Author: Vishwanews.com

  • कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना

    कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना

    काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशको आफ्नै वायुसेवा सञ्चालनको योजना सार्वजनिक गरेको छ । प्रदेशको आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना राखिएको छ । यसपाली बन्दै गरेको बजेटमा यो योजना समेटेर जाने योजना प्रदेश सरकारले बनाएको छ ।

    प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार निजी क्षेत्रसँगको साझेदारमा आफ्नै वायुसेवा संचालन गर्ने योजना छ ।

    सरकार एक्लैले जहाज कम्पनी स्थापना गर्ने नभई भइरहेकै निजी कम्पनीलाई सहुलियतमार्फत आकर्षित गरी उक्त कम्पनीको सेवालाई कर्णाली प्रदेशमा केन्द्रित गर्न सकिने योजना प्रदेश सरकारको रहेको छ ।

    कर्णाली सहित देशभरका सात वटै प्रदेश अहिले बजेट बनाउने चटारोमा छन् । कर्णाली प्रदेशले संघीय सरकारसँग समन्वय गरी दूर्गम सेवा कोषको रकम सदूपयोग गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ ।

    उक्त कोषबाट उडान अनुमति प्राप्त गरी सुर्खेतबाट प्रदेशका जिल्ला सरमुकाम तथा संघीय राजधानीसम्म नियमित जहाज उड्ने वातावरण बनाउने प्रदेश सरकारको योजना छ ।

  • पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक

    पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी सोमबार खोलामा डुबेको छ । स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेपछि तस्वीर एकाएक सामाजिक संजालमा भाइरल बन्यो ।

    खासगरी सिण्डिकेट हटाउन नसकेको, समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न नसकेको आरोपका कारण वर्तमान मन्त्रीपरिषद्का आलोचित सदस्य हुन् महासेठ ।

    उनको सवारी खोलामा डुबेपछि कठै भन्ने भन्दा ठिक्क पर्यो भन्ने सामाजिक संजालमा धेरै भेटिए । धेरैजसो नागरिकको अपेक्षा अब अफ्ठ्यारा स्थानमा पुल निर्माणले गति लिन्छ कि भन्ने समेत रहेको छ ।

    किनकी पूर्वाधार मन्त्री नै पुलको अभावले खोलामा फसेपछि अब उनले सवक सिकेको टिप्पणी धेरैले गरेका छन् ।

    मन्त्री महासेठसहितको टोली सोमबार सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको थियो । उनलाई मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए ।

    खोलामा डुबेको गाडीको इन्जिन काम नगर्ने अवस्थामा पुगेपछि क्रेनको सहयोगमा बाहिर निकालिएको थियो । मन्त्रीलाई अर्को गाडीमा राखेर फर्काइएको थियो ।

  • विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित

    विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित

    काठमाडौं । इंल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार राती लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो ।

    ३५३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३१६ रन मात्र बनाउन सक्यो ।
    अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ६९, डेभिड वार्नरले ५६, एलेक्स करेयले ५५ रन बनाए । उस्मान खवाजा ४२, कप्तान एरोन फिन्च ३६ र ग्लेन म्याक्श्वेलले २८ रन बनाएपनि टोलीलाई जिताउन भने सकेनन् ।

    भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३–३ विकेट लिए । युजभिन्द्र चहेलका नाममा दुई विकेट रह्यो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५२ रन बनाएपछि अष्ट्रेलिया दवावमा आएको थियो ।

    भारतका लागि शिखर धवनले शतक बनाए । उनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रनको पारी खेले । कप्तान विराट कोहलीले ८२ रनको महत्वपूर्ण पारी खेले ।

    ओपनर रोहित शर्माले ५७ रन बनाउँदा हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले दुई विकेट लिए ।

  • कोरिया : भाषा सिक्दा २७ अर्ब स्वाहा, रेमिट्यान्स २६ अर्ब ८८ करोडमात्र

    कोरिया : भाषा सिक्दा २७ अर्ब स्वाहा, रेमिट्यान्स २६ अर्ब ८८ करोडमात्र

    काठमाडौं । यूवाका लागि आकर्षक रोजगारीको गन्तब्य मानिएको कोरिया जान यूवाको भीड लागेको देख्दा लाग्छ, यो देशमा पैसाकै बोट छ । किनकी नेपालमा स्नातकोत्तर पढेर राम्रै कमाई गर्ने यूवा जमात पनि अहिले कोरिया जान लालायीत छ ।

    तथ्यांक अनुसार कोरियाली भाषा सिक्दा नेपाली यूवाले जति रकम नेपालमा खर्च गर्छन्, कोरिया पुगेका नेपालीबाट त्यो भन्दा पनि कम रेमिट्यान्स भित्रिरहेको छ ।

    यस तथ्यांक अनुसार कोरिया पुगेका केही हजार नेपालीको जीवनस्तर उकास्न सफल भएपछि आम नेपाली यूवालाई भने अझ धेरै समस्यमा पारेको छ ।

    त्यति मात्र होइन, कोरियाली भाषा पशिक्षणका नाममा खुलेका इन्स्टीच्यूडको मनपरी शूल्कलाई सरकारले नियन्त्रण गर्न नसक्दा यूवा ठगिने क्रम पनि उत्तीकै रहेको छ ।

    नेपाल राष्ट बैंकको तथ्यांकअनुसार आव २०७१्७२ देखि आव २०७४्७५ सम्म कोरियाबाट कूल रेमिट्यान्स २६ अर्ब ८८ करोड रुपैयाँ भित्रिएको छ ।

    तर यता नेपालमा भाषा परिक्षा, त्यसको तयारी र अन्य खर्च गरी यस अवधिमा यूवाले झण्डै २७ अर्ब खर्च गरिसकेका छन् । कोरिया जान हरेक वर्ष ९० देखि १ लाखको बीचमा यूवाले भाषा परीक्षा दिन्छन् ।

    त्यसमध्ये करीव १० हजारको हाराहारीमा मात्र युवा कोरिया जान पाउँछन् । अन्य ८० हजार भन्दा बढी यूवाको लगानी बालुवामा पानी हुन्छ । किनकी अहिले भाषा सिक्न मात्र २० हजार भन्दा बढी शूल्क लिइन्छ ।

    उनीहरुलाई शहरको महंगीमा बसेर गुजारा टार्न उत्तिकै समस्या छ । राज्यले रोजगारी व्यवस्थापन र आर्थिक विकासमा उचित ध्यान दिन नसक्दा नेपालको ठूलो रकम धन्दावालाहरुको पोल्टमा गएको प्रष्ट हुन्छ ।

    आगामी वर्ष सन् २०२० का लागि कोरिया जान परीक्षा दिएको ९२ हजार आवेदकको भीडबाट पनि यूवाले अझै नेपालमा सम्भावना नदेखेको प्रष्ट हुन्छ ।

  • पोर्चुगलले जित्यो नेसन्स लीग उपाधी

    पोर्चुगलले जित्यो नेसन्स लीग उपाधी

    काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि हात पारेको छ । आइतबार राति फाइनल प्रतिस्पर्धामा बलियो प्रतिस्पर्धी
    नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    पोर्चुगलले नेदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हरायो । गुन्जालो गुइडेसको एक मात्र गोल पोर्चुगलको जीतका लागि पर्याप्त भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

    बल पोजिसनमा नेदरल्याण्ड्सले पोर्चुगललाई दवावमा राखेको थियो । तर, ६० औं मिनेटमा पोर्चुगलले गोल गर्यो । गुन्जालोको गोलबाट अग्रता लिएको पोर्चुगल त्यसपछि भने रक्षात्मक रणनीतिमा देखियो ।

    जसले गर्दा नेदरल्याण्ड्सलाई गोल गर्न निकै मुस्किल भयो । एक गोल नै निर्यायक बनेपछि पोर्चुगलले उपाधी हात पारेको हो ।

    आफ्नो पक्षमा ४३ प्रतिशत पोजिसन रहँदासमेत पोर्चुगलले विपक्षी पोष्टमा १८ प्रहार गर्यो । त्यसमध्ये एक मात्र गोलमा परिणत भएको थियो । ५७ प्रतिशत पोजिसन सहित खेलेको नेदरल्याण्ड्सले भने पोष्टमा मात्र ४ प्रहार गरेको थियो ।

  • सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान

    सारेगमपमा नेपालका प्रितमलाई तेस्रो स्थान

    काठमाडौं । नेपालका प्रितम आचार्य भारतीय चर्चित रियालीटी शो सारेगमपको तेस्रो स्थान जित्न सफल भएका छन् । जी टीभिबाट प्रसारण हुने यो कार्यक्रमको फाइनल प्रतिस्पर्धामा उनी तेस्रो भएका हुन् ।

    अर्को नेपाली बालक आयुष केसीलाई चौथो स्थान प्राप्त भयो । यस कार्यक्रकको फाइनलमा ६ जना प्रतिस्पर्धी थिए । सुनसरीको इटहरी उपमहानगरपालिका प्रितमले यस प्रतियोगिताको शुरु देखि नै आफूलाई दावेदारका रुपमा खडा गरेका थिए ।

    सन् २००६ बाट शुरु भएको यो कार्यक्रम भारतको लोकप्रिय रियालिटी शो भित्र पर्छ । यस शोमा ५ देखि १४ वर्षसम्मका बालबालिकाले भाग लिन पाउने प्रावधान रहेको छ । यस सिजनमा गायकहरू शान, अमाल मलिकका साथै रिचा शर्मा जजको भूमिकामा थिए ।

    एघार वर्षीय प्रितम इटहरीस्थित विश्व आदर्श स्कुलमा कक्षा ६ मा पढ्छन्। भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा कक्षा ७ पढ्ने आयुस वर्ष १२ का हुन् । आयुस र प्रितम नेपालबाट पहिलो चरणको अडिसन बीना नै छानिएका प्रतिभा हुन् ।

    जिटिभीले सुरशाला एकेडेमीमार्फत् आयुस र प्रितमले गाएका गीतका भिडियो हेरेर उनीहरूलाई सोझै दोस्रो चरणका लागि दिल्ली बोलाएको थियो। दिल्लीमा आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिकाले अडिसन दिएका थिए।

  • सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

    सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

    काठमाडौं । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजागर गर्ने उद्दश्यले आयोजित तेस्रो संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ ।

    काठमाडौंमा २३ जेठबाट शुरु भएको मार्टमा ४३ देशबाट ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवाला सहभागी भएको बताइएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित भएको पाटा नेपाल च्याप्टरले उल्लेख गरेको छ ।

    मार्टको अवसर पारी पाटा नेपाल च्याप्टरले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई विशेष अवार्ड प्रदान गरिएको थियो । उक्त अवसरमा विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

    जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरु, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिहरुलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो ।

    मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया\ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो ।

    सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ गरिएको थियो । भ्रमण वर्ष अभियानका संयोजक सुरज बैद्यले अभिायन अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरुको कार्ययोजना लगायत नेपालका पर्यटकीय गन्तब्य र सम्भावनाबारे प्रस्तुति पेस गरेका थिए ।

    यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए ।

    पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

  • अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड

    अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली कार्ड वितरण शुरु गरिएको छ ।

    गैरआवासीय नेपाली संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण शुरु गरेको हो । कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने बताइएको छ ।

    तर, विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन ।

    संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने उद्देश्यले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको उल्लेख गरेको छ ।

    ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।

    कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् ।

    कार्डको म्याद २ वर्षको हुने बताइएको छ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ । यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्ने संंघले जानकारी दिएको छ ।

    कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस भनी यो व्यवस्थाको सुरुवात गरिएको बताए ।

    गैरआवासीय नेपालीहरुको सञ्जाललाई थप बृहत् बनाई उनीहरुले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन भनि यो कार्डको व्यवस्था गरिएको उल्लेख गरे ।

    संघकी उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताइन् । आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैकिंङ, बीमा लगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी दिइन् ।

  • जापानमा नेपालीलाई रोजगारी, पहिलो चरणमा नर्सलाई अवसर

    जापानमा नेपालीलाई रोजगारी, पहिलो चरणमा नर्सलाई अवसर

    काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट नर्स लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार जापानले चरणवद्ध रुपमा विभिन्न १४ वटा क्षेत्रमा नेपाली कामदार लैजाने छ ।

    त्यसमध्ये पहिलो चरणमा नर्स हुने भएको छ । नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच ११ चैत २०७५ मा हस्ताक्षर भएको थियो । तर, सरकारले समझदारीको पुरै विस्तृत अझै सार्वजनिक गरेको छैन ।

    दुई मुलुकबीचको सम्झौता अनुसार नेपालीले जापानी नागरिक सरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने बताइएको छ ।

    जापानले नेपालबाट कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत, खाद्य सेवा, निर्माण, खाद्य तथा पेय पदार्थ उत्पादन, आवास, मेसिनरी पार्ट, माछा मार्ने र माछापालन, औद्योगिक उपकरण, इलेक्ट्रोनिक्स र सूचना प्रविधि, सरसफाइ, जहाज र जहाज पाटपूर्जा जस्ता क्षेत्रमा नेपाली कामदारले अवसर पाउने छन् ।

    पछिल्लो समय जापान पठाउने नाममा सक्सल्टेन्सी खोलेर भाषा सिकाउने क्रम ह्वात्तै बढेको छ । यस्ता संस्थाको नियमन गर्न लागिएको विभागको भनाई छ

    जापान फाउन्डेसनले कामदारको आधारभूत भाषा परीक्षा लिने र त्यसमा उत्तीर्ण हुने कामदारले मात्र जापान जाने अवसर पाउने विभागले जानकारी दिएको छ ।

    विभागका अनुसार आगामी अक्टोबर (असोज १५ देखि कात्तिक १५) मा नर्सिङ क्षेत्रको लागि मात्र भाषा र सीप परीक्षा हुने सम्भावना छ । जापानीज भाषा साधारण लेख्न र बोल्न सक्नेले यो जाँचमा भाग लिन सक्ने बताइएको छ ।

  • के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?

    के मेक्सिकोप्रति नरम हुँदैछन् अमेरिकी राष्ट्रपति ट्रम्प ?

    अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रबासी शरणार्थी अमेरिका प्रवेशमा कडाई गर्न मेक्सिकोलाई दवाब दिँदै आएको छ। सोहीकारणले उसले मेक्सिकोविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिइरहेको थियो ।

    त्यसै क्रममा सोमबारदेखि अमेरिकाले मेक्सिकोबाट आयात हुने सामानमा पाँचदेखि २५ प्रतिशत कर वृद्धिको तयारीमा जुटेको थियो। मेक्सिकोबाट हरेक बर्ष तीन अर्ब ५० करोड अमेरिकी डलर बराबरको सामान अमेरिका आयात हुन्छ । यो मेक्सिकोको अर्थतन्त्रका लागि ठूलो बजार पनि हो ।

    तर, दुई देशका प्रतिनिधिबीच आप्रबाससम्बन्धी समस्या समाधान गर्ने सम्बन्धमा समझदारी भएको छ । यससँगै अमेरिकाले बढाउने भनेको कर वृद्धिको निर्णय पनि तत्काल लागु नहुने भएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्वीट गर्दै यसको जानकारी समेत गराएका छन् । उनका अनुसार मेक्सिकोले व्यवहारिक रूपमा आप्रबासी नियन्त्रणसम्बन्धी बिषयलाई कार्यान्वयनमा लाने प्रतिवद्धता गरेपछि दुई देशबीच सहमति सम्भव भएको हो र सोमबारदेखि हुने भनिएको कर वृद्धि पनि टरेको हो ।

    मेक्सिकोले अन्तिम समयसम्म पनि आप्रवासीबारे चलिरहेको बहसमा अमेरिकालाई सहयोग गर्न तयार भएको बताइएको छ ।

    शुक्रबार राति घोषणा भएको सम्झौतामा मेक्सिकोले आप्रबासीलाई हिंसाग्रस्त ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट आप्रबासी शरणार्थीलाई फर्काउने बिषयमा आफ्नो नीतिलाई परिवर्तन गर्न स्वीकार गरेको छ ।

    अमेरिकाले यस अघि अमेरिका पुगी शरणार्थीका लागिको दावी गरिसकेकाको हकमा प्रक्रिया अघि बढाउने सहमति भएको समाचार स्रोतहरुले उल्लेख गरेका छन् ।
    एजेन्सी

  • विश्वकप क्रिकेट : इंल्याण्ड र न्यूजिल्याण्डले हराए एसियाली प्रतिस्पर्धी

    विश्वकप क्रिकेट : इंल्याण्ड र न्यूजिल्याण्डले हराए एसियाली प्रतिस्पर्धी

    कप्तान केन विलियम्सन चम्किएपछि न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण एसियाली टोली अफगानस्तानलाई ७ विकेटले हराएको छ ।

    १ सय ७३ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले ७ विकेटको सहज जित हात पार्यो । यस जीतसँगै न्युजिल्याण्ड जारी विश्वकपमा लगातार तेस्रो खेलमा विजयी भएको हो ।

    कन्ट्री ग्राउण्डमा अफगानस्तानले दिएको सामान्य लक्ष्य न्युजिल्याण्डले ३२ दशमलब १ ओभरमा ३ विकेटको क्षतिमा भेटायो । न्युजिल्याण्डका लागि कप्तान विलियम्सनले अविजित ७९ रनको पारी खेले । अफगानस्तानका अफताब आलमले ३ विकेट लिएका थिए ।

    पहिला ब्याटिङ गरेको अफगानस्तानले ४१ दशमलब १ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमात्र बनाएको थियो । न्युजिल्याण्डका जेम्स निशम एक्लैले ५ विकेट लिए । लोकी फेर्गुसनको नाममा ४ विकेट रह्यो ।

    उता, शनिबार राती नै सम्पन्न अर्को खेलमा आयोजक इंल्याण्डले अर्को दक्षिण एसियाली टोली बंगलादशेमाथि १ सय ६ रनको प्रभावशाली जीत निकाल्यो । घरेलु टोली इङल्यान्डको यो दोस्रो जीत हो ।

    कार्डिफमा ३ सय ८७ रनको बिशाल लक्ष्य पच्छाएको बंगलादेश ४८.५ ओभरमा २ सय ८० रनमा अलआउट भएपछि इङल्यान्डले सहजै खेल जितेको हो । बंगलादेशका लागि सकिब अल हसनले १ सय २१ रनको शतकिय पारी खेलेपनि टोलीलाई जिताउन भने सकेनन् ।

    पहिले ब्याटिङ गरेको इंङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो । इंङल्यान्डका लागि जेसन रोयले १ सय ५१ रन बनाए ।
    एजेन्सी

  • पहिलो पटक अफ्रिकी देशसँग नेपालको श्रम सम्झौता

    पहिलो पटक अफ्रिकी देशसँग नेपालको श्रम सम्झौता

    काठमाडौं । सरकारले अफ्रिकी मुलुक मरिसससँग श्रम सम्झौता गर्ने भएको छ । पहिलो पटक अफ्रिकी मुलुकसँग श्रम सम्झौता हुन लागेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको जारी युरोप भ्रमणका क्रममा उक्त मुलुकसँग श्रम सम्झौतामा हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

    स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोह आयोजना हुँदैछ । उक्त अवसरमा भाग लिन नेपालाट श्रम मन्त्री गोकर्ण विष्टसमेत प्रधानमन्त्रीसँगै सहभागी छन् ।

    मरिससका सम्बन्धित मन्त्रीसँग समझदारी पत्रमा हस्ताक्षरको कार्यक्रम राखिएको मन्त्रालयले जानकारी दिएको छ । दुई मुलुकीच २८ जेठमा श्रम सम्झौता हुने कार्यक्रम छ ।

    सोही अवसरमा नेपालले संयुक्त अरव इमिरेट्स (यूएइ))सँग पनि श्रम सम्झौतामा हस्ताक्षर गर्दैछ । युएईसँग ३१ जेठमा सम्झौता हुनेछ । मुलुकसँग हुन लागेको श्रम समझदारीको मस्यौदा नेपाल सरकारले स्वीकृत गरिसकेको छ।

     

    नेपालले युएईसँगको पुरानो समझदारी प्रतिस्थापन गरी नयाँ समझदारी गर्न लागेको हो। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको सरकारले छिल्लो समय आकर्षक मुलुक र तलव प्राप्त हुने देशहरुसँग श्रम सम्झौताको प्रक्रिया अगाडी बढाएको छ ।

    मरिससमा नेपाली कामदारले आकर्षक सेवा सुविधा पाउने गरी समझदारी हुने मन्त्रालयको दावि छ । भर्ना, छनोटदेखि गन्तव्य मुलुकसम्म पुग्दाका समयमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने प्रावधानसहित मस्यौदा तयार भएको छ ।

    मरिससमा अहिले अधिक संख्यामा भारतीयले काम गर्छन् ।

  • विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए

    विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए

    कास्की । प्रहरीले विप्लव समूहका १८ कार्यकर्तालाई कास्कीबाट पक्राउ गरेको छ । शनिबार राति विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

    कास्की, अन्नपूर्ण गाउँपालिकामा बैठक बसिरहेको स्थानबाट प्रहरीले उनीरुलाई पक्रेको हो । ४ महिलासहित पक्राउ परेका उनीहरु विरुद्ध प्रहरीले सुराक पाएपछि उक्त स्थानमा खटिएको थियो ।

     

    पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई(आक्रोश) समेत रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई शनिबार राति नै पोखरा ल्याइएको छ ।

    सरकारले विप्लव समूहका गतिविधिमा प्रतिवन्ध लगाएको छ । सोहीकारणअहिले उनीहरु भूमिगत रुपमा आफ्ना गतिविधि तीब्र पारेका छन् ।

  • वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता

    वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता

    काठमाडौं । जेष्ठ नागरिकले विगत ८ वर्षदेखि गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ ।

    आगामी आवमा एकैपटक १ हजार रुपैयाँ वृद्धभत्ता बढेसँगै जेष्ठ नागरिकले आन्दोलन फिर्ता लिएका हुन् । अग्रज समाज नेपालको आह्वानमा ज्येष्ठ नागरिक नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि निरन्तर धर्ना बस्दै आएका थिए ।

    समाजले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समक्ष धर्ना अन्त्य भएको जानकारी गराएको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला २४ फागुन २०६९ मा समाजले धर्ना शुरु गरेको थियो ।

    समाजले ६० वर्ष उमेरमै मासिक रु पाँच हजार भत्ता पाउनुपर्ने, सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नारिकलाई आरक्षण सिटसहित ५० प्रतिशत छुट हुनुपर्ने, औषधोपचारमा सरकारी अस्पतालमा शतप्रतिशत र निजी अस्पतालले ५० प्रतिशत छुट गर्नुपर्नेजस्ता माग राख्दै आन्दोलन गर्दै आएको थियो ।

  • नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला

    नयाँ हुवावे स्मार्टफोन किन्दै हुनुहुन्छ ? सामाजिक संजाल चलाउन नपाइएला

    फेसबुकले अब आफ्नो मातहत चलिरहेका सामाजिक संजालका एपलाई हुवावेका स्मार्ट फोनबाट हटाउने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले उल्लेख गरेअनुसार अब नयाँ बन्ने हुवावेका स्मार्ट फोनमा फेसबुक, ह्वाट्सएप, इस्टाग्राम एप उपलब्ध नहुने भएका छन् ।

    फेसबुकले आफ्ना एप अब बन्ने हुवावेका नयाँ फोनमा प्रिइन्स्टल हुने सुविधा हटाउन लागेको उल्लेख छ । ह्वाट्सएप र इन्स्टाग्राम फेसबुकका भगिनी संस्था हुन् ।

    अघिल्लो महिना अमेरिकाले आफ्ना देशका कम्पनीहरूलाई सुरक्षा जोखिम रहन सक्ने बताउँदै विदेशी दूरसञ्चार प्रदायकहरूसँग सहकार्य नगर्न निर्देशन दिएको थियो।

    त्यस अगाडी हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू नराख्ने बताइएको छ । अमेरिका र चीनबीच व्यापार युद्धको शिकार अहिले हुवावे बनेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई पनि राखेका छन् । त्यसो त हुवावेले अहिले फोन प्रयोग गरिरहेका प्रयोगकर्तालाई यस प्रतिवन्धले कुनै असर नगर्ने कम्पनीले स्पष्ट पारिसकेको छ ।
    एजेन्सी

  • आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

    आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा निस्कदै छन् । आगामी जुन १९ सम्म प्रधानमन्त्री ओली यूरोपका विभिन्न तीन मुलुकमा पुग्नेछन् ।

    प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जुन ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहने तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन समेत गर्नेछन् । जेनेभामा प्रधानमन्त्रीले विभिन्न मुलुकका राष्ट्राध्यक्षसँग भेटवार्ता गर्ने तय भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    त्यसपछि प्रधानमन्त्री ओली बेलायत भ्रमणमा जानेछन् । बेलायतमा १० देखि १२ जुनसम्म रहँदा प्रधानमन्त्रीले समकक्षी थेरेसा मेसँग भेट वार्ता गर्नेछन् । अक्स्फोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा १० जुनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

    १२ देखि १४ जुनसम्म भने प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम तय भएको छ । फ्रान्समा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी एडवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन् ।

  • नेपालीको कोरिया मोह, इपीएसमा ९२ हजार यूवा प्रतिस्पर्धा गर्दै

    नेपालीको कोरिया मोह, इपीएसमा ९२ हजार यूवा प्रतिस्पर्धा गर्दै

    काठमाडौं । सन् २०२० का लागि रोजगारीका लागि कोरिया जाने लक्ष्यसहित शनिबार र आइतबार इपीएस भाषा परिक्षा संचालन हुँदैछ । परिक्षामा ९२ हजार ३ सय ५६ जनाले भाग लिने इपीएस कोरियाले जानकारी दिएको छ ।

    रोजगार अनुमति प्रणाली (इपीएस) परिक्षा यस वर्ष काठमाडौं बाहिर पोखरामा पनि चल्नेछ । आगामी वर्ष कोरियाले नेपालका लागि १० हजार ५० जनाको कोटा उपलब्ध गराएको छ ।

    १३ असारमा प्रकाशित हुने नतिजाले ती यूवाको भाग्य परिक्षण गर्नेछ । सन् २०२० मा उत्पादनमुलुक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपालीको कोटा रहेको छ ।

    कोरियाले नेपालबाट सन् २००८ देखि इपीएसमार्फत नेपाली कामदार भित्राउन थालेको हो । नेपाली यूवाले एक पटकका लागि ५ वर्षको भिषा प्राप्त गर्छन् ।

    त्यस अवधिमा उत्कृष्ट काम गर्ने यूवाले अर्को ५ वर्ष थप गरी काम गर्न सक्छन् । अहिलेसम्म नेपालबाट ७० हजार भन्दा बढी नेपाली रोजगारीको खोजीमा कोरिया पुगिसकेका छन् ।

  • भारतको यूपीमा आँधिको ताण्डव, २६ को निधन

    भारतको यूपीमा आँधिको ताण्डव, २६ को निधन

    काठमाडौं । बिहीबार साँझ आएको भिषण हावाहुरीमा परी भारतमा २६ जनाको निधन भएको छ । भारतको उत्तर प्रदेशस्थित थुप्रै जिल्लामा आँधिले जनधनको क्षति गरेको हो ।

    उक्त घटनामा ५० भन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । यूपीको मैनपुरी भन्ने स्थानमा ६ जनाको निधन भएको छ । एटा र कासगंजमा तीन तीन जनाले ज्यान गुमाएका छन् ।

    मुरादाबादमा चट्यांगका कारण एक जनाको निधन भएको छ । तिब्र गतिमा आएको आँधिले रुख ढलाएको थियो भने कतिपय स्थानमा घरको छाना उडाएको थियो ।

    किसानको बालिनालीमा समेत तुफानले नराम्रोसँग प्रभावित भएको छ । सोही आँधिको प्रभाव बिहीबार नेपालमा समेत देखियो । खासगरी सुदुरपश्चिममा आँधिले बढी प्रभाव पारेको छ ।

    आँधिले नेपालमा २ जनाको निधन भएको छ । शुक्रबार बिहान राजधानीसहितका क्षेत्रमा आँधिले प्रभाव देखाएको थियो ।

  • अधिक बालविवाह हुने मुलुकको टप टेन सूचिमा नेपाल

    अधिक बालविवाह हुने मुलुकको टप टेन सूचिमा नेपाल

    काठमाडौं । बालविवाह धेरै हुने देशको टप टेन सूचिमा नेपाल समेत परेको छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले शुक्रबार जारी गरेको विज्ञप्ती अनुसार बालविवाह धेरै हुने मुलुकमध्ये नेपाल विश्व कै शीर्ष दश भित्र पर्छ ।

    युनिसेफका अनुसार नेपालमा २० देखि २४ वर्षका १० पुरुषमध्ये एक जनाको बाल्यावस्थामै विवाह भएको हुन्छ । यूनिसेफले विश्वका ८२ मुलुकको तथ्यांक विश्लेषण गरी प्रतिवेदन बनाएको बताएको छ ।

    उक्त अध्ययन अनुसार बालविवाह अफ्रिकी मुलुकमा अधिक हुन्छ । अफ्रिकाको उपसहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्र, पूर्वी एसिया, प्रशान्त क्षेत्र र दक्षिण एसियाी मुलुकमा बालविवाह अधिक रहेको यूनिसेफद्धारा वक्तव्यमा उल्लेख गरिएको छ ।

    यूनिसेफका अनुसार मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै २८ प्रतिशत बालकको विवाह हुन्छ । निकारागुवामा १९ प्रतिशत र मदागास्करमा १३ प्रतिशत बालकहरूको विवाह हुने गरेको छ ।

    युनिसेफले बालविवाह धेरै हुने मुलुकमा नेपाल दशौं स्थानमा रहेको र बालक तथा बालिकाको उत्तिकै दरले बालविवाह हुने दक्षिण एसियाली एक मात्रै मुलुकका रुपमा नेपाललाई चित्रण गरेको छ ।

    यूनिसेफका अनुसार विश्वभर ७६ करोड ५० लाख बालबालिकाको बालविवाह भएको छ । त्यसमा पनि बालिकाको संख्या अधिक छ । विश्वको औसतःमा २० देखि २४ वर्षका पाँच महिलामध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि नै विवाह हुन्छ ।

    उक्त उमेर समूहा ३० पुरुषमध्ये एकको १८ वर्ष उमेर पुग्नुअघि विवाह भएको अध्ययनले देखाएको छ ।

  • अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष

    अमेरिकी आर्थिक वृद्धि सुधारोन्मुख : मुद्रा कोष

    अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि सुधारोन्मुख रहेको बताएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै कोषले गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा अमेरिकाको आर्थिक वृद्धिमा सामान्य सुधार देखिएको जानकारी दिएको हो ।

    अहिले चीन र अमेरिकाबीच व्यापार विवाद चुलिदो अवस्थामा छ । जसले गर्दा अमेरिकाको समग्र अर्थतन्त्रमा प्रभाव पर्नेछ । अर्कोतर्फ निर्माण समग्रीको अभावले पनि आर्थिक वृद्धिमा असर पर्ने प्रक्षेपण गरिएको छ ।

    कोषले सन् २०१९ मा अमेरिकाको कूल गाहस्र्थ उत्पादनको प्रक्षेपण २.६ प्रतिशत पुग्ने अनुमान गरेको छ । कोषले सन् २०२० का लागि गरेको अनुमान अनुसार अमेरिकी अर्थतन्त्रको वार्षिक मुल्याङ्कनमा आर्थिक वृद्धि २ प्रतिशतमा झर्नसक्ने बताइएको छ ।

    अमेरिकी ऋणको अनुपात बढ्ने र वृद्धिदरमा असमानता देखिने समेत उल्लेख गरेको छ । चीन–अमेरिका व्यापार विवादलाई समयमै समाधान नगर्ने हो भने समस्या अझ बढ्न सक्ने कोषको चेतावनी छ ।

    एजेन्सी

  • लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

    लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

    काठमाडौं । संघीय संसद, राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगद्धारा खुलाएको नयाँ भर्ना विवाद सम्बन्धका छलफल गर्न शुक्रबार बैठक डाकेको थियो ।

    बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई पनि आमन्त्रण गरिएको थियो । तर, मन्त्री पण्डित बैठकमा उपस्थित भएनन् ।

    यसलाई संसदको अपमान गरेको ठहर समितिले गर्यो । त्यसपछि समितिले आगामी २७ जेठका लागि अर्को बैठक आह्वान गरि मन्त्री पण्डितलाई बैठकमा सहभागी हुन ‘अन्तिम मौका’ दिएको बताएको छ ।

    स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगले खुलाएको विज्ञापनमा प्रदेश सरकारहरुले असहमति देखाएपछि भर्ना प्रक्रिया अहिले विवादमा छ ।

    सोही सम्बन्धमा संघीय सरकारको धारणाबारे छलफल गर्न समितिले शुक्रबार बैठक बोलाएको थियो । उक्त बैठकमा पनि मन्त्री पण्डित सहभागी भई चित्त बुझ्दो जवाफ नदिए विज्ञापन फिर्ता लिन लोक सेवा आयोगलाई निर्देशन दिने तयारी समितिको छ ।

    शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, अमरेश कुमार सिंह, मिना पाण्डे र राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित पटक पटक अनुपस्थित भएको भन्दै तत्काल विज्ञापन फिर्ता लिन लोक सेवा आयोगलाई निर्देशन दिनु पर्ने भन्दै समितिकी सभापति श्रेष्ठलाई दवाव दिएका थिए ।

    त्यसो त मन्त्री पण्डित पनि पछिल्लो समय अनेक बाहना बनाउँदै बैठकमा उपस्थित भइरहेका छैनन् । शुक्रबारको समितिको बैठकले लोकसेवा आयोगलाई दिने निर्देशनको खाका तयार पारिसकेको छ ।

    लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहका विभिन्न पदमा ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन सार्वजनिक गरेको छ ।

  • चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

    चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

    काठमाडौं । सरकारले विभिन्न चार मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

    बैठकले बंगलादेशका लागि वंशिधर मिश्र, कतारका लागि नारद भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि आङफुटी शेर्पाको नाम सिफारिस गरेको हो ।

    संसदीय सुनुवाई प्रक्रिया पार गरेपछि उनीहरु राजदूतमा नियुक्त हुने प्रावधान रहेको छ । संसदीय सुनुवाई विशेष समितिले सुनुवाईको काम गर्छ ।

  • विश्वकपमा अस्ट्रेलियाको दोस्रो जीत, हार्यो वेस्ट इन्डिज

    विश्वकपमा अस्ट्रेलियाको दोस्रो जीत, हार्यो वेस्ट इन्डिज

    इंल्याण्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार राति सम्पन्न भएको खेलमा वेस्ट इन्डिजलाई १५ रनले पराजित गर्दे अस्ट्रेलियाले लगातार दोस्रो जीत हात पारेको हो । वेस्ट इन्डिजले भने दोस्रो खेलमा पहिलो हार बेहोर्यो ।

    पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८९ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि कप्तान जासन होल्डरले ५१ रन बनाए ।

    शाइ होपले ६८, निकोलास पुरान ४०, क्रिस गेल २१, आन्द्रे रसेल १५ र कार्लोस वाथवेटले १६ रनको योगदान दिए ।

    अस्ट्रेलियाका मिचेल स्टार्क एक्लैले ५ विकेट लिएपछि वेस्ट इण्डिज जीत नजिक पुगेर पनि हार्न पुग्यो । उनले १० ‌ओभरमा १ मेडनसहित ४६ रन खर्चिए।

    टस जितेको वेस्ट इन्डिजले अस्ट्रेलियालाई ब्याटिङको निम्ता दिएको थियो । अस्ट्रेलिया ४९ ओभरमा २८८ रनमा अलआउट भयो। उसका लागि नाथान काउटर निलले सर्वाधिक ९२ रन बनाए ।

    स्टेभन स्मिथले ७३ रन जोडे। एलेक्स क्यारीले ४५ रनको योगदान दिए । वेस्ट इन्डिजका कार्लोस बाथवेटले ३ विकेट लिए ।

  • भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

    भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

    दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार माल्दिभ्स प्रस्थान गर्ने भएका छन् ।

    जुन ८ मा माल्दिभ्स पुग्ने उनले सोही दिन माल्दिभ्सको संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    माल्दिभ्सपछि मोदी श्रीलङ्का पुग्नेछन् । श्रीलंकामा उनको एकदिवसीय भ्रमण तय भएको हो । प्रधानमन्त्री मोदी माल्दिभ्सबाट शनिबार नै श्रीलङ्का गएर आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

    सन् २०११ पछि पहिलो पटक भारतीय प्रधानमन्त्री माल्दिभ्स जान लागेका हुन् । श्रीलंकामा रहँदा भने गत अप्रिलमा बम बिस्फोटमा परी ज्यान गुमाउनेप्रति उनले श्रद्धान्जली व्यक्त गर्नेछन् ।

    उक्त दुखको क्षणमा भारत श्रीलंकासँगै रहेको सन्देश दिने उद्देश्यले प्रधानमन्त्रीको भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।
    एजेन्सी

  • काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक

    काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक

    काठमाडौं । बिहीबार साँझ र शुक्रबार बिहानै देशका विभिन्न स्थानमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानै भिषण हावाहुरी चल्यो ।

    हावाहुरीका कारण मावनीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । उता, विहीबार साँझ कैलाली र त्यस आसपास आएको हावाहुरीका कारण २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । धेरै घरहरुमा क्षति पुगेको छ । दर्जनौं मानिस घाइते भएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म पनि देशका विभिन्न स्थानको मौसम पूणतया सफा हुने छैन । मौसम बदली भइरहने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    देशका उच्च हिमालि भेगमा हिमपातको संभावना समेत महाशाखाले औल्याएको छ । पश्चिमी भागमा बढी वर्षातको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी  स्थानहरुमा र मध्य तथा पुर्वीका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ

  • विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने

    विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने

    काठमाडौं नेपाल सरकारले अब विद्यूतीय स्कूटर अनिवार्य दर्ताको प्रावधान ल्याएको छ । यससँगै बिना दर्ता सडकमा कुद्ने विद्युतीय सवारी अब प्रहरीको कारवाहीमा गर्ने भएका छन् ।

    विद्युतीय स्कूटरले यातायात व्यवस्था विभागमा दर्ता भएर सवारी नम्बर लिएपछि मात्र यस्ता सवारीले वैधानिकता पाउने भएका छन् ।

    यातयात व्यवस्था विभागले २० जेठ मा ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेखि सडकमा बिना दर्ता चलिरहेका स्कूटरलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेकोथियो ।

    निर्देशनालयले बिहीबार सर्वसाधारणलाई यसको जानकारी गराएको हो । ऐनअनुसार कुनै पनि सवारी साधन खरीद गरिसकेपछि १५ दिन भित्र दर्ता गराइसक्नु पर्ने प्रावधान रहेको छ ।

  • गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा

    गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा

    काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे)लाई पक्राउ गरेको छ । उनको पृष्ठभूमि अपराधसँग जोडिएको छ । उता, आफ्ना नेता पक्राउको विरोधमा तरुण दल जिल्ला समिति, धादिङले २४ घण्टे अल्टिमेटम दिँदै बिहीबार आन्दोलन गरेको छ ।

    तरुण दलले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गर्दै राधेको रिहाईको माग गरेको थियो । प्रहरीले बिहीबार राधेलाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा पक्राउ गरेको थियो । उनको साथबाट छुरा समेत बरामद भएको प्रहरीको दावि छ ।

    जिल्ला प्रहरी कार्यलयका अनुसार गजुरी गाउँपालिका–२ ताल्ती भन्ने स्थानमा स्थानीयहरुसँग झगडा गरिरहेको स्थानबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी स्रोतका अनुसार स्थानीयले हतियारसहितको समूहले आतंकित बनाएको खबर गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । राधेको समूहले प्रहरीमाथि पनि आक्रमण गरेको बताइएको छ ।

    राधेसँगै उनको समूहका सुजन लामा, विमल शाह ठकुरी, काजी शाक्य, समीर थापा मगरलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि ज्यान मार्ने उद्योग र ड्युटीमा खटिएको प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत धादिङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

    धादिङमा हुने विभिन्न ठेक्का पट्टामा उनको संलग्नता रहने गरेको बताइएको छ । उनी प्रहरीको खोजिको सूचिमा समेत थिए । २०७० सालमा अर्का गुण्डा नाइके चरीलाई गोली चलाएपछि राधे चर्चामा आएका हुन् । चरी  २०७१ सालमा प्रहरी इन्कान्टरमा मारिएका थिए ।

  • बलियो टोली चाइनिज ताइपेईसँग नेपालको बराबरी

    बलियो टोली चाइनिज ताइपेईसँग नेपालको बराबरी

    काठमाडौं । नेपालले बलियो टोली चाइनिज ताइपेइलाई १\१ गोलको बराबरीमा रोकेको छ । बिहीबार साँझ चाइपेईको घरेलु मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले चाइनिज ताइपेसँग १\१ गोलको बराबरी खेलेको हो ।

    नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । उनले डेब्यू गरेको दोस्रो खेलमै गोल गरी उज्वल भविश्यको संकेत देखाएका छन् । बिहीबार खेलको पहिलो हाफमा गोल खाएको थियो ।

    पहिलो हाफमा चाइनिज ताइपेइले गोल गर्दै नेपाललाई दवावमा राख्यो । गोलकिपर किरण चेम्जोङले हातमा आइसकेको बल छाडिदिँदा नेपालले गोल खाएको थियो । सामान्यतया उनले यस प्रकारको गल्ती गर्दैनन् ।

    दोस्रो हाफमा भने नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । निरन्तर गोल गर्ने अवसर निकाल्दै दवावमा राखेको नेपालले खेलको ६९औं मिनेटमा गोल गरेको थियो ।

    सन्तोष तामाङको फ्रिकिकलाई अभिषेकले हेड गर्दै गोलमा परिणत गरे । त्यसपछि भने दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।

  • म्यानपावरका एजेन्ट अब अवैधानिक घोषित

    म्यानपावरका एजेन्ट अब अवैधानिक घोषित

    काठमाडौं, २३ जेठ । सरकारले म्यानपावर कम्पनीले नियुक्त गर्ने सबै एजेन्ट (दलाल)हरुलाई अवैधानिक घोषणा गरेको छ । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ मार्फत सरकारले वैदेशिक रोजगारी व्यवसायीले प्रतिनिधि राख्ने पाउने व्यवस्थालाई हटाएको हो ।

    सरकारको यस निर्णयपछि अब सबै दलालहरु अवैधानिक बनेका छन् । नेपालमा सरकार स्वयमःले म्यानपावर कम्पनीको दलाल बन्न लाइसेन्स दिने गरेको थियो । त्यसका लागि दुई लाख रुपैयाँ धरौटीको व्यवस्था थियो ।

    उता, वैदेशिक रोजगार विभागले पनि अब दलालमार्फत कुनै पनि काम नगराउन सम्पूर्ण व्यवसायीलाई सूचित गरेको छ ।

    काम गरेको पाइए कम्पनीमाथि कारवाही विभागको चेतावनी छ । वैदेशिक रोजगारीमा अधिक ठगी हुने र त्यस काममा कम्पनीहरुले दलालको उपयोग गर्दै आएका थिए ।

  • शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा

    शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा

    काठमाडौं  ।   हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु भएको छ । मार्टमा नेपालसहित ४१ देशका ७ सय पर्यटन व्यवसायी भेला भएका छन् । मार्टको तेस्रो संस्करण अहिले संचालन हुँदैछ ।

    हिमालयन ट्राभल मार्ट सन् २०१७ देखि नेपालमा शुरु भएको हो । अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा मेला सहयोगी हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले जानकारी दिए ।

    नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मार्ट आयोजना  उनले बताए । मार्टको बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

    तीन दिनसम्म चल्ने मार्टले नेपालको पर्यटन ब्राण्डमा उल्लेख्य भूमिका खेल्ने नेपाल पर्यटन बौर्डका सीइओ दीपकराज जोशीले बताए ।
    सन् २०१८ मा पर्यटक आगमन वृद्धिदरका दृष्टिबाट नेपाल संसारमै अग्रणी मुलुक रहेको भन्दै जोशीले यस मार्टले नेपाललाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    मार्टमा व्यवसायीहरुबीच विजनेश टू विजनेश भेट हुनेछ । जसका माध्यमबाट व्यवसायीले नेपालसहित हिमालयन क्षेत्रको पर्यटन प्याकेज बिक्रि गर्न सक्नेछन् ।

    मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीले भाग लिएका छन् । ६ मुलुक(नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड)बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले आफ्ना प्याकेज बिक्रि गर्नेछन् ।