Author: Vishwanews.com

  • सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

    सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

    काठमाडौँ, १६ असोजः सभामुख डोलप्रसाद अर्याल यही असोज १८ गते तान्जानियामा हुने अन्तर व्यवस्थापिका सङ्घ ९आइपीयू०को १५३औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् । सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो महासभामा जान लागेका हुन् । सो सम्मेलनमा १८३ देशका सभामुखसहितका सांसदहरूको उपस्थिति हुनेछ ।

    सभामुख अर्यालले आइपीयूमा आफूले ‘इमर्जेन्सी’ प्रस्ताव पेस गर्न लागेको बताए । “महासभामा नेपालको सङ्घीय संसद्को विषयवस्तु र जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावका विषयमा पनि विशेष प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको छ”, उनले भने, “नेपालको सङ्घीय संसद्मा अहिले ४० वर्षभन्दा कम उमेर समूहका करिब ३७ प्रतिशतभन्दा बढीको उपस्थिति छ । यी र यस्तै विषयलाई महासभामा उठान गरिनेछ ।”

    सभामुख अर्यालले महासभामा प्रस्ताव पेस गर्नका लागि पनि परराष्ट्र मन्त्रालयमार्फत करिब ५० भन्दा बढी राष्ट्रसँग समन्वय भइरहेको जानकारी दिए । केही सञ्चारमाध्यमले विदेश घुम्नकै लागि संसद् बैठक बन्द गरेर जान लागेको भन्ने टिप्पणी गरेकामा उनले आपत्ति प्रकट गरे । “सञ्चारमाध्यमले विभिन्न अफवाह फैलिने खालका समाचार तथा जानकारी सम्प्रेषण नगर्न पनि आह्वान गर्दछु”, उनले भने ।
    प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा राखेका विषयमा आधारित भएर संसारभरका सभामुखहरूसँग जलवायु परिवर्तनले नेपालमा पारेको प्रभाव, असर तथा जलवायु न्यायका लागि सहयोग गर्न आह्वान गर्ने सभामुख अर्यालले बताए ।

  • वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

    वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

    काठमाडौँ, १६ असोजः रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी–वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै वेत्रावतीमा बेलिब्रिज जडानको काम सुरु भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार अस्थायी ट्र्याक खोल्ने कार्यसँगै बेलिब्रिज निर्माणका लागि आवश्यक फाउन्डेसनसहित अन्य प्रक्रिया अघि बढाइएको थियो । हाल बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन् ।

    अस्थायी ट्र्याक सञ्चालनमा आएपछि बेलिब्रिज निर्माणका सामग्री निर्माणस्थलसम्म पुर्याउने कामलाई तीव्रता दिइएको मन्त्री लम्सालले जानकारी दिए । निर्माणस्थलमा आवश्यक सामग्री पुर्याउने काम भइरहेको र त्यससँगै बेलिब्रिज जडानको प्रक्रिया अघि बढाइएको हो । उनका अनुसार बेलिब्रिज जडान सम्पन्न भएपछि बाढीका कारण अवरुद्ध बनेको रसुवासँगको मुख्य सडक सञ्जाल पुनः औपचारिक रूपमा जोडिनेछ । यससँगै रसुवातर्फको यातायात आवागमन सहज हुनुका साथै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनःस्थापना हुने अपेक्षा गरिएको छ ।

    बाढीले क्षति पुर्‍याएको सडकखण्डमा तत्काल यातायात सञ्चालनका लागि अस्थायी ट्र्याक निर्माण र दीर्घकालीन रूपमा सडक पूर्वाधार पुनःस्थापनाका कामलाई सँगसँगै अघि बढाइएको मन्त्री लम्सालले बताए ।

  • लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

    रुपन्देही, १६ असोजः शिक्षा तथा खेलकुदमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आज अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।


    विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमशः बौद्ध दर्शनसँग सम्बन्धित विषयमा केन्द्रित गर्दै लैजाने सरकारको योजना रहेको उहाँले जानकारी दिए । अन्य विषयका कार्यक्रम सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका विश्वविद्यालयमार्फत सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

    विश्वविद्यालयको उद्देश्य, प्रकृति र पहिचानअनुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले सरकारको योजनाअनुसार विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना र कार्यक्रमलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए । अवलोकनका क्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा माणिकरत्न शाक्यले विश्वविद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा भावी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराए ।

    रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले विश्वविद्यालयबाट सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रम, शैक्षिक संरचना तथा गतिविधिका बारेमा जानकारी दिए । विभिन्न विश्वविद्यालय तथा तिनका निकायको अवलोकन गर्ने कार्यक्रमअन्तर्गत सहकुलपति पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको भ्रमण गर्नुभएको हो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले गरेका थिए ।

  • २१ हजार बराबरको ल्युब आयल किन्दा १० लाख पुरस्कार

    २१ हजार बराबरको ल्युब आयल किन्दा १० लाख पुरस्कार

    १६ असोज, काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरे । नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो।


    उहाँलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।
    जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या २ लाख ४७ हजार ९७९ थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या ३ करोड १५ लाख ७० हजार ३०७ थियो । असोज १ देखि १५ गतेसम्मको दैनिक एक लाखका दरले आउने उपहार विजेताहरूको कुपन तल तस्बिरमा पठाइएको छ।

  • हरेक नागरिकलाई आवास सुनिश्चित गर्दै नयाँ भवन ऐन दर्ता

    हरेक नागरिकलाई आवास सुनिश्चित गर्दै नयाँ भवन ऐन दर्ता

    १६ असोज, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ । पूर्वाधार विकास मन्त्री सुनील लम्सालको नेतृत्वमा बनेको भवन ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता गरिएको हो ।

    सरकारको घोषणाअनुसार प्रत्येक नागरिक र उनका परिवारका लागि आवासको सुनिश्चितता गर्ने उद्देश्यले नयाँ भवन ऐनको विधेयक संसद सचिवालयमा दर्ता गरिएको हो । विधेयकले निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

    मन्त्रालयले दर्ता गरेको विधेयकमा पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको टाइप डिजाइन तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तै, गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको छ।

    गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। साथै, विपत, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

    नयाँ भवन ऐन तथा नियमावलीले मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरेको छ। २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने यस्ता घर ९ सयदेखि १ हजार ३ सय प्लिन्थ क्षेत्रका हुने प्रस्ताव गरिएको छ।

    नागरिकले सहुलियतपूर्ण ऋणमार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रारम्भिक रूपमा ५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ। त्यस्तै, १० लाख रुपैयाँ अग्रिम भुक्तानीमा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्पसमेत प्रस्ताव गरिएको छ।

    निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकारलाई कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले नयाँ भवन ऐन ल्याएको हो ।

  • इराकबाट अमेरिकी सेना फिर्ता

    इराकबाट अमेरिकी सेना फिर्ता


    वासिङ्टन, १६ असोज (रासस–क्युएनए) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको सैन्य अभियान पूरा भएको दाबी गर्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका छन् । उनले अमेरिकी सेना फिर्तीलाई संयुक्त राज्य अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गरे । ट्रम्पले बिहीबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरे । उनका अनुसार आइएसआइएसलाई परास्त गर्ने अमेरिकी सेनाको मिसन पूरा भएपछि ‘अपरेसन इनहेरन्ट रिजोल्व’ अन्त्य गरिएको हो ।

    उनले इराकबाट अमेरिका फर्किने निर्णयलाई आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको अभियानको निष्कर्षका रूपमा प्रस्तुत गरेका छन् । ट्रम्पले आफ्नो पहिलो प्रशासनका क्रममा आइएसआइएसलाई पूर्ण रूपमा परास्त गरिएको दाबी गर्दै त्यसका लागि आवश्यक सैन्य उपकरण उपलब्ध गराउनुका साथै अमेरिकी सेनाको अस्थायी उपस्थिति स्थायी बन्न नदिने स्पष्ट नीति लिएको बताए ।


    ट्रम्पले इराकमा अमेरिकी सेना राखिरहने वा स्वदेश फर्काउनेमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्था आएको उल्लेख गर्दै अब अमेरिकी सेना घर फर्कने समय भएको निष्कर्षमा पुगेको बताए । उनले इराकमा नयाँ प्रधानमन्त्रीको नेतृत्वमा नयाँ अवस्था सिर्जना भएको उल्लेख गर्दै आफूले सुरुदेखि नै उनलाई समर्थन गरेको र अहिले पनि पूर्ण समर्थन रहेको बताए ।


    यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इराकमा ‘अपरेसन इनहेरन्ट रिजोल्व’ अन्तर्गतको मिसन अन्त्य भएको घोषणा गरेको थियो । सेन्टकमका अनुसार इराकको इरबिल एयर बेसबाट अमेरिकी सेना तथा सैन्य उपकरण फिर्ता गर्ने काम व्यवस्थित रूपमा सम्पन्न भएको छ । ट्रम्पले अमेरिकी सेना फिर्तीलाई आइएसआइएसमाथिको निर्णायक विजयसँग जोड्दै संयुक्त राज्य अमेरिका र इराक दुवैका लागि उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

  • गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

    गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

    भोजपुर, १६ असोजः पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् । उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतोखेती तथा बाख्रापालनमा जुटेका छन् । गाउँमै मिहिनेत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि स्थानीय युवा त्यसतर्फ आकर्षित भएका हुन् । विदेशबाट फर्किएका केही युवाले विदेशमा सिकेको सीप र अनुभवलाई प्रयोग गर्दै व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले कृषि तथा पशुपालनलाई आत्मनिर्भर बन्ने माध्यम बनाएका छन् ।

    टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका युवा पुस्कर विष्ट विदेशबाट फर्किएपछि गाउँमै व्यावसायिक बाख्रापालनमा लागेका छन् । उनले सञ्चालन गर्दै आएको ‘पुस्कर कृषि तथा पशुपालन फार्म’मा बोयर र स्थानीय जातका बाख्रा पालिएको छ । छ वर्षअघिदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका विष्टले विदेशमा भन्दा राम्रो आम्दानी भएको बताए ।

    “विदेश जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्नसके राम्रो आम्दानी हुने रहेछ”, उनले भने । अर्का युवा भीमराज विष्ट मलेसियाबाट फर्किएर गाउँमै कृषि व्यवसायमा सक्रिय छन् । उनले भोजपुर नगरपालिका–६ मा बाख्रापालनसँगै सुन्तला, कागतीखेती गरिहेका छन् । गाउँमै व्यवसाय सञ्चालन गरेर उदाहरणीय बन्न सकिने उनको भनाइ छ ।

    अर्का युवा लाल विष्टले पनि व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका छन् । पछिल्लो समय अलैँचीको मूल्यमा सुधार आएपछि स्थानीय युवा व्यावसायिक खेतीतर्फ आकर्षित भएको उनले बताए । नयाँ तथा पुरानो बगान गरी करिब ४० रोपनीमा अलैँचीखेती गर्दै आएको उनले बताए । “व्यावसायिक रूपमा काम गर्दा यहीँ नै राम्रो आम्दानी गर्न सकिने रहेछ”, उनले भने, “मिहिनेत गर्न सकियो भने परिवारसँग बसेर वार्षिक रु चार–पाँच लाख कमाउन समस्या छैन । गाउँका धेरै युवा विदेशबाट फर्केर उद्यममा जोडिएको अवस्था छ ।”

    कृषि तथा पशुपालनका क्षेत्रमा युवाको सक्रियता बढेसँगै स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै उत्पादन र आम्दानी बढ्न थालेको उनको भनाइ छ । विदेशबाट फर्किएका युवाहरूले आफ्नै जमिन, स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न थालेपछि गाउँको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न थालेको छ ।

  • हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

    हुम्ला, १६ असोज । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताए । उनका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामा रोकिएको उनले बताए ।


    हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ । हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका खुल्ने बताइएको छ ।

    हिल्सा पुग्ने बाटो खुलाउन चुनौती

    चीनतर्फको सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ अझै केही समय लाग्ने बताइएको छ । हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ ।

    हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उनले बताए । हिल्सामा एउटामात्रै स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको र इन्धनको समस्या रहेको उनको भनाइ छ । स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।

    छ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन

    यस वर्ष हालसम्म हिल्सानाका हुँदै छ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन् । अध्यागमन अधिकृत पौडेलका अनुसार कैलाश मानसरोवर जाने पर्यटकमा अधिकांश भारतीय नागरिक छन् । त्यसपछि बेलायत, अमेरिका र नेपाली रहेका छन् । यस वर्ष कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिनै लाग्दा भएको भारी हिमपातले हिल्सा नाकामा आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

  • रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

    म्याग्दी, १६ असोजः बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ । ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको छ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको हो ।

    रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ । भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालन गराउन समस्या भएको छ । बाँधका भौतिक संरचना क्षति भएको छ । आयोजनाले विद्युत् बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ । गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध भएको छ । कालीगण्डकीको बाढी, पहिरोले प्रसारण लाइनको टावर बगाउने र तार चूँडाएर क्षति पु¥याएको छ ।

  • तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै

    दमौली, १६ असोज । तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ । जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयका अनुसार कार्यक्रमअन्तर्गत जिल्लामा तीन हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको छ । करिब ८८६ दशमलव ५६ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।

    चैते धान प्रवर्द्धनका लागि रु ९५ लाख बजेट विनियोजन भएकामा रु ८७ लाख ९७ हजार खर्च भएको कार्यालय प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममार्फत खेती विस्तारसँगै किसानलाई आवश्यक बीउ, कृषि सामग्री, यन्त्र उपकरण तथा सिँचाइ पूर्वाधारमा सहयोग गरिएको छ ।

    चैते धानखेतीमा किसानको आकर्षण बढाउन कार्यालयले १३ वटा कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादन सामग्री तथा कृषि यन्त्र उपकरणमा अनुदान दिएको छ । कार्यक्रमअन्तर्गत पाँच हजार ३१६ किलोग्राम धानको बीउ उपलब्ध गराइएको छ । त्यस्तै किसानलाई दुईवटा मल्टिक्रप थ्रेसर, एक मिनीटिलर, तीन डिजिटल तराजु, १३ कम्बाइन मिल, छ स्प्रेयर र ३४१ वटा त्रिपाल उपलब्ध गराइएको छ । धान रोपाइँदेखि कटानी तथा प्रशोधनसम्म किसानलाई सहज हुने गरी यन्त्र उपकरणमा सहयोग गरिएको अधिकारीले बताए ।


    चैते धानका लागि सिँचाइ सुविधा महत्त्वपूर्ण हुने भएकाले कार्यक्रमअन्तर्गत दुई हजार तीन मिटर पक्की सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो निर्माणपछि करिब १२ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा विस्तार भएको कार्यालय प्रमुख अधिकारीले बताए । कार्यक्रमबाट ५७६ जना किसान लाभान्वित भएका छन् । लाभान्वितमध्ये ३०१ महिला र २७५ पुरुष छन् ।

    कार्यालयले चैते धानलाई वर्षे धानको विकल्पका रूपमा मात्र नभई किसानले एउटै खेतबाट थप उत्पादन लिन सक्ने अवसरका रूपमा प्रवर्द्धन गर्दै आएको छ । धानको क्षेत्र विस्तार, उन्नत बीउको प्रयोग, कृषि यान्त्रिकीकरण र सिँचाइ सुविधा विस्तारमार्फत उत्पादन बढाउने लक्ष्य राखिएको छ । कृषि विकास कार्यालयले आगामी दिनमा उक्त धानखेतीको सम्भावना भएका क्षेत्र पहिचान गरी कार्यक्रम विस्तार गर्ने जनाएको छ । चैते धानको उत्पादन बढाउन सके जिल्लाको समग्र धान उत्पादनमा वृद्धि हुनुका साथै किसानको आयआर्जनमा प्रत्यक्ष योगदान पुग्ने विश्वास गरिएको छ ।

  • प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाको भविष्य अनिश्चित

    प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाको भविष्य अनिश्चित

    कोपनहेगन, १६ असोज (रासस–एएफपी) । प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती एघार खेलाडीको सूचीमा नराख्ने घोषणा गरेपछि बढेको विवादबीच उहाँको राष्ट्रिय टोलीमा भविष्य अनिश्चित भएको छ । पोर्चुगलका ४१ वर्षीय सुपरस्टारले प्रशिक्षकको टोली छाडेर हिँडेका बताइएको छ ।

    रोनाल्डोले बुधबार ढिलो गरी टोली छाडेको घोषणा गर्नुभएको थियो । त्यसअघि प्रेस सम्मेलनमा जेससले पाँच पटकको बलोन डी’ओर विजेता रोनाल्डोलाई लगातार दोस्रो खेलका लागि सुरुवाती ‘लाइनअप’ बाट बाहिर राख्ने पुष्टि गरेका छन् । पूर्व रियल म्याड्रिडका ‘फरवार्ड’ रोनाल्डोले युइएफए नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलको अघिल्लो दिन पार्केन स्टेडियममा साथीहरूसँग प्रशिक्षण गर्नुपर्ने थियो तर जेससको खेल योजना घोषणापछि उनी हिडेका थिए ।

    “राष्ट्रिय टोलीका प्रशिक्षकको प्रेस सम्मेलनपछि र पोर्चुगाली फुटबल संघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको भूमिका छाड्ने निर्णय गरेको छु,” रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन् । रोनाल्डोले आइतबार नर्वेविरुद्धको २–१ को नेसन्स लिग जितमा पुरै समय बेन्चमा बिताए । त्यसअघि गत बिहीबार वेल्सविरुद्धको १–० को घरेलु जितमा उनी कप्तान थिए । यी खेलहरू विश्वकप वा युरोपियन च्याम्पियनशिप जत्तिको महत्त्व नभएकाले राष्ट्रिय टोलीका कोचहरूले खेलाडीहरूलाई घुमाएर खेलाउनु सामान्य हो।

    तर रोनाल्डोले जेससको निर्णयका कारणहरू गहिरो रहेको सङ्केत गरे । “उचित समयमा म पोर्चुगाली जनतालाई मैले सधैँ आफूलाई समर्पित गरेको मेरो राष्ट्रिय टोली छाड्नुका कारणहरूको सत्य बताउनेछु,” उनले भने । यसले उनी अन्तर्राष्ट्रिय खेल मञ्चबाट स्थायी रूपमा बाहिरिने सङ्केत गरेको छ।

    “कुनै अपवादबिना अहिले पोर्चुगल र मेरा सबै साथी खेलाडीहरूलाई भविष्यका लागि शुभकामना दिने समय हो,” उनले भने । स्पेनी खेलकुद दैनिक मार्काले जेसस र पोर्चुगाली संघका अध्यक्ष पेड्रो प्रोएन्काले रोनाल्डोलाई टोलीमा रोक्न कोपनहेगन विमानस्थलसम्म पछ्याएको बताएको छ तर उनी आफ्नो निजी जेटमा चढेका थिए ।
    जुलाईमा नियुक्त भएका ७२ बर्षीय जेससले बुधबार सुरुमै आफू र रोनाल्डोबीच कुनै मतभेद नभएको जोड दिँदै नर्वेविरुद्ध बेन्चमा बस्दा कप्तान निराश भएको स्वीकार गरे । समाचारले सामाजिक सञ्जालमा आक्रोसको लहर र रोनाल्डोकी बहिनी एल्मा अवेइरोबाट क्रोधित प्रतिक्रिया जन्मायो।

    ‘उनीहरूले कुनै पनि कुराको उत्कृष्टता पाउन लायक छैनन्,” उनले इन्स्टाग्राममा पोर्चुगाली जनतालाई सङ्केत गर्दै भनिन् । ‘हामी ईष्र्यालु, घृणायुक्त र अज्ञानी छौँ र सीआर–७ अघिको फुटबल युगको मध्यमत्वमा फर्कन लायक छौँ।’ ओस्लोको खेल नोभेम्बर २०२४ पछिको पहिलो अवसर थियो जब रोनाल्डो घाइते वा निलम्बित नभई पनि पोर्चुगलका लागि खेखेनन् ।
    “कुनै घटना नै भएन,” जेससले त्यो खेलपछि पत्रकारहरूलाई भने । उनले रोनाल्डोलाई साउदी क्लब अल–नस्रमा एक वर्ष कोच गरेको पछि पोर्चुगलको जिम्मेवारी लिएका थिए । “म आफैं पनि खेलाडी थिएँ । मलाई थाहा छ कुनै पनि खेलाडी जब २० वा ३० मिनेट वार्मअप गर्छ र त्यसपछि मैदानमा आउन्न त्यसमा कोही खुसी हुँदैन,” जेससले बुधबार भने ।
    पोर्चुगाली प्रशिक्षकले खेलअघि रोनाल्डोलाई सुरुवाती एघार पहिलो चरणको खेलाडीको सूचीमा नराखिएको सायद पछि झारिने बताएको पनि बताए । जेससले भने, “प्रशिक्षकको हैसियतमा मैले पछि उनलाई नखेलाउने निर्णय गरेँ। यो हल्ला मच्चाउने कुरा होइन।”

    रोनाल्डोको प्रस्थानपछि पोर्चुगाली फुटबल संघले भनेको छ, “डेनमार्क र नर्वेविरुद्धका दुई खेलको तयारी बाँकी २४ खेलाडीसहित योजनाअनुसार जारी छ।”
    “पूरै प्रतिनिधिमण्डल राष्ट्रिय टोलीका आगामी खेलहरू र निर्धारित उद्देश्य हासिल गर्न पूर्ण रूपमा केन्द्रित छ,” संघले भनेको छ । जेससले पहिले नै डेनमार्कविरुद्ध एसी मिलानका स्ट्राइकर गोन्कालो रामोसलाई फेरी सुरुवात गराउने बताएका थिए । उनले नर्वेमा विजयी गोलका लागि योगदान गरेका थिए ।

    “यदि सबै योजनाअनुसार भयो भने गोन्कालो नै खेल्नेछन्,” उनले भने । उनले रोनाल्डोबारे भने, “यदि मलाई उनको आवश्यकता भयो भने उनी आउन सम्भव छ । आवश्यकता महशुस नभए बोलाइनेछैन ।” रोनाल्डोले हालै यो सिजन ‘सम्भवतः आफ्नो फुटबलको अन्तिम वर्ष’ हुने घोषणा गरिसकेका थिए । उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता र सर्वाधिक प्रसिद्ध खेलाडी हुन् । उनले पोचुगलका लागि खेलेका २३४ खेलमा १४६ गोल गरेका छन् । पूर्व स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल र युभेन्टस स्ट्राइकरले २००३ मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
    त्यसको अर्को वर्ष उनी युरो २००४ को फाइनलमा घरेलु टोलीका रूपमा ग्रीससँग पराजित पोर्चुगल टोलीमा खेलेका थिए । उहाँको कप्तानीमा सन् २००६ को विश्वकप सेमिफाइनलसम्म पुगेको थियो । उनले सन् २०१६ को युरोमा देशलाई विजय दिलाए । रोनाल्डो र पोर्चुगल यस वर्षको विश्वकपमा अन्तिम १६ मा स्पेनसँगको खेलबाट बाहिरिएका थिए।

  • फ्लाई दुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा

    फ्लाई दुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा

    जेरुसेलम, १६ असोज (रासस–एएफपी) । इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन् । ती यात्रुले फ्लाईदुबईको सह–चालकलाई नियन्त्रणमा लिई उनीहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए । “तपाईंहरूले अरूलाई बचाउन आफूलाई जोखिममा पार्नुभयो र ठूलो विपत्ति रोक्नुभयो। आज संसारले इजरायली समाजको सुन्दर र साहसी अनुहार देख्यो,” इररायलमा मुख्यतया औपचारिक भूमिकामा रहने राष्ट्रपति हर्जोगले जारी गरेको एक वक्तव्यमा भनेका छन् ।


    उनले भने, “म तपाईंहरूमाथि गर्व गर्छु र इजरायलको तर्फबाट धन्यवाद दिन्छु।” उनले विमान चालक भारतीय नागरिक स्मित मच्छाको पनि मुक्तकण्ठाले प्रशंसा गरे । इजरायली अधिकारीहरूका अनुसार सह–पाइलटले चक्कु प्रहार गरेपछि उनले ककपिटको ढोका खोली यात्रु र चालकदलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल भएका थिए ।
    हर्जोगको कार्यालयले सुरुमा चार जना पुरस्कार विजेताको नाम घोषणा गरेको थियो तर पछि पाँचौं व्यक्तिको रूपमा ताली मानेसको नाम थपेको थियो । उनका पतिलाई पहिले पुरस्कार दिने घोषणा गरिएका चार जनामा समावेश गरिएको थियो । राष्ट्रपतिको कार्यालयका अनुसार मानेसले ककपिटमा हल्लीखल्ली सुनेर पहिलो पटक यात्रुहरूलाई सचेत गराएकी थिइन् र सहयोग मागेकी थिइन् ।


    राष्ट्रिय नागरिक वीरता पुरस्कार पाउने अन्य इजरायलीहरूमा यानिभ हायुन पनि रहेका छन् । उनी पेशाले प्लम्बर हुन, तर उहाँले नै ककपिटमा पसेर सह–चालकलाई नियन्त्रणमा लिन पहिलो पहल गरेका थिए । हायुनलाई रगत लागेको सर्टमा नै बुधबार इजरायल फर्केपछि बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।


    यात्रुहरूले एक महिलाले चिच्याएर चालकमाथि चक्कु प्रहार भएको बताएपछि हायुन ककपिटतिर दौडेर गई आक्रमणकारी सहचालकलाई बचाउन सहयोग गरेका थिए । “यो असाधारण घटना थियो,” आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गर्ने र पुरस्कार पाउने आसफ राजुआनले उद्धारकार्यबारे राष्ट्रपतिसँगको प्रतिक्रियामा भने । उनले भने, “हामी असहाय महसुस गर्दै थियौँ, हावामा तैरिरहेका थियौँ र यो कार्य आफु बाँच्न, परिवार, मानिस र बच्चाहरूलाई बचाउन निर्विकल्प कार्य थियो ।”

  • गुन्द्रुकलाई होटेलको भान्सामा राखेर प्रवद्र्धन गरिँदै, राष्ट्रिय कार्यशाला सम्पन्न

    गुन्द्रुकलाई होटेलको भान्सामा राखेर प्रवद्र्धन गरिँदै, राष्ट्रिय कार्यशाला सम्पन्न

    १६ असोज, काठमाडौं । आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै होटल संघ नेपालले बिहीबार काठमाडौंमा ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’ आयोजना गरेको छ । होटल संघ नेपालको आयोजनामा सम्पन्न कार्यशालामा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्राविधिक सहयोग रहेको थियो ।

    कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष श्री विनायक शाहले स्वागत मन्तव्य व्यक्त गर्दै गुन्द्रुक नेपाली मौलिक तथा रैथाने खाद्य परिकारका रूपमा रहेको उल्लेख गर्दै यसको प्रवद्र्धन, व्यावसायिक उपयोग तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए । अध्यक्ष शाहले गुन्द्रकको पहिचान, बजारीकरण, खाद्या सुरक्षा, भण्डारण, अन्तर्राष्ट्रिय बजारीकरण र गुन्द्रकलाई राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्नेमा जोड दिए ।

    कार्यशालामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत भीम पुलामीले गुन्द्रुकको उत्पादन, गुणस्तर, पोषण तथा खाद्य सुरक्षालगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि लेखक तथा खाद्य विश्लेषक शारदा ज्ञवाली, वरिष्ठ सेफ गोविन्द नरसिंह केसी तथा कन्सल्टिङ सेफ श्याम बहादुर तामाङले टिप्पणी गरे ।

    कार्यपत्र प्रस्तुति तथा टिप्पणीपछि भएको छलफलमा सहभागीहरूले गुन्द्रुकको उत्पादन, प्रशोधन, गुणस्तर, संरक्षण, व्यावसायिक प्रयोग तथा होटल तथा पर्यटन क्षेत्रमा यसको प्रवद्र्धनका विषयमा विभिन्न सुझाव तथा जिज्ञासा राखेका थिए । छलफलमा उठेका प्रश्नहरूको जवाफ वरिष्ठ अनुसन्धान अधिकृत भीम पुलामी र कन्सल्टिङ सेफ श्याम बहादुर तामाङले दिए ।

    कार्यक्रममा होटल क्षेत्रको प्रतिनिधित्व गर्दै रोयल तुलिप काठमाडौंका केदार पाण्डेले गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला महत्वपूर्ण रहेको उल्लेख गर्दै होटलहरूले गुन्द्रुकलाई आफ्ना परिकार तथा मेनुमा समावेश गरी यसको प्रवद्र्धनमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे । नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्राचार्य दिव्यराज पोखरेलले गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न शैक्षिक तथा व्यावसायिक पाठ्यक्रममा समेत यस विषयलाई समेट्न सकिने धारणा व्यक्त गरे ।

    कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले होटलहरूको मेनुमा नेपाली रैथाने तथा मौलिक खानाका परिकार समावेश गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गुन्द्रुकलाई समेत होटल तथा पर्यटन क्षेत्रको मेनुमा समावेश गर्न प्रोत्साहित गरे । उनले नेपाली मौलिक खानाको प्रवद्र्धनमार्फत नेपालको पर्यटन अनुभवलाई थप समृद्ध बनाउन सकिने बताए । टिभेट काउन्सिल सदस्य तथा साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपालका अध्यक्ष संघर्ष बिष्ट, पाटा नेपाल च्याप्टरका अध्यक्ष नरेन्द्र भट्टले मौलिक खाना गुन्द्रुकको महत्वका बारेमा चर्चा गरे ।

    कार्यक्रमको समापन गर्दै होटल संघ नेपालका महासचिव साजन शाक्यले कार्यशालामा उठेका महत्वपूर्ण विषय तथा सुझावहरूलाई लिपिबद्ध गरी आगामी दिनमा कार्यान्वयनको दिशामा अगाडि बढाइने बताए । उनले गुन्द्रुकको उत्पादन, गुणस्तर, व्यावसायिक प्रयोग, पर्यटन तथा आतिथ्य क्षेत्रमा प्रवद्र्धनलगायतका विषयमा सम्बन्धित सरोकारवालाहरूसँग निरन्तर छलफल र सहकार्य गरिने जानकारी दिए ।

    होटल संघ नेपालले आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै नेपाली रैथाने तथा मौलिक खाद्य परिकारको प्रवद्र्धन, स्वस्थ खानपानको संस्कृति विकास तथा नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

  • ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा

    ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा

    वासिङ्टन, १६ असोज (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह–पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस देखाएका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गरेका छन् । उनले घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको बताउँदै आक्रमणकारी सम्भावित आतङ्कवादी वा असामान्य व्यक्ति हुन सक्ने टिप्पणी गरे ।


    फ्लाईदुबईको एफजेड१०७३ उडानमा सह–पाइलटले ककपिटभित्र क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेपछि विमान हजारौँ फिट तल झरेको थियो । त्यसपछि यात्रु तथा चालक दलका सदस्यले हस्तक्षेप गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराइएको थियो ।

    ट्रम्पले गम्भीर घाइते भए पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल भएको र यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन महत्त्वपूर्ण भूमिका खेलेको बताए । एक इजरायली यात्रुले उडानको कुनै अनुभव नभए पनि ककपिटमा पुगेर आक्रमणकारीलाई पाइलटको सिटबाट हटाउन सहयोग गरको थिए ।

    इजरायली प्रधानमन्त्री नेतान्याहुले यात्रु यानिव हयुनलाई ‘साँचो नायक’ भन्दै उनको साहसको प्रशंसा गरे । घटनामा विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन क्याप्टेन, यात्रु तथा चालक दलका सदस्यको संयुक्त प्रयास महत्त्वपूर्ण भएको इजरायलको विदेश मन्त्रालयले जनाएको छ ।

    इजरायलस्थित भारतीय दूतावास तथा भारतका लागि इजरायली राजदूत रुभेन अजारले क्याप्टेन मच्छरको साहस, संयम र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत विनय मोहन क्वात्राले पनि उनीलगायत अन्य यात्रुको प्रयासले सम्भावित ठूलो दुर्घटना टार्न सहयोग पुगेको बताए ।


    क्याप्टेन मच्छरसँग १३ वर्षभन्दा बढीको व्यावसायिक उड्डयन अनुभव र बोइङ–७३७ विमानमा करिब नौ हजार ७५० घण्टाको उडान अनुभव रहेको बताइएको छ । उनले फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतीय एयरलाइन्समा ११ वर्ष काम गरेका थिए । घटनाको अनुसन्धान भइरहेकाले फ्लाईदुबईले इजरायल जाने तथा इजरायलबाट हुने उडान अस्थायी रूपमा स्थगित गर्ने जनाएको छ ।

  • कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

    कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

    सन्तोष गौतम\रासस

    म्याग्दी, १६ असोजः केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ ।

    पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ । वर्षौँको मिहिनेतले बनाएको घर । जोडेको धनसम्पत्ति । पालिएका गाईभैँसी सबै बाढीले बगाएको छ ।

    बेनी नगरपालिका–१ रत्नेचौर ढोडेनीकी निर्मला सापकोटाको परिवार लामो समयदेखि फर्सेमा बस्दै आएको थियो । यातायातको सुविधा थियो । कृषि उपज बिक्री गर्न सहज थियो । सोही कारण उहाँको परिवारले फर्सेलाई कर्मथलो बनाएको थियो ।

    समाजमा राम्रो आर्थिक हैसियत भएको परिवारका रूपमा चिनिनुहुने निर्मला अहिले आफू शून्यमा पुगेको महसुस गर्नुहुन्छ । “पुख्र्यौली घर रत्नेचौर भए पनि फर्सेमा व्यवस्थित घर बनाएर सुविधासम्पन्न जीवन बिताइरहेका थियौँ”, उहाँले भन्नुभयो, “बाढीले शरीरमा भएको एकसरो कपडा र गोठका गाईवस्तुबाहेक सबै बगायो । ज्यान बच्यो, यही ठूलो कुरा हो ।”

    निर्मलाको आवाजमा पीडा छ । तर बाँच्ने साहस पनि छ । “गरेर खानेका लागि गाँस, बास, कपास र ओत चाहिने रहेछ भन्ने अहिले महसुस भएको छ”, उहाँले भन्नुभयो ।

    फर्सेकै विष्णुकुमारी हमालको परिवारको कथा पनि उस्तै छ । व्यापार–व्यवसायका लागि धाइरिङबाट फर्से झरेको परिवारले चारवटा घर बनाएको थियो । उहाँका श्रीमान् डिलबहादुर क्षेत्रीले दूध उत्पादनका लागि शिव तरकारी तथा पशुपालन कृषि फार्म सञ्चालन गर्नुभएको थियो ।

    “गाईभैँसीलाई तातोपानीले नुहाइदिन गोठमा सोलार जोडेका थियौँ”, विष्णुले भन्नुभयो, “हाम्रो सुविधासम्पन्न घरगोठ भएको ठाउँमा अहिले कालीगण्डकी बगेको छ । पुरानो तस्बिरमा घर हेरेर चित्त बुझाउनुबाहेक केही बाँकी रहेन ।”

    निरन्तरको वर्षापछि कालीगण्डकीमा आएको बाढीले फर्सेका करिब एक सय परिवार प्रभावित भएका छन् । जलजला गाउँपालिकाका अनुसार ७५ घर बगेर पूर्ण रूपमा क्षति भएका छन्, २७ घर जोखिममा छन् । बाढीबाट विस्थापित ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् ।

    घरबारविहीन परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । “ज्यान जोगिए पनि वर्षौँ मिहिनेत गरेर जोडेको घरघडेरी र धनसम्पत्ति गुमाएको पीडा धेरैमा छ”, उहाँले भन्नुभयो ।

    पूर्वसूचनाले जोगायो ज्यान

    फर्सेकी सङ्गीता शर्मालाई यही असोज १० गतेको रात अझै सम्झना छ । ठूलो पानी पर्ने सूचना आएपछि स्थानीय बासिन्दा केही दिनदेखि नै सतर्क थिए । तर कालीगण्डकी यति ठूलो भेलसहित बस्तीमा पस्ला भन्ने कसैले सोचेका थिएनन् ।

    असोज १० गते मध्यराति फर्से युवा क्लबका युवाले माइकिङ गरे । त्यसपछि सङ्गीतासहित धेरै परिवार घर छाडेर सुरक्षित स्थानतर्फ लागे । “शरीरमा भएको कपडामात्रै लगाएर झरीमा भिज्दै रातको २ः०० बजे सडकमा निस्कियौँ”, उहाँले भन्नुभयो, “गहना, अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्त्वपूर्ण कागजात घरमै थिए तर हामीसँग ज्यान जोगाउने समयमात्र थियो ।”

    गोठमा बाँधिएका गाईभैँसी फुकाएर भगाउनुपर्यो । घरभित्रका सामान निकाल्ने समय मिलेन । अहिले विस्थापित परिवार दिनमा एकपटक बाढीले बगाएको घर भएको ठाउँतिर पुग्छन् । भग्नावशेष हेर्छन् । विगत सम्झन्छन् । अनि भारी मन लिएर फर्किन्छन् । अस्थायी शिविरमा बसेका बिना, फूलमाया र सुकमाया विकको अवस्था पनि उस्तै छ । साथमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न सक्नुभएन ।

    “आफ्नै घर भएको ठाउँमा कालीगण्डकी बगेको देख्दा मन भारी हुन्छ”, उहाँहरूको भनाइ छ । घर र गोठ डुबानमा परेका परिवार भने बाढीबाट बचेका सामान खोजिरहेका छन् । हिलो पखालिरहेका छन् । घाममा सुकाइरहेका छन् । बाँकी रहेको सामान सुरक्षित ठाउँमा सारिरहेका छन् ।

    बाढीले घरसँगै विद्यार्थीका कापी–किताब पनि बगायो । फर्से र बागलुङको ढोडेनी जोड्ने करिब १०० वर्ष पुरानो झोलुङ्गे पुल इतिहासमा सीमित गरिदियो । पुल बगेपछि म्याग्दी र बागलुङतर्फबाट फर्सेको जनकल्याण माध्यमिक विद्यालयमा आउने विद्यार्थीले घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था आएको छ ।

    जलजला–८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार पूर्वसूचना र स्थानीयको सतर्कताका कारण मानवीय क्षति हुन पाएन । तर भौतिक क्षति अकल्पनीय भयो । वडाध्यक्ष जिसीको पुख्र्यौली घर बाढीले बगाएको छ ।

    व्यापारिक केन्द्रबाट कृषि गाउँ

    पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा चिनिन्थ्यो । बागलुङ, मुस्ताङ र म्याग्दी ओहोरदोहोर गर्नेका लागि यो महत्त्वपूर्ण ठाउँ थियो । सडक विस्तारसँगै फर्सेको स्वरूप बदलियो । व्यापार–व्यवसायबाट स्थानीय बासिन्दा कृषि उद्यमतर्फ लागे । बेनी, कुश्मा र बागलुङ बजार नजिक भएकाले दूध र तरकारी उत्पादन यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत बन्यो ।

    कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने फर्सेबाट सिजनमा दैनिक करिब ८०० लिटर र बेसिजनमा ६०० देखि ७०० लिटरसम्म दूध बिक्री हुने गरेको स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले बताउनुभयो ।

    सहकारीले ४० किसानबाट दूध खरिद गरी बागलुङ पुर्याएर बिक्री गर्दै आएको थियो । तर बाढीपछि किसानको अवस्था फेरिएको छ । “गाईभैँसी पाल्ने ४० मध्ये आधाजसो किसान बाढीबाट प्रभावित भएका छन्”, केसीले भन्नुभयो, “बचाइएका गाईभैँसीलाई आहारा र दाना दिन नसक्दा दूध उत्पादन घटेको छ ।” उहाँले बाढी प्रभावित किसानका लागि तत्काल पशु आहारा र दानाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

    बगर बनेको गाउँ फेरि उठ्ने विश्वास

    स्थानीय टीकाराम क्षेत्रीका आँखामा अझै असोज ११ गते बिहानको दृश्य घुमिरहेको छ । बाढी बढ्न थालेपछि साँझ सुरक्षित रूपमा घर छाड्नुभएको थियो । बिहान फर्किँदा घर भेटिएन । “उठ्दै गरेको फर्सेलाई बाढीले लडाइदियो”, उहाँले भन्नुभयो, “साहस गरेर फेरि उठ्नेछौँ । तर सरकारको साथ चाहिन्छ ।”

    फर्से टोल विकास संस्थाका अध्यक्ष रामु सुवेदीलाई पनि आफ्नो गाउँ फेरि उठाउन सकिन्छ भन्ने विश्वास छ । तर त्यसका लागि सुरक्षित बसोबास र नदी नियन्त्रण आवश्यक रहेको उहाँको भनाइ छ ।

    “यही ठाउँमा पक्की पर्खाल बनाएर नदी नियन्त्रण गरिदिए पेसा–व्यवसाय गरेर पुरानै अवस्थामा फर्किन सकिन्छ”, उहाँले भन्नुभयो, “हाम्रो बस्तीलाई बस्नयोग्य बनाइदिनुपर्यो । घर र घडेरी बगेकालाई बसोबासको व्यवस्था गर्नुपर्छ ।”

    उहाँले पर्वततर्फ मात्र नभई म्याग्दी र बागलुङतर्फ पनि बस्ती संरक्षणको योजना बनाउनुपर्ने बताउनुभयो । कालीगण्डकीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन रोक्नुपर्ने उहाँको माग छ । तत्काल संरक्षणका काम नगरिए कालीगण्डकीले धार परिवर्तन गरी थप बस्ती र सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा पार्नसक्ने सुवेदीको भनाइ छ । कोरलानाका जोड्ने सडक जोखिममा पर्नसक्ने उहाँले बताउनुभयो ।

    पुनःस्थापनाको पर्खाइ

    जलजला गाउँपालिकाले फर्सेका बाढीपीडितका लागि कर्मचारी खटाएर सचिवालय स्थापना गरेको छ । राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गरिएको छ । जलजलाको फर्सेसहित ताङवाङ, लामाखेत, पालसिङलगायत धेरै ठाउँमा बाढीपहिरोले क्षति गरेको छ । प्रभावित परिवारलाई परिचयपत्रसमेत वितरण गरिएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

    बिहीबार स्वास्थ्य शाखाको आयोजनामा मनोसामाजिक परामर्शसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । जनप्रतिनिधि र कर्मचारीको १४ वटा समूह बाढीपहिरोले पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न खटिएका छन् ।

    फर्सेवासीका लागि दीर्घकालीन सुरक्षित बसोबास, पुनर्निर्माण र बस्ती संरक्षणको योजना आवश्यक रहेको अध्यक्ष आचार्यले बताउनुभयो । त्यसका लागि सङ्घीय र प्रदेश सरकारसमक्ष प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

    मङ्गलबार फर्सेको निरीक्षणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण र पुनस्र्थापनामा सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कालीगण्डकीको भेलले फर्सेको रूप बदलिदिएको छ । घरका ठाउँमा भग्नावशेष छन् । गोठका ठाउँमा बगर छ । आँगनका ठाउँमा नदीको धार छ ।

    फर्सेका बाढीपीडित चन्द्र दर्जीको मनमा एउटा विश्वास अझै बाँकी छ–“बाढीले घर बगाउन सक्छ, सपना होइन । हामी आफ्नै गाउँमा श्रम र पसिनामा उठ्न चाहान्छौँ”, उहाँले भन्नुभयो, “सुरक्षित बास, संरक्षणको भरोसा र पुनस्र्थापनामा सरकारको साथ आवश्यक पर्छ ।”

  • चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    सुनसरी, १६ असोजः चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसीबोकाको बजार लाग्ने छ ।

    धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन् । उनले घरमै खसीबोका पालेका छन् । यस्तै, धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्ने गरेको उनले बताए । “व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा । यही व्यवसायबाट घरखर्च पुगेको छ । यहाँको खसी बजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज भएको छ”, उनले भने ।


    मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउने गर्छन् । उनले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिदबिक्री गर्दै आएका छन् । उनले उक्त व्यवसाय थालेको २३ वर्ष भइसकेको बताए ।
    खड्काले धरानबाट खरिद गरेका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री गर्ने गरेको बताए । धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसीबोका बिक्री हुने गरेको उनले बताए ।


    आर्थिक वर्ष २०८२–८३ मा कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब रु तीन अर्बको कारोबार भएको अध्यक्ष भट्टराईले उल्लेख गरे । गत वर्षको चाडपर्वमा मात्रै रु ४६ करोडबराबरको कारोबार भएको थियो । यस वर्ष कारोबार थप वृद्धि हुनसक्ने उनको भनाइ छ ।

    भट्टराईका अनुसार बजारमा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष खसीबोकाको कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको छ । बजारमा पहाडी जिल्लाका साथै इटहरी, मोरङको कानेपोखरी र बेलबारीलगायत तराईका किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि आउने गरेका छन् । कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा योगदान पुर्याएको अध्यक्ष भट्टराईले बताए ।

  • यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    काठमाडौँ, १६ असोजः नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को तयारीमा जुटेको छ । आगामी पुसमा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप नेपालले पहिलोपटक आयोजना गर्दैछ ।

    एनपिएलको तेस्रो संस्करण कात्तिकदेखि सुरु हुने तालिका छ । यी दुवै प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले राससलाई जानकारी दिए ।
    उनले आगामी अन्तरराष्ट्रिय प्रतियोगितालाई लक्षित गरी मैदानलाई व्यवस्थित बनाउने काम भइरहेको बताए । विशेषगरी एनपिएलका अघिल्ला संस्करणमा देखिएको दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या यसपटक दोहोरिन नदिन आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

    “विगतमा जुन–जुन ठाउँमा त्रुटि भएको थियो त्यसलाई यसपटक सच्याउने प्रयास हामी गर्नेछाँै । दर्शकलाई सुविधा दिने प्रयास गर्नेछौँ किनकि उहाँहरूले पैसा तिरेर खेल हेर्नुहुन्छ”, उपाध्यक्ष सिंहले भने । दर्शकको सुविधाका लागि पार्किङदेखि अन्य व्यवस्थापनका काम व्यवस्थित गर्न लागिपरेको उनले बताए । “बाइक स्ट्यान्ड, सवारी पार्किङलाई व्यवस्थित गर्न लागेका छाँै । दर्शकलाई अप्ठ्यारो कहाँ–कहाँ हुन्छ र त्यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा हामीले ध्यान केन्द्रित गरेका छौँ”, उनले भने ।


    एनपिएलका पहिलो र दोस्रो संस्करणमा देखिएका कमजोरीलाई सुधार गर्दै यसपटक मैदानमा कुनै पनि किसिमको त्रुटि नहोस् भन्नेमा क्यानले ध्यान दिएको उपाध्यक्ष सिंहले बताए । नेपालले पहिलोपटक आयोजना गर्ने यु–१९ महिला विश्वकपका खेल टियु र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । मूलपानीको तुलनामा टियु मैदानमा बढी खेल सञ्चालन हुने उपाध्यक्ष सिंहले बताए ।

    प्रतियोगितालाई लक्षित गरी मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी), एसियाली क्रिकेट परिषद् (एसिसी) र खेलाडीका अभिभावकका लागि भिआइपी संरचना निर्माण भइरहेको उनले बताए ।
    मूलपानी क्रिकेट मैदान लामो समयदेखि निर्माण तथा स्तरोन्नतिका क्रममा रहे पनि अझै पूर्ण रूपमा तयार हुन नसकेमा उपाध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराए ।

    उनले मैदान निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यान जानुपर्ने बताबताए । क्रिकेटले नेपाललाई अन्तरराष्ट्रिय रूपमा चिनाउनुका साथै नेपालीमा खुसी दिएको उल्लेख गर्दै उनले क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे । “क्रिकेटले देशलाई चिनाएको छ । क्रिकेटले एउटा खुसी दिएको छ”, उपाध्यक्ष सिंहले भने ।


    उनले मूलपानी क्रिकेट मैदानको निर्माणलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिए । नेपालमा अन्तरराष्ट्रियस्तरका थप क्रिकेट मैदान निर्माण भएमा भविष्यमा ठूला अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने उनको भनाइ छ ।

    “चाँडोभन्दा चाँडो मैदान निर्माण गरेर अन्तरराष्ट्रिय जगत्मा नेपालमा पनि कम्तीमा दुईवटा ठूला ग्राउन्ड भएको देखाउनुपर्छ”, उनले भने । नेपालमा कम्तीमा दुईवटा ठूला क्षमताका अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माण भएमा विश्वकप, एसिसी प्रिमियर कप, एसिया कप, विश्वकप छनोटलगायतका ठूला प्रतियोगिता आयोजना गर्न सकिने क्यानको विश्वास छ । त्यस्ता प्रतियोगिता नेपालमा आयोजना हुँदा आर्थिक गतिविधिमा योगदान पुग्ने उपाध्यक्ष सिंहले बताए ।


    “भोलिको दिनमा भारत र पाकिस्तान, एसिसी कप, विभिन्न टुर्नामेन्ट नेपालले होस्ट गर्न पाउँछ । त्यसबाट आर्थिक लाभ हुन्छ”, उनले रासससँगको कुराकानीमा भने । ठूला प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । मूलपानी मैदानको निर्माणले पूर्णता पाएमा नेपालको क्रिकेट पूर्वाधार थप बलियो हुने क्यानले जनाएको छ ।

  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौँ, १६ असोजः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो । खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गर्नुभयो । नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो ।

    नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो । नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो । समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो । समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलङ्कालाई प्रतिस्पर्धी पाएको थियो । श्रीलङ्कासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

    नेपाल आइसिसी टी–२० वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो । नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।

  • तटबन्धले जोगायो गैँडाकोटको बस्ती

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती

    नवलपुर (नवलपरासी), १६ असोज । यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठूलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो । इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा नं २ को एउटा बस्तीबाहेक अन्य वडामा बाढीले कुनै क्षति पुर्याउन नसकेको स्थानीय बताउँछन् ।

    नारायणी पुलभन्दा उत्तरतर्फ नदीकिनारमा तटबन्ध नहुँदा एउटा बस्ती डुबानमा परेको थियो । पुलबाट दक्षिणतर्फ निर्माण गरिएको करिब पाँच किलोमिटर लामो तटबन्धले अन्य बस्ती जोगाउन सफल भएको स्थानीयको बुझाइ छ । गैँडाकोटका मनोज परियारले नदीकिनारमा ठूलाठूला ढुङ्गा राखेर गरिएको तटबन्धबाट नदीकिनारको बस्ती जोगिएको बताए ।


    “नदीकिनारमा ठूलाठूला ढुङ्गा राखिएको छ, जसले हामीलाई जोगायो”, उनले भने, “ढुङ्गा नाघेर नदीको छाल घरसम्म आएको थियो, यो ढुङ्गा नहालेको भए हाम्रो धेरै क्षति हुने थियो ।” बाढीले कटान गर्ने क्षेत्रमा निर्माण गरिएको तटबन्धका कारण बस्ती जोगिएको छ । यस्तै, कटान पनि रोकिएको परियारको बुझाइ छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहने नदीकिनारका बस्ती तथा खेतीयोग्य जमिन सुरक्षित पार्न गरिएको तटबन्धले जिल्लाका धेरै बस्ती जोगाएको छ ।

    “अघिल्ला वर्षमा नदीमा बाढी आउँदा किनारका बासिन्दा सुरक्षित ठाउँ खोजेर हिँड्नुपर्ने अवस्था थियो”, गैँडाकोट–६ का ४१ वर्षीय राजेन्द्र थापाले भने, “यस वर्ष नारायणीमा ठूलो बाढी आए पनि हामी ढुक्कसँग घरमै बस्न सक्यौँ ।” आफ्नो वडामा नदी व्यवस्थापनको काम भएपछि कटान रोकिँदा आफूहरू ढुक्क भएर बस्न पाएको थापाले बताए । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय चितवनले आर्थिक वर्ष २०८२\८३ मा नवलपुरतर्फको नदीकिनारमा व्यवस्थित तटबन्ध निर्माण गरेको थियो ।

    बाढी आउँदा रातभर सुत्न नसकिने अवस्थाको स्मरण गर्दै स्थानीय खगीसरा रानाले नदी व्यवस्थापनको काम भएपछि ढुक्कसँग बस्न पाइएको बताए । गत वर्षदेखि यस क्षेत्रमा नारायणी नदीको कटान पूर्ण रूपमा रोकिएको रानाले बताए । अघिल्ला वर्षका बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गर्दै उठिबास लगाएको उनले बताए ।


    “नारायणीको बाढीले मेरो पनि जग्गा लगभग काटेर सक्यो”, किनारमा बस्तीभन्दा अग्लो पारेर गरिएको तटबन्ध देखाउँदै उनले भने, “पोहोर साल सरकारले यो ड्याम नबनाएको भए सायद म पनि घरबारविहीन हुने अवस्था आउँथ्यो होला ।” अबका दिनमा नदीकिनारका बासिन्दा डराउनुपर्ने अवस्थाको अन्त्य भएको रानाको भनाइ छ । नदी कटान रोकिएपछि आफूहरूको आधा चिन्ता सकिएको उनले बताए ।
    पुलबाट दक्षिणतर्फ नदी किनारमा गैँडाकोटको वडा नं २, ५, ६, ७ र ९ को भूभाग पर्दछ ।

    सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले नदीकिनारमा बहुवर्षीय ठेक्का लगाएर व्यवस्थित तटबन्धको काम सम्पन्न गरेको छ । कार्यालयले करिब एक हजार ५०० मिटर बिग बोल्डर तथा करिब पाँच किलोमिटरमा क्रङ्क्रिट तटबन्ध गरेको गैँडाकोट नगरपालिका–६ का वडाध्यक्ष शुभाष चापागाईँले बताए ।


    “नदीकिनारलाई भिरालो बनाउँदै गरिएको पक्की तटबन्धका कारण बस्ती जोगिन सफल भएको हो”, उनले भने, “गैँडाकोटमा गरिएको तटबन्ध नेपालकै नौलो र नयाँ प्रयोग भएको मैले जानकारी पाएको छु ।” बस्तीभन्दा अग्लो पारेर गरिएको तटबन्धका कारण ठूलो बाढीले पनि बस्तीमा कुनै क्षति पुर्याउन नसकेको उनले बताए । यद्यपि कङ्क्रिट तटबन्ध गरिएको केही स्थानमा बाढीले क्षति पुर्याएको भन्दै त्यसलाई व्यवस्थित रूपमा मर्मत गर्नुपर्ने चापागाईँको भनाइ छ ।

    यही असोज ११ गते नारायणीमा पानीको सतह बढेर सबैभन्दा उच्च ११ दशमलव ९३ मिटर पुगेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नदीकिनारमा गरिएको तटबन्ध बस्तीभन्दा अग्लो भएका कारण बस्तीमा हुने डुबान र कटानबाट गैँडाकोटका नदी तटीय वडा जोगिएका हुन् ।

  • म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

    म्याग्दी, १६ असोज । बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ ।
    यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चारवटा टावर ढलेको थियो । टावर ढल्दा लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको छ ।

    यस्तै, म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छ जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिन नपाउँदा करोडौँको नोक्सानी भएको छ । विद्युत् अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर परेको छ । अन्नपूर्ण गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडा तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँले प्रसारण लाइनको समस्याले तत्काल दाना सबस्टेशनबाट विद्युत् आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक लाइन सञ्चालनको तयारी गरेको जानकारी दिए ।
    “दाना सबस्टेशनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोकदेखि दाना हँुदै मुस्ताङको कोवाङमा रहेको ३३ केभी प्रसारण लाइन मर्मत थालेका छौँ”, उनले भने, “उक्त प्रसारण लाइनको म्याग्दी खण्डमा पनि धेरै ठाउँमा क्षति पुगेकाले मर्मतका लागि प्राधिकरणका कर्मचारीका साथै ठेकेदारमार्फत मजदुर परिचालन गरेका छाँै ।”

    मुस्ताङको प्रसारण लाइन र वितरण लाइनमा समस्या नभएको स्थलगत निरीक्षण गरेर फर्कनुभएका चापागाईँले बताउनुभयो । तातोपानीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म ढलेका पोल गाड्ने, चुडिएका र लत्रिएका तार हटाएर नयाँ तान्ने काम सकिएको छ । घारमा एक वटा, राखुदेखि बेगखोला जोड्ने चारवटा प्रसारण लाइनको पोल ढलेका छन् ।

    बेगखोला र तिप्ल्याङको बीचमा एक किलोमिटर ५०० मिटर दूरीमा पोल र तार पूरै कालीगण्डकीको बाढीले बगाएको छ । सडक यातायात सञ्चालन नभएकाले विद्युत् लाइन मर्मतका लागि सामग्री ढुवानीमा समस्या भएको छ । प्राधिकरणको प्रादेशिक कार्यालयबाट सामान ल्याएर बेनी हँुदै राखुसम्म सवारीसाधनमार्फत लैजाने र त्यहाँदेखि बेगखोला क्षेत्रमा भरिया लगाएर ढुवानी गरिएको छ । प्रसारण लाइन मर्मतको काम तीव्रगतिमा अगाडि बढाइएको वितरण केन्द्र प्रमुख चापागाईँले बताए ।

  • हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

    हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

    मनाङ, १५ असोजः मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप आठ जनाको शव भेटिएको छ । यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान चार जनाको शव भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


    यसअघि सात जनाको शव भेटिएको थियो । हिम्लुङ हिमपहिरोमा परेर अझै एक जना हराइरहेका छन् । “दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ, छ शव फूगाउँसम्म ल्याइएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “रात परिसकेकाले हेलिकप्टर उडान हुन सक्दैन । शुक्रबार अरु शव ल्याउँछौँ ।”

    नेपाली सेनाको हेलिकप्टरमार्फत आज ती शव ल्याइएको हो । यसैगरी नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सुचारु गर्ने कार्य पनि गरिरहेको छ । हिमालको आधार शिविरमा यही असोज ११ गते बिहान हिमपहिरो गएको थियो । उक्त क्षेत्रमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटाएको छ ।

  • प्रस्तावित निजामती विधेयक : कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने

    प्रस्तावित निजामती विधेयक : कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने

    काठमाडौँ, १५ असोज । नेपाल सरकारका कर्मचारीले कुनै पनि राजनीतिक विषयमा कुनै प्रकारको टिकाटिप्पणी गर्न नपाइने कानुन प्रस्ताव गरिएको छ । प्रस्तावित सङ्घीय निजामती सेवा ऐन, २०८३ मा यस्तो प्रावधान राखिएको छ । सो प्रस्तावित विधेयकले निजामती कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गर्दै राजनीतिक विषयमा टिप्पणी गर्न नपाइने नियम प्रस्ताव गरेको छ ।

    नेपाल सरकारद्वारा आज संसद्मा दर्ता उक्त विधेयकको दफा ८८ मा कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा यस्तो टिप्पणी गर्न नपाइने प्रावधान राखिएको छ । उक्त दफामा सामाजिक द्वेष वा कलह बढ्ने र हिंसा भड्किने खालका कुनै पनि अभिव्यक्ति दिन पनि रोक लगाइएको छ ।

    प्रस्तावित विधेयकको उक्त दफामा भनिएको छ–निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष या विपक्षमा कुनै टिप्पणी गर्न वा आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नका लागि गरेका कामको आफ्नो व्यक्तिगत पेज वा आइडीबाट प्रचारप्रसार गर्न वा सोसम्बन्धी कुनै कुरा व्यक्त गर्न नहुने व्यवस्था गरिएको छ ।

    यस विधेयकमा गरिएको व्यवस्थाअनुसार अब कुनै कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निर्वाहका क्रममा सामाजिक सञ्जालको प्रयोगमा पनि निकै सावधानी अपनाउनुपर्नेछ । यो प्रावधानले आफ्नो व्यक्तिगत आइडी वा पेजबाट आफूले सम्पादन गरेका सरकारी काम कारबाहीको प्रचारप्रसार गर्न पनि सोच्नुपर्ने देखिन्छ ।

  • रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

    रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

    काठमाडौँ, १५ असोज । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए । रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको उक्त सडकखण्डमा ट्रयाक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ । सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारी आवतजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको जनाउँदै मन्त्री लम्सालले आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रहसमेत गरेका छन् ।


    यसैबीच, ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ । रसुवातर्फको बेलिब्रिजको फाउन्डेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ । निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

    .बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो । ट्रयाक खुलेसँगै यातायात सञ्चालनमा सहजता आउने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

  • रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

    काठमाडौँ, १५ असोज । नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आज मन्त्रिस्तरीय निर्णय गर्दै कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गरेकी हुन् ।


    मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन सुरु भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चिततासम्बन्धी विद्यमान कानुनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिए । उनले भने, “नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भरता घटाउने उद्देश्य अघि बढिरहे पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका सम्बन्धमा हालसम्म स्पष्ट कानुनी व्यवस्था नरहेको अवस्थामा आवश्यक कानुनी तथा नीतिगत बाटो पहिचान गर्न कार्यदल गठन गरिएको हो ।”

    कार्यदलले विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको अध्ययन गरी नेपालमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानुनी व्यवस्था, प्रक्रिया तथा संस्थागत प्रबन्धबारे सुझावसहितको प्रतिवेदन ३० दिनभित्र पेस गर्नेछ । कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक कानुनी संशोधन तथा नीतिगत र संस्थागत व्यवस्थाअघि बढाइने मन्त्रालयले जनाएको छ ।

  • परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै

    परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै

    काठमाडौँ, १५ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन यही असोज १७ गते शनिबार फिजी प्रस्थान गर्ने भएका छन् । फिजी र टुभालुमा यही अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालले अक्टोबर ६ तारिखमा आयोजना हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी) मा सम्बोधन गर्नेछन् ।
    उक्त सत्रअघि मन्त्री खनालले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्रि–कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नेछन् । उनले अक्टोबर ८ तारिखमा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताका क्रममा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना गरिने कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । कार्यक्रममार्फत उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । मन्त्री खनाल अक्टोबर १२ तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

  • ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुला

    ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुला


    १५ असोज, काठमाडौं । राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क (ह्विलिङ चार्ज) निर्धारण भएसँगै नेपालको ऊर्जा क्षेत्रमा लगानी र विद्युत् व्यापारका नयाँ सम्भावना खुलेका छन् । विद्युत् नियमन आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै आर्थिक वर्ष २०८३\८४ का लागि प्रसारण शुल्क निर्धारण गरेको हो। आयोगको यो निर्णयसँगै खुला पहुँच (ओपन एक्सेस) प्रणाली कार्यान्वयनका लागि आवश्यक नियामकीय आधारसमेत तयार भएको छ ।


    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ह्विलिङ चार्ज निर्धारणलाई ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार निर्णय सानो देखिए पनि यसले ऊर्जा आधारित अर्थतन्त्र विस्तारका लागि नयाँ ढोका खोलेको छ । ‘हेर्दा यो सानो पाइलाजस्तो भए पनि ऊर्जा क्षेत्रका लागि ठूलो फड्को हो,’ मन्त्री श्रेष्ठले भने ।


    सरकारले विद्युत् उत्पादनमा मात्र सीमित नरही प्रसारण र व्यापारमा समेत निजी क्षेत्रको सहभागिता बढाउने नीतिलाई अघि बढाइरहेको छ । मन्त्री श्रेष्ठले गत वैशाखमा जारी गर्नुभएको ३२ बुँदे कार्यकारी निर्देशनमा विद्युत् क्षेत्रमा खुला पहुँच प्रणाली कार्यान्वयनका लागि ह्विलिङ चार्ज निर्धारण गर्न आयोगलाई जिम्मेवारी दिइएको थियो । मन्त्री श्रेष्ठले नयाँ प्रणाली कार्यान्वयन गर्दा आमउपभोक्तामाथि अतिरिक्त वित्तीय भार नपर्ने गरी नीति तथा नियम बनाउनुपर्नेमा जोड दिए ।

    साथै अन्तर्राष्ट्रिय असल अभ्यासलाई आधार बनाएर शुल्क निर्धारण गर्नुपर्ने र लागत तथा प्रतिफललाई समयअनुसार पुनरावलोकन गर्दै जानुपर्ने उनको भनाइ छ ।
    ह्विलिङ चार्ज हरेक वर्ष पुनरावलोकन हुने भएकाले नयाँ अभ्यासबाट देखिने समस्या र सुधारका क्षेत्रलाई क्रमशः सम्बोधन गर्दै लैजान सकिने मन्त्री श्रेष्ठले बताए । उनले यस विषयमा सञ्चार क्षेत्रले पनि रचनात्मक बहस र निगरानीमार्फत नीतिगत सुधारमा सहयोग गर्नुपर्ने धारणा राखे ।

    आयोगले निर्धारण गरेको शुल्कअनुसार आर्थिक वर्ष २०८३\८४ मा राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको मध्यकालीन र दीर्घकालीन खुला पहुँच प्रयोग गरेबापत प्रतिमेगावाट प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै, अल्पकालीन खुला पहुँचका लागि प्रति किलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क निर्धारण गरिएको छ ।


    आयोगले नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१\८२ को लेखापरीक्षण गरिएको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८२\८३ र २०८३\८४ का लागि प्राधिकरणले प्रस्तुत गरेको वार्षिक आवश्यक आयको अनुमानलाई आधार बनाएर शुल्क निर्धारण गरेको जनाएको छ ।


    मापदण्डमा प्रसारण शुल्क निर्धारण गर्ने गणना विधि, वार्षिक आवश्यक आयमा समावेश हुने खर्च तथा प्रतिफललगायतका विषय स्पष्ट पारिएको छ। वार्षिक आवश्यक आय गणना गर्दा ह्रासकट्टी, ऋणको ब्याज, कर्मचारी तथा सञ्चालन खर्च, प्रसारण सेवाको लागत, स्वपुँजी लगानीको प्रतिफल, विदेशी मुद्रा विनिमयसम्बन्धी खर्च र आयकरलगायतका खर्चलाई समेटिने व्यवस्था गरिएको छ ।


    प्रसारण प्रणालीको क्षमता र विद्युत् प्रवाहका आधारमा जडित क्षमता वा प्रवाह भएको ऊर्जाको परिमाणमध्ये उपयुक्त विधि अपनाएर शुल्क निर्धारण गर्न सकिने व्यवस्था पनि मापदण्डमा गरिएको छ। यसबाट प्रसारण प्रणाली प्रयोग गर्ने अनुमति प्राप्त संस्थाको न्यायोचित लागत असुली सुनिश्चित गर्ने उद्देश्य राखिएको आयोगले जनाएको छ।


    ह्विलिङ चार्ज निर्धारण भएपछि निजी क्षेत्रले आफ्नै लगानीमा प्रसारण पूर्वाधार विकास गर्ने सम्भावनासमेत बढेको आयोगका अध्यक्ष डा. राप्रसाद धितालले बताउनुभयो। मन्त्रालयबाट प्राप्त नीतिगत मार्गदर्शनलाई आधार बनाएर आयोगले नियामकीय उपकरणमार्फत शुल्क निर्धारण गरेको उनको भनाइ छ।


    ‘निजी क्षेत्रले प्रसारण लाइनमा लगानी गर्ने बाटो खुलेको छ। यो ऊर्जा क्षेत्रको व्यापारमा नयाँ अध्यायको सुरुवात हो,’ अध्यक्ष धितालले भने । त्यस्तै ऊर्जा मन्त्रालयका सचिव डा. जगदीश कर्मचार्यले ह्विलिङ चार्ज निर्धारणलाई विद्युत् व्यापार विस्तारतर्फको महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने बताए । उनका अनुसार यसले विद्युत् क्षेत्रलाई उत्पादनमा मात्र केन्द्रित नराखी प्रसारण तथा व्यापारसम्म विस्तार गर्ने आधार तयार गरेको छ।


    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले लामो समयदेखि प्रतीक्षामा रहेको निर्णय समयमै आउनु सकारात्मक भएको बताए । निजी क्षेत्रले सरकारसँग वित्तीय वा बजेटरी सहयोगभन्दा स्पष्ट र स्थिर नीति, नियम तथा कानुनी व्यवस्था माग गर्दै आएको उनले बताए ।
    ह्विलिङ चार्जको दर प्रारम्भिक चरणमा केही उच्च देखिए पनि अभ्याससँगै सुधार गर्न सकिने लामाको भनाइ छ।

    खुला पहुँचसम्बन्धी नीतिलाई ऊर्जा क्षेत्रका लागि ‘पाथफाइन्डर’को संज्ञा दिँदै उनले यसको पूर्ण कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा जोड दिए । सरकारले ऊर्जा उत्पादनमा बढ्दो निजी लगानीलाई प्रसारण तथा विद्युत् व्यापारसँग जोड्ने प्रयास गरिरहेका बेला ह्विलिङ चार्ज निर्धारणलाई त्यस दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसले आगामी दिनमा उत्पादक, प्रसारण प्रणाली प्रयोगकर्ता र विद्युत् खरिदकर्ताबीच थप प्रतिस्पर्धात्मक विद्युत् कारोबारको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

  • राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा शुक्रबार राति १२ बजेदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य

    काठमाडौँ, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही असोज १६ गते राति १२ः०० बजेदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । राष्ट्रपति पौडेलेले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यही असोज १३ गतेको सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • प्रस्तावित निजामती सेवा विधेयक : निजामती प्रशासनमा ‘आमूल परिवर्तन’ ल्याउने अपेक्षा

    प्रस्तावित निजामती सेवा विधेयक : निजामती प्रशासनमा ‘आमूल परिवर्तन’ ल्याउने अपेक्षा

    काठमाडौँ, १५ असोजः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा ‘प्याराडाइम सिफ्ट’ ल्याउने अपेक्षा गरिएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत आज धारणा सार्वजनिक गर्दै उहाँले गहन अध्ययन तथा व्यापक छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको बताइन् ।


    उनले विधेयकले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउने उल्लेख गरेकी छिन् । सङ्घीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार प्रदान गर्नुका साथै सुशासन र सार्वजनिक प्रशासन सुधारको दिशामा विधेयक महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेकी छिन् ।


    मन्त्री रावलले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सहकारीपीडितको बचत फिर्ता प्रक्रिया अघि बढाउने, भूमिहीनलाई लालपुर्जा वितरणलाई गति दिने, लामो समयदेखि पारित हुन नसकेको सङ्घीय निजामती सेवा विधेयक टुङ्गोमा पु¥याउने तथा सार्वजनिक प्रशासन सुधार र सुशासनका लागि बलियो आधार निर्माण गर्ने प्राथमिकता तय गरेको बताइन् ।


    भूमि प्रशासनलगायत क्षेत्रमा डिजिटलाइजेसन तथा अटोमेसनमार्फत सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसमेत अघि सारिएको उनले उल्लेख गरेकी छिन् । यी प्राथमिकतामध्ये अधिकांश कामको सुरुआत भइसकेको र अब ती कामलाई थप तीव्र गतिमा अघि बढाउने चरणमा प्रवेश गरेको मन्त्री रावलको भनाइ छ ।

    उनले सङ्घीय निजामती सेवा विधेयक संसद्को जिम्मामा पु¥याइएको उल्लेख गर्दै संसद्मा हुने गहन छलफल र आवश्यक प्रक्रियापछि विधेयक छिट्टै पारित भई नेपालको सार्वजनिक प्रशासनलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने बलियो आधार तयार हुने अपेक्षा व्यक्त गरिन् । यही असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयकलाई सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । आजै मन्त्री रावलले विधेयक संसद् सचिवालयमा दर्ता गरेकी हुन् ।

  • सङ्घीय निजामती विधेयक संसद्मा दर्ता

    सङ्घीय निजामती विधेयक संसद्मा दर्ता

    काठमाडौँ, १५ असोजः सरकारले बुहप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८३ सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आज उक्त विधेयक संसद्मा दर्ता गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सरकारी विधेयकका रुपमा प्रस्तुत सो विधेयकको दर्ता नं ३५ रहेको छ । यही असोज १३ गतेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको थियो ।

    सरकारले सङ्घीय शासन प्रणालीअनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्ध, कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित, स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक, सक्षम, उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ । विधेयकमा निजामती सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध र सुशासनमुखी संयन्त्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

  • ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’

    ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’

    गण्डकी, १५ असोजः आफ्नै कार्यसमयमा ठडिएको वडा कार्यालय भवन दरमखोलाको बाढीले बगाएपछि बागलुङको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाको मन कुँडिएको छ । बुधबार साँझपख क्षतिग्रस्त भवनछेउ भेटिएका उनी चिन्तित थिए । दरमखोला किनारमा लडेको भवनतिर हेर्दै उनले भने, “मलाई मेरो दस मुरी धान फल्ने खेत बगेर केही फरक परेको छैन, त्यहाँ अहिले खोला हिँडेको छ, तर यो वडा भवनसँगै मेरो इतिहास पनि मेटिएकामा सारै दुःख लागेको छ ।” वडाध्यक्ष थापाको बाह्रमुरीमा रहेको धानखेत पनि गत आइतबार आएको बाढीका कारण बगरमा रुपान्तरण भएको छ ।

    उनलाई आफ्नो निजी सम्पत्तिमा पुगेको क्षतिभन्दा वडा कार्यालय भवन ढलेकामा बढी पिरलो छ । स्थानीयवासी पनि वडाको ‘गहना’का रुपमा रहेको वडा कार्यालय भवन बाढीमा बग्दा चिन्तित रहेको वडाध्यक्ष थापाले सुनाए । वडा कार्यालयका अभिलेखसहित केही महत्वपूर्ण सामग्री÷उपकरण बचाउन सकिएपनि सबैको पहलमा बनेको भवनसहित सरकारी सम्पत्ति नास हुँदा दुःख लागेको उनको भनाइ छ । “अहिलेपनि म राम्रोसँग निदाउन सकेको छैन, अझै पनि ढलेको भवनभित्रबाट केही सामान झिक्न सकिन्छ कि भनेर यहाँ आइरहन्छु, मेरो मन–आत्मा त्यहीँ भवनमा छ”, उनले भने ।


    विसं २०७४ को स्थानीय तह चुनावमा थापा वडाध्यक्षमा निर्वाचित भएपछि उनीसहित स्थानीयवासीको विशेष पहल र नगरपालिकाको रु। ८० लाख बजेटबाट वडाको कार्यालय भवन निर्माण भएको थियो । दोस्रो कार्यालय पनि वडाध्यक्ष बनेका थापाले भवनलाई सुविधायुक्त बनाउन स्रोतसाधनको आवश्यक जोहो गरेका थिए ।
    चिटिक्कको भवन छिनभरमै ढल्दा मन भारी भएको उनको भनाइ छ ।

    वडाको बजेट र स्थानीयवासीको सहयोगबाट तीन रोपनी जग्गा खरिद गरी भवन बनाइएकामा अहिले नामोनिसान नरहने गरी भवन र जग्गा बाढीले बगाएको हो । भवनसँगै झण्डै १५ लाख रुपैयाँमा जडान गरिएको सौर्य उर्जामा पनि क्षति पुगेको वडाध्यक्ष थापाले बताउनुभयो । नदीले कटानले भवनमा जोखिम बढ्दै गएपछि स्थानीयवासी मिलेर कम्युटर, ल्यापटपलगायत केही महत्वपूर्ण सामान भवनबाट झिक्न सफल भएका थिए ।

    दरमखोलाको बहावले जमिन छिचोल्दै गएपछि आइतबार बेलुका ४ बजेतिर वडा भवन खोला किनारमा ढलेको थियो । जगैदेखि ढलेपनि भवनको माथिल्लो संरचनामा भने खासै क्षति नपुगेको स्थानीयवासी हुमलाल ढकालले बताए । “भवनको संरचना बलियो रहेछ, जगबाटै पल्टदाँ पनि भवनको झ्यालको सिसासमेत फुटेको छैन”, उनले भने, “खोलाको कटानले जग खल्बलिएर ढलेको भएपनि भवन सग्लै छ ।”

    बाढीले वडा कार्यालय नजिक रहेको ढकालको घर पनि जोखिममा परेको छन् । “पानी पर्यो भने घर छाडेर हिँड्नुपर्ने अवस्था छ”, ढकालले भने, “बाढी प्रभावितको राहत र पुनःनिर्माणमा सरकारले ध्यान दिओस् भन्ने हाम्रो माग छ ।” बाढीले वडा नं। ९ का केही घरगोठ र ठूलो मात्रामा धानखेत बगाएको छ । बाह्रमुखी, टिमुरबोटलगायत फाँटमा पाक्नै लागेको धानसँगै खेत बाढीले उजाडेपछि किसान पीडामा छन् ।

    गलकोट नगरपालिकाले क्षतिको एकीन विवरण सङ्कलन गर्ने काम भइरहेको जनाएको छ । प्राररम्भिक विवरण अनुसार बाढीपहिरामा कारण गलकोठ नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ । ‘रिसोर्ट’लगायत व्यावसायिक संरचनामा पनि क्षति पुगेको जनाइएको छ । नगर प्रमुख भरत शर्मा गैरेले सरकारी र निजी गरी करोडौँको भौतिक सम्पत्तिमा क्षति पुगेको बताए । “बाढीका कारण गलकोटमा मानवीय क्षति नभएपनि ठूलो भौतिक क्षति भएको छ”, उनले भने, “बाढीपहिरो प्रभावित परिवारका लागि तत्काल राहतसँगै पुनःनिर्माणका काममा योजना बनाएर काम गर्छौँ ।”

    यही असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षासँगै निम्तिएका बाढीपहिराका घटनाबाट गलकोटसहित जिल्लाका अधिकांश स्थानीय तह प्रभावित बनेका छन् । पहिरामा परी जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति पुगको छ ।