Author: Vishwanews.com

  • आज सबैभन्दा लामो दिन, अन्तरराष्ट्रिय अयनोत्सव दिवस मनाईंदै

    आज सबैभन्दा लामो दिन, अन्तरराष्ट्रिय अयनोत्सव दिवस मनाईंदै

    काठमाडौँ, ७ असारःआज विश्वका विभिन्न स्थानमा अन्तरराष्ट्रिय अयनोत्सव दिवस (वर्षमा दुई पटक हुने खगोलीय घटना, जब सूर्य पृथ्वीको भूमध्यरेखाको तुलनामा आफ्नो यात्रामा सबैभन्दा उत्तर वा सबैभन्दा दक्षिण बिन्दुमा पुग्ने दिन) विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले अयनोत्सव तथा विषुव (संसारका अधिकांश स्थानमा दिन र रातको अवधि लगभग बराबर हुने दिन)लाई सांस्कृतिक सम्पदा, कृषि परम्परा र मानव सभ्यतासँग जोडिएको महत्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक घटनाका रूपमा मान्यता दिँदै जुन २१ लाई अन्तरराष्ट्रिय अयनोत्सव दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।

    राष्ट्रसङ्घका अनुसार संस्कृति समाज वा सामाजिक समूहका विशिष्ट आध्यात्मिक, भौतिक, बौद्धिक तथा भावनात्मक विशेषताहरूको समष्टि हो । यसले कला, साहित्य, जीवनशैली, मूल्य–मान्यता, परम्परा तथा विश्वासलाई समेटेको छ । सांस्कृतिक विविधता मानवताको साझा सम्पत्ति भएकाले वर्तमान र भावी पुस्ताको हितका लागि यसको संरक्षण, सम्मान र प्रवद्र्धन आवश्यक छ ।

    महासभाले अयनोत्सव र विषुवलाई भूमि उर्वरता, कृषि तथा खाद्य उत्पादन प्रणाली, सांस्कृतिक सम्पदा र हजारौँ वर्ष पुराना परम्पराको प्रतीकका रूपमा स्वीकार गरेको छ । अयनोत्सव र विषुव उत्सवले आपसी सम्मान, शान्ति र असल छिमेकी सम्बन्धका आदर्शका आधारमा विभिन्न समुदाय र राष्ट्रबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।

    खगोलशास्त्रीय रूपमा अयनोत्सव भनेको सूर्यको वार्षिक दृश्यगत मार्ग पृथ्वीको भूमध्यरेखाको तुलनामा सबैभन्दा उत्तर वा दक्षिणतर्फ पुगेको क्षण हो । वर्षमा दुई पटक अयनोत्सव पर्छ । जुन २१ तिर पर्ने ग्रीष्म अयनान्तलाई उत्तरी गोलाद्र्धमा वर्षको सबैभन्दा लामो दिन र गर्मी यामको सुरुआतका रूपमा लिइन्छ भने डिसेम्बर २१ तिर पर्ने शिशिर अयनान्तलाई सबैभन्दा छोटो दिन र जाडो यामको सुरुआतका रूपमा चिनिन्छ ।

    त्यसैगरी, विषुव वर्षमा दुई पटक सामान्यतः मार्च २० र सेप्टेम्बर २३ तिर पर्छ । यस समयमा दिन र रातको अवधि लगभग बराबर हुने भएकाले यसलाई ऋतु परिवर्तनको महत्वपूर्ण सङ्केत मानिन्छ । अयनोत्सव, विषुव तथा तिनसँग सम्बन्धित ऋतुचक्र कृषि, बाली भित्र्याउने समय र जनजीवनसँग घनिष्ठ रूपमा जोडिएका छन् । यही कारण विश्वका विभिन्न संस्कृति र सभ्यताले यिनलाई विशेष पर्व, उत्सव तथा धार्मिक–सांस्कृतिक परम्परामार्फत मनाउँदै आएका छन् । राष्ट्रसङ्घले यस्ता परम्पराबाट मानव समुदायबीच समझदारी, सहिष्णुता र सांस्कृतिक संवाद अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेको छ ।

  • आज अन्तरराष्ट्रिय योग दिवस

    आज अन्तरराष्ट्रिय योग दिवस

    काठमाडौँ, ७ असारः ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । ।

    सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

    नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन सुरु भइसकेको छ ।

    यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन, अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

    प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

    माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्तिमन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

    योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ । जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचारप्रसार भइरहेको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डा हरिप्रसाद पोखरेल बताउँछन् ।


    अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज बिहान ७ः०० बजे राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिअन्तर्गत गर्न लागिएको कार्यक्रममा यस क्षेत्रका अनुयायीहरूको बाक्लो उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा योगासनका साथै यसको महत्वका बारेमा जानकारी गराइने छ । मुख्यसचिवको विशेष उपस्थितिमा हुने आजको कार्यक्रममा जीवनका लागि योग जागरण फैलाउनुपर्नेमा जोड दिइने जनाइएको छ ।

  • कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

    काठमाडौँ, ७ असारः हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान छ ।

    त्यसैगरी, दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भागका केही तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

    महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेस तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

    आज राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको सम्भावना रहेका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ ।

  • अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    म्याग्दी, ७ असारः सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन थालेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

    “अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि त्यहाँको पूर्वाधारले धान्ने भन्दा बढी पर्यटक आउन थालेका छन”, उहाँले भन्नुभयो, “छोटो समयको सहज रूपमा पदयात्रा गरेर पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।”

    विसं २०६७ सम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा रहेको तथ्य जानकारी नै थिएन । कास्कीतर्फमात्र आधार शिविर रहेको भनिएको थियो । अन्नपूर्णको फेदी नारच्याङमा सन् २०१२ आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि प्रभा माविका तत्कालीन प्रधानाध्यापक तेज गुरुङ नेतृत्वको स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको थियो ।

    सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । “प्रथम आरोही हेर्जोगले दिएको जानकारी र सूचनाका आधारमा निलगिरि र अन्नपूर्ण खोलाको किनारैकिनार ६८ ठाउँमा काठको पुल बनाएर सात दिन लगाएर आधार शिविरमा पुगेका थियौँ”, उहाँले भन्नुभयो, “११ वर्षको अवधिमा आधारभूत पूर्वाधार बनाएर तीन वर्षअघिदेखि सञ्चालन गरिएको नारच्याङ–आधार शिविर जोड्ने पदमार्ग ‘भर्जिन’ गन्तव्य बनेको छ ।”

    समुद्री सतहदेखि चार हजार १९० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो । पदमार्गमा अस्थायी टहरा बनाएर सञ्चालन गरिएको रेष्टुरेन्टमा दैनिक ५० जनाको क्षमता भएपछि वसन्त र शरदयाममा दैनिक २०० जनाभन्दा बढी पाहुना आएका भुसकेतका होटल व्यवसायी माइकल पुनले बताउनुभयो ।

    “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ”, उहाँले भन्नुभयो, “एक्यापले ५० पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चारपाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको छ ।”

    आधार शिविरमा तीन वर्षअघिसम्म वसन्तयाममा हेलिकप्टरमार्फत आरोहीमात्र पुग्ने गर्दथे । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ ।

    अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्किन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ ।

    आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता बनेको छ ।

    आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना तथा हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ । सञ्चार, विद्युत्, स्वास्थ्य सुविधाको अभाव र रेष्टुरेन्टहरूको क्षमता कम हुदाँ पाहुना तथा व्यवसायीलाई समस्या भएको छ । सञ्चारको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापन गर्न समस्या हुन थालेको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुल स्तरोन्नति गर्नेुपर्ने अवस्था छ । रासस

  • धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

    बेनी (म्याग्दी), ७ असारः अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्ती । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालोओरालो हिँड्नुपर्ने बाध्यता । विगतका वर्षहरूमा म्याग्दीको धवलागिरि गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट भूगोलको सङ्घर्षका कथाबाट हुने गथ्र्यो । तर समयसँगै त्यो चित्र फेरिँदै गएको छ । सडक पूर्वाधारको विस्तारसँगै धवलागिरिका दुर्गम गाउँबस्तीमा विकासका सुविधा उक्लन थालेका छन् ।

    सडक यातायातको क्षेत्रमा गाउँपालिकाले हासिल गरेको उपलब्धिले वर्षौँदेखि दुर्गम र विकटताको पहिचान बोकेका बस्तीलाई क्रमशः सहज पहुँचको सुविधामा ल्याउन थालेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जामा सडक सञ्जालको पहुँच पुगेसँगै म्याग्दीका ४५ वटै वडामा सडक सञ्जालको पहुँच विस्तार भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

    “यो वर्षमात्रै गुर्जामा सडकको पहुँच पुर्याउन सफल भयौँ, अब यसलाई स्तरोन्नति गरेर नियमित सञ्चालन हुने सडक बनाउनेतर्फ पहल थालेका छाँै, सडक निर्माणले स्थानीयलाई यातयातको सुविधा दिएको छ, सँगै गाउँमा हुने कृषि र पशुजन्य उत्पादनको बजारीकरणमा समेत सघाउने विश्वास लिएका छौँ”, अध्यक्ष पुनले भन्नुभयो । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनसम्म मुना र खोरियाको बीचमा पर्ने मतलाको अक्करे भिरमा रोकिएको सडकलाई गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएर लुलाङ हुँदै गुर्जामा सडक पुगेको हो ।

    प्रदेश र सङ्घीय सरकारका साथै गाउँपालिकाबाट प्राथमिकताका साथ बजेट विनियोजन भएपछि वडा नं २ लुलाङदेखि गुर्जासम्मको करिब २२ किलोमिटर लामो सडकको ट्याक निर्माणले पूर्णता पाएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷८१ देखि लुलाङबाट गुर्जा जोड्ने सडक निर्माण सुरु भएको थियो । पहिलो वर्ष सङ्घ, प्रदेश र स्थानीय सरकारको रु दुई–दुई करोड साझेदारीमा रु छ करोड, दोस्रो वर्ष सङ्घ र स्थानीय सरकारको रु ३५–३५ लाख गरी रु ७० लाख र चालु आवमा सङ्घीय सरकारको रु एक करोड ४० लाख तथा स्थानीय सरकारको रु ३५ लाख गरी रु एक करोड ७५ लाख बजेटलाई ठेक्कामार्फत परिचालन गरेर गुर्जालाई सडक सञ्जालमा जोडिएको गाउँपालिकाले जनाएको छ ।

    सडक सञ्जालको पहुँच नहुँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना आउन सर्वसाधारणले एक दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडक सुविधाले पालिकाको सेवा लिन गाउँपालिका आएका नागरिक एकैदिनमा घर फर्कन सक्ने सुविधा भएको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु गरेको छ ।

    गाउँपालिकाभित्र पछिल्लो चार वर्षको अवधिमा भएका भौतिक पूर्वाधारमध्ये सडक सञ्जालको पहुँच निर्माण सबैभन्दा ठूलो उपलब्धिको रूपमा रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा महतलाको भिरमा रोकिएको सडक लमसुङ, लुलाङ हुँदै गुर्जा, मरेनीदेखि पर्यटकीयस्थल जलजला–गुर्जाघाट हुँदै ढोरपाटन सडक सञ्जालमा जोडिएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने छोटो दूरीको सडक पनि हो ।

    चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि–२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको हो । वडा नं ४ मुदीमा निर्माणाधीन जलविद्युत् आयोजनामार्फत खिबाङ, बगर, दोभान, चेचुङलगायत बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ भने नेरवाङ बस्तीमा सडक विस्तार भइरहेको छ ।

    मुदीको बगर फेदीबाट सिङ्कोस बगरमा र मल्कबाङदेखि भेडिखाल्टा बस्तीमा सडक सञ्जालको पहुँच पुर्याउन बाँकी छ । चालु आवमा गाउँपालिकाबाट विनियोजन भएको रु ३० लाख बजेटबाट सडकको ट्याक निर्माण भए पनि भेटिखाल्टामा सडकको ट्याक जोडिएको छैन । पालिकाले माग गरेबमोजिम सङ्घीय सरकारबाट आगामी वर्षका लागि सङ्घीय समपूरक कोष् अन्तर्गत रु ८५ लाख बजेट विनियोजन भएकाले आगामी वर्ष भेडिखाल्टामा सडकको पहुँच पुग्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

    पहाडी जटिल भूगोलको चुनौतीका बीच यस वर्ष धवलागिरिका अधिकांश गाउँबस्तीमा सडक सञ्जालको पहुँच विस्तार हुनुले यस पालिकाका स्थानीयमा विकासप्रतिको सकरात्मक धारणाको विकास गराएको छ । पहिले पैदलयात्रामा निर्भर रहनुपर्ने स्थानीय अहिले गाउँसम्मै सडक पुगेपछि दैनिक जीवन, कृषि उत्पादनको ढुवानी, स्वास्थ्य सेवा तथा शिक्षाजस्ता आधारभूत सेवामा सहजता अनुभव गर्न थालेका छन् ।

    सडक पुगेसँगै दुर्गम बस्ती विकास र समृद्धिको मूलधारसँग जोडिने क्रमले गति लिएको छ । कुनै समय दुर्गमताको पर्याय मानिने धवलागिरिमा आज सडक सञ्जाल विस्तारमार्फत सर्वसाधारणलाई परिवर्तनको आभास दिलाएको छ । गाउँगाउँमा पुगेको सडकले स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुका साथै विकासका सम्भावनाका नयाँ ढोका पनि खोलिदिएको छ । रासस

  • पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

    पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

    धरान (सुनसरी), ७ असारः “गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,” मोरङको पथरीबाट घुम्न आउनुभएका विकास खड्काले भन्नुभयो । तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उहाँले बताउनुभयो ।

    पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बन्न थालेको छ । करिब साढे २१ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र यतिबेला गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास भएको छ ।

    तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सामान्य दिनमा दैनिक पाँच सयभन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेकामा अहिले दैनिक रूपमा २५ सयभन्दा बढी पर्यटक गर्मी छल्न आउने गरेको उहाँले बताउनुभयो ।

    यहाँ आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पर्यटक सीमावर्ती भारतीय सहरहरूबाट आउने गरेका छन् । अत्यधिक गर्मी बढेपछि अहिले सिरहा र सप्तरीको तराई क्षेत्रबाट बढी पर्यटक आउने गरेको अध्यक्ष रायमाझीले बताउनुभयो । गर्मीबाट राहत पाउनका लागि पर्यटकहरू यहाँ रहेका पोखरी र बोटिङतर्फ बढी आकर्षित हुने गरेका छन् । तालतलैयाभित्र छवटा पोखरी रहेका छन्, जसमा पर्यटकको मनोरञ्जनका लागि समितिले दुईवटा मोटरबोट सञ्चालनमा ल्याएको छ । जहाँ शीतल हावा खाँदै जलयात्रा गर्न पाइन्छ ।

    मोरङको कानेपोखरीबाट साथीहरूसहित घुम्न आउनुभएका अर्का पर्यटक रविना थापा भन्नुहुन्छ, “यहाँको फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, चिडियाखाना र छहारीयुक्त फूलबारीले गर्दा गर्मी र छुट्टीको समय बिताउन हामी यहाँ आउने गर्छौँ । प्रायःजसो गर्मी छल्न हामी भेडेटार जाने गरेका थियौँ, तर यहाँ बोटिङ गर्न पाइने भएपछि यतै घुम्ने सोच गरेर आएका हौँ ।”

    गर्मीमा शीतल छहारी खोज्दै आउने पर्यटकका लागि तालतलैयाभित्र दर्जनौँ चौतारा, बगैँचा र नर्सरी निर्माण गरिएका छन् । यसबाहेक यहाँको मुख्य आकर्षण चिडियाखाना पनि हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरजस्ता वन्यजन्तु अवलोकन गर्न पाइन्छ । बालबालिकाका लागि चिल्ड्रेन पार्क र वाटर फाउन्टेन (पानीको फोहोरा) समेत रहेकाले विद्यालय बिदाका दिन अभिभावकहरूले छोराछोरीलाई शीतल वातावरणमा खेलाउन यहाँ ल्याउने गरेका छन् ।

    आर्थिक वर्ष २०८१\८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाखको बजेटबाट यहाँ थप पर्यटकमैत्री संरचना, आधुनिक शौचालय र चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ । तालतलैयामा पर्यटकको चहलपहल बढेसँगै स्थानीय साना व्यवसायी उत्साहित छन् ।

    स्थानीय व्यापारी इन्दु राणा भन्नुहुन्छ, “गर्मी बढेसँगै घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ, जसले गर्दा व्यापार पनि राम्रो भएको छ । विशेषगरी चटपटे, मःम, चाउमिन र चिसो पेय पदार्थको बिक्री बढी हुने गरेको छ ।”

    सङ्घीय र प्रदेश सरकारको सहयोगमा यहाँ विभिन्न भौतिक संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र कलात्मक मूर्ति निर्माण गरिएका छन् । तालतलैयामा एकैपटक ७० भन्दा बढी समूहले वनभोज खान सक्ने क्षमता रहेको छ । पूर्वी नेपालकै प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको तालतलैयाबाट पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको छ ।
    रासस

  • रास्वपा महाधिवेशन आजदेखि

    रास्वपा महाधिवेशन आजदेखि

    भरतपुर (चितवन), ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।

    प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ । “रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ”, प्रवक्ता झाले भने, “राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ ।”

    भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो । “केन्द्रीय बैठकले विधान संशोधन गरेको छ”, बैठकपछि पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले भने, “प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।”

    हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । उनका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहनेछन् । अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिर्वाय उल्लेख गरिएको छैन । विधान संशोधान भएपछि यसपटक उपसभापति, सहमहान्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिर्वाय महिला हुनेछन् ।

    यस्तै विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । बृहत् राजनीति समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल भएको पराजुलीले बताए । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् ।

    पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ । पार्टी नेतृत्वले महाधिवेशनमार्फत सङ्गठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए ।
    महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै सङ्गठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरेको उनले बताए । निर्वाचनमा पाएको मतलाई पार्टीको ‘आम्दानी’का रूपमा लिएको उनको भनाइ छ । “हामीले टोलस्तरमा पनि पार्टी सङ्गठन विस्तार गर्ने विधानमा नै उल्लेख गरेका छौँ”, उनले भने, “हाम्रो भ्रातृ सङ्गठन भने हुँदैन ।”

    महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ । रास्वपाले पार्टी सदस्य पाँच लाख पुर्याएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ । यस्तै छ प्रदेश ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिए ।

  • पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

    पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

    कास्की, ७ असारः पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताए । उनका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो ।

    “हामीले जग्गाधनीसँग सहमति गरेका थियौँ । सोहीअनुसार खाली गरिएको हो । सुकुम्बासी बस्तीमा भने व्यवस्थापन नगरी हटाउने छैनौँ”, उनले भने। महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्धारमा रहेका सटरमा डोजर चलाएको थियो । महानगरपालिकाले खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।

    महानगरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णयलगायतका विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुनसकेको छैन । महानगर प्रमुख आचार्यले लालपुर्जा भएका जग्गाधनीको छानबिन पनि द्रुतगतिमा भइरहेकाले केही दिनमै वास्तविकता सार्वजनिक हुने बताए ।


    पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कको सम्पूर्ण जग्गा खाली गरिने बताउनुभयो । उहाँले बसपार्कको जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापनको काम पनि अघि बढाइएको बताए । महानगरले यही असार ४ गतेदेखि बसपार्कका संरचना हटाउन सुरु गरेको हो । “बसपार्कको ठूलो क्षेत्रभित्र बसेका वास्तविक सुकुम्बासीको अन्यत्र व्यवस्थापन गरेरमात्र सो क्षेत्रमा डोजर चल्छ । अहिले सुकुम्बासीको अन्यत्र जग्गा भए\नभएको बारेमा छानबिन भइरहेको छ”, वडाध्यक्ष मर्सानीले भने ।


    महानगरले सुकुम्बासी बस्तीका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको ‘डकुमेन्ट भेरिफिकेसन’ सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ । महानगर प्रमुख आचार्यले केही सुकुम्बासीले तीनपुस्ते सही विवरण नदिएको तथा झुटा विवरणसमेत दिएको पाइएको बताउँदै छानबिनका लागि समय लागेको बताए ।

  • लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते

    लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते

    लन्डन, ६ असार (रासस÷ एएफपी) । लन्डनको उत्तरी क्षेत्रमा दुई वटा रेलहरू शनिबार एक आपसमा ठोक्किँर दुर्घटना हुँदा रेल चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायती प्रहरीले जनाएको छ । इस्ट मिडल्याण्ड्स रेलवे (इएमआर) का अनुसार बेलायतको राजधानी बाट ५६ किलो मिटर उत्तरमा रहेको शहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो ।

    चालकको घटना स्थलमै मृत्यु भएको जनाउदै प्रहरीले विज्ञप्ति जारी गरेको छ । प्रहरीका अनुसार दुर्घटनामा घाईते भएका ३३ जनालाई अस्पताल लगिएको उल्लेख गर्दै ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    रेलमा सवार यात्रुलाई उदृत गर्दै बिबिसीले रेल लन्डनको सेन्ट प्यानक्रास स्टेसनतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको जनाएको छ । यस अघि सन् २०२३ सेप्टेम्बर मा, स्कटिस हाइल्याण्ड्सको एभिमोर स्टेसनमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुर्घटना हुदा धेरै मानिसहरू घाइते भएको जनाइएको छ ।

  • पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

    पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

    क्यानबेरा, ६ असार (रासस–सिन्ह्वा) । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा एभियन इन्फ्लुएन्जाको अत्यधिक रोगजनक एच–५ एन–१ स्ट्रेनको सङ्क्रमण पुष्टि भएको जनाएको छ । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले शनिबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा दक्षिणी पश्चिमी अष्ट्रेलियाको एक राष्ट्रिय निकुञ्जमा जुन १४ मा फेला परेको खैरो स्कुआ (ब्राउन स्कुआ) एच–५ एन–१ सङ्क्रमणका कारण मरेको पुष्टि भएको जानकारी दिए ।


    यो अष्ट्रेलियामा एच–५ एन–१ स्ट्रेनको पहिलो पुष्टि भएको घटना हो । उक्त भाइरस सन् २०२० यता विश्वका विभिन्न क्षेत्रमा फैलिँदै आएको छ र यसका कारण लाखौँ चरा तथा अन्य जनावर मरेका छन् । अधिकारीहरूका अनुसार सङ्क्रमित चरा भेटिएको क्षेत्र नजिकै एक विशाल पेट्रेल चरा बिरामी अवस्थामा फेला परेको छ । उक्त चरालाई क्वारेन्टिनमा राखिएको छ ।

    अष्ट्रेलिया सरकारले सम्भावित प्रकोपको तयारीस्वरूप यसअघि नै ११३ मिलियन अष्ट्रेलियाली डलर विनियोजन गरेको थियो । यस अवसरमा प्रमुख पशुचिकित्सा अधिकारी बेथ कुक्सनले सर्वसाधारणलाई बिरामी वा मृत चराको सम्पर्कबाट टाढा रहन आग्रह गरेका थिए ।

  • बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    काठमाडौँ, ६ असारः सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन हुने भएको छ ।

    कोषको अध्यक्ष एवं कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ । कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूका कारण पत्तालगायत प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा तीन सदस्यसीय छानबिन समिति बनाएको हो ।

    समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन् । दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको मन्त्रालयले जनाएको छ ।

    पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो । चिडियाखानामा करिब १० दिनअघि बाटै पन्छी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै दिएका थिएनन् । चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लू फेला परेको थियो ।

    रोग सङ्क्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा कुनै जानकारी नदिइएपछि साहलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको छ । पछिल्ला समयमा चिडियाखानामा भएका शृङ्खलाबद्ध घटना र बर्ड फ्लूजस्तो संवेदनशील विषयमा बेलैमा केन्द्रलाई ‘रिपोर्टिङ’ नगरेका कारण कोषले साहमाथि विभागीय कारबाही गर्दै अनुसन्धान अघि बढाएको हो ।

  • भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

    भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा

    रासस
    ललितपुर, ६ असारः वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आज भोटो प्रदर्शन (भोटो जात्रा) सम्पन्न भएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथिअनुसार करिब दुई महिनासम्म मनाइने गरिन्छ ।

    गत वैशाख ८ गते ललितपुरको पुल्चोकबाट सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको देवतालाई ३२ हात अग्लो रथमा विराजमान गराई परिक्रमा गराइएको थियो । रथ पुल्चोक, गाः बहाल, मङ्गलबजार, सुनधारा, लगनखेल हुँदै ठटीटोलसम्म पुर्‍याइएको थियो । परम्पराअनुसार तिथि हेराई ठटीटोलबाट रथलाई पश्चिमतर्फ तानेर जावलाखेल ल्याइन्छ र जावलाखेल पुगेको चौथो दिन भोटो प्रदर्शन गर्ने चलन रहिआएको छ ।

    राष्ट्रप्रमुख तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा भोटो देखाउने परम्पराअनुसार यस वर्षको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री वालेन्द्र शाह सहभागी हुनुभएको थियो । हजारौँ भक्तजन तथा दर्शकको उपस्थितिमा आयोजित कार्यक्रममा गुठी संस्थान ललितपुरका वरिष्ठ सहायक श्रीकृष्ण बाडेले परम्पराअनुसार रथको माथिल्लो भागबाट भक्तजनलाई भोटो प्रदर्शन गरे ।
    भोटो प्रदर्शनसँग जोडिएको एउटा रोचक किंवदन्ती पनि प्रचलित छ ।

    परम्पराअनुसार भोटो देखाउने क्रममा “यो भोटो कसको हो ?” भन्ने प्रश्न सार्वजनिक रूपमा सोधिने गरिन्छ । किंवदन्तीमा एक किसानले नागराजाबाट प्राप्त गरेको बहुमूल्य भोटो हराएपछि त्यसको दाबी कसले गर्ने भन्ने विवाद उत्पन्न भएको र त्यसैको स्मरणस्वरूप हरेक वर्ष भोटो देखाउने परम्परा सुरु भएको विश्वास गरिन्छ । यद्यपि हालसम्म कसैले पनि उक्त भोटो आफ्नो भएको प्रमाणसहित दाबी गर्न सकेको इतिहास छैन ।

    करिब एक हजार ६०० वर्ष पुरानो मानिने रातो मच्छिन्द्रनाथ जात्रा नेपालकै प्राचीन तथा महत्त्वपूर्ण सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ । विशेषगरी काठमाडौँ उपत्यकामा वर्षा, कृषि उत्पादन र समृद्धिको कामना गर्दै यो जात्रा मनाउने गरिन्छ । भोटो प्रदर्शन कार्यक्रम सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको देवमूर्तिलाई रथबाट निकालेर सानो खटमा राखी बाजागाजासहित बुँगमती लगिएको छ । देवतालाई बुँगमती पुर्‍याएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा विधिवत रूपमा सम्पन्न भएको मानिने परम्परा रहिआएको छ ।

  • कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    तानसेन (पाल्पा), ६ असारः कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए ।

    प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो । शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले बताए । नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरू अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ ।

  • एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम

    एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम

    काठमाडौँ, ६ असारः सडक सुरक्षा र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एयर होस्टेसहरूको सहभागितामा विशेष ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ उपत्यकाका मुख्य चोक तथा बढी सवारी चाप हुने क्षेत्रमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गीता उड्डयन (एभिएसन) मा प्रशिक्षित एयर होस्टेसहरूको सहभागिता रहेको थियो । यात्रु सेवासँग सम्बन्धित पेसामा रहेका एयर होस्टेसहरूले सडक प्रयोगकर्ता नागरिकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गरेका थिए ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले यसको सुरक्षामा सबैको समान जिम्मेवारी रहने बताए । उनले भने, “सडक प्रयोग सबै नागरिकले गर्दछन् । यसमा आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । सडक नियमको पालना गर्नु सबैको दायित्व हो । कुनै व्यक्ति बिहान घरबाट निस्केर सुरक्षित रूपमा साझा घर फर्किने वातावरणको सिर्जना गर्नु ट्राफिक प्रहरीको मुख्य उद्देश्य हो ।”
    उपत्यका ट्राफिक प्रहरीले पछिल्लो समय सडक दुर्घटना न्यूनीकरण, अनुशासित सवारी सञ्चालन तथा सुरक्षित यात्राका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । सोही क्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सहकार्य गर्दै जनस्तरसम्म ट्राफिक चेतना पु¥याउने उद्देश्यले विभिन्न सचेतना कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गीता उड्डयनका प्रशिक्षित एयर होस्टेसहरूको सहभागितामा पद्मोदय मोड, नयाँ बानेश्वर, पुतलीसडक लगायतका प्रमुख स्थानमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका क्रममा सहभागीहरूले हातमा सचेतनामूलक प्लेकार्ड बोकेर चालक, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्तालाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका थिए । ती प्लेकार्डमार्फत तीव्र गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, पैदल यात्रुको सुरक्षालगायत विषयमा सन्देश दिइएको थियो ।

    ‘ट्राफिक नियम पालना गरौँ, दुर्घटना होइन सुरक्षित गन्तव्य रोजौँ’ भन्ने नाराका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकमहिने ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको छ । दुर्घटनाको प्रमुख कारणमध्ये चालकको लापरबाही, तीव्र गति, नियम उल्लङ्घन र सडक अनुशासनको कमी देखिएकाले यस्ता समस्यालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए ।


    सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण सडक प्रयोगकर्ताको साझा दायित्व भएको सन्देश प्रवाह गर्दै उक्त अभियानले नागरिकमा जिम्मेवार सवारी संस्कृतिको विकास गर्ने अपेक्षा गरिएको छ ।

  • गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

    गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

    काठमाडौँ, ६ असारः लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषधको क्रोनिक कारोबारीलाई आज काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
    उनले भने,“काठमाडौँ उपत्यकामा लागूऔषध सप्लाई गर्ने गिरोहको सूक्ष्म निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि भारतको वासमतियाबाट काठमाडौँ उपत्यकासम्म लागूऔषध खैरो हेरोइन ल्याई बिक्री गर्दै गरेको अवस्थामा कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।”
    उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागी रहेकाले किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी निजसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    गोली लागी घाइते भएका किशोरप्रसाद ओझैयालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याई अहिले उपचार भइरहेको प्रवक्ता रेग्मीले बताए । ब्यूरोको टोलीले पक्राउ परेकाहरूका साथबाट लागूऔषध खैरो हेरोइन ३०० ग्राम, मोबाइल चार थान बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ । यसैगरी, किशोरप्रसाद ओझैया लागूऔषध मुद्दामा तीन वर्ष कैद र रु एक लाख चार हजार जरिवाना भुक्तान गरी मिति २०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेको अभिलेखबाट देखिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

  • राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

    काठमाडौँ,६ असार : राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज अपराह्न अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित आज ललितपुरको जावलाखेल पुगेर उनले जात्रा अवलोकन गरेका हुन् ।

    मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिन्छ ।

    त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व रहिआएको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोज शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थति रहेको थियो ।

  • रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

    रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

    चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्को गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।


    महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने उनले बताए । त्यसमध्ये एउटा अतिथि दीर्घातर्फ हुनेछ भने दुई वटा दर्शकदीर्घातर्फ राखिनेछ ।

    आकस्मिक उपचारका लागि आवश्यक औषधि, कीटहरूसहित आकस्मिक सेवा सोही ठाउँमा दिइने र थप उपचार आवश्यक भएमा जिल्लाका ठूला अस्पतालहरूमा लगिनेछ । प्रधानका अनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति बनाइएको छ । समितिले आवश्यकता अनुसार अस्पतालहरूमा समन्वय गरी उपचारको व्यवस्था गर्ने डा प्रधानले बताए ।


    चितवनमा अहिले अत्यधिक गर्मी छ । हिमाली र पहाडी जिल्लाबाट सहभागी आउने हुँदा ‘हिटस्ट्रोक’ हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तयारी गरिएको उनको भनाइ छ । खानपानमा सावधानी अपनाउन आवश्यक समन्वय भइरहेको उनले बताए ।


    जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । महाधिवेशन आइतबारदेखि सुरु हुनेछ । उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । बन्द सत्रभित्र हुने भएकाले बढी जोखिम नहुने भए पनि उद्घाटन सत्र चौरमा हुने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ । महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि आउनेछन् । पर्यवेक्षक र शुभेच्छुकहरू ठूलो सङ्ख्यामा आउने भएकाले सोही अनुरूप तयारी गरिएको छ ।

    जनचाप लक्षित गर्दै नेटवर्क क्षमता वृद्धि

    नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले रास्वपाको महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दूरसञ्चार सेवाको क्षमता विस्तार गर्ने भएको छ । भरतपुरस्थित मुख्य टावर तथा आसपासका अन्य टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडान गरी नेटवर्क क्षमता वृद्धि गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार आगामी ७ गते हुने महाधिवेशनको उद्घाटन समारोहमा ठूलो सङ्ख्यामा सहभागी हुने अनुमान भएकाले सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले पूर्वतयारी गरिएको हो । उनले रास्वपा महाधिवेशन मात्र नभई यहाँ हुने अन्य भीडभाड तथा मेला–महोत्सवका समयमा पनि सधैँ क्षमता विस्तार गरिँदै आएको बताए । उनले भीडभाडका समयमा फोन नलाग्ने, ‘कल ड्रप’ हुने तथा डेटा सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अतिरिक्त उपकरण जडान गरिएको बताए ।


    “सेवाग्राहीले कुनै समस्या भोग्न नपरोस् भनेर हामीले आवश्यक पूर्वतयारी गरेका छौँ,” उनले भने । झाका अनुसार मुख्य टावर र आसपासका टावरमा सेक्टर एन्टेना थपिनाका साथै अतिरिक्त आरआरयू जडान गरिएको छ । “यी उपकरण जडानपछि फोन सम्पर्क र डेटा सेवामा समस्या आउने सम्भावना न्यून हुन्छ,” उनले भने । उनले टावरको क्षमता विस्तार गरिएकाले महाधिवेशनका क्रममा नेटवर्कमा चाप बढे पनि सेवा सञ्चालन सहज हुने विश्वास व्यक्त गरे ।


    “आजकल अधिकांश प्रयोगकर्ताले डेटा सेवा प्रयोग गर्नुहुन्छ र मोबाइलमार्फत निरन्तर सम्पर्कमा रहनुहुन्छ । त्यसैले सम्भावित गुनासो आउन नदिन पहिल्यै तयारी गरेका हौँ,” उनले भने। निमित्त प्रमुख झाका अनुसार आफ्नो कार्यक्षेत्रभित्र हुने ठूला सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रमहरूमा आवश्यकताअनुसार प्राविधिक उपकरण तथा ‘एन्टेना’ जडान गरी सेवा क्षमता बढाउने गरिएको छ । उनका अनुसार सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कार्यालयको प्राथमिकता हो ।

  • तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला

    तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला

    दमौली (तनहुँ), ६ असारः तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारिएको हो । प्रहरीका अनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक रहेका थिए । तीमध्ये सात महिला, दुई पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक फेला परेका छन् । बाँकी व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले हराएका व्यक्तिको खोजी तथा उद्धारलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले परिवारबाट प्राप्त उजुरी र सूचनाका आधारमा विभिन्न जिल्लासँग समन्वय गरी खोजतलास कार्यलाई तीव्र बनाइएको जानकारी दिए ।
    “हराएका व्यक्तिहरूलाई सकुशल फेला पार्न प्रहरी निरन्तर सक्रिय छ,” प्रहरी नायब उपरीक्षक घिमिरेले भने, “खोजतलास कार्यलाई प्रभावकारी बनाउन विभिन्न प्रहरी इकाइ तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छौँ ।”

    त्यसैगरी, जेठमा जिल्लाभर ५१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित तीन, आर्थिक अपराधसँग सम्बन्धित छ तथा अन्य ३२ वटा मुद्दा रहेका छन् । प्रहरीका अनुसार उक्त अवधिमा विभिन्न मुद्दाका ३७ जना प्रतिवादी पक्राउ परेका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँदै कानुनको कार्यान्वयनमा जोड दिइएको प्रहरी नायब उपरीक्षक घिमिरेको भनाइ छ । फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । जेठ महिनामा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

    पक्राउ परेका प्रतिवादीबाट चार वर्ष दुई महिनाको कैद तथा रु दुई लाख २१ हजार बिगो तथा जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताए । “अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको छ,” उनले भने, “समुदायको सहयोग र सूचनाका आधारमा अपराध नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउँदै जानेछौँ ।”

  • फिफा विश्वकप : इरानले अमेरिकाविरुद्ध उजुरी दिँदै

    फिफा विश्वकप : इरानले अमेरिकाविरुद्ध उजुरी दिँदै

    तिजुआना (मेक्सिको), ६ असार (रासस–एएफपी) ।
    उत्तर अमेरिका विश्वकपका क्रममा आफ्नो राष्ट्रिय टोलीमाथि यात्रा प्रतिबन्ध लगाइएको भन्दै इरानको फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)मा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ । प्रतियोगिताअन्तर्गत संयुक्त राज्य अमेरिका जाने अनुमति अस्वीकार गरिएको भन्दै इरानले आयोजक व्यवस्थामाथि आपत्ति जनाएको हो ।

    इरानले आइतबार लस एन्जलसमा बेल्जियमविरुद्ध हुने समूह चरणको खेलअघि मेक्सिकोको तिजुआनास्थित आफ्नो प्रशिक्षण शिविरबाट दुई दिनअघि नै अमेरिकातर्फ जान अनुमति मागेको थियो । तर महासङ्घका अनुसार उक्त अनुरोध अस्वीकार गरिएको छ । इरानी फुटबल महासङ्घका प्रवक्ताले प्रतियोगिताका लागि आवश्यक तयारी समय पहिल्यै बुझाइसकिएको भए पनि आयोजक पक्षले फेरि यात्रा प्रतिबन्ध लगाएर प्राविधिक तयारी प्रभावित पारेको बताए । उनका अनुसार टोलीले खेलअघि लस एन्जलस पुगेर वातावरणसँग अनुकूलन गर्न, अन्तिम अभ्यास पूरा गर्न र रणनीतिक तयारी टुङ्ग्याउन चाहेको थियो ।

    प्रवक्ताले खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने भएकाले टोलीलाई दुई दिनअघि नै स्थानमा पुग्ने अनुमति मागिएको तर उक्त अनुरोध अस्वीकार गरिएको बताए । उनका अनुसार महासङ्घले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी गर्ने प्रक्रिया अघि बढाउनेछ । इरानले यसअघि पनि प्रतियोगिताको पहिलो खेलपछि लस एन्जलसबाट तत्काल बाहिरिन बाध्य हुनुपरेको भन्दै असन्तुष्टि जनाएको थियो । न्युजिल्यान्डसँग २–२ को बराबरीपछि टोलीको बसाइ व्यवस्थापनमा कठिनाइ भएको इरानी पक्षको दाबी छ ।

    उता, अमेरिकी प्रशासनले इरानको आरोपलाई अस्वीकार गरेको छ । ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले इरानी टोलीलाई खेलअघि एक दिन मात्र अमेरिका प्रवेश अनुमति दिइएको र खेल सकिएको दिन नै प्रस्थान गर्नुपर्ने व्यवस्था गरिएको स्पष्ट पारे । उनका अनुसार यही प्रक्रिया लस एन्जलसमा हुने खेल र सियाटलमा इजिप्टविरुद्ध हुने अन्तिम समूह खेलमा पनि लागू हुनेछ ।

    मध्यपूर्वमा जारी युद्धका कारण इरानको विश्वकप तयारीमा पहिले नै चुनौती देखिएको थियो । प्रतियोगिता सुरु हुनुअघि नै इरानले आफ्नो प्रशिक्षण शिविर एरिजोनाको टक्सनबाट मेक्सिकोको सीमावर्ती सहर तिजुआनामा सार्नुपरेको थियो । साथै, टोलीका १५ जना अधिकारीलाई अमेरिकी भिसा अस्वीकृत गरिएको पनि इरानी पक्षले जनाएको छ ।

  • उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

    उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

    कटारी (उदयपुर), ६ असारः उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बर सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनापछि इलाका प्रहरी कार्यालय सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल उदयपुर पठाएको थियो । उपचारकै क्रममा बर्दिबास नगरपालिका निवासी ५५ वर्षीय विमलेश दत्तलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका महोत्तरी गौशाला नगरपालिका–२ निवासी ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देशकुमार चौधरीलाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । बस चालक महोत्तरी गौशाला नगरपालिका–१० निवासी २८ वर्षीय जीवन आले सकुशल रहेको र प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

  • ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

    ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

    नारायणगढ (चितवन), ६ असारः कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्ज्वल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताए ।


    चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै उनले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्रमात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरुप काम गर्न अनुरोध गरे । विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उनले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधार विज्ञान, प्रविधि र दक्ष जनशक्ति हो भने । प्रमुख अतिथि लद्दाख विश्वविद्यालयका उपकुलपति प्राध्यापक साकेत कुसवाहाले नेपाल र भारतबीचको साझा सांस्कृतिक, दार्शनिक तथा ज्ञान परम्पराको चर्चा गर्दै शिक्षा नै मानव जीवनको मार्गदर्शक प्रकाश हो भने ।


    विश्वविद्यालयका उपकुलपति प्रा होमबहादुर बस्नेतले दीक्षित विद्यार्थीहरूलाई केवल रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न आग्रह गरे ।
    विश्वविद्यालयका रजिष्ट्रार प्रा सुवीर सिंहका अनुसार स्नातक तहमा एक हजार ८३६, स्नातकोत्तर तहमा ३२७ र ३० जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

    भरतपुर, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट पारेका छन् । महाधिवेशन स्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए । “हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,” उनले भने, “महाधिवेशनका लागि नै भनेर कुनै घराना व्यापारीलाई रसिद पठाएका छैनौँ ।”

    महाधिवशेन सञ्चालनका लागि चार करोड रूपैयाँ लाग्ने अनुमान रास्वपाले गरेको छ । सो रकम सांसद, केन्द्रीय समिति, विभिन्न विभागका सदस्यबाट उठ्ने लेबी तथा महाधिवेशन प्रतिनिधिबाट उठ्ने उनले बताए ।


    “हामी सांसदले प्रतिमहिना रु १६ हजार ५०० उठाउँछौँ । त्यहाँबाट महिनामा रु ३२ लाख सङ्कलन हुन्छ । केन्द्रीय सदस्यले वार्षिक रु २५ हजार सङ्कलन गर्दछौँ,” उनले भने, “महाधिवेशन प्रतिनिधिबाट नै रु डेढ करोड सङ्कलन हुन्छ ।” उहाँले शुभेच्छुकहरूलाई आन्तरिक रूपमा ‘क्युआर’ पठाइएको बताए ।

    रास्वपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठान नपरेको उनको भनाइ छ । रास्वपाका नेता तथा कार्यकर्ता यातायात र आवासको व्यवस्था आफैँ गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाले बताए । “हामीले महाधिवेशनमा आउने टिकटको व्यवस्था आफैँ गरेका छौँ । होटल बुक पनि आफैँ नै गर्ने हो,” उनले भने, “राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेसा हुनुपर्छ । कसैलाई चन्दा माग्ने हो भने उसले लाभ लिन खोज्छ ।”

    व्यापारिक घरानामा रसिद पठाउने अभ्यास बन्द गर्नुपर्ने उनले बताए । “निर्वाचनका बेला पनि रास्वपाले पैसा माग्ने काम गरेन । जनताका लागि काम गर्न आयौँ भन्छौँ, तर जनता व्यापारीसँग उल्टै पैसा लिन थाल्छौँ । त्यो त राजनीति नै भएन नि ” उनले भने, “हामीले सहयोग माग्छौँ त्यो मान्छेको स्वार्थ हुन्छ ।” रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ ।

  • हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

    हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने

    चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताएका छन् । पार्टीको महाधिवेशनअघि आज यहाँ भएको बैठकमा उनले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा हामी उभिएका छौँ, हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको सँघारमा उभिएका छौँ। लोकतन्त्रबाट विमुख हुनेछैनौँ”

    आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने भन्दै उनले भने, “एउटा घरमा पनि दुर्घटना र समाजमा हुने दुर्घटना भन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।” सचेत भएर अबका कदम चाल्नुपर्ने उनले बताए । जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रुपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्र्धाबाट टाढा रहनुपर्नेमा जोड दिए । पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन अधिवेशन सफल हुने विश्वास पनि उनले व्यक्त गरे ।

  • एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

    एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

    म्याग्दी, ६ असारः म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी–जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ ।

    एघार महिनामा एक लाख ५१ हजार १६० सवारीसाधनमार्फत चार लाख ६० हजार ९२४ स्वदेशी र दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी गत जेठमा २७ हजार ४८८ सवारीसाधनमार्फत ९० हजार ९३९ विदेशी र ४० हजार ८३८ स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

    भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङलगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ । लगातार चार दिन सार्वजनिक बिदा परेको जेठ तेस्रो साता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो । पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराउ हुने गरेका छन् । बर्खायामको सुरुआती समयको अनुकूल वैशाख(जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो ।

    मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालले बताए । गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो । पृथक भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको छ ।

  • सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

    सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

    काठमाडौँ, ६ असारः सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायातसँगको सहकार्यमा कम्तीमा सात वटा बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायी सङ्घसँग समन्वय गरी कम्तीमा १८ वटा बस सञ्चालनको तयारी गरिएको छ ।

    मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणीसहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ । प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ब्लु बस सेवा सञ्चालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ । सेवा सञ्चालनका विभिन्न विकल्पसहित तयार पारिएको प्रस्ताव मन्त्रालयमा निर्णयका लागि पेस गरिएको छ भने आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको छ । सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लु बस सेवालाई क्रमशः विस्तार गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्षमा सातै प्रदेशमा ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रमसमेत प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

    ब्लु बस सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलालाई सुरक्षित र सहज यात्राको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले सार्वजनिक यातायातमा हुने दुव्र्यवहार तथा असुरक्षाको अनुभूति न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । सार्वजनिक यातायातमा सिसीटिभी र ड्यासक्याम सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा तथा अपराध नियन्त्रणका लागि सिसीटिभी र ड्यासक्याम जडानलाई प्राथमिकता दिइएको छ ।

    प्रगति विवरणअनुसार साझा यातायातका १११ बस, महागर यातायातका ४६ बस तथा पाँचपोखरी सुनौलो यातायातका तीन बसमा सिसीटिभी तथा ड्यासक्याम जडान गरी सञ्चालनमा ल्याइएको छ । अन्य सार्वजनिक यातायातका साधनमा पनि जडान विस्तारको काम भइरहेको मन्त्रालयले जनाएको छ । ट्राफिक प्रहरीमार्फत अनुगमन गर्ने व्यवस्था मिलाइएको छ । सार्वजनिक सवारीलाई प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउने मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ ।

  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    ६ असार, काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो । 

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्य योजना पेस गर्न भनिएको छ । सूचनामा भनिएको छ ,निजामती कर्मचारी अस्पताल विकास समिति (गठन)आदेश, २०६४ को दफा ६ बमोजिम निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सोही दफा ६ र निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वेबसाइटमा राखिएको विस्तृत सूचनामा उल्लेख भएका विवरणहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी खामभित्र व्यावसायिक कार्य यो जना संलग्न गरी आवेदन दस्तुर बापत रु. ५,००० जम्मा गरेको सक्कल भौचर सहित आवेदन पेस गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

  • विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

    विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

    काठमाडौँ, ६ असारः आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै यो दिवस प्रत्येक वर्ष जुन २० मा मनाउने गरिन्छ ।

    शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय ९युएनएचसीआर० का अनुसार सन् २०२५ को मध्यसम्म विश्वभर ११ करोड ७३ लाखभन्दा बढी मानिस उत्पीडन, द्वन्द्व, हिंसा, मानवअधिकार उल्लङ्घन वा सार्वजनिक शान्ति–सुरक्षामा गम्भीर असर पार्ने घटनाका कारण विस्थापित भएका छन् । सुडान, युक्रेन, अफगानिस्तान, सिरियाली अरब गणराज्य, म्यान्मार तथा प्रजातान्त्रिक गणतन्त्र कङ्गोलगायत मुलुकमा जारी सङ्कटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको छ ।

    राष्ट्रसङ्घले शरणार्थीको संरक्षण केवल मानवीय संवेदनाको विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको आधारसमेत भएको जनाएको छ । शरणार्थीलाई संरक्षण नपाउँदा परिवारहरू थप जोखिमपूर्ण यात्रामा जान बाध्य हुने, बालबालिकाको शिक्षा प्रभावित हुने तथा महिला र बालिकाहरू थप जोखिममा पर्ने बताइएको छ ।

    सन् १९५१ को शरणार्थी महासन्धि तथा सन् १९६७ को त्यससम्बन्धी प्रोटोकल शरणार्थी अधिकार संरक्षणका प्रमुख अन्तरराष्ट्रिय कानुनी आधार मानिन्छन् । ती व्यवस्थाअनुसार शरणार्थीलाई काम गर्ने, शिक्षा प्राप्त गर्ने, आवास पाउने, धार्मिक स्वतन्त्रता उपभोग गर्ने तथा पहिचान र यात्रा सम्बन्धी कागजात प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ । महासन्धिको मूल सिद्धान्त ‘नन–रिफाउलमेन्ट’ अनुसार कुनै पनि शरणार्थीलाई उसको जीवन वा स्वतन्त्रतामा गम्भीर खतरा रहेको स्थानमा फिर्ता पठाउन पाइँदैन ।

    विश्व शरणार्थी दिवसले शरणार्थीहरूको साहस, धैर्य र जीवन पुनःनिर्माणका प्रयासप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने जनाउँदै उक्त विश्व संस्थाले विश्वका विभिन्न देशका सरकार, दातृ निकाय, स्थानीय समुदाय तथा विश्व समुदायलाई शरणार्थीको सुरक्षा, सम्मान र अधिकारको संरक्षणका लागि साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ ।

    राष्ट्रसङ्का अनुसार युद्ध, हिंसा र उत्पीडनबाट भाग्न बाध्य भएका व्यक्तिलाई जोखिमयुक्त स्थानमा जबर्जस्ती फर्काउन नहुने तथा विस्थापनको अवस्थामा पनि उनीहरूले सम्मानपूर्वक जीवनयापन गर्न पाउनुपर्ने व्यवस्था अन्तरराष्ट्रिय समुदायको महत्वपूर्ण प्रतिबद्धता हो ।

    यसैबीच, महासचिव एन्टोनियो गुटेरेसले यस अवसरमा जारी सन्देशमा शरण लिन बाध्य भएका सबै व्यक्ति तथा उनीहरूलाई आश्रय प्रदान गर्ने मुलुक र समुदायलाई थप बलियो समर्थन आवश्यक भएको बताएका छन् । महासचिव गुटेरेसले सन् १९५१ को शरणार्थीको अवस्थासम्बन्धी महासन्धि स्वीकृत भएको ७५ वर्ष पूरा भइरहँदा सुरक्षा र संरक्षणको प्रतिज्ञा विश्व समुदायका लागि उत्तिकै सान्दर्भिक भएको सन्देशमा उल्लेख गरेका छन् ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • विश्वकप फुटबलः पाराग्वेसँग टर्की पराजित

    विश्वकप फुटबलः पाराग्वेसँग टर्की पराजित

    काठमाडौँ, ६ असारः फिफा विश्वकप फुटबल, २०२६ अन्तर्गत आज भएको खेलमा पाराग्वेले टर्कीलाई पराजित गरेको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेले टर्कीलाई १–० गोलअन्तरले पराजित गरेको हो । हारसँगै टर्की प्रतियोगिताबाट बाहिरिएको छ । पाराग्वेको जितमा माटियास गालार्जा नायक बने । उनले खेल सुरुआत दोस्रो मिनेटमा गरेको एक गोल नै पाराग्वेको लागि निर्णायक गोल सावित भयो ।

    खेलको पहिलो हाफको अतिरिक्त समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर मैदान बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि टर्कीले निरन्तर दबाबमा राखे पनि गोल गर्न सकेन । यस जितसँगै समूह ‘डि’ मा रहेको पाराग्वेले शीर्ष तीन अङ्क बटुलेको छ । यसै समूहमा रहेको अमेरिकाले दुई खेलमा छ अङ्क जोड्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ । समान दुई–दुई खेल खेलेका अष्ट्रेलिया तीन अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ भने समान तीन अङ्क नै बुटुलेको पाराग्वे तेस्रो स्थानमा छ ।

  • आज केही स्थानमा हल्का वर्षाको सम्भावना

    आज केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ, ६ असारः हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ ।

    मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

  • विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित

    विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित

    काठमाडौँ, ६ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

    ब्राजिलका लागि खेलको २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले ३६औँ मिनेटमा थप एक गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए ।

    जितसँगै समूह ‘सि’मा रहेको ब्राजिलले दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । समान चार अङ्क नै जोडेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । दुई खेलमा तीन अङ्क जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ । यससँगै लगातार दोस्रो हार बेहोरेको हाइटीको भने नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ । अब समूह ‘सी’मा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीसँग खेल्न बाँकी रहेको छ ।

    विश्वकप फुटबल प्रतियोगिताअन्र्तत आजै विहान सम्पन्न खेलमा मोरोक्कोले स्कटल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो । मोरोक्कोका इस्माइल साइबारीले खेल सुरुआती मिनेटमा नै गरेको एक गोल नै मोरोक्कोको लागि निर्णायक सावित भएको थियो । खेलको दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिल विजयी भयो । समूह ‘डि’अन्तर्गत आज ८ः४५ बजे हुने खेलमा टर्की र पाराग्वे भिड्दैछन् ।