित तरिकाले भइरहेको छ भन्ने उदाहरण शुक्रबार एक डरलाग्दो घटनाले उजागर गरेको छ ।

    काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुर निसास्सिएर मृत्युवरण गर्न बाध्य भएका छन् ।

    पाइप सफा गर्न पाइप भित्र पसेका सप्तरी स्थायी घर भएका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको निसास्सिएर निधन भएको प्रहरीले बताएको छ ।

    निकै बेर सम्म पनि पाइपबाट बाहिर ननिस्किएपछि डोजरको सहायतामा पाइप निकालेर उनीहरुलाई बाहिर निकालिएको थियो ।

    लगत्तै अस्पताल लगेपनि बचाउन नसकिएको प्रहरीको भनाई छ । उनीहरु एकै परिवारका दाजुभाई रहेको बताइएको छ ।

    काठमाडौंमा मेलम्चीको खानेपानी वितरण बिस्तारको काम भइरहेको छ ।

    आयोजनाले विभिन्न स्थानको पाइप निरिक्षणको काम अगाडी बढाइरहँदा मजदुरको दुखद निधन भएको हो ।

    उता, बुटबल बसपार्कमा रोकिराखेको एक बसको छतमाथि पुरुषको शव फेला परेको बुटवल प्रहरीले जानकारी दिएको छ ।

    गुल्मी चन्द्रकोटका स्थायी बासिन्दा ३५ वर्षिय दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको प्रहरीले बताएको छ । उनी बसपार्कमै काम गर्दै आएका मजदुर हुन् ।

  • भदौ १ बाट खुल्दैछन् अन्नपूर्ण वेशक्याम्पका होटेल

    भदौ १ बाट खुल्दैछन् अन्नपूर्ण वेशक्याम्पका होटेल

    काठमाडौं । गत फागुनमा आएको हिमपात र वर्षाले भत्किएका होटेलको पुनर्निर्माण सकिएपछि अन्नपूर्ण वेशक्याम्पका होटेल पुनः संचालनको तयारी गरिएको छ ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का मिडिया संयोजक गोपाल श्रेष्ठले सार्वजनिक गरेको सूचना अनुसार १ भदौबाट अन्नपूर्ण वेशक्याम्पको पदयात्रामा जाने पाहुनाले होटेलमा बास बस्न पाउने भएका छन् ।

    संसारकै व्यस्त पदयात्रा मार्गमध्ये यो पनि एक हो । खासगरी माछापुच्छ्रे र अन्नपूर्ण हिमालको अलौकिक दृष्यावलोकनका लागि संसारभरका पर्यटक यहाँ पुग्छन् ।

    यो सूविधा सम्पन्न र सजिलो  पदयात्रा मार्गसमेत हो । यसबाहेक नेपालको अर्को व्यस्त पदमार्ग एभरेष्ट वेश क्याम्प हो ।

    अन्नपूर्ण वेशक्याम्पमा ४ वटा होटेल छन् । ति होटेलको पुनर्निर्माण सम्पन्न भएसँगै नजिकिएको पर्यटकीय मौसममा पर्यटकलाई सहज हुने भएको हो ।

    अहिले होटेल नखुल्दा पर्यटकले लन्चबक्स र अन्य बन्दोवस्तीका सामान आफैले बोकेर लैजानु पर्ने बाध्यता छ ।

    टानले आफ्ना सबै सदस्यलाई यसको सर्कुलर गरिसकेको छ । भदौदेखि मंसिरसम्म पदयात्राका लागि अधिक पर्यटक नेपाल आउने गर्छन् ।

    अर्कोतर्फ नेपालमा पनि चाडबाडको समय पर्ने भएकाले यस समय आन्तरिक पर्यटक ठूलो संख्यामा घुमघाममा निस्कने गर्छन । यहाँका एक होटेलले औसतः ३० जनासम्मलाई एक रातमा सेवा दिन सक्छन् ।

  • मंसिर १४ मा हुने भयो उपनिर्वाचन

    मंसिर १४ मा हुने भयो उपनिर्वाचन

    काठमाडौं । उपनिर्वाचन आगामी मंसिर १४ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबारको निर्णयले उपनिर्वाचनको मिति तय गरेको हो ।

    आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले उपनिर्वाचनको मिति तय भएको जानकारी दिएका छन् । शनिवार पर्ने उक्त दिन सबै तहको निर्वाचन एकै पटक संचालन हुने भएको छ ।

    देशभर ५० स्थानमा उपनिर्वाचन गर्नुपर्ने खरेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ३७ जिल्लाका विभिन्न पद खालि छन् ।

    विविध कारणले खाली भएका संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन गराउनु पर्छ । त्यसमध्ये प्रतिनिधिसभा सदस्यको कास्की ३ खाली छ ।

    यो स्व. सांसद तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्र हो । उनको १५ फागुनमा हेलिकोप्टर दूर्घटनामा परी निधन भएको हो ।

    प्रदेशतर्फ बाग्लुङ २ ९ख० मा गण्डकी प्रदेश सांसद टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ९ख०मा उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ९ख०बाट हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली छन् ।

    सुनसरी, धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएकाले यहाँ पनि उपनिर्वाचन गराउनु पर्नेछ ।

    विभिन्न तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षको पद पनि रिक्त रहेको आयोगको भनाई छ ।

    नेपालमा डेढ वर्ष अगाडी निर्वाचन भएपछि संघीयता पूर्ण रुपमा लागू भएको थियो ।

  • समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

    समुन्द्री मार्ग हुँदै भारत प्रवेश गरेका माल्दिभ्सका पूर्व उपराष्ट्रपति पक्राउ

    भारतीय केन्द्रिय एजेन्सीले माल्दिभ्सका पूर्व उप राष्ट्रपति अहमद अदीब अब्दुल गफूरलाई नियन्त्रणमा लिएको छ ।

    उनी गैरकानूनि रुपमा समुन्द्रि मार्गबाट भारत प्रवेश गरेका थिए । उनी भारत आउने कुनै सूचना नरहेको र अवैध रुपमा भारत प्रवेश गरेपछि पक्राउ गरिएको भारतीय अधिकारीहरुले पुष्टी गरेका छन् ।

    उनी बिहीबार भारत पुगेका थिए । तूतीकोरिन समुन्दी तटबाट उनी भारत प्रवेश गरेका थिए ।

    उनी भारत आउनेबारे कुनै जानकारी नभएको स्थानीय सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

    अहिले केन्द्य्रिय एजेन्सीले उनको यात्रा अनुमति तथा समुन्द्री जहाज ल्याउने अनुमति भए नभएको बारे अध्ययन गरिरहेको बताएको छ ।

    जहाजमा चालक दलका ९ सदस्यसमेत रहेको बताइएको छ ।

    एजेन्सी

  • यमनमा सैन्य परेडमाथि आक्रमण, दर्जनौं हताहत

    यमनमा सैन्य परेडमाथि आक्रमण, दर्जनौं हताहत

    यमनमा एक सैन्य परेडमाथि आक्रमण हुँदा कम्तीमा ४७ जनाको निधन भएको छ । यमनका दक्षिणी पोर्ट सीटी अदनमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा ठूलो संख्यामा सैनिक मारिएका हुन् ।

    अंतरराष्ट्रीय संचारमाध्यमहरुका अनुसार सैन्य शिविरमा परेड चलिरहेका बेला सिमाइल आक्रमण भएको थियो ।

    सिमाइल आक्रमणमा परी ३६ जनाको निधन भएको र त्यसअघि भएको आत्मघाति विष्फोटमा ११ जना सुरक्षाकर्मीको ज्यान गएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।

    यमनको राजधानी कब्जा गर्ने उद्देश्य सहित हुइथी विद्रोहीले यस घटनाको जिम्मेवारी लिएको छ । विद्रोह दवावउन सरकारी फौजले तयारी गरिरहेको भन्दै विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका हुन् ।

    यस सुरक्षा फौजलाई संयुक्त अरव इमिरेट्स (यूएई)ले समर्थन गरेको छ । विद्रोहीसँग लड्न एकिकृत गराइएको सुरक्षा फौजको तालीम यहाँ चलिरहेको थियो । अदन अंतरराष्ट्रीय मान्यता प्राप्त राजधानी शहर हो ।

    विद्रोहीले अदनको बुराइका इलाकामा पर्ने अलजाला सैन्य शिविरमा मध्यम दूरीको मिसाइल तथा सशस्त्र ड्रोन प्रहार गरेको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।

    यो यमनको सुरक्षा बेल्ट क्षेत्रका रुपमा लिइने रणनीतिक एरिया हो । यमनमा युद्ध निकै डरलाग्दो गरी फैलिरहेको छ ।

    मार्च २०१५ मा हुइथी विद्रोहीहले देशको पश्चिमतर्फको एरिया कब्जा गरेका छन् ।

    त्यसपछि तत्कालिन नेतृत्व नै निर्वासित हुनु परेको थियो ।

    सरकार अहिले विद्रोहीबाट कब्जा भएको क्षेत्र फिर्ता गर्ने र थप क्षेत्रको सुरक्षामा संघर्ष गरिरहेको छ । सरकारीलाई यूएईले सहयोग गरिरहेको छ ।

    एजेन्सी

  • दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

    दलहरु आफ्नै अडानमा, संसद अवरोध कायमै

    कठमाडौं । राजनीतिक दल आ-आफ्नो अडानमा टसमस नहुँदा व्यवस्थापिका संसदको अवरोध बिहीबार पनि कायम रह्यो ।

    विहीबार सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरी संसदको अवरोध हटाउने प्रयास थालेका थिए ।

    तर, सर्वदलीय बैठकमा दलहरु आफ्नो अडानमा टसमस भएनन् । सर्लाहीका दुई गोलीकाण्डका घटनामा संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित मषेधवादी दलले संसद अवरुद्ध गरिरहेका छन् ।

    सत्तारुढ दल भने यसको विरोधमा छ । राज्य व्यवस्था समितिबाट छानबिन भइरहेको विषयका लागि छुट्टै समितिको आवश्यकता नरहेको नेकपाको तर्क रहेको छ ।

    सोहीकारण सर्वदलीय बैठकमा सहमति जुट्न सकेन ।

    सर्लाहीको लालबन्दीमा प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल र इश्वरपुरमा प्रहरीको गोलीबाटै मारिएका सरोजनारायण महतो प्रकरणमा संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग रहेको छ ।

    यस विषयमा अर्को प्रतिपक्षी दल राजपाले कांग्रेसलाई साथ दिएको छ । बुधबारको बैठकमा यी दुई दलले संसदमा नाराबाजी गरेका थिए । कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधि सभा बैठक सोमबार सम्म स्थागित गर्ने निर्णय गरेो छ ।

  • १५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

    १५ मंसिर अगाडी नै उपनिर्वाचनको सिफारिस

    काठमाडौं । निर्वाचन आयोगले आगामी १५ मंसिर अगावै उपनिर्वाचन सम्पन्न गर्न सरकार समक्ष सिफारिस गरेको छ।

    आयोगका अनुसार मध्य मंसिरभन्दा अगाडी नै उपनिर्वाचन सक्न सरकारलाई सिफारिस गरिएको छ ।

    आयोगले उपनिर्वाचनको विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेको छ । अब दलहरुसँगको छलफलमा मिति तयर गर्ने सरकारको छ ।

    आयोगका अनुसार अहिले देशभर ५० स्थानमा उपनिर्वाचन गराउनु पर्ने आवश्यकता छ । विविध कारणले खाली भएका संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन गराउनु पर्छ ।

    त्यसमध्ये प्रतिनिधिसभा सदस्यको कास्की ३ खाली छ । यो स्वा. सांसद तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको क्षेत्र हो ।

    उनी १५ फागुनमा हेलिकोप्टर दूर्घटनामा परी निधन भएको हो ।

    प्रदेशतर्फ बाग्लुङ २ (ख) मा गण्डकी प्रदेश सांसद टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ (ख)मा उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ (ख)बाट हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली छन् ।

    सुनसरी, धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएकाले यहाँ पनि उपनिर्वाचन गराउनु पर्नेछ ।

    विभिन्न तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षको पद पनि रिक्त रहेको आयोगको भनाई छ ।

    नेपालमा डेढ वर्ष अगाडी निर्वाचन भएपछि संघीयता पूर्ण रुपमा लागू भएको थियो ।