Author: Vishwanews.com

  • गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

    गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

    ब्रसेल्स, १९ असार (रासस–एएफपी) । युरोपेली सङ्घ (इयू) को सर्वोच्च अदालतले गुगलको ‘एन्ड्रोइड’ को सञ्चालन प्रणालीसँग जोडिएको अविश्वासिलो अभ्यासका लागि दिइएको रेकर्ड ४.१ अर्ब युरो (४.७ अर्ब अमेरिकी डलर) को जरिवानालाई बिहीबारको फैसलाद्वारा कायम गरेको छ । युरोपेली अदालत (युरोपियन कोर्ट अफ जस्टिस) ले अमेरिकी प्रविधि कम्पनी गुगलको दोस्रो पटकको पुनरावेदन खारेज गर्दै सन् २०१८ मा युरोपेली आयोगले लगाएको जरिवाना सदर गरेको हो । यो अझै पनि इयूको सबैभन्दा ठूलो विश्वासविरोधी जरिवाना हो ।

    “कोर्ट अफ जस्टिस’ ले गुगल र अल्फाबेटको अपील खारेज गर्दै उनीहरूमाथि लगाइएको जरिवाना कायम गर्ने निर्णय लिएको छ,” अदालतले भनेको छ । गुगलको मातृ कम्पनी अल्फाबेटलाई पनि केही रकमको लागि संयुक्त रूपमा जिम्मेवार ठहर गरिएको थियो । यूरोपेली २७ राष्ट्रको समूहको विश्वासविरोधी कानूनको नियामक निकाय आयोगले गुगललाई आफ्नो एन्ड्रोइडको लोकप्रियता दुरुपयोग गरेर प्रतिस्पर्धा सीमित गरेको आरोप लगाएको थियो।

    आयोगले गुगलले एन्ड्रोइड प्रयोग गर्ने फोन निर्मातालाई आफ्नो ‘सर्च इन्जिन’ र क्रोम ब्राउजरको पहिल्यै सेटअप गर्न दबाब दिएको र यसले अन्य प्रतिस्पर्धीहरूलाई पहुँचबाहिर राखेको भन्दै ४।३ अर्ब युरो जरिवाना तोकेको थियो। सन् २०२२ मा अदालतले यो फैसला कायम राख्दै जरिवाना केही घटाएर ४।१ अर्ब युरो बनाएको थियो । गुगलले सर्वोच्च अदालतमा नयाँ चुनौती दिँदै मुद्दा आधारहीन भएको र जरिवानाले नवप्रवर्तनलाई सजाय दिएको दाबी गरेको थियो।

    पहिलो चरणमा कम्पनीले एप्पलको आफ्नै सेवाहरू आइफोनमा सफारीलाई प्राथमिकता दिने अभ्यासप्रति इयूले वेवास्ता गरेको आरोप लगाएको थियो ।
    ग्राहकहरूलाई गुगलका उत्पादन प्रयोग गर्न बाध्य नभएको र प्रतिस्पर्धी एप डाउनलोड गर्न मात्र एक कदम टाढा भएको पनि उसको तर्क थियो ।
    इयूको सर्वोच्च अदालतले पहिलो चरणको फैसलाले ‘एन्ड्रोइडसँगको सम्झौताहरूमा राखिएका पहिल्यै सेटअप गर्नुपर्ने शर्तहरूको विश्वासविरोधी प्रभाव’ मूल्याङ्कन गर्दा कानुनी गल्ती नगरेको ठहर गरेको छ।

    गुगलका अन्य सबै कानुनी तर्क खारेज गर्दै आयोगको कानुनी खर्च तिर्न निर्देशन दिएको छ । गुगलले फैसलाले ‘एन्ड्रोइड लाई खुला, सामानजस्यपूर्ण र निःशुल्क राख्न आफ्नो ठूलो लगानीलाई मान्यता नदिएको’ बताएको छ। “जुनसुकै भए पनि, हामीले सन् २०१८ मै सुरुको निर्णयअनुसार हाम्रा सम्झौताहरू परिवर्तन गरेका छौँ र हाम्रा प्रयोगकर्ता, साझेदार तथा विकासकर्ताहरूका लागि नवप्रर्वतन र खुलापनमा केन्द्रित छौँ,“ कम्पनीले प्रवक्ताद्वारा जारी एक सन्देशमार्फत् जानकारी गराएको छ।

    यो फैसला पूर्ण आश्चर्यजनक थिएन। गत वर्ष जुनमा इयू सर्वोच्च अदालतका सल्लाहकारले जरिवाना कायम राख्न सिफारिस गरेका थिए र गुगलका तर्कहरूलाई ‘अप्रभावकारी’ भनेका थिए। युरोपेली उपभोक्ता समूहले यसलाई ‘युरोपका लागि ठूलो जित’ भनेको छ तर ठूला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न छिटो कारबाही आवश्यक रहेको बताएको छ ।

  • हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा

    हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा

    जेनेभा, १९ असार (रासस–एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टाभाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ। भाइरस सङ्क्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट निस्केपछि यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमवी जहाजमा सङ्क्रमणको हल्लापछि जहाजका सङ्क्रमणको आशङ्का लागेका र अन्य यात्रुलाई क्वारेन्टाइनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो ।

    परीक्षणबाट १२ पुष्टि भएका र एक सम्भावित सङ्क्रमण् देखिएको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको थियो। प्रकोप समाप्त भए पनि वैज्ञानिक र विज्ञहरूका लागि काम भने अझै सुरु मात्र भएको छ। उनीहरूले विश्वव्यापी स्वास्थ्य चेतावनी निम्त्याएको यो घटनाबाट पाठ सिक्न प्रयास गरिरहेका छन्।

    “आज एमवी होन्डियस जहाजमा हान्टाभाइरसबाट प्रभावित अन्तिम व्यक्तिले क्वारेन्टाइन अवधि पूरा गरेपछि गरिएको परीक्षणमा भाइरस नभेटिएपछि उहाँलाई घर फर्काइएको छ,” डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले पत्रकार सम्मेलनमा भने । “मे २५ यता थप कुनै केस रिपोर्ट भएको छैन,” उनले भने । उनले थपे, “त्यसैले हामी खुशीसाथ भन्न सक्छौं कि डब्ल्युएचओले हान्टाभाइरस प्रकोप समाप्त भएको ठानेको छ।”

    डच झण्डा भएको यो जहाज अप्रिल १ मा अर्जेन्टिनाको उशुआइबाट प्रस्थान गरेको थियो र जहाज दक्षिण अटलान्टिक महासागरका दुर्गम टापुहरू ट्रिस्टन दा कुन्हा लगायत हुँदै स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफ पुगेको थियो, जहाँ बाँकी यात्रुहरूलाई सुरक्षित निकालिएको थियो। टेड्रोसका अनुसार ३३ देश तथा क्षेत्रका स्वास्थ्य अधिकारीहरूले ६५० भन्दा बढी सम्पर्क व्यक्तिहरूको पहिचान गरी अनुसरण गरेका थिए।

    उनले डब्ल्युएचओले प्रकोप र भाइरसबारे थप बुझ्न काम जारी राख्ने बताए । टेड्रोसले भने, “हामी २१ देशसँग मिलेर एउटा अध्ययन समन्वयन गर्दैछौँ, जसले रोग कसरी विकास हुन्छ भन्ने बुझ्न मद्दत गर्नेछ। यसले भविष्यका प्रकोपहरूका लागि निदान, उपचार र खोप विकासमा सहयोग पु¥याउनेछ।” मुसाबाट फैलिने हान्टाभाइरस एक दुर्लभ भाइरस हो। यसको अहिलेसम्म कुनै खोप वा विशिष्ट उपचार उपलब्ध छैन।

    होन्डियस प्रकोपको पछाडि रहेको एन्डिस प्रजाति नै हान्टाभाइरसको एकमात्र त्यस्तो स्ट्रेन हो जुन भाइरस मानिसबाट मानिसमा सर्न सक्छ । जहाज मे १८ मा नेदरल्यान्ड्सको रोटरडाम बन्दरगाहमा पुगेको थियो ।

  • ट्रम्पविरुद्ध युरोप एकजुट

    ट्रम्पविरुद्ध युरोप एकजुट

    रोम, १९ असार (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ । ट्रम्पको दबाबले मेलोनीलाई अलग पार्ने सट्टा युरोपेली नेताहरूलाई उनको पक्षमा उभिन प्रेरित गरेको विश्लेषकहरूले बताएका छन् । यससँगै रक्षा, सुरक्षा, व्यापार र विदेश नीतिमा युरोपेली एकता झन् बलियो बन्दै गएको आकलन गरिएको छ ।

    ट्रम्पले इटालीको विश्वसनीयतामाथि प्रश्न उठाउँदै मेलोनीले आफ्नो ध्यान आकर्षित गर्न खोजेको आरोप लगाएपछि युरोपेली नेताहरूले उनीप्रति समर्थन जनाएका हुन् । विगतमा मेलोनीको दक्षिणपन्थी राजनीतिक पृष्ठभूमिका कारण दूरी कायम राख्ने केही युरोपेली देशसमेत अहिले उनीसँग सहकार्य बढाउने पक्षमा देखिएका छन् ।

    विश्लेषकहरूका अनुसार युक्रेन र इरानका युद्ध, चीनसँग बढ्दो व्यापार असन्तुलन तथा रुसबाट उत्पन्न सुरक्षा चुनौतीका कारण युरोपेली देशहरू साझा रणनीति बनाउन बाध्य भएका छन् । जर्मन मार्सल फन्डकी उपाध्यक्ष सुधा डेभिड–विल्पका अनुसार युरोपले अहिले अमेरिका र चीनबीच आफ्नो प्रभाव जोगाउन सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छ । यही एकताको परीक्षा आगामी साता टर्कीमा हुने नाटो शिखर सम्मेलनमा हुने अपेक्षा गरिएको छ ।

    ट्रम्पसँगको विवादपछि मेलोनीको युरोपेली नेताहरूसँगको सम्बन्ध उल्लेखनीय रूपमा नजिकिएको छ । मार्चमा उनले संसद्को स्वीकृतिबिना सिसिलीस्थित सैन्य अड्डा प्रयोग गर्न अमेरिकी बमवर्षकलाई अनुमति नदिने निर्णय गरेकी थिइन् । यसअघि विदेश नीतिसम्बन्धी महत्त्वपूर्ण छलफलबाट प्रायः बाहिर राखिने मेलोनी हाल जर्मनी, फ्रान्स, बेलायत र पोल्यान्डका नेताहरूसँग नियमित समन्वयमा देखिएकी छिन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको द्विपक्षीय शिखर बैठकले पनि यही परिवर्तनलाई सङ्केत गरेको छ ।

    युरोपका राष्ट्रवादी दलहरूले पनि ट्रम्पप्रतिको आफ्नो धारणा परिवर्तन गर्न थालेका छन् । फ्रान्सका दक्षिणपन्थी नेता जोर्डन बार्डेलाले अमेरिकी नीतिलाई विदेशी हस्तक्षेपको संज्ञा दिँदै ट्रम्पलाई अस्थिर नेतृत्वकर्ता भनेका छन् । जर्मनीको अल्टरनेटिभ फर जर्मनी (एएफडी) पार्टीले पनि इरानविरुद्धको अमेरिकी सैन्य अभियानको आलोचना गरेको छ । विश्लेषकहरूका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै यी दलहरूले अन्तर्राष्ट्रिय मुद्दाभन्दा घरेलु राजनीतिमा बढी केन्द्रित हुने रणनीति अपनाइरहेका छन् ।

    ट्रम्पको प्रभाव युरोपेली सङ्घ (इयु) भन्दा बाहिर पनि देखिएको छ । ग्रिनल्यान्ड कब्जा गर्ने उहाँको चेतावनीपछि डेनमार्क र ग्रिनल्यान्डमा विरोध प्रदर्शन भएका थिए भने अल्बानियामा ट्रम्प परिवारसँग जोडिएको एक विलासी परियोजना राजनीतिक विवादको विषय बनेको छ । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पनि ट्रम्पसँगको निकट सम्बन्धका कारण राजनीतिक दबाब बेहोर्नुपरेको विश्लेषण सार्वजनिक भएको छ ।

    यद्यपि आप्रवासन र सुरक्षाजस्ता केही विषयमा मेलोनी र ट्रम्पको धारणा मिल्ने गरे पनि युक्रेन युद्धमा मेलोनीको अडान युरोपेली साझेदारसँग नजिक रहेको छ । उनले किएभलाई निरन्तर समर्थन गर्दै आएका छन् । यसले युरोपसँगको सम्बन्ध थप बलियो बनाएको छ । ट्रम्पसँगको सार्वजनिक विवादपछि मेलोनीले उनीसँगको सम्बन्धले आफ्नो लोकप्रियतामा कुनै लाभ नपुगेको प्रतिक्रिया पनि दिएका छन् ।


    हालैको प्यु रिसर्च सेन्टरको सर्वेक्षणअनुसार इटालीका ८३ प्रतिशत नागरिकले ट्रम्पको विदेश नीतिमाथि विश्वास नगरेको बताएका छन् । इरान, व्यापारिक कर र आप्रवासन नीतिमा ट्रम्पको भूमिकाप्रति पनि समर्थन न्यून देखिएको छ । सन् २०२७ सम्म हुने राष्ट्रिय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पसँगको सम्बन्ध र इरान युद्धको असर मेलोनीका लागि राजनीतिक चुनौती बन्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

    रोमको ल्युइस विश्वविद्यालयका राजनीतिक विश्लेषक लोरेन्जो क्यास्टेलानीका अनुसार अन्ततः इन्धनजस्ता दैनिक उपभोगका वस्तुको मूल्यवृद्धिको असर मतदाताले आफ्नै सरकारसँग जोड्ने भएकाले त्यसको राजनीतिक मूल्य मेलोनीले नै चुकाउनुपर्ने अवस्था आउन सक्छ ।

  • क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    काठमाडौँ, १९ असारः फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।

    त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल गरे । त्यसयता खेलमा गोल हुन सकेन र पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित हासिल गर्यो । अब पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

  • २४ घण्टामा ट्राफिक कारबाहीबाट उठ्यो १३ लाख ३३ हजार राजस्व

    २४ घण्टामा ट्राफिक कारबाहीबाट उठ्यो १३ लाख ३३ हजार राजस्व

    काठमाडौँ, १९ असारः बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२८, निषेधित क्षेत्रमा हर्न बजाउने ८७, सडकपेटीमा ‘पार्किङ’ गर्ने ८५ , एकतर्फी सडकमा सवारी चलाउने ५६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २४९ जनालाई कारबाही गरिएको हो ।

  • अध्यागमन विभागले ल्यायो अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली कार्यान्वयनमा

    अध्यागमन विभागले ल्यायो अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली कार्यान्वयनमा

    १९ असार, काठमाडौं । अध्यागमन विभागले डिजिटल अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको छ। प्रचलित अध्यागमन कानुन बमोजिम भौतिक रूपमै उपस्थित भई भिसाको म्याद थप तथा भिसा रूपान्तरण जस्ता सेवाका लागि आवेदन गर्ने सेवाग्राहीको कुनै दिन अत्यधिक भिडभाड हुने र कुनै दिन सेवाग्राहीको उपस्थिति अत्यन्तै न्यून हुने गरेकाले सेवा प्रवाहमा सन्तुलन कायम गरी भिसा सम्बन्धी सेवा प्रवाह सरल र सहज बनाउने उद्देश्यले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो। विभागले यसअघि नै पदयात्रा अनुमति र इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन जस्ता सेवाहरूलाई पूर्ण रूपमा अनलाइन बनाएको हुँदा सेवाग्राहीको भौतिक उपस्थिति शून्य भएको छ।


    उक्त प्रणाली गत असार १२ गतेदेखि नै परीक्षणको रूपमा कार्यान्वयनमा रहेको छ। हाल नेपालीपोर्ट मार्फत् भिसा आवेदन सँगै उपलब्ध गराइएको, कुनै पनि स्लटमा कोटा निर्धारण गरी नसकिएको र अपोइन्टमेन्ट स्लिप नभएका सेवाग्राहीलाई समेत सेवा प्रदान हुँदै आइरहेको छ। आगामी आवको सुरूवातसँगै १ साउनबाट प्रत्येक घण्टाको लागि आवेदनको कोटा निर्धारण गरी सोही बमोजिम मात्र सेवा प्रवाह गर्ने गरी यस प्रणालीलाई अनिवार्य गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

    कोटा प्रणालीले दैनिक रूपमा आउने सेवाग्राहीको संख्यालाई कार्यतालिका अनुसार समान रूपमा विभाजन गर्ने हुँदा कार्यालय समयमा सेवाग्राहीको चाप सन्तुलित र व्यवस्थित हुने अपेक्षा गरिएको छ। नेपालमा रहेका सम्पूर्ण विदेशी राहदानी वाहक तथा अन्य सरोकारवालाहरूले आफ्नो अनुकूलता अनुसार उपलब्ध स्लट अनुसारको समय निश्चित गरी सोही समयमा मात्र विभागमा उपस्थित भई विभागको काम कारबाहीलाई मर्यादित र व्यवस्थित बनाउने कार्यमा सहयोग गर्न विभागले अनुरोध गरेको छ ।

  • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    रासस
    खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु भएको पितापुर्खाहरूले बताउँदै आएको स्थानीय वृद्ध दीर्घमान राईले जानकारी दिए ।

    “एक शताब्दीभन्दा पहिले सुरु भएको वासिङ पहिरोले दर्जनौँ घर तथा सयौँ रोपनी खेतबारी बगाइसकेको छ । यो पहिरोको यकिन क्षतिको विवरण अहिलेसम्म कसैसँग छैन । तर, बर्सेनि मानिसको घरबास उठाएको छ”, उनले भने, “लामो समयअघिदेखि झर्न थालेको पहिरो रोकथाममा कसैले चासो दिएको छैन । ठूलो क्षेत्र ओगटेर बर्सेनि झरिरहने पहिरो अब रोकिने अवस्था पनि छैन ।”

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र वडा नं २ बोपुङको सिमाना भएर बग्ने बुँवाखोलामा खसेको पहिरोले अहिलेसम्म मानवीय क्षति नगरे पनि खोलाकिनारका खेतबारीलाई बगरमा परिणत गरेको पाइएको छ । खेती गर्दै आएको धान खेत पहिरोले पुरेपछि उनीहरू बसाइँ सरेर अन्यत्र गएका छन् ।

    वासिङ पहिरोले हुवाला र युराङका स्थानीयवासीले वर्षौँअघिदेखि आवतजावत गर्न प्रयोग गर्दै आएको गोरेटो बाटोसमेत बगाएको युराङ निवासी वृद्ध दीर्घमानले जानकारी दिए । “पहिरो खसेको ठाउँमा पानीको मुहान छ । वर्षात्को समयमा पानी बगिरहने भएकाले अहिले पनि पहिरो झरिरहेको छ”, उनले भने, “धेरै वर्षा भएको समयमा माथिबाट खसेको पहिरोले बुँवाखोलासमेत थुनिने गर्छ । खोला खुनिएको अवस्थामा तल्लो क्षेत्रका स्थानीयवासीलाई समेत जोखिममा पार्ने गरेको छ ।”

    वासिङ पहिरोको कारण आसपासका स्थानीयवासी वर्षात् सुरु हुनासाथ चिन्तित बनेर दिन तथा रात बिताउन बाध्य छन् । करिब एक किलोमिटर क्षेत्रमा फैलिएर खसेको पहिरोका कारण धेरै मानिस आफ्नो पुख्र्यौली थातथलो छाड्दै बसाइँ सरेर पूर्वी तराईका विभिन्न जिल्लामा घर निर्माण गरेर बस्दै आएका छन् ।

    वासिङ पहिरोभन्दा करिब २०० मिटरमाथि सञ्चालित विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र राईले जानकारी दिनुभयो । “विद्यालयभन्दा केही तल डुम्रीबोटे र युराङ गाउँ छ । त्यो गाउँ नजिकैसम्म पहिरो आइसकेको छ”, उहाँले भन्नुभयो, “कुन बेला के हुन्छ भन्ने पत्तो छैन । पहिरो नरोकिएकाले जुनसुकै बेला जे पनि हुनसक्छ । सबैले सतर्कता अपनाउन जरुरी छ ।”

    टाढाबाट हेर्दा डमरु आधारको देखिने वासिङ पहिरोले साबिक बोपुङ गाउँ विकास समिति ९गाविस०को वडा नं ८ वासिङ र वडा नं ९ युराङमा सबैभन्दा बढी क्षति गरेको जनाइएको छ । वासिङ पहिरोको बीच भागमा बसोबास गर्दै आएका १५ घर स्थानीयवासी तल्लो क्षेत्रमा पहिरो सुरु हुनासाथ अन्यत्र सरेर गएको स्थानीयवासीले बताएका छन् ।

    निरन्तर खसिरहने वासिङ पहिरो बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म सर्दै आइपुगेकाले धेरैवटा गाउँमा जोखिम बढेको बोपुङका वडाध्यक्ष मस्तबहादुर राईले जानकारी दिनुभयो । “वासिङ पहिरोले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीका स्थानीयलाई जोखिममा पारेको छ । वडा र गाउँपालिकाको बजेटले यो पहिरो रोकथाम गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “वासिङ पहिरोलाई बेलैमा नियन्त्रण नगर्ने हो भने, आसपासका धेरै मानिस बसाइँ सरेर अन्यत्र जानुपर्ने अवस्था छ । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

    बोपुङको वासिङ पहिरोले देविस्थानको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय किसानले लगाउँदै आएका धानबालीमा बर्सेनि ठूलो क्षति गर्दै आएको वडाध्यक्ष केदारमान राईले जानकारी दिए । छवटा वडा रहेको यो गाउँपालिकाको बोपुङसँगै अन्य वडासमेत पहिरो उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।

  • एमालेका पूर्वसांसद कोइरी पक्राउ

    एमालेका पूर्वसांसद कोइरी पक्राउ

    महोत्तरी, १९ असारः नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२ का बासिन्दा लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उच्च अदालत जनकपुरधामले सशस्त्र प्रहरीका असइ (सशस्त्र प्रहरी सहायक निरीक्षक) थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय फैसला गरेलगत्तै कोइरीलाई प्रहरीले बिहीबार साँझ गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

    कोइरीलाई अदालतको फैसलाअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पुष्टि गरे ।

    यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मङ्सिर २८ गते गरेको यसै मुद्दाको फैसलामा कोइरीलाई सफाइ दिइएको थियो । मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ मा नेकपा (एमाले)बाट निर्वाचित कोइरी यसपालि गत फागुनको चुनावमा पनि उम्मेदवार थिए । कोइरी यसपालि पराजित भए । नेकपा (एमाले)को मधेस प्रदेश कमिटी सदस्य रहेका कोइरीलाई पक्राउ गरी बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्याइएको छ ।

    सशस्त्र प्रहरीका असइ विकलाई २०७२ भदौमा मधेस आन्दोलन जारी रहेका बेला जलेश्वरको सडकमै निर्घात कुटपिट गरिएको थियो । जलेश्वरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका केही व्यक्तिले उनलाई झारेर कुटीकुटी गरी हत्या गरेका थिए ।

  • मनसुन सक्रियः आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    मनसुन सक्रियः आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, १९ असारः देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    आज राति पनि देशभर साधारणतया बादल रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ ।

    महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    काठमाडौँ १९ असार । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा आज भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो । स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन ।

    स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।

  • न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ

    न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ

    १८ असार, काठमाडौं । काठमाडौं, वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४२ वर्षीय भारतीय नागरिक संजय कुमारलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार, कुमारले आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड लैजाने भन्दै एक जना पीडितबाट ९ लाख ८० हजार रुपैयाँ असुल गरेका थिए। रकम लिएपछि लामो समयसम्म झुक्काएर राखेको र अन्ततः सम्पर्कविहीन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए।


    भारतको बिहार राज्य, गोपालगंज स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १८ मा बस्दै आएका कुमारलाई २०८३ असार १७ गते काठमाडौंको वडा नं १६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले जानकारी दिए ।

  • आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू हुने

    आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू हुने

    काठमाडौं, असार १८ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गरेकी छिन् । निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेकी हुन् ।


    नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत सेवा सुविधा शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब सिफ्ट प्रणालीका आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ। निगममा ओभरटाइम भत्ताका नाममा गत बर्षमात्रै वार्षिक १३ करोड रुपैयाँसम्म खर्च हुँदै आएको तथ्याङ्क छ।

    मन्त्री यादवले यस प्रकारको फजुल खर्चले संस्थालाई आर्थिक भार पारेको र यसले अनियमिततालाई समेत बढावा दिएको भन्दै उक्त खर्च कटौती गर्ने निर्णय गरेकी हुन् । नयाँ व्यवस्था लागू भएपछि कर्मचारीहरूलाई अतिरिक्त भत्ता दिनुको साटो कार्यप्रकृतिका आधारमा विभिन्न सिफ्टमा विभाजन गरेर परिचालन गरिनेछ। यस निर्णयबाट निगमको प्रशासनिक खर्चमा उल्लेखनीय बचत हुने र संस्थाभित्र वित्तीय अनुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

  • डोल्पामा जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    डोल्पामा जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    १८ असार, डोल्पा । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने बताए । आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले यसको सफल कार्यान्वयनका लागि तीनै तहका सरकार, स्थानीय समुदाय तथा सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

    त्यस्तै ऊर्जा मन्त्रालयका सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको सहयोग र सहभागिताले आयोजना अघि बढ्न सहज भएको बताउँदै निर्माण कार्य समयमै सम्पन्न गर्न सबै निकायबाट आवश्यक सहजीकरण हुनुपर्नेमा जोड दिए । जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार आयोजना ऊर्जा उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको महत्वपूर्ण आधार बनेको छ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको यो आयोजना मुलुककै नमूना परियोजनामध्ये एक रहेको उनले बताए । हाल लट वानको काम सम्पन्न भइसकेको छ। कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका क्षेत्रमा १०६ मेगावाटको जगदुल्ला तथा १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्ध–जलाशययुक्त आयोजना विकास गरिरहेको जनाएको छ।


    आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको भौतिक पूर्वाधार विकासमा पनि उल्लेखनीय योगदान दिएको कम्पनीको दाबी छ। कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डमा पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकेको छ। यी संरचनाले आयोजनाको निर्माणलाई सहज बनाउनुका साथै स्थानीय बासिन्दाको आवागमन र आर्थिक गतिविधिमा समेत प्रत्यक्ष सुधार ल्याएको कम्पनीको भनाइ छ।


    सडक पहुँच विस्तारसँगै डोल्पाको यातायात अवस्थामै उल्लेखनीय परिवर्तन आएको कम्पनीले जनाएको छ। विगतमा नेपालगञ्जबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी लाग्ने अवस्था रहेकामा अहिले एकै दिनमा यात्रा सम्भव भएको छ भने दुनै–काठमाडौं रात्रिबस सञ्चालनको वातावरणसमेत बनेको छ। आयोजनाबाट विकसित पूर्वाधारले रारा, शे–फोक्सुण्डो, जगदुल्ला ताल, उपल्लो डोल्पा, जुम्ला र मुगुतर्फको पर्यटन प्रवर्द्धनमा समेत दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।


    आर्थिक लाभका हिसाबले आयोजना सञ्चालनपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले जनही करिब ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ। यसले स्थानीय तथा क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


    कम्पनीका अनुसार १०६ मेगावाटको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता ९पीपीए०, वित्तीय व्यवस्थापन तथा आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको छ। मुख्य निर्माण कम्पनीसँग २०८२ साउन २६ गते ठेक्का सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण कार्य तीव्र रूपमा अघि बढेको हो।


    यस्तै १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–ए आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ भने वातावरणीय अध्ययन, पीपीए, वित्तीय व्यवस्थापन तथा अनुमतिपत्रका प्रक्रिया अन्तिम चरणमा पुगेका छन्। सरकारी निकायको बहुमत स्वामित्वमा निर्माण हुन लागेको यस परियोजनामा सरकारी निकाय, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ। स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर सुरक्षित गरिएको छ भने प्रसारण लाइनको ‘राइट अफ वे’ भित्र पर्ने जग्गाधनीलाई थप ३ प्रतिशत शेयर उपलब्ध गराइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।


    परियोजनाको कुल ऋण लगानी करिब १६ अर्ब ६६ करोड रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ। नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहलगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ।

  • साझा यातायातका बसलाई निलो पोतेर ‘ब्लू बस’ सेवा चलाउने तयारी

    साझा यातायातका बसलाई निलो पोतेर ‘ब्लू बस’ सेवा चलाउने तयारी

    काठमाडौँ, १८ असार । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ ।
    सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

    पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए । बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ । मन्त्रालयबाट सहमति प्राप्त भए पश्चात पहिलो चरणमा साउन १ गतेदेखि बस सेवा सञ्चालन गरिनेछ ।

    प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा बस सञ्चालन गरिने छ । चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछन् । जसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एण्टिक्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

  • मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता

    मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता

    काठमाडौँ, १८ असारः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीले भेटवार्ता गरेका छन् । थाइल्याण्डस्थित नेपाली राजदूतावासमा मन्त्री चौधरीसँग आज सो भेटवार्ता भएको हो । कृषि, वनलगायत क्षेत्रको विकासमा गर्न सकिने सहकार्यका विषयमा नेपाली समुदायसँग छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा नेपालमा सम्भावना, लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान, उद्यमशीलता तथा सीप आदानप्रदानका विषयमा छलफल भएको थियो ।

    नेपाली समुदायले कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन, जलवायु परिवर्तनसँग अनुकूलन, आधुनिक कृषि प्रविधिको प्रयोग, लगानी आकर्षण तथा अन्तरराष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा सुझाव दिएका थिए । मन्त्री चौधरीले ती सुझावलाई मन्त्रालयको समेट्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल र थाइल्याण्डबीच कृषि तथा वन क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउँदै ज्ञान, प्रविधि र अनुभवको आदानप्रदानमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी र दिगो बनाउने विषयमा जोड दिइएको थियो । छलफलमा थाइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।

  • कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

    कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

    दैलेख, १८ असार । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको गाडी आज सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

    दुर्घटनास्थलमा एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थलमा ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

  • उपाध्यक्ष पौडेललाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    उपाध्यक्ष पौडेललाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १८ असारः विशेष अदालतले नेकपा (एमाले) उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

    विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पहिलो पटक सात दिन, दोस्रो पटक तीन दिन र अहिले तेस्रो पटक ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेश भएकामा आज तेस्रो पटक ६ दिन म्याद थप भएको छ ।” उपाध्यक्ष पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराइएको हो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

  • दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

    कर्णाली, १८ असारः कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिए ।


    उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित कर्णाली नदीमा खसेको थियो । उक्त स्थानबाट नामथर र वतन नखुलेका एक जना पुरुषलाई भिरमा अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । उद्धारका सामग्रीसहित जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उनले बताए ।


    प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट घटनास्थलतर्फ हिँडिसकेको छ । सुर्खेत बसपार्कबाट आज बिहान ८ः०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने यकीन नभएको उनले बताए ।


    उनका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ । गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ । भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

  • नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

    नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

    काठमाडौँ, १८ असार । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँबसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँबसपार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने र अनावश्यक हैरानी दिने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


    पक्राउ पर्नेमा रुपन्देहीका डोलराज सेन, गोरखाका प्रदीप भुजेल, जुम्लाका लोकदर्शन पाण्डे, बाँकेका सन्देश शाही, बाँकेका मिलन भण्डारी, दाङका रमेश खत्री र विकास घर्ती, रोल्पाका किरण पुन, रुपन्देहीका रोहित विक, कास्कीका सन्तोष शाही, डडेलधुराका शिवराज भट्टराई, मुगुका कविराज रोकाय, दाङका प्रकाश खत्री रहेका छन् ।

    रुपन्देहीका रवीन विश्वकर्मा, उदयपुरका जितबहादुर मगर, कैलालीका कृष्णप्रसाद कठरिया, दाङका विजय नेपाली, कैलालीका पदम ओली, दाङका रिजन घर्तीमगर, स्याङ्जाका कमल ज्ञवाली, कैलालीका दिपक न्यौपाने, मनोज साउद र प्रेम विष्ट रहेका छन् । पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताए । नयाँबसपार्क क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन तथा यात्रुको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीले पछिल्लो समय यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।

  • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

    यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

    काठमाडौँ, १८ असारः सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीका रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बैठकले संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता (बिबिएनजे) अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए । राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समा पेस गर्न स्वीकृति दिएको छ । त्यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने समेत निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

  • बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

    बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

    १८ असार, काठमाडौं । सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइने भुमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

    भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्। मन्त्री रावलले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरणलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने बताइन्।

  • सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

    सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

    मध्यविन्दु (नवलपरासी), १८ असारः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उहाँलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पु¥याएको थियो ।

    टाउको र निधारमा गम्भीर चोट लागेका राना मगरलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले उजलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बर्ताए । दुर्घटनामा संलग्न अज्ञात सवारीसाधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • जुम्लामा चट्याङमा परी रावतको मृत्यु

    जुम्लामा चट्याङमा परी रावतको मृत्यु

    जुम्ला, १८ असारः जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको भएको छ ।
    स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ । त्यस्तै चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

    रमेश लम्साल\रासस

    काठमाडौँ, १८ असार । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको विश्वासमा समेत बढोत्तरी भएको छ ।


    दुई तिहाई जनमत प्राप्त सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको छ । निजी क्षेत्रको माग अनुसार नै एक दर्जनभन्दा बढी पुराना र अव्यवहारिक कानुनको खारेजी प्रक्रिया अगाडि बढाएको छ । अव्यवहारिक र अनावश्यक कार्यालयलाई खारेज गर्ने तथा कर कानुनमा सुधार गर्ने जस्ता कामका कारण थप विश्वास वृद्धि भएको छ ।


    गत चैत १३ गते अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको आर्थिक पुनरुत्थान र सुशासनका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले निजी क्षेत्र र आम नागरिकलाई समस्यामा पार्ने १५ वटा पुराना कानुन खारेज गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेका थिए ।


    उच्चस्तरीय आर्थिक सुधार सुझाव प्रतिवेदन र विभिन्न व्यापारिक सङ्गठनका सिफारिसका आधारमा सो निर्णय गरिएको उनको भनाइ थियो । पदभारको दिन व्यक्त गर्नुभएको मार्गदर्शनका आधारमा नै अर्थ मन्त्रालयले आफ्ना गतिविधिलाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ ।

    १०० खर्बको अर्थतन्त्रको सपना
    प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले यसबीचमा सबैभन्दा जोड दिएको महत्वपूर्ण विषय हो, रु १०० खर्ब बराबरको अर्थतन्त्र । यसलाई अर्थमन्त्री डा वाग्लेले पनि प्राथमिकतामा राखेका छन् । मुलुकको आर्थिक उन्नयनका लागि अर्थतन्त्रको आकारमा उल्लेख्य वृद्धि गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । गत फागन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको वाचापत्रमा समेत सो विषय उल्लेख थियो ।


    ऊर्जा उत्पादन, पर्यटन, आइसिटी, कृषि, पूर्वाधार र संस्थागत सुधार गरेर अर्थतन्त्रको आकारमा बढोत्तरी गर्ने र त्यसका लागि मिसन मोडमा काम सुरु भएको अर्थमन्त्रीले पटक पटक दोहोर्याउँदै आएका छन् । आगामी आर्थिक वर्षको बजेटलाई पनि सोही अनुरुप नै केन्द्रीत गरिएको छ ।


    राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रमा अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलरभन्दा माथि पुर्याउने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको थियो । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमा सोही नीतिलाई अभिव्यक्त गरेको छ । बाचापत्रमा स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार डलर पुर्याउने लक्ष्य राखेको छ । नेपाल ‘विश्व बैंकको मापदण्ड’ अनुसार नेपाल निम्न आय भएको मुलुकमा छ ।

    आगामी ५ वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउने लक्ष्य राखिएको छ । सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ । सरकारी सेवामा ‘लाइन होइन अनलाइन’ भन्ने अवधारणा लागू गरिएको छ । मेरिटोक्रेसी कार्यान्वयन गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धतालाई व्यवहारिक रुप दिइएको छ । आर्थिक फड्को मार्न बाधक मानिएका दर्जनौं ऐन र नियमावलीहरू एकैपटक खारेज गरेर निजी क्षेत्रलाई लगानीको वातावरण तय गरिएको छ ।


    आगामी आवको बजेटमा सरकारले पाँच प्राथमिकता तय गरेको छ । सरकारको पहिलो प्राथमिकता सुशासन हो । दोस्रो, अर्थतन्त्रको पुनरुत्थान । तेस्रो, मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिट । यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो । यसलाई बजेटमा निदृष्ट गरिएको छ । राजनीतिक स्थायित्व प्राप्त भएकाले इमानदारीपूर्वक देश अघि बढाउँदा देशले आर्थिक उन्नयनको दिशामा मार्ग प्रशस्त गर्छ भन्ने विश्वास सरकारको छ ।


    मध्यपूर्वको युद्धका कारण रेमिट्यान्स, पेट्रोलियम पदार्थको मूल्य र रासायनिक मल लगायतमा पर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन असरको विश्लेषण गरी सम्बोधन गरिएको छ । शनिबार र आइतबारको सार्वजनिक विदा सोही प्रयोजनका लागि दिइएको छ । आन्तरिक रूपमा रहेको आर्थिक शिथिलता, बेरोजगारी र सुस्त आर्थिक वृद्धिलाई सम्बोधन गरिएको छ । राजस्व सङ्कलन र खर्चमा देखिएको ‘खडेरी’ तथा बैंकमा निक्षेप बढ्दा पनि निजी क्षेत्रले ऋण लिन नसकेको अवस्थालाई क्रमशः सुधारको दिशामा अगाडि बढाइएको छ ।

    बजेट निर्माणमा नागरिक सहभागिता
    सरकारले बजेट निर्माणमा नागरिकलाई प्रत्यक्ष सहभागिता गराउने उद्देश्यका साथ यस पटक सुझाव संकलन गर्न पोर्टल सञ्चालनमा ल्यायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो ।


    सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो ।
    सो पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव दिए । सो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने र प्राप्त भएका सुझावलाई प्रशासनिक तहमा गम्भीरतापूर्वक समीक्षा गरी नीतिगत रूपमै कार्यान्वयनमा लगियो ।

    अर्थमन्त्रीको ‘मिसन’ मोड
    अर्थमन्त्री डा वाग्लेले ‘मिसन मोड’ कामलाई प्रमुख प्राथमिकता दिने अर्थमा अगाडि सार्नुभएको छ । भाषणभन्दा पनि परिणामलाई केन्द्रमा राखेर तोकिएको समयसीमाभित्रै आर्थिक लक्ष्य हासिल गर्न राज्य सञ्चालनको कार्यशैलीमा परिवर्तन गरिएको छ । परम्परागत प्रवृत्तिलाई तोडिएको छ । डिजिटल ट्रयाकिङ, प्रत्यक्ष अनुगमन, र कडा कानुनी सुधार गरिएको छ । यसको मुख्य विशेषतामा परिणाममुखी कार्यशैली रहेको छ ।


    भाषण वा सतही योजनामा सीमित नभई नतिजा निकाल्न अभिप्रेरित गरिएको छ । समयसीमा र कार्यसम्पादन सूचकांकको प्रयोग गरिएको छ । डिजिटल अनुगमनमार्फत आयोजना र नीति कार्यान्वयनको अवस्था कहाँ पुग्यो भनी प्रत्यक्ष ट्रयाक गर्ने व्यवस्था गरिएको छ । कानुनी तथा संस्थागत सुधारमार्फत निजी क्षेत्रको मनोबल उकास्न र लगानी आकर्षित गर्न नीतिगत अड्चन हटाइएको छ ।


    संस्थागत उत्तरदायित्व कायम गरिएको छ । खर्च नियन्त्रण र गुणस्तर कायम गरिएको छ । अनावश्यक प्रशासनिक खर्च कटौती गर्ने, खुद्रा योजनाहरू क्रमशः बन्द गर्ने र खुला प्रतिस्पर्धामार्फत मात्र योजना कार्यान्वयन गर्ने प्रणालीको आत्मसात् गरिएको छ । विप्रेषण र आयातमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित बनाउने लक्ष्य राखिएको छ ।


    अर्थतन्त्रमा यसको प्रभाव र निजी क्षेत्रको अपेक्षा अनुसार क्रमशः विश्वासको वातावरण बन्दै गएको छ । विगतमा खस्केको व्यावसायिक मनोबल उकास्न र बजारमा रोकिएको माग सिर्जना गर्न कर कटौती र नीतिगत सहजता कायम गरिएको छ । कृषि, ऊर्जा, पूर्वाधार विस्तार र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई चलायमान गराउने प्रयास गरिएको छ ।

    पेन्सनमा राहत
    अर्थमन्त्रालयले यसबीचमा गरेको अर्को महत्वपूर्ण काम हो पेन्सनकर्ताले पाउँदै आएको अनावश्यक झन्झट । साढे तीन लाख पेन्सनकर्ताको झन्झट,अन्त्य गरेर ई पेन्सन प्रमाणिकरण प्रणाली सुरु गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात भएको छ । दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैँक छनोटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैंक कमिसन पनि शून्यमा झरेको छ ।


    निवृत्तभरक भौतिक रुपमा उपस्थित हुन नपर्ने र घरैबाट सेवा प्राप्त गने व्यवस्था कार्यान्वयनमा आएको छ । भुक्तानी गर्नुपर्ने बैँक कमिसनको भार वार्षिक सरदर रु १५ करोडले घट्नेछ । नगद प्रवाह अनुमानयोग्य भई भई ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सहज भएको छ । पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटी कम भएको छ । यो योजनामा पर्ने तीन लाख ५२ हजार ८१६ ९निष्क्रिय ४४ हजार समेत० निवृत्तभरकको हैरानी समाप्त भएको छ । अनलाइनमा घरैबाट यो सेवा प्राप्त भएको छ ।

    कर्मचारीलाई १५ दिनमा तलब
    यस्तै, सरकारले गत वैशाख १६ गतेदेखि संघीय निजामती कर्मचारीलाई हरेक १५ दिनमा पारिश्रमिक उपलब्ध गराउन थालेको छ । अर्थ मन्त्रालयले पाइलट परियोजनाका रूपमा अघि सारेको यो नयाँ कार्यान्वयन गरिएको छ ।
    अर्थमन्त्री वाग्लेले महालेखा नियन्त्रक कार्यालयको कम्प्युटरराइज्ड गभर्मेन्ट एकाउन्टिङ सिस्टम मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो प्रक्रियाको थालनी गर्नुभएको थियो । बजारलाई थप चलायमान बनाउन र उपभोग तथा मागमा वृद्धि ल्याउन सरकारले त्यस्तो नवीन निर्णय गरेको सरकारको प्रष्टोक्ति थियो ।


    संघीय निजामती कर्मचारीमा लागू गरिएको र विस्तारै सबै सरकारी वेतनधारीमा विस्तार गर्ने सरकारको योजना छ । अर्धमासिक रूपमा पारिश्रमिक भुक्तानी गर्दा बजारमा नियमित माग सिर्जना हुने, साना व्यवसायीहरूको नगद प्रवाहमा वृद्धि हुने र उपभोग खर्चको वितरण समान रूपमा फैलिने अपेक्षा छ ।


    सो व्यवस्थाले सेवा व्यवसायमा सकारात्मक प्रभाव पर्ने र डिजिटल अर्थतन्त्रको विकासमा समेत मद्दत पुग्ने छ । सो व्यवस्थाले कर्मचारीको वित्तीय व्यवस्थापनमा सहजता ल्याउने र समग्र आर्थिक गतिविधिमा गुणात्मक सुधार आउने छ ।
    वार्षिक रु २० करोड भन्दा वढीको कारोवार गर्ने करदातालाई केन्द्रिय बिजक अनुगमन प्रणालीमा आवद्ध गर्ने गरी आन्तरिक राजस्व विभागले थप प्रभावकारी काम अगााडि बढाएको छ ।

    यसबाट राजस्व प्रणालीलाई पारदर्शी डिजिटल तथा प्रभावकारी बनाउन बल मिलेको छ । कर प्रशासनलाई स्वचालित बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउन सरकारले आवश्यक काम गरिरहेको छ ।
    मध्यमवर्ग विस्तार गर्ने बजेट
    अर्थमन्त्री वाग्लेले मध्यमवर्गको विस्तार गर्ने, कमजोर वर्गलाई माथि उठाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब १४ अर्ब बराबरको बजेट प्रस्तुत गर्नुभयो । कर्णाली, सुदूरपश्चिम प्रदेशलाई बजेटमा विशेष प्राथमिकतामा राखिएको छ ।


    कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड,पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड ,वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड बराबर विनियोजन गरिएको छ ।


    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु १४ खर्ब ०५ अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड बेहोर्दा रु ६ खर्ब ५७ अर्ब २९ करोड न्यून हुन जान्छ । सो पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब ४७ अर्ब २८ करोड परिचालन गरिनेछ । राजस्व र वैदेशिक सहायता परिचालनबाट पनि न्यून हुने रु चार खर्ब १० अर्ब बराबरको रकम भने आन्तरिक ऋणबाट उठाइनेछ ।


    बजेटमा घोषणा गरिएका नीतिगत सुधारका कार्यक्रमबाट ७ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अर्थमन्त्रीको विश्वास छ । यस्तै, मुद्रास्फीति ६ प्रतिशतभित्र सीमित रहनेछ । उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी करका दरमा पुनरवलोकन गरिएको छ । आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाखसम्म एक प्रतिशत मात्रै कर तिर्ने व्यवस्था बजेटमा गरिएको छ ।


    व्यक्तिगत आयको करको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको छ । बजेटले पूर्वाधार विस्तारलाई जोड दिएको छ । ऊर्जा, सडक पूर्वाधारको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि नीतिगत सुधारमा जोड दिइएको छ ।
    अर्थतन्त्र सबल
    चालु आर्थिक बर्षको १० महिनासम्ममा विदेश गएका नेपालीले रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण पठाएका छन् । गत बैशाख महिनामा मात्रै रु दुई खर्ब ५७ अर्ब ४९ करोड विप्रेषण आप्रवाह भएको छ । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ ।


    यस्तै, गत वैशाख मसान्तमा रु कूल वैदेशिक मुद्राको सञ्चिती रु ३७ खर्ब चार अर्ब ५५ करोड बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २४ अर्ब १९ करोड पुगेको छ । गत वैशाख मसान्तसम्म चालु खाता रु ७२९ अर्ब २८ करोडले बचतमा छ । यस्तै, शोधनान्तर स्थिति रु ८६३ अर्ब ५६ करोडले बचतमा रहेको छ ।

    इन्धन सुविधामा कटौती
    सुधारको क्रममा अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा व्यापक कटौती गर्ने निर्णय गर्यो । अर्थमन्त्री डा वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गर्नुभएको थियो ।


    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न त्यस्तो निर्णय गरिएको थियो ।
    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं ४९ मा रहेका इन्धनसम्बन्धी व्यवस्थाहरू संशोधन गरेको थियो ।


    उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले ७० लिटर मात्रै पाएका छन् । कूल १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीले ५० लिटर पाएका छन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानुन अनुसार नै इन्धन सुविधा उपलब्ध छ ।

    शासकीय सुधार
    सरकारको शासकीय सुधारको १०० कार्यसूचीमध्ये अर्थ मन्त्रालयबाट आर्थिक पक्षसँग सम्बन्धित विषयहरूको कार्यान्वयन कार्ययोजना तयार गरी सम्बन्धित निकाय÷महाशाखालाई जिम्मेवारी तोकिएको छ । सरकारको शासकीय सुधारको १०० कार्यसूचीमध्येको बुँदा नं। ९४ मा समावेश भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई सशक्तीकरण गर्नको लागि माग गरिएको बजेट निकासा गरियो ।


    अर्थमन्त्री डा वाग्लेका अनुसार, बहु–च्यानल गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी वनाउँदै गुनासो सुनुवाई एवम् व्यवस्थापन गर्न क्यूआर कोडसहितको डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको छ । अवधिमा महालेखा नियन्त्रक कार्यालयको पाँच वर्षे रणनीतिक योजना, २०८२ स्वीकृत भई लागू भएको छ ।


    राजस्व प्रशासन तथा भन्सार सहजीकरण
    पश्चिम एसियामा उत्पन्न भएको तनावका कारण पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, मट्टीतेल० आपूर्तिमा अवरोध एवं विश्व वजारमा मूल्यवृद्धि भएको परिप्रेक्षमा जनतामा सोको भार कम गर्न पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिइयो ।


    शासकीय सुधार सम्बन्धी १०० कार्यसूची मध्येको बुँदा ९६ अनुरूप भन्सार विन्दुमा जफथ भएका सवारी साधनमध्ये छ सय ५१ वटा मोटरसाइकल र ४१ वटा चार पाङ्ग्रे सवारी साधन सुरक्षा निकायको लागि उपलब्ध गराउने निर्णय गरियो । ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय लगायत ४७ कार्यालय र सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयका अधिकृतलाई अन्तःशुल्क ऐन, २०५८ अनुसारको जिम्मेवारी र अधिकार क्षेत्रसहित अन्तःशुल्क अधिकृत तोकियो ।


    आर्थिक कूटनीति र लगानी प्रवद्र्धन
    सघन आर्थिक कूटनीतिलाई पनि अर्थमन्त्रालयले प्रभावकारी रुपमा अगाडि बढायो । नेपालमा वैदेशिक लगानी भित्र्याउने सम्बन्धमा निजी क्षेत्र एवं प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनिधिसँग नेपालमा लगानी सुरक्षाको प्रतिबद्धता सहित नेपालमा लगानी भित्र्याउनका लागि पहल थालिएको छ ।


    संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद्‍द्वारा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजित विकासका लागि वित्त सम्बन्धी मन्त्रीस्तरीय सत्रमा प्रमुख वक्ताका रूपमा एवं हार्वड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित “द नेपाल डिस्कोर्स” मा अर्थमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो ।


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको लागि २ अर्ब ८५ करोड जापानी येन अनुदान सहायता सम्वन्धी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति प्रदान गरियो । लगानी बोर्ड अनुगमन तथा सहजिकरण बैठकमा बोर्ड अन्तर्गतका आयोजनाको कार्यान्वयन सन्दर्भमा वन तथा वातावरण सम्बन्धी विषयमा देखिएको समस्या समाधानको लागि आवश्यक सुझाव प्राप्त भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुर्नसंरचनाका लागि सुझाव पेश गर्न गठित समितिको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ बाट प्रतिवेदन प्राप्त भई कार्यान्वयनमा गएको छ ।

  • इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    काठमाडौँ, १८ असार । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो ।

    खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।

  • ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ

    काठमाडौँ, १८ असार । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरुलाई सम्झाईबुझाई गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

  • ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    म्याग्दी, १८ असारः म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ देखि सुरु भएको योजना पाँच वर्षपछि पूरा भएको हो । छ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ माघ ७ मा निर्माण कम्पनीले रु दुई करोड ८३ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    उक्त ठेकेदारसँगको सम्झौता योजना सम्पन्न हुदाँसम्म सातौँ पटक थपिएको गाउँपालिकाले जनाएको छ । ९० प्रतिशत भौतिक प्रगति भएको योजनामार्फत भएका कामको प्राबिधिक नापजाँच र मूल्याङ्कन गरी ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाले बताए ।
    “रु तीन करोड ३१ लाख ९९ हजार ९९९ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कवोलेको कम्पनीसँग सम्झौता भएको थियो”, उनले भने, “कालोसूचीमा राखेर कारबाही प्रक्रीया अघि बढाएपछि अन्तिम समयमा आएर ठेकेदारले काम गरेका हुन् ।”

    योजनामार्फत घोर्सीडाडाँ क्षेत्रमा १९० मिटर दूरीमा सडक ढलान, फराकिलो पार्ने, घुम्ती र ग्रेड सुधार, सोलिङ, ग्यावियन र टेवा पर्खाल निर्माण भएको पूर्वाधार शाखा प्रमुख सापकोटाले बताउनुभयो । निस्कोटदेखि ताराखोलातर्फ जाने सडकको मार्ग पनि खोलिएको छ । यो सडकले मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोट र २ बिलबाङ, रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग जोड्छ । मालिका गाउँपालिका–२ का सोमबहादुर दर्जीले अप्ठ्यारो ठाउँमा ढलान, घुम्ती र मोड सुधार गरेपछि यात्रा सहज बनेको बताउनुभयो । सडक स्तरोन्नति योजनालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

    निस्कोट हुँदै बाग्लुङको ताराखोला गाउँपालिका पनि जोडिने भएकाले रणनीतिक महत्वको योजना भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । “अघिल्लो कार्यकालमा सङ्घीय सरकारको समपूरक अनुदानमा सञ्चालित अलपत्र योजनालाई पूर्णता दिन पालिकाले ब्यभार ब्यहोर्नुप¥यो”, उनले भने, “धेरै मेहनत गरेर अलपत्र र अधुरो योजनालाई पूर्णता दिने अवस्थामा पु¥याएका छौँ ।” गत आर्थिक वर्ष २०८१र८२ मा रु एक करोड बजेट विनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का समझौता वनसम्बन्धी मुद्दा परेपछि तोड्नुपरेको गाउँपालिकाका अध्यक्ष गर्बुजाले बताए ।

  • भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

    भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते

    काराकास (भेनेजुयला), १७ असार (रासस–क्युएनए) । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन् ।

    प्रेस विज्ञप्ति मार्फत रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताएका छन् । उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु अझै बेपत्ता रहेका छन् । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरुको खोजी तथा उद्धार कार्य जारी छ ।

  • राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति

    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति

    काठमाडौँ, १७ असारः नेपालस्थित जर्मनी दूतावासले राहदानी खरिदसम्बन्धी विषयमा सार्वजनिक भएका समाचारकाबारेमा आफ्नो भनाइ स्पष्ट गरको छ । दूतावासले सो सम्बन्धमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पार्दै जर्मनीस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मनको सङ्घीय विदेश मन्त्रालयमा भएको बैठकमा उपस्थित हुन निमन्त्रणा गरिएको तर बोलावट नगरिएको जनाएको छ ।

    साथै दूतावासले कुनै विरोधपत्र वा अन्य कुनै दस्तावेज हस्तान्तरण नगरिएको स्पष्ट पारेको छ । मुद्दाको प्रक्रियाको नतिजाका आधारमा हुनसक्ने सम्भावित परिणामबारे कुनै चेतावनी नदिइएको दूतावासले उल्लेख गरेको छ । “न्यायपालिकाको स्वतन्त्रतालाई जर्मनीले पूर्ण सम्मान गर्दछ । वास्तवमा, यो सिद्धान्त हाम्रो संविधानमै सुनिश्चित गरिएको छ । सिद्धान्ततः दूतावासले अदालतमा विचाराधीन मुद्दाका बारेमा टिप्पणी गर्दैन र यस प्रकरणमा पनि कुनै चरणमा टिप्पणी गरेको छैन”, दूतावासले उल्लेख गरेको छ ।

  • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    काठमाडौँ, १७ असारः कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुनेगरी धानबालीका लागि थप आवश्यकपर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।

    सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुनलागेको ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ । अन्तरराष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न मुलुकबाट एक लाख ८० हजार मेट्रिकटन रासायनिक मलमध्ये ६० हजार मेट्रिकटन डिएपी र एक लाख २० हजार मेट्रिकटन युरिया रहेको छ ।

    मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुनेगरी मल आपूर्ति गर्न लागेको हो । यसवर्ष मन्त्रालयले हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको छ ।