Author: Vishwanews.com

  • वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

    वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

    काठमाडौँं, २६ भदौः पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । आर्थिक वर्ष २०८२\८३ मा प्राप्त भएका एक हजार ११६ परियोजनामध्ये सूचना प्रविधिका मात्रै ७२७ छन् । प्रतिबद्धता आएका लगानी क्षेत्रहरूमध्ये उत्पादन ६३, ऊर्जा चार, कृषि १८, पर्यटन २२७, सेवामूलक ७१, पूर्वाधारका दुई छन् ।

    उद्योग विभागका अनुसार लगानीकर्ताले रु ५८ अर्बको वैदेशिक लगानीको प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८१\८२ मा विभिन्न ८४२ परियोजनाका लागि करिब रु ६४ अर्बको प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताले आफ्नो चासोको क्षेत्र नै खोज्छन् । केही परियोजना ठूलो लगानीको हुने भएकाले पुँजीको आकार बढ्न जाने उनको भनाइ छ ।

  • बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

    बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

    काठमाडौँ, २६ भदौः भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनःस्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ ।

    प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ । बाढीका कारण रु ४८ अर्ब २४ करोडबराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ । त्यसमा करिब दुई अर्बको माटोको थुप्रो छ । यो हटाउनका लागि मात्रै रु ३० करोडभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

    त्यसैगरी, विपद् जोखिम न्यूनीकरणका लागि तत्कालै रु ३५ करोड र दीर्घकालका लागि रु ९४ करोड ४० लाख गरी रु ९४ करोड ७५ लाख बराबर खर्च हुने अनुमान छ । त्यसमा जलमार्गमा रहेको भग्नावशेष हटाउने, नदी व्यवस्थापन तथा बस्ती संरक्षण, कमाण्ड क्षेत्र विकास, उच्च नदी किनाराको कटान तथा पहिरो नियन्त्रण, सिँचाइ प्रणाली पुनःस्थापना तथा बहुविपद् पूर्वसूचना प्रणालीलगायतको विकासका लागि उक्त खर्च लाग्ने देखिएको हो ।

    प्रतिवेदनले समावेशी पुनःस्थापनाका लागि तत्काल अर्थात् छ महिनाका लागि रु १५ करोड आवश्यक रहेको देखाएको छ । यो रकम असुरक्षित र सीमान्तकृत समुदाय, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहको आवश्यकता समेटेर पुनःस्थापना तथा पुनर्निर्माणमा खर्च गरिनेछ ।

    प्रतिवेदनले भवनको भग्नावशेष, ढुङ्गा, माटो, बालुवा हटाउने काम छ महिनाभित्र ३१।१ प्रतिशत पूरा गर्न सकिने उल्लेख गरेको छ । साथै जोखिम न्यूनीकरण व्यवस्थापनअन्तर्गत ०।४ प्रतिशत काममात्रै गर्न सकिने प्रतिवेदनको ठहर छ । समावेशी पुनःस्थापना र पुनर्निर्माण भने सो समयभित्र सम्पन्न गर्न सकिने सम्भावना छ ।

    तत्कालको पुनरुत्थानका लागि पूर्वाधार क्षेत्रमा रु ६७ अर्ब ४२ करोड खर्च हुनेछ । जसमा ऊर्जा क्षेत्रमा जलविद्युत् र ग्रीड, घरायसी नवीकरणीय ऊर्जा, सडक, पुल, सञ्चार, सफाइ तथा खानेपानी, सिँचाइ र नदीसँग सम्बन्धित काम हुनेछन् । सामाजिक क्षेत्रको पुनरुत्थानका लागि तत्काल रु आठ अर्ब २९ करोड लाग्ने अनुमान गरिएको छ । यसमा निजी घर, सार्वजनिक भवन र सुविधा, शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रमा खर्च हुनेछ ।

    उत्पादन क्षेत्रको तत्काल पुनरुत्थानका लागि रु पाँच अर्ब लाग्ने अनुमान छ । यो रकम कृषि, माछापालन, पशुपालन, बैंकिङ, आर्थिक गतिविधि र जीवनयापनमा खर्च गरिनेछ । साथै भग्नावशेष हटाउन र विपद् जोखिम न्यूनीकरणका लागि तत्काल अर्थात् छ महिनाका लागि रु छ अर्ब ६० करोड लाग्ने आकलन छ ।

  • पाठ्यक्रम परिमार्जनः पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

    पाठ्यक्रम परिमार्जनः पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

    भक्तपुर, २६ भदौः ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता ९एआई०लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन् । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता अनुकूल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

    कोशी प्रदेशमा आयोजित छलफलमा सहभागीले शिक्षालाई स्थानीय उत्पादनसँग जोड्दै स्वरोजगार र उद्यमशीलतामुखी बनाउनुपर्ने, सिकाइलाई विद्यार्थीकेन्द्रित, सिर्जनात्मक, प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिएका छन् । सहभागीले प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारसँगै देशप्रेम, नैतिकता तथा परम्परागत भाषा, लिपि र संस्कृतिको संरक्षण हुने किसिमको शिक्षा आवश्यक रहेको बताएका छन् । पाठ्यक्रमलाई लचिलो बनाउँदै निर्माण र कार्यान्वयनको केही जिम्मेवारी विद्यालय तथा शिक्षकलाई दिनुपर्ने सुझाव प्राप्त भएको छ ।

    मधेस प्रदेशमा पाठ्यक्रमको विषयवस्तु तथा पाठ्यभार घटाउनुपर्ने विषय प्रमुख रूपमा उठेको छ । पर्यटन, कृषिलगायत स्थानीय तथा सम्भावनायुक्त क्षेत्रसँग सम्बन्धित ज्ञान र सीप पाठ्यक्रममा समावेश गर्नुपर्ने सहभागीको सुझाव छ । प्रविधिसम्बन्धी विषयवस्तुलाई परिमार्जन गर्दै एआईसम्बन्धी ज्ञानलाई पाठ्यक्रममा समेट्नुपर्ने सहभागीको माग छ ।

    यस्तै, नैतिक तथा आध्यात्मिक शिक्षा, सामाजिक कार्यमा विद्यार्थीको सहभागितामार्फत मूल्याङ्कन, शिक्षकलाई पाठ्यक्रम विकासमा सहभागी गराउने र शिक्षकको क्षमता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । मातृभाषा, नेपाली र अङ्ग्रेजी भाषामा विद्यार्थीलाई दक्ष बनाउनुपर्ने तथा रैथाने ज्ञान र सीपमार्फत रोजगारी सृजना हुने विषयवस्तु समावेश गर्नुपर्ने सुझाव दिइएको छ ।

    त्यस्तै, प्रधानाध्यापकलाई प्रशासकभन्दा शैक्षिक नेताका रूपमा विकास गर्नुपर्ने, स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय तहलाई अधिकार दिनुपर्ने, विद्यार्थीका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र अभिभावक शिक्षामा जोड दिनुपर्ने उल्लेख छ ।

    बागमती प्रदेशमा उद्यमशीलता तथा रोजगारउन्मुख शिक्षा, अनिवार्य अभिभावक शिक्षा, नैतिक शिक्षा तथा स्थानीय ज्ञान, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । गण्डकी प्रदेशका सहभागीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी, सीपमूलक तथा रोजगारमुखी बनाउनुपर्ने बताएका छन् । पूर्वव्यावसायिक, कृषि तथा प्राविधिक शिक्षामार्फत आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने तथा स्थानीय भूगोल, इतिहास, कला, संस्कृति र विविधतालाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव छ ।

    लुम्बिनी प्रदेशका सहभागीले पाठ्यभार तथा विषयवस्तु बढी भएकाले घटाउनुपर्ने, देशप्रेमको भावना विकास गर्ने किसिमको पाठ्यक्रम निर्माण गर्नुपर्ने र एआईको प्रयोगमार्फत सिर्जनात्मकता विकास गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले युवालाई विदेश पलायन हुन बाध्य बनाउनेभन्दा स्वदेशमै आत्मनिर्भर र रोजगारी सृजना गर्न सक्षम बनाउने पाठ्यक्रम आवश्यक रहेको बताएका छन् ।

    कर्णाली प्रदेशमा प्रारम्भिक बालविकास तथा शिक्षालाई विद्यालय संरचनामा दुई वर्षको अवधिमा ल्याउनुपर्ने, पाठ्यक्रमको वास्तविक कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन प्रभावकारी बनाउनुपर्ने र बारम्बार हुने पाठ्यक्रम परिवर्तनले सृजना गरेको अन्योल अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । शिक्षकलाई विभिन्न पक्षबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा सहभागीले आफ्नो मत राखेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा सामाजिक विकास मन्त्रालय प्याब्सन सुदूरपश्चिमले धनगढीमा कार्यक्रम सञ्चालन गरेको भए पनि छलफलबाट प्राप्त मुख्य सुझावको विवरण उपलब्ध गराइएको छैन ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सातै प्रदेशका २८ जिल्लाबाट सरोकारवालाको सुझाव तथा पृष्ठपोषण सङ्कलन गरेको हो । विभिन्न जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, नीतिनिर्माता, स्थानीय तह तथा अन्य सरोकारवालासँग प्रत्यक्ष अन्तक्र्रिया गरिएको छ ।

    पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणमा २८ जिल्लाबाट सुझाव सङ्कलन गरिनेछ । त्यसपछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइबाट सुझाव लिइनेछ । यस्तै, केन्द्रको वेबसाइटमार्फत सुझाव प्राप्त गरिनेछ ।

    सातै प्रदेशका कार्यशालाबाट प्राप्त सुझावमा राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई स्थानीय आवश्यकता, रोजगारी, उद्यमशीलता, प्रविधि, नैतिकता र जीवनोपयोगी सीपसँग जोड्दै पाठ्यभार कम गर्नुपर्ने उल्लेख छ । प्राप्त सुझावका आधारमा पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जनका लागि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

  • ‘विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ’

    ‘विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ’

    सिरहा, २५ भदौः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले देशले विपद्को सामना गरिरहेको बेला सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहन नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन तथा विज्ञान प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष दाहालले हालै रसुवाको भोटेकोशीमा गएको बाढीपछि देश सङ्कटमा परेको भन्दै सबैलाई साथ सहयोग गर्न अपिल गरे । उनले भने, “पहाडमा सङ्कट परेको बेला मधेसले र मधेसमा विपद् परेको बेला पहाडले सहयोग गर्ने हाम्रो संस्कृति नै हो । आज पनि तराई मधेसको सहयोग अतुलनीय छ ।”

    शुक्रबारसम्म चल्ने विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रमा प्रतिनिधिसभा सदस्य तपेश्वर यादव, सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, मिर्चैया–७ फूलबरियास्थित बाजु माविका प्रधानाध्यापक फुलगेन नायक, सगरमाथा बोर्डिङ स्कुलका संस्थापक प्रदीप तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । सङ्घीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत चारवटा भवन निर्माण गरिएका हुन् ।

  • निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छुः नवनियुक्त उद्योगमन्त्री साह

    निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छुः नवनियुक्त उद्योगमन्त्री साह

    काठमाडौँ, २५ भदौः नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा आफू गम्भीर भएर लाग्ने बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनियताको शपथलगत्तै सिंहदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले पत्रकारसँग भने, “जनतालाई जति ग्यास आवश्यक छ, त्यति दिनैपर्छ, छलफल गरेर आवश्यक कदम चाल्नेछौँ ।”

    निवर्तमान उद्योगमन्त्री गौरीकुमारीसँग छलफल गरेर आफू अघि बढ्ने उल्लेख गर्दै मन्त्री साहले त्यसआधारमा सुधारका कार्यक्रम अघि बढाइने स्पष्ट पारे । “कुनै काम गर्नुभन्दा अघि विगतमा त्यससम्बन्धमा के–के भइरहेको छ, त्यसको जानकारी लिएर मात्रै अघि बढ्दा नतिजा आउँछ”, मन्त्री साहले भने । तत्कालीन मन्त्री गौरीकुमारीले आज पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन् ।

  • प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने

    काठमाडौँ, २५ भदौः प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
    बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।


    मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा हरिप्रसाद लम्साल तथा सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । यस्तै सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

  • बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

    काठमाडौँ, २५ भदौः यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात्को पुनर्निर्माणका लागि सरकारले रु सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने अनुमान गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनःरुत्थानका लागि मात्रै रु चार खर्ब ७३ अर्ब ५७ करोड १९ लाख लाग्ने अनुमान गरिएको छ । यो कूल विपद् पुनःरुत्थान आवश्यकताको ७५ प्रतिशत हिस्सा हो ।

    पूर्वाधार क्षेत्रमध्ये पनि ऊर्जा र सडकमा व्यापक क्षति पुगेको छ । जहाँ ७५९ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजना र २४ मेगावाटका पाँच वटा सोलार प्लान्ट प्रभावित भएका छन् । यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै र तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार आवश्यक पर्ने देखिएको छ ।

    यसैगरी ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ । तेत्तीस वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ । यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनःरुत्थानका लागि रु ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार खर्च लाग्ने देखिन्छ ।

    बाढीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी सत हजार ५७० वटा निजी घरहरू क्षतिग्रस्त भएका छन् । यसबाहेक ४८ वटा सार्वजनिक भवन, १८ वटा विद्यालय, सात वटा स्वास्थ्य संस्था र ३० वटा सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । यो क्षेत्रका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड ९९ लाख बजेट आवश्यक छ ।

    यसैगरी, व्यापार, व्यवसाय, बैंक र कृषि समेटिएको उत्पादक क्षेत्रको पुनःरुत्थानका लागि रु ५० अर्ब ७७ करोड ४९ लाख लाग्ने आकलन गरिएको छ । उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बाली, १७ वटा बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठानहरू प्रभावित भएका छन् ।

    पाँच जिल्लाका प्रभावित १५ स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै तीन हजार २६ घरमा क्षति पुगेको छ । विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि रु ९४ अर्ब ७५ करोड ३१ लाख र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि रु ५१ करोड ५४ लाख आवश्यक पर्ने प्रतिवेदनले औँल्याएको छ ।

    प्रतिवेदनले पुनर्निर्माणलाई दुई चरणमा विभाजन गरेको छ । जसअनुसार, आगामी छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि रु आठ अर्ब ७३ करोड ५० लाख र दीर्घकालीन पुनर्निर्माणका लागि रु सात खर्ब १४ अर्ब ५८ करोड दुई लाख खर्च हुने अनुमान गरिएको छ ।

  • उद्योगमन्त्रीमा साह नियुक्त, आजै भयो शपथ

    उद्योगमन्त्रीमा साह नियुक्त, आजै भयो शपथ

    काठमाडौँ, २५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई नियुक्त भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गरेका थिए । सोही अनुसार राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराएका छन् । इन्जिनियर साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् । गौरी कुमारी यादवले राजीनामा दिएपछि उनी मन्त्री बनेका हुन् ।

  • विवादित अभिव्यक्ति दिएको भोलीपल्ट उद्योगमन्त्री यादवको राजीनामा

    विवादित अभिव्यक्ति दिएको भोलीपल्ट उद्योगमन्त्री यादवको राजीनामा

    काठमाडौँ, २५ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन् । आज उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाइन् । मन्त्री यादवको सचिवालयले भनेको छ, “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ ।” उनले बुधबार मात्र व्यापारीलाई पाता कस्ने र कर्मचारीले सहयोग नगरेको उनले बताएकी थिइन् । अहिले बजारमा ग्यासको चरम अभाव छ ।

  • अमेरिका–इरान तनाव चर्किंदै

    अमेरिका–इरान तनाव चर्किंदै

    पेरिस, २५ भदौ (रासस–एएफपी) । इरान र संयुक्त राज्य अमेरिकाबीच सैन्य तनाव थप चर्किएको छ । आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाहीस्वरूप इरानले बुधबार हर्मुज जलघाँटीमा अमेरिकी जहाज र तेल ट्याङ्करलाई लक्षित गर्नुका साथै जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । बढ्दो तनावले मध्यपूर्वको सुरक्षा र विश्वव्यापी तेल आपूर्तिमाथि जोखिम बढाएको छ ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले हर्मुजबाट पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० ‘गैर–अनुपालन जहाज’ लाई लक्षित गरेको जनाएको छ । साथै कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्याङ्करलाई समेत आक्रमण गर्ने चेतावनी दिँदै चालक दललाई जहाज छाड्न आग्रह गरेको छ ।

    इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको बताएको छ । तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बुधबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९९.४६ अमेरिकी डलर तथा वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य ९४.४५ डलर पुगेको थियो ।

    अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी तेलवाहक जहाजले अमेरिकी युद्धपोतमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेनाले मङ्गलबार पाँच इरानी तेलवाहक जहाज नष्ट गरेको थियो । इरानी सञ्चारमाध्यमले खर्ग टापुनजिकै एउटा सानो तेल ट्याङ्करमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार भएको तथा जास्क बन्दरगाहमा विस्फोट भएको जनाएका छन् ।

    यसअघि इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अली अब्दुल्लाहिले इरानी तेल ट्याङ्करमाथि आक्रमण भए क्षेत्रका अमेरिकी सैन्य आधारलाई लक्षित गर्ने चेतावनी दिएका थिए ।
    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यमनका हुथी विद्रोहीले साउदी अरबमाथि गरेको आक्रमणमा इरानको हात रहेको आरोप लगाए । चार वर्षको युद्धविरामपछि यमनमा पुनः द्वन्द्व चर्किरहेका बेला हुथीहरूले लाल सागरको प्रवेशद्वार बाब अल–मन्डब नजिकै आक्रमण तीव्र पारेका छन् । इरानले अमेरिकी मानवरहित पनडुब्बी र एमक्यू–१ ड्रोन नष्ट वा कब्जा गरेको दाबी गरेको छ । अमेरिकी सेनाले भने पानीमुनि ड्रोनमा खराबी आएको र त्यसमा संवेदनशील सूचना नरहेको जनाएको छ ।

    यसैबीच अमेरिकाले इरानमाथि आर्थिक दबाब पनि बढाएको छ । अमेरिकी अर्थ मन्त्रालयले इरानको उड्डयन क्षेत्रमार्फत हतियार, कर्मचारी र अवैध कार्गो ओसारपसारमा सहयोग पुगेको आरोपमा ३६ वटा व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध लगाएको जनाएको छ । पछिल्ला घटनाक्रमले हर्मुज जलघाँटीमा सम्भावित अवरोधका कारण मध्यपूर्वको सुरक्षा मात्र नभई विश्वव्यापी ऊर्जा बजारमा समेत थप अस्थिरता आउनसक्ने चिन्ता बढाएको छ ।

  • अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त

    अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्याङ्कर ध्वस्त


    वासिङ्टन, २५ भदौ (रासस–एपी) । अमेरिका र इरानबीच छ महिनाभन्दा लामो समयदेखि जारी युद्धमा तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाले मंगलबार आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ । अमेरिकी कारबाहीपछि इरानले पनि जोर्डनमा रहेका अमेरिकी लक्ष्यतर्फ क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    जोर्डनको सेनाका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले आफ्नो भूमितर्फ प्रहार गरिएका १८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र आकाशमै रोकेको थियो । थप दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए । घटनामा मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जोर्डनले जनाएको छ । अमेरिकाको निकट सहयोगी जोर्डनमा अमेरिकी सेनाको उपस्थिति रहेकाले त्यहाँका सैन्य अखडाहरू यसअघि पनि इरानी आक्रमणको निशानामा पर्दै आएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने प्रयास गरिरहेकै बेला पछिल्ला आक्रमण भएका हुन् । ट्रम्प प्रशासनले मंगलबार इरानको हवाई क्षेत्रमा थप प्रतिबन्धसमेत लगाएको छ । इरानलाई बाँकी रहेका व्यापारिक साझेदारबाट अलग पार्ने प्रयासस्वरूप दुई दर्जनभन्दा बढी व्यावसायिक तथा निजी विमान सेवा र विदेशी मालवाहक सेवा प्रदायकलाई लक्षित गरिएको जनाइएको छ ।

    अमेरिका र इरानबीचको संघर्षमा होर्मुज जलडमरूमध्य पनि महत्वपूर्ण क्षेत्र बनेको छ । युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलमध्ये करिब पाँच भागको एक भाग यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो । यस क्षेत्रमा जारी तनावका कारण विश्व बजारमा ऊर्जा मूल्य बढिरहेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य केही समयका लागि प्रतिब्यारेल ९९.४६ अमेरिकी डलरसम्म पुगेको थियो ।

    यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानका तीनवटा तेल ट्यांकर ध्वस्त पारेको थियो । इरानको इस्लामिक क्रान्तिकारी सुरक्षा बलले अमेरिकी विमानवाहक युद्धपोत र विध्वंसक युद्धपोतलाई ब्यालेस्टिक क्षेप्यास्त्रमार्फत आक्रमण गर्ने प्रयास गरेपछि अमेरिकी सेनाले यस्तो कारबाही गरेको बताएको थियो । त्यसपछि इरानले होर्मुज जलडमरूमध्य नजिकबाट आवतजावत गर्ने निश्चित जहाजलाई लक्षित गर्दै नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको थियो ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका आक्रमणलाई कुनै जवाफबिनै छाड्न नसकिने बताए । लगातारका आक्रमण र जवाफी कारबाहीले अमेरिका–इरान युद्ध थप गहिरिँदै जाने तथा यसको असर विश्व ऊर्जा बजारमा समेत पर्न सक्ने चिन्ता बढेको छ ।

  • हिमनदीको जोखिममा भुटानको निगरानी

    हिमनदीको जोखिममा भुटानको निगरानी

    वाङ्गडु फोद्राङ (भुटान), २५ भदौ (रासस–एएफपी) । जलवायु परिवर्तनका कारण तीव्र गतिमा पग्लिरहेका हिमनदी र विस्तार भइरहेका हिमनदी तालबाट आउनसक्ने बाढीको जोखिम घटाउन भुटानले चौबीसै घण्टा निगरानी र पूर्वसूचना प्रणाली सञ्चालन गरिरहेको छ । राजधानी थिम्पूबाट केही घन्टाको दूरीमा रहेको कन्ट्रोल रुममा खटिएको टोलीले हिमनदी ताल तथा नदीको पानीको सतहमा हुने परिवर्तन निरन्तर निगरानी गर्छ ।

    भुटानको उत्तरी हिमाली क्षेत्रमा ६०० भन्दा बढी हिमनदी छन् । हिमनदी पग्लिँदा कमजोर भग्नावशेष बाँधले थामेका ताल विस्तार हुने र बाँध भत्किए ठूलो बाढी आउनसक्ने जोखिम छ । सन् १९९४ मा यस्तै हिमनदी ताल विस्फोटजन्य बाढी (जीएलओएफ) मा पुनात्सङछु नदी किनारमा २१ जनाको मृत्यु भएको थियो ।

    वाङ्गडु फोद्राङ क्षेत्रको जीएलओएफ आपत्कालीन चेतावनी केन्द्रकी कनिष्ठ इन्जिनियर डेचेन पेल्डनका अनुसार जलवायु परिवर्तनका कारण थोर्थोर्मी हिमनदी पूर्ण रूपमा हिमनदी तालमा परिणत भएको छ । “अब हामी अझ बढी सतर्क र बढी चिन्तित हुनुपर्छ”, उनले भनिन् । सन् २०११ देखि सञ्चालनमा रहेको चेतावनी केन्द्रले सेन्सरमार्फत हिमनदी ताल र तल्लो क्षेत्रका नदीको पानीको सतह निगरानी गर्छ । असामान्य परिवर्तन देखिए साइरन स्वतः बज्ने र आवश्यक परे नियन्त्रण कक्षबाट तल्लो क्षेत्रका साइरनसमेत सञ्चालन गर्ने व्यवस्था छ ।

    भुटानमा रहेका ६०० भन्दा बढी हिमनदी तालमध्ये १७ वटा सम्भावित खतरनाक मानिएका छन् । पुनात्सङछु नदीको मुहानतर्फ रहेका चारवटा तालमध्ये दुईवटा कमजोर भग्नावशेष बाँधले छुट्याएका छन् । ती बाँध भत्किए सबैभन्दा खराब अवस्थामा करिब पाँच करोड ३० लाख घनमिटर पानी तलतिर बग्नसक्ने अनुमान छ ।

    जोखिम न्यूनीकरणका लागि भुटानले थोर्थोर्मी हिमनदी तालको पानीको सतह घटाउने काम पनि गर्दै आएको छ । सन् २००८ मा सुरु गरिएको परियोजनाले नहर निर्माण तथा विस्तार गरी तालको सतह करिब पाँच मिटर घटाएको थियो । तर हिमनदी निरन्तर पग्लिँदा ताल पुनः भरिएको छ र पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

    भुटानका प्रमुख हिमनदीविद् कर्माका अनुसार देशका ठूला हिमनदी हरेक वर्ष ३० देखि ३५ मिटर र साना हिमनदी १२ देखि १६ मिटरसम्म पछाडि हटिरहेका छन् । उनले विगतमा हिमनदीमा सहजै चढ्न सकिने भए पनि अहिले अवस्था निकै बदलिएको बताए । भुटानले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन अवशोषण गरे पनि जलवायु परिवर्तनको असर तीव्र रूपमा भोगिरहेको भन्दै कर्माले विश्व समुदायलाई जिम्मेवारी लिन आग्रह गरे । “भुटानका समुदायमा आइपरेको डर र जोखिम हाम्रो गल्ती होइन”, उनले भने ।

  • मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु


    कुचिङ, मलेसिया, २५ भदौ (रासस–एएफपी) । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मलेसियाली अधिकारीका अनुसार मंगलबार दिउँसो बो–१०५ प्रकारको हेलिकप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । मिरीका विपद् व्यवस्थापन समितिका अध्यक्ष गालोङ लुआङले बुधबार जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गरे । मृतकमध्ये चालक, एक चिकित्सक, एक स्वास्थ्य सहायक र दुई जना नर्स रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


    सामाजिक सञ्जालमा सार्वजनिक भएको दुर्घटनाको दृश्यमा हेलिकप्टर खस्नुअघि त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ । यद्यपि, दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाको अनुसन्धान गर्न हवाई दुर्घटना अनुसन्धान टोली बुधबार घटनास्थल पुग्नेछ ।

    मलेसियाको दुर्गम स्वास्थ्य सेवा कार्यक्रमले घना जंगल र कठिन भौगोलिक अवस्थाका कारण सडक यातायातको पहुँच नभएका आदिवासी समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । त्यहाँका बासिन्दा स्वास्थ्य सेवाका लागि हवाई यातायातमा ठूलो मात्रामा निर्भर छन् । यस सेवाअन्तर्गत चिकित्सक, स्वास्थ्य सहायक, नर्सलगायत स्वास्थ्यकर्मीको टोली हेलिकप्टर वा साना विमानमार्फत गाउँ तथा परम्परागत सामुदायिक घरहरूमा नियमित रूपमा पुग्ने गर्छ । स्वास्थ्य टोलीहरू सामान्यतया प्रत्येक महिना वा दुई महिनाको अन्तरालमा दुर्गम बस्तीमा पुग्ने गरेका छन् ।

  • अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु

    ’
    म्याग्दी, २५ भदौः त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।

    आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने दुई हजार ५०६ दशमलव ३९ मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिए । छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फको तीन हजार २८३ दशमलव ३२ मिटरमध्य हालसम्म एक हजार ९७३ मिटर सुरुङ निर्माण सकिएको छ”, उनले भने, “बाँकी सुरुङ पनि केही महिनाभित्रनै सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको छ ।”

    हालसम्म समग्रमा ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुने आयोजना प्रमुख केसीले जानकारी दिए । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले विसं २०८१ भदौ महिनादेखि मुख्य सुरुङ निर्माण थालेको थियो ।

    बाँध, सुरुङ र विद्युत्गृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएको छ । बर्खायाममा आयोजना निर्माणस्थलमा पर्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्ने र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइएको असर अपर म्याग्दी–१ लगायतका जलविद्युत् आयोजना निर्माणमा परेको छ ।

    सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

    रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत् गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत् गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ । ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्राली परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालीमा आबद्ध छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २५ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


    यस्तै, अर्थमन्त्री डा वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा कानुन, नयाय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसैगरी, बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।


    यस्तै, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०\८१ र २०८१\८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । राष्ट्रियसभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

  • नुवाकोटमा एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउने

    नुवाकोटमा एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउने

    २५ भदौ, काठमाडौं । नुवाकोटमा बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई अब राहत मिल्ने भएको छ। नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। उक्त पुल पर्सिबाट सञ्चालनमा आउने भएको छ। छोटो समयमै पुल निर्माण सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाली सेनालाई धन्यवाद व्यक्त गरे ।

    उनले बाढीका कारण पीडामा रहेका नुवाकोटवासीको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाले रातदिन नभनी निरन्तर खटिएर छोटो समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै प्रशंसा गरे । बाढीका कारण पुल तथा सडक सम्पर्क प्रभावित हुँदा स्थानीयवासीले दैनिक आवतजावतदेखि अत्यावश्यक सेवा तथा सामग्री ओसारपसारसम्ममा ठूलो सास्ती खेप्दै आएका थिए।

    अब पर्सिबाट एक्रो ब्रिज सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ। पुल निर्माण तथा जडान कार्यमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको समेत निरन्तर सक्रियता रहेको थियो। सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै पुल निर्माणको कामलाई तीव्रता दिइएको हो।

    रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न स्थानका पुलहरू बगाउँदा नुवाकोट, रसुवा लगायतका क्षेत्रमा यातायात सम्पर्क प्रभावित भएको थियो। पुलहरू बगाएपछि स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती खेप्दै आएका थिए। यसैबीच, प्रभावित क्षेत्रको आवागमन थप सहज बनाउन बेत्रावतीमा समेत नेपाली सेनाले ब्रिज निर्माण गर्ने योजना बनाइएको छ। बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका साथ पुनःस्थापना गर्ने कामलाई निरन्तरता दिइने भएको छ।

  • भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

    भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

    ’
    रासस
    महोत्तरी, २५ भदौः भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ । “हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ, गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहनुहुन्छ ।

    छ महिनाको गर्भ हुर्काइ रहनुभएकी इन्दिराका पति विकासकुमार यादव यही भदौ १० गतेको भोटेकोशी बाढीका दिन आपूm कार्यरत् त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन हुनुभएको हो । “म अब काममा जान्छु, तिमी ढोका लगाएर बस भनेर काममा जानुभएको थियो,” घटनाको दिन सम्झँदै इन्दिरा भन्नुहुन्छ, “क्वाटरबाट १० मिनेटजति लाग्ने दूरी हो, फेरि मलाई ढोका खोल भन्न आउनुभएन,” कार्यरत स्थानमा आवास सुविधा भएपछि विकासले पत्नी र छोरीलाईसँगै जैजानुभएको थियो ।

    “कामबाट फुर्सद भयो कि फोन गर्नुहुन्थ्यो, अहिले उहाँको एक वचन सुन्न मन तड्पिरहेछ,” हाल पिपरा–३ स्थित घरमा रहनुभएकी इन्दिरा विलाप गर्दै भन्नुहुन्छ, “न छोरीले राम्रोसँग बोलाएकी छ अहिलेसम्म, न यो गर्भको बच्चाले बाबु चिन्न पाउने भयो । हे भगवान् १ गर्भे बच्चालाई न्याय गर ।”

    आवासगृहका सुरक्षागार्डले माथिबाट ठूलो बाढी आउँदैछ, डाँडातिर चढ्नोस् भनेपछि छोरी काखमा च्यापेर हस्याङफस्याङ हुँदै थुम्कोमा पुगेर तलतिर हेर्दा आयोजना परिसर बाढीले ढाकेको इन्दिरालाई सम्झना छ । “क्वाटरमा भएका हामी निस्क्यौँ, उहाँ पनि कतै निस्कनु भयो होला भन्ने आसमा पर्खे तर न फोन आयो, न मैले गर्दा लाग्यो,” इन्दिरा भक्कानिँदै भन्नुहुन्छ, “साँझसम्म उहाँको कुनै अत्तोपत्तो नभएपछि तल झरेर खोजी गरे तर केही पाइएन ।” त्यसपछि इन्दिरा र छोरीलाई सेनाले काठमाडौँ ल्याइदिएको र त्यहाँबाट उहाँका दाजुले घर ल्याउनु भएको हो ।

    विकास सम्पर्कविहीन भएको खबर फैलिएसँगै अहिले इष्टमित्र र आफन्तजन उहाँको घरमा पुरिरहेका छन् । कोही नयाँ मान्छे घर आयो कि विकासको खबर आयो कि भन्ने परिवारजनलाई पर्छ । दुई साता नाघ्दासम्म कुनै थप खबर नपाउँदा परिवार पूरै विचलित बनेको छ । केही महिना पहिलेमात्र पाठेघरको शल्यक्रिया गराइएकी आमा बिनादेवी यादव इन्तु न चिन्तु भएर लड्नु भएको छ । छिनछिनमा ‘मेरो विकास बाबु आयौ’ भन्दै बर्बराउने बिनाका आँखामा आँसु सिद्धिएर डिल सुन्निएका छन् । पिता शम्भुनाथ र भाइ सुवासको अवस्था पनि उस्तै छ ।

    “हामीले आप्mनोतर्फबाट पनि निकै खोजी ग¥यौँ, दाजुको केही पत्ता लागेन,” बर्बरी आँसु झार्दै भाइ सवास भन्नुहुन्छ, “आमा र भाउजूलाई के गरी सम्हाल्ने होला रु” अवकाश प्राप्त शिक्षक शम्भुनाथ पत्नी बिना र बुहारी इन्दिराका अगाडि ‘बाबु आउँछ’ भन्ने गरे पनि लुकेर गह भिजाउँदै आफ्नो पीडा व्यक्त गर्नुहुन्छ ।

    “अब छोरा काममा लाग्यो, हाम्रा दुःखका दिन गए भनेर दङ्ग पर्थे, परमात्मालाई हाम्रो खुसी मञ्जुर रहेनछ, यो बुढेसकालमा विलाप गर्नु परेको छ,” शम्भुनाथ भन्नुहुन्छ, “बुबा, अब तपार्ईं दुःख नगर्नोस भन्थ्यो, अहिले रुवाइ रहेको छ ।” विकास पढाइमा सधैँ अब्बल रहेको र आफ्नो कक्षामा कहिल्यै दोस्रो नभएको शम्भुनाथ बताउनुहुन्छ । “खै यो उमेरमा के भोग्न लेखेको रहेछ,” शम्भुनाथ छोरा सम्झँदै भन्नुहुन्छ ।

    भोटेकोशी बाढीले विकासको जस्तै महोत्तरीका १० घरमा विलाप सुनिन्छ । यहाँका १० जना रसुवा र नुवाकोटबाट सम्पर्कविहीन हुनुभएको छ । बाढीमा परी मधेस प्रदेशका १७८ जना सम्पर्कविहीन भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    दिन बित्दै गएपछि परिवारजनमा आफ्ना मान्छे सकुशल भेटिने हो होइन भन्ने द्विविधा बढेको छ । सम्पर्कविहीनको खोजी गरी जेजस्तो अवस्था भए पनि आपूmहरूले देख्न पाऊँ भन्ने परिवारजन सरकार र खोज उद्धारकर्तासँग अनुनय विनय गर्दैछन् । आफ्ना मान्छे सुशल भेटिएको चमत्कारिक खबरको पर्खाइमा उनीहरूको विलौनामा सुनिन्छ ।

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, २५ भदौः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६२ पैसा र बिक्रीदर २३ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ४९७ रुपैयाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ८४ पैसा बिक्रीदर ४०४ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण


    म्याग्दी, २५ भदौ । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु ५० लाख बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।

    चिनाकोत संरक्षण तथा व्यवस्थापन समितिका सचिव प्रकाश पुनले आर्थिक वर्ष २०७६\७७ देखि २०८२\८३ सम्म चिनाकोतको पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट रु ४० लाख, मङ्गला गाउँपालिकाबाट रु आठ लाख र आमा समूहको रु दुई लाख लगानी भएको बताए ।

    “एक किलोमिटरभन्दा बढी पक्की र करिब दुई किलोमिटर कच्चि पदमार्ग तथा सडक, दृश्य अवलोकन स्थल र आश्रयस्थल निर्माण भएको छ,” उनले भने, “बरंजा गाउँदेखि चिनाकोटसम्म विद्युत् विस्तारमा देउराली सामुदायिक वन उपभोक्ता समूह तथा योजना कार्यान्वयनमा विनियोजन भएको कुल बजेटको १० प्रतिशत स्थानीयबासीले श्रमदान गरेका छाँै । खानेपानीको व्यवस्था गरिएको छ ।”

    विसं २०७५ अघिसम्म सुनसान चिनाकोटमा पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेको देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर छन्त्यालले बताए । “सङ्घीयता अघिसम्म एउटा टहरा मात्र रहेको चिनाकोटमा प्रदेश र स्थानीय तह मार्फत सुरक्षित रुपमा पुग्न सकिने पदमार्ग बनेपछि पाहुना आउन थालेका हुन्,” उनले भने, “पहाडको टाकुरामा रहेको चिनाकोटमा सुरक्षाका लागि वरपर घेराबार र पुरातात्विक महत्वका सामग्रीको संरक्षणको आवश्यकता छ ।”

    समुन्द्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयको साथै अन्नपूर्ण, धौलागिरि, गुर्जा र माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडामा समेटिएको बरञ्जाको शिरमा रहेको चिनाकोटदेखि म्याग्दीको पश्चिमी भेगका ग्रामीण बस्ती, पहाडी भूगोल, नागबेली परेर बगेको म्याग्दी नदी अवलोकन गर्न सकिन्छ ।

    बरञ्जाका अगुवा रणबहादुर रोकाका अनुसार भुरे टाकुरे राजाका पालामा चिनाकोटमा बरञ्जी राजाको दरबार थियो । “दरबारका पर्खालको भग्नावशष, खाद्यान्न पिस्नका लागि प्रयोग हुने जातो लगायतका ऐतिहासिक वस्तुहरु अझै चिनाकोटमा छन्,” उनले भने, “रानीको कपाल कोर्ने ढुङ्गा, बेहुला, बेहुली नाम गरेका ढुङ्गा पनि अवलोकन गर्न सकिन्छ ।” चिनाकोटको फेदीमा रहेको थर्पुगाउँको दरबारमा खुडा, तरबार, ढाललगायत परम्परागत युद्धमा प्रयोग हुने हात हतियार छन् ।

    मङ्गला गाउँपालिका–३ का कार्यवहाक वडाअध्यक्ष भेषकुमारी पुनले बर्खायाम बाहेकको समयमा बिदा मनाउनका लागि क्याम्पिङ गर्नका लागि यहाँ पाहुनाहरु आउने गरेका छन् । बस्तीदेखि टाढा र एकान्त वातावरणमा रहेको चिनाकोटमा वनभोजका लागि आउनेलाई लागि भाँडावर्तनको व्यवस्था मिलाइएको छ । चिनाकोट नजिकै रहेको घारसुन्ने डाँडामा दृश्य अवलोकनस्थल बनाइएको छ ।

    पहाडको टाकुरामा रहेको गोलो आकारको ढुङ्गामा वरपर घेराबार बनाएर त्यहाँसम्म पुग्ने पदमार्ग बनाइएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तातोपानी बरञ्जा हँुदै गाडीमा एक घण्टाको यात्रापछि चिनाकोट पुगिन्छ । बरञ्जादेखि पैदलयात्रा गरेर चिनाकोट पुग्न दुई घण्टा लाग्छ । होटल तथा रेष्टुरेन्ट नभएकाले खाद्य सामग्री पाहुना आफैँले व्यवस्थापन गर्नुपर्छ ।

    पर्यटकीय पूर्वाधारको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले बुधबार उद्घाटन गरे । उनले चिनाकोटको साथै झाँक्रीपानी र गम्फाधुरीलगायत बरञ्जाका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गरिरहेको बताए ।

    पूर्वाधारको उपभोग गरी पर्यटक भित्र्याएर आयआर्जन, रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फ अग्रसर हुन स्थानीयबासीलाई आग्रह गरे । बरञ्जाका बासिन्दासमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, मङ्गला गाउँपालकाका उपाध्यक्ष पे्रमकुमारी क्षेत्री र मङ्गला–४ का वडाअध्यक्ष लालबहादुर रोकाले ऐतिहासिकस्थल, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमार्फत समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।

  • सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

    सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

    सुदूरपश्चिम, २५ भदौः भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ । संस्थाका प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले प्राकृतिक विपद्का कारण देश शोकमग्न र विषम परिस्थितिमा रहेकाले निर्धारित कार्यक्रम स्थगित गरिएकामा पुनः आयोजना गर्न लागिएको जानकारी दिइन् ।


    कार्यक्रममा उनले राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, जोगेन्द्र पानवाला (शिवशङ्करप्रसाद रिजाल), मूलासाग (सुरेन्द्र केसी) लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने बताए । कार्यक्रममा हास्यव्यङ्ग्य नाटक, प्रहसन, कविता, गीत–सङ्गीत, देउडा तथा सुदूरपश्चिमका मौलिक लोक तथा सांस्कृतिक प्रस्तुतिमार्फत समसामयिक सामाजिक विषयमा व्यङ्ग्यात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।

    ‘सुदूरपश्चिम गाईजात्रा–२’ मनोरञ्जनमा मात्र सीमित नभई समाजमा देखिएका विकृति र विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आर्थिक संयोजक शुभेष पाठकले बताए । कार्यक्रममा लागूऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत विषयलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिने उनले बताए ।

    गाईजात्राको मुख्य प्रायोजकमा धनगढीस्थित माया मेट्रो हस्पिटल र प्रायोजकमा चैतन्य पाठशाला रहेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा टिकटबापत सङ्कलन हुने रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितलाई सहयोगस्वरुप प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिने जनाइएको छ ।

  • राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

    राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’


    न्युयोर्क (अमेरिका), २४ भदौः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा सुुरु भएको महासभा आगामी २९ ‘सेप्टेम्बर’सम्म जारी रहनेछ । ‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि काम गर्ने संयुक्त राष्टसङ्घ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे ।


    सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय, जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दामा घनिभूत एवं प्रभावकारी ढङ्गबाट छलफल एवं विचारविमर्श भई विश्वव्यापी समस्या सम्बोधन गर्न अहिलेको ८१औँ महासभा सफल हुने विश्वास व्यक्त गरे ।

    त्यसैगरी, दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार र मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग, वहुपक्षीय हितका लागि राष्ट्रसङ्घको पुनर्संरचनालगायतका विषयमा पनि महत्त्वपूर्ण छलफल हुने विश्वास व्यक्त गरे । महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गर्नुपरेको विद्यमान अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रमसहित तिनको सम्बोधन गर्नेतर्फ राष्ट्रसङ्घको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

    जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याका कारण समग्र विश्व प्रभावित भएको उल्लेख गर्दै महासचिव गुटेरेसले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधान गर्ने सन्दर्भमा महासभा उपयुक्त मञ्च भएको बताए । महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै ८१औँ महासभाले रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको उल्लेख गरेको छ । यसैगरी, महासभामार्फत संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका बारेमा काम गर्न इच्छुक रहेको उल्लेख गरिएको छ ।

    नियोगले राष्ट्रसङ्घीय महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेकोमा बङ्गलादेशी कूटनीतज्ञसमेत रहेका रहमानलाई बधाई ज्ञापनसमेत गरेको छ । यसैबीच, मङ्लबार नेपालका तर्फबाट राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले कम विकसित देशहरूको विकासका लागि विश्वव्यापी ऐक्यबद्धता र प्रतिफलमुखी नतिजाका लागि विकासको गति बढाउन आग्रह गरे ।

    थापाले अल्पविकसित देशहरू सम्मिलित अफ्रिकन मुलुकका मन्त्रीस्तरीय मध्यकालीन समीक्षा बैठकका अवसरमा सो धारणा व्यक्त गरेका हुन् । कम विकसित देशहरूको समूहगत अध्यक्षको हैसियतले सम्बोधन गर्नुहुँदै नियोग प्रमुख थापाले उत्पादन क्षमता वृद्धि, डिजिटलाइजेसन, जलवायु परिवर्तनमा लचिलोपन, क्षेत्रीय व्यापार, सामाजिक सुरक्षा र दिगो विकासका लागि वित्तीय स्रोत र प्रतिबद्धताअनुसार काम गर्न अपिल गरे ।

  • रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

    रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया


    सरस्वती न्यौपाने–रासस
    रसुवा २४ भदौः दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ । हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने गरी उर्लेर आएको भीषण बाढीले रसुवा भोटेकोशी र त्रिशूली नदी किनारका सुन्दर बस्ती र भूगोललाई क्षणभरमै क्षतविच्छेद तुल्यायो ।

    नेपाल–चीनबीच रहेको केरुङ अन्तरराष्ट्रिय नाकास्थित दुवै देशका महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीको हताहत भयो भने दशकाँै लगाएर तयार गरिएका भौतिक पूर्वाधारसम्बन्धी संरचना पनि एकैसाथ ढले । नदी किनारका सुन्दर बस्तीहरू खण्डहरमा परिणत भयो । ती ठाउँ सञ्चार र सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भए । त्यस बाढीमा परी हराइरहेकामध्ये एक हजार ३६७ जनाको शव प्राप्त भएको छ ।

    मानसरोवर र गोसाइँकुण्डको तीर्थयात्रमा रहेका ५०० भन्दा बढी विदेशी नागरिकको ज्यान गयो । त्यस बाढीमा परी पाँच हजारभन्दा बढी नागरिक अहिले सम्पर्कविहीन छन् । त्यस क्षेत्रबाट हालसम्म बाढीप्रभावित १३ हजार ६४६ को उद्धार गरिएको छ । बाढीसँगै आएको लेदोसहितको छालले विद्यालयमा पढिरहेका विद्यार्थी, डयुटीमा खटिरहेका सुरक्षाकर्मी, घरधन्दा गरिरहेका गृहणी, व्यापार व्यवसाय गरिरहेको नागरिक, सुरुङमा काम गरिरहेका इन्जिनियर, मजदुरसहित ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान लियो । त्यस क्षेत्रका सडक भत्केर खोचमा परिणत भए ।

    चारैतिर हिलोको साम्राज्यजस्तो भयो । दुवै नदी किनारका क्षेत्र सिमेन्ट प्लास्टर गरेको मैदानजस्तो भयो । बाढीको त्यस खालको क्रन्दनबाट परिवार, आफन्त र धनमाल गुमाएका रसुवावासीको आँसु, चित्कार र कोलाहलकाबीचमा रसुवावासीका लागि हेलिकप्टरको उडान नै बाँच्ने र बचाउने एकमात्र जीवनको आधार बन्न पुग्यो । बाढीको उग्ररुपले प्रभावित क्षेत्रका सबै खाले पुलपुलेसो बगाएकाले वारि–पारि तथा ओल्लोबाट पल्लोगाउँ पुग्ने विषय कल्पना बाहिर थियो ।

    यही विभिषिका र त्रासदीको भूमरीका बीच रसुवाको अस्थायी हेलिप्याडमा हेलिकप्टर चालक क्याप्टेन प्रिया उत्रनुभयो । त्यस दिनको घटनाको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “मेरो वरिपरि रोइरहेका आफन्तहरू, पहिरोमा पुरिएर घाइते भएकाको छटपटी र टोलाइरहेका वृद्धवृद्धाको भीड थियो । मौसम असाध्यै प्रतिकूल थियो । बाक्लो कुहिरो र कालो बादलले रसुवाका अप्ठ्यारा पहाडका टाकुरालाई पूर्ण रूपमा ढाकेका थिए । हावाको गति तीव्र थियो । यस्तो अवस्थामा उडान भर्नु भनेको सिधै मृत्युको ककपिटमा बस्नुसरह थियो ।”

    त्यस बेला बाढीप्रभावित क्षेत्रमा उद्धार टोली र स्थानीय आकाशतिर हेर्दै प्रार्थना गरिरहेका थिए । ठीक त्यही निसासिँदो बादललाई चिर्दै, पहाडका कापबाट जोगिँदै धुञ्चेको आकाशमा एउटा हेलिकप्टर ओर्लियो । ब्लेडको कानै खाने आवाजका बीच हेलिकप्टर भुइँमा टेक्यो र ककपिटको ढोका खुल्यो । सैनिक पोसाकजस्तै कडा मिहिनेत झल्किने पोसाक, एभिएटर चश्मा र अनुहारमा एउटा गम्भीर एकाग्रता बोकेर ककपिटबाट उहाँ ओर्लिनुभएको थियो ।

    मैले प्रियालाई धेरै नजिकबाट नियाल्ने मौका पाएँ । उहाँको अनुहारमा न त कुनै थकान देखिन्थ्यो, न त मौसमको त्यो डरलाग्दो रूपप्रतिको भय । उहाँको आँखा र सोच थियो त केवल, “कसरी छिटोभन्दा छिटो घाइते र जोखिममा परेकालाई सुरक्षित स्थानमा पुर्याउने”, भन्ने दृढ मानवीय सङ्कल्प । हेलिकप्टरको इन्जिन बन्द नहुँदै उहाँ आफैँ हिलोमा कुदै अघि बढ्नुभयो । पहिरोले क्षतविक्षत भएका वृद्धवृद्धालाई पिठ्युँमा बोक्न सघाउनेदेखि रोइरहेका बालबालिकालाई फकाएर हेलिकप्टरभित्र सिटमा बाँध्नेसम्मको काममा उहाँ आफैँ खटिएकी खटिनुभयो । पहिरोको हिलो र पीडितको आँसुका बीच उहाँले त्यो सक्रियता साच्चिकै मानवीयताले भरिएको देखिन्थ्यो ।

    सामान्य अवस्थामा हिमाली र पहाडी भेगमा एक–दुई पटक उडान भर्न पनि पाइलटहरूले निकै कसरत र मौसमको पर्खाइ गर्नुपर्छ । तर, रसुवाको त्यो असाध्यै कठिन भूगोल, साँघुरो उपत्यका र कतिपय अवस्थामा शून्य प्रायः भिजिबिलिटी ९दृश्यता० का बीच पनि प्रियाले दैनिक १० पटकसम्म उडान भनुभयो । एकपटक उड्नु, घाइतेलाई काठमाडौँ वा सुरक्षित अस्पताल पु¥याउनु अनि फेरि तुरुन्तै रसुवाको जोमखिमयुक्त आकाशमा फर्किनु यो कुनै सामान्य व्यावसायिक जिम्मेवारी मात्र थिएन, वीरलै देखिने साहस थियो ।
    प्रत्येक पटक हेलिकप्टर आकाशतर्फ उड्दा भुइँमा बस्नेहरूका आँखामा आशाको त्यान्द्रो पलाउँथ्यो भने उहाँ फर्किंदा कयौँको जीवन जोगिइसकेको हुन्थ्यो । उडान र उद्धारको एउटा छोटो विश्रामका बेला मैले हेलिप्याडको कुनामा प्रियासँग नजिकै पुगेर कुराकानीको प्रयास गरे ।

    हेलिकप्टरको इन्जिनको चर्को आवाज र हावाको बेगका बीच उहाँले आफ्नो पसिना पुछ्दै भन्नुभयो, “जब म ककपिटमा बस्छु र कप्टरले जमिन छाड्छ, मलाई मेरो अगाडिको खराब मौसम वा खतराको महसुस नै हुँदैन । मेरो दिमाग र नजरमा केवल भुइँमा छटपटाइरहेका, उद्धारको पर्खाइमा रहेका ती निर्दोष अनुहार मात्र नाच्छन् । उनीहरूलाई समयमै बचाएर सुरक्षित ठाउँमा पु¥याउन पाउनु नै मेरो उडानको सबैभन्दा ठूलो सार्थकता र ऊर्जा हो ।” उहाँको यो आँटिलो अनि जोसिलो वाक्यले त्यहाँ उपस्थित सबैको मन ढुकढुक बनायो ।

    त्यो बाढीले रसुवाको जमिन मात्र हल्लाएको थिएन, सिङ्गो देशको मन कम्पन गराएको थियो । तर, त्यो आँसु र हिलोको दलदलकाबीच क्याप्टेन प्रियाजस्ता साहसी सारथीले मल्हम लगाउने काम गर्नुभयो । दिनमा १० पटक मृत्युसँग जुध्दै जीवनको उडान भर्ने क्याप्टेन अधिकारीको साहस रसुवाको इतिहासमा र नेपाली नागरिकको मनमा सधैँ एउटा मार्गदर्शक र प्रेरणादायी कथाका रूपमा जीवित रहनेछ ।

    मिस नेपालको मञ्चदेखि नेपाली आकाशसम्मको सफल यात्रा तय गरेकी क्याप्टेन प्रिया अधिकारी हालैको बाढीप्रभावित रसुवा जिल्लामा नागरिकको जीवन बचाउने महाअभियानमा अहोरात्र खटिएकी देशकै पहिलो महिला हेलिकप्टर क्याप्टेन हुनुहुन्छ ।

    बाढीपछि रसुवा पुगेपछि क्याप्टेन अधिकारीको दैनिकी पूर्ण रूपमा उद्धार उडानमै व्यस्त रह्यो । यसबीचमा उहाँले १०० भन्दा बढी उद्धार उडान गर्नुभयो । विशेष गरी रसुवाको टिमुरे तथा नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा फसेका, घाइते भएका र अलपत्र परेका नागरिकहरूको उद्धारमा उहाँको हेलिकप्टर निरन्तर उडिनै रह्यो ।

  • ‘बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छ’

    ‘बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छ’


    काठमाडौँ, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई सरकारविरुद्धको प्रहारका रूपमा नभई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी, कटाक्ष वा साइबर बुलिङ नगर्न पनि आग्रह गरे ।


    यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई जलवायु अन्यायको परिणामका रूपमा लिएर विश्वस्तरमा प्रभावकारी पहल गर्न सरकारसँग उनले आग्रह गरे । बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सभापति लामिछानेले विपत्तिमा परेका नागरिकको उद्धार अझै जारी रहेकाले सुखद समाचारको आशा मार्न नहुने बताए ।

    जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै सभापति लामिछानेले जलवायु परिवर्तनका कारण हुने क्षतिको न्यायोचित अन्तरराष्ट्रिय सम्बोधन हुन आवश्यक रहेको बताए । उनले विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका सामान्य मृतकका रूपमा मात्र हेर्न नहुने धारणा राखे ।


    विपत्तिको समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा आम नागरिकले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गरे । सभापति लामिछानेले विपत्ति आइलाग्नासाथ राज्य संयन्त्र परिचालन गरी प्राथमिकतासाथ उद्धार, उपचार र राहतको काम सुरु गरेकामा सरकारलाई धन्यवाद दिए ।


    उनले अहिलेको समयमा सरकारले गरेको उद्धार तथा राहत प्रयासको आलोचना मात्र गरेर समय खेर फाल्न नहुने धारणा व्यक्त गर्दै आआफ्नो क्षेत्रबाट बाढी पीडितलाई सक्दो सहयोग गर्न अनुरोध गरे । ‘विपद्को समयमा हामी सरकारको साथमा छौँ’ भन्ने भावनासहित उनले विपत्तिलाई राजनीतिक लाभ–हानिको विषय बनाउन नहुने बताउँदै उनले सरकारका कामको रचनात्मक आलोचना गर्दै जवाफदेहिता माग्नु प्रतिपक्षको अधिकार र कर्तव्य भए पनि राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउन नहुने बताए ।


    अहिलेको विषम् परिस्थितिमा राहत र पुनर्निर्माणमा मात्र सीमित नभई त्यसको मूल कारणसम्म पुग्नुपर्नेमा जोड दिनुहुँदै जलवायु परिवर्तनले गहिरिँदै गएको सङ्कटको परिणामका रूपमा यस्ता विपत्ति बढ्न सक्ने भएकाले नेपालले जलवायु न्यायका लागि विश्व अभियान अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    यसका लागि हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा विश्वस्तरमा मान्यता दिलाउन पहल गर्न, हिमालय संरक्षण तथा जलवायु अनुकूलनका लागि ‘ग्रिन क्लाइमेट फन्ड’मा सहज वित्तीय पहुँच सुनिश्चित गर्न र ‘साउथ–साउथ कोअपरेसन’मार्फत हिमालयसम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदानप्रदान अघि बढाउन सभापति लामिछानेले प्रस्ताव गरे ।


    त्यस्तै, सीमा–पार प्रारम्भिक चेतावनी तथा विपद् पूर्वसूचना प्रणाली विकास गर्न, हिमाली समुदायको जीवन, जीविकोपार्जन र सुरक्षित भविष्य संरक्षण गर्न तथा जलवायुजन्य हानि–नोक्सानी सम्बोधनका लागि अन्तरराष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने बताए । बाढीबाट भएको मृत्यु, बेपत्ता, विस्थापन तथा आर्थिक र गैरआर्थिक क्षतिको व्यवस्थित राष्ट्रिय ‘क्षति तथा हानि अभिलेख’ तयार गर्नुपर्नेमा जोड दिँदै उनले जलवायु परिवर्तनको भूमिकाबारे स्वतन्त्र वैज्ञानिक अध्ययन गराई त्यसैका आधारमा अन्तरराष्ट्रिय क्षति तथा हानिको दाबी गर्न पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।


    पुनर्निर्माणका नाममा नेपाली जनतामाथि थप ऋणको भार थोपर्न नहुने भन्दै उनले अनुदानमा आधारित अन्तरराष्ट्रिय जलवायु वित्त परिचालन गर्नेतर्फ नेपालको ध्यान जानुपर्ने उनले बताए । साथै, हिमताल, हिमनदी, वर्षा र नदीको वास्तविक समय निगरानी तथा सीमापार पूर्वसूचना र तथ्याङ्क आदानप्रदान प्रणालीलाई राष्ट्रिय प्राथमिकतामा राखी सोहीअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । सभापति लामिछानेले अबको केही दिनमा हुने संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलले जलवायु सङ्कट र हिमालयको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।

    उनले नेपालले अन्तरराष्ट्रिय मञ्चमा याचना गर्नेभन्दा तथ्य र प्रमाणसहित जलवायु न्यायको पक्षमा सशक्त एवं स्वाभिमानी कूटनीतिक पहल अघि बढाउनुपर्नेमा जोड दिए । विपत्तिबाट पाठ सिक्दै दीर्घकालीन कानुनी, वित्तीय तथा पूर्वतयारीको संरचना निर्माण गर्नुपर्नेमा उनको जोड थियो । प्रतिनिधिसभाको आजको बैठकमा सभापति लामिछानेले ‘हामीसँग एउटै विकल्प छ–आँसु पुछेर फेरि उभिनु’ भन्दै बाढीमा ज्यान गुमाएका तथा प्रभावित नागरिकको पीडालाई राष्ट्रिय शक्ति र उनीहरूको बलिदानलाई राष्ट्रिय सङ्कल्पमा बदल्नुपर्ने बताए ।


    यही भदौ १० गतेको बाढीपश्चात् सत्तारुढ दल रास्वपाका सभापति लामिछानेले संसद्मा समय लिएर प्राकृतिक विपत्तिको सामनाका लागि पहिलोपटक सम्बोधन गरेका थिए । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताको उपस्थिति थियो ।

  • राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

    राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण

    काठमाडौँ, २४ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनालगायत कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा मुलुकको क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तरराष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिए । उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको हानीनोक्सानीको क्षतिपूर्ति पाउनेगरी प्रधानमन्त्रीले अन्तरराष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्नेमा जोड दिए ।


    राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवम् बाढीपीडितको बसोबासका लागि ‘होल्डिङ सेन्टर’ व्यवस्थापनको कामलाई तीव्रता दिन आग्रह गरेका हुन् । उनले बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।


    राष्ट्रपति पौडेलले बाढीप्रभावित क्षेत्रको जनजीवन सहज र सरल बनाउन तत्कालका कामलाई प्राथमिकता दिन आग्रह गरे । मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी भए । भेटमा सरकारका तर्फबाट मन्त्रीहरूले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सकिनेगरी दिनरात काम भैरहेको जानकारी दिए । यसैगरी उनीहरुले वैकल्पिक सडक निर्माणलाई गति दिइएको र लामा बेलीबब्रिजहरूको लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको तथा आवश्यक सामग्रीहरू आउनेक्रममा रहेको जानकारी राष्ट्रपतिलाई गराए ।

  • टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग

    टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग

    काठमाडौँ, २४ भदौः नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग गरेको छ । टेलिकमले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

    टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरिन् । सो अवसरमा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीलगायतको उपस्थिति थियो ।

    यसअघि कम्पनीका कर्मचारीका तर्फबाट रु दुई करोड दुई लाख २६ हजार ६६ को चेकसमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढीपछि नै रु छ करोड बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको जनाएको छ ।

    टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प तथा कोभिड–१९ महामारीलगायतका विपद्का समयमा देश र नागरिकप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको कम्पनीका प्रवक्ता डा कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम गर्न तथा राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ ।

  • सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    भक्तपुर, २४ भदौः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । पार्टीको विवादका विषयमा सर्वोच्च अदालतले उनको पक्षलाई निस्सा दिएपछि देउवाको त्यस्तो विचार आएको हो । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३ औँ बीपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजना गरेको ‘बिपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ विचार गोष्ठीमा बोल्दै उनले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।


    रसुवा भोटेकोशी बाढीमा परेकाको छिटो राहत र उद्धारमा सरकार लाग्नुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेस नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा। प्रकाशशरण महत, विनोद कायस्थ, सुरेन्द्र श्रेष्ठलगायत नेताहरूले कांग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्ने र त्यसका लागि विद्यानसम्मत नियमित महाधिवेशनमा जानुपर्ने बताए ।

  • सुनसान सौराहामा होटल : पर्यटक भन्दछन् विपदमा कसरी रमाउनु ?

    सुनसान सौराहामा होटल : पर्यटक भन्दछन् विपदमा कसरी रमाउनु ?


    चितवन, २४ भदौः पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।

    अध्यक्ष पाण्डे आफ्नो जस्तै अन्य होटलको पनि अवस्था उस्तै रहेको जानकारी दिन्छन् । नेपालमा सीमित भूभागबाहेक अन्य क्षेत्रमा बाढीको कुनै प्रभाव छैन । कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक सञ्चालनमा छन् । यद्यपि, पर्यटकहरूले धमाधम ‘बुकिङ’ रद्द गरिरहेका छन् । यस महिनाका बुकिङ सबै रद्द भएको उनी बताउँछन् ।

    भारतको गोरखपुरबाट १०० पर्यटकले सौराहाका लागि ‘बुकिङ’ गरेको कार्यक्रम स्थगन गरेका छन् । अध्यक्ष पाण्डले भने, “संवादका क्रममा पर्यटकले नेपालमा विपद परिरहेका समयमा आफूहरु त्यहाँ रमाउन नसक्ने जानकारी दिएका छन् । अन्तरराष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम नभएको सन्देश प्रवाह गर्नुपर्छ । ”

    गत वर्षको यो समयमा जेनजी आन्दोलनसँगै सुस्ताएको पर्यटन यो वर्ष निकै राम्रो हुने अपेक्षा व्यवसायीले गरेका थिए । सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल भारतीय पर्यटक बढी आउने यो बेलामा बाटोका कारण समस्या भएको जानकारी दिए । बाढी आउँदाभन्दा सडक अवरुद्ध हुँदा बढी ‘बुकिङ’ रद्द भएको उनको भनाइ छ । उनले भने, “भोटेकोशीमा बाढी आउँदा केही रद्द भए पनि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बाँकी सबै बुकिङ रद्द भएको छ ।”

    मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक क्षेत्रमा आउने भारतीय पर्यटकले ‘बुकिङ’ रद्द गर्दा यसको प्रत्यक्ष प्रभाव सौराहामा परेको जनाइएको छ । उनले भने, “अन्तरराष्ट्रियस्तरमा बाढीको प्रभाव सीमित ठाउँबाहेक अन्यत्र छैन भन्ने सन्देश दिनु सक्नुपर्छ ।”

    होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे विभिन्न देशहरूले नेपाललाई असुरक्षित सूचीमा राखेकाले विदेशी पर्यटकले ‘बुकिङ’ रद्द गरेको बताउँछन् । वर्षात्पछि अबका दिनहरूमा क्रमशः स्वदेशी र विदेशी पर्यटक आएर विगतमा सौराहा भरिने गरेको उनले स्मरण गरे । वर्षात्को समयमा पनि शनिबार र आइतबार बिदा हुँदा आन्तरिक पर्यटक आउने गरेकामा बाढी र त्यसपछिको सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटक पनि नआएको उनी बताउँछन् ।

    ‘सेप्टेम्बर’ र ‘अक्टोबर’ महिनाका लागि गरिएका अधिकांश बुकिङ रद्द भएको उनको भनाइ छ । ‘सेप्टेम्बर’ का सबै बुकिङ रद्द भएका छन् भने अवस्था सुध्रिएमा ‘अक्टोबर’ मा गरिएका केही बाँकी बुकिङ रद्द नहुने अपेक्षा उनको छ । त्यसपछिका महिनामा पूर्ववत् अवस्थामा पर्यटक आउने व्यवसायीले आशा गरेका छन् ।
    सौराहामा यतिबेला सरदर पाँच प्रतिशत पर्यटक भएको अनुमान छ । गत वर्ष यतिबेला २५ देखि ३० प्रतिशत पर्यटक हुने गरेका थिए । केन्द्रीय सदस्य घिमिरे अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउँछन् । सरकारले विश्वका विभिन्न देशमा रहेका राजदूतहरूमार्फत नेपालको अहिलेको अवस्थाका बारेमा सम्बन्धित देशमा सूचना प्रवाह गर्न सकेमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

    सौराहाको केसीज रेष्टुरेन्ट एन्ड होमका सञ्चालक नरेश गिरी चोकैमा रहेको आफ्नो रेष्टुरेन्ट र होटलसमेत सुनसान भएको जानकारी दिए । विगतमा रेष्टुरेन्ट भिडभाड हुने यो समयमा पर्यटक नआएको जनाउँदै उनले भएका ‘बुकिङ’समेत रद्द भएको बताए । ‘बुकिङ’ रद्द भएको अवस्था हेर्दा ‘नोभेम्बर’सम्म नकारात्मक देखिएको उनको भनाइ छ ।

    भोटेकोशी बाढीमा भारतीयसहित विदेशी पर्यटकसमेत परेका कारण अन्तरराष्ट्रिय जगत्मा नेपाल असुरक्षित छ भन्ने सन्देश पुगेको व्यवसायी गुनासो गरे । सीमित भूगोलामा बाढीको प्रभाव रहे पनि नेपालका अन्य भूभाग सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । यसका बारेमा अन्तरराष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न नसक्दा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको जनाइएको छ ।

    सौराहामा १२० भन्दा बढी होटल छन् । जहाँ पाँच हजारभन्दा बढी पर्यटकलाई एकैदिन राख्न सक्ने क्षमता छ । यहाँबाट काठमाडौँ दैनिक पर्यटक बस चल्ने गरेकामा पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएसँगै ती बस रोकिएका छन् । हवाई भाडा महँगो र उच्च चापका हुँदा पर्यटक सहजै आउने परिस्थिति छैन । मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यहाँ बस्ने गर्दथे । यस्तै देशका विभिन्न भागबाट गोष्ठी, बैठक, सभा, सम्मेलन गर्न नेपाली यहाँ आउने गर्दछन् । नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई लिने गरिन्छ । सफारी पर्यटनको हिसाबले यो पहिलो गन्तव्य हो ।

  • रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया


    सियोल, २४ भदौ (रासस–एएफपी) । उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो । उत्तर कोरियाली अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्त्वपूर्ण घटना भएको बताए । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बताए ।


    सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्को र प्योङयाङबीच सैन्य तथा आर्थिक सहकार्य तीव्र भएको छ । उत्तर कोरियाले सन् २०२४ मा रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो । दुवै देशले त्यही वर्ष पारस्परिक रक्षा सन्धि गरेका थिए ।

    दक्षिण कोरियाको केन्द्रीय बैंकले उत्तर कोरियाको अर्थतन्त्र सन् २०२५ मा लगातार तेस्रो वर्ष तीन प्रतिशतभन्दा बढीले बढेको र रुससँगको आर्थिक सहकार्य त्यसको प्रमुख कारणमध्ये एक रहेको जनाएको छ । यसैबीच, युक्रेनी अधिकार समूह ट्रुथ हाउन्डले नयाँ पुल उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीलाई रुस पठाउने मार्ग बन्न सक्ने र रुसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउनसमेत प्रयोग हुन सक्ने चेतावनी दिएको छ ।

  • नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता


    पेरिस, २४ भदौ (रासस–एएफपी) । भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार, भदौ ५ देखि १० सम्म करिब पाँच हजार २०० मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको थियो । यो तापक्रम असाधारण रूपमा उच्च मानिन्छ ।

    पचपन्न वर्षभन्दा लामो मौसमसम्बन्धी तथ्याङ्कअनुसार, यसअघि सोही अवधिमा तापक्रम कहिल्यै चार डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन । यद्यपि, उक्त उच्च तापक्रम र हिमनदी भत्किनुबीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन । क्यालिफोर्नियास्थित स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषण गरी उक्त असाधारण तापक्रमको पुनर्निर्माण गरेका हुन् ।


    उनका अनुसार, हिमनदी भत्किएको क्षेत्रमा २०औँ शताब्दीको मध्यदेखि भदौ ५–१० को अवधिमा रेकर्ड गरिएको औसत तापक्रम करिब १.८ डिग्री सेल्सियसले बढेको देखिन्छ । जलवायु परिवर्तनका कारण थपिएको तापक्रमलाई अलग गर्ने हो भने, यस्तै तापक्रमको अवस्था केही हजार वर्षमा एकपटक मात्र हुने प्रकृतिको हुन सक्ने रोहडेले एएफपीका लागि गरेको गणनामा उल्लेख गरेका छन् ।
    युरोपेली सङ्घको कोपर्निकस जलवायु परिवर्तन सेवाबाट सन् १९७० यताका तथ्याङ्कको विश्लेषण गर्दा पनि लाङटाङ क्षेत्रमा उक्त घटना भएको समय रेकर्डमा रहेको चौथो सबैभन्दा तातो गर्मीको अवधिसँग मेल खाने देखिएको छ ।

    सम्भावित ‘टिपिङ पोइन्ट’
    फ्रान्सेली जलवायुविद् भ्यालेरी म्यासन–डेल्मोटेका अनुसार, असाधारण गर्मीले पर्माफ्रस्ट पग्लिनुका साथै चट्टानी ढलान र हिमनदीको संयुक्त पतनलाई सम्भावित रूपमा बढावा दिएको हुन सक्छ । पर्माफ्रस्टले बरफको ‘सिमेन्ट’जस्तै काम गर्दै चट्टानी संरचनालाई एकसाथ बाँधेर राख्छ । यसको पग्लाइले त्यस्ता संरचनालाई थप अस्थिर बनाउन सक्छ ।

    उपग्रहबाट प्राप्त तस्बिरले पनि घटना हुनुअघिका दिनमा उल्लेखनीय रूपमा हिउँ पग्लिएको देखाएका छन् । फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (सीएनआरएस)का हिमनदीविद् एटिएन बर्थियरका अनुसार, यसबाट उत्पन्न तरल पानी पहाडका चिरामा प्रवेश गरी पहिरो वा ढलान भत्किन सहज बनाएको हुन सक्छ ।

    विज्ञले उच्च तापक्रमले हिमनदी वा पहाड भत्काउन प्रत्यक्ष रूपमा भूमिका खेलेको निष्कर्ष निकाल्न अझै हतार गर्न नहुने बताएका छन् । फ्रान्सको ग्रेनोबल आल्प्स विश्वविद्यालयकी भू–आकृतिविद् क्रिस्टन कुकले तापक्रम बढ्नु र पहाड भत्किनुलाई एउटै मान्न नमिल्ने बताइन् । “यदि तापक्रमले ट्रिगरका रूपमा काम गरेको हो भने, चट्टान पतनको निर्णायक बिन्दुमा नपुगेसम्म त्यसको प्रभाव देखिन नहुन सक्छ,” उनले एएफपीलाई भनिन् । ।

    अनुसन्धानकर्ताले अहिले हिमनदी भत्किनुअघिका वर्षमा पहाडमा देखिएका साना–साना गतिविधि तथा तापक्रममा आएको परिवर्तनबीचको सम्बन्धबारे अध्ययन गरिरहेका छन् । रोहडेका अनुसार, पग्लिएको पानी र पर्माफ्रस्ट पग्लिनुका कारण चट्टानको चिरा वा फ्र्याक्चर प्लेन आसपासको संरचना उल्लेखनीय रूपमा कमजोर भएको प्रमाणित हुनु जलवायु परिवर्तनको भूमिकाको बलियो प्रमाण हुन सक्छ । उनको तापक्रम विश्लेषणमा कोपर्निकस कार्यक्रमअन्तर्गतको जलवायु मोडेल तथा भत्किएको हिमनदीबाट ९ देखि १४० किलोमिटरको दूरीमा रहेका १४ वटा उच्च उचाइका मौसम केन्द्रबाट प्राप्त तथ्याङ्क प्रयोग गरिएको थियो ।

  • हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    पेरिस, २४ भदौ (रासस–एपी) । हिन्दू प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीको उपस्थिति सीमित गर्ने व्यवस्थापनको निर्देशनको विरोधमा भएको हड्तालपछि आइफेल टावर मङ्गलबार पुनः सञ्चालनमा आएको छ । कर्मचारीले उक्त निर्देशनलाई अस्वीकार्य भन्दै विरोध गरेका थिए । सिजिटी युनियनकी प्रतिनिधि डायन डेभोइनले एसोसिएटेड प्रेसलाई बताएअनुसार, सप्ताहन्तमा आइफेल टावरका कर्मचारीबीच व्यवस्थापनको निर्देशनलाई लिएर असन्तुष्टि बढेको थियो । व्यवस्थापनले करिब ३३० मिटर अग्लो टावरमा आउने बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बापस)को प्रतिनिधिमण्डलसँग महिला कर्मचारीलाई सम्पर्कमा नआउन निर्देशन दिएको उनको भनाइ छ ।

    बापस स्वामीनारायण सम्प्रदायअन्तर्गतको विश्वव्यापी धार्मिक तथा सामाजिक संस्था हो । संस्थाले फ्रान्सेली राजधानीमा परम्परागत हिन्दू ढाँचामा निर्माण गरिएको मन्दिरको उद्घाटनका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । मङ्गलबार एपीलाई पठाइएको लिखित विज्ञप्तिमा बापसले प्रतिनिधिमण्डलको भ्रमणका क्रममा कर्मचारी र अन्य आगन्तुकलाई हुने सम्भावित असुविधा कम गर्न आइफेल टावर व्यवस्थापनसँग समन्वय गरिएको जनाएको छ ।

    उक्त समन्वय लैङ्गिक आधारमा कुनै अनुरोध गर्ने उद्देश्यले नभएको संस्थाले स्पष्ट पारेको छ । “कुनै पनि अवस्थामा लैङ्गिक आधारमा अनुरोध गरिएको थिएन,” विज्ञप्तिमा भनिएको छ । बापसले आफू “लैङ्गिकता, पृष्ठभूमि वा धार्मिक आस्थाको पर्वाह नगरी समानता, पारस्परिक सम्मान र सबैको सेवाको सिद्धान्तप्रति दृढ प्रतिबद्ध,” रहेको जनाएको छ । संस्थाले यस घटनाबाट कसैलाई चोट वा असहजता पुगेको भए त्यसप्रति क्षमा मागेको छ ।

    आइफेल टावर सञ्चालन गर्ने कम्पनीले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । करिब १३७ वर्ष पुरानो आइफेल टावरमा हरेक वर्ष झन्डै ७० लाख पर्यटक पुग्ने गर्छन् । सिजिटीकी डेभोइनका अनुसार आइफेल टावरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विभिन्न राजपरिवारका सदस्य तथा ब्रिट्नी स्पियर्सजस्ता चर्चित व्यक्तिसहित विशेष प्रतिनिधिमण्डलको नियमित रूपमा स्वागत गर्दै आएको छ । कर्मचारी त्यस्ता भ्रमणका लागि आवश्यक व्यवस्थापन गर्न तयार रहने भए पनि शनिबार दिइएको निर्देशन असामान्य र अस्वीकार्य रहेको उनको भनाई छ ।


    पेरिसका मेयर इमानुएल ग्रेगोइरले सामाजिक सञ्जाल ‘एक्स’मा घटनाबारे अनुसन्धान गर्ने बताए । “हाम्रा ऐतिहासिक स्मारकको परिसरमा वा यस शहरका अन्य कुनै पनि स्थानमा लैङ्गिक समानता रोकिने छैन,” उनले भनेको छन् । उनले यो सिद्धान्त “सबैतिर र सबैका लागि, कुनै अपवादबिना” लागू हुने सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए । औद्योगिक विवादका कारण आइफेल टावर बन्द भएको यो पहिलो घटना भने होइन । टावरको उचित मर्मतसम्भार र उच्च पारिश्रमिकको माग गर्दै कर्मचारीले गरेको हड्तालका कारण सन् २०२४ को फेब्रुअरीमा पनि आइफेल टावर छ दिनसम्म बन्द भएको थियो ।