Author: Vishwanews.com

  • स्पा’ सञ्चालिका पक्राउ

    स्पा’ सञ्चालिका पक्राउ

    काठमाडौँ, २४ जेठः ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छिन् । प्रहरीले ललितपुर महानगरपालिका २ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो ।

    निजले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको इच्छाअनुसार अनैतिक कार्य गराइरहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । निजउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • अवैध लागुऔषधसहित ११ जना पक्राउ

    अवैध लागुऔषधसहित ११ जना पक्राउ

    काठमाडौँ, २४ जेठः नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट चार, मोरङबाट दुई र मकवानपुर, कञ्चनपुर, सिन्धुली, झापा र काठमाडौँबाट एक÷एक जनालाई पक्राउ परेका छन् । प्रहरीले निजहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नाइट्राजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

  • विश्व व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

    विश्व व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

    जेनेभा, २४ जेठ (रासस–सिन्ह्वा) । विश्व व्यापार सङ्गठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण चुनौतीहरू देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार मजबुत रहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानी र माग बढेकाले व्यापारलाई सहयोग पुगेको बताइएको छ ।


    विश्व व्यापार संगठनको नवीन वस्तु व्यापार सूचकाङ्क १०१ दशमलव ७ मा पुगेको छ, जुन जनवरी महिनाको १०२ दशमलव ३ भन्दा केही कम हो । यसले आगामी दिनमा वस्तु व्यापारको वृद्धि दर केही सुस्त हुन सक्ने सङ्केत गरेको छ । सूचकाङ्क १०० भन्दा माथि रहँदा व्यापार औसत प्रवृत्तिभन्दा राम्रो रहेको जनाउँछ भने १०० भन्दा तल रहँदा व्यापार कमजोर हुन सक्ने सङ्केत मानिन्छ ।


    प्रतिवेदनअनुसार कृत्रिम बुद्धिमत्तासम्बन्धी लगानीका लागि आवश्यक विद्युतीय पुर्जाको माग उल्लेखनीय रूपमा बढेको छ । यसले मध्यपूर्व द्वन्द्वबाट उत्पन्न नकारात्मक प्रभावलाई केही हदसम्म कम गरेको छ । सूचकाङ्कका विभिन्न अवयवमध्ये विद्युतीय पुर्जा सम्बन्धी सूचक १०५ दशमलव ५ मा पुगेको छ, जुन औसत स्तरभन्दा उल्लेखनीय रूपमा माथि रहेको बताइएको छ । अन्य अधिकांश सूचकहरू भने १०० को आसपास रहेका छन् ।


    निर्यात आदेश सम्बन्धी सूचक १०० दशमलव ५ मा कायम रहेको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेत देखाएको छ । गत चैतमा सार्वजनिक गरिएको विश्व व्यापार पूर्वानुमान तथा तथ्याङ्क प्रतिवेदनमा सन् २०२६ मा विश्वव्यापी वस्तु व्यापार १ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा सुस्त वृद्धि हो ।

    विश्व व्यापार संगठनले ऊर्जा मूल्य निरन्तर बढिरहेमा व्यापार वृद्धि दर १ दशमलव ४ प्रतिशतमा झर्न सक्ने जनाएको छ । तर कृत्रिम बुद्धिमत्तामा लगानी निरन्तर बढेमा वृद्धि दरमा थप शुन्य दशमलव ५ प्रतिशत बिन्दुको योगदान हुन सक्ने उल्लेख गरिएको छ ।

  • अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

    अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

    किन्सासा, २४ जेठ (रासस–एएफपी) । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने कार्य प्रभावकारी हुन नसकेमा आगामी तीन महिनाभित्र सङ्क्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने जोखिम रहेको छ । केन्द्रका अनुसार हालको कमजोर नियन्त्रण अवस्थालाई निरन्तरता दिइएमा संक्रमित संख्या २० हजार नाघ्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको छ ।

    विशेषज्ञहरूले इबोला सङ्क्रमितलाई छिटो पहिचान गरी उपचार केन्द्रमा अलग राख्नु महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् । तर प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच सीमित हुनु, जनशक्तिको अभाव तथा असुरक्षाका कारण संक्रमितहरूको वास्तविक संख्या यकिन गर्न कठिन भइरहेको छ । इबोला नियन्त्रण अभियानमा संलग्न वरिष्ठ अधिकारी सतीश पिल्लईले संक्रमणको वास्तविक अवस्था अझै पूर्ण रूपमा स्पष्ट नभएको बताए ।

    उनका अनुसार उपचार र अलग राख्नुपर्ने संक्रमितहरूको सङ्ख्या अनुमानभन्दा बढी हुन सक्ने संकेतहरू देखिएका छन् । स्थलको अवस्थाले हाल संक्रमितहरूलाई अलग राख्ने कार्य पर्याप्त प्रभावकारी नभएको देखाएको उनले उल्लेख गरे ।
    यसैबीच, विश्व स्वास्थ्य संगठन र अफ्रिकी संघको सार्वजनिक स्वास्थ्य निकायले कंगो तथा छिमेकी मुलुकहरूमा फैलिएको इबोला महामारी नियन्त्रण गर्न आगामी छ महिनाका लागि ५१ करोड ८० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । उक्त रकम उपचार, निगरानी, खोप अभियान, जनचेतना अभिवृद्धि तथा सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि खर्च गरिने बताइएको छ ।

    यो महामारी गत मे १५ मा कङ्गोको उत्तरपूर्वी क्षेत्रमा औपचारिक रूपमा घोषणा गरिएको थियो । यद्यपि दुर्लभ बन्डिबुग्यो प्रजातिको इबोला भाइरस घोषणा हुनुभन्दा केही समयअघिदेखि नै समुदायमा फैलिइरहेको स्वास्थ्य अधिकारीहरूको अनुमान छ । पछिल्लो तथ्यांकअनुसार कङ्गोमा हालसम्म ३८१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६४ जनाको मृत्यु भइसकेको छ । संक्रमण विशेषगरी तीन प्रान्तमा फैलिएको छ, जसमध्ये इटुरी प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ । कुल संक्रमितमध्ये करिब ९० प्रतिशत र मृत्यु भएका व्यक्तिमध्ये ७६ प्रतिशत इटुरी प्रान्तकै रहेका छन् ।

    छिमेकी मुलुक युगान्डामा पनि संक्रमण फैलिन थालेको छ । त्यहाँ हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । यद्यपि उपचारपछि कंगोमा सात जना र युगान्डामा दुई जना सङ्क्रमित पूर्ण रूपमा निको भएका छन् । स्वास्थ्य अधिकारीहरूले महामारी अझै नियन्त्रणबाहिर जाने जोखिम रहेको चेतावनी दिँदै संक्रमितको खोजी, सम्पर्कमा आएका व्यक्तिहरूको निगरानी, उपचार सेवाको विस्तार र जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।

  • आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

    आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

    नयाँदिल्ली, २४ जेठ (रासस–सिन्ह्वा) । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४–२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो । मध्य पूर्वमा जारी सङ्कटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

    तथ्याङ् अनुसार प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि दर देखिएको छ, जुन मुख्यतया कृषि र मत्स्य क्षेत्रबाट निर्यात भएको जनाइएको छ । गत आर्थिकको वर्षमा उत्पादन, व्यापार, होटल, यातायात, सञ्चार तथा प्रसारण तथा अचल सम्पत्ति क्षेत्रसँग सम्बन्धित सेवाहरूले दोहोरो अङ्कको वृद्धि हासिल गरेको तथ्याङ्कले देखाएको छ ।

  • विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

    विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

    नान्जिङ, २४ जेठ (रासस–सिन्ह्वा) । हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको देखाएको छ । यसले भविष्यमा पानी अभावको सामना गरिरहेका अर्बौं मानिसलाई थप प्रभावित पार्न सक्ने चेतावनी दिइएको छ । प्रख्यात वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययनअनुसार विश्वका जलाशयहरूले प्रत्येक दशकमा औसत ७ दशमलव ३ प्रतिशत भण्डारण क्षमता गुमाइरहेका छन् । विशेषगरी साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

    चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नान्जिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको अध्ययनले उपग्रह तस्बिर, भौगोलिक तथ्याङ्क तथा इन्जिनियरिङ अभिलेखको आधारमा विश्वव्यापी जलाशयको विस्तृत तथ्याङ्क भण्डार तयार गरेको छ । यसमा विश्वभरका पाँच लाख ५० हजारभन्दा बढी जलाशय समेटिएका छन् ।

    अध्ययनअनुसार तीमध्ये ९५ प्रतिशतभन्दा बढी जलाशय एक वर्ग किलोमिटरभन्दा साना छन् । यस्ता जलाशयहरू अघिल्ला धेरै अनुसन्धानमा पर्याप्त रूपमा समावेश गरिएका थिएनन् । अनुसन्धानकर्ता लिउ काईका अनुसार साना जलाशयलाई समेत समेटेर गरिएको यो पहिलो उच्च–स्तरीय विश्वव्यापी मूल्याङ्कन हो ।

    उहाँले जलाशयहरूले कृषि सिँचाइ, खानेपानी, बाढी नियन्त्रण तथा विद्युत् उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तर नदीबाट बगेर आउने माटो, बालुवा तथा अन्य पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा जलाशयमा पानी भण्डारण गर्ने ठाउँ घट्दै जाने र उपयोगिता कमजोर बन्दै जाने समस्या बढिरहेको उनको भनाइ छ । अध्ययनले जलाशयमा अत्यधिक गाद जम्ने १६ वटा प्रमुख जोखिम क्षेत्र पनि पहिचान गरेको छ । तीमध्ये धेरै क्षेत्र सिँचाइमा निर्भर कृषि उत्पादनका केन्द्र तथा पानी अभाव झेलिरहेका स्थानहरू रहेका छन् ।

    विश्वको करिब एक चौथाइ सिँचित खेतीयोग्य भूमि यस्ता उच्च जोखिमयुक्त क्षेत्रमा पर्दछ, जसको प्रभाव दुई अर्बभन्दा बढी मानिसमा पर्न सक्ने अध्ययनले जनाएको छ । यसले दीर्घकालीन खाद्य तथा जल सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न गरेको छ । अनुसन्धानकर्ताहरूले तत्काल प्रभावकारी कदम नचालिए सन् २०६० सम्म विश्वका आधाभन्दा बढी जलाशयहरूको कार्यक्षमता गम्भीर रूपमा प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।

    अर्का अनुसन्धानकर्ता सोङ छुनछियाओले जलाशयमा गाद जम्ने समस्या पानी, खाद्य तथा ऊर्जा सुरक्षाका लागि बढ्दो चुनौती बन्दै गएको उल्लेख गर्दै दिगो व्यवस्थापन प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार मानव कल्याण र विश्वव्यापी विकास लक्ष्य हासिल गर्न जलाशयको दिगो संरक्षण अपरिहार्य छ ।

  • विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप

    विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप

    तेहरान, २३ जेठ (रासस–एएफपी) । विश्वकप फुटबल प्रतियोगिता सुरु हुन करिब एक हप्ता बाँकी रहँदा खेलका लागि चयन भएका सहभागी राष्ट्रहरूबाट खेलका लागि आयोजक देशका लागि प्रवेशआज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीब्र बनेको छ । यस पटकको विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । खेलको उद्घाटन यही जेठ २९ गते हुनेछ ।

    आयोजक राष्ट्रमध्ये एक अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण आयोजक राष्ट्र अमेरिकाले विश्वकप प्रतियोगितामा सहभागी हुन लागेको इरानी फुटबल टोलीका केही सदस्यहरूलाई भिसा नदिएर ‘विभेदपूर्ण व्यवहार’ गरेको आरोप इरानले अमेरिकामाथि लगाएको छ। टर्कीस्थित इरानी दूतावासले अमेरिकी राजदूत टम कराकले खेलाडीहरूलाई भिसा प्रदान गरिएको घोषणा गरेको उल्लेख गर्दै भनेको छ, “व्यवस्थापकीय र कार्यकारी कर्मचारी, प्राविधिक सल्लाहकारहरू र अन्य जो कुनै पनि राष्ट्रिय फुटबल टोलीको अभिन्न अङ्ग हुन्, उनीहरूलाई भिसा दिन अस्वीकार गरिएको छ भनेर तपाईं किन भन्नुहुन्न ?”

    दूतावासले अगाडि भनेको छ, “इरानको राष्ट्रिय फुटबल टोलीविरुद्ध जानाजानी र भेदभावपूर्ण व्यवहारलाई उच्च स्तरमा पुर्याइएको छ ।” इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि बराकले शुक्रबार कुटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गरेका थिए ।


    शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोटर््स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् । शुक्रबार ताजले सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, “टोलीका सबैजनालाई भिसा जारी गरिनेछ भन्ने आफ्नो मूल्याङ्कन रहेको र यस सम्बन्धमा कुनै समस्या नहुने आशा गरिएको छ।”

    इरानीहरूले आफ्नो विश्वकप खेलमा टोली रहने स्थानलाई स्थानान्तरण गरेका छन् । सुरुमा टक्सन, एरिजोनामा हुने भनिएको उक्त बसाईलाई उत्तरपश्चिमी मेक्सिकन सीमावर्ती शहर तिजुआनामा स्थानान्तरण गरिएको छ। टोलीका सबै तीन समूह चरणका खेलहरू संयुक्त राज्य अमेरिकामा हुने कार्यतालिका सार्वजनिक भएको छ । टोलीले जुन १५ मा न्युजिल्यान्डसँग जुन २१ मा बेल्जियमसँग दुई खेल लस एन्जलसमा र जुन २७ मा इजिप्टसँग सियाटलमा खेल्नेछ ।

  • कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

    कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

    कुवेत शहर\मनामा, २४ जेठ (रासस–सिन्ह्वा) । कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले गरेको आक्रमणको निन्दा गरेका छन् र यसलाई सार्वभौमिकताको ठाडो उल्लङ्घन र क्षेत्रीय स्थिरतालाई खतरामा पार्ने खतरनाक तनाव वृद्धिको संज्ञा दिएका छन् । कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “यो आक्रमण कुवेतको सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताका साथै अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र चार्टर र सुरक्षा परिषदको प्रस्ताव २८१७ को ‘ठाडो उल्लङ्घन’ हो ।

    क्षेत्रीय द्वन्द्व रोक्नका लागि व्यापक विश्वव्यापी प्रयासहरू केन्द्रित भइरहेका बेला निरन्तर आक्रमणले खतरनाक तनाव वृद्धिलाई सङ्केत गरेको विज्ञप्तिमा उल्लेख छ। “कुनै पनि बहानामा आक्रमणको औचित्य पुष्टि गर्न सकिँदैन,” विज्ञप्तिमा भनिएको छ । बहराइनको विदेश मन्त्रालयले शनिबार नै एक विज्ञप्ति जारी गर्दै आक्रमणले खाडी क्षेत्रको सुरक्षा र स्थिरताका लागि खतरा उत्पन्न गरेको जनाएको छ ।

    उसले इरानलाई आक्रमण रोक्न, स्ट्रेट अफ हर्मुज बिना कुनै प्रतिबन्ध खुला गर्न र अन्तर्राष्ट्रिय कानून अन्तर्गत समुद्री नौवहनको स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ। यसअघि शनिबार कुवेत र बहराइन दुवैले मिसाइल र ड्रोन आक्रमणहरू रोक्ने घोषणा गरेका थिए, जबकि इरानको इस्लामिक रिभोलुसन गार्ड कोर (आईआरजीसी) ले कुवेतको अली अल सलेम एयर बेस र बहराइनमा अमेरिकी सेनाको एकाई ‘फिफ्थ फ्लीट’को मुख्यालयमा आक्रमण गरेको पुष्टि गरेको थियो।

    केश्म टापुमा रहेको आईआरजीसीको सञ्चार टावरमा रातिको समयमा भएको अमेरिकी आक्रमणको बदलामा आईआरजीसीले कुवेत र बहराइनमा रहेका दुई अमेरिकी बेसमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको घोषणा गरेको केही दिनपछि तेहरानको यो घटना भएको हो ।

  • विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान

    विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान

    तेहरान, २४ जेठ (रासस–एएफपी) । इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग लिन शनिबार टर्कीएबाट मेक्सिको प्रस्थान गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ । टर्कीएको सरकारी टेलिभिजनका अनुसार इरानको राष्ट्रिय फुटबल टोली १५ दिनको अभ्यास अवधिपछि विश्वकपमा भाग लिन मेक्सिकोका लागि आज साँझ उडेको हो । इरानको राष्ट्रिय टोली २० घण्टाको उडानपछि तिजुआना पुग्नेछ ।

    इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले सोही दिन इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएको बताएपछि अमेरिकी राजदूत टम बराकले शुक्रबार कुटनीतिक पहलका लागि अङ्कारास्थित अमेरिकी दूतावासको प्रशंसा गरेका थिए । शनिबार इरानी सञ्चारमाध्यम र भर्जेश–३ नामक इरानी स्पोटर््स अनलाइनले ताजसहित प्रतिनिधिमण्डलका सदस्यहरू, कार्यकारी सदस्यहरू र विश्लेषकहरूलाई भिसा नदिइएको बताएका छन् ।

  • दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

    दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

    काठमाडौँ, २४ जेठः दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेअनुरुप सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको प्रवद्र्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् ।

    पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ । दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन् । यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ ।

    डब्ल्युएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्छन् । यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ ।

    विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग सम्बन्धित विषय हो। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।

    यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनुपर्नेमा जोड दिइएको छ । सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ ।

    ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

  • हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

    हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

    काठमाडौँ, २४ जेठः देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित बाँकी हिमाली भागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

    महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा अनपेक्षित रूपमा तापक्रम बढ्ने सम्भावना छ ।
    त्यसैगरी, आज राति कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेश र बाँकी पहाडी भागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी प्रदेशका केही तथा मधेससहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    साथै मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तापक्रम अधिक हुने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।

  • हुम्लाको बौल्यानामा खानेपानी समस्या

    हुम्लाको बौल्यानामा खानेपानी समस्या

    अदानचुली (हुम्ला), २४ जेठः ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यतिबेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ । उनले भने, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुँने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्् ।”

    उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताए । “दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ”, उनले भने । उक्त बस्ती अग्लो डाँडामा छ । उक्त बस्तीकाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या भएको छ । त्यहाँसम्म पानी ल्याउन अन्य मुहान नै नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताए ।


    यस वर्ष रु तीन लाख विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजेको भए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाएको वडाध्यक्ष रिठालले बताए । एक एक हजारका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना बनाएको उनले बताए ।
    “यसले मात्र समस्या समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छौँ”, उनले भने ।


    उक्त गाउँका मिलन खड्का आफूले केही समयअघि पानीको समस्या लिएर सङ्घीय खानेपानी मन्त्रालयसम्म धाएको बताउँछन् । बस्तीमा भएको खानेपानीको समस्याको श्रव्यदृश्य सामग्री देखाउँदै मन्त्रीलाई समेत उनको भनाइ छ । मन्त्रीले कुनै पनि हालतमा व्यवस्था गर्छु भन्ने आश्वासन दिएको खड्काले बताए । खड्काले यसकै लागि आफू व्यक्तिगत रु ५० हजार खर्च गरेर सङ्घीय राजधानी गएको बताए ।

  • कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

    कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण

    मलेखु (धादिङ), २४ जेठः धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह र सेतो दह जाने कठिन बाटोमा पदमार्ग निर्माण गरिएको छ ।भौगोलिक रूपमा विकट र हिँड्न कठिन रहेको गोरेटोमा व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । कालो र सेतो दह हुँदै नेपाल–चीन सिमाना नजिकको हर्ची पाससम्मको


    रुबीभ्याली गाउँपालिका–१ लिङ्जो गाउँका बासिन्दाले २१ दिनसम्म श्रमदान गरेर बाबिल खर्कदेखि चार हजार ६ सय ५० मिटर उचाइमा रहेको हर्ची पाससम्म गोरेटो पदमार्ग निर्माण गरेका हुन् । स्थानीय आफैले श्रमदान सुरु गरेपछि रुबीभ्याली गाउँपालिका–१ ले रु १५ लाख उपलब्ध गराएको थियो ।

    पदमार्ग निर्माणका क्रममा चार हजार मिटर उचाइमा रहेको छार चो खर्कमा बास बसेर दैनिक रूपमा कठिन भू–भागमा काम सम्पन्न गरेको वडाध्यक्ष पम्बर तामाङले जानकारी दिए । आगामी वर्षको बजेटबाट पर्यटक प्रतिक्षालय र अन्य पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए ।


    पदमार्ग निर्माणका क्रममा स्थानीय युवाले घन, छिनो र गैंती प्रयोग गरी चट्टान फोरेका थिए भने महिलाले ढुङ्गा बोकेर सिँढी बनाउन सहयोग गरेका थिए । अक्सिजनको कमी हुने उचाइमा समेत स्थानीय खटिएर निर्माण कार्य सम्पन्न गरेको वडाअध्यक्ष तामाङले प्रशंसा गरे । सामूहिक श्रमदानबाट बनेको यो पदमार्गले प्रसिद्ध कालो दह, सेतो दह र हर्ची पास पुग्ने पर्यटकलाई सहज बनाएको छ ।

    पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने स्थानीयले अपेक्षा गरेका छन् । पदमार्गले गाउँको भविष्यको बाटो कोरेको र यसबाट पर्यटन विकासमा ठूलो टेवा पुग्ने भन्दै स्थानीय अगुवा पुर्ने लामा तामाङले खुसी सुनाए ।

    राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने पाँच हजार मिटरसम्मको यो पदयात्रा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पदमार्ग महत्वपूर्ण माध्यम बन्नेछ ।

  • तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

    धरान (सुनसरी), २४ जेठः सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।
    बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ ।

    बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । तीन वर्ष विदेश बसेर फर्किनुभएका उहाँले अहिले आफ्नै गाउँमा बसेर तरकारीखेतीबाट पर्याप्त आम्दानी गरिरहेका छन् । “विदेशमा निकै दुःख गरेर कमाएको पैसाले घरखर्च धान्नै कठिन हुन्थ्यो, अहिले परिवार सबै मिलेर साथमा तरकारीखेती गरिरहेका छौँ । मिहिनेत गर्न सके आफ्नै देशको माटोमा पनि राम्रो आम्दानी गर्न सकिँदोरहेछ”, उनले भने । तरकारी बिक्रीबाट घरखर्च सहज रूपमा चलिरहेको छ भने मासिक रु ७० हजारभन्दा बढी बचत गर्न सफल भएको राजवंशी बताउँछन् ।


    सोही ठाउँका नितु राजवंशी र रमेश राजवंशी दम्पतीले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहेका छन् । उनीहरुले काँक्रो, बोडी, घिरौँला, कोभी, गोलभेँडालगायत मौसमी तरकारी उत्पादन गर्दै आएका छन् । नितु राजवंशीका अनुसार विगतमा मकै र कोदोखेतीबाट परिवारको खाद्यान्न आवश्यकता मात्र पूरा हुन्थ्यो । तरकारीखेती सुरु गरेपछि भने यहाँबाट राम्रै आम्दानी हुने गरेको उनले बताए ।


    “पहिले बारी बाँझो थियो, अहिले तरकारीखेतीले धेरै राम्रो भएको छ । मौसमले साथ दिएमा र सिँचाइ तथा मल व्यवस्थापन राम्रो भए वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्मको तरकारी मज्जाले बिक्री गर्न सकिन्छ”, राजवंशी दम्पती भन्छन् ।

    त्यसैगरी, बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरीले चार बिघा जमिनमा मौसमी तरकारीखेती गर्दै आएकी छिन् । छ वर्षअघि एक कट्ठा जमिनबाट सुरु गरिएको खेती अहिले विस्तार भएर वार्षिक रु १० लाखभन्दा बढी आम्दानीको स्रोत बनेको छ । ‘रीतिका कृषि फार्म’ सञ्चालन गर्दै आउनुभएका चौधरीले परिवारको साथ र निरन्तर मिहिनेतले व्यवसाय विस्तार गर्न सफल भएको बताए । “काम गर्न सकुन्जेल खेतीलाई निरन्तरता दिन्छु । परिवारको साथ छ, मिहिनेत गर्नसके कृषि क्षेत्रमै राम्रो सम्भावना रहेछ”, उनले भने ।


    चौधरीले पालेका गाईगोरु र बाख्राबाट प्राप्त गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दै आउनुभएको छ । यसले उत्पादनलाई स्वस्थ र गुणस्तरीय बनाउन मद्दत पुगेको उनको भनाइ छ । तरकारी बिक्रीका लागि बजारको समस्या छैन । व्यापारीहरू आफैँ फार्ममा पुगेर तरकारी खरिद गरेर लाने गरेको उनले बताए ।

    “हामी बजार मूल्यभन्दा प्रतिकिलो करिब रु १० कममा तरकारी दिन्छौँ, व्यापारीहरू फार्ममै आउने भएकाले बजारको झन्झट हुँदैन”, उनले भने । सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बराहक्षेत्रसहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा तरकारीखेती प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार केन्द्रले किसानलाई अनुदान, उन्नत बीउ, सिँचाइ उपकरण, माटो परीक्षण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिमलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । आधुनिक तरकारीखेतीले धेरै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ । उनले भने, “उत्पादन वृद्धि, बजार पहुँच र आम्दानी विस्तारमा सकारात्मक प्रभाव देखिएको छ ।”

    श्रेष्ठका अनुसार तरकारी भण्डारण, कीट प्रकोप, बजार व्यवस्थापन तथा मौसमजन्य समस्याको समाधानका लागि कृषि ज्ञान केन्द्रले निरन्तर परामर्श सेवा प्रदान गर्दै आएको छ । बराहक्षेत्रका किसानले उत्पादन गरेका तरकारी धरान कृषि उपज बजार, इटहरी, इनरुवा, बराहक्षेत्र तथा काराबन्जरलगायतका स्थानीय बजारमा बिक्री हुने गरेका छन् । किसानका अनुसार बिक्रीका लागि बजारको अभाव छैन । सरकारी अनुदान, विभिन्न सङ्घसंस्थाको सहयोग तथा डिजिटल मार्केटिङको बढ्दो प्रयोगले व्यावसायिक तरकारीखेतीलाई थप सहज बनाएको छ ।

    तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि बराहक्षेत्रका किसान विदेश पलायनभन्दा आफ्नै गाउँघरमा श्रम र सीप लगानी गर्न उत्साहित देखिएका छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुर्याएको छ । अहिले बराहक्षेत्र नगरपालिकामा अधिकांश किसान बारीमा तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो । नगरपालिकाले बर्सेनि किसानलाई प्राविधिक तालिम, उन्नत बीउबिजन, मल, सिँचाइ सुविधा, प्लास्टिक टनेल निर्माणका लागि अनुदान र बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको उनले जानकारी दिए ।


    अहिले गाउँमै रोजगारी सृजना हुने क्रम बढिरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू पनि कृषि पेसामै फर्कन थालेका छन् । स्वदेशमै बसेर आफ्नै माटोमै पसिना बगाएर राम्रै आम्दानी गर्न सकिन्छ भन्ने चेतना अहिले गाउँगाउँमा फैलिएको छ । अनियमित वर्षा, अत्यधिक गर्मी, असिना वर्षालगायत कारणले बाली नष्ट हुने, रोगकीरा बढ्ने र समग्र उत्पादन घट्नेजस्ता समस्याका कारण कहिलेकाहीँ किसान निरास हुनुपरेको छ । तर मौसम अनुकूल बालीको छनोट, प्लास्टिक टनेल, ड्रिप सिँचाइ प्रणालीलगायत प्रविधिको प्रयोग बढाउन सक्दा तरकारीखेतीबाट किसानले राम्रो आम्दानी गर्न सक्ने नगरप्रमुख कार्कीको भनाइ छ ।

  • तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    सिमकोट (हुम्ला), २४ जेठः हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए । वैशाखमा सुनासान देखिएको सिमकोट विमानस्थलमा जेठ पहिलो सातादेखि विदेशी पर्यटकको आगमन बढेको उनले बताए ।


    गत वैशाख ३० गतेदेखि जेठ महिनाको २३ गतेसम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका दुई हजार ७४७ पर्यटक हुम्ला भित्रिएका छन् । वैशाख महिनामा ५५ महिला र ५९ पुरुष पर्यटक जिल्ला पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।

    जेठमा मात्रै मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको सङ्ख्या एक्कासी बढेको छ । यस महिनामा एक हजार २९२ महिला र एक हजार ३४० पुरुष गरी दुई हजार ६३२ विदेशी पर्यटक मानसरोवर कैलाश दर्शनका लागि पुगेका थिए । नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

    कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको छ । चीनले हिल्सा नाकालाई हुम्लावासीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीले बताए । उनले भने, “कैलाश मानसरोवरको दर्शन गर्न हुम्लामा कोरोना सङ्क्रमणपछिकै यो ठूलो सङ्ख्या हो, भारतीय पर्यटक आउने क्रम बढेको छ ।”

    उनका अनुसार मौसम अनुकूल भएको अवस्थामा दैनिक पाँचदेखि दशवटासम्म नेपालगन्जबाट यहाँ उडान हुने गरेको छ । सीता, समिट र तारा एयरले उडान भर्दै आएका छन् । सिमकोट विमानस्थलबाट हिल्साका लागि विभिन्न हेलिकोप्टरले समेत पर्यटकलाई सेवा दिइरहेका छन् ।

    भारतीय पर्यटक हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन गर्न जाने हुँदा यहाँका नागरिकले रोजगारी पाउनुका साथै सदरमुकाम सिमकोटसहित हिल्सा नाकामा रहेका होटल सञ्चालकले मनग्य आम्दानी गरिरहेका हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार होटल व्यवसायीमात्रै नभएर यहाँका अन्यले पनि रोजगारी पाएका छन् । सदरमुकाम सिमकोटसहित हिल्साका होटल पर्यटकले भरिभराउ छन् ।

    सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउँदै आएको छ । जेठ, असार र साउन महिना कैलाश मानसरोवर दर्शन गर्ने उपयुक्त समय हो ।

  • बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

    बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा

    खोटाङ, २४ जेठः बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक यही जेठ २२ गते वर्षापछि आएको भीषण बाढीले अवरुद्ध बनेको थियो । उक्त सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीले सञ्चालनमा ल्याएका हुन् ।

    पङ्खुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ र काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, जिप, मोटरसाइकललगायत सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।
    पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ मिटर सडक अवरुद्ध बनाएको थियो ।

    पङ्खुखोलामा २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनेगरी निर्माण कम्पनीले काम थालेको थियो । कालोपत्रको काम सम्पन्न भएको लामो समयसम्म पनि ठेकेदारको लापरवाहीका कारण पुल निर्माण नहुँदा खोलाबाटै यातायातका सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता छ ।

  • ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

    ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

    काठमाडौँ, २३ जेठः पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गुरुङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ ।

    त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएका थिए । मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा थिइन् । तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरले गए राति ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

  • रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

    रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

    रसुवा, २३ जेठ । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता सुरु गरिएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको आज लाङटाङको क्याङ्जेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताए । उनले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीबीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।


    मुख्यमन्त्री बानियाँले स्थानीय हावापानी अनुकूल कृषि उत्पादन वृद्धि गरी पर्यटकलाई स्वस्थ तथा सन्तुलित भोजन उपलब्ध गराउन सके पर्यटन क्षेत्र थप आकर्षक बन्ने बताए । समुद्र सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याङ्जेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ३२ किलोमिटर दूरी पार गर्नुपर्नेछ । प्रतियोगितामा दुई विदेशी महिलासहित एक सय तीन खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।

    बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीलगायतको सहभागिता रहेको थियो । पर्यटनमन्त्री श्रेष्ठले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र जैविक विविधतालाई विश्वसामु चिनाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । उनले लाङटाङ पदमार्गलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वातावरण संरक्षण, सरसफाइ र गुणस्तरीय सेवा प्रवाहमा जोड दिए ।


    आर्थिक मामिलामन्त्री तामाङले स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकार भएका निकायबीच सद्भाव र सहकार्यले मात्र हिमाली पर्यटनको दिगो विकास सम्भव हुने बताए । उनले लाङ्टाङ भ्रमणमा आउने पर्यटकलाई आत्मीयतापूर्वक सेवा प्रदान गरी नेपालको सकारात्मक छवि निर्माण गर्न आग्रह गरे । खेल, पर्यटन र वातावरण संरक्षणलाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजना गरिएको ट्रेल रनले हिमाली क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको ट्रेकिङ एसोसियसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष दीपक महतले बताए ।


    रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेका अनुसार यस्ता कार्यक्रमले लाङटाङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न थप मद्दत पुग्नेछ । यहाँ आयोजित साहसिक दौड प्रतियोगिता केवल खेलकुद गतिविधि मात्र नभई लाङटाङको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनालाई विश्वसामु चिनाउने प्रभावकारी माध्यमका रूपमा हेरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङको भनाइ छ ।

  • रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

    रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

    काठमाडौँ, २३ जेठः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन् । आज र भोलि हुन गइरहेको पार्टीको जिल्ला अधिवेशनका सन्भर्दमा उनले सामाजिक सञ्जालमा ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको बता्रए । “पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ”, सभापति लामिछाने भनेका छन् ।


    अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उनले महाधिवेशन प्रक्रिया पार्टी जीवन, विधि, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताए । “यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ”, उनले लेखेका छन् । रास्वपाको आज ३७ र भोलि २९ जिल्लामा अधिवेशन हुँदैछन् । रास्वपाको पहिलो महाधिवेशनको प्रक्रियाअन्तर्गत वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् ।

    पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सभापति लामिछानेले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार भएको बताए । लोकतान्त्रिक प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जाने उनको भनाइ छ ।

    “हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौँ । त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ”, सभापति लामिछानेले भनेका छन्, “पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ ।” स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उनले लेखेका छन् ।


    “चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्च्याउनुपर्छ”, सभापति लामिछानेले भनेका छन्, “पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।”

    मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताए । “अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर, सङ्गठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने सङ्कीर्ण चिन्तालाई त्याग्नुपर्छ”, उनले भनेका छन् ।

  • परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

    काठमाडौँ, २३ जेठः भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।

  • एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

    एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

    काठमाडौँ, २३ जेठ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई( २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।

    परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए । एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइनसकेको उनले बताए । ‘ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।

  • सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

    सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

    काठमाडौँ, २३ जेठः जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । कोषमा यही जेठ २० गतेसम्म रु एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ ।

    दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ । सोही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्य्त् तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ । कोषका चार वटा प्रस्ताव आएकामा दुई वटा प्रस्तावमाथि छलफल भइरहेको छ ।

    मुलुकको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा सङ्कलन भएको प्रस्तावलाई अगाडि बढाउन लागिएको छ । कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधिकरणका लागि प्रयास भइरहेको जानकारी दिए । कोषमा जम्मा हुने रकम बैङ्क तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटले विभिन्न कोषमा रहेको रकमलाई उपयोग गर्ने नीति अख्तियार गरेको छ ।

    खानीजन्य क्षेत्रअन्तर्गत स्वदेशमा ‘क्लिङ्कर’ उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने परियोजनामा पनि कोषले लगानी गर्ने नीति लिएको निर्देशक रेग्मीले उल्लेख गरे । उनका अनुसार कोषमा हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता सूचीकृत भएका छन् । कोषले कुल दाबी भुक्तानी रु २० अर्ब ४५ करोड २६ लाख १० हजार ७३८ गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु तीन अर्ब २३ करोड ५१ लाख दुई हजार ९११ बराबर रहेको छ ।

    दुर्घटना तथा अशक्तता सुरक्षातर्फ रकम रु २८ करोड ४४ लाख ३० हजार १८८, आश्रित परिवार सुरक्षा दाबी रकम रु ३४ करोड ९५ लाख ७३ हजार ३९८ र अवकाश दाबी रकम रु १६ करोड ५८ लाख ३५ लाख चार हजार २४१ बराबर रहेको कोषका निर्देशक रेग्मीले जानकारी दिए ।


    संस्थागत वा सहवित्तीयकरण कर्जामा पर्यटन क्षेत्र, निर्माण क्षेत्र, सूचना तथा प्रविधि क्षेत्र, सेवामूलक क्षेत्र, कृषि क्षेत्रमा लगानी गर्न सकिने व्यवस्था गरेको छ । सञ्चालक समितिले उपयुक्त ठानेको क्षेत्रमा पर्याप्त धितो वा जमानी लिई संस्थागत कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । कर्जा प्रवाह गर्दा तिर्ने क्षमता भएको कम्पनीलाई परियोजना स्थापना र सञ्चालनको लागि स्थिर पूँजी कर्जा, चालु पूँजी कर्जा वा चक्र कर्जा समेत प्रवाह गर्न सकिने व्यवस्था छ ।

    कोषले २० मेगावाटभन्दा कम क्षमताको विद्युत् परियोजनामा भने कोषले लगानी नगर्ने नीति लिएको निर्देशक रेग्मीले बताए । विद्युत् खरिदसम्बन्धी शर्त तथा बन्देज वा कुनै समयमा प्राधिकरणले विद्युत् खरिद नगर्ने शर्त भएमा, कनेक्सन सम्झौताबमोजिमको सबस्टेसन तयार भई नसकेको परियोजनामा लगानी नगर्ने नीति रहेको उनले बताए । उनका अनुसार कम्तीमा ३० प्रतिशत स्वपुँजी नभएको परियोजना, निजी कम्पनीबाट सञ्चालित परियोजना र कोषको प्राथमिकतामा नपरेको परियोजनामा पनि लगानी नगर्ने नीति छ ।

  • कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने

    कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने

    भजनी (कैलाली), २३ जेठः सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद् र प्रदेशसभाबीच प्रभावकारी रुपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताए ।

    तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिँदै सभामुखले भने, ‘तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु ।” सबैसँग समन्वय, सहकार्य गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु । आपसी समन्वय र सहकार्यले मात्र जनताका अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ ।”

    कानुन निर्माण हुँदा लक्षितवर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख अर्यालले जोड दिए । कानुनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानुन निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानुन निर्माण गरिनुपर्ने बताए । सभामुख अर्यालले सङ्घीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताए । “अझै हामीले जनतालाई दिनुपर्ने अधिकार गाउँगाउँसम्म पु¥याउन सकेका छैनौँ”, उनले भने ।
    तीन तहको सरकारमा समन्वयको अभाव छ : अध्यक्ष दाहाल

    यसैगरी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सङ्घले आवश्यक कानुन नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।


    “सङ्घले कानुन निर्माणमा गरेको ढिलाइले प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन”, उनले भने। जनताका भावनालाई आत्मसात् गर्दै लोकतन्त्रलाई मजबुत बनाउनेतर्फ तीनवटै तहको भूमिका महत्त्वपूर्ण रहेको कथन थियो । अध्यक्ष दाहालले कानुन निर्माणमा सङ्घीय सदनले बढी तदारुकता देखाउन आवश्यक रहेको बताए ।

    उनले भने, “द्रुत गतिमा कानुन निर्माणका काम किन भएका छैनन् । त्यसका कारण खोज्न जरुरी छ । जनताले हामीलाई कुरा गर्न पठाएका होइनन् ।” सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेशसभाका सभामुख सहभागी छन् । सम्मेलन भोलि सम्पन्न हुनेछ ।

  • ‘ट्रम्पसँग छलफल भएका प्रस्ताव’का आधारमा रुस सम्झौता गर्न तयारः पुटिन

    ‘ट्रम्पसँग छलफल भएका प्रस्ताव’का आधारमा रुस सम्झौता गर्न तयारः पुटिन

    सेन्ट पिटर्सबर्ग, रूस, २३ जेठ (रासस–एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको बताएका छन् । उनले युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको तर यसका लागि किएभले केही ‘सम्झौता’ गर्नुपर्ने बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावको सन्दर्भमा यो भनाइ राखेका हुन् । उनले रूसी सेना युद्धको मैदानमा लगातार अगाडि बढिरहेको भएपनि आफूले विश्व समुदायको धारणाको सम्मान गर्दै युद्ध अन्त्य गर्न तयार रहेको बताए ।


    राष्ट्रपति पुटिनले सेन्ट पिटर्सबर्गमा विश्वका प्रमुख समाचार संस्थाका प्रमुखहरूसँग कुराकानी गर्दै पुटिनले भने, “रूसले आफ्नो हवाई प्रतिरक्षा बलियो बनाइरहेको छ र उसले युक्रेनको ड्रोन आक्रमणको जवाफ दिन सकोस्। रूसी जनताको देशभक्ति र इच्छाले उनीहरूलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्नेछ ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पुटिनलाई एउटा खुला पत्र लेख्दै युद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गर्न दुई नेताबीच प्रत्यक्ष भेटघाटका लागि अपिल गरेका थिए । पत्रमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, “दुई देशबीच प्रत्यक्ष वार्ता भयो भनेमात्र शान्ति सम्भव छ र यसका लागि पूर्ण युद्धविराम अनिवार्य हुनेछ।”

    क्रेमलिनले उक्त पत्र प्राप्त भएको पुष्टि गरेको छ । क्रेमलिनले भनेको छ, “युक्रेनले सम्झौताहरू स्वीकार गर्नुपर्नेछ, त्यसपछि मात्र युद्ध समाप्त हुन्छ ।”
    पत्रकारहरुसँग कुरा गर्दै रूसी नेता पुटिनले अलास्काको एन्कोरेज बैठकमा ट्रम्पसँग छलफल भएका प्रस्तावका आधारमा रुस सम्झौता गर्न तयार रहेको बताएका थिए । उनले भने, “रुस ती ‘सम्झौता’ स्वीकार गर्न तयार रहेको तर युक्रेनले पनि यसलाई स्वीकार गर्नुपर्नेछ, त्यसपछि मात्र द्वन्द्व चाँडै समाप्त हुन सक्छ।”

    रुसी सेनाले हालसालै करिब दुई हजार ४४० वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भूभाग आफ्नो नियन्त्रणमा लिएको र विभिन्न मोर्चामा अघि बढिरहेको नेता पुटिनले दाबी गरे । उनले भने, “लुहान्स्क क्षेत्र लगभग पूर्ण रूपमा रूसी नियन्त्रणमा छ, डोनेट्स्कको ८५ प्रतिशत र जापोरिज्जियाको लगभग ८० प्रतिशत पनि रूसी नियन्त्रणमा छ ।”

    नेता पुटिनले युरोपेली सङ्घ (इयू) को मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गरे । उनले भने, “जुन देशले रणनीतिक रुपमा रुसलाई हराउने कुरा गरेका छन्, उनीहरुलाई विश्वास गर्न गाह्रो छ । यदि इयूले वार्ताका लागि मध्यस्थता गर्न चाहन्छ भने पनि रुसले ढोका पूर्ण रुपमा बन्द गर्नेछैन, तर उसले हतियार पठाउने र उक्साउने गर्नुको सट्टा युक्रेनलाई मनाउने प्रयास गर्नुपर्छ ।” उनले युक्रेनमा मार्शल ल का कारण चुनाव स्थगित भएको भन्दै वार्ताका लागि राष्ट्रपति जेलेन्स्कीको वैधताबारे पनि टिप्पणी गरेका थिए ।

  • चिनियाँ राष्ट्रपति सी आगामी साता उत्तर कोरिया जाँदै

    चिनियाँ राष्ट्रपति सी आगामी साता उत्तर कोरिया जाँदै

    बेइजिङ, २३ जेठ (रासस–एपी) । चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन् । सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मङ्गलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नेछन् । उनको पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो ।

    यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रुससँग निकटता बढाइरहेका बेला हुन लागेको हो । विशेषगरी युक्रेन युद्धमा समर्थनस्वरूप उत्तर कोरियामाथि रुसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ । यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ ।

    अन्तर्राष्ट्रिय सङ्कट समूहका विश्लेषक विलियम याङका अनुसार रुससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको भ्रमणमार्फत प्योङयाङमा आफ्नो प्रभाव पुनः स्थापित गर्न र उत्तरपूर्वी एसियामा आफ्ना रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ । सीको भ्रमण बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएका उच्चस्तरीय भेटघाटपछि हुन लागेको हो । यसलाई चीनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आफ्नो भूमिका बलियो बनाउने प्रयासका रूपमा पनि हेरिएको छ ।

    भ्रमणको घोषणा उत्तर कोरियाले आणविक बम निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्न सक्ने नयाँ सुविधा सार्वजनिक गरेको भोलिपल्ट गरिएको हो । दक्षिण कोरियाली सेनाले उक्त संरचनालाई युरेनियम संवर्धन केन्द्रका रूपमा मूल्याङ्कन गरेको छ । उक्त केन्द्रको निरीक्षणका क्रममा किमले देशको आणविक शक्तिलाई द्रुत रूपमा बढाउने योजना सार्वजनिक गरेका थिए । विज्ञहरूका अनुसार यसले सीको भ्रमणअघि उत्तर कोरियाले आफूलाई आणविक शक्ति राष्ट्रका रूपमा अझ बलियो रूपमा प्रस्तुत गर्न खोजेको सङ्केत दिएको छ ।

    विश्लेषकहरूका अनुसार किम उत्तर कोरियालाई अन्तर्राष्ट्रिय रूपमा आणविक राष्ट्रका रूपमा स्वीकार गराउँदै प्रतिबन्ध हटाउन वा खुकुलो बनाउन चाहन्छन् । साथै भविष्यमा अमेरिकासँग हुने सम्भावित वार्तामा आणविक कार्यक्रमको आंशिक कटौतीको बदलामा राजनीतिक तथा आर्थिक रियायत प्राप्त गर्ने रणनीति पनि उहाँको हुन सक्ने आकलन गरिएको छ ।

    सन् २०१९ मा ट्रम्पसँगको कूटनीतिक प्रयास असफल भएपछि किमले आणविक कार्यक्रम विस्तारलाई प्राथमिकता दिँदै आएका छन् । ट्रम्पले भने पुनः वार्ताको इच्छा व्यक्त गरिरहेका छन् । तर उत्तर कोरियाले अमेरिकाले आणविक निःशस्त्रीकरणलाई पूर्वसर्त बनाउन छाडेपछि मात्र सार्थक संवाद सम्भव हुने अडान राखेको छ । गत सेप्टेम्बरमा बेइजिङमा भेटवार्ता गर्दा सी र किमले आपसी सहयोग तथा समर्थन बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसबेला किम चिनियाँ सैन्य परेडमा सहभागी हुन बेइजिङ पुगेका थिए ।


    रुस र चीनले विगतमा उत्तर कोरियामाथि थप कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने अमेरिकी प्रयासहरूको विरोध गर्दै आएका छन् । गत महिना बेइजिङमा भएको भेटमा पुटिन र सीले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध, राजनीतिक अलगाव र सैन्य दबाब बढाउने गतिविधिको विरोधसमेत गरेका थिए ।

    पछिल्ला वर्षहरूमा किमले बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा उभिँदै अमेरिका र उसका साझेदार राष्ट्रहरूसँग तनावमा रहेका देशहरूसँग सम्बन्ध विस्तार गर्ने नीति अघि बढाएका छन् । कोभिड–१९ महामारीपछि विदेश भ्रमण घटाएका सीका लागि पनि यो भ्रमण महत्त्वपूर्ण मानिएको छ । विश्लेषकहरूका अनुसार उत्तर कोरियाको यो भ्रमणले चीन–उत्तर कोरिया सम्बन्ध मात्र नभई उत्तरपूर्वी एसियाको सुरक्षा र शक्ति समीकरणमा पनि नयाँ सन्देश दिनेछ ।

  • विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    भोजपुर, २३ जेठः भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन् । करिब छ वर्ष मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका अधिकारीले विगत पाँच वर्षदेखि फलफूलखेतीलाई मुख्य व्यवसायका रूपमा अँगाल्दै आएका छन् ।


    अधिकारीले अहिले २५ रोपनी क्षेत्रमा विभिन्न फलफूलका बिरुवा विस्तार गर्नुभएको छ भने बाँकी रहेको करिब सात रोपनी जमिनमा क्रमशः खेती विस्तार गर्ने योजना बनाएका छन् । विदेशमा लिएको सीप, अनुभव र पुँजीलाई आफ्नै गाउँमा प्रयोग गर्दै कृषि पेसालाई दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बनाउने लक्ष्य लिएको उनले बताए ।


    अधिकारीले लिची, आँप, अनार, कागती, एभोकाडो (घिउ फल), रुद्राक्षजस्ता बहुवर्षीय फलफूलका साथै मौसमी तरकारीखेती गर्दै आएका छन् । केही बिरुवाले उत्पादन दिन थालिसकेका जनाउँदै आगामी वर्षमा सबै बिरुवाबाट आम्दानी लिन सकिने विश्वास व्यक्त गरे । “अहिले केही बिरुवाबाट मात्रै आम्दानी सुरु भएको छ”, अधिकारीले भने, “सबै बिरुवा उत्पादनमा आएपछि वार्षिक रु पाँचदेखि रु १० लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको छु ।”

    विदेशी भूमिमा वर्षौंसम्म श्रम बेच्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने सोचले आफू कृषिमा लागेको उहाँले बताउनुभयो । “विदेशमा दुःख धेरै भयो । अब आफ्नै ठाउँमै केही गरेर देखाउने लक्ष्य छ”, उनले भने । अधिकारीले करिब २६ वर्ष अरूको जमिनमा बस्दै आएका छन् । अहिले आफ्नै जमिनमा व्यावसायिक खेती विस्तार गर्न पाउँदा उनी उत्साहित छन् । उनको प्रयासले स्थानीयस्तरमा कृषि पेसाप्रति आकर्षण बढ्दै गएको छ । कृषि विस्तारसँगै उनले बाख्रापालन गर्दै आएका छन् । बाख्राबाट उत्पादन हुने गोठेमाल (जैविक मल) प्रयोग गरी बोटबिरुवाको व्यवस्थापन गर्ने गरिएको अधिकारीले बताए । यसले उत्पादन लागत घटाउनुका साथै माटोको उर्वराशक्ति कायम राख्न सहयोग पुगेको उनको अनुभव छ ।

    स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिएको भन्दै अधिकारीले भविष्यमा खेतीलाई अझै विस्तार गर्ने योजना बनाए । आधुनिक प्रविधि, बजार व्यवस्थापन तथा प्राविधिक सेवामा राज्यले सहज पहुँच उपलब्ध गराए कृषिबाट अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । “यदि प्राविधिक सेवा र बजार व्यवस्थापनमा सहयोग पाइयो भने कृषिमा लागेका किसानलाई धेरै सहज हुन्छ”, उनले भने ।

  • सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

    सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

    काठमाडौँ, २३ जेठः सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन् । उच्चस्तरीय अन्तर¬–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुगेका उनीहरुले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको अवलोकन गरे ।

    त्यसक्रममा उपसभामुख रूबी कुमारी तथा राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसमेत सहभागी थिए । उनीहरुले धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले महत्वपूर्ण भक्केनी धाम, ब्रह्मदेव र टनकपुर क्षेत्रको अवलोकन गरे । सभामुख अर्याल र अध्यक्ष दाहालले महेन्द्रनगर विमानस्थल तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षण क्षेत्रको अवलोकन गरे । त्यसक्रममा उनीहरुले महेन्द्रनगर विमानस्थलको स्तरोन्नति तथा सेवा विस्तारका सम्भावनाबारे सरोकार भएकासँग छलफल गरे ।

  • सडक सञ्जालमा जोडियो अपि

    सडक सञ्जालमा जोडियो अपि

    दार्चुला, २३ जेठः अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ ।

    प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “हालसम्म सडक सञ्जालसँग नजोडिएका अपिहिमाल गाउँपालिका, साइपाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ ।” सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमितामा राखेको छ । अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ ।

    “सडक अभावका कारण स्थानीयले वर्षौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका थिए । अपिमा ढुवानीका कारण स्थानीयले समस्या झेलेका थिए । मकरीगाडबाट खण्डेश्वरी घुसासम्म पुग्न रु १० प्रतिकिलो ढुवानी लाग्थ्यो”, स्थानीय खडक रोकायाले भने, “सडक गाउँसम्मै आएपछि ढुवानी भाडामा सहजता हुनेछ ।” अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म मात्रै सडक पुगेको अवस्थामा अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा सडक पुग्ने आशा पलाएको उनको भनाइ छ ।

    स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार भट्टारभन्दा अगाडि सडक पुगिसकेको छ भने निर्माण निरन्तर जारी रहेकाले छिट्टै पालिका केन्द्रसम्म सवारी सञ्चालन हुने विश्वास स्थानीयले गरेका छन् । गाउँपालिका केन्द्र वडा नं ४ को नौपाटामा पर्छ । सडकले गाउँपालिकाका वडा नं ३ र ४ लाई जोड्छ । यो ठाउँमा सडक काट्न चट्टानी भू(भाग नहुँदा पनि सडकले गति लिनेछ ।

    अपि हिमाल(१ र २ मा सडक सञ्जालले तत्काललै जोडिने सम्भावना छैन् । तर वडा नम्बर ३ को काफलधारसम्म पनि सडक पुग्दा थोरै भए पनि अन्य वडाको लागि राहत हुने स्थानीय बताउँछन् । सडक निर्माण विएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नभए पनि आगामी आवमा पालिका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । सडक नहुँदा विकास निर्माणका सामग्री ढुवानी महँगो पर्नुका साथै विभिन्न आयोजना कार्यान्वयनमा समस्या हुँदै आएको थियो । सडक विस्तारसँगै अब विकास निर्माणका काममा सहजता आउने अपेक्षा गरिएको छ ।

    अपिहिमाल गाउँपलिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग उछिनेर अब सहज ठाउँमा सडक निर्माण अघि बढेको छ । “शीघ्र पालिका मुकाममा सडक पुग्नेछ”, उनले भने, “नयाँ आर्थिक वर्षमा (आगामी आव) अपिहिमालको विकासका लागि महत्वपूर्ण वर्ष सावित हुनेछ ।”

    अध्यक्ष बोहराका अनुसार पारिवगर–मकरीगाड सडक स्तरोन्नतिको ठेक्का लागिसकेको छ । दुई वर्षभित्र कालोपत्रसहित स्तरोन्नति सकिने छ । दुई वर्षभित्र सम्पन्न गर्नेगरी मकरीगाडमा मोटेरबल पुल निर्माणको ठेक्का भएको छ । अपि हिमाल४ र ३ जोड्ने सडकमा रु सात करोड बजेट सुनिश्चित भएको भन्दै उनले आगामी आवमा सडक निर्माण पालिका केन्द्र पुग्ने बताए ।

  • सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

    सङ्खुवासभामा पहिरोले पाँचखपन–चैनपुर सडक अवरुद्ध

    किमाथाङ्का (सङ्खुवासभा), २३ जेठः सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । गतरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे–भैँसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार पहिरोले पाँचपन-चैनपुर खण्डको करिब १५ मिटर सडक बगाएको छ ।

    कल्लेरी क्षेत्रमा आएको चिउङ्खुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले बताए । उनका अनुसार वर्षाका कारण पाँचखपनको चुङखुरुङतर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोका कारण आज बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

    सडक निर्माण जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँठाउँमा क्षति पुर्‍याएको प्रहरी निरीक्षक राजवंशीले उल्लेख गर्नुभयो । बाढीबाट कमजोर बनेको भिरालो जमिन खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकार भएका निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । मौसम अनुकूल भएमा पहिरो पन्छाएर सडक आजैदेखि सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

  • समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

    समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

    काठमाडौँ, २३ जेठः बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो ।

    समितिले लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेशनलनका ११, दर्शन सहकारीका ५४ र सिभिल सहकारीका पाँच ऋणीको नाम सार्वजनिक गरेको छ । समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले राससलाई जानकारी दिनुभयो । समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ ।