Author: Vishwanews.com

  • प्रतिनिधिसभा निर्वाचनः अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

    प्रतिनिधिसभा निर्वाचनः अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

    रासस
    काठमाडौँ, १६ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवामा खटिनेका लागि निर्वाचन आयोगले सवारी पास वितरण सुरु गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीले संयुक्त रूपमा सवारी पास वितरण सुरु गरेका हुन् ।

    शुक्रबारदेखि सुरु भएको सवारी पास वितरणमा अत्यावश्यक सेवामा खटिनेको लाम बढ्न थालेपछि आइतबारदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरबाट पनि थप जनशक्ति मगाउन लागिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । आज र फागुन १८ गते फागु पूर्णिमा अर्थात् होलीको सार्वजनिक बिदामा पनि सवारी पास वितरण गरिने पनि उनले जानकारी दिए ।

    आयोगमा शुक्रबारदेखि काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रशासकीय अधिकृत र गृह मन्त्रालयका शाखा अधिकृतसहितको डेस्क (कक्ष) खडा गरिएको छ । सो डेस्कमा आयोगका तर्फबाट सहायक प्रवक्ता जिसीले संयोजन गरिरहनुभएको छ । आयोग र जिल्ला प्रशासनको समन्वयमा दोहोरो नपर्ने गरी पास वितरण भइरहेको छ । शुक्रबार पहिलो दिन ६० वटा पत्रबाट सवारी पास वितरण गरिएको छ । एउटा पत्रबाट अधिकतम पाँच वटासम्म पास वितरण गरिएको आयोगले जनाएको छ ।

  • अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

    अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

    काठमाडौँ, १६ फागुनः इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले आज सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र नियमित सम्पर्कमा रहन त्यहाँ रहेका सबै नेपालीलाई आग्रह गरेको हो ।

    सूचनामा भनिएको छ, “सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, पूर्ण सावधानी अपनाउनुहोस् र आआफ्ना स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।” दूतावासले इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्न, स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्कालीन सतर्कताको निरन्तर निगरानी गर्न, नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्न र तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहन पनि अनुरोध गरेको छ ।

    दूतावासले आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक जारी गर्ने सूचनामा उल्लेख छ । आज अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनावपूर्ण स्थिति बनेपछि दूतावासले नेपालीका लागि सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गरेको हो ।

  • भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

    भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

    नयाँदिल्ली, १६फागुन (रासस–एएफपी) । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । “मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ । इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ ।

    लाखौँ भारतीय आप्रवासीहरूको घर, अन्य खाडी राष्ट्रहरूमा छ भने नयाँ दिल्लीले ऐतिहासिक रूपमा इजरायलसँगको आफ्नो सम्बन्धलाई सन्तुलित गरेको छ । यो क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको प्रमुख अर्थतन्त्रका लागि ऊर्जाको महत्वपूर्ण स्रोत पनि हो ।

    प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको ऐतिहासिक भ्रमण पछि स्वदेश फर्केको एक दिन पछि इरानमा आक्रमण भएको हो, जहाँ दुवै पक्षले व्यापार र रक्षा सम्बन्धलाई मझभुत बनाउन सहमत भएका थिए । प्रधानमन्त्री मोदीले इजरायली सांसदहरूलाई सम्बोधन गर्दै सन् २०२३ अक्टोबर–७, मा हमासको घातक आक्रमण पछि नयाँ दिल्ली इजरायलसँग “दृढतापूर्वक“ उभिएको बताएका छन् ।

  • इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव उच्च स्तरमा

    इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव उच्च स्तरमा

    तेल अभिव (इजरायल), १६ फागुन (रासस–एएनआई) । इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्‍याएको छ । इजरायली रक्षा बल (आइडिएफ) ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरेको र प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल आश्रय लिन मोबाइल अलर्टमार्फत निर्देशित गरिएको बताएको छ ।

    आइडिएफले भनेको छ, “केही समयअघि हामीले इरानबाट प्रहार भएका क्षेप्यास्त्रहरू पहिचान गरेका थियौँ । जोखिम रोक्न रक्षात्मक प्रणाली सञ्चालनमा छन् ।” यो घटना क्षेत्रमा बढ्दो सैन्य तनाव र इरान र अन्य देशबीच हप्तौँसम्म चलिरहेको उच्च–जोखिम आणविक वार्ताको बीचमा भएको हो ।

    प्रत्यक्ष आक्रमणको पूर्ण दायरा अझै मूल्याङ्कन भइरहेको भए पनि यसले दुई देशबीच व्यापक द्वन्द्वमा महत्त्वपूर्ण प्रतिशोधात्मक कदमको सङ्केत गरेको विश्लेषकहरूले बताएका छन् । भारत सरकारले आफ्नो नागरिकलाई अत्यधिक सावधानी अपनाउन, घरभित्रै रहन र अनावश्यक गतिविधिबाट बच्न चेतावनी दिएको छ ।

    तेहरानस्थित भारतीय दूतावासले पहिले नै सुरक्षा सल्लाह जारी गर्दै आवश्यक अवस्थामा ओमान वा अन्य सुरक्षित देशतर्फ यात्रा गर्न सुझाएको छ । यसैबीच, इजरायलले देशव्यापी आपतकाल घोषणा गरी अस्पतालहरू भूमिगत सार्न र साइरन सक्रिय गर्न आदेश दिएको छ । इरान, इजरायल र इराकले आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् भने सबै व्यावसायिक उडान स्थगित भएका छन् ।

    इरानका अधिकारीहरूले अघिल्लो दिन इजरायल र अमेरिकाद्वारा सुरु गरिएको संयुक्त सैन्य आक्रमणको जवाफमा ‘क्रूर प्रतिक्रिया’ दिने चेतावनी दिएका थिए । इजरायलले रोइङ लायन नामक संयुक्त अपरेसनमार्फत इरानको सेना, मिसाइल उत्पादन सुविधा र सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको कार्यालय नजिकका क्षेत्रहरूलाई लक्षित गरेको थियो ।

    प्रत्यक्षदर्शीहरूले तेहरानमा शक्तिशाली विस्फोट सुनेको बताएका छन, र राजधानीका धेरै साइटहरूमा तनाव बढेको छ । वर्तमान परिस्थितिले व्यापक क्षेत्रीय द्वन्द्वको डर बढाएको छ र अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निगरानी राखिरहेको छ ।

  • तेहरानमा इजरायलीले थाल्यो आक्रमण

    तेहरानमा इजरायलीले थाल्यो आक्रमण

    दुबई, १६ फागुन (रासस–एपी) । अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ ।

    छयासी वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए की थिएनन् भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । अमेरिकासँगको बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन् । यसैबीच, अमेरिकाले इरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा ल्याउन दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने उद्देश्यले सम्झौता चाहनुहुन्थ्यो । इरान भने युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ र लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम वा हमास तथा हिजबुल्लाह जस्ता सशस्त्र समूहलाई समर्थनबारे वार्ता गर्न इच्छुक देखिएको छैन । देशभित्र बढ्दो असन्तोष र विरोधबीच इरान युद्धबाट बच्न चाहिरहेको सङ्केत दिइरहेको छ ।

    इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट जानकारी दिएको छैन, तर क्षेत्रभर फैलिएका अमेरिकी सैन्य अड्डा र कर्मचारी कुनै पनि जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताउनुभएको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

    तेहरानका प्रत्यक्षदर्शीहरूले खामेनीको कार्यालय आसपास पहिलो विस्फोटको आवाज सुनेको बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि कारण खुलाएको छैन । त्यही समयमा इजरायलभर साइरन बजाइएको थियो । इजरायली सेनाले ‘सम्भावित क्षेप्यास्त्र प्रहारको तयारीस्वरूप’ जनतालाई सतर्क रहन आग्रह गरेको जनाएको छ ।

    इजरायलले थप आक्रमण भइरहेको दाबी गरेपछि तेहरानमा थप विस्फोटका आवाज सुनिएको रिपोर्ट आएको छ । हालसम्म हताहतबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र पाइलटहरूलाई विशेष चेतावनी जारी गरिएको छ । अमेरिकी सेनाले घटनाबारे तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ । घटनाले मध्यपूर्वमा नयाँ सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।

  • ट्रम्पको अपिलबीच तेहरानमा आक्रमण, क्षेत्रिय तनाव बढ्यो

    ट्रम्पको अपिलबीच तेहरानमा आक्रमण, क्षेत्रिय तनाव बढ्यो

    दुबई, १६ फागुन (रासस–एपी) । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गरेका छन् । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ ।

    राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरेको बताए । उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरे । यसैबीच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा थिए की थिएनन् स्पष्ट भएको छैन ।

    अमेरिकासँग बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन् । आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोतहरू तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचनाहरू लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् ।

    तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडकहरू बन्द गरिएका छन् भने राजधानीभर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन । इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ । छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ ।

    इजरायलभर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । इजरायलका अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् । इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ ।

    इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट गरेको छैन, तर क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारीहरू सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएका छन् । यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन । घटनाक्रमले मध्यपूर्वमा थप सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।

  • रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

    रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

    काठमाडौँ, १६ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ । र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी हुनुहुन्छ ।

    र्याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो । बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।

  • अफगानिस्तान–पाकिस्तान तनाव कम गर्ने पहल गर्दै साउदी अरब र कतार

    अफगानिस्तान–पाकिस्तान तनाव कम गर्ने पहल गर्दै साउदी अरब र कतार

    रियाद, साउद अरब, १६ फागुन (रासस–एएफपी) । साउदी अरब र कतारले पाकिस्तान र अफगानिस्तानबीच जारी द्वन्द्व रोक्न प्रयास गरिरहेका छन् । पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरूमा बमबारी गरेपछि द्वन्द्व चर्किने आशङ्का बढेपछि कूटनीतिक अभियान सुरु भएको हो । अफगानिस्तानको राजधानी काबुलमा भएको रातभरको हवाई आक्रमण पाकिस्तानको सबैभन्दा व्यापक हवाई आक्रमण थियो र सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूको दक्षिणी शक्ति अड्डामा यसको पहिलो हवाई आक्रमण भएको हो ।

    “कतारसँगको समन्वयमा साउदी अरबले पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न प्रयास गरिरहेको छ,” विषयमा छलफल गर्न कतारसँग सहकार्य गरिरहेको एक स्रोतले परिचय उल्लेख नगर्ने शर्तमा जानकारी गराएको छ। स्रोतका अनुसार ‘यसको लक्ष्य ‘स्थितिलाई कम गर्नु र यसलाई नियन्त्रणभन्दा बाहिर जानबाट रोक्नु’ हो । अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मौलवी अमिर खान मुत्ताकीले शुक्रबार कतारका प्रमुख वार्ताकार मोहम्मद अल–खुलाइफीसँग टेलिफोनमार्फत् संवाद गरेका थिए ।


    साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले पनि पाकिस्तानी समकक्षी इशाक दारसँग टेलिफोन वार्ता गरेका थिए । “रियाद र दोहा दुवै पक्षसँग उच्च स्तरमा सम्पर्कमा छन्, र हामी आशा गर्दछौं कि टकराव जतिसक्दो चाँडो समाप्त हुनेछ,” स्रोतले भनेको छ। इस्लामाबादले यसअघि गरेको हवाई हमलाको बदलामा बिहीबार राति अफगान सेनाले पाकिस्तानी सीमामा आक्रमण गरेपछि पाकिस्तानको पछिल्लो कारबाही सुरु भएको हो । तालिवान सरकार र पाकिस्तानबीचको सम्बन्ध सतर्क संलग्नता र खुला शत्रुताको बीचमा देखिएको छ ।

    इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानमा आक्रमण गर्ने लडाकू समूहविरुद्ध कारबाही गर्न असफल भएको आरोप लगाएको छ, जसलाई तालिबान सरकारले अस्वीकार गर्दै आएको छ। गत अक्टोबरमा कतार र टर्कीएबीच भएको झडपमा दुवै देशका ७० जनाभन्दा बढीको मृत्यु भएपछि युद्धविराम भएको थियो । तर, त्यसयता दोहा र इस्तानबुलमा भएका कैयौँ चरणका वार्ताले दिगो सम्झौता गर्न असफल भएका छन् ।

    द्वन्द्वमा मध्यस्थकर्ताको रूपमा पहिचान बनाएको कतारले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अनुमतिमा सन् २०१३ मा दोहामा तालिबानलाई राजनीतिक कार्यालय खोल्न सहमति दिएको थियो । खाडीका प्रमुख शक्तिमध्ये एक साउदी अरबले हालै अफगानिस्तानले पक्राउ परेका तीन पाकिस्तानी सैनिकको रिहाइका लागि मध्यस्थता गरेको थियो। साउदी अरबको आणविक हतियार सम्पन्न पाकिस्तानसँग घनिष्ठ सैन्य सम्बन्ध छ, जससँग उसले गत वर्ष पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको थियो ।

    अफगानी र पाकिस्तानी दुवै सेनाले पछिल्लो हिंसामा दर्जनौं सैनिक मारिएको बताएका छन् । अक्टोबरमा भएको घातक लडाइँपछि हालैका महिनाहरूमा दुई छिमेकीबीचको सम्बन्ध चिसिएको छ, स्थलसीमा नाकाहरू धेरै हदसम्म बन्द भएका छन्।

  • अक्टोबरदेखि डिसेम्बरसम्म भारतको जीडीपी ७.८ प्रतिशतले वृद्धि

    अक्टोबरदेखि डिसेम्बरसम्म भारतको जीडीपी ७.८ प्रतिशतले वृद्धि

    नयाँदिल्ली, १६ फागुन (रासस–सिन्ह्वा) । अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो त्रैमासमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले भनेको छ, “आर्थिक वर्ष २०२५–०२६ को तेस्रो त्रैमासमा वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)अर्थात् स्थिर मूल्यमा रहेको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ले ७.८ प्रतिशतको वृद्धि दर देखिएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कले सन् २०११–०१२ देखि २०२२–०२३ को एक दशकलाई आधार वर्ष मानेको छ।

    सरकारी तथ्याङ्कअनुसार पुनर्वासपछि अर्थतन्त्रको उत्थानशील कार्य सम्पादनमा योगदान पु¥याउन उत्पादनमूलक क्षेत्र प्रमुख चालक रहेको छ । “सन् २०२३–०२४ र आर्थिक वर्ष २०२५–०२६ को अहिलेसम्मको प्राप्त जानकारीले दोहोरो अङ्कको वृद्धि सुनिश्चित गरेको पुष्टि गरेको तथ्याङ्कले देखाएको छ । सरकारले भनेको छ, “प्रमुख र र आधारभूत क्षेत्रहरूले आर्थिक वर्ष २०२५÷०२६ मा नौ प्रतिशतभन्दा माथि वृद्धि दर दर्ता गरेर अर्थव्यवस्थाको प्रदर्शनलाई बढावा दिएका हुन् ।

  • दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

    दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

    रासस
    म्याग्दी, १६ फागुनः म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ ।
    दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन ।

    पुल नहुँदा धौलागिरि गाउँपालिकाको वडा नम्बर ३ दर र वडा नम्बर ४ को मुदीका बासिन्दा मर्कामा परेका दर गाउँका पारस बुढाले बताए । हिउँदमा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । बर्खामा दरखोलामा बाढी आउँदा असारदेखि कात्तिक महिनासम्म सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।

    दर, मुदी, बगर, नाउरा, नेरवाङ, चेचुङ, खिवाङ र खाम्ला बस्तीलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि दरखोलामा पुल आवश्यक रहेको छ । यी गाउँहरूमा करिब ७०० घरपरिवारको बसोबास रहेको छ । मुदीको धौलागिरि युवा क्लबका अध्यक्ष विशाल घर्तीले दरखोलाको मोटरेबल पुल आफूहरूको प्रमुख माग र आवश्यकता भएको बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँमा आएका उम्मेदवारहरूसँग दरखोलामा पुल बनाउन माग गरिएको उनले बताए ।


    पुल नहुँदा बर्खा याममा खाद्यान्न र निर्माण सामग्री ढुवानी, बिरामीलाई अस्पताल लैजान, कृषि र पशुजन्य वस्तु बजार पठाउन समस्या भएको दरका हरिप्रसाद बुढाले गुनासो गर्नुभयो । दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि धौलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो ।

    गण्डकी प्रदेश सरकारले आव २०८०–०८१ म रु ५० लाख र २०८१–०८२ मा रु ३० लाख बजेट विनियोजन भए पनि राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण बजेट थपेर स्रोत सुनिश्चितता गराउन नसक्दा कार्यान्वयन हुन सकेन । आव २०८२–०८३ मा सङ्घीय सरकारसँग माग गरेको योजना सम्बोधन नभएपछि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । गाउँपालिकाको नीति तथा कार्यक्रममा दर, मुदी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूसँग समन्वय गरेर दरखोलामा बेलिब्रिज बनाउने उल्लेख गरेको छ ।

    प्रभावित क्षेत्रका बासिन्दाहरू जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वको रकम पुलमा खर्च गर्न नहुने अडानमा छन् । जलविद्युत् आयोजनाहरू थप व्ययभार बेहोर्न चाहँदैनन् । गाउँपालिकासँग आवश्यक पर्ने पर्याप्त आर्थिक स्रोतको अभावका कारण दरखोलामा पुल बनाउने योजना कार्यान्वयनमा ढिलाइ भएको जनप्रतिनिधिको भनाइ छ ।

  • आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

    आजको मौसम पूर्वानुमान : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

    काठमाडौँ, १६ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

    तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका समेत एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ ।

  • सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

    सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

    भद्रपुर (झापा), १६ फागुनः यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए । पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    उनका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत हुनुुहुन्छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।

  • सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

    सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

    जेनेभा, १६ फागुन (रासस–एपी) । मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन ।

    वार्ताको मध्यस्थता गरिरहनुभएका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए । तर कुनै ठोस सहमति सार्वजनिक भएन । वार्ता अन्त्य हुनुअघि इरानी राज्य टेलिभिजनले तेहरान युरेनियम संवर्धन जारी राख्न प्रतिबद्ध रहेको, संवर्धित सामग्री विदेश पठाउने प्रस्ताव अस्वीकार गरेको र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाइनुपर्ने अडान दोहोर्‍याएको जनाएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्ने सहमति चाहन्छन् । उनले इरान आन्तरिक असन्तोषले कमजोर बनेको बेला दबाब बढाउने अवसर देखेका छन् । तर इरानले आफूलाई शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम संवर्धन गर्ने अधिकार रहेको बताउँदै लामो दूरीको क्षेप्यास्त्र कार्यक्रम वा हमास र हिजबुल्लाहजस्ता समूहलाई समर्थनबारे छलफल गर्न अस्वीकार गर्दै आएको छ ।

    अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)को मुख्यालय भियनामा प्राविधिक तहका वार्ता अर्को हप्ता जारी रहने अल–बुसाइदीले जानकारी दिनुभयो । सम्भावित कुनै पनि सहमतिमा आइएइएको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी पक्षसँगको संवादलाई ‘सबैभन्दा गहन र लामो चरणको वार्ता’ बताए । उनले इन्डिया टुडेसँगको अन्तर्वार्तामा सम्भावित युद्ध ‘विनाशकारी’ हुने चेतावनी दिँदै अमेरिकाले आक्रमण गरे क्षेत्रभर फैलिने जोखिम औँल्याए । इरानले अमेरिकी सैन्य अड्डा र इजरायललाई समेत सम्भावित लक्ष्य मान्ने चेतावनी दिँदै आएको छ ।

    इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक अली वेजले वार्तापछि अमेरिकी टोली तुरुन्तै नहट्नु सकारात्मक सङ्केत भएको टिप्पणी गरे । उनका अनुसार दुवै पक्षबीच अझै केही साझा आधार बाँकी रहेको देखिन्छ । गत वर्ष इजरायलले इरानविरुद्ध १२ दिने युद्ध सुरु गरेपछि र अमेरिकाले इरानका आणविक साइटमा आक्रमण गरेपछि रोकिएको वार्ता यसपटक पुनः सुरु भएको थियो । करिब तीन घण्टा चलेको छलफलपछि छोटो विराम लिएर पुनः बैठक बसेको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले आणविक मुद्दा र प्रतिबन्ध राहतमा ‘रचनात्मक प्रस्ताव’ राखिएको बताएका छन् ।


    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रमका तत्वहरू पुनर्निर्माण गर्न खोजिरहेको आरोप लगाएका छन् । इरानले जुनदेखि संवर्धन नगरेको दाबी गरे पनि आइएइए निरीक्षकलाई बमबारी गरिएका स्थलमा प्रवेश दिएको छैन । स्याटेलाइट तस्वीरले ती क्षेत्रमा गतिविधि देखाएको विश्लेषण सार्वजनिक भएको छ ।

    सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले युरेनियम संवर्धन ६० प्रतिशतसम्म पु¥याएको थियो, जुन हतियार–ग्रेड ९० प्रतिशतको नजिक मानिन्छ । अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानले औपचारिक रूपमा हतियार कार्यक्रम पुनः सुरु नगरे पनि आवश्यक पूर्वाधार सुदृढ बनाउने गतिविधि गरिरहेको देखिन्छ । यदि वार्ता पूर्ण रूपमा असफल भयो भने सम्भावित सैन्य कारबाहीको आकार र उद्देश्य अस्पष्ट छ । सीमित आक्रमणले इरानलाई झुकाउने कि दीर्घकालीन युद्धतर्फ धकेल्ने भन्ने अन्योल कायमै छ । यस्तो कदमले पर्सियन खाडी र इजरायलसम्म तनाव फैलिन सक्ने आकलन गरिएको छ ।

    तनावकै कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बेन्चमार्क ब्रेन्ट क्रुड प्रतिब्यारेल करिब ७० डलरमा कारोबार भइरहेको छ । इरानले अघिल्लो चरणको तनावका बेला होर्मुज जलडमरूमध्यमा अस्थायी अवरोध सिर्जना गरेको जनाएको थियो । होर्मुज जलडमरूमध्यबाट विश्वको झन्डै पाँचौँ भाग व्यापारिक तेल आपूर्ति हुने गर्छ ।

  • केजरीवाल भ्रष्टाचार आरोपमुक्त, पाए सफाई

    केजरीवाल भ्रष्टाचार आरोपमुक्त, पाए सफाई

    नयाँदिल्ली, १६ फागुन (रासस–एएफपी) । दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गर्दै सबै आरोपबाट मुक्त गरेको छ । शुक्रबारको फैसलापछि केजरीवाल र उहाँका समर्थकहरूले न्यायको विजय भएकोमा खुशी व्यक्त गरेका छन् । सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहनुभएका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेका थिए । केही महिना जेलमा बिताएका थिए । अदालतले उनलाई, उनका पूर्व सहायक मनिष सिसोदिया र अन्य २१ जनालाई सबै आरोपबाट मुक्त गरेको जनाएको छ ।

    फैसलापछि पत्रकारहरूसँगको संवादमा केजरीवालले भने, “सत्यको विजय भएको छ ।” उनले सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले आम आदमी पार्टीलाई समाप्त गर्ने प्रयासमा राजनीतिक षड्यन्त्र प्रयोग गरेको आरोप लगाए । सन्ताउन्न वर्षीय केजरीवालले आफ्नो करियर कर सङ्कलनकर्ताको रूपमा सुरु गरे । तर भ्रष्टाचार विरोधी अभियानमा जुट्न निजामती सेवा छाडे । जसले उनलाई राष्ट्रिय स्तरमा ख्याति दिलायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरोधीहरूले विगतका वर्षहरूमा विभिन्न राज्यका मुख्यमन्त्री सहित आपराधिक अनुसन्धानको सामना गर्दै आएका थिए ।

    फेब्रुअरी २०२५ मा बिजेपीकी रेखा गुप्ता तीन करोडभन्दा बढी जनसङ्ख्याको दिल्ली महानगरकी मुख्यमन्त्री निर्वाचित भएकी थिइन् । विपक्षीहरूले त्यतिबेला प्रस्तुत विधेयकलाई संवैधानिक सुरक्षा उपायहरूलाई कमजोर पार्ने प्रभावहीन प्रयासका रूपमा व्याख्या गरेका थिए । अदालतको यस फैसलाले राजनीतिक तनावबीच केजरीवालको छवि मजबुत बनाएको छ र आम आदमी पार्टीलाई आगामी निर्वाचनका लागि उत्साहित बनाउने सङ्केत दिएको छ ।

  • मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह

    मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह

    काठमाडौँ, १६ फागुन । प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलको आज बसेको बैठकले निर्वाचनजस्तो संवेदनशील विषयमा निर्वाचनलाई प्रभाव पार्ने किसिमका, निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्याउने, मतदातालाई दिग्भ्रमित पार्ने खालका, निष्पक्ष मतदानमा असर पुग्नेगरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चारमाध्यमबाट सम्प्रेषित निर्वाचनलाई प्रभाव पार्ने किसिमको प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न नगराउन आग्रह गरिएको छ ।

    “बिबिसी वल्र्ड न्यूज सर्भिसबाट २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा २०८२ फागुन १४ गते ‘सट लाइक इनिमिजः इनसाइड नेपाल्स जेनजी अपराइजिङ’ विषयक वृत्तचित्र बिबिसीको युट्युब च्यानलबाट समेत सम्प्रेषण भएको देखिएको छ”, काउन्सिलका सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली सञ्चारमाध्यमले उक्त वृत्तचित्रको विश्वसनीयताको परीक्षण नै नगरी आफ्नो धारणासहित विश्लेषण गर्दै सामग्री सम्प्रेषण गरिरहेको देखिएको छ ।”

    काउन्सिलले निर्वाचनको सम्मुखमा विदेशी सञ्चारमाध्यमबाट वृत्तचित्रको नाममा निर्वाचनलाई प्रभाव पार्ने किसिमबाट यस्ता सामग्री सम्प्रेषण भएको र बिबिसी विदेशी मुलुकबाट सञ्चालित भएको हुँदा उक्त सञ्चारमाध्यम र त्यसअन्तर्गतको सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमन गर्ने विषय यस काउन्सिलको स्पष्ट क्षेत्राधिकारभित्र पर्ने नदेखिएकाले कूटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गरी पत्राचार गर्नेसमेत बैठकले निर्णय गरेको जनाएको छ ।

  • आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

    आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

    काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदनमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज यही फागुन १९ गते उक्त विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    अधिवक्ता आभास रेग्मी, आयुष बडाल, आकाश ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँलगायतलाई विपक्षी बनाई बिहीबार दायर गरेको रिट निवेदनमा निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको थियोे ।

    रिट निवेदनमा भनिएको छ, “पत्रकार आचारसिंता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीत नागरिकको संविधानप्रदत्त धारा २७ गोपनियताको हकलाई निस्तेज गर्ने, भ्रम पैदा गर्नेजस्ता समाचार सामग्रीहरू सम्प्रेषण नगर्नु नगराउनु भनी परमादेश जारी गरीपाउँ ।” रिट निवेदनमा निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने कुनै पनि किसिमको समाचार सामग्रीहरू सम्प्रेषण नगर्नु भनी विपक्षीमध्येका सेतोपाटी अनलाइनका नाममा प्रतिषेधको आदेश माग गरिएको छ ।

    “संविधानप्रदत्त मौलिक हकको उपभोगमा अनुचित प्रभाव पर्ने, निर्वाचनसम्बन्धी गलत सन्देश नागरिकमा जाने, नागरिकसँग गरिएका कुराकानीले निजहरूको जिउधनमा असुरक्षा पैदा भई अपुरणीय क्षति पुग्ने हुन्छ”, रिट निवेदनमा भनिएको छ, “जाने हुँदा यो रिट निवेदनको अन्तिम टुङ्गो लाग्न समय लाग्ने भएकाले निर्वाचन आउन केही दिन बाँकी रहँदा निर्वाचन परिणाम झल्कने ‘विश्लेषण’, ‘सर्वेक्षण’लगायत विभिन्न नाममा समाचार सामग्रीहरू सम्प्रेषण गर्ने, छाप्ने, फैलाउनेजस्ता कार्य नगर्नु प्रकाशित गरेका सामग्रीहरू हटाउनु”, उक्त रिट निवेदनमा अर्को सुनुवाइ यहीँ फागुन १९ गते हुनेछ ।

  • कोरियाले दियो गुगललाई नक्सा डाटा निर्यात अनुमति

    कोरियाले दियो गुगललाई नक्सा डाटा निर्यात अनुमति

    सियोल, १५ फागुन (रासस–एपी) । वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ । सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ ।

    भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञहरूको समीक्षा पश्चात् गुगलको १ः५,००० स्केलको विस्तृत म्यापिङ डाटा निर्यात गर्ने अनुरोध स्वीकृत गरिएको हो । तर उक्त अनुमति नेभिगेसन सेवाका लागि आवश्यक सीमित डाटामात्र स्थानान्तरण गर्न पाइने, उचाइ रेखाजस्ता संवेदनशील विवरण समावेश नगर्ने र थप सुरक्षा उपाय अपनाउने सर्तमा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

    मन्त्रालयका अनुसार गुगलले पहिलो चरणमा डाटा दक्षिण कोरियाभित्रैका सर्भरमा प्रशोधन गर्नुपर्नेछ र त्यसपछि मात्र सरकारी स्वीकृति लिएर निर्यात गर्न पाउनेछख । साथै, दक्षिण कोरियाली भूभागसँग सम्बन्धित सटीक निर्देशाङ्क हटाउन र गुगल अर्थ तथा स्ट्रिट भ्यूजस्ता समय–शृङ्खला सेवामा सैन्य तथा अन्य संवेदनशील स्थलका स्याटेलाइट र हवाई तस्वीरहरू धमिलो ९ब्लर० बनाउनुपर्ने माग पनि सरकारले राखेको छ ।

    सरकारले गुगललाई नक्सा डाटा निर्यातसम्बन्धी विषय व्यवस्थापन गर्न दक्षिण कोरियामा एक अनुपालन अधिकारी नियुक्त गर्न निर्देशन दिएको छ । तोकिएका सर्तहरू पालना नभए स्वीकृति निलम्बन वा रद्द गर्न सकिने मन्त्रालयले जनाएको छ । गुगलका सरकारी मामिला तथा सार्वजनिक नीतिका उपाध्यक्ष क्रिस टर्नरले इमेलमार्फत जारी वक्तव्यमा कम्पनीले ‘आजको निर्णयलाई स्वागत गरेको’ र ‘कोरियामा पूर्ण रूपमा कार्यशील गुगल नक्सा उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग निरन्तर सहकार्य गर्ने अपेक्षा’ राखेको बताए ।


    यसअघि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता र संवेदनशील भौगोलिक जानकारी घरेलु सर्भरमै राख्नुपर्ने नीतिका कारण गुगलको विस्तृत डाटा निर्यात अनुरोध वर्षौंसम्म अस्वीकार गर्दै आएको थियो । ती प्रतिबन्धका कारण दक्षिण कोरिया त्यस्ता थोरै देशमध्ये पर्दै आएको थियो जहाँ विश्वव्यापी रूपमा लोकप्रिय गुगल नक्साको प्रयोग सीमित थियो । फलस्वरूप, स्थानीय प्रयोगकर्ताहरू प्रायः नाभर र काकाओजस्ता स्वदेशी इन्टरनेट कम्पनीका सेवामा निर्भर रहँदै आएका थिए ।

    आलोचकहरूले भने ती प्रतिबन्धका कारण विदेशी आगन्तुकहरूमा असन्तुष्टि बढेको र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको तर्क गर्दै आएका थिए । दक्षिण कोरिया आफूलाई प्रमुख अन्तर्राष्ट्रिय यात्रा गन्तव्यका रूपमा स्थापित गर्न खोजिरहेका बेला गुगल नक्साको सीमित प्रयोगले प्रत्यक्ष असर पारेको हुनसक्ने उनीहरूको भनाइ थियो ।

  • सामाजिक सञ्जालमा मात्रै हैन घर-घरमा पुगौँः सभापति थापा

    सामाजिक सञ्जालमा मात्रै हैन घर-घरमा पुगौँः सभापति थापा

    गलकोट (बागलुङ), १५ फागुनः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् । आज बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे । सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गरे ।


    “कांग्रेस एउटा सङ्कल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ । त्यसको आधार र कारणबारे बताउनुस् । यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ”, उनले भने, “सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ । मतदाताको बीचमा गएर यो कुरा भन्नुस् । खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस् ।” कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापित थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने बताए ।

  • सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाएः सभापति लामिछाने

    सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेले नै जलाएः सभापति लामिछाने

    चितवन, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा भएका आगजनीको आरोप पुराना दलहरूलाई लगाएका छन् । उनले आज यहाँ आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै भने, “सिंहदरबार त्यसैले जलाए, जसले त्यसलाई भ्रष्टाचारको अखडा बनाए ।”

    आफूहरू जनतालाई सुशासनको प्रत्याभूति गराउन आएको उनको भनाइ थियो । उनले भने, “हामीलाई यसपटक हेर्नुस् परिवर्तन नभए तपाईँहरूको पार्टीमा समाहित हुन्छौँ ।” पाँच वर्ष रास्वपालाई काम गर्ने अवसर दिनसमेत उनले मतदातालाई आग्रह गरे । जेनजीको भावनालाई आत्मसात् गर्दै परिवर्तनको पक्षमा मतदान गर्न उनले आग्रह गरे ।


    त्यसैगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले नेपालको उत्पादनलाई प्रयोग गर्ने प्रचलन बढाउन आवश्यक रहेको बताए । अहिले कृषि र पर्यटन क्षेत्रमा समस्या रहेकाले उहाँले आगामी दिनमा यी समस्याहरूको समाधान गर्न आफूहरूलाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन् । चितवनले सिङ्गो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको बताउँदै उनले चितवनले बदलेको देशलाई सबैले मिलेर सहयोग गर्न आवश्यक रहेको बर्ताए ।

    उनले भने, “आफ्नो घरमा खाने गरेको खानेकुरा पर्यटकलाई बेचेर पर्यटन व्यवसायमात्रै गरेका छैनन्, नेपाललाई विश्वमा चिनाएका छन् । चितवनवासीबाट सिङ्गो देशले सिक्नुपर्छ ।” किसानले उत्पादन गरेको दूध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटका कारण भएको उनले बताए ।

    कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जनतालाई भयबाट मुक्त गर्दै आशाको राजनीतिबाट माथि उठाउन आएको बताए । कार्यक्रममा रास्वपाका नेताहरू सोविता गौतम, हरि ढकाल, गण्डकी प्रदेश अध्यक्ष राजन गौतमलगायतले सम्बोधन गरेका थिए ।

  • दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

    दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

    प्रकाश सिलवाल र मधु शाही/रासस

    काठमाडौँ, १५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् । फर्पिङको ‘कोतघर’ पहिला तलेजु भवनीको दरबारले चिनिथ्यो । अहिले यहाँ दरबारको अवशेष पनि देखिदैन । दरबार भत्किएर यहाँ घाँसेचौर भएको छ ।

    छेउमा दक्षिणकाली नगरपालिका–६ को वडा कार्यालय छ । यही कोतघरको चौरमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मतदानस्थल कायम गरिएको छ । कोतघरको अगाडि दक्षिणकाली नगरपालिकाको नगर कार्यपालिका कार्यालय र भित्री चोक पनि पर्दछ ।

    ‘चुनाव नजिकिँदै छ । यहाँका उम्मेदवारसँग के अपेक्षा राख्नुहुन्छ ?’ भन्ने राससको प्रश्नमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को दक्षिणकाली नगरपालिकामा रहेको नगर कार्यपालिकाको आँगनमा उभिएर ७८ वर्षीया जितमाया श्रेष्ठले भनिन्, “अरु सबै छ, ऊ यो पुरानो कोतघर भत्किएर यहाँको इतिहास हराएको छ । हामीलाई पहिलेकै कोतघर आवश्यक छ । जसले बनाइदिन्छ, उसलाई भोट हाल्ने मन छ ।”

    स्थानीय मतदाता श्रेष्ठले यसो भनिरहँदा उनका आँखामा कोतघरसँग इतिहास र पुख्र्यौली संवेदना जोडिएको देखिन्थ्यो । उनका अनुसार यहाँ प्राचीनकालमा स्थानीयले पूजा गर्ने देवीदेवताको मन्दिर थियो । विभिन्न कालखण्डमा जीर्ण भएर भवन भत्किएपछि यहाँका देवीदेवताका मूर्ति केहीपर एकै स्थानमा सारेर थन्क्याइएको छ ।

    भवनको अभावमा यहाँका देवतालाई अन्यन्त्र प्रतिस्थापन गर्दा स्थानीयको आस्था र भरोसा खुम्चिँदै गएको श्रेष्ठले उल्लेख गरिन् । “हाम्रा पुर्खादेखि पूजा गर्दै आएका देवीदेवता राख्ने थलो नहुनु दुःखद् विषय विषय हो । यहाँ फेरि उही पुरानै कोतघर बनाइदिए हामी उत्साहित हुने थियौँ”, उनले भनिन् । पुख्र्यौली संस्कृति र सम्पदाको संरक्षण हुन नसकेको यहाँ स्थानीयको गुनासो यसअघिका जनप्रतिनिधिका उम्मेदवारलाई नसुनाइएको होइन ।

    कोतघर भत्किएर चौर भएपछि नजिकको ढुङ्गेधारा संरक्षणको पर्खाइमा छ । सोही क्षेत्रका ६८ वर्षीय बुद्धिराम श्रेष्ठले आफ्नो बाल्यकाल यही ढुङ्गेधारोबाट बग्ने शुद्ध मूलको पानी खाएर हुर्किएको स्मरण गरिन् । पञ्चायत, प्रजातन्त्र र गणतन्त्रदेखि सङ्घीय शासन प्रणालीसम्म आइपुग्दा आफ्ना पुख्र्याौली धरोहर हराउँदै गएकामा बुद्धिरामले चिन्ता व्यक्त गरे । यस्ता सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण हुनुपर्नेमा उनले जोड दिए ।

    पुख्र्यौली संरचना जगर्ना गर्न सके स्थानीयस्तरमा वैभवपूर्ण समृद्धि अनुभूति गर्न सकिने उनको धारणा छ । यतिबेला घरदैलोमा मत माग्न आउने उम्मेदवारलाई बुद्धिरामले तिनै सुक्दै गएका ढुङ्गेधारा र जीर्ण सम्पदा कसले बनाउँछ ? भन्दै प्रश्न गर्ने गरेको बताउनुभयो । धेरै वटा निर्वाचनको अनुभुति गरेका उनले भौतिक विकास र परम्परागत संस्कृतिको संरक्षणसँगै सुशासन, शान्ति र समृद्धिका पक्षमा काम गर्ने जुनसुकै उम्मेदवार रोजाइमा पर्ने धारणा राखे ।


    स्थानीय युवा उज्वल श्रेष्ठले विगतमा जस्तो आश्वासन दिने र चुनाव जितेपछि प्रतिबद्धता पूरा नगर्ने परिपाटीलाई नेताहरूले हटाउनुपर्ने बताए । उद्योग कलकारखाना सञ्चालन गरेर युवा रोजगार बढाउने प्रतिबद्धता पहिलाको चुनावमा धेरै उम्मेदवारले गर्दै आएका भन्दै अहिलेसम्म पूरा हुन नसकेका उनले गुनासो गरे । उद्योग कलकारखाना सञ्चालनमा आयो भने स्थानीय युवा रोजगारका लागि विदेशिनु नपर्ने बताउँदै युवा जनशक्तिलाई आकर्षित गर्ने सोच भएका उम्मेदवार आफ्नो रोजाइमा पर्ने उज्वलले प्रतिक्रिया दिए ।


    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०६४ को निर्वाचन जितेकाले चर्चामा रहेको यो क्षेत्रमा पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र केसी विजयी भएका थिए । तत्कालीन निर्वाचन क्षेत्र नं ५ (अहिलेको कीर्तिपुर र चन्द्रागिरी) रहेका बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारी यहाँबाट विजयी भएका थिए ।


    राजधानी उपत्यकाको भाग भए पनि विकासमा पछि परेको काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा यसपटक कांग्रेसबाट हिमाल कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रदीप विष्ट, नेकपाबाट रुपा महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बलराम थापा उम्मेदवार छन् ।


    नेपाल मजदुर किसान पार्टीबाट विन्द्रा महर्जन, राष्ट्रिय जनमोर्चाबाट अम्बरबहादुर पौडेल र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केशवराज अर्याल, श्रम संस्कृति पार्टीबाट धनबहादुर श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट भागरित साह र उज्यालो नेपाल पार्टीबाट राकेश न्यौपाने प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारका रूपमा पूर्णचन्द्र पौडेल, अनुज प्रधान, कविता पुडासैनी (अधिकारी), कुमारखाकी श्रेष्ठ, कृष्णकुमारी नेपाली, दीपकराज पाण्डे, देवकुमार श्रेष्ठ, विनोद बुढाथोकी, मीनबहादुर बुढाथोकी, राजकुमार गिरी र सुलोचना परियार उम्मेदवार रहनुभएको छ । महिला उम्मेदवार पाँच जना छन् ।

    यसअघिको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनका आधारमा कांग्रेसका केसी १४ हजार ४६३ मतका साथ विजयी भएका थिए भने एमालेका हिमेश केसीले ११ हजार ७९१ मत प्राप्त गरेका थिए ।

    मतदात अधिकृत खटिँदै

    काठमाडौँ क्षेत्र नं १० को निर्वाचनलाई सुसम्पन्न गर्न कीर्तिपुरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालित छ । निर्वाचन अधिकृत अमृतादेवी शर्माका अनुसार ९८ मतदान अधिकृत र ९८ सहायक मतदान अधिकृतलाई नियुक्तिपत्र प्रदान गरिएको छ । ती मतदान अधिकृतले शनिबार तालिम लिएर कार्यस्थलमा खटिनेछन् ।

    उनले मतपत्रको रुजु गर्ने कार्य लगभग सकिएको जनाउँदै निर्वाचनका लागि सुरक्षा निकाय, स्थानीय तह र सरोकार भएका पक्षबाट आवश्यक सहयोग भइरहेको बताए । निर्वाचन अधिकृत शर्माले यही फागुन १८ गते सबै मतदान केन्द्र (बुथ) मा निर्वाचन सामग्री उपलब्ध हुने र मतदानस्थल निर्माण हुने जानकारी दिँदै निर्वाचन आचारसंहिताको कार्यान्वयनसमेत भइरहेको अवगत गराए ।

    पाँच मतदानस्थल महिलामैत्री

    निर्वाचन अधिकृत शर्माले ९८ मध्ये पाँच मतदानस्थललाई महिलामैत्री (सबै महिला कर्मचारी खटिएका) बनाइएको बताए । ती मतदानस्थलमा कीर्तिपुर नगरपालिका–४ को सल्यानथान आधारभूत विद्यालय, चन्द्रागिरी नगरपालिका–५ को जनकल्याण मावि, किशिपिडी क, ख र ग र दक्षिणकाली नगरपालिका–५ को अरुणोदय मावि मतदान केन्द्र रहेका उनले जानकारी दिए ।

  • गण्डकीमा पनि भीडभाड गरेर फागु खेल्न नपाइने

    गण्डकीमा पनि भीडभाड गरेर फागु खेल्न नपाइने

    गण्डकी, १५ फागुन । प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ ।
    निर्वाचनको सुरक्षा संवेदनशिलता र आचारसहिंताका कारण सडक तथा सार्वजनिक भीड जम्मा हुने गरी कुनै पनि मेला, साङ्गीतिक कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रुपमा सूचीत गरेको हो । कार्यालयले आज जारी गरेको सूचनामा फागु पर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको उल्लेख छ ।

    परिवार मिलेर घरपरिसरमा सभ्य र सुसंस्कृत रुपमा फागु पर्व मनाउन कार्यालयले आग्रह गरेको छ । फागु पूर्णिमा मनाउने क्रममा सुरक्षा नियम र आचारसहिंता पालना गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको छ । फागु खेल्ने क्रममा प्रचलित कानुन विपरीत कार्य गरेको पाइएमा जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्यालयले जनाएको छ । यही फागुन १८ गते पहाड र १९ गते तराई क्षेत्रमा फागुपूर्णिमा मनाइँदैछ ।

  • निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

    निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

    काठमाडौँ, १५ फागुनः यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । हालसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो ।

    निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैंक खाता खोल्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले कार्यविधिअनुसार निर्वाचन प्रचारप्रसारका लागि खाता खोल्ने व्यवस्था गरिएको छ । सोही खातामार्फत आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार गर्न भनिएको छ ।

  • यस पटकको होली पर्व घरभित्र मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न आग्रह

    यस पटकको होली पर्व घरभित्र मनाउन र राजनीतिक प्रतीक प्रयोग नगर्न आग्रह

    काठमाडौँ, १५ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्व मनाउँदा शान्तिसुरक्षा र आसन्न निर्वाचनलाई ध्यानमा राख्न आग्रह गर्दै सार्वजनिकस्थलमा भीडभाड, मेला महोत्सव तथा मदिरा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।

    कार्यालयद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक रूपमा आआफ्नो घर परिषरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन बाधा नपर्ने स्पष्ट पार्दै खुला सडक र सार्वजनिक स्थानमा अनावश्यक भीड जम्मा गर्ने, कार्यक्रम आयोजना गर्ने र मदिरा सेवन तथा वितरण गर्ने कार्य नगर्न अनुरोध गरेको छ ।

    कार्यालयले आसन्न निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको कार्यान्वयनमा जोड दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा जुलुस, आमसभा वा प्रचारप्रसारमा उम्मेदवारको निर्वाचन चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी–सर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।

    होलीका अवसरमा यस्ता सामग्री प्रयोग गरी आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । सूचनामा कसैको इच्छाविपरीत रङ वा पानी हाल्ने, मदिरा सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, हो–हल्ला तथा अराजक गतिविधि गर्ने काम कानुनविपरीत हुने उल्लेख गरिएको छ ।

  • आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

    आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

    काठमाडौँ, १५ फागुनः आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट राजस्व परामर्श समिति गठन गरिएको छ । अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा समिति गठन भई कार्य प्रारम्भ गरिसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए ।


    समितिमा सरकार, केन्द्रीय बैंक, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको सहभागिता रहेको छ । समितिको सदस्यमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख वा तोकिएका वरिष्ठ प्राध्यापक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, अर्थ मन्त्रालयबाट मनोनित दुई जना विज्ञ (अर्थविज्ञ र करविज्ञ) रहेका छन् ।

    यस्तै, निजी क्षेत्रका छाता सङ्गठनबाट पनि प्रतिनिधित्व गरिएको छ । समितिमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल आर्थिक सङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासङ्घ तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष वा तोकिएका वरिष्ठ पदाधिकारी सदस्यका रूपमा रहेका छन् । अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका सहसचिवलाई सदस्य–सचिव तोकिएको छ ।

    राजस्व परामर्श समितिलाई आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सर्भिस ट्याक्स, ई–कमर्समा लाग्ने कर तथा आर्थिक ऐनबमोजिमका अन्य आन्तरिक करसम्बन्धी नीतिगत तथा कानुनी सुधारका विषयमा सुझाव दिन कार्यादेश दिइएको प्रवक्ता पाण्डेयले जानकारी दिए । करका दर पुनरावलोकन, प्रक्रिया सरलीकरण, कर प्रणाली सुधार तथा राजस्व प्रशासन र सङ्गठन संरचनामा आवश्यक सुधारबारे सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको उनले बताए ।


    यसैगरी, औद्योगिक प्रवर्द्धन तथा संरक्षण, आयात–निर्यात, सेवा व्यापार, लगानी प्रवर्द्धन, आपूर्ति व्यवस्थापन तथा कर तथा गैरकर प्रोत्साहनका विषयमा नीतिगत र कानुनी सुधारका सुझाव पनि समितिले तयार गर्नेछ । भन्सार दर पुनरावलोकन, आन्तरिक उत्पादन संरक्षणका उपाय, मूल्याङ्कन प्रणाली सुधार, व्यापार सहजीकरण, सीमा व्यवस्थापन तथा भन्सार प्रशासन सुधारसम्बन्धी विषय पनि कार्यक्षेत्रभित्र समेटिएका छन् ।

    राजस्व चुहावट नियन्त्रण, चोरी निकासी–पैठारी नियन्त्रण, विदेशी विनिमय नियमन, आर्थिक अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान तथा त्यसका लागि आवश्यक कानुनी र सङ्गठनात्मक सुधारका विषयमा समितिले अध्ययन गरी सुझाव दिनेछ । कृषि, ऊर्जा, पर्यटन, नागरिक उड्डयन तथा प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रका राजस्व तथा नीतिगत सुधारका विषय पनि समावेश गरिएका छन् ।

    बैंक, वित्तीय संस्था, बिमा, रेमिटेन्स, पुँजी बजार, सहकारी र घरजग्गा कारोबारमा देखिएका समस्या र तिनको समाधान, राजस्व परिचालनसँग सम्बन्धित विषयमा पनि समितिले सिफारिस गर्नेछ । गैरकर राजस्वका नयाँ क्षेत्र पहिचान, दर निर्धारण तथा पुनरावलोकन, सङ्घ–प्रदेश–स्थानीय तहबीचको कर दोहोरोपनाको समस्या समाधान, अन्तरसरकारी राजस्व व्यवस्थापन र राजस्व बाँडफाँट सुधारका विषयमा सुझाव दिने कार्यादेश छ ।

    समितिले अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय अर्थतन्त्रको तुलनात्मक विश्लेषण गर्दै आर्थिक विकाससँग सम्बन्धित विषयमा सुझाव दिनेछ । करको दायरा विस्तार, नयाँ कर लागू वा खारेज गर्ने विषयमा अध्ययन–अनुसन्धान गरी सम्बन्धित क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायीसँग छलफल गरेर सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

    समितिको प्रभावकारी कामका लागि विभिन्न विषयगत नौ वटा उपसमिति गठन गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ । आन्तरिक राजस्व उपसमितिले आयकर, भ्याट, अन्तःशुल्क, डिजिटल करलगायत आन्तरिक करसम्बन्धी सुधारका विषयमा काम गर्नेछ । भन्सार उपसमितिले भन्सार दर, मूल्याङ्कन प्रणाली, व्यापार सहजीकरण तथा सीमा व्यवस्थापनमा केन्द्रित भई सुझाव तयार पार्नेछ ।

    राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान उपसमितिले चुहावटका प्रवृत्ति विश्लेषण, नियन्त्रणका उपाय तथा विदेशी विनिमय र आर्थिक अपराध नियन्त्रणका विषय सम्हाल्नेछ । उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन उपसमितिले औद्योगिक संरक्षण, व्यापार नीतिगत सुधार तथा प्रोत्साहनका विषयमा सिफारिस गर्नेछ ।

    यस्तै, कृषि, ऊर्जा तथा पर्यटन क्षेत्र उपसमितिले कृषि व्यवसायीकरण, विद्युत् उत्पादन, पर्यटन प्रवर्द्धन तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी सुधारका विषय अध्ययन गर्नेछ । बैंक, वित्तीय संस्था, बिमा, सहकारी तथा पुँजी बजार उपसमितिले वित्तीय क्षेत्रका समस्या र राजस्व परिचालनबीचको सम्बन्धबारे सुझाव दिनेछ ।

    गैरकर तथा अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमितिले गैरकर राजस्वका स्रोत, दर तथा सङ्घीय संरचनामा देखिएको कर दोहोरोपनाको समाधानबारे काम गर्नेछ । समष्टिगत आर्थिक उपसमितिले आर्थिक परिसूचक, राजस्व सम्भाव्यता र प्रक्षेपण विश्लेषण गर्नेछ भने सम्पत्ति शुद्धीकरण निवारण तथा अनुसन्धान उपसमितिले एफएटीएफको ग्रे–लिस्टबाट बाहिरिने रणनीतिसहित जोखिम विश्लेषण र सुधारका उपाय सिफारिस गर्नेछ ।

    आगामी आर्थिक वर्षको बजेटमार्फत अवलम्बन गरिने कर नीतिका सन्दर्भमा सम्बन्धित सरकारी निकाय, निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्था, प्राज्ञिक क्षेत्र, सरोकारवाला निकाय तथा सर्वसाधारणबाट सुझाव आह्वान गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ । सुझाव सङ्कलनपछि उपसमितिले आगामी चैत मसान्तसम्म मुख्य समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि समितिले समग्र सिफारिस समेटिएको अन्तिम प्रतिवेदन २०८३ वैशाख मसान्तभित्र अर्थमन्त्रीसमक्ष बुझाउने कार्यतालिका तय गरिएको छ ।

  • निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

    निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छः गृहमन्त्री अर्याल

    काठमाडौँ, १५ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताए । दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको आज निरीक्षण तथा अनुगमनका क्रममा उनले विगतमा भएका कमजोरीलाई सच्याइ यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित बनाइने बताए ।

    मन्त्री अर्यालले निर्धक्कसाथ शान्तिपूर्वक निर्वाचन गराउनेगरी वातावरण बनाउन सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिए । निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।


    आज बिहान गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनका साथै निर्वाचन सुरक्षाबारे छलफलसमेत गरेको थियो । अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, प्रहरी नायब महानिरीक्षक विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, बैदेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामालगायत सहभागी थिए ।


    सह–प्रवक्ता आचार्यका अनुसार छलफलमा विसं २०७९ को स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनबारे जानकारी लिनुका साथै प्रतिनिधिसभाको निर्वाचन सुरक्षा योजनाबारे जानकारी दिइएको थियो । विगतमा मतदान केन्द्रमा भएको संवेदनशीलता र समस्यालाई ध्यान दिएर हाल विभिन्न नाकामा कडाइ गरिएको जनाइएको छ । त्यस अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकार भएकाहरूको सक्रिय सहभागिताका लागि आग्रह गरे ।

    विगत निर्वाचनको संवेदनशीलतालाई ध्यानमा रखोर निर्वाचन तयारी, सम्भावित समस्याको पहिचान गरी निर्वाचनपूर्वका काम सुनिश्चित र निर्वाचन सुरक्षालाई सुनिश्चित गर्न आग्रह गरे । प्रमुख निर्वाचन अधिकृत न्यौपानेले निर्वाचनको विद्यमान अवस्थाबारे जानकारी दिँदै सुरक्षा निकायबीच समन्वय भइरहेको र विगतका मतदानमा अवरोध गर्नेमाथि निगरानी बढाइएको बताए ।

    प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको निर्वाचन अवस्थाबारे जानकारी गराए । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जिल्लाको सुरक्षाबारे जानकारी दिएका थिए । बैदेश्वर गाउँपालिकामा आठ मतदानस्थल, २१ मतदान केन्द्र र मतदाता सङ्ख्या १८ हजार ४२२ रहेको छ । त्यस क्षेत्रमा ९० देखि ९५ प्रतिशत मत खस्ने गरेको छ ।

  • कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    गलकोट (बागलुङ), १५ फागुनः नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । चैते दसैँको अवसरमा हेरक वर्ष कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १० गतेदेखि १४ गतेसम्म आयोजना गरिएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए ।


    धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा चिनिएको बागलुङ कालिका भगवती मन्दिर परिसरमा कालिका मन्दिर स्थापनापछि मेला लाग्दै आएको छ । कालिका मन्दिर स्थापनाको डेढ÷दुईसय वर्षपछि मेला आयोजना गरिँदै आएको छ । तीन सय वर्षभन्दा पुरानो बागलुङको चैते दसँै मेलालाई परम्पराको निरन्तरता दिन गरिँदै आएको अध्यक्ष खड्काले जानकारी दिए ।

    चैतेदसैँ मेलामा कालिका मन्दिर परिसरमा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिद बिक्रीका लागि स्टलहरु राखिनेछ भने लोक दोहोरी गीत, भलिबललगायत विभिन्न सांस्कृतिक झाकीसमेत प्रदर्शन गरिने छ ।

    “विसं १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफूसँगै दाइजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइयोे”, अध्यक्ष खड्काले भने, “भोलिपल्टपछि मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापना भयो, चैतेदसैँमा मन्दिरमा आउने भक्तजनहरुले स्थानीय उत्पादनको खरिद बिक्री गर्ने चलन बढ्दै गयो र चैतेदसैँको मेलाका रुपमा अहिलेसम्म निरन्तरता छ ।”

    बागलुङ कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौँ खसी बोका, राँगा तथा हाँस कुखुराको बलि दिने गरिन्छ । मेलामा करोडौँ रुपैयाँको कारोबार हुन्छ । पहिला पहिला चैते दसँैलाई वर्षभरि रकम जम्मा गरेर घरायसी सामग्री खरिद गर्ने प्रचलन रहेको छ । पहिला डाली, नाङ्ला, ठेका ठेकी, आसी र बाउसा खरिद गर्ने काम चैतेदसैँमा हुँदै आएको थियो ।

    चैतेदसैँ मेलामा रु तीन लाख पुरस्कार राशिको कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता, रु एक लाख पुरस्कार राशिको खुला महिला भलिबल प्रतियोगिता, रु दुई लाख पुरस्कार राशिको राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, रथ यात्रा र रमाइलो मेलालगायतका कार्यक्रम गरिने भएका छन् । कालिका भगवती मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगत्मा चिनाउन, बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

  • चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

    चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

    बेइजिङ, १५ फागुन (रासस–एपी) । युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति सी जिनपिङ र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले विश्वव्यापी अशान्तिको युगमा दुई देशबीचको रणनीतिक साझेदारीलाई गहिरो बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता जनाएका छन् । बेइजिङमा भएको भेटमा सीले भने, “संसार जति जटिल र अशान्त हुन्छ, त्यति नै चीन र जर्मनीले आपसी विश्वास र रणनीतिक सञ्चार बलियो बनाउनुपर्छ ।” मर्जले जवाफमा दुई देशबीच मतभेद भए तापनि साझा उद्देश्यमा जोड दिन र संयुक्त चुनौतीको सामना गर्न दुबैले आवश्यक रहेको दाबी गरे ।


    सी–मर्ज वार्ता मुख्यतया युक्रेन युद्ध, व्यापार घाटा र वैश्विक अर्थतन्त्रका चुनौतीहरूमा केन्द्रित रह्यो । जर्मनीको चीन व्यापार घाटा गत वर्ष बढेको छ, जहाँ निर्यात ९.७ प्रतिशतले घटेर ८१ अर्ब ३० करोड युरो पुगेको छ भने आयात ८.८ प्रतिशतले बढेर एक खर्ब ७० अर्ब ६० करोड युरो पुगेको छ । मर्जले चिनियाँ साझेदारसँग एयरबस विमान अर्डरजस्ता सम्झौताले व्यापारिक सम्भावनालाई बढाउन मद्दत गर्ने आशा व्यक्त गरे । चिनियाँ नेता सीले पनि युरोप र जर्मनीसँग ‘समान सहभागिता’ र सबै पक्षका वैध चिन्तालाई सम्बोधन गर्ने आवश्यकता औँल्याए ।

    उनीहरुले द्वन्द्व समाधान र सुरक्षा, आर्थिक सहयोगका क्षेत्रमा आपसी समझदारी बढाउने प्रयासलाई प्राथमिकता दिने बताए । मर्जको दुई दिने भ्रमणले उनलाई हाङ्झाउमा ह्युमनोइड रोबोट उत्पादन गर्ने प्रमुख कम्पनीको भ्रमणमा पनि लैजाने कार्यक्रम छ, जसले चीनको प्राविधिक क्षमताको अवलोकन गर्न सहयोग गर्नेछ । यो भ्रमण वासिङ्टन भ्रमणअघि भएकाले युरोप–चीन सम्बन्ध र अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भमा रणनीतिक महत्त्व राख्दछ ।

  • खैबर पख्तुनख्वामा दुई दिनमा २० को ज्यान

    खैबर पख्तुनख्वामा दुई दिनमा २० को ज्यान

    पेसावर (पाकिस्तान), १५ फागुन (रासस–एएफपी) । अफगान सीमामा चुलिँदो तनावकै बीच उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो ४८ घण्टाभित्र भएका शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । प्रहरी स्रोतका अनुसार मारिनेमा १५ जना प्रहरी कर्मचारी र चार जना सर्वसाधारण रहेका छन् भने दुई प्रहरी अधिकारी अझै बेपत्ता छन् ।

    पेसावरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले विगत दुई दिनयता प्रान्तका विभिन्न जिल्लामा भएका विस्फोट, गोलीबारी र लक्षित आक्रमणमा ठूलो क्षति पुगेको बताए । उनका अनुसार अपहरणमा परेका दुई प्रहरी अधिकारीको अवस्था अज्ञात रहेको छ र खोजी कार्य जारी छ ।

    यी आक्रमण अफगान र पाकिस्तानी सुरक्षाबलबीच सीमाक्षेत्रमा केही दिनअघि भएको गोलीबारीपछि भएका हुन् । दुवै पक्षले सीमामा शत्रुता भड्काएको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् । घटनापछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । अधिकांश हमलाको जिम्मा तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले लिएको छ ।

    सन् २०२१ मा काबुलमा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र आक्रमण तीव्र बनाएको इस्लामावादको दाबी छ । यसै क्रममा सेनाले प्रान्तका विभिन्न स्थानमा सञ्चालन गरेको चारवटा छुट्टै प्रतिआक्रमणमा २६ जना आतङ्कवादी मारिएको जनाएको छ ।

    पाकिस्तानले अफगानिस्तानस्थित तालिबान प्रशासनमाथि आफ्नो भूमिमा सक्रिय चरमपन्थी समूहलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएको छ । इस्लामावादका अनुसार ती समूहले अफगान भूभागलाई पाकिस्तानमाथि आक्रमणको योजना बनाउन र सञ्चालन गर्न प्रयोग गरिरहेका छन् । काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

    पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा र छिमेकी बलुचिस्तान प्रान्तमा हिंसा उल्लेख्य रूपमा बढेको छ । सडक किनारमा बम विस्फोट, सुरक्षाकर्मीमाथि लक्षित गोलीबारी र छापा आक्रमणका घटना दोहोरिँदै आएका छन् । आत्मघाती विस्फोटहरूको शृङ्खलापछि पाकिस्तानी सेनाले सीमापार रहेका भनिएका आतङ्कवादी अड्डामाथि कारबाही तीव्र पारेको छ, जसले दुई देशबीचको कूटनीतिक सम्बन्ध झनै तनावपूर्ण बनाएको छ ।

  • हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

    हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

    मेक्सिको सिटी, १५ फागुन (रासस–एपी) । लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गरेका छन् । तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह–आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त देखिनएका छन् ।


    उनले कोलम्बियामा आयोजित पत्रकार सम्मेलनमा मेक्सिकोको अवस्थाबारे निगरानी गरिरहेको बताउँदै मेक्सिको, त्यहाँकी राष्ट्रपति क्लाउडिया सेनबाम र सम्बन्धित निकायहरूमाथि पूर्ण विश्वास रहेको उल्लेख गरे । उनका अनुसार विश्वकपका खेलहरू सकेसम्म सहज रूपमा सम्पन्न हुनेमा फिफा आशावादी छ । “मेक्सिको महान् देश हो, संसारका अन्य देशमा जस्तै यहाँ पनि घटनाहरू हुन्छन्स हामी चन्द्रमामा बस्दैनौँ”, उनले भने । व्यवस्था र सुरक्षाको प्रत्याभूति सरकार, प्रहरी र अधिकारीहरूले दिने उनको विश्वास छ ।

    हालै मेक्सिकाली सेनाले ‘एल मेन्चो’ भनेर चिनिने नेमेसियो रुबेन ओसेगुरा सर्भान्टेसलाई कारबाहीका क्रममा मारेपछि देशका विभिन्न भागमा हिंसा फैलिएको थियो । उनी जलिस्को न्यु जेनेरेसन लागुऔषध गिरोहका प्रमुख मानिन्थे । त्यसपछिका दिनहरूमा लागुऔषध गिरोहका समूहले करिब एक दर्जन राज्यमा सवारीसाधन जलाउने, सडक अवरुद्ध गर्ने लगायतका गतिविधि गरेका थिए । अधिकारीहरूका अनुसार कम्तीमा ७० जनाको मृत्यु भएको छ ।

    हिंसाको प्रभाव खेल क्षेत्रमा पनि परेको छ । स्थानीय लिगका चार उच्चस्तरीय खेल गत आइतबार स्थगित गरिएका थिए, जसमा मध्य सहर क्वेरेटारोमा तय गरिएको खेल पनि समावेश थियो । सोही सहरमा मैत्रीपूर्ण खेलमा मेक्सिकोले आइसल्यान्डलाई ४–० ले पराजित गरेको थियो । खेल सुरु हुनुअघि ओसेगुरालाई पक्राउ गर्ने अभियानका क्रममा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा कोरेगिडोरा रङ्गशालामा एक मिनेट मौनधारण गरिएको थियो ।

    कार्यक्रमअनुसार जुन ११ मा मेक्सिको सिटीमा हुने उद्घाटन खेलसहित मेक्सिकोमा १३ वटा विश्वकप खेल आयोजना हुनेछन् । जलिस्को लागुऔषध गिरोहको प्रभाव क्षेत्र मानिने ग्वाडलाजाराले चार खेल आयोजना गर्ने तालिका छ । कोलम्बियाले एक खेल मेक्सिको सिटीमा र अर्को ग्वाडलाजारामा खेल्ने तयारी गरेको छ ।

    कोलम्बियाली फुटबल महासङ्घका अध्यक्ष रामोन जेसुरुनले आफ्ना प्रारम्भिक दुई खेल मेक्सिकोमा भए पनि देशले अवस्था पार गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यो अस्थायी समस्या मात्र भएको र छिट्टै समाधान हुने धारणा राखेका छन् ।
    तर सबै राष्ट्रहरू समान रूपमा आश्वस्त छैनन् । पोर्चुगल फुटबल महासङ्घले मार्चमा मेक्सिकोसँग हुने मैत्रीपूर्ण खेलअघि घटनाक्रम नजिकबाट हेरिरहेको जनाएको छ ।

    जमैकाले मार्च २६ मा ग्वाडलाजारामा इन्टरकन्टिनेन्टल प्लेअफ सेमिफाइनलमा न्यु क्यालेडोनियासँग खेल्ने कार्यक्रम छ, जसको विजेताले विश्वकप स्थानका लागि कङ्गोसँग प्रतिस्पर्धा गर्नेछ । जमैकन फुटबल महासङ्घका अध्यक्ष माइकल रिकेट्सले खेलहरू महिनाको अन्त्यतिर भएकाले केही समय अझै बाँकी रहेको बताउँदै वर्तमान अवस्थाले आफूलाई चिन्तित बनाएको स्वीकार गरेका छन् । उनले कनकाकाफ र फिफाबाट आवश्यक निर्देशनको प्रतीक्षा गरिरहेको बताए ।


    मोन्टेरीमा अर्को प्लेअफ खेल हुने कार्यक्रम छ, जहाँ बोलिभियाले सुरिनामसँग खेल्नेछ र विजेताले प्रतियोगितामा स्थानका लागि इराकसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार राष्ट्रपति सेनबामले ग्वाडलाजारामा हुने विश्वकप खेलहरू योजनाअनुसार नै हुने र कुनै जोखिम नरहेको स्पष्ट पारेका थिए ।

    इन्फ्यान्टिनोले फिफा मेक्सिकाली सरकारसँग नियमित सम्पर्कमा रहेको र परिस्थितिको निरन्तर अनुगमन भइरहेको बताए । उनका अनुसार आगामी विश्वकप ‘अविश्वसनीय उत्सव’ बन्नेछ र वर्तमान चुनौतीबीच पनि मेक्सिकोले आफ्नो दायित्व सफलतापूर्वक पूरा गर्ने विश्वास फिफासँग रहेको छ ।

  • जाडो छल्न आएका चरा फर्किन थाले

    जाडो छल्न आएका चरा फर्किन थाले

    चितवन, १५ फागुनः जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्दछन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कन थालेका हुन् । फेब्रुअरीको अन्तिम साताबाट फर्किन थालेका ती चरा मार्च अन्तिमसम्म सबै गईसक्ने नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले बताए ।


    यहाँ मङ्गोलिया, रुस, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट चरा आउने गर्दछन् । जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोच हुँदै चितवनसम्म आइपुगेका थिए । जाडो छल्न हाँस प्रजातिका क¥याङकुरुङ, चखेवा, सुइरोपुच्छे«, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउने गर्दछन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको अध्यक्ष बिडारीले बताए ।


    यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा आएर बस्ने गर्दछन् । नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा रमाउने गर्दछन् । नेपालमा १५० प्रजातिका चरा जाडो छल्न आगन्तुक रूपमा आउने गर्दछन् । यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने अध्यक्ष बिडारीले जानकारी दिए । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञ बताउँछन् ।

    नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम वासस्थानका रूपमा लिइन्छ । निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् ।

    यससँगै गर्मी मौसममा आउने चरा आउन थालेका छन् । अध्यक्ष बिडारीका अनुसार भारत हुँदै आउने ती चरा नेपाल छिर्न थालेका छन् । उनले भने, “जाडो छल्न आएका चरा फर्किन थालेका छन् भने गर्मीमा आउने चरा आउन थालेका छन् ।” गर्मीमा आउने चराले यही बच्चा कोरलेर जाडो सुरु भएसँगै फर्किने गर्दछन् ।