Author: Vishwanews.com

  • असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

    असार भित्रै खोलानालामा बहाव बढ्ने, सतर्क रहन सूचित

    काठमाडौं । सरकारले खोला तथा नदी किनारका स्थानीयलाई पानीको बहाव बढ्ने भएकाले सचेत रहन सूचित गरेको छ ।

    असार २८ पछि नदी तथा खोला किनारमा पानीको वहाव बढ्ने भन्दै बाढी पुर्वानुमान महाशाखाले बाली नाली समेत त्यस अगाडी नै स्याहार्न सुचित गरेको छ ।

    ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको महाशाखाले शनिबार उक्त सूचना जारी गरेको हो । नदी किनारमा विकास निर्माणको काममा संलग्नलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

    अहिले नदीहरुमा जलको स्तर बढ्ने क्रममा रहेको र क्रमशः एक साता भित्र धेरै नदीको पानीको वहाव बढ्ने अनुमान सरकारले गरेको छ ।

    शनिवारदेखि खासगरी मझौला र ठुला नदीमा पानीको बहाव बढ्ने भएको हो । शुक्रबारदेखि देशभर पानी समेत परेको छ ।

    तराई भेगमा परेको पानीले गर्मीबाट आहात नागरिकलाइ केही हदसम्म भएपनि राहत दिएको छ ।

    डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा पानीको चाप बढ्ने महाशाखाले उल्लेख गरेको छ ।

    मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

  • यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

    यू १९ एसिया कपमा नेपालको प्रभावशाली जीत

    काठमाडौं । यू १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरमाथि प्रभावशाली जीत निकालेको छ । सिंगापुर माथि २ सय १७ रनको जीत निकाल्दै नेपालले लगातार दोस्रो खेलमा आफूलाई अब्बल टोलीका रुपमा स्थापित गर्यो ।

    यसअघि बुधबार सम्पन्न खेलमा नेपालले चीनमाथि १० विकेटको जीत निकालेको थियो ।

    शुक्रबार सम्पन्न खेलमा रीत गौतमले शतक र कुशल मल्लले अर्धशतक प्रहार गरे । एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालले पहिले ब्याटिङ गर्दै सिंगापुरलाई ३२७ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ औँ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । जितसँगै नेपाल समुह एु विजेता बनेको छ । नेपालले अब आगामी सोमबार समुह बी को उपविजेतासँग सेमिफाइनल खेल्ने छ ।

  • पूर्वमाओवादी खेमाबाट एक्लिदै डा. बाबुराम भट्टराई

    पूर्वमाओवादी खेमाबाट एक्लिदै डा. बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पूर्व माओवादीकै नेता कार्यक्रताले साथ छाड्ने क्रम अझै जारी छ ।

    शुक्रबार पूर्वमन्त्री तथा समाजवादी की नेतृ कल्पना धमला पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरिन् ।

    नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेता तथा कार्यक्रतालाई नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रबार स्वागत गरे।

    संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो । तर, भट्टराईको उक्त कदमपति भने उनकै नेता कार्यक्रता संतुष्ट छैनन् ।

    पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाँईसमेत नेकपामा प्रवेश गरेका छन् ।

    उक्त अवसरमा प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्न अनेक प्रयास भइरहेको भन्दै आलोचनाको कडा शब्दमा टिप्पणी गरे ।

    अध्यक्ष पुष्पकमल दाहालले भने कम्यूनिष्ट एकताको सन्दर्भमा नेपालमा रहेका सबै नेता एकै स्थानमा आउनु पर्ने बताए ।

    उनले त्यसअवस्थामा विप्लवदेखि चित्रबहादुर केसी, नारायणमान विजुच्छेसहितका नेतासमेत नेकपामा अटाउने उनको भनाई थियो ।

    उनले पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई पनि नेकपा भित्रै बसेर  बौद्धिकताको उपयोग गर्न सुझाव दिए ।

  • भारतमा २७८ खर्ब भारुको बजेट

    भारतमा २७८ खर्ब भारुको बजेट

    नयाँ दिल्ली । भारत सरकारले आव २०१९\२० का लागि बजेट सार्वजनिक गरेको छ । यो बजेट प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट हो ।

    वित्त मन्त्री सीतारमणले २७,८६,३४९ करोड भारु (करीव ४ सय ५० खर्ब नेपाली रुपैयाँ) बराबरको बजेट लोकसभामा प्रस्तुत गरेकी हुन् ।

    बजेटले आकर्षक कार्यक्रम समेटेको छ । पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बजेटले सडक, रेल, हवाई र अन्य पूर्वाधारमा ठूलो बजेट खर्च गर्ने लक्ष्य लिएको छ ।

    जनतालाई आकर्षित गर्ने खालका कार्यक्रम अधिकतम समेटिएका छन् । विदेशी लगानीमा उदार रहेर भारतलाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने घोषणा समेत बजेटमा गरिएको छ ।

    बजेटले पेट्रोल\डीजलको मूल्य बढाएको छ । यसमा दुई रुपैयाँ प्रतिलिटर कर बढाइएको छ ।

    विद्युतीय सवारीमा सरकारले छूट लिएको छ । तीन करोड साना व्यापारीका लागि पेन्सन योजना ल्याइएको छ ।

    ठूलो कम्पनीलाई फाइदा हुने गरी कारोबारको ५ सय करोड पुर्याइएको छ, जसमा २५ प्रतिशत कर लाग्ने छ ।
    एजेन्सी

  • ग्लोबल र जनता बैंकबीच मर्जर हुने

    ग्लोबल र जनता बैंकबीच मर्जर हुने

    काठमाडौं । दुई वाणिज्य बैंक ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर हुने भएको छ । दुई बैंकबीच शुक्रबार आयोजित एक कार्यक्रममा मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अगाडी नै वीग मर्जरमा जान बैंकहरुलाई दवाव दिइरहेको छ ।

    दुई बैंकबीचको औपचारिक सहमति सँगै अब यो एकिकृत बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्ने भएको छ ।

    शुक्रबार भएको सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीबीच हस्ताक्षर भयो ।

    मर्जरपछि बन्ने एकिकृत बैंकमा प्रमुख कार्यकारी अधिकृत पर्शूराम कुँवर रहनेछन् । उनी अहिले जनता बैंकका सीइओ छन् ।

    ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुने गरी दुई बैंक मर्जरमा जान तयार भएका हुन् । बैंकको नाम भने ग्लोबल आइएमई नै रहने भएको छ ।

    ग्लोबल आइएमईको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख रहेको छ । जनता बैंकको जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

  • नेपालमा १५ पाँचतारे होटेल

    नेपालमा १५ पाँचतारे होटेल

    काठमाडौं । नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको छ । १६ असारमा ठमेलमा खुलेको अलफ्ट काठमाडौं ठमेलले पर्यटन विभागबाट पाँचतारे होटेलको वर्गिकरण स्वीकृति लिएसँगै नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको हो ।

    ठमेलस्थित १४ तला अग्लो छायाँ सेन्टरमा यो होटेल अवस्थित छ । २ असारमा मेरियट काठमाडौं होटेलले पाँचतारे होटेलको मान्यता पाएको थियो ।

    यस भवनको ६ तलासम्म सिनेमा हल, पसल तथा विभिन्न कर्पोरेट हाउसका कार्यालय संचलनमा छन् । त्यसमाथि भने होटेल स्थापना गरिएको छ । होटेलमा १७७ वटा कोठा छन् ।

    पछिल्लो समय पाँचतारे होटेलमा व्यवसायीको आकर्षण बढेको छ । फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे मान्यता पाएयता ४ वटा होटेलले पाँचतारे मान्यता पाइसकेका छन् ।

    यसबीचमा नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर र काठमाडौं मेरियट होटेलले पाँचतारे मान्यता प्राप्त गरे ।

    नेपालमा खुलेका पाँचतारे होटेलमध्ये १० राजधानीमा र पाँच होटेल उपत्यका बाहिर छन् ।

    उपत्यका बाहिर सोल्टी वेस्टेन्ड प्रिमियर, भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट, बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा, पोखराको न्ड होटेल र द फूलबारी रिसोर्टले पाँचतारे मान्यता पाए ।

  • आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान

    आत्मसमर्पण गरेका पुलिसका पूर्व महानिरिक्षक कारागार चलान

    काठमाडौं । भ्रष्टाचारमा दोषि सावित नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) रमेशचन्द ठकुरीले बिहीबार आत्मसमर्पण गरेका छन् ।

    सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनलाई बिहीबार नै डिल्लीबजार कारागार चलान गरिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

    सुडान भ्रष्टाचार काण्डमा दोषि सावित उनी विगत दुई वर्ष देखि फरार थिए । आत्मसमर्पण गर्दै कारागार बाहिर बसेर पुनरावेदन लड्न पाउनु पर्ने उनको माग थियो । तर, उनको मागलाई सर्वोच्चले सदर गरेन ।

    प्रहरीको सुडान मिसन घोटाला काण्डमा उनी दोषी ठहर भएका थिए । सर्वोच्च अदालतले १७ वैशाख २०७४ मा उनीमाथि कैद र जरिमानाको फैसला भएको थियो ।

    सुडान घोटाला काण्डमा सर्वोच्चले तीन पूर्वआइजिपीलाई दोषी ठहर गरेको थियो। चन्दसँगै पूर्व आइजिपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ पनि यस घोटालामा दोषि सावित भएका थिए ।

    पूर्वएआइजी श्यामसिंह थापा, दीपकसिंह थाङ्देङ, डिआइजी दीपककुमार श्रेष्ठ, एसएसपी रविप्रताप राणासमेत यस काण्डमा दोषि ठहर भएका थिए ।

    सुडान मिसनमा करिब ४३ करोड रुपैयाँ बराबरको सामान खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

  • प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘

    प्रधानमन्त्रीलाई कांग्रेस सांसद रंगमतीको चेतावनी, ‘मास्कबारे बुझ्न स्कुटरमा संगै यात्रा गरौं ‘

    काठमाडौं । काठमाडौं उपत्यका धुलो मुक्त भएको र अब मास्क लगाएर हिड्न नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि कांग्रेस सांसद रंगमती शाहीले आपत्ति जनाएकी छिन् ।

    बिहीबार प्रतिनिधि सभा विकास तथा प्रविधि समिति बैठकमा प्रमुख प्रतिपक्षी दलकी सांसद शाहीले काठमाडौंमा मास्क लगाउनु पर्छ या पर्दैन रहेछ भन्ने बारे जान्न आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न चेतावनी दिइन् ।

    आफू वनस्थली बस्ने र सिंहदरवारबाट बनस्थलीसँग सम्म स्कुटरको पछि बसेर यात्रा गर्दा माक्स लगाउनुपर्छ कि पर्दैन भन्ने पुष्टी हुने उनको भनाई थियो ।

    प्रधानमन्त्रीले एक साता अघि अब काठमाडौं मास्कमुक्त भइसकेको अभिव्यक्ति दिएका थिए ।

    तर, मेलम्ची खानेपानी आयोजना, सडक बिस्तार तथा अन्य विभिन्न निकायले भत्काएका उपत्यकाका सडक र बेलैमा मर्मत सम्भार नहुने सडकका खाल्डाखुल्डीले गर्दा काठमाडौं धुलो र धुवामा रुमलिएको छ ।

    बैठकमा भौतिक योजना तथा यातायात पूर्वाधार मन्त्री रघुवीर महासेठले अबको एक वर्ष भित्रै फरक खालको काठमाडौंको अनुभूति हुने आश्वासन दिएका थिए । आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको उनको भनाई थियो ।

  • उपनिर्वाचनको तयारीमा जुट्यो आयोग

    उपनिर्वाचनको तयारीमा जुट्यो आयोग

    काठमाडौं । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । देशभर रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचनमार्फत पदपूर्ति गर्नुपर्ने छ ।

    आयोगका अनुसार अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहका ४७ स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमध्ये ती स्थानमा पद खाली छ ।

    आयोगका अनुसार प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष ३८ गरी कूल ४७ पद रिक्त अवस्थामा छन् ।

    पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दूर्घटनामा परी निधन भएपछि प्रतिनिधिसभातर्फ कास्कीमा एक स्थान रिक्त भएको हो ।

    आयोगले पद रिक्त रहेका स्थानका मतदातालाई मतदाता नामावलीमा नाम लेखाउन आग्रह गरेको छ । योग्यता पुगेर पनि नाम नभएकाहरुका लागि नाम लेख्न आयोगले आग्रह गरेको हो ।

    जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मतदाता दर्ता कार्य सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयमा पुगेर मतदाता नामावलीमा नाम लेखाउन सकिने आयोगले उल्लेख गरेको छ ।

  • विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, “वार्तामा नआए सिद्धिन्छ”

    विप्लवविरुद्ध आक्रामक सरकार, प्रवक्ता भन्छन्, “वार्तामा नआए सिद्धिन्छ”

    काठमाडौं । सरकारले शान्तिपूर्ण प्रक्रियामा नआए विप्लव समूहको अस्तित्व नरहने चेतावनी दिएको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूह राजनीतिक नभएर संगठित आतंककारी समूह भएको भन्दै शान्तीपूर्ण राजनीतिमा आउन आग्रह गरे ।

    बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकार विप्लव समूहविरुद्ध कडा रणनीति रहेको संकेत गरेका हुन ।

    विप्लव समूह मार्क्सवादी नरहेको र उनीहरु कुनै पनि वाद, विचार र दर्शनबाट पनि सञ्चालना नरहेको उनले बताए ।

    उक्त समूहलाई अराजकतावादी, धनकमाउवाला र उपयोगभावी समूहको संज्ञासमेत उनले दिए । मिहेनत गरेर नभई लुटेर खाने प्रवृत्तिका कारण समूह संगठित आतंकवादतिर अघि बढेको उनको भनाई थियो ।

    सरकारले विप्लवसँग वार्ताको प्रयास गरेको भए पनि समूह वार्ताका लागि इच्छुक नदेखिएको उनले उल्लेख गरे ।

    कानून विपरितका काम गर्नेलाई नियन्त्रणमा लिई त्यस्ता गतिविधि निस्तेज पार्ने दायित्व सरकारको हुने भन्दै उनले कसैविरुद्ध पनि सरकारले बल प्रयोग नगरेको बताए ।

    नेपाली जनताले आपैले लडेर ल्याएको परिवर्तनलाई आत्मसाथ गरी शान्तिपूर्ण बाटोमा आउने उनले समूहलाई आग्रह गरे । उक्त समूहले अहिले लिएको मार्गले अन्ततः सत्यनास निम्याउने उनको भनाई थियो ।

    पछिल्लो समय यस समूहविरुद्ध सरकारले धरपकड बढाएको छ । विभिन्न स्थानमा प्रहरी कारवाहीमा विप्लवका कार्यक्रतामाथि गोली समेत चलेको छ ।

    कार्यक्रममा मन्त्री बास्कोटाले आइफा अवार्ड रोक्न निर्देशन दिने संसदीय समिति प्रति व्यंग्य गरे ।

    विषयवस्तुको गाम्भीरता नबुझी हचुवाको भरमा निर्णय गरेको संकेत गर्दै उनले संसदीय समितिले आइफामा थेसिस गरेको होला भन्दै ठट्टा गरे ।

  • पेरु कोपा अमेरिका फूटलबको फाइनलमा

    पेरु कोपा अमेरिका फूटलबको फाइनलमा

    ब्राजिल । चिलीविरुद्ध प्रभावशाली जीत निकाल्दै पेरु कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब पेरुको भेट फाइनलमा ब्राजिलसँग हुने भएको छ । चिली साविक विजेता टोली हो ।

    सोही टोलीलाई पेरुले ३–० गोल अन्तरले गराएको हो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको पेरुले दोस्रो हाफमा एक गोल थप्यो ।

    खेलको २१ औं मिनेटमा इडिसन फ्लोरिस र ३८औं मिनेटमा यासहिमार यूटिनले गोल गरे । दोसो हाफ भने प्रतिस्पर्धात्मक रह्यो ।

    ९० मिनेटको निर्धारित समय सकिएर थपिएको अतिरिक्त समएको एक मिनेट भित्रै पाउलो गाउरेरोले गोल गर्दै पेरुलाई ऐतिहासिक जीत दिलाएका हुन् ।

    तेस्रो स्थानका लागि हुने खेलमा अब चिली र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । पेरु सन् १९७५ पछि पहिलो पटक फाइनलमा पुगेको हो। त्यसबेला टोलीले उपाधी नै जितेको थियो ।
    एजेन्सी

  • दीपक मनाङे नेकपा प्रवेश

    दीपक मनाङे नेकपा प्रवेश

    कास्की । आपराधिक पृष्ठभूमिका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन् । उनी गण्डकी प्रदेशका सांसद हुन् ।

    मनाङबाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका उनलाई चुनावमा नेकपाले नै सहयोग गरेको थियो । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराए ।

    राजीवसँगै विप्लव समूहका कास्की संयोजक पुष्प कार्कीसमेत नेकपामा प्रवेश गरेका हुन् । फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएका मनाङेले सांसदमा निर्वाचित भएको लामो समयसम्म पनि सपथ भने लिन पाएका थिएनन् ।

    सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएपछि मात्र उनले प्रदेश सांसदको रुपमा सपथ लिन पाएका थिए ।

    निर्वाचनकै बखत नेकपा प्रवेश गर्न चाहेपनि त्यसबेला आपराधिक पृष्ठभूमिका व्यक्तिलाई प्रवेश गराउन थालेको भन्दै पार्टीको व्यापक आलोचना भएको थियो ।

    त्यसपछि नेकपा पछाडी हट्यो । तर, निर्वाचनमा भने पूर्ण सहयोग गरी जिताएको थियो । मनाङे यसअघि राप्रपामा सक्रिय रहेका थिए ।

  • लिविया आक्रमणमा नेपाली पनि परेको पुष्टि

    लिविया आक्रमणमा नेपाली पनि परेको पुष्टि

    काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमण र हताहतीमा एक नेपाली पनि परेका छन् । इजिप्टको कायरो स्थित नेपाली दूतावासले आक्रमणमा परी एक नेपालीको निधन भएको पुष्टी गरेको हो ।

    आक्रमणमा नेपाली सन्तोष श्रेष्ठको ज्यान गएको दूतावासले पुष्टी गरेको हो । आक्रमणमा परी घाइते भएका उनको  स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ ।

    उनको स्थायी ठेगाना बारे भने अझै खुलिनसकेको दूतावासको भनाई छ ।

    लिबियाको राजधानी त्रिपोलीमा आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण भएको थियो । आक्रमणमा परी ४० जनाले ज्यान गुमाएका थिए ।
    दूतावासका अनुसार उक्त केन्द्रमा श्रेष्ठसहित १५ नेपाली थिए । उनीहरु भने आक्रमणमा जोगिएका छन् जोगिएका नेपालीलाई घर फकाउने क्रम शुरु भएको छ ।

    त्यसमध्ये ८ जना फर्किसकेको र ६ जना फर्कने क्रममा रहेको दूतावासको भनाई छ । उनीहरु अहिले त्रिपोली मै छन् ।

    यूरोपका विभिन्न मुलुक लैजाने प्रलोभनमा नेपालीलाई लिविया पुर्याउने गरिएको पाइन्छ । दूतावासका अनुसार पछिल्लो २ महिनामा दुई दर्जन नेपालीलाई उद्दार गरिसकिएको छ ।

  • लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी

    लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी

    काठमाडौं । आकर्षक जिल्ला लम्जुङमा स्मार्ट फिल्म सिटी निर्माण गरिने भएको छ । सीटी निर्माणसम्बन्धी एक सम्झौतामा बुधबार इटालियन र नेपाली कम्पनीबीच हस्ताक्षर भयो ।

    यस सम्झौताको साक्षी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा रहे । स्काई इन्टरनेट नेपाल र इटालियन कम्पनी एरिया होल्डिङबीच फिल्म सीटी निर्माणको सहमतिमा सम्झौता भएको हो ।

    सम्झौता अनुसार दुई कम्पनी मिलेर अब एक संयुक्त कम्पनी वर्ल्ड स्काई सिने भिलेन नेपाल स्थापना गरिने छ । सोही कम्पनीले लगानीको जोहो र संचालनसमेत गर्नेछ ।

    यस परियोजनाको कूल लागत भने ६ अर्ब अनुमान गरिएको छ । फिल्म सिटीको नाम पनि वर्ल्ड स्काई सिने भिलेज नेपाल राख्ने सहमति उक्त अवसरमा भयो ।

    फिल्म सीटी लमजुङको बेंसीसहर नगरपालिकामा निर्माण गर्ने योजना सार्वजनिक गरियो । उक्त नगरपालिकाको वडा ३, ४, ५ र ९ स्थित ५ हजार रोपनी क्षेत्रमा फिल्मी सिटी निर्माण हुने उक्त अवसरमा जानकारी दिइयो ।

    समुन्द्री सतहबाट संसारकै अग्लो स्थानमा निर्माण हुने फिल्म सिटीले देशबिदेशबाट पर्यटक समेत आकर्षित गर्ने स्काई इन्टरनेट अध्यक्ष आकाश अधिकारीको भनाई छ । उक्त अवसरमा मन्त्री बासकोटाले फिल्म सीटी निर्माण एक ऐतिहासिक आयोजना हुने बताए ।

  • नेपालमा नहुने भयो आइफा अवार्ड

    नेपालमा नहुने भयो आइफा अवार्ड

    काठमाडौं । तीब्र आलोचना र संसदीय समितिको निर्देशनसँगै अब नेपालमा आइफा अवार्ड नहुने भएको छ ।

    पर्यटन बोर्ड स्रोतका अनुसार यो अवार्ड अगाडी बढाउने पक्षमा सरकार छैन । तयारी बिनै बाहिर नकारात्मक हल्ला भएका कारण थप आलोचना हुने डरले सरकार आफ्नो निर्णयबाट पछि हट्ने निष्कर्षमा पुगेको हो ।

    संसदको अन्तरराष्टिय सम्बन्ध समितिले मंगलबार आइफा अवार्ड नेपालमा आयोजना गर्ने सम्बन्धी सबै प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

    एकातर्फ ठूलो धनराशी आयोजकलाई बुझाउनु पर्ने, आयोजनाको सबै रकम नेपालले बेहोर्नु पर्ने र २० दिनसम्म भेन्यू भारतीय आयोजकलाई उपलब्ध गराउनु पर्ने प्रावधान भारतीय पक्षबाट आएको खुलासा भएसँगै त्यसको तिब्र आलोचना भएको थियो ।

    चर्चित अवार्ड नेपालमा आयोजना गर्दा त्यसले विश्वभर नेपालको प्रचार हुने र त्यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरकारको तर्क थियो । ८ असारको मन्त्रिपरिषद् बैठकले आइफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

  • त्रिवि सेवा आयोगका पदाधिकारीको कतुर्त : जनताका छोराछोरीलाई फेल गराएर आफन्त पास

    त्रिवि सेवा आयोगका पदाधिकारीको कतुर्त : जनताका छोराछोरीलाई फेल गराएर आफन्त पास

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष सहितका पदाधिकारी नम्बर थप गरेर विद्यार्थी उत्तीर्ण गराउने काममा संलग्न रहेको पुष्टी भएको छ ।

    अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बुधबार शिक्षा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा, सदस्य चिन्तामणी पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी ईन्दिरा तिवारीविरुद्ध मुद्दा हालेको छ ।

    साथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षेत्रीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    त्रिवि सेवा आयोगले विभिन्न पदमा मागेको विज्ञापनमा विद्यार्थी उत्र्तीण गराउने क्रममा आफन्तहरुलाई पास गराउन आयोगका पदाधिकारीकै संलग्नतामा नम्बर थप गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

    आयोगले प्राविधिक र प्रशासनका विभिन्न १६ पदका लागि कर्मचारी भर्ना खुलाएको थियो ।

    ति पदमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक पदमा लिखित परीक्षाका ३५ थान उत्तरपुस्तिकाको नम्बर थपघट भएको अख्तियारद्धारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ ।

    यसरी उत्तीर्ण गराइएका व्यक्ति आयोग अध्यक्ष शर्माका आफन्त, प्रशासन प्रमुख परशुराम कोइरालाकी छोरीदेखि कर्मचारी तथा नेताका श्रीमती, बहिनी, सालीलगायत थिए ।

    उनीहरुको यस हर्कतबाट नेपालमा नीतिगत अनियमितताको डरलाग्दो पाटो समेत खुलासा भएको हो ।

    अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार २४ शाखा अधिकृतका लागि भएको परीक्षामा सहभागीमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद तरिकाबाट केरमेट गरी अङ्क थपघट गरिएको थियो ।

    त्दुई जनालाई क्रमशः ३३ र ४ अंक थप गरेर पास गराएको रदुई जनालाई क्रमशः १४ र ६ अंक थपेर मेरिट लिस्टमा ल्याइएको छ ।

    पास हुनुपर्ने एक परीक्षार्थीको भने नाम छुटाएर तथा अर्काको १४ अंक घटाएर अनुतीर्ण गराएको भेटिएको हो ।

    २४ लेखा अधिकृतका लागि भएको परीक्षामा ७ उत्तरपुस्तिककामा केरमेट भटिएको छ । जसमध्ये ५ जनाको उत्तर पुस्तिकामा क्रमशः ९, १०, ३, ७, २ अंक थपेर मेरिट लिस्टमा पारिएको छ भने अर्को परीक्षार्थीको ९ अङ्क घटाई मेरिटमा तल पारिएको छ ।

    एक परीक्षार्थीको उत्तर पुस्तिकामा भने ३ अंक थप गरेको पाइएको छ । सहायक कानुनी सल्लाहकारको परीक्षामा भने ३ जनाको उत्तर पुस्तिकामा केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गरिएको अख्तियारले उल्लेख गरेको छ ।

    पाँचौं नम्बरमा रहेकालाई १५ अङ्क थपेर मेरिट लिस्टको पहिलो नम्बरमा ल्याइएको छ भने पहिले नम्बरमा परेकाको ८ अंक घटाएर दोस्रोमा झारेर बदमासी गरेको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।

    अर्का एक परीक्षार्थीको उत्तरपुस्तिकामा भने २ अंक घटाएर मेरिट लिस्टको चौथो नम्बरमा झारिएको छ ।

    २४ जना मुख्य लेखा सहायक पदका लागि लिइएक लिखित परीक्षामा सहभागी मध्ये दुई जनाको उत्तर पुस्तिकामा नम्बर थप गरेको तथा ५ जनाको उत्तरपुस्तिकामा ६ देखि १५ अङ्क सम्म थपघट गरिएको छ ।

    तीन परीक्षार्थीको उत्तरपुस्तिकामा क्रमशः २८ १३, र १० अंक थप गरिएको छ । तीन परीक्षार्थीको उत्तरपुस्तिकामा क्रमशः ६, १४ र १४ अंक घटाएर फेल गराइएको छ ।

    १२ मुख्य कार्यालय सहायकका लागि लिएको परीक्षामा ९ जनाको उत्तर पुस्तिकामा अंक थपिएको छ । फेल भएका एक परीक्षार्थीले पाएको अंकमा ५ पटकसम्म केरमेट गरी उत्तिर्ण गराएको भेटिएको अख्तियारले उल्लेख गरेको छ ।

    एक परीक्षार्थीले पाएको अंकमा भने १० घटाएर मेरिटमा नपारेको पाइएको छ । यस्तै १४ कार्यालय सहायकका लागि लिएको परीक्षामा भने खुलामा नआएका दुई जनालाई अंक थपेर मेरिटमा पारेको पाइएको छ ।

    यसरी अंक थपघट गर्ने क्रममा अधिकांश उत्तरपुस्तिकामा शुरुमा दिएको अङ्क नबुझिने गरी केरिएको, परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अङ्क र बाहिर उतारिएको अङ्क फरक परेको, अङ्क फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता त्रुटि भेटिएको अख्तियारले उल्लेख गरेको छ ।

  • कोपा अमेरिका : बाहिरियो अर्जेन्टिना, ब्राजिल फाइनलमा

    कोपा अमेरिका : बाहिरियो अर्जेन्टिना, ब्राजिल फाइनलमा

    ब्राजिल घरेलु मैदानमा जारी कोपा अमेरिका फुटलबलको फाइलनमा पुगेको छ । बुधबार बिहान सम्पन्न सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनल प्रवेश गरेको हो ।

    ब्राजिलले अर्जेन्टिनालाई २-० गोल अन्तरले हरायो । विश्व चर्चित खेलाडीको बाहुल्य रहेको खेलमा ग्राबियल जेससको गोलमार्फत १९ औं मिनेटमा अग्रता लिएको थियो ।

    ७१ औं मिनेटमा रोब्रेटो फ्रिमिनोले गोल गर्दै अग्रता दोब्बर पारे । खेलमा पडक आफ्नो पक्षमा बढी राखेपनि अर्जेन्टिनाले गोल भने फर्काउन सकेन । ब्राजिलको पोष्टमा १४ पटकसम्म आक्रमण गरेको अर्जेन्टिनाका लागि सबै प्रहार खेर गए ।

    ब्राजिलले भने पोष्टमा ४ पटक मात्र आक्रमण गर्यो । २ प्रहार गोलमा परिणत भए । प्रतियोगितामा शुरु देखि नै कमजोर प्रदर्शन गरिरहेको अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई यस पटक पनि मूख्य प्रतियोगिता देशका लागि भित्राउन अवसर गुमेको छ ।
    एजेन्सी

  • स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको राज

    स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको राज

    काठमाडौं । वर्षको उत्कृष्ट खेल अर्वाड पल्सर स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङका खेलाडी युकेश गुरुङ उत्कृष्ट खेलाडी (पुरुष) बनेका छन् । लामो समयदेखि फूटबल र क्रिकेटका खेलाडीले यो अवार्डमा कब्जा जमाउने गरेका थिए ।

    नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष पल्सर स्पोर्ट्स अवार्ड आयोजना गर्छ । यस पटकको कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न भयो ।

    युशेकले पारस खड्का (क्रिकेट), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सोमपाल कामी (क्रिकेट) र शुक्रबाहदुर राई (गल्फ) लाई पछि पार्दै उत्कृष्ट खेलाडी बनेका हुन ।
    अघिल्लो वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलुकदमा नेपालले एक मात्र पदक प्याराग्लाइडिङबाट प्राप्त गरेको थियो ।

    त्यस समय उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । महिला तर्फ भने वर्षको उत्कृष्ट खेलाडी फुटबलकी सावित्रा भण्डारी घोषित भइन् ।

    उनले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दो की निमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछाडी पार्न सफल भइन् ।
    युवा खेलाडीमा भने एथ्लेटिक्सका अजितकुमार यादव उत्कृष्ट घोषित भए । भलिबल खेलाडी रेश्मा भण्डारीलाई धेरै फ्यानले मन पराए ।

    उनले पिपल्स च्वाइस अवार्ड हात पारिन्। यस अवार्डका लाग क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन प्रतिस्पर्धामा थिए ।

    वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षकले पल्सर मोटरसाइकल उपहार पाए। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

  • आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन

    आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन

    काठमाडौं । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्डका सबै प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

    समितिको मंगलबार बसेको बैठकले उक्त निर्देशन दिएको समिति सभापति पवित्रा निरौलाले जानकारी दिइन ।

    सरकार र आइफा आयोजकबीच प्रारम्भीक चरणको छलफल भइसकेको छ । छलफलमा आयोजकले नेपाल सरकारसँग ४० लाख डलर नगद र अन्य व्यवस्थापनको खर्च जुटाउन माग गरेको छ ।

    यो रकम सार्वजनिक भएसँगै अवार्ड विवादमा तानिएको हो । प्रस्तावित सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता माथि नै खतरा पुर्याउन सक्ने भन्दै समितिले सबै प्रक्रिया रोक्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।

    यद्दपी समितिको यो निर्देशन सरकारले मान्छ या मान्दैन भन्ने अझै अन्यौल रहेको छ । समितिको मंगलबारको बैठकमा सांसदहरुले ठूलो धनराशी भारतीय अवार्डका लागि दिन लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।

    उनीहरुले यस अवार्डबाट नेपालको स्वतन्त्रता माथि नै धावा बोल्ने भन्दै अगाडी बढाउन नहुने धारणा राखेका थिए ।

    बैठकमा सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीले नेपालको पर्यटनका लागि यो ठूलो अवसर भएको उल्लेख गरेका थिए ।

  • १२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने

    १२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक गाउँमा खटिनु अगाडी नै घर निर्माण गरेका करीव १२ हजार भूकम्पपिडित परिवारलाई एकमुष्ट तीन लाख रुपैयाँ दिने भएको छ ।

    प्राधिकरणले भूकम्पपिडितका लागि बनाइएका घरको निरिक्षण गर्न प्राविधिक खटिनुपूर्व नै निर्माण भएका घर धनीले एकमुष्ट ३ लाख अनुदान पाउने गरी कार्यविधि बनाएको छ ।

    प्राधिकरण कार्यकारी समितिको मंगलबारको बैठकले प्राविधिक खटिनु अगाडी नै घर बनाएका भूकम्पपिडितलाई निजी आवास पुनर्निर्माण अनुदान दिने सम्बन्धी कार्यविधि पारित गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

    अब द्रूत गतिमा अनुदान वितरण हुने प्राधिकरणका सीइओ सुशील ज्ञवालीले जानकारी दिए ।

    कार्यविधि अनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको हुनुपर्ने र त्यस घरमा लाभग्राही बसिरहेको भनी स्थानीय तहले प्रमाणित गरिदिनुपर्छ ।

    प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिएका छन् भने ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेका छन् ।

    २ लाख ११ हजार घर पुनर्निर्माण भइरहेका छन् । प्राविधिक खटिनपुर्व करीव १२ हजार घर बनेको तथ्यांक प्राधिकरणसँग रहेको छ ।

    थप तथ्यांक आउने क्रम जारी नै रहेको र त्यसलाई पनि समावेश गरेर एकमुष्ट अनुदान उपलब्ध गराउने प्राधिकरणले उल्लेख गरेको छ ।

  • अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो

    अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो

    काठमाडौं । अमेरिकी सरकारले उक्त देशमा पढ्न जाने विद्यार्थीका लागि भिषा शुल्क घटाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार विद्यार्थीका लागि भिषा शुल्क घटाएको हो ।

    दूतावासले नेपाली विद्यार्थीसँग २ सय अमेरिकी डलर छूट गर्ने निर्णय भएको जानकारी गराएको छ । घटेको शूल्क १ जुलाई अर्थातः सोमबारदेखि कार्यान्वयनमा आएको छ ।

    उक्त दिनदेखि आवेदन दिने विद्यार्थीले भिषा छूट सुविधा प्राप्त गर्ने भएका छन् । अमेरिकाले अमेरिका जाने विद्यार्थीबाट ३ सय ६० डलर शूल्क लिने गरेको थियो । भिषा शूल्क अब उल्लेख्य घटेको छ ।

    तर, अन्य शूल्क भने यथावत रहेको दूतावासले उल्लेख गरेको छ । पछिल्लो समय अमेरिका र नेपालबीच भिषा पारस्पारिक बनाउने नीति अनुसार दुबै देशका नागरिकलाई समान व्यवहार गर्ने सहमति भएको छ ।

    शूल्क तथा सुविधाहरुमा परिमार्जन भइरहेका छन् । अमेरिकी नागरिकलाई नेपालमा ५ वर्षे मल्टीपल भिषा दिन शुरु भएको छ । उता, अमेरिकामा पनि नेपालीले ५ वर्षे मल्टीपल भिषा प्राप्त गर्छन् ।

  • लोकसेवाको विज्ञापन रद्द नहुने

    लोकसेवाको विज्ञापन रद्द नहुने

    काठमाडौं । लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले अन्तरिम आदेश दिएन । यससँगै अब लोकसेवाको विज्ञापनले निरन्तरता पाउने भएको छ भने परिक्षा पनि हुने भएको छ ।

    आयोगले गत १५ जेठमा विभिन्न ७ सय ५३ स्थानीय तहका लागि विज्ञापन खोलेको थियो । तर, उक्त विज्ञापन समावेशीताको सिद्धान्त अनुरुप नभएको भन्दै अधिवक्ता विकास ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अश्विकार गरेको हो । विज्ञापनमा ४ लाख भन्दा बढी आवेदन परिसकेका कारण उनीहरुले प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित गर्न नहुने निष्कर्षमा सर्वोच्चले अन्तरिम आदेश नदिएको हो ।

    न्यायाधीश हरिकृष्ण कार्की र आनन्द मोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। त्यसो त लोकसेवाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्चमा ३ वटा रिट परेका थिए।

    आयोगले स्थानीय तहमा ९ हजार, १ सय ६१ सिटका लागि विज्ञापन गरी दरखास्त मागेको थियो । यस विज्ञापनमा ४ लाख भन्दा बढीले प्रतिस्पर्धा गर्दैछन् ।

  • नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या

    नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या

    काठमाडौं । आइतबार भक्तपुरमा ६० वर्षिय सावित्री भट्टराईको हत्यामा आफ्नै छोरीको संलग्नता रहेको प्रहरीले बताएको छ । विवाहित छोरीले नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर आमाको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो ।

    भक्तपुरको चाँगुनारायण बाँसबारीकी भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको अवस्थामा प्रहरीले फेला थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार साबित्रीकी छोरी ईश्वरी भट्टराईसहित चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

    प्रहरीले आइतबार राति धादिङको गजुरीबाट सिरहाका मोहम्मद नौशादलाई पक्राउ गर्यो । उनी भट्टराईका प्रेमी हुन् ।

    हत्यामा छोरी इश्वरी र नौशादबीचको नाजायज सम्बन्ध मूख्य कारण रहेको अनुमान प्रहरीले गरेको छ । किनकी इश्वरी विवाहित हुन् ।

    २७ वर्षिय इश्वरी र २३ वर्षिय नौशादबीचको सम्बन्धमा आमा तगारो बन्दै आएपछि छोरीकै योजनाबमोजिम आमाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

    प्रहरीका अनुसार नासिदले प्रेमिकाकी आमाको हत्या गर्न भारतबाट दुई जना पेशेवर हत्यारालाई काठमाडौं बोलाएको समेत खुलेको छ ।

    प्रहरीले भारतीय नागरिक मोहम्मद रहिश र भोला कुमारलाई हेटौडाबाट पक्राउ गरेको हो । महाशाखा स्रोतका अनुसार विवाहित छोरीको अन्य केटासँगको सम्बन्ध आमालाई मन परेको थिएन ।

    त्यसकारण उनी छोरीलाई र केटालाई गाली गर्थिन् । भक्तपुरस्थित शाह गार्मेन्टमा सँगै काम गर्ने यी दुई बीच आमाले अवरोध गर्ने देखेपछि छोरीकै योजनामा आमाको हत्या भएको प्रहरीले बताएको छ ।

    इश्वरीका एक छोरा पनि छन् । यी दुइबीचको प्रेम आमाले मन नपराएपछि इश्वरीले आफ्नै खर्चमा प्रेमीलाई दुबई काम गर्न पठाएको तर, उनी लामो समय दुबइ बस्न नसकि पुनः नेपाल फर्किएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

    उनी दुबईबाट नेपाल फर्किएको एक साता भित्रै आमाको हत्या भएको हो । प्रहरीका अनुसार आमाको हत्या गर्ने योजना प्रेमी दुबई र प्रेमिका नेपालमा रहेकै अवस्थामा भएको हो ।

  • नेकपा संसदीय दलको बैठक सोमबारबाट शुरु, सांसदका अनेकौं गुनासा

    नेकपा संसदीय दलको बैठक सोमबारबाट शुरु, सांसदका अनेकौं गुनासा

    काठमाडौं । नेकपा संसदीय दलको बैठक सोमबारबाट राजधानीमा शुरु भएको छ । सोमबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)सहित २९ जना सांसदले आफ्नो भनाई राखे ।

    बैठकमा नेकपा सांसदले एकता प्रक्रिया छिटो टुंग्याउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । एकता नटुंगिएसम्म तल्लो तहसम्म अलमल हुने र त्यसले कार्यक्रता बेरोजगार भएर बस्नु पर्ने अवस्था सिर्जना भएको नेकपा सांसदहरुले बताएका छन् ।

    सांसदहरुले पाटी र सरकारका कामबारे सांसदहरु नै बेखबर हुने परिपाटी रहेको भन्दै गुनासो समेत गरेका थिए ।

    प्रधानमन्त्री ओलीले सरकारका कामको बचाउ गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेसँगै सांसदहरुको उक्त प्रतिक्रिया आएको हो ।

    सोमबारको बैठकमा सांसद भीम रावलले सरकार र पार्टीलाई लिखित सुझाव पेश गरे । सोमबार रावल, जनार्दन शर्मालगायत सांसदले आफ्नो धारणा राखेका थिए ।

    उक्त अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकता प्रक्रिया छिटो टुंगिनेमा आश्वस्त हुन आग्रह गरे । नेकपा संसदीय दलको अर्को बैठक २१ असारमा बस्ने भएको छ ।

  • अब काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस

    अब काठमाडौं उपत्यकामा साझा यातायातका विद्युतीय बस

    काठमाडौं । महानगरपालिका, प्रदेश सरकार र साझा यातायातको संयुक्त लगानीमा काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रमा विद्युतीय सार्वजनिक बस चल्ने भएको छ ।

    यी तीन निकायबीच पहिलो चरणमा ३० वटा विद्युतीय बस खरीद गरी चलाउने सम्झौता भएको छ । यी बसको मूल्य ४५ करोड हुनेछ । यस अभियानमा प्रदेश ३ सरकार समेत जोडिएको छ ।

    अब त्रिपक्षीय लगानीमा साझा यातायातको ब्राण्डमा विद्युतीय बस गुड्ने पक्का भएको हो । सोमबार प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायातबीच विद्युतीय बस चलाउने सम्बन्धमा सम्झौता भयो ।

    प्रदेश ३ सरकारको ३० करोड लगानी
    काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनलाई प्रदेश ३ सरकारले प्राथमिकता दिएको छ । उसले यक्लै ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

    काठमाडौं र ललितपुर महानगरपालिकाले क्रमशः १० करोड र २ करोड ५० लाख लगानी गर्ने भएका छन् । साझाले २ करोड ५० लाख रुपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो ।

    सम्झौता भएसँगै अब बस खरीदको प्रक्रिया थाल्ने साझा यातायातको तयारी छ । विद्युतीय बस काठमाडौं उपत्यकासहित प्रदेश तीनका मूख्य शहरसम्म चलाउने गरी सहमति भएको छ । यद्दपी रुट निर्धारण भने बाँकि रहेको छ ।

  • नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण

    नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण

    काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबार स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ । ६१ वर्ष पुरानो गौरव बोकेपछि निगमले आफ्नो साँखलाई भने निरन्तरता दिन सकेको छैन ।

    सोमबार राजधानीमा आयोजित कार्यक्रममा निगमको अहिले करीव ३७ अर्ब हाराहारी ऋण रहेको जानकारी दिइयो । यो ऋण निगमले जहाज किन्दा लागेको हो ।

    तर, जहाज आइसकेपछि निगमले योजनाअनुसार उडाउन नसक्दा अहिले जहाजहरु घाटामा संचालन भइरहेको निगममा कार्यकारी अध्यक्ष मदन खरेल स्वीकार गर्छन् ।

    उनका अनुसार निगमले आगामी अगष्टमा मात्र नयाँ गन्तब्य थप्दैछ । नयाँ गन्तब्यका रुपमा जापानको नारितामा उडान बिस्तारको योजना छ ।

    यसबाहेक चीनको ग्वान्झाउ, साउदी अरेवीया र कोरियामा पनि उडान बिस्तारका लागि कागजी प्रक्रिया मिलाउने काम भइरहेको छ ।

    कुनै समय दुई दर्जन जहाजका साथ यूरोप र एसियाका विभिन्न विकसित मुलुकसम्म उडान गरेको निगमलाई राजनीतिक दलका कार्यक्रता भर्ति केन्द्रको थलो बनाउँदा अहिले टाट पल्टने अवस्थामा पुगेको छ ।

    यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले निगमलाई व्यापारमा फड्को मार्ने गरी व्यापारिक कार्ययोजना ल्याउन आग्रह गरेका छन् ।

    निगमले नेपाल सरकारसँग पूँजीवृद्धिका रुपमा २० अर्ब रुपैयाँ मागिरहेको छ । तर, प्रधानमन्त्रीले यथास्थितिमा एक रुपैयाँ पनि निगमलाई दिन नसकिने स्पष्ट पारेका छन् ।

    वर्तमान व्यवस्थापनको शैलीबाट आफु असन्तुष्ट रहेको भन्दै आमुल परिवर्तन हुने गरी कार्ययोजना ल्याउन पनि उनले आग्रह गरे ।

  • आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर

    आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर

    काठमाडौं । नेपालमा आयोजनाको तयारी भइरहेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्झौता नहुँदै विवादमा तानिएको छ ।

    खासगरी अवार्ड आयोजकले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्न नगद रकम मागेको र त्यसमा नेपाल सरकार पनि सहमत भएको खबर बाहिरिएसँगै विवाद शुरु भएको छ ।

    आयोजकले नेपालसँग प्रारम्भिक छलफलममै ५० लाख डलर माग गरेको थियो । पछिल्लो समय छलफलबाट ४० लाख डलरसम्म नेपालले दिन सक्ने गरी सहमति भएको छ ।

    तर, औपचारिक सम्झौता हुन भने बाँकि रहेको छ । यसैबीच, नेपाल पर्यटन बोर्डले नेपाली पर्यटनको प्रवद्र्धनका लागि यो अवार्ड ऐतिहासिक रहेको बताएको छ ।

    आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बोर्डका सीइओ दिपकराज जोशीले एकसाथ बलिउडका सयौं कलाकार नेपालमा उतारेर यति भब्य कार्यक्रम आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताए ।

    खर्चको विषय भने अझै नटुंगिएको भन्दै उनले सकेसम्म कम खर्चमा उत्कृष्ट कार्यक्रम आयोजना गरेर देखाउने दावि समेत गरे ।

    विजक्र्याफ्ट इन्टनरनेसनल इन्टरटेनमेन्टले सन् २००० बाट यो अवाडस् आयोजना गर्न थालेको हो । यो भारतबाहिर हुने सम्भवतः सबैभन्दा ठूलो अवार्ड कार्यक्रम हो ।

    अघिल्लो १९ औं संस्करण गत वर्ष थाइल्यान्डमा २२ देखि २४ जूनसम्म भएको थियो । दक्षिण एसियामा आइफा अवार्ड आयोजना गर्ने नेपाल दोस्रो देश हुनेछ ।

    श्रीलंकामा सन् २०१० मा कार्यक्रम भएको थियो । यो अवार्ड अमेरिका, बेलायत, दक्षिण अफ्रिका, सिंगापुर, मलेसिया, स्पेन, नेदरल्याण्डजस्ता देशहरुमा भइसकेको छ ।

    यो अवार्डले देश र आयोजना भएको शहरको ब्राण्ड स्थापित गराउन ठूलो सहयोग पुग्ने बोर्डका सीइओ जोशीको दावि छ ।

  • त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै

    त्रिभुवन विमानस्थल २१ घण्टा खुल्दै

    काठमाडौं । धावनमार्गको पीच उप्काएर नयाँ बनाउने काम शुरु भएपछि दैनिक १० घण्टा बन्द भएको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ ।

    विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार यो आयोजना निर्धारित समयमै सम्पन्न भएको छ ।

    १८ चैतबाट शुरु भएको काम तीन ७० दिनमा सक्ने लक्ष्य लिइएको थियो । ३०५० मिटर लामो धावनमार्गको पीच पुरै उप्काएर नयाँ बनाइएको हो ।

    अब विमानस्थल दैनिक राती ३ बजेसम्म संचालनमा हुनेछ । बिहान ६ बजेबाट पुनः सेवा शुरु हुनेछ । स्वर्गिय पर्यटन मन्त्री रवीन्द्र अधिकारीले यो विमानस्थल २१ घण्टा संचालनको वातावरण बनाएका थिए ।

    त्यसपछि हवाइ उडानकाृ चाप निकै हदसम्म व्यवस्थापन भएको थियो । महाप्रवन्धक क्षेत्रीका अनुसार धावनमार्गको पीच नयाँ बनाउने काम सकिएपछि ट्याक्सी वेको काम भने बाँकि छ ।

    त्यो काम अब वर्षा सकिएपछि अर्थातः सेप्टेम्बरमा मात्र शुरु हुनेछ । त्यस समयमा भने पुनः विमास्थलको संचालन अवधि घटाइने छ ।

    त्रिभुवन विमानस्थल नेपालको एक मात्र अन्तरराष्टिय विमानस्थल हो । जहाँबाट दैनिक औसतः ४ सय हाराहारी उडान र अवतरण हुने गर्छन् ।

  • बालकको ज्यान गएपछि राजमार्गमा प्रदर्शन, प्रहरीको गोलीले १ जनाको मृत्यु

    बालकको ज्यान गएपछि राजमार्गमा प्रदर्शन, प्रहरीको गोलीले १ जनाको मृत्यु

    काठमाडौं । बालुवा झिक्न बनाएको खाल्डोमा परी बालक ज्यान गएको विषयलाई लिएर भएको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।

    ईश्वरपुर नगरपालिकामा राजमार्गमा प्रदर्शन गरिरहेका स्थानीय माथि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागि सत्यनारायण महतोको मृत्यु भएको छ ।

    खोलामा बालुवा झिकेपछि बनेको खाल्डोमा डुबेर स्थानीय बालकको मृत्यु भएपछि स्थानीय वासिन्दा शवसहित प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनले राजमार्ग अवरुद्ध भएपछि खुलाउन प्रहरी परिचालन भएको थियो ।

    राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीबाट आक्रमण भएपछि गोली चलाउनु परेको सर्लाहीका प्रहरीले बताएको छ ।

    शुरुमा राजमार्ग अवरुद्ध नगर्न आग्रह गरिएको तर नमानेपछि अश्रुग्यास, हवाई फायरजस्ता उपाय अपनाउँदा समेत भीड थाम्न नसकेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको बताएको छ ।

    प्रदर्शनकारीले आक्रमण गरेपछि करीव एक दर्जन प्रहरी घाइते भएको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीको गोली लागि असार महिनामा मात्र दुई जनाको ज्यान गइसकेको छ ।

  • काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प

    काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प

    काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्याण्डफिल साइटका स्थानीयको अवरोधका कारण पुनः काठमाडौंको फोहोर संकलन प्रभावित भएको छ ।

    काठमाडौंको फोहोर पछिल्लो ५ दिनदेखि उठ्न नसक्दा दूर्गन्ध फैलिएको छ भने वर्षायाम भएका कारण महामारीको समेत सम्भावना बढेको छ ।

    सिसडोल साइटमा फोहोर फाल्न छुट्याइएको स्थान भरिसकेको र जथाभावी फोहोर फाल्दा स्थानीयलाई असर पुग्ने भन्दै काठमाडौंको फोहोर रोकिएको हो ।

    काठमाडौं महानगरपालिका अनुसार अहिले उपत्यकाबाट हरेक दिन ८ सय ५३ टन फोहोर उत्पादन हुन्छ । यस अनुसार हरेक वर्ष ३ लाख ७० हजार टन फोहोर काठमाडौांट व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको छ ।

    शनिबार काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । त्यसक्रममा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    ३ वर्षका लागि भनेर ल्याण्डफिल साइट १४ वर्षदेखि लगातार प्रयोग भइरहेको छ । सरकारको अर्को वैज्ञानिक विकल्प तयार पार्न नसक्दा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुने गरेको हो ।