Author: Vishwanews.com

  • १८ वर्ष नपुगी मदिरा किन्न रोक

    १८ वर्ष नपुगी मदिरा किन्न रोक

    पर्वत । पर्वतमा मदिरा बिक्रिका लागि नयाँ मापदण्ड तोकिएको छ । अब १८ वर्ष नपुगेको किशोर किशोरीले मदिरा खरीद गर्न नपाउने भएको छन् ।

    मदिराको अवैध कारोबार र यसको अधिक प्रयोगले यूवापुस्तामा आपराधिक गतिविधि बढ्दै गएपछि नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो ।

    मदिरा बिक्रि दिउँसोको समयमा समेत गर्न रोक लगाइएको छ । साँझ ५ बजेदेखि १० बजेको बीचमा मात्र मदिरा बिक्रि वितरण गर्न पाइने भएको छ ।

    बुधबार जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सरोकारवाला निकायको बैठक बसेर नयाँ नियम बनाएको हो ।

    उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलगायतको बैठकले उक्त निर्णय गरेको हो ।

    अब पर्वतमा १५ कात्तिक देखि १५ माघ सम्म रातको ९ बजेसम्म मात्र होटेल खुला रहनेछन् । १६ माघ देखि १४ कात्तिकसम्म १० बजे रातीसम्म मात्र होटल खुला राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।

    त्यसो त मदिराको गैरकानूनि बिक्रि र वितरणलाई पनि प्रशासनले कडाई गर्ने भएको छ । यसका लागि अनुगमन टोली नै खट्ने भएको छ ।

    नेपालमा अन्तशूल्क नतिरेको मदिरा बिक्रि गर्न रोक लगाइएको छ ।

    सबै होटेलले सीसीटीभी क्यामरा राखेर सुरक्षा प्रवन्ध कडा बनाउनु पर्ने भएको छ ।

    पर्वतमा पछिल्लो समय होटेल व्यवसाय फस्टाउने क्रममा छ । पोखरा, म्याग्दीलगायत भेगको छिमेकी जिल्ला भएका कारण यहाँ पर्यटकीय गतिविधि बड्दै छन् ।

  • प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रममन्त्री स्वयमःद्धारा प्रशंसा

    प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रममन्त्री स्वयमःद्धारा प्रशंसा

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वयमःले प्रशंसा गरेका छन् ।

    सफल रोजगार कार्यक्रम भएपनि छिटपुट उदाहरण लिएर आलोचना गर्न नमिल्ने उनको तर्क थियो ।

    मन्त्री विष्टका अनुसार एक महिना चलेको यस कार्यक्रमका दौरान १ लाख ७६ हजार बेरोजगार नागरिकले काम पाएका छन् ।

    उनले यस कार्यक्रमको प्रशंसा हुनुपर्ने समेत बताए । बिहीबार आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री विष्टले चालु आवमा ५ लाख बेरोजगार यूवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको जानकराी दिए ।

    सरकारले चालु आवको बजेटमै उक्त घोषणा गरेको छ । मन्त्री बिष्टका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५\७६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका सिलसिलामा साढे २ अर्ब रुपैयाँ खर्च भएको छ ।

    यसले ८ हजार भन्दा बढी साना आयोजना सञ्चालन भएका छन् । मन्त्रालयका अनुसार उक्त वर्ष एक जना बेरोजगार यूवाले औसतः १३ दिनसम्म रोजगारी पाएको तथ्यांक आएको उल्लेख गरेको छ ।

    सरकारले स्थानीय तहमार्फत यो कार्यक्रम संचालन गरेको थियो । गत जेठमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ स्थानीय तहमा पुगेको थियो ।

    सडक मर्मत, गोरेटो बाटो निर्माण, पैनीको मर्मत, वृक्षरोपण, सामुदायिक भवन मर्मत, सरसफाइ, चौतारो निर्माण, बगैचा निर्माणजस्ता काममा यो रकम खर्च भएको र रोजगारी सिर्जना भएको मन्त्रालयको भनाई छ ।

    यो कार्यक्रम शुरु भएपछि भने सरकारको निकै ठूलो आलोचना भएको थियो । त्यससमय विगतमा समूदाय मिलेर गर्न सक्ने कार्यक्रमका लागि समेत ठूलो रकम खर्च भएको थियो ।

    खासगरी सरकारले आफ्ना कार्यक्रता पोस्न कार्यक्रम ल्याएको भन्दै यसले ठोस उपलब्धी नहुने विज्ञहरुले बताउँदै आएका छन् ।

  • दशैंमा जापानबाट नेपाल आउँदै हुनुहुन्छ ? नारितामै उड्ने भयो नेपाल एयरलाइन्स

    दशैंमा जापानबाट नेपाल आउँदै हुनुहुन्छ ? नारितामै उड्ने भयो नेपाल एयरलाइन्स


    काठमाडौं । नेपाली समूदायको उल्लेख्य बसोबास रहेको जापानको टोकियो नजिकैको नारिता विमानस्थलमा नेपालको ध्वजाबाहक नेपाल एयरलाइन्सले चार्टर्ड उडान गर्ने भएको छ ।

    नेपाली समूदायको आग्रहमा नारिताबाट दुई वटा चार्डर्ड उडान गर्न लागिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

    नारितामा आगामी सेप्टेम्बर २६ मा पहिलो चार्डर्ट उडान हुने नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

    दोस्रो उडान भने २ अक्टोवरमा हुने भएको छ । काठमाडौंबाट नारिता पुगेको जहाज उताका यात्रु लिएर नेपाल आउने भएको छ । धेरै नेपाली रहेका गन्तब्यमध्ये जापान पनि एक हो ।

    त्यसो त नेपाल एयरलाइन्सले २९ अगस्टबाट जापानको ओशाकामा नियमित उडान गर्दैछ । यहाँ साताको तीन उडान गर्ने निश्चित भएको छ ।

    यसका लागि निगमले धमाधम टिकट बुक गरिरहेको छ । जापनबाट वर्षेनी ३० हजार भन्दा बढी पर्यटक नेपाल भ्रमणमा आउँछन् ।

    नेपाल एयरलाइन्सको उडानले ति पर्यटकसमेत लाभान्विन हुनेछन् । किनकी अहिले जापानबाट कुनै पनि वायुसेवाको सिधा उडान छैन ।

  • कोठा चाहियो भन्दै महानगरमा उजुरी

    कोठा चाहियो भन्दै महानगरमा उजुरी

    काठमाडौं । कोठा भाडामा उपलब्ध नभएका कारण भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ।

    काठमाडौं महानगरपालिका, न्यायिक समितिले भाडामा कोठा उपलब्ध गराउन माग गर्दै उजुरी परेको जानकारी दिएको छ ।

    एकातर्फ कोठा भाडामा पाएइन भनेर उजुरीको परेको थियो भने अर्कोतर्फ घर भाडामा लगाई पाउँ भनेर समेत उजुरी परेको बुधबार सार्वजनिक विवरणमा जानकारी दिइयो ।

    काठमाडौं महानगरपालिका, को न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यसमक्ष गत आर्थिक वर्ष २०७५\७६ को कार्य प्रगति विवरण बुझाएको छ । विवरण अनुसार एक वर्षमा १९८ उजुरी दर्ता भएका छन् ।

    ६१ वटा फर्स्योट भएको र ९० उजुरी विचाराधिन अवस्थामा रहेको विवरणमा उल्लेख रहेको छ ।

    उजुरीमध्ये सबैभन्दा बढी ५४ उजुरी घर कोठा खाली गराई पाउन माग गर्दै परेको छ । न्यायिक समितिमा परेका उजुरीमाथि छानबिन गरी पीडितलाई न्याय दिने कामलाई तीव्रता दिइएको दावी पनि गरेको छ।

  • भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवन पुनर्निर्माण सम्पन्न

    भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवन पुनर्निर्माण सम्पन्न

    काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारीरसार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ ।

    त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् ।

    केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु आर्थिक वर्षभित्र र एडिबीको ऋण सहयोगमा पुनर्निर्माण भइरहेका बाँकी २९ वटा भवनहरुको पुनर्निर्माण २०७६ साल पुससम्ममा सम्पन्न गरिनेछ ।

    पुनर्निर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको छ ।

    साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरुको टेण्डर आह्वान गरिएको छ ।

    भारतीय ऋण ९एक्जिम बैंकमार्फत्० सहयोगमा पुनर्निर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ ।

    सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुंगा तथा सोलुखुम्बुका कारागारहरुको प्रक्रिया बढाउनका लागि गृहकार्य जारी छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भइ बनाउन बाँकी संरचनाहरु समयमा पुनर्निर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताए ।

    केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनहरुको प्रवलीकरणतर्फ पनि कार्य अघि बढेका छन् । सार्क सचिवालयको प्रवलीकरण सम्पन्न भइसकेको छ ।

    सिंहदरबारको पश्चिमबाहेक तीनवटै खण्डको प्रवलीकरण जारी छ भने पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ ।

    त्यसैगरी, बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनहरुको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ ।

    राष्ट्रपति कार्यालय ९शीतल निवास०, यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवनहरु प्रवलीकरणको डिजाइन चरणमा छन् ।

    नेपाल राष्ट्र बैंककै लगानीमा बालुवाटार र थापाथली बन्ने भवनहरुको निर्माण कार्य जारी छ ।

    राजधानीमा आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाहरुको मर्मत सम्पन्न भइसकेको छ ।

    सरकारी भवनहरुतर्फ हालसम्म ८ अर्ब २८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

     

  • योगेश भट्टराई बने पर्यटन मन्त्री

    योगेश भट्टराई बने पर्यटन मन्त्री

    काठमाडौं । नेकपाका युवा तथा प्रभावशाली नेता योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    बुधबार अपरान्ह मन्त्री भट्टराईले शितल निवासमा राष्टपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिए ।

    लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । नेकपाका युवा तथा आशालाग्दो नेतृत्वका रुपमा भट्टराईले विशिष्ट पहिचान बनाएका छन् ।

    मन्त्रालय सम्हालेपछि मन्त्री भट्राईले मन्त्रालयको भूमिका निर्वाह गर्ने क्रममा सबैको साथको आवश्यकता रहेको औल्याए ।

    आफूलाई दिउँसो १ बजेमात्र मन्त्री हुने जानकारी प्राप्त भएको भन्दै उनले आफूलाई योग्य सम्झेकोमा प्रधानमन्त्रीलाई धन्यवाद पनि दिए ।

    उनले आफूले इमानदारीसाथ जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भ्रमण वर्षको सफलता, नेपाल एयरलाइन्सको गरिमा बढाउने तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिने उनले बताए ।

    मन्त्रालयमा कार्यालय सहयोगीदेखि राज्यमन्त्रीसम्मको सहयोगको आवश्यकता रहेको भन्दै उनले सबैबाट आफूले सिक्न चाहेको बताए ।

    निर्देशनभन्दा बढी सामूहिक निर्णयमा ध्यान दिने उनको भनाई छ । मन्त्री भट्टराईलाई मन्त्रालयमा राज्यमन्त्री धनबहादुर बुढा, सचिव मोहनकृष्ण सापकोटा, मन्त्रालयका सहसचिवहरु, कर्मचारी तथा व्यवसायीहरुले मन्त्रालयमा स्वागत गरे ।

    मन्त्री भट्टराईको जिम्मेवारीमा ६ महिनादेखि थाती रहेका कामहरुलाई अगाडी बढाउनु ठूलो चूनौतिका रुपमा रहेका छन् ।

    १५ फागुन २०७५ मा हेलिकोप्टर दूर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि यो मन्त्रालय नेतृत्वबिहिन अवस्थामा थियो ।

  • तीन तलाक भारतमा अवैधानिक

    तीन तलाक भारतमा अवैधानिक

    नयाँ दिल्ली । सम्बन्ध विच्छेद गर्न परे तीन तलाक भन्दा पुग्ने परम्परा अब भारतमा कानूनको दायरा भित्र आएको छ ।

    भारतीय लोकसभाबाट ‘तीन तलाक’ विधेयक पारित भएसागै अब तीन तलाक भनेकै भरमा कुनै पनि मुस्लिम पुरुषले महिलासँग सम्बन्ध विच्छेद गर्न नसक्ने भएको छ ।

    मुस्लिम समुदायमा श्रीमानले श्रीमतीलाई तीनपटक ‘तलाक’ भनी सम्बन्धबिच्छेद गर्न सक्ने परम्परा रहेको थियो।

    कानूनले यस्तो तलाकलाई अब गैरकानूनी ठहर गरेको छ । यो विधेयक लोकसभाबाट पारी गरी राज्य सभामा पुगेको थियो ।

    भारतमा लामो समयदेखि यो परम्पराको विरोध भएपनि कानून बन्न सकेको थिएन् ।

    यस कानूनको विरोधमा कांग्रेसले राज्यसभामै मतदान गरेको थियो । तर, भारतीय जनता पार्टीको बाहुल्य रहेका कारण राज्यसभाबाट सजिलै पास भयो ।

    तीन तलाक पास भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ऐतिहासिक दिनको संज्ञा दिएका छन् ।

    पुरातनवादी सोँचबाट मुक्त पाएको यो दिन सम्पूर्ण महिलाको विजयको दिन भएको प्रधानमन्त्री मोदीको भनाई छ । राज्यसभामा ८५ मतका विरुछ ९९ मतले यो विधेयक पास भएको हो ।

    उता, भारतका विभिन्न स्थानमा महिलाहरुले जिवयी जुलुस निकाल्दै यस निर्णयको भब्य स्वागत समेत गरेका छन् ।

  • बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

    बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

    काठमाडौं । आफ्ना केन्द्रिय स्तरका नेताहरु पक्राउ परेको विरोधमा विप्लव समूहले बुधबार देशका विभिन्न स्थानमा बन्द आह्वान गरेको छ ।

    खासगरी बागमति र नारायणी अञ्चलका जिल्लाहरुमा समूहले बन्दको घोषणा गरेको हो । बन्द सफल बनाउन भन्दै यस समूहका कार्यक्रताले भौतिक सम्पत्तिमाथि क्षति पुर्याउन थालिसकेका छन् ।

    मकवानपुरमा एक गाडीमा आगजनी गरेको प्रहरीले बताएको छ । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला पर्न थालेको प्रहरीको भनाई छ ।

    हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी भएको छ ।

    यस समूहका काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले गत ५ साउन ५ पक्राउ गरेको विरोधमा बन्द आह्वान भएको विप्लव समूहले बताएको छ ।

    उता, रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा मंगलबार मध्यरातमा आगजनी गरिएको छ । आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएका छन् ।

  • मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित

    मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित

    काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

    मलेसियाको रोजगारी नखुलाए व्यवसायको लाइसेन्स नै सरकारको जिम्मा लगाउने चेतावनी उनीहरुले दिएका छन् ।

    व्यवसायी मंगलबार वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्नामा उपस्थित थिए ।

    म्यानपावर व्यवसायीको सबैभन्दा ठूलो आम्दानीको स्रोत नै मलेसिया हो । मलेसिया बन्द भएपछि व्यवसाय संकटमा रहेको उनीहरुको गुनासो छ ।

    नेपालबाट सबैभन्दा धेरै नेपालीको गन्तब्य रहेको मलेसिया पठाउने सिलसिलामा कामदार ठगिने गरेको प्रमाणित भएपछि सरकारले मलेसियाको गन्तब्य बन्द गरेको थियो ।

    त्यसपछि मलेसिया र नेपाल सरकारबीच सम्झौता भएपनि पुनः रोजगारी शुरु हुन सकेको छैन ।

    सरकारले मलेसियाको सम्झौता समेत सार्वजनिक नगरेको भन्दै व्यवसायीले विरोध गर्दै आएका छन् । नेपालीहरु जेठ २०७५ पछि मलेसियाको रोजगारी बन्द भएको छ ।

  • काठमाडौंबाटै विप्लव समूहकी नेतृ पक्राउ

    काठमाडौंबाटै विप्लव समूहकी नेतृ पक्राउ

    काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको छ । उनी ‘भृकुटी’ उपनामले चिनिन्छन् ।

    यसअघि काठमाडौंबाट विप्लवका काठमाडौ इन्चार्ज माइला लामा पक्राउ परेका थिए । पछिल्लो समय प्रहरीले नेकपाविरुद्ध आक्रामक रवैया अपनाइरहेको छ ।

    उच्च तहका नेतालाई निरन्तर पक्राउ गरिरहेको छ । कालिकोट स्थायी घर भएकी नेतृ उपाध्याय पहिलो संविधानसभामा तत्कालिन नेकपा माओवादीबाट सभासद थिइन् ।

    प्रहरीको विशेष ब्युरोले नेतृ उपाध्यायलाई पक्राउ गरेको प्रहरीले पुष्टी गरेको छ ।

    उनी विप्लव समूहको अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव हुन । सरकारले विप्लवका गतिविधिमाथि प्रतिवन्ध लगाएको छ ।

    विप्लव समूहले चन्दा आतकंसहित बम काण्डहरु मच्याउन थालेपछि सरकारले धमाधम नेता तथा कार्यक्रता पक्राउ गरिरहेको छ ।

  • रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

    रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

    काठमाडौं । रंगशाला तयार नहुँदा विश्वकप छनोट अन्तर्गतका खेल नेपाली भूमिमा नहुने भएको छ ।

    विश्वकप छनोट २०२२ का लागि हुन छनोट अन्तर्गत प्रारम्भका ५ खेल नेपालमा आयोजना नहुने भएको छ ।

    नेपाल फुटबल संघ (एन्फा)ले ५ खेल नेपालबाहिर नै खेल्ने निर्णय गर्दै त्यसको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गर्ने निर्णय गरेको छ ।

    होम एण्ड अवेका आधारमा नेपालले कूल ८ खेल खेल्नेछ । त्यसमध्ये एक खेल अवे मै खेल्ने निर्णय गरेको हो । यसबाट कुवेतका दुबै खेल उसको घरेलु मैदानमा हुने भएको छ ।

    नेपालले १९ भदौमा कुवेत र २४ भदौमा चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा हुदैछ ।

    ३ मंसिर मा कुवेतसँग दोस्रो खेल तय भएको छ । यस पटक विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग खेल्नेछ ।

  • प्रचण्ड यूइए प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

    प्रचण्ड यूइए प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका सिलसिलामा दुबई प्रस्थान गरेका छन् ।

    पत्नी सीताको उपचारको सिलसिलामा प्रचण्ड यूएइैतर्फ लागेको हुन् । भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने प्रचण्डको सचिवालय स्रोतले बताएको छ ।

    प्रचण्ड परिवारका ७ सदस्य यस टोलीमा सहभागी रहेका छन् । प्रचण्ड परिवार चार दिनसम्म यूइर्एमा रहने भएका छन् ।

    प्रचण्ड देशमा नेकपाको पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याएर यूएइतर्फ लागेका हुन् ।

    प्रचण्ड परिवार १८ साउनमा स्वदेश फर्कने भएको छ । अध्यक्ष प्रचण्डका साथमा पत्नी सीता, दुई छोरी र तीन नाति-नातिना गएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल प्रचण्ड पुत्री हुन् ।

    उता, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य चेकजाँचका क्रममा १८ साउनमा सिंगापुर जाने भएका छन् ।

    सोही दिन प्रचण्ड नेपाल फर्कने भएका छन् । यसले स्वदेशमा भने नेकपा नेतृत्वबिहिन नहुने भएको छ ।

    प्रधानमन्त्री ओली स्वास्थ्य जाँचसहित आराम गर्न सिंगापुर गर्न लागेके प्रधानमन्त्री स्रोतको भनाई छ ।

  • ब्राजिलको जेल भित्र झडप, ५२ को ज्यान गयो

    ब्राजिलको जेल भित्र झडप, ५२ को ज्यान गयो

    ब्राजिल । ब्राजिलमा कैदी-कैदी बीच भएको झडपमा ५२ कैदी-बन्दीको मृत्यु भएको छ । सोमबार अत्यन्तै हिंस्रक झडप भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    ब्राजिलको अल्टामिरा जेलमा ५ घण्टा भन्दा बढी समय चलेको नरसंहारमा उक्त हताहती भएको हो । ब्राजिलमा कैदी बन्दीबीच नियमित जस्तो झडप हुन्छ । अधिकारीहरु यसलाई सामान्य मान्छन् ।

    कैदीले जेलका सरकारी अधिकारीलाई समेत बन्धक बनाएका थिए । झडपपछि जेलमा आगा लागेको र त्यसबाट निसास्सीएर धेरैले ज्यान गुमाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    क्षमताभन्दा बढी कैदी राखिएको जेलमा झडप भएको हो । ब्राजिल संसारमा धेरै केदी भएको मुलुकमध्ये एक हो । जहाँ ७ लाख भन्दा बढी मानिसले कैद जीवन बिताइरहेका छन् ।

    जेलका पूर्वाधार साँघुरा भएका कारण यहाँ धेरै समस्या आउने गर्छन् ।

    ब्राजिलमा गत मे मा भएको यस्तै प्रकारको झडपमा ४० जनाले ज्यान गुमाएका थिए । सन् २०१७ मा मात्र जेल भित्रको भिडन्तमा १ सय ४० जनाको निधन भएको थियो ।

    एजेन्सी

  • एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन

    एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन

    काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पगेका ७५३ जना नेपाली युवा अब कैले पनि नउठ्ने गरी काठको बाकसमा स्वदेश फर्किएका छन् ।

    बैदेशिक रोजगार बोर्ठले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को तथ्यांक अनुसार एक वर्षको अवधिमा विदेशमा मृत्यु भई स्वदेश शव ल्याइएका ७५३ जनाको परिवारलाई क्षतिपूर्ति प्रदान गरेको छ ।

    यस तथ्यांकमा अवैधानिक रुपमा गएर ज्यान गुमाएका नेपाली, अध्ययन भिषामा जाने नेपाली र विदेशमा वैधानिक रुपमा पुगेर भागेर बस्ने नेपालीको मृत्यु जोडिएको छैन ।

    बोर्डका अनुसार एक वर्ष अवधिमा ७३० पुरुष र २३ जना महिला कामदारको वैदेशिक रोजगारीमै रहेको अवस्थामा ज्यान गएको छ ।

    त्यसो त आर्थिक वर्ष २०७४\७५ मा ८२१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये ८ सय जना पुरुषले ज्यान गुमाएका थिए । महिला मात्र २१ थिए ।

    तथ्यांक अनुसार कामदार जाने क्रम रोकिएको मलेसियामा नेपालीको मृत्यु भने धेरै भयो । मलेसियामा मात्र २२९ जना नेपाली कामदारको निधन भएको तथ्यांक छ ।

    मलेसियाको रोजगारी नेपालीबीच जति आकर्षक छ, त्यति असुरक्षित पनि । उता, साउदी अरेबियामा १९४ नेपालीले ज्यान गुमाएका छन् ।

    कतारमा १३५ नेपालीको ज्यान गएको तथ्यांक रहेको छ । यूएईबाट ८५ वटा शव नेपाल भित्रिए । कुवेतमा २९ जनाको निधन भयो ।

    पछिल्लो समय सबैभन्दा आकर्षक गन्तब्य कोरियामा मात्र १ वर्षको अवधिमा २० नेपालीको ज्यान गयो । कोरियामा धेरै नेपालीको मृत्युको कारण आत्महत्या हो ।

    बहराइनमा ११, ओमानमा ६ र जापानमा ३ जनाको निधन भयो । यसबाहेक अन्य विभिन्न मुलुकमा गरी ४१ थप नेपालीले ज्यान गुमाएको बोर्डद्धारा सार्वजनिक तथ्यांकमा उल्लेख रहेको छ ।

    विदेशमा कामदारले अति दवावमा काम गर्नुपर्ने बाध्यता छ । हावापानी नमिल्ने र कडा परिश्रमका कारण धेरै नेपालीको जान जाने अवस्था छ ।

    अर्कोतर्फ तापक्रम नमिल्ने र अदक्ष कामदारका रुपमा जादा पनि विदेशमा धेरै नेपालीले कडा परिश्रम गर्नुपर्ने बाध्यता रहेको छ । अर्कोतर्फ सडक दूघटनामा पनि धेरै नेपालीको ज्यान जाने गरेको छ ।

  • सन्दिप र सोमपाल क्यानडा पुगे

    सन्दिप र सोमपाल क्यानडा पुगे

    क्यानडा । नेपाली क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी ग्लोबल क्यानडा टी-२० मा भाग लिन क्यानडा पुगेका छन् । उनीहरु आइतबार नै क्यानडा लागेका हुन् ।

    यस पटक पहिलो चोटी सोमपाल कामी विदेशी लीगका लागि छनोट भएका हुन् । यी दुई खेलाडी आइसीसी टि–२० विश्वकपको एसिया छनौटपछि सिंगापुरबाट सिधै क्यानडा गएका हुन् ।

    यस सिजनका लागि सन्दीपलाई टोरोन्टो नेशनल्सले ६० हजार अमेरिकी डलर र सोमपाललाई विनिपेग हक्सले ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेका छन् ।

    यी दुबै खेलाडी नेपाली टोलीका प्रभावशाली खेलाडी हुने । मंगलबारबाट टीममा आवद्ध हुने खेलाडीहरु सन्दीप र सोमपालको टोली भने सोमबार नै भिड्दैछन् ।

    तर, भर्खरै क्यानडा पुगेका दुई खेलाडी भने आराम गर्नेछन् । उनीहरु मेन्चमा बसेर क्रिकेट हेर्ने र अर्को खेलबाट टोलीको हिस्सामा सामेल हुनेछन् । अहिलेसम्म दुबै टोलीले २\२ खेल खेलिसकेका छन ।

  • नेपाल-जापान उडान ३७ हजारमै, नेपाल एयरलाइन्सको सिधा उडान

    नेपाल-जापान उडान ३७ हजारमै, नेपाल एयरलाइन्सको सिधा उडान

    काठमाडौं । नेपाल एयरलाइन्सले नेपालदेखि जापानको सिधा उडानको भाडा दर सार्वजनिक गरेको छ ।

    एयरलाइन्सका अनुसार नेपालबाट एउटै उडानबाट सिधै जापान जान सकिने छ ।

    यस रुटको एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । निगमका अनुसार यस रुटमा वाइडबडी जहाजले उडान गर्नेछ ।

    निगमले भदौ १२ का लागि जापानको ओशाकामा सिधा उडान तोकेको छ । त्यसका लागि धमाधम टिकट बुक भइरहेको निगमको भनाई छ ।

    यो भाडादर दशैंसम्म कायम रहने भन्दै निगमले यसलाई प्रवद्र्धनात्मक भाडादर समेत भनेको छ ।

    प्रारम्भीक चरणमा दुईतर्फी भाडा ७२ हजार ८१४ तोकिएको छ ।

    निगमले साताको तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ ।

    मङ्गलबार, बिहीबार र शनिबार निगमका वाइडबडी चढी नेपाल देखि जापान र जापानबाट सिधै नेपाल झर्न सकिने छ ।

    जापान धेरै नेपाली विद्यार्थी भएको मुलुकमध्ये एक हो । यस रुटको उडान समय ६ घण्टाको हो ।

  • न्यायाधीशमाथि छानविन गर्न समिति गठन

    न्यायाधीशमाथि छानविन गर्न समिति गठन

    काठमाडौं । न्यायमूर्ति मानिने न्यायाधीश पनि आफ्नै गतिविधिका कारण विवादित हुन्छन् । यस्तै विवादमा तानिएका न्यायाधीशमाथि छानविन गर्न न्याय परिषद्ले छानविन समिति गठन गरेको छ ।

    न्यायपरिषद्को सोमबार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशबारे छानविन गर्न समिति गठनको निर्णय गरेको परिषद्ले जानकारी दिएको छ ।

    बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको थियो ।

    क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन र काठमाडौँ जिल्ला अदालतका एक न्यायाधीशमाथि छानविन गर्न समिति गठन गरिएको हो ।

    उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन हुने भएको छ ।

    सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।

    जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन भएको छ ।

  • १२ कक्षाको नतिजा सार्वजनिक

    १२ कक्षाको नतिजा सार्वजनिक

    काठमाडौं । सरकारले माध्यामिक स्तरको मान्यता दिएको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिएको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

    यस पटक ३ हजार ६७ जना विद्यार्थीले ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी कुल ४ लाख २८ हजार ६७ परीक्षार्थीले भाग लिएको बोर्डले जानकारी दिएको छ ।

    नियमित तर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी सहभागी भएकोमा ३ हजार ६७ जनाको नाममा उच्च तहको जीपीए प्राप्त भयो ।

    ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

    ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडमा विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । नतिजाअनुसार ३१ हजार विद्यार्थीको नाममा २.८१ देखि ३.२० जीपीए प्राप्त भएको छ ।

    २.४१ देखि २.८० जीपीए ल्याउने विद्यार्थी ५६ हजार ५ सय ३ जना रहेका छन् । यसअघि एसएलसी सरह मान्यता दिने गरेकामा अब माध्यामिक स्तरको मान्यता कक्षा १२ सम्मको परिक्षालाई दिइन्छ । यस कक्षाबाट विद्यार्थी माथिल्लो स्तरको पढाईका लागि योग्य हुन्छन् ।

  • सौखिन चोर, १३ लाख चोरेर १ लाख १० हजारमा मोवाइल

    सौखिन चोर, १३ लाख चोरेर १ लाख १० हजारमा मोवाइल

    काठमाडौं । चोरी आरोपमा प्रहरीले सोमबार सार्वजनिक गरेका एक यूवाको सौखिन रुप सार्वजनिक भएको छ ।

    विराटनगर प्रहरीले साढे १३ लाख रुपैयाँ चोरी गरेको आरोपमा कटहरी गाउँपालिका १ का २० वर्षका सुरज कामतलाई पक्राउ गर्यो । ति यूवा विराटनगर– १ का मोतीराज दाहालको घरबाट रकम चोरी भागेका थिए ।

    यो घटना ७ साउनको हो । चोरी गरेर भोगेका कामतले नजिकै भारतीय बजार जोगबनी पुगेर १ लाख १० हजार पर्ने महंगो मोवाइल खरीद गरेको प्रहरीले जानकारी दिएको छ ।

    सामान्य आर्थिक अवस्था भएका कामतको भड्किलो सोख पुरा गर्न चोरीको सहारा लिएको देखिएको छ ।

    प्रहरीले कामतको साथबाट मोबाइल र करीव पाँच लाख रुपैयाँ नगद भेटिएको जानकारी दिएको छ ।

    बाँकी रकम भने पाँच दिनमा उनले खर्च गरिसकेका छने । कामत लामो समयदेखि दाहालकै घरमा काम गर्ने कामदार रहेको र घरको सम्बन्धमा सबै सूचना राख्ने गर्थे ।

    सोहीकारण उनलाई चारी गर्न सहज भएको देखिएको छ । पक्राउ युवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश

    युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश

    काठमाडौं । आर्थिक वर्ष २०७५\७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ ।

    एक वर्षको अवधिमा नेपालले १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्यो ।

    त्यसमध्ये आयात मात्र १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । निर्यात भने वर्षभरमा १ खर्ब पनि पुगेन ।

    यस अवधिमा मात्र ९७ अर्ब १० करोड रुपैयाँ बराबरको समान तथा वस्तु विदेश निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।

    विभागको तथ्यांक अनुसार नेपालमै उत्पादन सम्भव भएका कृषिजन्य वस्तुमै ठूलो परिणाममा आयात भएको छ ।

    इन्धन र सवारी साधनको आयात पनि उत्तिकै धानिनसक्नु अवस्थामा पुगेको छ । नेपालमा वस्तु निर्यातले पुरै इन्धनको आयात मात्र पनि नधान्दा नेपाल व्यापार घाटाको डरलाग्दो भूमरीमा फसिसकेको आभास हुन्छ ।

    पछिल्लो समय सरकारले विलासीताका वस्तुको आयातमा कडाइ गरेको छ । तर, ति सामान भित्रने क्रम भने रोकिएको छैन । जगलै जंगलको देशमा ४० अर्ब रुपैयाँ भन्दा बढीको काठ आयात भएको छ ।

    भट्टमासदेखि गुन्द्रुक र सियोसम्मका सामान नेपालले विदेशबाट आयात गरिरहेको छ । मासु, दुध, चामल, फलफुल तथा तरकारीको आयात उत्तिकै बढिरहेको छ ।

    खासगरी नेपालमा उत्पादनमा लाग्नुपर्ने युवा विदेश पलायन हुने अवस्थाले स्वदेशमा उत्पादन घटिरहेको छ । तर, बसी बसी खानु पर्ने नेपालीलाई भारत र तेस्रो मुलुकका उत्पादनले पालिरहेको देखिन्छ ।

    तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा व्यापार घाटा साढे १३ प्रतिशतले उकालो लागेको छ । आर्थिक वर्ष ०७४-०७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो ।

    नेपालको व्यापार घाटा नेपाल भित्रने रेमिट्यान्स र नेपालको कूल बजेट भन्दा पनि बढी हुन थालिसकेको छ । चालू आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ ।

    नेपालमा पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेसिनरी, यातायात र पार्टपुर्जा, खाद्यान्न लगायतको आयातमा बढी रकम बाहिरिन्छ । आव ०७५-०७६ मा नेपालले १ खर्ब ६५ अर्ब भन्दा माथिको इन्धन आयात भएको छ ।

    नेपालको वैदेशिक व्यापार १ सय ५८ मुलुकसँग रहेको छ । त्यसमध्ये नेपालले १ सय ३६ मुलुकसँग घाटाको व्यापार गरिरहेको छ ।

    नेपालको ठूलो व्यापार भारत र चीनमा केन्द्रित छ । त्यसबाहेक संयुक्त अरब इमिरेट्स, फ्रान्स, इन्डोनेसिया, थाईल्याण्ड, क्यानाडा, अमेरिका, स्वीट्जरल्याण्ड, मलेसियाजस्ता मुलुकसँग नेपालको वैदेशिक व्यापार रहेको छ ।

  • विश्व बाघ दिवस : चूनौति वन्यजन्तु सुरक्षा

    विश्व बाघ दिवस : चूनौति वन्यजन्तु सुरक्षा

    काठमाडौं । सोमबार विश्वभर बाघ दिवस मनाइदैछ । नेपाल पनि बाघको सुरक्षित बासस्थानमध्ये एक, त्यसकारण विश्वको ध्यान यस मुलुकतर्फ हुनु स्वाभाविक पनि हो ।

    तर, पछिल्लो समय विश्वव्यापी रुपमा बढ्दै गएको वन्यजन्तुको सुरक्षाको विषय भने निकै पेचिलो बन्दै गएको छ ।

    अघिल्लो साता चितवन निकुन्जलबाट सार्वजनिक भएको एक तथ्यांक अनुसार एक वर्षमा करीव ३ दर्जन भन्दा बढी गैडा मरेका छन् ।

    जहाँ नेपालले शून्य चोरी शिकारी वर्ष मनाएको थियो । यसरी वन्यजन्तुको असाधारण निधनले कतै वन्यजन्तु संरक्षणमा हाम्रा प्रयास असफल त भइरहेका छैनन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ ।

    सोमबार परेको बाघ दिवस ‘पर्या पर्यटनका लागि बाघ संरक्षण’ भन्ने नारासहित मनाइदैछ । बाघ दिवस विशेष कार्यक्रम भने बाँके राष्ट्रिय निकुन्जमा आयोजना गरिएको छ ।

    जहाँ तीन वटै सरकारका प्रतिनिधि सहभागी भएर बाघ संरक्षणमा ऐकिवद्धता जनाउँदैछन् ।

    सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटबाट सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको संख्या दोब्बर बनाउने घोषण गरेको थियो ।

    त्यसपछि विश्वभर जुलाई २९ मा बाघ दिवस मनाउन थालियो । नेपालको प्रतिवद्धता अनुसार सन २०२२ सम्ममा नेपालमा २ सय ५० बाघ हुनुपर्नेछ । सरकारको तथ्यांक अनुसार अहिले देशभर बाघको संख्या २ सय ३५ छ ।

  • मनसुन अवधिमा साढे ३ अर्बको कृषि उपजमा क्षति

    मनसुन अवधिमा साढे ३ अर्बको कृषि उपजमा क्षति

    काठमाडौं । असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म आएको मनसुन र त्यसले उत्पन्न गरेको विपदले करीव साढे ३ अर्ब रुपैयाँ बराबरको कृषि उपजमा क्षति गरेको छ ।

    त्यसमा सबैभन्दा ठूलो क्षति प्रदेश २ मा भएको हो । कृषि तथा पशुपंछि विकास मन्त्रालयका अनुसार प्रदेश २ का ८ वटै जिल्ला बाढीबाट प्रभावित भए ।

    ८ जिल्लामा पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर क्षती पुगेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

    महोत्तरी जिल्लाबाट भने पशुपंक्षीतर्फको तथ्यांकहरु आउन बाँकि छ ।

    बाढीबाट कुखुरा, हाँस, बाख्रा, भैंसी र गोरु तथा यसको दाना तथा आहार बगाउँदा बढी क्षति भोग्नु परेको हो ।

    पशुपंक्षीमा बढी क्षति सिरहा र सप्तरीका कृषकले भोग्नु परेको छ । यहाँ ९७ करोड बराबरको क्षति भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    रौतहटमा ३५ करोडको क्षति भएको छ । धनुषा, पर्सा, बारा र सर्लाहीमा क्रमशः १५, १०, १० र ५ करोडको क्षति भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार पहाडी भेगसहित अन्य स्थानको तथ्यांक भने संकलनको क्रममा छ ।

    यसैगरी गुल्मीमा गएको पहिरोका कारण भएको भौतिक क्षतिको समेत मूल्यांकन थालिएको छ । १३ जनाको ज्यान जाँदै ठूलो मानवीय क्षति निम्त्याएको गुल्मीमा भौतिक क्षतिको आंकलन शुरु गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

  • जापानमा ६.५ रेक्टरको भूकम्प

    जापानमा ६.५ रेक्टरको भूकम्प

    टोकियो । जापानमा ६.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

    आइतबार स्थानीय समय अनुसार ३.३१ बजे दक्षिणपूर्वी तटीय क्षेत्रमा भूकम्प गएको हो ।

    जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयका अनुसार जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएको थियो ।

    सोहीकारण जापानमा सुनामीको खतरा भने नआएको कार्यालयको भनाई छ ।

    भूकम्प गएको क्षेत्रमा करीव ३ करोड जनसंख्याको बसोबास रहेको बताइएको छ ।

    भूकम्पबाट मानवीय क्षतिको भने कुनै खबर आएको छैन । भूकम्पको धक्का राजधानीमा टोकियोमा पनि गरिएको थियो ।

    एजेन्सी

  • फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

    फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

    काठमाडौं । अब फिल्म हलमा चलचित्र शुरु हुनु अगाडी नेपालको राष्ट्रिय ज्ञान बज्ने भएको छ । सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा उक्त प्रावधान समेटेको छ ।

    उक्त विधेयक अब संसदमा दर्ता हुने प्रक्रियामा छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले तयार पारेको यस विधेयक अनुसार हलमा चलचित्र प्रदर्शन सुरु हुनुअघि अनिवार्य नेपालको राष्ट्रिय ज्ञान बजाउनु पर्नेछ ।

    चलचित्र सुरु हुनुअघि तथा मध्यान्तरमा सन्देशमूलक वा शिक्षामूलक श्रव्यदृष्य सामग्री हलले स्कृनमा राख्नुपर्ने व्यवस्था पनि यस विधेयकमा गरिएको छ ।

    त्यसो त सरकारले अब म्यूजिक भिडियो र विज्ञापनलाई पनि सेन्सरको दायरामा राख्ने तयारी गरिरहेको छ ।

    पछिल्लो समय अस्लिल र छाडा म्यूजिक भिडियोको विगविगी बढ्दै गएको छ ।

    टेलिचलचित्र पनि सेन्सर हुनेछन् । चलचित्रको परिभाषा फराकिलो पार्दै सबै प्रकारका छायांकन हुने सामग्रीलाई यस भित्र राखेर सेन्सर गर्न लागिएको हो ।

  • नेपालमा हेपाटाइटिस नियन्त्रण : डब्लूएचओ

    नेपालमा हेपाटाइटिस नियन्त्रण : डब्लूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाल हेपाटाइटिस बी रोग नियन्त्रणमा सफल भएको घोषणा गरेको छ ।

    नेपालसहित बंगलादेश, भुटान र थाइल्याण्ड यो उपलब्धी प्राप्तीमा सफल भएको संगठनले उल्लेख गरेको छ ।

    यो एक प्रकारको सुषुप्त मृत्यु रोगका रुपमा चिनिने रोग हो ।

    हेपाटाइटिस बीको संक्रमण पाँच वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा झार्दै यी मुलुक यस रोगको नियन्त्रणमा सफल भएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ ।

    सरकारले हेपाटाइटिस विरुद्धको खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    संगठनले सन् २०२० भित्र यी दक्षीण पूर्वी एसियाली मुलुकमा हेपाटाइटिस रोग नियन्त्रण गरिसक्ने लक्ष्य तोकेको छ ।

    हेपाटाइटिसका प्राणघातक रोगहरुको संक्रमणबाट दक्षिण पूर्वी एसियामा हरेक वर्ष ४ लाख भन्दा बढी मानिसले ज्यान गुमाउने संगठनको तथ्यांक रहेको छ ।

    संगठनले शनिबार विज्ञप्ती जारी गर्दै नेपाल यस रोगको नियन्त्रणमा सफल भएको उल्लेख गरेको हो ।

  • बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

    बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

    काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका पूर्वकर्मचारी युक्तप्रदाद श्रेष्ठले आत्महत्या गरेका छन् ।

    उनी मालपोत कार्यालयबाट २०६० सालमा नासु पदबाट सेवा निवृत्त भएको प्रहरीले पुष्टी गरेको छ ।

    आइतबार दिउँसो २ बजे बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर श्रेष्ठले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

    आठौं तलाबाट झरेका श्रेष्ठलाई गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तत्काल उनलाई डाक्टरले मृत घोषणा गरे ।

    बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा संलग्न व्यक्तिहरुको सूचिमा उनको नाम पनि मुछिएको छ । उनीसहित दर्जनौं व्यक्तिमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

    श्रेष्ठ पर्वत फलेबास नगरपालिका ६, देवीस्थानका स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ ।

    उनी स्थानीय स्तरका कांग्रेसको राजनीति पनि गर्थे । नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिमा उनी सचिव पदमा मनोनित भएका थिए ।

  • ६ वर्षपछि विश्वकप खेल्ने नेपालको सपना सकियो

    ६ वर्षपछि विश्वकप खेल्ने नेपालको सपना सकियो

    काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोट एसिया फाइनलको विजेता बन्दै आगामी अक्टोबरमा युएईमा आयोजना हुने विश्वकप छनोट पुग्ने नेपालको सपनामा तुषारापात भएको छ ।

    सिंगापुरसँग आइतबार भएको निर्णायक खेलमा नेपाल ८२ रनले पराजित भयो ।

    नेपाललाई हराएको सिंगापुर भने समूहको शीर्ष स्थानमा रह्यो र विश्वकप छनोटको ग्लोवल छनोटको टिकट पक्का गर्यो ।

    नेपाल कतार र सिंगापुरजस्ता तुलनात्मक रुपमा कमजोरी टोलीभन्दा पनि तल अर्थातः तेस्रो स्थानमा रहँदै यात्रा टुंग्याउन बाध्य भयो ।

    नेपालले आइतबार आफ्नो क्षमता अनुसार कुनै पनि साइडमा राम्रो प्रदर्शन गर्न सकेन । टस हारेर पहिले फिल्डमा उत्रिएको नेपालका बलरलाई सिंगापुरका ब्याट्सम्यानले नराम्रोसँग चुटे ।

    निर्धारित २० ओभरमा सिंगापुरले कूल १ सय ९२ रन जो्डन सक्यो । जवाफी लक्ष्य भेटाउन मैदानमा उत्रिएएको नेपाल मात्र १ सय ९ रनमा समेटियो ।

    नेपालका सबै खेलाडीले बिर्सनलायक प्रदर्शन गरे । यससँगै नेपालको ६ वर्षपछि पुनः विश्वकप खेल्ने सपना समाप्त भएको छ ।

    यसअघि नेपालले सन् २०१४ को टी २० विश्वकप खेलेको थियो । त्यसपछि भने नेपालले निरन्तर उत्कृष्ट प्रदर्शन गरेपनि ठूलो प्रतियोगितामा चुक्दै आएको छ ।

    अहिले नेपालसँग एक दिवसीय मान्यता समेत रहेको छ । खेलमा पराजित भएपछि कप्तान पारस खड्काले समर्थकसँग माफि मागेका छन् ।

    यद्दपी यस प्रतियोगितामा पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट खेल प्रदर्शन गरे ।

    उनीहरु प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदान छिरेका थिए । यसपटक बलरहरुले भने उत्कष्ट प्रदर्शन गर्न सकेनन् । किनकी नेपालको बलियो पक्ष नै बलर हुन् ।

  • प्रेमिका हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

    प्रेमिका हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

    काठमाडौं । प्रेमिकालाई हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

    केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जको टोलीले १२ वर्षदेखि फरार राजेश लामालाई पक्राउ गरेको हो ।

    काभ्रे, रोशी गाउँपालिका, ३ घर भई ललितपुरमा बस्दै आएका लामालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले बताएको छ सीआईबीले आइतबार उनलाई सार्वजनिक गर्यो ।

    २७ पुस ०६४ मा मकवानपुर फापरबारीकी सुनिता लामालाई उनकै कोठमा हत्या गरी फरार भएका लामा १२ वर्षपछि पक्राउ परेका हुन ।

    प्रहरीका अनुसार विवाह गर्ने सल्लाह भएपछि पनि प्रेमिका सम्पर्कमा नआएको निउमा सुनिताको हत्या गरेका थिए ।

  • चीनबाट नेपाल फर्काइयो महिला कामदार

    चीनबाट नेपाल फर्काइयो महिला कामदार

    बेइजिङ । चीनको गार्मेन्टमा काम गर्न पुगेका महिला कामदारलाई नेपाल फर्काइएको छ ।

    बेइजिङस्थित नेपाली दूतावासका अनुसार ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा काम गरिरहेका ४४ नेपाली महिला कामदारलाई स्वदेश फर्काइएको हो ।

    दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट शनिबार नेपाल पठाइएको छ । उनीहरु आइतबार नेपाल पुग्ने दूतावासले उल्लेख गरेको छ ।

    श्रम अनुमति लिएर चीन पुगेका ती कामदारलाई कम्पनीले सम्झौता अनुसार सेवा सुविधा दिन नसकेपछि घर पठाइएको दूतावासको भनाई छ । उनीहरु मे २०१९ मा कारखानामा आइपुगेका थिए ।

    उनीहरुले कम्पनीमा सम्झौता अनुसार सेवा सुविधा नपाएपछि दूतावसमा उजुरी गरेका थिए । सोही आधारमा दूतावासले घर फर्काउने वातावरण मिलाएको उल्लेख गरेको छ ।

    पछिल्लो समय क्रमशः चीनमा समेत नेपाली कामदार जाने क्रम बढ्दो क्रममा रहेको छ । तर, चीनमा उचित सेवा सुविधाको भने समस्या छ ।

  • प्रहरी जवान डेढ लाख घुससहित पक्राउ

    प्रहरी जवान डेढ लाख घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवान बलराम यादवलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।

    आयोगका अनुसार उनी शनिवार पक्राउ परेका हुन् । सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवामा कार्यरत यादवले व्यापारीसँग घुस मागेको सुराकीको आधारमा अख्तियार टोली पुगेको र उनलाई रगेंहात पक्राउ गरेको हो ।

    उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले उल्लेख गरेको छ । पछिल्लो समय अख्तियारले सानो परिमाणको घुस लिएको आरोपमा साना कर्मचारीाथि व्यापक कारवाही अगाडी बढाएपनि ठूला भ्रष्टाचार काण्डमा भने कुनै उपलब्धी हाँसिल गर्न सकेको छैन ।