Author: Vishwanews.com

  • नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा

    नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा

    काठमाडौँ, वैशाख १४ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ । आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ । रासस

  • मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

    मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

    भक्तपुर, वैशाख १४ गते । भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ ।
    मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली जडीबुटीस्थित मनोहरा खोला किनारामा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीका ८१० घरटहरा भत्काइ सकिएको भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । सो स्थानका संरचना भत्काउन आज २४ वटा जेसिबी प्रयोग गरिएका थिए । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुम्वासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो ।

    शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो । सुकुम्वासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए। आइतबार र सोमबार शान्तिपूर्ण रूपमा सुकुम्वासी बस्ती खाली गराउने काम भएको प्रहरीले जनाएको छ । रासस

  • सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गरिने

    सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गरिने

    काठमाडौँ, वैशाख १४ गते । मन्त्रिपरिषद बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज दिउँसो बसेको बैठकले सो निर्णय गर्दै सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालका अनुसार बैठकले भन्सार नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) पदमा सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

  • डिजिटल रूपान्तरणका लागि सरकार र एडिबीबिच ऋण सम्झौता

    डिजिटल रूपान्तरणका लागि सरकार र एडिबीबिच ऋण सम्झौता

    काठमाडौँ, वैशाख १४ गते । नेपाल सरकार र एसियाली विकास बैँक (एडिबी) बिच नेपाल डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक विशेष समारोहका बिच ४० मिलियन अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडिबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आर्नो कास्वाहले हस्ताक्षर गरे । अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार यो परियोजना दक्षिण एसियामै पहिलो पटक एडिबी र विश्व बैँकको पूर्ण पारस्परिक निर्भरता ढाँचा (एफएमआरएफ)अन्तर्गत सह–वित्तीय लगानीमा सञ्चालन हुन लागेको हो । परियोजनाका लागि प्रमुख ऋणदाताको रूपमा विश्व बैँकले ५० मिलियन डलर उपलब्ध गराउने छ, जसको सम्झौता यसअघि नै भइसकेको छ ।

    यस परियोजनाले सरकारी डेटा होस्टिङ तथा साइबर सुरक्षा पूर्वाधारलाई सुदृढ गर्दै डिजिटल प्रणालीको सुरक्षा र लचिलोपन अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
    आधुनिक र सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि आवश्यक डिजिटल सार्वजनिक पूर्वाधारको विकास गर्नु यसको मुख्य उद्देश्य रहेको छ । यसले सरकारी डिजिटल प्रणालीको आधुनिकीकरण, संस्थागत संरचनाको सुदृढीकरण तथा डिजिटल प्लेटफर्मको प्रयोग विस्तार गरी पारदर्शिता र नागरिकको सरकारी सेवामा पहुँच पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    विशेष गरी यो परियोजना सरकारको सोह्रौँ पञ्चवर्षीय योजना तथा प्रधानमन्त्रीको १०० दिने सुशासन सुधार कार्ययोजनासँग प्रत्यक्ष जोडिएको छ । परियोजना अन्तर्गत सरकारी डिजिटल प्लेटफर्म र साझा सेवाहरूको स्तरोन्नति गरिनुका साथै साइबर सुरक्षा तयारी र मानव स्रोत क्षमताको विकासमा जोड दिइने छ । यसमा महिला, कमजोर वर्ग र डिजिटल सेवामा पहुँच सीमित भएका समुदायलाई लक्षित गरी समावेशी डिजिटल समाधानहरू विकास गर्ने कार्यक्रम समेत समावेश छन् ।

    हस्ताक्षरपश्चात् मन्तव्य व्यक्त गर्दै एडिबीका देशीय निर्देशक आर्नो कास्वाहले नेपाल सरकारको समावेशी विकास र प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धतालाई कार्यान्वयन गर्न यो परियोजनाले जगको काम गर्ने बताए । उनले डिजिटल आधार सुदृढ भएसँगै सार्वजनिक संस्थाप्रति नागरिकको विश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरे । अर्थ सचिव डा. उपाध्यायले नेपालले डिजिटल सुशासनमा प्रगति गरे पनि संस्थागत प्रणाली र अन्तरआबद्धतामा थप सुधार आवश्यक रहेको औँल्याए । एडिबीको यो सहयोगले डिजिटल रूपान्तरणका प्राथमिकताहरूलाई तीव्रता दिने र नागरिकमैत्री सेवा विस्तारमा ठुलो मद्दत पुग्ने उनको भनाइ थियो ।

    समारोहमा अर्थ मन्त्रालयका सह-सचिव डा. धनीराम शर्मासहित परियोजनासँग सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरू, एडिबी र विश्व बैँकका प्रतिनिधिहरूको उपस्थिति थियो । सम्झौतासँगै नेपालको सार्वजनिक क्षेत्रको कार्यक्षमता अभिवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

  • सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने

    सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने

    काठमाडौँ, वैशाख १४ गते । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ । नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो दस्तावेज तयार पार्ने निर्णय गरेका थिए । मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि मार्गदर्शन गर्ने उद्देश्य राखेको छ ।

    सरकारले सार्वजनिक गरेको स्थितिपत्रलाई आगामी आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता, कमजोर कार्यान्वयन क्षमता र वित्तीय स्रोतको सीमितता जस्ता चुनौतीबिच दस्तावेज सार्वजनिक भएको हो । स्थितिपत्रले नेपालको अर्थतन्त्र अहिले अनेक चुनौतीबाट घेरिएको स्वीकार गरे पनि रूपान्तरणका लागि बहुआयामिक अवसरहरू प्रशस्त रहेको निष्कर्ष निकालेको छ ।

    दस्तावेजमा स्थिर सरकार, सुशासन र लगानीमैत्री नीतिगत वातावरण निर्माण गर्न सके निजी क्षेत्रको विश्वास पुनःस्थापित हुने र स्वदेशी तथा विदेशी लगानी बढ्ने उल्लेख गरिएको छ । यसबाट उत्पादनमूलक क्षेत्र विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ । अर्को ठुलो सम्भावनाका रूपमा जलविद्युत् क्षेत्रलाई प्रस्तुत गरिएको छ । नेपालसँग विशाल जलस्रोत रहेकाले सस्तो र भरपर्दो ऊर्जा उत्पादनमार्फत औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार तथा विद्युत् निर्यातबाट स्थिर वैदेशिक आम्दानी प्राप्त गर्न सकिने स्थितिपत्रमा उल्लेख छ । क्षेत्रीय विद्युत् व्यापार विस्तारले हरित ऊर्जा बजारमा नेपालको भूमिका अझ बलियो बन्ने जनाइएको छ ।

    सरकारले प्राकृतिक, धार्मिक, सांस्कृतिक र हिमाली सम्पदा नेपालको अर्को बलियो आर्थिक आधार भएको औँल्याएको छ । हिमाल, संस्कृति, समुदायमा आधारित पर्यटनको एकीकृत विकासमार्फत ग्रामीण क्षेत्रमा आय र रोजगारी सिर्जना गर्न सकिने स्थितिपत्रमा उल्लेख छ । पर्यटन पूर्वाधार, सेवा गुणस्तर, आवागमन सहजता र गन्तव्य व्यवस्थापन सुधार गर्न सके अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मकता बढ्ने स्थितिपत्रको निष्कर्ष छ ।

    त्यसैगरी यो दस्तावेजमा कृत्रिम बौद्धिकता, रोबोटिक्स, सूचना प्रविधि सेवा, बिजनेस प्रोसेस आउटसोर्सिङ तथा डिजिटल उद्यमशीलतालाई आगामी दशकको प्रमुख अवसरका रूपमा राखिएको छ । न्यून पुँजीमा उच्च मूल्य सिर्जना गर्ने यस्ता क्षेत्रले नेपाली युवा शक्तिलाई विश्व बजारसँग जोड्न सक्ने सम्भावना औँल्याइएको छ ।

    स्थितिपत्रले कृषि क्षेत्रको आधुनिकीकरणमार्फत उत्पादन, आय र निर्यात बढाउन सकिने स्पष्ट पारेको छ । उच्च मूल्यका बाली, पशुपालन, बगैँचा विकास तथा कृषि प्रशोधन उद्योगमा लगानी बढाएर आयात प्रतिस्थापन सम्भव रहेको उल्लेख गरिएको छ । त्यस्तै औद्योगिक विकास, आपूर्ति शृङ्खला सुदृढीकरण, विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्लस्टर तथा व्यापार सहजीकरणलाई निर्यातमुखी अर्थतन्त्र निर्माणका प्रमुख साधन भनिएको छ । भौगोलिक अवस्थाको लाभ उठाउँदै नेपाललाई क्षेत्रीय ‘ट्रान्जिट ट्रेड हब’ बनाउने सम्भावना पनि स्थितिपत्रले औँल्याएको छ ।

    सरकारले यातायात, ऊर्जा, सिँचाइ र डिजिटल पूर्वाधारमा तीव्र लगानी बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडेलबाट ठुला आयोजना अघि बढाउने सम्भावना रहेको दस्तावेजमा उल्लेख छ । त्यसैगरी वार्षिक रूपमा ठुलो रकम भित्र्याउने विप्रेषण (रेमिट्यान्स) लाई उपभोगमा मात्र सीमित नराखी उद्यमशीलता, सिप विकास र उत्पादन क्षेत्रमा जोड्नुपर्नेमा जोड दिइएको छ । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको अनुभव र सिपलाई घरेलु उत्पादनमा उपयोग गर्ने नीति आवश्यक रहेको बताइएको छ ।

    वित्तीय क्षेत्रतर्फ वित्तीय समावेशीकरण, डिजिटल बैंकिङ, दीर्घकालीन लगानी उपकरण विस्तार गरी बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्ने सिफारिस गरिएको छ । स्थितिपत्रमा मुलुकभित्र उपलब्ध खनिज, जल, जमिन, जङ्गल र जडीबुटीको दिगो उपयोगबाट आय, उत्पादन र रोजगारी बढाउन सकिने उल्लेख छ । जैविक तथा पर्यावरणीय सन्तुलन कायम राख्दै स्रोत उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।

    अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने स्थितिपत्रमा सार्वजनिक गरिएको छ । पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार एक सय अर्ब अमेरिकी डलर नजिक पुर्‍याउने राखिएको छ । यसका लागि पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याउने राष्ट्रिय गौरवका आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने, कृषि–उद्योग–पर्यटनबीच अन्तरसम्बन्ध बलियो बनाउने, गुणस्तरीय पर्यटन पूर्वाधार निर्माण गर्ने तथा डिजिटल अर्थतन्त्र विस्तार गर्ने आधारहरू प्रस्तुत गरिएको छ ।

    कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा नदिनुको कारण कमजोर कार्यान्वयन क्षमता, सीमित वित्तीय स्रोत, प्राथमिकता निर्धारणमा कमजोरी तथा स्रोतको कुशल विनियोजन हुन नसक्नु रहेको पनि स्थितिपत्रमा उल्लेख छ । रासस

  • पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला

    पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने सर्वोच्च अदालतको फैसला

    काठमाडौँ, वैशाख १४ गते । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ । कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संवैधानिक इजालसले आज यसअघि सुविधा पाउने गरी गरी भएको व्यवस्था खारेज हुने फैसला गरेको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वपदाधिकारीहरूलाई विदेशमा उपचार गराउदा लागेको खर्च सरकारले व्यहोर्ने नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ को दफा १२ (१) को व्यवस्था खारेज गरिएको हो ।

    उक्त कार्यविधिमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीश, पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्वसांसद, पूर्वसंवैधानिक निकायका पदाधिकारीको निश्चित सीमा तोकी विदेशमा गराएको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था रहेको थियो । पूर्वविशिष्ट पदाधिकारीको उपचार खर्च कटौती गर्न माग गर्दै विसं २०७९ मा अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपाल (स्वागत) रिट निवेदन दायर गरेका थिए । स्वदेशमा उपचार गर्दा भने सरकारले खर्च दिने व्यवस्था यथावत छ । रासस

  • विपद्जन्य घटनाबाट एकैदिन दश जनाको मृत्यु

    विपद्जन्य घटनाबाट एकैदिन दश जनाको मृत्यु

    काठमाडौंँ, वैशाख १४ गते । विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य २५ जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ । यस्तै, आगलागीबाट एक, लेक लागेर दुई र सर्पदंश तथा जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएको उनले जानकारी दिए ।


    यस अवधिमा चट्याङका ३८ वटा घटना भएकामा १९ जना घाइते भएका छन् । ती घटनाबाट रु ३८ लाखको भौतिक क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशका विभिन्न ५२ जिल्लामा विपद्का घटना भएको थिए । प्राधिकरणका अनुसार पछिल्ला १४ दिनमा मात्रै विपदबाट ३३ जनाको मृत्यु भएको छ भने एक सय २१ जना घाइते भएका छन् । यस अवधिका पाँच सय ४४ वटा विपद्का घटना भएका थिए । रासस

  • एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन

    एनटिसी प्रिपेडका सबै प्याकेज अब ३० दिन

    काठमाडौँ, वैशाख १४ गते । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । एनटिसीले आफ्नो ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको हो । यो अवधिका सबै प्याकेज वैशाख ११ गतेबाट केही मूल्य समायोजनसहित ३० दिन अवधिको बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए । यस व्यवस्थाबाट एनटिसीका ग्राहकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ । यो अवस्था लागू भएसँगै अब महिनामा एक पटक रिचार्ज गर्दा पुग्नेछ, जसले प्रयोगलाई सहज बनाउने विश्वास गरिएको छ ।

    उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएकाले ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्ने छन् । यसले खर्च व्यवस्थापनलाई पनि सहज बनाउने र उपभोक्ता सन्तुष्टि बढाउने विश्वास गरिएको छ। एनटिसीको यस्तो सेवालाई उपभोक्तामैत्री सुधारको रूपमा लिइएको छ । यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणलाई समेत थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

  • मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा गरी मारिए

    मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा गरी मारिए

    १४ वैशाख, काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते भएका रक्षामन्त्रीको मृत्यु भएको समाचार प्रसारण गरेको छ ।

    मालीका राष्ट्रपति असीमी गोइताको निवासलाई पनि लक्षित गरेर आक्रमण भएको बताइएको छ । उनलाई सुरक्षित स्थानमा लगिएको छ । माली यतिबेला हिंसा र अस्थिरताबाट गुज्रिरहेको छ । राजधानी बमाको र अन्य कयौं सहरहरूमा चरमपन्थी समूहहरुले शनिबार बिहानैदेखि आक्रमण गर्दै आएका छन् । सैन्य शासन रहेको मालीमा सैनिक ब्यारेक, रक्षामन्त्रीको घर र अन्य क्षेत्रमा आक्रमण भएको भएको थियो ।

    चरमपन्थी संगठन आजावाद लिबरेसन फ्रन्ट (एफ.एल.ए.ले रूसी भाडाका सिपाही पछि हटेपछि सहर अब आफ्नो कब्जामा रहेको दाबी गरेको छ ।
    पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय एउटा प्रमुख विद्रोही तथा चरमपन्थी समूह ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.)ले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणमा आफ्नो संलग्नता रहेको जनाएको थियो । उसले मालीको उत्तरी क्षेत्रमा सक्रिय अर्को विद्रोही समूह एफ.एल.ए.सँग समन्वय गरेर आक्रमण गरेको पुष्टि गरेको थियो ।

    उनीहरूले देशका नेता जनरल गोइटा र रक्षामन्त्री कमाराको घर लगायतका सैन्य अखडाहरूलाई निशाना बनाएको बताएका थिए । अलजजिराले यस स्तरको समन्वयात्मक आक्रमणलाई ‘अभूतपूर्व’ भन्दै सैन्य पङ्क्तिमा ‘त्रासको वातावरण’ सिर्जना भएको बताएको छ । युरोपेली काउन्सिल अन फरेन रिलेसन्सका अफ्रिका निर्देशक एलेक्स वाइन्सका अनुसार मालीका अधिकारीहरू यस प्रकारको आक्रमणबाट आश्चर्यचकित भएको बताएका छन् । उनले भनेका छन्, ‘यसले देखाउँछ कि विद्रोही समूहहरू घातक छन् र उनीहरू मालीका अधिकारीहरूलाई कमजोर बनाउन र विभाजित गर्न चाहन्छन् ।’

    सन् २०२० र २०२१ को कु (सैन्य विद्रोह)पछि सत्तामा आएका आसिमी गोइटाले सुरक्षा पुनस्स्थापना गर्ने वाचा गरे पनि देश अझै संघर्षरत छ । मालीले हाल फ्रान्ससँगको सम्बन्ध तोडेर रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ । यद्यपि, रुस–युक्रेन युद्धका कारण केही रुसी सिपाहीहरू मालीबाट फिर्ता बोलाइएकाले सुरक्षा स्थितिमा असर परेको बताइएको छ ।

  • वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

    वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर

    रासस
    १४ वैशाख, राँझा (बाँके) । जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् ।
    प्यास मेटाउन पुग्ने वन्यजन्तु नहरमै फसेर मर्ने गरेका हुन् । सिक्टा सिँचाइको पश्चिमी मूलनहरको अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्रमा पर्ने भएकाले जोखिम बढ्दो छ । गर्मीयाम सुरु भएसँगै हरेक दिनजसो पानी पिउन नहरमा पुग्ने वन्यजन्तु नहरमा मर्ने गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले बताए । उनका अनुसार पछिल्लोपटक शनिबारमात्र एकैदिन हरलाफाँटा सामुदायिक वन क्षेत्रको नहरमा चारवटा चित्तल फसेका थिए ।

    स्थानीय वनका पदाधिकारी, स्थानीय, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको छ । यसअघि राप्तीसोनारी गाउँपालिका–२ खोरियास्थित नहरमा शुक्रबार पानीमा फसेको मृगलाई मारेर मासु भागबन्गडा गरेर घरतिर जाँदै गर्दा स्थानीय तीन जना पक्राउ परेका छन् । मासु बोकेर घर जाँदै गर्दा उनीहरूलाई वन क्षेत्रमै बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वनका कर्मचारी र स्थानीयले पक्राउ गरेका थिए ।

    डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार वन्यजन्तु पानी पिउनका लागि नहरमा जाने गर्दछन् । पछिल्लो समयमा त डढेलोका कारण पनि धेरै वन्यजन्तु नहरमा फस्ने गरेका छन् । अहिले बाँके राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय, सामुदायिक तथा अन्य वनहरूमा डढेलो भइरहेका कारण पनि चित्तल, मृग, नीलगाई, बँदेलगायतका वन्यजन्तु भाग्दै जाँदा नहरमा फस्ने घटनामा वृद्धि भएको उनको भनाइ छ ।

    ‘सिक्टा सिँचाइको पश्चिमी मूल नहरको अधिकांश स्थानमा वन क्षेत्र छ, यहाँ विभिन्न किसिमका वन्यजन्तु छन् । बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्र पनि यहाँ पर्दछ’, वरिष्ठ वन अधिकृत सुवेदी भन्छन्, ‘नहर वन्यजन्तुमैत्री छैन, हालसम्म सयौँ वन्यजन्तु नहरमा फसेका छन्, कतिपय घटना जानकारी हुँदा उद्धार गरिएका छन् भने कैयौँपटक लुकीछिपी चोरी सिकारी पनि हुने गरेका छन् ।’ वन्यजन्तुलाई पानी पिउनका लागि वनजङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन । त्रिशक्ति र भगवती सामुदायिक वनमा पानीसहितका पोखरी रहेका छन् तर ती पर्याप्त छैनन् ।

    सिक्टा सिँचाइले नहरमा वन्यजन्तुलाई पानी पिउनका लागि केही स्थानमा घाट बनाए पनि ती घाट सुरक्षित र भरपर्दा नरहेको राप्तीसोनारी गाउँपालिका-२ का अगुवा मदन वली बताउँछन् । गुणस्तरीय घाट निर्माण गरेर घाटबाहेक नहरको दुवैतर्फ तारजाली निर्माण गर्न यो समस्या दीर्घकालीन रूपमा समाधान हुने उनको भनाइ छ ।

  • कक्षा १२ को परीक्षा आजदेखि

    कक्षा १२ को परीक्षा आजदेखि

    १४ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो । परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ ।

  • सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

    सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

    काठमाडौँ, वैशाख १४ गते । लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै लागु गरेको जनाएको छ ।

    कार्यविधि अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी ‘चक्रीय कोष’ स्थापना गरिएको छ । उक्त कोषमार्फत समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गरिने भएको छ । कोषमा नेपाल सरकारबाट प्राप्त रकम, सहकारीको सम्पत्ति बिक्रीबाट उठेको रकम, सञ्चालक तथा जिम्मेवार व्यक्तिबाट असुल गरिएको रकम तथा अन्य स्रोतबाट प्राप्त रकम जम्मा गरिने व्यवस्था गरिएको छ । कार्यविधिले पाँच लाख रुपियाँसम्म बचत भएका व्यक्तिलाई ‘साना बचतकर्ता’ का रूपमा परिभाषित गर्दै उनीहरूलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ ।

    यस्तै एकल महिला ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ ।
    बचतकर्ताले रकम फिर्ता लिन दाबी निवेदन दिनुपर्ने तथा समितिले सार्वजनिक सूचना जारी गरेपछि आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

    आवश्यक कागजातमा नागरिकता प्रमाणपत्र, सेयर सदस्यता वा प्रमाणपत्र, प्यान नम्बर, राष्ट्रिय परिचयपत्र, बचत विवरण, बैङ्क खाता नम्बर, ऋण विवरणलगायत समावेश रहनुपर्ने व्यवस्था छ । रकम सिधै बचतकर्ताको बैङ्क खातामा पठाइने र फिर्ता गर्दा समस्याग्रस्त घोषणा हुनुअघिको मौज्दातलाई आधार मानिने कार्यविधिमा उल्लेख छ ।

    कोषमा पर्याप्त रकम नभएमा सबै बचतकर्तालाई दामासाही (अनुपातका आधारमा) रकम वितरण गर्न सकिने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।
    कार्यविधि अनुसार ऋण नतिरेका बचतकर्ता, सहकारीका सञ्चालक तथा व्यवस्थापक र उनीहरूको एकाघरपरिवार, अपचलनमा संलग्न व्यक्ति तथा अदालतमा मुद्दा विचाराधीन रहेका दाबीकर्ताले तत्काल रकम फिर्ता नपाउने कार्यविधिमा उल्लेख छ ।

    समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति र बैङ्क खाता रोक्का गरिने भएको छ । आवश्यक परे उनीहरूको तथा परिवारको नाममा रहेको सम्पत्ति लिलामी गरी बचतकर्ताको रकम फिर्ता गरिने कार्यविधिमा उल्लेख छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, वैशाख १४ गते । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

  • राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

    राष्ट्रपति पौडेल आज तनहुँ जाँदै

    १४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) आफ्नो गृह जिल्ला तनहुँ जाँदैछन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ शिलान्यासमा राष्ट्रपति पौडेल सहभागी हुँदैछन् ।

    भानु नगरपालिकाका सूचना अधिकारी कृपाहरी लौडारीका अनुसार राष्ट्रपति पौडेलले आज बिहान १० बजे भानु नगरपालिका–४, चुँदी रम्घामा एक विशेष समारोहका बिच उद्यानको जग बसाल्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलकै परिकल्पना र पहलमा आयोजनाले मूर्त रूप लिन लागेको हो ।

    राष्ट्रिय गौरवको आयोजना यसअघि घोषणा भएर पनि विविध प्राविधिक कारणले अगाडि बढ्न नसकेको यो बहुप्रतीक्षित आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सरकारले विनियोजन गरेको २० करोड रुपियाँ बजेटबाट पहिलो चरणको निर्माण कार्य सुरु हुन लागेको जानकारी दिए ।


    गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ । क्रमशः यहाँ सातै प्रदेशका प्रमुख धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वहरूको सालिक स्थापना गरिनेछ । सांस्कृतिक तीर्थस्थलको रूपमा विकास भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले यो उद्यान केवल एक भौतिक संरचना मात्र नभई विश्वभर छरिएका नेपाली भाषीहरूका लागि एउटा सांस्कृतिक तीर्थस्थल हुने बताइन् । “राष्ट्रपतिज्यूको हातबाट हुने यो शिलान्यासले रम्घाको मुहार फेर्ने ऐतिहासिक प्रस्थानविन्दु तय गर्नेछ । उपप्रमुख गोतामेले भनिन् ।


    नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाउनुभएका आदिकवि भानुभक्त आचार्यको योगदानलाई जीवन्त राख्न र भावी पुस्ताका लागि अनुसन्धानको केन्द्र बनाउन यो उद्यान कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । शिलान्यास समारोहलाई भव्य बनाउन स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजसँग आवश्यक समन्वय भइसकेको नगरपालिकाले जनाएको छ । राष्ट्रपतिको आगमनलाई लिएर यतिबेला तनहुँको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने स्थानीयबासीहरूमा उत्साह छाएको छ ।

  • इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठुलो क्षति

    इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठुलो क्षति

    बग्दाद, वैशाख १३ गते । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन र क्षेप्यास्त्रबाट ८०९ आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ती आक्रमणमा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्ति अनुसार अधिकांश आक्रमण नागरिक क्षेत्रलाई लक्षित गरेर गरिएको थियो, यद्यपि क्षेत्रले जारी क्षेत्रीय द्वन्द्वमा तटस्थता घोषणा गरेको छ ।

    विज्ञप्तिमा नागरिक र निजी क्षेत्रले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति बेहोरेको उल्लेख गरिएको छ । एरबिल प्रान्तमा सबैभन्दा धेरै ४७७ आक्रमण भएका छन्, जसमा ४१९ ड्रोन आक्रमण र ५८ क्षेप्यास्त्र आक्रमण समावेश छन् । ती आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।

    कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न ‘आधारहीन बहानामा’ नागरिक क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । यी आक्रमणहरू फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि क्षेत्रीय तनाव बढेका बेला भएका हुन्, जसको प्रतिक्रिया स्वरूप इरान र उसका सहयोगीहरूले मध्यपूर्वभर अमेरिकी र इजरायली स्वार्थलाई लक्षित गर्दै आक्रमण गरेका छन् । रासस-सिन्ह्वा

  • कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

    कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

    दबोगोटा, वैशाख १३ गते । कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान(अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुडिरहेको बसमा बम प्रहार गरिएको थियो, जसले बसको छाना र झ्यालमा गम्भीर क्षति पुर्याएको छ साथै राजमार्गमा पनि नोक्सानी भएको देखिन्छ ।

    प्रत्यक्षदर्शी चालकका अनुसार हतियारधारी व्यक्तिले एक ट्रक र बस अपहरण गरी सडक अवरुद्ध बनाएका थिए र ती सवारी साधनमा एक विद्रोही समूहसँग सम्बन्धित नारा लेखिएका थिए । काउका विभागका गभर्नर अक्टाभियो गुज्मानले यसलाई नागरिकमाथिको अन्धाधुन्ध आक्रमण भन्दै कडा निन्दा गरेका छन् र सुरक्षा निकाय घटना स्थलमा खटिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा जनताको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका छन् । रासस-सिन्ह्वा

  • इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति

    इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति

    तेहरान, वैशाख १३ गते । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । उनले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति सङ्केत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भने, “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन ।”

    कुराकानीका क्रममा उनले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता र युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप लगाए । अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन भएको र यस्ता कार्य र धम्कीपूर्ण भनाइले शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोर पार्ने इरानका राष्ट्रपति पेजेश्कियानले बताए ।


    पेजेश्कियानले इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको र अमेरिका वा इजरायलको कुनै पनि नयाँ टकरावको अवस्थाले क्षेत्रीय र विश्वव्यापी स्थिरतालाई असर गर्ने गम्भीर परिणाम हुन सक्ने बताए । उनले इरानले आफ्ना छिमेकी देशसँग राम्रो सम्बन्ध र आपसी सम्मानका आधारमा सम्बन्ध बलियो बनाउन चाहेको पनि बताए । यी देशले बाह्य हस्तक्षेपबाट टाढा रहेर क्षेत्रीय शान्ति र सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । रासस–एएफपी

  • चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    प्यूठान, वैशाख १३ गते । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो । ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । शवको सोमबार विहान पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ । चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन ।

    गौमुखी गाउँपालिका वडा ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

  • लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

    मुस्ताङ, वैशाख १३ गते । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आज जोमसोममा लेक लागेर मृत्यु भएको हो । भारतबाट भानु मठ्ठीसहित २४ जनाको टोली मुक्तिनाथ दर्शनका लागि जोमसोम आइपुगेको थियो । मुस्ताङको घरपझोङ गाउँपालिका९(४ जोमसोमस्थित होटल प्राइड अगाडि गाडीबाट ओर्लिने क्रममा मठ्ठीलाई लेँक लागेर अचानक श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भारतीय पर्यटक मठ्ठीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जोमसोम पुर्‍याएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका उनले जानकारी दिए । योसँगै मुस्ताङमा चालु आवको भदौदेखि हालसम्म पाँच विदेशी पर्यटकसहित आठ जनाको हाइ अल्टिच्युडका कारण लेँक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार भारतीय पर्यटक चार, मेक्सिकोका एक र तीन जना नेपाली पर्यटकको लेँक लागेर मृत्यु भएको हो । रासस

  • एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

    एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

    काठमाडौँ, वैशाख १३ गते । तीन महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ । नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

    खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार छानबिन समिति गठन गरिएको हो । छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको छ । राखेपका सदस्यसचिव राम चरित्र मेहताले देशको कानुनभन्दा माथि कोही नरहेकोले एन्फाको विषयमा छानबिन भइरहेको बताए ।

    ‘‘राखेपको छानबिन उपसमितिले विभिन्न राष्ट्रिय खेल सङ्घमा देखिएको विवाद मिलाउने काम गरिरहेको छ । अब हामी खेलकुदमा विगतदेखि भइरहेको खराब राजनितिक गतिविधि अन्त्य गर्ने अभियानमा छौँ । कानुन सबैले पालना गर्न आवश्यक छ,’’ मेहताले भने ।


    राखेपले आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले ‘अर्ली इलेक्सन’ गर्न लागेपछि गत चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
    तर एन्फा अध्यक्ष नेम्वाङलगायत केही पदाधिकारी निलम्बनकै क्रममा विश्व फुटबल महासङ्घ (फिफा) कंग्रेसमा भाग लिन क्यानडा जाने तयारीमा थिए ।

  • सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

    सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

    काठमाडौँ, वैशाख १३ गते । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । शङ्खरापुर नगरपालिका–५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का ३४ वर्षीय वीरबहादुर तामाङलाई शुक्रबार पक्राउ गरिएको हो ।

    उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात् प्रहरीले जवाफी ‘फायर’ गर्दा घाइते भएका निजको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

  • गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने काम आज पनि निरन्तर

    गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने काम आज पनि निरन्तर

    काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ । शनिबार अबेर रातिसम्म जारी घरटहरा भत्काउने कार्य आज पुनः सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाको महानगर बलका प्रमुख विष्णु जोशीका अनुसार शनिबार धेरै संरचना हटाउन बाँकी रहेकाले आज पुनः हटाउने अभियान अघि बढाइएको हो ।

    राति अबेरसम्म धेरै संरचना हटाउन बाँकी रहेकाले सो कार्यलाई आज पनि निरन्तरता दिइएको उनले बताए । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा निर्माण गरिएका घरटहरा भत्काउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नगर प्रहरी परिचालन गरिएको थियो ।

    सरकारको निर्देशन अनुसार सार्वजनिक तथा सरकारी जमिनमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाउने कार्य भइरहेको छ । महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनका लागि यस्तो अभियान आवश्यक रहेको जनाएको छ । महानगरपालिकाले आगामी दिनमा पनि यस्ता संरचना हटाउने अभियानलाई निरन्तरता दिइने जनाएको छ । रासस

  • अतिक्रमित संरचना हटाउने अभियान देशभर विस्तार

    अतिक्रमित संरचना हटाउने अभियान देशभर विस्तार

    काठमाडौँ, वैशाख १३ गते । काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ । सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरालगायत संरचना हटाउन सुरु गरेको हो । शनिबार काठमाडौँका थापाथली, सिनामङ्गल–गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा अवैध संरचना हटाइएको थियो ।

    यस्तै, आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाइरहेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोवासको उचित व्यवस्थापन गरिने बताउनुभयो ।

    अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन भएका नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोवासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ ।

    बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका नागरिकका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । अतिक्रमित बस्ती खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका प्राधिकरणले जनाएको छ । यसरी सम्पर्कमा आएकाहरूलाई तत्कालका लागि विभिन्न होटलमा बसोवास र खानपानको व्यवस्था मिलाइएको छ ।

    अभियान अन्तर्गत काठमाडौँ उपत्यकाका साथै रूपन्देही, नुवाकोट, पर्सालगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित सरकारी जग्गा अक्रिमण गरी निर्माण गरिएका घरटहरा आज हटाइको छ । बुटवल उपमहानगरपालिकाले शनिबार नै सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना आफैँ हटाउन आग्रह गरेको थियो ।

    आजै नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा सरकारी जग्गा कब्जा गरी निर्माण गरिएका एक दर्जन सरकारी तथा ८६ निजी संरचना ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ले हटाएको छ । यस्तै, नारायणी सिँचाइ तथा व्यवस्थापन कार्यालयले आज पर्साको गण्डक नहरको डिलमा अतिक्रण गरेर निर्माण गरिएका घर, टहरालगायत संरचना हटाइएको छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको समन्वयमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने काम गरिएको वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए ।
    प्रहरी महानिरीक्षकबाट मनोहरा क्षेत्रको निरीक्षण

    यसैबिच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मनोहरा नदी किनारका अतिक्रमित बस्ती खाली गराउने कार्यको अवलोकन गरे । त्यसक्रममा उनले भूमिहीन नागरिकलाई उचित व्यवस्थापन र सुरक्षित स्थानमा सार्ने कामबारे जानकारी लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बस्ती हटाउने क्रममा शनिबार मनोहरा खोला किनारमा प्रहरीसँग सामान्य झडप भएको थियो । त्यस क्रममा स्थानीयको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका थिए । आज भने यो समाचार तयार गर्दासम्म शान्तिपूर्ण रूपमा बस्ती खाली गराउने क्रम चलिरहेको छ ।

    अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह

    मानवअधिकार एलायन्सले सुकुमवासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्थाविना हटाइनु मानवीय र मानवअधिकारको दृष्टिले उचित नभएको जनाएको छ ।
    सङ्गठनका अध्यक्ष विदुर सुवेदीद्वारा जारी विज्ञप्तिमा बस्तीबाट हटाइएका परिवारमा देखिएको भय, असुरक्षा र अनिश्चतताले राज्य र नागरिकबिचको विश्वासलाई कमजोर बनाउने उल्लेख छ । एलायन्सले प्रभावित समुदायसँग खुला, विश्वासपूर्ण र अर्थपूर्ण संवादको सुरुआत गरी बलपूर्वक विस्थापन नगर्न आग्रह गरेको छ । रासस

  • मनोहरमा आज दिनभर भत्काइयो सुकुम्बासी बस्ती

    मनोहरमा आज दिनभर भत्काइयो सुकुम्बासी बस्ती

    काठमाडौँ, वैशाख १३ गते । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । मन्त्रालयले आइतबार एक प्रेस नोट जारी गर्दै नागरिकको सुरक्षाका लागि स्थानान्तरण प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाएको हो ।

    मन्त्रालयका अनुसार सहारा नभएका र वास्तविक समस्यामा परेका नागरिकका लागि अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न होटल तथा लजमा बस्ने र खाने लगायतका आधारभूत सुविधाको प्रबन्ध मिलाइएको छ । स्थानान्तरणका क्रममा कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

    स्थानान्तरणलाई व्यवस्थित बनाउन नागरिकहरूको सामान ढुवानीको जिम्मा नेपाल प्रहरीले लिएको छ । मन्त्रालयका अनुसार नागरिकका सामान सुरक्षित रूपमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्‍याउने व्यवस्था मिलाइएको छ । त्यहाँ सामानको विस्तृत अभिलेख राखेपछि सम्बन्धित व्यक्तिलाई यातायातको साधनमार्फत तोकिएको होटल वा लजमा पुर्‍याइने छ ।

    मन्त्रालयले नागरिकको धनमालको सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै स्थानान्तरण कार्यमा सहयोग गर्न सबैमा आग्रह समेत गरेको छ । जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सरेपछि नागरिकले तत्कालका लागि आवश्यक पर्ने खाना र आवासको चिन्ता लिनु नपर्ने मन्त्रालयको दाबी छ ।

  • मालीको राजधानीमा भीषण आक्रमण, अहिलेसम्म के छ अपडेट ?

    मालीको राजधानीमा भीषण आक्रमण, अहिलेसम्म के छ अपडेट ?

    १३ वैशाख, काठमाडौं । मालीको राजधानी बामाको सहित देशका विभिन्न स्थानमा एकैसाथ आक्रमण भएको छ । सैन्य शासन रहेको मालीमा शनिबार बिहानै ‘आतंकवादी समूहहरू’ले सैनिक ब्यारेक र अन्य क्षेत्रमा आक्रमण गरेको सेनाले जनाएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेभन्दा केही समयअघि मालीको मुख्य सैन्य आधार ‘काटी’ नजिकै दुईवटा ठूला विस्फोट र निरन्तर गोलाबारीको आवाज सुनिएको थियो । यो सैन्य आधार मालीका सैन्य शासक जनरल आसिमी गोइटाको निवास पनि हो । राष्ट्रपति आसिमी गोइटा हाल कहाँ छन् भन्ने स्पष्ट जानकारी आइसकेको छैन ।

    काटीका बासिन्दाहरूका अनुसार रक्षामन्त्री जनरल सादियो कमाराको घरलाई समेत निशाना बनाइएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार कमाराको घरमा क्षति पुगेको छ । एएफपीले भने रक्षामन्त्री त्यस समयमा घरमा नरहेको र सुरक्षित रहेको बताएको छ । बामाको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि भारी हतियार र स्वचालित राइफलको आवाज सुनिएको थियो, जुन शहरको केन्द्रबाट करिब १५ किलोमिटर टाढा पर्दछ ।

    देशका अन्य भागमा अशान्ति

    राजधानीमा आक्रमण भएकै समयमा मध्य मालीको सेभारे, उत्तरी शहर किडल र गाओमा पनि यस्तै किसिमको अशान्ति देखिएको अलजजिराले जनाएको छ । पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय एउटा प्रमुख विद्रोही तथा चरमपन्थी समूह ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.)ले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणमा आफ्नो संलग्नता रहेको जनाएको छ । उसले मालीको उत्तरी क्षेत्रमा सक्रिय अर्को विद्रोही समूह एफ.एल.ए.सँग समन्वय गरेर आक्रमण गरेको पुष्टि गरेको छ ।

    उनीहरूले देशका नेता जनरल गोइटा र रक्षामन्त्री कमाराको घर लगायतका सैन्य अखडाहरूलाई निशाना बनाएको बताएका छन् । अलजजिराले यस स्तरको समन्वयात्मक आक्रमणलाई ‘अभूतपूर्व’ भन्दै सैन्य पङ्क्तिमा ‘त्रासको वातावरण’ सिर्जना भएको बताएको छ । युरोपेली काउन्सिल अन फरेन रिलेसन्सका अफ्रिका निर्देशक एलेक्स वाइन्सका अनुसार मालीका अधिकारीहरू यस लहरको आक्रमणबाट आश्चर्यचकित भएका देखिन्छन् । उनले भनेका छन्, ‘यसले देखाउँछ कि विद्रोही समूहहरू घातक छन् र उनीहरू मालीका अधिकारीहरूलाई कमजोर बनाउन र विभाजित गर्न चाहन्छन् ।’

    सन् २०२० र २०२१ को कु (सैन्य विद्रोह)पछि सत्तामा आएका आसिमी गोइटाले सुरक्षा पुनःस्थापना गर्ने वाचा गरे पनि देश अझै सङ्घर्षरत छ । मालीले हाल फ्रान्ससँगको सम्बन्ध तोडेर रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ । यद्यपि, रुस–युक्रेन युद्धका कारण केही रुसी सिपाहीहरू मालीबाट फिर्ता बोलाइएकाले सुरक्षा स्थितिमा असर परेको बताइएको छ । मालीको सेनाले बिहान ११ बजेपछि स्थिति नियन्त्रणमा रहेको र विद्रोहीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।

  • आरोहण अनुमतिबाट एक अर्ब माथि रोयल्टी संकलन

    आरोहण अनुमतिबाट एक अर्ब माथि रोयल्टी संकलन

    काठमाडौँ, वैशाख १३ गते । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण अनुमतिबाट एक अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि शनिबारसम्म जारी भएका ३० हिमाल आरोहण अनुमतिबाट एक अर्ब दुई करोड ८८ लाख ९३ हजार २३६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।

    विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीसँगै यस वर्ष राजस्व सङ्कलनमा समेत बढेको छ । उनका अनुसार शनिबारसम्म १११ समूहका ७०१ पुरुष र ३४३ महिना गरी ९४४ आरोहीले हिमाल चढ्ने अनुमति लिएका छन् । यो सिजनमा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि सबैभन्दा बढी राजस्व सङ्कलन सगरमाथाबाट ८९ करोड तीन लाख ९३ हजार ९२५ रुपियाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।


    सगरमाथा आरोहण गर्न मात्रै यो सिजनमा ४१ समूहका ३१३ पुरुष र ९७ महिला गरी ४१० आरोहीले अनुमति लिएको उनले बताए । विभागले गत फागुन १७ देखि यो यामका लागि आरोहण अनुमति खुला गरेकोमा शुक्रबारसम्म नेपालसहित ७६ देशका आरोहीले अनुमति लिएका हुन् । जसमध्ये सगरमाथा आरोहणका लागि अनुमति लिएका नेपालसहित ५४ देशका आरोही सगरमाथा आधार शिविरमा आरोहणको बाटो खुल्ने प्रतीक्षामा छन् ।

    यस याममा हिमाल आरोहण गर्न सबैभन्दा बढी चीनबाट १२७, अमेरिकाबाट एक सय, भारतबाट ७१, जर्मनीबाट ६५, बेलायतबाट ६४, रुसबाट ६० जनाले अनुमति लिएका छन् । सरकारले २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ देखि नयाँ शुल्क कायम गरेपछि शरदयामदेखि आरोहण शुल्कमा बढोत्तरी भएको हो ।

    विगतका शरद ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु भएपछि यस वर्षको उक्त याममा राजस्व तेब्बरले बढेर साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको थियो ।

  • अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    काठमाडौँ, वैशाख १३ गते । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो । सन् २०१७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो । चेर्नोबिल आणविक दुर्घटना भएको यो ४० औँ वर्ष हो । युक्रेनस्थित चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि रेडियोधर्मी बादल सोभियत सङ्घका विशाल भू–भागमा फैलिएको थियो । ती हाल बेलारुस, युक्रेन र रुसी महासङ्घका क्षेत्रहरूमा पर्दछन् । उक्त दुर्घटनाबाट ती तीन देशका ८४ लाख मानिस विकिरणको प्रभावमा परेका थिए ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार चेर्नोबिल दुर्घटनापछि तीन दशक बितिसक्दा पनि दीर्घकालीन गम्भीर असर रहेको र प्रभावित समुदायले अझै सहयोगको आवश्यकता महसुस गरिरहेको छ । चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसङ्घ, बेलारुस, रुसी महासंघ र युक्रेन सरकारहरूले प्रभावित क्षेत्रको पुनःस्थापना तथा विकासका प्रयासहरू अघि बढाउँदै आएका छन् । प्रारम्भिक मानवीय सहयोगपछि प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, विकिरणको जोखिम घटाउने, प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य असरबारे निरन्तर अध्ययन हुँदै आएका छन् । रासस

  • इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

    इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

    तेहरान, वैशाख १२ गते । इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेटको अवरोधले ५७ दिन पूरा गरेको छ । यो एक विश्वव्यापी रेकर्ड हो । युद्ध र आन्तरिक सुरक्षाको नाममा लगाइएको यो प्रतिबन्धले देशको अर्थतन्त्र तहसनहस भएको दाबी गरिएको छ । यति मात्र होइन, नागरिकलाई सूचनाको मौलिक हकबाट पनि वञ्चित गरिएको छ । इरान अहिले अकल्पनीय डिजिटल सङ्कटबाट गुज्रिरहेको छ ।

    इन्टरनेट निगरानी संस्था नेटब्लक्सको रिपोर्टका अनुसार इरानमा पछिल्लो ५७ दिनदेखि इन्टरनेट पूर्ण रूपमा बन्द छ । यो कुनै पनि देशमा लगाइएको विश्वको सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट प्रतिवन्ध हो । आठ हप्ताअघि सुरु भएको यो प्रतिबन्धले इरानका नौ करोडभन्दा बढी नागरिकलाई विश्वबाट अलग मात्र गरेको छैन, देशको अर्थव्यवस्थामा पनि ठूलो धक्का लागेको छ ।

    अमेरिका–इजरायल आक्रमणपछि फेब्रुअरी २८ मा अचानक इन्टरनेट सेवा बन्द गरिएको थियो। क्षेत्रीय अस्थिरता र युद्धको खतराको बिचमा, इरानी प्रशासनले सूचनाको प्रवाहलाई पूर्ण रूपमा नियन्त्रण गर्न यसको सहारा लियो। नेटब्लकको तथ्याङ्क अनुसार यो अवरोधले अब एक हजार ३४४ घण्टाको अवधि पार गरेको छ । यसअघि सन् २०२६ जनवरीमा सरकारले विरोध प्रदर्शनको क्रममा आन्तरिक अशान्तिको समाचार बाहिर जानबाट रोक्न यस्तै प्रतिबन्ध लगाएको थियो ।

    इन्टरनेटको यो लामो अवरोधले इरानको सामान्य जनजीवन अस्तव्यस्त पारेको छ। बैंकिङ सेवाहरू, अनलाइन व्यापार र यातायात नेटवर्कहरू पूर्ण रूपमा ठप्प भएका छन्। विज्ञहरुले इन्टरनेट सेवाको सहज पहुँच नहुदा इरानको अर्थतन्त्रलाई अहिलेसम्म कुल २।५ अर्ब डलर नोक्सानी भएको छ । प्रतिवन्धका कारण हरेक दिन करिब तीन लाख ७० करोड इरानी रियलको आम्दानी प्रभावित भइरहेको छ ।

    मानिसहरू आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न असुविधा भइरहेको छ । विदेशी मिडिया र स्वतन्त्र सूचना स्रोतहरूमा पहुँच पूर्ण रूपमा अवरुद्ध छ, जसले देशभित्र डर र अनिश्चितताको वातावरण सिर्जना गरेको छ । इरानी अधिकारीहरूले स्टारलिङ्क जस्ता स्याटेलाइट इन्टरनेटलाई रोक्न सैन्य ‘ग्रेड ज्यामर’हरू प्रयोग गर्न थालेका छन्, साथै सञ्चारको वैकल्पिक मार्गहरू पनि बन्द गरेका छन्।

    एकातिर इरान डिजिटल रूपमा विश्वबाट छुट्टिएको छ, अर्कोतिर अमेरिका र इजरायलसँग उसको कूटनीतिक गतिरोध पनि गहिरिँदै गएको छ । इरानका विदेश मन्त्री अब्बास अराघची हालै पाकिस्तान पुग्नुभएको छ्, जहाँ उहाँ क्षेत्रीय सुरक्षाबारे छलफल गरिरहनुभएको छ । हाल इरानमा इन्टरनेटको पुनस्र्थापनाका लागि कुनै समयसीमा तय गरिएको छैन, जसका कारण यो ‘डिजिटल अन्धकार’ अझ लम्बिने सम्भावना छ । एएफपी, रासस

  • यस्तो छ आजको मौसम पूर्वानूमान

    यस्तो छ आजको मौसम पूर्वानूमान

    काठमाडौँ, वैशाख १३ गते । आइतबार बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ ।
    आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    यसैगरी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशका हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विभागले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।

  • गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

    गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

    १३ वैशाख, काठमाडौं । व्हाइट हाउसमा पत्रकारसँगको एक डिनर कार्यक्रमका दौरान भएको घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आक्रमणकारीलाई गिरफ्तार गरिएको बताएका छन् ।

    ट्रुथ सोशल साइटमा लेख्दै उनले भनेका छन्, सिक्रेट सर्भिस तथा ल इन्फोर्समेन्ट एजेन्सीले सानदार काम गरेका छन्, उनीहरुले तिव्र गति तथा निकै बहादूरीपूर्वक कारवाही गरेका छन ।’ त्यसपछि उनले सुरक्षा एजेन्सीको निर्देशन अनुसार नै आफुले काम गरेको बताएका छन् ।