Author: Vishwanews.com

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै


    ३१ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भारत भ्रमण स्वीकृत गरेको हो। उनी बिहीवार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

    भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। बिहीवार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् ।

    यस्तै, शुक्रवार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । शुक्रवार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।

    शनिवार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनेछन् । शनिवार दिउँसो नै अर्थमन्त्री डा. वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी शनिबार साँझ नेपाल फर्कने कार्यक्रम छ ।

  • बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

    बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

    काठमाडौँ, ३१ भदौः त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु नौ करोड २५ लाख सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरे ।


    विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो । उपकुलपति, रजिष्ट्रार र रेक्टरले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिन बराबरको रकम योगदान गरेका छन् ।

    त्यस्तै, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक–कर्मचारीबाट सात दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।

    कुलपति थापाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो । विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

  • मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक

    मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक

    वासिङ्टन, ३१ भदौ (रासस–एएफपी) । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि मेल–इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ । अदालतले प्रशासनले उक्त योजनामाथिको रोक हटाउन गरेको अनुरोध अस्वीकार गरेपछि लाखौँ मतदाताको हुलाकमार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको छ । नौ सदस्यीय अदालतका छ कन्जरभेटिभ न्यायाधीशमध्ये दुई जनाले निर्णयप्रति असहमति जनाएका थिए । न्यायाधीश ब्रेट काभानगले ट्रम्पको योजना भविष्यमा कानूनी हुन सक्ने भए पनि राज्य तथा स्थानीय निर्वाचन अधिकारीलाई निर्वाचनअघि त्यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नरहेको बताए ।


    ट्रम्पले मार्चमा मेल–इन मतदानमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । उनले कुनै ठोस प्रमाणबिना हुलाकमार्फत हुने मतदानमा धाँधलीको जोखिम रहेको दाबी गरेका थिए । आदेशविरुद्ध डेमोक्रेटिक नेतृत्वका राज्यहरूले संविधानअनुसार निर्वाचन व्यवस्थापनमा राज्यको व्यापक अधिकार रहेको भन्दै अदालतमा चुनौती दिएका थिए ।

    ट्रम्पको आदेशले योग्य मतदाताको सूची तयार गरी अमेरिकी हुलाक सेवा (युएसपिएस)लाई सूचीमा रहेका मतदातालाई मात्र मतपत्र उपलब्ध गराउन निर्देशन दिएको थियो । नर्थ क्यारोलिनासहित केही राज्यले मतदातालाई मेल–इन मतपत्र पठाउन थालिसकेकाले विभिन्न राज्यका अधिकारीले कानूनी अन्योलले निर्वाचन व्यवस्थापनमा अराजकता निम्तिन सक्ने चेतावनी दिएका थिए ।

    अमेरिकन सिभिल लिबर्टिज युनियन (एसिएलयु) ले निर्णयलाई मतदान अधिकार, निर्वाचनको अखण्डता र लोकतन्त्रका लागि ठूलो विजय भनेको छ । एसिएलयुकी मतदान अधिकार परियोजनाकी निर्देशक सोफिया लिन ल्याकिनले राष्ट्रपतिले निर्वाचन सञ्चालन नगर्ने र अन्ततः नोभेम्बरको निर्वाचनको निर्णय मतदाताले गर्ने बताइन् । यसैबीच, अमेरिकी हुलाक सेवाका एक कर्मचारीले सेवाले प्रयोग गरिरहेको प्रणाली अव्यवस्थित र हतारमा तयार पारिएको भन्दै लाखौँ मतदाताले मतपत्र प्राप्त गर्न नसक्ने चेतावनी दिएका छन् ।


    ट्रम्पले लामो समयदेखि मेल–इन मतदानको आलोचना गर्दै आए पनि यस वर्ष फ्लोरिडाको रिपब्लिकन प्राथमिक निर्वाचनमा आफैँ हुलाकमार्फत मतदान गरेका थिए । उनले मेल–इन मतदानलाई सन् २०२० को राष्ट्रपति निर्वाचन डेमोक्रेट जो बाइडेनले आफूबाट चोरी गरेको भन्ने गलत दाबीसँग जोड्दै आएका छन् । सर्वेक्षणहरूले रिपब्लिकन पार्टीले नोभेम्बरको निर्वाचनमा कङ्ग्रेस, विशेषगरी प्रतिनिधिसभामा रहेको आफ्नो साँघुरो बहुमत गुमाउने जोखिम देखाएका छन् । डेमोक्रेटहरू विजयी भएमा उनीहरूले ट्रम्पका नीतिगत योजना रोक्ने र उनीविरुद्ध तेस्रोपटक महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सङ्केत गरेका छन् ।

  • अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

    रासस
    काठमाडौँ, ३१ भदौः आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ । क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो । अन्तरराष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवलगायत कारण कप्तानमा सन्दीपको पुनरागमन सम्भव भयो । क्यानले एकदिवसीय टोलीमा कप्तानमात्र नभई केही खेलाडीसमेत परिवर्तन गरेको थियो । कप्तानमा नियुक्त भएलगत्तै उहाँको सामु सर्वाधिक ठूलो चुनौती थियो, एसिसी एसिया कपमा छनोट हुनु ।

    नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीबीच पनि सन्दीपले दुईवटै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँ नेतृत्वको नेपालले एसिसी प्रिमियर कप २०२६ मा कुल छ खेल खेल्यो । जसमा नेपालले पाँचमा जित र एक खेलमा मात्र पराजय व्यहोयो । समूह विजेताको हैसियतामा टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पनि सानदार प्रदर्शन गरेर नेपालले सहजै फाइनलमा स्थान सुरक्षित गर्यो ।

    फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै उपाधिमात्र जितेन दोस्रोपटक एसिया कपमा पनि स्थान बनायो । नेपालले एसिया कपको यात्रा गर्नुमा कप्तान लामिछानेको भूमिका प्रमुख रह्यो । उनले बलिङमा हरेक खेलमा विपक्षी टोलीविरुद्ध दबाब राखे । सन्दीपले प्रतियोगिताको छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । टोलीको सफलतामा निर्णायक प्रदर्शन गरेका कप्तान लामिछाने प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनी एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘सर्वोत्कृष्ट खेलाडी’ चयन भएका हुन् ।


    कप्तान लामिछानेले सन् २०२३ को संस्करणमा पनि उक्त अवार्ड प्राप्त गरेका थिए । उनले यसपटक व्यक्तिगत प्रदर्शनमात्र नभई कप्तानको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दा नेपालले उपाधि जित्न सफल भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीको भनाइ छ । “एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो । उनले जुन प्रकारले टोलीको नेतृत्व गरिरहेका छन्, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ”, चौधरीले रासससँग भने, “प्रतियोगितामा सन्दीपले बलरको सही सदुपयोग गरे, टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उनको कप्तानी उत्कृष्ट रह्यो । आगामी प्रतियोगिताहरूमा पनि यस्तै नतिजाको आशा छ ।”

    क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजकसमेत रहेका चौधरीले एसिसी प्रिमियर कपमा अन्य खेलाडीको प्रदर्शन पनि उत्कृष्ट रहेको बताए । टोली एकढिक्का भएर खेल्दा सकारात्मक नतिजा आउने उल्लेख गर्दै उनले दबाबमा पनि खेलाडीले धैर्य भएर खेल्दा नेपालले उपाधि जितेको बताए । “सन्दीपको उत्कृष्ट कप्तानी त रह्यो नै टोलीको सफलतामा अरू खेलाडीको प्रदर्शनलाई पनि नजरअन्दाज गर्न मिल्दैन । बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख, अर्जुन कुमाललगायतको प्रदर्शन पनि टोलीले उपाधि जित्नमा अहम् रह्यो”, चौधरीले भने ।


    उनले अब सन्दीपसामु आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउनुपर्ने चुनौती रहेको बताए । नेपाली टोली अहिले एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छभित्र पर्नैपर्ने दबाबमा छ । “नेपालले अब विश्वकप लिग–२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ । जुन सिरिजमा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ । यी दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा त्यति उत्कृष्ट छैन ।

    एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीमा आत्मविश्वास उच्च छ । नेपालले त्यसको फाइदा उठाउन सक्छ”, पूर्वखेलाडी चौधरीले भने । ताजा अवस्थामा नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेल खेल्दा १९ मा हार र ११ खेलमा जित निकालेको छ । नेपालले दुई खेलमा भने अङ्क बाँडेको छ । शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ । नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ ।

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

    सर्लाही, ३१ भदौः सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश०३–०३३प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मङ्गलबार साँझ ठोक्किएको थियो । दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो ।

    दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । यसैबीच सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको छ ।

    तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको हो । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    चट्याङबाट बालिकाको मृत्यु

    त्यसैगरी, सर्लाहीको बागमतीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मङ्गलबार साँझ बागमती नगरपालिका–४ गोले टोलमा परेको चट्याङ लागेर सोही स्थान बस्ने ठाकुरसिंह मोक्तानकी छोरी १२ वर्षीया दीना मोक्तानको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

    सोही घटनामा पर्नुभएकी हस्तबहादुर बम्जनको छोरी ११ वर्षीया प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा गम्भीर घाइते हुनुभएको छ । घाइते प्रतिमालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएकोे प्रहरीले जनाएको छ । अर्का घाइते पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष गौतमले जानकारी दिए ।

  • आज सर्वदलीय बैठक बस्दै

    आज सर्वदलीय बैठक बस्दै

    काठमाडौँ, ३१ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्दैछ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहने जनाइएको छ।

  • मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

    मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

    लमजुङ, ३१ भदौः मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्वसूचना र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो ।

    मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी)हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ । विभिन्न अध्ययनले तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर आसपास रहेको देखाएका छन् । सन् २०१७ मा गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराइ ७६ मिटर रहेको देखाएको थियो । ती अध्ययन केही वर्षअघिका भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था तथा ताल वरपरको भौगोलिक संरचनामा के–कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढेर गएको छ । विगतमा पहिचान गरिएको जोखिम अहिले कस्तो अवस्थामा छ भन्नेबारे थप स्पष्टता आवश्यक रहेको देखाउँछ ।

    नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन । तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै गएको र विस्तार भइरहेको उनले बताए । “ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन । आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,” उनले भने । तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उनले बताए ।
    प्रदेश र सङ्घीय सरकारसँग आवश्यक सहयोगका लागि पहल भइरहेको तथा जोखिमबारे स्थानीयलाई सूचना दिने र सचेत गराउने काम भइरहेको उनको भनाइ छ । उनका अनुसार मनास्लु हिमालको फेदीमा रहेको डोना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणसमेत बनेको छ । विदेशी तथा आन्तरिक पर्यटक गरी वार्षिक २०० जना ताल क्षेत्रमा पुग्ने गरेको उनले बताए ।


    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेको र यसको जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताए । उनका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ । “ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन । जुनसुकै बेला जोखिम हुनसक्छ,” उनले भने ।


    जिल्लामा विपद् प्रतिकार्यको सामान्य तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आएमा त्यसलाई सामना गर्ने क्षमता सीमित रहेको उनले बताए । जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

    ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्ने उनले बताए । बस्ती, सडक, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने भएकाले समयमै सूचना प्रवाह गरी मानवीय क्षति रोक्नुपर्ने उनको भनाइ छ । यसैगरी, लालुपाते हाइड्रोपावरले डोना ताल आसपासमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको र तालको पानी उपयोग गर्ने विषयमा अध्ययन भइरहेको प्रजिअ खनालले बताए । तालको जोखिम र त्यससँग जोडिएका संरचनालाई समेत ध्यानमा राखेर आवश्यक अध्ययन तथा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

    हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था बढेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताए । हिमतालको जोखिम विगतदेखि नै रहेको र यस्ता तालको नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार जोखिमयुक्त हिमतालको दुई–तीन वर्षको अन्तरालमा अनुगमन गर्नु आवश्यक हुन्छ ।

    सरकारले त्यस्ता हिमतालको स्थलगत निरीक्षण गरी जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्नुपर्ने उनले बताए । मस्र्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरी त्रिशूली नदीमा मिसिन्छ । त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मस्र्याङ्दी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिएको छ ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मस्र्याङ्दी नदीमा बाढी आएको खण्डमा जिल्लाको तल्लो तटीय क्षेत्र जोखिममा पर्न सक्ने बताए । उनका अनुसार सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही तल्लो क्षेत्र तथा मर्स्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजनासमेत जोखिममा पर्न सक्छन् ।

    “मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन् । ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन,” उनले भने । उनका अनुसार ठूलो आयामको विपद् आएमा अहिलेको स्रोतसाधनले त्यसलाई सामना गर्न कठिन हुनसक्छ । त्यसैले पूर्वसूचना प्रवाह गर्ने तथा मानवीय जीवन जोगाउने विषयलाई प्राथमिकतामा राखेर विपद् तयारी गरिएको उनले बताए ।


    बाढीको जोखिमलाई पूर्ण रूपमा रोक्न नसकिए पनि नियमित अनुगमन, जोखिमको पुनःमूल्याङ्कन, पूर्वसूचना प्रणाली, सम्भावित बाढीको बहाव क्षेत्रको पहिचान तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयबाट क्षति न्यूनीकरण गर्न सकिने देखिन्छ । मस्र्याङ्दी नदी आसपासमा बस्तीका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधार रहेकाले हिमतालको जोखिमलाई माथिल्लो हिमाली क्षेत्रमा मात्र सीमित विषयका रूपमा नहेरी तल्लो तटीय क्षेत्रको विपद् व्यवस्थापन योजनासँग जोड्नुपर्ने देखिन्छ ।

  • भक्तपुरको दमकल सेवा प्रभावकारी बनाउन गृहमन्त्री गुरुङको चासो

    भक्तपुरको दमकल सेवा प्रभावकारी बनाउन गृहमन्त्री गुरुङको चासो

    भक्तपुर, ३१ भदौः गृहमन्त्री सुधन गुरुङले मङ्गलबार जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको स्थलगत अवलोकन गरेका छन् । भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरुङलाई कार्यालय प्रमुख विजय धौभडेलले दमकलको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । गृहमन्त्री गुरुङले आगलागी भएमा अग्नि नियन्त्रणका लागि ‘ड्रोन’ प्रविधि आइसकेको बताउँदै त्यसतर्फ पनि सरकारले ध्यान दिने बताए । उनले दमकलको अवस्थाका बारेमा चासो लिनाका साथै समस्या समाधानका लागि आफू लाग्ने बताए ।

    कार्यालयका प्रमुख धौभडेलले बेल्जियमको समूहले अग्नि नियन्त्रकलाई तालिम दिने गरेको जानकारी गराए । उनले दुईवटा ड्रोन ल्याउन सके अग्लो ठाउँमा लाग्ने आगो नियन्त्रणका लागि सहज हुने बताए । यस वर्ष सरकारले प्रविधि एवं उपकरण खरिदका लागि रु ९४ लाख विनियोजन गरेको छ । पुराना दमकलको सङ्ग्रहालय निर्माण गर्न र कर्मचारीको समस्या समाधानमा चासो दिन उनले आग्रह गरे ।

    गृहमन्त्री गुरुङ दमकलको अवलोकनपछि राति नै नवदुर्गा मन्दिर पुगेका थिए । गृहमन्त्रीले नवदुर्गा मन्दिरमा दसैँको नवमीका दिन राति बलि दिने खमेय (राँगो) का बारेमा जानकारी लिए । नवदुर्गा देवगणका तर्फबाट नारायण वनमालाले नवदुर्गा जात्रा एवम् पर्व सञ्चालनका लागि सरकारले चासो दिनुपर्ने बताए । यसबीच गृहमन्त्री गुरुङले कमलविनायक बजार र कमलपोखरीको अवलोकन गरे । सो अवसरमा सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाललगायतले भक्तपुरको समग्र अवस्थाका बारेमा उनलाई जानकारी गराए ।

  • लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती

    लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती

    रासस
    बाजुरा, ३१ भदौः बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो । सुरुमा सामान्य परम्परागत खेती गर्दै आउनुभएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उहाँको दैनिकी बारीको हेरचाह, उत्पादन र बिक्रीमा बित्ने गरेको छ ।

    सदरमुकाम मार्तडी नजिकै गडखेतका लालबहादुर हरेक दिन बिहानदेखि साँझसम्म तरकारी बारीमै व्यस्त हुनुहुन्छ । उहाँले हाल करिब १२ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका तरकारी उत्पादन गर्दै आउनुभएको छ ।

    “सुरुमा तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ भन्ने विश्वास कम थियो । गाउँघरमा परम्परागत रूपमा अन्नबाली लगाउने चलन रहेकाले व्यावसायिक खेतीतर्फ किसानको खासै आकर्षण थिएन,” उहाँले भन्नुभयो, “अहिले भने आफूले उत्पादन गरेको तरकारीबाट आम्दानी हुन थालेपछि अन्य किसान पनि यसतर्फ आकर्षित भएका छन् ।”

    सहरबाट फर्किएर गाउँमै उद्यम

    लालबहादुर विसं २०७५ मा बाजुराबाट सङ्घीय राजधानी काठमाडौँ जानुभयो । नेपाली सेनामा कार्यरत उहाँकी साली पुनम रावलले तरकारी खेती गर्न काठमाडौँ आउन आग्रह गरेपछि लालबहादुरले पाँच वर्ष त्यतै व्यावसायिक तरकारी खेती गर्नुभयो ।

    “तीन रोपनी क्षेत्रफलमा १५ वटा टनेलमा तरकारी खेती गरिरहेको थिए । त्यहाँ बजारको कुनै समस्या थिएन, बारीमै बिक्री हुन्थ्यो । त्यो बेचेर वार्षिक सात लाखभन्दा बढी आम्दानी हुन्थ्यो । दुईवटा गाई थिए, दिनमा ३५ लिटर दूध बेच्थेँ, राम्रो थियो,” ऐडीले भन्नुभयो ।

    काठमाडौँमा सेवासुविधा र बजारको सहजता भए पनि आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले उहाँ पुनः गाउँ फर्किनुभयो । गाउँ फर्किएपछि व्यावसायिक खेती गर्ने सोचका साथ उहाँले हिमाल बहुउद्देश्यीय कृषि फार्म दर्ता गर्नुभयो । केही आफ्नै जग्गा र केही भाडामा लिएर उहाँले गोलभेँडा, लौका, काँक्रो, प्याज, काउली, बोडीलगायत विभिन्न किसिमका तरकारी लगाउनुभएको छ ।

    वार्षिक १५ लाखको तरकारी बिक्री

    व्यावसायिक खेतीमा जम्नुभएका लालबहादुरको बारीबाट वार्षिक रु १५ लाख बराबरको तरकारी बिक्री हुने गरेको छ । उत्पादित तरकारी सदरमुकाम मार्तडी, बाम्का लगायतका बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । उत्पादन भएको तरकारी घरमै आएर खरिद गर्ने व्यापारीदेखि स्थानीय बजारसम्म पुग्ने गरेको उहाँको भनाइ छ ।

    उहाँको बारीमा सबैभन्दा बढी गोलभेँडा छ । दैनिक ५० किलोसम्म बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । सबै तरकारी बिक्रीबाट वार्षिक रूपमा रु आठ लाख बचत हुने गरेको उहाँले सुनाउनुभयो ।

    परम्परागत रूपमा अन्नबाली उत्पादन गर्दै आउनुभएका ऐडीले त्यसबाट हुने आम्दानीको तुलनामा तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउनुभयो । थोरै क्षेत्रफलमा मेहनत र लगानी गर्न सके तरकारीबाट छोटो समयमै आम्दानी लिन सकिनेमा उहाँ ढुक्क देखिनुहुन्छ ।

    मेहनतअनुसार आम्दानी हुने भएकाले आफूलाई यो काममा सन्तुष्टि मिलेको उहाँको भनाइ छ । “यसमा काम धेरै छ, तर मेहनत गरेअनुसार आम्दानी पनि हुन्छ,” उहाँ भन्नुहुन्छ, “आफ्नै जमिनमा परिवारका सदस्य मिलेर काम गर्न सकिने भएकाले बाहिर गएर रोजगारी खोज्नुपर्ने वाध्यता हुँदैन ।”

    गाउँभरि फैलियो तरकारी खेती

    गडखेतमा ३५ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये हाल २५ परिवार व्यावसायिक तरकारी खेतीमा लागेका छन् । उनीहरूको मुख्य आम्दानीको स्रोत नै तरकारी बन्न थालेको छ ।

    ऐडीले सुरु गरेको व्यावसायिक खेती अहिले उहाँको व्यक्तिगत व्यवसायमा मात्रै सीमित छैन । उहाँको सफलताबाट प्रभावित भएर गाउँका अन्य किसानले पनि त्यसलाई अनुसरण गरेका छन् । यसले गाउँमा तरकारी उत्पादनको क्षेत्र विस्तार हुनाका साथै किसानको आयआर्जनको स्रोत बढाएको छ ।

    लालबहादुर काठमाडौँबाट गाउँ फर्किएर व्यावसायिक तरकारी खेती गर्ने गाउँकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । निर्वाहमुखी रूपमा सबैले उत्पादन गरे पनि व्यावसायिक रूपमा खेती गर्ने कोही थिएनन् । जब लालबहादुरले व्यावसायिक खेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभयो, त्यसपछि गाउँका धेरैजसो बारीमा टनेल देखिन थालेका छन् । “सुरुमा मैले मात्रै तरकारी खेती गरेको थिएँ,” ऐडीले भन्नुभयो, “तरकारी बिक्री गरेर राम्रो आम्दानी हुन थालेपछि गाउँका अरू किसानले पनि यसबाट राम्रो आम्दानी हुने रहेछ भन्ने ठानेर सुरु गर्नुभयो । यो मेरा लागि गौरवको विषय हो ।”

    एक जनाबाट सुरु भएको व्यावसायिक खेती विस्तार हुँदै गएपछि अहिले गाउँको पहिचान नै बदलिएको छ । खेतबारीमा देखिने टनेल, दैनिक बजार जाने तरकारीका भारी र त्यसबाट भइरहेको आम्दानीले गडखेतलाई तरकारीको पकेट क्षेत्रका रूपमा चिनाउँदै लगेको छ ।

    “मेरो दैनिक तीन भारीसम्म हुन्छ, अरूले एक–दुई भारी बजार पठाएकै हुन्छन्,” लालबहादुरले भन्नुभयो, “गाउँका सबै खुसी छन् । सीप सिकेर खान पायौँ, बिक्री गर्न पायौँ भनेर धन्यवाद दिइरहेका छन् ।” गाउँका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गर्न ऐडीले आफ्नो अनुभव पनि बाँड्दै आउनुभएको छ । कुन समयमा कुन तरकारी लगाउने, कसरी खेत तयार गर्ने, उत्पादन बढाउन के कुरामा ध्यान दिने लगायतका विषयमा आफूले जानेका कुरा अरू किसानलाई बताउने गरेको उहाँ सुनाउनुहुन्छ ।

    रोजगारी र आम्दानीको आधार

    तरकारी खेती लालबहादुरका लागि केवल आम्दानीको माध्यम मात्रै बनेको छैन, परिवारको रोजगारीको आधार बनेको छ । वर्षभरि खेतबारीमा काम गर्नुपर्ने भएकाले परिवारका सदस्यलाई कामको अवसर मिलेको छ ।

    विदेश वा सहरमा रोजगारी खोज्नुभन्दा आफ्नै गाउँमा व्यावसायिक कृषि गर्न सके आम्दानीको राम्रो स्रोत बनाउन सकिने उहाँको बुझाइ छ । तरकारी खेतीबाट नियमित आम्दानी हुन थालेपछि कृषि पेसाप्रति उहाँको विश्वास बढेको छ । “आफ्नै गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने मेरो अनुभव हो,” उहाँले भन्नुभयो, “तरकारी खेतीलाई व्यावसायिक रूपमा गर्न सक्ने हो भने परिवार पाल्न र आम्दानी गर्न समस्या हुँदैन ।”

    आगामी दिनमा उत्पादन अझै बढाउने योजना रहेको उहाँले सुनाउनुभयो । बजारको मागअनुसार उत्पादन विस्तार गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्ने उहाँको सोच छ । उहाँलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको साथ मिलेको छ । कृषि ज्ञान केन्द्र, बडीमालिकाले अनुदानमा वार्षिक टनेल तथा बीउ उपलब्ध गराउँदै आएको छ ।

    तरकारीमा आत्मनिर्भर बन्ने बाटोमा छ बाजुरा’
    कृषि ज्ञान केन्द्रका अनुसार बाजुरा अझै तरकारीमा आत्मनिर्भर हुन सकेको छैन । अन्य समयको तुलनामा बेमौसमी ‘सिजन’मा बाहिरबाट जिल्लामा आयात हुने गरेको छ । मौसमी सिजनमा भने निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो ।

    “मुख्य गरी पुस–माघ चिसो महिनामा बाहिरबाट तरकारी भित्रिने गरेको छ,” उहाँले भन्नुभयो, “अन्य समयमा भने निर्यात हुने गरेको छ । अब बिस्तारै बाजुरा तरकारीमा आत्मनिर्भर बन्दैछ ।” जिल्लाका नौवटै स्थानीय तहका विभिन्न स्थानमा व्यावसायिक खेती भएकाले विगतको तुलनामा आयात क्रमशः घट्दै गएको न्यौपानेले बताउनुभयो ।

    उहाँका अनुसार आर्थिक वर्ष २०८१\८२ मा जिल्लामा ५० लाख ७२ हजार २६७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । गत आर्थिक वर्षको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिँदै उहाँले उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो ।

  • सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

    सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

    बागलुङ, ३१ भदौः नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रुपमा डेङ्गु फैलिएको छ । बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ । जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सदरमुकाममा हाल घरैपिच्छे डेङ्गु सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ । दैनिकजसो डेङ्गु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ ।

    गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि भएको छ । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ । स्क्रब टाइफसको ५० प्रतिशत सङ्क्रमित गलकोट नगरपालिकामा देखिएको छ ।

    नेपालमै सबैभन्दा बढी डेङ्गु फैलिएको जिल्लाका रुपमा बागलुङ र पालिकाका रुपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनले बागलुङ डेङ्गुसहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको छ । “हामीले उच्च सतर्कता अपनाउँदै गए पनि सङ्क्रमणको दर उच्च रहेको छ भने धौलागिरि अस्पतालमा डेङ्गुका बिरामीको चाप उच्च रहेको छ,” शर्माले भने, “बागलुङ बजारमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेसँगै ग्यारेजका टायरसमेत जफत गर्न थालिएको छ ।”

    जिल्ला सदरमुकाममा दैनिक ३० देखि ५० जना सम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए । डेङ्गु नियन्त्रणमा तदारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


    काठमाडौँ, ३१ भदौः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तरराष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनमा नियमित सुरक्षा जाँचका क्रममा शङ्कास्पद देखिएका दुई कार्टुन चुरोट फेला परेको हो ।

    नयाँ बजारस्थित स्काई किङ लजिस्टिक प्रालिका सञ्चालक सुवास कुँवरमार्फत ती चुरोट अष्ट्रेलिया पठाउन लागिएको खुलेको छ । त्यसैगरी, गौश्वारा हुलाक कार्यालय, डिल्लीबजारमार्फत सगुन खड्काले कमलराज कार्कीको नाममा अष्ट्रेलिया पठाउन लागेको कार्गो सामान परीक्षण गर्दा शङ्कास्पद देखिएको थियो । थप जाँच गर्दा ‘शिखर आइस रुश’ चुरोट १५ बण्डल फेला परेको प्रहरीले जनाएको छ ।

    विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बरामद चुरोट आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो । प्रहरीले अवैध रूपमा चुरोट विदेश पठाउन खोजिएको घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने पक्राउ

    क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका बिकी लामा र आषिश खड्का, सोलुखुम्बुका नुवाङ शेर्पा र पाशाङ शेर्पा, सिन्धुलीका ज्योति मगर, दोलखाका नारायण खत्री छन् । यस्तै, काठमाडौँका दिल लामा, काभ्रेका अशोक लामा, नुवाकोटका सञ्जय तामाङ र ललितपुरका सविनमान श्रेष्ठ तथा धनकुटाका सुदीप अधिकारी छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले क्यासिनोमा चेकजाँच गरेको थियो । प्रहरीले घटनास्थलबाट मोबाइल नौ थान, रु ५० हजार अङ्कित क्वाइन आठ थान, रु १० हजार अङ्कित क्वाइन १९ थान, रु एक हजार अङ्कित क्वाइन ८८ थान र रु एक सय अङ्कित क्वाइन पाँच थान बरामद गरेको छ । यस्तै रु १० लाख ८५ हजार ६०० नगद बरामद गरिएको प्रवक्ता थापाले जानकारी दिए । पक्राउ परेकाविरुद्ध जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुलिने

    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुलिने

    काठमाडौँ, ३० भदौः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो ।

    मन्त्रालयले आज परिपत्र जारी गर्दै निजामती सेवा नियमावलीअनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिइ साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गर्ने व्यवस्था रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदासमेत रमाना नदिने, विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने गरेको पाइएको छ । यसले स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालय जनाएको छ ।

    मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन र अन्यथा कानुनबमोजिम हुने व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराएको छ । सरुवा भएका कर्मचारीलाई रमाना नगरी तलबभत्ता भुक्तानी गरेको पाइएमा लेखापरीक्षणका क्रममा उक्त विषयलाई बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न महालेखा परीक्षकको कार्यालयलाई र निर्णय कार्यान्वयनमा सहयोग गर्न मातहतका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरिदिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत आग्रह गरेको छ ।

  • नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौँ, ३० भदौः नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसङ्घका लागि माइक्रोनेसियाको सङ्घीय राज्यका स्थायी प्रतिनिधि जीम एस लिप्पवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको नेपाली नियोगले जनाएको छ ।

    सो अवसरमा दुवै राजदूतबीच राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा साझा चासोका विभिन्न विषयमा एक अर्कालाई सहयोग गर्नेबारे विचार आदानप्रदान भएको थियो । माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी टापु मिलेर बनेको एक द्विपीय राष्ट्र हो ।

    माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर छ भने अनुमानित जनसङ्ख्या एक लाख रहेको छ । नेपाल र माइक्रोनेसिया दुवै ‘जी ७७ चाइना समूह’का सदस्य हुन् ।

  • हराउँदै सुकुल भोज

    हराउँदै सुकुल भोज

    रेणुु त्वानाबासु\रासस

    ख्वप (भक्तपुर), ३० भदौ : नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ । नेवार समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा भोज हुने गर्दछ । यसलाई नेपाल भाषामा सुकु भ्वय अर्थात सुकुल भोज भनिन्छ । तर पछिल्लो समय सामूहिक रूपमा सुकुलमा बसेर खाने यो परम्परागत भोज विस्तारै हराउँदै गएको छ ।

    सुकुल भोज विस्तारै मृत्यु सस्कार र गुठीको भोजमा मात्र सीमिति भएको देखिन्छ । अन्य शुभकार्य जस्तै ब्रतबन्ध, बेलविवाह, गुफा, पास्नी, विबाहलगायतका भोज अधिकांश भोज पार्टी प्यालेस तथा आधुनिक सभाहलमा आयोजना हुन थालेका छन् । सुकुलको स्थानमा अहिले कुर्सी र टेबलले लिन थालेका छन् । संस्कृति अध्ययनकर्ता गणेश रञ्जितकार बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता र आधुनिक पहिरनका कारण सुकुल भोजको प्रचलन घट्दै गएको बताउनुुहुन्छ । सुकुल भोजमा लामो समयसम्म बसेर क्रमशः परिकार खानुपर्ने भएकाले अहिलेको व्यस्त जीवनशैलीसँग यसको तालमेल नमिलेको उहाँ बताउनुहुन्छ ।

    सुकुल भोजमा लामो समय पलेंटी कसेर बस्नुपर्ने भएकाले आधुनिक पहिरन पनि यसको प्रचलन घट्नुको एउटा कारण बनेको उहाँको बुझाइ छ । ‘वानपिस’, स्कर्ट, गाउन, पाइन्ट, हाफ पाइन्ट तथा लेहेंगालगायतका पहिरनमा सुकुलमा लामो समय बस्न सहज नहुने भएकाले नयाँ पुस्ता आधुनिक भोजतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । नेवार समुदायका मानिस यो भोजमा खुबै रमाउँथे । सबै जना मिलेर रमाइलो गर्दै भोज खान्छन् र खुवाउँछन् पनि”, भक्तपुर थिमीकी सुमित्रा श्रेष्ठको अनुमान छ, “हिजोआज मानिसको बेफुर्सदी बढेको छ । यो भोज तुलनात्मक रूपमा खान लामो समय लाग्छ, त्यसकारण फेज आउट भएको होला ।”

    बदलिँदो जीवनशैलीसँगै मानिसको दैनिक व्यस्तता बढेको छ । परिवारका सदस्य तथा आफन्तसँग लामो समय बसेर भोज खाने समय निकाल्न कठिन हुन थालेपछि परम्परागत सुकुल भोजको अभ्यास पनि घट्दै गएको उहाँको पनि उही बुझाइ छ । सुकुल भोज हराउनुका एक होइन, अनेक कारण देखिन्छ । समय धेरै लाग्ने, पलेँटी कसेर बस्नुपर्ने भएकाले फरकफरक पोशाकमा बस्न नमिल्ने, आफूलाई मन परेको परिकार मात्रै लिएर खान नमिल्ने तथा साथीभाइसँंग गफ गरेर खान नमिल्ने जस्त विभिन्न कारणले सुकुल भोज विस्तारै अलोकप्रिय बन्दै गएको अनुमान छ । सुकुल भोजमा परालबाट बनेको सुकुलमा लहरै बसेर विभिन्न परिकार खाने गरिन्छ । परिवारका सदस्य, आफन्त तथा नातेदारको जमघट गराउनु र आपसी आत्मीयता बढाउनु भोजको मुख्य उद्देश्य हुने गर्दछ ।

    सीमित भएकै हो त सुकुल भोज ?

    संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले मृत्यु संस्कार र गुठी भोजमा मात्र सीमित हुँदै गएको छ । उहाँका अनुसार पहिले नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा तथा सामाजिक संस्कारमा सुकुल भोजको व्यापक प्रचलन रहे पनि पछिल्लो समय यसको प्रयोग निकै साँघुरिएको छ ।

    सुकुल भोज अहिले नेवार समुुदायको मृत्यु संस्कार जुन न्हेनुुमा ९७ दिनमा०, लत्या ९४५ दिनमा०, खुल्हा ९६ महिनामा०, दाकिला ९एकवर्षमा० र वर्षेपिच्छे हुने मृत्युु संस्कारको बेलामा मात्र सुुकुल भोज खाएको देखिन्छ । यसमा नयाँ पुस्ता खासै समावेश भएको हुँदैन । मृत्यु संस्कारमा खुशीयाली रमझम गर्न नहुने, यस्ता भोज औपचारिकताका लागि मात्रै हुने, युवा पुस्ता सहभागी नहुनेलगायतका कारण अहिले सकुल भोजको लोकप्रियता विस्तारै कम भएको देखिन्छ । नेवार समुदायमा भोज केवल खानपानको विषय मात्र होइन, यसले सामाजिक सम्बन्ध, सामूहिकता, आपसी सहयोग र सांस्कृतिक पहिचानलाई समेत जोड्ने हुँदा सुकुल भोज हराउँदै जानु भनेको एउटा खाने शैली हराउनु मात्र नभई त्यससँग जोडिएका सामाजिक तथा सांस्कृतिक अभ्यास कमजोर हुनु पनि हो ।

    संस्कृतिप्रेमी सत्यराम सुवालका अनुसार यस्ता परम्परालाई जीवित राख्न नयाँ पुस्ताको सहभागिता आवश्यक छ । परम्परात पुस्ताले नयाँं पुस्तालाई हस्तान्तरण गरे मात्र जीवित रहन्छ, नयाँ पुस्तालाई सुकुल भोजको महत्व बुझाएर व्यवहारमै सहभागी गराउनुपर्छ,” सुवालको भनाइ छ । सुकुल भोजलाई नेवार समुदायको महत्वपूर्ण मौलिक परम्पराका रूपमा संरक्षण गर्नुपर्ने बताउनुहुन्छ उहाँं । उहाँका अनुसार आधुनिक जीवनशैली र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण यस्ता परम्परागत अभ्यास विस्तारै ओझेलमा पर्दै गएका छन् ।

    परम्परागत संस्कृतिको संरक्षण गर्नु भनेको केवल सुकुलमा बसेर खाना खाने शैली जोगाउनु मात्र नभई त्यससँग जोडिएको सामूहिकता, आपसी आत्मीयता, परम्परागत ज्ञान र सांस्कृतिक पहिचानलाई समेत संरक्षण गर्नु हो । त्यसैले आधुनिकतासँगै भोजको स्वरूप परिवर्तन भए पनि सुकुल भोजको मौलिकता र महत्वलाई पुस्तान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसैले टोलटोलमा भएको चोकलाई संरक्षण गर्नुपर्ने नेवारी परम्परा प्रेमीहरुको भनाइ छ ।

    पार्टी प्यालेसमा खुवाइन्छ त सुकुल भोज ?

    धेरैजसो पार्टी प्यालेसमा सुुकुल भोज खुवाउने व्यवस्था भएको देखिदैन । त्यसैले कसैकसैले शुभकार्यको भोजमा सुुकुल भोज खुुवाउन चाहेर पनि खुवाउन नसकेको देखिन्छ । भक्तपुरका केही पार्टी प्यालेसमा भने कुुर्सीमा बसेर लहरै टेबलमा सुकुल भोज खुवाउने गरेको पनि भेटिन्छन् । एकथरीका मानिस सुुकुल भोज सबै पार्टीमा खुवाउनपर्ने नियम बनाउनुुपर्नेमा पनि जोड दिने गर्दछन् ।


    नयाँ पुस्तालाई यसको महत्व बुझाउन नसके भविष्यमा यो केवल इतिहासको विषय बन्न सक्ने सुवालको विश्लेषण छ । ‘‘सुकुल भोज नेवार समुदायको महत्वपूर्ण मौलिक परम्परा हो, यसको प्रचलन घट्दै जानु चिन्ताको विषय हो” उहाँले भन्नुभयो । यस्तै अवस्था रहे मृत्यु संस्कार र गुुठीमा भइरहेको सुुकुुल भोज पनि छिटै पार्टी प्यालेसमा रात्रि भोजमा परिवर्तन हुन धरै समय नलाग्ने बताउँदै उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ, ‘‘कुनै बेला भक्तपुरमा सुुकुल भोज हुन्थ्यो भन्ने दिन पनि नआउँला भन्न सकिदैन ।’’ नयाँ पुुस्तालाई सुुकुल भोजको महत्व बुझाउनुपर्ने हुन्छ, उहाँंहरु बताउनुुुहुन्छ । काठमाडौँ, ललितपुर र अन्य नेवार बस्तीमा सुकुल भोज खुवाउने परम्परा विस्तारै लोभ भइसकेको उहाँले दृष्टान्त दिनुभयो ।

    कहाँ र कसरी खुवाइन्छ सुकुल भोज र?

    भक्तपुर नगरपालिका–७ बस्ने केशव त्वानाबासुले पहिला पहिला घरको अगाडि रहेको चोकचोक, बाटोमा सुकुल भोज खुुवाउने चलन रहेको सुुनाउनुुभयो । फुर्सदमा बोराबाट बनाएर पाल टाँगेर बास ठहराएर पाल टाँगेर एक हप्ता लामोसम्म भोज खुवाउने चलन रहेको उहाँ सुुनाउनुहुन्छ । तर अहिले भने यो मृत्यु संस्कार र गुुठीको भोजमा मात्र सीमित भएको उहाँ सुनाउनुुहुन्छ । अहिलेको नयाँ पुस्तामा सहयोगको भावना नभएको उहाँले बताउनुुभयो ।

    यो भोजमा लस्करै बसेर ९झ्वः भ्वय्० खाइन्छ । भोजमा आमन्त्रित पाहुनाहरू सुकुलमा पलेटी कसेर लस्करै बस्नुपर्छ । भोजमा सुरुमा चिउरा र विभिन्न परिकारहरू (छ्यापी, भटमास, साग, आलु तामा, मासु आदि) क्रमैसँग पस्कने परम्परा छ । लहरै बसेको माथिल्लो पहिलो व्यक्तिदेखि अन्तिम व्यक्तिसम्म सबैलाई भोज नराखेसम्म र माथिल्लो सदस्यले खान सुरु नगरेसम्म कसैले खान पाउँदैनन् यो भोजमा ।

    सुकुल भोजमा आफूलाई मन लागेको परिकार मात्र लिएर खाइसकेपछि तत्काल उठ्ने सुविधा हुँदैन । यो भोजमा परम्परागत विधि अनुसार भोजमा सहभागीलाई लहरै बसाएर क्रमशः विभिन्न परिकार पस्कने गरिन्छ । सबै परिकारको पालो पूरा भएपछि मात्र भोजबाट उठ्ने चलन छ । “पार्टी प्यालेसमा हुने भोजमा आफूलाई मन लागेको परिकार लियो, खायो र उठ्यो गर्न सकिन्छ,” स्थानीय युवा श्रीओम धौभडेलले भन्नुभयो, “तर सुकुल भोजमा त्यसरी हुँदैन । लहरै विभिन्न परिकार ल्याइन्छ र नटुङ्गेसम्म उठ्न पाइँदैन ।”

    नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण तथा गुठीका विभिन्न अवसरमा सुकुल भोज गर्ने परम्परा रहेको छ । परिवारका कुनै सदस्यको मृत्यु भएपछि गरिने मृत्यु संस्कारसँग पनि यसको महत्वपूर्ण सम्बन्ध छ । पहिले विभिन्न जात्रा तथा चाडपर्वमा समेत सुकुल भोज गर्ने चलन रहेको थियो । तर अहिले अधिकांश भोजभतेर पार्टी प्यालेसमा आयोजना गर्न थालिएपछि सुकुल भोज गुठी तथा मृत्यु संस्कारमा बढी सीमित हुन पुगेको छ ।

    स्वास्थ्यवर्द्धक मानिन्छ परम्परागत भोज

    संस्कृतिविद्हरुका अनुसार परम्परागत नेवारी भोजमा विभिन्न किसिमका परिकारको सन्तुलित संयोजन हुने भएकाले यसको आफ्नै स्वास्थ्यसम्बन्धी महत्व पनि रहेको छ । तर अहिलेको पुस्ताले यस्ता परिकार तयार पार्न समय र श्रम लाग्ने भन्दै आधुनिक भोजलाई प्राथमिकता दिन थालेको देखिन्छ ।

    “परम्परागत नेवारी भोज स्वास्थ्यवद्र्धक हुने भए पनि अहिलेको पुस्ताले यसलाई तयार पार्न झन्झट मान्न थालेको छ,” एकजना युवा सुमन कवांँले भन्नुभयो, “पार्टी प्यालेसमा डिनर खाँदा छिट्टै भोक मेटिएजस्तो हुन्छ र केही समयपछि फेरि भोक लाग्न सक्छ । कहिलेकाहीँ पेटमा समस्या पनि हुने गरेको हुन्छ ।” सुकुल भोजमा विभिन्न किसिमका अन्न, गेडागुडी, सागसब्जी, मासु, अचार तथा दुग्धजन्य परिकारको संयोजन हुने गर्दछ । परम्परागत रूपमा परिकारलाई निश्चित क्रममा पस्कने र खाने गरिन्छ ।

    के–के परिकार हुन्छन् सुकुल भोजमा ?

    नेपाल भाषामा ‘झ्व भ्वये’ भनेर समेत चिनिने सुकुल भोजमा परम्परागत नेवारी परिकारको विविधता पाइन्छ । यसमा चिउरा, अचार, हरियो लसुन, द्याकागु ला अर्थात् झोल भएको राँगाको मासु, केराउ, चना, सिमी, सिम्पुलगायतका गेडागुडीका परिकार समावेश हुन्छन् । त्यसैगरी काउली, आलु, छ्याला अर्थात् तामाको झोल भएको तरकारी, तकोला अर्थात् ठूलाठूला टुक्रा पारिएको राँगाको मासु, हरियो साग, अमिलो, भुटन र दहीलगायतका परिकार पस्कने गरिन्छ ।

    भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाजर तथा फलफूलका केही टुक्रा सलादका रूपमा राख्ने रम्परा छ । परिकारको विविधता मात्र नभई तिनलाई निश्चित क्रममा पस्कने र खाने शैली पनि सुकुल भोजको विशेषता हो ।

    कहिलेदेखि सुरु भयो सुकुल भोज ?

    सुकुल भोजको सुरुवात ठ्याक्कै कुन समयदेखि भयो भन्ने यकिन प्रमाण नरहेको संस्कृतिविद्हरु बताउँछन् । नेवार समुदायले आफ्नो परम्परा, सामाजिक संरचना र सभ्यताको विकास गर्ने क्रममा सामूहिक रूपमा खाना खाने संस्कृतिको विकाससँगै सुकुल भोजको परिकल्पना गरेको हुनसक्ने उहाँहरुको भनाइ छ । सुकुल भोजसँग जोडिएको सामूहिकता, आत्मीयता, परम्परागत खानपान र सामाजिक सहभागिता नेवार समुदायको सांस्कृतिक पहिचानको महत्वपूर्ण पक्ष हो । आधुनिक जीवनशैलीसँगै यसको अभ्यास घट्दै गए पनि यसको मौलिक स्वरूप र सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउनसके संरक्षण गर्न सकिने संस्कृतिविद्हरू बताउँछन् ।

    प्राचीनकालमा काठमाडौँ उपत्यकाका राजाहरूले राज्यमा सम्पन्नता र एकता झल्काउन ठूला–ठूला सामूहिक भोजहरूको आयोजना गर्दथे । सुरुका दिनहरूमा भोजमा बस्दा धनी, गरिब, उच्च ओहोदाका र सर्वसाधारण व्यक्तिहरूबीच विभेद हुने गथ्र्यो । हुनेखानेहरू चकटी वा महङ्गा कपडाका आसनमा बस्थे भने गरिबहरू खाली भूइँमा बस्नुपथ्र्यो । यो विभेद र असमानतालाई हटाउन मल्ल राजा र तत्कालीन संस्कृतिविद्हरूले एउटा नियम बनाए—भोजमा सरिक हुने सबैजना परालबाट बुनिएको एउटै लामो सुकुलमा लहरै बस्नुपर्ने । सुकुलमा बसेपछि राजा, मन्त्री, धनी वा गरिब कोही पनि सानो–ठूलो नहुने र सबैको हैसियत समान हुने मान्यता राखियो । यही सामाजिक समानता र आत्मीयताको भावना जगाउन नै ‘सुकुल भोज’ को सुरुवात भएको किम्बदन्ती छ ।

  • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

    मुस्ताङ, ३० भदौ ः प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका छन् । प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।


    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१आँै महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधानलगायतका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेको शुभकामना सन्देशमा उल्लेख छ । यसैगरी, जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

    विश्व व्यापीरुपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरु पग्लिने, हिम चट्टान टुक्रिने, हिमालहरु फुट्ने हिम नदीहरुको बहाव बढ्ने, पानीका मुहानहरु सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउनेलगायतका समस्याहरु हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधितामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ । हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुसी व्यक्त गर्नुहँदै प्रधानमन्त्री वालेन्द्र शाहले शुभकामना सन्देशमार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताए ।


    स्थानीय घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छिन् । सो सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ । हिमपहिरोबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले अपुरणीय जनधनसहित भौतिक सम्पत्तिको क्षति पुर्याएको तथा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा भइरहेको सो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

  • बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

    बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

    काठमाडौँ, ३० भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गरेका छन् । सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगरले विपत्तिमा परेकाहरूका लागि मानसिक स्वास्थ्यको उपचारलगायत अत्यावश्यक विषयको सम्बोधन सरकारले गर्नुपर्ने बताइन् ।


    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले बाढीमा हराएका व्यक्तिको डिएनको परीक्षणको प्रतिवेदन कहिले आउँछ भन्ने प्रश्न पीडित परिवारबाट आफूहरूलाई प्रश्न आउन थालेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बाँस्कोटाले अस्पतालको बाढीमा परेर घाइते भई अस्पतालको सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यले स्वास्थ्य र सञ्चार क्षेत्रका संहितामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरिन् ।


    नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता रहेका व्यक्तिहरूको पीडा जटिल बन्दै गएकाले खोजीमा तीव्रता दिन आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले मोटरसाइकलमा सल बेरिएर मृत्यु भएका महिलाको उदाहरण प्रस्तुत गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षालगायत विषयमा ध्यान दिन आग्रह गरे ।


    नेकपाका सांसद पार्वती विकले सहरमा दलितहरूले कोठा नपाउने समस्यालाई लिएर एक चेली लामो समयदेखि सडकमा रहेकाले यस्ता माग सम्बोधनका कानुन ल्याउन माग गरिन् । रास्वपाका सांसद मनिष खनालले आफ्नै श्रीमतीलाई समेत हत्या गर्ने प्रवृत्ति देखिएकाले यस्ता घटना किन दोहोरिन्छ भनेर अध्ययन र कडा कारवाही गर्न माग गरे ।


    सोही पार्टीका सांसद सुनील केसीले मनोहरा खोलामा गए राति आएको बाढीका कारण असुरक्षा भएकाले सचेतना अपनाउन आग्रह गरे । सांसद दीपकुमार साह (महोत्तरी) ले व्यक्ति सम्बन्ध वा सामाजिक विवाद कारण ज्यानै लिने जस्ता घटनामाथि अनुसन्धान र कारबाही गर्न आग्रह गरे । नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले दैवी प्रकोपका घटनामा स्थानीय तहसँग पर्याप्त नहुने भएकाले राहत र उद्धार कामले तीव्रता पाउन नसकेको बताए ।


    रास्वपाका सांसद मोहनलाल आचार्यले बाँडेगङ स्थितिबारे ध्यानाकर्षण गराए । सोही समयमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढा, रास्वपाका सांसद गोविन्द पन्थी, नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले बाढी पहिरो र रोकथामका साथै सडक दुर्घटनाको गम्भीर अवस्थाबारे ध्यान दिन आग्रह गरे ।

  • बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

    काठमाडौँ, ३० भदौः काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
    आज बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।

    दुर्घटनामा स्कुटर चालक बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलका २२ वर्षीय समिर श्रेष्ठ गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार सोही स्थानकी २१ वर्षीया आयुष्मा मगर पनि घाइतेको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

  • ‘शताब्दी घर’मा लाखेको बिदाइ….

    ‘शताब्दी घर’मा लाखेको बिदाइ….

    गण्डकी, ३० भदौः तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ । बर्खे नाचले चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गर्ने गरिन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि भदोरै जात्राको रौनक सुरु हुने भएपनि नेवार जातिको लोकप्रिय नाच लाखे भने गठेमङ्गल पर्वदेखि नचाउने चलन छ ।

    ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले पर्वमय माहोलको छनक दिने गर्छन् । पर्वतको कुश्मास्थित ‘शताब्दी घर’को आँगन पनि सोमबार साँझ लाखे नाचले गर्मायो । पुरानो बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजले यस वर्षको अन्तिम लाखे नाच प्रदर्शन गरेको थियो । यससँगै वर्षदिनका लागि लाखे नाचलाई बिदाइ गरिएको स्थानीयवासी जयन्द्रकुमार जोशीले बताए ।


    कुश्मामा साउन कृष्ण औँशी अर्थात् भुते औँशीदेखि तीजसम्म लाखे नाच देखाउने परम्परा रहेको उनको भनाइ छ । यसबीचमा रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गर्ने गरिएको जोशीले बताए । करिब अढाई वर्षदेखि कुश्मामा लाखे नाचको सुरुवात भएको मानिन्छ । “हामीले जान्दैखेरी लाखे नाच देखाउन सुरु गरिएको थियो, नेवारी संस्कृतिको संरक्षण गर्न बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छौँ”, उनले भने ।


    नेवार समुदायले निकाल्ने लाखे नाचमा अन्य जातजातिको पनि सहभागिता रहने गरेको छ । लाखे बनेर नाच्ने काम नेवार समुदायका व्यक्तिबाट हुने भए पनि यसको तयारीदेखि व्यववस्थापकीय काममा कुश्मावासी सबैको हातेमालो रहँदै आएको छ । संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठका अनुसार भदौरे जात्रामा लाखे नाचसहित गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच, बकुल्ला नाच आदि पर्छन् ।

    संरक्षण अभावमा बकुल्ला नाच र हनुमान नाच भने लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । विगतका वर्षमा झैँ यस वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत वेषभूषा र चरित्रमा लाखे नाच देखाइएको लाखे एकीकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठले बताए । “किंवदन्ती अनुसार भूतप्रेतहरू मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिउन् भन्नका लागि लाखे नाचको प्रचलन सुरु भएको हो”, उनले भने ।

    उनले लाखे नाचजस्ता नेवार समुदायमा प्रचलित परम्परागत नाच र संस्कृति पुस्तान्तरणको खाँचो औँल्याए । संरक्षणकर्मी आरके अदीप्त गिरीले लाखे नाच अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको बताए । “२५० वर्षअघि भक्तपुरबाट आएको यो परम्परालाई जोगाउन नेवार समुदायको सक्रियता मात्र पर्याप्त छैन”, उनले भने, “यसका लागि राज्यले नीतिगत प्रबन्धसहित दीर्घकालीन सहयोग गर्न आवश्यक छ ।”

    सदियौँदेखि मनाउँदै आइएका स्थानीय मौलिक कला, संस्कृति, पर्व, परम्परा र वेषभूषाको संरक्षण एवं सम्वद्र्धनका ‘शताब्दी घर’को परिकल्पना एवं संरक्षण गरिएको गिरीले बताए । लाखे जस्तै विभिन्न समुदायमा प्रचलित नाचगानलाई जोडेर ‘शताब्दी घर’ मा मासिक शृङ्खला सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ । समुदायसँगै स्थानीय तहले पनि कला, संस्कृति र सम्पदा संरक्षणमा ध्यान दिनुपर्ने गिरीले बताए ।
    के हो लाखे नाच ?

    लाखे नाच घण्टाकर्ण (गठेमङ्गल) पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किम्बदन्ती पाइन्छ । त्यसकै प्रतिक स्वरूप नेवार समुदायले बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छन् । नेवार जाति बसोबास गर्ने ठाउँ अनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । लाखे नाचको प्रचलन र यसको इतिबासबारे पनि विभिन्न तर्क पाइन्छन् ।

    लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरूप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा लाखे नाचको परम्परालाई धान्दै आएका छन् । सयौँ वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट आएका नेवार जातिले पर्वत, बागलुङलगायत ठाउँमा लाखेसहित विभिन्न जात्राका थिती बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउँछन् । यस्ता पर्व तथा जात्रालाई भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा लिइने गरिएको छ । हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् ।

    जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणीक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । नाचको कथा, पृष्ठभूमि, स्वरूप र शैली भने बेग्लाबेग्लै पाइन्छ । पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गएपनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् । नयाँ पुस्तामा पुरानो संस्कृतिप्रतिको मोह कम हुँदै जाँदा परम्परागत नाच संरक्षणमा चुनौती थपिएको छ ।

  • प्रतिनिधिसभाः महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभाः महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ, ३० भदौः सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज गराउन र जनतालाई सहुलियत दिन सरकारसँग माग गरे ।


    सांसद वदनकुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको भन्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न माग गरे । सांसद प्रकाशचन्द्र परियारले नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन र अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन माग गरे । सांसद चन्द्रमोहन यादवले लोकतन्त्रमा नागरिकलाई त्रसित बनाउने कार्य स्वीकार्य नभएको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।


    सांसद जगतप्रसाद जोशीले भारतीय सीमावर्ती क्षेत्रमा लागुऔषध दुव्र्यसनीको समस्या भयावह बन्दै गएको भन्दै लागुऔषधको ओसरपसार र सेवन रोक्ने प्रभावकारी योजना सञ्चालन गर्न माग गरे । सांसद जगदीश खरेल (ललितपुर)ले भोटेकोशी बाढी मानव सिर्जित र प्राकृतिक विपद् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालय मातहतको राहत कोषको नाम परिमार्जन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरे ।


    सांसद जनकसिंह धाँमीले कञ्चनपुरका विभिन्न भेगमा अलपत्र सडक पूर्वाधार तत्काल सम्पन्न गर्न माग गरे । सांसद झविलाल डुम्रेले स्याङ्जाको वालिङ नगरपालिकामा ५० शय्यासम्म सञ्चालन गर्न सकिने अस्पताल भवन निर्माण भएको महिनौँ भइसकेको भन्दै तत्काल गण्डकी प्रदेश सरकारसँग समन्वय गरी अस्पताल सञ्चालन गर्न माग गरे ।


    सांसद टुकाभद्रा हमालले नागरिकको जीवनभन्दा अस्पतालको बिल ठूलो हुने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद ठाकुरसिंह थारुले वैदेशिक रोजगारमा रहेका नागरिकले भोगिरहेका समस्या समाधान गर्न सरकारसँग माग गरे ।


    सांसद तारा विश्वकर्माले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षितस्थलमा दीर्घकालीन पुनःस्थापना गर्न माग गरे । सांसद ताहिर अलि भाटले आइतबारको सार्वजनिक बिदाले शैक्षिक क्षेत्रमा असर गरिरहेको भन्दै तत्काल उक्त बिदा पुनःरावलोकन गर्न सुझाव दिए । सांसद दीपकराज बोहराले रसुवा बाढीबाट कञ्चनपुरका २६ जना नागरिक बेपत्ता भएको भन्दै उनीहरूको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन माग गरे ।


    सांसद देवराज पाठकले दाङको भालुवाङ बजारमा १७ परिवारको छ बिगा सात कठ्ठा दुई धुर जग्गा सशस्त्र प्रहरी बलले कब्जा गरेको भन्दै जनताको सम्पत्ति आजसम्मको क्षतिपूर्तिसहित फिर्ता गर्न माग गरे ।
    सांसद धनबहादुर बुढाले डोल्पालगायत हिमाली क्षेत्रको शैक्षिक क्यालेण्डर परिमार्जन गरी मङ्सिरभित्रै शैक्षिक सत्र सम्पन्न हुने व्यवस्था गर्न माग गरे । सांसद धर्मराज केसीले प्राकृतिक विपत्तिपछि नेपालले विभिन्न निकायबाट प्राप्त गरेका रकम कहाँ, कति खर्च भयो भनेर तेस्रो निकायबाट ‘अडिट’ गर्न सुझाव दिए ।

    सांसद नरेन्द्रकुमार केरुङले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेजीको निर्णयले बौद्धमार्गी चिन्तित भएका जनाउँदै सो निर्णय फिर्ता लिन माग गरे । सांसद नरेन्द्रकुमार गुप्ताले भोटेकोशी बाढीबाट पाठ सिकेर नदी करिडोर क्षेत्रमा रहेको जोखिमपूर्ण वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारलाई सुझाव दिए ।


    सांसद नितिमा भण्डारी कार्कीले भोटेकोशी बाढीमा हराइरहेका पेशाकर्मीका ठाउँमा उनीहरूको परिवारका योग्य सदस्यलाई रोजगारी र सामाजिक सुरक्षा दिन आग्रह गरिन् । सांसद निराशा चौधरी डगौराले सरकारका विभिन्न निकायमा काम गरिरहेका करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग गरिन् । सांसद निश्कल राईले इलामस्थित विभिन्न चिया बगानमा रासायनिक मल र कीटनाशक विषादी प्रयोग भइरहेको पाइएको भन्दै यसको प्रयोगमा रोक लगाउन माग गरे ।


    सांसद निनुकुमारी कर्णले जेनजी आन्दोलनका क्रममा महेन्द्रनारायण निधिको घरमा आगजनी गर्ने व्यक्तिले खुलेआम अराजक अभिव्यक्ति दिइरहेको भन्दै आपराधिक मानसिकता भएका व्यक्तिलाई कानुनी कारबाही गर्न माग गरिन् । सांसद पवित्रा विकले बागवानी विकास केन्द्रलगायत अन्य कृषि निकायमा काम गर्ने एक हजार ५०० बढी प्राविधिक कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय फिर्ता लिन माग गरिन् ।


    सांसद पुकार बमले भोटेकोशी बाढी प्रभावित परिवारलाई क्षतिपूर्ति, राहत, बीमालगायत प्रक्रियामा हुने प्रशासनिक झन्झट अन्त्य गर्न माग गरे । सांसद प्रशान्त उप्रेतीले मकवानपुरका राक्सीराङ, कैलाश, थाहा, भीमफेदीलगायत क्षेत्रमा भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।


    सांसद प्रेमबहादुर बयकले निर्वाचनका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका सर्वसुलभ शिक्षा, स्वास्थ्यलगायत जनअपेक्षा पूरा गर्न माग गरे । सांसद पूर्णप्रसाद लिम्बू, प्रकाश पाठक, प्रकाशसिंह कार्की, प्रदीप विष्ट, प्रमिला कुलुज, प्रमेशकुमार हमाल र प्रेमलाल चौधरीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

  • प्रतिनिधिसभाः राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग

    प्रतिनिधिसभाः राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग


    काठमाडौँ, ३० भदौः प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरिन् । सभाको बैठकमा उपनेता अर्यालले सरकार र अन्य पक्षले राहत, खोज, उद्धार, पुनःनिर्माणका भइरहेका कामलाई तीव्रता दिन विदेशीसमेतको सहयोग समयमा लिनेगरी सरकारले पहल गर्न नसकेको टिप्पणी गरिन् ।


    उनले राजनीतिक दल, स्थानीय तह, समुदाय र विभिन्न समूहलाई परिचालन गरेर पुनःस्थापनाका लागि पहल गर्नुपर्ने भूकम्पपछिको पुनः निर्माणको विगतको अनुभवलाई ध्यान दिन आग्रह गर्दै त्यस्ता काममा आफूहरूसरकारसँग हातेमालो गर्न तयार रहेको स्पष्ट गरिन् ।

    पुनः निर्माणका लागि स्वायत्त र अधिकारसम्पन्न विशेष निकाय (प्राधिकरण) गठन र अन्तरारष्ट्रिय समुदायको सहयोगमा द्रूत गतिमा काम गर्न सुझाव दिँदै जलवायु परिवर्तनका कारण नेपाले भोग्नुपरेको क्षति र पाउनुपर्ने न्यायबारे सशक्त आवाज उठाउन आग्रह अर्यालले गरिन् । उनले बजारमा खाना पकाउने ग्यासको अभाव, मूल्यवृद्धि आदिबारे सरकारको ध्यानाकर्षण गराइन् ।

  • पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

    पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

    काठमाडौँ, ३० भदौः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गरेका हुन् । पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा उनले अपिल गरेका छन् ।


    पार्टीको संस्थापन पक्षले १५औँ महाधिवेशनको कार्यतालिका (आगामी असोज १६ देखि १९ गतेसम्म) सार्वजनिक गरी एकपक्षीय ढङ्गले अघि बढ्न खोजेको उनको आरोप छ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको दाबी उनको दावी छ ।

    पूर्वसभापति देउवाले भोटेकोशी बाढीबाट ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले बाढीमा बेपत्ता भएका व्यक्तिको खोजी र उद्धारमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गरेका छन् ।

  • बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

    काठमाडौँ, ३० भदौः सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार क्युरेनीटार र बेल्खु भुतियामा रहेका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ । त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ । यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

    साथै बाढीबाट प्रभावित थप आठ वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढाइएको छ । मर्मतमा आवश्यक ‘डेक’लगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइ पहिलो चरणको सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पाट्र्स खरिद प्रक्रिया अघि बढाइएको छ । यसबाहेक उक्त करिडोरमा पूर्ण रुपमा क्षतिग्रस्त ३३ वटा झोलुङ्गे पुलको पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान भइसकेको मन्त्रालयको भनाइ छ । पुल निर्माण तथा मर्मतका लागि अत्यावश्यक मानिने लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायत सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो ।

  • गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार

    गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार

    काठमाडौँ, ३० भदौः गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२–८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ । राष्ट्र बैंकका अनुसार आव २०८१–८२ मा भने रु तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२–८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१र८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा २०८१–८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो ।

  • मकवानपुरमा भ्यान दुर्घटना, चारको मृत्यु, चार घाइते

    मकवानपुरमा भ्यान दुर्घटना, चारको मृत्यु, चार घाइते

    हेटौँडा, ३० भदौः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको इभी आज दिउँसो २ः०० बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ । घाइते दुई पुरुष र दुई महिलामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौँ तथा एक महिलालाई हेटौँडा पठाइएको छ । गाडीमा चालकसहित आठ जना सवार थिए । मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए ।

  • सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सर्लाही, ३० भदौः सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोडैता नगरपालिका–५, रामवनस्थित भित्री सडक खण्डमा प्रदेश २–०३००१७ प ७१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँकी ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते देवीलाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    यस्तै सर्लाहीको बरहथवा नगरपालिका–३, सानो खुरखोटीमा घरको भ¥याङबाट लडेर ४० वर्षीय सुनिता माझीको मृत्यु भएको छ । घरको भ¥याङ चढ्ने क्रममा लडेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल बारा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

  • ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    काठमाडौँ, ३० भदौः भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । बागमती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।

    रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

    रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।


    आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजैदेखि समापन भएको छ ।

  • भोटेकोशी बाढी : चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

    भोटेकोशी बाढी : चिन्तित छन् त्रिशूली किनारका बासिन्दा


    चितवन, ३० भदौः यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् । उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ । इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आउनुभएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन् । आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छिन् । उनले भनिन्, “बाढी देखेका थियौ । यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले उनलाई सताइ रहेको छ । ”

    मुग्लिन बजारमा बिगत ४५ वर्षदेखि आमा होटल चलाउँदै आएकी कोपिला गौचन वर्षात् हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउँछिन् । यही भदौ १० गतेदेखि उनले न फोन अफ गर्न सकेकी छिन्, न त रातिमा राम्रोसँग निदाएकी छिन् । उनले भनिन्, “कतै फोन गरेर घर छोड बाढी आउँदै छ की भन्ने सूचना आउँछ की भन्ने डर छ ।” अझै आफूहरु असुरक्षित रहेको महसुस आफूलाई भएको उनले बताइन् ।


    अहिले खोला सुसाउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । अझै चिन्तामा बस्नुपरेको बताउँदै उनले अब केही राहत हुन्छ की भन्ने लागेको बताइन् । उनले थपिन, “पुख्र्यौली काम छोड्नुभएन अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन ।”
    स्याङ्जा स्थायी ठेगाना भई बिगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आएका सेख अलाउदीन मियालाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी वेखबर भएपछि आफू त्यस्तै हुने हो की भन्ने चिन्ताले उनलाई सताइ रहेको छ । खोलामा पानीको बहाव बढ्दै गर्दा कुनै चिन्ता नहुने भए पनि भदौ १० गतेको भोटेकोशी बाढीपछि उनलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ ।

    साना बालबालिका लिएर बस्नुपर्ने त्यहीमाथि त्रिशूलीको डर उनले दुःखेसो सुनाए । अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्न डर हुन लागेको उनको गुनासो छ । त्रिशूलीमा ‘¥याफ्टिङ’ गर्न आएकालाई खाना खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने की के गर्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गरेका साथीहरुले छाडेर गएपछि आफू दोधारमा रहेको बताउँदै उहाँले विनाशकारी बाढीपछि व्यवसाय र आफ्नो जीवन नै जोखिम बढेको बताए । उनले भने, “बाढीसँग डर होइन विनाशकारी बाढीसँग अझै हामीलाई डर छ ।” पृथ्वी राजमार्गमा रहेको विनय गेष्ट हाउस तथा खाजा घरका सञ्चालक उनले वर्षात सुरु भएपछि हामीलाई त्रास बढ्ने भन्दै अब के गर्ने सोचमा रहेको बताए ।


    अहिले पृथ्वि राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात बिताउन बाध्य छन् । अब फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर यो नदी कालिगण्डकीमा मिसिएपछि नारायणी बन्छ । त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानव बस्तीसँगै बजारहरु रहेका छन् । ती बस्ती पुराना हुन् । बिगतका वर्षहरुमा पनि बाढी आउने भए पनि यस वर्ष निकै ठूलो बाढी आएपछि ती तीन जिल्लामा ठूलो जनधनको क्षति भएको छ । क्षति हुन नपाएका बस्ती र बजार क्षेत्रका बासिन्दामा त्रास कायम रहेको हो ।

  • न्यून बेतनमा खेलकुदमा काम गर्छन् कठायत दाइ

    न्यून बेतनमा खेलकुदमा काम गर्छन् कठायत दाइ

    महेन्द्रनगर, ३० भदौः उमेर ६३ वर्ष । कर्णबहादुर कठायत उनको नाम । कञ्चनपुरको खेलकुद र कर्णबहादुर एकअर्काका परिपूरकजस्तो छ । उनलाई नचिन्ने कमै होलान् । कभर्डहल परिसरको रेखदेखदेखि कार्यालय सरसफाइ गर्नु उनको दैनिकी हो । खेलकुदमा ‘कठायत दाइ’का नामले परिचित छन् । सबैको आदरणीय कठायत दाइ भने सेवा सुविधामा सधैँ पछाडि पर्दै आएका छन् ।


    “विसं २०४५ मा गार्डका रूपमा काम गर्न खेलकुद कार्यालयमा भर्ना भएँ”, उनले भने, “२०४८ सालमा खेलकुद खारेजीमा पर्यो । केही वर्षपछि जागिर पनि गयो । त्यो बेला मासिक रु १२ हजार तलब थियो ।” जाजरकोटबाट दशकौँअघि बसाइँ सरेर कञ्चनपुरको महेन्द्रनगर आएका कठायतले जीवनका महत्त्वपूर्ण समय खेलकुद समितिलाइ खर्चिए । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको जिल्ला खेलकुद समितिबाट उहाँले नियमसम्मत् सेवा सुविधा पाउन नसकेको बताउँछन् ।

    “खेलकुद समितिले बस्नलाई कभर्डहल परिसरमै झोपडी बनाउन दियो । त्यही झोपडीमा तीन छोराको जन्म भयो”, उनले भने, “बिहान ४ः३० बजेदेखि बेलुकी ८ः०० बजेसम्म कर्भहलमा ड्युटी गर्नुपर्छ । रातिको समयमा पनि रेखदेखमा निस्किन्छु ।” मेरो घर भने पनि यही हो, सेवा पनि यही हो, सर्वस्व नै यही हो, तर सुन्नुपर्ने र देख्नुपर्ने निकायले नदेखे पनि मैले आफ्नो कर्म आजसम्म छाडेको छैन”, उनले भने ।
    खेलकुद समितिको कार्यालय सरसफाइदेखि हरेकजसो काममा सक्रिय कठायतले सेवासुविधा थपका लागि जिल्ला खेलकुदमा आउने हरेक नयाँ नेतृत्वसित गुहार माग्दै आए पनि सुनुवाइ नभएको गुनासो गर्छन् । “सरकारले हरेक क्षेत्रका कर्मचारीको न्यूनतम तलब तोकेको छ । मेरो त वर्षौँदेखि रु पाँच हजारभन्दा माथि गएन ।” खेलकुदकै जग्गामा राखेको चिया पसलले जीवन धानेको उनको भनाइ छ ।

    “अहिले मेरो तलब रु पाँच हजार छ । नाति÷नातिनीको स्कुलको शुल्क नै रु पाँच हजार ५०० छ”, उनले भने, “ कार्यालय सहयोगीको काम गरेँ तर सेवा सुविधा भने सोअनुसार भएन ।” वार्षिक पोशाक भत्ता भने पाइरहेको उनले बताए । जिल्ला खेलकुद समितिको अध्यक्ष कृष्णदेव पन्त भएका बेला २०६४ सालमा उनको मासिक तलब रु पाँच हजार कायम गरिएको थियो । त्यसयता उनको तलब सुविधा थपिएको छैन ।

    जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कार्यालय सहयोगीका रूपमा कार्यरत कठायत पुराना कर्मचारी भएको बताए । “उनले खेलकुदमा निकै दुःख गरे, केही दशकअघि रु हजारमा पनि काम गरे, अहिले उमेर बढी भएकाले नयाँ नियुक्ति दिन मिलेन”, कार्यालय प्रमुख भट्टले भने, “न्यून आयस्रोत भएको समितिले थोरै भए पनि तलब दिएका छौँ ।” उनले समितिको आयस्रोत निकै न्यून रहेको जानकारी दिए । राससबाट

  • कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालन

    कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालन


    नारायणगढ (चितवन), ३० भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो । परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो । नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।

    उनले भने, “सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ ।”, उनका अनुसार निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।

    हाल नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ । सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको उनले बताए । सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको उनले बताए ।


    उनले भने, “यो खण्ड अलिकति जोखिम छ । थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ ।” नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए । उनले परीक्षणका लागि मात्र आइतबार केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्याक पूर्णरूपमा बन्द रहेको जानकारी दिए ।


    उनले भने, “सर्वसाधारण नयाँ ट्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र केही हिँजो सवारीसाधन पास गराइएको हो”, थप समस्या नआएमा असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

  • प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

    प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति


    म्याग्दी, ३० भदौः म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । सङ्घीयताको वस्तुनिष्ट कार्यान्वय हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेका ती आयोजना सम्पन्न हुँदा स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

    प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०–८१ देखि सुरु गरेका चार र २०८१\८२ मा ठेक्का सम्झौता भएको एक योजना सम्पन्न भएका हुन् ।

    विभिन्न निर्माण कम्पनीसँग रु ३८ करोडमा ठेक्का सम्झौता भएका ती आयोजनामार्फत १८ किलोमिटर सडक स्तरोन्नति भएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी–तोरीपानी हुँदै पाखापानी, दरवाङ–मुना–ढोरपाटन सडक, पखेर–बरङ्जा सडक, बगरफाँट–दूधेखोला–भकिम्ली र गलेश्वर–जगन्नाथ सडक योजना निर्धारित समयमा सम्पन्न भएका हुन् ।

    कार्यालयका अनुसार आव २०८०र८१ मा सम्झौता भएका दरवाङ–बिम–दिच्याम, अदिभारा–डाडागाँउ–सोले–लामेला तमान, चित्रे–घोडेपानी सडक, शिवरात्रिखोला र दरखोला मोटरेबल पुल निर्माणाधीन छन् ।

    स्तरोन्नति भएपछि बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै ढुवानी, आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ । कच्ची साँघुरो, ग्रेड र मोड नमिलेका सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कम भएको छ । यसअघि ३.५ मिटर चौडा सडकलाई प्रदेश सरकारको मापदण्डअनुसार कम्तीमा सात मिटर फराकिलो बनाइएको कार्यालयका सवइन्जिनियर घनश्याम रोकाले बताए ।

    बेनी–तोरीपानी हुँदै पाखापानी सडक

    मङ्गलादेवी सुवास कन्ट्रक्सनले रु ११ करोड ७६ लाख १२ हजारमा ठेक्का सम्झौता गरेको बेनी–तोरीपानी हुँदै पाखापानी सडक आयोजनामार्फत बेनी नगरपालिका–९ भुतदैला–नेप्टेचौर–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा स्तरोन्नति भएको छ । सो आयोजनामार्फत एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र, ५५० मिटरमा ढलान र दुई किलोमिटर ग्राभेल भएको छ ।

    मार्ग खुुलेको करिब २५ वर्षपछि स्तरोन्नति भएको यस सडक आयोजनाबाट बेनी नगरपालिका–९, १०, रघुुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन् । म्याग्दीको प्राथमिकताप्राप्त बेनी–तोरीपानी हुँदै पाखापानी सडक चालु आव २०८३र८४ मा भने बजेटविहीन भएको रघुगङ्गा–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले गुनासो गरे ।
    दरवाङ–मुना–ढोरपाटन सडक

    रामसागर विके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरेको दरवाङ– मुना–ढोरपाटन सडक योजनामार्फत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति भएको छ । सो योजनाअन्तर्गत ताकम र शिवाङ खण्डमा ९०० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । गौथली भिरलगायतका स्थानमा एक हजार ७०० मिटर ढलान गरिएको छ । आठ मिटरका दरले सडक फराकिलो पारिएको सडकमा नाली र टेवा पर्खाल निर्माण भएको छ ।

    यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । हाल ग्राभेलमात्र भएको तीन किलोमिटरभन्दा बढी दूरीको सडकलाई पनि कालोपत्र गर्न पहल गरिएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए ।
    “मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो”, उनले भने, “बजेटको कमीका कारणले कालोपत्र हुन नसकेको ठाउँका सडकलाई कालोपत्र गराउन र बर्खायाममा बिग्रिएको ठाउँमा मर्मतका लागि प्रदेश सरकारसँग पहल भएको छ ।”

    धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो ।

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत दरवाङ–धारापानी र मच्छिम–मुना खण्डमा स्तरोन्नतिका लागि सञ्चालित अर्को आयोजनाको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

    पखेर–बरङ्जा सडक

    पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत गत आवमा सम्पन्न पखेर–बरङ्जा ३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजनामार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि आलडाँडा खण्ड स्तरोन्नति भएको छ । रु पाँच करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एनके–युनाइटेड जेभीले तीन किलोमिटर दूरीमा ग्राभेल तथा घुम्ती र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

    बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले म्याग्दीको सदरमुकाम बेनी आवतजावतका लागि यो सडक प्रयोग गर्छन् । बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नति भएपछि यात्राअवधि ३० मिनेटमा छोटिएको स्थानीयवासी मिलन रोकाले बताए ।

    हाडेभिर–बगरफाँट–दुधेखोला–हल्लेगौडा सडक

    बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला हुँदै हल्लेगौडा जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । माछापुच्छ्रे हिमालयन जेभीले रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको योजनामार्फत बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फराकिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो ।

    विस २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका–२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताउनुभयो । हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान भएको छ ।

    हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ ।

    गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक

    बिबीपीएलबिएस डिएस धवलागिरिले रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनामार्फत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हँुदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर दूरी सडकलाई फराकिलो बनाइ घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको छ ।

    यसअघि चार मिटर फराकिलो सडकलाई हाल सात मिटर चौडा बनाइएको छ । म्याग्दी हँुदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइ लम्ब्याउने र स्थानीयवासीको सहजताका लागि गलेश्वरदेखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नतिको काम थालिएको हो ।

    गलेश्वर हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको भनाइ छ । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।