Author: Vishwanews.com

  • नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नारायण न्यौपाने र अशोक घिमिरे–रासस
    काठमाडौँ १८ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन् । प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ । यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो ।

    विसं २०६४ मा ६०१ सदस्यीय संविधानसभा गठन भएपछि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको प्रतिनिधिसभाको अधिवेशन १८ वर्षपछि सिंहदरबारस्थित संसद् भवनमा बस्न लागेको हो । विसं २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनपछिका संसद् अधिवेशन सिंहदरबारस्थित पूरानो संसद् भवन (ग्यालरी बैठक)मा बस्दै आएको थियो । राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपति समक्ष बुझाएको थियो । निर्वाचनमार्फत जनताले रास्वपालाई मुलुकमा स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन करिब दुई तिहाइको बहुमतसहितको जनादेश दिएका छन् ।

    सङ्घीय संसद् सचिवालयले दुवै सदनको बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिका हिसाबले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बैठकमा सदस्य बस्ने क्रमको निर्धारण विगतका परम्पराअनुरुप तय गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभामा सभामुखको आसनको अगाडि दाहिनेतर्फ सत्तापक्ष, बीचमा सरकार र बायाँरिर्फ प्रतिपक्ष रहने व्यवस्था मिलाइएको छ ।

    उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभामा प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलको नेताको आसन नजिकै रहनेछ । लोकतान्त्रिक संसदीय अभ्यास अपनाएका मुलुकमा संसद्लाई प्रतिपक्षको सत्ताका रूपमा लिइन्छ । यसपटक संसद्मा विगतका अधिवेशनजस्तो नभई सत्तापक्षको लहरमा मन्त्रिपरिषद्का सदस्य र रास्वपाका सांसद तथा प्रतिपक्षतर्फ एक स्वतन्त्रसहित ९३ सांसद छन् । जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्थाका रूपमा संसद्लाई लिने गरिएको छ ।

    सभामुख र उपसभामुख चयन आगामी अधिवेशनको ‘विजनेस’

    प्रतिनिधिसभाको पहिलो अधिवेशन भएकाले आगामी अधिवेशन सभामुख र उपसभामुख चयन मुख्य कार्यसूचीमा रहनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभा सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुख निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सांसदलाई स्वागत गर्ने तथा अधिवेशन आह्वानसम्बन्धी विषयमा जानकारी दिने पहिलो कार्यसूची रहनेछ ।

    सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी कार्यतालिका तथा अन्य कार्यसूची सर्वदलीय बैठकमा भएको सहमतिका आधारमा निर्धारण हुनेछ । संसद् सचिवालयले आज सर्वदलीय बैठक आयोजना गरेको छ । यस अधिवेशनमा सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती ऐन, प्रहरी ऐन, विद्यालय शिक्षालगायत महत्वपूर्ण विधेयक प्रस्तुत गरी पारित गर्नुपर्ने दायित्व छ ।

    यही चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा ४५ दिनभित्र सङ्घीय निजामती विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने उल्लेख छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीबाट १६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्यको प्रतिनिधित्व हुन्छ ।

    प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ । लैङ्गिक प्रतिनिधित्वका हिसाबले प्रतिनिधिसभामा १७९ पुरुष र ९६ जना महिला हुनुहुन्छ । राजनीतिमा पुस्तान्तरणको माग गर्दै गत भदौमा भएको जेनजी आन्दोलनको मर्म र भावनाअनुसार अहिलेको संसद्मा युवा सांसदको बाहुल्यता देखिन्छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था छ ।

    संसद् र यसका मुख्यकार्य

    नेपालको संविधानले सङ्घीय संसद्का रूपमा दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था गरेको छ । सङ्घीय सदनको तल्लो सदनलाई प्रतिनिधिसभा र माथिल्लो सदनलाई राष्ट्रियसभा भनिन्छ । सङ्घको अधिकार क्षेत्रका विषयमा कानुन निर्माण, सरकार गठन, सरकारका नीति तथा कार्यक्रम र बजेटमाथि छलफल र पारित, संविधान संशोधन र जनमत सङ्ग्रहको निर्णय, सरकारका कामकारबाहीको निगरानी, निर्देशन र सुुझाव प्रस्तुत तथा अन्तरराष्ट्रिय सन्धिसम्झौताको अनुमोदन सङ्घीय संसद्को मुख्यकार्य जिम्मेवारी हो ।

    प्रतिनिधिसभा मातहत हाल विभिन्न १० वटा विषयगत समिति छन् । अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्यव्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका समिति हुन् ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका रूपमा संसदीय सुनुवाइ र राज्यका निर्देशनात्मक सिद्धान्त, नीति तथा दायित्व कार्यन्वयन र अनुगमन तथा मूल्याङकन समिति रहेका छन् । नयाँ निर्वाचनपछि गठन हुने सभाले संसद्को नियमावली संशोधन वा परिमार्जन र संसदीय समितिको सङ्ख्या हेरफेर गर्न सकिनेछ ।

  • हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

    हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

    टीकापुर ९कैलाली०, १८ चैत । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ । कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान तीव्र भइरहेको स्थानीयले बताएका छन् । “बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ”, स्थानीय सिंहराज बुढामगरले भने, “चैतमा यसरी कटान गरिरहेको नदीले बर्खा लागेमा बस्ती जोखिममा पार्छ । नदीले सिधैँ पार्क क्षेत्र कटान गरिरहेको छ । यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुन्छ ।”

    पार्कको वनभोजस्थलदेखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी, बालुवा थुप्रिई टापुजस्तै बनाएको छ । नदीको बहाव टीकापुरतर्फ बगिरहेकोे र टीकापुरतर्फ नदीमा पक्की तटबन्धसमेत नभएकाले थुप्रेर रहेका ढुङ्गा, गिट्टी, बालुवा सफाइ नगरेमा यस वर्षको मनसुनमा टीकापुरतर्फ नदीले कटान गरी बस्तीमा नदी पस्ने उच्च जोखिम देखिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल सुमन धितालले बताए । “पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था छैन । समस्या समाधान तथा बृहत उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिन्छ”, धितालले भने, “आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएका छौँ ।”

    नगरपालिका बर्सेनि कर्णाली नदी कटानको जोखिम झेल्दै आएको छ । कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी नियन्त्रणका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माण गरेको छ । सिँचाइले निर्माण गरेका तटबन्ध तारजालीका भएकाले यसको दिगोपनामा पनि समस्या देखिएको छ । टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार टीकापुरको वडा नं ५ पार्क क्षेत्र, वडा नं ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत ठाउँ बर्सेनि कटान भइरहेका छन् । सिँचाइ आयोजनाले विगतमा गर्ने तारजालीको तटबन्ध दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) हाल्ने गरेको छ । तर पछिल्ला दुई वर्षयता यहाँ लगानी छैन । नदी कटान बढ्दै गएको तर आयोजनाले लगानी गर्न छोड्दा नदी नियन्त्रण समस्या भइरहेको छ ।

    सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभएपछि अहिले तटबन्धको स्वरुप परिवर्तन गरिएको बताए । “विगतमा कर्णाली नदीमा दर्जनौँ ठाउँमा तटबन्धको काम भएको छ । विश्व बैंकको सहयोग नभएपछि तेस्रो ‘फेज’मा कर्णाली नदीमा खासै काम छैन, इन्टेकसहित तीन ठाउँमा तटबन्धको काम चलिरहेको छ”, उनी भन्छन्, “आयोजनासँग पनि बजेट कम छ । पुराना ठेक्का लागेका समयमै निर्माण व्यवसायीले काम नसकेका ठाउँमा निर्माण भइरहेको छ ।”

    सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि कर्णाली नदीको चिसापानीमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर निर्माण, जलविद्युत् निर्माण, डिभिजन बक्स र आउटलेट सुधार कार्य, सिञ्चित क्षेत्र बचाउ तथा सुरक्षा, सामाजिक सुरक्षा र पर्यावरण संरक्षण, पानी व्यवस्थापन, नयाँ शाखा नहर निर्माणका क्षेत्रमा काम गरिसकेकोे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नदी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरी आवश्यकताअनुसार जनधनको क्षतिबाट बस्ती जोगाउन पहल हुने बताए ।

    “हामी सबै क्षेत्रसँग छलफल गरी उचित निकासका निर्णय गरेर पहल गर्छौँ, विपद्बाट रोकथामका लागि सम्बन्धित निकायमा कार्यान्वयन गर्नेतिर पहल गर्छौँ”, उनले भने, “कैलालीका नदीहरूमा अहिले भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन अनुरोध गरेका छौँ ।” कर्णाली नदी कैलाली र बर्दियाको सीमामा भएकाले अन्तरजिल्ला समन्वय समितिबाट छलफल गरी आपसी समझदारीबाट विपद् व्यवस्थापनमा काम हुने प्रजिअ रेग्मीले बताए ।

  • महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

    महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

    महेन्द्रनगर, १८ चैतः कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ । महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरबाट नेपाल-भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण गरिसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी इन्जिनियर यादव बरालले जानकारी दिए ।


    “मूल नहर २८ किलोमिटर निर्माण भएर सो क्षेत्रमा शाखा नहर पनि निर्माणाधीन अवस्थामा छ”, उनले भने, “महाकाली नदीबाट भारतले परीक्षणका लागि मूल नहरमा पानी छोडे पनि नियमित छोडेको छैन ।” उनले हालको अवस्थामा भारतीय पक्षसँग सहमति गरी पानी नियमित प्रवाह गराउन सके यहाँ पाँच हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जानकारी दिए ।


    सिँचाइ आयोजनाले तीनपटक जलस्रोत तथा सिँचाइ विभागमा पानी ल्याउने विषयमा भारतसँग समन्वय गर्न पत्राचार गरिसकेको सूचना अधिकारी बरालले बताए । “हामीले मूल नहरमा पानी महाकालीबाट ल्याउन सकारात्मक पहल गरिदिन माथिल्लो निकायमा भन्दै आएका छौँ”, बरालले भने, “तर नेपाल–भारत सिँचाइमन्त्रीस्तरसम्म यो विषय अझै पुगेको छैन ।”

    यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय पक्षसँग उक्त विषयमा अनौपचारिक छलफल गरेको सूचना अधिकारी बरालले जानकारी दिए । “भारतमा सिँचाइ मन्त्रीस्तरमा यो विषय पुर्याएर नहरमा नियमित पानी बगाइसक्नुपर्ने हो”, उनले भने, “ठोस पहल नहुँदा अर्बौं लगानीमा बनेको मूल नहर काठ, घाँसलगायत वनजङ्गलले पुरिँदैछ ।”

    कैलालीको मालाखेतीसम्म ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति भइरहे पनि पानी ल्याउन प्रभावकारी पहल हुन नसकेको उनको भनाइ छ । “अहिले मूल नहरअन्तर्गत २८ देखि ४८ किलोमिटरसम्म चार चरणमा निर्माण भइरहेको छ”, उनले भने, “चारवटा चरणमा हालसम्म करिब गरेर ६० प्रतिशत भौतिक प्रगति भइसकेको छ ।”

    मूल नहर निर्माणअन्तर्गत जग्गा अधिग्रहण, ऐलानी र सुकुम्बासी जग्गाको विवादका साथै केही स्थानमा रुख कटानको समस्या रहेको बरालले बताए । “यो वर्ष मुआब्जासहित आयोजनाको बजेट रु दुई अर्ब रहेको छ”, उनले भने, “मुआब्जा वितरण हुन नसक्दा केही रकम खर्च हुनसक्ने अवस्था छैन भने काम पनि प्रभावित बन्दै गएको छ ।” विसं २०८७ सम्ममा कैलालीको मालाखेतीसम्म नहर निर्माण सक्ने सरकारको लक्ष्य छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ । टनकपुरमा हेड रेगुलेटरसँगै भारतीय पक्षमा ढिला गरी एक हजार २०० मिटर मूल नहर बनेपछि नेपालतर्फ केही समय परीक्षण र असार १५ गते धान दिवसमा पानी छाडिएको थियो ।

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पानी ल्याएर किसानलाई सिँचाइ सुविधा पुर्‍याउन सरकारी संयन्त्रबाट सकारात्मक पहल हुनुपर्नेमा जोड दिए । “अर्बौंको लगानीमा नहर खन्ने तर महाकालीबाट पानी ल्याउन छिमेकी राष्ट्रसँग कूटनीतिक पहल गर्न ढिलाइ गर्नुहुँदैन”, उनले भने, “हालै बनेको नयाँ सरकारले यो विषय टुङ्गोमा पुर्‍याउने र समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।”

    अध्यक्ष मल्लले कञ्चनपुरमा खासगरी राजमार्गभन्दा उत्तरतर्फ सिँचाइको समस्या बढी रहेकाले नहर पूर्ण भएसँगै उक्त समस्या समाधान हुने विश्वास व्यक्त गरे । “सिँचाइ सुविधा पुगेर उत्पादनमा वृद्धि भए अर्थतन्त्रमा पनि बल पुग्छ”, उनले भने, “महाकाली सिँचाइ आयोजनामार्फत किसानलाई सिँचाइ सुविधा प्रदान गर्नेगरी सहज र प्रभावकारी वातावरण बन्नुपर्छ ।”

  • बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

    बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

    इनरुवा (सुनसरी), १८ चैतः जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो ।

    इनरुवा नगरपालिका(२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा सङ्क्रमण देखिएको उनले बताए । इटहरी–१६ स्थित सुमन गोविन्द श्रेष्ठले पालेका स्थानीय जातका कुखुरा र हाँसमा पनि बर्डफ्लू सङ्क्रमण पुष्टि भएको डा महतोले बताए । जिल्लाका विभिन्न ठाउँमा कुखुरा फार्म परीक्षण गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट रोग पुष्टि गरेसँगै नियन्त्रणका उपाय तीव्र पारिएको उनले बताए ।


    सङ्क्रमण फैलिन नदिन फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्ममा पनि निगरानी कडा गरिएको डा महतोले जानकारी दिए । कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन तथा बाह्य सम्पर्कबाट कुखुरालाई जोगाउन किसानलाई आग्रह गरिएको उनले बताए । उनका अनुसार जिल्लामा हालसम्म सङ्कास्पद लागेका १४ वटा फार्मबाट १९ हजार ३६५ कुखुरा नष्ट गरिएको छ ।

  • महाकालीमा बगेर एक जना बेपत्ता

    महाकालीमा बगेर एक जना बेपत्ता

    बैतडी, १८ चैतः महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन् । उनको खोजी जारी छ । यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदीकिनारमा फेला परेको जनाइएको छ ।

  • भारतमा विशाल जनगणना सुरु

    भारतमा विशाल जनगणना सुरु

    नयाँदिल्ली, १८ चैत (रासस–एएफपी) । तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबीच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा ठूलो जनगणना अभियान सुरु गर्ने तयारी गरेको छ । करिब ३० लाखभन्दा बढी कर्मचारी परिचालन गरिने यस अभ्यासलाई सरकारले ‘राष्ट्रिय महत्त्वको विशाल अभियान’ का रूपमा चित्रण गरेको छ, जसले समावेशी शासन र प्रमाणमा आधारित नीति निर्माणलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

    करिब एक अर्ब ४० करोड जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक भारत अहिले आधारभूत आवश्यकताहरू—बिजुली, खाद्यान्न र आवास—व्यवस्थापनमा बढ्दो चुनौतीसँग जुधिरहेको छ । देशका ठूला महानगरहरू पानी अभाव, वायु तथा पानी प्रदूषण र अत्यधिक भीडभाडयुक्त बस्तीका समस्याले ग्रस्त छन्, जसले जनगणनाबाट प्राप्त हुने तथ्याङ्कको महत्त्व झन् बढाएको छ ।

    यसपटकको जनगणनामा सबैभन्दा संवेदनशील मानिएको ‘जात’ सम्बन्धी विवरण पनि समेटिनेछ । हिन्दू समाजमा हजारौँ वर्षदेखि कायम सामाजिक पदानुक्रमका आधारमा मानिसहरूको पेशा र सामाजिक स्थिति निर्धारण हुने भएकाले यस विषयलाई राजनीतिक रूपमा पनि जटिल मानिन्छ । सन् २०११ मा गरिएको जाति सर्वेक्षण सार्वजनिक नगरिएको इतिहास छ भने औपचारिक रूपमा विस्तृत जातीय तथ्याङ्क अन्तिम पटक सन् १९३१ मा ब्रिटिस शासनकालमा सङ्कलन गरिएको थियो ।

    लजिस्टिक हिसाबले पनि यो अभियान अत्यन्त चुनौतीपूर्ण रहनेछ । भारतले सन् २०२४ मा सम्पन्न गरेको आम चुनाव नै विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिएको थियो, जुन सात चरणमा छ हप्तासम्म चलेको थियो । त्यसभन्दा पनि व्यापक दायरामा फैलिएको जनगणना दुई चरणमा सञ्चालन गरिनेछ ।

    पहिलो चरण बुधबारदेखि सेप्टेम्बरसम्म चल्नेछ, जसमा घरधुरी, आवासको अवस्था र आधारभूत सुविधाहरूको विवरण सङ्कलन गरिनेछ । यस क्रममा घर–घरमै पुगेर तथ्याङ्क सङ्कलन गरिनेछ भने नागरिकलाई अनलाइनमार्फत स्व–गणना गर्ने विकल्प पनि दिइनेछ । स्याटेलाइट इमेजरीसँग जोडिएको डिजिटल नक्सा प्रणाली र १६ भाषामा उपलब्ध प्रविधिको प्रयोग गरिनेछ ।

    दोस्रो चरणमा भने जनसाङ्ख्यिकीय, सामाजिक र आर्थिक अवस्थासँगै जातिसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ । जाति अझै पनि भारतमा स्रोत, शिक्षा र अवसरको पहुँच निर्धारण गर्ने महत्त्वपूर्ण आधार भएकाले यसबाट प्राप्त तथ्याङ्कले नीति निर्माणमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

    देशका अधिकांश क्षेत्रमा वास्तविक जनगणना सन् २०२७ मार्च १ लाई सन्दर्भ मिति मानेर गरिनेछ । तर उच्च हिमाली क्षेत्रहरू—जम्मू–काश्मीरजस्ता स्थानहरू—मा कठोर मौसमका कारण यो प्रक्रिया अक्टोबर १, २०२६ अगावै सम्पन्न गरिनेछ ।

    कोभिड–१९ महामारीका कारण सन् २०२१ को जनगणना स्थगित भएपछि भारतले पछिल्लो पटक सन् २०११ मा मात्र यस्तो अभ्यास गरेको थियो, जसअनुसार त्यतिबेला जनसङ्ख्या एक अर्ब २१ करोड थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ सम्म आइपुग्दा भारत एक अर्ब ४२ करोडभन्दा बढी जनसङ्ख्यासहित विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । यस्तो परिवेशमा सुरु हुन लागेको नयाँ जनगणनाले भारतको सामाजिक संरचना, आर्थिक अवस्था र भविष्यका नीतिगत प्राथमिकताहरू निर्धारण गर्न महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।

  • भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि

    भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि

    नयाँ दिल्ली, १८ चैत (रासस–सिन्ह्वा) । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५।२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ ।
    सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । उक्त क्षेत्रमा ६।० प्रतिशत वृद्धि भएको छ, जसले उद्योग तथा कारखानाहरूमा उत्पादन विस्तार भइरहेको देखाउँछ ।


    त्यसैगरी, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि भएको छ । यो वृद्धि कच्चा पदार्थको उपलब्धता र ऊर्जा स्रोतको उत्पादनसँग सम्बन्धित रहेको मानिन्छ । विद्युत उत्पादन क्षेत्रमा पनि २.३ प्रतिशत वृद्धि देखिएको छ, जसले औद्योगिक तथा घरेलु ऊर्जाको माग बढ्दै गएको सङ्केत गर्दछ । विश्लेषकहरूका अनुसार औद्योगिक उत्पादनमा आएको यो समग्र वृद्धि भारतको आर्थिक गतिविधि विस्तारको सकारात्मक सङ्केत हो । उत्पादन क्षेत्रमा सुधार आउनुले रोजगारी सिर्जना, लगानी वृद्धि तथा निर्यात विस्तारमा पनि सहयोग पु¥याउन सक्छ ।
    यद्यपि, केही चुनौतीहरू अझै कायम छन् ।

    कच्चा पदार्थको मूल्य, आपूर्ति शृङ्खला व्यवस्थापन र विश्वव्यापी आर्थिक अवस्थाले भविष्यको औद्योगिक वृद्धिमा प्रभाव पार्न सक्ने बताइएको छ । सरकारले औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन पूर्वाधार विकास, नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिरहेको जनाएको छ । विशेषज्ञहरूले दीर्घकालीन स्थिर वृद्धि सुनिश्चित गर्न नवप्रवर्तन, प्रविधि प्रयोग र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

  • अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    न्युयोर्क,१८ चैत (रासस–एपी) । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि यस्तो उच्च मूल्य देखिएको थियो। विभिन्न राज्यहरूमा मूल्य फरक–फरक रहेको छ, जसको कारण आपूर्ति, कर दर र स्थानीय अवस्था रहेका छन् ।

    फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त युद्ध सुरु गरेपछि कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्यमा असर परेको हो ।

    अर्थतन्त्रमा असर पर्ने सम्भावना

    पेट्रोलको मूल्य बढ्दा उपभोक्ता र व्यवसाय दुवै प्रभावित भएका छन्। दैनिक खर्च बढ्दै जाँदा मानिसहरूले अन्य क्षेत्रमा खर्च घटाउनुपर्ने अवस्था आउन सक्छ । ढुवानी खर्च बढ्दा खाद्यान्न, बिजुली तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्ने सम्भावना रहेको छ । हालै गरिएको एक सर्वेक्षण अनुसार करिब ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तित रहेका छन् ।

    ढुवानी र सेवा क्षेत्रमा असर

    इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ । हुलाक सेवाले केही सेवामा अस्थायी रूपमा ८ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको छ ।
    डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने सवारी साधनहरूलाई थप भार परेको छ ।

    विश्व आपूर्ति सङ्कट

    विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति सङ्कट गहिरिएको छ । इरान, अमेरिका र इजरायलबीचका आक्रमणले तेल र ग्यास संरचनामा क्षति पुगेको छ ।

    भण्डार प्रयोग गर्ने प्रयास

    मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ ।

    अमेरिकाले भेनेजुएला र रुसबाट केही तेल आपूर्ति सहज बनाउन प्रतिबन्धमा आंशिक छुट दिएको छ ।

    भविष्यको अवस्था

    युद्ध लम्बिएमा पेट्रोलको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ । साथै गर्मी मौसम सुरु भएसँगै माग बढ्ने भएकाले मूल्यमा थप दबाब पर्ने देखिन्छ ।

  • मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

    बागमती, १८ चैतः चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको होे । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

  • बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गलकोट (बागलुङ), १८ चैतः चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो ।

    गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैतेदसैँको अवसरमा यसवर्ष आएका सात लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते रु एक लाख १७ हजार, चैत ६ गते रु एक लाख ५३ हजार, चैत ७ गते रु चार लाख ३८ हजार, चैत ८ गते रु एक लाख ७० हजार, चैत ९ गते रु एक लाख ७१ हजार तथा चैत १० गते रु चार लाख ९२ हजार सङ्कलन भएको थियो ।

    यस्तै चैत ११ गते रु तीन लाख, चैतेदसैँको मुख्य दिन चैत १२ गते रु १० लाख ४४ हजार सङ्कलन भएको अध्यक्ष खड्काले बताए । नवमीको दिन रु चार लाख ८० हजार र दशमीको दिन रु तीन लाख ५५ हजार ७३५ सङ्कलन भएको छ । “चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरैै भेटी सङ्कलन भएको छ विगतका वर्षाहरूको तुलनामा यो वर्ष पाँच लाख मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो”, अध्यक्ष खड्काले भने, “अष्टमीमा एकै दिन चार लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे प¥यो ।”

    बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैतेदसैँ अनि शनिबार तथा मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ । मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताए । विसं १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेका थिए । विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो । राजकुमारी कालिका देवी भएको अनन्य भक्त थिए । त्यही कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।

  • रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

    म्याग्दी, १८ चैतः रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए । हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।

  • बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    बिपी राजमार्ग अनिश्चितकालीन बन्द

    काभ्रेपलाञ्चोक, १७ चैतः बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।

    छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ । यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो ।

    शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो । गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

  • अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

    अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार

    काठमाडौँ, १८ चैतः कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा लगाइएका १२ नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अनलाइन ठगि तथा कम्बोडियामा बिना भिसा बसिरहेका १२ नेपालीको थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरी आज स्वदेश फर्काइएको हो ।

    यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । कम्बोडियामा नेपाली नागरिक अनलाईन ठगीलगायत गैर कानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

    कम्बोडियामा माथि उल्लेखित अवस्थामा बसिरहनुभएका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर–आवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनि धेरै जनाको गुनासो आएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदुतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।

    कम्बोडियाको प्रयटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।

    नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।

  • घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

    घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

    काठमाडौँ, १८ चैत । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।
    बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

  • भक्तपुर यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ

    भक्तपुर यातायात कार्यालयबाट दुई विचौलिया पक्राउ

    भक्तपुर, १७ चैत स् मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी वृत्त थिमिबाट खटिएका प्रहरी टोलीले सेवाग्राहीलाई अनावश्यक दुःख एवं हैरानी दिने गरेको भन्दै दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

    सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भई हाल राधेराधे बस्ने २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनकालिका नगरपालिका–६ घर भई हाल राधेराधे बस्ने ३० वर्षीय सुनील थापालाई पक्राउ गरिएको उनले जानकारी दिए । कार्यालयमा कर्मचारीले बाहिर रहेका फोटोकपीदेखि फाराम भर्न खोलिएका पसलहरूदेखि आँखा र रगत जाँच गर्नेहरूबाट समेत रकम लिने गरेको र पूर्वप्रहरीदेखि फाराम गर्न खोलिएका पसलहरूबाटै विचौलिया परिचालित हुने गरेको गुनासो आएको प्रहरीले जानकारी दिएको छ ।

  • महिलाको चरित्र हत्या गरेको अभियोगमा महिला रेस्लर पक्राउ

    महिलाको चरित्र हत्या गरेको अभियोगमा महिला रेस्लर पक्राउ

    काठमाडौँ, १७ चैतः सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेन्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई घृणा, द्धेष फैलार्ई चरित्रहत्या गर्ने रामेछाप मन्थली नगरपालिका–१२ घर भई काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय भगवती खड्कालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले सामाजिक सञ्जालमा अरुको चरित्रहत्या गर्ने खड्कालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरिएको जानकारी दिए । पक्राउ खड्कालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

  • हवाई इन्धनको मूल्य भारी वृद्धि

    हवाई इन्धनको मूल्य भारी वृद्धि

    काठमाडौँ, १८ चैतः नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब बृद्धिपछि प्रतिलिटर रु दुई सय ५१ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ सय १९ अमेरिकी डलर प्रतिकिलोलिटरले बृद्धि भएको छ ।

    परिमार्जित मूल्य अनुसार काठमाडौँमा प्रतिलिकिलोटर नौ सय ६६ अमेरिकी डलर रहेकोमा बृद्धिपछि अब एक हजार सात सय ८५ अमेरिकी डलर पुगेको छ । अर्को मूल्य समायोजन नगर्दासम्म पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको भने साविकको मुद्रा मूल्य नै कायम राखिएको निगमले जनाएको छ ।

  • पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    गुल्मी, १७ चैत । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको एक सय ४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण आस्था सम्झना जेभी अर्घाखाँचीले निर्माण समयअघि नै सम्पन्न गरेको हो । पुल निर्माणका लागि रु एक करोड ७१ लाख ८४ हजार ४६० बजेट विनियोजन गरिएको थियो ।

    निर्माण व्यवसायीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी बनेका छन् । वर्षायाममा खोलामा बाढी आउँदा स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावतमा निकै सास्ती खेप्नुपर्ने बाध्यता थियो ।

    यसअघि पुल अभावमा वर्षात्को समयमा कतिपय विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको स्थानीय यमबहादुर थापाले बताए । उनका अनुसार पुल नहुँदा खोला तर्न जोखिम मोल्नुपर्ने तथा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । अब पुल सञ्चालनमा आएपछि करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ ।

    स्थानीय रामलाल घिमिरेका अनुसार पुल सञ्चालनमा आएपछि विद्यालय तथा स्वास्थ्य सेवा लिन जानका लागि सहज हुनुका साथै व्यापारिक क्षेत्रमा पनि चहलपहल बढ्ने छ । लामो समयदेखि त्यस क्षेत्रका बासिन्दाले राजनीतिक दलहरूसँग गरेको झोलुङ्गे पुलको माग ढिलै भए पनि पूरा गरिदिएको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । उक्त पुलले वारिपारिका दुई बस्तीलाई जोड्ने मात्र नभई त्यस क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

  • प्रअले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

    प्रअले नै छात्रवृत्ति रकम हिनामिना गरेपछि…

    जुम्ला, १७ चैत । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले सोमबार दायर गरिएका प्रअमहतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९÷८० मा विद्यालयलाई प्राप्त रु एक लाख ४५ हजार ३५० छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।

    प्रअमहतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम रु एक हजारको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार ४८५ रुपैयाँ २३ पैसाका दरले ४४ जनालाई रु ६५ हजार ३५० गरी रु एक लाख ४८ हजार ३५० वितरण गरेको भर्पाइ तातोपानी गाउँपालिकालाई पठाएको देखिएको जनाइएको छ । विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकापसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भर्पाइ पुनः कीर्ते गरी २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भर्पाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुरमा उनीहरूविरुद्ध रु एक लाख ४५ हजार ३५० बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएकोे छ ।

  • युद्धको असर सामना गर्न जी ७ सक्रिय

    युद्धको असर सामना गर्न जी ७ सक्रिय

    पेरिस, १७ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्धले विश्व अर्थतन्त्रमा गहिरो दबाब सिर्जना गरिरहेका बेला धनी राष्ट्रहरूको समूह जी ७ का मन्त्रीहरू त्यसको आर्थिक असर व्यवस्थापन गर्न आपतकालीन समन्वयमा जुटेका छन् । तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ्दै जाँदा ऊर्जा, वित्त र मौद्रिक नीतिमा संयुक्त प्रतिक्रिया खोज्न सोमबार विशेष बैठक आयोजना गरिएको हो । फ्रान्सका अर्थमन्त्री रोलान्ड लेस्क्योरका अनुसार भिडियो कन्फरेन्समार्फत हुने यस बैठकमा ऊर्जा र अर्थमन्त्रीहरूका साथै केन्द्रीय बैंकका प्रमुख र अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू सहभागी हुँदैछन् । उनले वित्तीय बजार र विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताबारे साझा धारणा बनाउन यो बैठक महत्त्वपूर्ण हुने बताए ।


    फेब्रुअरी अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि स्थिति झन् जटिल बनेको हो । त्यसको प्रतिकारस्वरूप तेहरानले खाडी क्षेत्रका तेल निर्यातकर्ता मुलुकहरूलाई लक्षित गर्दै ढुवानी मार्ग अवरुद्ध गरेको छ, जसले विश्व आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । यसको प्रत्यक्ष असर ऊर्जा बजारमा परेको छ । तेल र प्राकृतिक ग्यासको मूल्य आकासिँदा उत्पादनदेखि ढुवानीसम्मका आपूर्ति शृङ्खलामा व्यापक प्रभाव परेको छ । विशेषगरी एसियाली मुलुकहरूमा यसको प्रभाव गहिरो देखिएको भन्दै लेस्क्योरले विभिन्न देशका प्रतिक्रियामा फरक–फरक दृष्टिकोण देखा परेको उल्लेख गरे । र्नुभयो ।

    उनका अनुसार यही कारणले ऊर्जा, वित्त र केन्द्रीय बैंकहरूलाई एकै ठाउँमा ल्याएर समन्वय गर्न आवश्यक भएको हो । स्थानीय मिडियासँग कुरा गर्दै उनले झण्डै आधा शताब्दीपछि पहिलोपटक यस्तो स्वरूपमा जी७ बैठक आयोजना गरिएको जानकारी दिए । जी७ समूहमा अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । यी मुलुकले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच नीतिगत दिशा निर्धारणमा प्रभाव पार्दै आएका छन् । हालको सङ्कटमा विशेषगरी अमेरिकाले इरानद्वारा अवरुद्ध गरिएको स्ट्रेट अफ होर्मुज मार्ग पुनः सञ्चालन गराउन समूहको समर्थन खोजिरहेको छ ।

    हालै सम्पन्न विदेशमन्त्रीहरूको बैठकपछि जी७ ले इरानलाई उक्त जलमार्ग खुला गर्न ‘पूर्ण आवश्यक’ भएको बताउँदै नागरिक पूर्वाधारमा हुने आक्रमण रोक्न आह्वान गरेको थियो । युद्धको प्रभाव बढ्दै जाँदा विभिन्न देशहरूले आन्तरिक रूपमा पनि दबाब झेलिरहेका छन् । ऊर्जा अभाव र मूल्यवृद्धिको असर कम गर्न सरकारले विभिन्न राहत तथा नियन्त्रणका उपायहरू अघि सारेका छन् । तर युद्धको अवधि कति लम्बिने र त्यसको दायरा कति फैलिने भन्ने अन्योलले प्रभावकारी र एकीकृत प्रतिक्रिया दिन कठिन बनाएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका उद्देश्य लगभग पूरा भएको दाबी गरेका थिए । तर सोही समयमा हजारौँ अमेरिकी सैनिकहरू मध्यपूर्वमा तैनाथ गरिँदै गएका छन्, जसले स्थिति अझ जटिल बन्ने सङ्केत दिएको छ । मानवीय क्षतिको पक्ष पनि गम्भीर बन्दै गएको छ । इरानबाहिरका अधिकारकर्मीहरूका अनुसार अमेरिका–इजरायल आक्रमणमा तीन हजारभन्दा बढी मानिस मारिएका छन्, जसमा आधाभन्दा बढी सर्वसाधारण रहेका छन् ।

    लेबनानमा पनि हिजबुल्लाहविरुद्ध इजरायली कारबाहीपछि एक हजारभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यद्यपि इजरायल र खाडी राष्ट्रहरूले भने आफ्नातर्फ कम क्षति भएको दाबी गरेका छन् । समग्रमा युद्धले सैन्य मात्र नभइ, आर्थिक र मानवीय दुवै मोर्चामा गहिरो सङ्कट निम्त्याइरहेको देखिएको छ, जसको सामना गर्न जी७ देशहरू समन्वित रणनीति खोज्न बाध्य भएका छन् ।

  • फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

    फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

    किएभ, १७ चैत (रासस–एएफपी) । गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो । मस्कोले रातिको समयमा युक्रेनी ब्यारेज र अन्य सैन्य स्थलहरूलाई लक्षित गरीसयौँ ड्रोनले आक्रमण गरेपछि जवाफमा किएभले गरेको आक्रमणका क्रममा दुई ड्रोन फिनल्याण्डमा खसेका थिए ।

    “कुनै पनि युक्रेनी ड्रोनहरू फिनल्याण्डतर्फ निर्देशित थिएनन्। सबैभन्दा सम्भावित कारण रूसी इलेक्ट्रोनिक युद्ध प्रणालीको हस्तक्षेप हो। हामीले यस घटनाका लागि फिनल्याण्डसँग माफी मागेका छौँ,” युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले पत्रकारहरूसँग भने । युक्रेनले गत हप्ता फिनल्याण्डको खाडी नजिककोरूसी तटमा बन्दरगाह सुविधाहरूमा धेरै पटक आक्रमण गरेको थियो ।

    फिनल्याण्डको रक्षा मन्त्रालयका अनुसार फिनल्याण्डले आइतवार एफ\ए–१८ हर्नेट लडाकू विमान पहिचानका लागि पठाएको थियो। एउटा ड्रोन दक्षिणी फिनल्याण्डको कोउभोला शहरको उत्तरमा खसेको थियो भने अर्को कोउभोलाको पूर्वमा खसेको मन्त्रालयले जनाएको छ ।

  • बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    काठमाडौँ, १७ चैत । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ ।

    स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा नगराउन बोर्डले चेतावनी दिएको छ । अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ बमोजिम कारबाही हुने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

  • इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

    इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

    जेरुसलेम, १७ (रासस–एएफपी) । इजरायली सेनाले इरानको रिभोलुसनरी गाड्र्सद्वारा सञ्चालित तेहरानमा रहेको एक विश्वविद्यालयमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालैका दिनहरूमा, आइआरजिसीको केन्द्रीय सैन्य पूर्वाधारस्थलहरू मध्ये एकमा हालै आक्रमण भएको छ ।

    इमाम हुसेन विश्वविद्यालयलेको परिसरमा रहेको आइआरजिसीको प्राथमिक सैन्य शैक्षिक संस्थाले इरानको सैन्य निकायहरूको लागि आपतकालीन उपकरणको आपूर्तिका लागि काम गर्दछ ।” अमेरिकी–इजरायली आक्रमणमा दिवङ्गत भएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ इरानी अधिकारीहरूले युद्धअघि उक्त विश्वविद्यालयको भ्रमण गरेका थिए।

    इजरायली सेनाले भनेको छ, “युद्धका क्रममा इजरायली सेनाले विश्वविद्यालयभित्रको सैन्य पूर्वाधारमा धेरै पटक आक्रमण गरेको थियो भने यसबाट इरानी हतियार उत्पादन र विकास क्षमतामा ठूलो क्षति पुगेको थियो । उसले विश्वविद्यालय, यसको रसायन विज्ञान केन्द्र, र यसको मेकानिक्स र विकास समूहको टेक्नोलोजी र इन्जिनियरिङ केन्द्रको मुनिका सुरुङहरू नष्ट गरेको बताएको छ । सुरूङलाई सबै हतियार विकासको लागि प्रयोग गरिएको इजरायली सेनाले बताएको छ ।

  • चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा

    चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा

    सान्टियागो, चिली, १७ चैत (रासस–एएफपी) । चिलीको नयाँ दक्षिणपन्थी सरकारले सोमबार अनियमित रूपमा देश प्रवेश गर्ने दशौँ हजार आप्रवासीलाई कानुनी मान्यता दिने योजना रद्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति ग्याब्रियल बोरिकको अघिल्लो वामपन्थी सरकारले कानुनी हैसियतका लागि आवेदन दिने एक लाख ८२ हजार मानिसलाई कानुनी मान्यता दिने प्रतिवद्धता व्यक्त गरेको थियो । आप्रवासनविरुद्ध कडाइ गर्ने प्रतिबद्धताका साथ अभियान चलाएको जोसे एन्टोनियो कास्टको नयाँ सरकारले यो आदेशलाई कार्यान्वयन नगर्ने आप्रवासन सेवाले बताएको छ।

    “हामी बोरिक सरकारले प्रस्ताव गरेजस्तो आवासीय कागजातहरूको ठूलो अनुमतिको लागि अगाडि बढ्ने छैनौँ,“ आप्रबासन सेवाका निर्देशक फ्रान्क साउरबाउमले भने । कास्टले पेरुको सीमामा नयाँ अवरोधहरू निर्माण गर्न यसै महिनाको सुरुमा आदेश दिएका थिए । कास्टले पेरू र बोलिभियाबाट आउने आप्रवासीहरूलाई रोक्न ‘सीमा निगरानी’ बढाउने र प्रवेशमा कडाइ गर्ने वाचा गरेका थिए । कास्टले हत्या, अपहरण र फिरौती असुलीमा वृद्धि रोक्न कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनले हत्या, अपहरण र फिरौती असुलीजस्ता घटनामा वृद्धि हुनुलाई कागजात नभएका आप्रवासीहरू प्रवेश दिइनु केही कारकमध्ये एक भएको बताए ।


    दक्षिणपन्थी राष्ट्रपति कास्टको निर्वाचन चिलीको इतिहासमा सन् १९७३ देखि १९९० सम्म अगस्टो पिनोचेको सेनाको नियन्त्रण रहेको सत्तापछि चिलीमा वर्तमान् राष्ट्रपति कास्टको निर्वाचनले देशमा एक अतिराष्ट्रवादी नेताको नेतृत्व दिएको छ। सरकारी अनुमान अनुसार चिलीमा रहेका करिब तीन लाख ३७ हजार विदेशी नागरिकहरूसँग आवासीय अनुमतिका लागि कागजातहरू छैनन् ।

  • श्रीलङ्कामा बिजुलीको मूल्य करिब ४० प्रतिशत वृद्धि

    श्रीलङ्कामा बिजुलीको मूल्य करिब ४० प्रतिशत वृद्धि

    कोलम्बो, १७ चैत (रासस–एएफपी) । श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर्जा मूल्यको आधारमा अप्रिलमा विद्युत शुल्कमा थपवृद्धि हुने बताएको हो । आयोगका अध्यक्ष केपीएल चन्द्रलालले कोलम्बोमा पत्रकारसँग भने, “आज हामीले घोषणा गरेको वृद्धिको गणना मध्यपूर्व द्वन्द्व अघि व्याप्त मूल्यको आधारमा गरिएको थियो।” अधिकांश मध्यम वर्गीय उपभोक्ताहरूको लागि, एक किलोवाट बिजुलीको प्रतिघण्टा लागत ८४ रूपैयाँ अर्थात् ०।२८ अमेरिकी डलर हुनेछ ।

    यो मूल्य समायोजनका कारण सबैभन्दा कम विद्युत उपभोग गर्ने उपभोक्ताले एक किलोवाट बिजुलीको प्रतिघण्टाको लागत ६१ रूपैयाबाट ३९.३४ प्रतिशत वृद्धि भई ८४ रूपैँया हुनेछ । यसैगरी, महिनामा ३० किलोवाट प्रतिघण्टा भन्दा कम प्रयोग गर्ने उपभौक्ताका लागि ११.११ प्रतिशतले मूल्यवुद्धि हुनेछ ।
    श्रीलङ्काले यस महिनामा तीन पटक इन्धनको मूल्य बढाइएको र यो एक तिहाईभन्दा बढीले बढेको छ । देशले ऊर्जा सङ्कट हुन नदिन इन्धनको बचत गर्नका लागि हप्तामा तीन दिन सार्वजनिक विदा तोकेको छ।

    सरकारले निजी क्षेत्रलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था पुनः लागू गर्न भनेको छ । गत महिनाको अन्त्यमा अमेरिका–इजरायलले गरेको आक्रमणपछि शान्तिकालमा विश्वव्यापी कच्चा तेल र ग्यास निर्यातको २० प्रतिशत हिस्सा ओहोरदोहोर गर्ने प्रमुख जलमार्ग हर्मुज घाँटी भएर ओहोर दोहोर गर्ने जहाजहरूलाई इरानले प्रभावकारी रूपमा बन्द गरेको छ। श्रीलङ्काले आफ्नो सबै तेल आयात गर्छ र बिजुली उत्पादनका लागि कोइला पनि खरिद गर्छ ।

    उसले भारत, सिङ्गापुर, मलेसिया र दक्षिण कोरियाबाट प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्छ भने इरानमा निर्मित श्रीलङ्काली प्रशोधन केन्द्रका लागि कच्चा तेल मध्यपूर्वबाट आयात हुने गरेको छ । मध्यपूर्वमा लडाइँ र कुनै पनि लामो युद्धले सन् २०२२ को आर्थिक मन्दीबाट बाहिर निस्कने उसको प्रयासलाई गम्भीर रूपमा कमजोर पार्न सक्ने सरकारले बताएको छ। यसबाट बच्न सरकारले मितव्ययी कार्यक्रमहरूको घोषणा गरेको हो । श्रीलङ्कामा विदेशी मुद्रा सकिएपछि सन् २०२२ मा ४६ अर्ब डलर बराबरको विदेशी ऋण तिर्न नसकेपछि त्यसयता कोलम्बोले आइएमएफको २.९ अर्ब डलरको ससर्त कर्जा सहयोग प्राप्त गरेको छ ।

  • धवलागिरि माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरि माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    म्याग्दी, १७ चैत । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताए । “इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उनले भने, “एक सय किलोग्राम सतुवा उत्पादन भएको छ ।” केही वर्षअघिसम्म प्रतिकिलोग्राम रु १६ हजारमा बिक्री हुने सतुवाको मूल्य घटेर रु पाँच हजार प्रतिकिलोमा झरेकाले बिक्री गर्न नपाएको उनले बताए ।

    रोकाले सतुवाको गानाका साथै १० हजार नयाँ बिरुवा तयार पार्नुभएको छ । यसअघि मकै, गहुँ, कोदो, उवा, जौँखेती हुने पाखोबारी र खोल्साको पाखामा सतुवा लगाएको रोकाले बताए । तत्कालीन सशस्त्र द्वन्द्व पछि ४५ वर्षीय रोका खेतीकिसानी र पशुपालन गर्दै आएका थिए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा भिरालो पाखामा अवस्थित माकुसको भूगोल र हावापानी अनुकूल तथा उच्च मूल्य पाइने भएकाले सतुवाखेती गरेको रोकाले बताए ।
    उहाँले सतुवाखेतीका साथै व्यावसायिक बाख्रापालन पनि गर्नुभएको छ । पचासभन्दा बढी बाख्रा पालेका छन् । माकुस नजिकैको जङ्गलमा प्राकृतिक रूपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो ।

    परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटीखेती गरेको रोकाले भने । वैदेशिक रोजगार र परम्परागत खेतीकिसानीको विकल्पमा व्यावसायिक जडीबुटीखेती गरेका रोकालाई धवलागिरि गाउँपालिकाले सतुवाखेती गरेको बारीमा पर्खाल बनाएर घेराबार गर्न गत वर्ष रु एक लाख अनुदान सहयोग गरेको वडाध्यक्ष अमर छन्त्यालले बताए ।


    त्यसैगरी, सतुवाको बिरुवा भएको पल्टमा पलास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकीराबाट बचाउन सकिने रोकाको अपेक्षा छ । औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ ।

  • आन्दोलन दवाएको अभियोगमा काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    आन्दोलन दवाएको अभियोगमा काठमाडौँका पूर्वप्रजिअ रिजाल पक्राउ

    काठमाडौँ, १७ चैत । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ ।

    पक्राउ पर्नुभएका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले राससलाई जानकारी दिए । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।

  • गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    काठमाडौँ, १७ चैत । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ । सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन भएको भए तत्काल बन्द गर्न र गराउन सरोकारवालालाई अनुरोध गरेको छ ।

    गैरकानुनी रूपमा र बन्द गरिएका एप तथा वेबसाइटमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने भएकाले त्यस्ता गतिविधि भइरहेको पाइएमा बोर्डमा यथाशीघ्र उजुरी गर्न अनुरोध गरिएको बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिए । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ बमोजिम जुवा खेल्न र खेलाउन वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्थाको समेत बोर्डले स्मरण गराएको छ ।

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ, १७ चैत । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चटयाङ, हुरीबतास र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

    आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, १७ चैतः जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्किएका विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका थिए ।


    नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरुलाई दुःख दिनु पनि हिंसा भएकाले अरुको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।