Author: Vishwanews.com

  • विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    काठमाडौँ, ४ असार । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो । खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

    ४२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए भने पहिलो हाफमा थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो । खेलको ४७औँ मिनेटमा जुड बेलिङ्हमले गोल गरेपछि इंग्ल्याण्डले पुनः खेलमा अग्रता लियो । त्यसपछि खेको ८५औँ मिनेटमा मार्कस र्यासफोडले एक गोल गरेपछि इंग्ल्यायण्डले अग्रता दोब्बर बनायो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इंग्ल्याण्डले आफ्नो पक्षमा पार्यो ।

  • विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    काठमाडौँ, ४ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो ।

    उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । यस जितसँगै घानाले शीर्ष तीन अङ्क जोडेको छ । समूह ‘एल’ मा तीन अङ्क जोडेको इङ्ग्यान्ड शीर्ष स्थानमा छ । समान तीन अङ्क नै बटुलेको घाना दोस्रो स्थानमा छ । अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन् । विश्वकपअन्तर्गत समूह ‘के’ को खेलमा अहिले नेपाली समयअनुसार ७ः४५ बजे उज्वेकिस्तान र कोलोम्बियाबीच प्रतिस्पर्धा हुँदैछ ।

  • नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

    काठमाडौँ, ३ असारः सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ । मङ्गलबार यहाँ सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेका यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

    वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गरेका थिए भने जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय (बिएमजेड) को दक्षिण एसिया महाशाखाकी प्रमुख बार्बरा शेफरले गरेका थिए ।


    उक्त सहायता रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको प्रवद्र्धन, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, राजस्व क्षेत्र सुधार, गुणस्तरीय पूर्वाधार, लैङ्गिक समानता, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारमा उपयोग गरिने जनाइएको छ ।

  • हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छः मन्त्री बादी

    हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छः मन्त्री बादी

    काठमाडौँ, ३ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आगामी आर्थिक वर्षको बजेटमा महिला सशक्तीकरण, लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफदिने क्रममा मन्त्री बादीले हिंसा प्रभावित तथा जोखिममा रहेका महिला र किशोरीको आर्थिक सशक्तीकरणमा जोड दिइएको जानकारी दिइन् ।

    उनले हिंसा प्रभावित महिलाका लागि सीप विकास, सीप परीक्षण, स्टार्टअप सहयोग र उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको बताइन् । सांसदहरूको प्रश्नको जवाफमा उहाँले पार्लेमो प्रोटोकलका साथै समसामयिक मुद्दा सम्बोधन गर्नका लागि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई समसामयिक संशोधनको प्रक्रिया शुरू गरिसकिएको सुनाइन् ।

    यसैगरी लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यको लागि एकिकृत सेवा परियोजना १२ वटा स्थानीय तहमा सञ्चालन गरिने जानकारी दिइन् । मन्त्रालयले मानव विकास सूचकाङ्मा पछाडि परेका १११ वटा स्थानीय तहमार्फत विपन्न महिलाको जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन हुँदै आएको प्रष्ट पारिन् ।


    साथै उनले मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायलाई रोजगार र उद्यमशीलतासम्वन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । उनले सन्थाल, चिडीमार, डोम, मुसहर, चमार, माझी, बादी, बोटे, विपन्न खस आर्य, मुक्त कम्लहरी, रानाथारु, भोटे, साउका, ब्यास, कुसुन्डा, दनुवार र मुस्लिम समुदाय लक्षित कार्यक्रम सञ्चालनमा जोड दिने बताइन् ।


    एशियाली विकास बैंकसँगको सहकार्यमा महिला समुत्थान कार्यक्रमअन्तर्गत मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १५ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री यादवले जानकारी दिइन् । मन्त्री वादीकाअनुसार सडक सञ्जाल नपुगेका हिमाली तथा दुर्गम पहाडी क्षेत्रका ४८ जिल्लाका २५२ स्थानीय तहमा ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको हवाई उद्धार कार्यलाई मन्त्रालयले उच्च प्राथमिकताका साथ निरन्तरता दिएको उल्लेख गरिन् । उनले आव २०७६÷७७ देखि हालसम्म ९३२ जना गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुले हवाई उद्धारमार्फत सेवा प्राप्त गरिसकेको जानकारी दिइन् ।

    सन् २०३० भित्र नेपाललाई बालविवाह मुक्त देश बनाउने गरी तीनै तहका सरकार र नागरिक समाजलगायत सरोकारवालाको सहकार्यमा निरन्तर अभियान सञ्चालन गरिने मन्त्रालयको भावी योजना छ । बालसुधार गृहको व्यवस्थापन प्रभावकारी बनाउने गरी बालबालिकासम्बन्धी ऐन संशोधनको प्रक्रिया अगाडि बढाइसकिएको मन्त्री बादीले जानकारी दिइन् । त्यसैगरी हाल सञ्चालनमा रहेका ३८२ वटा बाल गृहलाई नियमन गरी मापदण्ड बमोजिम सञ्चालनको सुनिश्चितता गर्ने मन्त्रालयको प्राथमिकतामा रहेको उनको कथन छ ।

    त्यसैगरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वर्द्धन गर्दै सम्मानजनक, आत्मनिर्भर एवम् मर्यादित जीवनयापनका लागि आवश्यक अवसर र सेवामा पहुँच सुनिश्चित गर्ने नीति अवलम्बन गरिएको मन्त्री बादीले सुनाइन् । उनले ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा, स्वास्थ्य र सामाजिक संरक्षणलाई सुदृढ बनाउने उद्देश्यले ज्येष्ठ नागरिकमैत्री सेवा विस्तार, दिवा सेवा केन्द्र स्थापना, मर्यादित जीवनयापन र सक्रिय बुढ्यौलीका लागि आर्थिक सशक्तिकरणका क्रियाकलापमा आबद्ध गराउने नीति लिइएको उल्लेख गरिन् ।

    अपाङ्गतासम्बन्धी ऐन संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले सङ्घीय सरकार र प्रदेश सरकारको साझेदारीमा आवश्यक काम अगाडि बढाइएको बताइन् । प्रतिनिधिसभाको अर्को बैठक यही असार ४ गते बिहिबार बिहान ११ः बजे बस्नेछ ।

  • सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको छः मन्त्री मेहता

    सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको छः मन्त्री मेहता

    काठमाडौँ, ३ असारः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको बताएकी छिन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३\८४ को मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आज मन्त्री मेहताले सरकार सुशासन, जवाफदेहिता र पारदर्शितालाई मुख्य सिद्धान्त मानेर स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

    नेपाली जनस्वास्थ्यका ८० प्रतिशतभन्दा बढी समस्याहरु प्रदूषण, जथाभावी विषादीको प्रयोग र प्रति जैविकी प्रतिरोधजस्ता स्वास्थ्य मन्त्रालयका नियन्त्रण बाहिरका कारक तत्वबाट हुने गरेकाले स्वास्थ्य तथा त्यसबाहेकका अन्य निकाय पनि उत्तिकै जिम्मेवारी र प्रतिबद्धतासहित लाग्नुपर्ने मन्त्री मेहताको भनाइ थियो ।

    देशमा अहिले कुल १४ हजार ४७४ भाइरल रेबिज भ्याक्सिन मौज्दात रहेको जानकारी दिँदै मन्त्री मेहताले तत्कालको अभाव टार्न विश्व स्वास्थ्य सङ्गठनबाट आगामी साता चार हजार ५०० उक्त खोप सहायता प्राप्त हुने अन्तिम चरणमा पुगेको बताइन् । साथै केन्द्रीयस्तरको खरिद सम्पन्न हुनासाथ रेविजको औषधि आपूर्ति पूर्ण रूपमा सहज हुने मन्त्री मेहताले बताइन् । आगामी दिनमा यस्तो अभाव हुन नदिन सरकारले ‘बहुवर्षीय खरिद प्रक्रिया’ अघि बढाएको उनको भनाइ थियो ।

    क्यान्सरको औषधि अभाव हुन नदिइने

    जवाफका क्रममा मन्त्री मेहताले क्यान्सर रोगको उपचारमा प्रयोग हुने कार्बोप्ल्याटीन, किसप्लाटिन तथा ओक्ला प्लाटिनजस्ता अत्यावश्यक औषधिको बजार अभावप्रति मन्त्रालय गम्भीर रहेको बताइन् । विगत एक दशकदेखि मूल्य समायोजन नभएको र विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध आएकाले यो समस्या देखिएको उल्लेख गर्दै मन्त्री मेहताले यसको दीर्घकालीन समाधानका लागि सरकार लागिपरेको जानकारी दिइन् ।

    एक सय नौ स्थानीय तहमा अस्पताल निर्माण

    देशका ६५७ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १०९ स्थानमा निर्माण सम्पन्न भइसकेको मन्त्री मेहताले सदनलाई जानकारी दिइन् । हाल ३३६ स्थानमा अस्पताल निर्माणको काम भइरहेको मन्त्री मेहताले बताइन् । संविधानतः आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको एकल अधिकारभित्र पर्ने भए पनि कतिपय स्थानीय तहबाट गरिएको डायलाइसिस तथा सघन उपचार कक्षजस्ता विशिष्टीकृत सेवा सबै स्थानीय तहमा सम्भव नरहेको उनले स्पष्ट पारिन् ।

    जलन उपचारका लागि २० करोड

    जलन उपचारलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री मेहताले आगामी आर्थिक वर्षमा ‘जलन कोष’ स्थापना एवं सञ्चालनका लागि रु २० करोड विनियोजन गरिएको जानकारी दिइन् । यसबाट जलनका बिरामीले निःशुल्क उपचार पाउने र कीर्तिपुरस्थित बर्न अस्पतालका लागि रु दुई करोड तथा वीर अस्पतालका लागि बजेटको व्यवस्था गरिएको उनले बताइन् ।


    हाल १४ सङ्घीय अस्पतालमा जलन उपचार युनिट स्थापना गरी स्वास्थ्यकर्मीलाई तालिम दिने काम तीव्र पारिएको र आगामी आर्थिक वर्षभित्रै जलनसम्बन्धी विधेयक सदनमा टेबल गरिने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गरिन् । यसैगरी, दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउन मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गरेको र प्रविधिमैत्री स्वास्थ्य सेवाका लागि विभिन्न सफ्टवेयर तथा एप्लिकेसनको प्रयोग गरिने मन्त्री मेहताले उल्लेख गरिन् । स्वास्थ्य बिमासम्बन्धी समस्या समाधानका लागि मन्त्रालयले सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थामा नियमित बिमा स्थगन, प्रभावकारी अनुगमन र प्रविधि व्यवस्थापनजस्ता अल्पकालीन उपाय अपनाउने उनले जानकारी दिइन् ।


    यस्तै स्वास्थ्य बिमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने र सबै क्षेत्रलाई अनिवार्य स्वास्थ्य बिमा गर्नेलगायत दीर्घकालिन सुधारका उपायहरू पैरवी गरिरहेको मन्त्री मेहताले सदनलाई जानकारी दिइन् । मन्त्री मेहताको जवाफपछि सांसदहरु ताहिर अली अन्सारी र हर्कराज राईले पूरक प्रश्न रेका थिए । त्यसकोसमेत जवाफ दिँदै मन्त्री मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाता ऐन आएपछि अस्पतालको प्राज्ञिक स्तरोन्नति हुने, मन्त्रालयले जनचेतनाको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत गरिएको र प्रदेश तथा जिल्ला र स्थानीय तहको क्षेत्राधिकार भित्रका अस्पतालमा मन्त्रालयले सोझै बजेट नराखे पनि सहजीकरण गरिदिने बताइन् ।


    यसका साथै वैदेशिक रोजगारीमा गएकाको मिर्गौलासम्बन्धी समस्या पानी नखाने आदि भएकाले जनचेतना जगाउन विशेष पहल गरिने र डायलाइसिस गर्नुपर्ने बिरामीलाई पुग्नेगरी डाइलाइजर मेसिन ल्याउने प्रयासमा सरकार लागि परेको मन्त्री मेहताले बताइन् । यस्तै, उपचार शुल्कको समानताका लागि सबै अस्पतालको वर्गिकरण गरी शुल्क निर्धारण गर्ने प्रयोजनका लागि अध्ययन सुरु भएको मन्त्री मेहताले सदनलाई जानकारी गराइन् ।

  • राज्यकोषको पैसा खर्च नगरी सहकारी बचतकर्तालाई रकम फिर्ता गरेका छौँः मन्त्री रावल

    राज्यकोषको पैसा खर्च नगरी सहकारी बचतकर्तालाई रकम फिर्ता गरेका छौँः मन्त्री रावल

    काठमाडौँ, ३ असारः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ताको लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको स्पष्ट पारेकी छिन् । मन्त्री रावलले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै यस प्रयोजनका लागि राज्यकोषबाट खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुनका लागि आह्वान गरिन् ।

    “पछिल्लो तीन महिनामा मात्रै विभिन्न आठ वटा समस्याग्रस्त सहकारी संस्थाका रुजु भएका १० हजार वा सोभन्दा मुनिका एक हजार ४५२ सानाबचतकर्ताको रु ५९ लाख चार हजार ६०० रकम रकम फिर्ता गरिसकेका छौँ,” मन्त्री रावलले भनिन्, “तीन महिनाभित्रमा तीन करोड ५४ लाख ४९ हजार ऋण असुली भएको छ । उक्त रकम सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, लेखासमिति र ऋण उपसमितिका सदस्य, एकाघरका सदस्यबाट असुलउपर गरिएको हो ।”

    मन्त्री रावलले समस्याग्रस्त सहकारीको मात्रै नभएर अन्य सहकारीको पनि नियमित र व्यवस्थित र प्रभावकारी ढङ्गले अनुगमन गर्ने बताए । फरकप्रसङ्गमा मन्त्री उहाँले सहकारी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्नका लागि सरकार सक्रिय भएर लागेको बताइन् । मन्त्री रावलले पोषण शीर्षकमा क्षेत्रगत रूपमा देखिएको भिन्नताको सम्बन्धमा पनि पोषणको अवस्था तुलनात्मक रूपमा कमजोर भएका स्थानीय तहलाई बढी प्रथामिकता दिएको स्पष्ट पारिन् ।


    स्थानीय तहको जनसङ्ख्या र अवस्थालाई हेरेर पोषणसम्बन्धी बजेट विनियोजन गरेको बताए । मन्त्री रावलले सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर राज्य तथा सुझावको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको बताइन् । “मन्त्रालयको रायसुझाव आएपछि सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा विधेयकलाई आवश्यक प्रक्रियाअनुसार संसद्मा पेश गरिनेछ ।”

  • विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

    विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

    काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उहाँहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो ।

    सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई जना कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिसकेपछी पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन् । मन्त्रालयका अनुसार उहाँहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको हो । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदनसमेत दिन नपाइने कानुनी व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरणको सोधिएको हो ।

    मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । तोकिएको अवधिभित्र स्पष्टीकरण पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन् । मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने जानकारी दिए ।

  • बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

    बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

    काठमाडौँ, ३ असारः बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ? ख्याल गर्नुहोला यस्ता घटना अहिले नेपालमा भइरहेका छन् । त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ । आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अङ्ग्रेजी भाषामा बोली प्रिन्स तनमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहारसमेत नदेखाइ कुराकानीपश्चात् पीडितलाई विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर ठगी भएको घटना बाहिरिएको हो ।

    नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार उनले आफ्नो बहिनी भन्दै सरगम तनमाङको ह्वाट्स एपमा कुराकानी गर्न लगाई पटकपटक गरी रु १५ लाख बढी रकम ठगी गरेको पाइएको हो । पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट खुल्न आएका प्रिन्स तमाङ भन्ने सञ्जिव नेपाली र बहिनी सरगम तमाङ भएर कुराकानी गरी ठगी गर्ने कार्यमा संलग्न उनकै श्रीमती अनुष्का भन्ने सरिता पराजुली रहेको खुलेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।


    ब्युरोबाट खटिएको प्रहरी टोलीले स्याङ्जा घर भई काठमाडौँको माछापोखरी बस्ने नेपाली र पराजुलीलाई मङ्गलबार पक्राउ गरी विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको गिरीले बताए । आजै अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेकाले ब्युरोबाट थप अनुसन्धान अघि बढाइएको पनि उनले जानकारी दिए । उनले यस्ता घटना घट्ने गरेको भन्दै ठगीबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेका छन् ।

  • बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

    बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

    रासस
    खोटाङ, ३ असारः खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो ।

    तराईसँग सिधा यातायात सेवा जोड्ने फोक्सिङटारको पुल पुनर्निर्माण गर्न छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिए । बाढीले उक्त पुल बगाएपछि पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेको थियो ।

    उनले भने, “स्थानीय सरकारले बजेट बनाइरहेका छन् । सबै स्थानीय तहसँग कुरा भएको छ । प्राविधिक मूल्याङ्कन गरेर पुनर्निर्माणको काम सुरु गर्छौँ ।” गाउँपालिकाको कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले गाउँपालिका प्रमुख राईको संयोजकत्वमा १५१ सदस्यीय फोक्सिङटार पुल पुनर्निर्माण पहल समिति गठन गरेको छ । समितिले फोक्सिङटार पुल पुनर्निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन माथिल्लो तहको सरकारसँग ‘डेलिगेसन’ जाने र बजेट उपलब्ध नगराएको खण्डमा आफ्नै पहलमा पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    कालोपत्रको काम भइरहेको सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा पक्की पुल नहुँदा जिल्लावासीले सास्ती भोग्दै आएका छन् । फोक्सिङटार पुल पुनर्निर्माणका लागि जिल्लास्थित सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न पेसा व्यवयसाय सञ्चालन गर्दै आएका जिल्लावासीसँग चन्दा सङ्कलन अभियान सञ्चालन गरिने जनाइएको छ ।

    जिल्लाका कर्मचारी र जनप्रतिनिधिले महिना दिनको तलब तथा सेवासुविधा जम्मा गरेको खण्डमा पुल पुनर्निर्माण गर्न सकिने सहभागीले बताएका छन् । जिल्लावासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको फोक्सिङटार पुल पुनर्निर्माणमा सङ्घीय सरकारले सहयोगको अपेक्षा गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले बताए । उनले भने, “बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माण गर्न करिब रु १५ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुननिर्माण गर्न स्थानीयले यसअघिका सरकारलाई पनि निरन्तर ध्यानाकर्षण गराएका थिए ।

    करिव चार बर्षअघि निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । दिक्तेल–गाईघाट सडकखण्ड (१०१ किलोमिटर) अन्तर्गत बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज जडान गरी यातायात सञ्चालन हुँदैआएको थियो ।

  • पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणः किसानलाई राहत

    पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणः किसानलाई राहत

    भोजपुर, ३ असार । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत पुगेको छ । वर्षौँदेखि सिँचाइ अभावका कारण अकासे पानीमा मात्र निर्भर रहँदै आएका किसान अहिले नियमित पानीको पहुँचसँगै उत्साहित बनेका हुन् । सिँचाइ अभावका कारण खेतीयोग्य जमिन बाँझै रहने, उत्पादन घट्ने र वर्षायामबाहेक अन्य समयमा खेती गर्न कठिन हुने अवस्था यहाँ लामो समयदेखि रहिआएको थियो । तर हालै निर्माण कुलोले उक्त समस्या समाधानतर्फ महत्त्वपूर्ण कदम अघि बढाएको स्थानीय देवकुमार राईले बताए ।


    उनले भने, “पहिले पानीको अभावले बाली सुक्ने समस्याल कतिपय खेत बाँझै राख्नुपर्ने बाध्यतो थियो अब भने सिँचाइको पहुँचपछि खेती विस्तार गर्न सकिने आशा जागेको छ ।”

    उनका अनुसार आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ५०० रोपनीभन्दा बढी खेतीयोग्य जमिन सिँचाइ सुविधामा जोडिनेछ । यसले विशेषगरी धान, मकै तथा तरकारी उत्पादनमा वृद्धि ल्याउने उनको भनाइ छ । आर्थिक वर्ष २०७८÷७९ बाट निर्माण सुरु गरिएको उक्त सिँचाइ आयोजना हाल करिब डेढ किलोमिटर लम्बाइ निर्माण सम्पन्न भएको छ ।

    हालसम्म विभिन्न आर्थिक वर्षमा गरी करिब रु ५५ लाख खर्च भइसकेको सिँचाइ कार्यालयका प्रमुख राजु भट्टराईले जानकारी दिए । “किसानलाई सहज सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो”, उनले भने, “हाल केही भागमा पानी सञ्चालनमा आइसकेको छ । बाँकी संरचना सम्पन्न भएपछि पूर्ण रूपमा लाभ लिन सकिन्छ ।”

    गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले कुलो निर्माणपछि विशेषगरी भेडाबारी र छेङराङ क्षेत्रका किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताइन् । पछिल्लो समय गाउँपालिकाले कृषि उत्पादन वृद्धि र किसानको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्दै यस्ता पूर्वाधार विकासमा जोड दिँदै आएको छ ।

    “तल्लो क्षेत्रका किसानलाई लक्षित गरेर यो सिँचाइ कुलो निर्माण गरिएको हो”, उनले भनिन्, “स्थानीय सरकारको पहल तथा प्रदेश सरकारको बजेटमा यो आयोजना अघि बढाउन सफल भएका छौँ ।” स्थानीय किसानका अनुसार सिँचाइ अभावका कारण धेरै जमिन वर्षौँदेखि उपयोगविहीन अवस्थामा थियो । तर कुलो निर्माणसँगै ती जमिन पुनः उत्पादनशील बन्न थालेका छन् ।

    वडा नं ६ का वडाध्यक्ष दक्षकुमार राईले सिँचाइ सुविधा विस्तारसँगै किसानलाई अब वर्षभरि खेती गर्न सक्ने वातावरण बनेको र पहिलेको तुलनामा किसानमा आत्मविश्वास बढेको बताए । गाउँपालिका अध्यक्ष किरण राईले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै सिँचाइ, कृषि सडक, बीउ वितरण तथा प्रविधि विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।

    “कृषि उत्पादन वृद्धि गर्न सिँचाइ आधारभूत आवश्यकता हो”, अध्यक्षले भने, “आगामी दिनमा थप क्षेत्र समेट्नेगरी कुलो विस्तार, मर्मत तथा नयाँ आयोजना पनि अघि बढाइनेछ ।” गाउँपालिकाले यस्ता सिँचाइ पूर्वाधार विकासले कृषिमा आधारित अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ ।

  • प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

    प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

    काठमाडौँ, ३ असारः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक\कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।

    सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म रु ११ करोड ८४ लाखभन्दा बढी रकम फिर्ता भइसकेको छ ।

    विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तरराष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ । केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ ।

    त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ ।

  • विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

    विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

    काठमाडौँ, ३ असारः आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउँन प्रारम्भ भएको हो

    मरुभूमिकरण, भूमि क्षयीकरण तथा खडेरीका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो भूमि व्यवस्थापनका लागि अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घका अनुसार चरन क्षेत्र पृथ्वीको आधाभन्दा बढी भू–भागमा फैलिएका विश्वका सबैभन्दा व्यापक तर प्रायः बेवास्ता गरिएका पारिस्थितिक प्रणालीमध्ये एक हुन् । खाद्य सुरक्षा, जलचक्रको सन्तुलन, जैविक विविधता संरक्षण तथा जलवायु अनुकूलनमा चरन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । विश्वभर करिब दुई अर्ब मानिसको जीवनयापन यिनै चरन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ, जसमा पशुपालक समुदाय तथा आदिवासी समुदायहरू प्रमुख छन् ।

    यो दिवसका अवसरमा विश्व समुदायले चरन क्षेत्रको आर्थिक, पारिस्थितिक तथा सांस्कृतिक महत्वलाई स्वीकार गर्न, तिनका परम्परागत संरक्षकहरूको सम्मान गर्न तथा क्षयीकरण भएका चरन क्षेत्रको पुनस्र्थापनामा लगानी बढाउन आह्वान गरिएको छ । राष्ट्रसङ्घले विश्वका झन्डै आधा चरन क्षेत्र क्षयीकरण भइसकेका जनाएको छ ।

    यसबाट खाद्य तथा पानीको सुरक्षा, जैविक विविधता, जलवायु सहनशीलता तथा ग्रामीण जीविकोपार्जनमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ । विशेषज्ञहरूले पनि दिगो भूमि तथा जल व्यवस्थापन, खडेरीपूर्व तयारी र समुदायको सहभागितामा आधारित पुनस्र्थापना कार्यक्रमलाई प्रभावकारी समाधानका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार

    कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार

    पाँचथर, ३ असारः बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित तमोर नदी र हेंवाखोलाको किनारामा अवस्थित माझीटारको समथर खेतीयोग्य जमिनमा अहिले मकैबाहेक खेती हुन छाडेको छ ।

    विसं २०८० असार ३ गते आएको बाढीले माझीटारमा हेंवाखोलाबाट ल्याइएका दुईवटा सिँचाइ कुलो क्षतिग्रस्त बनाएको थियो । कुलाको मुहान भएको स्थानमा बाढीका कारण खोला गहिरिएपछि फिदिम र हिलिहाङ दुवैतर्फ सञ्चालित कुलो पूर्ण रूपमा बन्द भएका छन् । जसकारण चार वर्षदेखि धान, सागसब्जी, नगदेबाली र फलफूलखेती हुन नसकेको फिदिम–४ की मीना माझीको भनाइ छ ।

    खेतीपाती गर्न नसकेपछि आफूहरूको जीविकोपार्जन कठिन बनेको ६० वर्षीया मीनाको भनाइ छ । “पहिले आफैँले फलाएर खान पुर्याउने गर्दथ्यौँ । अहिले महिनैपिच्छे किनेर खानुपरेको छ”, मीनाले भनिन्, “अहिले त हातमुख जोड्न पनि ऋण गर्नुपर्ने अवस्था छ । ठ्याक्कै चार वर्ष भयो, यहाँ बाँझिएको ।” पशुपालन र माछा मारेर हुने आम्दानीले जीविका चलेको उनको भनाइ छ ।

    सिँचाइ सुविधा नहुँदा यहाँ करिब ५०० मुरी धान फल्ने खेत बाँझिएको छ । बाढीले करिब १२० मुरी धान फल्ने खेत कतै कटान गरेको छ भने कतै पुरेको छ । बाँकी खेत पनि सिँचाइ सुविधा नहुँदा बाँझिएको हिलिहाङ–७ का वीरबहादुर माझीको भनाइ छ । “धेरै खेत बाढीले लग्यो, बाँकी रहेकामा पनि कुलो भत्किएर बाँझै राख्नुपर्यो”, वीरबहादुर भन्नुभयो, “हामीले असाध्यै कष्ट भोग्नुपरेको छ ।”

    चार वर्षदेखि निरन्तरको बाढीपहिरोका पहिलेजस्तो प्रशस्त माछा पाइन छाडेको स्थानीयवासी बताउँछन । केही माझी परिवारले माछाका परिकारसहितका होटल सञ्चालन गरेर जीविकोपार्जन गर्ने गरेका छन् । यहाँका धेरै युवाहरू भने देश तथा विदेशमा श्रमिकका रूपमा काम गर्न थालेका छन् । “यहाँ खेतीपाती नहुने अवस्था आयो । माछा पनि प्रशस्तै पाइन्न, फाट्टफुट्ट पाइन्छ । त्यसैले धेरै युवाहरू यहाँबाट बाहिरिएका छन्”, स्थानीयवासी एवं हिलिहाङ–७ का वडा सदस्य रामकुमार माझीले भने, “हामीले माछाका परिकारमा आधारित व्यवसाय प्रवर्द्धनको प्रयास गरिरहेका छौँ, तर पर्याप्त हुनसकेको छैन ।”

    अधिकांश माझी समुदायका घर भिरालो जमिनमा मात्रै छ, जहाँ उनीहरूको आफ्नै जग्गा छ । यहाँ रहेको खेतीयोग्य समथर जमिन माझी समुदायले बन्धकी, अधियाँ, कुत, ठेक्कालगायत शर्तमा लिएर खेती गर्दै आएका थिए । तर चार वर्षअघिको बाढीले बगाएको सिँचाइ कुलो पुनर्निर्माण गर्न अझैसम्म कुनै पनि निकायले चासो नदेखाएकामा माझी समुदाय असन्तुष्ट छन् ।

    “हामीले भन्नचाहिँ सबै ठाउँमा भनेका थियौँ । सबै लागेर हामीलाई सहयोग गरिदिनु भनेर अनुरोध पनि गर्यौँ”, माझी समुदायका अगुवा ७० वर्षीय जसबहादुर माझीले भने, “सरकारले पनि थोरैथोरै त राहत दिनुपर्ने हो । यहाँ सबैभन्दा पछाडि परेका मानिस छौँ । मद्दत माग्न जाँदाजाँदै हाम्रो जिन्दगी बित्ने भयो ।” स्थानीय सरकारहरूले पर्याप्त सहयोग नगर्दा माझी समुदाय ‘बत्तीमुनिको अँधेरो’को अवस्थामा पुगेको जसबहादुरको गुनासो छ ।

    माझीटारबाटै पुष्पलाल ९मध्यपहाडी० राजमार्ग र तमोर करिडोर सडक अघि बढेका छन् । तर सधैँ हरियाली हुने माझीटारमा मकैबाहेकका खेतीपाती नहुँदा यहाँको पर्यटनसमेत प्रभावित भएको स्थानीय व्यवसायी रमेश तामाङले वताए । “यहाँको फाँटमा खेती हुँदा मनमोहक देखिन्थ्यो, अब त बाँझिएरै सकिने भयो”, तामाङले भने, “यसले आन्तरिक पर्यटकको आगमनलाई असर गरेको छ ।”

    हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्राती विपद्बाट प्रभावित योजनाहरूको पुनर्निर्माण तथा प्रभावितलाई सहयोग गर्ने बजेट नहुँदा समस्या भएको बताउँछन् । “विपद्बाट क्षति भएका संरचनाको पुनर्निर्माणमा सङ्घ र प्रदेश सरकारबाट कुनै पनि बजेट नआउनु दुःखद् पक्ष हो । स्थानीय तहको स्रोतले नभ्याएका स्थानमा माथिल्ला सरकारले सहयोग गरिदिएहुन्थ्यो ।” माझीटारमा माझी र तामाङ समुदायका गरी ४१ घर छन् भने बाहिरबाट गएर राजमार्गमा आधारित होटल सञ्चालन पनि भइरहेका छन् ।

  • नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

    नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

    हिमाल लम्साल/ रासस

    काठमाडौँ, ३ असारः नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।


    “सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको छ । सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइराखेको छ”, उनले भने, “सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काममात्रै बाँकी छ ।” नागढुङ्गा–नौबिसे सुरुङमार्गअन्तर्गत दुई हजार ६८८ मिटर कुल लम्बाइ रहेको छ ।

    सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो । ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो । आयोजनाका अनुसार अहिले सुरुङमार्ग सञ्चालन, व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ ।

    आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सुरुङमार्ग उपयोग गरेबापत तिर्नुपर्ने दस्तुर (टोल) सङ्कलन गर्ने बैंकको छनोट र कार्ड छाप्नेलगायतको प्रक्रिया पनि अघि बढिसकेको दाबी गर्नुभयो । आयोजनाले नागढुङ्गा–नौबिसे सुरुङमार्गमा गुड्ने सवारीसाधनबाट तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था मिलाएको छ । ‘म्यानुअल’ रूपमा सवारी चालकबाट नगदै लिने व्यवस्था, ‘क्यूआर कोड’ स्कानिङ गरेर र सवारीसाधनमा टाँस्ने स्टिकरलाई उच्च क्षमताको क्यामेरामार्फत रिड गरेर पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

    बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले रु एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारलगायतको जिम्मेवारी पाएको छ । आयोजनाका निर्देशक नेपालले सुरुङमार्ग उपयोग गर्ने सवारीसाधनबाट उठेको दस्तुर रकम व्यवस्थापकले सङ्कलन गरेर सडक बोर्ड नेपालको खातामा दाखिला गर्नुपर्नेछ । सो बोलपत्रमा १० वटा कम्पनीको आवेदन परेको थियो । कम्पनीले ३६५ दिनमा चौबिसै घण्टा सञ्चालन गर्नेछन् ।

    “सुरुङमार्ग व्यवस्थापन र सञ्चालनमा १५० जना जनशक्ति खटिनेछन्”, उनले भने, “सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा दिउँसोको ‘पिकआवर’मा एकैपटक ४० कर्मचारी खटिनेछन् ।” अहिले सुरुङमार्गभित्र आन्तरिक तयारीका काम भइरहेका छन् । असार महिनाभित्र सबै खालका तयारी पूरा गरेर सुरुङमार्गबाट सवारीसाधन गुडाउने लक्ष्य राखेका छौँ ।

    आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा–नौबिसेनाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् । आयोजनाका निर्देशक नेपालले नागढुङ्गा–नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुईपाङग्रे सवारीसाधन भने चलाउन पाइने छैन ।

    यस्तो छ सुरुङमार्गबाट सवारी गुडाउँदाको शुल्क

    विसं २०८२ चैत २६ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको छ । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु ६० तोकिएको छ । त्यसैगरी, मिनीबस, मिनी टिपर÷ ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ ।

    त्यसैगरी, बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीका लागि काठमाडौँ प्रवेश गर्दा रु २६० दस्तुर तोकिएको छ । सोही सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु २०० दस्तुर तोकिएको छ । मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० दस्तुर तोकिएको छ । त्यसैगरी, काठमाडौँबाट प्रस्थान गर्दा सोही वर्गका लागि भने रु २५० दस्तुर तोकिएको छ ।

  • क्यालिफोर्नियामा बी–५२ दुर्घटनामा आठको मृत्यु

    क्यालिफोर्नियामा बी–५२ दुर्घटनामा आठको मृत्यु

    लस एन्जलस, ३ असार (रासस–एपी) । दक्षिणी क्यालिफोर्नियाको मोजावे मरुभूमिमा रहेको एडवड्र्स एयर फोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायु सेनाको बी–५२ बमवर्षक दुर्घटनाग्रस्त हुँदा सवार सबै आठ जनाको मृत्यु भएको छ । टेकअफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरुभूमि क्षेत्रमा ठूलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

    दुर्घटना सोमबार बिहान करिब ११ः२० बजे नियमित परीक्षण मिसनका क्रममा भएको हो । लस एन्जलसको उत्तरमा रहेको उक्त आधारको रनवे नजिकैको मरुभूमि क्षेत्रमा विमान खसेपछि ठूलो मात्रामा कालो धुवाँ उठेको र आपतकालीन टोलीहरू तुरुन्तै परिचालन गरिएको हवाई दृश्यहरूले देखाएका छन् ।

    एडवड्र्स एयर फोर्स बेसको ४१२ औँ टेस्ट विङका उपकमान्डर कर्नल जेम्स हेसका अनुसार विमानमा सरकारी ठेकेदार र वर्दीधारी सैनिकहरू सवार थिए । विमान निर्माता बोइङले पनि आफ्ना दुई कर्मचारी विमानमा रहेको पुष्टि गरेको छ । अधिकारीहरूले सबै आठ जनाको ज्यान गएको र उनीहरूको परिवारलाई जानकारी दिने प्रक्रिया जारी रहेको बताएका छन् ।

    कर्नल हेसले पत्रकार सम्मेलनमा भने, “हामीले आठ जना महान् अमेरिकीहरू गुमाएका छौँ ।” उनका अनुसार दुर्घटनाको कारण तत्काल स्पष्ट नभए पनि विस्तृत अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानमा करिब छ महिना लाग्न सक्ने अनुमान गरिएको छ। दुर्घटनाग्रस्त बी–५२ विमान राडार आधुनिकीकरण कार्यक्रमसँग सम्बन्धित परीक्षण उडानमा संलग्न रहेको बताइएको छ । तर यो नै त्यही विशेष विमान थियो कि थिएन भन्ने विषयमा स्पष्टता आएको छैन ।

    बी–५२ स्ट्राटोफोट्र्रेस अमेरिकी वायु सेनाको लामो दूरी बमवर्षक विमान हो । यो विमानले सन् १९५५ देखि सेवा दिँदै आएको छ । परम्परागत र आणविक हतियार बोक्न सक्ने क्षमता भएको यो विमान भियतनामदेखि मध्यपूर्वसम्मका विभिन्न सैन्य अभियानमा प्रयोग हुँदै आएको छ ।

    एडवड्र्स एयर फोर्स बेसलाई अमेरिकी वायु सेनाको प्रमुख परीक्षण केन्द्रका रूपमा लिइन्छ । यहाँ विमान, हतियार प्रणाली र सफ्टवेयरहरूको विकास र परीक्षण गरिन्छ । यही आधारमा सन् १९४७ मा परीक्षण पाइलट चक येगरले पहिलो पटक ध्वनि अवरोध तोड्दै ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको थियो । दुर्घटनापछि एयरफिल्ड केही समयका लागि बन्द गरिएको थियो र उडानहरू अन्य स्थानमा मोडिएका थिए । पछि आधार आंशिक रूपमा पुनः सञ्चालनमा आएको भए पनि गैर–व्यावसायिक आगन्तुक पासहरू निलम्बन गरिएको छ ।

    वायु सेना सचिव ट्रोय मिन्कले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्देश जारी गरेका छन् । उनले भने, “हामी यो क्षतिमा शोक मनाउँछौँ र आफ्नो कर्तव्य पूरा गर्न निरन्तर खटिने एयरम्यान, नागरिक र ठेकेदारहरूको सेवाको सम्मान गर्दछौँ ।” उड्डयन सुरक्षा विशेषज्ञ जेफ गुजेट्टीका अनुसार प्रारम्भिक सङ्केतहरूले उडान नियन्त्रण प्रणालीमा समस्या देखिएको हुन सक्ने अनुमान गरिएको छ । उनले मर्मतपछि नियन्त्रणमा त्रुटि, इन्जिन असफलता वा परीक्षण उपकरणमा समस्या हुन सक्ने सम्भावनाहरू औँल्याए ।
    यद्यपि बी–५२ जस्तो विमान दशकौँदेखि प्रयोगमा रहे पनि नयाँ राडार प्रणाली तथा आधुनिक परीक्षण उपकरणहरूको समावेशले परीक्षण उडानलाई अझ जटिल र जोखिमपूर्ण बनाउने विज्ञहरूको भनाइ छ । उड्डयन विज्ञहरूले परीक्षण उडान सामान्य सञ्चालनभन्दा सधैँ बढी जोखिमपूर्ण हुने भएकाले कडा सुरक्षा प्रोटोकल आवश्यक हुने बताएका छन् ।

    यसअघि पनि अमेरिकी वायु सेनाका प्रशिक्षण र परीक्षण उडानहरूमा घातक दुर्घटनाहरू भएका छन्, जसमा २०२४ मा टेक्सासमा इजेक्शन सीट सक्रिय हुँदा एक प्रशिक्षक पाइलटको मृत्यु भएको थियो भने २०२२ र २०२१ मा भएका अलग–अलग दुर्घटनाहरूमा पनि पाइलटहरूको ज्यान गएको थियो । हालको दुर्घटनापछि अमेरिकी वायु सेनाले विस्तृत अनुसन्धान अघि बढाएको छ भने घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।

  • राष्ट्रसङ्घद्वारा अमेरिका इरान सम्झौताको स्वागत

    राष्ट्रसङ्घद्वारा अमेरिका इरान सम्झौताको स्वागत

    संयुक्त राष्ट्रसङघ, ३असार (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष एनालेना बारबकले सोमबार संयुक्त राज्य अमेरिका र इरान बीच भएकोे सम्झौताको घोषणालाई स्वागत गरेका छन् । संयुक्त राज्य अमेरिका र इरानले लामो समयको युद्ध पछि समझदारीमा आएर गरेको सहमती घोषणालाई महासभाका अध्यक्ष र महासचिवले स्वागत गर्दै विज्ञप्ति जारी गरेको जनाइएको छ ।

    द्धिदेशिय युद्धमन कारण हजारौं नागरिकहरूको मृत्यु नागरिक पूर्वाधारको विनाश, स्ट्रेट अफ होर्मुजमा अवरोध क्षेत्रिय अस्थिरता र विश्वव्यापी आर्थिक उथलपुथल निम्त्याएको थियो भने यो समझदारीसँगै युद्ध अन्त्य भई दिगो शान्ति कायम हुने अपेक्षा गरिएको छ ।

    समझदारीको लागि मध्यस्थकर्ताहरूलाई धन्यवाद दिँदै उनीहरुले लेबनान लगायत सबै पक्षहरूलाई तत्काल र स्थायी युद्धविरामको पूर्ण पालना गर्न र संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप सबै विवादहरूको कूटनीतिक समाधान खोज्न यो अवसरको उपयोग गर्न आह्वान गरे । मध्यपूर्वमा स्थायी शान्ति ल्याउने, यस क्षेत्रका सबै देश र जनताको सुरक्षा सुनिश्चित गरी निर्दोष नागरिकहरूको पीडा अन्त्य गर्ने यो एक मात्र तरिका भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • हर्मुज मार्ग पुनः खुल्ने सङ्केत

    हर्मुज मार्ग पुनः खुल्ने सङ्केत

    तेहरान, ३ असार (रासस–एएफपी) । अमेरिका–इरान सम्झौतापछि विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजको जलघाँटी पुनः सञ्चालनतर्फ अघि बढेको सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म उक्त सामरिक जलमार्ग ‘पूर्ण रूपमा खुला’ हुने बताउनुभएसँगै यसले मध्यपूर्व युद्ध अन्त्यतर्फको सम्झौतापछि ऊर्जा बजारमा आशा जगाएको छ ।

    ट्रम्पका अनुसार जहाजहरू पहिले नै हर्मुज हुँदै आवागमन गर्न थालेका छन् र तेलले भरिएका ट्याङ्करहरू सुरक्षित रूपमा क्षेत्र पार गरिरहेका छन् । उहाँले पछि प्रतिक्रिया दिँदै उक्त मार्ग खुला राख्न ‘ठूलो अतिरिक्त सहयोग आवश्यक नपर्ने’ सङ्केत गरे ।


    तीन महिनासम्म चलेको द्वन्द्वपछि वासिङ्टन र तेहरानबीच भएको सहमतिलाई विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । फेब्रुअरीको अन्त्यमा इरानमा भएको अमेरिका–इजरायली आक्रमणपछि उत्पन्न तनावका कारण विश्व बजार अस्थिर बनेको थियो । सम्झौताको खबर सार्वजनिक भएसँगै विश्व बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ । वाल स्ट्रिटको डाउ जोन्स सूचकाङ्क ऐतिहासिक उचाइमा पुगेको छ भने कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेको छ, जसले ऊर्जा आपूर्ति सहज हुने अपेक्षा बढाएको छ ।

    इरानी सञ्चारमाध्यमका अनुसार सोमबार साँझ केही तेल ट्याङ्कर र मालवाहक जहाजहरू विवादित जलमार्ग हुँदै अघि बढेका थिए । युद्ध सुरु भएदेखि इरानले हर्मुज मार्ग अवरुद्ध गरेको आरोप लाग्दै आएको थियो, जसले विश्व तेल बजारमा ठूलो मूल्यवृद्धि र आपूर्ति सङ्कटको डर बढाएको थियो । यसैबीच, अमेरिका, इरान र मध्यस्थकर्ता पाकिस्तानले शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको जनाइएको छ । यद्यपि केही अमेरिकी अधिकारीहरूले कागजातमा इलेक्ट्रोनिक हस्ताक्षर भइसकेको बताएका छन् ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौतामा कुनै पनि अमेरिकी करदाताको पैसा इरानमा नजाने स्पष्ट पार्दै यसलाई कूटनीतिक समाधानतर्फको कदमका रूपमा व्याख्या गरेका छन् । उनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायसँग सहकार्य गरेर इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार व्यवस्थापन गरिने उल्लेख गरे । इरानका अधिकारीहरूले भने सम्झौतालाई युद्धको ‘तत्काल अन्त्य’ का रूपमा प्रस्तुत गरेका छन् ।

    उपविदेशमन्त्री काजेम घारिबाबादीले दुई महिनाभित्र अन्तिम सम्झौताका लागि थप वार्ता हुने बताए । इरानी सेनाले यसलाई ‘विजय’ भन्दै अमेरिकालाई ‘अपमानित’ गरिएको दाबी गरेको छ भने राष्ट्रपति मसुद पेजेस्कियानले यसलाई क्षेत्रीय रूपमा ठूलो उपलब्धि भने ।


    तर इरानी विदेशमन्त्री अब्बास अराघचीले विगतका सम्झौता कार्यान्वयन नभएको अनुभव स्मरण गर्दै सावधानी अपनाउनुपर्ने धारणा राखे । उनका अनुसार विगतका असफल प्रतिबद्धताले अहिलेको विश्वासमा असर पारेको छ । सम्झौताका विस्तृत सर्तहरू अझै अस्पष्ट रहेका छन् । इरानले विदेशमा रोकिएको कोष फिर्ता र युद्धका क्षतिको क्षतिपूर्ति मागेको जनाएको छ भने अमेरिकी पक्षले १२ अर्ब डलर बराबरको जफत सम्पत्ति फुकुवा गर्ने चर्चा गरिएको छ ।

    उपराष्ट्रपति भान्सले कुनै पनि अमेरिकी रकम इरानमा नगएको स्पष्ट गर्दै संवेदनशील विषयमा कडा निगरानी रहने बताए । साथै इरानमा अन्तर्राष्ट्रिय निरीक्षकहरूको प्रवेश अनुमति दिने विषयमा पनि छलफल भइरहेको छ । हर्मुज मार्ग पुनः सञ्चालन र सम्भावित शान्ति सम्झौताले विश्व ऊर्जा बजारमा अस्थायी स्थिरता ल्याएको भए पनि राजनीतिक विवाद, क्षेत्रीय सुरक्षा चुनौती र आणविक कार्यक्रमसम्बन्धी असमझदारी अझै कायम रहेको विश्लेषकहरूले बताएका छन् ।

    इरानभित्र पनि सम्झौताप्रति मिश्रित प्रतिक्रिया देखिएको छ । केही नागरिकले जीवन सामान्यतर्फ फर्कने आशा व्यक्त गरे पनि धेरैले दीर्घकालीन स्थायित्वप्रति शङ्का व्यक्त गरेका छन् । इजरायल, लेबनान र गाजासम्म फैलिएको क्षेत्रीय तनावको सन्दर्भमा पनि यो सम्झौता निर्णायक मोड बन्न सक्ने अनुमान गरिएको छ । यद्यपि इजरायली पक्षले आफ्ना सुरक्षा स्वार्थमा सम्झौता नगर्ने सङ्केत दिएको छ । अन्तर्राष्ट्रिय समुदायले भने हर्मुज मार्ग पुनः खुल्नु र युद्धविरामको सम्भावनाले विश्व ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ ।

  • राष्ट्रगान विवादमा इरानी खेलाडीको प्रतिक्रिया

    राष्ट्रगान विवादमा इरानी खेलाडीको प्रतिक्रिया

    लस एन्जलस, ३ असार (रासस–एएफपी) । विश्वकप फुटबलको उद्घाटन खेलमा इरानको राष्ट्रगानका क्रममा दर्शकदीर्घाबाट उठेको विरोध र समर्थनबीच इरानी खेलाडी रामिन रेजियानले त्यसलाई इरानीहरूको आन्तरिक विषय भएको बताउँदै बाह्य हस्तक्षेप आवश्यक नरहेको धारणा व्यक्त गरेका छन् । लस एन्जलसमा भएको खेलले खेलकुदसँगै इरानको राजनीतिक विभाजनलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुनः उजागर गरेको छ ।

    न्युजिल्यान्डविरुद्ध २–२ को बराबरीमा सकिएको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै इरानका गोलकर्ता रेजियानले राष्ट्रगान बजिरहेका बेला दर्शकबाट उठेको विरोधको आवाजबारे सोधिएको प्रश्नमा संयमित तर स्पष्ट प्रतिक्रिया दिए । “यदि हामीबीच कुनै समस्या छ भने, त्यो हाम्रो विषय हो, तपाईंहरूको होइन”, उनले भने, “म तपाईंलाई सम्मान गर्छु, तर यो हामीबीचको कुरा हो र हामी आफैँ समाधान गर्नेछौँ । चिन्ता नगर्नुहोस् ।”

    लस एन्जलसमा ठूलो इरानी–अमेरिकी समुदाय बसोबास गर्दै आएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान छाडेका नागरिक र तिनका सन्तानहरूको उल्लेखनीय उपस्थिति रहेको यस सहरलाई कहिलेकाहीँ ‘तेह्रान्जेल्स’ भनेर पनि चिनिन्छ । खेलअघि सयौँ प्रदर्शनकारी रङ्गशालाबाहिर भेला भएका थिए ।

    उनीहरूले ड्रम बजाउँदै नारा लगाएका थिए र इरानी राष्ट्रिय टोलीलाई तेहरान सरकारको प्रचार माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागी धेरैले इस्लामिक क्रान्तिअघिको इरानी झण्डा बोकेका थिए, जुन हालका सरकारविरोधी समूहहरूबीच लोकप्रिय प्रतीक बनेको छ ।

    रङ्गशालाभित्र राष्ट्रगान सुरु हुनेबित्तिकै समर्थन र विरोधका आवाज मिसिएका थिए । केही दर्शकले राष्ट्रगानप्रति असहमति प्रकट गरेका थिए भने अरूले समर्थनमा जयजयकार गरेका थिए । खेलभरि पनि इरानी टोलीप्रति दर्शकहरूको प्रतिक्रिया मिश्रित देखिएको थियो । कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न उक्त खेलमा राजनीतिक तनावको छाया देखिए पनि मैदानमा प्रतिस्पर्धा रोमाञ्चक रह्यो । रेजियानले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दै टोलीको बराबरीमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

    तर खेलपछि उहाँले राजनीतिक विवादमा थप टिप्पणी गर्न अस्वीकार गर्दै आफूहरू फुटबलकै विषयमा बोल्न आएको स्पष्ट पारे । “वास्तवमा हामी यहाँ फुटबलसम्बन्धी प्रश्नहरूको जवाफ दिन आएका छौँ”, उनले भने, “इरानका मेरा मानिसहरू धेरै राम्रा छन् । अहिले संसारले पनि मेरा मानिसहरूको बारेमा थाहा पाएको छ ।” विश्वकपजस्तो विश्वव्यापी प्रतियोगितामा इरानको उपस्थितिसँगै देशभित्र र प्रवासी समुदायमा रहेका राजनीतिक मतभेद फेरि सतहमा देखिएका छन् । तर इरानी खेलाडीहरूले भने आफूहरूलाई खेलमै केन्द्रित राख्न खोजिरहेको सङ्केत दिएका छन् ।

  • खडेरीको चिन्ता र उत्तर कोरियाको ‘सुक्खा धान’ अभियान

    खडेरीको चिन्ता र उत्तर कोरियाको ‘सुक्खा धान’ अभियान

    सियोल, ३ असार (रासस–एएफपी) । उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ । राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसलाई देशमा बढ्दो खडेरी र खाद्य असुरक्षाको गम्भीर सङ्केतका रूपमा व्याख्या गरेका छन् । आणविक हतियार सम्पन्न उत्तर कोरिया लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध, राज्य–नियन्त्रित अर्थतन्त्र र निरन्तर खाद्यान्न अभावको समस्यासँग जुध्दै आएको छ । विगतका वर्षहरूमा प्राकृतिक विपद् र कमजोर कृषि संरचनाले पनि खाद्य उत्पादनमा असर पार्दै आएको छ ।

    संयुक्त राष्ट्रसङ्घका उत्तर कोरियासम्बन्धी मानव अधिकार विशेष प्रतिवेदक एलिजाबेथ साल्मोनले फेब्रुअरीमा देशमा खाद्यान्न अभाव प्रमुख मानवीय चुनौती बनेको बताएका थिए । उनका अनुसार पर्याप्त खाद्य उपलब्ध नहुनुले सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

    प्योङयाङको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसीएनए० ले मङ्गलबार देशका विभिन्न क्षेत्रमा सुक्खा खेतमा धान खेती विस्तार भइरहेको जनाएको छ । सामान्यतया धानखेतीका लागि प्रशस्त पानी आवश्यक पर्ने भए पनि यस्तो विधि सिँचाइ सीमित हुँदा वा वर्षामा निर्भर रहँदा प्रयोग गरिन्छ । यसअघि अप्रिलमा केसीएनएले देशले ‘असामान्य’ र ‘गम्भीर’ खडेरीको सामना गरिरहेको चेतावनी दिएको थियो र बाली जोगाउन विशेष कदम चालिएको उल्लेख गरेको थियो । त्यसयता खडेरीको अवस्था अझै चुनौतीपूर्ण रहेको विभिन्न रिपोर्टहरूले देखाएका छन् ।

    दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाको सरकारी टेलिभिजनले गत महिना पश्चिमी क्षेत्रमा पर्ने दक्षिण ह्वान्घे प्रान्तका विभिन्न स्थानमा गम्भीर खडेरीको अवस्था देखाएको थियो । उक्त क्षेत्र देशको प्रमुख अन्न उत्पादन केन्द्र मानिन्छ । विशेषज्ञहरूका अनुसार पछिल्ला घटनाक्रमले उत्तर कोरियाको कृषि क्षेत्रमा पानीको अभाव गम्भीर बन्दै गएको सङ्केत गर्छ ।

    डोङ्गगुक विश्वविद्यालयका प्राध्यापक किम योङ–ह्युनले पानीको उपलब्धता घट्दा सुक्खा खेतको धान वैकल्पिक उत्पादन प्रणालीका रूपमा प्रयोग गरिने बताए ।
    उनले उत्तर कोरियाले यस्तो खेती विस्तार गरिरहेको तथ्यले यस वर्षको अन्त्यसम्म खाद्य उत्पादनबारे चिन्ता बढ्न सक्ने सङ्केत दिने बताए । उत्पादनमा कमी आए खाद्यान्न अभाव अझ गहिरिन सक्ने उनको भनाइ छ ।

    इवा वुमन्स युनिभर्सिटीका उत्तर कोरियाली अध्ययनका प्राध्यापक पार्क वोन–गोनले पनि खडेरीको अवस्था उल्लेखनीय रूपमा सुधार नभएको आकलन गरे । उनका अनुसार उत्तर कोरियाले प्रत्येक वर्ष करिब पाँच लाखदेखि १० लाख टनसम्म खाद्यान्न अभाव झेल्दै आएको छ । विश्लेषकहरूका अनुसार जलवायुजन्य जोखिम, सीमित कृषि प्रविधि र दीर्घकालीन आर्थिक कठिनाइका कारण उत्तर कोरियाको खाद्य सुरक्षा चुनौती आगामी दिनमा अझ गम्भीर बन्न सक्ने देखिएको छ।

  • मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    काठमाडौँ, ३ असारः कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ । अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।

    मेसीले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ६०औँ मिनेटमा दोस्रो तथा खेलको ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जितसँगै समूह ‘जे’मा रहेको अर्जेन्टिनाले तीन अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

  • किसानलाई अनुदानमा मौरी घार वितरण

    किसानलाई अनुदानमा मौरी घार वितरण

    दमौली (तनहुँ), ३ असारः जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ ।

    कार्यालयको चालु आर्थिक वर्ष २०८२\८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । कृषि उद्यम विकास कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रवद्र्धन कार्यक्रममार्फत रोदी खोला किसान समूहमा आबद्धलाई मौरीका घार हस्तान्तरण गरिएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।


    जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख पर्शुराम अधिकारीले मौरीपालनलाई आयमूलक व्यवसायका रूपमा विकास गर्न कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले अनुदानमा वितरण गरिएका मौरीका घारको उचित प्रयोग गरी व्यवसाय विस्तार गर्न कृषकलाई आग्रह गरे ।

    “मौरीपालन ग्रामीण क्षेत्रका कृषकका लागि राम्रो सम्भावना बोकेको व्यवसाय हो”, उहाँले भन्नुभयो, “यसबाट उत्पादित महको बजार माग उच्च रहेकाले कृषकले अतिरिक्त आम्दानी लिनसक्ने अवस्था छ । कार्यालयले आगामी दिनमा पनि उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिनेछ ।”

    गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले मौरीपालन कम लगानीमा राम्रो आम्दानी लिन सकिने व्यवसाय भएकाले ग्रामीण क्षेत्रमा यसको विस्तार आवश्यक रहेको उल्लेख गरे । “मौरीपालनले मह उत्पादन मात्र होइन, कृषिबालीको परागसेचनमा महत्वपूर्ण योगदान पु¥याउँछ”, उनले भने, “यसले कृषकको आम्दानी वृद्धि गर्नुका साथै कृषि उत्पादन बढाउन पनि सहयोग पुग्छ ।”

  • विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

    काठमाडौँ, ३ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भएन ।

    खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बापेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पु¥याए ।

  • अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

    अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

    काठमाडौँ, ३ असार । आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ । विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पु¥याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ ।

    यस वर्षको दिवसका अवसरमा आइडिएफआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य लाभान्वित छन् ।

    विगत एक दशकमा आप्रवासीहरूले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा करिब पाँच खर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । जुन वैदेशिक विकास सहायता रकमभन्दा बढी तथा प्रत्यक्ष वैदेशिक लगानीसरह रहेको उल्लेख गरिएको छ । तीमध्ये एकतिहाइभन्दा बढी रकम ग्रामीण क्षेत्रमा पुगेको अनुमान छ ।

    अभियानले विश्वका करिब ४४ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने र अत्यधिक गरिबीमा रहेका झण्डै ८० प्रतिशत मानिस पनि यिनै क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रहरू जलवायुजन्य विपद्, बजार अस्थिरता र आर्थिक जोखिमको सामना गरिरहेका भए पनि विकासका अपार सम्भावना बोकेको जनाएको छ ।

    हाल न्यून तथा मध्यम आय भएका मुलुकहरूमा वार्षिक करिब ७०० अर्ब अमेरिकी डलर बराबरको विप्रेषण भित्रिने गरेको छ । सन् २०३० सम्म थप ४.४ खर्ब अमेरिकी डलर विप्रेषण यस्ता मुलुकहरूमा प्रवाह हुने अनुमान गरिएको छ ।

    दिगो विकासका लागि सन् २०३० को कार्यसूचीअन्तर्गत रहेको दिगो विकास लक्ष्य १० (सी) ले आप्रवासी विप्रेषणको कारोबार लागत तीन प्रतिशतभन्दा कममा झार्ने तथा पाँच प्रतिशतभन्दा बढी लागत लाग्ने मार्गहरू हटाउने लक्ष्य लिएको छ । विप्रेषणले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा आर्थिक स्थायित्वलगायत विभिन्न दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पु¥याउने बताइएको छ ।

    अभियानले निजी क्षेत्रलाई सस्तो, पहुँचयोग्य तथा प्रतिस्पर्धी विप्रेषण सेवा विस्तार गर्न, विप्रेषणसँग आबद्ध वित्तीय उत्पादन विकास गर्न तथा प्रवासी समुदायको पूँजी र उद्यमशीलतालाई ग्रामीण बजार सुदृढीकरणमा परिचालन गर्न आग्रह गरेको छ । त्यसैगरी सार्वजनिक क्षेत्रलाई डिजिटल वित्तीय समावेशीकरण, लगानीमैत्री नीति तथा ग्रामीण बजार एकीकरणका लागि आवश्यक पूर्वाधार विकास गर्न सुझाव दिइएको छ ।

    हाल विप्रेषणको करिब ७५ प्रतिशत हिस्सा परिवारका तत्कालीन आवश्यकतामा खर्च हुने गरेको र बाँकी २५ प्रतिशत अर्थात् वार्षिक १०० अर्ब अमेरिकी डलरभन्दा बढी रकम बचत तथा लगानीका लागि उपयोग हुन सक्ने अनुमान गरिएको छ । उपयुक्त वित्तीय सेवा र लगानीका अवसर उपलब्ध गराउन सके विप्रेषणलाई दीर्घकालीन आर्थिक विकास, उद्यम विस्तार तथा रोजगारी सिर्जनाको आधार बनाउन सकिने अभियानले जनाएको छ ।

    विश्वका ८० भन्दाबढी मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा कम्तीमा तीन प्रतिशत रहेको तथा ३० वटा मुलुकमा यो हिस्सा १० प्रतिशतभन्दा बढी रहेको तथ्याङ्कले विप्रेषण सामाजिक–आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बनेको देखाएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा विप्रेषणले आर्थिक गतिविधि विस्तार, जीविकोपार्जन सुधार तथा समुदायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरिएको छ ।

  • उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

    राम थापा र कृष्ण दबाडी\रासस

    कास्की, ३ असारः विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो ।

    कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र झिनु डाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । यससँगै वर्षौैँदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत् सेवा पाउने भएका छन् ।

    यसबाट विशेष गरेर पर्यटन व्यवसायी औधी रमाएका छन् । अन्नपूर्ण ११ झिनुमा विगत २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका जगदीश गुरुङले भन्नुभयो “ यहाँ राष्ट्रिय प्रसारण लाइन विद्युत आउनु औधी खुसीको कुरा हो । अव यहाँको पर्यटन अझ प्रवद्र्धन हुने छ ।”उहाँका अनुसार झिनुडाडादेखि माथिल्लो सिनुवासम्म ठूला साना गरी ६० र ७० होटल सञ्चालनमा आइसकेका छन् ।

    अन्नपूर्ण ११ छोम्रोङका होटल व्यवसायी मिकाश गुरुङले राष्ट्रिय प्रसारण लाइन विद्युत सेवाले पदयात्रीलाई समेत थप सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि पदयात्रीले मोबाइल चार्जिङ, तातोपानी, इन्टरनेट तथा अन्य विद्युतीय सेवामा थप सहज हुने जनाइएको छ । । होटल व्यवसायीका अनुसार अब पर्यटकलाई चौबिसै घण्टा विद्युत् सुविधा उपलब्ध गराउन सकिने भएकाले सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउनेछ ।

    नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीवश्री रम्तेलका अनुसार घान्द्रुक बसपार्कबाट झिनु र छोम्रोङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी विद्युत् प्रवाह सुरु भइसकेको छ । उहाँले भन्नुभयो, “घान्द्रुक बसपार्कदेखि माथिल्लो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । अहिले अपर सिनुवासम्म लाइन विस्तार गरी चार्जसमेत भइसकेको छ र स्थानीयले मिटर जडान गर्न थालेका छन् ।”

    यस क्षेत्रमा विद्युतीकरणका लागि २०७९ सालमा पहिलोपटक बोलपत्र आह्वान गरिएको थियो । पहिलो बोलपत्रअनुसार छनोट भएको कम्पनीले सम्झौता नगरेपछि पुनः ठेक्का आह्वान गरिएको थियो । बीएनआर महालक्ष्मी जेभी, धनकुटाले लेवर कन्ट्रयाक्टबापत रु दुई करोड २१ लाखको लागतमा आयोजना सम्पन्न गरेको हो ।

    दुर्गम हिमाली भूगोलका कारण आयोजना कार्यान्वयन चुनौतीपूर्ण बनेको थियो । विशेषगरी छोम्रोङभन्दा माथिल्लो क्षेत्रमा विद्युत् पोल र ट्रान्सफर्मर हेलिकप्टरमार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ ।

    “पदयात्रीलाई मोबाइल चार्ज गर्न, पानी तताउन र इन्टरनेट चलाउन समस्या हुन्थ्यो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन्”, इन्जिनियर रम्तेलले भन्नुभयो ।

    प्राधिकरणले आगामी आर्थिक वर्षभित्रमा एबिसी पदमार्गमा पर्ने हिमालयसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना बनाएको छ । सामग्री अभावका कारण हालका लागि काम रोकिए पनि आगामी वर्ष विस्तारलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ ।

    स्थानीयवासीका अनुसार विद्युत् पहुँच विस्तारले पर्यटन व्यवसायमात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले आधुनिक विद्युत् सुविधा विस्तारले अन्नपूर्ण पदमार्गको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । “पदयात्रीले अब यस क्षेत्रमा पदयात्रामा आउँदा समस्या भोग्नु पर्दैन, यसबाट सहज सञ्चार सुविधाका लागि सहयोग पुगेको छ”, गुरुङले भन्नुभयो ।

    विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पर्यटकको बसाइमा तथा यात्रा थप सहज, सुरक्षित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ । यसबाट थप पर्यटक आगमन वृद्धि हुने स्थानीयले विश्वास लिएका छन् ।

    अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

    अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन् । चालु आवको जेठसम्ममा चार लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१÷८२ मा जम्मा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । चालु आव सकिन अझै एक महिना बाँकी रहेकाले यस वर्ष पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

    “गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झन्डै ३०० प्रतिशतले वृद्धि भयो”, उहाँले भन्नुभयो, “भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएको यो पहिलोपटक हो ।” भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको पर्यटन प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसार आदि कारणले भारतीय पर्यटक बढेको उहाँले बताउनुभयो । यस याममा गर्मी छल्न पनि भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् ।

    आयोजना कार्यालयको आकडाअनुसार गत जेठसम्ममा भित्रिएका कुल पर्यटकमध्ये तीन लाख १९ हजार ४१९ दक्षिण एसियाली मुलुकका र एक लाख २१ हजार ९९३ अन्य मुलकका रहेका छन् । जेठमा मात्र एक लाख २७ हजार ४५९ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका हुन् । गत वर्ष जेठमा उक्त सङ्ख्या जम्मा ३१ हजार ९५५ मा सीमित थियो । यस वर्ष वैशाख–जेठमा पोखराका होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

    मनसुन भित्रनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको उहाँको भनाइ छ । झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ । पोखरा आउने भारतीय पर्यटकमध्ये झन्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने अन्य मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्वप्रसिद्ध गन्तव्य मानिन्छ ।

    अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ ।

    कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

  • आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

    आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

    काठमाडौँ, ३ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ ।
    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

    त्यसैगरी आज राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।

  • मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

    मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

    काठमाडौँ, ३ असारः मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो ।

    भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले राससलाई जानकारी दिए । “पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ । अब चाँडै अन्य प्रक्रिया सुरु हुन्छ”, इन्जिनियर श्रेष्ठले भने ।

    उनका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पु¥याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा कामम भइरहेको छ । हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई हस्तान्तरण गरिने जनाइएको छ ।
    ‘सिस्टम’ हस्तान्तरणपछि काठमाडौँवासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताए ।

  • भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ, २ असारः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्षसमेत आठ जना र भागरथी निर्माण सेवाका सञ्चालक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजश्व रकम संकलन नगरी हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    आयोगले बडीकेदार गाउँपालिका डोटीका अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा विरुद्ध रु १४ लाख १० हजार २४० बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ । यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी, लेखापाल युवराज भट्ट, गाउँपालिकाका तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सवइञ्जिनियर दानबहादुर पछेरा, भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बम विरुद्ध रु १४ लाख १० हजार २४० बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।

    यस्तै, सोही गाउँपालिकाले एक्स्काभेटर भाडामा दिने ठेक्कामा राजश्व रकम संकलन नगरी हानी नोक्सानी पुर्‍याएको अभियोगमा बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी विरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, लेखापाल, युवराज भट्ट, गाउँपालिकका सबइञ्जिनियर दानबहादुर पछेरा र भागरथी निर्माण सेवा धनगढी कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यीक्त केशवबहादुर बम विरुद्ध समान रु ४६ लाख ९५ हजार ६०० बराबरको बिगो र कैद सजायको माग गर्दै आजै अर्को मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

  • किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?

    किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?

    पेरिस, २ असार (रासस–एएफपी) । केही मानिसलाई लामखुट्टेले बारम्बार टोक्ने, अरूलाई भने लगभग बेवास्ता गर्ने अनुभव केवल संयोग नभई, बरु शरीरबाट निस्कने गन्ध, सास र तापक्रमको जटिल रासायनिक सङ्केतहरूको परिणाम भएको वैज्ञानिकहरूले बताउन थालेका छन् । यस विषयमा हालका अनुसन्धानहरूले किन केही मानिसहरू लामखुट्टेका लागि बढी आकर्षक हुन्छन् भन्ने बुझाइलाई अझ स्पष्ट बनाउँदै लगेका छन् ।

    फ्रान्सको इन्स्टिच्युट अफ रिसर्च फर डेभलपमेन्टका मेडिकल एन्टोमोलोजिस्ट फ्रेडरिक सिमार्डका अनुसार लामखुट्टेले सबै मानिसलाई समान रूपमा प्रतिक्रिया दिँदैनन् । उहाँले भन्नुभयो, “यो गलत धारणा होइन कि लामखुट्टे केही मानिसतर्फ बढी आकर्षित हुन्छ, तर सबै समय सबै मानिस चुम्बक हुँदैनन् ।”

    वैज्ञानिकहरूका अनुसार लामखुट्टेले मुख्य रूपमा तीन प्रमुख सङ्केतमार्फत मानिसलाई छान्छन्—हामीले सास फेर्दा निस्कने कार्बन डाइअक्साइड, शरीरबाट आउने गन्ध र शरीरको तापक्रम तथा आद्र्रता । यी सङ्केतहरूलाई महिला लामखुट्टेहरूले अत्यन्त संवेदनशील रूपमा पहिचान गर्छन्, किनकि रगत चुस्ने कार्य केवल तिनीहरूले मात्र गर्छन् ।

    स्विडेनका अनुसन्धानकर्ता रिकार्ड इग्नेलका अनुसार लामखुट्टेहरूले कार्बन डाइअक्साइडलाई सयौँ वर्षदेखि पहिलो सङ्केतका रूपमा प्रयोग गर्दै आएका छन् । उहाँका अनुसार दर्जनौँ मिटर टाढाबाटै लामखुट्टेले मानिसको सासको सङ्केत पत्ता लगाउन सक्छन् र नजिकिँदै जाँदा शरीरको गन्धसँग यसको प्रभाव अझ बढ्छ ।

    करिब १० मिटरको दूरीमा पुगेपछि लामखुट्टेले शरीरबाट निस्कने गन्ध पहिचान गर्न थाल्छन् । यसमा कार्बन डाइअक्साइडसँगै अन्य रासायनिक सङ्केतहरूको मिश्रणले उनीहरूलाई अझ आकर्षित बनाउँछ । अझ नजिकिँदा शरीरको तापक्रम र पसिनाको आद्र्रताले पनि आकर्षण बढाउने भूमिका खेल्छ ।

    केही प्रचलित विश्वासहरू भने वैज्ञानिक रूपमा पुष्टि नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । लामखुट्टेले निश्चित रगत समूहलाई रुचाउँछन् भन्ने दाबीको कुनै ठोस वैज्ञानिक आधार नभएको सिमार्डले बताउनुभयो । उहाँका अनुसार यस्ता निष्कर्षहरू सीमित अध्ययनमा आधारित छन् र पर्याप्त प्रमाण छैनन् ।

    त्यस्तै, छाला, आँखाको रङ वा कपालको रङसँग लामखुट्टेको आकर्षणको कुनै सम्बन्ध नरहेको पनि वैज्ञानिकहरूले स्पष्ट पारेका छन् । यसको विपरीत, शरीरको गन्ध निर्धारण गर्ने सूक्ष्म जैविक तत्त्वहरू सबैभन्दा महत्त्वपूर्ण कारकका रूपमा देखिएका छन् ।

    अनुसन्धानअनुसार मानव छालाबाट ३०० देखि एक हजारसम्म फरक गन्धयुक्त रासायनिक यौगिकहरू निस्किन्छन् । तीमध्ये केही यौगिकहरूको संयोजनले केही व्यक्तिहरूलाई लामखुट्टेका लागि विशेष रूपमा आकर्षक बनाउँछ ।

    हालै इग्नेल नेतृत्वको अध्ययनमा एडीज इजिप्टी लामखुट्टे प्रयोगशालामा ४२ जना महिलामा परीक्षण गरिएको थियो । यस अध्ययनले लामखुट्टेले गन्धयुक्त यौगिकहरूको मिश्रण प्रयोग गरेर आफ्नो लक्ष्य छान्ने गरेको देखाएको थियो, जसमा एक हजार सम्भावित यौगिकमध्ये करिब २७ वटा पहिचान गरिएका छन् ।

    विशेषगरी छालाको तेल सेबमको विघटनबाट बन्ने केही रसायनहरू लामखुट्टे आकर्षणसँग जोडिएका छन् । ‘१–अक्टेन–३–ओएल’ अर्थात् ‘मशरूम अल्कोहल’ नामक यौगिकको सानो मात्राको परिवर्तनले पनि आकर्षणमा उल्लेखनीय फरक पार्ने देखिएको इग्नेलले बताउनुभयो ।

    अनुसन्धानले गर्भवतीमा पनि लामखुट्टेको आकर्षण बढी हुने सङ्केत दिएको छ, जसको कारण शरीरमा हुने जैविक रासायनिक परिवर्तनहरू मानिन्छन् । वैज्ञानिकहरूका अनुसार यस्ता सूक्ष्म परिवर्तनहरूले लामखुट्टेको व्यवहारमा ठूलो प्रभाव पार्न सक्छ ।

    जीवनशैलीसँग सम्बन्धित केही तत्त्वहरूले पनि लामखुट्टेको आकर्षण बढाउने देखिएको छ । बियर सेवन गर्दा शरीरको तापक्रम बढ्ने, सासमा कार्बन डाइअक्साइड बढ्ने र छालाको गन्ध परिवर्तन हुने भएकाले लामखुट्टे बढी आकर्षित हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

    बुर्किना फासोमा गरिएको परीक्षणमा बियर पिउने स्वयंसेवकहरूलाई लामखुट्टेले बढी आकर्षित गरेको थियो । त्यस्तै नेदरल्यान्ड्समा सन् २०२३ मा गरिएको अध्ययनमा बियर सेवन गरेका व्यक्तिहरूलाई लामखुट्टेले करिब १।३५ गुणा बढी आकर्षण देखाएको पाइएको थियो ।

    जलवायु परिवर्तनका कारण लामखुट्टे फैलिने क्षेत्र विस्तार हुँदै जाँदा यस विषयको महत्त्व अझ बढ्दै गएको छ । विशेषगरी डेङ्गु, पहेँलो ज्वरो र चिकनगुनिया जस्ता रोग फैलाउने लामखुट्टे नयाँ क्षेत्रमा पुगिरहेका छन्, जसले सार्वजनिक स्वास्थ्य जोखिम बढाएको छ ।

    फ्रान्समा समेत पछिल्ला वर्षहरूमा चिकनगुनिया फैलाउने बाघ लामखुट्टे उत्तरतर्फ फैलिएको पाइएको छ, जसले वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको ध्यान खिचेको छ ।

    लामखुट्टेको टोकाइबाट जोगिनका लागि वैज्ञानिकहरूले ढिलो–ढाकिने कपडा लगाउने, लामखुट्टे जाली प्रयोग गर्ने र प्रभावकारी विकर्षक प्रयोग गर्ने सुझाव दिएका छन् । साथै, जीवनशैलीमा पनि ध्यान दिन—हल्का खाना खाने र मदिरा सेवन कम गर्न—उनीहरूले सल्लाह दिएका छन् ।

  • खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण

    खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण

    कर्णाली, १ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि आज सुर्खेत आइपुगेका मन्त्री पोखरेलले निकट भविष्यमा कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र रङ्गशाला निर्माणबारे स्थलगत निरीक्षण तथा अवलोकन गरे । उनले प्रतियोगताका लागि आउटडोर र इन्डोरमा हुने सबै खेलका भौतिक संरचना, निर्माणको कार्यमा भएको प्रगतिको कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव रवीन्द्र चन्दसँग जानकारी लिए ।


    मन्त्री पोखरेलले भने, “सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रु ८० करोड बजेट छुट्याएको छ । अब निर्धारित समयमा प्रतियोगिता सम्पन्न हुन्छ ।” फुटबल मैदान, भलिबल, ब्यामिन्टन कोर्ट, क्रिकेट तालिम हल, मार्सल आर्ट्स, स्विमिङलगायत निर्मित र निर्माणाधीन संरचनाहरूको निरीक्षण गर्दै उहाँले कर्णाली परिषद् सदस्यसचिव चन्दलाई बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी प्रतियोगिताको तयारीमा लाग्न सुझाए ।


    सदस्यसचिव चन्दले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले रु नौ करोड विनियोजन गरिएको बताउँदै वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला सम्पन्न गर्न थप रु नौ करोड तथा अन्य जिल्लाका खेलमैदान तथा कभर्डहल निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्ने गरी रङ्गशालाको बाँकी काम पूरा गर्न तीव्र रूपमा लाग्ने बताए ।

  • रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

    रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

    रासस
    सिद्धार्थनगर (भैरहवा), २ असारः जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा विभिन्न अपराधमा संलग्न २४३ जना प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले ज्यानसम्बन्धी २३, आत्महत्या १४, चोरी नौ, सङ्गठित तथा आर्थिक अपराध ५९, सामाजिक अपराध ५२, महिला तथा बालबालिकासम्बन्धी १३ तथा सवारीसम्बन्धी १२ मुद्दा दर्ता भएको जानकारी दिए ।


    फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ४६ जनालाई पक्राउ गरी रु ५२ लाख ६६ हजार ४१२ जरिवाना असुल गरिएको तथा १६ वर्ष पाँच महिना २५ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको उनले बताए । महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जेठ महिनामा घरेलु हिंसासम्बन्धी ९३ तथा झैझगडासम्बन्धी ७२ उजुरी प्राप्त भएको जनाइएको छ । तीमध्ये घरेलु हिंसाका ८३ वटा उजुरी मिलापत्रमार्फत समाधान गरिएको प्रहरीको भनाइ छ ।

    हराएका व्यक्ति खोजतलास अभियानअन्तर्गत १०८ जनाको खोजीका लागि निवेदन प्राप्त भएकामा ६१ जनालाई फेला पारिएको तथा अघिल्लो अवधिदेखि खोजीमा रहेका नौ जनालाई समेत परिवारको सम्पर्कमा ल्याइएको सूचना अधिकारी चन्दले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक आशीष विश्वकर्माका अनुसार जेठ महिनामा लागूऔषधसम्बन्धी १२ मुद्दा दर्ता भई १९ जना पक्राउ परेका छन् । प्रहरीले डाइजेपाम २५२ एम्पुल, फेनार्गन ५८ एम्पुल, बुप्रेनोर्फिन १४७ एम्पुल, ब्राउन सुगरजस्तो देखिने पदार्थ २१ ग्रामभन्दा बढी तथा गाँजा नौ किलो ९४४ ग्राम बरामद गरेको छ ।

    यसैबीच, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली मुद्रा छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट नक्कली नोट, कम्प्युटर, प्रिन्टर, मोबाइल फोन तथा अन्य उपकरण बरामद गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए । शान्तिसुरक्षालाई प्रभावकारी बनाउन जेठ महिनामा ४९३ प्रहरी पिकेट, ५१० सवारी चेकिङ, ८६८ ग्रामीण गस्ती तथा अन्य विशेष सुरक्षा गतिविधि सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा आठ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

    सवारी दुर्घटना न्यूनीकरणका प्रयास जारी रहे पनि जेठ महिनामा जिल्लाभर १५८ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको तथा २५६ जना घाइते भएको प्रहरीले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने तीन हजार ५६६ सवारीसाधनलाई कारबाही गरी रु ५६ लाख तीन हजार राजस्व सङ्कलन गरिएको छ ।

    भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रु दुई करोड ४३ लाख ४० हजार १६६ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको तथा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा ४० वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको थियो ।

    प्राकृतिक स्रोत तथा सम्पदा संरक्षण अभियानअन्तर्गत ३१ सवारीसाधन नियन्त्रणमा लिनुका साथै अवैध रूपमा ओसारपसार गरिएका ५६४ कुखुरा, ९०० चल्ला तथा विभिन्न वन पैदावार बरामद गरिएको जनाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध दुव्र्यसन, साइबर अपराध, बालविवाह, घरेलु हिंसा, आत्महत्या रोकथाम, सडक सुरक्षा तथा मानव बेचबिखनविरुद्ध १५० भन्दा बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममार्फत छ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

    नागरिक सहायता कक्षमार्फत एक हजार ६५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको तथा हटलाइन र सम्पर्क नम्बरमा चार हजार ४८ फोन कल प्राप्त भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी नायब उपरीक्षक चन्दले अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सुरक्षित समाज निर्माणमा नागरिकको सहयोग आवश्यक रहेको बताए ।