Author: Vishwanews.com

  • इन्टरनेटमा सरकारले लगायो भ्याट, सेवा प्रदायकले उपभोक्तासँग मूल्य बढाए

    इन्टरनेटमा सरकारले लगायो भ्याट, सेवा प्रदायकले उपभोक्तासँग मूल्य बढाए

    काठमाडौं । इन्टरनेट सेवा प्रदायकले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बढाएका छन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालले सबै इन्टरनेट प्रदायकले उपभोक्ताबाटै १३ प्रतिशत मूल्य असुल गरी सरकारको भ्याट तिर्ने निर्णय गरेका हुन् ।

    संस्थाको आइतबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरको हो । सरकारले बुधबार बाटै शुरु भएको नयाँ आर्थिक वर्ष २०७६\७७ बाट इन्टरनेटमा भ्याट लगाउने निर्णय गरेको थियो ।

    त्यसो त सरकारले इन्टरनेटको मूल्य वृद्धि नगर्न कम्पनीहरुलाई चेतावनी दिइसकेको छ । यसैबीच, नेपाल टेलिकमले भने इन्टरनेटको मूल्य नबढाउने भएको छ । अन्य इन्टरनेट सेवा प्रदायकले मूल्य बढाएपनि टेलिकमले भने नबढाउने निर्णय गरेको हो ।

  • फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

    फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

    काठमाडौं । फेसबुक विज्ञापनका माध्यमबाट सस्तोमा विदेशी सामान ल्याउने आश्वासन दिँदै ठगी गर्ने तीन जनालाई प्रहरीले समातेको छ ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले ८० लाख रुपैयाँभन्दा बढी ठगिसकेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनीहरुलाई राजधानी बाटै पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।

    पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई अहिले काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन रहेका छन्।

    उनीहरुले तारा ग्याजेट नामम फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडीजस्ता वस्तु ल्याउने भन्दै विज्ञापन गर्ने र सोही विज्ञापनका माध्यमबाट मानिसहरुलाई ठगी गर्ने गर्थे ।

    फेसबुक एडमिनका माध्यमबाट उनीहरुलाई पच्छ्याएर पक्राउ गरिएको प्रहरीको भनाई छ ।

  • टुंगिदै नेकपाको पार्टी एकता प्रक्रिया

    टुंगिदै नेकपाको पार्टी एकता प्रक्रिया

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रिया अब पुरा हुने भएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको छलफलले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याएको नेकपा निकट नेताहरुले जानकारी दिएका छन् ।

    उक्त बैठकमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए। नेकपाका उच्च नेतृत्वबीचको छलफलले एकता सम्बन्धी सम्पूर्ण विषय सकाएको र केही दिनमै बस्ने सचिवालय बैठकले औपचारिकता दिने नेकपा स्रोतको भनाई छ ।

    सचिवालय बैठकले औपचारिक निर्णय गरेपछि एकता प्रक्रिया टुंगिने भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०१५ मा एकता भएको थियो ।

    त्यसो त कार्यगत एकता भने असोज २०७४ बाटै शुरु भएको थियो । नेकपामा केन्द्रीय सदस्यको कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग, आयोगजस्ता विषय अझै छिनोफानो हुन सकेका थिएनन् ।

    पार्टीको एकताकै फलस्वरुप चुनावमा नेकपाले लोकप्रिय मत पायो । जसले गर्दा दुई तिहाई बहुमतसहितको सरकार निर्माण गरी संचालन गरिरहेको छ ।

  • राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

    राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

    काठमाडौैं । राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । रानीजमरा-कुलरिया सिंचाई आयोजना र सिक्टा सिंचाई अब निर्माणको अन्तिम चरणमा आइपुगेको उर्जा मन्त्रालयले जानकारी दिएको छ ।

    मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उर्जा मन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् ।

    उनका अनुसार रानीजमरा-कुलरिया सिंचाई आयोजना आंशिक रुपमा सञ्चालनमै आइसकेको छ । करीव ३८ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखेर निर्माण भएको आयोजनाबाट १४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिंचाई पुगिसकेको मन्त्री पुनले जानकारी दिए ।

    उनका अनुसार यो आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गर्ने योजना रहेपनि प्रतिकूल मौसमका कारण सम्भव भएन् ।

    यस आयोजनाको मूख्य बाँध कैलालीको चिसापानीस्थित कर्णाली पुलमुनि रहेको छ । बाँध निर्माणको कार्य सकिएको मन्त्री पुनले जानकारी दिए । बाँधमा ८ वटा गेट राख्नुपर्ने छ ।

    त्यसमध्ये अहिले सम्म ३ वटा गेट मात्र राखिएको छ। आगामी वर्ष सबै गेट राखिसकेपछि आयोजनामा नहरतर्फको काम सम्पन्न हुने उनले जानकारी दिए ।

    उता, सिक्टा सिंचाई आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको मन्त्री पुनले जानकारी दिए । साउन पहिलो हप्ताभित्र नहरको ३० किलोमिटर क्षेत्रमा पानी पठाउने तयारी भइरहेको उनले बताए ।

  • १५ हजार सैन्य फौज उद्दार र राहतमा

    १५ हजार सैन्य फौज उद्दार र राहतमा

    काठमाडौं । १५ हजार सैन्य फौज वर्षापछि उत्पन्न विपद्को व्यवस्थापनमा खटिएको नेपाली सेनाले जानकारी दिएको छ ।

    सेनाले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त संख्यामा फौज उद्दार र राहतमा खटिएको बताएको हो । बाढी, पहिरो र डुवानले अहिले देशका विभिन्न भेगको जनजीवन प्रभावित भइरहेको छ ।

    प्राकृतिक प्रकोपमा परी ५ दर्जन भन्दा बढी नागरिकले अकालमा ज्यान गुमाइसकेका छन् । प्रभावित क्षेत्रमा सेना आफूसँग उपलब्ध उद्दार सामग्रीसहित खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

    निर्देशनालयका अनुसार बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतमा प्रयोग गर्न ७ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् ।

    काठमाडौंमा २ वटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल, र धनुषामा एउटा एमआई १७ हेलिकोप्टर तयारी अवस्थामा राखिएको सेनाले उल्लेख गरेको छ ।

  • पहिलो पटक इनर्जी बैंकको अभ्यास, भारत निर्यात भयो बढी भएको विद्युत

    पहिलो पटक इनर्जी बैंकको अभ्यास, भारत निर्यात भयो बढी भएको विद्युत

    काठमाडौं । नेपालमा विद्युतको माग घटेपछि पहिलो पटक बढी भएको विद्युत भारतमा निर्यात गरिएको छ । निरन्तर वर्षा भएपछि अहिले प्रदेश नं १ र २ मा विद्युतको माग घटेको छ ।

    उर्जा मन्त्रालयका अनुसार पहिलो पटक नेपालमा उत्पादन भएको विजुली खपतको तुलनामा बढी भएपछि भारत पठाइएको छ । अहिले देशभर १ हजार २१५ मेगावाट विद्युत् माग छ ।

    तर, वर्तमान परिस्थितिले माग घटेर ६ सय मेगावाटमात्र रहेपछि उत्पादन भएको विजुली बढी भएको हो ।

    मन्त्रालयका अनुसार रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारत पठाइएको छ ।

    यी मूख्य प्रसारण लाइनबाहेक अन्य सात विन्दुबाट पनि नेपालमा बढी भएको विद्युत् भारत पठाइएको मन्त्रालयको भनाई छ । प्रसारण लाइनमार्फत विद्युत् आयात र निर्यात दुवै गर्न मिल्ने प्रविधि रहेको छ ।

    अहिले नेपालको कूल जडित क्षमता १ हजार ३२५ मेगावाट पुगेको छ । नदीमा जलसतह बढेका कारण प्राधिकरण र निजी क्षेत्रका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नु पर्ने अवस्था आएको छ ।

    यसमा कुलेखानी जलविद्युत आयोजना समेत रहेको छ । नेपाल र भारतबीच इनर्जी बैंकिङको सहमति यस अगाडी नै भइसकेको छ ।

  • आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

    आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

    काठमाडौं । मंगलबार राती खण्डग्रास चन्द्रगहण लाग्दैछ । राति एक बजेर ४६ मिनेटबाट सुरु चन्द्रग्रहण तीन बजेर पन्ध्र मिनेटमा मध्य भई ४ बजेर ४५ मिनेटमा सकिनेछ ।

    २ घण्टा ५९ मिनेटसम्म लाग्ने चन्द्रग्रहणका समयमा भोजन गर्नु हुँदैन भन्ने मान्यता छ । ज्योतिष विज्ञानका जानकारहरुका अनुसार ग्रहण लागेको समयमा मन्दिर जाने र पूजापाठ पनि गर्नु हुँदैन ।

    बालक, बृद्धबृद्धा, औषधी सेवन गर्नुपर्ने बिरामी बाहेक अरुले खाना नखाने र नसुत्ने सल्लाह उनीहरु दिन्छन् । यसपटक कर्कट, तुला, कुम्भ र मिन राशीका लागि चन्द्रग्रहण उत्तम मानिएको छ । धनु र मकर राशीका व्यत्तिले भने चन्द्रग्रहण हेर्नु हुँदैन ।

  • पूर्ण क्षमतामा चल्यो कुलेखानी, टर्यो जोखिम-घट्यो आयात

    पूर्ण क्षमतामा चल्यो कुलेखानी, टर्यो जोखिम-घट्यो आयात

    काठमाडौं । जलासय असारमै भरिएपछि नेपाल विद्युत प्राधिकरणले कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा संचालनमा ल्याएको छ ।

    जलासय भरिएर बाँध खोल्नुपर्ने अवस्था आएपछि प्राधिकरणले पानीको सुरक्षित निकासका लागि आयोजनालाई पूर्ण क्षमतामा चलाउने निर्णय गरको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    लगातार वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको हो । गत वर्ष भर्षभरिमा जलाशयमा पानीको सतह १५२६ मीटर मात्र थियो ।

    यस वर्ष सोमबार विहानसम्ममा १५२६ मीटर पुगेको छ । सोमबार बिहान साढे पाँच बजे १५२५.१७ मीटर रहेको जलाशयको पानीको सतह १० बजे बढेर १५२६ मीटर पुगेको थियो ।

    जलाशयमा अधिकतम १५३१ मीटरसम्म मात्रै पानी भण्डारण हुन सक्ने क्षमता छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन÷चार दिनमै जलाशयमा पानीको सतह करिब २० मीटर बढेको छ ।

    जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको घिसिङले जानकारी दिए ।

    ‘पानी पर्न भरखर सुरु भएको छ, विगतका वर्षमा असोजमा मात्रै भरिने जलाशय यस वर्ष तीन महिना अगाडि नै भरियो’,उनले भने । ‘विगतमा वर्खामा कुलेखानी विद्युत्गृह चल्दैन थियो, अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाई भारततर्फ विद्युत आयातलाई घटाएका छौं ।’

    कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

    कुलेखानी वर्खाको पानी जम्मा गरी मुख्य रुपमा विद्युत अध्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।

    प्राधिकरणले अहिले ढक्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट मात्रै करिब १५० मेगावाट विद्युत आयात गरिरहेको छ ।

    अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको छ । अहिले मुलुकभरको विद्युत माग करिब ६ सय मेगावाट मात्रै छ । कुलेखानीको पानी बाग्मती नदीमा गएर मिसिन्छ ।

  • बाढी-पहिरो पिडितलाई कांग्रेसका सांसदको ५ दिनको तलव

    बाढी-पहिरो पिडितलाई कांग्रेसका सांसदको ५ दिनको तलव

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको ५ दिनको तलव बाढीपहिरो तथा डुबानपीडितलाई प्रदान गरिने भएको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स‌ंघीय सांसदले ५ दिनको तलब दिने निर्णय भएको जानकारी गराएका हुन् ।

    संघीय संसदका सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब बुझ्छन् । कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा ६३ र राष्ट्रिय सभामा १३ सांसद छन् ।

    कांग्रेसले सोमबार बाढीपीडितका सम्बन्धमा छलफल आह्वानको माग गर्दै संसदको नियमित प्रक्रिया रोक्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

    तर प्रस्ताव भने अस्वीकार भयो । उता, कांग्रेस सभापति शेर बहादुर देउवाले उद्धार र राहतमा जुटन कांग्रेस कार्यक्रतालाई निर्देशन दिएका छन् । उनले सरकारी कामको अनुमगन गर्न समेत कार्यक्रतासँग आग्रह गरेका छन् ।

  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं घोटाला

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं घोटाला

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १६ करोड भन्दा बढीको आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन उपकुलपति बलभद्रप्रसाद दास (बिपी) सहित ८ जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरेको छ ।

    प्रतिष्ठानले विभिन्‍न समयमा किनेका सामानमा करोडौं रुपैयाँ हिनामिना भएको ठहर गर्दै अख्तियारीले मुद्दा दायर गरेको उल्लेख गरेको छ ।

    प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा, रजिष्टार तुलबहादुर श्रेष्ठ, लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमित श्रीवास्तव, सप्लार्यस चेतन अग्रवाल र उमेश अग्रवालविरुद्ध आरोपपत्र दर्ता भएको छ ।

    प्रतिष्ठानका लागि आवश्यक उपकरण र सामान खरिदमा उच्च नेतृत्वकै मिलोमतोमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानविन थालेको थियो ।

  • लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

    लुट्ने योजना बनाउँदा-बनाउँदै पुलिसको फन्दामा

    काठमाडौं । प्रहरीले हतियारसहित राजधानीबाट आइतबार तीन जनालाई पक्राउ गरेको छ । अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बसपार्कस्थित तारा गेष्टहाउसबाट पक्राउ गरेको हो ।

    उनीहरुले गेष्ट हाउसमा बसेर लुटपाटको योजना बनाएको सुराक प्रहरी समक्ष पुगेको थियो । पक्राउ पर्नेमा झापाका स्थायी बासिन्दा अहिले

    काठमाडौं टोखा बस्ने ३६ वर्षिय सबिन खवास, नुवाकोटका ३७ वर्षिय राम कुमार राई र नुवाकोटका २७ वर्षिय प्रितम राई रहेको प्रहरीले जानकारी दिएको छ ।

    उनीहरुको साथबाट एक थान पिस्तोल र गोलीसमेत बरामद भएको प्रहरीले बताएको छ ।

  • विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद

    विश्वकप विजेता इंल्याण्डको पोल्टामा ४४ करोड नगद

    लण्डन । दर्शनीय फाइनलमा न्यूजील्याण्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधी घरमा राखेको इंग्ल्याण्डले पुरस्कारस्वरुप नगद ४ मिलियन डलर (झण्डै ४४ करोड रुपैयाँ) समेत हात पारेको छ ।

    इंल्याण्डलाई क्रिकेटको जननी मानिन्छ । तर, अहिलेसम्म विश्वकप उचाल्न सकेको थिएन् । आइतबार साँझ लण्डनको लर्डस् रंगशालामा सम्पन्न फाइनलमा इंङ्ल्याण्डले सुपर ओभरमा न्यूजिल्याण्डलाई पराजित गरेको हो ।

    निर्धारित ५० ओभरको खेलमा दुवै टोलीले समान २४१ रन बनाए । त्यसपछि सुपर ओभरमा गएको खेलमा पनि पुनः समान रन बन्यो । त्यसपछि विजेताको छिनोफानो बाउन्ड्रीका आधारमा गरियो ।

    २४ बाउन्ड्री प्रहार गरेको इंल्याण्ड १७ मात्र बाउन्ड्री प्रहार गरेको न्यूजिल्याण्डभन्दा अगाडी रह्यो र उपाधी जित्यो ।

    विश्व क्रिकेट काउन्सील (आईसीसी)ले एकदिवसीय विश्वकप क्रिकेटको पुरस्कार राशीका लागि मात्र १ करोड अमेरिकी डलर (झण्डै एक अर्ब १० करोड) रुपैयाँ छुट्याएको थियो ।

    त्यसमध्ये विजेता इंङ्ल्याण्डले ४४ करोड रुपैयाँ जितेको हो । न्यूजील्याण्डले २ मिलियन डलर (झण्डै २२ करोड रुपैयाँ) प्राप्त गर्यो ।

    सेमिफाइनलमा पुगेर घर फर्किएका अष्ट्रेलिया र भारतले भारतले ८ लाख डलर (झण्डै ८ करोड ८० लाख रुपैयाँ) जित्न सफल भए ।
    एजेन्सी

  • व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो

    व्यापार युद्धको असर चीनमा, आर्थिक वृद्धि खस्कियो

    बेइजिङ । शक्तिशाली मुलुकहरुसँगको व्यापार युद्धको असर चिनियाँ आर्थिक वृद्धिमा देखिन थालेको छ ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा पछिल्लो तीन दशक यताकै कम दरमा पुगेको छ ।

    चीन सरकारले सार्वजनिक गरेको तथ्यांकलाई उदृत गर्दैसंचारमाध्यमले अमेरिका–चीन व्यापार युद्ध र विश्वभर आइरहेको आर्थिक मन्दिको असर चिनियाँ अर्थतन्त्रमा देखिएको उल्लेख गरेका छन् ।

    चीनको नेशनल तथ्यांक ब्यूरोका अनुसार समिक्षा अवधिमा कूल गार्हस्थ्य उत्पादन वृद्धि ६.२ प्रतिशतमा झरेको छ । पहिलो चौमासिकमा ६.४ प्रतिशतको आर्थिक वृद्धिदर थियो ।

    चीनले सन् २०१८ मा ६.६ प्रतिशतको आर्थिक वृद्धि गरेको थियो ।

    एजेन्सी

  • ७२ स्थानीय तहमा अझै आएन बजेट, संघको बजेट प्रमाणिकरण

    ७२ स्थानीय तहमा अझै आएन बजेट, संघको बजेट प्रमाणिकरण

    काठमाडौं । देशभर ७५३ स्थानीय तहमध्ये ७२ स्थानीय तह तोकिएको समयभन्दा १९ दिन पछिसम्म पनि बजेट ल्याउन असफल भएका छन् ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबारसम्म ६८१ वटा स्थानीय तहले मात्र आगामी आर्थिक वर्ष २०७६\७७ को बजेट गाउँ तथा नगरसभामा पेश गरेका छन् ।

    अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०६४ अनुसार स्थानीय तहले १० असारसम्म बजेट ल्याउनु पर्छ । संघमा २५ जेठ, प्रदेशमा १ असार र स्थानीय तहमा १० असारका लागि बजेट ल्याउने समय तोकिएको हो ।

    तर, ७२ स्थानीय तह भने नयाँ आर्थिक वर्ष शुरु हुने समय आइसक्दा पनि बजेट ल्याउन असफल भएका हुन् । बजेट पास नगरी कुनै पनि सरकारले बजेट खर्च गर्न पाउँदैनन् । १ साउनबाट सबै तहका सरकारको बजेट कार्यान्वयन शुरु हुन्छ ।

    मन्त्रालयको तथ्यांक अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये प्रदेश नं २ मा सबैभन्दा धेरै (३६) स्थानीय तह बजेट सार्वजनिक गर्न असफल देखिएका छन् ।

    उक्त प्रदेशमा १३६ स्थानीय तह छन् । प्रदेश नं ३ मा १० स्थानीय तहको बजेट आउन बाँकि छ । प्रदेश नं १, ५ र कर्णालीमा ६\६ स्थानीय तहको बजेट आएको छैन । गण्डकी र सुदुरपश्चिम प्रदेशमा ४\४ स्थानीय तहको बजेट आएको छैन ।

    केन्द्रीय बजेट प्रमाणिकरण
    यसैबीच संघको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छिन् । राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै बजे कार्यान्वयनको बाटो खुलेको छ । आगामी आर्थिक वर्ष २०७६र७७ मा सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ ।

    राष्ट्रपति कार्यालयका अनुसार सोमबार विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ समेत प्रमाणीकरण भएका छन् । बजेट १ साउनबाट कार्यान्वयन शुरु हुने प्रावधान रहेको छ ।

  • यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने

    यूएईमा नेपाली कामदारमाथि झन कडाई, श्रीमती र छोराछोरीलाई दूतावासले एनओसी नदिने

    काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूइए)मा काम गरिरहेका नेपालीले अब भ्रमण भिसामा आफ्ना सबैभन्दा नजिकका आफन्तलाई पनि उक्त देशमा बोलाउन नपाउने भएका छन् ।

    यसअघि कामदारले नजिकका आफन्त (श्रीमान, श्रीमती, छोराछोरी, बुबाआमा वा सासुससुरा)लाई भ्रमण भिसामा यूएइ लगेर भ्रमण गराउन चाहे त्यहास्थित नेपाली दूतावासले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) उपलब्ध गराउँदै आएको थियो ।

    एनओसी उपलब्ध गराउने प्रावधान सोमबारबाट खारेज गरिएको भन्दै दूतावासले आइतबार सूचना जारी गरेको छ ।

    यससँगै अब भ्रमण भिसामा यूएइ जाने कामदारका आफन्त पर्यटक सरह उक्त देश जान पाउने भएपनि आफ्नै जोखिममा जानु पर्ने भएको छ ।

    पछिल्लो समय खाडी मुलुकमा भ्रमण भिसामा नेपालीहरुलाई कडाई गर्दै गएको छ । खासगरी भ्रमण भिसामा छिरेर उतै भाग्ने प्रवृत्ति तथा कतिपय मानिस मानव बेचविखनको जोखिममा पर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

    अहिले भारत हुँदै खाडी मुलुक छिर्न समेत भारतीय दूतावासको एनओसी अनिवार्य गरिएको छ ।

  • नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल

    नेपाललाई टी-२० सिरिज, विश्वकप छनोट तयारीमा अब्बल

    काठमाडौं । नेपालले मलेसियाविरुद्धको टी-२० सिरिज कब्जा गरेको छ । दुई खेलको सिरिजमा नेपाल २–० ले विजेता बनेको हो ।

    आइतबार मलेसियाको घरेलु मैदानमा सम्पन्न सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ६ रनको रोमाञ्चक जीत हात पार्न सफल भयो ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १७३ रन बनाएको थियो । नेपालका लागि आक्रामक ब्याटिङ गर्दै विनोद भण्डारीले नटआउट ५१ रन बनाए।

    शरद भेषवाकरले ४० रन जोडे । कप्तान पारस खड्काको नाममा २३ रन रह्यो । १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो ।

    मलेसियाका लागि सिएद अजिजले अर्धशकिय इनिङ खेले पनि जित दिलाउन सकेनन्। अमिनुद्दिन राम्लीले २४ तथा वीरनदीप सिंहले २३ रन बनाए ।

    नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। अविनाश बोहरा र कप्तान पारस खड्काको नाममा एक एक विकेट रह्यो ।

    आइसिसी वर्ल्ड टी-२० क्वालिफायर एसिया फाइनल्स खेल्न नेपाली टोली अब सिंगापुर प्रस्थान गर्ने छ । उक्त प्रतियोगिताअघि भएको सिरिजले नेपालको मनोबल बढाएको छ । सो प्रतियोगिता जुलाई २० देखि २९ सम्म सिंगापुरमा आयोजना हुँदैछ ।

  • विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सरकारको पुरस्कार

    विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्ने उद्यमीलाई सरकारको पुरस्कार

    काठमाडौं । वैदेशिक रोजगारीमा गएर सीप सिकी त्यसलाई स्वदेशमा उपयोग गरेका ७ उद्यमीलाई सरकारले पुरस्कृत गरेको छ ।

    विदेशमा सिकेको सीपलाई उपयोग गरेर उनीहरु स्वरोजगार मात्र बनेनन्, थप नेपाीलाई विदेश जानबाट रोक्ने गरी स्वदेशमै रोजगारी सिर्जनामा पनि उत्तिकै भूमिका निर्वाह गरेका छन् ।

    देशभरबाट ७ जना उदाहरणीय उद्यमी छनोट गरी पुरस्कृत गरिएको हो । स्वदेशमा रोजगारी सिर्जना तथा स्वरोजगारतर्फ युवालाई आकर्षित गर्न यो सम्मान गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए ।

    आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले उनीहरुलाई सम्मान गरेका हुन् । दुवईबाट फर्किएर कुखुराको चल्ला उत्पादन गरिरहेका नवराज पौडेलले उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार प्राप्त गरे ।

    कान्तिपुर पोल्ट्री ब्रिडिङ उद्योग सञ्चालन गरीेका उनले ४८ जनालाई रोजगारी दिएका छन् । उनलाई सरकारले १ लाख नगद पुरस्कृत प्रदान गर्दै सम्मान गर्यो ।

    दक्षिण कोरियाबाट फर्किएर स्टिल उद्योग सञ्चालन गरेका दीपक चापागाई, गार्मेन्ट उद्योग सञ्चालक मनोजकुमार भारती र गार्मेन्ट उद्योग नै सञ्चालन गरेका त्रिलोक पनेरुलाई जनही ५० हजार रुपैयाँबाट सम्मान गरियो ।

    दुबईबाट फर्किएर पशुपालन तथा तरकारी खेती गर्ने शर्मिला अधिकारी पनि उद्यमी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भईन् । उनले पनि नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

    दुबई, र मलेसियाबाट फर्किएर अर्गानिक खेती गर्ने निरबहादुर राउत, एकबहादुर सिङताङले संयुक्त रुपमा उद्यमी राष्ट्रिय पुरस्कार पाए ।

  • बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी

    बाढी पहिरोमा ५१ को निधन, सरकारले तोक्यो सरोकारवालालाई जिम्मेवारी

    काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी निधन हुनेको संख्या ५१ पुगेको छ ।

    मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले निधन भएको संख्या सार्वजनिक गरेको हो । मुलुकभर ५१ जनाको निधन भएको र ३१ जना वेपत्ता रहेको सरकारको तथ्यांकमा उल्लेख छ ।

    २८ जना घाइते छन् । १० हजार ३ सय ८५ घरधुरी यस विपत्तीबाट विस्थापित भएका छन् भने ठूलो आर्थिक क्षति भएको मन्त्रीपरिषद् वैठकपछि सार्वजनिक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    यसैबीच सरकारले उद्धार तथा राहत प्रभावकारी बनाउन सरोकारवाला निकायको जिम्मेवारी पनि तोकेको छ । सरकारले घाइतेहरुको उपचारका सम्पूर्ण व्यवस्था गर्ने भएको छ ।

    घाइतेको उपचारमा कुनै कमी हुन नदिने, घाइते भई अपांग तथा अशक्त हुने र मृतकका परिवारका सदस्यलाई पनि सरकारले यथोचित व्यवस्था गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ ।

    प्रभावित क्षेत्रमा रोगको प्रकोप हुन नदिन औषधि उपरणसहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय सरकारले गरेको छ ।

    विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चारजस्ता अत्यावश्यक सेवा सूचारु गराउन सम्बन्धित निकायले पूर्ण सतर्कता अपनाउने निर्णय सरकारले गरेको छ ।

    यातायात आवागमन सूचारु गराउन रक्षा, गृह र भौकि पूर्वाधार तथा यातायात मन्त्रालयहरुले समन्वय गर्ने निर्णय समेत बैठकले गरेको छ ।

    उद्धार र राहतलगायत काममा आवश्यक सहयोग गर्न जनप्रतिनिधिलाई आग्रह गरिएको छ ।

    गृह मन्त्रालयको समन्वयमा विपदबाट भएको क्षतिको विवरण तयार गरी मूल्यांकन गर्ने र त्यसपछि पुनस्र्थापना र पुनर्निर्माणलगायतका विषयमा निर्णय गर्ने निष्कर्षमा सरकार पुगेको हो ।

  • लेविको विषयले कांग्रेसको नियमावली विवादमा

    लेविको विषयले कांग्रेसको नियमावली विवादमा

    काठमाडौं । सक्रिय कार्यक्रतासँग लेवि उठाउने विषय समेटिएको कांग्रेसको नियमावली विवादमा परेको छ ।

    काठमाडौंमा बसेको काग्रेस केन्द्रिय समिति बैठकमा सक्रिय कार्यक्रतासँग लेवी उठाउने उठाउने विषय र अनुशासनको कारवाही कडा गराउने विषय बढी आलोचित बनेका छन् ।

    नेताहरुबीच यी दुई विषयमा अलगअलग धारणा आएका कारण निष्कर्ष ननिस्किएको हो । लेवि उठाउने प्रथा कम्यूनिष्टको भएको भन्दै यसले ल्याउन जोखिमतर्फ सचेत हुन नेताहरुले नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।

    शुक्रबार बसेको पछिल्लो बैठकमा बोल्ने बहुमत सदस्यले लेविको बिरोध गरिरहेका छन् । तर, सभापति देउवा निकट नेताहरु भने लेवीको बचाउमा छन् ।

    समिति बैठक आइतबार पनि जारी रहनेछन । शुक्रबार १९ जना नेताले आफ्नो धारणा राखेका थिए । कांग्रेस केन्द्रिय समिति बैठकमा भातृ संगठनहरुमा नेतृत्वले गर्ने हस्तक्षेपबारे पनि कडा आलोचना भइरहेको छ ।

    अनावश्यक हस्तक्षेपले संगठनहरु बलियो नहुने भन्दै नेताहरुले असन्तुष्टी देखाएका हुन् ।

  • कोशी ब्यारेजका सबै ढोका खुला

    कोशी ब्यारेजका सबै ढोका खुला

    काठमाडौं । सप्तकोशी नदीमा जलस्तर अधिक भएपछि कोशी ब्यारेजका सबै (५६ वटा) ढोका खोलिएको छ ।

    आइतबार बिहानदेखि सबै ढोका खोलेर जल प्रवाहको व्यवस्था मिलाइएको ब्यारेज प्रहरी चौकी कार्यालयले जानकारी दिएो छ ।

    सम्भावित जोखिम कम गर्न सबै ढोका खोलिएको कार्यालयको भनाई छ । एक दशक अगाडी पश्चिम कुशहामा बाँध फुटेपछि नेपाल र भारत दुबै देशमा ठूलो क्षति भएको थियो ।

    त्यसयता कोशीमा विशेष ध्यान दिन थालिएको छ । कोशी ब्यारेजमा नौ लाख क्यूसेक पानी बहन क्षमता रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार कोशीमा जलस्तर बढ्ने क्रम भने अझै पनि जारी रहेको छ ।

    नेपालमा बिहीबार देखि पानी पर्न थालेको हो । देशका लगभग सबै भेग समेट्ने गरी आएको पानीले ठूलो मानवीय क्षति गरिसकेको छ ।

  • अफगानिस्तानमा भिडन्त, २६ आतंककारी मारिएको दावि

    अफगानिस्तानमा भिडन्त, २६ आतंककारी मारिएको दावि

    अफगानिस्तानमा शुक्रबारदेखि शुरु सरकारी फौज र तालिबान समथर्क लडाकुबीच भएको भिडन्तमा २६ जना मारिएको सरकारी अधिकारीहरुले दावि गरेका छन् ।

    अन्तराष्टिय संचारमाध्यमहरुका अनुसार अफगानिस्तानका उत्तरी प्रान्त तखार र जावजानमा सुरक्षा फौज र तालिबान लडाकुबीच झडप भएको हो ।

    तालिबान समर्थक लडाकूले जावजान प्रान्तस्थित एक जिल्ला कब्जा गर्न खोजेपछि भयानक आक्रमण भएको बताइएको छ ।
    यसरी मारिने तालिबानीमा स्थानीय नेताहरु समेत परेको सरकारी अधिकारीहरुले दावि गरेका छन् ।

    तखार प्रान्तको कार्कीन जिल्ला कब्जा गर्ने प्रयासमा तालिबानले लामो समयदेखि सघर्ष गरिरहेको छ । झडपको क्रममा एक सुरक्षा अधिकारी मारिनुको साथै अन्य दुई घाइते भएको सरकारले उल्लेख गरेको छ ।

    एजेन्सी

  • डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता

    डोल्पामा तीन घर बगे, १ को निधन, १० वेपत्ता

    डोल्पा । डोल्पामा खोलाले तीन घर बगाउँदा एक जनाको निधन भएको छ भने १० जना वेपत्ता भएका छन् ।

    शनिबार डोल्पाको तल्लो भेगस्थित मुड्केचुला गाउँपालिका(१ मा औलमा पर्ने काचिला खोलामा बाढी आएछि ती घर बगाएको प्रहरीले जानकारी दिएको छ ।

    तीन घरका १० जना सम्पर्कविहीन भएका छन् भने १ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने धर्मराज बोहोरा छन् ।

    शनिबार दिउँसो साढ. तीन बजेतिर खोलामा ठूलो बाढी आएपछि ३ घर, १० घट्ट र लघुजलविद्युत्को पाइप समेत बगाएको प्रहरीले जानकारी दिएको छ ।

    सम्पर्कविहीन व्यक्ति सुरक्षित स्थानमा गए या बाढीले बगाये भन्ने बारे नै निश्चित नभएको स्थानीय प्रशासनले बताएको छ ।

    सदरमुकामाट करीव १ दिनको प्रदल दुरीमा पर्ने उक्त स्थानतर्फ प्रहरी टोली परिचालन भइसकेको प्रहरीले उल्लेख गरेको छ ।

    जिल्लाका उच्च अधिकारी समेत घटनास्थलतर्फ लागेका छन् । नेपालमा निरन्तर आएको वर्षा र त्यसबाट उत्पन्न विपद्ले देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति गरिरहेको छ ।

  • बाढी पहिरोले ३२ को लियो ज्यान

    बाढी पहिरोले ३२ को लियो ज्यान

    काठमाडौं । बिहीबारदेखि नै परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोमा परी देशभर ३२ जनाले ज्यान गुमाएका छन् ।

    प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार देशभर ज्यान गुमाउने नागरिकको संख्या ३२ पुगेको हो । विभिन्न स्थानमा १७ जना अझै वेपत्ता छन् ।

    पहाडी भेगमा पहिरो र तराई भेगमा डुबानका कारण धेरै क्षेत्रमा त्रास फैलिएको छ । शनिबार भने वर्षातः कम भएका कारण केही राहत मिलेको छ ।

    सुरक्षाकर्मीले विभिन्न स्थानबाट साढे ८ सय जनाको सकुशल उद्दार गरिसकेका छन् । १२ जना भने घाइते भई विभिन्न अस्पतालमा उपचारार्थ रहेको प्रहरीको भनाई छ ।

    बाढी पहिरोले सबैभन्दा बढी उपत्यका भित्रै मानवीय क्षति गरेको छ । ललितपुरमा पाँच तथा काठमाडौंमा तीन जनाले ज्यान गुमाएका छन् ।

    खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा पनि तीनरतीन जनाको निधन भएको प्रहरीको तथ्यांक रहेको छ ।

    धादिङ र सिन्धुलीमा २/२ तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जनाले ज्यान गुमाएका छन् ।

  • टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी

    टी-२०इन्टरनेशनल सिरिजको पहिलो खेलमा नेपाल विजयी

    मलेसिया । मलेसियाविरुद्ध दुई खेलको टी-20 सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

    शनिबार बिहान मलेसियाको घरेलु मैदानमा सम्पन्न पहिलो खेलमा कप्तान पारस खड्का चम्किएपछि नेपालले सिरिजमा एक शून्यको अग्रता लिएको हो । नेपालले मलेसियालाई ७ विकेटले हराएको हो ।

    पहिले ब्याटिङ गरेको मलेसियाले १२८ रन जोडेको थियो । १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो ।

    नेपालको जितमा कप्तान पारस खड्का सर्वाधिक ८६ रन जोडे । ५० बल सामना गरेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

    उनको टी-२० करीयरकै उत्कृष्ट इनिङ हो । शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रनको योगदान दिए । बलिङतर्फ मलेसियाका अनुवर रहमानले दुई विकेट झारे ।

    पहिले ब्याटिङ गर्ने गरेको मलेसियाले निर्धारित२० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । मलेसियाका लागि भिरन्दीपले ५७ रन बनाए ।

    बलिङतर्फ नेपालका करन केसीले तीन विकेट लिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई\दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

  • पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा

    पूर्वी तराईका अधिकांश जिल्ला डुबानमा

    काठमाडौं । शनिबार पनि तराईका नदिहरुका जलस्तर बढ्ने क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी तराईका अधिकांश ठूला नदिहरुले खतराको सूचि पार गरिसकेका छन् ।

    सप्तकोसी र कमला नदीमा बाढीका कारण खतराको स्तर माथि पुगिसकेको बाढी मापन केन्द्रले शनिबार सवेरै जानकारी गराएको छ ।
    कमला नदी(धनुषा(तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको केन्द्रको भनाई छ ।

    उता, धनुषा, सिराहा जिल्लामा पनि डुबानको समस्या हुने भन्दै नदि किनारमा उच्च सतर्कता अपनाउन केन्द्रले सूचित समेत गरेको छ ।

    सप्तकोसी नदीको चतरा क्षेत्रमा जलसतहले सतर्कताको तह पार गरिसकेको केन्द्रले उल्लेख गरेको छ ।

    डुबानले जनकपुर क्षेत्र जलमग्न भएको छ । उपमहानगभित्रका सबै संरचना डुबेका छन् । यातायात, विमानस्थल तथा अन्य सेवा ठप्प रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

    उता, दशगजा क्षेत्रमा भारतले बनाएको बाँध नखोल्दा नेपालतर्फ रौटहत र आसपासको क्षेत्र डुबानमा परेको छ । रौटहट सदरमुकाम गौरलगायतका क्षेत्र डुबानमा परेको हो ।

    विभागका अनुसार आइतबारसम्म वर्षाको सम्भावना छ । जसले गर्दा पहाडमा पहिरो र तराईमा डुबानको समस्या जारी रहन सक्ने भन्दै सचेत रहन सबैलाई सूचित गरेको छ ।

  • सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ

    सरकारको प्रतिवाद गर्न कांग्रेस र राष्ट्रिय जनता पार्टी एकै ठाउँ

    काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारको प्रतिवाद गर्न सहकार्य गर्ने निर्णय गरेका छन् ।

    सरकारका पछिल्ला निर्णय, संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्याको ऋंखला बढ्दै गएपछि दई दल सरकारविरुद्ध एक साथ उभिन तयार भएका छन् ।

    दुई दलबीच सहकार्यको वातावरण कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेले पहल गरेका हुन् ।

    दुई दलका दोस्रो तहका नेताबीचको सहमति पछि कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका चार नेताको संयुक्त बैठकसमेत बसिसकेको छ ।

  • बार्सिलोना आए एन्टोनी ग्रिजम्यान

    बार्सिलोना आए एन्टोनी ग्रिजम्यान

    विश्व विजेता फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यान बार्सिलोनामा अनुबन्ध भएका छन् । यसअघि उनी स्पेनिस क्लब एट्लेटिको माड्रिडमा थिए ।

    उनी एथलेटिकोका सफल खेलाडी मानिन्छन् । २८ वर्षिय ग्रिजम्यान लियोनल मेसीको कप्तानीमा रहेको ला लिगा च्याम्पियन बार्सिलोनामा अनुबन्ध भएका हुन।

    बार्सिलोनाले ग्रिजम्यानको रिलिज मूल्य १२० मिलियन एट्लेटकोलाई बुझाउँदै क्लबमा अनुबन्ध गरेको हो ।

    फ्रान्सका फरवार्ड ग्रिजम्यानले सन् २००९ मा रियल सोसिडाडबाट क्लब फूटबल करियर शुरु गरेका थिए ।

    उनी सन् २०१४ मा एट्लेटिको माड्रिडमा आएका थिए । उनी पुरानो क्लवमा १ वर्षको समय अवधि बाँकि रहँदै बार्सिलोना आएका हुन् ।

    एजेन्सी

  • चार प्रहरी एक लाख घुससहित पक्राउ

    चार प्रहरी एक लाख घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित ४ जना प्रहरीलाई पक्राउ गरेको छ ।

    राजधानीको सामाखुसीस्थित एक मिठाई पसलबाट उनीहरुलाई पक्राउ गरिएको आयोगले जानकारी दिएको छ । उनीहरुलाई रंगेहात पक्राउ गरिएको बताइएको छ ।

    घुस लेनदेनको गोप्य सूचना पाएपछि अख्तियारको टोली मिठाई पसलमा पुगेको थियो । तर, पक्राउ पर्ने प्रहरीको नाम भने खुलाइएको छैन ।

    पक्राउ पर्नेमा तीन जना ट्राफिक प्रहरी र एक जनपद प्रहरी रहेका छन् । बीमा रकमको दावि गर्न सवारी दूर्घटनाको प्रमाणित कागजात प्रहरीले बनाउनु पर्छ ।

    उनीहरु सोही कागजात बनाउने क्रममा घुस लेनदेन गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

  • अविरल वर्षाको वितंडा , देशभर डेढ दर्जनको ज्यान गयो

    अविरल वर्षाको वितंडा , देशभर डेढ दर्जनको ज्यान गयो

    काठमाडौं । बिहीबार देखिको अविरल वर्षाले नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।

    प्रहरी प्रधान कार्यायको पछिल्लो तथ्यांक अनुसार विभिन्न जिल्लामा १७ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं क्षेत्र डुबानमा परेको छ ।

    शुक्रबार राजधानी काठमाडौंमै ३ जनाले ज्यान गुमाए । यसबाहेक रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाको ज्यान गएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    काठमाडौं र खोटाङमा ३र३ जनाको ज्यान गएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार सम्म नै ठूलो वर्षाको अनुमान गरेको छ । सोहीकारण क्षति अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

    अविरल वर्षाका कारण पहाडमा पहिरोले ज्यान गुमाउनको संख्या बढिरहेको छ । तराईमा भने वस्तीहरु क्रमशः डुबानमा पर्न थालेका छन् ।

    प्रहरीका अनुसार बनेपा–३, नालास्थित घरमाथि पहिरो खसेर दुई जनाले ज्यान गुमाएका छन् । यस घटनामा परी ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको निधन भएको छ ।

    रामेछापमा रामपुरस्थित ४५ वर्षीया पदमकुमारी सुनुवारको घरमा पुरिएर मृत्यु भएको छ । भोजपुरमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई आफ्नै घरको पर्खालले पुरिएका छन् ।

    काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बारा घर भइ मुलपानीमा डेरा गरी बस्ने नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको निधन भएको हो ।

    शुक्रबार पहाडी र पूर्वी तराईका अधिकांश जिल्लामा वर्षा भयो । जसले गर्दा यस भेगका नदीको जलस्तरसमेत माथि उठेको छ ।

    काठमाडौंका अधिकाशं भेग डुबानमा परे । त्यसमा पनि कंलकी क्षेत्र बढी डुबान भयो । काठमाडौंका नदीमा समेत जलस्तर निकै बढेको छ ।

  • यति एयरलाइन्सको जहाज चिप्लिदा विमानस्थल ८ घण्टा बन्द

    यति एयरलाइन्सको जहाज चिप्लिदा विमानस्थल ८ घण्टा बन्द

    काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लएपछि बन्द भएको विमानस्थल ८ घण्टा पछि सूचारु भएको छ ।

    त्रिभुवन विमानस्थलमा शुक्रबार बिहान ११ बजे नेपालगन्जबाट आएको जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लएको थियो । उक्त घटनामा यात्रु र जहाज भने सकुसल रहे ।

    तर, जहाजको पांग्रा हिलोमा भास्सिएपछि बेलैमा जहाज बाहिर निकाल्न सकिएको थिएन । त्रिभुवन विमानस्थल व्यवस्थापनका अनुसार साँझ साढे ६ बजे जहाज बाहिर निकालिएको र साँझ ७ बजेबाट विमानस्थल सूचारु भसकेको छ ।

    ८ घण्टा विमानस्थल बन्द हुँदा दर्जनौं उडान रद्द भए भने काठमाडौं आउँदै गरेका एक दर्जन भन्दा बढी जहाजको उडान डाइभर्ट गरिएको थियो ।

    देशभरबाट हुने सबै आन्तरिक उडान ११ बजेपछि बन्द भएको थियो । देशको एक मात्र विमानस्थल सानो घटनाका कारण पनि बारम्बार बन्द हुने गरेको छ ।

    नेपालगन्जबाट काठमाडौं आएको जहाजमा चालक दलका सदस्यसहित ६९ यात्रु सवार थिए ।