Author: Vishwanews.com

  • भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला

    भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला

    १४ असोज, काठमाडौं । भोटेकोशी बाढीमा बेपत्तामध्ये मङ्गलबारसम्म एक हजार ४५४ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तत्थ्याङ्कअनुसार रसुवामा २३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासीमा २२२ जनाको शव फेला परेको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३४ शव व्यवस्थापन गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ ।

  • बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

    काठमाडौँ, १४ असोजः बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ धोबीघाट हाइटबाट पक्राउ गरेको हो ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी विरुद्ध बैङ्किङ कसुर मुद्दामा चितवन जिल्ला अदालत, भरतपुरबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन पठाइएको प्रहरीले जनाएको छ ।

  • रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

    रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

    रसुवा, १३ असोजः विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो । भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले ती केन्द्र सञ्चालनमा ल्याइएका हुन् ।

    हालसम्म स्थापना गरिएका केन्द्रमध्ये नौ वटा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी चार वटा सञ्चालनको क्रममा छन् । हाल सञ्चालनमा रहेका केन्द्रमा ४६२ जना बालबालिकाले आश्रय पाएका छन् । केन्द्रमा आउने बालबालिकाको उमेर र आवश्यकताअनुसार खेलकुद, मनोरञ्जन, सिकाइ, सिर्जनात्मक, मनोसामाजिक सहयोगसम्बन्धी गतिविधि सञ्चालित छन् ।

    केन्द्रले बालबालिकालाई विपद्पछिको परिस्थितिमा सुरक्षित र सकारात्मक वातावरणमा आफ्ना भावना व्यक्त गर्न, साथीसँग घुलमिल हुन र रचनात्मक कार्यमा सहभागी हुन ठूलो अवसर प्रदान गरेको छ । हाल ती केन्द्रमा २१९ जना बालक र २४३ जना बालिका छन् । उमेर समूहका आधारमा पाँच वर्षभन्दा कम उमेरका ८८ जना र पाँच वर्ष उमेर समूहभन्दा माथिका ३७४ जना छन् । केन्द्रमा सहभागी बालबालिकामध्ये एक जना अपाङ्गता भएका रहेको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ ।

  • कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिए । यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका जारी निर्धारित समयभन्दा दुई दिनपछि सारिएको हो ।

    “पार्टीको महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्, यसैबीचमा देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशन असोज १८ गतेसम्मका लागि सारिएको हो”, उनले भने । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।

  • प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

    प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

    काठमाडौँ, १३ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सो विश्वविद्यालयले सैन्य प्रकृतिको तालिम नदिने स्पष्ट पारिन् ।

    बदलिँदो विश्वमा राष्ट्रिय सुरक्षालाई युद्ध वा सैन्य सुरक्षा मात्रै भनेर बुझ्न नहुने भन्दै मन्त्री गौतमले अन्तरराष्ट्रिय सम्बन्ध, कूटनीति, आर्थिक तथा सुरक्षा कूटनीति, राष्ट्रिय सुरक्षा र रणनीतिक अध्ययन एवं साइबर सुरक्षालगायत विषय राष्ट्रिय सुरक्षामा समावेश हुने बताइन् । यी विषय पढाउन विशिष्टीकृत संस्थाको आवश्यकता थियो । त्यसैले यस विधेयकमा सैनिक तथा गैरसैनिक कर्मचारीका लागि उच्चस्तरीय प्राज्ञिक अध्ययन, अध्यापन र अनुसन्धान सञ्चालन गर्ने परिकल्पना गरिएको छ”, उनले भनिन्, “मित्र राष्ट्रका सैनिक र गैरसैनिक अधिकारीसमेत यहाँ आएर अध्ययन गर्न सक्नेगरी यो विधेयकमा परिकल्पना गरिएको छ ।”

    विधेयकले विश्वविद्यालय सभा, कार्यकारी परिषद्, प्राज्ञिक परिषद् तथा ‘बोर्ड अफ ट्रस्टी’ जस्ता अलग–अलग संस्थागत संरचनाको परिकल्पना गरेको उनले जानकारी दिइन् । विधेयकले नीति तथा संस्थागत उत्तरदायित्व र दैनिक प्राज्ञिक कार्यबीच आवश्यक दूरी कायम राखेको उनको भनाइ छ । विश्वविद्यालयबाट राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक नेतृत्व, अन्तरराष्ट्रिय सम्बन्ध, कूटनीति, आर्थिक कूटनीतिलगायत कक्षा सञ्चालन हुनेछन् ।

    “नेपालमा धेरै विश्वविद्यालय छन्, सामान्य अर्को विश्वविद्यालय थप्नु होइन, राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका विषयमा नेपालभित्रै उच्चस्तरीय शिक्षा, अनुसन्धान, रणनीतिक विश्लेषण र नीतिगत ज्ञान उत्पादन गर्न सक्ने स्वायत्त, विश्वसनीय र राष्ट्रिय संस्था निर्माण गर्नु हो”, उनले भनिन् ।


    मन्त्री गौतमले संसद्को छलफलबाट विश्वविद्यालयको स्वायत्तता, नागरिक–सैनिक सहभागिता, प्राज्ञिक स्वतन्त्रता र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट र सुदृढ बनाउन सकिने धारणा राखिन् । बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद बिक्रम थापाले सैनिक र गैरसैनिक अधिकारीलाई राष्ट्रिय सुरक्षा, राष्ट्रिय प्रतिरक्षा, रणनीतिक मामिला र सामरिक महत्त्वबारे विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धान गरिने विषय स्वागतयोग्य भएको बताए ।


    सांसद भरत गिरीले प्रतिरक्षा विश्वविद्यालयलाई अर्को विश्वविद्यालयको सङ्ख्या थपमा रूपमा मात्र नभई आफ्नै रणनीतिक ज्ञान र अनुसन्धान क्षमता विकास गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे । सांसद खुश्बु ओलीले प्रतिरक्षा विश्वविद्यालयलाई सुरक्षा अध्ययन र सैनिक शिक्षामा मात्र सीमित नगरी कूटनीति, सङ्कट व्यवस्थापन, साइबर र जलवायु सुरक्षा, अर्थतन्त्र र अन्तरराष्ट्रिय सम्बन्धसँग जोड्नुपर्ने बताइन् ।


    सांसद रमेशकुमार मल्लले विधेयकको मूल अवधारणा राष्ट्रिय सुरक्षा र ज्ञान उत्पादनका दृष्टिले महत्त्वपूर्ण रहेको भन्दै संसदीय समितिमा दफावार छलफलका क्रममा यसको स्वायत्तता, शैक्षिक स्वतन्त्रता, नागरिक–सैनिक सम्बन्ध, पारदर्शीता, अनुसन्धानको गुणस्तर र सुरक्षा संवेदनशीलताको स्पष्ट सीमा निर्धारण गर्नुपर्ने बताए ।
    सांसद पुष्पराज कँडेलले विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई विधेयकमा परिभाषित गरिनुपर्नेमा जोड दिए । सांसद राम लामाले सत्ता परिवर्तनसँगै विश्वविद्यालयका पदाधिकारीहरू परिवर्तन हुने परम्परा अन्त्य गर्नुपर्ने धारणा राखे । सांसद बलावती शर्माले राष्ट्रिय सार्वभौमिकता, अखण्डता र स्वाधिनताको प्रतिनिधित्व सो विश्वविद्यालय गर्न सक्छ भनी प्रश्न गरिन् । सांसद युवराज दुलालले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता सुनिश्चिता नगरेसम्म विधेयकमा प्रस्तुत भद्दा संरचनाले नयाँपन दिन नसक्ने जिकिर गरे ।


    सांसदहरू नितिमा भण्डारी (कार्की), करिष्मा कठरिया, टुकाभद्रा हमाल, रिमा विश्वकर्मा, कमल सुवेदी, धर्मराज केसी, यज्ञमणि न्यौपाने, भरतप्रसाद पराजुली, सरस्वती लामा, आनन्दबहादुर चन्द, बोधनारायण श्रेष्ठ, सुशील खड्का, एशुदाकुमारी बराल, मधुकुमार चौलागाई, परशुराम तामाङ, कृष्णहरि बुढाथोकी, पार्वती विक, ताराप्रसास जोशी, साजिदा खातुन सिद्धिकी, ज्ञानु पौडेल, ओजस्वी शेरचन र गणेश कार्कीले विश्वविद्यालयले साइबर सुरक्षा, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, कृत्रिम बुद्धिमत्ता र रणनीतिक सञ्चारलगायत विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते अपराह्न १ः०० बस्नेछ ।

  • अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली

    अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन : अध्यक्ष ओली


    काठमाडौँ, १३ असोजः नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताएका छन् । हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई आज भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुने जनाउ दिए । एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक यही असोज ५ देखि ८ गतेसम्म ललितपुरमा भएको थियो ।

    लोकतन्त्रको रक्षा र अब हुने स्थानीय तहको निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले अर्जुनदृष्टि लिएर लक्ष्यमा केन्द्रित हुन आग्रह गरे । अन्य कुनै दलसँग तत्काल पार्टी एकता नहुने तर चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुनसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

    अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला वा कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ नबनी स्थलमै गएर योजना बनाउन निर्देशन दिए । पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट सञ्चालित भर्चुअल कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ विष्णुप्रसाद पौडेल, रघुजी पन्त, महासचिव शङ्कर पोखरेललगायत नेताहरूको उपस्थिति थियो ।

  • मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

    मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती


    गण्डकी, १३ असोजः बागलुङको गलकोट नगरपालिका १ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो । सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उनी समयमा अस्पताल पुग्न सकिनन् ।


    बागलुङ खण्डको सडक सञ्चालनमा आएपछि आज बिहान सदरमुकामसम्म आएकी बुढाथोकीलाई पवर्त हुँदै पोखरा आइपुग्न अर्को सास्ती व्यहोर्नुपर्‍यो । बागलुङ बजारबाट झोलुङ्गे पुल तरेर पर्वतको अदुवाबारी हुँदै पाङसम्म करिब ४५ मिनेट हिँडेपछि मात्र उनले पोखराका लागि गाडी भेटाइन् । बागलुङ र पर्वतको सीमा मालढुङ्गामा कालीगण्डकी नदीमाथिको पुल भत्किएपछि यात्रुहरू कठिनाइ सहँदै वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् ।

    मालढुङ्गाको पुलसँगै पर्वतको कुश्मा नगरपालिका-२ नयाँपुलमा कालीगण्डकी नदीले सय मिटरभन्दा बढी सडक कटान गरेपछि मध्यपहाडी लोकमार्ग भएर बागलुङ, पोखरा हुँदै बाहिरी गन्तव्यमा जाने यातायात सेवा प्रभावित बनेको छ । लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट लोकमार्ग हुँदै काठमाडौँका लागि छुट्ने यातायातका साधन पनि सञ्चालनमा आउन सकेका छैनन् ।

    मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लोकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अप्ठ्यारोमा परेका छन् । बिरामी लिएर पोखरा आउनुभएका बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाका प्रेम श्रीसले मालढुङ्गाको पुल छिटो पुनर्निर्माण गर्नुपर्ने बताए । “बागलुङ जोड्ने मुख्य सडक र पुलमा क्षति पुगेकाले आवातजावत र ढुवानीमा ठूलो समस्या देखिएको छ”, उनले भने, “राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले जतिसक्दो चाँडो लोकमार्ग सञ्चालनमा ल्याउनुपर्छ ।”

    धवलागिरि–गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले वैकल्पिक सडक प्रयोग गरेर मुश्किलले साना सवारीसाधन मात्र सञ्चालन भइरहेको बताए । “बस सञ्चालन गर्न सक्ने अवस्था छैन, सबैभन्दा समस्या बिरामीलाई परेको छ”, उनले भने, “आज बिहानमात्रै बागलुङबाट बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था आयो ।” उनले लोकमार्गमा क्षति पुगेका सडक-पुलको पुनर्निर्माणमा सरकारले तदारुकता देखाउनुपर्ने बताए ।


    बागलुङबाट पोखरालगायत गन्तव्यमा छुट्ने साना सवारीसाधन कालीगण्डकी करिडोर भएर ज्यामिरेघाट–फलेवास हुँदै झण्डै एक घण्टाको फेरो बाटोबाट लोकमार्गमा निस्कने गरेका छन् । बागलुङ–पोखरा चल्ने विद्युतीय माइक्रोबसले बागलुङ बजारबाट हिँडेर पर्वतको पाङसम्म आइपुगेका यात्रुलाई अर्मादी हुँदै पोखरा ल्याउन वैकल्पिक सडक प्रयोग गरिरहेको माइक्रोका चालक सुवास परियारले बताए ।


    “मालढुङ्गाको पुल नै भत्केपछि ठूलो समस्या भएको छ, यो पुल छिटो बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने जरुरी छ”, उनले भने, “चाडपर्वको बेला छ, यो बेला हामीले पनि धेरै यात्रुलाई सेवा दिने समय हो, तर सडक अवरुद्ध हुँदा समस्या भइरहेको छ ।” कालीगण्डकी करिडोरबाट फलेबास हुँदै आउने सडक पनि वर्षाले क्षति पुर्याएका कारण यात्रा सहज नरहेको उनको भनाइ छ ।

    पर्वतका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले नयाँपुलमा सडक कटान गरेको ठाउँमा अस्थायी रूपमा नयाँ मार्ग खोल्ने काम सुरु भइसकेको बताए । एकदुई दिनमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको उनको भनाइ छ । मालढुङ्गाको पुलमा क्षतिग्रस्त भएको ठाउँमा ‘बेलीब्रिज’ राख्ने कि अन्य प्रविधिबाट पुनर्निर्माण गर्ने भन्ने विषय एकिन भइनसकेको प्रजिअ क्षेत्रीले बताए ।


    “सम्बन्धित क्षेत्रका इन्जिनियर र प्राविधिकहरूबाट पुलको अध्ययन तथा अवलोकन भइसकेको छ, यथाशक्य छिटो पुल सञ्चालनमा ल्याउन पहल भइरहेको छ”, उनले भने। कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अवरूद्ध गरेको थियो ।

    कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा आए पनि ठूलो क्षति पुगेका ठाउँमा यातायात सहज हुन अझै केही समय लाग्ने देखिएको छ । नेपालको उत्तरीनाका चीनको कोरलासँग जोडिएको मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडक पनि सञ्चालनमा आउन सकेको छैन ।

  • बाढी प्रभावित प्रहरीका सन्नतिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

    बाढी प्रभावित प्रहरीका सन्नतिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

    काठमाडौँ, १३ असोजः नेपाल प्रहरीले कर्तव्यपालनाको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीको सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।


    उनीहरूलाई आवश्यकताअनुसारका सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने बैठकको निर्णय छ । जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीको त्याग र समर्पणको उच्च मूल्याङ्कन गर्दै सो कदम चालिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

  • रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

    रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय


    रसुवा, १३ असोजः भोटेकोशी नदीमा आएको विनासकारी बाढी र विपद्पछि सिर्जित जटिल अवस्थालाई सम्बोधन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले १२ बुँदे निर्णय गरेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख निरध्वज घर्तीमगरको अध्यक्षतामा बसेको सरोकार भएका निकायका प्रतिनिधि सहभागी बैठकले बाढीबाट भएको क्षति, स्वास्थ्य सेवा प्रवाह तथा आगामी कार्ययोजनासम्बन्धी निर्णय पारित गरेको हो ।

    बैठकले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बाढीका कारण नौकुण्ड गाउँपालिकामा भौतिक क्षति नभए पनि मानवीय, स्वास्थ्य तथा जनजीवनमा गम्भीर असर पुगेकाले उक्त गाउँपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सम्बन्धित अधिकारप्राप्त निकायसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको जनस्वास्थ्य प्रमुख घर्तीमगरले जानकारी दिए ।


    उनका अनुसार बाढीका कारण सडक सञ्जाल विच्छेद भई गम्भीर बिरामीहरूको प्रेषण (रेफर)मा जटिलता उत्पन्न भएकाले न्यूनतम छ महिनाका लागि जीवजिवे ग्रामीण अस्पताल र दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सक (एमडिजिपी), एनेस्थेसिया सहायक तथा छात्रवृत्ति करारका मेडिकल अधिकृत उपलब्ध गराउन बागमती प्रदेश सरकारसँग माग गरिएको छ ।

    भौगोलिक विकटताका बीच स्वास्थ्य सेवा पुर्याउन दोबोतेम्बा फुर्पु आधारभूत अस्पतालमा सञ्चालित टेलिमेडिसिन कार्यक्रमलाई थप सुदृढ गरिने भएको छ । बाढीले स्याफ्रुबेँसी स्वास्थ्यचौकी पूर्ण रूपमा क्षतिग्रस्त भएकाले खोप सेवाको निरन्तरताका लागि गोसाइँकुण्ड गाउँपालिकाको कोल्डचेन सबसेन्टर रसुवा स्वास्थ्यचौकीमा कायम गर्ने निर्णय गरिएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरहरूमा ‘सामुदायिक आँखा केन्द्र, रसुवा’लाई पनि सहभागी गराइने कार्यालयले जनाएको छ ।

    बैठकले आर्थिक वर्ष २०८२–८३ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम आगामी असोज २१ र २२ गते आयोजना गर्ने निर्णयसमेत गरेको छ । बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाले समीक्षा गर्न नसकेको अवस्थामा सहज भएपछि मात्र गर्ने र अन्य पालिकाहरूमा दसैँलगत्तै पालिकास्तरीय समीक्षा गरिने जनस्वास्थ्य प्रमुख घर्तीमगरले बताए । बाढीबाट क्षति पुगेका स्वास्थ्य संस्थाहरूको तथ्याङ्क सङ्कलन र प्रतिवेदन प्रणालीलाई नियमित गर्न पालिकाका तथ्याङ्क फोकल पर्सनहरूलाई जिम्मेवारी दिइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

  • अख्तियारद्वारा १० जनामाथि आरोपपत्र दायर

    अख्तियारद्वारा १० जनामाथि आरोपपत्र दायर

    काठमाडौँ, १३ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाले आर्थिक हिनामिना गरेका भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

    आयोगले सो नगरपालिकामा आव २०७६\७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त रु १६ लाख ७२ रकम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त सर्शत अनुदान रकम तोकिएको कुनै कार्यक्रम नगरी हिनामिना तथा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर गरेको हो ।

    आयोगले मिलेमतो गरेको भन्दै राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं १ का तत्कालीन वडाध्यक्ष रमेश न्यौपाने, वडा नं ३ का तत्कालीन वडा सदस्य ओजराज पौडेल, वडा नं ४ का तत्कालीन वडाध्यक्ष जैमान गुरुङ, वडा नं ५ का तत्कालीन वडाध्यक्ष नन्दबहादुर कुमाल, वडा नं ६ का तत्कालीन वडाध्यक्ष रूकबहादुर तामाङ गुरुङ, वडा नं ८ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद लामिछाने र वडा नं ७ का तत्कालीन वडाध्यक्ष माधवप्रसाद पराजुलीलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा फरकफरक बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर हुन माग दाबी गरिएको बताए ।

  • राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    काठमाडौँ, १३ असोजः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् ।
    राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरे । नेपालका लागि आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।


    भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका थिए । उनले हालै बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकामा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत व्यक्त गरे । त्यस अवसरमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच कैयौँ विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्‍याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

  • बाढी–पहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन

    बाढी–पहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौँ, १३ असोज स् सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडि (अर्याल) लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनःस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिए ।


    छलफलमा उनले प्राकृतिक विपत्तिका कारण सञ्चार सेवा अवरुद्ध हुँदा प्रभावित नागरिक, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, सरकारी निकाय तथा अन्य सरोकारवाला निकायलाई समेत कठिनाइ हुने भएकाले सञ्चार सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए । सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत् संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भएगरेका कामबारे समेत जानकारी लिएका थिए । उनले तत्काल विद्युत् आपूर्ति पुर्‍याउन नसकिने स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालनमा ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए ।


    छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालले बाढी तथा पहिरोका कारण टेलिकमका विभिन्न साइटमा पुगेको क्षति र सेवा पुनःस्थापनाका लागि भइरहेको कामबारे जानकारी गराए । उनका अनुसार अधिकांश प्रभावित टावरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको थियो । सडक तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेका कारण केही स्थानमा प्राविधिक टोली तथा आवश्यक उपकरण लैजान कठिनाइ भएको छ ।

    विद्युत् आपूर्ति तत्काल पुनःस्थापना गर्न सम्भव नभएका स्थानमा हेलिकप्टरमार्फत जेनेरेटर तथा आवश्यक उपकरण ढुवानी गरी सेवा सञ्चालनमा ल्याउनुपर्ने अवस्था रहेको प्रमुख सञ्चालन अधिकृत सिलवालले जानकारी गराए । केही स्थानमा सेवा सञ्चालनका लागि आवश्यक सामग्रीसँगै प्राविधिक जनशक्तिसमेत हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको उनले बताए ।


    नेपाल टेलिकमले अवरुद्ध सेवा पुनःसञ्चालनका लागि आवश्यक जनशक्ति तत्काल परिचालन गरेको र प्रभावित साइटलाई प्राथमिकताका आधारमा पुनःसञ्चालन गरिरहेको जनाएको छ । सडकमार्गबाट पुग्न नसकिने तथा विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक व्यवस्था गरी सेवा सञ्चालनमा ल्याउने काम भइरहेको पनि टेलिकमले जनाएको छ ।

    एक हजार दुई साइट पुनःसञ्चालन

    टेलिकमका अनुसार यही असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण विद्युत् आपूर्तिसमेत अवरुद्ध हुँदा एक हजार १३२ वटा टेलिफोन टावर प्रभावित भएका थिए । तीमध्ये हालसम्म एक हजार दुई वटा साइट पुनःसञ्चालनमा आइसकेका छन् भने १३० वटा साइट अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसकेका टेलिफोन टावरलाई शीघ्र सञ्चालनमा ल्याउनका लागि विद्युत् आपूर्ति, उपकरण, प्राविधिक जनशक्ति तथा ढुवानी व्यवस्थालाई प्रभावकारी रूपमा परिचालन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिए ।


    टेलिकमले उपलब्ध गराएको विवरणअनुसार हाल म्याग्दीमा २४, रोल्पामा १९, मनाङमा १५, प्युठानमा १५, बागलुङमा १३, पाल्पामा ११, गुल्मीमा नौ, अर्घाखाँचीमा सात, दाङमा छ, मुस्ताङमा चार र पर्वतमा तीनवटा टेलिफोन टावर सञ्चालनमा आउन बाँकी छन् । त्यस्तै, कपिलवस्तु, नवलपरासी, गोरखा, लमजुङ, रूपन्देही, स्याङ्जालगायत जिल्लामा पनि केहि टेलिफोन टावर अझै सञ्चालनमा आउन सकेका छैनन् । प्रभावित जिल्लाका बाँकी साइटमा समेत प्राविधिक टोली परिचालन गरी सेवा पुनःसञ्चालनको काम भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

  • सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

    काठमाडौँ, १३ असोज । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २० दशमल सात मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

    मन्त्रिपरिषद्ले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक खण्ड, गजार्ड खोला साना जलविद्युत् आयोजना तथा ४० मेगावाट क्षमताको बलेफीखोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ । सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोष्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न पनि स्वीकृति दिइएको छ । बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेका विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

    मन्त्रिपरिषद्ले प्रशासनतर्फ दुई उच्च अधिकारीको बढुवा तथा पदस्थापनसमेत गरेको छ । सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ । नेपाल इञ्जिनियरिङ सेवातर्फका डा जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।

  • सञ्चारमन्त्री डा तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

    सञ्चारमन्त्री डा तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

    काठमाडौँ, १२ असोज : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो । उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा थिए ।


    तर देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र निरन्तर वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि सञ्चारमन्त्री तिमिल्सिनाले पूर्वनिर्धारित कोरिया भ्रमण स्थगित गरेका हुन् । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएको थियो । त्यसैगरी असोज ८ देखि ११ गतेसम्म भएको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा पुनः बाढीपहिरो तथा डुबानका घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिका साथै सडक, पुल, विद्युत्, सञ्चारलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । विपद्बाट प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन् ।

    सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार, राहत, समन्वय तथा प्रभावित नागरिकसँगको सम्पर्कमा कठिनाइ भइरहेको अवस्था सञ्चार सम्पर्कलाई यथासक्य नियमित र प्रभावकारी बनाउनु सरकारको महत्वपूर्ण दायित्व बनेको छ ।

    यही परिस्थितिलाई ध्यानमा राख्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले मुलुकभित्रको विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना र निरन्तरतासम्बन्धी कामलाई प्राथमिकता दिनुभएको मन्त्रालयले जनाएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार कोरिया भ्रमणमा सहभागी हुन नसक्ने जानकारी आयोजक पक्षलाई गराउन सञ्चार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । भ्रमण स्थगनको मुख्य कारण मुलुकका विभिन्न क्षेत्रमा विपद्का कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा सञ्चार सेवा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको सञ्चार मन्त्रालयले जनाएको छ ।

  • पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    काठमाडौँ, १३ असोज , सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सुरक्षा खतरा देखिएपछि सुरक्षित स्थानमा सारिएको जनाएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको दावि गरे ।

    राणाको मोबाइलमा ‘टेक्स्ट मेसेज’ मार्फत सुरक्षा धम्की आएको र सोही आधारमा सुरक्षा निकायले उनलाई सुरक्षित स्थानमा सारेको मन्त्री पोखरेलले बताए । “उहालाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिइएको पनि होइन । उहाँको परिवारबाट थप सुरक्षा माग गर्दै निवेदनसमेत परेकाले सुरक्षाका लागि उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो”, मन्त्री पोखरेलले भने । उनका हाँअनुसार राणालाई आएको धम्की ‘जेनजी’ समूहबाट नभई कुनै अपरिचित समूहबाट आएको थियो ।

  • प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दावी

    प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दावी

    पेरिस, १३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ । अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो । यो दवावपूर्ण अभियान अन्तर्गत इरानले ‘आर्थिक श्वासरोध’ हुने दाबी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए । वासिङ्टनले विदेशी कम्पनीहरूलाई सेप्टेम्बर २३ सम्म यो प्रतिवन्धलाई पालना गर्न समय दिएको थियो । त्यसपछि बेसेन्टले सबै इरानी एयरलाइन्सहरू ‘विश्वभरि बन्द हुने’ दावी गरेका थिए ।


    उनले भने, “यदि उनीहरू अवतरण गर्छन् भने, “तपाईंले उनीहरूलाई इन्धन नदिनूहोस्, अवतरण सेवा नदिनूहोस्, टिकट नबेच्नुहोस् । अन्यथा तपाईं डलर प्रणालीबाट बाहिरिनुहुनेछ।” अमेरिकी कदमलाई अवैध भन्दै तेहरानले सोमबार संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय न्यायालयमा उजुरी दिएको घोषणा गरेको छ।

    –तेहरानबाट ३० अन्तराष्ट्रिय गन्तव्यतर्फ उडान–

    इरानले भने तेहरानबाट मात्रै करिब ३० अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा जारी राखेको दाबी गरेको छ । ‘ट्र्याकिङ वेबसाइट’ फ्लाइटरडार–२४ का अनुसार आइतबार तेहरान अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ४१ उडान उडे वा अवतरण गरेका थिए । प्रतिबन्ध लागू हुनुअघिका दुई दिनको दैनिक औसत ८० देखि ९० उडानको तुलनामा यो कम हो।

    दुई मुख्य इरानी एयरलाइन्स इरान एयर र निजी स्वामित्वको महान एयर प्रतिवन्धबाट सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । आइतबार तेहरान विमानस्थलबाट उडेका २४ उडानमध्ये केवल पाँच महान एयर र दुई इरान एयरद्वारा सञ्चालित थिए । प्रतिबन्धअघि प्रत्येकले करिब १० उडान भर्थे ।

    यी आँकडाले बेसेन्टले भनेको ८० देखि ९० प्रतिशत उडान अवरूद्धता भएको भनेभन्दा बढी सङ्कट देखिन्छ भने तेहरान विमानस्थलले आइतबार ६० उडान सञ्चालन गरेको दाबीभन्दा यो निकै कम हो । इरानी राष्ट्रिय टेलिभिजनमा प्रशारित समाचारमा विमानस्थल निर्देशकलाई उद्धृत गर्दै भनिएको छ “करिब ३० वा त्योभन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यहरूमा अझै सेवा दिइँदै आएको छ।”

    –चीन, रूस र टर्कीद्वारा प्रतिबन्ध अस्वीकार–

    तेहरानको प्रमुख आर्थिक सहयोगी बेइजिङले अमेरिकी प्रतिबन्धलाई ‘अवैध र एकपक्षीय’ भन्दै यसलाई पालना गर्न पूर्ण रूपमा अस्वीकार गरेको छ । महान एयरका उडानहरूले चिनियाँ विमानस्थलहरूमा सेवा जारी राखिरहेका छन् । रूस र पाकिस्तानका उडानहरू पनि जारी छन्, यद्यपि कुनै पनि देशले प्रतिबन्धबारे टिप्पणी गरेको छैन । महान एयरलाइन्सका अनुसार महान एयरले टर्कीका अधिकारीहरूको अनुरोधमा टर्कीका उडानहरू रोकेको छ ।

    इरान एयरले भने इस्तानबुलमा दैनिक उडान जारी राखेको छ। साना इरानी ध्वजाबाहकहरूले पनि टर्कीका अन्य शहरहरूमा सेवा दिइरहेका छन्। अर्मेनिया, अफगानिस्तान, बेलारुस र मलेसियामा प्रतिबन्ध अझै लागू भएको छैन । यी देशहरूमा मुख्य रूपमा साना इरानी एयरलाइन्सहरूद्वारा सेवा दिइन्छ । वासिङ्टनले प्रतिबन्ध पालना नगर्ने देशहरूविरुद्ध कुनै कारबाही गर्ने कि नगर्ने घोषणा गरेको छैन ।

    – खाडीमुलुक –

    युरोप, एसिया वा अफ्रिका पुग्न चाहने इरानी यात्रुहरूको प्रमुख केन्द्र संयुक्त अरब इमिरेट्सले आफ्नो क्षेत्रमा सबै इरानी उडानहरू ‘थप सूचना नआएसम्म’ का लागि निलम्बन गरेको छ । कुवेत नागरिक उड्डयन महानिर्देशनालयका एक स्रोतले सोमबार एएफपीलाई बताए अनुसार सात महिनाअघि युद्ध सुरु भएदेखि नै इरानी एयरलाइन्सहरूलाई कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

    अन्य खाडी देशहरूले कुनै घोषणा गरेका छैनन् तर उनीहरूका विमानस्थल वेबसाइटहरू अनुसार उडानहरू निलम्बन गरिएका देखिन्छन् । इरानको आईएसएनए समाचार एजेन्सीले विमानस्थल अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, “इरानी उडानहरू अब अजरबैजान र जर्जिया तथा इराकमा जाने छैनन् । इराक भने प्रतिबन्धबाट छुट खोजिरहेको छ ।”

    इराकी सरकारले शनिबार संयुक्त राज्य अमेरिकासँग इरानी एयरलाइन्सहरूमाथिको प्रतिबन्धबाट छुट पाउन वार्ता गरिरहेको बताएको छ। यसले बिरामी, विद्यार्थी र तीर्थयात्रीहरूको यात्रा प्रभावित पारेको इराकको दावी छ । “इराकी सरकारले यी उपायहरूबाट केही इराकी विमानस्थलहरूलाई छुट दिन अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेको छ,” इराकी प्रधानमन्त्रीको मिडिया कार्यालयले भनेको छ ।

    “छुटले ‘चिकित्सा उपचार, शिक्षा, धार्मिक भ्रमण र नागरिकहरूको हित समावेश मानवीय कारण’ का लागि उडानहरू पुनः सुरु गर्न अनुमति दिनेछ,” कार्यालयले थप्यो। इरानी एयरलाइन्सहरूले मुख्य रूपमा इराकी शिया तीर्थयात्रीहरूलाई इरानका पवित्र शहरहरूमा लैजान्छन् वा इराकका पवित्र स्थलहरूमा जाने इरानीहरूलाई सेवा दिन्छन्। यी उडानहरू इरानमा पढ्ने इराकी विद्यार्थी र त्यहाँ चिकित्सा उपचार खोज्ने बिरामीहरूलाई पनि सेवा दिन्छन् ।

  • प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

    प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

    म्याग्दी, १३ असोजः यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पु¥याएको छ । तीन वटा पोखरीमध्ये बिरामीहरुले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरुका सञ्चालित सानो पोखरी बाढीले भत्काएको छ । कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखेका भवन र खुला स्नानस्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

    “बाढी पहिरोले तातोपानी कुण्डका भौतिक संरचनाहरुमा क्षति पु¥याएकाले तत्कालका लागि स्नान गर्न सकिने अवस्था छैन, कुण्ड बन्द भएको छ,” उनले भने, “पोखरीमा थुप्रिएको बाढी पन्छाएर तातोपानी कुण्ड सञ्चालनमा ल्याउने प्रयासमा छाँै ।” समितिको सोमबार बसेको बैठकले मङ्गलबारदेखि तातोपानीवासीहरुले श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाउने निर्णय गरेको सदस्य मीना जुग्जालीले बताए । पर्यटकीय र प्राकृतिक उपचारस्थलको रुपमा रहेको सिंगा तातोपानी कुण्डको संरक्षण र मर्मतका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।


    असोज–कात्तिक सिंगा तातोपानी कुण्ड स्नान गर्ने मुख्य याम हो । मुख्य याममा कुण्ड बन्द भएपछि तातोपानी बजार सुनसान बनेको छ । होटल, रेष्टुरेन्ट र होमस्टे व्यवसायीहरु निराश भएका छन् । वार्षिक २० हजार जनाभन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारण प्राकृतिक उपचारका लागि आउने गरेका छन् । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा वीरेनुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नान थिए ।

    सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । असोज–कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।

  • अमेरिका मध्यपूर्वबाट ‘पीडादायक प्रहार’ सहेर बाहिरिन बाध्य हुने इरानी सर्वोच्च नेता खामेनीको दावी

    अमेरिका मध्यपूर्वबाट ‘पीडादायक प्रहार’ सहेर बाहिरिन बाध्य हुने इरानी सर्वोच्च नेता खामेनीको दावी

    तेहरान, १३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुने इरानका सर्वोच्च नेता मोजतबा खामेनीले सोमबार बताएका छन् । इरानी राष्ट्रिय टेलिभिजनले प्रसारित गरेको उनको वक्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुनेछ।” खामेनीलाई फेब्रुअरीको अन्त्यमा मध्यपूर्वी युद्ध सुरु भएदेखि सार्वजनिक रूपमा देखिएको छैन । लडाइँ अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासहरू भइरहेका बेला खामेनीका यो भनाइ सार्वजनिक भएको हो ।

    संयुक्त राज्य अमेरिकाको नाम स्पष्ट रूपमा नलिइकन उनको वक्तव्यमा भनिएको छ, “अहिले वीर योद्धाहरू र हर्मुज जलमार्गको रक्षकहरूका हातबाट ‘पीडादायक प्रहार’ सहेर भएपनि उनी (शत्रु) हरू अरब सागरभन्दा पर जान हिचकिचाइरहेका छन् ।” उनले भने, “उनीहरूले यो जोखिम लिएका छन्, उनीहरूले आफैँलाई मात्र हानि पु¥याएका छन् । चाँडै नै अरब सागर पनि उनीहरूको उपस्थितिबाट मुक्त हुनेछ।” अरब सागर, अरब प्रायद्वीपबाट पूर्वतिर भारतसम्म फैलिएको, इरानका तटहरू र हर्मुज जलमार्गमा पुग्ने महत्त्वपूर्ण समुद्री मार्ग हो।

    फेब्रुअरीमा अमेरिका–इजरायली हमला इरानबाट सुरु भएदेखि मध्यपूर्वी युद्धमा इरान र संयुक्त राज्य अमेरिका हर्मुजको नियन्त्रणका लागि लडिरहेका छन् ।
    युद्ध सुरु हुनुअघि यो रणनीतिक ढुवानी मार्गले विश्वको करिब पाँच भागको एक भाग तेल र ग्यास आपूर्तीमा योगदान गर्दै आएको थियो । तर युद्ध सुरु भएपछि तेहरानले हर्मुजमा नाकाबन्दी लगायो, जसका प्रतिक्रिया स्वरूप वासिङ्टनले इरानी बन्दरगाहहरूमा आफ्नो नाकाबन्दी लगाएको घोषणा गरेको थियो ।

  • ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

    ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

    हङकङ, १३ असोज (रासस–एपी) । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सोमबार सार्वजनिक गरेका छन् । यसले दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको केही दिनपछि यो विवरण सार्वजनिक भएको हो । गत वर्ष कुनै समय चीनबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार दर १४५ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय दुई देशबीचको तनाव कम हुँदै गएपछि अमेरिकाले चीनमाथिको केही भन्सार दर घटाइसकेको छ ।

    चिनियाँ वाणिज्य मन्त्रालयले नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग सुदृढ गर्न सहयोग पुग्ने जनाएको छ । चीनले अमेरिकाबाट आयात गर्ने एक हजार ६१९ प्रकारका वस्तु सूचीमा समेटिएका छन् । तीमध्ये कृषि उपज, व्यक्तिगत स्याहारका सामग्री, काठ, चिकित्सा उपकरण र कोइलालगायत छन् । त्यस्तै, अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार कटौती गरिनेछ । यसमा आतिशबाजी, भान्साका भाँडाकुँडा, सिसा तथा काठका क्रिसमस सजावटका सामग्री र फुटबललगायत छन् ।

    चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार ९० प्रतिशतभन्दा बढी वस्तुमा ‘मोस्ट फेभर्ड नेसन’ अर्थात् सबैभन्दा प्राथमिकता प्राप्त राष्ट्रको स्तरको भन्सार दर कायम गरिनेछ । यसले सम्बन्धित देशका लागि लगाइएका अतिरिक्त भन्सार दर अधिकांशतः हट्ने जनाइएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सूचीमा दुवै पक्षका गैरसंवेदनशील वस्तु समेटिएको बताए । उनका अनुसार नयाँ व्यवस्थाबाट अमेरिकी किसान, उत्पादक, व्यवसायी र श्रमिकले चीनको बजारमा थप पहुँच पाउन सक्नेछन् ।

    दुवै देशले आवश्यकताअनुसार सूचीमा संशोधन गर्न सकिने सहमति गरेका छन् । तर यस्तो संशोधन बढीमा वर्षमा एकपटक मात्र हुने सम्भावना रहेको बताइएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार कृषि क्षेत्रमा थप सहकार्यका लागि दुवै देश सहमत भएका छन् । तर चिप, विद्युतीय सवारीसाधन र ब्याट्रीजस्ता रणनीतिक महत्वका क्षेत्र भने सम्झौतामा समेटिएका छैनन् ।

    द्विपक्षीय व्यापार बढ्ने अपेक्षा
    आइएनजी बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री लिन सङले भन्सार कटौतीले दुई देशबीचको व्यापारमा उल्लेखनीय वृद्धि हुन सक्ने बताए । चीनबाट अमेरिका निर्यात हुने उपभोक्ता सामग्रीमा बढी ध्यान दिइएकाले अमेरिकी उपभोक्तालाई पनि लाभ पुग्न सक्ने विश्लेषकको भनाइ छ । फ्रान्सेली बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीका अनुसार चीनबाट आयात हुने उपभोक्ता सामग्रीमा भन्सार घट्दा अमेरिकी मुद्रास्फीति नियन्त्रणमा समेत सहयोग पुग्न सक्छ । यसबाट चिनियाँ कम्पनीलाई अतिरिक्त उत्पादन निर्यात गर्ने अवसर पनि बढ्न सक्छ ।

    यद्यपि, केही विश्लेषकले दुवैतर्फ करिब ३० अर्ब डलर बराबरको कारोबार समेटिएको भए पनि यसको समग्र आर्थिक प्रभाव सीमित हुन सक्ने बताएका छन् । बीएनपी पारिबास वेल्थ म्यानेजमेन्टका एसियाली क्षेत्रका प्रमुख लगानी अधिकृत प्रशान्त भयानीका अनुसार यस वर्षको पहिलो सात महिनामा अमेरिकाबाट चीनतर्फ करिब ६८ अर्ब डलर बराबरका वस्तु निर्यात भएका छन् । पहिलो आठ महिनामा चीनबाट अमेरिकातर्फको निर्यात करिब २७० अर्ब डलर पुगेको छ ।

    चीनको व्यापार बचत उच्च रहने अपेक्षा
    गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी एक दशमलव दुई ट्रिलियन डलर पुगेको थियो । यस वर्ष अगस्टसम्ममा यस्तो बचत करिब ८०० अर्ब डलर पुगेको विश्लेषकहरूले बताएका छन् । अमेरिकाले औद्योगिक क्षमताको अधिकतासम्बन्धी अनुसन्धानअन्तर्गत चीनसहित १६ व्यापारिक साझेदारमाथि छानबिन गरिरहेको छ । अनुसन्धानपछि चीनमाथि थप भन्सार लगाउन सक्ने सम्भावना पनि रहेको छ ।

    यसैबीच, अमेरिका र चीनले गत साता व्यापक व्यापार युद्धविरामको अवधि थप दुई महिना लम्ब्याउने सहमति गरेका थिए । आगामी नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन र डिसेम्बरमा जी–२० शिखर सम्मेलनमा ट्रम्प र सीबीच थप भेटवार्ता हुने अपेक्षा गरिएको छ । दक्षिण चीनमा क्रिसमस सजावटका सामग्री उत्पादन गरी अमेरिका निर्यात गर्ने केही चिनियाँ व्यवसायीले नयाँ भन्सार व्यवस्थाको स्वागत गरेका छन् । यद्यपि, यस वर्षका अधिकांश क्रिसमस सामग्री मुख्य सिजनअघि नै ढुवानी भइसकेकाले तत्काल यसको प्रभाव सीमित हुन सक्ने उनीहरूको भनाइ छ ।

  • बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    बागलुङ, १३ असोजः बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए ।

    जिल्लामा अविरल वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने विपद् परी एक जना छन् । शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।

  • एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    काठमाडौँ, १३ असोजः जापानमा जारी बीसौँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण सुरु हुन सकेन । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । योसँगै सेमिफाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ ।

    प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तरराष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ । सोही प्रावधानअनुसार श्रीलङ्का सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलङ्का नवौँ तथा नेपाल १४औँ स्थानमा छन् । नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो । समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जापानसँग अङ्क बाँड्नु परेपछि नेपाल समूहबाट अघि बढेको थियो ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ, १३ असोज : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यस्तै, बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्नेछिन् ।

    त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन् । आजै अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

  • सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

    सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

    राँझा १३ असोजः नेपालगन्जमा ठूलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभाहल (सिटी हल) सञ्चालनको पर्खाइमा रहेको छ । नेपालगन्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सङ्घीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उद्घाटन भए पनि हालसम्म सञ्चालन हुन सकेको छैन ।

    रु ३३ करोड ३४ लाख ७५ हजार ३७० लागतमा निर्माण भएको सिटी हल उद्घाटन हुँदा यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको थियो । हल सञ्चालन हुन नसक्दा स्थानीयवासी निराश बन्न पुगेका छन् । सिटी हलमा दैनिकजसो कार्यक्रम हुँदा स्वाभाविक रुपमा चहलपहल बढ्ने भएपनि हाल कुनै गतिविधि नहुँदा सुनसान रहेको नेपालगञ्ज–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्राले बताए ।


    उनले सञ्चालनको जिम्मा लिएको नेपालगन्ज उपमहानगरपालिकाले नगर सभाहल सञ्चालनका लागि विशेष चासोका साथ सहुलियत दर कायम गर्नुपर्नेमा जोड दिए । कुल ७९५ जना अट्ने क्षमताको हल सञ्चालनमा नआउँदा आफूहरु निराश भएको मिश्राको भनाइ छ ।

    नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको ठूलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रुपमा सञ्चालन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताए । “ठूलाठूला सरकारी कार्यक्रम होटलमा हुने गरेका छन्, उता सरकारी नगर सभाहल बन्द अवस्थामा छ”, उनले भने, “नगर सभाहल सञ्चालनका लागि उपमहानगरपालिका नेतृत्वले विशेष चासो दिन जरुरी छ ।”

    नेपालगन्ज सिटी हलमा ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङलगायत पूर्वाधार निर्माण गरिएको छ । सभाहल निर्माण सम्पन्न भएपछि नेपालगन्जमा ठूलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सहरभन्दा टाढा भएकाले सिटी हलमा कुनै गतिविधि सञ्चालन हुन नसकेको बताए । सिटी हल निर्माण भएपछि दुईपटक नगरसभा र दुईपटक राजनीतिक दलका कार्यक्रमबाहेक अरू गतिविधि हुन नसकेको उनले जानकारी दिए ।


    “सिटी हल सञ्चालनको जिम्मा दिन बोलपत्र खोल्यौँ, तर ठाउँका कारणले होला कुनै प्रस्ताव नपरेपछि अहिले नगरपालिकाले नै मान्छे राखेर रेखदेख गर्दै आएको छ”, प्रवक्ता रिजालले भने, “नगरको केन्द्रबाट टाढा भएकाले पनि कार्यक्रम हुन सकेनन् । अहिले कर्मचारीले भवन कुर्ने काम भएको छ ।”

  • ‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

    ‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

    पाँचथर, १३ असोजः यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाडे । सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् ।

    धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गरेका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारलाई बढी माया गर्ने गरेको बताउँछन् । “हामीलाई पाल्ने र बचाउने नै यही हो । हामीले नगद पाउने बाटो अलैँची मात्रै हो”, बेघाले भने, “अलैँची फलाए मात्रै साहुले पनि पत्याउँछन् । यो खेती गर्नेले जे मागे पनि दिन्छन् ।” अलैँची फलाउने कृषकले स्थानीय ग्रामीण बजारबाट वर्षैभरि सामग्री खरिद गर्दा बाँकी पाउने गरेको बेघाको भनाइ छ ।

    अलैँचीबाट जीविकोपार्जन सहज भएपछि कृषकले मुख्य प्राथमिकता दिएका छन् । सुकबहादुर अलैँची नै कृषकको इज्जत भएको बताउँछन् । “हाम्रो इज्जत राख्ने अलैँची भयो”, पूर्णबहादुरले भने, “रच्छ्यान, घु¥यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ ।” कृषक अलैँचीखेतीमा आकर्षित हुनुमा अलैँचीको मूल्य राम्रो हुनु पनि मुख्य कारण हो । गत वर्षदेखि अलैँची प्रतिमन (प्रति ४० किलोग्राम) रु ८० हजारभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । “प्रतिमन रु ८० हजारसम्म पाइयो भने त राम्रो हो । त्यसोहुँदा प्रतिकिलो रु दुई हजार बराबर पर्न जान्छ । त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन”, सुकबहादुरले भने, “अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ ।”

    धनमाया बेघाले पनि खेतबारी मासेर अलैँची विस्तार गरेकी छिन् । “अलैँचीको भाउ पनि राम्रै छ । हात मुख जोड्ने बाटो नै यही भएको छ”, उनले भनिन् ।
    अविरल वर्षापछि गत जेठ ८ गते पहिरो झरेर धनमायाको खोलाखोल्सीमा रहेको अलैँचीको मुख्य बगान बगाइदियो । अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन”, धनमायाले भनिन्, “खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाकी रह्यो । त्यसैबाट अलिक आम्दानी गर्न सकिएला कि ।”

    बिरुवाकै पूर्णबहादुर बेघा धान, मकै, कोदोखेती गर्दा लागत पनि नउठ्ने भएकाले धेरै किसान अलँैचीतर्फ आकर्षित भएका छन् । सोही वडाको चाम्लिङडाँडाका रामकुमार राईको विसं २०८० असार र गत जेठमा पहिरो झरेर झण्डै ३० मन अलैँची फल्ने बारी बगाएको छ । अलैँची उत्पादन नभएपछि आयस्रोतको अन्य कुनै बाटो बाँकी नरहने राईको भनाइ छ ।

    “यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ । अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला”, राईले भने, “हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ । याङवरक–१ मात्रै होइन जिल्लाका ४० बढी वडामा अलैँची उत्पादन हुने गरेको छ ।” पाँचथरमा आर्थिक वर्ष २०८२–८३ मा कुल तीन हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस्तै, कुल एक हजार ३९६.९२ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए ।

  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, १३ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ६१ पैसा बिक्रीदर ४०८ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

  • प्रधान सेनापति ट्रफि शुभारम्भ

    प्रधान सेनापति ट्रफि शुभारम्भ

    काठमाडौँ, १२ असोजः प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफिको सुरुआत भएको हो । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ वटा विधा समावेश गरी सञ्चालन भएको उक्त प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टोली सहभागी छन् ।

    प्रतियोगिताअन्तर्गत आज सम्पन्न पाँच किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाका प्यूठ निर्मला केसी र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा पहिलो भए । उनीहरुलाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गरे । समारोहमा रथीबृन्द, अधिकृत, निर्णायक मण्डल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

  • नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज (बाँके), १२ असोज । नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिँदैछ । सरकारले मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजनाअन्तर्गत यहाँको रङ्गशालालाई फ्लडलाइट जडानसहित स्तरोन्नति गर्न लागेको हो ।

    फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भइ खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताए । “यहाँ गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन छ । फ्लडलाइट जडान भएपछि राति पनि नियमित खेल, अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।” उनले भने, “यसले खेलकुदको दायरा विस्तारका साथै नेपालगञ्जलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्न समेत सहयोग पुर्याउनेछ ।”

    यस्ता कार्यक्रम आधुनिक पूर्वाधार विस्तारसँगै खेलाडी, दर्शक तथा आयोजकलाई समेत सहज वातावरण निर्माण हुनेछ । उक्त प्रविधिको जडानसँगै फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याइएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकासलगायतका पक्षमा सुधारको खाँचो औँल्याए । त्यस रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानीका स्रोत बढ्न गई मर्मत सम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ ।

    नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच यसै साता खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशालालगायत निश्चित खेलकुद पूर्वाधारमा रु २५ करोडसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा मर्मत सम्भारका काम गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रङ्गशालालाई आधुनिक र सुविधा सम्पन्न बनाउन पर्ने माग हुँदै आएको थियो ।

  • अविरल वर्षाले विद्युत् संरचनामा ठूलो क्षति

    अविरल वर्षाले विद्युत् संरचनामा ठूलो क्षति

    काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण विभिन्न विद्युत् संरचनामा क्षति पुग्दा केही विद्युत् उत्पादन केन्द्र आकस्मिक रूपमा बन्द भएका छन् ।
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अवरुद्ध भएका उत्पादन केन्द्रमध्ये केही सञ्चालनमा आउन समय लाग्ने भए पनि वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको सक्रियतामा अधिकांश स्थानमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार बाँकी क्षेत्रमा समेत विद्युत् लाइन सुचारु गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

    प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सहायक कम्पनीमार्फत प्रवद्र्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाइपछि आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । आयोजनाको स्विचयार्डको अवस्था भने सामान्य रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ ।

    दाना–कुस्मा प्रसारण लाइनमा क्षति पुगेका कारण सातवटा जलविद्युत् आयोजना गरी कुल १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन । राहुघाट सबस्टेसनसँग जोडिएका आयोजनामध्ये ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना बाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

    प्रणालीबाट बाहिर रहेका आठवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ । यसैगरी, बाढीका कारण सेती–मादी करिडोरमा अवरुद्ध २६२ मेगावाट तथा मस्र्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाट क्षमताका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । बाढीका कारण अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना पनि आज साँझसम्म सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।

    कालीगण्डकी करिडोरको प्रसारण लाइनमा क्षति

    प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुस्मा प्रसारण लाइनको म्याग्दीस्थित टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिग्रस्त स्थानलगायत अन्य क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने बाटो अवरुद्ध रहेकाले प्रसारण लाइनमा पुगेको क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

    केही क्षेत्रमा विद्युत् आपूर्ति अझै अवरुद्ध

    वर्षाका कारण मनाङ, बागलुङ, मुस्ताङ, तनहुँको झापुटार सबस्टेसन क्षेत्र तथा प्युठानलगायतका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ । म्याग्दी, तनहुँको कुटार सबस्टेसन क्षेत्र, बागलुङ र पूर्वी रुकुमलगायतका क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन भइसकेको छ । बाँकी प्रभावित क्षेत्रमा मङ्गलबारसम्म विद्युत् आपूर्ति सुचारु गर्ने गरी प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

    सुख्खायाममा २३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान
    प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ । माग र आपूर्तिबीच सन्तुलन कायम गर्न भारतबाट विभिन्न माध्यममार्फत थप एक हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

    ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट तथा आरटिसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ । यसअनुसार सुख्खायाममा कुल दुई हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ । गत वर्ष सुख्खायाममा नेपालको उच्चतम राष्ट्रिय विद्युत् माग दुई हजार २९२ मेगावाट रहेको थियो ।

    भोटेकोशी–त्रिशूली बाढीबाट ७४ अर्बको प्रारम्भिक क्षति

    यसैबीच, गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ । बाढीबाट नेपाल विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीका विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा करिब रु ७४ अर्ब बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

  • चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

    चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

    काठमाडौँ, १२ असोजः चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो ।

    उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका समयमा अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी टिकट बिक्री तथा एउटै सिटका लागि धेरै टिकट बिक्रीजस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिनेछ ।

    चाडपर्वका बेला तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र सडकमा सवारीसाधनबीच अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी संयुक्त रूपमा विशेष चेकजाँच तथा अनुगमन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीका अनुसार बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलङ्की, भीमढुङ्गा, साँखुलगायतका मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि विशेष अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ भने लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।

    मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न ब्रेथलाइजर मेसिन प्रयोग गरी जाँच तथा अनुगमनलाई तीव्रता दिइने प्रवक्ता सुवेदीले बताए । दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराई नागरिकलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने गरी अभियान सञ्चालन गरिने छ ।

    चाडपर्वका समयमा मठमन्दिरमा दर्शनार्थीको भीड बढ्ने भएकाले ती स्थानमा पार्किङ व्यवस्थापनका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग तथा महानगर प्रहरीबीच समन्वय गरी एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • दुर्गा प्रसाईँ पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    दुर्गा प्रसाईँ पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १२ असोजः साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि ब्यूरोको टोलीले आज दिउँसो प्रसाईँलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेका प्रसाईँमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।