काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैलालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन रहेका छन् । छनोटमा परेका यी पाँचमध्ये एक पुस्तकले चार लाख रुपैयाँको पुरस्कार प्राप्त गर्नेछ । प्राप्त भएका तीन सय चार वटा पुस्तकबाट श्रेष्ठ सूचीमा पाँच वटा पुस्तक परेका गुठीले जनाएको छ ।
Author: Vishwanews.com
-

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित
काठमाडौं । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखिएको छ ।
आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने आंकलन छ । उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए पनि बाइडन उम्मेदवार बन्न लाग्दा प्रकट नभएका केही चिन्ता कमला ह्यारिस उम्मेदवार हुँदा व्यक्त भएका छन्।
ताजा सर्वेक्षणहरूमा कमला ह्यारिस ट्रम्पभन्दा अलिकति पछाडि देखिएकी छन्। तर त्यो सर्वेक्षणको सङ्ख्या तलमाथि भने हुन सक्छ। उम्मेदवारी परित्याग गरेको घोषणा गर्नुअघि बाइडन पनि लगभग उस्तै अवस्थामा थिए। राष्ट्रपति बाइडनको तन्दुरुस्ती र उनको प्रचार अभियानको विषयलाई लिएर विगत तीन सातादेखि चिन्तित डेमोक्र्याटहरूमा अहिलेका लागि एउटा ऊर्जा प्राप्त भएको छ।
पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका सबै आकाङ्क्षीहरूले ह्यारिसलाई अनुमोदन गरेका छन्। डेमोक्र्याटिक पार्टीको राजनीतिमा निकै प्रभावशाली मानिने पूर्वसभामुख न्यान्सी पलोसीले पनि उनलाई उम्मेदवार स्वीकार गरिसकेकी छन्। त्यसैले नोभेम्बरको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने ठानिएको छ। प्रमुख दुई पार्टीका समर्थकहरूबीच विभाजन रहेको अमेरिकी राजनीतिमा ट्रम्पको उम्मेदवारी नै मन नपराउने मानिसहरू पनि छन्।
उपराष्ट्रपति ह्यारिसको सबैभन्दा ठूलो चुनौती र अवसर ट्रम्पप्रतिको विकर्षणबाट लाभ लिनु र मध्यमार्गी मतदातालाई आकर्षित गरी स्विङ स्टेट भनिने कुनै पार्टीको स्पष्ट वर्चस्व नभएका राज्यका मतदातालाई पुनर्जागृत गर्नु हो। त्यस्ता मतदाताहरू विगत केही सातामा विचलित हुन थालेको देखिन्थ्यो। डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय निर्वाचन अभियानमा आएको नयाँ उत्साहमा डलरको प्रसङ्ग पनि सँगै आउँछ।
ह्यारिसको प्रचार अभियानका अनुसार बाइडनको घोषणाको २४ घण्टाभित्र उपराष्ट्रपतिले आठ करोड अमेरिकी डलर चन्दा पाएकी छन्। यो अमेरिकाका कुनै उम्मेदवारले यस पटकको निर्वाचनमा एकैदिन पाएको सर्वाधिक चन्दा हो। उनीसँग यसअघि नै बाइडन(ह्यारिस प्रचार अभियानको कोषमा रहेको १० करोड अमेरिकी डलर छ। ह्यारिसको प्रचारका लागि यथेष्ट खर्च जुट्ने निश्चित भएको छ।
पार्टीबाट ह्यारिसको उम्मेदवारी सुनिश्चित भएको अवस्थामा विपक्षी रिपब्लिकन पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि ृबाइडनकोे उमेरलाई लिएर गरिरहेको टिप्पणी पनि स्वतः निस्तेज भएर जान्छ। ट्रम्पको चुनावी प्रचार अभियानले यसअघि डेमोक्र्याट उम्मेदवार रहेका बाइडनमाथि महिनौँदेखि उनको शारीरिक दुर्बलता र अलमलमा पर्ने बानीप्रति कटाक्ष गर्दै आएको थियो। चार साताअघि भएको चुनावी बहसमा राष्ट्रपतिको फितलो प्रस्तुतिप्रति कैयौँ अमेरिकी नागरिकले पनि टिप्पणी गरेका थिए।
ह्यारिस अहिले ५९ वर्षकी भइन्। उनी थप ऊर्जासहित निर्वाचन अभियानमा लाग्ने छिन् र पार्टीका लागि आफू उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्ने छिन्। उनले ७८ वर्षीय ट्रम्पको उमेरलाई पनि अब चुनावी मुद्दा बनाउन सक्छिन्।ट्रम्प राष्ट्रपतिमा बने भए उनी अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपति हुने छन्।
ह्यारिसको अर्को बलियो पक्ष चाहिँ उनले अश्वेत जातिको भोट आकर्षित गर्न सक्ने सम्भावना हो। विगतका महिना भएका मतसर्वेक्षणहरूमा ती मतदाताहरूमा बाइडनप्रतिको आकर्षण घट्दो क्रममा रहेको देखिएको थियो।यदि उनले अन्य अल्पसङ्ख्यक र युवा मतदाताहरूको मत यसअघि सन् २००८ र २०१२ मा बराक ओबामाले जसरी नै बटुल्न सकिन् भने त्यसले निर्णायक मानिएका स्विङ स्टेटहरूमा उनी ट्रम्पविरुद्ध बलियो अवस्थामा हुने छिन्। अमेरिकाको यो पटकको निर्वाचनमा ‘स्विङ स्टेट’ ले नै परिणाम छिनोफानो गर्ने ठानिएको छ।
बीबीसीको सहयोगमा
-

बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन् । कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो मात्र दाबी पेस भएको थियो।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका छन् । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गरेका थिए ।
-

भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान
काठमाडौं । भारतमा नयाँ बजेट सार्वजनिक भएको छ । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएको जितपछि अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन् । यो उनको सातौं बजेट हो । नरेन्द्र मोदी नेतृत्वको तेस्रो कार्यकालको यो पहिलो बजेट हो ।
मंगलबार सार्वजनिक भएको बजेट अप्रिल १ देखि लागू हुनेछ । मोदी सरकारको नयाँ बजेटमा ग्रामीण विकास, साना व्यवसायको प्रवद्र्धन, सीप, रोजगारी र कृषिमा जोड दिएको छ । अर्थमन्त्री सीतारमणले बेरोजगारीको चुनौती सामना गर्न तीनवटा नयाँ योजना घोषणा गरेकी छन् । आगामी पाँच वर्षसम्म चल्ने योजनाका लागि दुई हजार करोड रुपैयाँ विनियोजन भएको छ ।
औपचारिक क्षेत्रमा पहिलो पटक जागिर खोज्नेहरूलाई सरकारले उनीहरूको पहिलो महिनाको तलबमा १५ हजार सम्मको थप प्रत्यक्ष नगद उपलब्ध गराउने जनाएको छ । सरकारले उक्त रकम ईपीएफओमार्फत कर्मचारीको खातामा जम्मा गर्नेछ । यससँगै सरकारले निर्माण कार्यलाई तीव्रता दिन थप दुईवटा कार्यक्रम घोषणा गरेको छ । जसमा सरकारले कर्मचारी र रोजगारदाता दुवैलाई रोजगारी सम्बन्धी प्रोत्साहन दिनेछ ।
यो निर्णयले भारतमा द्रूत रूपमा बढिरहेको स्टार्टअप उद्यम खुसी भएको बीबीसी हिन्दीले लेखेको छ । निजी कम्पनीहरूले उठाउने पुँजीमा भएको एन्जल कर हटेको छ । यससँगै मध्यमवर्गलाई केही राहत दिँदै सरकारले करका दरमा परिवर्तन गरेको छ । यो घोषणाले सानो आम्दानी गर्नेलाई राहत महसुस गराउने छ । जसअनुसार ३ लाखसम्म आम्दानी गर्नेलाई कर लाग्ने छैन । वार्षिक ३ देखि ७ लाखसम्म कमाउनेलाई ५ प्रतिशत कर लाग्ने छ ।
यो बजेटमा विदेशी लगानीलाई पनि प्राथमिकता दिइएको छ । विदेशी कम्पनीमा लाग्ने कर्पोरेट कर ४० प्रतिशतबाट घटाएर ३५ प्रतिशतमा झारिएको छ ।
बजेटमार्फत भाजपाले सत्तारुढ दुई महत्वपूर्ण सहयोगी दलको माग पूरा गर्ने प्रयास गरेको देखिन्छ । बिहारमा भाजपाको सहयोगी जनता दल युनाइटेड र आन्ध्र प्रदेशमा तेलुगू देशम पार्टीलाई खुसी राख्ने प्रयास गरिएको छ ।अर्थमन्त्री सितारमणले राजधानीको विकासका लागि आन्ध्र प्रदेशलाई १५ हजार करोड रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेकी छन् । थप सहयोग गर्ने समेत जानकारी गराइएको छ । यसबाहेक विहारका विमानस्थल, सडक र विद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखिएको छ । यसका लागि २६ हजार करोड रुपैयाँ विनियोजना गरिएको छ ।
बजेटले वित्तीय घाटा घटाउने लक्ष्य राखेको छ । खर्चको तुलनामा सरकारको आम्दानीमा कमी हुनुलाई वित्तीय घाटा भनिन्छ । यो सरकारको कुल आम्दानी र खर्चको अन्तर हो । सरकारले आफ्नो स्रोतभन्दा बढी खर्च गर्दा वित्तीय घाटाको अवस्था सिर्जना हुन्छ । यो वर्षको बजेटमा वित्तीय घाटा ४.९ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ । गत वर्षको बजेटमा ५.१ प्रतिशतको लक्ष्य थियो । भारतीय रिजर्व बैंकले सरकारलाई दिएको २.११ लाख करोड रुपैयाँको लाभांशले यो घाटा कम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसबाट सरकारले खर्च कटौती नगरी घाटा कम गर्ने आफ्नो लक्ष्य भेटाउने बताइएको छ ।
भारत सरकारले आर्थिक वर्ष २०२४–२५ का लागि ४८,२०,५१२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ ११,११,११ करोड रुपैयाँ रहेको छ । वर्षको पुँजीगततर्फ छुट्याइएको बजेटमा यो १६.९ प्रतिशतले बढी हो । अर्थशास्त्री तथा क्वाइन्टइको रिसर्चका संस्थापक शुभदा राव भन्छिन्, ‘यो बजेटले सरकारको ध्यान रोजगारी, साना व्यवसाय र समाज कल्याणमा केन्द्रित भएको स्पष्ट पार्छ ।’
बजेटमा सबै वित्तीय तथा गैरवित्तीय सम्पत्तिमा दीर्घकालीन पुँजीगत लाभमा लाग्ने कर १० प्रतिशतबाट बढाएर १२.५ प्रतिशत पुर्याइएको छ । भारतमा एक वर्षभन्दा बढी समयसम्म राखिएको सम्पत्तिलाई दीर्घकालीन भनिन्छ । अल्पकालीन पुँजीगत लाभमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ । सितारमणले ल्याएको यो बजेटले डेरिभेटिभ कारोबारमा धितोपत्र कारोबार कर पनि बढाएको छ । भारतीय सेयर बजारका साना लगानीकर्ताले यसले राम्रो संकेत नगरेको प्रतिक्रिया दिएका छन् ।
भारतले नयाँ बजेटमार्फत नेपाललाई ७ अर्ब भारु (११ अर्ब २० करोड) अनुदान विनियोजन गरेको छ ।
-

महिला एसिया कप : टस हारेर नेपाल बलिङमा
काठमाडौं । महिला एसिया कप(२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ । नेपालको टिममा २ परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् भने टिममा सवनम राई फर्किएकी छिन् । आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ । यता, आज भारतको कप्तानी स्मृति मन्दनाले गरेकी छिन् ।
-

मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो ।
खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । उनी नेपाली काउन्टडाउन युट्युब च्यानलका सञ्चालक रहेको पनि पाइएको प्रहरीले जनाएको छ । नाबालिकालाई होटलमा वेटरको काम भनेर जबर्जस्ती यौनकार्यमा लगाउने गरेको पाइएको एसपी गौतमले बताए ।
यसअघि उक्त होटलबाटै २४ असारमा ब्यूरोको टोलीले बीरबहादुर सिन्तान र सुबिलाल सिन्तानलाई पक्राउ गरेको थियो । तर खरेल भने फरार हुँदै आएका थिए । खरेललाई मंगलबार बत्तिसपुतलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीहरुले सञ्चालन गरेको गेस्टहाउसबाट ६ जना बालिकाको उद्दार समेत गरिएको प्रहरीले बताएको छ ।
-

बाढी-पहिरोका कारण अझै पनि देशभरका सडकमा सास्ती
काठमाडौं । बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक विभागकानुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । विभागले रात्रिको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा नै असुरक्षित हुने भन्दै आवातजावत नगर्न सुझाव दिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
-

काठमाडौंमा रातभर भारी वर्षा
काठमाडौं । काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ लिलिमिटर वर्षा भएको छ ।
विभागका अनुसार काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा नैकापमा ५४, सुन्दरीजलमा ५२.८, कपनमा ५२.२, बबरमहलमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै काठमाडौंकै पानीपोखरी वर्षामापन केन्द्रमा ३०.८ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।
त्यसैले विभागले बागमती, गौरीघाट, विष्णुमती, धोबिखोला लगायतका नदी किनार क्षेत्रमा बस्नेहरुलाई र सो क्षेत्र भएर यात्रा गर्नेहरुलाई आज बिहान ९ बजेसम्मै सतर्कता अपनाउन एसएमएस पठाएर अनुरोध गरेको छ । विभागका अनुसार ललितपुरको गोदावरी क्षेत्रमा पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा गोदावरीमा ४०.६ मिलिमिटर वर्षा मापन भएको छ । ललितपुरकै लेलेमा ३५.४ मिलिमिटर वर्षा भएको छ । तर काठमाडौं उपत्यकाकै भक्तपुर क्षेत्रमा भने मध्यम खालको मात्र वर्षा भएको छ ।
-

बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता
काठमाडौं । बङ्गलादेशमा जारी हिंसाका बीच १३ सय नेपाली स्वदेश फर्किएका छन् । त्यस मुलुकमा रहेका नेपाली विद्यार्थी समेत सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो ।
उता बंगलादेशमा भने आन्दोलन केही मत्थर भएको छ । अदालतले कोटा प्रणालीमा व्यापक कटौती गरिदिएको छ । विद्यार्थीहरुले मृतकलाई क्षतिपूर्ति, घाइतेका उपचार र जेलमा रहेका साथिहरुको रिहाईको माग गर्दै ४८ घण्टाको अल्टिमेटम दिएका छन् ।
-

विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे निर्देशन दिएका छन् । उनले फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमा नजान निर्देशन दिएका छन् । विदेश जानैपर्ने भए अवधि छोट्याउन उनले निर्देशन दिएका छन् । भ्रमण टोलीमा महिला हुनैपर्ने समेत प्रधानमन्त्रीको निर्देशन छ ।
‘भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको बताइएको छ । रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिएका छन् ।सोमबारको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । उद्योगमन्त्री भण्डारी विमस्टेक बैठकमा र खेलकुदमन्त्री चौधरी ओलम्पिक खेल समारोहका लागि फ्रान्स जान लागेका छन् ।
-

क्रोएसियामा नर्सिङ होममा गोली चल्यो, कम्तिमा ६ जना मारिए
काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्रमा गोली चलेको छ , घटनामा ६ जना मारिएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।
गोली चलाउने व्यक्ति त्यहाँबाट फरार भएर एक क्याफेमा लुक्न गएका थिए । उनलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ । उनको साथबाट अवैधानिक बन्दुक बरामद भएको क्रोएसियाका मिडियाहरुले उल्लेख गरेका छन् । उनी सेवानिवृत्त सैन्यकर्मी भएको खुलेको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि हुन् ।
क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिक र प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकले घटनाबाट स्तब्ध भएको भन्दै दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्ने बताएका छन् । राष्ट्रपति मिलानोभिकले बन्दुक राख्न पाउने नियमलाई अझै कठोर बनाउन आह्वान पनि गरेका छन् ।
-

त्रिशूलीमा हराइरहेका बस र यात्रुको खोजी के भइरहेको छ ?
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ । आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी गर्न लागिएको छ ।
खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्याएर खोज्न लागिएको हो । नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८ः३० बजेबाट सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्याएर खोजी कार्य गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका थिए । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।
शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १८ जनाको सनाखत भएका छन् । बाँकी यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । बस र यात्रुहरुको खोजीमा गत शनिबारदेखि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) टोलीसमेत परिचालित भएका छन् ।
-

बंगलादेशमा ४८ घण्टाका लागि रोकियो विद्यार्थीको आन्दोलन
काठमाडौं । सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा रहेको बङ्गलादेशी विद्यार्थी सङ्गठनले ४८ घण्टाका लागि आन्दोलन स्थगित गरेको छ । सर्वोच्च अदालतले जागिरका धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आममानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेसँगै आन्दोलन मथ्थर भएको हो । तर पक्राउ परेका विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र मृतकलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी सङ्गगठनले आन्दोलन जारी राखेका थिए ।
आज भने सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिँदै आन्दोलन रोकिएको बङ्गलादेशी विद्यार्थी सङ्गठनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । कोटा प्रणालीको विरोधमा भएको आन्दोलनमा एक हप्ताकै बीचमा एक सय ६३ जनाको ज्यान गएको बङ्गलादेश प्रहरीले जनाएको छ ।
एक हजार जना घाइते भएका छन् । यो घटनालाई धेरैले बङ्गलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो दमन र नरसंहार भनेका छन् । आन्दोलनका क्रममा प्रहरीको दमन र सत्तारूढ दलका कार्यकर्ताको आक्रमणमा प्रदर्शनकारीको ज्यान गएको हो । प्रहरीले पाँच सय ४० जनालाई पक्राउ गरिएको जनाएको छ ।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि भएको युद्धका दिग्गजका आफन्तका लागि सरकारी जागिरमा एक तिहाइ कोटा छुट्याइएको विरोधमा आन्दोलन शुरु भएको हो ।
-

सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ
काठमाडौं । सर्वोच्च अदालतमा एक जना महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ। सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए। यसरी अभद्र व्यवहार गरेको भन्दै प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।
-

कसरी टुंगियो न्यूरोडको फूटपाथ विस्तार विवाद
काठमाडौं । न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ । अरुतिर मंसिरसम्म रोकिने छ । मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको छ ।
यो अध्ययन रिपोर्टका आधारमा वडा नम्बर २२ र २३ को फुटपाथबारे निर्णय हुनेछ । वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले भने, ‘२२ र २३ मा विस्तार गर्न बाँकीको हकमा सबै वस्तुस्थिति अध्ययन गरेपछि आउने निचोडलाई आधार मानेर अगाडि बढ्ने छौं ।’
उनका अनुसार अध्ययन समितिको नेतृत्व सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीले गर्नेछन् । वडा नम्बर २२, २३ र २४ का वडाध्यक्ष सदस्य हुनेछन् । वडा नम्बर २२ ले २ जना र २३ र २४ वडाले एकएक जना विषयविज्ञ सदस्य दिनेछन् ।
निर्माण विभागका विभागीय प्रमुख सुरज शाक्य सदस्य सचिव रहने यो समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले प्रतिवेदन तयार पारेपछि स्थानीयबासीसँग छलफल गर्ने वडाध्यक्ष महर्जनले बताए । यो सहमतिसँगै वडा नम्बर २२ को आन्दोलन रोकिएको वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । उनले अगाडि भने, ‘आज साँच्चै जनताको जित भएको छ ।’
-

नेपालबाट धेरै वस्तु निर्यात हुने देशको दोस्रो स्थानमा अमेरिका
काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो आव २०७९–८० को तुलनामा ३.०३ प्रतिशतले कम हो । निर्यात व्यापारमा सबैभन्दा धेरै निर्भर नेपाल भारतसँग रहेको छ । तर, दोस्रो स्थानमा भने अमेरिका रहेको छ । नेपालबाट तयारी पोशाकदेखि छुर्पीसम्म अमेरिका निर्यात हुन्छ ।
अर्को छिमेकी मुलुक चीन भने यो सूचीको पाँचौं स्थानमा छ । प्रथम १० निर्यात हुने मुलुकमध्ये युरोपेली र अमेरिकी मुलुक अगाडि देखिन्छ । अमेरिकामा १ वर्षको अवधिमा १७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । पहिलो स्थानमा रहेको भारतमा १ खर्ब ३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ । जर्मनी तेस्रो स्थानमा छ । यस मुलुकमा ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
-

इजरायलमा २ हजार केयर गिभर श्रमिक पठाइने
काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो । गत असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि ८०० जनाको आवेदन खोलेको थियो ।
अब यो संख्या ८०० बाट बढाएर २ हजार पुर्याउन सकिने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । जसमा एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको छ । यता, द्वन्द्वग्रस्त मुलुक इजरायलमा नागरिक पठाउन लागिएको भन्दै आलोचना भइरहेको छ ।
इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशी अहिलेसम्म पत्तो लागेको छैन । -

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको तर, नेपालले भोग गर्न नपाएको भन्दै प्रश्न गरेका थिए ।जवाफमा प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् । ‘सुगौली सन्धि १८१६ बमोजिम लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत काली अर्थात्, महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुराका सरकार दृढ र स्पष्ट रहेको छ’ प्रधानमन्त्री ओलीले भने ।
-

अमेरिकी राष्ट्रपतिको चुनावी होडबाट बाइडेन आउट, कमला प्रतिस्पर्धामा
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् । बाइडेनको उमेरका कारण उनी नयाँ कार्यकाल राष्ट्रपतिका लागि काम गर्न सक्षम नरहेको र उनी नै उम्मेदवार रहे डोनाल्ड ट्रम्पले चुनाव जित्ने भन्दै उनको आफ्नै डेमोक्रेटिक पार्टीबाट उनलाई उम्मेदवारी फिर्ता लिन तीव्र दबाब थियो ।
अघिल्लो महिना भएको राष्ट्रपतीय बहसमा अत्यन्तै फितलो प्रदर्शन गरेपछि उनी उम्मेदवार कायमै रहे चुनाव हार्ने निष्कर्षमा डेमोक्रेटिक पार्टीका नेताहरु पुगेका थिए । त्यही बीच उनले आइतवार उम्मेदवारी त्याग्ने तर यो कार्यकाल भने पूरै राष्ट्रपतिका रुपमा काम गर्ने घोषणा गरेका छन् ।
‘मैले उम्मेदवारी फिर्ता लिनु र बाँकी कार्यकाल राष्ट्रपतिको भूमिकामा केन्द्रित हुनु नै म, मेरो पार्टी र मेरो देशको को सर्वोत्तम हितमा हुनेछ,’ उनले आफ्नो वक्तव्यमा भनेका छन् । त्यति मात्रै होइन, उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवारका रुपमा कमला ह्यारिसलाई समर्थन पनि गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट अब नयाँ उम्मेदवारको प्रतिस्पर्धामा ह्यारिस नै अघि हुनेछिन् । तर, उनले पार्टीको प्राइमरी जितेर आउनुपर्ने हुन्छ । निर्वाचन आउन चार महिना बाँकी छँदा अब पार्टीले नयाँ छनोटको प्रकृया शुरु गर्नुपर्ने छ ।
चुनाव अति नै नजिक आईसकेको सन्दर्भमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न परिचित अनुहारका रुपमा ह्यारिस नै उपयुक्त पात्र हुने अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । ‘सन् २०२० का कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छनोट गर्नु मेरो सबैभन्दा राम्रो निर्णय थियो । यसपटक राष्ट्रपतिको उम्मेदवारका रुपमा उनलाई मेरो पूर्ण समर्थन र अनुमोदन रहन्छ,’ उनले घोषणा गरेका छन् । आउने साता यसबारे आफूले विस्तृतमा बोल्ने पनि उनले बताएका छन् । कमला नयाँ उम्मेदवारका रुपमा आउने अनुमानका आधारमा ट्रम्पले भाषणमा उनीमाथि आक्रमण थालिसकेका थिए ।
-

बंगलादेशमा आरक्षण सम्बन्धी व्यवस्था गैरकानूनी ठहर, रोकिएला आन्दोलन ?
काठमाडौं । बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको सरकारको अधिसूचनालाई उल्टाउँदै आरक्षणको पक्षमा फैसला दिएको थियो । विवादास्पद निजामती सेवा भर्ती नियमहरू पूर्णरूपमा खारेज गर्न गरिएको सार्वजनिक मागलाई बेवास्ता गरेको विपक्षीहरूको आरोप छ ।
आरक्षण दिने निर्णयले देशव्यापी रूपमा प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरूबिच झडप निम्त्याएको थियो । आन्दोलनका क्रममा १५१ जनाको मृत्यु भएको छ । सरकारी जागिरका लागि राजनीतिकरण गरिएको भर्ना कोटाको विरोधमा सुरु भएको विरोधमा यसै साता सुरु भएको प्रदर्शन प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिमा परिणत भएको छ ।
दङ्गा प्रहरीले सुव्यवस्था कायम गर्न नसकेपछि बङ्गलादेशका विभिन्न सहरमा सैनिकले गस्ती गरिरहेका छन् भने बिहीबारदेखि देशव्यापी इन्टरनेट अवरोध भएको र यसका कारण बाहिरी विश्वमा सूचना प्रवाहमा समस्या भएको छ । सर्वोच्च अदालतले हालै पुनः सुरु गरिएको सरकारी जागिरका आवेदकहरूको चयन लागि आरक्षित योजनाको वैधताको बारेमा अर्को महिना निर्णय गर्ने तालिका रहेको थियो, तर देशव्यापी सङ्घर्ष तीव्र भएपछि आफ्नो निर्णयलाई एक महिना पहिले सुनाएको छ ।
बङ्गलादेशका महान्यायाधिवक्ता एएम अमिन उद्दीनले एएफपीसँग भनेका छन्, “गत महिना तल्लो बेन्चले यो योजना पुनः लागू गर्न दिएको आदेश ‘गैरकानुनी’ थियो र सर्वोच्च अदालतबाट यही फैसला भएको छ ।’’ यस मुद्दामा संलग्न वकिल शाह मोन्जुरुल हकले एएफपीलाई बताए अनुसार अदालतले आफ्नो फैसला सुनाएपछि प्रदर्शनकारी विद्यार्थीहरूलाई ‘कक्षामा फर्कन’ पनि भनेको छ ।
यो फैसलाले आरक्षित रोजगारीको सङ्ख्यालाई सबै पदहरूको ५६ प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको छ, तर प्रदर्शनकारीहरूको माग पूरा गर्न असफल भएको छ । सन् १९७१ मा बङ्गलादेशले पाकिस्तानविरुद्ध गरेको स्वतन्त्रता सङ्ग्राममा ‘स्वतन्त्रता सेनानीहरू’ का छोराछोरीका लागि सबै सरकारी जागिरको पाँच प्रतिशत आरक्षण गरिएको थियो ।
बङ्गलादेशको कानुनअनुसार एक प्रतिशत आदिवासी समुदायका लागि र अर्को एक प्रतिशत अपाङ्गता भएका वा तेस्रो लिङ्गिका लागि छुट्याइएको थियो भने बाँकी ९३ प्रतिशत पदको निर्णय योग्यताका आधारमा गरिने अदालतले जनाएको छ ।
आलोचकहरू भन्छन्, “‘स्वतन्त्रता सेनानी’ श्रेणी युवा स्नातकहरूका लागि छुट्टाइएको आरक्षण व्यवस्था प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लीगका वफादारहरूलाई भर्ना गर्न प्रयोग हुन थालेपछि आन्दोलन उर्लेको हो ।” विद्यार्थीहरूले महिला र देशका विशिष्ट जिल्लाहरूका लागि अन्य कोटासहित उक्त श्रेणीको पूर्ण उन्मूलनको माग गरेका थिए । रासस\एएफपी
-

गिरिबन्धमा धेरै होहल्ला भयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेटमा आफूलाई जोड्न आवश्यक नभएको बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावमाथि प्रनिनिधिसभामा भएको छलफलमा गिरिबन्धुको विषय उठेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गिरिबन्धु के हुन्छ भनेर प्रश्न गरेका थिए । छलफलमा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विभिन्न समयमा हदबन्दी भन्दा बढीका जमिन कानुनी नबनाई सट्टापट्टा हुने गरेको बताए ।
त्यही गिरिबन्धुको पनि जग्गा कानुन नबनाई सट्टाभर्ना भएको उनले बताए । कानुन बिना नहोस् भनेर आफू प्रधानमन्त्री हुँदा कानुन बनेको, तर त्यसअनुसार कारबाही नभएको भन्दै ओलीले भने, ‘अनि यो होहल्ला केका लागि ? गिरिबन्धु टि इस्टेटको मुद्दा अदालतमा गएर फैसलासमेत भइसकेको भन्दै उनले भने, ‘बेचबिखचन भएको छैन । हुनुभन्दा अगाडि यस्तो यस्तो गर्नु भनेर शर्त राखिएको थियो । अदालतले त्यसलाई रोकिदियो ।’
अदालतले कानुन निर्माणलाई नीतिगत भ्रष्टाचार नभनेको उनले बताए । ‘संसदले कानुन बनायो । त्यहाँ नीतिगत भ्रष्टाचार छैन’, अदालतले पनि त्यसो नभनेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई गिरिबन्धु टि इस्टेटका नाममा अफवाह फैलाउने अभ्यासलाई निरन्तरता दिनु छ भने बेग्लै कुरा होला, तर यो जरुरी छैन भन्ने ठान्छु ।’ बरु अदालतले सस्तोमा किनेको जग्गासँग महंगो जग्गा सट्टापट्टा हुनसक्छ भनेको भन्दै उनले अब कानुन बनाउँदा विचार गर्नुपर्ने बताए ।
संसदले पास गरेको त्यो ऐन र त्यसअनुसारको नियमावली अझै जीवित रहेको भन्दै उनले भने, ‘त्यसमा के रिफर्म गर्नुपर्छ, गरौं, खारेज गर्नुपर्छ भने गरौं । मेरो निजी सम्पत्ति होइन, मैले त्यसबाट लाभ लिनु छैन ।’
-

एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरे ।
उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।
यस्तो छ सहमति१. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।
२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।
३्. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्त्रिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।
४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।
५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।
६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।
७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।
-

प्रधानमन्त्रीलाई दुई तिहाई समर्थन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रह्यो ।संसदमा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।
-

बंगलादेशबाट आज थप १७ नेपाली स्वदेश फर्किदैं
काठमाडौं । बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थी आज काठमाडौँ आउनेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।”
प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
-

आज गुरु पूर्णिमा, के छ महत्व ?
काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।
आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए । -

उपसभामभुख विवादमा रास्वपाको बचाउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ ।
भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ । रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।
एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ । भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
-

माओवादी, रास्वपा र समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौं । पुष्पकमल दाहाल सरकारमा छँदाका सत्ता सहयात्री दल माओवादी, रास्वपा र एकीकृत समाजवादी अहिले संसदमा विपक्षी भूमिका निर्वाह गर्ने भएका छन् । दाहाल सरकारले अघि सारेका सुशासन, समृद्धि, सामाजिक न्यायका मुद्दालाई लिएर उनीहरू विपक्षी मोर्चाबाटै एक भएर उभिने निर्णय गरेका हुन् ।
संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच असार १७ मा नयाँ सत्ता गठबन्धन बनेपछि यी साना तीन दलले संसदबाट एक भएर सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतको विपक्षमा उभिने भएका छन् ।
यी तीन दलले आइतबार आ–आफ्ना संसदीय दलको बैठक गरी विश्वासको मतको विपक्षमा उभिन आ–आफ्ना सांसदलाई ह्वीप जारी गर्ने तयारीमा छन् । गत असार २८ मा पनि निवर्तमान प्रधानमन्त्री दाहाललाई यिनै माओवादीका ३२, रास्वपाका २१ र एसका १० सांसदको मात्र विश्वासको मत प्राप्त भएको थियो । विश्वासको मत पाउन नसकेपछि स्वतः पदमुक्त भएका दाहालले संसदमा विपक्ष र सडकमा समाजवादी मोर्चा बनाएर ओली सरकारविरुद्ध साझा मञ्च बनाउन खोजेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिको बैठकले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबार बसेको बैठकले ओलीले आइतबार संसदमा विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एमाले–कांग्रेस गठबन्धनका गतिविधि विश्लेषण गरेपछि निर्देशन समितिको बैठकले विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको उल्लेख छ । राप्रपाले यसअघि भने कांग्रेस–एमाले गठबन्धनलाई सकारात्मक रूपमा लिँदै उक्त सहकार्यको स्वागत गरेको थियो । तर अब भने त्यसो गर्न नसकिने राप्रपा निर्देशन समितिले निष्कर्ष निकालेको हो ।
-

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते प्रधानमन्त्री नियुक्त गरेका थिए । नियुक्तिलगतै उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित कांग्रेस, जसपा र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी छन् ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभिने भएका छन् । संसदीय दलको बैठक डाकेर यी पार्टीले विश्वासको मत नदिने निर्णय नगरेका हुन् । एमालले विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्रिप जारी गरेको छ ।
एमालेले अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ । कांग्रेसको संसदीय दलको बैठक पनि संसद् बैठक अघि नै बस्दैछ । बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्ने कांग्रेस एक नेताले बताए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्दछ ।
-

महिला एसिया कपमा नेपाल र श्रीलंका भिड्दै
काठमाडौं । यसअघिका दुई संस्करणमा खेलेका सबै ८ खेलमा पराजित नेपालसामु श्रीलंकाको दम्बुलामा भइरहेको महिला एसिया कप क्रिकेटको सेमिफाइनल पुग्ने समीकरण छ । नेपालले आइतबार राति पाकिस्तानको सामना गर्नेछ । नेपालले जित हात पारेमा समूह चरण पार गर्ने लगभग निश्चितजस्तै हुनेछ ।
नेपालले बिहीबार पहिलो खेलमा यूएईमाथि ६ विकेटको विजय हात पारेपछि अंकतालिकामा केही सहज देखिएको हो । ओपनर सम्झना खड्काले रनगिरी दम्बुला क्रिकेट रंगशालामा अविजित ७२ रन बनाएपछि नेपालले १ सय १६ रनको लक्ष्य १६.१ ओभरमै पूरा गरेको थियो । नेपालले एसिया कपमा जितेको खेल नै यो पहिलो थियो ।
पाकिस्तान भने बिहीबार आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग ७ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तान १९।२ ओभरमा १ सय ८ रनमै अलआउट भएको थियो । भारतले १४।१ ओभरमै लक्ष्य पूरा गरेको थियो । समूह ‘ए’ मा भारतले आइतबार पहिलो खेलमा यूएईको सामना गर्नेछ । भारत र नेपालले आ–आफ्नो खेल जितेमा दुबै टोली सेमिफाइनल पुग्नेछ ।
तर दुई पटक उपविजेता पाकिस्तानलाई हराउन नेपाललाई त्यति सजिलो छैन । सन् २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा पाकिस्तानले नेपाललाई ४७ रनमा अलआउट गरेको थियो ।
-

बंगलादेश आन्दोलन : ८ सय नेपाली स्वदेश फर्किए
काठमाडौं । बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएको छ । यो घटनापछि आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत शनिबारसम्ममा आठ सय नेपालीले हवाई र स्थलमार्ग हुँदै बंगलादेश छाडेको जनाएको हो ।
ढाका विमानस्थल र अन्य स्थल नाका हुँदै नेपाली विद्यार्थीको सुरक्षित यात्राका लागि ढाकास्थित नेपाली दूतावासले सहजीकरण गरिरहेको समेत मन्त्रालयले उल्लेख गरेको छ । बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ समेत स्थापना गरिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बंगलादेशको सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीलाई आइतबार नेपाल फर्काउन प्रबन्ध मिलाएको जानकारी दिएका छन् ।प्रधानमन्त्री ओलीले शनिबार साँझ सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, ‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् ।
ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई आइतबार बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ ।’
बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सहभागी व्यक्तिका सन्तानलाई सरकारी सेवामा गरिएको विशेष आरक्षणको विरोधमा विश्वविद्यालय र क्याम्पसका विद्यार्थीले सुरु गरेको प्रदर्शन केही दिनयता हिंसात्मक बनेको हो । अहिलेसम्म कम्तीमा एक सय जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएका छन् । बीबीसीका अनुसार बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरिएको छ ।आन्दोलन चर्किंदै गएपछि त्यहाँ रहेका नेपाली विद्यार्थी हवाई र भारतीय स्थलमार्ग हुँदै फर्कन थालेका हुन् ।
यसअघि बंगलादेशमा आन्दोलन हिंसात्मक बन्दै गएपछि नेपाल, भारत र भुटानका साढे ६ सयभन्दा बढी नागरिक बोगुरा नाका हुँदै मेघालय प्रवेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । जसमा १ सय ५७ जना नेपाली रहेको त्यहाँको गृह विभागलाई उद्धृत गरिएको समाचारमा उल्लेख छ । मेघालय प्रवेश गर्नेमा अधिकांश विद्यार्थी रहेको पनि जनाइएको छ ।
बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो । ‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । उक्त आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीले विभिन्न स्थानमा र्याली गर्दै आएका थिए । आन्दोलन चर्किंदै गएपछि विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अनिश्चितकालीन बन्द गरिएको छ ।
