Author: Vishwanews.com

  • एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित

    एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित

    काठमाडौँ, १ असोजः जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला भलिबल खेलमा नेपाल पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । नेपाल आज सम्पन्न खेलमा इन्डोनेसियाविरुद्ध ३–० को सोझो सेटमा पराजित भयो । बुधबार भएको पहिलो खेलमा जापानविरुद्ध पनि नेपाल सोझो सेटमा पराजित भएको थियो । आइचीस्थित पार्क एरिना कोमाकीमा भएको इन्डोनेसियासँगको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो ।

    लगातार दोस्रो पराजयसँगै भलिबलमा पदक जित्ने नेपालको सम्भावना सकिएको छ । नेपालले अब वरियताका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो ।

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    काठमाडौँ, १ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न कसुरका ९९० प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त रु २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत आवमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा १७५ वटा मुद्दा दायर गरिएको आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार सो अवधिमा सबैभन्दा बढी ५६ वटा मुद्दा सार्वजनिक हानि–नोक्सानीसम्बन्धी रहेका छन् ।

    घूस (रिसवत)सम्बन्धी ४१, गैरकानुनी लाभ वा हानिसम्बन्धी २७, झुटारनक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १५, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११, राजस्व चुहावट–हिनामिना, सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी पाँच–पाँच र अन्य कसुरसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन् । गत आवमा कायम कुल उजुरीमध्ये तहगत आधारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी २० हजार छन् । सङ्घसँग सम्बन्धित १५ हजार ५१२ र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम पाँच हजार ३०५ उजुरी दर्ता भएका आयोगले जनाएको छ ।

    वार्षिक प्रतिवेदनअनुसार छ वटा प्रदेशमा स्थानीय तहका निकाय वा पदाधिकारीसम्बद्ध उजुरी बढी परेका छन् भने बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बद्ध उजुरीको सङ्ख्या बढी छ । उजुरीको समग्र सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा बढी छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम रहेका छन् ।

    आर्थिक वर्ष २०८२–८३ मा दर्ता भएका प्रदेश सरकारसम्बद्ध कुल पाँच हजार ३०५ उजुरीमध्ये सबैभन्दा बढी एक हजार ४७५ वटा मधेस प्रदेशसम्बद्ध र सबैभन्दा कम ४०७ वटा गण्डकी प्रदेशसम्बद्ध रहेका छन् । विषय क्षेत्रगत आधारमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेका छन् भने मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेका छन् ।

    यस अवधिमा दर्ता कायम भएका स्थानीय तहसम्बद्ध कुल २० हजार २५ उजुरीमध्ये सबैभन्दा बढी सात हजार ३७० उजुरी मधेस प्रदेशका स्थानीय तहसँग र सबैभन्दा कम एक हजार ४०६ उजुरी गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित छन् । सङ्घ सरकारसम्बद्ध उजुरीमध्ये मन्त्रालयगत आधारमा साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी छ ।

    त्यसपछि बढी उजुरी परेका साबिकका मन्त्रालयहरू क्रमशः शिक्षा तथा खेलकुद, गृह, पूर्वाधार विकास, अर्थ, स्वास्थ्य तथा खाद्य स्वच्छता, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कृषि, वन तथा पर्यावरण र सूचना तथा सञ्चार मन्त्रालय रहेका छन् ।

  • भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

    भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

    काठमाडौँ, १ असोजः भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार गत भदौ १० गतेको बाढीमा परेर आजसम्म ३६ देशका ६०६ विदेशी पर्यटक बेपत्ता भएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएकामध्ये अझै ६०६ विदेशी पर्यटक बेपत्ता भएका राससलाई जानकारी दिए । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका छन् ।

    विभागले दिएको जानकारीअनुसार भारतका १८९, अष्ट्रेलियाका ३३, क्यानडाका ३०, मलेसियाका ५५, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, लाटभियाका ३३, चीनका ३७ जना छन् । त्यस्तै, बेलारुस, फिनल्याण्ड, फ्रान्स, जर्मनी हङ्गेरी, आइरिस, इजरायल, लिथ्वानिया, नेदरल्याण्ड, न्युजरल्याण्ड, पोर्चुगल, रसिया, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, जापान, फिलिपिन्स, काजकिस्तान, बेल्जियम, स्विडेन, स्विजरल्याण्ड, इटली, भियतनाम, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन् ।

    उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक बेपत्ता भएका छन् । विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेका विभागका सूचना अधिकारी घिमिरेले बताए । उनका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको छ । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये १३ जना (तीन पुरुष, नौ महिला र एक अन्य) हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् ।

  • प्रधानमन्त्री प्रकोप कोषमा एक हजार सहयोग गरेका व्यक्तिलाई एक लाख उपहार परेपछि…

    प्रधानमन्त्री प्रकोप कोषमा एक हजार सहयोग गरेका व्यक्तिलाई एक लाख उपहार परेपछि…


    काठमाडौँ, १ असोजः करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौमा प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु एक हजार सहयोग गर्ने एक जना पनि रु एक लाखको उपहार विजेतामा परेका छन् । आन्तरिक राजस्व विभागले आज सार्वजनिक गरेका भदौ महिनाका ३३ जना विजेतामध्ये कोषमा उक्त रकम प्रदान सहयोग गर्ने एक जना परेको हो ।

    विभागका अनुसार भदौमा हरेक दिन एक जनाका दरले ३१ जना र दुई जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिएको हो । यद्दपी कार्यविधि अनुसार यसरी सहयोगमा गरेको भुक्तानी भने पुरस्कारका लागि योग्य हुने छैनन् । यसबारे विभागले छिट्टै निर्णय गर्ने जनाएको छ । भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि निर्धारित उपहार घोषणा कार्यक्रम स्थगन भएको थियो ।

    भदौ महिनाका ३१ विजेताले जनही रु एक लाख तथा दुई जना बम्पर विजेताले जनही नगद रु १० लाख उपहार प्रदान गरिने छ । सरकारले कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने तथा सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

    १ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता भएको छ। बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।

  • चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

    चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी


    काठमाडौँ, १ असोज । चालु आर्थिक वर्ष २०८३\८४ को शुरुआती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च रु एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ । कार्यालयका अनुसार सरकारले चालु शीर्षक

    यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आम्दानी कम छ । भदौ मसान्तसम्मको कुल राजश्व संकलन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत अर्थात् रु एक खर्ब ९० अर्ब १० करोड ७९ लाख छ । पछिल्ला दुई महिनामा मात्रै सरकारको आम्दानी भन्दा खर्च करिब रु नौ अर्ब ७२ करोडले बढी रहेको छ । कर राजश्वतर्फ चालु आर्थिक वर्षका लागि कुल रु १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको १२ दशमलव २ प्रतिशत अर्थात् रु एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख संकलन भएको छ ।

    त्यस्तै, गैरकर राजश्वतर्फ रु एक खर्ब ७७ अर्ब उठाउने सरकारको लक्ष्य रहेकोमा हालसम्म छ दशमलव नौ प्रतिशत अर्थात् रु १० अर्ब ७७ करोड ६९ लाख उठेको छ । चालु आर्थिक वर्षका लागि रु ६१ अर्ब ७४ करोड ५४ लाख प्रत्यक्ष वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा आठ दशमलव ९६ प्रतिशत अर्थात् रु पाँच अर्ब ५३ करोड बराबर भित्रिएको कार्यालयले जनाएको छ ।

  • चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

    चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट


    काठमाडौँ, १ असोजः जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्लेलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् । भेटमा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रधान सेनापति सिग्देलले भदौ ३१ गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नाका साथै बेइजिङमा आयोजना भएको ‘१३औँ बेइजिङ स्याङसङ फोरम’को उद्घाटन सत्रमा सहभागी थिए ।

  • शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

    शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

    काठमाडौँ, १ असोजः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उनले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन–नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन आग्रह गरे ।


    मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गरे । हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    आयोगका अध्यक्ष डा लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताए । आयोगको प्रभावकारिता तथा शिक्षक व्यवस्थापन सुधारका लागि नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिए । छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

  • सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

    सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

    काठमाडौँ, १ असोजः युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा राष्ट्रव्यापीसीप तथा रोजगार मेला आयोजना गर्ने तय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी उक्त निर्देशिकाको प्रावधानअनुरुप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका लागि श्रममन्त्रीको संयोजकत्वमा आज बैठक बसेको हो । निर्देशन तथा समन्वय समितिको बैठकमा यही असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गरिने निर्णय गरेको छ । यस किसिमको मेलालाई क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन गर्ने गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको उद्देश्य छ ।

    तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घरमहासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको समन्वय र सहकार्यमा मेला सञ्चालन हुने भएकाले सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने सबै सरोकारवालाहरूलाई सहभागिताका लागि पनि मन्त्रालयले आह्वान गरेको छ ।

    बैठकपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउनुपर्नेमा जोड दिँदै नेपालमा रोजगारी गर्न तथा उद्यमी बन्न सकिन्छ भन्ने अनुभूतिसहित सकारात्मक सन्देश दिन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । मन्त्री यादवले आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सरकार र निजी क्षेत्रसहित सबै सरोकार भएका निकायले सहकार्य गरी सीप र रोजगारीको एक बलियो प्रणाली (इकोसिस्टम) निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । यस प्रणाली निर्माणमा यो सीप तथा रोजगार मेला कोसेढुङ्गा बन्ने उनले बताए ।

  • महिला समाज यूएईको तीज विशेष कार्यक्रम

    महिला समाज यूएईको तीज विशेष कार्यक्रम

    १ असोज, यूएई । महिला समाज यूएईको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । बरदुबईस्थित बोसी क्लबमा अगष्ट २३ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । समाजकी अध्यक्ष श्वेता नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लक्ष्मी ज्वेलर्सकी सञ्चालिका कमला भण्डारी रहेकी थिइन् ।


    समाजकी सचिव सीता पंगेनी थापाले औपचारिक सञ्चालन गरेको उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न संघसंस्था प्रमुख र महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली दिदीबहिनीहरुले मौलिक परम्परागत तीजका गीतहरु गाएका थिए । त्यसैगरी कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति गरेको थियो ।

  • सिर्जना वाचन डबलीको २९औं शृङ्खला

    सिर्जना वाचन डबलीको २९औं शृङ्खला


    १ असोज, यूएई । सिर्जना वाचन डबली, यूएईको २९औं शृङ्खला १६ अगष्ट आइतबारको दिन बरदुबई आब्रास्थित गाउँवेशी रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
    सिर्जना वाचन डबलीका संरक्षक टक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन जे. सागरले गरेका थिए । भवानी नेपालले सञ्चालन गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व सहसंयोजक विकास शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।


    कार्यक्रममा करिब ३० जना सर्जकहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा कविता, गजल, मुक्तक लगायतका रचनाहरु वाचन गरिएको थियो । २९औं शृङ्खलाको विशेष आकर्षणका रुपमा सिर्जना वाचन डबलीको लोगो अंकित पोशाक सार्वजनिक गरिएको थियो । प्रभु बैंक यूएई प्रमुख डा. प्रकाश पौडेलको सहकार्यमा पोशाक प्रायोजन गरिएको आयोजकले बताए ।


    सन् २०१४ देखि प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनाको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय सिर्जना वाचन डबलीले नियमित रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा यूएईमा स्थापित विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार तथा साहित्यप्रेमीहरुको उल्लेखनीय सहभागिता थियो । प्रवासमा रहेका नेपाली स्रष्टाहरुलाई संगठित गर्दै साहित्यानुभूति दिने काम सिर्जना वाचन डबलीले गर्दै आइरहेको छ ।

  • विदेशमा रहेका नेपाली श्रमिकहरूमा वित्तीय साक्षरता अभाव

    विदेशमा रहेका नेपाली श्रमिकहरूमा वित्तीय साक्षरता अभाव

    लक्ष्मण खनाल\ यूएई
    पाल्पाका सन्तराम थापा १९ वर्षदेखि यूएईमा मोटर मेकानिकको रुपमा काम गर्थे । उनले सो अवधिमा एक छोरा र एक छोरीको लालनपालन शिक्षादीक्षा, घरपरिवारको खर्च व्यवस्थापनसहित चितवनमा घर जोडे । उनी १९ वर्ष यूएई बसेर देशमै केही गर्ने सपना बोकेर नेपाल फर्किए । नेपाल फर्किएर उनले केही व्यवसाय गर्ने कोसिस पनि गरे, तर उनी सफल हुन सकेनन् र पुनः यूएई फर्किएर जागिर गर्न बाध्य भए । उनी भन्छन्, ‘बेलामा होश पु¥याइएन, कमाइ भएको बेला बचत गरिएन, सामाजिक तडकभडक र परिवारका महँगा सपनामा कमाइ खर्च गरियो’, उनी भन्छन्– ‘अहिले देश फर्केर केही गरौं भन्दा लगानी गर्ने पैसा छैन, सानो लगानी गर्ने वातावरण छैन, विदेसिएपछि सामाजिक र पारिवारिक रुपमा पनि एक्लिँदो रहेछ । अब सकेसम्म यतै जागिर गर्छु ।’


    त्यसैगरी पर्वतका रामेश्वर सुवेदीको पनि गुनासो उस्तै छ । उनी विगत १० वर्षदेखि यूएईमा कार्यरत छन् । करोडौं खर्च गरेर पोखरामा घर बनाएका छन्, तर देश फर्केर केही गर्ने योजना भए पनि आर्थिकको अभाव छ । उनी भन्छन्– ‘करोडांै पर्ने घर त छ, तर घरले खान नदिने रहेछ । देश फर्कन र भविष्यको बचतको सपनामा जिन्दगी जाने भयो ।’


    सन्तराम र रामेश्वर प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुको जस्तै वर्षौंसम्म वैदेशिक रोजगारीमा रहेर पनि भविष्यको लागि आर्थिक सञ्चिती नहँुदा लामो समयसम्म विदेशमा नै बस्न बाध्य लाखौं नेपालीहरुका कथा उस्तै छन् ।


    नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी र विप्रेषणको योगदान अत्यन्त महत्वपूर्ण छ । रोजगारीका पर्याप्त अवसर स्वदेशमा सिर्जना हुन नसक्दा लाखौं नेपाली युवा विदेशमा श्रम बेचिरहेका छन् । उनीहरुको पसिनाको कमाइले परिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्य, आवास तथा ऋण भुक्तानीमा ठूलो योगदान पु¥याएको छ । तर विदेशमा कमाएको रकमलाई कसरी सुरक्षित गर्ने, बचत तथा लगानी गर्ने, ऋण व्यवस्थापन गर्ने र दीर्घकालीन सम्पत्ति निर्माण गर्ने भन्ने विषयमा पर्याप्त वित्तीय साक्षरता नहुँदा वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीको पूर्ण लाभ लिन नसकिएको हाम्रो समाजको तीतो यथार्य बन्न पुगेको छ ।


    नेपालीहरुको वैदेशिक रोजगारीमा भएको आम्दानी मुख्यतः घरखर्च, ऋणको किस्ता तिर्न, ब्याज तिर्न, घरजग्गा जम्मा गर्न र केही व्यवसाय वा उद्यमशील क्षेत्रमा लगानी भएको पाइन्छ । विदेशमा रहेका नेपाली श्रमिक केवल व्यक्तिगत आम्दानीका स्रोत नभई नेपालको समग्र अर्थतन्त्रका महत्वपूर्ण आधार भएको भनिन्छ तर ठूलो रकम देशमा भित्रिँदैमा मात्र परिवारको दीर्घकालीन आर्थिक समृद्धि सुनिश्चित हुँदैन । त्यसका लागि वित्तीय ज्ञान, अनुशासन र सही लगानी आवश्यक हुन्छ ।

    वित्तीय साक्षरता
    विदेशमा रहेका नेपाली श्रमिकको वित्तीय साक्षरतामा पहिलो समस्या आम्दानी र खर्चको व्यवस्थित योजना नहुनु हो । धेरै श्रमिकले मासिक आम्दानी, घर पठाउने रकम, ऋणको किस्ता, बचत र भविष्यको लगानीलाई छुट्टाछुट्टै योजनामा राख्दैनन् । परिणामस्वरुप लामो समय विदेश बसेर पनि पर्याप्त बचत वा उत्पादनशील सम्पत्ति निर्माण गर्न नसक्ने अवस्था आउँछ, जसले उसको विदेश बसाइँ लम्बिने हुन्छ ।


    सिद्धार्थ बैंकको लागि यूएई प्रमुख नविन पौडेलका अनुसार, यूएईमा रहेका करिब ८ लाख नेपालीहरुमध्ये अनुपातमा वित्तीय साक्षरता एकदमै कम छ । वित्तीय साक्षरताभित्र रेमिट्यान्स र रेमिट्यान्सको सदुपयोग हो । अहिले रेमिट्यान्सबाट नेपाल भित्रिएको रकम अनुत्पादक क्षेत्र र बिलासीका समानहरुमा खर्च भएको पाइन्छ । ‘यदि वित्तीय साक्षरताको ज्ञान नदिने हो भने उनीहरु नेपाल फर्कने वा फर्केर स्वदेशमा केही गर्छु भन्ने वातावरण बन्दैन’, पौडेल भन्छन्– ‘त्यसैले उनीहरुलाई वैधानिक विप्रेषण, बचत, उत्पादनमूलक क्षेत्रमा लगानी, आर्थिक व्यवस्थापनको विषयमा सरकारी तवरबाट होस् या अन्य माध्यमबाट साक्षर बनाइनु जरुरी छ ।’


    वैदेशिक रोजगारीमा जानेहरुको लागि अर्को समस्या भनेको महँगो ऋण र वैदेशिक रोजगारीको लागत हो । नेपाली आप्रवासी श्रमिकले विदेश जानुअघि भर्ती प्रक्रियासँग सम्बन्धित खर्च व्यहोर्ने गरेका छन् र उक्त रकम उनीहरुले महँगो ब्याजदरमा ऋण लिने गर्छन् । औसतमा उनीहरुले यस्तो खर्च असुल गर्न करिब ३ देखि ६ महिनाको आम्दानी बराबर समय लगाउनुपर्ने हुन्छ, कतिपयको हकमा वर्ष पनि पुग्न सक्छ ।


    विदेशमा कमाएको रकम विभिन्न अवैधानिक माध्यमबाट पठाउने र ठगिनेको अवस्था पनि उस्तै छ । विभिन्न बहानामा विदेशमै रहेका नेपालीहरुले एकले अर्कोलाई ठग्ने रकम लिएर सम्पर्कविहीन हुने र श्रमिकको कमाइ डुब्ने समस्या पनि छन् ।
    अर्को चुनौती परिवारतर्फ पनि छ । विदेशबाट आएको पैसा घरखर्च, घर निर्माण, जग्गा खरिद वा सामाजिक प्रतिष्ठासँग जोडिएका खर्चमा बढी प्रयोग हुँदा उत्पादनशील लगानी कम हुन सक्छ । हामीले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको ठूलो हिस्सा दैनिक उपभोगमा खर्च गर्ने र पूँजी निर्माण वा उत्पादनमूलक क्षेत्रमा लगानी नगरिनु पनि अर्को चुनौती हो ।

    जीवनस्तर उकास्न के गर्न सकिन्छ ?
    सबैभन्दा पहिले वैदेशिक रोजगारीपूर्व अनिवार्य वित्तीय शिक्षा दिनुपर्छ । श्रम स्वीकृति लिनुअघि प्रत्येक श्रमिकलाई बजेट निर्माण, ऋण व्यवस्थापन, बैंकिङ, बीमा, विप्रेषण, लगानी, कर, साइबर सुरक्षा र अवकाशपछिको आर्थिक योजनासम्बन्धी छोटो तर व्यावहारिक तालिम दिन जरुरी छ ।


    प्रत्येक श्रमिकका लागि विदेश जानेदेखि फर्किएसम्मको वित्तीय योजना तयार गर्नुपर्छ । विप्रेषणलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने नीति सरकारको तर्फबाट ल्याइनु आवश्यक छ । रेमिट्यान्स बचत गर्ने परिवारलाई कृषि, पर्यटन, साना तथा मझौला उद्योग, नवीकरणीय ऊर्जा र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सकिन्छ ।


    सस्तो र सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न कामदार पठाउने शुल्क हटाउने वा घटाउने, अनधिकृत दलाल नियन्त्रण गर्ने, रोजगार सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र गन्तव्य मुलुकमा श्रमिकलाई कानुनी तथा कन्सुलर सहायता उपलब्ध गराउने व्यवस्था बलियो बनाउनुपर्छ । देश फर्किएका श्रमिकलाई आर्थिक पुनः एकीकरण र व्यवस्थापन गरिनुपर्दछ । उनीहरुको सीपको अभिलेख राखी स्थानीय तह, बैंक तथा निजी क्षेत्रसँग जोडेर रोजगारी वा उद्यमका अवसर सिर्जना गर्न सकिन्छ ।


    वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुले आफ्नो आम्दानीलाई योजनाबद्ध रुपमा व्यवस्थापन गर्नुपर्छ । सर्वप्रथम मासिक आम्दानी र खर्चको बजेट बनाई अनावश्यक खर्च घटाउनुपर्छ । कमाइको निश्चित हिस्सा नियमित रुपमा बचत गरी भविष्यको लागि सञ्चित गर्नु पर्दछ । रेमिट्यान्स पठाउँदा औपचारिक बैंक तथा वित्तीय संस्थाको प्रयोग गर्नुपर्छ । उच्च ब्याजदरका अनावश्यक ऋणहरु लिने र बिलासीका सामानहरु किन्ने बानी हटाउनुपर्छ । परिवारलाई पनि आर्थिक योजना र बचतको महत्वबारे जानकारी दिनुपर्छ । स्वदेश फर्किएपछि आयआर्जन गर्न सकिने व्यवसाय वा सीपमा लगानी गर्ने योजना बनाउनुपर्छ ।


    विदेशमा रहेका नेपाली श्रमिकले नेपालको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहेका छन् । तर विदेशमा गएर धेरै कमाउनु मात्र पर्याप्त होइन । कमाएको रकम जोगाउने, सही ठाउँमा लगानी गर्ने र त्यसबाट स्थायी सम्पत्ति निर्माण गर्ने क्षमता विकास गर्नु अझ महत्वपूर्ण छ । त्यसैले वैदेशिक रोजगार नीतिलाई केवल कति जना विदेश पठाउने र कति रकम रेमिट्यान्स भिœयाउने भन्ने दृष्टिकोणबाट हेर्नुभन्दा श्रमिकको आर्थिक सुरक्षा र जीवनस्तर कसरी स्थायी रुपमा सुधार गर्ने भन्ने दृष्टिकोणबाट हेर्न आवश्यक छ ।


    यदि प्रत्येक श्रमिकलाई वित्तीय साक्षरता, सुरक्षित वैदेशिक रोजगार, डिजिटल बैंकिङ, बीमा, दीर्घकालीन बचत, उत्पादनशील लगानी र स्वदेश फर्किएपछि उद्यमको अवसरसँग जोड्न सकियो भने विप्रेषण उपभोगमा मात्र सीमित नभई सम्पत्ति निर्माण, रोजगारी सिर्जना र राष्ट्रिय उत्पादन वृद्धिको आधार बन्न सक्छ । अन्ततः वैदेशिक रोजगारीको सफलता विदेशमा कति वर्ष बिताइयो वा कति पैसा पठाइयो भन्नेमा होइन, त्यसबाट श्रमिक र उनको परिवारले कस्तो सुरक्षित, सम्मानजनक र आर्थिक रुपमा आत्मनिर्भर भविष्य निर्माण गर्न सके भन्ने कुरामा मापन हुनुपर्छ ।

  • बाढीपहिरो पीडितका लागि यूएईद्वारा १० मिलियन डलर राहत

    बाढीपहिरो पीडितका लागि यूएईद्वारा १० मिलियन डलर राहत


    १ असोज, काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १० मिलियन अमेरिकी डलर (डेढ अर्ब रुपैयाँ) बराबरको आपतकालीन राहत सहायता गर्ने भएको छ । यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता उपलब्ध गराइएको हो । यूएई एड एजेन्सीमार्फत परिचालन गरिएको सहयोग बाढीपहिरो प्रभावित समुदायलाई तत्काल राहत, अत्यावश्यक सामग्रीको व्यवस्थापन तथा पुनःस्थापना र पुनरुत्थानमा सहयोग पु¥याउने उद्देश्यले केन्द्रित गरिएको यूएईले जनाएको छ ।


    राहत कार्यक्रमअन्तर्गत यूएईले मानवीय सहायता सामग्री बोकेका विमानहरु नेपाल पठाएको छ । पहिलो चरणमा ८३ टन खाद्यान्न, आश्रय सामग्री तथा अन्य अत्यावश्यक मानवीय सामग्री नेपाल पठाइएको थियो । उक्त राहत सामग्री बाढीपहिरोबाट प्रभावित नागरिकको तत्काल आवश्यकता पूरा गर्न प्रयोग गरिने जनाइएको छ ।


    त्यसपछि दोस्रो चरणमा थप ४५ टन राहत सामग्री नेपाल पठाइएको छ । दोस्रो विमानमा खाद्यान्न तथा आश्रय सामग्रीका साथै विद्युत् आपूर्तिमा समस्या भएका क्षेत्रमा प्रयोग गर्न सकिने जेनरेटर र अन्य अत्यावश्यक सामग्रीसमेत रहेको यूएईको सरकारी समाचार संस्था वामले जनाएको छ ।


    यूएईका अनुसार राहत सामग्री नेपालस्थित यूएई दूतावास तथा सम्बन्धित नेपाली निकायसँगको समन्वयमा प्रभावित समुदायसम्म पु¥याइनेछ । विशेषगरी विपत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने प्राथमिकता राखिएको छ ।


    नेपालमा आएको प्राकृतिक विपत्तिप्रति यूएईले यसअघि नै दुःख व्यक्त गर्दै पीडित परिवार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेको थियो । त्यसलगत्तै राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा आपतकालीन राहत प्याकेज घोषणा गरिएको हो । यूएईमा ७ लाखको हाराहारीमा नेपालीहरु रहेको जनाइएको छ ।

  • गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

    गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

    १ असोज, यूएई । गुल्मी सेवा समाज, यूएईको आयोजनामा तीज फेस्टिभल २०२६ सम्पन्न भएको छ । अगष्ट २३ आइतबारका दिन बरदुबईस्थित जया किचनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष नारायण अधिकारीको प्रमुख आतिथ्यता तथा गुल्मी सेवा समाज, यूएईका अध्यक्ष जीवनसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

    सांगीतिक कार्यक्रममा लोक गायिका सुस्मा शाही ठकुरी, यूएईका स्थानीय कलाकारहरु रुद्र थापा, ध्रुव कुँवर, नारायण सुनार, पवित्रा टण्डन गायक तथा सांस्कृतिक विभाग प्रमुख विनय खत्रीको प्रस्तुति रहेको थियो । नेपाली सांस्कृतिक, परम्परा र मौलिक चाडपर्वहरुको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सेवाको उद्देश्यलाई जोडेर आयोजना गरिएको उक्त कार्यक्रमबाट संकलित वचत रकम समाजसेवाका क्षेत्रमा उपयोग गरिने समाजका अध्यक्ष जीवनसिंह ठकुरीले बताए ।

  • विश्वकर्मा समाज नेपाल, यूएईमा पुनः सुनार

    विश्वकर्मा समाज नेपाल, यूएईमा पुनः सुनार

    १ असोज, यूएई । विश्वकर्मा समाज नेपाल, यूएईको चौथो केन्द्रीय अधिवेशनले दुर्गाबहादुर सुनारलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । अगष्ट २ मा दुबईस्थित याक एण्ड यती क्लब एभरेष्टको हलमा आयोजित उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्ष गामबहादुर विक, उपाध्यक्ष बाबुराम सुनार, महिला उपाध्यक्ष सुमित्रा गहतराज, उपाध्यक्ष शंकर बराल, उपाध्यक्ष मनबहादुर सुनार, उपाध्यक्ष हुमराज विक, महासचिव किरण विश्वकर्मा, कोषाध्यक्ष हिरालाल सुनार विश्वकर्मा, सचिव श्यामकुमार विश्वकर्मा, सचिव सुरज बिसी, सचिव रामबहादुर सुनार (संगम), सचिव अमृत विक, सहकोषाध्यक्ष रामबहादुर सुनार, सहकोषाध्यक्ष प्रवीन बराइली, प्रवक्ता दुजमान सुनार, महिला संयोजक सुष्मा सुनार, प्रशिक्षक तथा परामर्श संयोजक चन्द्र विक र सांस्कृतिक संयोजक नारायण सुनारलाई चयन गरेको छ ।


    त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः दीपक सुनार, मिलन विक, दिनेश सुनार, सुनीता विक, पञ्चराम विक, बाबुराम विक, निर्मला विक, गोकर्ण सुनार, गोविन्द तिरुवा, धनराज विक र कल्पना सुनारलाई चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास, दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईं रहेका थिए भने यूएईमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्मा तथा निर्वाचन समिति सदस्यहरु रत्न विक र शंकर सुनारले नयाँ कार्यसमिति घोषणा गरेका थिए । नयाँ निर्वाचित कार्यसमितिलाई ओहोदाको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रम सुरज बिसी र सुष्मा सुनारले संयुक्त रुपमा सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

  • यूएईमा एआईसम्बन्धी कार्यशाला गोष्ठी

    यूएईमा एआईसम्बन्धी कार्यशाला गोष्ठी

    १ असोज, यूएई । नेपाली समाज यूएईको आयोजना तथा नेपाल पत्रकार महासंघ यूएई शाखाको सहकार्यमा ‘एआईको शक्ति सिकाइदेखि व्यावसायिक प्रयोगसम्म’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । अगष्ट १५ शनिबार दुबईस्थित जयज किचनको सभाहलमा आयोजित उक्त कार्यक्रमको मुख्य वक्ताको रुपमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका निवर्तमान महासचिव रोसन पुरी रहेका थिए ।
    कार्यक्रमका प्रमुख वक्ता तथा प्रशिक्षक पुरीले दैनिक क्रियाकलापमा एआईको व्यावहारिक प्रयोगसम्बन्धी जानकारीमूलक वृत्तचित्र प्रस्तुत गरेका थिए ।

    प्रश्नोत्तर र अन्तरक्रियात्मक रुपमा चलेको उक्त कार्यकममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था प्रमुख र प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
    नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले कार्यक्रमको विषयवस्तु राखेका थिए । कार्यक्रममा एआईको प्रयोग, एआईमार्फत कार्यक्रम उत्पादन, एआईमा भाषा, वर्तमान अवस्थामा यसका नीतिगत जानकारीहरु, यसबाट हुने जोखिम र गोपनीयताका विषयमा प्रशिक्षक पुरीले प्रष्ट पारेका थिए ।

  • यूएईमा मनाइयो ३२औं विश्व आदिवासी दिवस

    यूएईमा मनाइयो ३२औं विश्व आदिवासी दिवस

    १ असोज, यूएई । नेपाल आदिवासी जनजाति महासंघ, यूएईले ३२औं विश्व आदिवासी दिवस २०२६ सम्पन्न गरेको छ । कार्यक्रम ५ अगष्टका दिन दुबईस्थित क्लब एसके सेवेनमा आयोजना गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष भागरथीकुमार भगतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास दुबईका वाणिज्यदूत कुञ्जन शाह रहेका थिए ।


    संयुक्त राष्ट्रसंघले दिएको मान्यताअनुसार विश्वभरका जनजातिहरुले मनाउने विश्व आदिवासी दिवस अगष्ट ९ को अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका परम्परागत र सांस्कृतिक परिकारहरुको प्रदर्शनी पनि राखिएको थियो । यसैगरी विभिन्न जातजातिहरुका मौलिक भेषभूषा र सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको महासंघका अध्यक्ष भागरथीकुमार भगतले बताए ।


    उक्त कार्यक्रमको संयोजक महासंघका उपाध्यक्ष बुद्धबहादुर तामाङ रहेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन महासचिव मनीसा सुब्बा र सचिव देव भुजेलले गरेका थिए । झाँकी सञ्चालन किसनलाल चौधरी र देवीमाया सुनुवारले गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने यूएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


    नेपाल आदिवासी जनजाति महासंघ, यूएईमा रहेको १२ वटा जातीय संस्थाहरुको नेतृत्व गर्ने संस्था हो । तमु, मगर, तामाङ, राई, लिम्बु, नेवार, शेर्पा, थारु, भुजेल, सुनुवार, कुमाल र राजवंशी गरी १२ जातीय संघसंस्थाहरु यूएईमा क्रियाशील रहेका छन् र सबै जातीय संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध रहेका छन् ।

  • बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र


    म्याग्दी, १ असोजः चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिलाई तीब्र पारिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेतोखोला क्षेत्रमा यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेको स्तरोन्नतिको कामलाई पूर्णता दिन लागेको हो । फरकफरक प्याकेजमा ठेक्कामार्फत पहिरो नियन्त्रण, नदी कटान रोकथामसँगै ढलान गरेर स्तरोन्नति गर्ने काम भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।


    “बर्खायाम र कोरला नाकामा आवतजावत गर्ने सवारीसाधनको चापका बाबजुद सडक स्तरोन्नतिको कामले निरन्तरता पाएको छ”, उनले भने, “यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको छ । बाँकी पहिरो प्रभावित क्षेत्रमा पनि ठेक्का लगाउने तयारीमा छौँ ।”

    आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेवकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे, बैसरी क्षेत्रमा एक किलोमिटर २०० मिटर सडक ढलान र विभिन्न ठाउँमा दुई हजार ३०० घनमिटर ग्यावियन, पलम र कङ्क्रिट पर्खाल निर्माणका लागि रु सात करोड ३० लाखमा शङ्करश्री–क्रियटिभ जेभीले ठेक्का पाएको छ ।

    गत वैशाखमा सम्झौता गरेका उक्त कम्पनीले बर्खायाममा पनि निर्माणलाई निरन्तरता दिएको छ । रु आठ करोड मा ठेक्का सम्झौता गरेको कालीमाता–थापाकाजी–रसुवा जेभीले कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी खण्डमा टेवा पर्खाल, कल्भर्ट निर्माण र ढलानको काम गरिरहेको छ । भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्ने काम भने बर्खायाम तथा सवारीसाधनको चापका कारण रोकिएको छ ।

    ठेक्कामार्फत एक हजार ८९० घनमिटर ग्याविन जाली लगाउने, प्लम तथा कङ्क्रिट पर्खाल निर्माण गरेर सडक संरक्षण गरी करिब दुई किलोमिटर ९चार हजार ३७१ घनमिटर० सडक ढलान गरिने इन्जिनियर बैठाले जानकारी दिए । जोखिमयुक्त र सवारीसाधन आवतजावत प्रभावित बनाएका सिरुवारी, तातोपानीलगायत ठाउँका पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नतिका लागि प्राविधिक अध्ययनको चरणमा रहेको छ । यसअघि रु २५ करोडमा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रको सडक स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।

    कमजोर भू–बनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण सिधा यातायात अवरुद्ध हुने समस्या रहेकाले सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणलाई प्राथमिकता दिइएको आयोजना प्रमुख शर्माले बताए ।

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

    १ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीवार बिहान ७ः३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ । उनले आजै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    शुक्रवार पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । सोही दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता हुनेछ । साथै उनी भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । शनिवार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ ।

    सोही दिन दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । शनिबार नै उनी नेपाल फिर्ता हुनेछन् । भ्रमण टोलीमा सहसचिव अमृत लम्साल (अर्थ मन्त्राल), सहसचिव गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय, उप नियोग प्रमुख डा. सुरेन्द्र थापा, नेपाली राजदूताबास नयाँदिल्ली, इकोनोमिक्स मिनिस्टर, तारानाथ अधिकारी,नेपाली राजदूताबास नयाँदिल्ली र उपसचिव कञ्चन बस्नेत, निजी उप सचिव, अर्थमन्त्री, सहभागी छन् ।

  • अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

    अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

    चितवन, १ असोजः अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो ।

    पूर्ण रुपमा सडक अवरुद्ध बनेपछि गत भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्ममा सबै काम सकेर आजदेखि सडक सञ्चालनमा ल्याइएको हो । नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकामा पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम गरेसँगै छोटो समयमा सडक सञ्चालनमा आएको हो । दुई दिनअघिदेखि नै सडकमा रोकिएका सवारीलाई साँझ कटाइएको थियो । आजदेखि भने नियमित गरिएको हो ।

    कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएको सवारी आजदेखि सञ्चालनमा ल्याइएको छ ।
    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सवारी सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिएको जानकारी दिए । लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानी आवतजावत गर्न पाएका थिएनन् । यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ ।

    गत भदौ १० गते भोटेकोशी बाढीपछि बढेको त्रिशूलीमा १४ गते पुनः बाढी आएपछि कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भासिएको थियो । अन्य ठाउँमा सहज भए पनि कृष्णभिरमा पूरै भासिएपछि समस्या भएको हो । यो सडक हुँदै दैनिक १४ हजार सवारी आवतजावत गर्ने गर्दछन् ।

  • नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने

    नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने


    काठमाडौँ, १ असोजः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तरराष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ अनुसार नेपाल र बङ्लादेशबीचको द्विपक्षीय शृङ्खला आउँदो चैत महिनाको १२, १४ र १६ गते आयोजना हुने भएको हो । क्यानका सचिव पारस खड्काले भोटेकोशी बाढीमा मृत्यु भएकाको सम्झनामा नेपालले बङ्लादेशविरुद्ध सिरिज खेल्ने निश्चित भएको विज्ञप्तिमा उल्लेख गरे ।


    “आगामी मार्चमा हुने नेपाल र बङ्गलादेशबीचको क्रिकेट शृङ्खला नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने जानकारी गराउन पाउँदा खुसी छौँ”, पारसले बुधबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन्, “क्रिकेटभन्दा टाढा यो शृङ्खलाले नेपाल र बङ्लादेशबीच ऐक्यबद्धता, करुणा र मित्रताको सन्देश प्रवाह गर्नेछ । दुई छिमेकी राष्ट्र नेपाल र बङ्लादेशबीच जनस्तरमा बलियो सम्बन्ध रहनुका साथै क्रिकेटप्रति पनि समान प्रेम छ ।”

    सचिव खड्काले शृङ्खला खेल्न तयार भएकामा बङ्लादेश क्रिकेट बोर्डप्रति आभारसमेत व्यक्त गरेका छन् । नेपाल र बङ्लादेशबीचको शृङ्खला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्टेडियममा हुने क्यानले जनाएको छ ।

  • भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन

    भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन

    काठमाडौँ, ३१ भदौः सरकारले रसुवाको भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा हरि पण्डित, विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका छन् । समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो । प्रवक्ता शाक्यकाअनुसार रसुवा विनासकारी बाढीलाई केबल सामान्य बाढीका रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘शृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णयमा पुगेको हो ।

    यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रारम्भिक अध्ययन गरेको थियो । प्रारम्भिक अध्ययनमा हालसम्म रसुवा घटनाको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको छैन । त्यसैले जलवायु परिवर्तनलाई घटनाको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव केन्द्रले दिएको थियो ।

    अब समष्टिगतरूपमा भूगर्भ, तापक्रम र पानीको समग्र अध्ययन हुन लागेको हो । भोटेकोशीमा आएको बाढीले त्रिशूली करिडोर प्रभावित भएजस्तै यस्तो विपद् अरु नदी प्रणालीमा आउँदा ऊर्जा मन्त्रालयको विभिन्न पूर्वाधारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले अध्ययनका लागि मन्त्रालयले यो अग्रसरता लिएको प्रवक्ता शाक्यले बताए ।
    उनका अनुसार रसुवा बाढीबाट ऊर्जा पूर्वाधारमा पुगेको क्षतिबाट पाठ सिकेर दीर्घकालीन रूपमा कसरी पूर्वतयारी गर्ने, जलविद्युत् उत्थनशीलता (जलवायु परिवर्तन, बाढी, खडेरी वा अन्य प्राकृतिक प्रकोपहरूसँग जुध्न र सङ्कटापन्न अवस्थामा पनि निरन्तर बिजुली उत्पादन गरिरहन सक्ने जलविद्युत् क्षमता) कसरी कायम गर्ने भन्ने पनि अध्ययन हुनेछ ।

    मन्त्रालयका अनुसार तीन चरणमा अध्ययन हुनेछ । पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशीरल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध अध्ययन गरिनेछ ।

    दोस्रो चरणमा घटनाका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ । तेस्रो तथा महत्त्वपूर्ण चरणमा मानवजनित जलवायु परिवर्तनले यी जोखिमहरूको सम्भावना, तीव्रता वा पूर्वतयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक रूपमा मूल्याङ्कन गरिनेछ । यसअघि सन् २०२४ सेप्टेम्बर २६–२८ मा नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोको घटनालाई अन्तरराष्ट्रिय वैज्ञानिक अध्ययन समूह ‘वल्र्ड वेदर एट्रिब्युसन’ को अध्ययनले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावका रूपमा मूल्याङ्कन गरेको थियो । रसुवा–भोटेकोशीको घटना भने त्योभन्दा फरक प्रकृतिको हुन सक्ने भएकाले प्रत्यक्ष तुलना वा पूर्वनिर्धारित निष्कर्षभन्दा वैज्ञानिक प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने निष्कर्षमा ऊर्जा मन्त्रालय पुगेको हो ।

    प्रस्तावित अध्ययनमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान तथा नदी जलयान्त्रिकी, मौसम विज्ञान तथा जलवायु विज्ञान, रिमोट सेन्सिन, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन कारक विश्लेषणलगायतका विषयका विशेषज्ञहरूलाई सहभागी गराउने तयारी छ ।

    भोटेकोशी–ल्हेन्दे नदी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेट्ने र आवश्यक वैज्ञानिक सहकार्य तथा तथ्याङ्क आदानप्रदान संयन्त्र विकास गर्ने प्रस्ताव गरिएको छ । उक्त मन्त्रालयका अनुसार प्रस्तावित उच्चस्तरीय वैज्ञानिक समितिले विपद्को सम्भावित उद्गमस्थलको स्थलगत भ्रमण गर्नेछ । स्थल निरीक्षणका क्रममा विस्तृत तस्वीर तथा भिडियो अभिलेख तयार गर्नुका साथै आवश्यकताअनुसार ड्रोन तथा सेटलाइट अवलोकन समेत प्रयोग गरिनेछ । मन्त्रालयले विज्ञ समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिएको छ ।

    समितिको अध्ययनपछि घटनाको वैज्ञानिक प्रकृति र उत्पत्तिबारे स्पष्ट प्रमाणका आधारमा ऊर्जा मन्त्रालयले बाढीलाई उपयुक्त वैज्ञानिक नाम दिने योजनासमेत गरेको छ ।

    अध्ययन किन ?

    रसुवा–भोटेकोशी घटनाको प्रकृति सामान्य अतिवृष्टि वा तापक्रमजन्य विपद्भन्दा फरक हुन सक्ने भएकाले जलवायु, हिममण्डल, भूगर्भ, भूरूप विज्ञान, जलविज्ञान तथा नदी प्रणालीबीचको अन्तरसम्बन्ध अध्ययन गर्नुपर्ने देखिएको मन्त्रालयले जनाएको छ । प्रवक्ता शाक्यकाअनुसार अध्ययनले विशेषगरी घटनाको मूल कारण के थियो, कुन–कुन प्राकृतिक प्रक्रिया क्रमशः सक्रिय भए, ती प्रक्रियामा जलवायु परिवर्तनको भूमिका कति थियो र गैर–जलवायुगत कारणको योगदान कति थियो भन्ने प्रश्नको उत्तर खोज्नेछ ।

    यसका लागि विगतमा सोही नदी प्रणाली तथा आसपासका हिमाली क्षेत्रमा भएका समान प्रकृतिका घटनाको अभिलेखसमेत अध्ययन गरिनेछ । नदीको जोखिम तथा संवेदनशीलता, नदी किनारका बस्ती र पूर्वाधार, भौगोलिक बनावट तथा विगतका बाढी, पहिरो र हिमनदीसम्बन्धी घटनासँग तुलना गरिनेछ ।

    अध्ययनमा के–के विषय समेटिने ?

    प्रस्तावित अध्ययनमा मौसम तथा जलवायु तथ्याङ्क, जलप्रवाह तथा हाइड्रोलोजिकल तथ्याङ्क, हिमनदी तथा हिममण्डलसम्बन्धी तथ्याङ्क, भूगर्भीय तथा भूरूपात्मक सूचना, रिमोट सेन्सिङ तथा जिआईएस तथ्याङ्क प्रयोग गरिनेछ । त्यसैगरी, घटनास्थलको स्थलगत अनुसन्धानमार्फत चट्टानको अवस्था, चिरा तथा कमजोर भू–भाग, ढलानको स्थिरता, पहिरोको सम्भावना, नदीको आकृति, उपलब्ध अवसाद तथा त्यसको बहावमा भएको परिचालनलगायत विषयको अध्ययन गरिनेछ ।

    विशेषगरी, घटनाको स्रोत क्षेत्रमा रहेको चट्टानको आकार, क्षेत्रफल, सम्भावित आयतन तथा तौल, कति भाग खसेको थियो र चट्टान खस्नुको सम्भावित कारण के थियो भन्ने विषयमा विस्तृत अध्ययन आवश्यक हुनेछ
    ।
    जलवायु परिवर्तनको भूमिका कसरी मूल्याङ्कन गरिने ?

    अध्ययनमा घटना अघिको वर्षा, तापक्रम, हिमपात, हिउँ पग्लने अवस्था तथा उच्च हिमाली क्षेत्रमा विद्यमान जलवायुगत अवस्थाको विश्लेषण गरिने प्रवक्ता शाक्यले जानकारी दिनुभयो । साथै दीर्घकालीन तापक्रम तथा वर्षाको प्रवृत्ति, चरम वर्षाका घटना, नदीको बहाव र पुनरावृत्ति अवधिसमेत मूल्याङ्कन गरिनेछ ।

    हिमनदीको आकार तथा परिवर्तन, हिमनदीको मास ब्यालेनस, हिमताल तथा हिमनदीय जलविज्ञान, जम्ने–पग्लिने प्रक्रिया र स्थायी तुषारभूमिको अवस्था पनि अध्ययनको महत्त्वपूर्ण हिस्सा हुनेछ । यसबाट जलवायु परिवर्तनले घटनाका लागि आवश्यक पूर्वअवस्था सिर्जना गरेको थियो कि थिएन, र यदि गरेको भए त्यसको योगदान कति थियो भन्ने वैज्ञानिक रूपमा परीक्षण गर्न सकिनेछ ।

    बहु–जोखिमको शृङ्खला पनि अध्ययन गरिने

    रसुवा–भोटेकोशी घटना एउटै कारणबाट उत्पन्न भएको नभई हिममण्डलीय, भूगर्भीय, भूरूपात्मक तथा जलविज्ञानसम्बन्धी प्रक्रियाको क्रमिक अन्तरक्रियाबाट विकसित भएको हुन सक्ने भएकाले घटनाको सम्पूर्ण कार्य–कारण शृङ्खला अध्ययन गरिने प्रस्ताव छ ।

    सम्भावित शृङ्खलामा उच्च हिमाली क्षेत्रमा भएको परिवर्तन, चट्टान वा हिमचट्टानको अस्थिरता, मास मुभमेन्ट, नदीमा अवसादको प्रवेश तथा परिचालन, पानी र अवसादको मिश्रित बहाव र त्यसको अनुप्रवाह प्रसारण लगायतका प्रक्रियालाई एकीकृत रूपमा हेरिनेछ । अध्ययनबाट प्राप्त निष्कर्षले घटनाको वास्तविक प्रकृति र जलवायु परिवर्तनसँगको सम्बन्धबारे वैज्ञानिक आधार प्रदान गर्नुका साथै आगामी दिनमा हिमाली क्षेत्रमा उत्थानशील विकास, पूर्वाधार योजना र विपद् जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार तयार गर्ने मन्त्रालयको अपेक्षा छ ।

  • हुलाकमार्फत बोलपत्र दाखिला गर्न सकिने

    हुलाकमार्फत बोलपत्र दाखिला गर्न सकिने

    काठमाडौँ, ३१ भदौः सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएकाले केही समयको लागि बोलपत्रदाताले हुलाकमार्फत बोलपत्र दाखिला गर्न सक्ने जनाएको छ । कार्यालयले आज सार्वजनिक सूचना जारी गरे विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म बोलपत्रदाता स्वयं उपस्थित भई, प्रतिनिधिमार्फत, हुलाक वा कुरियरमार्फत बोलपत्र बुझाउन सकिने जनाएको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयको यही भदौ ३० गतेको सचिवस्तरीय निर्णयअनुसार विद्युतीय खरिद प्रणाली सञ्चालनमा नआउन्जेलसम्म हुलाकमार्फत बोलपत्र दाखिला गर्ने व्यवस्था भएकाले हुलाकमार्फत बोलपत्र कागजात प्राप्त गर्ने, हुलाकमार्फत कानुनबमोजिम तोकिएको समयसीमाभित्रै कार्यालयमा दाखिला गर्न सक्ने व्यवस्था मिलाएको बताइएको छ ।

    कार्यालयले विद्युतीय खरिद प्रणाली पुनः सञ्चालनमा नआउँदासम्म सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (२) अनुसार बोलपत्र कागजात प्राप्त गर्ने व्यवस्था लागू हुने कार्यालयले स्पष्ट पारेको छ ।

  • सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

    सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

    काठमाडौँ, ३१ भदौः यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ । विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारीसाधन व्यवस्थापनको लागि हाललाई असोज १ गतेदेखि लागू हुने गरी दर्ता खुला गरेको हो ।

    काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागको भनाइ छ । विभागका निर्देशक मणिराम भुसालले काठमाडौँ उपत्यकाभित्र भने स्कुलबस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताए ।
    यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरिएकामा गत साउन १८ गते एक सूचना जारी गरी मालवाहक सवारीसाधनको दर्ता खुला गरेको थियो ।

  • चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    रसुवा, ३१ भदौः चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।
    नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।


    उनका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले सो जलविद्युत् केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकुल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो । बाढी गएको दिन उक्त जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसमेत गरी छ कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले जानकारी दिए ।

    नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी सो जलविद्युत् केन्द्रभित्र फसेका कर्मचारीको उद्धारको कामलाई सहयोग पुर्याउन सदरमुकाम धुन्चेमा एक हेलिकप्टर तयारी अवस्थामा राखेको प्रजिअ पाण्डेले बताए ।
    यसैगरी, खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलभित्रबाट आजै पाँच जनाको शव फेला पारेको छ । उत्तरगया–१ दलदुङ खोलाको ८०० मिटरभित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

  • मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

    मन्त्रिपरिषद् बैठकका निर्णयः पराजुलीसहित चार जना विशिष्ट श्रेणीमा बढुवा

    काठमाडौँ, ३१ भदौः सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीसहित चार जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले नेपाल न्याय सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई पनि राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    यस्तै, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभमा अग्रिम करको दर निर्धारण गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । बासिन्दा प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखेको हितको लाभ रकममा पाँच प्रतिशत अग्रिम कर कायम गरिएको छ ।

    मन्त्रिपरिषद्ले साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकम प्राप्तिका लागि कानुनी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । त्यसका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ एटर्नी) दिई बिमा तथा क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको छ । बैठकले सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ र चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

  • प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    काठमाडौँ, ३१ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालले जापानका समकक्षी सानाए ताकाइची र परराष्ट्रमन्त्री तोशिमित्सु मोतेगीले रसुवाका बाढीपीडितप्रति देखाएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाका लागि धन्यवाद तथा आभार व्यक्त गरे ।


    उनले जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि पनि धन्यवाद ज्ञापन गरे । जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले जापानसँग विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापनामा समेत सहयोगको अपेक्षा व्यक्त गरे । त्यस अवसरमा राजदूत तोरुले जापान सरकारले नेपाललाई विपद् प्रभावितको पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    उनले नेपालमा बाढी तथा यस्ता विपदहरुको उच्च जोखिम रहेको उल्लेख गर्दै यसका कारण तथा क्षतिका बारेमा थप वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको विषयमा जोड दिए ।
    राजदूत तोरुले नेपाल–जापानबीच आपसी सम्बन्धका विविध आयामहरूमा रहिआएको उल्लेख गर्दै सहकार्यका साथै पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र शिक्षा क्षेत्रको सुधारलगायत विषयमा आफ्ना धारणा राखेका थिए । जापान लामो समयदेखि नेपालको विकासको साझेदार रहँदै आएको छ ।

  • एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

    एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

    काठमाडौँ, ३१ भदौः अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार बराबरको अवैध हुन्डी कारोबार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले विभिन्न समयमा मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबारमा सङ्लग्न भएको सूचनाका आधारमा मुखियालाई पक्राउ गरिएको जानकारी दिए ।


    उक्त सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैँक खाताको प्रयोग गरी हालसम्म उक्त रकम बराबरको अवैध हुन्डी कारोबार गरेको खुलेको ब्यूरोले जनाएको छ । धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त प्रहरी टोलीले मुखियालाई पक्राउ गरेको प्रवक्ता जबराले बताए । पक्राउ परेका मुखियामाथि ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताए ।

  • जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ, ३१ भदौः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आज यहाँ आयोजित दोस्रो संस्करणको ‘मोफा नलेज फोरम’ मा ‘जलवायु कूटनीति’ विषयमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको विषय बहुपक्षीय भए पनि त्यसका लागि दीर्घकालीन संस्थागत संरचना आवश्यक रहेको बताए ।


    “जलवायु परिवर्तनको विषय बहुपक्षीय विषय हो । तर त्यसको लागि हामीले दीर्घकालीन संस्थाको निर्माण गर्नुपर्छ,” उनले भने । मन्त्री खनालले सही संस्थाहरूको निर्माण गरी बहुपक्षीय संस्थाहरूसँग समन्वय गर्न सकेमा मात्रै जलवायु परिवर्तनका विषयमा प्रभावकारी उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे ।


    उनले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप)मा विषयहरू आउने–जाने भए पनि नेपाललाई कस्तो संस्थागत संरचना आवश्यक छ र त्यसलाई अन्तरराष्ट्रिय मञ्चमा कसरी बलियो रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताए । “नेपाललाई कस्तो संस्था चाहिन्छ र हामीले कुन अन्तरराष्ट्रिय फोरममा बलियो रूपमा प्रस्तुत गर्न सक्छौँ भन्ने कुरा महत्वपूर्ण विषय हो,” मन्त्री खनालले भने ।

    छलफलमा जलवायु परिवर्तनका विभिन्न क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा काम गरिसकेका तथा गरिरहेका विज्ञहरूसँग सुझाव तथा परामर्श लिइएको थियो । कार्यक्रममा सहभागीहरूलाई आफ्ना सल्लाह तथा सुझाव दिन आग्रह गरिएको थियो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घमा नेपालको सहभागिता तथा त्यहाँ नेपालले जलवायु परिवर्तनका विषयमा गर्नुपर्ने प्रस्तुतीकरणबारे पनि छलफल भएको थियो ।

  • सरकारको दावि : उपत्यकामा प्रतिकेजी ११० मा चिनी बिक्री

    सरकारको दावि : उपत्यकामा प्रतिकेजी ११० मा चिनी बिक्री

    काठमाडौँ, ३१ भदौः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी रु ११० मा चिनी बिक्री भइरहेको जनाएको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गरेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ । चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढेसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मङ्गलबार सरोकारवालाहरूसँग छलफल गरेका थिए । बजारमा भने यो भन्दा निकै महंगोमा चिनी बिक्रि भइरहेको छ ।