Author: Vishwanews.com

  • मध्यरातबाट सुरु हुने ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    मध्यरातबाट सुरु हुने ‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

    रासस
    काठमाडौँ, १६ फागुनः आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ । मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

    मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयसहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्वपूर्ण रहन्छ ।

    निर्वाचन प्रचारप्रसार अभियान क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सिर्जना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आ–आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ ।

    मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्तिसुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ ।

    भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइने पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

    सो अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन । आउँदो बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

    निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् । निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।

  • राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता

    राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता

    रासस
    काठमाडौँ, १८ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गरे ।

    राष्ट्रपति पौडेलले भने, “निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो ।”

    उनले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गरे । “देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ”, राष्ट्रपति पौडेलले भने, “यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ ।”

    सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएको बताए । “पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा उल्लेख्य प्रगतिका साथ देश अगाडि बढिरहेको छ । यी उपलब्धि सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासका साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन्”, सम्बोधनमा उनलले भने ।


    सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गरेका छन् ।

    राष्ट्रपति पौडेलले मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्नेमा जोड दिए । उनले भने, “आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्द्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ ।”

  • इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी

    इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी

    गोरखा, १८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको खुलाइएको छ । राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन सहजीकरण गर्ने बताएको छ ।

  • युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

    युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त

    काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सभापति थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् ।

    सभापति थापाले द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् ।

    सभापति थापाले जनसम्पर्क समिति, गैरआवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपाली नागरिकको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोधसमेत गरेका छन् ।

  • रामेछापमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

    रामेछापमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

    मन्थली (रामेछाप), १८ फागुनः रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए । प्रहरी र स्थानीयद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

  • दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

    दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

    काठमाडौँ, १८ फागुनः विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ । बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो ।

    बोर्डले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालमा दल तथा उम्मेदवारको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न पनि अनुरोध गरेको छ । निर्वाचन आचारसंहिताविपरीत दल तथा उम्मेदवारको प्रचारप्रसार गरिएको पाइएमा कानुनबमोजिम कारबाही हुने बोर्डले जनाएको छ ।


    बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डेद्वारा जारी सूचनामा भनिएको छ, “मौनअवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण नगर्न नगराउन अनुरोध गरिन्छ ।”

  • आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध

    आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध

    पाटन (ललितपुर), १८ फागुनः नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गरेका छन् । उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबै राजनीतिक दलको सहयोग अपरिहार्य हुने बताएका छन् । आज अपराह्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस निम्ति सरकार र निर्वाचन आयोग पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए । “निर्वाचन आयोग र सरकारलाई सहजरूपमा मतदान गर्न पाउने वातावरण बनाउन आग्रह छ, आवेगमा मतदान नगर्न मतदातामा पनि विनम्र अनुरोध छ ।”

    नवयुवाको परिवर्तनको चाहनालाई मूर्तरुप दिन सबै तहबाट प्राप्त समर्थनले ‘बदलिएको कांग्रेस, बदल्छौँ देश’ नारा सफल भएको उनले बताए । नेपाली कांग्रेसको प्रतिबद्धताले नागरिक तहमा पलाएको विश्वास र प्राप्त समर्थनले ‘यो देश हामी बनाउन सक्छौँ, हामीले नै बनाउने हो’ भन्ने आधार सिर्जना गरेको बताए ।

    “लोकतन्त्रको अभिन्न अङ्ग सञ्चारमाध्यमले मौनअवधिमा भ्रम र प्रभाव चिर्न सक्रिय भूमिका निर्वाह गरोस् छ, साथै सामाजिक सञ्जालका प्रयोगकर्तालाई द्वेष नफैलाउन आग्रह छ”, उनले भने । खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उहाँले त्यहाँस्थित नेपाली दूतावासहरू नेपाली जनताको हित र सुरक्षामा क्रियाशील रहन अनुरोध गरेका छन् ।

  • अमेरिका–इरान द्वन्द्वमा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको इरानद्वारा स्वागत

    अमेरिका–इरान द्वन्द्वमा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको इरानद्वारा स्वागत

    जकार्ता, १८ फागुन (रासस–एएफपी) । इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि वासिङ्टन र तेहरानबीच मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको तेहरानले स्वागत गरेको जकार्तास्थित इरानी दूतावासले आइतबार जनाएको छ। इन्डोनेसियाको विदेश मन्त्रालयले शनिबार राष्ट्रपति प्रबोवो सुविआन्तो दुवै पक्षको सहमतिमा मध्यस्थता गर्न तेहरान जान इच्छुक रहेको बताएको छ । इरानी दूतावासले ‘यस द्वन्द्वमा मध्यस्थता गर्न गणतन्त्र इन्डोनेसियाका राष्ट्रपतिको तत्परता’ को स्वागत गर्दछ, इन्डोनेसियास्थित इरानी नियोगले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

    दूतावासले ‘संयुक्त राज्य अमेरिका र इजरायलको यहुदी शासनको आक्रामकता र अपराधको निन्दा गर्न इन्डोनेसियाली अधिकारीहरूको कडा अडान लिनुपर्ने महत्त्वमा पनि जोड दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको यसअघि नै पुष्टि गरेका थिए ।

    संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानी लक्ष्यहरूमा हवाई आक्रमणको श्रृङ्खला सुरु गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका उसका ‘विरोधी’को सैन्य शिविर र अन्य भौतिक संरचनामा आक्रमण गरिरहेको छ। इरानले अमेरिका र इजरायली आक्रमणको बदला लियो भने वासिङ्टनले इरानमाथि यसअघि कहिल्यै नदेखिएको शक्तिशाली प्रहार गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

  • चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

    चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

    बेइजिङ, १८ फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाको कडा शब्दमा विरोध गर्दै इरानमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो हत्या इरानको सम्प्रभुता र सुरक्षाको गम्भीर उल्लङ्घन हो, संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतामाथि अतिक्रमण हो।”

    “चीनले यसको कडा विरोध र निन्दा गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “चीनले इरानमाथिको सैन्य कारबाही तत्काल रोकिनुपर्छ ।” चिनियाँ सरकारी सञ्चारमाध्यमले बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच टेलिफोन वार्ता भएपछि चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनले इरानमा उच्च अधिकारीलाई लक्षित गरी भएको आक्रमणको विरोध गरेको हो ।

    अमेरिका र इजरायलले ’सार्वभौम नेताको खुलेआम हत्या र सत्ता परिवर्तनका लागि उक्साएको’ कुरा चीनका लागि ‘अस्वीकार्य’ भएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले रूसी नेता लाभरोभको पहलमा भएको संवादका क्रममा वाङले बताएको जनाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार वाङले लाभरोभसँग ‘मध्यपूर्वको अवस्थाले यस षेत्रको सुरक्षालाई खतरनाक मोडमा धकेल्न सक्ने भन्दै यसप्रति चीन निकै चिन्तित भएको बताएका थिए ।

    वाङले भने, “अन्तर्राष्ट्रिय समुदायले ‘अराजक गतिविधि’ र विश्व प्रतिगमनको विरोध गर्दै स्पष्ट सन्देश पठाउनुपर्छ ।” रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार उनको हत्याले ’मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनको सबै मान्यताको उल्लङ्घन’ भएको बताएका छन् । आक्रमणमा परी कम्तीमा एक जना चिनियाँ नागरिक घाइते भएको र केही अस्थायी यात्रु अलपत्र परेको बेइजिङको विदेश मन्त्रालयले आइतबार राति जनाएको छ ।

    विज्ञप्तिमा यस क्षेत्रमा प्रभावित चिनियाँ नागरिकहरूको सङ्ख्या, भौतिक अवस्था र स्थानको बारेमा विस्तृत विवरण दिइएको छैन। बेइजिङले केही दिन अघि नै इरानमा रहेका आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो चाँडो’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको छ। चिनियाँ राहदानी धारकहरूले इरानबाट अजरबैजान, अर्मेनिया र टर्कीए जाने भिसामुक्त स्थलमार्गमा जान सक्ने विदेश मन्त्रालयले आइतबार उक्त आह्वान दोहोर्याउँदै जानकारी गराएको हो ।

  • खामेनीको हत्या, नैतिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : रूसी राष्ट्रपति

    खामेनीको हत्या, नैतिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : रूसी राष्ट्रपति

    मस्को, १८ फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलले गरेको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याले नैतिकता र कानुनको ’सनकपूर्ण उल्लङ्घन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्कोको युक्रेन आक्रमणमा तेहरान रुसको सबैभन्दा नजिकको सहयोगीको रूपमा उभिएको छ । क्रेमलिनले पहिले इरानमा अमेरिका–इजरायल आक्रमणको पूर्वसन्ध्यामा संयम अपनाउन आह्वान गरेको थियो ।

    आइतबार क्रेमलिनले पुटिनले इरानी समकक्षी मसुद पेजेस्कियनलाई पठाएको सन्देश प्रकाशित गरेको थियो जसमा रुसी नेताले खामेनीको हत्याप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । उनले यो हत्याले ‘मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मान्यताको उल्लङ्घन गरेको’ बताए । रुसी राष्ट्रपति पुटिनले खामेनीको हत्यापछि इरानी राष्ट्रपति र जनताप्रति समवेदना प्रकट गर्दै भने, “खामेनीलाई एक उत्कृष्ट राजनीतिज्ञको रूपमा स्मरण गरिनेछ, जसले मित्रवत रूसी–इरानी सम्बन्ध विकासमा ठूलो व्यक्तिगत योगदान पुर्याउनुभएको थियो।”

    उनले पेजेश्कियानलाई पठाएको शोक सन्देशमा ‘सर्वोच्च नेताका आफन्त र प्रियजन, सरकार र इरानका सम्पूर्ण जनताप्रति हार्दिक सहानुभूति र समर्थन’ व्यक्त गरेका छन् । रुसी विदेश मन्त्रालयले आइतबार खामेनी र अन्य शीर्ष इरानी अधिकारीहरूको मृत्युप्रति ‘रूसमा आक्रोश र गहिरो दुःख व्यक्त गरिएको’ जनाएको छ। रुसले राजनीतिक हत्या र सार्वभौम राष्ट्रका नेताहरूमाथि ‘आक्रमण’ गर्ने प्रथाको दृढतापूर्वक र निरन्तर निन्दा गरेको मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयले ‘तत्काल तनाव कम गर्न, शत्रुताको अन्त्य गर्न र राजनीतिक र कूटनीतिक प्रक्रियामा फर्कन’ आह्वान गरेको छ।

    शनिबार मस्कोले इरानमाथि भएको आक्रमणको निन्दा गर्दै यसले मध्यपूर्वमा ‘विध्वंश’ निम्त्याउन सक्ने चेतावनी दिएको थियो। शनिबार पनि रुसी उच्च कूटनीतिज्ञ सर्गेई लाभरोभले इरानी समकक्षी अब्बास अरागचीसँग फोनमा कुराकानी गर्नुभएको थियो रुसी मन्त्रालयले यो फोन ‘इरानी पक्षको पहलमा’ भएको बताएको थियो। सन् २०२५ मा रुस र इरानले सैन्य मामिलालगायत सम्बन्ध बलियो बनाउने उद्देश्यले रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए।

  • सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

    सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

    काठमाडौँ, १८ फागुनः नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

    राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैङ्किङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

  • हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

    हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

    पूर्णप्रसाद मिश्र–रासस
    काठमाडौँ, १८ फागुनः फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।


    सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विशेषगरी युवतीहरुलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँड्डुल गर्न सकेको भक्तपुरको सूर्यविनायकबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आएकी रमा केसीले बताइन् ।


    यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ ।

    फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।

    त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

    यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा तोयराज नेपालले राससलाई जानकारी दिए ।


    राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउँछन् ।


    फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । तराइका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएका छन् ।

    यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङगिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

    रङको पर्व कुन देशमा कसरी मनाइन्छ?
    फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।

    अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

    फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवद्र्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिएको पाइन्छ ।

  • फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

    फागुपूर्णिमा (होली)ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

    काठमाडौँ, १८ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको सुखद अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

    राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

    असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।


    रङ्गहरूको पर्वका रुपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) पर्व देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।

    राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको पनि उल्लेख गरेका छन् ।

  • सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

    सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

    ढोरपाटन (बागलुङ), १८ फागुनः बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक सञ्जालमार्फत जोडिएको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सिधा सडक सञ्जालले जोडिएको हो । दुबै जिल्लाबाट सडक निर्माण गर्दै आएको हुँदा निसेलढोर नजिकै रहेको मनिमर्फेस भन्ने स्थानमा जोडिएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए । लामो समयदेखि रोकिएको काम ढोरपाटन सिकार आरक्ष कार्यालयले अनुमति दिएपछि सडक जोडिएको उनको भनाइ छ ।

    सडकले दुई जिल्ला जोडेपछि अब पश्चिम बागलुङ र पूर्वी रुकुुमको यात्रा छोटिएको छ । यसभन्दा अगाडि नै बुर्तिबाङ बजारदेखि निसेलढोर जोडिएको थियो । एक दशकअगाडि निसेलढोर सडकले जोडिए पनि त्यसभन्दा माथि पुग्न सकेको थिएन । बुर्तिबाङ–ढोरपाटन ३१ किलोमिटर र ढोरपाटन–तकसेरा ३७ किलोमिटर रहेको वडाध्यक्ष घर्ती मगरले बताए ।


    उनले भने, “अब बुर्तिबाङदेखि ६८ किलोमिटर दूरी पार गरेपछि तकसेरा पुग्न सकिने छ, यसभन्दा अगाडिसम्म तकसेराका स्थानीय मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्रीबाट लामो दूरीको यात्रा गर्नुपर्ने अवस्था थियो, ढोरपाटन हुँदै सडक जोडिएपछि दूरी छोटियो ।” ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले लामो समयको प्रयासपछि ढोरपाटन–तकसेरा सडक जोड्न सफल भएको बताए । सिकार आरक्षले अनुमति नदिँदा धेरै वर्षदेखि सडक निर्माण रोकिएकामा बल्ल निर्माण पुरा भएको उनको भनाइ छ ।

    निसेलढोर तिरबाट सडकको ‘ट्र्याक’ खोल्न चालु आर्थिक वर्षमा रु १२ लाख ५० हजार विनियोजन गरिएको थियो । सोही बजेटले सडक निर्माण सम्पन्न गरिएको हो । अब तकसेरावासीलाई बागलुङसहित पोखरा र काठमाडौँसम्म पुग्न छोटो हुने र स्थानीय उत्पादन बजारीकरण गर्न सहज हुने उनको भनाइ छ ।

  • प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

    प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

    काठमाडौँ, १८ फागुनः निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा देशभरका ७५३ स्थानीय तहका सबै वडामा आइतबार सम्पन्न भएको हो । हरेक वडामा मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको थियो ।

    निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र आमनागरिकबीच भिजेका इमान्दार स्वयम्सेवकका कारण यो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाको योगदानको प्रशंसा गर्दै लक्षित कार्यक्रम सफल भएको उल्लेख गरे । मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयम्सेविकालाई २०७९ को आम निर्वाचनदेखि जिम्मा दिन थालिएको थियो । यस पटक पनि यस प्रयोजनका लागि उनीहरुहरुलाई नै जिम्मेवारी दिइएको थियो ।

    आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रका माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो । मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने जनाइएको छ ।

  • मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द

    मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द

    पेरिस, १८ फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन्, जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठूलो अवरोध देखा परेको छ । हजारौँ उडान ढिलाइ वा रद्द भएका छन्, हजारौँ यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन् । इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले शनिबार आक्रमणपछि आफ्नो आकाश नियन्त्रणमा राख्ने घोषणा गरेका थिए ।

    प्रमुख एयरलाइन्सहरू जस्तै एमिरेट्स, एतिहाद, एयर फ्रान्स, ब्रिटिस एयरवेज, एयर इन्डिया, टर्की एयरलाइन्स र लुफ्थान्सा समेतले सेवा स्थगित गरेका छन् । उड्डयन विश्लेषक कम्पनी सिरियमका अनुसार मध्यपूर्वमा लगभग चार हजार २१८ उडानमा ९६६ उडान रद्द भए भने आउटबाउन्ड उडानहरू समेत गणना गर्दा सङ्ख्या एक हजार ८०० माथि पुगेको छ ।

    इरानले तुरुन्तै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ भने इजरायलले पनि नागरिक उडानका लागि आकाश बन्द गरेको घोषणा गरेको छ । कतार, इराक, सिरिया, जोर्डन र कुवेतले आंशिक वा पूर्ण रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सले आंशिक रूपमा हवाई क्षेत्र नियन्त्रणमा राखेको बताएको छ । गल्फ क्षेत्रका प्रमुख एयरलाइन्सहरूमा एमिरेट्स र एतिहादले क्रमशः ३८ र ३० प्रतिशत उडान रद्द गरेका छन् । कतार एयरवेजले आफ्नो सम्पूर्ण उडानहरू स्थगित गरेको छ भने सिरिया एयरले सबै उडान अर्को सूचना नआउन्जेल रद्द गरेको छ । इजिप्टएयरले दुबई, दोहा, मनामा, अबु धाबी, बेरुत र बगदाद गन्तव्यका लागि उडान निलम्बन गरेको छ ।

    युरोपेली एयरलाइन्सहरू पनि प्रभावित भएका छन् । रोसाभिट्सिया ९रुस० ले इजरायल र इरानका लागि सबै व्यावसायिक उडान रद्द गरेको छ । एयर फ्रान्स, ब्रिटिस एयरवेज, स्विस इन्टरनेसनल एयरलाइन्स र लुफ्थान्साले मध्यपूर्वका प्रमुख गन्तव्यका लागि उडान स्थगित गरेका छन् । नर्थ अमेरिका र एसिया–प्यासिफिकका एयरलाइन्सहरूले पनि उडान स्थगित गरेका छन् । डेल्टा, अमेरिकन, युनाइटेड, एयर क्यानाडा, इन्डिगो, एयर इन्डिया, क्याथे प्यासिफिक र गरुडा इन्डोनेसिया लगायतका एयरलाइन्सले मध्यपूर्वका गन्तव्यका लागि उडान स्थगित गरेका छन् ।

    अफ्रिकाका एयरलाइन्स इथियोपियन एयरलाइन्स र केन्या एयरवेजले पनि दुबई, अम्मान, तेल अभिव, दम्माम र बेरुत गन्तव्यका लागि उडान रद्द वा स्थगित गरेका छन् । कोभिड महामारीपछि विश्वव्यापी हवाई यातायातमा आएको सबैभन्दा ठूलो अवरोध यस पटक अमेरिका–इरान द्वन्द्वका कारण भएको हो, जसले यात्रु, व्यवसाय र अन्तर्राष्ट्रिय उड्डयनमा चुनौती थपेको छ ।

  • कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

    कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

    काठमाडौँ, १८ फागुनः कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो । कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको छ ।

    अप्रमाणित सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर त्यसको पालना गर्न तथा दूतावाससँग नियमित सम्पर्क कायम राख्न दूतावासले अनुरोध गरेको छ । दूतावासले कतारमा रहेका नेपालीसँग टेलिफोनलगायत माध्यमबाट नियमित सम्पर्कमा रहेको जनाएको छ । कतारमा हाल तीन लाख ६० हजार श्रमिक छन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि त्यसको प्रत्याक्रमणमा इरान उत्रिएपछि पश्चिम एसियमा तनाव बढेको छ ।

  • पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

    पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

    काठमाडौँ, १७ फागुनः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनले पश्चिम एसिया क्षेत्रमा आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । एसोसियसनका केन्द्रीय अध्यक्ष दीपक थापाले आज एक विज्ञप्ति जारी गरी पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरे ।

    उनले पश्चिम एसिया क्षेत्रमा बसोबास गर्ने एवं त्यहाँ कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उच्च सतर्कता अपनाउन, सम्बन्धित देशका स्थानीय प्रशासनद्वारा जारी सुरक्षा निर्देशिकाको पूर्ण रूपमा पालना गर्न अनुरोध गरे । एसोसियसनले नेपाल सरकार तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोगलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय गर्न, नियमित सूचना प्रवाह गर्न तथा आपत्कालीन संयन्त्र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

    अध्यक्ष थापाले नेपाली नागरिकको जीवन र सुरक्षाको संरक्षण सर्वोपरि भएकाले नेपालस्थित सम्पूर्ण इजाजत प्राप्त संस्था, सम्बन्धित रोजगारदाता कम्पनीसँग निरन्तर समन्वय र सहकार्य गरी आफ्ना कामदारको अवस्थाबारे नियमित जानकारी लिन पनि अनुरोध गरे ।

  • उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री

    उडान खुल्ने प्रतीक्षामा काठमाडौं विमानस्थलमा अलपत्र यात्री

    मधु शाही–रासस
    काठमाडौँ, १७ फागुनः बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए । तर उनी कतार जाने भने पाएनन् । विमानस्थल आएपछि उनलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो । उनी आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए ।

    रासससँगको कुराकानीमा आफूले बर्दियाबाट आउँदा काठमाडौँसम्म आउनका लागि भाडा र खानाका लागि मात्रै पैसा बोकेको सुनाए । उनीसँग अहिले होटलमा बस्न र खानाका लागि पैसा छैन । “हिजो विमानस्थलमै सुतेर राति बिताएँ, अब कहिले उडान हुन्छ थाहा छैन”, उनले भने ।


    पुनको जस्तै अवस्था कैलालीकी सरला विकको पनि छ । रोजगारीका लागि साउदी अरब जान शनिबार विमानस्थल पुगेकी उनी आइतबारसम्म यही छिन् । हवाई उडान कहिले हुन्छ भन्दै बेलाबेलामा निगमका कर्मचारीलाई सोध्छिन् । तर जवाफ चित्तबुझ्दो आउँदैन । निगमका कर्मचारी केही सोध्नुपरे एयरलाइन्सको कार्यालय न्युरोड जान सुझाव दिन्छन् । विक दोस्रो पटक साउदी अरब जाँदै थिएन् । दुई महिनाअघि बिदामा घर आएकी उनी अब काठमाडौँबाट कैलाली फर्कने हो भने फेरि साउदी अरब जान नपाइएला भन्ने चिन्ता पनि छ ।

    पुन र विकजस्ता हजारौँ नेपाली यतिबेला विमानस्थलको चक्कर काटिरहेका छन् । उनीहरु जाने मुलुकमा नेपालबाट हवाइजहाजले उडान भरेको छैन । अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछिको असर नेपाली श्रमिकमा देखिएको हो । खासगरी खाडीमुलुकमा रोजगार गर्न जाने नेपाली बढी प्रभावित भएका छन् ।

    अमेरिका र इजराइलले इरानमा गरेको आक्रमणका कारण युएई, साउदी अरब, कतार, कुवेतलगायत मुलुकका विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । जसकारण विदेश उड्न भनेर आएका नेपाली यात्र अलपत्रमा परेका हुन् । अलपत्र पर्नेमा मोरङका दिलीपप्रसाद राजवंशी पनि छन् । दुबईको आबुधावीमा श्रमिकका रुपमा कार्यरत उनी तीन महिनाको बिदा मनाएर आइतबार दुबई फर्कने तालिका थियो । दुबईस्थित कम्पनीको मालिकको फोन गर्दा आइतबार बिदाको दिन परेकाले उठेन ।

    कम्पनीले दुबहीबाट नै टिकट काटिदिएको थियो । यसबारेमा अब के हुन्छ भन्ने कुनै आधिकारिक जानकारी प्राप्त गरेका छैनन् । “दुबईको विमानस्थल बन्द छ, मात्रै भन्छन्, तर अब के गर्ने ? टिकट कसरी रिफण्ड हुन्छ ? र सस्तोमा पाएको टिकट त्यही मूल्यमा पाइन्छ कि पाइँदैन ? कतै महङ्गोमा पर्ने पो हो कि ?”, उनले भने । उनले आफूलगायत खाडीमुलुक जाने नेपाली यात्रु सही र आधिकारिक सूचना नपाउँदा अलमलमा पर्नुपरेको बताए ।


    दुबई जान विमानस्थल आउनुभएका गणेश मिश्रले पनि जहाँ टिकट काटेको त्यही जानु भनेर सोधपुछ कक्षका कर्मचारीले जवाफ दिएको बताए । आफू अलपत्र र बेवारिसे जस्तै भएको उनले बताए । धनुषाका एमडी रोजेन्दावले आफू कतार जान विमानस्थलमा दुई दिनअघिदेखि नै आइरहेको बताए । “घर फर्किन पनि सकेको छैन, होटलमा बस्न खर्च पनि छैन, हवाई उडान कहिले खुल्छ भन्ने पनि निश्चित छैन”, उनले भने ।


    नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले इरान–अमेरिका तनाव बढेपछि विभिन्न मुलुकका विमान सञ्चालनमा रोक लगाइएकाले उक्त अवस्था समान्य नहुँदासम्म उडान नहुने बताइन् । यद्यपि यात्रुहरुले टिकट रिफन्ड गर्नुपर्ने अवस्था आएमा कार्यालयमै सम्पर्क गर्न आग्रहसमेत गरे । “विमानस्थलमा सबै काम गर्न सम्भव नहुने भएकाले कार्यालयमै सम्पर्क गर्न भनेका हौँ”, उनले भने, “यात्रुहरुको सहजताका लागि निगमको काम विमानस्थलमै गर्न भने त्यति सम्भव छैन ।”

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले केही देशका विमानस्थल अनिश्चित रुपमा बन्द भएकाले यात्रुलाई निश्चित सूचना दिन नसकिएको बताए । यद्यपि विमान कम्पनीहरुले यात्रुलाई उडान खुल्नु तीनदेखि चार घण्टाअघि फोन गरेर सूचना दिनुपर्ने भनी सूचना प्रकाशित गरिएको उनले जानकारी दिए ।

  • खाडी क्षेत्रमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

    खाडी क्षेत्रमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

    काठमाडौँ, १७ फागुनः सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षा दिएर राख्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने उल्लेख गर्दै तत्कालका लागि जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्नका लागि व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए । सरकारले मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सम्बन्धित देशका नेपाली दूतावासलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न पनि निर्देशन दिएको छ ।

    बैठकबारे जानकारी दिँदै उनले भने, “अवस्था सामान्य छैन, अहिलेलाई सबै विमानस्थल बन्द छन्, कसैलाई फर्काउन र ल्याउन सकिंदैन, त्यसैले अहिले जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने विषयमा छलफल भएको छ, सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुको असुविधाबारे छलफल भएको छ ।” क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको मन्त्री शर्माले बताए ।


    राजदूतलाई सम्पर्क गरेर नेपाली नागरिकलाई गन्तव्यमा पुर्याउने र जान नसक्नेलाई होटलमा व्यवस्था गर्ने काम भएको उल्लेख गर्दै उहाँले सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्नेगरी समन्वय भएको बताउनुभयो । मन्त्री शर्माले नेपाली नागरिकलाई परेको असर र समाधानबारे बैठकमा छलफल भएको जानकारी दिए ।

  • खाडी क्षेत्रमा इरानी आक्रमण जारी, क्षतिको विवरण के छ ?

    खाडी क्षेत्रमा इरानी आक्रमण जारी, क्षतिको विवरण के छ ?

    दुबई, १७ फागुन (रासस–एएफपी) । आइतबार बिहान खाडीमा इरानी आक्रमणपछि दुबई, दोहा र मनामामा नयाँ विस्फोट र धुवाँ फैलिएको छ, जसले क्षेत्रीय तनाव र व्यापक द्वन्द्वको डर बढाएको छ । अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता र शीर्ष अधिकारीहरूलाई लक्षित गर्दै गरेको आक्रमणको प्रतिआक्रमण स्वरूप खाडीभरि सैन्य र नागरिक पूर्वाधारमा इरानी कारबाही भएको हो । एएफपीका पत्रकारहरूले दुबई, बहराइनको राजधानी मनामा र कतारमा विस्फोटको आवाज सुनेका थिए । दोहाको दक्षिणमा बिहानको क्षितिजमा बाक्लो कालो धुवाँ उठेको दृश्य प्रत्यक्षदर्शीहरूले देखेका छन् । केही समयपछि विस्फोटको अर्को लहर दुबईमा प्रतिध्वनित भयो ।

    अमेरिकी सुरक्षा र खाडीका दीर्घकालीन सहयोगी राष्ट्रहरूको सुरक्षामा चुनौती थपिएको छ । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयका अनुसार शनिबार इरानले अबु धाबी र दुबईमा १३७ मिसाइल र २०९ ड्रोन प्रहार गरेको थियो । आक्रमणबाट द पाम र बुर्ज अल अरबमा आगो र धुवाँ देखियो । अबु धाबी विमानस्थलमा कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ र सात जना घाइते भएका छन् । दुबई विमानस्थल र कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित भएको छ ।

    कतारमा, इरानले ६५ मिसाइल र १२ ड्रोन प्रहार गरेको अधिकारीहरूले बताएका छन्, जसमा अधिकांश रोकिएका थिए, तर आठ जना घाइते भए र एकको अवस्था गम्भीर छ । शनिबारको पहिलो दिन अबु धाबी र बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको घरबाट धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताए । कुवेतमा पनि अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरिएको बताइएको छ ।

    अमेरिकी सैन्य आधारहरूलाई आतिथ्यता प्रदान गर्ने तेल र ग्यास धनी अरब राजतन्त्रहरू इरानी आक्रमणबाट प्रत्यक्ष प्रभावमा परेका छन् । मनामामा ड्रोन र छर्राहरू आवासीय भवनमा खसेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ, जहाँ अग्ला भवनबाट उठेको धुवाँ र आगो देखिएको छ । शनिबारको अभूतपूर्व आक्रमणले कतारको अल उदेद अमेरिकी सैन्य आधार, साउदी अरेबियाको पूर्वी क्षेत्र र रियादलाई समेत लक्षित गरेको छ । यस घटनाले खाडी क्षेत्रमा सुरक्षा र शान्ति कायम राख्ने चुनौती अझ बढाएको छ र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित गरेको छ ।

  • कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते

    कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते

    कराची, १७ फागुन, (रासस–एएफपी) । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आइतबार अमेरिकी वाणिज्य दूतावासमाथि इरान समर्थक प्रदर्शनकारीहरूको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ । घटनाले सहरको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनाएको छ ।

    एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य गेटमाथि चढेर कन्सुलर भवनको ड्राइभवेमा प्रवेश गर्न सफल भएका थिए । यस क्रममा केही झ्यालहरू तोडिएका थिए भने सुरक्षा टोलीले अश्रु ग्यास प्रहार गरी भीड तितरबितर पार्ने प्रयास गरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा वाणिज्य दूतावासको मुख्य भवनका झ्याल तोड्दै अमेरिकी झण्डा माथि उडिरहेको र वरिपरि काँडेदार तारले सुरक्षा घेराबन्दी गरिएको दृश्य देखाइएको छ ।

    घटनास्थलमा एक युवा प्रदर्शनकारीले भने, “हामी एकताबद्ध रहनुपर्छ, कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन।” अर्काले भने, “हामीले कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा आगो लगाउँदैछौँ, भगवानको इच्छा भए हामी आफ्ना नेताको हत्याको बदला लिन्छौँ ।” यद्यपि आगजनी प्रयास पूर्ण रूपमा सफल भएको पुष्टि हुन सकेको छैन ।

    यसैबीच पूर्वी सहर लाहोर र उत्तरी स्कार्दूमा पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । राजधानी इस्लामाबादस्थित अमेरिकी दूतावास रहेको कूटनीतिक क्षेत्रमा दिउँसो थप प्रदर्शन हुने अपेक्षा गरिएको छ। देशका विभिन्न भागमा फैलिएको आक्रोशले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ ।
    यस घटनालाई विश्लेषकहरूले क्षेत्रीय राजनीतिक तनावसँग जोडेर हेरेका छन् ।

    विशेष गरी इरान–अमेरिका–इजरायल सम्बन्धको पछिल्लो सङ्घर्षपछि यस्तो प्रतिक्रियाले गम्भीर सुरक्षा चुनौती प्रस्तुत गरेको देखिन्छ । प्रदर्शन र आक्रमण प्रयासले पाकिस्तानमा विदेशी दूतावासको सुरक्षा व्यवस्थामा फेरि व्यापक सतर्कता र आपतकालीन तयारी आवश्यक भएको पुष्टि गरेको छ ।

  • काबुलमा पाक–अफगान हवाई झडप, विस्फोट र गोलीबारी

    काबुलमा पाक–अफगान हवाई झडप, विस्फोट र गोलीबारी

    काबुल, १७ फागुन (रासस–एएफपी) । अफगान सेनाले पाकिस्तानी विमानमा गोली हान्दा काबुलमा आइतबार लगातार विस्फोट र गोलीबारी भएको थियो र स्थानीय एएफपी पत्रकारहरूले ती आवाजहरू प्रत्यक्ष अनुभव गरेका थिए । सीमा क्षेत्रमा भएको पछिल्ला झडपहरूले तालिबान सरकार र पाकिस्तानबीच तनाव तीव्र बनाएको छ । झडपहरूले नागरिक र सुरक्षा बल दुवै प्रभावित भएका छन् ।

    तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुलमा पाकिस्तानी विमानमा एन्टी–एयरक्राफ्ट फायर गरिएको पुष्टि गर्नुभएको छ । पाकिस्तानले शुक्रबार अफगानिस्तानका प्रमुख सहरहरूमा हवाई आक्रमण गरेको स्वीकार गरेको भए पनि सर्वसाधारणको मारिएको आरोपको जवाफ दिइएको छैन । दक्षिणी कान्दाहारमा दुई हवाई आक्रमणमा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको स्थानीय निर्माणकर्मीहरूले बताएका छन् । २० वर्षीय इनामुल्लाले भने, “हाम्रो आँखाअघि सबै कुरा अँध्यारो भयो, म काबुलमा रोजीरोटी कमाउन मात्रै आएको हुँ ।”

    अफगान उपप्रवक्ता हमदुल्ला फित्रतले बिहीबारदेखि सीमा क्षेत्रमा पाकिस्तानी गोली हानाहानमा ३० जना सर्वसाधारणको ज्यान गएको बताए । दुवै पक्षको हताहत दावी स्वतन्त्र रूपमा प्रमाणित गर्न गाह्रो छ । अफगान सुरक्षा बलका अनुसार, पाकिस्तानी लडाकू जेट खसालिएको र पाइलट पक्राउ गरिएको भन्ने दाबी गलत भएको जनाएको छ । तर सीमा नजिकैका बासिन्दाहरूले गोलीबारी जारी रहेको र केही घर छोडेर भाग्नुपर्ने अवस्था आएको बताए । ६३ वर्षीय मोहम्मद रसूलले भने, “बमबारी सुरु भएपछि बालबालिका, महिला सबै बाहिर निस्किए, कसैसँग जुत्ता थिएन, कसैसँग घरको झ्याल–ढोका ढाक्ने कपडा वा सुरक्षा थिएन ।”

    कूटनीतिक प्रयासहरू युद्धविराम सुनिश्चित गर्न असफल भएका छन् । साउदी अरेबिया र कतार झडप रोक्ने प्रयासमा संलग्न छन् भने चीनले दुवै देशसँग काम गरिरहेको भन्दै शान्तिका लागि आह्वान गरेको छ । संयुक्त राज्य अमेरिकाले ‘तालिबान आक्रमण विरुद्ध आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन गरेको जनाएको छ । पाकिस्तानले अफगानिस्तानलाई आक्रमणकारी समूहहरूमाथि कारबाही गर्न असफल भएको आरोप लगाएको छ, जुन तालिबानले अस्वीकार गरेको छ ।

    तालिबानसँग सम्बन्धित आतङ्कवादी समूह तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले विगतमा धेरै आक्रमणको दावी गरेको छ । यस हप्ताको हवाई आक्रमण पाकिस्तानले अफगान सरकारी सुविधाहरूमा केन्द्रित गरेको पहिलो ठूलो अपरेशन मानिएको छ । पाकिस्तानका प्रवक्ता मुशर्रफ जैदीले लगभग ३०० अफगान सैनिक र आतङ्कवादी मारिएको र २७ चौकी कब्जा गरिएको दाबी गरेका छन् ।
    पाकिस्तानी सूचनामन्त्रीले शनिबारसम्म अफगानिस्तानमा ३७ स्थानमा हवाई आक्रमण भएको बताए । अफगान उपप्रवक्ता फित्रतले ८० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र २७ सैन्य चौकी कब्जा भएको जानकारी दिए । काबुलको रक्षा मन्त्रालयले पनि पाकिस्तानको भूभागमा हवाई आक्रमण जारी भएको पुष्टि गरेको छ । पाकिस्तानले ‘खुल्ला युद्ध’ घोषणा गरेको छ भने अफगान सरकारले वार्तामार्फत द्वन्द्व समाधानको आह्वान गरेको छ । यस महिनाको हिंसा अक्टोबरको झडपपछि सबैभन्दा खराब मानिएको छ, जसमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिएका छन् र सीमा क्षेत्रमा आम नागरिक जोखिममा छन् ।

    गत वर्ष कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविराम र वार्ता असफल भएपछि साउदी अरेबिया यस महिना हस्तक्षेपमा आएको थियो । यसबीच काबुलमा लगातार गोलीबारी र हवाई आक्रमणले सीमा नजिकका बासिन्दा र मजदुरहरूको जीवन प्रभावित भएको छ, जसले शान्ति र सुरक्षा कायम राख्न अन्तर्राष्ट्रिय समुदायको ध्यान तानिरहेको छ ।

  • खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

    खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

    ब्रसेल्स, १७, फागुन (रासस–एपी) । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्‍याएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर चासो व्यक्त गरिएको छ । विश्व नेताहरूले सावधानीपूर्वक प्रतिक्रिया जनाउँदै संयमता र कूटनीतिक पहलको आह्वान गरेका छन् ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु पुष्टि गर्दै यसलाई ‘इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने सबैभन्दा ठूलो अवसर’ बताए । इरानी सरकारी सञ्चारमाध्यमले ८६ वर्षीय नेताको निधन भएको जनाएको छ, तर कारण खुलाएको छैन । इजरायली अधिकारीहरूले नाम नछाप्ने सर्तमा उनको मृत्यु भएको जानकारी दिएका थिए भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा खामेनीको कम्पाउन्डमा गरिएको आक्रमणपछि उनको मृत्यु भएको ‘बढ्दो सङ्केत’ देखिएको उल्लेख गरे ।


    खामेनीको स्पष्ट उत्तराधिकारी सार्वजनिक रूपमा तोकिएको थिएन । त्यसैले उनको सम्भावित निधनले इरानको राजनीतिक संरचना र नेतृत्व सङ्क्रमणलाई लिएर अन्योल थपिएको छ । विश्लेषकहरूले यसले आन्तरिक शक्ति सङ्घर्ष चर्किन सक्ने र बाह्य द्वन्द्व तीव्र हुन सक्ने सङ्केत गरेका छन् । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै विषयमा आपतकालीन बैठक बोलाएको छ ।

    अमेरिका र इजरायलले शनिबार इरानविरुद्ध ठुलो आक्रमण सुरु गरेका थिए । राष्ट्रपति ट्रम्पले इरानी जनतालाई वर्तमान धार्मिक शासनविरुद्ध उभिन र ‘आफ्नो भाग्यको नियन्त्रण लिन’ आह्वान गर्नुभएको छ । त्यसको प्रत्युत्तरमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ । क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा प्रतिशोध र प्रतिआक्रमणको चक्र लम्बिने चिन्ता बढेको छ ।

    युरोपेली शक्तिहरूले प्रत्यक्ष समर्थन वा निन्दा नगरी वार्ताको बाटो रोज्न आग्रह गरेका छन् । बेलायतका प्रधानमन्त्री किर स्टर्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानलाई तत्काल वार्तामा फर्किन आग्रह गरेका छन् । उनीहरुले आफ्नो देश आक्रमणमा संलग्न नभएको स्पष्ट पार्दै इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक गतिविधि र क्षेत्रीय अस्थिरताका प्रश्न कूटनीतिक माध्यमबाट मात्र समाधान हुनसक्ने बताएका छन् ।


    अरब लिगले इरानी आक्रमणलाई शान्ति र स्थिरताका लागि प्रयासरत देशहरूको सार्वभौमसत्तामाथिको स्पष्ट उल्लङ्घन भनेको छ । मोरक्को, जोर्डन, सिरिया र संयुक्त अरब इमिरेट्सलगायतका राष्ट्रहरूले क्षेत्रका अमेरिकी सैन्य अड्डामा लक्षित इरानी हमलाको निन्दा गरेका छन् । साउदी अरेबियाले इरानी कदमलाई कडा शब्दमा आलोचना गर्दै क्षेत्रीय स्थिरता जोगाउन संयमता आवश्यक रहेको जनाएको छ । वार्ताको मध्यस्थता गर्दै आएको ओमानले भने अमेरिकी कारबाहीले अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त उल्लङ्घन गरेको टिप्पणी गरेको छ ।

    अस्ट्रेलिया र क्यानाडाले अमेरिकी आहड्तालको समर्थन जनाएका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले इरानलाई मध्यपूर्वमा अस्थिरता र आतङ्कको प्रमुख स्रोत बताएका छन् । यसको विपरीत रुसले आक्रमणलाई पूर्वयोजनाबद्ध सशस्त्र कारबाही भनेको छ र चीनले तत्काल सैन्य कारबाही रोक्न तथा संवादमा फर्किन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्ने धारणा सार्वजनिक गरेको छ ।

    क्षेत्रीय स्तरमा जनजीवनमा मिश्रित प्रभाव देखिएको छ । कब्जा गरिएको पश्चिम किनारमा इजरायलको आइरन डोमले मिसाइल अवरोध गरिरहँदा आकाशमा विस्फोटको आवाज सुनिए पनि दैनिक गतिविधि पूर्ण रूपमा ठप्प भएको छैन । तर इजरायलले चेकपोइन्टहरू बन्द गरेपछि आपूर्ति अवरोधको आशङ्काले पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । प्यालेस्टिनी प्राधिकरणले अरब राष्ट्रहरूविरुद्ध इरानी आक्रमणको निन्दा गरेको छ, तर अमेरिकी वा इजरायली कारबाहीबारे टिप्पणी गरेको छैन ।

    नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले अवस्था ‘नयाँ, व्यापक युद्ध’ तर्फ जान सक्ने चिन्ता व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कार विजेता इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर वेपन्सले पनि आक्रमणको निन्दा गर्दै यसले आणविक प्रसार र सम्भावित प्रयोगको जोखिम बढाउने चेतावनी दिएको छ । युरोपेली सङ्घ (इयु) र अरब लिगले सबै पक्षलाई संयम अपनाउन र तनाव वा द्वन्द्व न्यूनीकरण गर्ने प्रक्रियातर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

    खामेनीको रिपोर्ट गरिएको मृत्यु, नेतृत्व सङ्क्रमणको अनिश्चितता र तीव्र सैन्य कारबाहीबीच मध्यपूर्व गम्भीर मोडमा उभिएको छ । कूटनीतिक प्रयास सफल नभए क्षेत्रीय द्वन्द्व अझ फराकिलो दायरामा फैलिन सक्ने जोखिमप्रति विश्व समुदाय सचेत देखिएको छ ।

  • इरान सङ्कट चर्कियो, खामेनीको मृत्युपछिको अवस्था के छ ?

    इरान सङ्कट चर्कियो, खामेनीको मृत्युपछिको अवस्था के छ ?

    पेरिस, १७ फागुन (रासस–एएफपी) । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ । आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । इरानी सरकारी टेलिभिजनले आइतबार बिहान त्यसको पुष्टि गरेको छ ।

    घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको छ । शनिबार बिहान सुरु भएको अमेरिका–इजरायलको संयुक्त सैन्य अभियानमा तेहरानसहित विभिन्न स्थानका रणनीतिक लक्ष्यहरूमा प्रहार गरिएको जनाइएको छ । इजरायली सेनाले २०० लडाकू जेट परिचालन गरी ५०० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ । वरिष्ठ इरानी अधिकारीहरू भेला भएका स्थानहरू र मिसाइल लन्चरहरू मुख्य निशानामा परेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले थप हजारौँ लक्ष्यमा कारबाही जारी रहने चेतावनी दिएका छन् ।


    यसैबीच, राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमार्फत ‘आसन्न खतराहरू उन्मूलन गर्न’ अभियान सुरु गरिएको उल्लेख गर्दै आवश्यक परेसम्म भारी र सटीक बमबारी जारी रहने बताएका छन् । उनले खामेनीलाई ‘इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक’ भन्दै मृत्यु भएको घोषणा गरेका थिए । त्यसको केही घण्टापछि इरानी राज्य टेलिभिजनले कालो ब्यानरसहित अभिलेख दृश्य प्रसारण गर्दै खामेनीको निधन पुष्टि गरेको हो । खामेनीको निधनमा इरानमा ४० दिनको राष्ट्रिय शोक र सात सार्वजनिक बिदा घोषणा गरिएको छ ।

    इरानी सञ्चारमाध्यमले खामेनीकी छोरी, ज्वाइँ र नातिनीको पनि मृत्यु भएको जनाएका छन् । देशको न्यायपालिकाले रिभोलुसनरी गार्डका प्रमुख जनरल मोहम्मद पाकपुर र शीर्ष सुरक्षा सल्लाहकार अली शामखानी आक्रमणमा ‘शहीद’ भएको पुष्टि गरेको छ । खामेनीको निधनपछि राष्ट्रपति मसुद पेजेस्कियनसहित दुई वरिष्ठ अधिकारीहरूले अस्थायी रूपमा नेतृत्व सम्हाल्ने सरकारी टेलिभिजनले जनाएको छ । दिवङ्गत शाहका छोरा रेजा पहलवीले घटनालाई इस्लामिक गणतन्त्रको अन्त्यतर्फको कदमका रूपमा टिप्पणी गरेका थिए ।


    तेहरानमा आइतबार पनि शक्तिशाली विस्फोटका आवाज सुनिएका एएफपीका संवाददाताहरूले बताएका छन्, यद्यपि स्रोत स्पष्ट हुन सकेको छैन । इरानको न्यायपालिकाले मिनाबस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा १०८ जनाको मृत्यु भएको जनाएको छ, तर एएफपीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन । अमेरिका र इजरायलको कारबाहीको प्रतिउत्तरमा इरानको रिभोलुसनरी गाड्र्सले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमणको पहिलो लहर सुरु गरेको छ ।

    शनिबार बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीट र खाडी क्षेत्रका अन्य अमेरिकी अड्डाहरूलाई पनि लक्षित गरिएको दाबी गरिएको छ । इजरायलको म्यागेन डेभिड एडोम आपतकालीन सेवाका अनुसार तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको र कम्तीमा २१ जना घाइते भएका छन् । देशभर खोज तथा उद्धार टोली परिचालन गरिएको छ ।

    खामेनीको मृत्युपछि गार्ड्सले ‘इतिहासकै सबैभन्दा हिंसक’ अपरेसन सुरु गर्ने चेतावनी दिएको छ । खाडी क्षेत्रभर विस्फोटका घटनाहरू रिपोर्ट भएका छन् । संयुक्त अरब इमिरेट्सले अबु धाबीमा एक पाकिस्तानी नागरिकसहित दुई जनाको मृत्यु भएको जनाएको छ भने आफ्नो भूभागमा १३७ मिसाइल र २०९ ड्रोन प्रहार गरिएको दाबी गरेको छ । दुबईमा विस्फोटको आवाज र ‘द पाम’ क्षेत्रमा धुवाँ देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । चार जना घाइते भएका छन् ।

    रियाद, मनामा र दोहामा पनि ठूलो विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताहरूले जनाएका छन् । कतारले आफूविरुद्ध प्रहार गरिएका थुप्रै क्षेप्यास्त्र रोकेको दाबी गरेको छ । इराकस्थित कातेब हिजबुल्लाह समूह आबद्ध सैन्य अड्डामा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ र उक्त समूहले अमेरिकाविरुद्ध जवाफ दिने चेतावनी दिएको छ । इरानले रणनीतिक होर्मुज जलडमरूमध्य बन्द गर्न कदम चालेको घोषणा गरेको छ, जसबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुँदै आएको छ ।

    विकासक्रमले अन्तर्राष्ट्रिय समुदायलाई पनि गम्भीर चिन्तामा पारेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ । इरानका प्रतिनिधिले अमेरिका र इजरायलमाथि सर्वसाधारणमाथि आक्रमण गरी सम्भावित युद्ध अपराध गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य कारबाहीले नियन्त्रणबाहिर जाने घटनाक्रम निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

    तेहरान–वासिङ्टन वार्तामा मध्यस्थता गरिरहनुभएका ओमानका विदेशमन्त्रीले हिंसाबाट निराश भएको प्रतिक्रिया दिएका छन् । युरोपेली सङ्घ (इयु) ले परिस्थितिलाई ‘खतरनाक’ भनेको छ । खाडी राष्ट्रहरूले संयुक्त वक्तव्यमार्फत इरानको आक्रमणको निन्दा गरेका छन् भने रुसले अमेरिका–इजरायल कारबाहीलाई ‘खतरनाक साहसिक कार्य’ भन्दै क्षेत्रीय विनाश निम्त्याउन सक्ने टिप्पणी गरेको छ । लेबनानको हिजबुल्लाह समूहले क्षेत्रीय राष्ट्र र जनतालाई अमेरिका र इजरायलविरुद्ध उभिन आह्वान गरेको छ ।

    यसबीच इरान, इराक, कुवेत, सिरिया, संयुक्त अरब इमिरेट्स र इजरायलले नागरिक उडानका लागि आकाश आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन् । धेरै अन्तर्राष्ट्रिय विमान सेवाहरूले मध्यपूर्वका उडान स्थगित गरेका छन् । रुसले पनि इरान र इजरायलतर्फका व्यावसायिक उडान अर्को सूचना नआउन्जेल रद्द गरेको जनाएको छ । तेहरानबाट सुरु भएको यो द्वन्द्वले अब खाडी क्षेत्र र विश्व शक्तिहरूलाई प्रत्यक्ष रूपमा तान्दै व्यापक क्षेत्रीय सङ्घर्षको सम्भावना बलियो बनाएको छ ।

  • इरानका सर्वोच्च नेता खामेनेइ अमेरिकी आक्रमणमा मारिए

    इरानका सर्वोच्च नेता खामेनेइ अमेरिकी आक्रमणमा मारिए

    इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खामेनेइ अमेरिकी आक्रमणमा मारिएका छन् । यसको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सरकारी टेलिभिजनले गरेका छन् । इरानमा ४० दिनको शोक घोषणा गरिएको छ । अमेरिका र इजरायलले इरानमा भयानक आक्रमण गरिरहेका छन् । सो क्रममा दर्जनौ सामान्य नागरिकको समेत ज्यान गैसकेको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आक्रमणमा खामेनेइकी छोरी, ज्वाइ नाति नातिना र बुहारी समेत मारिएका छन् । सर्वोच्च नेता मारिए पनि अमेरिका बम खसाल्न नछोड्ने अमेरिकी राष्ट्रपतिले जनाएका छन् । शनिबार आफ्नो मुलुकमाथी आक्रमण भए सङ्गै इरानले समेत दुबइ, दोहा, बहराइन, कुवेत लगायत मुलुकमा आक्रमण गरेको थियो । इरानमा अहिलेसम्म २ सय सर्वसाधारणको ज्यान गइसकेको छ ।

  • इरानी विद्यालय भवनमा भएको मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

    इरानी विद्यालय भवनमा भएको मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

    तेहरान, १७ फागुन (रासस–एएफपी) । इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी ९आइआरएनए० ले जनाएको थियो ।

    इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको तस्बीर सार्वजनिक गरेका थिए । अराघचीले भने, “यो विद्यालयमा साना बच्चाहरू उपस्थित रहेका समय दिनदहाडै बमबारी गरिएको थियो । यो ठाउँमा मात्रै दर्जनौं निर्दोष बालबालिकाको हत्या भएको छ । इरानी जनतामाथि भएका यी अपराधको जवाफ दिइनेछ ।”

    आइआरएनएका अनुसार इजरायलले शनिबार इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब काउन्टीमा रहेको छात्राको एक प्राथमिक विद्यालयमा आक्रमण गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ताले भने, “अन्य सम्भावित पीडितहरूको खोजी गर्न भवनको भग्नावशेष हटाउने काम जारी छ।

  • नेपाली नागरिकको सुरक्षा गर्न नेताहरुद्धारा सरकारको ध्यानाकर्षण

    नेपाली नागरिकको सुरक्षा गर्न नेताहरुद्धारा सरकारको ध्यानाकर्षण

    काठमाडौँ, १७ फागुनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् । इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सृजना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् ।

    “यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो”, संयोजक दाहालले भनेका छन्, “विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन आग्रह गर्दछु ।”

    यस्तै पूर्वसभामुख देवराज घिमिरेले द्वन्द्वग्रस्त देशमा रहेका नेपाली दूतावासलाई त्यहाँ रहेका नेपाली नागरिकको अवस्था निरन्तर अनुगमन गर्न, आवश्यक परे आपत्कालीन सहायता तथा उद्धार तयारी अवस्थामा राख्न र सूचना प्रवाहलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन् । मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दो सैन्य तनाव तथा आक्रमण–प्रत्याक्रमणका घटनाले आफूलाई चिन्तित तुल्याएको उनले उल्लेख गरे ।

    संयुक्त अरब इमिरेट्स, इजरायल, इरान, कतार, साउदी अरब, कुवेतलगायतका मध्यपूर्वी देशमा विकसित परिस्थितिले त्यहाँ कार्यरत तथा बसोबास गरिरहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुरक्षाप्रति थप संवेदनशील बनाएको पूर्वसभामुख घिमिरेको भनाइ छ ।

    विशेष परिस्थितिमा ती देशमा रहेका नेपाली नागरिकलाई सजग रहन, स्थानीय प्रशासनका निर्देशन पालना गर्न, अनावश्यक रूपमा भीडभाड र जोखिमयुक्त स्थानमा नजान तथा आफ्नो राहदानी र आपत्कालीन सम्पर्क विवरण अद्यावधिक राख्न उनले आह्वान गरेका छन् ।

    विश्व शान्ति, क्षेत्रीय स्थिरता र मानव सुरक्षाका पक्षमा नेपाल सधैँ दृढ उभिने पूर्वसभामुख घिमिरेले विश्वास व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख शिशिर खनालले पनि विज्ञप्तिमार्फत नेपाली नागरिकको सुरक्षा सर्वोपरी दायित्व भएकाले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहोस् भन्ने ध्यानाकर्षण गराएका छन् । पूर्वप्रधानमनत्री डा भट्टराईले संवेदनशील घडीमा नेपाल सरकारले जिम्मेवार, दूरदर्शी र प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।


    त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेको छ । सो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले त्यस क्षेत्रका विभिन्न देशमा रहनुभएका नेपाली नागरिकको सुरक्षा हाम्रो प्राथमिक चिन्ताको विषय भएकाले तनावपूर्ण क्षेत्रमा रहेका नेपालीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

  • मध्यपूर्व द्धन्द्धको नेपाल असर : सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा उडान रद्द

    मध्यपूर्व द्धन्द्धको नेपाल असर : सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा उडान रद्द

    काठमाडौँ, १६ फागुनः हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

    उनले भने, “सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।” यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

  • निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैनः आयोग

    निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैनः आयोग

    काठमाडौँ, १६ फागुनः निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन ९फागुन २१ गते० सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ को दफा ५ को खण्ड ‘त’, दफा ९ र दफा ११ समेतका आधारमा सरकारसँग अनुरोध गरिएको जनाएको हो ।

    निर्वाचनको दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछामासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने, अस्पताल सेवाका सवारीसाधन ९अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न० र अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) सवारीसाधन पास आवश्यक नपर्ने आयोगले जनाएको छ ।

    त्यसैगरी, हिँड्डुल गर्न नसक्ने गर्भवती, सुत्करी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक वा मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन, नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (सो परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन÷पर्यवेक्षणका लागि प्रयोग हुने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनका लागि पनि पास आवश्यक नपर्ने आयोगले विगले जनाएको हो ।

    आयोगले विज्ञप्तिमा भनेको छ, “निर्वाचन आयोग, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन ‘डेस्क’ निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको व्यहोरासमेत जानकारी गराइन्छ ।”