Author: Vishwanews.com

  • प्रधानमन्त्रीद्वारा तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

    प्रधानमन्त्रीद्वारा तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

    काठमाडौँ, ११ चैतः प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।


    प्रधानमन्त्री कार्कीले आज भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । यसअघि हिजो (मङ्गलबार) उनले नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् ।

    त्यस्तै गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेकी छिन् । यो मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गर्नेछ ।

  • एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौँमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ

    एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौँमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ

    काठमाडौँ, ११ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।

    निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेल-मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पर्ने भएको छ ।

    निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

  • सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो

    सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो

    जेनेभा, ११ चैत (रासस–एएफपी) । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्गठनले यसलाई सुडानको विनाशकारी युद्धमा जीवनमाथिको आक्रमण भनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पूर्व डारफुरको राजधानी शहरमा रहेको शिक्षण अस्पतालमा शुक्रबार भएको आक्रमणमा घाइते हुनेको सङ्ख्या पनि ८९ बाट बढेर १४६ पुगेको छ । हाल उक्त अस्पताल पूर्ण रूपमा सञ्चालनमा छैन ।

    सुडानका लागि संगठनकी उपप्रतिनिधि तथा स्वास्थ्य आपतकालीन प्रमुख हाला खुडारीले यस घटनालाई ‘भयानक आक्रमण’ बताए । उनका अनुसार मृतकमध्ये सात महिला, १३ बालबालिका, एक चिकित्सक र दुई नर्स रहेका छन् । घाइतेहरूमा बिरामी, उनीहरूका परिवारका सदस्य तथा आठ स्वास्थ्यकर्मी समेत रहेका छन् । उनले भने, “अस्पतालको बाह्य सेवा र आकस्मिक कक्षमा विशेष गरी गम्भीर क्षति पुगेको छ ।”

    यो अस्पताल यसअघि पनि सन् २०२४ को अगस्टमा भएको अर्को आक्रमणमा क्षतिग्रस्त भएको थियो । पछिल्लो आक्रमणपछि अस्पताल अब सञ्चालनयोग्य नरहेको बताइएको छ । उक्त अस्पतालले पूर्व डारफुरका विभिन्न क्षेत्रमा रहेका करिब २० लाखभन्दा बढी जनतालाई सेवा प्रदान गर्दै आएको थियो । अब बिरामीहरूले अर्को सन्दर्भ अस्पताल पुग्न करिब १६० किलोमिटर टाढा जानुपर्ने अवस्था आएको छ ।

    खुडारीले भने, “अस्पतालमाथिको आक्रमण केवल भवनमाथिको आक्रमण मात्र होइन, उपचार खोजिरहेका मानिस, अरूको ज्यान बचाउन जोखिम उठाउने स्वास्थ्यकर्मी र सङ्कटको समयमा बाँच्ने सम्भावनामाथिको आक्रमण पनि हो ।” “स्वास्थ्य सेवामा पहुँच घट्दै गएको छ र क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गर्ने प्रयासहरू पनि प्रभावित भइरहेका छन् ।” उनका अनुसार सन् २०२६ का लागि सुडानको स्वास्थ्य प्रतिक्रिया योजनामा हालसम्म मात्र ५.७ प्रतिशत रकम उपलब्ध भएको छ ।

    सन् २०२३ को अप्रिलदेखि सुरु भएको द्वन्द्वमा सरकारी सेना र अर्धसैनिक बलबीचको संघर्षका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब १ करोड १० लाख मानिस विस्थापित भएका छन् । मानवअधिकार समूह ‘आपतकालीन वकिलहरू’ का अनुसार उक्त अस्पतालमाथि सेनाले ड्रोन आक्रमण गरेको थियो । पश्चिमी सुडानको विशाल डारफुर क्षेत्रमा अर्धसैनिक बलको प्रभाव रहेको छ भने देशको पूर्व, मध्य र उत्तर भागमा सरकारी सेनाको नियन्त्रण रहेको छ । अर्धसैनिक नियन्त्रणमा रहेको उक्त शहरमा नियमित रूपमा सरकारी सेनाले आक्रमण गर्दै आएको छ ।

  • श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

    श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी

    कोलम्बो,११ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । यो निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको छ । यसमा सार्वजनिक क्षेत्रभरि इन्धन र बिजुलीको खपत घटाउने उपायहरू अपनाउन सुझाव दिइएको छ ।

    निर्देशिकाअनुसार, कर्मचारीहरूले व्यक्तिगत सवारीसाधन प्रयोग नगरी सम्भव भएमा सार्वजनिक यातायात वा समूहिक यातायातको प्रयोग गर्नुपर्छ । साथै, क्षेत्रीय कार्यका लागि सवारी साधनको सङ्ख्या घटाउन दैनिक यातायात योजना तयार गर्न सरकारी निकायहरूलाई निर्देशन दिइएको छ । बिजुली र ऊर्जा बचतका लागि सुझावहरूमा प्राकृतिक प्रकाशको अधिकतम प्रयोग, एयर कन्डिसनको सट्टा बिजुली पङ्खाको प्रयोग र सिँढीको प्रयोग प्रोत्साहित गरी लिफ्टको सीमित प्रयोग समावेश छ ।

    स्थानीय सरकारका निकायहरूले अनावश्यक समयमा सडक बत्ती निभाउन र उच्च सुरक्षा क्षेत्रबाहेक सडक बत्ती अस्थायी रूपमा बन्द गर्न निर्देशन पाएका छन् । निर्देशिकाले संस्थाहरूका प्रमुखलाई पनि प्रविधि उपलब्ध भएमा कर्मचारीलाई कार्यालय उपस्थितिका सट्टा घरबाट काम गर्न अनुमति दिन प्रेरित गरेको छ । सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्न, जनता माझ उदाहरण प्रस्तुत गर्न र राष्ट्रिय ऊर्जा संरक्षण तथा सुरक्षा प्रयासमा पूर्ण समर्थन जनाउन आग्रह गरिएको छ ।

  • नाइजरमा क्षयरोगको बढ्दो जोखिम

    नाइजरमा क्षयरोगको बढ्दो जोखिम

    नियामे,११ चैत )रासस–सिन्ह्वा) । पश्चिम अफ्रिकाको देश नाइजरमा सन् २०२५ मा क्षयरोगको अवस्था अझै गम्भीर रहेको पाइएको छ । त्यहाँ वर्षभरिमा कुल १७ हजार ४०६ क्षयरोगका बिरामी दर्ता भएका छन्, जसमध्ये १३ हजार ६०७ नयाँ फोक्सोसम्बन्धी बिरामी रहेका छन्, जुन सबैभन्दा छिटो सर्ने र खतरनाक प्रकार मानिन्छ । यी तथ्याङ्कहरू स्वास्थ्यमन्त्री गार्बा हाकिमीले विश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक गरेका छन् । उनका अनुसार क्षयरोग अझै पनि देशका लागि ठूलो सार्वजनिक स्वास्थ्य समस्याका रूपमा रहेको छ, तर यसलाई नियन्त्रण गर्न सकिने सम्भावना पनि रहेको छ ।

    विश्व स्तरमा हेर्दा विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्षयरोग अझै पनि संसारकै सबैभन्दा घातक सङ्क्रामक रोगमध्ये एक हो । यसले विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती सिर्जना गरेको छ, विशेषगरी कमजोर स्वास्थ्य सेवा भएका देशहरूमा यसको प्रभाव बढी देखिएको छ ।यस समस्यालाई नियन्त्रण गर्न नाइजर सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । देशमा बहु–क्षेत्रीय उत्तरदायित्व प्रणाली लागू गरिएको छ, जसले रोगको पहिचान, जाँच, उपचार र हेरचाहलाई अझ प्रभावकारी बनाएको छ । यसको परिणामस्वरूप क्षयरोगको जाँच दर सन् २०२१ को ६० प्रतिशतबाट बढेर सन् २०२५ मा ८७ प्रतिशत पुगेको छ, जुन उल्लेखनीय प्रगति हो । यसले धेरै बिरामीहरूलाई समयमै पत्ता लगाएर उपचार सुरु गर्न सहयोग पुगेको देखिन्छ ।

    स्वास्थ्यमन्त्रीका अनुसार क्षयरोग अन्त्य गर्नका लागि निरन्तर प्रयास, पर्याप्त बजेट, जनचेतना वृद्धि, प्रारम्भिक जाँच र गुणस्तरीय उपचार अत्यन्त आवश्यक छन् । यदि यी सबै क्षेत्रमा सशक्त रूपमा काम गरियो भने भविष्यमा क्षयरोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न वा अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

  • अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने

    अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने

    काबुल, ११ चैत (रासस–एएफपी) । अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदको अवसरमा उनको रिहाइका लागि अफगानिस्तानका सर्वोच्च नेतासमक्ष निवेदन दिएका थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेटको सर्वोच्च अदालतले उनको हिरासत अवधि पर्याप्त ठहर गर्दै रिहा गर्ने निर्णय गरेको हो ।”

    यो घोषणा विदेशमन्त्री अमिर खान मुत्ताकी, अफगानिस्तानका लागि पूर्व अमेरिकी विशेष दूत जाल्माय खलिलजाद, काबुलका संयुक्त अरब इमिरेट्सका राजदूत सैफ मोहम्मद अल–केतबी तथा कोयलका एक परिवार सदस्यबीच भएको भेटपछि आएको हो । मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सले रिहाइ प्रक्रियामा सहजीकरण गरेको थियो र मङ्गलबार कोयल आफ्ना परिवारसँग काबुलमै पुनर्मिलन भएका छन् ।

    ६४ वर्षीय कोयललाई सन् २०२५ जनवरीमा अफगान अधिकारीहरूले पक्राउ गरेका थिए । परिवारद्वारा सञ्चालित एक विवरण अनुसार उनी शैक्षिक अनुसन्धानकर्ताको रूपमा अफगान समुदायलाई सहयोग गर्ने कानुनी काममा संलग्न रहेका बेला पक्राउ परेका थिए । परिवारले उनी लगभग एकान्त हिरासतमा राखिएको, सामान्य सुविधाका लागि समेत अनुमति लिनुपर्ने अवस्था रहेको र पर्याप्त स्वास्थ्य सेवाबाट वञ्चित गरिएको दाबी गरेको छ ।

    कोयल पहिलो पटक सन् २००० को दशकको सुरुवाततिर अफगानिस्तान पुगेका थिए, जहाँ उनले भाषिक विविधताको अध्ययन र स्थानीय भाषामा स्रोत विकास गर्न सहयोग गरेका थिए । उनी वर्षौँदेखि काबुलमै बसोबास गर्दै आएका थिए र अफगान जनतासँग गहिरो सम्बन्ध बनाएका थिए । यस महिनाको सुरुवातमा अमेरिकाले अफगानिस्तानलाई ‘गलत तरिकाले मानिसहरूलाई हिरासतमा राख्ने देश’ को सूचीमा समावेश गरेको थियो ।

    अफगान अधिकारीहरूले उक्त निर्णयलाई ‘दुःखद’ बताएका छन् र दुवै पक्षबीच वार्ता तथा अघिल्ला रिहाइ प्रक्रियामा मध्यस्थकर्ताको भूमिका रहेको उल्लेख गरेका छन् । सन् २०२५ मा तालिबान सरकारले ‘सद्भावना सङ्केत’ का रूपमा पाँच अमेरिकी नागरिकलाई रिहा गरेको जनाएको थियो ।

  • वीरगन्जबाट मात्र एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वीरगन्जबाट मात्र एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज (पर्सा), ११ चैत । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।

    पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ । सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।

  • पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

    पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

    काठमाडौँ, ११ चैतः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

    त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराईका भू–भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

  • दासत्व पीडितहरूको स्मृति दिवस आज

    दासत्व पीडितहरूको स्मृति दिवस आज

    काठमाडौँ, ११ चैतः आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घन मानेर एक प्रस्ताव पारित गरेर सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरेको हो ।

    त्यसपछिको वर्ष सन् २००८ देखि हरेक वर्ष मार्च २५ लाई दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाउन प्रारम्भ भएको हो । सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो ।
    तस्बिरःसंयुक्त राष्ट्रसङ्घ

  • ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

    ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

    काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।

    प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित हुनुभएको हो । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

  • भोजपुरमा बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    भोजपुरमा बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

    भोजपुर, ११ चैतः बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन् ।

    स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

    विशेषगरी मानेभञ्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ ९साविक वडा नं. ८ र ९० मा बाँदरको समस्या ठूलो छ । स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ रित्तो जस्तै भएको छ । “पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ”, उनले भने । अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायतका बस्तीहरूमा अहिले अधिकांश घरहरू जीर्ण र खाली अवस्थामा छन् । एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन् ।


    खेतका कान्ला र पाखाहरू झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ । उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ । किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारी जस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ । “बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ”, तामाङले गुनासो गरे, “दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन । मेहिनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे । कतिपयले त गाउँ नै छाड्नुपरेको छ ।”

    जिल्लाका अन्य स्थानीय तहहरूमा बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकहरूको गुनासो छ । कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवारहरू आर्थिक रूपमा मारमा परेका छन् । युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतङ्कका कारण उनीहरू पनि निरुत्साहित भएका छन् ।

    स्थानीय सरोकारवालाहरूका अनुसार वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या चर्को छ । मानवीय बस्ती घट्दै जादा बाँदर बाँकी रहेका बस्ती केन्द्रित बनेका छन् । दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानहरुको भनाइ छ । बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ । साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानहरुको माग छ ।

  • विभागले तीन फर्मलाई तिरायो जरिवाना

    विभागले तीन फर्मलाई तिरायो जरिवाना

    काठमाडौँ, ११ चैतः स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ ।

    स्थलगत अनुमगनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गरिएको हो । थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।

  • चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    गलकोट (बागलुङ), ११ चैत । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ ।

    कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त आउने गरेको र यसपटक भक्तजनको सङ्ख्या बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । शुक्रबारदेखि नवदुर्गा सुरु भएको र त्यस यत्रा नवमीसम्मै मन्दिरमा पूजा आजाका लागि आउने गरिएको छ । चैते दसैँमा अष्टमीलाई सबैभन्दा बढी उत्तम मानिन्छ । चैते दसैँको मुख्य दिन चैत १२ गते बिहीबार परेको छ ।

    तीन सय वर्षभन्दा पहिलेदेखि मन्दिर परिसरमा चैते दसैँको अवसरमा मेला लाग्दै आएको छ । यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेला लगायतका संरचना निर्माण गरेर मङ्गलबारबाट मेला आयोजना गरेको हो । देशभरबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम जारी छ । मन्दिर परिसरमा लाग्ने मेलालाई विशेष पर्वका रूपमा लिने गरिन्छ । चैते दसैँको प्रतिपदादेखि राम नवमीसम्म करिब १० लाख भक्तजन आउने अनुमान गरिएको छ । यस अवसरमा विभिन्न गाउँ तथा जिल्लाबाट आउने भक्तजनका लागि मेला, स्टल र आवासको व्यवस्था मिलाइएको छ ।

    मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता आयोजना गरिएको छ । मेलामा सांस्कृतिक कार्यक्रमसमेत हुनेछ । मेलामा गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, ठेका, बाँसुरी र बाँस र निगालोका सामग्री बिक्रीका लागि ल्याउने गरेका छन् । मन्दिरमा विसं १५९१ देखि यस मन्दिरमा पूजा हुँदै आएको छ । किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गराएको विश्वास गरिन्छ ।

  • काभ्रेमा तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम

    काभ्रेमा तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम

    काभ्रेपलाञ्चोक, ११ चैतः पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन हजारभन्दा बढीलाई तालिम प्रदान गरेको छ । एक वर्षे अभियानमा जिल्लाको १३ स्थानीय तहका १३५ वडामा तालिम तीन हजार ३६५ मनसुनजन्य तथा अन्य विपद् सूचक एवं स्वयंसेवक निर्माण गरेको गणले जनाएको छ । यस्तै १७ शैक्षिक संस्थाका एक हजार ३४३ विद्यार्थीलाई विपद् प्रतिकार्यमूलक सचेतना गराइएको छ ।

    स्थानीय तहको समन्वयमा विपद् जोखिम न्यूनीकरण, तयारी तथा प्रतिकार्यबारे प्रशिक्षित गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी दिए । उनका अनुसार विभिन्न सामाजिक संस्थाका प्रतिनिधिलाई यसबारे प्रशिक्षित गराउँदै आइएको छ । गणले स्थानीयस्तरमा ‘सुरक्षित समाज’ को उद्देश्यका साथ मनसुन लक्षित तालिमसमेत सञ्चालन गरेको छ । “तालिममा विद्यार्थी, स्वाधीन आमा समूह तथा जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सहभागिता गराउँदै आएका छौँ”, रेग्मीले भने ।
    गणले गत असारमा विपद् प्रतिकार्यस्वरुप उद्धारार्थ नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । उक्त क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।

    यस्तै बिपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्नुका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पु¥याउने क्याम्पलाई जिम्मेवारी तोकिएको गणपछि रेग्मीले जानकारी दिए ।

  • कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुर (काठमाडौँ), ११ चैतः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी पुरेको छ ।


    “त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज सङ्कलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौँ”, रासससँग कुरा गर्दै नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन् । उनका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए ।

    प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले आज मरेका काग सङ्कलन गर्ने निर्णय गरेको थियो । साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना सङ्कलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग सङ्कलन गर्न थालिएको थियो । आज सङ्कलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ ।

    उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताइन् । “खुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण जटिल हुन्छ”, उनले भनिन् । उनका अनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।


    यसबारेमा रासससँग कुरा गर्दै पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस देखिएको जानकारी दिए । डुलुवा पंक्षीमापर्ने कागमा फिरन्ते चराबाट बर्डफ्लु सङ्क्रमण भएको हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसै गरेर कागमा सङ्क्रमण देखिएको जानकारी पनि उनले बताए ।


    यस्तो समस्या विभिन्न समयमा देखिने बताउँदै उपाध्यायले त्यसले अरु चरालाई सार्ने जोखिम पनि उत्तिकै रहेको समेत बताए । “त्यसैले कुखुरा, बटाई वा कालिजपालक किसानलाई जङ्गली चराचुरुङ्गी, कुकुर वा बिराला जान नसक्ने गरी खोरको व्यवस्थापन गर्न तथा खुल्ला ढङ्गले चराचुरुङ्गी नपाल्न आग्रह गरिएको छ”, उनले भने । सङ्क्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने भनाइ उनको छ । साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरे ।

  • शङ्करबेली सिमसारमा पुग्छन् दैनिक हजारौँ पर्यटक

    शङ्करबेली सिमसारमा पुग्छन् दैनिक हजारौँ पर्यटक

    धरान (सुनसरी), ११ चैतः यहाँको रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रुपमा विकास गरिएको हो । सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक आउने गरेका छन् । वनभोजका याममा दैनिक १० हजार बढी र ‘अफ सिजन’मा दैनिक १५० बढी पर्यटक आउने गरेको राईले बताए ।
    कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ आउनेको भीड हुने उनले बताए । शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्तस्थल मानिन्छ । सिमसार वरपरका शिरीषका फूल वैशाख महिनामा फुल्दा यस क्षेत्रको सौन्दर्यले आकर्षित गर्ने गर्छ । सो समयमा पर्यटकको चाप पनि बढ्ने गरेको समितिको भनाइ छ । एकै पटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेको यस क्षेत्र वनभोजका लागि उपयुक्त स्थल मानिन्छ । वनभोजका लागि आउने टोलीबाट ३०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ । उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ ।

    करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारद्वारा गत आर्थिक वर्ष २०८०–८१ मा विनियोजित दुई करोड रुपैयाँले विभिन्न पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिए । पोखरीको बीचमा अवस्थित रामधुनी नगरपालिकाको सहयोगमा करिब एक लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ले सिमसारको आकर्षण थप बढाएको छ । यहाँ धरान, इटहरी, विराटनगर, झापा र उदयपुरलगायत भारतबाट पर्यटक आउने गरेका छन् ।

  • आमाको नामबाट नागरिकता लिनेको संख्या देशभरी तीन हजार

    आमाको नामबाट नागरिकता लिनेको संख्या देशभरी तीन हजार

    काठमाडौँ, १० चैतः नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्थाअनुसार उनीहरुले नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ । चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो । गत पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावलीमा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

    नेपाल नागरिकता नियमावली, २०६३ को नियम ३ मा संशोधन गरिएको छ । त्यस्तै, मूल नियमावलीको नियम ५, ७, ८ र १४ मा संशोधन गरिएको छ । मूल नियमावलीमा नियम १६ (क) थप गरिएको छ भने मूल नियमावलीको अनुसूचीमा संशोधन गरिएको छ । नयाँ व्यवस्थाअनुसार बुबा वा आमामध्ये एक जनाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को अभिभावक नागरिकता नपाउँदै मृत्यु भएको वा बुबाको ठेगाना अज्ञात रहेको अवस्थामा तथा नेपाली आमाबाट विदेशमा जन्मिएर बुबाको पहिचान नभएका तर नेपालमा स्थायी बसोबास गरिरहेका सन्तानको हकमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था थप गरिएको छ ।

    नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातका अतिरिक्त स्वघोषणालाई पनि महत्वपूर्ण आधारका रूपमा लिइनेछ । त्यसका लागि आवश्यक ढाँचासमेत संशोधित नियमावलीले व्यवस्था गरेको छ । यसअघि वैवाहिक अङ्गीकृतबाहेकका अन्य अङ्गीकृत नागरिकता गृह मन्त्रालयको निर्णयमा मात्र प्रदान हुने व्यवस्था थियो । नयाँ कानुनी व्यवस्थाअनुसार उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सकिने व्यवस्था गरिएको छ, जसले नागरिकता वितरण प्रक्रियामा स्थानीय तहको भूमिका र जिम्मेवारी बढाएको छ ।

    संशोधनले यसअघि कानुनले स्पष्ट रूपमा समेट्न नसकेको नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई पनि समावेश गरेको छ । साथै विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको अवस्थामा वैवाहिक अङ्गीकृत नागरिकता प्रदान गर्नुअघि निजको नेपाल बसाइँ अनुमति ९भिसा० नियमित हुनुपर्ने व्यवस्था स्पष्ट गरिएको छ ।

  • झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

    झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

    झापा, १० चैतः यहाँका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ ।

    भेटेरिनरी अस्पताल झापाकी प्रमुख शीतल भट्टराईका अनुसार दमक नगरपालिका–१० स्थित एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएको छ । सङ्क्रमण देखिएलगत्तै उक्त फार्मका सबै कुखुराहरू सोमबार नै नष्ट गरिसकिएको उनले बताए । दमक, झापा गाउँपालिका मात्र नभई जिल्लाका मेचीनगर र अर्जुनधारा नगरपालिकालगायतका क्षेत्रबाट पनि कुखुरा मरिरहेको सूचना प्राप्त भएकाले जोखिम बढेको अनुमान गरिएको छ ।

    प्रमुख भट्टराईले किसानले ल्याएका नमूनाका प्रारम्भिक ‘(यापिड टेस्ट’ गर्दा ‘रिपोर्ट पोजेटिभ’ देखिएको र थप प्राविधिक पुष्टिका लागि केन्द्रीय प्रयोगशालामा पठाएर पिसिआर परीक्षण प्रक्रिया अघि बढाइएको जानकारी दिए । झापासँगै छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत यो रोग फैलिएकाले झापा बर्ड फ्लुको उच्च जोखिममा रहेको उनले बताए ।

  • काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

    काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

    रासस
    काठमाडौँ, १० चैतः संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका पाँच सय सात विश्वविद्यालय सहभागी ‘र्‍याङ्किङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत एक सय ३६ सूचक प्रयोग गरिएका थिए । यो ‘र्‍याङ्किङ’ मुख्यतः दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयको कार्यसञ्चालन क्षमता मूल्याङ्कनमा केन्द्रित रहेको जनाइएको छ ।

    उक्त संस्थाले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्दै तथ्यमा आधारित समग्र चित्र प्रस्तुत गर्ने गरेको जनाइएको छ । उक्त मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएअनुसार सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्य उन्मुख योजनामा विश्वविद्यालयले विशेष सम्भावना देखाएको छ । ‘एचई उच्च शिक्षा ‘र्‍याङ्किङ’को विशेषता विश्वविद्यालयको सञ्चालनसँग सम्बन्धित नीति, प्रक्रिया, सेवा, उत्पादन र परिणामहरूको मापनमा जोड दिनु रहेको छ ।

    मूल्याङ्कनका लागि समावेश गरिएका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तरराष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँचलगायत छन् । शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा अर्थपूर्ण सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले ‘र्‍याङ्किङ’ तयार गरिएको संस्थाले उल्लेख गरेको छ । काठमाडौँ विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’ की सचिव नूरा अब्दुलजलीलले उक्त उपलब्धि विश्वविद्यालयको नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयास र शिक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको जनाइएको छ । यो उपलब्धिले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रति काठमाडौँ विश्वविद्यालयको अटल प्रतिबद्धता झल्काउने इमेलमा उल्लेख गरिएको छ ।

    काठमाडौँ विश्वविद्यालय शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा डा हेमराज काफ्लेले प्रतिवेदनले विश्वविद्यालयको संस्थागत सञ्चालनबारे महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताए। उनले यसले आफ्नो विश्वविद्यालयको सञ्चालन प्रणालीबारे केही महत्त्वपूर्ण जानकारी दिएको र अन्य अन्तरराष्ट्रिय ‘र्‍याङ्किङ’ मा सहभागी हुन आवश्यक तथ्याङ्क सुदृढ गर्न मद्दत पुर्‍याउने धारणा राखे ।

  • ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    रासस
    काठमाडौँ, १० चैतः इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि राजधानी उपत्यकामा एक्कासी खाना पकाउने ग्यासको अभाव भयो । देशमा पेट्रोलियमा पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने निकाय नेपाल आयल निगमले समस्या समाधानको प्रयासस्वरुप आधा सिलिन्डर ग्यास बजारमा पठाउन उद्योगीलाई निर्देशन दियो तर सहजै ग्यास नपाएको उपभोक्ताको गुनासो छ । निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न आमउपभोक्तामा आग्रह गर्दै आइरहेको छ । नेपालमा मासिक रुपमा ४६ हजार मेट्रिक ग्यास खपत हुँदै आएको छ । हरेक महिना सोही परिमाणमा आयात पनि भइरहेको छ ।

    पश्चिम एयसियामा जारी जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको छ । यद्यपि, निगमले पेट्रोलियम पदार्थको आपूर्ति साबिककै परिणाममा गरिरहेको बताएको छ । देशमा इन्धनको पर्याप्त भण्डारण नहुँदा बेलाबखत अभाव हुने गरेको निगमका अधिकारी स्वीकार गर्छन् । सरकारले तीन महिनाको माग धान्न सक्नेगरी पेट्रोलियम पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । डिजेल, पेट्रोल र मट्टितेलको भण्डारण क्षमता वृद्धि गरिए पनि हालसम्म खाना पकाउने ग्यासको भण्डारण व्यवस्था भएको छैन ।

    निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट बजारमा ग्यासको अभाव हुन नदिन भण्डारण पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । “अहिलेसम्मको अवस्थाले नेपाललाई एलपी ग्यास पाइपलाइन र कम्तीमा ३० दिनका लागि पुग्ने भण्डारण पूर्वाधार निर्माण गर्नु अत्यावश्यक छ”, उनले भने ।


    ग्यास ढुवानीमा वार्षिक रु छ अर्बभन्दा बढी खर्च हुँदै आएको छ । नेपालसँग आफ्नै ग्यास बुलेट नहुँदा ढुवानी लागत अधिक छ । “ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माण भएमा अर्बांै बचत हुन्छ”, कार्यकारी निर्देशक भट्टले भने,“यसबाट आपूर्ति प्रणाली सुधार भई आमउपभोक्ताले सहजै ग्यास पाउने अवस्था बन्छ ।”

    तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माण गर्ने राष्ट्रिय नीति भए पनि अझै त्यसले पूर्णता पाउन सकेको छैन । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना पेट्रोलियम भण्डारण नीतिको अस्पष्टता र अव्यवस्थित वितरण प्रणालीका कारण सहजै ग्यास उपलब्ध नभएको तर्क गर्छन् । पेट्रोलियम पदार्थमा परनिर्भर हामीले अधिकभन्दा अधिक विद्युत् उपभोगमा उनको जोड छ ।

    भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन र भण्डारण गृह निर्माणका लागि नेपालले भारतसँग प्रस्ताव गरेको छ । “हामीले एक वर्षअघि नै इन्डियन आयल कर्पोरेसनमार्फत त्यहाँको पेट्रोलियम मन्त्रालयमा ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव गरिसकेका छौँ, जवाफ प्राप्त भएको छैन”, कार्यकारी निर्देशक भट्टले भने ।


    उनले ‘अब के हुने हो’ भनेर उपभोक्ताले सञ्चिति गरेका कारण ग्यासमा केही ‘प्रेसर’ देखिएको बताए । उनले भने, “ग्यास बुलेट लोड गर्न जाने क्रममा कहिलेकाहीँ चाप हुँदा भर्न नभ्याएको मात्रै हो, ग्यास आयातमा केही समस्या छैन ।” ग्यासको वितरण प्रक्रिया सहज हुँदै गएको ठहर गर्दै निगम एक सातापछि पूर्ण सिलिन्डर बजार पठाउने योजनामा जुटेको छ ।

  • निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

    निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

    काठमाडौँ, १० चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा ४० प्रतिशत मतपत्र प्रयोगविहीन भएका हुन् ।

    निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६६९ मतदाता रहेकामा आयोगले दुवै प्रणालीका लागि मतदाता सङ्ख्याभन्दा सात प्रतिशत बढी हुने गरी जनक शिक्षा सामग्री केन्द्रमार्फत मतपत्र छपाइ गरेको थियो । आयोगले प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार र समानुपातिकतर्फ दुई करोड आठ लाख ४३ हजार गरी चार करोड ११ लाख ४३ हजार मतपत्र छपाइ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गरेको थियो ।

    आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएको र त्यसमध्ये करोड पाँच लाख नौ हजार १७ (९४ दशमलव ५५ प्रतिशत) मत सदर भएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा एक करोड आठ लाख ३५ हजार २५ (९६ दशमलव ०५ प्रतिशत) मत सदर भएको थियो ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सामान्यतः मतदाताको सङ्ख्याभन्दा बढी सङ्ख्यामा मतपत्र छापिने अभ्यासबमोजिम यस पटक पनि चार करोड ११ लाख ४३ हजार मतपत्र छापिएकामा प्रयोग नभएका मतपत्र कानुनी प्रबन्धबमोजिम तत्तत् क्षेत्रमा धुल्याउने प्रक्रियामा जाने बताए । मतदाताभन्दा बढी मतपत्र छपाइ भएकामा कुनै दुरूपयोग त भएन ? वा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्छ कि श्र भन्ने कतिपयले प्रश्न उठाएको सन्दर्भमा प्रवक्ता भट्टराईले भने, “शङ्का त गर्न पाइयो तर निर्वाचनको निष्पक्षतामा कुनै शङ्का छैन । हामीले प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसेको र कुनै दल वा पक्षबाट औपचारिकरूपमा त्यस्तो प्रश्न नआएकाले मतपत्र खेर गयो भन्ने आधारमा कुनै शङ्का गर्नु उचित हुँदैन ।”

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले पाठ्यपुस्तक छपाइलगायत नियमित कामका अतिरिक्त राष्ट्रको जिम्मेवारीलाई बोध गर्दै आयोगको कार्यादेशबमोजिम दैनिक १३ लाख मतपत्र छपाइ गरी सुरक्षितरूपमा समयमै हस्तान्तरण गरिएको बताए । उनले मतपत्र छपाइको कामले केन्द्रलाई घाटापूर्ति गर्न पनि सघाएको बताए ।


    ‘सरकारी कागजात धुल्याउने नियमहरू, २०२७ (पहिलो संशोधन, २०७०’ मा धुल्याउने भन्नाले ‘सरकारी कार्यालयमा रहेको कागजातमा लेखिएको व्यहारो पढ्न, बुझ्न वा त्यसको कुनै उपयोग गर्न नसकिने गरी रद्द गर्ने कार्यलाई सम्झनुपर्छ र सो शब्दले त्यस्तो कागजलाई आगोमा डढाउने कार्यसमेत जनाउँछ’ भनिएको छ ।

    सो कानुनअनुसार सम्बन्धित कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको कागजातहरूअवधि पुगेपछि ‘नेपाल सरकारको कुनै हानि–नोक्सानी नहुनेदेखि धुल्याउन उचित ठह¥याएका जति कागजातहरू काम तामेल भई सकेपछि जुनसुकै बखत धुल्याउन धुल्याउन आदेश दिन सक्ने’ व्यवस्था छ । धुल्याउने कागजातहरूलीलाम बिक्री पनि गर्न सकिने भनिएको छ ।

    कानुनमा काम तामेल भएको तीन महिनापछि धुल्याउने कागजातहरूको वर्गीकरण गरिएको छ । ‘नक्सा र डिजाइनसम्बन्धी तथ्याङ्कबाहेक कुनै निर्माण कार्यसम्बन्धी योजना, सम्भौता, ठेक्का पट्टा, अनुदानसम्बन्धी कागजात सो कार्य पूरा भएपछि लेखापरीक्षण गराउनुपर्ने भए गराइ अन्तिम रूपमा फर फारख भएपछि र लेखा परीक्षण गराउनुपर्नेमा सम्बन्धित कार्य पूरा भएपछि धुल्याउने व्यवस्था छ । राष्ट्रका लागि अभिलेखमूलक काजगात कहिल्यै नधुल्याउन नपाउने भनिएको छ । आयोगले विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चाररचार करोड मतपत्र छपाइ भएकामा करिब ६२ प्रतिशत मतदान भई बाँकी मतपत्र प्रयोगविहीन भएको थियो । राससबाट

  • लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुने

    लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा बिहीबार सुनुवाइ हुने

    काठमाडौँ, १० चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधनविरुद्धको रिट निवेदनमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बिहीबारका लागि सुनुवाइ हुने भएको अदालतका प्रवक्ता अजुनप्रसाद कोइरालाले जानकारी दिए । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरू भए पनि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।

    न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो ।

    महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

  • सल्लाघारीमा यसरी गरियो दुर्घटनामा उद्धारको अभ्यास

    सल्लाघारीमा यसरी गरियो दुर्घटनामा उद्धारको अभ्यास

    रासस
    भक्तपुर, १० चैतः भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो र १९ जना घाइते भए । नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै घाइतेको प्राथमिक उपचार गर्न थाले । विपद् उद्धारमा सक्रिय संस्था आरएनए–१६, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले घाइतेको तत्काल उद्धार ग¥यो । जिल्लाका चार वटा एम्बुलेन्समा घाइतेलाई भक्तपुर जिल्ला अस्पताल पुर्याइयो । अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र नर्सले तत्कालै उपचारमा सक्रियता देखाए ।

    यो दृश्य आज यहाँ आयोजना गरिएको आकस्मिक दुर्घटनाको कृत्रिम अभ्यासको हो । यहाँ भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको सहकार्यमा दुर्घटनाका बेला विपद्मा उद्धार र उपचारमा गरिने तयारीबारे कृत्रिम अभ्यास गरिएको थियो ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घट्नास्थलमा गरिने उद्धार, प्राथमिक उपचार, अस्पतालमा आएका घाइतेको उपचार, भीड नियन्त्रणदेखि उपचारसम्म गरिने तयारीबारे सडक विपद् आपतकालीन अभ्यास गरिएको बताए । यसले आगामी दिनमा आउनसक्ने विपद्मा सहज सेवा दिन योगदान पुग्ने उनको भनाइ छ ।

    कार्यक्रममा अस्पतालका निर्देशक डा सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपद्मा पनि उपचारका लागि तयारी अवस्थामा रहेको सन्देश दिन अभ्यास गरिएको र यसले सडक विपद् आपतकालीन अवस्थामा आउनेसक्ने जोखिममा थप सहज रूपमा काम गर्न प्रेरणा मिल्ने बताए ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा कृपा महर्जनले आज सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास निकै उपलब्धिमूलक रहेको र आगामी दिनमा आउनसक्ने विपद्का चुनौतीलाई सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताइन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमा कार्यरत प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले आजको अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मीदेखि अस्पतालका कर्मचारीलाई समेत विपद्मा कसरी उद्धार र उपचार गर्ने भन्नेबारेमा प्रयोगात्मक सीप सिकाइएको बताए ।

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

    काठमाडौँ, ११ चैतः देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मलङ्गवा नगरपालिका–४ ढाका बोर्डरस्थित सडकमा सोमबार राति भएको दुर्घटनामा एक, चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जना र चितवनकै इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा मिक्चर मेसिन बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । यसैगरी, सोमबार राति फलेबास नगरपालिका–४ मुडिकुवामा जिप दुर्घटना हुँदा त्यसका चालक, डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला जिप पल्टिँदा त्यसका चालक त्यसमा सवार दुई जनाको ज्यान गएको हो ।

  • काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

    काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

    काठमाडौँ, १० चैतः पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ । काठमाडौँमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिनापानी, हिमपात र हुरीबताससमेत आएको छ ।

    विभिन्न जिल्लाको वर्षामापन केन्द्रबाट प्राप्त विवरणअनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी झापामा नौ दशमलव चार मिलिमिटर वर्षा भएको छ । यस्तै, ताप्लेजुङ, भोजपुर, नुवाकोट, लमजुङ, गोरखा, कास्की र कालीकोटमा हल्का वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा तनहुँमा २४ दशमलव छ र झापामा १२ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

    मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षा÷हिमपात भइरहेको विभागले आज साँझ ६ः०० बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    विभागका अनुसार बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ । यस्तै, तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ ।

  • इरान–इजरायल तनाव थप चर्कियो

    इरान–इजरायल तनाव थप चर्कियो

    तेहरान, १० चैत (रासस–एएफपी) । मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गरेको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ । ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख गर्दै पाँच दिनभित्र सहमति नभए कडा सैन्य कदम चालिने चेतावनी दिएका थिए ।

    उनको उक्त अभिव्यक्तिले विश्व बजारमा सकारात्मक सङ्केत देखिएको थियो भने तेलको मूल्यमा पनि गिरावट आएको थियो । तर इरानले भने यस्तो दाबी अस्वीकार गर्दै यसलाई बजारमा प्रभाव पार्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।

    अमेरिकी पक्षले इरानका उच्च तहका नेतासँग संवाद भइरहेको जनाएको थियो । केही सञ्चारमाध्यमले इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफलाई वार्ताको प्रमुख पात्रका रूपमा उल्लेख गरेका छन् । साथै अमेरिकी प्रतिनिधिहरू स्टिभ विटकफ र जारेड कुशनरले पाकिस्तानमा सम्भावित भेटवार्ता गर्न सक्ने चर्चा पनि गरिएको छ । यद्यपि ह्वाइट हाउसले औपचारिक पुष्टि नगरेसम्म यस्ता विवरणलाई अन्तिम मान्न नहुने बताएको छ ।

    यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग संवाद गर्दै क्षेत्रीय शान्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर इरानका अधिकारीहरूले प्रत्यक्ष वार्ता नभएको दोहोर्‍याइरहेका छन् । इजरायलतर्फ भने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकासँग सहमति सम्भव भएको सङ्केत पाए पनि आफ्नो देशको सुरक्षाका लागि इरान र लेबनानमा सैन्य कारबाही जारी रहने बताए । उनका अनुसार हालको सैन्य उपलब्धिलाई कूटनीतिक अवसरमा रूपान्तरण गर्न सकिने अवस्था देखिएको छ ।

    मङ्गलबार बिहान इरानी सरकारी सञ्चारमाध्यमहरूले इजरायलमाथि नयाँ क्षेप्यास्त्र आक्रमण भएको जानकारी दिएका छन् । इजरायलको उत्तर क्षेत्रमा केही संरचनामा क्षति पुगेको भए पनि मानवीय क्षति नभएको जनाइएको छ । उता, लेबनानमा इजरायलले दक्षिण बेरुतमा लगातार हवाई आक्रमण गरेको विवरण सार्वजनिक भएको छ । यसअघि ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । तर सम्भावित प्रतिशोधको जोखिमलाई ध्यानमा राख्दै उनी पछि हटेको विश्लेषकले बताएका छन् ।

    क्षेत्रीय ऊर्जा आपूर्ति र जलडमरूमध्यमा आवागमन अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ्दै गएको छ । इरानले स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल आपूर्ति प्रभावित पारेपछि विश्व बजारमा अस्थिरता देखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले यस्तो अवस्था लम्बिँदा ऐतिहासिक ऊर्जा सङ्कट निम्तिन सक्ने चेतावनी दिनुभएको छ । हाल तेलको मूल्य उच्च विन्दुमा पुगेपछि ट्रम्पको वार्ता दाबीले केही राहत दिएको देखिएको छ ।

    युद्ध विस्तारसँगै लेबनानमा इजरायलको स्थलगत अभियान पनि तीव्र बनेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध कारबाही बढाएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । उपलब्ध विवरणअनुसार, द्वन्द्वमा हजारौँको ज्यान गइसकेको छ, तर स्वतन्त्र रूपमा तथ्य पुष्टि गर्न कठिन रहेको बताइएको छ । समग्रमा, कूटनीतिक संवादको चर्चा चलिरहे पनि मैदानमा सैन्य गतिविधि नरोकिनुले मध्यपूर्वमा द्वन्द्व झन् जटिल बन्दै गएको सङ्केत गरेको छ ।

  • कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

    कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

    बोगोटा, १० चैत (रासस–एपी) । कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् । कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिए । उनका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् । “यो अत्यन्त दुःखद घटना हो, जसले हाम्रो सेनामा ठूलो क्षति पुर्‍याएको छ”, उनले भने ।


    उनले प्रारम्भिक अनुसन्धानका आधारमा यो घटना कुनै अवैध सशस्त्र समूहको आक्रमणका कारण भएको देखिँदैन भन्दै त्यस्तो कुनै सङ्केत हालसम्म नदेखिएको स्पष्ट पारे । दुर्घटनास्थल पोर्टो लेगुइजामो, पुतुमायो प्रान्तमा पर्छ । यो इक्वेडर र पेरुको सीमासँग जोडिएको दुर्गम अमेजन क्षेत्र हो । स्थानीय उपमेयर कार्लोस क्लारोसले मृतकहरूको शव सानो सहरको शवगृहमा राखिएको र सीमित स्वास्थ्य पूर्वाधारका कारण घाइतेहरूलाई प्राथमिक उपचारपछि ठूला सहरतर्फ पठाइएको बताए । उनले स्थानीय बासिन्दाहरूले उद्धारमा सक्रिय सहयोग गरेको भन्दै आभार व्यक्त गरे ।


    कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले दुर्घटनाग्रस्त विमानले पुतुमायोको अर्को क्षेत्रमा सेना लैजाँदै गरेको जानकारी दिए । विमानमा ११५ जना सैनिक, ११ जना चालक दलका सदस्य र दुई जना राष्ट्रिय प्रहरी सवार थिए । दुर्घटनापछि ५७ जनालाई जीवितै उद्धार गरिएको बताइएको छ । दुर्घटनापछि सार्वजनिक भएका तस्बिर र भिडियोहरूमा दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ उठिरहेको देखिन्छ भने सैनिकहरू र स्थानीय बासिन्दाहरू उद्धार तथा आगो निभाउने प्रयासमा जुटेको दृश्य देखिन्छ । केही घाइतेहरूलाई मोटरसाइकलमार्फत हतारमा सुरक्षित स्थानतर्फ सारिएको थियो ।

    कोलम्बियाको वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको कारणबारे अझै स्पष्ट हुन नसकेको बताए । उनका अनुसार विमानमा प्राविधिक समस्या आएको र विमानस्थलबाट करिब दुई किलोमिटर टाढा खसेको हो । घाइतेहरूको उद्धारका लागि विशेष विमानमार्फत राजधानी बोगोटा लगायतका अस्पतालहरूमा सारिएको छ ।

    दुर्घटनालाई लिएर राष्ट्रपति गुस्ताभो पेट्रोले सैन्य उपकरणको आधुनिकीकरण आवश्यक रहेको पुनः जोड दिए । उनले प्रशासनिक कमजोरी र ढिलासुस्तीका कारण सुधारका प्रयासहरू अवरुद्ध भएको उल्लेख गर्दै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउनुपर्ने सङ्केत गरे । यद्यपि विपक्षीहरूले भने बजेट कटौतीका कारण सैन्य उडान समय घट्दा अनुभवहीन चालक दलका सदस्यहरू बढेको र त्यसले जोखिम बढाएको तर्क गरेका छन् ।

    उड्डयन तथा सैन्य विश्लेषक एरिक सौमेथका अनुसार दुर्घटनाग्रस्त ‘हकुलुलस सी–१३०’ विमान सन् २०२० मा अमेरिकाले कोलम्बियालाई उपलब्ध गराएको थियो र त्यसपछि यसको विस्तृत मर्मतसम्भार पनि गरिएको थियो । उनले विमानमा प्रयोग गरिएका उपकरण वा पार्ट्सको कमीका कारण दुर्घटना भएको सम्भावना कम रहेको बताउँदै इन्जिन किन उडानपछि छिट्टै असफल भयो भन्नेबारे अनुसन्धानले स्पष्ट पार्नुपर्ने उल्लेख गरे ।


    रक्षामन्त्री सान्चेजले पनि दुर्घटनास्थल नजिक सक्रिय विद्रोही समूहको संलग्नताको कुनै प्रमाण नभएको बताए । उनले यस घटनालाई ‘राष्ट्रका लागि गहिरो पीडादायी’ भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे । यो दुर्घटनाले कोलम्बियाको सुरक्षा संयन्त्र, सैन्य तयारी र पूर्वाधारमाथि गम्भीर प्रश्न उठाएको छ भने देशभर शोकको वातावरण सिर्जना गरेको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

    कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

    पाटन (ललितपुर), १० चैतः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले यही चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेश गरेका हुन् ।

    उनले पेश गरेको कार्यतालिकामा क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ ।

    विसं २०८३ जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यताबारे आवश्यक छानबिन गरी टुङ्ग्याउने गरी कार्ययोजना तय गरिएको छ । यस्तै असार मसान्तसम्म अध्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने र साउन ६ गते गाउँ÷नगर अधिवेशन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।

    प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ\नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ । त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन प्रस्ताव गरिएको छ ।

  • कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    पाटन (ललितपुर), १० चैतः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले जनमतले सङ्घीय संसद्मा दिएको प्रतिपक्षको भूमिका जिम्मेवार भएर निर्वाह गर्ने बताए ।

    “संविधान, पार्टीको विधान र प्रतिज्ञापत्रमा आधारित रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,” उनले भने, “२०८२ देखि २०८७ सम्मको अवधि सुशासन, सेवा र विकासको गतिमा अगाडि जान राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली कांग्रेसको सहयोग र साथ रहन्छ, अबको पाँच वर्ष कुनै पनि द्वन्द्व र दुर्घटना नआउने गरी भूमिका निर्वाह गर्छौं ।”

    प्रतिकूल अवस्थामा निर्वाचनमा होमिनु परेको बताउँदै सभापति थापाले निर्वाचन परिणामपश्चात् जवाफदेही भएर सभापति पदबाट राजीनामा दिएको बताए । “मेरो अपेक्षाभन्दा भिन्न निर्णय केन्द्रीय समितिले गरेको छ, बाँकी ठिक बेठिकको निर्णय आगामी महाधिवेशनले गर्छ, अब हामी महाधिवेशनतर्फ अगाडि बढ्छौँ,” उनले भने ।
    सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकको विशिष्ट अपेक्षा रहेको उल्लेख गरे । उनले अख्तियारको दुरुपयोग, नीतिगत भ्रष्टाचारको विषयमा प्रस्ट छानबिन गर्नुपर्नेमा जोड दिए । “२०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गरेर जानुपर्छ, अवैध सम्पत्ति जफत गर्नुपर्छ, यसका लागि आयोग बनाएर जानुपर्छ,” उनले भने । निर्वाचनको विषयमा पार्टीको समीक्षा भइसकेको र आजको बैठकबाट निर्णय गरेर सातै प्रदेशमा समीक्षा गरिने जानकारी दिए ।

  • संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

    संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

    काठमाडौँ, १० चैतः मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद् बैठक अब सिंहदरबारस्थित निर्माणाधीन आफ्नै भवनमा बस्न लागेको हो । सोही भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यको शपथ यही चैत १२ गते दिउँसो २ बजेका लागि तय भएको छ ।

    विसं २०६४ चैत २८ गते भएको निर्वाचनबाट ६०१ सदस्यीय संविधानसभा गठन भएपछि पुरानो संसद् ९ग्यालरी बैठक० भवन साँघुरो भएकाले संसद्को अधिवेशन नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको थियो । संविधानसभा अघिसम्म भने संसद् बैठक सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनमा बस्दै आएको थियो । विसं २०१६ देखि प्रारम्भ भएको नेपालको संसदीय इतिहास त्यहीँ भवनबाट सुरु भएको थियो ।

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा आगलागीबाट बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको भवन ध्वस्त भएको थियो । राष्ट्रियसभाको बैठक भने यसअघि गत माघ ४ गतेदेखि नै अस्थायी रुपमा सिंहदरबारस्थित कृषि समितिको बैठक कक्षमा बस्दै आएको छ ।

    सङ्घीय संसद सचिवालयले संविधानसभा बैठकका लागि २०६५ जेठदेखि भाडा र कर्मचारी परिचालनसहित वार्षिक रु पाँच करोड ६० लाख तिर्ने गरी अन्तरराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिसँग सम्झौता गरेको थियो । समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्रविक्रम सिंहका अनुसार उक्त भाडा प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि भई पछिल्लो समय गत असोजसम्म पुग्दा वार्षिक रु १६ करोड ५० लाख पुगेको थियो ।

    सचिवालयले संसदीय गतिविधिका लागि समितिको १५३ रोपनी क्षेत्रफलमा रहेका मुख्य सभा हलसहित आठ विभिन्न हल, विशिष्ट कक्ष, पार्किङ, बगँैचालगायत प्रयोग गर्दै आएको संयोजक सिंहले बताए । जेनजी आन्दोलनपछि संसद् सचिवालयले सूचना प्रकाशित गरी गत असोजदेखि एकतर्फी रुपमा उक्त सम्झौता रद्द गरेको छ । तत्काल संसद् बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको मुख्य हल निर्माण हुन केही समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्ने जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी दिए । मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको उनको भनाइ छ ।

    निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएपछि प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी थालिएको हो । त्यसका लागि प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराउनुहुने कार्यक्रम तय भएको छ । त्यसैगरी, ज्येष्ठ सदस्य केसीले यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सबै सदस्यहरुलाई नयाँ संसद् भवनमा शपथ गराउनुहुने प्रवक्ता गिरिले बताए । नेपालको संविधानको धारा, ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

    नयाँ संसद् भवन सिंहदरबारस्थित पुतली बगैँचामा २०७६ असोज १ गते शिलान्यास गरिएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी छ । विभागका अनुसार संसद् भवनको सिभिल निर्माणतर्फ करिब रु पाँच अर्ब ५० देखि ६० करोड हाराहारी खर्च हुने अनुमान छ भने ‘इन्टेरियर’ निर्माणका लागि थप रु दुई अर्ब ३४ करोड लागत रहेको छ । करिब १५१ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद् भवन तयार भएपछि सङ्घीय संसद्का सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् ।

    यसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ छन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त ‘लबी’ हुनेछ भने सानाठूला गरी १० संसदीय दलका कार्यालय हुनेछन् । साथै चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् ‘लाइब्रेरी’लगायत संरचना निर्माण गरिएका छन् ।