Author: Vishwanews.com

  • रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो

    रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो

    मुम्बई । भारतको मुम्बई नजिकै एक यात्रुबाहक रेलमा फसेका करीव ७ सय यात्रीलाई सकुशल सुरक्षित स्थानमा निकालिएको छ ।

    रेलको लीकमा पानी भरिएपछि रेल अगाडी बढ्न सकेन र सयौं यात्री रेल भित्रै फसेका थिए ।

    मुम्बईको नजिकै बदलापुर भन्ने स्थानमा करीव ११ घण्टासम्म रेलमा मानिस फसेका थिए । लगातारको वर्षाले भारतको मुम्बईमा जनजीवन प्रभावित भएको छ ।

    महालक्ष्मी एक्सपे्रसको लीकमा पानी जमेपछि रेल गुड्न नसकेको हो । उनीहरुलाई भारतीय आपतकालिन सुरक्षा दलको टोलीले उद्धार गरेको हो ।

    रेलबाट निकालेका यात्रीलाई १७ वटा बसमार्फत सुरक्षित स्थानमा सारिएको हो । उनीहरुलाई खानापिनाको व्यवस्था पनि उद्धारपछि मात्र प्राप्त भएको थियो ।

    उनीहरुलाई १९ कोचवाला अर्को विशेष रेलमार्फत सुरक्षित आफ्नो गन्तब्यमा पठाउने तयारी भइरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    रेस्क्यू टोलीले यात्रुलाई रेलबाट बाहिर निकाल्ने क्रममा ३७ जना डाक्टर पनि उक्त स्थानमा खटिएका थिए ।

    कुनै अप्रिय घटना नहोस भनी उक्त सतर्कता अपनाइएको रेल विभागको भनाई छ ।

    गृहमन्त्री अमित शाहले सुरक्षित रुपमा यात्रीको बाहिर निकाल्ने कार्यको प्रशंसा गरेका छन् ।
    एजेन्सी

  • कुवेतमाथि नेपालको सहज जीत, ग्लोवल छनोटको सम्भावना प्रवल

    कुवेतमाथि नेपालको सहज जीत, ग्लोवल छनोटको सम्भावना प्रवल

    काठमाडौं । आइसीसी म्यान्स टी२० वल्र्डकप एसिया रिजन फाइनलमा कुवेतमाथि नेपालले ७ विकेटको सहज जीत हात पारेको छ ।

    शनिबार सिंगापुरमा सम्पन्न खेलमा कप्तान पारस खड्काको प्रेरणादायी प्रदर्शनमा नेपाल विजयी भएको हो ।

    टस जितेर फिल्डङ गरेको नेपालले कुवेतबाट १ सय ४२ रनको लक्ष्य प्राप्त गर्यो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ विकेटको विकेटको क्षतिमा ४.२ ओभर अगाडी नै लक्ष्य भेट्यायो ।

    नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६८ रन बनाए । उनले मात्र ४२ बलको सामना गरेका थिए ।

    उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन जोडे । शरद भेष्वाकरले ३८ रन जोडे । विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा छनोट हुन अब नेपाल एक खेलमा विजयी भए पुग्छ ।

    नेपाल र आयोजक सिंगापुरबीच आइतबार निर्णायक खेल हुनेछ । पहिले ब्याटिङ गरेको कुवेतले ९ विकेटको क्षतिमा मात्र १ सय ४१ रन जोड्न सक्यो ।

    कुवेतलाई सस्तैमा रोक्ने क्रममा नेपालका स्पीनर संन्दिप लामिछाने र बसन्त रेग्मीले ३्३ विकेट लिए । करण केसीले २ र अविनास बोहोराले १ विकेट लिए । कुवेतका मोहम्मद कासिफले ४९ रन जोडे ।

  • जनकपुर विमानस्थलमा अब इन्धन भर्ने सुविधा

    जनकपुर विमानस्थलमा अब इन्धन भर्ने सुविधा

    जनकपुर । वायुसेवा कम्पनीले अब जनकपुर विमानस्थलमा पनि जहाजमा इन्धन भर्न पाउने भएका छन् ।

    जसले गर्दा जहाजले अतिरिक्त इन्धन बोकेर जानुपर्ने बाध्यता हटेको छ ।

    शुक्रबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादबले हवाई इन्धन रिफ्युलिङ स्टेशनको उद्घाटन गरेका हुन् ।

    नेपाल आयल निगमले जनकपुर विमानस्थल संचालनमा आएको ५३ वर्षपछि हवाई इन्धन रिफ्युलिङ स्टेशन खोलेको हो ।

    मन्त्री यादबले बुद्ध एयरको जहाजमा इन्धन भर्दै सेवा प्रारम्भ गरेका हुन् । निगमले विमानस्थल कम्पाउण्डमै रिफ्युलिङ स्टेशन खोलेको हो ।

    यहाँ ४१ हजार लिटर क्षमताका दुई ट्यांकर इन्धन राखिएको निगमले जानकारी दिएको छ । यहाँ विराटनगर डिपोबाट हवाइ इन्धन आउने भएको छ ।

    उक्त अवसरमा मन्त्री यादवले विमानस्थललाई सुविधा सम्पन्न बनाउने प्रतिवद्धता जनाउँदै जनकपुरको विकासमा यो विमानस्थलको ठूलो महत्व रहेको बताए ।

  • आगामी साता पेट्रोलियम पाइपलाइन उद्घाटन, दुई प्रधानमन्त्रीले स्वीच थिच्ने

    आगामी साता पेट्रोलियम पाइपलाइन उद्घाटन, दुई प्रधानमन्त्रीले स्वीच थिच्ने

    काठमाडौं । अन्तर देशीय पेट्रोलियम पाइपलाइन आगामी साता उद्घाटन हुने भएको छ । उद्घाटन भएसँगै पाइपलाइन संचालनमा आउने छ । त्यसपछि डिजेल आयात पाइपलाइनबाट शुरु हुने छ ।

    अगस्ट पहिलो साता पाइपलाइन उद्घाटनको चाँजोपाँजो मिलाउने गरी तयारी भइरहेको नेपाल आयल निगमका एक अधिकारीले जानकारी दिए ।

    पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले स्वीच थिचेर गर्नेछन् । तर, त्यसका लागि उनीहरुको भेट भने हुने छैन ।

    आआफ्नो देशमा रहेको स्वीच थिच्दै पाइपलाइनको उद्घाटको तयारी भइरहेको छ ।

    भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ ।

    गत २ साउनमा सफल परिक्षण गरिएको पाइपलाइन नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर रहेको छ ।

    शुरुमा डिजेल मात्र आयात हुने यस पाइपलाइनबाट पछि भने अन्य इन्धन समेत ल्याउन सकिने व्यवस्था हुने निगमको भनाई छ ।

  • मनसुनले लियो १११ को ज्यान

    मनसुनले लियो १११ को ज्यान

    काठमाडौं । मनसुन शुरु भएयता १ सय ११ नागरिकले ज्यान गुमाउनु परेको छ ।

    गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार बर्षा पछि आएको बाढी र पहिरोले उक्त मानवीय क्षति निम्त्याएको हो । अझै ४० जना वेपत्ता र ६७ जना घाइते रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    आर्थिक क्षतिको गणना भइरहेको र अनुमानित १ अर्ब भन्दा बढी मूल्यको भौतिक संरक्षनामा क्षति पुगेको गृह मन्त्रालयको भनाई छ ।

    केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस मनसुनमा सबैभन्दा बढी गुल्मीमा मानवीय क्षति भयो । गुल्मीमा १३ जनाले ज्यान गुमाउनु परेको छ । रौतहटमा १० जनाको निधन भयो ।

    मनसुनका कारण बाढी, पहिरो र डुवानको समस्याबाट ६४ जिल्ला प्रभावित गृह मन्त्रालयकाृ एकिकृत तथ्यांकमा उल्लेख छ ।

    सिराहामा ७, र ललितपुरमा ६ जनाको ज्यान गएको छ । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच\पाँच जनाको निधन भयो ।

    महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार\चार जनाले ज्यान गुमाउनु परेको गृहको तथ्यांक छ ।

    काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन\तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई\दुई जनाको ज्यान गएको हो ।

    उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक÷एक जनाको मृत्यु भयो ।

    असार दोस्रो साताबाट शुरु भएको अविरल वर्षाले देशको अधिकांश भूभाग प्रभावित भएको हो ।

  • नेपाल र चीन हवाई सम्झौता, चीनका १५ विमानस्थल नेपाललाई खुला

    नेपाल र चीन हवाई सम्झौता, चीनका १५ विमानस्थल नेपाललाई खुला

    काठमाडौं । नेपाल र चीन सरकारबीच द्धिपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ ।

    शुक्रबार चीनको बेइजिङमा द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार अब चीन र नेपाल दुबै देशका वायु सेवा कम्पनीले एक अर्का मुलुकमा साताको ९८ उडान गर्न पाउने छन् ।

    यसअघि यस्तो संख्या ७० थियो । थपिएका २८ उडानमध्ये २१ उडान नेपालमा भैरहवा र पोखरा विमानस्थलका लागि कोटा नै तोकिएको पर्यटन मन्त्रालयले बताएको छ ।

    अन्य भने काठमाडौं विमानस्थलमा उडान हुने छ । अहिले चीनबाट ५ वटा वायुसेवा कम्पनीले उडान गरिरहेका छन् ।

    उता, चीनमा भने नेपालबाट १५ वटा विमानस्थल उडानका लागि खुला भएका छन् ।

    यसअघि ७ विमानस्थलमात्र चीनले नेपाली कम्पनीको उडानका लागि खुला गरेको थियो ।

    यससँगै अब नेपाली कम्पनीले चीनका १५ शहरमा उडान बिस्तार गर्न सक्नेछन् ।

    अहिले भने कुनै पनि कम्पनीले चीनमा उडान गर्न सकिरहेका छैनन् । चीनले नेपाली कम्पनीका लागि उडान अनुमति नै दिइरहेको छैन ।

  • पाकिस्तानमा बिग्रदो आर्थिक अवस्था

    पाकिस्तानमा बिग्रदो आर्थिक अवस्था

    प्रधानमन्त्री इमरान खानले सत्ता सम्हालेको १ वर्ष पुगेको छ ।

    यसबीचमा अर्थतन्त्रमा आएको भारी गिरावटले उनीमाथि आम नागरिकको आक्रोस त बढ्दै गएको छ नै अर्थतन्त्रका सूचकांकले समेत उनलाई समर्थन गरिरहेको देखिदैन ।

    अंतरराष्ट्रीय संचारमाध्यमले उल्लेख गरेअनुसार पाकिस्तानमा भुक्तानी सन्तुलन घाटामा गएको छ भने आर्थिक वृद्धिमा पनि गिरावट आएको छ ।

    अमेरिकी डलरको तुलनामा पाकिस्तानको मुद्रा ३० प्रतिशत कमजोर बनिसकेको छ । महंगी ९ प्रतिशत भन्दा माथिल्लो स्तरमा रहेको छ ।

    पाकिस्तानको कराची शहर महंगीको सबैभन्दा बढी मारमा परेको छ ।

    अर्कोतर्फ पाकिस्तान उच्च दरमा भइरहेको जनसंख्या वृद्धिदरका कारण पनि चिन्तित छ । किनकी त्यहा जनसख्या नियन्त्रणका उपाय प्रभावकारी भइरहेका छैनन् ।

    पाकिस्तानलाई अंतरराष्ट्रीय मुद्रा कोषले ६ अर्ब डलर ऋण दिने घोषणा गरिसकेको छ ।

    एजेन्सी

  • निर्मला पन्त हत्याको एक वर्ष, न्याय दिन सरकार असफल

    निर्मला पन्त हत्याको एक वर्ष, न्याय दिन सरकार असफल

    काठमाडौं । १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ वर्ष पुगेको छ ।

    कंचनपुर जिल्ला, भीमदत्त २ उल्टाखामकी निर्मलाको एक वर्ष अगाडी बलत्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

    यसबीचमा संसारभरबाट यस घटनाको आलोचना भयो । थुप्रै आन्दोलन भए । सरकारले पनि आधा दर्जन छानविन समिति र अनुसन्धान टोली खटायो ।

    मानवाधिकार र संचारमाध्यमले आफ्नो हिसावले रिर्पोट ल्याइरहे । तर, अपराधी अझै पनि खुलेआम हिडिरहेको छ ।

    यसबीचमा गृह प्रशासन निरिह देखियो । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका गैरजिम्मेवार अभिव्यक्तिले यो घटनालाई अझ रहस्यमय बनाउँदै लगेको छ ।

    कंचनपुर उल्टाखाम अझै पनि सामान्य हुन सकेको छैन । निर्मलाको परिवारका सदस्य अझै पनि त्रासमा छन् ।

    किनकी मुटुको टुक्राभन्दा प्यारी छोरीको कसैले निर्मम हत्या गर्छ र हत्यारा पत्ता लाग्दैन भने स्वाभाविक रुपमा परिवारमा त्रास जारी रहन्छ ।

    गृह प्रशासन भने अझै पनि यो घटनाको अपराधीको नजिकसम्म पुग्न सकेको छैन ।

    यसबीचमा ८० भन्दा बढी व्यक्तिको डीएनए टेस्ट तथा हजारौं मानिससँग प्रहरीले बयान लियो । तर, अपराधी को हो पत्ता लगाउने वैज्ञानिक विधि प्रहरीसँग छैन ।

  • उत्तर कोरियाली जहाजको चौथो गन्तब्य मकाउ

    उत्तर कोरियाली जहाजको चौथो गन्तब्य मकाउ

    उत्तर कोरियाी ध्वजाबाहक विमान कम्पनी एयर कोर्योले आफ्नो चौथो गन्तब्य मकाउमा उडान गर्ने भएको छ ।

    मकाउको नागरिक उड्डयन प्राधिकरणले उत्तर कोरियाली कम्पनीलाई आफ्नो मुलुकमा उडानको अनुमति दिएको अन्तरराष्टिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    आगामी साता प्योङयाङ-मकाउ सिधा हवाई संजालमा जोडिने निश्चित भएको हो ।

    मकाउले करीव १५ वर्ष पछि उत्तर कोरियाली जहाजलाई आफ्नो मुलुकमा प्रवेशको अनुमति दिएको हो ।

    उत्तर कोरियाले परमाणु कार्यक्रम बढाउँदै जाँदा उ माथि धेरै मुलुकले निषेध गर्दै आएका थिए ।

    त्यहाको ध्वजाबाहक वायुसेवाले अहिले चीनको चीनको बेइजिङ र शेनयाङ तथा रुसको भ्लाडिभोस्तकमा मात्र उडान गरिरहेको छ।

    मकाउ नागरिक उड्डयनका अनुसार २ अगष्ट २ बाट यी दुई शहर सिधा हवाई सम्पर्कका माध्यमबाट जोडिनेछन् ।

    मकाउ एसियाको सबैभन्दा आकर्षक पर्यटकीय गन्तब्य हो । क्यासिनोका लागि प्रख्यात यस गन्तब्यमा हरेक दिन १ लाखभन्दा बढी पर्यटक पुग्ने तथ्यांक रहेको छ ।

    यी दुई शहरबीच सन् १९९६ देखि २००४ सम्म नियमित हवाई उडान भएको थियो ।

    मकाउलाई एसियाको लस भेगासका रुपमा पनि चिनिन्छ ।

    यहाँका अधिकांश होटेल यूरोपेली शहरका नामबाट राखिएको छ ।

    यहाँ विदेशी लगानीलाई निकै महत्व दिइएका कारण यूरोप र अमेरिकी धनाढ्यले होटेलमा ठूलो लगानी गरेका छन् ।

    एजेन्सी

  • भारतीयको नेपाली नागरिकता रद्द

    भारतीयको नेपाली नागरिकता रद्द

    काठमाडौं । सरकारले भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्द गरिदिएको छ ।

    भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

    तराई क्षेत्रमा भारतीय नागरिकले नेपाली नागरिकता लिने क्रम तीब्र छ ।

    सरकारले भारतीयको नागरिकता रद्द गरी सम्बन्धित कर्मचारीमाथि पनि कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको छ ।

    यसअघि गत असारमा पनि ५ जना भारतीयसँग रहेको नेपाली नागरिकता प्रमाणपत्र रद्द गर्ने निर्णय सरकारले गरेको थियो ।

    सरकारले असारमा धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता रद्द गर्ने र उनीहरुलाई नागरिकता दिलाउन संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

    त्यसबेला सप्तरी जिप्रकाबाट जारी भएको जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट जारी भएको जमुना राउत भन्ने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता रद्द गरेको थियो ।

  • सरकारले थप्यो करीव १ हजार दरवन्दी

    सरकारले थप्यो करीव १ हजार दरवन्दी

    काठमाडौं । सरकारले करीव १ हजार कर्मचारीको दरवन्दी थप गरेको छ ।

    राजपत्रांकित श्रेणीमा एक हजार कर्मचारीको अस्थायी दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    सरकारले विभिन्न आयोजना सञ्चालनका लागि भन्दै तीन वटा मन्त्रालयमा दरवन्दी थप गर्ने निर्णय गरेको हो ।

    खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बास्कोटाले जानकारी दिए ।

    सरकारले सबै सेवा तल्लो तहसम्म पुर्याउने गरी स्थानीय तहको परिकल्पना भएपनि केन्द्रमा पद सिर्जना गरी चाप थप्न भने अझै छाडेको छैन ।
    बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटले गत साउन ६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै पद सिर्जना भएको जानकारी दिएका हुन् ।

    अहिले सरकारको चालु तर्फको ठूलो बजेट तलव भत्तामा खर्च हुने गरेको छ ।

    मन्त्री बास्कोटाका अनुसार खानेपानी मन्त्रालय २१३ जना, वन तथा वातावरण मन्त्रालय ५० जना र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ७२६ जना गरी जम्मा ९८९ लाई अस्थायी दरबन्दीका लागि स्वीकृत गरिएको हो।

  • ओढारमा भेटियो १६ किलो सुन

    ओढारमा भेटियो १६ किलो सुन

    काठमाडौं । पानी परेका बेला ओत लाग्ने ओढार, सामान्यतया ओडार बाघ र चितुवाको बासस्थान पनि मानिन्छन् ।

    बढ्दो जनसंंख्याका कारण बाघ र चितुवा त क्रमशः लोप हुँदै गए । तिनै बाघ लुक्ने ओढारमा अब सुन भेटिन थालेको छ ।

    यस्तै चमत्कार गोरखाको धार्चे गाउँपालिका (३ खोर्लाबेशीमा भएको छ । प्रहरीले ओढारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको हो ।

    प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि उक्त सुन लुकाएर राखेका थिए ।

    सुनका १६ वटा बिस्कुट फेला परेको प्रहरीले जानकारी दियो । बिहीबार प्रहरीले बरामद सुन सार्वजनिक गरेको हो ।

    धनकमल काठमाडौंमा पक्राउ परेका थिए । उनले नै सुन लुकाएको स्थान देखाएको प्रहरीले जानकारी दियो ।

    ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरेर बोरामा सुन राखिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

    असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको उनले बताएका थिए ।

    त्यसपछि उनी सम्पर्कविहीन भएका थिए । धनकमललाई प्रहरीले खोजी गर्यो र उनलाई आक्रमण भएको स्थान खोज्दै जाँदा सुन लुकाएको रहस्य खुलेको हो ।

    यसअघि उनी स्थानीय वडा प्रमुखलाई फोन गरी आफू लुटिएको भन्दै गुहार मागेका थिए ।

    सोही फोनका आधारमा उनलाई प्रहरीले पिछा गरेको थियो । गोरखाबाट लुटिएको फोन गरेका व्यापारी काठमाडौं भेटिएपछि प्रहरीले उनीमाथि नै अनुसन्धान केन्द्रित गरेको थियो ।

  • अब हवाईमा नियमन र सेवा प्रदायक छुट्टाछुट्टै संस्थाबाट

    अब हवाईमा नियमन र सेवा प्रदायक छुट्टाछुट्टै संस्थाबाट

    काठमाडौं । नेपालमा हवाई सेवाको नियमन र सेवा अब छुट्टाछुट्टै संस्थाबाट संचालन हुने भएको छ ।

    सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई प्राधिकरण ऐन बनाउन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

    सरकारका प्रवक्ता गोकुल बास्कोटाले सूचना तथा संचार प्रविधि मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन् ।

    मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले छुट्टाछुट्टै ऐन बनाउन स्वीकृति दिइएको बताए ।

    सरकारले स्वीकृति दिएसँगै अब हवाई संस्थाहरुको नियमन प्राधिकरणले गर्ने भएको छ भने विमानस्थलहरुको संचालन तथा व्यवस्थापन छुट्टै संस्थाबाट हुने भएको छ ।

    देशभर अहिले करीव ४९ वटा विमानस्थल रहेका छन् । ति विमानस्थलको व्यवस्थापन छुट्टै प्राधिकरणबाट हुने भएको छ ।

    सरकारले यो र्सस्थालाई नछुट्याउँदा अंतरराष्ट्रीय निकायबाट प्रश्नको सामना गरिरहेको थियो ।

    खासगरी अंतरराष्ट्रीय नागरिक उड्डयन संगठन र यूरोपेली यूनियनले नेपालको उड्डयन कानूनको आलोचना गर्दै आएका छन् ।

    किनकी एउटै निकायबाट नियमन र सेवा प्रदान गर्ने काम विरोधाभाषा हुने उनीहरुको तर्क थियो ।

    सरकारको यस निर्णयपछि अब मन्त्रालयले ऐनको मस्यौदालाई सरोकारवाला मन्त्रालय र विभागमा पठाएर राय संकलन गर्ने भएको छ ।

    राय आएपछि संसदमा लैजाने स्वीकृतिका लागि पुनः मन्त्रिपरिषद् लैजानु पर्ने प्रावधान रहेको छ ।

    संसदमा छलफल भई पास भएपछि भने यसले कानूनको हैसियत प्राप्त गर्नेछ । नियमन निकायले भने अब नियमनको काम मात्र गर्नेछ ।

  • फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना

    फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना

    अमेरिकाको केन्द्रिय व्यापार आयोग (एफटीसी)ले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना सुनाएको छ ।

    फेसबुकको गोपनीयतासम्बन्धी मुद्दामा करीव १ वर्षको अनुसन्धानपछि आयोग उक्त निर्णयमा पुगेको अंतरराष्ट्रीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    यो जरिवाना सम्भवतः फेसबुकमाथि लगाइएको सबैभन्दा ठूलो हो । संसारभर फेसबुकको गोपनीयतासम्बन्धी विषयले अहिले निकै चिन्ताका रुपमा हेरिएको छ ।

    फेसबुकले व्यक्तिको गोपनीयतासँग सम्बन्धी कानूनको पालना गर्न नसकेको पाइएपछि उक्त कम्पनीमाथि ठूलो जरिवानाको फैसला गर्नु परेको एफटीसीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    एफटीसी अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयता कायम गर्ने कानूनलाई कडाईका साथ पालना गराउन जरिवानाको घोषणा भएको बताएका छन् ।

    उनका अनुसार फेसबुकले तोकिएको जरिवाना तिर्नेछ । राजनीतिक परामर्शदाता कम्पनी क्याम्बिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको विषय स्क्यान्डल बनेको थियो ।

    त्यसपछि फेसबुकमाथि गोपनीयता हनन गरेको सम्बन्धि कानून आकर्षित भएको थियो । अहिले पनि फेसबुकमार्फत आउने विभिन्न एप्सले व्यक्तिको गोपनीयतामाथि हनन गरेको आरोप लाग्दै आएको छ ।

    एजेन्सी

  • पर्यटकीय गन्तब्यमा विदेशी मुद्रा सटही सुविधा

    पर्यटकीय गन्तब्यमा विदेशी मुद्रा सटही सुविधा

    काठमाडौं । देशका मूख्य पर्यटकीय क्षेत्रमा अब विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध हुने भएको छ ।

    नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै प्रमुख पर्यटकीय स्थलहरुमा बैंक तथा वित्तीय संस्थाहरुहरुलाई छुट्टै काउण्टर खोली विदेशी मुद्रा सटही गर्न सक्ने सुविधा दिन लागिएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

    बुधबार सार्वजनिक मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पर्यटकीय क्षेत्रमा काउण्टर खोल्न अनुमति लिनु नपर्ने व्यवस्था गरेको हो।

    त्यसो त अब सरकारले अध्ययन, सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई पनि नियमन गर्ने भएको छ ।

    त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

    पर्यटन क्षेत्रमा बैंकको न्यूनतम १५ प्रतिशत कर्जा लगानीको प्रावधानलाई पनि निरन्तरता दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

  • मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ

    मान्छे मारेर भागेका व्यक्ति ३४ वर्षपछि पक्राउ

    काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका व्यक्ति फरार भएको ३४ वर्षपछि पक्राउ परेका छन् ।

    बारा जिल्ला, फेटा गाउँपालिका-३ जलेश्वरका लखिचन साह कलवारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

    उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले मंगलबार दिउँसो कलैया उपमहानगरपालिका-१० निलकण्डबाट पक्राउ गरेको बताइएको छ ।

    ३० असार २०४२ मा फेटा गाउँपालिका–३ जलेश्वरका अमलदेव यादवलाई कलवारले हत्या गरेका थिए। उक्त घटनामा लखिचन दोषि सावित भई अदालतले २० वर्षको सजाय सुनाएको थियो ।

    कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराले १६ माघ २०४३ मा, तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतले १० माघ २०४६ र ४ भदौ २०६० मा सर्वोच्च अदालतले कलवारलाई २० वर्ष कैदको फैसला सुनाएको थियो।

    कलवार घटना पश्चात नै आफ्नो घरबाट भागेका थिए । उनी मामाघर भारतको बिहार मोतिहारी जिल्ला ग्राम बेलदर्वामा पुगेका थिए।

    उनी सोही ठाउँमा घर समेत बनाएर परिवारसहित बस्दै आएको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका कलवारलाई फैसला कार्यान्वयनका लागि उनलाई वीरगञ्ज कारागार पठाइएको छ ।

  • विश्वकप खेल्ने नेपालको सम्भावना जिवितै

    विश्वकप खेल्ने नेपालको सम्भावना जिवितै

    काठमाडौं । सन् २०२० मा आयोजना हुने आइसीसी टी २० विश्वकपका लागि छनोट प्रतियोगिताको एसिया फाइनलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

    प्रतियोगिताको पहिलो खेल कतारसँग हारेको नेपालले दोस्रो खेलमा मलेसियालाई हराएको हो ।

    बुधबार सिंगापुरमा सम्पन्न खेल पानीले प्रभावित भएको थियो । २० ओभरको खेललाई ९ ओभरमा झारेर खेलाइएको थियो ।

    कप्तान ज्ञानेन्द्र मल्ल चम्किएपछि नेपालले आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

    ज्ञानेन्द्रको २० बलमै अर्धशतक बनाउँदै विश्वकपको सम्भावना जिवित नै राखेका हुन् ।

    नियमित कप्तान पारस खड्का घाइते भएपछि उनलाई टोलीको जिम्मेवारी दिइएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ९ ओभरमा ८३ रन बनाउँदा रोक्न सक्यो ।

    त्यतिन्जेल मलेसियाको ७ विकेट गुमेको थियो । ८४ रनको लक्ष्य नेपालले ८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो ।

    ज्ञानेन्द्र र प्रदिप ऐरी बुधबार प्रारम्भ मै मैदानमा उत्रिए । यी दुई खेलाडी बीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भयो ।

    यसले नेपालको जीतको आधार खडा भएको थियो । अब नेपालले तेस्रो खेल कुवेतसँग शनिबार खेल्नेछ ।

    ५ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा पुग्नेछ ।

  • छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

    छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । बहुविवाहको मुद्दामा फिल्म निर्देशक छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    अदालतबाट पक्राउ पूर्जी जारी भएकाले उनीहरु अब प्रहरीको खोजीमा रहेको महानगरीय प्रहरी प्रभाग काठमाडौंले जानकारी दिएको छ ।

    नेपाल प्रहरीको महिला सेलमा बहुविवाहको उजुरी परेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंले निर्देशक ओझा र पोखरेललाई पक्राउ गर्न प्रहरीलाई पुर्जी जारी गरेको हो ।

    ओझाकी जेठी श्रीमती हेमा ओझाले उनीविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन्। हेमा र वर्तमान श्रीमति पोखरेलसहित ओझाले चार श्रीमती भित्राइसकेका छन् ।

    चर्चित नायीका रेखा थापा समेत ओझाकी पूर्वश्रीमती हुन् । आफूभन्दा करीव २६ वर्ष जेठा ओझासँग पोखरेलले बिवाह गरेकी थिइन् । तर, केही दिन अगाडी यी दुईको घरझगडा सार्वजनिक भएको थियो ।

    पोखरेलले शिल्पालाई दुर्व्यवहार गरेको उजुरी प्रहरीमा परेपछि उनीहरु अहिले सामाजिक सञ्चालदेखि सञ्चारमाध्यममा छाइरहेका छन् । अधिकांशले यी दुबैको कडा आलोचना गरिरहेका छन् ।

  • रोकिएन बाढी-पहिरोको कहर, लमजुङमा ठूलो क्षति

    रोकिएन बाढी-पहिरोको कहर, लमजुङमा ठूलो क्षति

    काठमाडौं । लमजुङमा निर्माणधिन जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरु बाढीमा परेका छन् ।

    बाढीका कारण ४ जनाको निधन भइसकेको र दर्जनभन्दा बढी मजदुर वेपत्ता रहेको लमजुङ प्रहरीले जानकारी दिएको छ ।

    यद्दपी खोजी कार्य जारी रहेकाले क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाई छ ।

    लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको हो । उनीहरु अपर दोर्दी ए पावर हाउस निर्माणमा काम गरिरहेका मजदूर रहेको प्रहरीको भनाई छ ।

    यो आयोजना लिबर्टी इनर्जी प्रालिले बनाइरहेको छ । यो आयोजना अब निर्माणको अन्तिम चरणमा रहेको थियो ।

    घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेको र उद्दार र खोजी कार्य शुरु भइसकेको प्रहरीको भनाई छ । तर, रात परिसकेका कारण उद्दार र खोजीमा भने कठिनाई उत्पन्न भएको छ ।

    उता, धनकुटा नगरपालिका ८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएको धनकुटा प्रहरीले जानकारी दिएको छ ।

    शंखबहादुर राईको परिवार आफ्नै खेतमा काम गरिरहेको बेलामा उनका ९ वर्षीय छोरा संदिप राई, ७ वर्षीया छोरी सलिना राई र ६ वर्षीया संजिला राईलाई तमोर नदीले बगाएको थियो ।

    दुई दिन अगाडी भएको यस घटनामा वेपत्ता बालबालिका अझै फेला नपरेको प्रहरीले बताएको छ ।

    गुल्मीमा भिषण पहिरोमा परी करीव एक दर्जनले ज्यान गुमाएको २४ घण्टा नाघिसकेपनि सडकहरु नखुल्दा उद्दार र राहत पुर्याउन कठिन भएको छ ।

    सडकहरु वर्षापछि भत्किएका र त्यसले राहत सामग्री बोकेका सवारी साधन समयमै पुग्न नसक्दा पहिरोले विस्थापित भएका नागरिकको विचल्ली भएको हो ।

    पर्सामा बाढीले १ सय ५० भन्दा बढी घर डुबाएको छ । यहाँ मानवीय क्षति भने नभएको बताइएको छ ।

    रुपन्देहीमा पनि बाढीले केही क्षेत्र डुबानमा पारेको छ ।

    यसैबीच सांसदहरुले एक दिनको तलव बाढी पिडित नागरिकको राहतका लागि दिने निर्णय गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकले बाढी तथा पहिरो पीडितहरुको उद्दार, राहत तथा पुनर्स्थापनामा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गर्दै विशेष प्रस्ताव समेत पास गरेको छ ।

  • आयो मौद्रिक नीति-आएन बैंक संख्या घटाउन बाध्यकारी मर्जर नीति

    आयो मौद्रिक नीति-आएन बैंक संख्या घटाउन बाध्यकारी मर्जर नीति

    काठमाडौं । बैंक संख्या घटाएर ठूला वित्तीय संस्था कायम गर्न मौद्रिक नीतिमार्फत बाध्यकारी मर्जरको नीति आउने अपेक्षा यस पटक गरिएको थियो ।

    तर, बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीतिले बाध्यकारी मर्जरको नीति भने अंगिकार गरेन् ।

    त्यसको साटो मर्जरमा प्रोत्साहन गर्ने प्याकेजहरु ल्याइएको छ । जसले गर्दा बैंकहरु मर्जरमा जान उत्साहित हुने अपेक्षा राष्ट्र बैंकको रहेको छ ।

    मौद्रिक नीतिले वाणिज्य बैंक एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भएमा र २०७७ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा अहिले दिइरहेको सुविधाको अतिरिक्त थप सुविधा दिने उल्लेख गरेको छ ।

    नीति अनुसार मर्जरमा जाने बैंकको लागि कृषि, उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्‍याउनु पर्ने अवधि २०७८ असार मसान्त कायम गरिदैछ ।

    कर्जा र निक्षेपको व्याजदर अन्तर ४\४ प्रतिशत कायम गरिने अवधिलाई पनि राष्ट्र बैंकले ०७८ असार मसान्तसम्म छुट दिएको छ।

    मर्जरमा जाने बैंक तथा वित्तिय संस्थाका लागि कुलिङ पिरियडमा पनि सहूलीयत प्राप्त भएको छ ।

    अहिले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत र डेपुटी प्रमुख कार्यकारी अधिकृतका लागि एउटा वित्तिय संस्थाबाट अर्कोमा जाँदा ६ महिनाको कुलिङ पिरियड राख्नुपर्ने प्रावधान छ।

    शाखा विस्तार गर्न यस राष्ट्र बैंकको स्वीकृति लिनुनपर्ने, संचालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनैपनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने र चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने गरी सुविधा प्रदान गरिएको छ ।

    यसबाहेक मौद्रिक नीतिमा बैंकले बीमा बोलिसि बेच्न नपाउने व्यवस्था ल्याइएको छ ।

    कार्ड र अनलाइन भुक्तानीमा १० प्रतिशत छूट, १५ लाखसम्मको कृषि कर्जा ७ दिनमै पाइनेजस्ता प्रावधानसमेत समटेको छ । गभर्नर चिरन्जिवी नेपालले बुधबार नीति सार्वजनिक गरेका हुन् ।

  • नक्कली भिसा र सेटिङ गरी विदेश जान खोज्ने विमानस्थलबाटै फर्काइए

    नक्कली भिसा र सेटिङ गरी विदेश जान खोज्ने विमानस्थलबाटै फर्काइए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले मंगलबार विदेश जान विमानस्थल पुगेका करीव ३० युवालाई घर फर्काइदिएको छ ।

    कार्यालयका अनुसार कोरिया जान हिँडेका २९ युवा र सान्जेन भिसा लिएर स्विट्जरल्यान्ड उड्न लागेका एक युवा लाई फकाइएको हो ।

    उनीमध्ये सान्जेन भिसा वाहक युवाको भिसा नक्कली पाइएपछि अध्यागमनले हिरासतमा लिएको कार्यालयले पुष्टी गरेको छ ।

    यूरोपका विभिन्न २८ मुलुकमा एकै भिसााबाट यात्रा गर्न पाइने भिसा नै सान्जेन भिसा हो ।

    यही भिसा नै नक्कली पाइएपछि अध्यागमनका अधिकारीहरु चकित परेका छन् । मानव तस्करले नेपाली यूवासँग ठूलो रकम लिएर यूरोपमा पुर्याउने, त्यसपछि अलपत्र छाड्ने प्रवृत्ति छ ।

    त्यसो त यूरोपमा भागेर पनि सजिलै बस्न सकिन्छ भन्ने मानसिकताका कारण धेरै यूवा जोखिम मोलेरै मानव तस्करको पछि लाग्ने गरेका छन् ।

    देशभित्र उद्योग धन्दा, कृषि तथा अन्य सबै क्षेत्रमा युवा र जनशक्तिको चरम अभाव रहेका बेला नेपाली यूवा भने अनेक जोखिम मोलेर विदेशमै धाइरहेका छन् ।

    कार्यालयले मंगलबार नै स्पेनका एक नागरिकलाई पनि नक्कली राहदानी बोकेको भेटाएपछि हिरासतमा लिएको थियो ।

    मंगलबार कागजात नपुगी कोरिया उड्न लागेका २९ जना युवालाई विमानस्थल अध्यागमनले फर्काएको छ ।

    उनीहरुले कोरियामा अध्ययन तथा तालीमका लागि जान लागेको बताएपनि पर्याप्त कागजात पेश गर्न भने सकेनन् ।

    कोरियामा वैधानिक तवरबाट रोजगारीका लागि जाने युवालाई भने समस्या छैन ।

  • डेढ वर्षमा मात्र दुई पटक संसदीय समिति पुगे देउवा

    डेढ वर्षमा मात्र दुई पटक संसदीय समिति पुगे देउवा

    काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समिति हेभिवेट नेताहरु भएको समितिका रुपमा परिचित छ ।

    किनकी यस समितिको सदस्यमा दुई जना पूर्वप्रधानमन्त्री रहेका छन् ।

    पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल यस समितिका ठूला नेता हुन् ।

    समितिको बैठकमा नेता खनाल भने नियमित जसो उपस्थित हुन्छन् । समसामयीक विषयको वहसमा सहभागी हुन्छन् ।

    मन्त्री तथा कर्मचारीलाई विकास निर्माणको प्रगतिका सम्बन्धमा सोध्ने गर्छन् । तर, कांग्रेस सभापति देउवा भने संसदीय समिति सक्रिय भएको करीव डेढ वर्षको अवधिमा मंगलबार दोस्रो पटक समिति पुगे ।

    समितिमा पुगे पनि उनी केही बोलेनन् । चुपचाप बसे र फर्किए ।

    मंगलबारको बैठकमा सरकारले संसद्‌मा दर्ता गराएको विज्ञापन विधेयक माथि छलफल भएको थियो ।

    अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने बैठकमा आफ्नो धारणा राखे । उनले क्लिन फिड आवश्यक रहेको भन्दै यसबाट सांस्कृतिक हस्तक्षेपबाट मुलुक बच्न सक्ने धारणा राखेका थिए ।

  • गुल्मीमा पहिरो, ११ को ज्यान गयो

    गुल्मीमा पहिरो, ११ को ज्यान गयो

    गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका, वडा नं.३ र ४ मा पहिरोमा परी ११ जनाको निधन भएको छ ।

    दुई जना भने वेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार राती पहिरोले घर बगाउँदा ठूलो मानवीय क्षति भएको हो ।

    प्रहरीले ११ जनाको निधन भएको बताएको छ । उक्त गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका ९ जनाको निधन भएको आंशका गरिएको छ ।

    वडा नं. ३ मा भने दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठूलो लुम्पेककी ३२ वर्षीया तिलकुमारी तरामु र ८ वर्षीय दर्शन तरामु रहेको प्रहरीको भनाई छ । उनीहरु आमाछोरा हुन् ।

    पहिरोमा परेर तीलकुमारीका छोरी १३ वर्षीया धनी र १० वर्षीया करिश्मा घाइते भएको प्रहरीको भनाई छ ।

    पहिरोमा परेर सोही वडामा ४० वर्षीय माया बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएको समेत प्रहरीले बताएको छ ।

    एउटै गाउँमा ठूलो मानवीय क्षति भएपछि अहिले गाउँमा त्रास फैलिएको छ ।

    जोखिममा रहेका अन्य घरबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले बताएको छ ।

    सोमबार बिहानै देखि परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको हो ।

  • काठमाडौं माग्ने मुक्त बन्ला ?

    काठमाडौं माग्ने मुक्त बन्ला ?

    काठमाडौं । स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पशुपतिनाथ क्षेत्रबाट माग्नेहरुलाई हटाउने निर्णय गरी उक्त क्षेत्रलाई माग्ने निषेध गरेका थिए ।

    अहिले पशुपतिनाथ पुग्ने यात्रु तथा पर्यटक माग्नेको झम्टाईमा पर्नु पर्दैन । त्यसो त सरकारको नेतृत्व गरेका स्वयमः प्रधानमन्त्रीले नेपाललाई नै माग्ने मुक्त बनाउने घोषणा गरेका थिए ।

    त्यसमा पनि प्राथमिकता काठमाडौं उपत्यका थियो । तर, काठमाडौंको खुला सडकमा भीख माग्न बसेका मानिस पर्याप्त भेटिन्छन् ।

    यस्तै मेसोमा अब काठमाडौं महानगरपालिकाले पर्यटकीय क्षेत्रलाई माग्ने मुक्त बनाउने योजना बनाएको छ ।

    नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी सडक र विश्व सम्पदा सूचीमा रहेका क्षेत्रमा माग्नेलाई हटाउने योजना काठमाडौं महानगरपालिकालले हटाउने भएको छ।

    काठमाडौं महानगरपालिकालाई माग्ने मुक्त बनाउने कार्य शुरु नै भइसकेको महागरको भनाई छ ।

    खासगरी पर्यटकीय क्षेत्रमा माग्नेले पर्यटकलाई झम्टने र केही नदिएसम्म नछाड्ने प्रवृत्तिका कारण नेपालको नकारात्मक प्रचार हुने गरेको छ ।

    नेपालमा अधिकांश मानिसले मागेर खानु नपरे पनि केही मानिसलाई व्यवस्थापन गर्न नसक्दा समग्र देशकै बेइज्यत भइरहेको छ ।

    नेपालमा माग्न बस्ने अधिकांश भारतीय नागरिक हुने महानगर स्रोतको भनाई छ ।

    पहिलो चरणमा स्वयम्भु क्षेत्रबाट माग्न बसेका बालबालिका र वृद्धलाई हटाउन थालिएको महानगरले बताएको छ ।

    वृद्धलाई मानव आश्रम सेवा समिति र बालबालिकालाई बालबालिका सुधार केन्द्रमा लगिने बताइएको छ ।

  • कतारसँग हारेको नेपाललाई  विश्वकप छनोट कठिन

    कतारसँग हारेको नेपाललाई  विश्वकप छनोट कठिन

    काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ।

    सिंगापुरको इन्डियन ग्राउन्डमा मंगलबार बिहान सम्पन्न खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्र १२२ रन बनाउन सक्यो ।

    १२३ रनको विजयी लक्ष्य कतारले १९ दशमलव २ बलमा भेट्टायो। कतारलाई जित दिलाउन इनाम उल हकले विष्फोटक पाली खेल्दै ६ चौकाको मदतले ४१ रन बनाए।

    त्यस्तै करिम खानले २२ रन बनाउँदा जाहिर इब्राहिमले १२ रन बनाए। नेपालका लागि सन्दिप लामिछानेले तिन विकेट लिए भने करण केसीले १ विकेट लिए।

    कतार विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने नेपालको निर्णय गलत सावित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित समयमा सबै विकेट गुमाउँदै मात्र १ सय २२ रन जोड्न सक्यो ।

    उत्कृष्ट शुरुवात गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा लगातार विकेट गुमायो ।

    अन्तिम बलमा अन्तिम विकेट गुमाएको नेपालले सबै विकेट कतारका नाममा सुम्पिएको थियो ।

    नेपालका लागि दीपेन्द्रसिह ऐरिले सर्वाधिक ३४ रन जोडे । पारस खड्का र ज्ञानेन्द्र मल्लले २८ र २३ रनको योगदान दिए ।

    सोमपाल कामीले ११ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    कतारका लागि इकवाल हुसेनले अन्तिम ओभरमा तीन विकेट झारे । नेपालले दोस्रो खेल मलेसियासँग खेल्ने छ ।

    अबका सबै खेल नेपालका लागि निर्णायक सरह हो । किनकी एक खेल हार्नासाथ पनि विश्वकप छनोटमा अर्को चरण कठिन हुनेछ ।

    प्रतियोगितामा ५ टोलीले भाग लिएका छन् । शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा पुग्नेछ ।

  • ६२ हजार भूकम्पपिडितले ३ लाख अनुदान नपाउने

    ६२ हजार भूकम्पपिडितले ३ लाख अनुदान नपाउने

    काठमाडौं । करीव ६२ हजार भूकम्प पिडितले सरकारद्धारा प्रदान गरिने निजी आवास अनुदान नपाउने भएका छन् ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ ।

    त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन् ।

    पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३ सय ९ ले अनुदान सम्झौता गरेका छैनन् । कूल लाभग्राही ८ लाख २६ हजार ९ सय ३३ भएकोमा ७ लाख ६९ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेका छन् ।

    यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या ५ हजार ५ सय ४० छ ।

    पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले यसअघि प्राधिकरणले गरेका निर्णय कार्यान्वयन गर्ने क्रममा समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको नाम लाभग्राही सूचीबाट हटाएको जानकारी दिए ।

    प्राधिकरणले २०७६ जेठ मसान्तसम्म लाभग्राही सूचीमा समावेश भएकाले अनुदान सम्झौता गर्ने समयसीमा २०७६ असार २१ गतेसम्मलाई तोकेको थियो । यस्तै अनुदान सम्झौता गरेकाले पहिलो किस्ता लिने समयसीमा ०७६ असार मसान्त तोकेको थियो ।

    प्राधिकरणले समयमा अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिनेको अब अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कार्य स्थगित गर्न सबै निकायहरुलाई निर्देशन दिइसकेको छ ।

    प्राधिकरणले यसरी अनुदान सम्झौता गर्न र पहिलो किस्ता लिन नआएकालाई सुनुवाइको विकल्प भने दिएको छ ।

    जसअनुसार अनुदान सम्झौता गर्न छुटेका र पहिलो किस्ता लिन नआएकाहरुमध्ये कसैले पर्याप्त कारणसहित स्थानीय निकायमा निवेदन दिन सक्नेछन् र प्राप्त निवेदनको विश्लेषण गरी प्राधिकरणले आवश्यक निर्णय लिनेछ ।

    सहप्रवक्ता घिमिरेले गुनासो, जोखिममा परेका लगायतबाट २०७६ जेष्ठ मसान्तपछि पुनर्निर्माण लाभग्राहीमा सूचीकृत भएकाहरुको हकमा भने अनुदान सम्झौता गर्ने र पहिलो किस्ता दिने कार्यलाई निरन्तरता दिइने जानकारी दिए ।

    प्राधिकरणले समयमा अनुदान सम्झौता गर्न र अनुदान किस्ता लिएर समयमा निजी आवास पुनर्निर्माण सम्पन्न गर्न आग्रह गर्दै आएको छ । निजी आवास अनुदान वापत भूकम्प पिडितले ३ लाख अनुदान प्राप्त गर्दै आएका थिए ।

  • फेरी हुँदैछ भारी वर्षा, सचेत रहन आग्रह

    फेरी हुँदैछ भारी वर्षा, सचेत रहन आग्रह

    काठमाडौं । मंगलबारदेखि नेपालमा पुनः भारती वर्षाको सम्भावना रहेको भन्दै मौसम पुर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

    मंगलबार देशका विभिन्न स्थानमा भारी तथा एक\दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा मौसम बदली भएको छ ।

    काठमाडौं उपत्यका सहितका स्थानमा वर्षातको सम्भावना रहेको छ । देशका विभिन्न स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    वर्षातका कारण पहाडमा पहिरो र तराईमा डुबानको सम्भावना रहने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

    मौसम महाशाखाले मंगलबार २४ घण्टे चेतावनी तथा परामर्श जारी गरेको हो ।

    मनसुन न्यून चापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले मौसम बदली हुँदै गएको र वर्षाको सम्भावना देखिएको महाशाखाको भनाई छ ।

    यसअघि अघिल्लो साता आएको वर्षातले ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

  • विमानस्थलका सुरक्षाकर्मीलाई विदेशी भाषाको कक्षा

    विमानस्थलका सुरक्षाकर्मीलाई विदेशी भाषाको कक्षा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने सुरक्षाकर्मीलाई विदेशी भाषाको प्रशिक्षण दिन थालिएको छ ।

    सुरक्षाकर्मीका लागि चाइनिज र फ्रेन्च भाषा सिकाउन कक्षा सञ्चालन विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरीलगायत यूनिटका प्रहरीलाई विदेशी भाषाको सामान्य ज्ञान दिन शुरु गरिएको कार्यालयको भनाई छ ।

    सोमबार विमानस्थल कार्यालयमा एक कार्यक्रम आयोजित गरी कक्षाको शुभारम्भ गरियो ।

    अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सन्दिप भण्डारीले दुई दिने कक्षाको सोमबार शुभारम्भ गरे ।

    प्रहरी कर्मचारीलाई चिनियाँ र फ्रेन्च भाषाको ज्ञान दिन थालिएको हो ।

    करीव १ सय ८० प्रहरीले यो भाषा कक्षा लिनेछन् । नेपाल आउने विदेशी पर्यटकलाई पहिलो स्वागतमै आकर्षित गर्न उनीहरुको भाषा नै बोल्दा निकै राम्रो प्रभाव पर्छ ।

    सोही कारण प्रहरीलाई त्यसतर्फ अभ्यस्त बनाउन थालिएको कार्यालयको भनाई छ ।

  • कांग्रेसका दुई दर्जन नेता कार्यकर्ता निष्कासनमा

    कांग्रेसका दुई दर्जन नेता कार्यकर्ता निष्कासनमा

    काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दुई दर्जन स्थानीय नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

    पार्टीको अनुशासन कमितिले २३ जना स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गरेको कांग्रेसले उल्लेख गरेको छ ।

    सोलुखुम्बुमा २०, रौतहटमा २ र दैलेखमा १ जनालाई पार्टीबाट निष्कासन भएका छन् ।

    स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, प्रस्तावक र समर्थक भई पार्टी अनुशासनविपरीत काम गरेका नेता तथा कार्यकर्ता कारवाहीमा परेको पार्टीले उल्लेख गरेको छ ।

    कारबाहीमा परेकाहरुको नामावली पार्टी सदस्यको अभिलेखबाट हटाउनका लागि निर्देशन दिइएको काग्रेसले उल्लेख गरेको छ ।

    यसअघि पनि कांग्रेसले पार्टीलाई असहयोग गरेका दर्जनौं नेता कार्यकर्तालाई पार्टीबाट हटाइसकेको छ ।

  • प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

    प्रतिवन्धित नेटवर्किङ व्यवसाय अझै जारी, तीन पक्राउ

    काठमाडौं । नेपालमा सरकारले नेटवर्किङ व्यवसायलाई प्रतिवन्ध गरेपनि विभिन्न रुपमा यसको अवेशष भने बाँकि रहेको पाइएको छ ।

    प्रहरीले आइतबार चितवनबाट तीन जनालाई नेटवर्किङ व्यवसाय गरेको आरोपमा पक्राउ गरेको छ ।

    धरान उपमहानगरपालिकाका जहरमान घिसिङ, गोरखा पालुङटार नगरपालिकाका दलबहादुर गुरुङ र रुपन्देही बुटवल उपमहानगरपालिकाकी पार्वती केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    सुराकीले नेटवर्किङ सञ्चालन गरिरहेको सूचना दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ ।

    पक्राउ परेकालाई जिल्ला अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुले नेपालमा प्रतिवन्ध गरिएको बायनरी ह्यब्रिड नामको व्यवसाय चलाउँथे ।

    पिरामिड शैलीको व्यापारका माध्यमबाट उनीहरुले अरु मानिसलाई सक्रिय पार्ने गरेको प्रहरीले उल्लेख गरेको छ ।

    काठमाडौंमा एलटी एभरेष्ट हर्वल लाइफ ग्लोबल प्रालि नामको संस्था संचालन गरी चितवनसम्म पुगी सर्वसाधारण ठगेको सूचना प्रहरी समक्ष पुगेको बताइएको छ ।

    सरकारले नेपालमा सबै प्रकारका नेटवर्किङ व्यवसाय प्रतिवन्ध गरेको छ ।