Author: Vishwanews.com

  • सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु

    सर्वोच्चको फैसला : विषादी परीक्षण फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु

    काठमाडौं । सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न आदेश दिएको छ ।

    अर्को आदेश नआएसम्म तत्कालका लागि असार १८ मा मन्त्रीपरिषद्ले विषादी परीक्षण गर्ने निर्णय फिर्ता कार्यान्वयन नगर्न आदेश दिएको हो ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गरेको थियो । त्यसपछि अन्तरिम आदेशमार्फत विषादी परीक्षण गर्ने निर्णय फिर्ता नलिएर निरन्रता दिन सरकारका नाममा आदेश जारी गरेको हो ।

    अदालतले अब असार ३० गते रीटका वादी र प्रतिवादी दुबैलाई बोलाएर छलफल गर्ने भएको छ । सरकारले गत २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी सीमा नाकामा चेकजाँच गर्ने निर्णय गरेको थियो ।

    तर, भारतको दवावमा सरकारले फेरी त्यो निर्णय फिर्ता लियो । त्यसपछि सरकारले परिक्षणको क्षमता नभएका कारण निर्णय फिर्ता लिनु परेको बताएको थियो ।

    उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा सरकारको यस निर्णयको विरोधमा रीट दायर गरेका थिए ।

    खासगरी उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित संवेदनशिल विषय भएका कारण यो निर्णयबाट पछि नहट्न सर्वोच्चले सरकालाई आदेश दिएको हो ।

  • त्रिवि पुगेर प्रधानमन्त्रीले भने : गल्ती गर्नेहरु कारवाहीको भागिदार

    त्रिवि पुगेर प्रधानमन्त्रीले भने : गल्ती गर्नेहरु कारवाहीको भागिदार

    काठमाडौं । एकपछि अर्को काण्ड बाहिरिएपछि बदनाम भइरहेको त्रिभुवन विश्वविद्यालयले ६० औं वार्षिकोत्सव मनायो ।

    वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयका कूलपति तथा प्रधानमन्त्री केपि शर्मा ओली त्रिभुवन विश्वविद्यालय पुगे ।

    तर, उनी पुगेपछिको व्यवस्थापनको दृष्यले देशकै पाको विश्वविद्यालयको बेइज्यत मात्र गरेन, यो अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने पनि प्रष्ट देखायो ।

    बुधबार काठमाडौंमा ठूलो पानी परेको थियो । कार्यक्रमस्थलमा रातो कार्पेट बिच्छ्याइएको थियो । तर, हिलोमाथि ।

    यता प्रधानमन्त्री हिड्न बनाइएको हिलो माथिको रातो कार्पेटले सामाजिक संजालमा भाइरल बनिरहँदा उता प्रधानमन्त्री ओलीले गल्ती गर्नेहरु अब कारवाहीको भागिदार हुने चेतावनी दिए ।

    खासगरी गोल्ड मेडल पैसा तिरेर ल्याउने तथा योग्यको अंटाएर अयोग्यलाई पास गराउने गम्भीर अपराधका घटना बाहिरिएपछि अहिले त्रिभुवन विश्वविद्यालयका जिम्मेवारी पदाधिकारी आलोचनाको शिकार बनिरहेका छन् ।

    प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कसैलाई पनि उन्मुक्ति नदिने प्रतिवद्धतासमेत व्यक्त गरे ।

    उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने उल्लेख गरे ।

    कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पछिल्ला घटनाबाट विश्वविद्यालयको छवी नै बिग्रिएको भन्दै त्यस्ता गतिविधिमा नलाग्न सचेत गराए ।

  • भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

    भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ता मारिए, फैलदै त्रास

    भोजपुर । बुधबार बिहानै भोजपुर सदरमुकाम मै नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा दुई जनाको ज्यान गएसँगै सर्वसाधारणमा त्रास फैलिएको छ ।

    मुलुक शान्ती प्रक्रिया टुंग्याएर राजनीतिक स्थायित्वतर्फ अगाडी बढ्दै जाँदा सरकारले विप्लव समूहलाई प्रतिवन्धित समूह घोषणा गरेको छ ।

    यसको प्रतिवादस्वरुप विप्लव समूहले गतिविधि बढाएसँगै देशभर त्रासको वातावरण शुरु भएको छ ।

    भोजपुर सदरमुकामस्थित हाट बजार लाग्ने क्षेत्रमा बुधबार भएको गोली हानाहानमा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको भोजपुर प्रहरीले पुष्टी गरेका छ ।

    घटनामा प्रहरी जवान सोम भट्टराई घाइते छन् । सरकारले विप्लव समूहविरुद्ध आक्रामक रवैया अपनाएको छ । प्रहरीले उनीहरुविरुद्ध लिएको आक्रामक नीतिको विरुद्धमा यो समूहले पनि सरकार लक्षित गरी आक्रमण थालेको छ ।

    घटनामा मारिने विप्लव कार्यक्रता निरकुमार विप्लव समूहका ओखलढुंगा इञ्चार्ज भएको बताइएको छ । घटनास्थलबाट प्रहरीले एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद गरेको बताएको छ ।

    प्रहरी जवान राई सादा पोशाकमा रहेको बेला विप्लव समूहको आक्रमणमा परेका प्रहरीको भनाई छ । त्यसपछि गस्तीमा पुगेको प्रहरीले उनीहरुमाथि गोली चलाएको बताईएको छ ।

  • न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

    न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा, भारत बाहिरियो

    म्यान्चेस्टर । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको छ ।

    बुधबार बेलायतको म्यानचेस्टरमा सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतमाथि १८ रनको रोमान्चक जीत हात पार्यो । खेल मंगलबार नै हुनुपर्ने थियो । तर, वर्षाले अवरुद्ध भएको खेल बुधबारका लागि सारिएको थियो ।

    न्यूजिल्याण्डले मंगलबार नै ब्याटिङ गरेको थियो । भारतका लागि बुधबार २४० रनको लक्ष्य सेट भयो । लक्ष्य पछ्याएको भारत भने २२१ रनमा अलआउट भयो ।

    भारतका लागि रवीन्द्र जडेजाले ७७ रनको आकर्षक इनिङ खेले । महेन्द्र सिंह धोनीले ५० रन बनाए । सस्तैमा भरपर्दा ब्याट्सम्यान गुमाएको भारतलाई शूरुवाती ओभरमा सम्हालिन नसक्नु नै ठूलो कमजोरी रह्यो ।

    भारतका ओपनर द्धय रोहित शर्मा र केएल राहुल तथा कप्तान विराट कोहली मात्र ११ रनमा आउट भए । जसले गर्दा मध्यक्रममा ब्याट्सम्यानमाथि दवाव आएको थियो ।

    तर, हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रनको योगदान दिए । धोनी र जडेजाबीचको १ सय १६ रनको साझेदारीले भारतलाई जीतको नजिक लगेपनि उनीहरु आउट भएपछि भारतले जीत निकाल्न सकेन ।

    १.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको चार रन थियो । दोस्रो विकेटको रुपमा कप्तान विराट आउट हुदा भारतको पाँच रन थियो । त्यस्तै, ३.१ ओभरमा राहुल आउट भएपछि भारत दबाबमा आएको हो ।

    न्यूजिल्याण्डका मट हेनरी बलिङमा चम्किए । उनले ३ विकेट लिए । ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट हात पारे । मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो ।

    ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो । न्यूजिल्याण्डका लागि अनुभवि ब्याट्सम्यान रोस टेलरले ७४ तथा कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए ।

    हेनरी निकोलसले २८ रन बनाए । भारतका लागि बलिङमा भुवनेश्वर कुमारले तीन विकेट झारेका थिए । अब न्यूजिल्याण्डले उपाधीका लागि अष्टेलिया र इंल्याण्डको बिजेतासँग भिड्नु पर्नेछ ।

    एजेन्सी

  • ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो

    ओखलढुङ्गामा बस दूर्घटना, तीन जनाको ज्यान गयो

    ओखलढुंगा । ओखलढुङ्गामा बुधबार बिहानै भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दूर्घटनामा परी अन्य १७ जना घाइते छन्।

    झापाको काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरैको मे १ ख १८९१ नम्बरको बस बिहान साढे ३ बजे सिद्धिचरण राजमार्गस्थित ओखलढुङ्गाको मानेभञ्ज्याङ, डडुवामा दुर्घटनामा परेको थियो ।

    ओखलढुङ्गा प्रहरीका अनुसार मृत्यु हुने यात्रुको सनाखत भइसकेको छैन । दूर्घटनामा परी दुई पुरुष र एक महिलाको निधन भएको छ ।

    दूर्घटनामा परी गम्भीर ४ जनालाई काठमाडौं पठाइएको र १३ जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    बस घुम्तीबाट तल्लो सडक खण्डमै झरेको थियो । करीव २० मिटर तल खसेर दूर्घटनामा परेको बसले सडक खण्ड नै अवरुद्ध पारेको र त्यसलाई पन्छ्याएर सडक सूचारु गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

    नेपाल एसीसी यू-१९ एसिया कपमा छनोट

    काठमाडौं । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै एसीसी यू-१९ एसिया कपको टिकट पक्का गरेको छ ।

    मंगलबार एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले हङकङविरुद्ध ६ विकेटको प्रभावशाली जीत हात पारेको हो ।

    उपाधि हात पारेको नेपालले आगामी अगस्ट महिनामा श्रीलंकामा आयोजना हुने एसिसी यू-१९ एसिया कप खेल्ने भएको छ ।

    उक्त प्रतियोगितामा नेपालसहित श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईले भाग लिनेछन् ।

    मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको चुनौती दिएको थियो । नेपालले उक्त लक्ष्य १६.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

    नेपालका लागि पवन सर्राफले ३९ रनको योगदान दिए। रित गौतमले १३ रन जोडे । खड्गबहादुर बोहराले ८ रन बनाए । रोहितकुमार पौडेल १२ रन र भीम सार्कीले ११ बलमा ८ रनमा अविजित रहे ।

    हङकङलाई ९५ रनमै समेट्ने क्रममा लेगस्पिनर सागर ढकाल चम्किए । १० ओभर बलिङ गरेका उनले ५ विकेट लिने क्रममा मात्र १८ रन खर्चिए । कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट हात पारेका थिए ।

  • प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

    प्रहरी इन्कान्टरका घटना विवाद : संसदमा विपक्षीको हंगामा

    काठमाडौं । प्रहरीको गोलीबाट धमाधम नागरिक मारिन थालेसँगै संसदमा प्रतिपक्षी दलले गृहमन्त्री समक्ष स्पष्टिकरण माग गरेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको चर्को आलोचना गरे ।

    सर्लाहीमा बालक अमित रायको क्रसर उद्योगले खनेको खाल्डोमा परी मृत्यु भएपछि उठेको स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउदा सरोजनारायण महतोको निधन भएको थियो ।

    यो गैरन्यायिक हत्यामार्फत सरकारले मानवाधिकारको गम्भीर उल्लंघन गरेको सांसदहरुको आरोप थियो ।

    अर्कोतर्फ विप्लव कार्यक्रता विप्लव पौडेललाई पक्राउ गरेपछि प्रहरीले गोली हानी हत्या गरेको भन्दै सांसदहरुले गृहमन्त्रीको चर्को आलोचना गरेका हुन् ।

    खासगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदले गृहमन्त्रीको आलोचना गरेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सर्लाहीका दुई घटनामा गृहमन्त्रालयबाट मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिन् ।

    सरकारी निकायको  संरक्षणमा क्रसर उद्योगीले अनधिकृत खाल्डा खनेर जोखिम निम्त्याउने र बालकको ज्यान गएपछि त्यसको विरोधमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको उनको आरोप थियो ।

    राजपा सांसद राजकिशोर यादवले पनि सरकारले तराई क्षेत्रमा मान्छे मारेको भन्दै आलोचना गरेका हुन् । मंगलबारको बैठकमा गृहमन्त्री थापाले कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको बताए ।

    गृह मन्त्रीको जवाफमा कांग्रेस र राजपाका सांसदले चित्त बुझाएनन् र निरन्तर विरोध गरिरहे । सांसद भरतकुमार शाहले गृहमन्त्रीको जवाफ सत्य नभएको भन्दै संसदीय समिति गठन गर्न गृहमन्त्री तयार हुनुपर्ने बताए ।

    सांसदहरुले गृहमन्त्रीले कर्मचारीको बनिबनाउ उत्तर ल्याएर पढेको भन्दै वास्तविकता लुकाउने षडयन्त्र सरकारले गरिरहेको बताए ।

    गृहमन्त्रको जवाफमा चित्त नबुझेपछि मंगलबार कांग्रेस र राजपाका सांसदले रोष्ट्रम घेर्दै संसद अवरुद्ध पारे ।

  • प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

    प्रधानमन्त्रीलाई दिइयो राष्ट्रिय परिचयपत्र

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गरि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रधानमन्त्रीलाई परिचय पत्र हस्तान्तरण गरेको हो । विभाग गृहमन्त्रालय मातहतको निकाय हो ।

    विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई परिचयपत्र हस्तान्तरण गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको विभागले जानकारी दिएको छ ।

    सरकारले नीति तथा कार्यक्रममै विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशत नागरिकलाई चालु आव भित्रै परिचयपत्र बाड्ने घोषणा गरेको थियो ।

    विभाग अनुसार सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको थिया
    ।

  • रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

    रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

    काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।

    बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्न मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए\तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

    पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ राखिएको छ ।

     

     

    राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनुलाई सुखद् पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण हुने बताए ।

    उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्ने उल्लेख गरे ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुननिर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिए ।

    सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्नेमा विश्वास व्यक्त गरे ।

    निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र आफूहरुबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने बताए ।

    रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।

    यो मन्दिर तिहारमा भाइटिकाको दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ ।

  • असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

    असारमै दुई तिहाई खेत बाँझै, २३ प्रतिशतमा मात्र रोपाईं

    काठमाडौं । असार सकिन अब एक साता मात्र बाँकि छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित यो महिनामा कृषक व्यस्त रहनु पर्ने हो ।

    तर, प्रकृति कृषकमैत्री नबन्दा अहिलेसम्म रोपाईको माहोल शुरु हुन सकेको छैन । बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार मुलुकभर अहिलेसम्म मात्र २३ प्रतिशत खेतमा रोपाइं सम्पन्न भएको छ ।

    केन्द्रले २२ असारसम्मको तथ्यांक समेटेर मंगलबार विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो वर्षको २२ असारसम्म ५३ प्रतिशत खेतमा रोपाई भइसकेको थियो ।

    ढिला मनसुन शुरु हुनु र कतिपय स्थानमा अझै खडेरी नै परेका कारण वर्षातमा आधारित रहेर हुने रोपाई अझै शुरु हुन नसकेको हो ।

    नेपालमा करीव ६५ प्रतिशत खेतियोग्य जमिनमा अझै पनि स्तरीय सिञ्चाई सुविधा पुगेको छैन । त्यसकारण कृषक वर्षातकै पानीमा भर पर्नु पर्ने अवस्था रहेको छ ।

    नेपालमा कुल १३ लाख ७१ हजार ७०६ हेक्टर जमीनमा धान रोपाइँ हुने तथ्यांक केन्द्रसँग छ । त्यसमध्ये २२ असारसम्म ३ लाख २५ हजार ९ सय १ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

    उच्च पहाडी भूभागमा ४८ हजार १९३ हेक्टर जमिनमा धान रोपाई हुन्छ । त्यसमध्ये १६ जार ६९३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

    मध्य पहाडमा ३ लाख ४६ हजार ९९ हेक्टरमा रोपाई हुनेमा एक लाख ७ हजार ८०१ हेक्टर जमीनमा मात्रै रोपाइँ सकिएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    तराईमा भने ९ लाख ७७ हजार ४१४ हेक्टर जमीनमा धान खेति गरिन्छ । त्यसमध्ये ३ लाख २५ हजार ९०१ हेक्टर जमीनमा मात्र रोपाइँ सकिएको छ ।

    कुल धान उत्पादनको झण्डै ७० प्रतिशत हिस्सा प्रदेश २ ले ओगट्छ । पहाडभन्दा पनि तराईको जिल्लामा हुने रोपाईले धेरै हदसम्म तथ्यांकमा प्रभाव पार्छ ।

    मनसुन ढिला शुरु हुँदा तराईका नदीहरुमा समेत पानीको बहाब बढ्न सकिरहेको छैन ।

  • मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य

    मन्त्रीपरिषद्को आकस्मिक बैठक, एजेण्डा गोप्य

    काठमाडौं । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठक मंगलबार बिहान पुनः बोलाइएको छ । सामान्यतया नेपालमा मन्त्रीपरिषद् बैठक बिहीबार बस्ने प्रचलन छ ।

    मंगलबार बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छ । पछिल्लाो समय तरकारी र फलफूलको विषादी परीक्षण सम्बन्धी विषय आलोचित बनेसँगै मन्त्रीहरुका फरक फरक धारणा आइरहेका छन् ।

    सोमबार विभिन्न संचरमाध्यमले भारतले तरकारीको आयात नरोक्न दवावमुलक पठाएको पत्रपनि सार्वजनिक गरेका थिए । यसबाट अफ्ठ्यारोमा परेको सरकार अहिले चौतर्फी आलोचनाको शिकार भइरहेको छ ।

    यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीले के भएको हो भन्ने सम्बन्धमा विस्तृतमा जानकारी लिन चाहेको बुझिएको छ ।

    सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले सचिवहरुबाट लगत सूचना आएको र त्यसमा नपढी हस्ताक्षर गर्दा सरकार अफ्ठ्यारोमा परेको प्रतिक्रिया दिएका थिए ।

    त्यसअगाडी स्वयमः प्रधानमन्त्रीले भारतीय दूतावासबाट कुनै पत्र नआएको र नेपालसँग विषादी परीक्षण गर्ने कुनै उपकरण नभएका कारण विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिनु परेको बताएका थिए ।

    उनको भनाईलाई काट्ने गरी कृषि मन्त्रीले नेपालमा पूर्वाधार रहेको तर पर्याप्त नरहेको बताएका थिए ।

  • राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता

    राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता

    काठमाडौं । लगातार दुई वर्ष रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार यस वर्ष भने प्रदान गरिने भएको छ ।

    चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका असरमा आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना हुने भएको हो । कार्यक्रम राष्ट्रपति निवासमै आयोजना गर्ने तयारी छ ।

    पुरस्कार समारोहको तिब्र तयारी भइरहेको बोर्डले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । यसअघि २०७४ र २०७५ मा अवार्ड कार्यक्रम हुन सकेको थिएन ।

    यसपटक तीन वटै वर्षको अवार्ड एकै पटक प्रदान गरिने भएको बोर्डले उल्लेख गरेको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेको बताइएको छ ।

    राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगद पुरस्कार राशीको समेत व्यवस्था छ । पुरस्कृत हुनेलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

  • चार राजदूतको नाम अनुमोदन

    चार राजदूतको नाम अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित भएको राजदूतको नाम अनुमोदन गरेको छ । समितिको सोमबारको बैठकमा संसदीय सुनुवाई लगत्तै चारै जना राजदूतको नाम अनुमोदन गरिएको थियो ।

    अनुमोदन हुनेमा बंगलादेशका बंशिधर मिश्र, कतारमा नारदनाथ भारद्वाज, अष्ट्रेलियामा महेशराज दाहाल र स्पेनमा दाबा फुटी शेर्पाको नाम रहेको छ ।

    सोमबार नै भएको संसदीय सुनुवाईमा राजदूतहरुका विषयमा परेको उजुरीका सम्बन्धमा प्रस्तावित राजदूतहरुले जवाफ दिएका थिए ।

    अष्ट्रेलियाका लागि अनुमोदित नेपाली राजदूत महेशराज दाहालले आफू र आफ्नो परिवारको नाममा विदेशमा स्थायी आवासीय अनुमतिपत्र नभएको बताए । समितिमा उनकी पत्नीले अमेरिकामा स्थायी बसोबास अनुमतिपत्र (पीआर) लिएको उजुरी परेको थियो ।

    दाहालले भने आफ्नी पत्नीले वर्क परमिट मात्र लिएको र त्यसको म्याद दुई महिनामा सकिने स्पष्टिकरण दिए ।

    कतारका लागि अनुमोदित राजदूत नारदनाथ भारद्वाजले नेपालको पानी कतारको बजारमा बेच्न सकिने सम्भावना रहेको बताए ।

    बंगलादेशका लागि अनुमोदित वंशिधर मिश्रले नेपाल र बंगलादेशबीच विद्युत व्यापार र पर्यटनलाई प्राथमिकतामा दिने बताए ।

  • राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

    राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सिलवाललाई

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । उनी गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।

    शिक्षा व्यवसायसँग आवद्ध सिलवाललाई राखेप अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सदस्य सचिव नियुक्त गरेका थिए ।

    उनले सोमबार नै सपथ ग्रहण गरे । सथप ग्रहणपछि बोल्दै सदस्यसचिव सिलवालले निर्धारित समयमा साग खेलकुद प्रतियोगिता आयोजना गर्न आफ्नो प्राथमिकता हुने बताए ।

    उनले आफूले जागिर खानका लागि मात्र नभई खेलकुदका माध्यमबाट देशको शीर उच्च राख्न जिम्मेवारी ग्रहण गरेको समेत उल्लेख गरे ।

    खेलकुदमन्त्री विश्वकर्माले सिलवालको नियुक्तिले खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

    ९ असारमा केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद रिक्त थियो। विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक सिलवाल थिए।

    निर्वाचित क्यानलाई विघटन गरेपछि आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको छ। जुन अहिले पनि कामय रहेको छ। सिलवाल क्यानका पूर्व उपाध्यक्ष पनि हुन्।

  • काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

    काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

    काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकालाई खतराको सूचिमा राख्ने प्रस्ताव एक वर्षका लागि स्थगित गरेको छ ।

    अजरबैजानको बाकुमा जारी वर्ल्ड हेरिटेज कमिटीको ४३ औं सेसनले नेपालका सम्पदालाई एक वर्ष खतराको सूचिमा नराख्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यकाभित्रका सम्पदालाई खतराको सूचिमा राख्ने प्रस्ताव सेसनमा गरिएको थियो । तर, नेपालमा भूकम्पपछिको पुनर्निर्माण चलिरहेको र त्यसका लागि अझ बढी विदेशी सहयोग आवश्यक पर्ने भन्दै तत्काल खतराको सूचिमा नराख्ने निर्णय यूनेस्कोले गरेको हो ।

    मन्त्रालयका अनुसार यूनेस्कोले एक टोली पठाएर नेपालका सम्पदाको अडिट गर्नेछ । उक्त अडिट टोलीले दिने प्रतिवेदनका आधारमा आगामी वर्षको सेसनले नेपालबारे अन्तिम निर्णय लिनेछ ।

    सेसनमा चीन, ब्राजिलजस्ता देशले नेपाल पर्यटनमा आधारित मुलुक रहेका कारण उक्त देशका सम्पदालाई खतराको सूचिमा राख्न नहुने बताएका थिए ।

    मन्त्रालयका अनुसार यूनेस्कोले खासगरी विश्व सम्पदा क्षेत्रभित्र बन्न संरचनाको परम्परागत विशेषता र मौलिकता हराएकोतर्फ विशेष चासो राखेको छ ।

    पूनर्निर्माणका क्रममा आधुनिक निर्माण सामग्रीका प्रयोगका सम्बन्धमा पनि यूनेस्कोको चासो रहेको छ ।

    काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिर, बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर तथा चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

    यसबाहेक सगरमाथा राष्टिय निकुन्ज, चितवन राष्टिय निकुन्ज र लुम्बिनी पनि विश्व सम्पदा सूचिमा रहेका छन् ।

  • बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

    बच्चाको डाइपरमा लुकाएर सुन तस्करी

    काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट ४ सय ग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लीलाबहादुर बस्नेत र नवलपरासीका बीरबहादुर थारू छन् ।

    उनीहरुले बच्चाको डाइपरमा लुकाएर सुन ल्याएको प्रहरीले बताएको छ । लीलाबहादुर बस्नेत कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका थिए ।

    विमानस्थल प्रहरी र काठमाडौं प्रहरीको परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा डाइपरमा सुन फेला पारेको प्रहरीले  जानकारी दिएको छ ।

    यस्तै, नेपाल वायु सेवा निगमको दोहा उडानमा आएका नवलपरासीका बीरबहादुर थारूले पनि बस्नेतले जस्तै डाइपरमा सुन लुकाएर ल्याएका थिए।

    प्रहरीले दुबै भरिया भएको र सुन तस्करले उनीहरुलाई प्रयोग गरेको उल्लेख गरेको छ । उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

    सेना-पुलिसका श्रीमती संघ खारेज हुनुपर्छ : भुसाल

    काठमाडौं । नेकपा नेतृ पम्फा भुसालले सैनिक र प्रहरीको बजेटबाट श्रीमती संघ संचालन हुन नहुने बताएकी छिन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भुसालले सेना र पुलिसमा रहेका श्रीमती संघहरु खारेज गर्नुपर्ने माग गरिन् ।

    गणतन्त्रमा पनि राजतन्त्रकालिन अवशेष रहेको भन्दै उनले संविधानको प्रतिकूल हुने गरी अस्तित्वमा रहेका संस्थाहरु खारेज गर्नुपर्ने तर्क गरेकी छिन् ।

    यस्ता निकायहरु राजतन्त्र कालिन समयमा सामन्ती पितृसत्तावादी सोचका आधारमा स्थापना भएको उनको भनाई छ ।

    प्रधानसेनापतिबाट आफ्नी श्रीमतीलाई महारानी नभन्‍‍न निर्देशन दिएको प्रसंग उठाउँदै भुसालले सेना पुलिसको बजेटबाट श्रीमती संघ चल्नु ठीक नभएको बताइन ।

    हिजोको शाही नेपाली सेना अहिले नेपाली सेनामा परिणत भइसकेको अवस्थामा परिवार र वंशवादमा आधारित पितृ सत्तावादी सोचसहित खडा भएका संरचना खारेज गर्नु उनले माग गरिन् । उनी पूर्वमन्त्री समेत हुन् ।

  • कांग्रेस केन्द्रिय समिति बैठक शुरु

    कांग्रेस केन्द्रिय समिति बैठक शुरु

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइतबारबाट राजधानीमा शुरु भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक करीव ५ घण्टा ढिलो गरी शुरु भएको हो ।

    बैठकमा राख्ने एजेन्डाका विषयमा शीर्ष तहका नेताहरुबीच विवाद भएपछि निर्धारित समयमा बैठक बस्न नसकेको हो । आइतबार बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्धारा १४ वटा एजेन्डा प्रस्तुत भए ।

    यसमा पार्टीको जिम्मेवारी र राष्ट्रिय जिम्मेवारीका विषयमा एजेन्डा समावेश गरिएको छ । बैठक शुरु हुन अघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर नेताले पार्टीको १४ औं महाधिवेशनको मितिका सम्बन्धमा पनि पार्टीमा छलफल हुनुपर्ने अडान लिएपछि बैठक ढिला मात्र शुरु भएको हो ।

    आइतबार पार्टीको पहिलो चरणमा सम्पन्न राष्ट्रिय जागरण अभियानको समीक्षा, नियमावली मस्यौदा पारित गर्ने, पार्टीको भातृ संगठन र जनसम्पर्क समितिलाई पूर्णता दिनेजस्ता एजेन्डा राखिएको थियो।

  • प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको टुइट विवादित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल आइतबार बिहान गरेको टुइटका कारण दिनभर विवादित रहे ।

    दिनभर सामाजिक संजालमा उनको जमेर आलोचना भयो भने संचारमाध्यममा पनि उनी छाइरहे । टुइटले आम सर्वसाधारण मात्र आक्रोसित भएनन, स्वयमः नेकपाका नेता कार्यक्रताले पनि यस टुइटको खुलेर आलोचना गरेका छन् ।

    टुइटमा रिमालले भनेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुख दिन्छन् , यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’

    खासगरी बोक्सी प्रथासँग जोडिने छौँडा शब्द प्रयोग गर्दै टुइट गरेछि रिमाल विवादमा तानिएका हुन् । शनिबार नेकपा संसदीय दलको बैठकमा आफ्नै सांसदले सरकारको चर्को आलोचना गरेका थिए ।

    त्यसको भोलीपल्टै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको अत्यन्तै विवादास्पद टुइट आएपछि आइतबार राजनीतिक वृत्त बहसमा उत्रियो ।

    संसदीय दलको बैठकमा सरकारले निर्णय गर्द पछि हट्नै गर्ने र एक पछि अर्को विवादास्पद निर्णय गरी जनतालाई चिढाएको भन्दै सरकारको खुलेर आलोचना गरेका थिए ।

  • पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

    पर्याप्त पूर्वाधार नहुँदा विषादी परिक्षण रोकियो : कृषि मन्त्री

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पर्याप्त पूर्वाधार नबनेका कारण सीमा नाकामा फलफूल तथा तरकारीको विषादी परीक्षण रोकिएको बताएका छन् ।

    आइतबार राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले नेपालसँग विषादी परिक्षण गर्ने पूर्वाधार भएपनि पर्याप्त नरहेको उल्लेख गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वाधार अभावका कारण परीक्षण रोकिएको दावि गरेका थिए । तर, कृषि मन्त्रीका अनुसार नेपालमै विषादी परिक्षण गर्न सक्ने पूर्वाधार भने उपलब्ध छन् ।

    काठमाडौंस्थित कालिमाटीमा २९ प्रकारका विषादी समूहको परीक्षण हुने सुविधा रहेको छ । देशका विभिन्न ६ स्थानमा परीक्षण केन्द्र स्थापना गरिएका छन् ।

    नेपाल आयात हुने तरकारी तथा फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्नुपर्ने व्यवस्थासहित २ असारमा ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित भएको थियो ।

    यस व्यवस्थापछि सीमानामा तरकारी र फलफुल रोकिए । त्यसपछि भारतीय दूतावासले चासो देखायो । दूतावासको चासोसँगै सरकारले परीक्षण गर्ने व्यवस्था फिर्ता लियो । त्यस निर्णयपछि भने सरकारको खुलेर आयोजना भइरहेको छ ।

    तर, कृषिमन्त्री खनालले पूर्वाधार नभएको भन्ने तर्कको घुमाउरो गरी खण्डन गरे । पूर्वाधार हुँदै नभएको नभई पर्याप्त मात्र नरहेको भन्दै उनले अहिलेकै अवस्थामा पनि विषादी परीक्षण गर्न सकिने उनको तर्क छ ।

    नेपालमा प्रदेश १ को विर्तामोड, दुईको सर्लाही, ३ को कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशमा दुई वटा केन्द्रबाट विषादी परीक्षण हुने गरेको उनले जानकारी दिए ।

  • कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

    कोपा अमेरिकाः अर्जेन्टिना तेस्रो, मेसीलाई रातो कार्ड

    ब्राजिल । कोपा अमेरिका फूटलबको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । तर, यो खेल भने पूर्णतया विवादित भयो ।

    ३७ औं मिनटमा कप्तान लियोनल मेसीलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाएपछि खेल विवादित बनेको हो । मेसीले करियरकै दोस्रो रातो कार्ड पाए ।

    आइतबार बिहान कोपा अमेरिका फूटबलको तेस्रो स्थानका लागि भएको चिलीसँगको खेलमा मेसी र ग्यारी मेडलबीच बल खोस्ने क्रममा विवाद भएको थियो ।

    अर्जेन्टनाको डिबक्सबाट बल लिने क्रममा यी दुई खेलाडीबीच भएको विवादमा मेडलले मेसीलाई छातीमा हिर्काएका थिए । तर, रेफ्रीले दुबै खेलाडीलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाए ।

    रेफ्रीले भीएआर सुविधा पनि उपयोग नगरी सिधै रातो कार्ड दिएपछि खेलाडीहरु आक्रासित भएका थिए । मेसीले रातो कार्ड पाउनु अगाडी नै अर्जेन्टिनाले चिलीविरुद्ध दुई गोल गरिसकेको थियो ।

    समग्रमा अर्जेन्टिना २१ गोल अन्तरले जित निकाल्यो । अर्जेन्टिनाका लागि १२ औं मिनेटमा सर्जिओ एग्युरो र २२ औं मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए । चिलीका लागि भिडालले पेनाल्टीमार्फत गोल गरे ।
    एजेन्सी

  • ८ जनाको ज्यान लिने हत्यारा पक्राउ

    ८ जनाको ज्यान लिने हत्यारा पक्राउ

    काठमाडौं । फरार अभियुक्त नसिम खान अन्ततः प्रहरीको पञ्जामा परेका छन् । एक बालकसहित आठ जनाको जघन्य हत्या गरेको अभियोगमा उनलाई प्रहरीले खोजिरहेको थियो ।

    कपिलवस्तुका स्थानीय उनी शनिबार राजधानीबाट पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ । ३ फागुन २०७४ मा बालक मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरेको अभियोग उनीमाथि छ ।

    त्यसपछि खान फरार भएका थिए । उनलाई कपिलबस्तु प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

    मायादेवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष फत्ते मोहम्मदका छोरा आयमनको बुबा फत्ते मोहम्मदसँग ठेक्का विवादमा कुरा नमिलेपछि बदला लिन हत्या गरेको आरोप उनीमाथि छ ।

    घटनापछि बालकका परिवारले नसिम र उनकी श्रीमती फौजिया नसिमबिरूद्व किटानी जाहेरी दिएका थिए। त्यसपछि उनीहरु फरार थिए ।

    त्यसो त नसिमविरूद्व अन्य सात जघन्य हत्याको मुद्दा पनि दर्ता छ ।

    तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्यामा उनको संलग्नताको आरोप रहेको छ ।

    कपिलवस्तु प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका उनीविरुद्ध हत्याबाहेक अपहरण र डकैतीका समेत मुद्दा जाहेरी रहेका छन् ।

  • तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

    तरकारीको विषादी परिक्षण विवादमा सरकारको चौतर्फी विरोध

    काठमाडौं । विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा जीवनासक विषादी अवशेष परीक्षण गर्ने र विषादी देखिए नाकामै रोक्ने सरकारी निर्णय उल्टिएसँगै सरकारको व्यापक आलोचना शुरु भएको छ ।

    प्रमुख प्रतिपक्षी दल कांग्रेस, सामाजिक सञ्जाल तथा आम नागरिकबाट मात्र नभई सत्तारुढ दलकै नेता तथा भातृ संगठनबाट समेत सरकारको आलोचना शुरु भएको हो ।

    शनिबार नेकपा नेता भीम रावलले सरकारको यस निर्णयप्रति आपत्ति जनाएका छन् ।

    शनिबार नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग बोल्दै नेकपा नेता रावलले विश्‍व व्यापार संगठनको सम्झौताअनुसार कुनै देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चित मापदण्ड तोक्ने सक्ने उल्लेख गरे ।

    सरकारले आफ्नो सार्वभौम अधिकारको रक्षा गर्नुपर्ने उनको तर्क थियो ।

    उता, विषादी परिक्षण गरी हानिकारण्क तरकारीको आयातमा रोक लगाउने निर्णयबाट सरकार पछि हटेको भन्दै सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले विरोध गरेको छ ।

    अनेरास्ववियूका कार्यवाहक अध्यक्ष रञ्जित तामाङद्धारा शनिबार जारी विज्ञप्तीमा जनपक्षीय निर्णयलाई तयारी नपुगेको भन्दै सरकार एकाएक पछि हटेकोमा गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

    यसबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रुपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने आशंका पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

    उता, शनिबारको नेकपा संसदीय दलको बैठकमा पनि सांसदहरुले सरकारको उक्त कदमको विरोध गरेका थिए ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक जनशक्ति र प्रविधि उपलब्ध भएपछि परिक्षण गरेरै तरकारी तथा फलफूल भित्रने भन्दै सरकार यस निर्णयबाट पछि नहटेको प्रतिक्रिया दिएका थिए ।

    उनले सरकारका कामको वचाउ गर्न समेत सांसदहरुसमक्ष आग्रह गरे ।

    सरकारले भारतबाट आयात हुने यस्ता सामग्रीको विषादी परिक्षण गर्न सामान आयात रोकेको थियो । तर, भारतीय दूतावासले आयात खोल्न पत्र पठाएसँगै सरकारले बीना परिक्षण आयात खुला गरेको हो ।

  • काठमाडौंमा एकसाथ भूकम्प र वर्षात

    काठमाडौंमा एकसाथ भूकम्प र वर्षात

    काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का अनुभव गरिएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले पुष्टी गरेको छ ।

    भूकम्पको केन्द्रविन्दु भक्तपुर रहेको छ । शनिबार सबैजना घरमा रहेको अवस्थामा भूकम्प गएका कारण शनिबारको धक्का धेरैले महसुश गरेका थिए ।

    भूकम्प लगत्तै सामाजिक संजालमा भूकम्पबारे एकसाथ हजारौं स्टाटस अपलोड भएका छन् ।

    त्यसो त काठमाडौंमा विहानैदेखि ठूलो वर्षा भइरहेको छ । वर्षा भइरहेर्कै समयमा भूकम्पको धक्का समेत आएपछि काठमाडौंबासी आत्तिएका हुन् ।

    विभागका अनुसार यो पराकम्प पनि गोरखा भूकम्पकै पराकम्प हो । एक पटक ठूलो भूकम्प गइसकेपछि हलचल भएको भूगर्भ मिल्ने क्रममा ससाना पराकम्प गइरहने बताइन्छ ।

  • असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

    असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

    काठमाडौं । सरकारले खोला तथा नदी किनारका स्थानीयलाई पानीको बहाव बढ्ने भएकाले सचेत रहन सूचित गरेको छ ।

    असार २८ पछि नदी तथा खोला किनारमा पानीको वहाव बढ्ने भन्दै बाढी पुर्वानुमान महाशाखाले बाली नाली समेत त्यस अगाडी नै स्याहार्न सुचित गरेको छ ।

    ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको महाशाखाले शनिबार उक्त सूचना जारी गरेको हो । नदी किनारमा विकास निर्माणको काममा संलग्नलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

    अहिले नदीहरुमा जलको स्तर बढ्ने क्रममा रहेको र क्रमशः एक साता भित्र धेरै नदीको पानीको वहाव बढ्ने अनुमान सरकारले गरेको छ ।

    शनिवारदेखि खासगरी मझौला र ठुला नदीमा पानीको बहाव बढ्ने भएको हो । शुक्रबारदेखि देशभर पानी समेत परेको छ ।

    तराई भेगमा परेको पानीले गर्मीबाट आहात नागरिकलाइ केही हदसम्म भएपनि राहत दिएको छ ।

    डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा पानीको चाप बढ्ने महाशाखाले उल्लेख गरेको छ ।

    मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

  • यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

    यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

    काठमाडौं । यू १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरमाथि प्रभावशाली जीत निकालेको छ । सिंगापुर माथि २ सय १७ रनको जीत निकाल्दै नेपालले लगातार दोस्रो खेलमा आफूलाई अब्बल टोलीका रुपमा स्थापित गर्यो ।

    यसअघि बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि १० विकेटको जीत निकालेको थियो ।

    शुक्रबार सम्पन्न खेलमा रीत गौतमले शतक र कुशल मल्लले अर्धशतक प्रहार गरे । एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालले पहिले ब्याटिङ गर्दै सिंगापुरलाई ३२७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ औँ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । जितसँगै नेपाल समुह एु विजेता बनेको छ । नेपालले अब आगामी सोमबार समुह बी को उपविजेतासँग सेमिफाइनल खेल्ने छ ।

  • पूर्वमाओवादी खेमाबाट एक्लिदै डा. बाबुराम भट्टराई

    पूर्वमाओवादी खेमाबाट एक्लिदै डा. बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पूर्व माओवादीकै नेता कार्यक्रताले साथ छाड्ने क्रम अझै जारी छ ।

    शुक्रबार पूर्वमन्त्री तथा समाजवादी की नेतृ कल्पना धमला पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिन् ।

    नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेता तथा कार्यक्रतालाई नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रबार स्वागत गरे।

    संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो । तर, भट्टराईको उक्त कदमपति भने उनकै नेता कार्यक्रता संतुष्ट छैनन् ।

    पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाँईसमेत नेकपामा प्रवेश गरेका छन् ।

    उक्त अवसरमा प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्न अनेक प्रयास भइरहेको भन्दै आलोचनाको कडा शब्दमा टिप्पणी गरे ।

    अध्यक्ष पुष्पकमल दाहालले भने कम्यूनिष्ट एकताको सन्दर्भमा नेपालमा रहेका सबै नेता एकै स्थानमा आउनु पर्ने बताए ।

    उनले त्यसअवस्थामा विप्लवदेखि चित्रबहादुर केसी, नारायणमान विजुच्छेसहितका नेतासमेत नेकपामा अटाउने उनको भनाई थियो ।

    उनले पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई पनि नेकपा भित्रै बसेर  बौद्धिकताको उपयोग गर्न सुझाव दिए ।

  • भारतमा २७८ खर्ब भारुको बजेट

    भारतमा २७८ खर्ब भारुको बजेट

    नयाँ दिल्ली । भारत सरकारले आव २०१९\२० का लागि बजेट सार्वजनिक गरेको छ । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट हो ।

    वित्त मन्त्री सीतारमणले २७,८६,३४९ करोड भारु (करीव ४ सय ५० खर्ब नेपाली रुपैयाँ) बराबरको बजेट लोकसभामा प्रस्तुत गरेकी हुन् ।

    बजेटले आकर्षक कार्यक्रम समेटेको छ । पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बजेटले सडक, रेल, हवाई र अन्य पूर्वाधारमा ठूलो बजेट खर्च गर्ने लक्ष्य लिएको छ ।

    जनतालाई आकर्षित गर्ने खालका कार्यक्रम अधिकतम समेटिएका छन् । विदेशी लगानीमा उदार रहेर भारतलाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने घोषणा समेत बजेटमा गरिएको छ ।

    बजेटले पेट्रोल\डीजलको मूल्य बढाएको छ । यसमा दुई रुपैयाँ प्रतिलिटर कर बढाइएको छ ।

    विद्युतीय सवारीमा सरकारले छूट लिएको छ । तीन करोड साना व्यापारीका लागि पेन्सन योजना ल्याइएको छ ।

    ठूलो कम्पनीलाई फाइदा हुने गरी कारोबारको ५ सय करोड पुर्याइएको छ, जसमा २५ प्रतिशत कर लाग्ने छ ।
    एजेन्सी

  • ग्लोबल र जनता बैंकबीच मर्जर हुने

    ग्लोबल र जनता बैंकबीच मर्जर हुने

    काठमाडौं । दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर हुने भएको छ । दुई बैंकबीच शुक्रबार आयोजित एक कार्यक्रममा मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडी नै वीग मर्जरमा जान बैंकहरुलाई दवाव दिइरहेको छ ।

    दुई बैंकबीचको औपचारिक सहमति सँगै अब यो एकिकृत बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको छ ।

    शुक्रबार भएको सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीबीच हस्ताक्षर भयो ।

    मर्जरपछि बन्ने एकिकृत बैंकमा प्रमुख कार्यकारी अधिकृत पर्शूराम कुँवर रहनेछन् । उनी अहिले जनता बैंकका सीइओ छन् ।

    ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुने गरी दुई बैंक मर्जरमा जान तयार भएका हुन् । बैंकको नाम भने ग्लोबल आइएमई नै रहने भएको छ ।

    ग्लोबल आइएमईको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख रहेको छ । जनता बैंकको जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

  • नेपालमा १५ पाँचतारे होटेल

    नेपालमा १५ पाँचतारे होटेल

    काठमाडौं । नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको छ । १६ असारमा ठमेलमा खुलेको अलफ्ट काठमाडौं ठमेलले पर्यटन विभागबाट पाँचतारे होटेलको वर्गिकरण स्वीकृति लिएसँगै नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको हो ।

    ठमेलस्थित १४ तला अग्लो छायाँ सेन्टरमा यो होटेल अवस्थित छ । २ असारमा मेरियट काठमाडौं होटेलले पाँचतारे होटेलको मान्यता पाएको थियो ।

    यस भवनको ६ तलासम्म सिनेमा हल, पसल तथा विभिन्न कर्पोरेट हाउसका कार्यालय संचलनमा छन् । त्यसमाथि भने होटेल स्थापना गरिएको छ । होटेलमा १७७ वटा कोठा छन् ।

    पछिल्लो समय पाँचतारे होटेलमा व्यवसायीको आकर्षण बढेको छ । फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे मान्यता पाएयता ४ वटा होटेलले पाँचतारे मान्यता पाइसकेका छन् ।

    यसबीचमा नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर र काठमाडौं मेरियट होटेलले पाँचतारे मान्यता प्राप्त गरे ।

    नेपालमा खुलेका पाँचतारे होटेलमध्ये १० राजधानीमा र पाँच होटेल उपत्यका बाहिर छन् ।

    उपत्यका बाहिर सोल्टी वेस्टेन्ड प्रिमियर, भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट, बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा, पोखराको न्ड होटेल र द फूलबारी रिसोर्टले पाँचतारे मान्यता पाए ।