काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन् । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”
Author: Vishwanews.com
-

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान
काठमाडौँ, २१ फागुनः उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् ।
-

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
काठमाडौँ, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरे । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।
यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गरे । काठमाडौँ महानगरका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार छन् ।
-

देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २१ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ ।
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ । लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
-

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः०० बजे मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राससलाई जानकारी दिए । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म एकैचरणमा मतदान हुँदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हँुदैछ । निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।
-

पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग
काठमाडौँ, २१ फागुनः नेपाल पत्रकार महासङ्घले पत्रकारलाई मतगणनाको समाचार सङ्कलन रूपमा गर्ने व्यवस्थाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ । महासङ्घले बुधबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको समाचार सङ्कलनमा प्रशासनिक झन्झट व्यहोर्नुपरेको भनी देशभरबाट पत्रकार तथा सञ्चारगृहले गुनासो गरेको उल्लेख गर्दै सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा नेपाल पत्रकार महासङ्घको परिचयपत्रका आधारमा मतदान, मतगणनाको समाचार सङ्कलनको व्यवस्था गर्न माग गरेको हो ।
मतदानको अघिल्लो दिनसम्म पत्रकार र सञ्चारगृहले सहज रूपमा जनतासमक्ष सूचना पु¥याउने दायित्व पूरा गर्ने वातावरण नबनेकामा महासङ्घले दुःख व्यक्त गरेको छ । पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि नेपाली प्रेसजगत्को भूमिका रहिआएको सन्दर्भमा प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बद्ध निकायको कर्तव्य हुन आउने उल्लेख गर्दै महासङ्घले अन्यथा निर्वाचनप्रति नै आशङ्का सिर्जना हुन सक्नेतर्फ गम्भीर हुन महासङ्घ सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनका क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासङ्घ माग गर्दछ र पत्रकारहरूसमक्ष सुरक्षित रूपमा कार्यथलोमा खटिन र तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको परिपालना गर्न आहृवान गर्दछ । यसतर्फ प्रेरित गर्दै आफ्ना सदस्यहरूका समस्या समाधानमा क्रियाशील हुन महासङ्घका सबै प्रदेश समिति, शाखा समिति र संस्थागत सदस्य संस्थाहरूलाई अपिल गरिन्छ ।”
-

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।
यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको छ ।
यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन् ।
-

निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
काठमाडौँ, २१ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पु(याइसकिएको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ ।आज हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायतका पदाधिकारीले आज पत्रकार सम्मेलन गरेर संवैधानिक दायित्व अनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको स्मरण गराउँदै तयारी पूरा भएको जनाएको हो । “निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो’’, कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भने, “आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र होइन, लोकतान्त्रिक नागरिकको जिम्मेवारी हो ।’’
सो पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसअघि परेका उजुरीबाहेक हालसम्म अन्य उम्मेदवारहरुको अयोग्यताको विषयमा कुनै उजुरी नपरेको र छानबिनको क्रममा नरहेको स्पष्ट पारे ।
गणना सुरु भएको २४ घन्टाभित्र परिणाम दिने तयारी
आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए ।मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमाझैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, “मतपेटिका संकलन पहिलेदेखिकै व्यवस्था अनुसार हुने हो । नेपाली सेनाले छुट्टै संकलन गर्ने होइन । मतपेटिका किञ्चित साटफेर हुँदैन । यसका शङ्का गरिरहनु पर्दैन ।’’
कतिपय जिल्लामा उम्मेदवारहरुसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशङ्कामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शुन्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे । यस निर्वाचनामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पधामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।
त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन् । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन् ।
-

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
काठमाडौँ, २० फागुन राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।
-

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
काठमाडौँ, २० फागुन । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ ।
बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए । राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।
-

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
पूर्णप्रसाद मिश्र–रासस
काठमाडौँ, २० फागुनः निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अरु कर्मचारीलाई मतदान अधिकृतले प्रशिक्षण दिएर खटाइएको आयोगले जनाएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । सत्ततर जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । उनका अनुसार ५०० भन्दाबढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन आयोगले भनेको छ । मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले निर्देशन दिएको छ ।
मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन), कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन यही फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाइने भएको छ ।
मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर÷बसोबास गर्ने होटलसम्म र घर÷बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था भएको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टाअघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने सम्बन्धमा उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई सिफारिस गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको जनाएको छ । आयोगले अनुमतिप्राप्त संस्थाका करिब पाँच हजार पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको जनाएको छ ।
-

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक दाहाल विश्वस्त
चितवन, २० फागुनः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताएका छन् । मतदानका लागि आज चितवन आएका दाहालले निर्वाचन शान्तिपूर्ण हुनेमा आफू विश्वस्त रहेको बताए । सबै राजनीतिक दलहरुको सहभागितामा निर्वाचन हुने भएकाले कुनै समस्या नहुनेमा आफू ढुक्क रहेको उनले बताए ।
पूर्वप्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी स्कुल मतदान केन्द्रमा मतदान गर्नेछन् । यो स्थानमा एक हजार ८६५ मतदाता र दुई वटा मतदान केन्द्र छन् । यही केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पनि मतदान गर्नेछन् ।
-

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह
काठमाडौँ, २० फागुनः निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे ।
कावा प्रमुख आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचन सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । एक सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका कावा प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
निर्वाचनमा दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।
-

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
काठमाडौँ, २० फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्र्दभमा समग्र शान्ति सुरक्षा र निर्वाचन तयारीबारे आज गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको अन्तक्र्रियाका क्रममा नेपाल सरकारका प्रवक्ता अर्यालले यस पटकको निर्वाचन पहिलेभन्दा बढी सुदृढ, स्वच्छ र भयरहित हुने विश्वास व्यक्त गरे ।
गृहमन्त्री अर्यालले भने, “सबै सुरक्षा संयन्त्रहरू मतदानस्थलसम्म परिचालित भइसकेका छन् । आवश्यक परेको खण्डमा सहज नियन्त्रणको लागि सबै तयारी छ ।” उनले निर्वाचनका क्रममा कुनै अवैध गतिविधि भए कानुनी कारबाही गर्ने र दोषीलाई अदालतमा पेस गरिने स्पष्ट गरे । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक परेमा नेपाली सेनाले सुरक्षा सहायता प्रदान गर्ने योजनाबारे समेत जानकारी दिए ।
गृहमन्त्री अर्यालले मतदातालाई सुझबुझका साथ मतदान गर्न आग्रह गर्दै भने, “निर्वाचनले प्रतिनिधि छान्ने मात्र नभई राजनीतिक सुशासन कायम गर्न महत्वपूर्ण योगदान दिनेछ । मतदाताले सुझबुझका साथ मतदान गर्नुहुनेछ ।” मतपत्र व्यवस्थापन प्रक्रिया विगतमा झै एकीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप हुने स्पष्ट पार्दै उनले मतदान समाप्त भएपछि मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याउने व्यवस्था पनि सुरक्षित रूपमा योजनाअनुरुप नै हुने बताए । -

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय
काठमाडौँ, २० फागुनः गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।
बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिए । उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ ।
बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिए । गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिएका थिए ।
-

इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन
काठमाडौँ, २० फागुनः निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल)ले प्रतिनिधिसभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ ।यस निर्वाचनका लागि पर्यवेक्षक परिचालन गर्न अनुमतिप्राप्तमध्येको एक पुरानो संस्था इओसी नेपालले दीर्घकालीन र अल्पकालीन गरी पर्यवेक्षक खटाएको हो । विगतको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा व्यापक सामाजिक सञ्जालको प्रयोग भएकोले सामाजिक सञ्जालको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन सम्बन्धमा सूक्ष्म पर्यवेक्षणका लागि इओसी नेपालको केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोलीको व्यवस्था गरिएको सो संस्थाका उपाध्यक्ष बद्रीप्रसाद शिवाकोटीले जानकारी दिए ।
आफूहरुले मौन अवधि सुरु भएयता डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण, उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेयरलगायतका गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उनको भनाइ छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगबाट ३९ राष्ट्रिय संस्था र चार अन्तरराष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिइएको छ ।
-

बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
वासिङ्टन, २० फागुन (रासस–एएफपी) । अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैर–आकस्मिक सेवाका कर्मचारीहरूलाई आदेश दिएको हो ।
इरानले अमेरिका–इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो सूचना जारी गरिएको हो । मन्त्रालयले एक्समा गरेको पोष्टमा भनेको छ, “गैर–आकस्मिक सेवामा रहेका अमेरिकी सरकारी कर्मचारी र सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई प्रतिबिम्बित गदै विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई बहराइन, जोर्डन र इराकमा यात्रा नगर्न सुझाब दिएको छ।
एक छुट्टै पोस्टमा मन्त्रालयले भनेको छ, “अमेरिकाले इराक यात्रा निर्देशन अद्यावधिक गरिएको थियो कि यसले सोमबार “सुरक्षा चिन्ताका कारण गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारीहरूलाई इराक छोड्न आदेश दिएको थियो। त्यसमा उनीहरूका आफन्तको उल्लेख गरिएको थिएन।”
अमेरिका–इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।इरानको रिभोलुसनरी गाड्र्सले बहराइनमा रहेको अमेरिकी हवाई अड्डालाई निशाना बनाएको इरानको रिभोलुसनरी गार्ड्सले मङ्गलबार जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । इराकको राजधानी बग्दादमा कालो पोशाकमा सयौँ प्रदर्शनकारीले आइतबार अमेरिकी दूतावास रहेको ग्रिन जोनमा प्रवेश गर्ने प्रयास गरेका छन् ।
जोर्डनको राजधानी अम्मानस्थित अमेरिकी दूतावासले सोमबार अज्ञात खतराका कारण अस्थायी रूपमा आफ्ना कर्मचारीहरूलाई खाली गरेको बताएको छ। साउदी अरबले शनिबार इरानले जवाफी आक्रमण सुरु गरेयता एक दर्जनभन्दा बढी क्षेप्यास्त्र पनि छेदन गरिएको जनाएको छ ।
-

खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित
मस्कट (ओमान), २० फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गरेपछि तेल तथा ग्यास आपूर्तिमा नयाँ अनिश्चितता देखिएको छ । मङ्गलबार कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) मा भएका आक्रमणले उत्पादन र भण्डारण संरचनामा असर पारेका छन् भने अन्तर्राष्ट्रिय बजारमा मूल्यसमेत उकालो लागेको छ ।
कतारको राज्य सञ्चालित कतार एनर्जीले इरानी आक्रमणका कारण आफ्ना दुई ग्यास प्रशोधन प्लान्ट प्रभावित भएको जनाएको छ । कम्पनीका अनुसार ड्रोन हमलापछि युरिया, पोलिमर, मेथनोल र एल्युमिनियमजस्ता पदार्थहरूको केही डाउनस्ट्रीम उत्पादन रोकिएको छ । यस घोषणासँगै लन्डन मेटल एक्सचेन्जमा आल्युमिनियमको मूल्य तत्काल करिब दुई प्रतिशतले बढेको छ । विश्वकै प्रमुख तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातकमध्ये एक मानिने कतारले सोमबार नै आफ्ना दुई साइटमा ड्रोन प्रहार भएपछि एलएनजी उत्पादन अस्थायी रूपमा स्थगित गरेको थियो । उत्पादन रोकिएपछि युरोपेली बजारमा मूल्य तीव्र रूपमा बढेको जनाइएको छ ।
यसैबीच ओमानमा पनि ऊर्जा संरचनामाथि आक्रमण भएको छ । आधिकारिक समाचार एजेन्सीका अनुसार मङ्गलबार धेरै ड्रोनले देशको पूर्वी तटमा रहेको डुकम बन्दरगाहलाई निशाना बनाएका थिए । सुरक्षा स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारमा मानवीय क्षति नभएको र भएको क्षति नियन्त्रणमा लिइएको उल्लेख छ । युद्ध सुरु हुनुअघि इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको ओमानका लागि यो तीन दिनयताको दोस्रो आक्रमण हो ।
आइतबार पनि सोही बन्दरगाहमा दुई ड्रोन प्रहार हुँदा एक कामदार घाइते भएका थिए । एउटा ड्रोन कामदार आवासमा खसेको र अर्कोको भग्नावशेष इन्धन ट्याङ्की नजिकै परेको जनाइएको छ । मङ्गलबार ओमानले थप दुई ड्रोन खसालेको र अर्को सलालाह बन्दरगाह नजिकै दुर्घटनाग्रस्त भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
संयुक्त अरब इमिरेट्समा भने रोकिने क्रममा खसालिएको ड्रोनको भग्नावशेष फुजैराहस्थित तेल भण्डारण तथा व्यापारिक क्षेत्रमा खसेर आगलागी भएको अधिकारीहरूले जनाएका छन् । फुजैराह मिडिया कार्यालयले कुनै मानवीय क्षति नभएको, आगो नियन्त्रणमा लिइएको र सामान्य सञ्चालन पुनः सुरु भएको जानकारी दिएको छ । युएईले युद्ध सुरु भएयता आफूलाई ८०० भन्दा बढी ड्रोन र करिब २०० मिसाइलले लक्षित गरेको दाबी गरेको छ ।
इरानले सोमबारदेखि साउदी अरेबिया, युएई र कतारजस्ता अमेरिकी सहयोगी देशहरूका पूर्वाधारलाई पनि लक्ष्य बनाउने सङ्केत दिएको थियो । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले मङ्गलबार इरानी क्षेप्यास्त्रले दोहा विमानस्थललाई निशाना बनाएको तर त्यसलाई सेनाले खसालेको बताए ।
अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले ऊर्जा आपूर्तिमा देखिएको अवरोधले धातु तथा ऊर्जा मूल्यमा थप दबाब सिर्जना गर्ने बताएका छन् । आइएनजी बैंकका विश्लेषकहरूले आल्युमिनियम उत्पादन निलम्बनले बजारमा जोखिम बढाउने उल्लेख गर्दै खाडी क्षेत्रमा विश्व उत्पादनको करिब आठ प्रतिशत हिस्सा केन्द्रित रहेको र आपूर्ति हर्मुज जलडमरूमध्य हुँदै समुद्री मार्गमा निर्भर रहेको बताएका छन् ।यसै सन्दर्भमा इरानको रिभोल्युसनरी गाड्र्सका एक जनरलले सोमबार हर्मुज जलडमरूमध्य हुँदै आवागमन गर्न खोज्ने कुनै पनि जहाज जलाइदिने चेतावनी दिएका छन् । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यो मार्गमा अस्थिरता बढेमा अन्तर्राष्ट्रिय बजारमा थप उथलपुथल आउने आकलन गरिएको छ ।
-

मध्यपूर्व युद्धको चौथो दिन कहाँ के भयो ?
पेरिस, २०, फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि सुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरूमा आक्रमण जारी राख्दै अमेरिका र इजरायलविरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छ भने विभिन्न देशहरूमा विस्फोट, ड्रोन आक्रमण र सैन्य गतिविधि बढेको छ ।
मङ्गलबार तेहरानमा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले जनाएका छन्, यद्यपि के लक्ष्य थियो भन्ने तत्काल स्पष्ट भएको छैन । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्समक्ष युद्ध रोक्न पहल गर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले परिषद्ले चाहेमा तत्काल कदम चाल्न सक्ने बताए ।
यसैबीच, इरानको रिभोलुसनरी गाड्र्सले अमेरिका र इजरायलविरुद्ध थप कडा आक्रमण गर्ने चेतावनी दिएको छ । प्रवक्ता अली मोहम्मद नैनीले राज्य टेलिभिजनमार्फत ‘शत्रुले निरन्तर दण्डात्मक कारबाही भोग्नुपर्ने’ र ‘नरकको ढोका झन् खुल्दै जाने’ चेतावनी दिए । इजरायलले दक्षिण लेबनानमा रणनीतिक स्थानहरू नियन्त्रणमा लिन सेना अघि बढाएको छ । लेबनानी सैन्य स्रोतका अनुसार कफर किला र खियाम क्षेत्रतर्फ इजरायली सेना अघि बढेको छ । इजरायली प्रवक्ता एफी डेफ्रिनले आफ्ना बासिन्दा र सम्भावित खतराबीच ‘बफर जोन’ बनाउने उद्देश्य रहेको बताए ।
खाडी क्षेत्रमा पनि तनाव चुलिएको छ । बहराइनको मनामा र कतारको दोहामा विस्फोट सुनिएको छ । ओमान, युएई र इराकमा ड्रोन आक्रमण भएका छन् । युएईको फुजैराहस्थित तेल क्षेत्रमा ड्रोनको भग्नावशेष खसेर आगलागी भएको छ भने ओमानको बन्दरगाहमा इन्धन ट्याङ्कीमा क्षति पुगेको जनाइएको छ, यद्यपि मानवीय क्षति नभएको बताइएको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार भई आगलागी भएको र साउदी विदेश मन्त्रालयले उक्त घटनाको निन्दा गरेको छ ।तेहरानले आफ्नो प्रमुख आणविक स्थल नातान्जमा क्षति पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले उपग्रह तस्वीरका आधारमा भूमिगत संरचनामा क्षति देखिएको जनाएको छ, तर रेडियोलोजिकल असर नहुने बताएको छ । यस युद्धले विश्व बजारमा पनि प्रभाव पारेको छ । स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा अवरुद्ध भएपछि ब्रेन्ट क्रुडको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल ८५।१२ डलर पुगेको छ । यो जुलाई २०२४ पछिको उच्च स्तर हो । ऊर्जा र अमेरिकी डलरमा लगानी बढेपछि सुन चार प्रतिशतभन्दा बढी घटेर ५,०७५ डलर प्रति औँस र चाँदी १२ प्रतिशतभन्दा बढी घटेर ७८ डलर प्रति औँसमा झरेको छ ।
इरान रेड क्रिसेन्टका अनुसार युद्ध सुरु भएयता ७८० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । लेबनानमा कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरले बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति नदिएको भन्दै अमेरिका–बेलायत सम्बन्ध ‘पहिले जस्तो नरहेको’ टिप्पणी गरेका छन् । यसबीच फ्रान्सले संयुक्त अरब इमिरेट्समा आफ्ना राफेल लडाकू जेट तैनाथ गरेको छ ।
चीनले सबै पक्षलाई तुरुन्त सैन्य कारबाही रोक्न र होर्मुज जलडमरूमध्यको सुरक्षा कायम राख्न आग्रह गरेको छ । युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी स्थिरतामाथि गम्भीर चुनौती खडा गरेको विश्लेषण गरिएको छ ।
-

सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
इस्लामाबाद, २० फागुन (रासस–एपी) । पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक पाकिस्तानी सैनिकको पनि ज्यान गएको पुष्टि गरेको छ ।
पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगान सीमामा भएका ‘धेरै आक्रमणलाई सफलतापूर्वक विफल पारिएको’ बताए । उनका अनुसार अफगान स्थल सेनाले बलुचिस्तान प्रान्तका किल्ला सैफुल्ला, नुस्की र चमन जिल्लामा रहेका १६ स्थानमा भूमि आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा पाकिस्तानी सेनाले २७ अफगान सैनिक मारिएको दाबी गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए ।
उनका अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा पनि अफगान सेनाले २५ स्थानमा आक्रमण गरेको थियो । ती क्षेत्रमा भएको झडपमा ४० अफगान सुरक्षा बलका सदस्य मारिएको दाबी पाकिस्तानले गरेको छ । यसरी दुवै मोर्चामा गरी ६७ अफगान सुरक्षाकर्मी मारिएको इस्लामाबादको भनाइ छ । यी दाबीबारे काबुलबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । तर, दुवै देशले विगत बिहीबारदेखि एकअर्कालाई भारी क्षति पुर्याएको दाबी गर्दै आएका छन् ।अफगानिस्तानले अघिल्लो आइतबार भएको पाकिस्तानी हवाई आक्रमणको प्रतिशोधस्वरूप आक्रमण सुरु गरेको जनाएको थियो । त्यसयता पाकिस्तानले सीमाक्षेत्रमा निरन्तर सैन्य अपरेसन सञ्चालन गरिरहेको छ । सोमबार तरारले ४३५ अफगान सुरक्षाकर्मी मारिएको र ३१ स्थान नियन्त्रणमा लिइएको दाबी गरेका थिए ।
यसबीच, अफगान पक्षले पनि आफ्ना कारबाहीबाट पाकिस्तानी सेनालाई ठूलो क्षति पुर्याइएको दाबी गर्दै आएको छ ।यद्यपि, स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि हुन सकेको छैन । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले सोमबार अफगानिस्तानभित्र जारी सैन्य कारबाहीको बचाउ गर्दै इस्लामाबादले कूटनीतिक प्रयासका सबै विकल्प प्रयोग गरिसकेपछि मात्र उग्रवादीविरुद्ध कदम चालिएको बताएका थिए । उनले काबुललाई पाकिस्तानमा आक्रमणका लागि जिम्मेवार समूहहरूलाई निशस्त्र बनाउन आग्रह गरे ।
पाकिस्तानले हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ का रूपमा वर्णन गरेको छ । सीमाक्षेत्र अल–कायदा र इस्लामिक स्टेट समूहजस्ता आतङ्कवादी सङ्गठनहरूको गतिविधि बढेको क्षेत्र मानिँदै आएको छ । पछिल्ला महिनाहरूमा पाकिस्तानभित्र हिंसा बढेको र त्यसका लागि प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० जिम्मेवार रहेको इस्लामाबादको आरोप छ । पाकिस्तानले टिटिपीले अफगान भूमिबाट सञ्चालन गर्दै आएको र अफगान तालिबान सरकारले सुरक्षित आश्रय दिएको आरोप लगाउँदै आएको छ, जसलाई काबुलले अस्वीकार गर्दै आएको छ ।हालको सीमापार द्वन्द्वले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामलाई प्रभावहीन बनाएको छ । इस्तानबुलमा सम्पन्न वार्ता स्थायी सहमति बनाउन असफल भएपछि दुवै पक्षबीच तनाव पुनः चुलिएको हो । पाकिस्तानी अधिकारीहरूले अफगान तालिबान सरकारले टिटिपी र अन्य उग्रवादी समूहहरूविरुद्ध प्रमाणित र प्रभावकारी कदम नचालेसम्म सैन्य अपरेसन जारी रहने स्पष्ट पारेका छन् ।
-

यूरोपमा तीनमध्ये एक महिला हिंसाको सिकार
भिएना, २० फागुन (रासस–एएफपी) युरोपेली सङ्घ (इयु) भित्र महिलाविरुद्धको हिंसा अझै पनि गम्भीर र व्यापक समस्याका रूपमा रहेको नयाँ प्रतिवेदनले देखाएको छ । इयुको अधिकारसम्बन्धी एजेन्सीले सार्वजनिक गरेको अध्ययनअनुसार करिब तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक वा यौन हिंसाको अनुभव गर्ने गरेको पाइएको छ । प्रतिवेदनले लैङ्गिक हिंसालाई ‘व्यापक, डिजिटल माध्यमबाट झन् तीव्र र संस्थागत रूपमा बेवास्ता गरिएको’ चेतावनी दिएको छ ।
युरोपियन युनियन एजेन्सी फर फन्डामेन्टल राइट्स (एफआरए) ले सार्वजनिक गरेको सर्वेक्षणअनुसार युरोपभरिका ३०।७ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि शारीरिक वा यौन हिंसाको सामना गरेको बताएका छन् । अध्ययनले घरेलु तथा साझेदारसँग सम्बन्धित हिंसा अझै गम्भीर रहेको देखाएको छ । प्रत्येक १० मध्ये एक महिलाले आफ्नो जीवनमा कम्तीमा एकपटक पार्टनरबाट शारीरिक चोट भोगेको बताएका छन् भने १७.२ प्रतिशतले बलात्कारसहित यौन हिंसा वा अन्य यौन आक्रमणको अनुभव गरेको उल्लेख गरेका छन् ।
एफआरए, युरोस्ट्याट र लिथुआनियास्थित युरोपियन इन्स्टिच्युट फर जेन्डर इक्वालिटी (इआइजिई) ले संयुक्त रूपमा सञ्चालन गरेको यस अध्ययनले डिजिटल प्रविधिको विस्तारसँगै हिंसाको स्वरूप पनि परिवर्तन भएको औँल्याएको छ । प्रतिवेदनअनुसार ८.५ प्रतिशत महिलाले साइबर स्ट्याकिङको सिकार भएको बताएका छन् । सर्वेक्षणमा सहभागी १०.२ प्रतिशत महिलाले आफ्नो स्थान निगरानी गरिएको वा घनिष्ठ साथीले डिजिटल माध्यमबाट पछ्याएको अनुभव साझा गरेका छन् ।
अध्ययनले महिलाविरुद्धको अधिकांश हिंसा अझै पनि व्यापक रूपमा कम रिपोर्ट हुने गरेको र सम्बन्धित निकायहरूले पर्याप्त रूपमा सम्बोधन नगरेको देखाएको छ । केवल ६.१ प्रतिशत महिलाले आफ्ना पार्टनरबाट भोगेको शारीरिक वा यौन दुर्व्यवहार अधिकारीसमक्ष उजुरी गरेका थिए । गैर–पार्टनरबाट आक्रमण भएको अवस्थामा पनि उजुरी दर ११.३ प्रतिशत मात्र रहेको पाइएको छ । उजुरी नगर्नुका कारणका रूपमा लाज, डर, आत्मदोष र प्रहरीप्रति विश्वासको कमी उल्लेख गरिएको छ ।
एफआरएका निर्देशक सिर्पा राउटिओले विज्ञप्तिमार्फत भनिन्, “जब दुर्व्यवहारलाई सामान्य, लुकेको वा बेवास्ता गरिएको अवस्थामा छोडिन्छ, त्यसले अधिकार संरक्षणमा प्रणालीगत असफलता देखाउँछ ।” उनले हिंसा रोकथाम, पीडितको सुरक्षा र न्यायमा पहुँच सुनिश्चित गर्नु सदस्य राष्ट्रहरूको स्पष्ट दायित्व भएकोमा जोड दिइन् ।
यो अध्ययन सन् २०१४ मा गरिएको प्रारम्भिक सर्वेक्षणपछि एफआरएद्वारा गरिएको दोस्रो प्रमुख अनुसन्धान हो । सर्वेक्षणका लागि सन् २०२० सेप्टेम्बरदेखि २०२४ मार्चसम्म १८ देखि ७४ वर्ष उमेर समूहका एक लाख १४ हजारभन्दा बढी महिलासँग अन्तर्वार्ता लिइएको थियो । केही देशमा सहभागीहरूले आफूलाई महिलाका रूपमा आत्मपहिचान गर्न सक्ने व्यवस्था गरिएको थियो, जसका कारण ट्रान्स महिलाहरूलाई पनि सहभागी हुन अनुमति दिइएको जनाइएको छ, यद्यपि यसबारे थप विवरण दिइएको छैन ।यसअघि सन् २०११ मा इयुले महिलाविरुद्ध हिंसा रोकथाम तथा नियन्त्रणका लागि इस्तानबुल महासन्धि अपनाएको थियो । तर बुल्गारिया, चेक गणतन्त्र, हङ्गेरी, लिथुआनिया र स्लोभाकियालगायत पाँच सदस्य राष्ट्रले उक्त महासन्धिको मुख्य प्रावधान अनुमोदन गर्न अस्वीकार गरेका छन् । नयाँ प्रतिवेदनले नीति निर्माण र कार्यान्वयनमा अझ सशक्त तथा समन्वित कदम चाल्न आवश्यक रहेको सङ्केत गरेको छ ।
-

इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा
मस्को, २० फागुन (रासस–एएफपी) । युक्रेनमाथिको आक्रमणपछि युरोपेली सङ्घ (इयु) ले फ्रिज गरेको करिब दुई खर्ब ३० अर्ब डलर बराबरको रुसी सम्पत्तिका विषयमा रुसको केन्द्रीय बैंकले युरोपेली अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनिश्चितकालका लागि सम्पत्ति रोकेको निर्णय गैरकानूनी भएको दाबी गर्दै मस्कोले लक्जमबर्गस्थित युरोपेली सङ्घको जनरल कोर्टमा मुद्दा दायर गरेको हो ।
इयुका सदस्य राष्ट्रहरूले सन् २०२२ मा युद्ध सुरु भएपछि पहिलोपटक रुसी सम्पत्ति फ्रिज गरेका थिए । गत वर्ष ब्लकले करिब दुई खर्ब युरो बराबरको कोषमाथि आफ्नो नियन्त्रणको कानूनी आधार थप कडा बनाएको थियो । उक्त रकमलाई युक्रेनलाई उपलब्ध गराइने ठूलो ऋण कार्यक्रमसँग जोड्ने प्रयास गरिएको थियो । नयाँ व्यवस्थाअनुसार रुसले आक्रमण रोक्दै युक्रेनलाई क्षतिपूर्ति नदिएसम्म ती सम्पत्ति फ्रिज नै रहनेछन् ।
यसअघि प्रत्येक छ महिनामा इयुका २७ सदस्य राष्ट्रको सर्वसम्मत निर्णयबाट मात्रै फ्रिज अवधि थप गर्नुपर्ने व्यवस्था थियो । हङ्गेरी र स्लोभाकियाजस्ता मस्कोप्रति तुलनात्मक रूपमा सहानुभूतिशील देशहरूले यस प्रक्रियालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने सम्भावना रहेको भन्दै कानूनी संरचना परिवर्तन गरिएको थियो । रुसको केन्द्रीय बैंकले नयाँ नियमले आधारभूत अधिकारहरूको उल्लङ्घन गरेको दाबी गरेको छ ।
“इयु नियमनले न्यायमा पहुँचको आधारभूत र अपरिहार्य अधिकार, सम्पत्तिको अलङ्घनीयता तथा राज्य र तिनका केन्द्रीय बैंकहरूको सार्वभौम प्रतिरक्षाको सिद्धान्तको उल्लङ्घन गरेको छ”, बैंकले विज्ञप्तिमार्फत जनाएको छ । इयु अदालतका अनुसार मुद्दा फेब्रुअरी २७ मा दर्ता गरिएको हो ।
यसैबीच, मस्कोले बेल्जियमस्थित युरोक्लियर डिपोजिटरीविरुद्ध पनि रुसी अदालतमा छुट्टै मुद्दा दायर गरेको छ । युरोक्लियर डिपोजिटरले फ्रिज गरिएका सम्पत्तिको ठूलो हिस्सा व्यवस्थापन गर्दै आएको छ । इयुका प्रवक्ता बालाज्स उज्वारीले उक्त कदमलाई युक्रेनका लागि इयुको समर्थनसम्बन्धी रूसी कानूनी चुनौतीहरूको बढ्दो शृङ्खलाको एक हिस्सा भएको बताएका छन् । “हामी यस नियमनको वैधानिकता र इयु कानूनसँग यसको अनुकूलताबारे पूर्ण रूपमा विश्वस्त छौँ”, उनले स्पष्ट पारेका छन् ।
-

इरान आक्रमणप्रति चीन असहम
बेइजिङ, २० फागुन (रासस–एएफपी) । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहो¥याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता गर्दै बेइजिङले इरानविरुद्धको सैन्य कारबाहीको विरोध गरेको बताएका राज्य सञ्चारमाध्यमले जनाएका छन् ।
मध्यपूर्वमा सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको मृत्यु भएको जनाइएको छ र त्यसयता द्वन्द्व व्यापक क्षेत्रमा फैलिएको छ । तेहरानको निकट साझेदार चीनले यसअघि नै युद्धविरामको आह्वान गर्दै खामेनीको हत्यालाई ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा गरेको थियो ।सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वाङले इजरायली समकक्षीसँगको वार्तामा संवाद र परामर्शमार्फत मतभेद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले इरान र अमेरिकाबीच हालैका वार्ताहरू सकारात्मक दिशामा अघि बढिरहेको अवस्थामा सैन्य आक्रमणले त्यस प्रक्रियालाई अवरुद्ध गरेको बताए । “हालैको इरान–अमेरिका वार्ताले स्पष्ट प्रगति गरिरहेको थियो, तर दुर्भाग्यवश गोली हानाहानले त्यो प्रक्रिया रोकिएको छ”, उनको भनाइ उद्धृत गरिएको छ ।
वाङले अमेरिका–इजरायलको सैन्य कारबाहीप्रति चीनको विरोध पुनः व्यक्त गर्दै बल प्रयोगले समस्या समाधान नगर्ने धारणा राखे । “बलले समस्याको समाधान गर्दैन, बरु नयाँ समस्या र गम्भीर परिणाम निम्त्याउँछ”, उनले स्पष्ट पारे । उनले द्वन्द्व अझ फैलिन नदिन र नियन्त्रणबाहिर जानबाट रोक्न तत्काल सैन्य कारबाही रोक्नुपर्नेमा चीनको जोड रहेको उल्लेख गरे । चीनले संवादमार्फत समाधान खोज्ने प्रयासलाई पुनर्जीवित गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।
-

धनुषामा निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह
जनकपुरधाम, २० फागुन । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । निर्वाचन शान्तिपूर्ण रूपमा हुने भएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरे । उनले निर्वाचनलाई शान्तिपूर्ण तथा संयमित गराउनका लागि शान्ति, सुरक्षाको पूर्ण व्यवस्था गरिएको तथा सो निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएको उल्लेख गर्दै मतदान केन्द्रको पूर्ण सुरक्षाको व्यवस्था गरिएको जानकारी दिए ।
आवश्यक परेको खण्डमा प्रत्येक मतदान केन्द्रमा पाँचदेखि सात मिनेटमा थप सुरक्षा निकाय पुग्नेछ उनको भनाइ थियो । मतदानस्थलहरूको निमाण भइसकेको, मतपेटिका तथा मतदान अधिकृत तथा कर्मचारीहरू आ–आफ्नो मतदानस्थलमा पुगिसकेको उनले भने ।
धनुषामा प्रतिनिधिसभा सदस्य पदका लागि चार निर्वाचन क्षेत्र रहेको छ । जसअन्तर्गत जिल्लामा ६४५ मतदान केन्द्र तथ३२२ मतदानस्थल रहेको छ । एक सय ९४ वटा मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा राखिएको छ । सो निर्वाचनमा तीन हजार ८७५ कर्मचारी परिचालन भएको बताइएको छ । चार हजार ५०० निर्वाचन प्रहरी पनि छनोट भइसकेका छन् । यस जिल्लामा उम्मेदवारको सङ्ख्या १५४ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
-

सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
गोलबजार (सिरहा) २० फागुन । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकिएको थियो ।
जाँचका क्रममा गाडीबाट रु चार लाख ८७ हजार नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रनाउ पालले जानकारी बताए । यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ स्थानीय तह निर्वाचन सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
-

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा
तेहरान, २० फागुन (रासस–एएफपी) । इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने निकायको भवनमा आक्रमण गरेको स्थानीय मिडियाले जनाएको छ । यस आक्रमणले भवनमा गम्भीर क्षति पुगेको र त्यसलाई बैठकका लागि प्रयोग नगर्ने निर्णय भएको जनाइएको छ । पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनी शनिबार अमेरिकाको आक्रमणमा मारिएका थिए । खामेनीको मृत्युपछि इरानले आइतबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरेको घोषणा गरेको थियो । मङ्गलबारको आक्रमणमा भवनमा क्षति पुगेको भए पनि कुनै हताहतको रिपोर्ट तत्काल उपलब्ध छैन ।
स्थानीय मिडियाका अनुसार, यो भवनले सर्वोच्च नेताको नियुक्ति, पर्यवेक्षण र सम्भावित बर्खास्त गर्ने जिम्मेवारी पाएको छ । आक्रमणमा विशेषज्ञ सभा र अन्य सरकारी अधिकारीहरूको केन्द्रीय कार्यालय निशानामा परेको थियो । स्थायी सर्वोच्च नेताको निर्वाचन र नियुक्ति सम्पन्न नभएसम्म इरानको अन्तरिम नेतृत्व परिषद्ले देशको प्रशासनिक काम सम्हाल्नेछ ।
परिषद्को संरचनामा राष्ट्रपति, न्यायपालिकाका प्रमुख, कानून निरीक्षण गर्ने निकायका न्यायविद् र शीर्ष सुरक्षा प्रमुख अली लारिजानीको केन्द्रीय भूमिका रहेको छ । सामाजिक र राजनीतिक विश्लेषकहरूले यस घटनालाई इरानको संवेदनशील सङ्क्रमणकालीन चरणमा विदेशी हस्तक्षेपको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।
-

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ, २० फागुन । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल सेन्टरमा प्राप्त सूचनाका आधारमा समग्रमा निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको निष्कर्ष सार्वजनिक गरेको छ । जियोकले मतदान तयारी, राजनीतिक दलको सहभागिता, सहयोग, समन्वय, निर्वाचनका चुनौती, आयोगको तयारी र निर्वाचन सुरक्षाको अवस्थाबारे अध्ययन गरेको हो ।
राजनीतिक दल, मतदाता, उम्मेदवार, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटवार्ता र कुराकानीका आधारमा प्रतिवेदन तयार गरिएको जियोकका महासचिव कृष्णमान प्रधानले जानकारी दिए । प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय पर्यवेक्षकको स्थलगत अवलोकन प्रतिवेदनमा समग्रमा निर्वाचन शान्तिपूर्ण, स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको छ ।”
जियोकबाट निर्वाचनको राष्ट्रिय पर्यवेक्षणका लागि खटिनुभएका प्राध्यापक चिरञ्जीवी खनालले निर्वाचनको तयारी रफ्तारमा अघि बढिरहेको, कर्मचारी मतदानस्थलमा पुगिसकेको, मतदान केन्द्र निर्माण भइरहेको तथा सुरक्षा निकाय पनि जिम्मेवारीपूर्वक संवेदनशीलताका साथ आफ्नो स्थानमा तैनाथ भएको पाइएको जानकारी दिए । उनले भने, “विगतमा राजनीतिक दल र उम्मेदवाले ठूला आमसभा र जुलुसमार्फत मतदातालाई प्रभाव पार्ने गरेकामा यसपटक भने गाउँटोलमै पुगेर भेटघाट गरेको पाइयो, निर्वाचनप्रति राजनीतिक दल कटिबद्ध र मतदाता उत्साहित रहेको पाइएको छ ।”
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता एवं जियोकका राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले निर्वाचनको लागि शान्तिपूर्ण वातावरण रहेको तथा मतदान केन्द्रका लागि आवश्यक पर्ने सबै स्रोतसाधनसहित कर्मचारीसहितको टोली मतदानस्थल पुगिरहेको जानकारी दिए । उनले भने, “मतदाता, उम्मेवार, राजनीतिक दलका प्रतिनिधिसहित प्रमुख जिल्ला अधिकारीसमेत सुरक्षा संयन्त्र निर्वाचन शान्तिपूर्ण हुनेमा ढुक्क हुनुहुन्छ । हालसम्मको अध्ययन र विश्लेषणले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनको वातावरण बनेको छ ।”
अर्का राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय र वडा कार्यालय भवनमा रहेकाले समग्रमा मतदातामैत्री नै रहेको पाइएको जानकारी दिए । जियोकले सातै प्रदेशमा राष्ट्रिय पर्यवेक्षक खटाएर निर्वाचनपूर्वको अवस्थाबारे जानकारी लिएको हो । प्रतिवेदनमा भनिएको छ, “जिल्लामा एकीकृत सुरक्षा योजना कार्यान्वयन, निर्वाचन तयारी प्रशासनिक र सुरक्षात्मक दृष्टिले सन्तोषजनक छ, दलहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि समग्र वातावरण शान्तिपूर्ण छ ।”
देशभर निर्वाचन केन्द्रमा मतदान सामग्री र कर्मचारीको खटाइ योजनाअनुसार नै सम्पन्न भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । यसअघि उम्मेदवारको घरदैलो तथा चुनावी प्रचारप्रसार शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको छ । जियोकले मुलुकका ३६ जिल्लाका २५० स्थानीय तहमा ४०० को सङ्ख्यामा निर्वाचन पर्यवेक्षक खटाएको छ ।
-

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल
काठमाडौँ, २० फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
-

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने
काठमाडौँ, २० फागुनः नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ।
मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिकाबमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित हुँदै आएको छ ।
-

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ, २० फागुनः मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।
दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।
