Author: Vishwanews.com

  • अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा भेट

    अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा भेट

    २० असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गा बीच अमेरिकाको वासिङ्टन डी.सी.मा भेटवार्ता भएको हो। 


    भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरे ।


    उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए । नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।


    अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

  • ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

    ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

    स्टकहोम, १९ असोज (रासस–एएफपी) । यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ । अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।

  • प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

    प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

    काठमाडौँ, १९ असोजः प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा उनी साताव्यापी औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरे । भ्रमणले सदियौँदेखि रहँदै आएको दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनका अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

  • सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    काठमाडौँ, १९ असोजः गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ ।
    निजले गरेका पदीय आचरण विपरीतका कार्यको जाँचबुझ गरी तीन दिनभित्र गृहसचिवसमक्ष प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ । साथै गृह मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ । सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरणसँग जोडिएका हुन् ।

  • मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    काठमाडौँ, १९ असोजस्नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा प्रश्न उठाएको हो ।

    मलेसियाको एफडब्ल्युसिएमएसमा नेपालका २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र २५० वटा संस्थालाई सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषय सार्वजनिक भएपछि छनोट प्रक्रिया, मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको छ । यस विषयमा वैदेशिक रोजगार विभागले समेत सूचीकृत २५० संस्थासँग उनीहरू छनोट भएको आधार र प्रक्रियाबारे स्पष्टीकरण मागेको छ ।

    सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले निश्चित व्यवसायी संस्थालाई मात्र सूचीकृत गरेर एकाधिकार कायम गर्न नहुने बताए । “निश्चित व्यवसायी संस्थालाई सूचीकृत गरेर एकाधिकार गर्न पाइँदैन । सूचीकृत संस्थाहरू नै कति पारदर्शी छन् भन्ने प्रश्न छ,” उनले भने । उनले श्रमिकको हकहित संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराइएको बताए । अध्यक्ष खत्रीले “आज मलेसियाबाट सुरु भएको एकाधिकारको नजिर भोलि अन्य श्रम गन्तव्यमा पनि दोहोरिन सक्छ ।”

  • कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय


    काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा भएको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ ।

    विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहनेछन् । कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुनेछन् । केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना रहनेछन् । काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ ।

    दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेसीतर्फ पाँच महिलासहित १३ जना रहनेछन् । जनसम्पर्क समितिबाट दुई महिलासहित सात तथा पिछडिएको वर्गबाट तीन जना रहनेछन् । त्यस्तै, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन र पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना रहनेछन् । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन् ।

    यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरिएको छ । सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मङ्गलबारको बन्दसत्रले पारित गर्नेछ । मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबार नै पारित गरिएको पार्टीले जनाएको छ ।

  • तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    काठमाडौँ, १९ असोजः मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भए पछि चिन्तित भएका छन् । जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना भए पनि लगातार झरी नपर्ने बताएको छ । आगामी तीन दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद् विनु महर्जनले राससलाई बताइन् ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ । कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

  • सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ : प्रधानमन्त्री

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ : प्रधानमन्त्री


    काठमाडौँ, १९ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने दिशामा सरकार अघि बढिरहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले भूमिसम्बन्धी ऐन, वन ऐनलगायत सम्बन्धित कानुनमा आवश्यक सुधार गरी भूमिहीनको समस्या समाधान प्रक्रियालाई गति दिइने बताए ।


    प्रधानमन्त्री शाहले कानुनी, प्रक्रियागत तथा संरचनागत अवरोध आवश्यकताअनुसार हटाउँदै जिल्ला–जिल्लामा भूमिहीन सुकुमबासीको समस्या समाधान गरी क्रमशः सुकुमबासी समस्यामुक्त जिल्ला घोषणा गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले सात दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई अब लालपुर्जा उपलब्ध गराउने गरी काम भइरहेको उल्लेख गरे ।


    भूमि समस्या समाधान समिति गठन भएपछि देशभरका तथ्याङ्क एकीकृत रूपमा सङ्कलन तथा प्रशोधन भइरहेको छ । हालसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भएका छन् । ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिसकेको र अब प्राथमिकता निर्धारण गरी समाधानतर्फ लैजाने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री शाहले बताए ।


    प्रधानमन्त्री शाहले विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी गरी पाँच हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको जानकारी दिए । यो सुरुवात भएको उल्लेख गर्दै उनले अब प्रक्रिया तीव्र गतिमा देशभर विस्तार गरिने बताए ।


    सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसेका भूमिहीन सुकुमबासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए । काठमाडौँ उपत्यकाबाट विस्थापित परिवारका हकमा उनीहरूको स्थायी वतन भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ । झुटो विवरण दिई आफूलाई भूमिहीन देखाउनेको अभिलेख भिडान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको उनले बताए ।


    प्रधानमन्त्री शाहले २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भूमिहीन किसानलाई जग्गा वितरण गर्ने विषय समेटेको स्मरण गरे । उनले त्यसयता देशमा विभिन्न राजनीतिक व्यवस्था र सरकार परिवर्तन भए पनि सात दशकअघि राजनीतिक घोषणामा समेटिएको सुकुमबासीको समस्या अझै प्रमुख राष्ट्रिय मुद्दाका रूपमा रहेको बताए ।

    दशकौँदेखि राजनीतिक दलहरूले यही समस्या समाधान गर्ने आश्वासन दिएर नागरिकसँग मत माग्दै आए पनि आयोग, समिति र विभिन्न संरचना गठन र विघटन भएका उनले बताए । प्रधानमन्त्रीका अनुसार २०७७ देखि गत वर्षसम्म मात्र भूमि समस्या समाधानका नाममा गठन भएका विभिन्न संरचनामा राज्यको दुई अर्बभन्दा बढी खर्च भएको छ तर त्यसअनुसार अपेक्षित नतिजा प्राप्त भएको छैन ।

    वर्तमान सरकारले राजनीतिक भागबन्डा र अनावश्यक तह थपेर नभई विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा परिणाम निकाल्ने बाटो रोजेको उनले बताए । भूमि समस्या समाधानको प्रक्रिया पारदर्शी र राज्यलाई कम भार पर्ने किसिमको बनाउने प्रयास भइरहेको प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    मुस्ताङ, १९ असोजः दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ ।

    आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए । डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी समय लागेको छ । उनले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको जानकारी दिए । यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको उनको भनाइ छ ।

    डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेका रोकाया यही असोज १७ गते साँझ जोमसोम आइपुगेका हुन् । हाल भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ। रोकायाका अनुसार डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा निकै कठिन भएको उनले बताए ।


    माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याएको रोकायाले बताए । नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको उनको भनाइ छ । डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडा च्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको उनले बताए । सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै रोकायासहितको टोली च्याङ्ग्रा लिएर जोमसोम आइपुगेको हो । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरेको रोकायाले बताए ।


    च्याङ्ग्रा व्यापारी शेरबहादुर रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन् । गत वर्ष ११ हजार बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो । बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने व्यापारी रोकायाले बताए । “हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ । दसैँका बेला डोल्पा फर्कने बाटो पनि सरकारले समयमै सहज बनाइदिए राम्रो हुन्थ्यो”, उनले भने ।

  • मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

    कास्की, १९ असोजः विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ । यस पदयात्रामार्गको विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन् । निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको पर्यटन व्यवसायीको भनाइ छ ।

    छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक ३०० हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन् । एबिसीमा पर्यटकलाई राख्न सकिने ६ वटा होटल तथा लज रहेका छन् । यहाँका होटलमा ३५० सम्म पर्यटक राख्न सक्ने क्षमता छ । “स्वदेशी पर्यटक छैनन् तर विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको छ । अहिले यहाँ आउने सबै सडकहरु पनि खुलेका कारणले पदयात्रा सहज भएको छ,” गुरुङले भने ।


    यसअघि वर्षा र बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा सडक तथा पदयात्रा मार्ग प्रभावित हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो । अन्नपूर्णको बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले लामो समय सडक अवरुद्ध भएको थियो । गाउँपालिकाले झन्डै डेढ महिना लगाएर असोज पहिलो साता सडक खुलाएको हो । मनाङ र मनास्लु क्षेत्रतर्फ जाने कतिपय सडक तथा पदयात्रा मार्ग पहिरोका कारण अवरुद्ध भएपछि त्यस क्षेत्रमा जाने तयारीमा रहेका पर्यटकले वैकल्पिक गन्तव्यका रूपमा एबिसी रोज्न थालेको सचिव गुरुङले बताए ।

    “मनाङ, मनास्लु र अन्नपूर्ण क्षेत्रमध्ये अन्नपूर्ण आधार शिविरतर्फको बाटो तुलनात्मक रूपमा सहज छ । त्यसकारण पनि साउथ एसियन मुलुकका पर्यटकको पर्यटकको रोजाइ एबिसीमा बढेको हो । नेपाली पर्यटन दसैँ सुरु भएपछि आउने अपेक्षामा छौँ,” छोम्राङ पर्यटन व्यवस्थापन समितिका सचिव गुरुङले भने ।


    अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएपछि पोखराबाट पदयात्राको सुरुआती बिन्दुसम्म पुग्न पनि सहज भएको छ । सडक यातायात सहज हुनु र पदयात्रा मार्गमा समेत अवस्था सामान्य बन्दै जानुले पर्यटकको आवागमन बढाएको हो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पोखरादेखी–घान्द्रुक–एबिसीसम्मको सबै सडक अहिले खुला रहेको बताउनुभयो । उहाँले कतिपय स्थानमा अस्थायी प्रबन्ध गरेर भए पनि पदमार्ग खुला गरिएको बताए ।
    “बिरेठाँटी र स्याउली बजार खुल्यो । घान्द्रुकबाट माथि पनि अब समस्या छैन । अब एबिसी ट्रेक आउने स्थायी र अस्थायी सबै सडक खुलेको । नयाँपुल, घान्द्रुक, छोमरुङ सबै ठाउँबाट आउन सकिन्छ,” वडाध्यक्ष गुरुङले भने । यसैगरी, दुई महिनाअघि किम्रुङखोलाले पक्की झोलुङ्गे पुल बगाएर अवरुद्ध बनेको पदमार्ग किम्रुङ खोलामाथि काठे फड्के निर्माण गरी पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

    अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट करिब चार हजार १३० मिटरको उचाइमा रहेको छ । हिमालको काखमै पुगेर अन्नपूर्ण हिमशृङ्खला तथा माछापुच्छ्रे्र हिमालको मनोरम दृश्यावलोकन गर्न पाइने भएकाले एबिसी पदयात्रा विश्वका चर्चित पदयात्रा गन्तव्यमा मानिन्छ ।

    विशेषगरी हिमालको नजिकबाट सूर्योदय तथा हिमशृङ्लाको दृश्यावलोकन, स्थानीय संस्कृति र जीवनशैलीको अनुभव गर्न सकिने भएकाले एबिसी पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, स्थानीय जीवनशैली, हिमाली गाउँबस्ती, हरियाली वन, झरना, खोलानाला र हिमाली भू–दृश्यको अवलोकन गर्न पाउँछन् ।

    माछापुच्छ«े आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग यस क्षेत्रको प्रमुख आकर्षण हो । पदयात्राका क्रममा माछापुच्छ«े, अन्नपूर्ण साउथ, अन्नपूर्ण प्रथम लगायतका हिमालहरु नजिकबाट अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटक आगमन बढेसँगै गाउँपालिकाले पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर हालै प्राथमिक उपचार केन्द्र पनि सञ्चालनमा ल्याएको छ ।

    माछापुच्छ«े बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो । केन्द्रबाट एबिसी तथा माछापुच्छ«े बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीबाट तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराउन सहज हुनेछ ।
    एबिसी पदयात्रामा आउने पर्यटकहरु बिरामी पर्ने तथा हाई अल्टिच्युड (उच्च उचाइ)का कारणले लेक लागेर ज्यान पनि जाने गरेको थियो ।

  • निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    बागलुङ, १९ असोजः लगातारको वर्षापछि निसीखोलामा आएको बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका–४ स्थित झिवाखोला र कानाबगर बजारको ठूलो क्षेत्र बगरमा परिणत भएको छ । “मेरो घर यही थियो, अहिले त घरमाथिबाट निसीखोला बगिरहेको छ । जीवनको ४० वर्ष नाघ्यो, यत्रो बाढी निसीखोलामा कहिल्यै आएको थिएन । यही असोज ११ गते बिहान आएको बाढीले घरको नामोनिसान राखेन”, निसीखोला गाउँपालिका–४ झिवाखोलाकी डिलकुमारी रेग्मीले भावुक हुँदै भने ।


    उहाँको बस्ने बास छैन । जग्गा कहाँ थियो भन्ने पनि पत्तो छैन । अहिले दुई छोरासहित आफन्तको घरमा आश्रय लिएर बसेको उनले बताए । रेग्मीजस्ता झिवाखोला बजारको २४ घरको दुखेसो उस्तै छ । बाढीले यस क्षेत्रमा २४ घर बगाएको तथा २१ घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ ।

    निसीखोलाको पानीको सतह एक्कासी बढेपछि नदीले धार परिवर्तन गरी झिवाखोला बजारको पुरानो बस्तीमा प्रवेश गरेको थियो । बाढीले घर, गोठ, विद्यालय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि अहिले झिवाखोला र कानाबगर उजाड बनेको छ । “बाढी आउँदैछ भन्ने सामान्य अनुमान त थियो तर यति ठूलो बाढी आउला भन्ने कसैले सोचेको थिएन”, स्थानीय मिलन हमालले भने, “विद्यालयमा क्षति पुगेको छ । धेरै स्थानीयले घरभित्रका सामान सार्नसमेत पाएनन् ।”

    निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बाढीले झिवाखोला बजार र कानाबगरमा ठूलो क्षति पुर्याएको छ । बाढीले निसीखोला किनारमा रहेको मध्यपहाडी लोकमार्गको एक किलोमिटरभन्दा बढी पक्की सडक कटान गरेको छ । सडक कटान भएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ । निसीखोला–४ मा रहेको निसीखोला आधारभूत अस्पताल, विद्यालय तथा झिवाखोला प्रहरी चौकीमा क्षति पुगेको छ । प्रहरी चौकीमा क्षति पुगेपछि सेवा अन्यत्रबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको इन्टेक र नहर बाढीले बगाएको छ भने एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

    बाढीबाट विस्थापित परिवारलाई सुरुमा जनजीवरा र प्रभा माध्यमिक विद्यालयमा बनाइएको अस्थायी शिविरमा राखिएको थियो । अहिले भने उनीहरूलाई आफन्त तथा छिमेकीको घरमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ । “राहत लिएरमात्र लामो समय शिविरमा बस्न सकिँदैन । पीडितपरिवारलाई सुरक्षित रूपमा बस्ने ठाउँ आवश्यक छ”, निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले भने, “आफन्त र छिमेकीको घरमा कोठा खोजेर अस्थायी बसोबासको व्यवस्था मिलाउने काम भइरहेको छ ।”

    बाढीले घरको जग तथा आसपासको जमिन कटान गरेपछि कतिपय परिवारलाई आफ्नो घर रहेको ठाउँ पहिचान गर्न कठिन भएको स्थानीय बताउँछन् । वर्षौँदेखि बस्दै आएको बस्ती एकै रातमा बगरमा परिणत भएपछि स्थानीयवासीमा पुनःस्थापनाको चुनौती थपिएको छ । अविरल वर्षापछि आएको पहिरोमा परी निसीखोला गाउँपालिका–३ हरधारामा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् ।

    पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको थियो । बाढी तथा पहिरोका कारण गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । निसीखोला गाउँपालिका–४ कै चिनारेमा पहिरोका कारण १० घर विस्थापित भएका छन् ।

  • कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा निर्वाचन

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा निर्वाचन


    काठमाडौँ, १९ असोजः नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदन उपर केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्र सुरु गरिने जानकारी दिए ।
    कांग्रेसले बन्दसत्र अगाडि आज बिहान १०ः०० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीलाई तीन हलमा राखेर बन्दसत्रमा भाग गराइनेछ । यस्तै, कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुका ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । उनका अनुसार आज बेलुका ५ः०० बजे मतदाता नामावली प्रकाशन, ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    यस्तै, भोलि ९असोज २०० गते विहान १०ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्ने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबी विरोध, बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

    यसैगरी, असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए । मतदानका लागि भने राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

  • चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल


    बर्दिया, १९ असोजः जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसीयू सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने गरेको छ ।

    बर्दियाको मधुवन नगरपालिका–४ का मस्तराम चौधरीका बुबा गत भदौ १७ गते रक्तचाप कम भएपछि उपचारका लागि बर्दिया अस्पताल ल्याइएको थियो । बिरामीको शरीरमा अक्सिजनको मात्रा कम भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि जिल्ला अस्पतालमा सो सुविधा नभएपछि चिकित्सकले थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरेको मस्तरामले बताए ।


    त्यस्तै, गत असारमा राजापुर नगरपालिका–५ पहाडीपुरका सूर्यलाल चौधरी मिर्गौलासम्बन्धी समस्याका कारण उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएको थियो । अस्पतालमा आवश्यक उपचार हुन नसकेपछि, उहाँलाई पनि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको उहाँका नाति मनोज चौधरीले बताए ।
    चिकित्सक तथा आइसीयू सुविधा नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए ।

    “अस्पतालमा गम्भीर अवस्थाका बिरामी आउने गरेका छन् । दरबन्दीअनुसारका चिकित्सक र आइसीयू सुविधा नहुँदा बिरामीलाई रेफर गर्न बाध्य छौँ”, उनले भने ।
    अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा जटिल अवस्थाका बिरामीलाई आवश्यक उपचार दिन समस्या भएको डा पाण्डेले बताए । चिकित्सकको अभावकै कारण आइसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

    अस्पतालमा आवश्यक चिकित्सकसहित आइसीयू सञ्चालनको माग हुँदै आएको छ । बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद ठाकुरसिंह थारूले सो अस्पतालमा आइसीयू, चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा माग गरेका छन् । गत भदौ ९ गते दर्ता गरिएको निवेदनमा बर्दिया अस्पतालमा आइसीयू तथा चिकित्सकको अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको उल्लेख गरेका छन् ।


    आइसीयू सञ्चालनका लागि सबैभन्दा पहिले गम्भीर अवस्थाका बिरामीको उपचार गर्न आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था हुनुपर्ने डा पाण्डेले बताए । उनका अनुसार हाल अस्पतालमा एक जना स्त्रीरोग विशेषज्ञ, एक जना फिजिसियन र एक जना एनेस्थेसियोलोजिस्ट डाक्टर आवश्यक छ । त्यस्तै, आइसीयू सञ्चालनका लागि चार जना मेडिकल अधिकृत, आठ नर्स र चार जना कार्यालय सहयोगी आवश्यक पर्ने उनले बताए ।


    जिल्लाका बिरामीलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र आइसीयू सुविधा नहुँदा बिरामीले उपचारका लागि नेपालगन्ज तथा कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी सोमाई थारूले बताए । उनले भने, “अस्पतालमा आवश्यक उपचार नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । जटिल समस्या देखिएपछि रेफर गरिएका बिरामीलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ ।”

    उनले जिल्लाका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउनुका साथै आवश्यक उपकरण र सुविधा विस्तार गर्न माग गरे । जिल्ला अस्पताल ५० शय्याको हो । अस्पतालमा अधिकांश दरबन्दी रिक्त छ । अस्पतालमा भौतिक पूर्वाधार पर्याप्त भए पनि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको अभाव रहेको अस्पतालले जनाएको छ ।

  • माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

    माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

    बागलुङ, १९ असोजः निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका तीन मजदुरमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का पुरिएका एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ । आज बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसार्इंले जानकारी दिए । पुरिएकामध्ये दुई जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पु¥याइएको छ ।

    घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिनुभयो । चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका मजदुर पुरिएका थिए ।

  • सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

    सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

    बागलुङ, १९ असोजः आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन् ।
    झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा सोही स्थानका चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिए । ढिस्कोमा पुरिने कामदारहरू लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्ण बहादुर घर्ती छन् । यसमध्ये घर्तीको गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अन्यको उद्धार भइरहेको छ ।

  • देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

    देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

    भोजपुर, १९ असोजः भोजपुरको हतुवागढी गाउँपालिका–१ फलाटे रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थल महाङकालीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । स्थानीयवासीको धार्मिक आस्था, विश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको देवस्थल क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले संरक्षणका काम अघि बढाइएको हो । संरक्षणको अभावमा जीर्ण बन्दै गएको देवस्थल परिसरमा घेराबारा, पूजास्थल निर्माण, मुहान संरक्षण तथा सरसफाइ गरिएको वडा कार्यालयले जनाएको छ । मन्दिर क्षेत्रको धार्मिक महत्वलाई कायम राख्दै पर्यटकीय दृष्टिले आकर्षक बनाउने लक्ष्यका साथ संरक्षणलाई प्राथमिकता दिइएको हो ।

    हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले महाङकाली मन्दिर स्थानीयस्तरमा प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको बताए । उनले मन्दिरको संरक्षणसँगै आवश्यक पूर्वाधार विकासमा वडा कार्यालयले ध्यान दिएको बताए । “महाङकाली मन्दिर यहाँको प्रसिद्ध तीर्थस्थल हो । यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई कायम राख्दै संरक्षण र विकासमा जोड दिएका छौँ”, उनले भने ।
    विशेषगरी किरात समुदायको उधौली र उभौली पर्वका अवसरमा यहाँ विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान हुने गरेको स्थानीयबासी बाचीधन राईले बताए । पर्वका समयमा स्थानीयसँगै छिमेकी जिल्लाबाट भक्तजन आउने गरेको उनको भनाइ छ ।

    मन्दिरको संरक्षणसँगै यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न थप पूर्वाधार विकास गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । मन्दिर क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ । मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनलाई सहज बनाउने उद्देश्यले रु दुई लाख ५० हजारको लागतमा पूजास्थल निर्माण गरिएको वडाध्यक्ष विष्टले बताए । त्यस्तै, मन्दिर परिसरमा रहेको मुहान संरक्षण गरी स्वच्छ खानेपानीको स्रोतलाई सुरक्षित गरिएको छ । मन्दिर क्षेत्रको वातावरणलाई स्वच्छ र व्यवस्थित बनाउन झाडी सफाइ, परिसर व्यवस्थापन तथा पहुँचमार्ग सुधारका काम सम्पन्न भएका छन् ।

  • म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दी, १९ असोजः मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आवद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन् ।

    समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविद्को टोलीले बेनीका २२ र रघुगङ्गा गाउँपालिकाका चार स्थानका पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा छ जना भूगर्भविद्ले तीनवटा समूह बनाएर अध्ययन गरेका थिए ।

    बेनी नगरपालिकाको भसभसे, खबरा, लभ्लीहिल, हाडेभिर, तल्लो मुुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तातोपानी, आगेबगर, अर्थुङ्गे, अँधेरी गैरा, जम्रेनी, जामुनाखर्क, महारानीथान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी, माटे बिसौना, रघुगङ्गा गाउँपालिकाको हरखर्क, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको अध्ययन गरेको हो ।

    समाजका अध्यक्ष खतिवडा, भूगर्भविद् डा चम्पकबाबु सिलवाल, दीपक गौतम, रुपक ज्ञवाली, जानकी खत्री, मीरा जिसी, बेनी नगरपालिकाका इन्जिनियर माधव देवकोटा, विजयनारायण मण्डल, जिल्ला समन्वय समितिका इन्जिनियर सुमन सुवेदीको टोलीले पहिरोको अध्ययन गरेको हो ।

    पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणका लागि ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरिएको भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताए । टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो ।

    पछिल्लोपटक बेनीको न्युरोडमा खसेको पहिरो सक्रिय हुनसक्ने, त्यसमाथि पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन, अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिए । “पहिरोको नियमित अनुगमन र आकारको मापन गरी अभिलेख राख्ने, भूमिगत पानीका स्रोतको सुरक्षित व्यवस्थापनदेखि धाँजा फाटेको जमिनलाई थप चर्किन र पानी पस्न नदिन अल्पकालीन उपाय अपनाउन सुझाव दिएका छौँ”, उनले भने, “दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि गर्नुपर्ने कामसहितको विस्तृत प्रतिवेदन तयार पारेर छिट्टै उपलब्ध गराउँछौँ ।” पहिरोको जोखिममा रहेको बेनी बजारको न्युरोडका घरमा बसोबास गर्नेलाई सावधानी अपनाउन टोलीले सुझाव दिएको छ ।

    यही असोज ८ देखि ११ गतेसम्म चार दिन लगातारको भीषण वर्षाका कारण भिरालो पाखाको जमिन गलेको, सडकको भल व्यवस्थापन नभएको, अव्यवस्थित विकास निर्माण, भूमिगत पानीको सुरक्षित व्यवस्थापन नहुनलगायतका कारण पहिरो सृजना भएको अध्ययन टोलीको निष्कर्ष छ । गत हप्ताको झरीपछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता, २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति भएको छ । दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जानकारी दिए । यो विवरण अझै थपिन सक्ने उनको भनाइ छ । बाढीपहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

  • सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    भद्रपुर (झापा), १९ असोजः सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो ।

    प्रमुख जिल्ला अधिकारी पोखरेलले सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको बताए । मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गमा हुनसक्ने अवैध ओसारपसार तथा तस्करीलाई सुक्ष्म रूपमा निगरानीमा राखिएको उनले बताए ।


    इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ अवैध निकासी हुनसक्ने सम्भावनालाई मध्यनजर गरी संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको हो । यसबाट सम्भावित राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसार, सीमा अपराध रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।


    “मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो”, उनले भने । उनका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध गतिविधिको सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा ‘पेट्रोलिङ’ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

    सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटले अवैध गतिविधि नियन्त्रणका लागि गरेका प्रयास, सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने प्रजिअ पोखरलले जनाए ।


    अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो । प्रजिअ पोखरेलका अनुसार नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

  • चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    काठमाडौँ, १९ असोजः चाडपर्व नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ । दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो । दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डपका व्यापारी व्यस्त देखिएका छन् ।

    दसैँका लागि किनमेल गर्ने मुख्य समय सुरु भएसँगै ग्राहकको चाप बढेको भृकुटीमण्डपस्थित खुला बजारका व्यापारी अशोक खतिवडाले बताए । उनका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य बढेको उनले बताए । “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, खतिवडाले भने ।


    दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए । उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ । “अन्य दिनको तुलनामा आजदेखि ग्राहकको चाप बढेको छ । दसैँ नजिकिँदै जाँदा अझै ग्राहक बढ्ने अपेक्षा गरेका छौँ”, अधिकारीले भने ।


    भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति बढेको छ । एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले खुला बजारमा किनमेल गर्नेको सङ्ख्या बढेको व्यापारीहरूको भनाइ छ । चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि सस्तो बजार रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् ।

    काठमाडौँ उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका रात्रिकालीन पसलमा सपिङ मल तथा ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगाकपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण रहने उनीहरूको भनाइ छ । सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगाकपडा बिक्री गर्दै आउनुभएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताए । उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन् ।

    “सपिङ मलभन्दा सडकपेटीका पसल र खुला बजारमा लुगाकपडासहितका सरसामान केही सस्तो पाइन्छ । त्यसैले पनि ग्राहकको पहिलो रोजाइ खुला बजार र सडकपेटीका रात्रिकालीन पसल हुने गरेका छन्”, न्यौपानेले भने । दसैँसँगै मौसममा समेत क्रमिक परिवर्तन आउन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगाकपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन् ।

    विशेषगरी ज्याकेट, स्वीटर, ट्रयाकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताए । दसैँलगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा, नयाँसडकलगायतका बजारमा ग्राहकको चाप थप बढ्ने व्यवसायीको अपेक्षा छ ।

    व्यापारीले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन् । ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गर्ने गरेका छन् ।


    दसैँ नजिकिँदै जाँदा बजारमा देखिएको चहलपहलले व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको अपेक्षा छ । दसैँको किनमेलको समय अझै बाँकी रहेकाले आगामी दिनमा ग्राहकको चाप थप बढ्ने र व्यापारसमेत बढ्ने व्यवासायीहरूको विश्वास छ ।

  • भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    रसुवा, १९ असोजः गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

    सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवीण् आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिए । बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ । चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको स्कुलमा पठाइएको छ ।

    मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी मावि भलायडाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माविमा बसोबासको व्यवस्थासहित पठनपाठनको प्रबनध मिलाइएको छ । बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो ।

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    नारायणगढ (चितवन), १९ असोजः चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ । सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।

    घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका थिए । सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    कर्णाली, १९ असोजः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले विभिन्न निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वीरेन्द्रनगरमा आइतबार बसेको आयोजक समितिको बैठकले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ विभिन्न निर्णय गरेको हो । कर्णाली प्रदेशको सुर्खेतलगायतका जिल्लामा आगामी मङ्सिर १६–२७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । बैठकले प्रतियोगिता आयोजना गर्ने सरकारको गत भदौ २२ को निर्णयलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

    यस्तै, प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को अधिनमा रही प्रतियोगिताको पूर्वतयारीका सम्बन्धमा आवश्यक काम गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए ।


    उनका अनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोली सहभागी हुनेछ । यस्तै ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। यस्तै, प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक कार्य सार्वजनिक निजी, साझेदारीको अवधारणा अवलम्बन गरी प्रायोजकसँग समझदारी कार्यान्वयन गराउने, खेल सम्पन्न गर्न विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

    मूल आयोजक समितिको काम, कर्तव्य र अधिकारभित्र रही प्रतियोगितासम्बन्धी आवश्यक कार्य गर्न कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको सदस्यसचिव मेहताले बताए ।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    कर्णाली, १८ असोजः आगामी मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ खेल समावेश गरिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये २८ कर्णाली र बाँकी चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताए ।


    एथ्लेटिक्स, ब्याटमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, रग्बी, तेक्वान्दो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराते, फूल कन्ट्याक्ट कराते, हक्की, ई–स्पोट्स, स्क्वास, साइक्लिङ, जिम्न्यास्टिक र सेपाकताक्रो गरी २१ खेल सुर्खेत जिल्लामा सञ्चालन हुने सदस्य सचिव मेहताले बताए । त्यसैगरी, शारीरिक सुगठन कालीकोट, जुडो जाजरकोट, खो खो रुकुमपश्चिम, आइटिएफ तेक्वान्दो तथा बुद्धिचाल दैलेख, टेबलटेनिस सल्यान र आर्चरी जुम्ला गरिने उनको भनाइ छ ।

    सदस्य सचिव मेहताका अनुसार पौडी, भारत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ । यद्यपि प्राविधिक समितिको थप छलफलपछि ती खेलहरु पनि कर्णालीमै हुनसक्ने उनले बताए । उक्त खेलका लागि सङ्घीय सरकारको रु ७१ करोड र राष्ट्रिय पारा खेलका लागि रु तीन करोड बजेट विनियोजन भएको सदस्य सचिव मेहताले बताए । खेलमा खेलाडी र अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले रङ्गशालाको काम शतप्रतिशत सम्पन्न भएको बताउँदै आवास व्यवस्थापनको चुनौती समाधानको तयारी थालिएको बताए । परिषद्का उपाध्यक्षको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको र त्यसले भएका समस्या पहिचान गर्ने तथा प्रदेश सरकारले त्यसको समाधान गर्ने बताए ।

  • नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा


    काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र विचारका लागि खुलामञ्च आवश्यक रहेको बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले जनताका जिज्ञासा र प्रश्नको छलफलका लागि मुलुकलाई खुलामञ्च आवश्यक रहेको बताए ।


    “दश वर्षपछि खुलामञ्च खुलेको छ, यो काठमाडौँको एउटा चौर मात्रै होइन, नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका छन्”, सभापति थापाले भने । सभापति थापाले जननायक बिपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालेसमेत यही खुलामञ्चबाट ऐतिहासिक राजनीतिक घटनासम्बन्धी भाषण गरेको स्मरण गर्दै खुलामञ्चले फरक विचार तथा मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको उल्लेख गरे ।


    “खुलामञ्चले मतभेदलाई एकैठाउँमा राख्न सहयोग गर्छ”, सभापति थापाले भने । उनले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने र आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने बताए । फरक प्रसङ्गमा सभापति थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताए । उक्त प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको तथा त्यसकै परिणाम गत भदौ २३ र २४ गतेको घटना घटेको उनको धारणा थियो ।

    सभापति थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको उल्लेख गरे ।
    ‘विगतका कमजोरीको समीक्षा गर्दै अगाडि बढ्छौँ’
    सभापति थापाले विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको बताए । कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जीत व्यहोर्दै आएको उल्लेख गर्दै उनले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए ।

    “विशेष महाधिवेशनपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा परिणाम आएन, कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ, अब नयाँ महाधिवेशनमा होमिएका छौँ”, सभापति थापाले भने । सभापति थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए । जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

    सभापति थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताए । मुलुकमा लामो राजनीतिक सङ्घर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उनको नाइ थियो ।

    सभापति थापाले मुलुकले लामो समय राजनीतिक सङ्घर्ष र सङ्क्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको उल्लेख गर्दै यसका कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताए । राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो ।


    “यो विषय हामी सबै मिलेर खोज्नुपर्छ, हामी महाधिवेशनमा यही कुरा ‘डेलिभरी’ दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ”, सभापति थापाले भने । कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने सभापति थापाले बर्ताए । लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

    “डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ, पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ, यही सङ्कल्प गर्छ”, सभापति थापाले भने ।
    सभापति थापाले कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा असर पर्नसक्ने बताए । कांग्रेसले आफूलाई जनताको आवश्यकता र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो । “आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ, पुल ढल्यो भने विश्वास ढल्छ, त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ”, सभापति थापाले भने ।


    कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने सभापति थापाले बताए । तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उनको भनाइ थियो । आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्ने उनले बताए ।


    सभापति थापाले निर्वाचन आउने र जाने भए पनि त्यसको महत्वलाई बेवास्ता गर्न नहुने बताए । निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि तत्कालको चुनावी लाभभन्दा दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उनले उल्लेख गरे । सभापति थापाले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व परिवर्तन गर्ने मात्रै नभई पार्टीको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमताबारे गम्भीर मन्थन गर्ने अवसरका रूपमा अघि बढाउने बताए । उनले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उनीहरुलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनुपर्ने बताए । उनले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाइने बताए ।


    सभापति थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र सङ्कल्प लिएर बाहिरिनुपर्ने बताए । उनले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए । “रसुवाको भोटेकोशीमा गएको बाढीका कारण हजारौँ नागरिक हामीमाझ हुनुहुन्न । यो महाधिवेशन गर्न मन थिएन । तर संविधान र कानुनको परिधिका कारण गर्न बाध्य भयौँ”, सभापति थापाले भने ।

  • लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने


    काठमाडौँ, १८ असोजः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै सभापति लामिछानेले लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ र संस्थागत बनाउने पक्षमा पार्टी रहेको स्पष्ट गरे ।


    उनले भने, “तपाईंहरूमाझ पूर्ण विश्वाससहित भन्न चाहन्छु, हामी लोकतन्त्रका मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ । यससँग सम्बन्धित संस्थालाई अझ बलियो बनाएर नेपाली जनताको त्याग, बलिदान र तपस्याबाट प्राप्त परिवर्तनको रक्षा गर्ने क्रममा अग्रपङ्क्तिमा उभिनेछौँ ।” सभापति लामिछानेले लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट मात्रै समृद्ध बनाउनसक्ने बताए । राजनीतिक आस्था र विश्वास अलग हुनसक्ने भए पनि सरकारको नियत सही भएको उनको भनाइ छ ।

    “सरकारको नियत सही छ । कुनै निर्णय विवादमा पर्न सक्लान्, कुनै निर्णय खराब हुन सक्लान्, हामी सच्याउँछौँ”, उनले भने, “तर लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता, त्यसमा दायाँबायाँ हुँदैन, त्यसलाई डगमगाउन दिँदैनौँ । म यहाँहरूलाई विश्वस्त हुनका निम्ति अनुरोध गर्न चाहन्छु”, सभापति लामिछानेले भने । “म यहाँहरूलाई विश्वस्त हुनका लागि अनुरोध गर्न चाहन्छु । मैले त्यतिखेर संसद्मै भनेको थिएँ कि दुई ठूला राजनीतिक दलविना कुनै कारण, विनाकुनै सङ्कट, विनाकुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले सङ्कट पैदा गर्छ भनेर ।”

    उनले विगतलाई स्मरण गर्दै भने, “अहिले त्यो सत्य सावित भएको छ, त्यसले हामीलाई जन्मायो । म तपाईंहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । लोकतन्त्रको यति धेरै दुहाइ पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गछौँ भनेर, पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस् ।”

    इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेको स्पष्ट गर्नुहुँदै पार्टी सभापति लामिछानेले लोकतन्त्रमाथि मुलुकमा अहिले कुनै पनि प्रकारको खतरा नभएकाले ढुक्क हुन सबैसँग अनुरोध गरे ।

    लोकतन्त्रमाथि कहीँकतैबाट खतरा देखिए त्यसको प्रतिवाद नेपाली जनताले गरी लोकतन्त्र जोगाउने स्पष्ट गर्नुहुँदै सभापति लामिछानेले देश र जनताका पक्षमा रचनात्मक सहयोग गरी नेपाली जनताको विश्वास जितेर आगामी चुनावमार्फत सरकारमा आउन बाटो रहेको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै उनले देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसको महाधिवेशन सफलताको कामना गरे ।

  • लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढौं  : कांग्रेस उपसभापति शर्मा

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढौं : कांग्रेस उपसभापति शर्मा


    काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जननायक बिपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक सङ्कटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


    उपसभापति शर्माले १५औँ महाधिवेशनपछि रुपान्तरणसहित अझ बलियो, सशक्त, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर कांग्रेस अघि बढ्छ भने । गत फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै उपसभापति शर्माले देश र जनताका पक्षमा चालिने हरेक कदममा सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट गरे ।


    उनले राष्ट्रिय हित र सरोकारका विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । उनले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनमा उठेका सवाल तथा जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने धारणा व्यक्त गर्दै उपसभापति शर्माले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।


    “नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल, यी दुवै नेपाललाई जोड्नुपर्छ”, शर्माले भने, “विदेशमा रहेका नेपालीले मातृभूमिको विकासमा लगानी गर्न चाहेका छन् । उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न पार्टी तयार छ ।”

    उहाँले सामाजिक सञ्जालको दुरुपयोग भई वितृष्णा सिर्जना भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले मुलुकको विकास र समृद्धिका पक्षमा जिम्मेवार पक्षका बीच आपसी संवाद, सद्भाव र एकताको खाँचो रहेको बताए । अविश्वास र वितृष्णाभन्दा माथि उठी मुलुकको भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने समय आएको उनको भनाइ छ ।

    विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उपसभापति शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासहित ठूलो सङ्ख्यामा युवा सहभागिता रहेको जानकारी दिए । उनले परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने लक्ष्यका साथ पार्टी अघि बढेको स्पष्ट गरे । उपसभापति शर्माले १५औँ महाधिवेशनले कांग्रेसलाई सङ्गठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने बताए ।

  • निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः ‘प्रचण्ड’

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः ‘प्रचण्ड’

    काठमाडौँ, १८ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको उल्लेख गरे ।


    सभापति थापालाई बधाई दिँदै संयोजक दाहालले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै उहाँको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए । “गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ, अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु”, संयोजक दाहालले भने ।


    संयोजक दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई जोडेर अघि बढ्न सभापति थापालाई आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा कांग्रेसको नयाँ नेतृत्व लाग्नुपर्ने उनको भनाइ थियो । सभापति थापा अब कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने भन्दै संयोजक दाहालले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए । उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

    संयोजक दाहालले आफू र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको भन्दै त्यसलाई टुङ्ग्याउन वर्तमान सभापति थापा लाग्नुपर्ने बताए । “शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ, यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ, यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ”, उनले भने । मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने संयोजक दाहालको भनाइ थियो ।

  • राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    काठमाडौँ, १८ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्तिहरु फेरि एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रियता र लोकतन्त्रका सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर युवाहरुका आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने बताए ।


    “लोकतन्त्र, सार्वभौमसत्ता र मुलुकको हित, राष्ट्रियता, परिवर्तन, स्थायित्व, विकास र समृद्धिका लागि दलहरु मिलेर काम गर्नुपर्छ । त्यसका लागि हाम्रो दल सहकार्य गर्न तयार छ”, महासचिव पोखरेलले भने, “पछिल्लो निर्वाचनबाट जनताको स्थायित्वको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइको मत प्राप्त गरेका हुन् । सुशासन, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा नयाँ पुस्ताका आशा र अपेक्षालाई निराशामा परिणत हुन दिनुहुँदैन । त्यसका लागि यो महाधिवेशन सफल हुन सकोस् ।”

    महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुसँग संवाद गर्न अग्रसर भए पनि राष्ट्रिय समस्यामा सरकारले राजनीतिक दलहरुसँग संवाद नगरेको टिप्पणी गरे । जलवायु न्यायको प्रश्न पनि आजाको साझा प्रश्न भएकाले यसको सामनाका लागि पनि सबै एक ठाउँमा आउनुपर्ने महाचिव पोखरेलको भनाइ थियो ।

  • पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन


    काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा पार्टी नेता र राजनीतिप्रति वितृष्णा कायमै रहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफूले बोलेको कुरा १५औँ महाधिवेशनसम्म आइपुग्दासम्म कुनै सुधार नभएको बताए ।


    “मैले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनको क्रममा जे बोलेको थिए । आमजनतामा नेताप्रति र राजनीतिप्रति जुन प्रकारको वितृष्णा र घृणा थियो, त्यसमा सुधार भएको छैन”, उनले भने, “त्यसबेला मुलुकको नेतृत्व गरिराखेका मुख्य–मुख्य नेतालाई भ्रम भए जस्तै देखियो । उहाँहरुले भर्खर–भर्खर, त्यसमाथि एउटा राष्ट्रिय पार्टी नभएको पार्टीको अध्यक्ष यहाँ आएर हामीलाई अपमान गरिराखेको छ र अर्ती–उपदेश दिइराखेको छ भन्ने विचार व्यक्त गर्नुभएको थियो । मैले त्यो बेला भनेको कुरा अहिले पनि उत्तिकै सान्दर्भिक भएको देख्छु ।”

    अध्यक्ष लिङ्देनले मान्छेमा परिवर्तन भएता पनि देशको स्थिति भने जहाँको त्यही रहेको उल्लेख गर्दै देश र जनताका पक्षमा संविधानसमेत परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे । यसैगरी, जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले प्राकृतिक विपद्का कारण जनजीवन अस्तव्यस्त भई अर्थतन्त्र प्रभावित भएको विषम परिस्थितिमा मुलुकका जिम्मेवार सबै राजनीतिक दलहरुबीच एकता, संवाद, सहयोग र संसहकार्य हुनुपर्नेमा जोड दिए ।


    उनले नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा लामो र महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुहुँदै उनले भने, “नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन, विभिन्न राजनीतिक परिवर्तन, जनआन्दोलन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्ने संविधान २०७२ को निर्माण प्रक्रियामा कांग्रेसले खेलेको निर्णायक तथा नेतृत्वदायी भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ । त्यसलाई हामी सबैले मनन गर्नुपर्दछ ।”

    देशमा आर्थिक सङ्कट, बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, उत्पादनमा आएको कमी, सामाजिक असमानता तथा नागरिकमा बढ्दै गएको निरासाजस्ता गम्भीर चुनौतीहरू कायमै रहेकाले मिलेर तिनको समाधान गर्नुपर्नेमा जोड दिए ।

  • कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    काठमाडौँ, १८ असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गर्न सकेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना मन्तव्य व्यक्त गर्दै डा भट्टराईले राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिवेशलाई आत्मसात् गरी समयानुकूल कांग्रेस परिवर्तन भएको बताए ।


    देशमा संविधान जारी भएपछि लोकतन्त्रको एउटा चरण पूरा भएको र अब पुराना पार्टीका रुपान्तरण वा वैकल्पिक शक्ति आवश्यक छ भन्दै आफूले १२ वर्षअघि अभियान सुरु गरेको स्मरण गर्दै उहाँले रुपान्तरणको नारासहित कांग्रेस अघि बढेकामा खुसी व्यक्त गरे ।

    पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “पुराना पार्टी रुपान्तरण हुनुपर्छ, होइन भने सबै दलका रुपान्तरणकारीहरु मिलेर एउटा पार्टी बन्नुपर्छ वा वैकल्पिक शक्ति बन्नुपर्छ भनेर नेकपा (माओवादी)मा हुँदैमा मैले भनेको थिएँ । १२ वर्षपछि यो सिद्ध हुँदै गएकामा खुसी व्यक्त गर्दछु”, डा भट्टराईले भने, “विश्वमा भएको चमत्कारिक विकासका बीच हाम्रा दलहरु हिजोको ढाँचामा रहिरनुहुँदैन । राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेश बुझ्न जरुरी छ । नयाँ सिक्न नजान्ने मान्छे एक प्रकारले निरक्षर हुन् । हामी सबै दलले आगामी २० वर्षको योजना बनाउनमा प्रतिस्पर्धा गरौँ । जसको राम्रो हुन्छ, त्यसको योजना कार्यान्वयन गरौँ ।”

    डा भट्टराईले नेपालको चुनौतीको सामना गर्न कांग्रेसले अग्रणी भूमिका खेलोस् भन्दै आफूहरु शान्ति प्रक्रियामा आउँदै गर्दा एक विदेशी पत्रकारले सोधेको प्रश्नमा गगन थापालाई भोलिको नेताका रुपमा चित्रण गरेको स्मरण गरे ।