Author: Vishwanews.com

  • हिउँमा फसेका २५० यात्रुको उद्धार

    हिउँमा फसेका २५० यात्रुको उद्धार

    ढोरपाटन (बागलुङ), ७ चैतः भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० भन्दा बढी यात्रुको उद्धार गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित डोजरको प्रयाग गरी सडक खुलाएर यात्रुको उद्धार गरिएको पूर्वी रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमले जानकारी दिए । उनका अनुसार सातवटा बस, १० वटा मोटरसाइकल र एउटा जिपमा रहेका यात्रु समस्यमा परेका थिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी गौतमले दुई जिल्लाको सिमाना क्षेत्रको करिब तीन किलोमिटर सडकको हिउँ पन्छाएर सडक खुलाएको र अब मौसम हेरेर मात्रै यात्रा गर्न आग्रह गरे । उनले भने, “शुक्रबार साँझदेखि नै हिमपात भएको थियो, बिहानसम्म हिउँले सडक अवरुद्ध भयो । हामीले त्यो खबर पाउना साथ भूमे गाउँपालिकाको मेसिन लिएर सुरक्षाकर्मीसहित खटेका थियौँ, सडक खुलाएर यात्रु पनि गन्तव्यतिर लागेका छन् ।”

    इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले बागलुङ खण्डमा हिउँ परे पनि यातायात नरोकिएको बताए । काठमाडौँ, पोखरालगायतका स्थानबाट रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, सल्यान, दैलेखलगायत स्थानमा पुग्ने सवारीसाधनलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न भनिएको उनले बताए ।

  • उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

    उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

    काठमाडौँ, ७ चैतः उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो । चुनाव हुनेमा धेरैतिरबाट आशङ्का व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकैपटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउनसक्नु चानचुने सफलता नभएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो ।’

    “चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ,” अध्यक्ष घिसिङले भने, “तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ । यसैमा खुसी छु । यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ । अब संसद्मा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु ।”

    प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै सरहाना गरिन् । यस्तै यस सरकारको सफलताका लागि घिसिङले खेलेको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरिन् । त्यस अवसरमा उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिकीकरणको माग पनि गरेको छ ।

  • अन्तर्वार्ता : एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन

    अन्तर्वार्ता : एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन

    काठमाडौँ, ७ चैत (रासस) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लामो समयदेखिको विवाद र विभाजनपछि अन्ततः एकतामा आइपुगेको छ । सङ्घको १२ औँ महाधिवेशनबाट डा हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनेको छ । एनआरएनएभित्र प्राज्ञिक व्यक्तित्वको पहिचान बनाएका उनी विश्वविद्यालयमा प्राध्यापन गर्छन् । उनले अब सङ्गठनलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

    शर्माको प्रतिबद्धता कार्यान्वयन हुने नहुने त हेर्न बाँकी नै छ, तर अहिलेको एकताले सकारात्मक सन्देश दिएकाले उहाँलाई आगामी दिनमा काम गर्न सहज हुने अनुमान भने गर्न सकिन्छ । सङ्घभित्रका समस्या, सुधारका लागि उहाँको भावी योजना, एनआरएनएको भविष्य, रणनीति र चुनौतीबारे गैरआवासीय नेपालीहरूको मुद्दा र सम्बोधनका योजना, एनआरएनएको लगानीलगायतका विषयमा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता प्रगति ढकालले डा शर्मासँग गरेको अन्तरवार्ताको सम्पादित अंश :

    –लामो समयदेखि जारी विवाद र विभाजनका बीच अन्ततः एनआरएनएको एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । यसै क्रममा तपाईं सर्वसम्मत रूपमा नेतृत्वमा निर्वाचित हुनुभएको छ । यस्तो जटिल परिस्थितिमा सबै पक्षलाई समेट्दै सहमति जुटाउन कसरी सम्भव भयो ?

    हाम्रो ११ औँ महाधिवेशनबाट निर्वाचित डाक्टर बद्री केसीको एउटा समिति थियो, र अर्को समिति महेश श्रेष्ठ ज्यूको, गत मे महिनादेखि निर्वाचित थियो । यी दुवै समितिलाई फेरि सर्वोच्च अदालतले मान्यता दिएको थियो ।

    एउटै अदालतको फैसला भए पनि हामी समानान्तर रूपमा काम गर्दै थियौँ । तर हामी विभाजित हुँदा, नेपाल सरकार, नेपालको मिडिया, र आम गैरआवासी नेपालीहरूको दृष्टिकोण त्यति राम्रो थिएन । हाम्रो माथि केन्द्रमा विभाजन हुँदा यसको प्रभाव हाम्रो राष्ट्रिय समन्वय परिषद्मा पनि परेको थियो । आम गैरआवसीय नेपालीहरूबाट पनि मिल्नुपर्ने एक किसिमको दबाव थियो ।

    वास्तवमा, महेश श्रेष्ठ निर्वाचित भएर आउँदा देखि नै हामी एकताको सम्भावनाबारे खोजी गर्दै थियौँ । त्यसपछि जेनजी आन्दोलन भयो । जेनजी आन्दोलनपछि हामीले निर्धारण गरेको अधिवेशन अक्टोबरमा हुने थियो । तर हामीले यसलाई सारेर अझ एकताको खोजी गर्ने निर्णय गर्‍यौँ । त्यसपछि हामीले अलि घनिष्ठ रूपमा छलफल गर्यौँ ।

    नोभेम्बरमा, सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग हाम्रो सामूहिक भेटमा, हामीले दुवै पक्षलाई मिलाएर छ महिनाभित्र बृहत् एकताको अधिवेशन गर्ने सम्झौता गर्‍यौँ । सोअनुरूप, हामीले विभिन्न दुई समूहभित्रका उपसमूहहरू सबैलाई समेटेर, सबैको उपस्थितिमा र कार्यसमितिमा सबै पक्षको प्रतिनिधि हुनेगरी मेरो नेतृत्वमा कार्यसमिति गठन गरेका थियौँ ।

    नेतृत्वको हिसाबले पनि म फरक धारको नेतृत्व भन्न रुचाउँछु । किनभने एनआरएनएको २३ वर्षको इतिहासमा ‘एकेडेमिक’ क्षेत्रबाट कोही नेतृत्वमा आएका थिएनन् । म आफैँ कुनै पार्टीको राजनीति वा पार्टीसँग आवद्ध नभएको हुनाले, यहाँ केही परिवर्तन भएको स्थिति छ । सही समयमा यो एकता भएको छ ।

    भनेको यहाँले राजनीतिक पहुँच हुने र पैसा हुने मात्रै एनआरएनएको नेतृत्वमा पुग्ने अवसर पाउछन् भन्ने भाष्यलाई चिरिदिनुभयो ?

    वास्तवमा, मेरो एकमात्र उद्देश्य एनआरएलाई स्वतन्त्र र ‘थ्री पि’ मुक्त बनाउनु हो । पहिलो पी भनेको एउटा कुनै पनि राजनीतिक पार्टीसँग आस्था राख्ने पोलिटिक्स हो, हाम्रो आन्तरिक राजनीति त छँदै छ । अर्को पी भनेको चुनावमा अनावश्यक रूपमा पैसाले प्रभाव पार्नुहुँदैन भन्ने थियो ।

    अर्को पी भनेको पावर रहेको छ । यहाँ एनआरमा आइसकेपछि नेपाल सरकारसँग हुने पहुँचलाई दुरूपयोग गर्ने होइन । तर यो थ्री पीबाट एनआरएनए स्वतन्त्र र मुक्त हुनुपर्छ भन्ने अभियान पनि थियो । यही कारणले गर्दा, हामी विभाजन र खिचातानी हुँने र हामीप्रति धेरै गैरवासी नेपालीहरूको आकर्षण कम भएको थियो ।

    अहिले ८० लाख गैरआवासीय नेपाली छौँ, भन्छौँ तर आबद्धताको हिसाबले अहिले करिब एक लाख ३० हजार मात्र सदस्यहरू छन् । यो करिब दुई प्रतिशत मात्र हो । ९८ प्रतिशत गैरवासी नेपाली हामीसँग आबद्ध नै छैनन् । उनीहरूलाई पनि हामीले समेटेर ल्याउनुपर्छ । यदि नेपाल सरकारले अपेक्षा गरेअनुसार लगानी भित्र्याउने, बौद्धिक लगानीभित्र ल्याउने, ज्ञान ट्रान्सफर गर्ने हो भने सबैलाई एनआरएनएमा जोड्न जरुरी छ ।

    लामो समयदेखि देखिएको विवाद अन्त्य गर्दै संस्थाको एकता कायम राख्न, विश्वास पुनःस्थापना गर्न पक्कै पनि यहाँलाई चुनौती होला । यी र यस्ता किसिमको चुनौती समाधान गर्दै एनआरएनएलाई थप सशक्त बनाउने यहाँको योजना के छ नि र?

    मेरो पहिलो चुनौती भनेको बाहिर रहेका साथीहरूलाई एकै टिममा ल्याउनु हो । हिजो सामाजिक सञ्जालमा अलग–अलग विचार राख्ने साथीहरू अहिले एउटै टिममा छन् । उनीहरूबीच सकारात्मक वातावरण बनाउने यो हाम्रो पहिलो चुनौती हो । अर्को चुनौती भनेको, यो एकतालाई दिगो बनाउनु हो ।

    अर्को कुरा, एनआरएनलाई ‘रिब्रान्डिङ’ गर्नुपर्यो, किनभने, सन् २००३ सालमा जुन संस्था स्थापना भएको थियो, त्यतिबेला विदेशमा बस्ने हामी पाँच लाख नेपाली थियौँ । त्यतिबेला हाम्रो पहिलो ‘जेनेरेसन’को बच्चाहरू जन्मेका थिए । अब अहिले धेरै परिवर्तन भएको छ । अहिले सङ्ख्या ८० लाखसम्म पुगेको छ । अब हाम्रा बच्चाहरू दोस्रो जेनेरेसनमा प्रवेश गरिसकेका छन् ।

    ‘पोलिटिकल’ हिसाबले हेर्ने हो भने, नेपालको विश्वस्तरको राजनीतिक परिवेश पनि धेरै परिवर्तन भएको छ । त्यतिबेला पुरानो तरिका ठीक थियो । तर अब यो नयाँ परिवेशमा हामीले यसलाई अनुकूल बनाउनुपर्ने छ । अब पूरै परिवर्तन गर्नुपर्छ । एनआरएन भनेको के हो, एनआरएनलाई हेर्ने दृष्टिकोण के हो र एनआरएन भनेको केवल आर्थिक लगानी मात्र हो कि होइन भन्ने कुरा स्पष्ट हुनुपर्छ । एनआरएन भनेको बाहिर बस्ने नेपाली मात्र होइन । खाडीमा जाने नेपालीहरू दोस्रो पुस्तामा प्रवेश गर्दैछन् । पाँच पुस्ताअघि बर्मा, थाइल्याण्ड, मलेसियामा गएका नेपालीहरू पनि छन् । यदि ती सबै नेपालीहरूलाई जोड्न सकियो भने मात्र पेसागत मान्छेहरूलाई जोड्न सकिन्छ, र यसरी मात्र यो संस्था बलियो हुन्छ ।

    साच्चिकै, राज्यले अपेक्षा गरेअनुसार काम गर्न पनि यसरी मात्र सम्भव हुन्छ । अब मेरो डेढ वर्षको ‘फोकस’ भनेको लगानी त आफ्नो छँदैछ । तर नागरिकताको विषयलगायतका गैरआवसीय नेपालीसँग जोडिएका मुद्दाहरू सम्बोधन गर्न लाग्ने छु । यस अवधिमा च्यारिटी कार्यक्रम अलि कति कम गर्ने निर्णय पनि गरेका छौँ । मध्यपर्वमा समस्या परेका साथीहरूलाई सहयोग गर्न सक्छौँ । सहयोग गर्दा मात्र हाम्रो कनेक्शन बलियो हुन्छ ।

    यहाँले भन्नुभएको जस्तै विदेशमा रहने ८० लाख नेपालीलाई एनआरएनएमा जोड्न कतिको सम्भव छ ?

    मेरो समग्र दृष्टि भनेको बाहिर भएका सबै खालका गैरवासी नेपालीलाई सङ्घसँग जोड्ने र सङ्गठनलाई ठूलो बनाउने हो । यसका लागि संस्थागत र वैधानिक संरचना सुधार गर्नुपर्छ । उदाहरणका लागि, हालको निर्वाचन प्रणाली यस्तो छ कि सदस्यलाई काठमाडौँ आउनुपर्ने, भोट दिनुपर्ने, र लाखौँ खर्च गर्नुपर्ने हुन्छ । यस प्रणालीमा धेरैले सहभागी हुँदैनन् । तर, अहिले यो एकता महाअधिवेशनले निर्णय गरेको छ कि निर्वाचनको लागि काठमाडौँ आउन जरूरी छैन । आआफ्नो स्थानबाट प्रत्येक पञ्किरण सदस्यले प्रत्यक्ष अनलाइन मतदान गर्न सक्छन् । यसरी नेतृत्व चयन गर्दा धेरै सकारात्मक परिवर्तन आउनेछ । किनभने, हामी डायस्पोराको शक्ति प्रयोग गर्न सक्छौँ । अहिले हामीसँग करिब एक लाख ३० हजार सदस्य छन् । यसलाई खुला मतदान प्रणालीमार्फत सबैले भोट हाल्न सक्ने बनाइएमा, हाम्रो अपेक्षित सक्रिय सदस्य सङ्ख्या करिब तीन लाख पुग्न सक्छ ।

    विस्तारै सदस्य सङ्ख्या बढेर सात–आठ लाखसम्म पुग्न सक्नेछ । त्यहाँबाट निर्वाचित अध्यक्षको शक्ति करिब राष्ट्रिय दलहरूको शक्ति बराबर हुने सम्भावना हुन्छ । त्यसपछि मात्र हामी सरकारसँग आँखामा आँखामा जुधाएर हाम्रा मुद्दामा नेगोसिएसन गर्न सक्छौँ । यो आफैँमा ठूलो फोर्स हुनेछ । यदि त्यत्रो नेटवर्क बलियो भयो भने, यो एउटा किसिमको रेभोलुसन नै हुनेछ । यो मेरो ल्याएको एउटा मेजर एजेन्डा थियो, र यसलाई अहिलेको अधिवेशनले पारित गरेको छ । यसलाई हामीले इम्प्लिमेन्ट गरेर हेर्नेछौँ ।

    पहिलो पुस्तामा अलि बढी पोलिटिक्ससँग आबद्ध र व्यवसायसँग आबद्ध साथीहरू मात्र हुनुहुन्छ । एनआरएन भनेको ‘रिच म्यानरको क्लब’ हो र त्यहाँ जहिले पोलिटिकल प्लेग्राउन्डजस्तो देखिन्छ भन्ने थियो । तर म नेतृत्वमा आएपछि, म कुनै पार्टीसँग आबद्ध नभएको र एकेडेमिक सेक्टरबाट आएको हुनाले, अब यसमा नयाँ उर्जा जान्छ जस्तो लाग्छ । यद्यपि, पहिलो दुई–चार महिनामा कस्तो प्रकारको प्रोग्राम लिएर आउँछौँ भन्ने पनि महत्त्वपूर्ण हुनेछ ।

    यसैगरी विदेशमा काम गर्न जाने श्रमिकहरूलाई तालिम दिने योजना बनाएका छौँ । विदेश जाँदा प्लेन कसरी चढ्ने, एयरपोर्टबाट कसरी झर्ने, त्यहाँका समस्याहरू के हुन्, कानुनी अधिकार के–के छन्, भाषाका समस्या के के छ रु सांस्कृतिक बाधा के–के छन्, रु गर्न मिल्ने–नमिल्ने कुराहरू के हुन् रु यी सबै ज्ञान भएमा सजिलो हुन्छ । यस्ता ज्ञान नहुँदा अनावश्यक झन्झटमा पर्न सकिन्छ ।

    विभिन्न देशका एनसिसी–राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरूको नेतृत्वमा तालिम दिन सकेमा श्रमिकले स्पष्ट जानकारी पाउन सक्छन् ।

    हामीले हरेक महिना एउटा नियमित प्रोग्राम राख्न सक्नेछौँ । हाम्रो साथीहरूले जुममार्फत, एउटा ट्रेनिङ दिनेछन् । त्यसपछि कनेक्शन निर्माण हुन्छ । यहाँबाट जाँदा, सहभागीले एनआरएन खोज्न थाल्छन् ।

    विद्यार्थीहरू विदेश पढ्न जाँदा कतिपय ‘कन्सल्टेन्ट’हरूले गलत जानकारी दिन सक्छन् । त्यसैले हामीले नियमित एक दिन ‘ओरिएन्टेसन प्रोग्राम’ राखेका छौँ । यसरी, अस्ट्रेलिया वा अमेरिका जाने हाम्रा विद्यार्थीहरू पनि लिडर रोलमा आउँछन् । विदेश बस्ने नेपालीलाई खेलकुदमार्फत नेपालसँग जोड्ने गरी कार्यक्रम गर्ने छौँ ।

    अर्को भनेको ६०–६५ वर्ष उमेर पुगेका व्याक्तिहरूको १०–१५ वर्ष काम गर्न सक्ने ऊर्जा हुन्छ । विदेशमा उनीहरू कमसेकम एक्लोपन महसुस गरिरहेका छन् । उनीहरूलाई पनि आकर्षित गर्न ‘स्पेसिफिक प्रोग्राम’ राखेका छौँ । यो ‘टेक्नोलोजी’ वा अन्य प्रोग्राममार्फत सुरु गर्दा धेरै मानिसहरू सहभागी हुनेछन् । यसका लागि पूर्वाधार तयार पार्नु पर्छ, र संस्थाले पनि इन्टेन्सन (सक्रियता) लिनुपर्छ । चुनौती त छ तर अहिले सुरु गर्दा अर्को कार्यकालले कार्यन्वयन गर्ने विश्वास छ ।

    अहिलेसम्म एनआरएनएको लगानी खासै भिजिवल देखिँदैन, अब भने कसरी भिजिवल बनाउने योजना छ नि ?

    लगानीको कुरा दुई किसिमले हेर्नुपर्छ । व्यक्तिले गरेको लगानी त प्रशस्तै छ । उदाहरणका लागि, एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको लगानीमा १०–१२ अर्बको होटेल निर्माण भएको छ । संस्थापक अध्यक्ष उपेन्द्र महतोको अस्पताल छ । पूर्व अध्यक्षहरू जिवा लामिछाने, भवन भट्टले पनि नेपालमा लगानी भएको छ । जुन हामी प्रत्यक्ष देख्न सक्छौँ ।

    संस्थागत रूपमा, एनआरएन सामाजिक संस्था भएकाले आफैँ लगानी गर्नुपर्दैन । यसको काम भनेको, बाहिर रहेका सम्भावित लगानीकर्ताहरूलाई पहिचान गर्नु र यदि एनआरएनका ‘लिडर’हरूसँग कुनै प्रोजेक्ट छ भने त्यसमा लगानी वातावरण बनाउनु हो । अहिलेसम्म यो मोडलमा काम भइरहेको भए पनि तर खुला छैन ।

    पदाधिकारीहरूले एउटा हाइड्रोप प्रोजेक्ट लिए भने यसलाई ओपनभन्दा पनि चिनेको हाम्रा साथीहरूसँग तपाईंले लगानी ल्याउनसक्नुहुन्छ भन्न सक्छौँ । तर एकदमै खुला रूपमा कलेक्टिभ इन्भेस्टमेन्टका दुई वटा मात्रै प्रोजेक्ट छन् । एनआरएन इन्फ्रास्ट्रक्चरको अहिले सेयर मार्केट पनि धेरै उच्च भइसकेको छ । सुरुमा हामीले यो लमजुङको दर्दी खोला जलविद्युत् आयोजनामा लगानी गरेका थियौँ ।

    पछिल्लो १० अर्बको भनेको नेपाल सरकारले पाँच प्रतिशत लगानी गरेर अगाडि बढाउने हो । यसको कम्पनी स्थापित हुँदैछ । हामीबीचको विभाजनको कारणले अलि कति प्रभाव परेको छ । नेपाल सरकारले गर्नुपर्ने केही नीतिगत र व्यवहारिक कुराहरू त्यहाँ पूरा गर्न बाँकी छन्, । अब अन्तिम चरणमा छन् ।

    नेपालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेर अब नयाँ सरकार पनि बन्दै छ । सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घोषणापत्र हेर्दा लगानीमैत्री वा डायस्पोरा फ्रेन्डली सरकार हुनेछ भन्ने अपेक्षा छ । अनि १० अर्बको प्रोजेक्ट पनि गति लिन सक्छ । मेरो विचारमा, १० अर्ब भन्नाले अहिले सुरुआती चरणमा मात्रै हो ।

    यदि सरकारले नै नेतृत्व गरेर नेपाल इन्भेस्टमेन्ट फन्ड सुरु गर्‍यो भने अर्बपतिको मात्र होइनस सानो–थोरै कमाइ गर्ने व्यक्तिहरूको पनि लगानी जोड्न सकिन्छ र धेरै प्रोजेक्ट गर्न सकिन्छ ।

    गत भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण मानवीय क्षतिसँगै अर्बौं लगानी भएका भौतिक पूर्वाधारमा पनि क्षति भयो । यस्तो बेलामा अझै पनि गैरआवासीय नेपालीको मनोबल कमजोर भइरहेको होला । अब उनीहरूको मनोबल उच्च बनाउन र लगानीमैत्री वातावरण सुनिश्चिताका लागि भावी सरकारसँग कसरी समन्वय गर्नुहुन्छ नि ?

    जेनजी आन्दोलनमा हाम्रो संस्थापक अध्यक्ष उपेन्द्र महतोको घरमा आगो लागेको थियो । बस्ने स्थिति पनि थिएन । किन भयो हामीलाई पनि अचम्म लागेको थियो । यो एउटा चुनौती हो, यस्तै अन्य चुनौतीहरू पनि आउन सक्छन् । तर यस्तै परिस्थितिमा हामीलाई चाहिने हो, ‘डायस्पोरा’ नेपाली । यो हाम्रो देश हो । हामीले पहिले पनि जनयुद्धको समयमा, लगानी ल्याएका थियौँ ।

    लगानीमैत्री वतावरण बनाएर एनआरएनको लगानी बढाउन सरकारले पनि पहल गर्न जरुरी छ । सबै पार्टीको घोषणापत्र हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र डायस्पोराले चाहेको कुरा सम्बोधन गरेको छ । जस्तै नागरिकताको निरन्तरताको विषय र त्यहाँ लगानीमैत्री वातावरण पनि उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीको कतिपय नेतृत्वमा पूर्वएनआरएनहरू छन्, र राष्ट्रिय समन्वय परिषदको विभिन्न पदमा काम गरेका व्यक्तिहरू पनि महत्त्वपूर्ण ठाउँमा पुगेका छन् । यसले हाम्रा मुद्दा अघि बढाउन सहज बनाउँछ ।

    एनआरएन ९गैरआवासीय नेपाली० हरूका समस्या ठाउँअनुसार फरक–फरक छन् । मध्य पूर्वका देशहरूमा बस्ने नेपालीहरूले प्रायः रोजगारीसँग सम्बन्धित समस्या भोग्छन् । जस्तै–‘वर्क पर्मिट’, स्वास्थ्य बीमा, काम गर्दा हुने चोटपटक, र कहिलेकाहीँ मृत्युका घटनासमेत हुन्छ । युरोप र अन्य पश्चिमी देशहरूमा भने फरक चुनौती छ । त्यहाँ जन्मिएका वा हुर्किएका दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग कसरी जोडिराख्ने भन्ने ठूलो प्रश्न छ । एसियाका केही देशहरू–जस्तै बर्मा, थाइल्याण्ड, फिजी–मा त नेपालीहरू पाँचौँ पुस्तासम्म पुगिसकेका छन् । उनीहरूलाई पनि नेपालसँग सम्बन्ध कायम राख्न गाह्रो भइरहेको छ । यसरी, एनआरएनका समस्या उनीहरू बसेको क्षेत्र अनुसार फरक–फरक देखिन्छन् ।

    अहिले नेपालमा पनि विदेशमा रहेका नेपालीहरूको अवस्था कस्तो छ भन्ने स्पष्ट जानकारी छैन । हामीसँग ठ्याक्कै तथ्याङ्कभन्दा बढी अनुमान मात्रै छ । तर, हाम्रो सञ्जाल करिब ९० देशमा फैलिएको छ, जसबाट कुन–कुन देशमा कति नेपाली छन् भन्ने अनुमान गर्न सकिन्छ । संसारभरि नेपाली कहाँ छन्, उनीहरूका समस्या के छन्, र उनीहरूमा कस्तो सम्भावना (पोटेन्सियल) छ–यी सबै कुरा समेटेर एउटा ‘वाइट पेपर’ ९अध्ययन प्रतिवेदन० बनाउन आवश्यक छ । यसमा आर्थिक लगानी, बौद्धिक योगदान, र अन्य सहयोगका क्षेत्रहरू पनि स्पष्ट गर्न सकिन्छ । यसबारे म परराष्ट्र सचिवसँग पनि छलफल गरिरहेको छु । नेपाल सरकारले पनि नीति बनाउन सक्छ, हामीहरूले पनि आफ्ना नीति बनाउन सक्छौँ । साथै, नेपाल र विदेशमा रहेका नेपालीसँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य गर्नु पनि उपयोगी हुन्छ । मेरो कार्यकालमा प्रयास गर्ने छु ।

    तपाईंहरू मध्यपूर्व जाँदा आफ्ना समस्या मलाई मात्र भनिराख्नुभन्दा, ती समस्याहरूलाई ‘वाइट पेपर’ (अध्ययन प्रतिवेदन)को रूपमा तयार गरेर ल्याउनु राम्रो हुन्छ । यसले सबैका लागि उपयोगी स्रोत बन्छ । साँचो कुरा के हो भने, यहाँका मिडिया र पत्रिका पढेर मात्रै समस्या राम्रोसँग बुझ्न सकिँदैन । स्पष्ट चित्र त ‘वाइट पेपर’ आएपछि मात्र देखिन्छ ।

    मध्यपूर्वमा जारी युद्धका कारण कति नेपालीलाई मानसिक तनाव छ । जीवन र रोजगारी नै जोखिममा छ । अझै भविष्य के होला भन्न सकिँदैन । यदी युद्धको तनाव बढ्दै गएमा आपत्कालीन उद्धारका लागि एनआरएनएको तयारी छ नि ?

    मध्यपूर्वमा युद्ध जारी रहँदा त्यहाँ भएका नेपालीमा परेको असरबारे स्थानीय राष्ट्रिय समन्वय परिषद्का नेतृत्वले तुरुन्तै एम्बेसी, नेपाल सरकारका प्रतिनिधि र एनआरएनसँग छलफल गरेर के गर्न सकिन्छ भनेर पहिल्यै पहिचान गरिसकेका छन् । त्यहाँ भएका नेपाली राजदुतावासका स्रोतहरू सीमित हुन्छन् । जहाँ पाँच–सात जना कर्मचारी मात्र हुन्छन् । अनि भाषा र संस्कृतिको पनि समस्या हुन्छ । त्यसैले सानो घटना हुँदा के गर्ने, कसलाई फोन गर्ने जस्ता कामहरू हाम्रो साथीहरूले सजिलै गर्न सक्छन् । कोभिडको समयमा पनि हामीले दुई लाखभन्दा बढी गैरआवासीय नेपालीलाई प्रत्यक्ष सहयोग गरेका थियौँ । हामीले गाडीमै खाना पुर्‍याउने, क्याम्प सुरक्षित बनाउने, मानसिक स्वास्थ्यका समस्या समाधान गर्ने, २५० जना डाक्टरसँग समन्वय गर्ने, र भाषा समस्या भए नेपालीमै फोनमार्फत जानकारी दिनेजस्ता काम गरेका थियौँ । यसरी धेरै नेपालीहरूको ज्यान बचाउन सफल भएका थियौँ ।

    अहिले पनि हाम्रो ‘ग्रासरुट’ टिम तयार नै छ । आवश्यक परे सुरक्षित स्थानको व्यवस्थाका लागि हामी तयारी अवस्थामा छौँ । बुधबार हाम्रो कार्य समितिको पहिलो बैठक सकियो । जहाँ त्यहाँको अवस्था र तुरुन्त गर्न सकिने सहयोग ९आर्थिक वा अन्य० बारे छलफल भयो । छलफलमा राहत कोषका लागि रु एक करोड लैजाने निर्णय भएको छ । काम सुरु भइसकेको छ । कुवेतमा एयरपोर्टमै अप्ठ्यारोमा परेका गैरआवासीय नेपालीहरूलाई त्यहाँको एनसीसी टिमले रेस्क्यु गरिसकेको छ । यसले के देखाउँछ भने, हाम्रो ग्रासरुट टिम पहिलेदेखि नै सक्रिय र तयारी अवस्थामा छ ।

    अघिल्लो नेतृत्वका कामलाई तपाईं कसरी निरन्तरता दिनुहुन्छ र?

    वास्तवमा, नागरिकता निरन्तरता र सम्पत्ति सुरक्षाजस्ता विषयहरू हाम्रो पुरानै र स्थायी समस्या हुन् । साथै, अरू सामाजिक कार्यक्रमहरू पनि छन् । तर विगतमा आन्तरिक विभाजन र विभिन्न मुद्दाका कारण काम सोचअनुसार भएन । अव भने विगतका मुद्दा सम्बोधन गर्न निरन्तर लागिरहने छु । हामीले सातै प्रदेशमा मोबाइल ब्लड बस उपलब्ध गराउने योजना छ । केही प्रदेशमा दिइसकेका छौँ । अब गण्डकी र मधेस प्रदेशमा दिएपछि सबै सातै प्रदेशमा ब्लड बस पुग्नेछ । यसले दुर्घटना वा आपत्कालीन अवस्थामा घटनास्थलमै रगत सङ्कलन गर्न मद्दत गर्छ, जसले धेरैको ज्यान बचाउन सक्छ । यो काम हामीले रेडक्रससँग मिलेर अघि बढाएका छौँ ।

    त्यसैगरी, हरेक एनसिसीले आफ्नो कार्यकालमा नेपालमा कम्तीमा एउटा परियोजना ल्याउनुपर्छ भन्ने लक्ष्यसहित ‘वन एनसीसी, वन च्यारिटी प्रोजेक्ट’ सुरु गरेका छौँ र यसलाई निरन्तरता दिनेछौँ । अब नयाँ तरिकाले काम गर्ने योजना छ । पहिले एनसीसीहरूले आफैँ परियोजना छनोट गर्ने, अनि हाम्रो सहकार्यमा त्यसलाई अघि बढाउने छौँ ।

    अहिलेसम्म के समस्या छ भने–प्रोजेक्ट साँच्चिकै बनेको छ कि छैन, पैसा सही ठाउँमा प्रयोग भयो कि भएन भन्ने हेर्ने ९मोनिटर गर्ने० व्यवस्था कमजोर छ । धेरैजसो अवस्थामा मानिसहरू आउँछन्, पैसा दिन्छन् र फर्किन्छन्, तर त्यसको पछि के भयो भनेर फलोअप हुँदैनथ्यो । त्यसैले अब हामीले के सोचिरहेका छौँ भने, सचिवालयमै एउटा छुट्टै युनिट बनाएर प्रोजेक्टको निगरानी गर्ने छौँ । आवश्यक परे हामी पनि केही रकम थप्नेछौँ, र प्रोजेक्ट ठीकसँग चलेको छ कि छैन भन्ने नियमित रूपमा हेर्नेछौँ भनेर प्रस्ताव लादैछौँ । यदि यो योजना लागू भयो भने, करिब ६० देशबाट ६० वटा प्रोजेक्ट सञ्चालन गर्न सकिन्छ । जस्तै–स्कुल बनाउने, अस्पताल बनाउने, वा विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

    गैरआवासीय नेपालीको नागरिकता र मतदान अधिकारको मुद्दा अहिले पनि प्रमुख छ । यहाँको कार्यकालमा यसको कार्यान्वयन कति सम्भव छ ?

    हालको संविधानले विदेशी नागरिकता लिने नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिन सक्ने व्यवस्था गरेको छ । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्याक्तिको अधिकार के हो रु भन्ने सम्बन्धमा मन्त्रिपरिषद्ले एक दिनमा गर्नसक्छ । अध्यादेशकै रूपमा आए पनि तत्कालै समस्या समाधान हुन सक्छ । नागरिकता ऐन र गैरआवासीय नेपालीसम्बन्धी ऐनसँगसँगै नआएको कारण वास्तविक अधिकार स्पष्ट छैन । नागरिकता लिइसकेपछि इमिग्रेसन, मालपोत र अन्य सरकारी कार्यालयहरूले त्यसलाई पूर्ण रूपमा मान्दैनन् । यसका लागि हामीले सुरुमा गैरवासी नेपाली सम्बन्ध ऐन पार्लियामेन्टमा लैजान पहल गरेका थियौँ । तत्काल सफल नभए पनि नयाँ सरकारले यसलाई अघि बढाउने विश्वास छ । संविधान संशोधनमार्फत वंशजको नागरिकताको निरन्तरता हुनेमा विश्वस्त छु ।

    गैरआवासीय नेपाली नागरिकताले जागीर पाउन समस्या छ । सम्पत्ति सुरक्षामा प्रश्नहरू छन् । अन्य आर्थिक–सामाजिक–सांस्कृतिक अधिकार स्पष्ट छैनन् । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार स्पष्ट परिभाषित गर्न जरुरी छ । जसले गर्दा विदेशमा कमाएको सम्पत्ति, पैत्रिक सम्पत्ति, र विदेशी नागरिकतासँग सम्बन्धित अधिकार–जग्गा खरिदरबिक्री, बैंक खाता खोल्ने अधिकार कार्यान्वयन हुन सक्छ ।

    गैरआवसीय नेपाली नागरिकको अधिकार भनेको, आम नेपालीहरूले पाउने अधिकार राजनीतिक अधिकार हो । विदेश बसेका नेपालीलाई आम निर्वाचनमा मतदान गर्न दिने कुरा–पहिला छलफलकै विषय बनेको थिएन । तर हालको सुशिला कार्कीको नेतृत्वको सरकारले यसलाई कमसेकम चासो दिएको छ । छोटो समयका कारण पूर्ण कार्यान्वयन भने सम्भव देखिएन । विद्युतीय मतदान गर्न पाउने व्यवस्था सुनिश्चित भएमा राम्रो हुने छ ।

    एनआरएनएमा जेनजी र युवालाई जोड्ने नीति के छ नि ?

    यही अधिवेशनदेखि नै दोस्रो पुस्ताका गैरआवसीय नेपाली संयोजक तोकेका छौँ । उनीहरू त्यही जन्मेर त्यही पढेका, २५–३० वर्षमुनिका युवाहरू हुन् । ती संयोजकहरूले आफ्ना जेनेरेसनका मानिसहरूसँग सजिलै कम्युनिकेसन गर्न सक्छन्, । हरेक देशमा पनि हामीले संयोजक तोक्छौँ, अनि उनीहरूमार्फत हाम्रो कुरा सुन्छौँ, ‘कसरी नेपालसँग कनेक्शन कायम गर्न सकिन्छ’ भन्ने विषयमा । कमसेकम आउँदो समरमा, हाम्रो छोराछोरीलाई शैक्षिक भ्रमणजस्तो गराएर नेपाल घुम्न पठाउँदा नेपालसँग कनेक्शन बढाउन सकिन्छ ।

    अन्त्यमा विश्वभर रहेका नेपालीलाई यहाँको सन्देश के छ नि ?

    अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ । सम्पूर्ण गैरआवासीय नेपालीलाई आसावादी रहन आग्रह गर्छु कि नयाँ सरकारसँग सहकार्य गर्ने अवसर आएको छ । सरकारसँग समन्वय गरेर गैरआवासीय नेपालीहरूको मुद्दा सम्बोधन गर्छौं यसका लागि हामीलाई साथ दिनुहोला ।

  • प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

    प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

    रासस
    काठमाडौँ, ७ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा रु एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर अनुदान छुट्याउन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले वित्तीय समानीकरण अनुदानको रकम प्रदेश सरकारको हकमा रु ६१ अर्ब ५० करोड ३२ लाख र स्थानीय सरकारलाई रु ९० अर्ब २० करोड ४६ लाख बराबर उपलब्ध गराउन सिफारिस गरेको हो ।


    सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानका लागि आयोगले नेपालको संविधान २०७२ को धारा ६०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार सिफारिस गर्दै आएको छ ।

    आयोगले यसरी वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानका वर्गीकरण गर्ने गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्राप्त गर्ने न्यूनतम वित्तीय समानीकरण अनुदान रु १५ अर्ब ३७ करोड ५८ लाख निर्धारण गरिएको छ । जुन प्रदेश सरकारले पाउने वित्तीय समानीकरण अनुदानको २५ प्रतिशत हुन आउँछ ।

    जनसङ्ख्या र क्षेत्रफललाई समान ५०÷५० प्रतिशत भार दिई प्रदेशले पाउने न्यूनतम अनुदानको हिस्सा निर्धारण गरिएको पनि आयोगले जनाएको छ । आगामी आर्थिक वर्षका लागि न्यूनतम अनुदान शीर्षकमा कोशी प्रदेशका लागि रु दुई अर्ब ८२ करोड ६४ लाख, मधेशका लागि रु एक अर्ब ९० करोड ६० लाख, बागमतीका लागि रु दुई अर्ब ७५ करोड ४२ लाख र गण्डकीका लागि रु एक अर्ब ८२ करोड २७ लाख बराबर सिफारिस गरिएको छ । त्यस्तै, लुम्बिनीका लागि रु दुई अर्ब ४६ करोड ५७ लाख, कर्णालीका लागि रु एक अर्ब ७८ करोड ७४ लाख र सुदूरपश्चिम प्रदेशका लागि रु एक अर्ब ८१ करोड ३४ लाख बराबर सिफारिस गरिएको छ ।

    आगामी आर्थिक वर्षका लागि स्थानीय तहले प्राप्त गर्ने न्यूनतम समानीकरण अनुदान रु ३० अर्ब ८३ करोड निर्धारण गरिएको पनि आयोगले जनाएको छ । जुन स्थानीय सरकारले पाउने कुल वित्तीय समानीकरण अनुदानको ३४ दशमलव १८ प्रतिशत हुन आउँछ । सूत्रमा आधारित वित्तीय समानीकरण अनुदानका लागि विभिन्न आधार तथा सूचकहरु तयार पारी त्यसको भार निर्धारण गरिएको आयोगको सिफारिसमा उल्लेख छ । जसमा मानव विकास सुचकाङ्कको १०, आर्थिक सामाजिक असमानताको ५, पूर्वाधार विकासको अवस्थालाई १५ र खर्चको आवश्यकता तथा राजस्व उठाउन सक्ने क्षमतालाई ७० प्रतिशत भार छुट्याइएको छ ।

    न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानको छुट्टाछुट्टै गणनी गरी कुल वित्तीय समानीकरण अनुदान निर्धारण गरिएको छ । यी तीनवटै शीर्षकको कुल अनुदानको रकम रु सात करोड भन्दा कम भएका स्थानीय सरकारलाई भने महानगरपालिकाहरुको सूत्रवापतको रकम कट्टा गरी थप गर्न पनि आयोगले सिफारिस गरेको छ । “चालीस वटा स्थानीय सरकारले न्यूनतम अनुदान र सुत्रमा आधारित अनुदानबाट रु सात करोडभन्दा कम रकम पाउने देखिएको छ ।

    अनुदान रकमले स्थानीय सरकारहरुको संविधान प्रदत्त जिम्मेवारी न्यूनतम रुपमा पूरा गर्न पर्याप्त नहुने ठहर गरी प्रत्येक स्थानीय सरकारहरुलाई न्यूनतम अनुदान र सूत्रमा आधारित अनुदान गरी कम्तीमा रु सात करोड प्राप्त हुनेगरी स्थानीय सरकारहरुको आन्तरिक राजस्वको अवस्थासमेतको आधारमा महानगरपालिकाहरुको सूत्र बापतको रकममा करिब १० दशमलव ८० प्रतिशतले कट्टागरी उक्त रकम त्यस्ता ४० वटा स्थानीय सरकारको अनुदानमा थप गर्नुपर्नेछ”, आयोगको सिफारिसमा भनिएको छ ।

  • दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

    दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

    डेइजोन, ७ चैत (रासस–सिन्ह्वा) । दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन् । साथै चार जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार दिउँसो करिब १ः१७ बजे आगलागी हुँदा कारखानाभित्र झण्डै १७० जना कामदार कार्यरत थिए । अचानक लागेको आगो तीव्र गतिमा फैलिँदा धेरै कामदारहरू भवनभित्रै फसेका थिए ।

    अग्नि नियन्त्रण अधिकारीहरूका अनुसार पहिलो पीडित दोस्रो तलामा हृदयघातको अवस्थामा फेला परेका थिए, जसलाई अस्पताल लैजाँदै गर्दा मृत घोषणा गरिएको थियो । त्यसपछि अन्य नौ जनाको शव तेस्रो तलामा भेटिएको पुष्टि गरिएको छ, जसले आगोको प्रभाव माथिल्लो तलासम्म पुगेको सङ्केत गर्दछ ।


    आगो नियन्त्रणमा लिन दमकल टोलीले लामो समय संघर्ष गर्नुपरेको थियो । प्रारम्भिक चरणमा धुवाँ र उच्च तापक्रमका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो । पछि संरचना सुरक्षित रहेको प्राविधिक टोलीले पुष्टि गरेपछि मात्र राति ढिलो गरी उद्धारकर्मीहरू भवनभित्र प्रवेश गर्न सकेका थिए । हाल उद्धार टोलीले बेपत्ता चार जनाको खोजी कार्य तीव्र पारेको छ । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।


    अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक अनुमान अनुसार औद्योगिक उपकरण वा ज्वलनशील पदार्थबाट आगो सुरु भएको हुन सक्ने आशंका गरिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ । यस घटनापछि स्थानीय प्रशासनले औद्योगिक सुरक्षा मापदण्डहरू कडाइका साथ पालना गर्न निर्देशन दिएको छ भने यस्ता घटनाबाट बच्न कारखानाहरूमा सुरक्षा निरीक्षण बढाइने जनाएको छ ।

  • अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

    अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

    न्युयोर्क, ७ चैत (रासस–सिन्ह्वा) । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ । अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबार देखि जहाजहरूमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार – पसार र बिक्रीलाई अनुमति दिएको छ । सम्बन्धित जहाजहरूको सुरक्षित स्थानान्त्रण चालक दलका सदस्यहरूको स्वास्थ्य वा सुरक्षाको संरक्षण, आपतकालीन मर्मत र वातावरणीय संरक्षणका साथै विभिन्न सेवाहरूका लागि पनि अनुमति दिइएको जनाइएको छ ।

    अनुमतिमा लेनदेनहरूमा संयुक्त राज्य अमेरिकामा इरानी मूलको कच्चा तेल र पेट्रोलियम उत्पादनहरूको आयात समावेश रहेको छ । अस्थायी तथा छोटो अवधिको कडाइका साथ पारवहनमा सीमित तेलमा मात्र अनुमति दिएको उल्लेख गर्दै नयाँ खरीद वा उत्पादनलाई अनुमति नदिने अमेरिकी स्रोतले जनाएको छ । वासिङ्टनले यस अघि नै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहयोगमा आपतकालीन तेल भण्डार अतिरिक्त रूसी र भेनेजुएलाको तेलमा प्रतिबन्धहरू कम गरिसकेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्ध तीन हप्तासम्म चलेको छ, जसले स्ट्रेट अफ हर्मुज हुँदै ढुवानीलाई गम्भीर अवरुद्ध गरेको छ ।

  • निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

    निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान

    काठमाडौँ, ७ चैतः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन् । हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ । उनी गत फागुन १३ गते सिङगापुर प्रस्थान गरेका थिए ।

  • मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

    मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

    काठमाडौँ, ७ चैतः शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताए । पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने रहने छ ।

    अहिले नेपालको पूर्व क्षेत्रमा र अन्य क्षेत्रका कतैकतै हल्का वर्षा भइरहेको र यो पनि विस्तारै हट्ने उनको भनाइ छ । अहिलेको वर्षा गराउने प्रणाली बाहिरिए पनि घाम लाग्ने, फेरि बदली हुने क्रम भने प्रिमनसुनमा रहिरहने तर ठूलो र अलि लामो वर्षा भने तत्काल नहुने उनले बताए ।


    विभागको अभिलेख अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र मधेशप्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । विभागको पछिल्लो २४ घण्टे विवरणमा पाल्पामा सबैभन्दा बढी ७५.८ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीमा ७५.२, मोरङमा ६३.८ र धनकुटामा ६३.२, कपिलवस्तुमा ५९.६ मिलिमिटर वर्षा भएको छ ।

  • बुटवल-नारायणगढ सडक अवरुद्ध

    बुटवल-नारायणगढ सडक अवरुद्ध

    मध्यविन्दु (नवलपरासी), ७ चैतः वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल(नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो ।

    दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सड्क हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन पार हुन नसक्दा सवारीको जाम लागेको छ ।

    “हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, प्रहरी उपरीक्षक खड्काले भने, “पूर्वबाट पश्चिम जाने सवारीहरू उकालोमा चिप्लिएकाले अहिले सडक अवरुद्ध भएको छ ।” दाउन्ने खण्डमा सडक अवरोध भएकाले सवारी आवागमनमा समस्या भएको जनाउँदै मर्मत सञ्चालनको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डको निर्माण नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

    यसैबीच नारायणघाट–बुटवल सडक आयोजना कार्यालयले यही चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको हो । अहिले साना तथा लामो दूरीका यात्रुवाहक र आकस्मिक सेवाका सवारीसाधन सञ्चालन भइरहे पनि समस्या भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

  • भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

    भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

    काठमाडौँ, ७ चैतः काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

  • निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

    निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना

    काठमाडौँ, ७ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप०) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा निर्वाचनअघि बालबालिकासम्बन्धी २८६ घटना दर्ता भएका जनाएको छ । निर्वाचनपछि १९ घटना भएका प्रतिवेदनमा उल्लेख छ ।

    निर्वाचन प्रचारका क्रममा रौतहटको ईशनाथ नगरपालिका–४ मठियाटोलमा गत माघ २२ गते एकजना ४ वर्षीय बालिकाको गाडी ठक्करबाट मृत्यु भएको थियो। धनुषा जिल्ला मिथिला नगरपालिका–९ मा २०८२ फागुन १९ गते पुलमाथि राखिएको शङ्कास्पद वस्तु विस्फोट हुँदा १५ वर्षीया बालिका आशा भुजेल र आठ वर्षीय बालक सुशील माझी घाइते भएका थिए । पाँचथरको फिदिम र कास्कीको अन्नपूर्ण गाउँपालिकाको विद्यालयमा निर्वाचनअघि सुरक्षा निकायले हतियार सहित प्रवेश गरेको घटना पनि दर्ता भएको थियो ।

    अध्ययनले निर्वाचनपूर्व राजनीतिक प्रचारप्रसारमा बालबालिकालाई झण्डा र चिह्न बोकेर जुलुस तथा आमसभामा सहभागी गराउने, राजनीतिक नाराहरू लगाउने, प्रचार सामग्री वितरण गर्ने, राजनीतिक पोशाक लगाउने, गीत तथा नृत्य कार्यक्रममा भाग लिन लगाउने जस्ता गतिविधिहरू गरिएको थियो । कतिपय घटनामा बालबालिकामार्फत प्रचार भिडियो र सामाजिक सञ्जाल सामग्री निर्माण गरी मत माग्ने वा विशेष दलको समर्थन गर्ने सन्देश सम्प्रेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    विद्यालय पोशाकमै विद्यार्थीहरूलाई जुलुसमा सहभागी गराउने, राजनीतिक नेताहरूले विद्यालय भ्रमण गर्ने, विद्यालय नजिक चुनावी कार्यक्रम सञ्चालन हुने र बस प्रयोग हुने जस्ता गतिविधिले विद्यालयलाई बालमैत्री र राजनीतिक रूपमा तटस्थ स्थान बनाउन चुनौती पु–याएको अध्ययनले देखाएको छ । अभियानका अध्यक्ष तिलोत्तम पौडेलका अनुसार यस्ता क्रियाकलापले निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन गरेका छन् ।

    अभिभावकले बालबालिकामार्फत मत माग्ने भिडियो बनाउने, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूले बालबालिकालाई राजनीतिक सामग्रीमा प्रयोग गर्ने, बालबालिकाले राजनीतिक सन्देश दोहो¥याउने वा प्रतिस्पर्धी दलको आलोचना गर्ने र भिडियो सामग्रीबाट आर्थिक लाभ उठाउने जस्ता गतिविधिले बालबालिकालाई जोखिममा राखेको प्रतिवेदनले औँल्याएको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले चुनावमा मतदान अधिकृत रूपमा भूमिका निभाउँदै गर्दा बालबालिकाको दुरुपयोगको अवस्था कम गर्न सकिएको बताउँदै सरोकारवाला निकायको सहकार्य र खबरदारीका कारण यो सम्भव भएको बताउनुभयो । राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम संयोजक श्रीराम अधिकारीले बालबालिकाको दुरुपयोग रोक्न कानुनी रुपमा नै कडा व्यवस्था ल्याउनुपर्ने बताउनुभयो ।

    राष्ट्रिय माव अधिकार आयोगका खिमानन्द बस्यालले विगतको निर्वाचनको तुलनामा यसपालीको निर्वाचनको समयमा बालबालिकाको दुरुपयोग केही कम भए पनि सुधारका धेरै काम बाँकी रहेको बताउनुभयो । निर्वाचन आयोगले केही उल्लङ्घनको सम्बन्धमा कारबाही गरेको थियो। श्रम संस्कृति पार्टीलाई दफा १३ को उपदफा ९१० को खण्ड ९घ० उल्लङ्घन गरेकोमा रु २५ हजार जरिवाना गरेको छ । जाजरकोट क्षेत्र नं १ का उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि समान प्रावधान उल्लङ्घन गरेकोमा रु २५ हजार जरिवाना गरिएको आयोगले जनाएको छ ।

    निर्वाचनअघिको तुलनामा मतदानको दिन बालबालिकासम्बन्धी प्रत्यक्ष उल्लङ्घनका घटना न्यून देखिएका थिए । मतदान केन्द्रको रूपमा विद्यालय भवनको व्यापक प्रयोगसम्बन्धी संरचनात्मक चुनौती देखा परेको छ । देशभरका १० हजार ९६७ मतदानस्थलमध्ये करिब ९ हजार ४५० विद्यालयमा स्थापना गरिएको थियो ।

    अध्ययनले राजनीतिक दल, राज्य निकाय, समुदाय र परिवार सबैको जिम्मेवार भूमिका आवश्यक रहेको सुझाएको छ। राजनीतिक दललाई चुनावी अभियान, जुलुस, प्रचार सामग्री तथा डिजिटल सामग्रीमा बालबालिकालाई प्रयोग नगर्न, बालअधिकारको सम्मान गर्दै बालमैत्री चुनावी अभ्यास अपनाउन र विद्यालय तथा बालबालिका केन्द्रित स्थानमा चुनावी गतिविधि नगर्न सिफारिस गरिएको छ ।

    प्रतिवेदनले निर्वाचन आयोगलाई बालबालिकाको प्रयोग निषेध गर्ने आचारसंहिताको प्रभावकारी अनुगमन, मतदाता शिक्षा कार्यक्रममा बालअधिकार सचेतना समावेश, सरकार र नीति निर्मातालाई कानुनी प्रावधान सुदृढ गर्ने, डिजिटल माध्यममा बालबालिकाको राजनीतिक प्रयोग रोक्न निर्देशिका बनाउन सुझाव दिएको छ ।

    अभियानले सुरक्षा निकाय, परिवार, विद्यालय र समुदायलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ। अध्ययन सन् ५० जिल्लाका १०७ सदस्य संस्था, सातवटै प्रदेशका प्रदेश समिति, सामुदायिक रेडियो प्रसारक सङ्घ, बालबालिका क्षेत्रका विभिन्न सञ्जाल र नागरिक समाजको सहकार्यमा गरिएको थियो । अध्ययनका निम्ति अन्तरराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनबाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।

  • भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    रुकुम पूर्व, ७ चैत्र (रासस) । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

    अहिले सो खण्डमा काठमाडौँबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् ।

    अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ । यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हँुदा थप समस्या भएको छ । यद्यपि यात्रुहरूको उद्धारको लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए ।

  • ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटन (बागलुङ), ७ चैतः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिए । हिमपातले गर्दा वस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय विकले बताए ।


    केही दिन अगाडिदेखि सामान्य वर्षा भएको उनको भनाइ छ । अहिले पनि निरन्तर हिमपात भइरहेको भन्दै स्थानीयलाई हिँडडुल गर्नसमेत समस्या भएको उनले बताए । आलु रोप्नका लागि अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायतका क्षेत्रबाट ढोरपाटन उक्लिए पनि हिमपातले गर्दा प्रभावित बनेको विकको भनाइ छ ।

    “चैत महिनामा कहिलेकाहीँ मात्रै हिउँ पर्थ्यो, यसपालि गर्मी बढ्न लाग्दा हिउँ पर्‍यो, यतिबेला ढोरपाटनवासीलाई आलु रोप्ने चटारो थियो तर हिउँ पर्दा काम प्रभावित भयो”, विकले भने, “अलिअलि वर्षा त चाहिएको थियो, तर हिउँ परेर दैनिकीनै कष्टकर बनाइ दियो ।” स्थानीय तुलराम पुनले हिमपातको कारण अत्यधिक चिसो बढेको बताए । रातिदेखि परेको भमरी हिमपात अहिले बाहिर निस्किएर हिँडडुल गर्न र पशुचौपायालाई घाँस दाना खुवाउन पनि समस्या भएको उनको भनाइ छ ।

  • कीर्तिमानी दरमा पुग्यो डलरको मूल्य

    कीर्तिमानी दरमा पुग्यो डलरको मूल्य

    काठमाडौँ, ७ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जुन नयाँ कीर्तिमान हो । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिड एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर १०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाइक एकको खरिददर १९० रुपैयाँ १ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

    यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ १ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीवर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

    केन्द्रीय बैड्ङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नो रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैया ७ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस कोनर एकको खरिददर २३ रुपैयाँ १७ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हडकड डलर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ४९० रुपैयाँ २ पैसा, बहराइन दिनार एकको खरिददर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३८८ रुपैयाँ ६८ पैसा र विक्रिदर ३९० रुपैयाँ २३ पैसा रहेको छ ।

    भारतीय रुपैयां एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि सशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैडकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैड्डकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति

    सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति

    काठमाडौँ, ७ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

    सन्देशमा भनिएकोे छ, “यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।” ईद (ईद–उल–फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहीआएको छ।

  • आज ईद उल फित्र पर्व मनाइँदै

    आज ईद उल फित्र पर्व मनाइँदै

    काठमाडौँ, ७ चैतः अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ ।

    खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले राससलाई जानकारी दिए । शनिबार बिहान नेपाली जामे मस्जिद घन्टाघरमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम सुरु हुन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष दीन दुःखी र गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मि मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ ।

    यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको वचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको पनि उनले बताए । यसरी दान गरिएको नगद वा जिन्सी दीन दुःखी एवम् गरीबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीन दुःखी र गरीबलाई नै दिइन्छ ।

    आजभन्दा एक महिना अघिदेखि मुस्लिम समुदायको एक महिना लामो ब्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन यो ब्रत गरिने उनले बताए । एक महिनासम्म सूर्योदयदेखि सूर्यास्त नहुने बेलासम्म ब्रत गरेर साँझ चन्द्रमाको पूजा गरिएको थियो । यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाइ साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

  • बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो

    लन्डन, ७ चैत (रासस–सिन्ह्वा) । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ। सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ, जसले श्रम बजारमा दबाब बढ्दै गएको संकेत गर्दछ। विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ प्रतिशत पुगेकाले समग्र बेरोजगारी बढ्न मुख्य भूमिका खेलेको देखिन्छ।

    यसले युवा रोजगारीको अवस्था चिन्ताजनक रहेको देखाउँछ। यसै अवधिमा कर्मचारीहरूको औसत आम्दानी (बोनससहित) ३ दशमलव ९ प्रतिशतले बढे पनि मुद्रास्फीति समायोजन गर्दा वास्तविक आम्दानी वृद्धि मात्र शून्य दशमलव ७ प्रतिशत रहेको छ। साथै, नियमित तलब वृद्धि दर पनि पछिल्ला पाँच वर्षकै न्यून स्तरमा झरेको छ, जसले नागरिकको क्रयशक्ति कमजोर हुँदै गएको संकेत गर्छ।
    रोजगारीको अवस्थालाई हेर्दा, एक वर्षमा तलब पाउने कर्मचारीको संख्या करिब १ लाख ९ हजारले घटेको छ भने पछिल्लो त्रैमासिक अवधिमा मात्रै ३१ हजारले कमी आएको छ।

    यसले रोजगारका अवसरहरू घट्दै गएको देखाउँछ। विशेषज्ञहरूका अनुसार श्रम लागत वृद्धि, कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिको तीव्र विस्तार तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जिएको आर्थिक अनिश्चितताले श्रम बजारमा थप असर पार्न सक्छ। यही कारणले चालु वर्षभर बेरोजगारी दर बढेर ५ दशमलव ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

  • बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

    बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

    बाजुरा, ६ चैतः लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ । मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ । हिमपात भएपछि बडिमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र बस्तीमा हिमपात भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिए ।


    उनका अनुसार हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहलगायत क्षेत्रका स्थानीय बढी प्रभावित बनेका छन् । आज यहाँका डाँडा सेताम्मे भएका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी बढी प्रभावित भएका बताउँदै आवश्यक सर्तकता अपनाउन उनले सबैमा आग्रह गरे । बाक्लो हिमपातले बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढीनन्दा, रानीसैनलगायत अग्ला डाँडा सेताम्मे बनेका छन् ।

    यहाँका लेकाली भेगमा अहिले पनि हिमपात र भारी वर्षा भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी पुडासैनीले जानकारी दिए । उनका अनुसार जिल्लामा भारी वर्षा भइरहेकाले बाढीपहिरो र भूक्षयको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसधारणलाई आग्रह गरिएको हो । मौसम विभागले वर्षासँगै हुरीबतासको सम्भावना रहेकाले सर्तकता अपनाउन अनुरोध गरे ।

    लगातार वर्षा भएपछि चैते धानका लागि सिँचाइको व्यवस्था सहज भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गहुँको बाली पसाउने, ओसर, स्याउलगायत फलफूल पलाउने बेलामा वर्षा हुनु किसानका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए । “गहुँको बाला लाग्ने बेला भएको छ । फलफूलका बिरुवा फुल्ने बेलामा आएको वर्षाले राहत दिएको छ । चैते धान लगाउन पनि सिँचाइको रूपमा वर्षाले काम गरेको छ”, उनले भने । आज बिहानदेखि निरन्तर वर्षा भएपछि जिल्लामा चिसो बढेको छ । चिसोका कारण बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी प्रभावित बनेका छन् । चिसो बढेकाले न्यायो कपडा र घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

    वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढ्यो

    वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढेको छ । हिमपातका कारण चिसोबाट बच्न वन्यजन्तु बेँसी झर्ने भएकाले त्यसको सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएपछि जङ्गली जनावर घोरल, रतुवालगायत विभिन्न प्रजातिका जनावर न्यानो खोज्दै बेँसीतर्फ आउने भएका सोही मौकामा चोरीसिकारीको सम्भावना बढेको हो ।

    वन्जयजन्तु तथा जङ्गली जनावरको चोरीसिकारी नगर्न डिभिजन वन कार्यालयले सबैलाई आग्रह गरेको छ । जङ्गली जनावरको चोरीसिकारी भएमा वन ऐनअनुसार कानुनी कारबाही गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिए । वन्यजन्तुको चोरीसिकारी रोक्न सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

  • बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

    बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

    भक्तपुर, ६ चैत । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसहित मन्त्रीहरूको टोलीले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन् । भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु पुगेर मुख्यमन्त्री बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा, भौतिक पूर्वाधारमन्त्री, अर्थमन्त्रीलगायतले एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त गरेका हुन् ।

    उनीहरुले ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे । त्यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पनि ओली निवास गुण्डु पुगेर उनलाई समवेदना व्यक्त गर्नुका साथै अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यसैगरी नेकपाका नेता एवं पूर्वमन्त्रीहरू लीलामणि पोखरेल र शशि श्रेष्ठ, प्रतिनिधिसभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित रास्वपा नेता राजीव खत्रीले पनि आज गुण्डु पुगेर ओलीलाई समवेदना व्यक्त गरे । ठमेल पर्यटन परिषदका अध्यक्ष ध्रुव अधिकारीलगायत विभिन्न दलका नेता तथा व्यवसायीहरुले ओली निवास पुगेर समवेदना व्यक्त गरे ।

  • संयोजक दाहाललाई प्रतिवेदन हस्तान्तरण

    संयोजक दाहाललाई प्रतिवेदन हस्तान्तरण

    काठमाडौँ, ६ चैत । नेपाली कम्युनिष्ट पार्टी निकट वाम बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिले प्रतिनिधिसभा निर्वाचनको समीक्षा तथा सुझावसहितको प्रतिवेदन पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक विष्णुपुकार श्रेष्ठले सो प्रतिवेदन संयोजक दाहाललाई बुझाएका हुन् । सो अवसरमा पार्टीका संयोजक दाहालले बुद्धिजीवी एवं पेसाकर्मीको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचन अगाडि र पछाडिका राजनीतिक परिस्थितिका बारेमा आफ्ना धारणा राखे ।


    उनले पार्टीलाई अब विचाराधारात्मक हिसाबले धारिलो बनाउँदै सङ्गठनलाई व्यवस्थित गरेर जनसरोकारका सवालमा परिचालन गर्न बुद्धिजीवीहरूबाट प्राप्त समीक्षा तथा सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । संयोजक दाहालले प्रतिवेदनलाई अध्ययन गरी पार्टीले जनसङ्घर्षलाई आधारभूत तहबाट अगाडि बढाउने बताए ।

    विभिन्न १५ वटा घटक बुद्धिजीवी एवं पेसाकर्मीलाई समेटेर गठन गरिएको समितिमा देशभरका बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासङ्घ, इन्जिनियरिङ एसोसिएसन, कानुन व्यवसायी सङ्गठनका केन्द्र, प्रदेश, जिल्ला तथा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू समावेश गरिएको थियो । सो अवसरमा पार्टीका नेता नन्दकिशोर पुन, देवप्रसाद गुरुङ सहभागी थिए ।

  • युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

    युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

    अबु धाबी, ६ चैत (रासस–एएफपी) । मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्।

    “अबु धाबी प्रहरीले इरानी आक्रमणस्थल र घटनाहरूको भिडियो खिचेको र सामाजिक सञ्जालमार्फत गलत जानकारी प्रसारित गरेका विभिन्न देशका १०९ व्यक्तिहरूलाई पक्राउ गरेको घोषणा गरेको छ,” अबु धाबी प्रहरीले एक्समा जारी एक विज्ञप्तिमा उल्लेख गरेको छ।

    “यस्ता कार्यहरूले जनमत भड्काउन र समुदायका सदस्यहरूमा अफवाह फैलाउन सक्छ,” विज्ञप्तिमा भनिएको छ। युएईका महान्यायाधिवक्ताले गलत सूचना प्रकाशित गरेको, युद्धसँग सम्बन्धित घटनाहरूको भिडियो खिचेको वा फुटेज प्रकाशित गरेको वा ‘शत्रुतापूर्ण राज्य र यसको राजनीतिक र सैन्य नेतृत्व’ को महिमामण्डन गरेको आरोपमा अहिलेसम्म ३५ जनालाई पक्राउ गर्न आदेश दिएका छन् ।


    इरानले अमेरिकी सम्पत्तिका साथै तेल र ग्यास सुविधा, विमानस्थल र आवासीय क्षेत्रलगायत नागरिक पूर्वाधारमाथि पनि आक्रमण गरिरहेको बेला खाडीभर पनि यस्तै उपायहरू अपनाइएको छ । कतारमा अधिकारीहरूले युद्धको समयमा ‘भ्रामक सूचना’ र तस्बिरहरू साझा गरेको आरोपमा ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेका छन् । बहराइन र कुवेतले पनि यस्तै कदम चालेका छन् । अमेरिका–इजरायल सैन्य अभियानको जवाफमा इरानले गरेको आक्रमणबाट खाडी क्षेत्र प्रभावित भएको छ ।

  • पूर्वी नेपालमा वर्षा सुरु

    पूर्वी नेपालमा वर्षा सुरु

    काठमाडौँ, ६ चैत । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्वी नेपाल पुगेको छ ।
    जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जनले अहिले पूर्वी नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जानकारी दिए । अहिले देशभर नै मौसम बदली रहेको अन्य क्षेत्रमा हल्का वर्षा भइरहेकामा नेपालको मध्य क्षेत्रभन्दा पूर्वका विभिन्न जिल्लामा वर्षा भइरहेको उनले बताए ।


    वर्षामापन केन्द्रमा आज साँझ भएको रेकर्डअनुसार पछिल्लो तीन घण्टामा सिरहामा ३२.२, उदयपुरमा २४.८, मोरङमा २१.८, सिन्धुपाल्चोकमा २०.२, खोटाङमा ११.२ मिलीमिटर वर्षा भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लामा हल्कामात्रै वर्षा भएको छ । साँझ उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात भएको छ । अहिले वर्षा पूर्वकेन्द्रित रहेको छ ।

    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरमा ४६.४ मिलीमिटर वर्षा भएको छ । त्यसपछि काठमाडौँमा ४५.२ र दाङमा ४२.६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षाको नजिक हो । विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ जारी गरेको बुलेटिनअनुसार आज राति देशभर अधिकांश बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङ–असिना–हुरीबताससहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै, कोसी, मधेस र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको जनाइएको छ ।

    त्यसैगरी, शनिबार देशभर अधिकांश बादल लाग्ने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन–चट्याङ–असिनाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार रातिदेखि भने विस्तारै मौसम खुल्दै जाने जनाइएको छ ।

  • चट्याङ लागेर गुल्मीका छ जना घाइते

    चट्याङ लागेर गुल्मीका छ जना घाइते

    गुल्मी, ६ चैतः वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ जना घाइते भएका छन् । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा आज दिउँसो करिब २ः३० बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

    घाइतेहरूको छाती, नाक र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको मुसिकोट नगरपालिका वामिटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइपुर्‍याइएको उनले बताए ।


    उक्त घटनामा स्थानीय विष्णु खड्काको एक र बाली विकका दुई गरी तीन वटा बाख्रासमेत मरेका छन् । घटनापछि प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । आजै दिउँसो मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको चट्याङमा ६४ वर्षीय नारायण थापासहित उनका नातिनी तीन वर्षीया आस्मा गिरी र छ वर्षीया आशिका गिरीसमेत घाइते भएका सूचना अधिकारी सारुले जानकारी दिए । उनका अनुसार घाइतेहरू स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

    उक्त घटनामा स्थानीय गोकर्ण थापाकोे एउटा बोकासमेत जलेर मरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्खाबाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

    देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

    काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीलाई देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित टोलीसँगको भेटमा उहाँले एनआरएनएका पहलमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । संसद्का नव निर्वाचित सदस्यहरूसँग समन्वय गर्न सुझाव दिँदै उनले आगामी सरकार यसप्रति सकारात्मक रहनेमा विश्वास प्रकट गरे ।

    मन्त्री शर्माले उक्त टोलीलाई बधाई दिँदै सङ्घ एकताबद्ध रहँदै १२औँ अन्तरराष्ट्रिय महासभा तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकामा खुसी व्यक्त गरे । परराष्ट्र सचिव अमृतबहादुर राईले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । एनआरएनए सरकारको विश्वासिलो साझेदार रहेकाले आगामी दिनमा सहकार्य गर्ने बताउँदै उहाँले नेपाली डायस्पोरा विश्वभर विस्तार हुँदै गएकामा खुशी व्यक्त गरे ।

    नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको मुद्दा छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा सङ्घ र सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेमा जोड दिए । उनले सङ्घभित्र एकता कायम गर्न सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

  • दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

    दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक

    त्रिवेणी (नवलपरासी), ६ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चैत ८ गतेसम्म वर्षाको सम्भावना रहेको उद्धृत गर्दै नारायणगढ–बुटवल सडक योजनाले आज एक सूचना जारी गरेको हो । सो सूचनामा पानी पर्दा यातायात सञ्चालनमा समस्या हुने हुँदा रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालन गरेमा थप समस्या निम्तिन सक्ने उल्लेख गरिएको छ ।

    सो सूचनाअनुसार यही चैत ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको हो । छोटा तथा लामो दुरीका यात्रुवाहक बस र अत्यावश्यक सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिने बताइएको छ । सडक योजनाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । आज दिउँसोदेखि भएको वर्षाले उक्त सडक खण्डमा चिप्लो हुँदा सवारीको जाम लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।

  • हुरीबताससहित वर्षा : मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै

    हुरीबताससहित वर्षा : मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै

    काठमाडौँ, ६ चैतः जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो । विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ । उनले मकवानपुर गढीमा ४४ दशमलवव दुई२ मिलीमिटर वर्षा भएको जानकारी दिए ।


    त्यस्तै काठमाडौँको बबरमहल क्षेत्रमा सात दशमलव आठ मिलीमिटर तथा कीर्तिपुरमा १६ दशमलव आठ मिलीमिटर वर्षा मापन गरिएको मौसमविद् दाहालले बताए । हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट विस्तारै उत्तरपूर्वतर्फ सर्दै गएको उनले बताए । उनले आगामी करिब तीन घण्टासम्म हुरीबताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरे ।


    विभागका अनुसार हुरीबताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन् । विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आज राति र भोलिसम्म मधेस प्रदेशलगायत कोसी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।

    कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागको अनुरोध छ ।

  • हुरीका कारण चितवनमा केरामा मात्र ४ करोड माथिको क्षति

    हुरीका कारण चितवनमा केरामा मात्र ४ करोड माथिको क्षति

    चितवन, ६ चैतः हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरुको अनुगमन गरिएको छ ।

    सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको उनले बताए । हुरीले भरतपुर महानगरपालिकाको वडा नं ७ र २३, रत्ननगर नगरपालिका ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा नं १३, कालिकाको वडा नं २ देखि ५ सम्मका क्षेत्रमा बढी क्षति पु¥याएको छ । रेग्मीका अनुसार बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ ।

    उनले भने, “एउटा फार्ममा ८८ प्रतिशत क्षति भएको पायौँ । सबैको अवस्था त्यस्तो छैन ।” हुरीले मालभोग केरामा ठूलो क्षति पुगेको छ । मालभोग केरामा ७८ प्रतिशत र जीनाइन केरामा २२ प्रतिशत क्षति भएको उनले जानकारी दिए । समग्रमा ४३ दशमलव ३५ प्रतिशत केरामा क्षति भएको उनले बताए । कार्यालयमा एक हजार ८०० हेक्टरमा लगाइएको केरा सूचीकृत गरिएको छ ।

    केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले भने, “केराखेतीको बिमा सुरु हुने समय ढिलो हुने भएकाले पनि किसान मर्कामा परेका छन् ।” किसानले क्षतिपूर्तिसमेत पाउन कठिन हुँदा अझै समस्या हुने गरेको उनले बताए । उनका अनुसार गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म किसानले पाउन सकेका छैनन् । अहिलेको क्षतिपूर्ति त कहिले पाउने हो थाहा नभएको उनले बताए । अहिलेसम्म जिल्लामा केराखेती गरेका किसानले रु चार करोडको क्षतिपूर्ति माग गर्दै बिमा कम्पनीमा निवेदन बुझाएको उनले बताए । थप निवेदन आउने क्रममा रहेको र कतिपयले बिमा नगरेकाले यकीन तथ्याङ्क आउन समय लाग्ने बताए ।

    चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो यही चैत २ गते आएको हुरीका कारण जिल्लामा लगाइएको मालभोग केरामा ठूलो क्षति पुगेको छ । अहिले जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ । केरा सुपरजोनका रुपमा जिल्लामा काम हुँदै आएको बताउँदै उनले हुरीका कारण कति क्षत्रफलमा लगाइएको केरामा क्षति भयो भन्ने विषयमा सङ्घले तथ्याङ्क सङ्कलन गरिरहेको बताए ।


    केरामा हावाका कारण भएको क्षतिले केरा उत्पादक किसान चिन्तित भएको उनको भनाइ छ । गत वर्षमा वैशाखको अन्तिमतिर आउने हुरी यस वर्ष चाँडो आउँदा किसानले ठूलो क्षति बेहोर्नु परेको उनले बताए । उनले भने, “केरा उत्पादन गर्ने किसानले बिमा गरेका छन् । तर बिमाबाट पाउने रकम ढिलो हुँदा अझै किसान निरास बन्दै गएका छन् ।” रत्ननगर नगरपालिका–११ निवासी कृषक बाबुराम भट्टले लगाएको छ बिघा केरामा क्षति पुगेको छ । जग्गा भाडामा लिएर केराखेती गर्दै आएका भट्ट चैत सुरु भएसँगै हुरीका कारण क्षति बेहोर्नु परेको बताउँछन् ।

    आफूले लगाएको केरा उत्पादन लिने समयमा हुरीले ढलाए पछि अहिले केरा बगान सरसफाइका लागि मजदुर लगाएर काम गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ । उनले लगाएको केरा अधिकांश ढलेको अवस्थामा पुगेको छ । प्रतिहेक्टर मालभोग २४ टन र जी नाइन ५५ टन उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा व्यावसायिक रुपमा ७०० किसानले केराखेती गर्दै आएका छन् ।

  • प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

    प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

    जनकपुरधाम, ६ चैतः प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छिन् । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गरे । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो । पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिएकी थिइन् ।

    पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले जनकपुरधाममा आफ्नो विशुद्द धार्मिक यात्रा भएको बताइन् । प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताइन् । उनले जनकपुरधामसहित देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन् ।

    उनले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् । यसअघि जनकपुरधाम जनकपुरविमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिवसहित मधेस प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेललगायतले स्वागत गरे ।

  • काठमाडौँमा अपरान्हबाट हुरीबताससहित वर्षा जारी

    काठमाडौँमा अपरान्हबाट हुरीबताससहित वर्षा जारी

    काठमाडौँ, ६ चैत । काठमाडौँमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास चलिरहेको छ । विभागको मौसमविद् बिभूति पोखरेलले हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको बताए ।

    हुरी बतासहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको विभागले जनाएको छ । यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । विद्यालय बस छुट्ने समय भएकाले विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई पनि आग्रह गरिएको छ ।

  • होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

    होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो

    दुबई, ६ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी युद्धका कारण रणनीतिक स्ट्रेट अफ होर्मुज अवरुद्ध भएपछि खाडी मुलुकहरूमा खाद्य आपूर्ति प्रणालीमा गम्भीर दबाब परेको छ । यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा देखिन थालेको छ । बजारमा वस्तुको अभाव नभए पनि मूल्य तीव्र रूपमा बढ्न थालेपछि दैनिक जीवनयापन महँगिएको छ ।

    बहराइनका एक उपभोक्ता महमुद अलीले सुपरमार्केटमा सामान सहजै पाइए पनि पछिल्ला दिनहरूमा केही खाद्य वस्तुको मूल्य उल्लेखनीय रूपमा बढेको बताए । उनका अनुसार विशेष गरी मासुको मूल्य झन्डै दोब्बर भएको छ । खाडीका अधिकांश देशहरूजस्तै बहराइन पनि खाद्य आपूर्तिका लागि आयातमा निर्भर रहेकाले आपूर्ति मार्गमा आएको अवरोधले सीधै मूल्यमा असर पारेको हो ।

    फेब्रुअरी २८ मा इरानविरुद्ध सुरु भएको इजरायल–अमेरिका आक्रमणपछि क्षेत्रीय द्वन्द्व चर्किँदा होर्मुज जलडमरू हुँदै हुने ढुवानी लगभग ठप्प भएको छ । यसले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनका प्रमुख बन्दरगाहहरूमा कार्गो प्रशोधन या त स्थगित भएको छ वा उल्लेखनीय रूपमा घटाइएको छ । अर्थशास्त्री फ्रेडरिक स्नाइडरका अनुसार निरन्तर ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण हवाई ढुवानी पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

    यस अवस्थाले खाडीका प्रमुख समुद्री प्रवेशद्वारहरू प्रभावहीन बनेका छन् । अबु धाबीका बन्दरगाह, दुबईको जेबेल अली र साउदी अरबको दम्माम जस्ता केन्द्रहरूमा आवागमन अवरुद्धजस्तै भएको छ भने जहाजहरू ओमान तथा स्ट्रेटको दक्षिणतर्फका वैकल्पिक बन्दरगाहतर्फ मोडिएका छन् । साउदी अरेबियाले भने खुला हवाई क्षेत्र र लाल सागरका बन्दरगाहमार्फत आफूलाई वैकल्पिक आपूर्ति केन्द्रका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।

    ट्राफिक अवरोध समाधान गर्न साउदी अरबले पूर्वी बन्दरगाहबाट डाइभर्ट गरिएका कार्गो व्यवस्थापनका लागि नयाँ रसद मार्ग र सञ्चालन कोरिडोर थप्ने पहल सुरु गरेको जनाएको छ । कतारतर्फ जाने सीमाक्षेत्रमा भारी ट्रकहरूको आवागमन बढेको देखिएको छ, जसले भूमि मार्गको प्रयोग बढ्दै गएको सङ्केत गर्छ । यद्यपि, सिरिया वा जोर्डन हुँदै भूमध्यसागर जोड्ने स्थलमार्गहरू सीमित, महँगा र अपर्याप्त भएको विज्ञहरूको भनाइ छ ।

    विशेष गरी ताजा खाद्य सामग्रीहरू सबैभन्दा बढी प्रभावित भएका छन्, किनकि ती प्रायः एसियाबाट आयात गरिन्छन् र लामो समयसम्म भण्डारण गर्न सकिँदैन । यस्तो अवस्थामा खाडी मुलुकहरूको तयारी फरक–फरक देखिएको छ । साउदी अरेबियासँग लाल सागरमार्फत वैकल्पिक पहुँच छ भने संयुक्त अरब इमिरेट्सले चारदेखि छ महिनासम्म पुग्ने भण्डार रहेको जनाएको छ । सन् २०१७ को नाकाबन्दीपछि कतारले पनि रणनीतिक भण्डारणमा उल्लेखनीय लगानी गरेको थियो ।

    तर बहराइन र कुवेतजस्ता देशहरूले भने प्रत्यक्ष प्रभाव महसुस गर्न थालेका छन् । कुवेतमा प्रारम्भिक दिनमै सुपरमार्केटहरूमा भीड बढेपछि सरकारले केही आधारभूत वस्तुको मूल्य नियन्त्रण र अनुदानित मासु आयात स्थगित गर्ने कदम चालेको थियो । कुवेती अधिकारीका अनुसार समग्र मूल्य स्थिर देखिए पनि मासु र माछाको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको छ, जसको कारण माछा मार्ने गतिविधि रोकिनु र इरान, भारत तथा पाकिस्तानबाट आयात अवरुद्ध हुनु हो ।

    निजी क्षेत्रले पनि आपूर्ति व्यवस्थापन गर्न प्रयास गरिरहेको छ । लुलु रिटेल चेनले गैर–नाशवान वस्तुहरूको चारदेखि छ महिनासम्म पुग्ने भण्डार राखेको र ताजा खाद्य सामग्री ल्याउन विशेष उडान सञ्चालन गरिरहेको जनाएको छ । कम्पनीका अनुसार हालसम्म ३७ वटा चार्टर्ड उडानमार्फत छ हजार टनभन्दा बढी ताजा सामग्री आयात गरिएको छ र यसबाट उत्पन्न अतिरिक्त लागत तत्काल उपभोक्तामा नथोपारिएको बताइएको छ ।

    विश्लेषक स्नाइडरका अनुसार अहिले मूल्य वृद्धि नियन्त्रणमै देखिए पनि युद्ध लामो समयसम्म जारी रहे आयातित खाद्य सामग्रीको मूल्य अझ बढ्ने ठोस जोखिम रहेको छ । त्यसैले होर्मुज अवरोध केवल सामरिक सङ्कट मात्र नभई खाडी क्षेत्रका लागि खाद्य सुरक्षासँग जोडिएको दीर्घकालीन चुनौतीका रूपमा उभिएको देखिएको छ ।