Author: Vishwanews.com

  • चिनियाँ चलचित्र नेपालमा छायांकन हुने

    चिनियाँ चलचित्र नेपालमा छायांकन हुने

    काठमाडौं । चिनियाँ फिचर फिल्म ‘द वे अफ पियोर ल्याण्ड’को नेपालमा छायांकन हुने भएको छ ।

    नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोमबार आयोजित कार्यक्रममा उक्त जानकारी गराइयो ।

    उक्त अवसरमा चलचित्रको छायांकनका लागि नेपाल आएको टोली पनि सार्वजनिक भएको थियो । चीनबाट चर्चित निर्देशक किम किङ, कलाकार सेलिना, लेखक रे चेन, निर्माता वेङ वीन बाओ र सहायक निर्देशक इल्डवाइज नेपाल आएका छन् ।

    नेपालको पोखरा, चितवन, बन्दिपुर तथा काठकाडौंका विभिन्न स्थानमा चलचित्रको सुटिङ हुने कार्यक्रममा जानकारी दिइयो ।

    नेपालको आकर्षक भौगोलिक अवस्थिति तथा यहाँको सांस्कृतिक विविधताका कारण विदेशी चलचित्र निर्माता नेपालतर्फ आकर्षित भइरहेको छन् ।

    यस चलचित्रको छायांकनले नेपालले आगामी वर्ष मनाउने नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने अपेक्षा सचिवालयको रहेको छ ।

  • थाइल्याण्डमा अलपत्र नेपाली विद्यार्थी घर फर्के

    थाइल्याण्डमा अलपत्र नेपाली विद्यार्थी घर फर्के

    काठमाडौं । नेपालबाट तालीमका लागि थाइल्याण्ड पुगि अलपत्र परेका १० नेपाली विद्यार्थीलाई दूतावासको सहयोगमा नेपाल फर्काइएको छ ।

    बैंककस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरी नेपाल फर्काएको सोमबार विज्ञप्ती जारी गर्दै बताएको छ ।

    काठमाडों, बागबजारस्थित कीर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत उनीहरु थाइल्याण्ड पुगेको दूतावासले जनाएको छ ।

    उनीहरु फूड एण्ड बेभरेज तालिमका लागि बैंककस्थिति इन्टरनेशनल होटेल एण्ड एयरलाइन्स बिजनेस स्कुलमा पुगेका थिए ।

    नेपालमा भएको सम्झौता अनुसार तालीम र सुविधा नपाएपछि उनीहरु अलपत्र परी दूतावासको शरणमा पुगेका थिए ।

    बैंककस्थिति नेपाली दूतावासले उद्दार गरी ती विद्यार्थीलाई नेपाल फर्काएको जानकारी दिएको छ । नेपालबाट विदेशी कम्पनी र विद्यालयबारे पर्याप्त जानकारी नलिई आउने विद्यार्थी अलपत्र पर्ने क्रम बढ्दो छ ।

    दूतावासले कुनै पनि कन्सल्टेन्सीमार्फत विदेशमा उच्च शिक्षा तथा तालीमका लागि जाँदा विस्तृत जानकारी लिर्एर मात्र आउन नेपाली विद्यार्थीसमक्ष आग्रह समेत गरेको छ ।

    दूतावासले आफू जाने सँस्थाले विद्यार्थी वा प्रशिक्षार्थी भर्नाको अनुमति लिए नलिएको, भौतिक पूर्वाधार भए नभएको थाहा पाएपछि मात्रै थप प्रकृया अघि बढाउन सचेत समेत बनाएको छ ।

    होटेल क्षेत्रमा करीयर बनाउने धेरै विद्यार्थीका लागि थाइल्याण्ड आकर्षक गन्तब्य हो ।

  • ढाकामा अब नेपाली वायुसेवा कम्पनीको उडान, हिमालयले थाल्यो सेवा

    ढाकामा अब नेपाली वायुसेवा कम्पनीको उडान, हिमालयले थाल्यो सेवा

    काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमान वाहक हिमालय एयरलाइन्सले बंङ्गलादेशको राजधानी ढाकामा सिधा उडान शुरु गरेको छ ।

    हिमालयले सोमबार ढाकामा काठमाडौंबाट पहिलो उडान सम्पन्न गर्यो ।

    प्रिमियम इकोनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउने कम्पनीले बताएको छ ।

    काठमाडौं ढाका उडानको समय एक घण्टाको रहेको छ । यस उडानबाट व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रु लाभान्वित हुने कम्पनीले जानकारी दिएको छ ।

    एकै दिन आउने र फर्कने समेत सुविधा रहेका कारण यो रुट व्यवसायीहरुबीच लोकप्रिय हुने कम्पनीको विश्वास रहेको छ ।

    सोमबार कुल १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान फर्कदा ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट १०४ यात्रु बोकेर आएको थियो ।

    कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले व्यापार, जनशक्ति, पर्यटन तथा संस्कृति आदान प्रदानलाई अझ प्रगाढ बनाउन यो गन्तब्यको उडान सहयोगी हुने बताए ।

    यसबाट नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने उनको विश्वास थियो । नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको छ ।

    अहिले हिमालय एअरलाइन्सले आबुधावी, दमाम, दोहा, दुबई, क्वालालम्पुर र ढाका गरी छ गन्तव्यस्थलमा आफ्नो उडान सञ्चालन गरेको छ ।

    कम्पनीसँग ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्ट रहेका छन् ।

    कम्पनीले सन् २०१९ भित्रै चीनको बेइजिङमा उडान बिस्तारको योजना बनाएको छ । चीनका अन्य शहर नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङ लगायतका गन्तव्य स्थलमा आफ्नो विस्तार पु¥याउने योजना रहेको कम्पनीको भनाई छ ।

  • १७ वर्षिय किशोरको साथमा २ किलो सुन

    १७ वर्षिय किशोरको साथमा २ किलो सुन

    काठकाडौं । अबैध २ किलो सुनसहित एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेशी घर भएका १७ वर्षीय भिमबहादुर तामाङ पक्राउ परेका हुन् ।

    उनलाई नागढुंगामा प्रहरीले पक्राउ गरेको जानकारी छ । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले गोप्य सूचना पाएपछि चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

    भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रुबाहक बसमा सुन रहेको गोप्य सूचना प्रहरी समक्ष आएको र चेकजाँचका आधारमा दुई केजी सुन सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    तामाङले कम्बरमा बाँधी ६ सेमि लम्बाई र ११ सेमि मादल आकारमा दुई किलो सुन बोकेको पाइएको थियो ।

    तामाङ रसुवागढीबाट गल्छीसम्म आएर त्यहाबाट काठमाडौं आउने भैरहवाको बस चढेको प्रहरीको भनाई छ ।

    पछिल्लो समय चीनबाट ठूलो परिमाणमा सुन भित्रिएको छ । तातोपानी नाका बन्द भएपछि सुन तस्करीका लागि यो नाका प्रयोग हुने गरेको छ ।

  • नेकपाले टुंग्यायो जिल्ला इन्चार्ज

    नेकपाले टुंग्यायो जिल्ला इन्चार्ज

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लामा जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुंगो लगाएको छ ।

    अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डले प्रस्ताव गरेका जिल्ला इन्चार्ज तथा सहइन्चार्जको नाम पार्टीले अनुमोदन गरेको छ । यसैगरी ६ महानगरको इन्चार्ज पनि तोकिएका छन् ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु निश्चित गरेको हो ।

    नेकपामा तत्कालीन एमाले कोटाबाट ४५ र माओवादी कोटाबाट ३८ ईञ्चार्ज चयन भएका छन ।

    त्यसो त संघीय सरकारका मन्त्रीहरुसमेत जिल्ला इन्चार्जमा चयन भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा काभ्रेमा जिल्ला इन्चार्ज चयन भएका छन ।

    भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल स्याङ्जा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरी र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इन्चार्जमा चयन भएका छन् ।

  • नयाँ आवको शुरु मै झस्किए व्यवसायी, समस्या सल्टाउन समिति गठन

    नयाँ आवको शुरु मै झस्किए व्यवसायी, समस्या सल्टाउन समिति गठन

    काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएसँगै निजी क्षेत्र र सरकारबीच टकराव शुरु भयो ।

    सरकारले सरकारले ल्याएका नयाँ नयाँ प्रावधानमा चित्त नबुझाई आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आइतबार भने औपचारिक वार्ता भएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट्न सिंहदरबार पुगेको थिया ।

    उक्त टोलीले अर्थमन्त्री समक्ष आफ्ना गुनासा राखिसकेपछि समस्या समाधान गर्न एक संयुक्त समिति गठन भएको छ ।

    सरकारले नयाँ आर्थिक वर्ष २०७६ देखि लागु हुने गरी उद्योग, व्यापार तथा व्यवसायसँग सम्बन्धित विषयमा नयाँ नयाँ प्रावधान ल्याएको छ ।

    त्यसमा सबै व्यवसाय भ्याटमा दर्ता हुनु पर्ने, ढुवानीमा भ्याट अनिवार्य, ढुवानीको निगरानी अनलाइनबाट हुने, कर्मचारीको पारिश्रमिक अनिवार्य बैंक खातामा, सबै कर्मचारीको अनिवार्य प्यान हुनपर्ने जस्ता प्रावधान सरकारले ल्याएको छ ।

    यी प्रावधान तत्काल लागु गर्न नसकिने भन्दै व्यवसायी भने आन्दोलनमा उत्रिएका हुन् ।

    आइतबारको छलफलपछि अर्थ मन्त्रालयका २, निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघका तर्फबाट उपाध्यक्ष्रू किशोर कुमार प्रधान र उमेशलाल श्रेष्ठ, नेउवामहासंघको प्रदेश नम्वर तीनका अध्यक्ष दिनेश श्रेष्ठ र एकजना स्वतन्त्र विज्ञ संलग्न एक समिति गठन गर्ने निर्णय गरेको छ ।

    समितिलाई आगामी शुक्रवारसम्मको कार्यअवधि दिई आर्थिक ऐनको व्यवस्थाबाट हाल उत्पन्न समस्याका विषयमा अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारी दिइएको महासंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

  • बजेट सक्न तीब्र रकमान्तर

    बजेट सक्न तीब्र रकमान्तर

    काठमाडौं । बजेट खर्चको आंकडा बडी देखाउन सरकारले आर्थिक वर्षको अन्त्यमा तीब्र रकमान्तर गरेको पाइएको छ ।

    अर्थ मन्त्रालयद्धारा आइतबार सार्वजनिक तथ्यांक अनुसार सरकारले असार महिनामा मात्र १९ अर्ब ६१ करोड रुपैयाँ मात्र रकमान्तर भएको छ ।

    बैशाखदेखि असार सम्मको तथ्यांक अनुसार ४० अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरी एउटा कार्यक्रमको बजेट अर्कै कार्यक्रममा लगेर खर्च गरेको देखिन्छ ।

    अर्थ मन्त्रालयका अधिकारीहरु यस प्रक्रियालाई सामान्य मान्छन्, तर सरकारले आफैले अनुमान गरेको कार्यक्रममा खर्च हुन नसक्ने बजेटलाई बजेट विनियोजनमा रहेको कमजोरीका रुपमा लिने गरिन्छ ।

    सामान्यतया एक आयोजना र कार्यक्रममा छुट्याइएको बजेट त्यसमा खर्च हुन सकेन भने अर्को आयोजना कार्यक्रममा सारियो भने त्यो रकमलाई रकमान्तर भन्ने गरिन्छ ।

    वित्तीय अनुशासनका हिसाबले पनि यसलाई असल अभ्यास मानिँदैन । सरकारले असार महिनामा १९ अर्ब ६१ करोड ८१ लाख १३ हजार ९ सय ७३ रुपैयाँ रकमान्तर गरेको छ ।

    वैशाख र जेठमा क्रमशः १६ अर्ब ९४ करोड ९१ लाख २० हजार रुपैयाँ र ३ अर्ब ६३ करोड ९८ लाख ४३ हजार रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयको तथ्यांक रहेको छ ।

    सरकारले सकेसम्म फागुनसम्म रकमान्तर नै नगर्ने र त्यसछि पनि औचित्यका आधारमा मात्र रकमान्तर गर्नु पर्ने नीति लिएको छ ।

    तर, आफ्नै नीति विरुद्ध सरकारले ठूलो रकम रकमान्तर गरिरहेको छ ।

  • दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

    दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

    काठमाडौं । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले प्रभावशाली प्रदर्शन गरेको छ ।

    नेपाललाई शनिबार दुई स्वर्ण प्राप्त भयो । शुक्रबार एक स्वर्ण हात पारेको नेपालको खातामा शनिबार पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जिते ।

    शुक्रबार समीर श्रेष्ठले पुरूष ६५ केजीमा स्वर्ण हात पारेका थिए ।

    पुरुष एथलेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कास्य जिते। महिलाको मोडल फिजिकमा नेपाली पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कास्य हात पारिन् ।

    पुरुषको ८० केजी समूहमा भएको प्रतिस्पर्धामा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कास्य जिते।

    जुनियर पुरुषको समूहमा नेपाल तेस्रो भयो । पुरुष एथलिट फिजिकको १६७ सेमीसम्म अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जितेका थिए भने नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कास्य पदक जिते ।

    पुरुष स्पोर्ट्स फिजिकमा नेपालका प्रमोद राई दोस्रो भए । टिममा भने अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान जीतेका हुन् । प्रतियोगिता काठमाडौंमा जारी छ । आइतबार पनि विभिन्न स्पर्धा हुने आयोजकले बताएको छ ।

  • विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

    विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

    काठमाडौं । प्रहरीले विप्लव समूहका प्रभावशाली नेता माइला लामालाई पक्राउ गरेको छ । उनी विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज हुन् ।

    काँडाघारीबाट शनिबार मध्यरातमा लामा पक्राउ परेको महानगरीय अपराध महाशाखाले पुष्टी गरेको हो । उक्त स्थानबाट दुई जना पक्राउ परेको प्रहरीको भनाई छ ।

    अर्का विप्लव कार्यक्रता रेशम तामाङ हुन । नेता लामालाई काठमाडौं उपत्यका विभिन्न स्थानमा भएको बम विष्फोटको मूख्य योजनाकार मानिएको छ ।

    काठमाडौंका नख्खु, अनामनगर, सुकेधारालगायत स्थानमा बम विस्फोटमा परी आधा दर्जनले ज्यान गुमाएका थिए ।

    त्यसमध्ये अनामनगर र सुकेधारामा विप्लवकै कार्यक्रता मारिएका थिए । लामा २०६४ सालमा संविधानसभा निर्वाचनका लागि काठमाडौंबाट चुनाव लडेर पराजित भएका हुन् ।

    उनी तत्कालिन माओवादी आन्दोलनमा सांगितिक विभागको नेतृत्व गर्थे । माओवादीको जनसाँस्कृतिक महासंघका अध्यक्ष समेत भएका लामा पार्टी फूटेपछि भने मोह वैद्य हुँदै विप्लव समूहतिर लागेका हुन् ।

    उनको पृष्ठभूमि पनि संगित नै हो । उनले संयौ क्रान्तिकारी गीतको सिर्जना तथा गायनमार्फत योगदान दिएका छन् ।

    पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ताको हल्ला चलेकै समयमा विप्लव समूहका प्रभावशाली नेतालाई प्रहरीले पक्राउ गरेको हो ।

    यसको प्रतिक्रिया समूहले अझै दिइसकेको छैन ।

  • १५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

    १५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

    काठमाडौं । पछिल्लो समय इन्जिनियरहरु घुससहित पक्राउ पर्ने क्रम तिब्र भएको छ ।

    शनिबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको हो ।

    कर्णाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेको अख्तियारले जानकारी दिएको छ ।

    शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले घुससहित नियन्त्रणमा लिएको बताएको हो।

    पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

  • साना दल आन्दोलित

    साना दल आन्दोलित

    काठमाडौं । साना राजनीतिक दलले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

    धर्म र संस्कृतिको संरक्षणमा सरकारलाई दवाव दिने उद्देश्यले भन्दै विभिन्न साना राजनीतिक दलले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् ।

    मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाव बढेको भन्दै सरकारलाई खबरदारी गर्नु परेको उनीहरुको भनाई छ ।

    नेपालीको पहिचान मेटाउन नदिन सरकारलाई दवाव दिन आन्दोलनमा जानु परेके नेकपा (माले)का महासचिव सिपी मैनालीले बताए ।

    साना दलले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुने । ‘संयुक्त राष्ट्रिय आन्दोलन’ भन्दै साना दलले आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

    नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (विपी), राष्ट्रिय लोकतान्त्रिक मंचलगायत ९ घटकले आन्दोलनको घोषणा गरेका हुन् । यद्दपी यी दलको अस्तित्व अहिले संसदमा छैन ।

  • मानिसले चन्द्रमा माथि विजयी प्राप्त गरेको ५० वर्ष पुरा

    मानिसले चन्द्रमा माथि विजयी प्राप्त गरेको ५० वर्ष पुरा

    मानिसले चन्द्रभुमीमा पाइला टेकेको ५० वर्ष पुगेको छ । २० जुलाई १९६९ मा अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा मानव पाइला राख्ने कीर्तिमान कायम गरेका थिए ।

    यो परिघटना मानव इतिहासकै सफलतम प्रयास मध्ये एक मानिन्छ । नासाको प्रयासमा पहिलो पटक चन्द्रमामा मानव पाइला पुगेपछि अन्तरिक्षबारे वैज्ञानिकहरुले गरेको लामो अनुसन्धानले सफलता हात पारेको थियो ।

    त्यसकारण नासाले एपोलो ११ मिसनमा करिब ४ लाख मानिस प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अभियानमा जोडिएको बताउने गर्छ ।

    यस अभियानका दौरान अन्तरिक्षतर्फ जान यात्रुदेखि मिसन कन्ट्रोलर, ठेकेदार, इन्जिनियर, वैज्ञानिक, नर्स, डाक्टर, गणितज्ञजस्ता विषेज्ञेषले दिनरात नभनी काम गरेका थिए । नील आर्मस्ट्रङ र बज एल्ड्रिन गरी दुई यात्री यानमा थिए ।

    बीबीसीले उल्लेख गरेअनुसार नील जब चन्द्रमामा उत्रिए, त्यसबेला उनी मात्र ३८ वर्षका थिए ।

    एपोलो कुल ११ मिसनको दौरान ३३ जना अन्तरिक्ष यत्रीहरु अन्तरिक्षको परिक्रममा पुगेका थिए । उनीहरुमध्ये २७ जना चन्द्रमा तर्फ लागे भने २४ जना चन्द्र घेराको परिश्रमा गर्न लागे ।

    एपोलो ११ मिसन १९६० मै शुरु भएपनि त्यसको ९ वर्षपछि मात्र सफलता हात परेको थियो ।

    करोडौं मूल्य डलरको यस अभियानका लागि ३३ जना अन्तरिक्ष यात्रुलाई तालीम दिने र यस अभियानमा अभ्यस्त बनाउन लामो समय लागेको थियो ।

    एजेन्सी

  • नारायणीमा चल्ने भयो ‘रिभर क्रुजसीप’

    नारायणीमा चल्ने भयो ‘रिभर क्रुजसीप’

    चितवन । नारायणी नदीमा पानीजहाज चलाउने तयारी शुरु भएको छ । नारायणीमा चलाउने उद्देश्यले रिभर क्रुजसीप निर्माणको काम धमाधम भइरहेको छ ।

    यो क्रुजसीप राइनो वाटर ईन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो । चितवनको काप्रेघाटमा क्रुजसिप निर्माण गरिरहेको छ ।

    यसको सफल परिक्षण भएपछि कम्पनीले दशैं अगाडी नै पानीजहाज संचलन गर्न सकिने सम्भावना रहेको जानकारी गराएको छ ।

    कम्पनीका अनुसार यो क्रुजसीप नर्वेजियन प्रविधिमा बन्दैछ । निर्माण कार्यमा भने भारतीय प्राविधिक खटिएका छन् ।

    नेपाली र भारतीय गरी ५० जनशक्तिले क्रुज निर्माण गरिरहेको शनिबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

    यो पानीजहाजले एक पटकमा २ सय जना यात्रु बोक्न सक्ने क्षमता राख्ने कम्पनीको दावि छ । १५ जना चालक दलका सदस्य यसमा खटिनेछन् । भारतीय ग्राउण्डीमल मरिन इन्टरनेशल कम्पनीले प्राविधिक सहयोग गरिरहेको छ ।

    पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म यो पानीजहाजले यात्रु बोक्ने भएको छ ।

    मुग्लिनहुँदै त्रिवेणीधामसम्म लैजाने सम्बन्धमा पनि अध्ययन भइरहेको कम्पनीले जानकारी दिएको छ ।

    एक सय फिट लामो र २५ फिट चौडा जहाज बन्ने र माथिल्लो तलाबाट खुला दृश्यावलोकन गर्न सकिने कार्यक्रममा जानकारी गराइयो ।

  • भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान

    भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान

    मुम्बई । भारत विश्वको ठूलो रेल सञ्जाल भएको मुलुकमध्ये एक हो । भारतको यातायातको मूख्य साधन पनि रेल हो ।

    बढ्दो सञ्जाल, अधिक जनसंख्या र कमजोर व्यवस्थापनका कारण भने यहाँको रेल संजाल असुरक्षित बन्दै गएको छ ।

    भारतीय संचारमाध्यमहरुले उल्लेख गरेअनुसार भारतमा दैनिक १० जना मानिसको मृत्युको कारण रेल बनिरहेको छ ।

    बिहीबार मात्रै मुम्बईमा भएका छुट्टाछुट्टै दूर्घटनामा १५ जनाले ज्यान गुमाएका छन् । त्यो दूर्घटना रेल पल्टीएर नभई अधिक भिडभाड र रेलको लिक पार गर्ने क्रममा भएको भारतीय संचारमाध्महरुमा उल्लेख छ ।

    भारतमा सवारी साधन र सडक अनुशासन कमै मात्र पालना हुन्छ । त्यसकारण पनि वर्षेनी ठूलो संख्यामा मानिसको ज्यान जाने गरेको छ ।

    मुम्बई मात्र मात्र दैनिक ७५ लाख यात्रुले रेल सेवा प्रयोग गर्ने तथ्यांक रहेको छ ।

    तथ्यांकअनुसार सन् २०१५ देखि २०१७ सम्म भारतमा रेल दुर्घटनामा परी करिब ५० हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

    भारतीय रेल संजाल विश्वकै चौथो ठूलो रेल संजाल हो । भारतमा डेढ लाख किलोमिटर रेल्वे ट्र्याक संचालनमा आइसकेको छ ।

    भारतमा सन् १८५३ मै रेल संचालनमा आएको थियो । भारत बेलायतको उपनिवेश भएकै समयमा रेल संजालको ठूलो विकास भएको हो ।

    एजेन्सी

  • शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

    शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

    काठमाडौं । निकै आशालाग्दो गरी कामको शुरुवात गरेका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकालको पहिलो पूर्ण बजेट कार्यान्वयन तथ्यांकीय हिसावमा असफल देखिएको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाको आंकडा अनुसार मुलुकको वित्तीय स्थिति खस्किएको अवस्थामा पाइएको छ।

    आर्थिक सूचकहरु नेगेटिभ छन् । जेठ महिनामा मूल्य बृद्धि ६.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष समिक्षा अवधिमा ४.१ प्रतिशत मात्र थियो । गत वैशाखमा भन्दा पनि जेठमा महंगी दर बढेको छ ।

    व्यापार घाटाले आकास छोएको छ । ११ महिनामा १२ खर्ब ११ अर्ब व्यापार घाटा पुगिसकेकोछ । व्यापार घाटा अघिल्लो वर्ष यसै समयको अवधिभन्दा १७. २ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

    यस अवधिमा नेपालबाट भने केवल ८७ अर्ब ८३ करोड रुपैयाँको देश बाहिर गएको छ । बाहिरबाट भने १२ खर्ब ९९ अर्बको सामान आयात भएको छ ।

    ११ महिना अवधिमा मुलुकको भुक्तानी सन्तुलन ९० अर्ब ८३ करोड ऋणात्मक छ। मुलुकमा आउने भन्दा बाहिरिने रकम झण्डै १ खर्ब बढी रहेको तथ्यांकले देखाएको छ।

    विदेशी विदेशी विनिमय सञ्चिति घटेको छ । अहिलेको संचितिले ८. ८ महिनाको बस्तु आयात र ७. ७ महिनाको बस्तु तथा सेवा मात्र आयात धान्न सक्छ ।

    सरकारको चालु खाताको घाटा नै २ खर्ब ४८ अर्ब पुगेको छ। वैदेशिक लगानी उल्लेख्य बढ्न सकेको छैन ।

    रेमिट्यान्स बढ्नु बाहेक अर्थतन्त्रका सबै परिसूचक ओरालो लागेका छन् । यस अवस्थामा विज्ञ अर्थमन्त्रीको कार्यकाललाई धेरैले असफल सावित भएको भन्न थालिसकका छन् ।

    किनकी उक्त आवको बजेट अर्थमन्त्री स्वयमःले ल्याएको हुन् । उनको नेतृत्वमा मुलुकमा ठूलो आर्थिक परिवर्तनको अपेक्षा जनताले गरेका थिए ।

  • कामको खोजीमा बाहिरिने घटे, रेमिट्यान्स बढ्यो

    कामको खोजीमा बाहिरिने घटे, रेमिट्यान्स बढ्यो

    काठमाडौं । कामको खोजीमा विदेश जाने यूवाको संख्या ओरालो लाग्ने क्रममा छ । यो श्रृंखला अघिल्लो आवको ११ औं महिनासम्म पनि जारी छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को ११ महिनाको तथ्यांक अनुसार विदेश जाने यूवाको संख्यामा ३७.३ प्रतिशतले ह्रास आएको छ ।

    अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको राष्ट्र बैंकको आंकडाले देखाएको छ ।

    विदेश जाने युवाको संख्यामा कमी आएपनि विदेशबाट यूवाले पठाउने रेमिट्यान्स रकम भने बढ्दो क्रममा छ । आर्थिक वर्ष ०७५\७६ को ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा २०७५र७६ को समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बढेको हो ।

    खासगरी औपचारिक च्यानलबाट नेपालमा रेमिट्यान्स भित्रन थालेसँगै रेमिट्यान्सको प्रतिशत बढ्न थालेको हो ।

    यसअघि अनौपचारिक च्यानलबाट बढी रकम भित्रने गरेको थियो । सरकारले पछिल्लो समय हुण्डीको कारोबारमा कडाई गरिरहेको छ ।

    यता, मलेसियाको रोजगारी बन्द भएपछि विदेश जाने युवाको संख्या पनि निरन्तर घटिरहेको छ ।

    किनकी नेपाली यूवाबीच मलेसिया सबैभन्दा लोकप्रिय गन्तब्य थियो । विगत १ वर्षदेखि मलेसियाको रोजगारी बन्द अवस्थामा छ ।

  • जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा

    जिम्वावे क्रिकेट आइसीसीको निलम्बनमा

    लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जिम्बावे क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

    राजनीतिक हस्तक्षेपको शिकार भएको जिम्बावे क्रिकेट संघलाई निम्बन गर्ने निर्णय आइसीसीले गरेको हो । लण्डनमा सम्पन्न आईसीसीको बोर्ड बैठकले जिम्बावेलाई दिँदै आएको सबै प्रकारका अनुदान समेत रोक्ने निर्णय गरेको छ ।

    निलम्बनमा परेसँगै उक्त मुलुकले अब आइसीसीद्धारा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन समेत पाउने छैन ।

    राजनीतिले खेललाई प्रभावमा पार्न थालेसँगै उक्त मुलुकमाथि प्रतिवन्ध लगाउने निष्कर्षमा पुगेको आईसीसीका अध्यक्ष शशांक मनोहरले बताएका छन् ।

    आइसीसीका विधानसँग बाझिने गरी भएका गतिविधिमाथि नजर अन्दाज गर्न नसकिने उनको भनाई छ ।

    जिम्बावेको खेलकुद तथा मनोरञ्जन आयोगले क्रिकेट संघ निलम्बन गर्दै तदर्थ समिति बनाएपछि विवाद चुलिएको हो ।

    आईसीसीले जिम्बावे क्रिकेटलाई तीन समहिनाको समय दिएको छ । यसबीचमा सुधार भए आगामी अक्टोवरमा हुने बैठकले निर्णय पुनरावलोकन गर्न सक्ने प्रावधान रहेको छ ।

    जिम्बावे टेस्ट समेत खेलिसकेको शक्तिशाली देश हो । यो देशले विश्वकप क्रिकेटसमेत खेलिसकेको छ ।

    तर, राजनीतिक हस्तक्षेपका कारण संघ भने कमजोर बनेसँगै अहिले उक्त देशको क्रिकेटको स्तर पनि खस्किएको छ ।

    एजेन्सी

  • धाविका बिवोटमाथि ८ वर्षको प्रतिवन्ध

    धाविका बिवोटमाथि ८ वर्षको प्रतिवन्ध

    केन्या । केन्या एथलेक्सिका विभिन्न विधामा एक सफल मुलुक हो । खासगरी दौडका विभिन्न इभेन्टमा यस मुलुकले ठूला प्रतियोगिताबाट थुप्रै पदक भित्राइसकेको छ ।

    तर, खेलाडीहरु भने बेला बेला विवादमा तानिन्छन् । त्यो पनि डोपिङ टेस्ट प्रकरणमा । चर्चित धाविका सलोम बिवोट ८ वर्षको प्रतिबन्धमा परेकी छिने ।

    डोपिङ टेस्टमा असफल भएपछि उनीमाथि प्रतिवन्ध लगाइएको हो । उनी दोस्रो पटकको परीक्षणमा पनि असफल भएकी हुन् ।

    एथ्लेटिक्स इन्टीग्रिटी यूनिटका अनुसार ३६ वर्षीया यी धाविकाले साओ पाउलो अन्तर्राष्ट्रिय म्याराथनमा प्रतिबन्धित एनाबोलिक स्टेरायड सेवन गरर दौडिएकी थिइन् ।

    यसअघि उनी २०१२ मा डोपिङ परीक्षणमा असफल भएकी थिइन् । त्यतिबेला भने उनीमाथि २ वर्षको प्रतिबन्ध लागेको थियो ।

    २ वर्षको प्रतिबन्ध पछि एथ्लेटिक्स ट्रयाकमा उत्रीएकी उनी पुनः डोपिङ परीक्षणमा असफल भएपछि ८ वर्षको प्रतिबन्ध लागेको हो ।
    एजेन्सी

  • धनगढी विस्फोटमा विप्लव कार्यकर्ताको संलग्नता, १ जनाको निधन

    धनगढी विस्फोटमा विप्लव कार्यकर्ताको संलग्नता, १ जनाको निधन

    धनगढी । धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा विप्लव समूहको संलग्नताको आंशका प्रहरीले गरेको छ ।

    विस्फोटमा परी गम्भीर घाइते बझाङका रवी सिंहको बिहीबार राती निधन भएको छ । प्रहरीका अनुसार उनी विप्लव समूहका कार्यकर्ता हुन ।

    उनी स्वयमःले टीफीन बक्समा बोकेको विस्फोटक पदार्थ विस्फोट भएको थिया । घटनामा अन्य ४ जना घाइते छन् ।

    उनीहरुको स्थानीय अस्पतालमै उपचारइ भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट प्रहरीले पेस्टोल पनि फेला पारेको छ ।

    धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार बम विस्फोट भएको थियो ।

    प्रत्यक्षदर्शीहरुका अनुसार सिंहले बोकेको वस्तु विस्फोट भएको थियो । उनी होटेल भित्र छिरेर बस्नासाथ ठूलो आवाजसहित बम विस्फोट भएको थियो । सिंहको कम्मर मुनीको भागमा निकै ठूलो चोट लागेको थियो ।

    पछिल्लो समय विप्लव समूहका कार्यक्रता आफैले बोकेको बम पड्किएर धमाधम मारिरहेका छन् । यसबाट उक्त समूहको आलोकाँचो हिंश्रक राजनीति ढलमलाउन लागेको संकेत गरेको छ ।

  • कैलालीमा विस्फोट, ५ जना घाइते

    कैलालीमा विस्फोट, ५ जना घाइते

    धनगढी । धनगढी उपमहानगरपालिमा बिहीबार साँझ बम विस्फोट भएको छ । कैलाली शहीद गेट नजिकै एक होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको कैलाली प्रहरीले पुष्टी गरेको छ ।

    विष्फोटमा परी ५ जना घाइते भएका छन् । विस्फोटमा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

    घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे रहेको प्रहरीले बताएको छ ।

    स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । पाण्डे उक्त होटलका सञ्चालक रहेको प्रहरीले उल्लेख गरेको छ ।

    घाइतेको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

    कसले र किन विस्फोट गराएको भन्नेबारे केही खुलेको छैन ।

  • साझालाई सरकारको ३ अर्ब, ३ सय विद्यूतीय बस किन्ने

    साझालाई सरकारको ३ अर्ब, ३ सय विद्यूतीय बस किन्ने

    काठमाडौं । सरकारले साझा यातायातमा ३ अर्ब रुपैयाँ शेयर थपेको छ । पछिल्लो दुई वर्ष यता घाटा चलिरहेको साझा यातायात प्रालिलाई सरकारले निकै माया गरिरहेको छ ।

    गत २९ असारमा बसेको मन्त्रीपरिषद् बैठकले साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।

    बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले साझालाई ३ अर्ब रुपैयाँ शेयर लगानी प्रदान गर्ने र त्यसबाट ३ सय वटा विद्यूतीय बस खरीदको योजना रहेको जानकारी दिए ।

    सरकारले अघिल्लो आवको विकास खर्च गर्न सकेको थिएन । त्यही मौकामा रकमान्तर गरेर साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय भएको हो ।

    अब साझा यातायातमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको गरेर कूल ३ अर्ब ५२ करोड ५० लाख शेयर लगानी पुगेको छ।

    निरन्तर घाटामा गएको यो कम्पनीे सरकारलाई कसरी माथि उकास्छ त्यो भने हेर्न बाँकि छ ।

    विद्युतीय बस खरिद गर्न प्रदेश ३ सरकारले साझालाई ३० करोड रुपैयाँ दिइसकेको छ ।

    काठमाडौं महानगरपालिकाले २० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँ दिएका छन् ।

    अहिले साझासँग ७१ वटा बस संचालनमा छन् ।

  • अब नेपालमा पाइपबाटै तेल

    अब नेपालमा पाइपबाटै तेल

    काठमाडौं । नेपाल-भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन संचालनका लागि तयार भएको छ ।

    बुधबार पाइपलाइनमा डिजेल हालि सकिएको छ । डिजेल बिहीबार मध्यरात नेपाल आइपुग्ने नेपाल आयल निगमले जानकारी दिएको छ ।

    भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट इतिहासमै पहिलोपटक पाइपलाइनबाट तेल आएको हो ।

    परीक्षणका रुपमा शुरु भएको यो परियोजना साउन भित्रै पूर्ण क्षमतामा संचालनको तयारी भइरहेको निगमले जानकारी दिएको छ ।

    पहिलो पटक एक जहाज लिटर डिजेल पठाएर परीक्षण शुरु गरिएको हो । नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल-भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माण गर्न भदौ २०७२ मा औपचारिक सम्झौता भएको थियो ।

    पुस २०७४ मा निर्माण शुरु भएको १८ महिना भित्रै पाइपलाइन निर्माण सम्पन्न भएको हो । खासगरी भारतीय आयल निगमकै लगानी र सहयोगमा निर्माण भएका कारण यो आयोजना निर्धारित समयभन्दा झण्डै एक वर्ष अगाडी नै निर्माण सम्पन्न भएको हो ।

    कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमध्ये नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर रहेको छ ।

    पाइपलाइनमा अब ३६ लाख लिटर तेल मौज्दात रहने छ । यसबाट नेपालको इन्धन मौज्दाद क्षमता पनि बढ्न गएको निगमको भनाई छ ।

    अमलेखगन्जमा ठूला ४ वटा ट्यांकी निर्माण गरिएको छ । तेल त्यहीबाट टं्याकरमा भरेर देशभर वितरण हुने भएको छ ।

    पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर इन्धन आयातको क्षमता रहेको निगमको भनाई छ ।

    यो आयोजना करीव साढे ३ अर्ब भारु लागतमा निर्माण भएको हो ।

  • लण्डनका बसमा चम्किदै नेपाल

    लण्डनका बसमा चम्किदै नेपाल

    लण्डन । बेलायतको लण्डनमा विभिन्न १८ रुटमा चल्ने सार्वजनिक बसमा नेपाल चम्कन शुरु गरेको छ ।

    नेपाल पर्यटन बोर्ड र बेलायतस्थित नेपाली दूतावासको पहलमा ६० वटा बसमा नेपाल प्रवद्र्धन हुने पोस्टर राखी प्रवद्र्धन शुरु भएको बोर्डले जानकारी दिएको छ ।

    सन् २०२० का लागि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० नजिकियसँगै विदेशमा नेपाल प्रवद्र्धनको अभियानले गति लिएको बोर्डको भनाई छ ।

    बेलायत यूरोपेली मुलुकबाट सबैभन्दा बढी पर्यटक आउने देशमध्ये एक हो । पछिल्लो ६ महिनामा मात्र यस मुलुकबाट करीव २९ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    लण्डनका पार्लामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, तारफालगार स्क्वायर, किङस्टन हाइ स्ट्रिट, अक्सफोर्ड स्ट्रिटलगायत रुटमा चल्ने सार्वजनिक बसमा नेपालको प्रवद्र्धन हुने गरी पोस्टर राखिएको छ ।

    यो अभियान ३ सातासम्म चल्ने भएको छ । यस अभियानबाट ४५ लाख मानिससम्म नेपालको प्रचार सामग्री पुग्ने अपेक्षा बोर्डको छ ।

  • काठमाडौंमा जग्गाको भाउ कति ?

    काठमाडौंमा जग्गाको भाउ कति ?

    काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा सरकारी मापदण्ड अनुसारको भाउ निर्धारण गरी सार्वजनिक गरेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य नेतृत्वमा गठन भएको सरकारी समितिले उपत्यकाका विभिन्न स्थानका लागि सरकारी मूल्य निर्धारण गरेको हो ।

    अब जग्गा किनबेच गर्दा सोही मूल्यलाई आधार मानेर कर तिर्नुपर्छ । समितिले सार्वजनिक गरेको मूल्य अनुसार काठमाडौं उपत्यका भित्रै प्रतिआना न्यूनतम १५ हजार रुपैयाँदेखि अधिकतम ३५ लाखसम्मको मूल्य सार्वजनिक गरिएको छ ।

    यो मूल्य चक्रपथ आसपास र त्यसभन्दा बाहिरको मूल्य हो । काठमाडौंको मध्यभागमा भने जग्गाको भाउले आकास छोएको छ ।

    काठमाडौंका न्यूरोड, बानेश्वर, त्रिपुरेश्वर, जमल, सिंहदरबार, ठमेललगायत मध्य काठमाडौंको मूल्य भने स्थान हेरीहेरी प्रतिआना ५० लाख रुपैयाँ भाउ तोकिएको छ ।

    तर कारोबार भने निकै बढी मूल्यमा हुने गरेको छ । यी स्थानमा प्रतिआना ९\१० करोड प्रतिआनासम्म कारोवार हुने गरेको छ ।

    जिल्ला समन्वय समिति काठमाडौंका अधिकृत पिताम्बर अधिकारी, करदाता सेवा कार्यालय कालिमाटीका कर अधिकृत दीपेन्द्र प्रकाश गिरी, नापी कार्यालय कलंकीका प्रमुख नापी अधिकृत सुरेश जोशी, नेपाल राष्ट्र बैंकका प्रतिनिधि नरेन्द्र सिंह विष्ट, उद्योग वाणिज्य संघ काठमाडौंका कृष्णमान श्रेष्ठ र मालपोत कार्यालय कलंकीका प्रमुख मालपोत अधिकृत देबीबहादुर भण्डारी सदस्य सचिव रहेको समितिले जग्गाको भाउ निर्धारण गरेको हो ।

    समितिले कलंकी र साँखु मालपोत क्षेत्रमा पर्ने जग्गाहरुको नयाँ न्यूनतम मूल्यांकन दर रेट तयार पारेको बताएको छ ।

    आंकडा अनुसार चक्रपथसँग जोडिएको बल्खुदेखि वनस्थलीसम्म प्रतिआना न्यूनतम ३५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

    काठमाडौं महानगरभित्रै विष्णुमति खोला पुलदेखि रविभवन वडा नम्बर १४ को सीमासम्म गणेशमान पथ र कालिमाटी चोकदेखि दक्षिणतर्फ बल्खु क्षेत्र प्रतिआना ३३ लाख रुपैयाँ न्यूनतम मूल्यांकन भएको तथ्यांक छ ।

    दक्षिणकाली नगरपालिका क्षेत्रमा भने ३ लाख रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जग्गाको भाउ तय गरिएको छ । फर्पिङ(कुलेखानी मूल सडकले छोएको क्षेत्रमा प्रतिआना ३ लाख रुपैयाँ तय भएको छ ।

    यहाँ बाटो नपुगेको जग्गाको मूल्य प्रतिआना २५ हजार रुपैयाँ तोकिएको छ ।

    दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिकाको बाटो नपुगेको दूर्गम भेगको जग्गा प्रतिआना न्यूनतम ७५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको आंकडाले देखाएको छ ।

    साँखुको कतिपय क्षेत्रमा १५ हजार प्रतिआना मै जग्गा किनबेच गर्न सकिने गरी मूल्य निर्धारण भएको छ । यहाँ अधिकतम भने २५ लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।

  • डोल्पो महोत्सव आयोजनाको तयारी

    डोल्पो महोत्सव आयोजनाको तयारी

    काठमाडौं । डोल्पामा लुकेको पर्यटकीय सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले डोल्पो महोत्सव आयोजना हुने भएको छ ।

    आगामी २४ भदौदेखि ५ दिनसम्म चल्ने गरी महोत्सव आयोजनाको तयारी गरिएको आयोजक डोल्पोबुद्ध गाउँपालिकाले जानकारी दिएको छ ।

    गाउँपालिका र भिजन डोल्पोको संयुक्त आयोजनामा महोत्सव संचालन हुने भएको छ । डोल्पा रहस्यले भरिएको पर्यटकीय गन्तब्य हो ।

    यसको माथिल्लो भेगलाई अहिले पनि निषेधित क्षेत्रका रुपमा राखी सरकारले पर्यटकबाट शूल्क र अनुमति दिएर मात्र भ्रमण गराउने गरिन्छ ।

    महोत्सव अवधिभर स्थानीय कला संस्कृति प्रवद्र्धन, खानाको प्रवद्र्धन तथा लामा र गुरुहरुबाट धार्मिक प्रवचन समेत हुने बताइएको छ ।

  • इयूको नेतृत्वमा पहिलो पटक महिला

    इयूको नेतृत्वमा पहिलो पटक महिला

    फ्रान्स । यूरोपेली आयोगको नेतृत्व पहिलो पटक महिलाको हातमा पुगेको छ । जर्मनीकी रक्षामन्त्री उर्सुला भन डर लियेन अध्यक्षमा निर्वाचित भएकी हुन् ।

    गत मंगलबार सम्पन्न मतदानबाट उनी आयोगको अध्यक्षमा निर्वाचित भएकी हुन् । अन्तरराष्टिय संचारमाध्यमले जनाएअनुसार उनी आयोगको नेतृत्व गर्ने पहिलो महिला पनि बनेकी छिन् ।

    इयूमा अहिले २८ मुलुक सदस्य छन् । ७ सय ५१ सदस्यीय युरोपेली संसदमा भएको निर्वाचनमा उर्सुलाको पक्षमा २ सय ८३ मत आयो । उनले १ नोभेम्बर १ बाट आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

    इयू अध्यक्षको कार्यकाल ५ वर्षको हुने प्रावधान रहेको छ । बेलायत इयूको सदस्य छैन । त्यसकारण यस संस्थाको गरिमा माथि उठाउन धेरै चूनौति रहेको निर्वाचित भएपछिको प्रतिक्रियामा उनले बताएकी छिन् ।

    ६० वर्षिय उर्सुला सामू पछिल्लो समय यूरोपेली देशहरुले भोगिरहेको आर्थिक संकट, कानूनी समस्याजस्ता मुद्दाले निम्त्याउन सक्ने जटिलता सम्बन्धमा विशेष चूनौति रहनेछन् ।

    एजेन्सी

  • विश्वकप छनोट फूटबल : नेपाल र अस्ट्रेलिया एकै समूहमा

    विश्वकप छनोट फूटबल : नेपाल र अस्ट्रेलिया एकै समूहमा

    काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनले आयोजना गर्ने एएफसी एसियन कप छनोटको तालीका सार्वजनिक भएको छ ।

    नेपाल प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस पटक नेपालले विश्वकप छनोटमा पहिलो पटक शक्तिशाली मुलुक अस्ट्रेलियासँग प्रतिष्पर्धा गर्नेछ ।

    किनकी नेपाल र अस्ट्रेलिया एकै समूहमा परेका छन् । अस्ट्रेलिया एसियाली मुलुकहरु मध्ये कै सबैभन्दा शक्तिशाली देशमध्ये हो ।

    किनकी फिफाले अस्ट्रेलियालाई एसियाली कोटाबाट विश्वकपमा छनोट गराइरहेको छ । तर, उसको फूटबल भने निकै माथिल्लो स्तरको रहेको छ ।

    बुधबार एसियाली फुटबल महासंघको मुख्यालय मलेसियाको क्वालालम्पुरमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि भएको ‘ड्र’ मा सार्वजनिक गरियो ।

    समूह बीमा नेपालसहित अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेत छन्। नेपाललाई यो चरण पार गर्न निकै मुस्किल पर्ने छ । तर, शक्तिशाली देशसँगको प्रतिस्पर्धाबाट भने नेपालले धेरै पाठ सिक्न सक्छ ।

    दोस्रो चरणमा पुगेका नेपालसहित ४० टिमलाई ८ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा ५\५ टिम राखेर समूह विभाजन गरिएको हो ।

    दोस्रो चरणको प्रतिस्पर्धा आगामी ९ भदौ बाट सुरु हुनेछ। पाँच टिमले ह‍ोम एन्ड अवेको आधारमा एक वर्षको अन्तरमा ८\८ खेल खेल्ने गरी समूह विभाजन सार्वजनिक भएको हो ।

    नेपालको नयाँ प्रतिस्पर्धी अस्ट्रेलिया पाँच पटक विश्वकप खेलिसकेको टोली हो । यो टीम एसियन च्याम्पियन हो। ताइपेई र कुवेतसँग भने नेपालले मैत्रीपूर्ण प्रतिस्पर्धा गरिसकेको छ ।

  • ६ महिनामा भित्रिए ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक

    ६ महिनामा भित्रिए ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक

    काठमाडौं । ६ महिनामा नेपालले ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक भित्राउन सफल भएको छ नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को ६ महिनामा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

    सन् २०१८ को ६ महिनामा ५ लाख २० हजार १४ जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ । यस वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.६० प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

    नेपालमा पछिल्लो समय बौद्धमार्गी बाहुल्य भएका मुलुकबाट पर्यटक बढी भित्रिरहेका छन् । चीन, थाइल्याण्ड, श्रीलंका, चाइनिज ताइपेइजस्ता मुलुकका पर्यटकको वृद्धिदर निकै उत्साहजनक रहेको छ ।

    तर, भारत, बंगलादेश, पाकिस्तान तथा यूरोपका पर्यटकको वृद्धि भने कम रहेको छ । अमेरिका र आसीयाना क्षेत्रबाट पनि उल्लेख्य पर्यटक बढ्न नसकेको तथ्यांकले देखाएको छ ।

    बोर्डका अनुसार ४ लाख ९० हजार ५ सय ३४ जनाले हवाई मार्ग प्रयोग गरी नेपाल आएका छन् भने ९४ हजार ९ सय ९७ पर्यटक भने स्थलमार्गबाट नेपाल भित्रिएका छन् ।

    स्थलमार्गबाट भित्रने भारतीय नागरिकलाई भने पर्यटक मानिदैन । उनीहरुको गणना पनि हुँदैन ।

    तथ्यांकअनुसार ६ महिनामा यूरोपबाट आउने पर्यटकको संख्या केवल २.३२ प्रतिशतले मात्र बढेको छ । अष्टे«लिया र न्यूजिल्याण्डबाट पनि गत वर्षकै हाराहारीमा पर्यटक भित्रिएका छन् ।

    श्रीलंकाबाट गत वर्षको तुलनामा ५२.४१ प्रतिशत पर्यटक बढी आएका छन् । चीनबाट १९.५३ प्रतिशत पर्यटक बढ्दा भारतबाट ७.३६ प्रतिशत मात्र पर्यटक बढेको तथ्यांक छ ।

  • सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

    सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

    पोखरा । आफन्तबाटै ज्यान लिने जघन्य अपराध पुनः पोखरामा घटेको छ । पोखरा रामबजारका रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरेको तथ्य प्रहरीले फेला परेको छ ।

    श्रीमती लक्ष्मी परियारको हत्या गरेको उनले स्वीकार गरिसकेका छन् । उनले लक्ष्मीकी मामाकी छोरी (रमेशकी साली पर्ने) अनु परियारसँगको प्रेमपछि श्रीमतीको हत्या गरेको डरलाग्दो रहस्यसमेत प्रहरीले फेला पारेको छ ।

    लक्ष्मी १ असारदेखि वेपत्ता थिइन् । रमेशले डेढ लाख रुपैयाँसहित श्रीमती गायब भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

    प्रहरीले अनुसन्धानका क्रममा श्रीमानतर्फ नै शंका बढाएपछि तथ्यको नजिक पुगेको हो । किनकी उनको डेराबाट प्रहरीले श्रीमतीको मोवाइल, सिक्रिजस्ता घरायसी प्रयोजनका वस्तु फेला पारेको थियो ।

    प्रहरीले रमेशलाई पक्राउ गरी हिरासतमा लिएर केरकोर गरेपछि भने उनले स्वयमःले श्रीमतीको हत्या गरी लास फालेको बयान दिएका हुन् ।

    पोखरा, २२ स्थित कर्कले जंगलमा शव कुहिसकेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । श्रीमान र बहिनीको झांगिदै गरेको प्रेमका सम्बन्धमा लक्ष्मीले पत्ता पाइसकेकी थिइन् ।

    उनले मामा माइजुलाई समेत यसबारे सचेत गराएको प्रहरीले उल्लेख गरेको छ । प्रेममा पागल बनेका यी दुईले भने लक्ष्मीको हत्या गरे आफूहरुको बाटो खुल्ने सपना देखे र जघन्य हत्या गरेको प्रहरीले बुधबार जानकारी दिएको छ ।

    रमेशलाई श्रीमतीको हत्या गर्न अनुले उक्साएको प्रहरीको भनाई छ । त्यसपछि पोखरामै मोबाइल पसल सञ्चालन र्ने सञ्जय शर्मासँग मिलेर हत्याको योजना बनाएका थिए ।

    त्यसपछि भारतबाट पैसामा मान्छे मार्ने बोलाएर उसकै जिम्मामा त्यो काम सुम्पने र त्यसवापत पैसा दिने योजना बन्यो ।

    प्रहरीका अनुसार ‘सर्लाही ईश्वरपुर ३ तिनघरिया स्थायी घर भई पोखरा ९ मा बस्ने चित्तरञ्जन साहलाई १० लाख दिएर भारतबाट मान्छे झिकाउने जिम्मा दिइएको थियो ।

    शाहले भारतबाट पैसा लिएर मान्छे मार्ने पेशामा संलग्न ३ जना व्यक्तिलाई पोखरा झिकाएका थिए । त्यसपछि ३० जेठमा कर्कले जंगलमा ती हत्यारालाई लगिसकेपछि जंगलमा जडिबुटी खोज्ने बाहनामा श्रीमतीलाई लगेर हत्या गराएको रहस्यको पर्दाफास प्रहरीले गरेको छ ।

    उनकी श्रीमतीको घाटी रेटेर हत्या भएको प्रहरीले बताएको छ ।

    प्रहरीले लक्ष्मीको हत्यामा संलग्न चार जना अपराधीलाई पक्रेको छ ।

    पक्राउ पर्नेमा मुख्य योजनाकार रमेश नेपाली, रमेशकी साली १९ वर्षीया अनु परियार, सर्लाही ईश्वरपुर ३ घर भई हाल पोखरा ८ पृथ्वीचोक बस्ने २६ वर्षीय चित्तरञ्जन कुमार साह, भोजपुर नपा ५ बैंकरोड घर भई हाल पोखरा ९ महेन्द्रपुल बस्ने ३२ वर्षीय सञ्जय शर्मा रहेका छन् ।

    भाडामा मान्छे मार्ने भारतीयहरु भने फरार रहेको प्रहरीले उल्लेख गरेको छ ।

  • आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

    आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

    काठमाडौं । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्ती। यस दिनबाट नेपालमा चाडबाड शुरु भएको मान्यता छ ।

    असार महिनाभर कृषि काममा व्यस्त रहेका कृषक १ साउन दिन सबै आफन्त एक स्थानमा जम्मा भई मिठा परिकार खादै रमाइलो गर्ने प्रचलन त छँदैछ, यस दिनबाट शिवमन्दिरमा भक्तजनको विशेष भीड पनि शुरु हुन्छ ।

    घरघरमा लुतो फालेर रोगव्याधीबाट मुक्ति माग्दै साउने संक्रान्ती मनाउने नेपालको पुरानो प्रचलन हो ।

    यस दिनबाटै नेपाली महिलाले हातमा महेन्दी र शरीरमा हरियो लुगाले आफूलाई सुसज्जित बनाउँछन् । हातमा हरियो चुरा लगाएर प्रकृतिसँगको सामिप्यता महसुश गर्ने महिना पनि हो, साउन ।

    आजदेखि सूर्य दक्षिणतर्फ लाग्ने भएकाले आजै देखि दक्षिणायन सुरु हुन्छ। १ माघबाट उत्तरायण र १ साउनबाट दक्षिणायन सुरु हुने भएकाले धार्मिक रुपमा यी दुई दिनलाई विशेष मान्ने गरिन्छ ।

    साउनदेखि माघसम्म निरन्तर चाडबाडहरु पर्छन् । यस महिनाबाट नेपालीहरुका हर्षका दिन शुरु भए भन्ने मान्यता पनि रहेको छ ।